`

बागलुङमा उत्पादनमा आधारित अनुदानले बढ्यो दूध उत्पादन

बागलुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई  १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ ।

व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताए ।

कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको हो । ‘स्थानीय तहमा उत्पादनमा आधारित अनुदान कार्यक्रम भए पनि विज्ञ केन्द्रसँग किसान जोडिनुभएको छ,’ सापकोटाले भने,’संस्थागत बिक्रीका आधारमा मात्र अनुदान दिने मापदण्ड भएकाले संस्थागत बिक्री नगर्ने किसान अझै छुट्नुभएको छ ।’

कार्यालय तथा सरोकारवालाले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता बागलुङ दूध र मासु आत्मनिर्भर बनेको छ भने अण्डामा आत्मनिर्भर उन्मुख छ । प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा बागलुङमा ९३ लिटर उपलब्ध छ ।

‘दूध र मासु निर्यात हुन्छ, यो सङ्गठित किसानको तथ्याङ्क हो, किसान आफैंले बजार पुर्याएर बिक्री गरेको अझै धेरै परिमाणमा निर्यात हुन्छ,’ विज्ञ केन्द्रका वरिष्ठ पशु प्राविधिक केशव शर्माले भने, ‘हामी पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने चरणमा छौं ।’

विज्ञ केन्द्रले अघिल्लो आवमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई अनुदान उपलब्ध गराएको थियो । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।

तिङ्कर नाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।

चीनको सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । दक्षिणपश्चिम चीनको सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । बुधबार साँझ दक्षिणपश्चिम चीनको एक सपिङ मलमा आगलागी हुँदा दर्जनौं मानिस भित्र फसेका थिए ।

मलमा फसेकामध्ये १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सिचुआन प्रान्तको सहर जिगोङको सपिङ मलमा साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । उद्धारकर्ताहरूले मलबाट ७५ जनाको उद्दार गरेका थिए भने घटनास्थलमा ११ वटा शव फेला पारेका छन् ।

आगो राति साढे आठ बजेतिर निभाइएको थियो । बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ । निर्माण कार्यका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार बिहानसम्म ३९ जनाको स्वास्थ्य उपचार भइसकेको छ । प्रत्यक्षदर्शीहरूले सपिङ मलबाट ठूलो आगो र धुवाँ निस्केको देखेको बताए । उक्त भवनमा १४ तला रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ प्राप्त गरेकोमा प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् ।

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

‘यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।

सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बुधबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

बुधबार भेटिएकामध्ये ‘भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ’, उनले भने, ‘यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ, अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।’

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए ।

चीन नेपालसँग बीआरआईमा सहकार्य गर्न इच्छुक

काठमाडौँ ।  चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।  

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत बुधबार एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताएका छन् ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

नयाँ मोडालिटीमा हुँदै एन्फा महिला लिग, १० टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । एन्फा महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको बैठकले महिला लिगको मोडालिटी र बजेटको विषयमा छलफल समेत गरेको छ ।

एन्फा अध्यक्ष पंकज नेम्वाङको अध्यक्षतामा बसेको भर्चुअल बैठकले महिला लिगमा १० टोलीको सहभागिता गराउने निर्णय गरेको छ ।

जसमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब, एन्फा महिला लिग छनोटबाट छानिएका कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशक, संकटा क्लब र बागमति युथ क्लब तथा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका छन् ।

यसअघि एन्फाले तीन विभागीय टोली र महिला लिग छनोटबाट आएको तीन गरी ६ टोलीको राष्ट्रिय लिग गर्ने बताएपनि बुधबारको बैठकले ए, बी र सी डिभिजन क्लबमध्येबाट संकटा र बागमती तथा दुई नगरपालिकाको टिम थप गर्ने निर्णय गरेको हो ।

एन्फाले महिला लिगको बजेट र नियमावली पास गर्ने एक मात्र एजेन्डा लिएर आपतकालिन बैठक बसेको हो ।

यस पटक महिला लिगको मोडालिटीमा पनि परिवर्तन गरिएको छ । एन्फा प्रवक्ता किरण राईले सार्वजनिक गरेको वित्तप्ती अनुसार १० टिमबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । जसमा कूल ४५ खेल हुनेछ ।

त्यसपछि शीर्ष पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेलाइनेछ जसमा २० खेल हुनेछ । सुपर लिगमा शीर्ष चार टोलीबीच क्वालिफायर, एलिमिनेटर र फाइनल गरी थप चा खेल हुनेछ । लिगमा कूल ६९ खेल हुने एन्फाले जनाएको छ ।

यस्तै बैठककले एन्फा राष्ट्रिय महिला लिगको तीन सिजनको बजेट समेत पारित गरेको छ । जस अनुसार २०२४ को लिगका लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट पारित गरिएको छ ।

यस्तै २०२५ को सिजनको लिगको छनोटका लागि ८१ लाख ७३ हजार ५७१ र लिगका लागि २ करोड ५२ लाख ७२ हजार ७९५ रुपैया बजेट पारित गरिएको छ ।

