हिरासतबाटै राहुल गान्धीले दिए मोदी सरकारलाई पाँचबुँदे चुनौती
एजेन्सी। भारतको लोकसभाका विपक्षी नेता राहुल गान्धीले प्रहरी हिरासतमा रहेकै अवस्थामा भिडिओ सन्देश सार्वजनिक गर्दै मोदी सरकारसमक्ष पाँचबुँदे माग अघि सारेका छन्।
प्रधानमन्त्री निवासअगाडि धर्ना दिँदा पक्राउ परेका गान्धीले शिक्षा क्षेत्रको संकट र विद्यार्थीमाथिको प्रहरी कारबाहीलाई लिएर सरकारमाथि प्रश्न उठाएका हुन्।
छत्रसाल स्टेडियममा राखिएको हिरासतबाट सार्वजनिक सन्देशमा गान्धीले शिक्षा प्रणालीमा देखिएका समस्या र आन्दोलनरत विद्यार्थीमाथि भएको बल प्रयोगबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
संसदमा यस विषयमा छलफल गराउन सभामुखसँग आग्रह गर्दा अनुमति नपाएपछि प्रधानमन्त्री निवासअगाडि धर्ना दिन बाध्य भएको उनको भनाइ छ।
गान्धीले गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनका क्रममा बल प्रयोग गर्ने सुरक्षाकर्मीमाथि कारबाही, विद्यार्थीविरुद्ध दर्ता गरिएका सबै मुद्दा खारेज, प्रश्नपत्र लीक प्रकरण र शिक्षा क्षेत्रका समस्याबारे संसदमा तत्काल बहस तथा विद्यार्थीमाथि भएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीबाट सार्वजनिक माफीको माग गरेका छन्।
प्रहरीले राहुल गान्धीसहित प्रियंका गान्धी, अखिलेश यादवलगायत विपक्षी नेताहरूलाई नियन्त्रणमा लिए पनि केही समयपछि रिहा गरेको बताइएको छ। उनीहरू राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लीक प्रकरण र आन्दोलनरत विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको विरोधमा धर्नामा बसेका थिए।
यता केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले भने विपक्षी दलको आन्दोलनलाई राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले संसदमा सबै विषयमा छलफल गर्न तयार हुँदाहुँदै कांग्रेसले सडक आन्दोलन रोजेको, सुरक्षा प्रोटोकल उल्लंघन गरेको र विद्यार्थीलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न खोजेको दाबी गरेका छन्।
यसैबीच विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउन शिवसेना (यूबीटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा आन्दोलनस्थल पुगेका छन्। कक्रोच जनता पार्टी (सिजेपी) ले पनि विपक्षी नेताहरूको उपस्थितिलाई स्वागत गरेको छ।
राहुल गान्धीको गिरफ्तारी र विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको विरोधमा भारतका विभिन्न राज्यमा प्रदर्शन सुरु भएको छ।
केरल, असम र उत्तर प्रदेशलगायत क्षेत्रमा विपक्षी दलका कार्यकर्ताहरू सडकमा उत्रिएका छन् भने संसद भवन र मध्य दिल्ली आसपास सम्भावित थप प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।
