`

बाङ्ग्लादेशमा आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शनमा ६ जनाको मृत्यु

Nepal One HD २ साउन २०८१ १३:४३
विश्व

बीबीसी । बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूमा ६ जनाको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएका छन् ।

सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए । बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ ।

त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ । असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन् ।

राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन् ।

यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग (बीसीएल) पनि संलग्न देखिएको छ । परस्पर विरोधी विद्यार्थी समूहहरूले एकअर्कामाथि इँटा र लट्ठी प्रहार गरेका थिए।

प्रहरीले त्यसरी झडपमा संलग्न भएका पक्षलाई छुट्ट्याउन अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। त्यस्ता हमलाहरूमा सयौँ मानिसहरू घाइते भएका विद्यार्थी अभियानकर्मीहरूले बताएका छन्।

बाङ्ग्लादेशमा सरकारी जागिरलाई निकै महत्त्व दिएको पाइन्छ। सरकारी जागिरमा आकर्षक तलब हुन्छ । लाखौँको सङ्ख्यामा रहेका सरकारी पदमध्ये झन्डै आधाभन्दा बढी निश्चित समूह वा वर्गका लागि आरक्षित गरिएको छ । शेख हसिना गत जनवरीमा भएको निर्वाचन लगातार चौथो पटक विजयी भइन् ।

उनको सरकारले सन् २०१८ मा नै विभिन्न विरोधप्रदर्शनहरूका माझ त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुन महिनाको आरम्भतिर अदालतले त्यस्तो प्रणालीलाई पुनर्स्थापना गर्न अधिकारीहरूलाई आदेश दिएको थियो।

त्यसपछि आन्दोलनको यो पछिल्लो लहर सुरु भएको हो । अधिकारीहरूका अनुसार दक्षिणी बन्दरगाह सहर चटगाउँमा तीन जनाको ज्यान गएको छ भने ढाकामा दुई जना मारिएका छन्।

उत्तरी सहर रङ्गपुरमा गोली लागेर अर्का एक विद्यार्थीको ज्यान गएको हो । मृतकमध्ये कम्तीमा तीन विद्यार्थी छन् । सरकारले हिंसाका निम्ति विपक्षी समूहहरूलाई दोष दिएको छ।


प्रतिक्रिया