यसैगरी २०२६ को लिगको छनोटका लागि ९१ लाख ९३ हजार २१४ तथा लिगका लागि २ करवड ५६ लाख ५५ हजार २९५ रुपैयाँ बजेट पारित गरिएको एन्फाले जनाएको छ । एन्फाले लिग आयोजनाको मिति र स्थान भने तय गरेको छ ।

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ ।

बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् ।

प्रहरीले कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको जनाएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जनाइएको छ । सिमलताल दुर्घटनामा बेपत्ता भएकाहरुको तथ्यांक यहाँ समावेश गरिएको छैन ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १८ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ८४ पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय दुई परिवार विस्थापित भएका छन् ।

सरकारद्वारा  ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौँ  । सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो ।
     
बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम÷योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता, अनुगमनसम्बन्धी व्यवस्थालगायत विषय समेटेर मार्गदर्शन जारी गरिएको हो ।
     
मार्गदर्शनअनुसार कुनै पनि निकायलाई एकभन्दा बढी निकायबाट खर्च गर्नेगरी रकम विनियोजन भएकामा त्यस्तो निकायको प्रमुखले आगामी असोज मसान्तभित्र विनियोजन भएको सम्पूर्ण रकम खर्च गर्ने निकायलाई हासिल गर्नुपर्ने प्रतिफल तथा उपलब्धिसहित स्रोतगत बाँडफाँट गरी त्यसको जानकारी अर्थ मन्त्रालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिनुपर्नेछ ।
     
त्यस्तै चालु आर्थिक वर्षका लागि बजेट पाएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि यही साउन मसान्तभित्रमा कार्यविधि तयार गरिसक्नुपर्नेछ ।

‘स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई रकम विनियोजन भएको कार्यक्रमको कार्यान्वयनका लागि आवश्यकपर्ने कार्यविधि २०८१ साउन मसान्तभित्र बनाइसक्नुपर्नेछ’, बजेट कार्यान्वयन मार्गदर्शनमा भनिएको छ । यस्तो कार्यविधि स्वीकृत भएको सात दिनभित्र वेबसाइटमा राखिसक्न र थप आर्थिक दायित्व वा दीर्घकालीन प्रकृतिको दायित्व सिर्जना हुने कार्यविधि बनाउँदा अर्थ मन्त्रालयको अनिवार्य स्वीकृति लिन पनि परिपत्र गरिएको छ ।

त्यसैगरी राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई ‘सिफ्ट’मा काम गर्न निर्देशन दिइएको छ । ‘आयोजनाको प्रभावकारी कार्यान्वयनगरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अङ्क हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने मापदण्ड तयारगरी कार्यान्वयन गर्नुपर्नेछ । राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउनुपर्नेछ’, मार्गदर्शनमा भनिएको छ ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम, आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि नबढाउन पनि निर्देशन दिइएको छ । गत आर्थिक वर्षमा सिर्जित दायित्व भुक्तानी गर्न सकिने विषयमा पनि अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शनमार्फत सहजीकरण गरेको छ ।

यसले निर्माण व्यवसायीलाई सरकारले गर्न बाँकी भुक्तानीका लागि सहज हुने अर्थसचिव मधुकुमार मरासिनीले बताउनुभयो । बजेट कार्यान्वयन मार्गदर्शनको बुँदा नम्बर ५० मा गत आर्थिक वर्षमा सिर्जित विभिन्न आयोजना तथा कार्यक्रमको दायित्व प्रक्रिया पुर्याएर चालु आर्थिक वर्षमा भुक्तानी दिन सकिने विषय उल्लेख छ ।

‘गत आर्थिक वर्ष २०८०/८१ मा प्रचलित कानुन, स्वीकृत मापदण्डबमोजिम विधिसम्मत रुपमा खर्च भएका सडक तथा पुल निर्माण, सिँचाइ संरचना, खानेपानी आयोजना, सरसफाइसँग सम्बन्धित संरचना तथा अन्य सार्वजनिक निर्माणमा सिर्जित दायित्व कोष तथा लेखा नियन्त्रक कार्यालयबाट फारम भरी प्रमाणित भएको रकमको हकमा सम्बन्धित आयोजना तथा कार्यक्रमको जनुसुकै त्रैमासिकमा विनियोजन भएको रकमबाट भुक्तानी गर्न सकिनेछ’, बजेट कार्यान्वयन मार्गदर्शनमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । ज्वरो आउने र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो वीर अस्पताल भर्ना भएका हुन् ।

चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।

‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड नेपालले जित्यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ । यो विधामा यसअघि एसिया क्षेत्रको विजेता बनेको नेपालले यसपटक ग्लोबल अवार्ड जितेको हो ।

आईसीसीले बुधबार यो विधामा नेपालले ग्लोबल अवार्ड पाएको घोषणा गरेको हो । आईसीसीका अनुसार पछिल्लो वर्ष नेपालको फ्यानबेस फेसबुक लगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशत भन्दा बढीको पहुँचमा पुगेको छ ।

यस्तै मेक्सिकोले डेभलपमेन्ट इनिसिएटिभ अफ दी इयर अवार्ड दिइएको छ भने ओमानले क्रिकेट–फर–हर कार्यक्रमका लागि १०० पर्सेन्ट क्रिकेट महिला क्रिकेट इनिसिएटिभ अफ दी इयर पाएको छ ।

नेदरल्यान्ड्सले आईसीसी एसोसिएट सदस्य पुरुष प्रदर्शनका लागि उत्कृष्ट पुरस्कार पाएको छ । यूएईले एसोसिएट सदस्य महिला वर्ष प्रदर्शनको अवार्ड पाएको छ । स्कटल्यान्डले क्रिकेट फर गुड सोसल इम्प्याक्ट इनिसिएटिभ अफ दी इयर विधामा पुरस्कार पाएको छ ।

नेपालका खानेपानी परियोजनामा थप सहयोग गर्ने एडिबीका देशीय निर्देशकको प्रतिबद्धता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच शिष्टाचार भेट भएको छ ।

बुधबार मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडिबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मेलाम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उनले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताए ।

एडिबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो ।

चिनियाँ युवा बेरोजगारी दरमा सुधार

चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठक पछि जून महिनामा चीनमा युवा बेरोजगारी घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

विकासमा असर पार्ने कडा कोभिड– १९ नियन्त्रण भएको १८ महिना भन्दा बढी समय पछि, प्रत्याशित महामारी पछिको सुधार नेताहरूले आशा गरेको भन्दा कमजोर भएको छ ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको दोस्रो ठूलो अर्थतन्त्रले सामना गरेको अवरोध मध्ये एक हो । साथै भारी ऋणग्रस्त सम्पत्ति क्षेत्र र पश्चिमसँगको भूराजनीतिक तनावले भरिएको व्यापार यसको अर्को पाटो हो ।

तर १६–२४ वर्ष उमेर समूहका लागि बेरोजगारी दर गत महिना घटेर १३.२ प्रतिशतमा झरेको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस) ले बुधवार घोषणा गरेको छ, जुन मे महिनामा १४.२ प्रतिशतबाट थोरै सुधार भएको हो ।

विद्यार्थीहरू बाहेकको आँकडामा अधिकारीहरूले जनवरीमा नयाँ गणना विधि अन्तर्गत युवा बेरोजगारी तथ्याङ्क प्रकाशित गर्न पुनः सुरु गरेपछि रेकर्ड गरिएको तथ्याङ्कमा यो सबै भन्दा सबैभन्दा कम हो ।

अधिकारीहरूले कार्यप्रणालीको समीक्षाको आवश्यकतालाई उद्धृत गर्दै धेरै महिनाका लागि तथ्याङ्कको विमोचन स्थगित गर्नु अघि गत वर्ष जुनमा यो रेकर्ड २१.३ प्रतिशतमा पुगेको जनाएका थिए ।

२५–देखि २९ वर्ष उमेर समूहको बेरोजगारी दर जूनमा ६.४ प्रतिशत रहेकोमा एनबीएसले बुधवार अघिल्लो महिनाको ६.६ प्रतिशतबाट कम भएको जनाएको छ । हाल बेरोजगारी दर पाँच प्रतिशतमा स्थिर रहेको छ ।

यद्यपि एनबीएसको तथ्याङ्क सहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले चीनको समग्र रोजगारीको अवस्थाको अपूर्ण विश्लेषण गर्दछ ।

राष्ट्रपति सी जिनपिङले मे महिनामा युवा बेरोजगारीको प्रतिरोधलाई “शीर्ष प्राथमिकता“ मान्नुपर्ने बताउनु भएको थियो ।

गत महिना, ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेका छन् जसले रोजगार बजारमा कडा प्रतिस्पर्धा बढाउँदैछ ।

अधिकारीहरूले सोमबार जारी गरेका तथ्याङ्कले थप निराशाजनक आर्थिक वृद्धि र निरन्तर सुस्त उपभोगको सङ्केत गर्दछ । सोमबारदेखि, सी लगायत चिनियाँ नेताहरूले आर्थिक नीति छलफल गर्न बेइजिङमा बैठक गरिरहेका छन् ।

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) लाई वित्तपोषण उपलब्ध हुनेछ ।

एडीबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ ।

छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ ।

नयाँ इजरायली लक्ष्यमा आक्रमण गर्ने हजबुल्लाहको चेतावनी

हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिएका छन् ।

“यदि इजरायलले हालैका दिनहरूमा जस्तै नागरिकहरूलाई लक्षित आक्रमण जारी राख्यो भने हामी इजरायलको अहिलेसम्म लक्षित नगरिएका इलाकाहरूलाई लक्षित गरेर आक्रमण बाध्य हुनेछौँ”, नसरूल्लाहले भने ।

लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले मङ्गलबार इजरायली आक्रमणमा तीन सिरियाली बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताएको छ।

यसको जवाफमा हजबुल्लाहले उत्तरी इजरायलमा ’कुत्युशा रकेट’ प्रहार गरेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी (युनिसेफ)ले हड्तालको समयमा आफ्नो घर अगाडि खेलिरहेका बालबालिकाहरु माथि गरिएको आक्रमणलाई “भयानक” भनी वर्णन गरेको छ।

इजरायली सेनाले गत महिना लेबनानमा आक्रमणका लागि परिचालन गरिएका योजनाहरू स्वीकृत र मान्य भएको बताएको थियो।

नसरूल्लाह आक्रमणका कारण घरहरु ध्वस्त भएका हजारौं पिडीत लेबनानीहरूलाई सहयोग गर्ने वाचा गरेका छन् ।

“घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका बासिन्दाहरूलाई हामी आश्वासन दिन्छौँ कि हामी तपाईंहरूसँग मिलेर काम गर्नेछौँ । हामी हाम्रा घरहरू पुनर्निर्माण गर्नेछौँ”, उनले भने ।

प्रधानमन्त्रीद्वारा साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् ।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे ।

यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छभने युवा पुरस्कार ५० हजार रुपैयाँको छ ।

‘पेरिस ओलम्पिक’ मा भाग लिने खेलाडी र पदाधिकारीको सम्मानमा फ्रान्सेली दूतावासमा स्वागत समारोह

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।

फ्रान्सेली राजदूतावासका कार्यवाहक राजदूत जाँ बाप्टिस्टी लेसिकले आयोजना गरेको समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जुडो खेलाडी मनिता प्रधान, ब्याडम्निटनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ओलम्पिक कमिटीका पदाधिकारी सहभागी थिए ।

प्रतियोगितामा अलेक्जेन्डर जी शाह र डुआना लामा तथा टेबलटेनिसमा सन्तु श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । कारणवश उनीहरु भने समारोहमा सरिक नभएको काठमाडौंस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।

कार्यवाहक राजदूतले नेपाली खेलाडीको सफलताको कामना गर्दै प्रतियोगितामा नेपालको प्रतिनिधित्व आफैँमा गौरवको विषय भएको बताए ।

अध्यक्ष श्रेष्ठले खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल नेपाललाई प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । एक सय वर्षअघि पेरिसमा नै गृष्मकालीन ओलम्पिक खेल भएकाले एक शताब्दीपछि सोही स्थानमा आयोजित यो प्रतियोगिताको ऐतिहासिक महत्व छ ।

वीरगञ्ज महानगरले दुर्घटनाग्रस्त एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । 


मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएका थिए ।


समाचार प्रकाशन भएको भोलिपल्टै अर्थात् बुधबार  बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरे ।


“बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भने, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कायाृन्वयन गर्नेछ ।”


जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो ।


नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए ।

विश्वविद्यालयमा वार्षिक क्यालेण्डरको कार्यान्वयनलाई प्रभावकारी बनाउँछौंः शिक्षामन्त्री भट्टराई

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने जानकारी दिएकी छन् । 

बुधबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि एक महिनाभित्र खाका तयार गर्ने बताइन् ।

नेपालको संविधानमा व्यवस्था गरिएका मौलिकहक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । विद्यालय शिक्षा विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको उनले जानकारी दिइन्  ।

गत असार ३१ गते मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विषयगत समितिको बैठकमा सहभागी हुँदै मन्त्री भट्टराईले सांसदका सुझावका आधारमा शिक्षा क्षेत्रमा पाठ्यक्रम, परीक्षालगायत विषयमा प्रणालीगत समीक्षा गरी अघि बढ्ने बताइन् । उनले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न संसद्सँग समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री भट्टराईले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कम विद्यार्थी उत्तीर्ण भएको विषयमा आफू गम्भीर भएको बताउँदै अब हुने पुरक परीक्षालाई व्यवस्थित गर्न लागिपरेको जानकारी दिइन् । विश्वविद्यालयमा वार्षिक क्यालेण्डरको कार्यान्वयन हुन थालेको उल्लेख गर्दै उनले कार्यान्वयन पक्ष प्रभावकारी र समयसापेक्ष बनाउन पहल गर्ने बताइन् ।

बैठकमा सांसदहरुले शिक्षकलाई अधिकारका साथै कर्तव्यमा पनि सचेत गराउनुपर्ने, दरबन्दी मिलान गर्नुपर्ने, एसइईमा कम विद्यार्थी उत्तीर्ण भएको विषयमा अध्ययन गर्नुपर्ने, मातृभाषा शिक्षालाई प्राथमिकता दिनुपर्ने, शिक्षक र कर्मचारीका आन्दोलनमा उठेका विषयको सम्बोधन हुनुपर्नेलगायत सुझाव दिएका थिए ।

विद्यालय शिक्षा विधेयक, २०८० माथि आजको बैठकमा संशोधनकर्तामध्ये आठ सांसदले आ–आफ्ना संशोधन प्रस्तुत गरेका थिए । संशोधनकर्ता वासुदेव घिमिरे, अमृतलाल राजवंशी, अच्युतप्रसाद मैनाली, बिजुला रायमाझी, बिना लामा, रञ्जुकुमारी झा, प्रतिक्षा तिवारी र शान्ति श्रेष्ठले आज संशोधन प्रस्तुत गरेका थिए ।

कूल एक सय ५१ सांसदद्वारा एक हजार सात सय ८२ संशोधन हालिएको सो विधेयकमा यसअघि १८ संशोधनकर्तासँग छलफल सम्पन्न भएको थियो । समितिका सभापति अम्बारबहादुर थापाले निरन्तर छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गराउन प्रतिबद्ध रहेको बताए ।

प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौंँ । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान र कानुनमा लेखेको कुरा आफैं कार्यान्वयन नहुने बताए ।

‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ ‘ गृहमन्त्री लेखकले भने,’ती आफै परिचालित र क्रियाशील हुने होइनन् ।’

उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन’ उनले भने,’नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो ।’ निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए ।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ ‘ गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँं ।’ गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो ।

‘नेपाल प्रहरी इतिहास बोकेको गर्व लगर्न लायक संस्था हो, उनले भने,’कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ ।’ सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने,’प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ ।’

उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिए ।

कानुन बमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित् दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।

‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको’ उनले भने,’त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुःख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईहरुलाई सम्झिन्छ ।’

सो अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो । मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गरेका थिए ।

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा बडाल २०७७ चैतदेखि २०७८ असारसम्म बडाल महान्यायाधिवक्ता थिए ।

नेप्सेमा ५४ अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । बुधबार नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय  ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । 

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । 

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २  को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो । 

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।

प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार संसदमा विश्वासको मत लिने भएका छन् । सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका छन् ।

ओली गत आइतबार संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । यो धाराअनुसार बन्ने प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिनका लागि संसद सचिवालयलाई बुधबार पत्र पठाएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । अहिले कांग्रेस, एमाले, जसपा र लोसपा सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने बताएका छन् ।

‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को  महसुल बक्यौता विवाद छिट्टै सुल्झिन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी  दिएका छन् ।


नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनले  निर्माण व्यवसायीले पाउनुपर्ने  भुक्तानी नरोकिने बताएका हुन् ।


“निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन”, अर्थमन्त्री पौडेलले भने ।


     उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उनले दिए ।


“डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस् । गैरकानुनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन”, अर्थमन्त्री पौडेलले भने, “यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ, भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो । अब तपाईहरु डेलिगेसन आइरहनुपर्ने अवस्था रहँदैन ।”


सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको उनको भनाइ छ ।


“सरकार अविभावकको रुपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिने छैन । राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस्”, अर्थमन्त्री पौडेलले भने, “तपाईहरुले आफूलाई निरीह, कमजोर र  असहाय नठान्नु होला । समस्याको समाधानसँगै मिलेर एकै टेबुलमा बसेर खोज्ने हो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोजौँ ।”


विकास तथा समृद्धि यात्रामा सरकार र निजी क्षेत्र सहयात्री भएकाले कुन एक पक्षले अर्को पक्षलाई बिर्सिएर जान नसकिने उनले स्पष्ट पारे ।


पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको अर्थमन्त्री पौडेलले बताए ।


“पछिल्लो दिनमा माग र आपूर्ति घटेको छ । राजस्व घटेको छ । पुँजीगत खर्च घटेको छ । सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मान्छेको मनोबल घटेको छ”, उनले भने, “सबै समस्याको समाधान भेटिन्छ तर, टुटेको मनोबलको समाधान भेटिन्न । यसकारण तपाईहरु उच्च मनोबलका साथ काम गर्नुहोस् । सरकार तपाईहरुसँगै छ ।”


अहिले निजी क्षेत्र लगानी बढाउने भन्दा पनि व्यवसाय कसरी टिकाइराख्ने भन्ने चिन्ताबाट ग्रसित भएकाले त्यसलाई सहजीकरण गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारिक सुधारमा आफु सधैँ तयार रहेको उनले जानकारी दिए ।


“सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिन्छ । निजी क्षेत्रलाई काम गर्न अप्ठेरो भएका नीति सहजीकरणका लागि सरकार तयार छ । कुन नीतिमा सरकारले कस्तो सहयोग गर्नपर्छ भनेर तपाईहरुबाट सुझाव आओस् ।”, उनले भने ।


सरकारका नीतिमा अस्थिरता भएको भनेर निजी क्षेत्रले गुनासो गर्ने गरेको र कानुन कार्यान्वयनका क्रममा अनावश्यक दुःख दिने गरेको भन्ने विषयलाई पनि सरकारले गम्भीर रुपमा लिने अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।


“सरकारले भूतप्रभावी कानुन बनाउँदैन । हिजो गरेका कामलाई आज कानुन बनाएर नियन्त्रण गर्ने दिशामा सरकार जाँदैन”, “निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने भन्ने गरेको सुनिन्छ । सरकार त्यसो गर्दैन । यदि कानुनी प्रबन्धमै समस्या छ भने त्यसलाई संशोधन गर्नेबारे छलफल गर्न सकिन्छ । कानुनमा समस्या छ भने सहज र लचिलो बनाउनेतर्फ सरकारले सोच्छ ।”


लघुवित्त र सहकारी क्षेत्रका समस्या समाधानका लागि सार्थक पहल भइरहेको दाबी अर्थमन्त्री पौडेलले गरे । त्यस्तै, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन गर्नेगरी ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।


उनले भने, “म कानुनको पालनामा विश्वास गर्छु । राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउने भन्ने उसको अधिकार क्षेत्रभित्रको कुरा हो । तर जहाँसम्म मलाई लाग्छ, राष्ट्र बैंकले पनि निजी क्षेत्रको मनोबल घटाउने गरि काम गर्दैन ।”


निजी क्षेत्रलाई थप उत्प्रेरित गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्छः  अध्यक्ष ढकाल


सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्रको सहभागितासहितको उच्चस्तरीय संयन्त्र तयार पारिनुपर्ने बताए ।


अहिले सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म सबै क्षेत्रको मनोबल खस्किएको र समग्र अर्थतन्त्र नै शिथिल भएको अवस्थामा त्यसको निकासका लागि गम्भीर पहल आवश्यक रहेको बताए ।


सरकारले तोकेको वरियताक्रम (प्रोटोकल) मा उद्योगी व्यवसायी तथा निजी क्षेत्रलाई पनि स्थान दिइनुपर्ने माग ढकालले राखे । उद्योगी व्यवसायी उत्साहित भएर नयाँ लगानी थप्नसक्ने अवस्थामा नरहेको पनि उनको भनाइ छ ।


“पर्याप्त तरलता र न्यून ब्याजदर हुँदा पनि लगानी भएको छैन । उद्योगी व्यवसायीले लिएको ऋणको साँवा ब्याज तिर्न सकेका छैनन् । नयाँ व्यवसायी बजारमा आउन सकेका छैनन्” अध्यक्ष ढकालले भने, “अहिले देखिएका यस्ता अनेकौँ समस्या समाधानको पहल गर्नका वित्तीय दायित्व नपर्ने गरी लागि निजी क्षेत्रसहितको उच्चस्तरीय संयन्त्र बनाउन आवश्यक छ । निजी क्षेत्रलाई उत्प्रेरित गर्न सरकारले ठूलै नीतिगत निर्णय गर्नुपर्छ ।”


अध्यक्ष ढकालले अवैध आयात बढेका कारण एकातर्फ सरकारी राजस्व गुमेको र अर्कोतर्फ व्यवसायीले पनि समस्या खेप्नुपरेको बताए  । सो अवसरमा अर्थमन्त्री समक्ष महासंघले विकास आयोजनामा जग्गा प्राप्ति, पहुँच मार्ग, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कामलाई छिटोछरितो बनाउन सरकारी निकायबाट सहजीकरण हुनुपर्ने माग राखेको थियो  । 


त्यस्तै, नियामकीय निकायको क्षेत्राधिकार स्पष्ट गरिनुपर्ने, निर्माण व्यवसायीले पानुपर्ने रकम चाँडै भुक्तानी गर्ने, डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद चाँडै सुल्झाइनुपर्ने, सहकारी र लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने लगायतका सुझाव निजी क्षेत्रले दिएको छ ।


आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा प्रणाली नबिग्रने गरी सहज र लचक व्यवस्था ल्याइनुपर्ने पनि निजी क्षेत्रको माग छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनलाई सहज बनाइनुपर्ने, पुँजीकोष व्यवस्थापनका लागि लचिलो नीति लिइनुपर्नेलगायत विषय निजी क्षेत्रले उठाएको छ ।

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा राजदूत सोङले परराष्ट्रमन्त्री भएकामा राणालाई बधाई दिएका थिए ।

भेटपछि राजूत सोङले भनेका छन्,’आगामी वर्ष नेपाल–चीनबीचको दौत्य सम्बन्धको ७० औँ वर्षगाँठ मनाउन हामी बहुआयामिक सम्बन्ध र सहयोग अभिवृद्धि गर्न सहमत भएका छौँ ।’

बर्तौला सत्तारुढ दलको मुख्य सचेतक नियुक्त

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला मनोनित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो ।

मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।

बंगलादेशमा रहेका नेपालीलाई अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन दूतावासको अनुरोध

काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

बङ्गलादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा उक्त दूतावासले त्यस्तो अनुरोध गरेको हो । 

कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः  + 880180691013 र + 8801745407958 मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । 

दूतावासले बुधबार सूचना जारी गर्दै बङ्गलादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बङ्गलादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।

चौधरी समूहद्वारा क्यानलाई १० लाख प्रदान

काठमाडौं । चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

सीजी फुडस्ले गरेको घोषणाअनुसार उक्त रकम आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहनस्वरुप हस्तान्तरण गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरुप प्रत्येक रनको १ हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार दिने घोषणा गरेको थियो ।

प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतक ५० हजार, प्रत्येक शतकको १ लाख रुपैयाँ दिने भनिएको थियो । त्यसका अतिरिक्त चौधरी समूहले १ लाख ५० हजार नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।

सुपर आठमा पुगेमा राष्ट्रिय टोलीलाई ३० लाख दिने घोषणा पनि चौधरी समूहले गरेको थियो । उक्त घोषणाअनुसार विश्वकपमा नेपाली टोलीको समग्र प्रदर्शनका आधारमा कुल रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार र छक्काको १ लाख ८ हजार रुपैयाँसहित जम्मा ९ लाख ४४ हजार र थप ५६ हजार हस्तान्तरण गरिएको हो ।

ललितपुर महानगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

पाटन । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०-८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

‘सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड राजस्व संकलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्यांकअनुसार दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व संकलन भइसकेको देखिएको छ, राजस्व संकलनको तथ्यांक अद्यावधिक भइरहेको र अन्तिम तथ्यांक आइनसकेको छैन,’ थापाले भने।

त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए।

‘गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार तीन अर्ब २५ करोड आठ लाख ८८ हजार खर्च भएको छ,’ धिमालले भने।

राजस्व संकलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०-८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछर्यौट गरेको धिमालले जानकारी दिए ।

लागत मूल्य नपाउँदा अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित

 चितवन । ५ वर्षभन्दा बढी समयसम्म लागतभन्दा कम मूल्यमा अण्डा बेच्नुपरेपछि ७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित भएका छन् । यसअवधिमा बैंकमा ऋण थपरे केही टिकेका छन् भने कही नयाँ आएका छन् ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघिसम्म नेपालमा ५ हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो संख्या २ हजारभन्दा तल छ । ‘जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो’, उनले भने ।

अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको भट्टको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उनी बताउँछन् । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य १६ रुपैयाँ छ ।

गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउँछन् । नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैंकको ऋण र ब्याज तिर्न नसकेको बताउँछन् ।

उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कँडेल २ लाख ८२ हजार उद्योगी बैंकको कालो सूचीमा छन् । तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उनको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायत कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउँछन् । अघिल्ला वर्षहरुमा बैकको ब्याज बढी हुँदा खर्च धान्न कठिन भएको छ ।

दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको हो । नेपालमा अहिले अण्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फार्मको संख्या १५ छ ।

ठूला फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि विसं २०७९ असोज २९ गते लेयर्स कुखुरापालक किसानले नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेका थिए ।

सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसानसमेत आउन थालेका हुन् ।

संघका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलो मात्रामा बैंक ऋण रहेको बताए । उनको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन ।

तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनी सुनाउँछन् ।

संघ गठन हुँदै गर्दा किसानले अण्डाको मूल्य प्रतिगोटा ८ रुपैयाँभन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उनी बताउँछन् ।

अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको संघको भनाइ छ । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् ।

एमएच १७ विमान खसालिएको घटनामा रुस जवाफदेही रहेको अस्ट्रेलियाको भनाई

अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ ।

सन् २०१४, १७ जुलाई मा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ–७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो ।

विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो।

क्यानबेरामा विमान आक्रमणमा मृत्यु भएकाको सम्झनामा आयोजित स्मारक समारोहमा विदेशमन्त्री पेनी वोङले शोकाकुल आफन्तहरूलाई भने, ‘रुसलाई जवाफदेही बनाउने प्रतिबद्धतामा अष्ट्रेलिया विचलित हुने छैन ।’

अस्ट्रेलिया र नेदरल्यान्ड्सको संयुक्त राष्ट्र सङ्घीय एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा रुसविरुद्ध मुद्धा चलिरहेको छ।

रुसले घटनामा कुनै पनि संलग्नता अस्वीकार गरेको छ । विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाको लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गरे ।

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ ।

अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मंंगलबार जनाएको थियो ।

यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी र्यालीमा शनिबार भएको गोली हानाहान जहाँ पूर्व राष्ट्रपति घाइते हुनुका साथै उनको एक समर्थक मारिएको घटनाको कथित इरानी षड्यन्त्रसँग सम्बन्ध नरहेको बताएको छ ।

तेहरानले सन् २०२० मा अमेरिकी ड्रोन हमलामा रिभोलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले वर्षौँदेखि इरानमाथि निगरानी राखेको बताएको छ।

इरानका लागि संयुक्त राष्ट्रको मिसनले उक्त आरोपलाई अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ ।

‘इरानले ट्रम्प विरुद्धको हालैको सशस्त्र हमलामा कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गर्दछ । तर ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्धा चलाउन भने इरान कटिबद्ध छ’ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बताए ।

बाङ्ग्लादेशमा आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शनमा ६ जनाको मृत्यु

बीबीसी । बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूमा ६ जनाको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएका छन् ।

सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए । बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ ।

त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ । असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन् ।

राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन् ।

यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग (बीसीएल) पनि संलग्न देखिएको छ । परस्पर विरोधी विद्यार्थी समूहहरूले एकअर्कामाथि इँटा र लट्ठी प्रहार गरेका थिए।

प्रहरीले त्यसरी झडपमा संलग्न भएका पक्षलाई छुट्ट्याउन अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। त्यस्ता हमलाहरूमा सयौँ मानिसहरू घाइते भएका विद्यार्थी अभियानकर्मीहरूले बताएका छन्।

बाङ्ग्लादेशमा सरकारी जागिरलाई निकै महत्त्व दिएको पाइन्छ। सरकारी जागिरमा आकर्षक तलब हुन्छ । लाखौँको सङ्ख्यामा रहेका सरकारी पदमध्ये झन्डै आधाभन्दा बढी निश्चित समूह वा वर्गका लागि आरक्षित गरिएको छ । शेख हसिना गत जनवरीमा भएको निर्वाचन लगातार चौथो पटक विजयी भइन् ।

उनको सरकारले सन् २०१८ मा नै विभिन्न विरोधप्रदर्शनहरूका माझ त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुन महिनाको आरम्भतिर अदालतले त्यस्तो प्रणालीलाई पुनर्स्थापना गर्न अधिकारीहरूलाई आदेश दिएको थियो।

त्यसपछि आन्दोलनको यो पछिल्लो लहर सुरु भएको हो । अधिकारीहरूका अनुसार दक्षिणी बन्दरगाह सहर चटगाउँमा तीन जनाको ज्यान गएको छ भने ढाकामा दुई जना मारिएका छन्।

उत्तरी सहर रङ्गपुरमा गोली लागेर अर्का एक विद्यार्थीको ज्यान गएको हो । मृतकमध्ये कम्तीमा तीन विद्यार्थी छन् । सरकारले हिंसाका निम्ति विपक्षी समूहहरूलाई दोष दिएको छ।

कोरला नाकामा एकीकृत भवन निर्माण

गलेश्वर (म्याग्दी) । गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ ।

गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजार रुपैयाँको लागतमा एकीकृत भवन निर्माण गरिएको हो ।

सीमा क्षेत्रमा सुरक्षा र राजस्व सङ्लन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि–फाइप प्रविधिको ६ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव–इञ्जिनीयर कमल पहारीले जानकारी दिए ।

कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । 

बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन् ।

“पार्कमा रहेको सुन्दर र आकर्षक चित्राकृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ”, स्थानीय मनबहादुर घलेले भने, “बारपाक आएका पर्यटक बुद्ध पार्क नपुगी शायदै कोही फर्कंदैनन् होला ।”

बुद्ध पार्कले बारपाकमा पर्यटकको आकर्षण थपिएको उनको भनाइ छ । “बारपाक आफैँमा प्राकृतिक हिसाबले पनि सुन्दर गाउँ हो,” उनले भने,, “यहाँको आफ्नै कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कले बारपाकीको संस्कृतिलाई थप उजागर गरिदिएको छ ।” बारपाक आउने पर्यटक बुद्ध पार्कमा घण्टौँसम्म बसेर रमाउने गरेको घलेले बताए ।

बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको बुद्ध पार्कमा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ । त्यस्तै, पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायत सामग्री पनि रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।

“पार्कमा पुग्ने पर्यटकले बारपाकको मनोरम दृश्यावलोकनसँगै बारपाकीहरुको संस्कृतिलाई राम्रोसँग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन्”, उनले भने,“त्यसैले पनि बुद्ध पार्क बारपाक पुग्ने पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।”

बुद्ध पार्क ढुङ्गगैढुङ्गगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो । “यो पार्क बारपाकभित्रै अर्को पर्यटकीय गन्तव्य पनि बनेको छ,” उनले भने, “प्राकृतिक स्वरुप झल्किएको यस पार्कको थप प्रचारप्रसार गर्नसके बारपाकमा अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।”

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका बिरगजे घलेको गाउँ बारपाक विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको केन्द्र विन्दु पनि हो ।

मधेस सरकाले सिमलताल पहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत दिने

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति  एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।

रसुवामा २० अर्ब ३६ राजश्व संकलन

रसुवा । जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रुपैयाँ रहेको छ ।

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्वि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।

प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । भेटमा नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नेपाल सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको राजदूतले बताएका थिए ।

राजदूत थम्पसनले भनेका छन्, ‘हामीले दुई देशबीचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौं । अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग काम गर्न तत्पर छ ।’

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व असुली

राँझा (बाँके) ।  नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । 


आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।


अघिल्लो आवभन्दा गत आवमा करिब  चार करोड कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा भन्सार लक्ष्य  २९ अर्ब ३२ करोड रहेकामा  १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।


चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो । 


कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४१ करोड ४० लाख ९८ हजार सङ्कलन गरेको थियो । भदौ महिनामा रु दुई अर्ब २२ करोड १४ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।


यस्तै, असोजमा रु दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा रु दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २४ करोड २१ लाख ५० हजार सङ्कलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।


कार्यालयले मङ्सिरमा रु दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार सङ्कलन गरेको थियो । त्यस्तै, पुसमा रु दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार सङ्कलन भएको छ ।


त्यसैगरी, माघमा रु दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ३१ करोड ८१ लाख २२ हजार सङ्कलन भएको छ । कार्यालयले फागुनमा रु दुई अर्ब ५० करोड १७ लाख ६५ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार असुली गरेको छ । 


कार्यालयले गत आर्थिक वर्षको चैतमा रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा रु दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा रु दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा रु दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।


नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मानव सेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए ।

प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भने । सो अवसरमा घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानव सेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पत्र समेत दिइएको थियो ।

भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानव सेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए ।

यसैबीच, मानव सेवा आश्रमकी संरक्षक राधिका शाक्यले श्रावण सङ्क्रान्तिका अवसरमा मानव सेवा आश्रममा आश्रित आमाबुबाहरूका लागि हिजो साँझ विशेष भोजन सेवा प्रदान गरेका थिए ।

मानव सेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ ।

हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ ।

आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ ।