`

भारतको चम्पारणमामा भेटिए सिमलताल दुर्घटनामा बेपत्ता बसका दुई यात्रुको शव

काठमाडौँ ।  चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।


सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार शुक्रबार बिहान १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।


भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव सनाखत भई आफन्तले बुझेका छन् ।

चितवनको माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका–१० का बस चालक ४३ वर्षीय किशोरकुमार चौधरीको शव सनाखत भएको छ ।


रौटहटको गरुडा नरपालिका–९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका–६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका–३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ का २८ वर्षीया चन्द्रप्रभा कुमारी र रौतहटको बौधिमाई नगरपालिका–७ का २९ वर्षीया अमृता कुमारीको शव सनाखत भई आफन्तले बुझी लगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।


थापाका अनुसार शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । 


पछिल्लो तथ्याङ्कअनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेका प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेका खुलेको छ । 


काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात् घर फर्केका छन् भने रौतहटका देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ ।

भारतको चम्पारणमा फेला परे दुई शव

दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए ।

तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा आशंका बढेको कोइरालाको तर्क

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेतृत्वको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेका आशंका व्यक्त गरेका छन् ।

शुक्रबार बिहान काठमाडौंमा कांग्रेस महानगर समितिका सभापतिहरुसँगको भेटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको बताएका हुन् । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरेका छन् ।

कोइरालासँग महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो गरेका थिए । भेटमा महानगर सभापतिहरु निलकाजी शाक्य(काठमाडौ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दीपक चापागाईं(विराटनगर) र मनिन्द्र नेपाली(वीरगन्ज) सहभागी थिए ।

तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको शुक्रबारभने एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।

उद्योगीसँग प्रधानमन्त्रीले भने-म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । 

शुक्रबार नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुनः जिम्मेवारीमा नआएको स्पष्ट पारे ।

उनले भने, ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।’

करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिए ।  

त्यस अवसरमा अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरे ।

उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त दिँदै उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउनसक्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । 

परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव हालेका सांसदले आफ्नै प्रस्ताव बिर्सिएपछि …..

प्रकाश सिलवाल, काठमाडौँ । ‘माननीय सभापतिज्यू, छ महिनाअघि संशोधन प्रस्ताव दर्ता गरेको थिएँ । छलफलका लागि अहिले खबर आयो । मैले के संशोधन हालेको थिएँ भन्ने पनि बिर्सेछु ।’

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसरी जिज्ञासा राख्दा सहभागी सांसदहरू गल्लल हाँसे । गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन रहेको सो विधेयकमा संसदीय इतिहासमै सबैभन्दा धेरै सांसद र धेरै दफामा संशोधन परेकाले सबै संशोधनकर्तालाई छलफलमा एकैपटक बोलाउन नसकिएले पालैपालो समितिमा छलफलका लागि आमन्त्रण गरिएको छ ।

नियमित छलफल नबोलाइने भएकाले आफ्ना पालोमा आएर आफ्नो संशोधन प्रस्तुत गर्ने अवसर मात्रै दिइँदा सांसदहरूले आफ्नै संशोधन बिर्सने स्थिति उत्पन्न भएको हो । सांसद घिमिरेले आफूहरूको कुनै कार्यालय नहुने भएकाले छलफलमा बोलाउँदा संशोधनहरू पनि उपलब्ध गराउन आग्रह गर्दै विधेयकलाई लामो समय विचारधीन राख्दा विषयवस्तुमा पनि हेरफेर आउने टिप्पणी गरे ।

सोही समितिको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांंसद रञ्जुकुमारी झाले पनि आफूहरूले आफ्नै संशोधन के थियो भनेर फेरि कागज पल्टाएर हेर्नुपरेको बताएकी थिइन् ।

विधेयकमाथि सरल र छिटो विधिबाट छलफल गरेर टुङ्गोमा लान उनको आग्रह थियो । कुल एक सय ५१ सांसदद्वारा एक हजार सात सय ८२ संशोधन हालिएको सो विधेयकमा हालसम्म २४ जना संशोधनकर्तासँग मात्रै छलफल सम्पन्न भएको छ ।

समितिका तत्कालीन सभापति भानुभक्त जोशी गत फागुन २३ गते तत्कालीन मन्त्रिपरिषदमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि रिक्त पदमा यही चैत ७ गते सांसद अम्मरबहादुर थापा निर्वाचित भएका थिए । नयाँ सभापतिले यही चैत ९ गते बैठक आह्वान गरी विधेयकमा संशोधन हाल्ने सात सांसदसँग छलफल प्रारम्भ गराएका छन् ।

समितिमा गत फागुन २० गते संशोधनकर्ता सदस्यसँग पहिलो छलफल भएकामा त्यसदिन बोलाइएका मध्ये एक सांसदमात्रै उपस्थित भएका थिए । बोलाएका दिन सबै सांसद नआउने र अर्काे दिन नआएका सांसदलाई बोलाउने कि बोलाउन बाँकी रहेकालाई बोलाउने भन्ने विषय समितिका लागि झन्झटको काम भएको छ ।

एकातिर विधेयक छिटो ल्याउनुपर्ने दबाब अर्कातिर धेरै संशोकनकर्तालाई छलफलमा एकत्रित पार्ने चुनौती समितिलाई रहेको छ । सभापति थापाले हिउँदे अधिवेशनसम्ममा यसलाई किनारा लगाउने र यो विधेयक पारित नभएसम्म आफू मन्त्री हुने अवसर पाए पनि नजाने बैठकमा घोषणा गरिसकेका छन् ।

नेपालको संविधानको मौलिक हक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा प्रतिनिधिसभामा दर्ता भई हाल विचाराधीन रहेको विधेयकलाई बहुप्रतिक्षीत विधेयकमा रुपमा लिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद रघुजी पन्तले धेरै सांसदमा संशोधन भएको र सबैलाई नियमित बोलाउन नभ्याउने भए मुख्य–मुख्य विवादका सवालमा राजनीतिक दलगत संशोधनकर्ता सांसदको छलफल गरेर ती दलका प्रतिनिधि सांसदले समितिमा नियमित भाग लिएर पनि यसलाई टुङ्गो लगाउन सकिने सुझाव दिए ।

विधेयकमा पेचिला मुद्दा

शिक्षा ऐन, २०२८ मा नवौँ संशोधनका आधारमा सञ्चालन भइरहेको विद्यालय शिक्षालाई संविधानअनुसारको नयाँ कानुन ल्याएर बिरानो कानुन खारेज गर्न लागिएकाले यसमा सरोकारवालाका पनि धेरै चासो छन् । विधेयकमा अधिकांश सांसदका उस्तै र पेचिला मुद्दामा संशोधन परेका छन् ।

आफ्ना माग र आफूहरुको आन्दोलनपछि भएका सहमतिको पालना भई छिटो विधेयक ल्याउन नेपाल शिक्षक महासङ्घलगायतले दबाब दिइसकेका छन् भने स्थानीय तहका जनप्रतिनिधिले संविधानमा उल्लेखित विद्यालय तहको आफूहरूको अधिकारमा तलमाथि भए अदालत जाने चेतावनी दिँदै आएका छन् । सामुदायिक विद्यालय शिक्षकहरू आफूहरुको सरुवा, अभिलेखलगायतका काम प्रदेश सरकारबाट गराउन चाहन्छन् ।

निजी विद्यालयलाई गुठी, कम्पनी या कुन ढाँचामा सञ्चालन गर्ने, संविधानतः निःशुल्क भनिएकाले माध्यमिक तहसम्म निजी विद्यालय सञ्चालन गर्न दिने नदिने, विद्यालय कर्मचारी र बालविकासका शिक्षकलाई दरबन्दीमा राख्ने नराख्ने आदि विवादमा विषय विधेयकमा छन् ।

राहत शिक्षक सङ्घर्ष समितिको मागका आधारमा आन्तरिक प्रतिस्पधार्मा ७५ प्रशितसम्म कोटा दिने सरकारसँगको सहमति कार्यान्वयन गर्न पनि चुनौतीपूर्ण देखिन्छ । शिक्षक, कर्मचारीलगायत कुनै पनि पेसामा राजनीतिक दलको भ्रातृ सङ्गठन कायम नराख्ने भन्ने विषय पनि विधेयकमा सन्दर्भमा पेचिलो विषय बनेको छ ।

सरकारले संसद्मा विधेयक दर्ता गराएपछि असन्तुष्ट महासङ्घले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि गत असोज ५ र १२ गते दुई चरणमा शिक्षक र कर्मचारीका माग र मुद्दामा सहमति भएको थियो । सहमतिलाई मन्त्री राईले प्रतिनिधिसभाकामा सैद्धान्तिक छलफलको जवाफका क्रममा प्रस्तुत गर्नुभएको थियो । नयाँ शिक्षामन्त्रीले उक्त सहमतिलाई कसरी स्वामित्व लिने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

संविधानबमोजिम विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न तथा विद्यालय शिक्षाका मुलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी विषयलाई व्यवस्थित यो विधेयक ल्याइएको हो ।

छलफल शिक्षामन्त्रीको प्राथमिकतामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयकमाथिका लगातार दुई दिन भएका समितिको छलफलमा पूरै समय दिएकी छन् । विधेयकमाथि छलफलमा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । यसअघिमा मन्त्रीहरूले छलफलको सुरुमा उपस्थित हुने र त्यसपछि सचिवलगायत कर्मचारीलाई जिम्मा दिएर हिँड्ने गरेकामा मन्त्री भट्टराई सरकारले आदर गर्नुपर्ने निकायका रूपमा संसद् भएकाले आफूले उच्च प्राथमिकता दिने बताएकी छन् ।

उनले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने स्पष्ट गरेकी छन् ।

अघिल्लो सोमबार शिक्षामन्त्री नियुक्त भएपछि पहिलोपटक विषयगत समितिको बैठकमा सहभागी उनले सांसदका सुझावका आधारमा पाठ्यक्रम, परीक्षालगायत मुलुकको शैक्षिक प्रणालीको समीक्षा गरी तदनुरुप काम गर्ने तथा त्यस निम्ति संसद्सँग समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

एकीकृत समाजवादीमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ ।

पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हो । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू नौ, मुस्लिम छ, अल्पसङ्ख्यक तीन र अपाङ्गता भएका व्यक्ति दुई प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।

युवा, प्रौढ र वृद्धको सहभागितालाई सुनिश्चितता गरेको पार्टीले हरेक तहको कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी र बढीमा दुई कार्यकाल मात्र कार्यकारी प्रमुख रहने व्यवस्था छ ।

अब केन्द्रीय सदस्य हुन व्यक्ति कुनै समुदाय, लिङ्ग वा उमेर समूहको भएर मात्र पुग्दैन । विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीचको लोकप्रियतालाई आधार बनाइएको छ ।

यो व्यवस्था विधानको अपरिवर्तनीय धाराका रूपमा राखिएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय छ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रिक्त छ ।

बाङ्ग्लादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको मृत्यु

बीबीसी । बाङ्ग्लादेशमा विद्यार्थी र प्रहरी बीचको हिंसात्मक झडप जारी रहँदा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरू पनि बन्द गरिएका छन् ।

हजारौँ प्रदर्शनकारीहरूले बिहीकार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए । बाङ्ग्लादेशका सूचना तथा सञ्चारमन्त्रीले बीबीसीलाई सरकारी टेलिभिजनको प्रसारण रोकिएको र अधिकांश कर्मचारीले राजधानी ढाकास्थित उक्त भवन छाडिसकेको बताए ।

प्रधानमन्त्री शेख हसिना बुधवार राति टेलिभिजनमा देखा परेर सबैलाई शान्त रहन आग्रह गरेकी थिइन् । केही दिनदेखि आरक्षणको विरोधमा बाङ्ग्लादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ ।

सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए । बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ ।

योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागु गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन् ।

न्युरोडको फूटपाथ विस्तारको विरोधमा स्थानीयको प्रदर्शन

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फूटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले फूटपाथ विस्तारको काम शुरू गरेसँगै शुक्रबार बिहान स्थानीय विरोधमा उत्रिएका हुन् ।

उच्च अदालतले फूटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम शुरू गरेको थियो । काम सुरु गरेपछि स्थानीय यसैको विरोधमा उत्रिएका हुन् । स्थानीय विरोधमा उत्रिएपछि न्युरोडमा उल्लेख्यमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः निर्माणको काम सुरु गरेको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक वजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने व्यहोराको पत्राचार एवं भौतिक रुपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।

सडक डिभिजनले महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने

गण्डकी । पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो ।

यही साउन १५ गतेदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने भवनको लागत ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

नयाँ भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन हुनेछन् । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सिमलताल पहिरोमा मृत्यु भएका विकका परिवारलाई दुई लाख सहयोग

चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरिन् ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।

मधेसमा कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् । अर्थसहित ४ मन्त्रालयको नेतृत्व गरी कांग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भएका हुन् ।

नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ शपथ लिएका छन् । मुख्यमन्त्री सतिश सिंहले नियुक्त गरेका नेपालीका कांग्रेसका ४ जना र लोसपाका १ जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराइन् ।

कांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।

यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छन् । शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ ।

बिनाविभागीय मन्त्री मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी यसअघि पनि प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

नियमन गर्ने निकायले स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा प्रधान–सम्पादक, सम्पादक र सञ्चारकर्मीसँगको छलफलका क्रममा उनले समस्याग्रस्त सहकारीका विषयमा खोजी समाचार आउनुपर्नेमा जोड दिए ।

समस्याग्रस्त सहकारीका विषयमा अहिलेसम्म सञ्चारमाध्यमले ल्याएका विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अझै गहिरिएर समाचार ल्याउने विषयमा सहकार्य गर्न समिति तयार रहेको सभापति थापाले सुनाए ।

सहकारीलाई नियमन गर्ने निकायले स्वनियमन भन्दै ध्यान नदिएकैले सहकारीमा समस्या आएको समितिको १८औँ बैठकसम्मको छलफलमा आएकाले सुनाएको उल्लेख गर्दै उनले यस विषयमा स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने बताए ।

समिति सदस्य एवं सांसद ईश्वरीदेवी न्यौपानेले संविधानमा उल्लेख भएको तीन खम्बे अर्थनीतिको एउटा खम्बाका रुपमा रहेको सहकारी ढल्न लागेकाले यसलाई थाम्नका लागि समितिले काम गरेको बताइन् ।

दैनिक ज्याला, मजदुरी गरेर कमाएको पैसा सहकारीमा राखेकाहरु अहिले पीडित भएकाले यो समस्या समाधान गर्ने गरी समितिले प्रतिवेदन बुझाउने उनको भनाइ थियो ।

सांसद लेखनाथ दाहालले हालसम्म समितिको १८ वटा बैठक बसेकामा १३ वटा बैठक सुझाव लिनकै लागि छलफल गरिएको बताए । समस्या आएका सहकारीलाई समाधानका लागि छदेखि आठ महिनासम्मको समय दिनुपर्ने उनको विचार थियो ।

सहकारीको बचत ठगी गरी विदेश भागेका गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको उल्लेख गर्दै सांसद दाहालले उनले नेताको जन्मदिनमा केक बोकेर जाने गरेको सुनाए ।

सांसद सरिता भुसालले गाउँमा खोलिएका र महिलाद्वारा सञ्चालित सहकारीमा भने समस्या नभएको बताइन् ।

सांसद शिशिर खनालले राजनीतिक कारणले सहकारी नियमनमा समस्या आएको उल्लेख गर्दै समितिबाट देशभरका सहकारीपीडितले पैसा फिर्ताको आशा गरेकाले त्यसै अनुरुपको नीति बनाउन सहयोग पुग्ने गरी प्रतिवेदन तयार गर्न छलफल केन्द्रित रहेको बताए ।

सांसद ध्रुवबहादुर प्रधानले सहकारीसँग सरोकार भएका निकायले विगतदेखि समस्या पन्छाउँदा अहिले ठूलो रुप लिएको उल्लेख गरे । यसलाई अहिले नै समाधान गर्ने गरी अघि नबढाएपछि अझ ठूलो समस्या आउने भएकाले सरोकार भएका निकायलाई संसद्ले सचेत बनाउनुपर्ने विचार राखे ।

बैठकमा समितिले विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गरिनुपर्ने कामका विषयमा सुझाव लिएको थियो । समितिको काम अन्तिम चरणमा पुगेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताएका छन् । उनले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताए ।

‘पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ’, महान्यायाधिवक्ता बडालले भने, ‘मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।’ उनले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिए ।

महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गरे ।

उनले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गरेका थिए । यसअघि, बडाल छोटोे समयका लागि महान्यायाधिवक्ता भएका थिए ।

आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन्।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए।

“प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनुभएको होइन। समस्या देखेर त्यो समाधानका लागि सरकार आएका हौँ”, अर्थमन्त्री पौडेलले भने, “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ।” उनले समस्या मात्र नभइ समाधानका लागि निजी क्षेत्रसँगसँगै बसेर छलफललाई केन्द्रित गर्नेसमेत बताए।

परिसङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने बताए। उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाइ थियो।

तीन वर्षदेखि उद्योग ३०/४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा सङ्कुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष अग्रवालले बताए। परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ।

सो अवसरमा परिसङ्घका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, रोहित गुप्तालगायतले मन्त्री पौडेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नका लागि हामी भागबण्डामा सरकारमा गएका हौंः सभापति लामिछाने

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।  

रास्वपाले बिहबिार आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिए ।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तरक्रियामा लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखे ।

रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उहाँले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

क्रेडिट रेटिङ एजेन्सीबारे चर्चा गर्दै सभापति लामिछानेले  ५० करोडभन्दा माथिको कर्जा रेटिङ गर्ने एजेन्सीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिए । “यी रेटिङ एजेन्सीलाई कसले हेर्ने ? त्यसको नियमन गर्ने निकाय को ? यस्ता एजेन्सीमा केही सीमित घराना हावी छन्”, उनले भने । 

लामिछानेले सरकारमा सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताए । उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदि हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषदको बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौं । तर, भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्कोतिर प्रश्न गर्छन् ।

दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ । केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं ।’

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको उपसभापति स्वर्णीम वाग्लले विदेशी मुद्राको सञ्चितिको सदुपयोगमा गर्नुपर्नेमा जोड दिए। उनले वित्तीय नियमनलाई समयअनुकूल बनाउनुपर्ने धारणा व्यक्त गरे । 

उनले आधुनिक विश्वमा डिजिटल मुद्रा जस्तै पैसाप्रतिको अवधारणा र यसको नियमनलाई नयाँ शिराबाट बहस हुनुपर्ने आवश्यकता औँल्याए । उनले केन्द्रीय बैंकको डिजिटल मुद्रा (सिबिडिसी)को भविष्यमा नेपालमा प्रयोगको सम्भावना र तयारीबारे समेत सचेत गराए ।

अन्तरक्रियामा आउँदै गरेको मौद्रिक नीतिबारे बहस गरिएको थियो । अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, इक्रा नेपालका व्यापार प्रमुख वर्षा श्रेष्ठ र पूर्व बैंकर भुवनकुमार दाहाल सहभागी थिए । 

मनसुनभरि पृथ्वीराजमार्गको सडक स्तरोन्नति बन्द गरिने

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो ।

असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् ।

“बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ”, इञ्जिनियर पाण्डेले भने, “हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उनले जानकारी दिए ।

“पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ”, पाण्डेले भने, “राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।”

पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्र गरिएको छ । असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ विछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ । 

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापा । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ।

यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए। उनका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ ।

यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर  ६० लाख रुपैयाँको लागतमा सुरु गरिएको कारखानामा हाल  तीन करोड बढी लगानी भइसकेको छ ।

स्थानीय व्यक्तिको सहयोगमा सञ्चालन गरिएको कारखानाबाट उत्पादन हुने पातमल, जरामल, धुलोमलको प्रयोगले बोटबिरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्राङ्गारिक जीवाणुको रक्षा गर्ने उनले बताए। माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दै आएको छ ।

जीवाणु प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पुर्‍याउने बताए।

महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखानाबाट विगत छ महिनादेखि व्यावसायिक उत्पादन सुरु भएको छ । कारखानाबाट एकपटकमा सय टन धुलो मल र महिनामा ६० देखि ७० हजार लिटर झोल मल उत्पादन हुँदै आएको छ ।

स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चापदार्थ यो मल बनाउन प्रयोग हुने गरेको अध्यक्ष घिमिरेले जानकारी दिए। हाई हिमालयनले कम्पोस्ट मल प्रतिकिलो र ४० रुपैयाँ र झोलमल प्रतिलिटर ४० रुपैयाँका दरले बिक्री गर्दै आएको छ ।

सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिँदै आएको छ । उहाँले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायत देशको भ्रमण गरिसकेको बताए।

उनले सरकारले किसानलाई रासायिनक मलमा अनुदान दिने गरेको तर प्राकृतिक जैविक मललाई बेवास्ता गर्ने गरेको आरोप लगाए। उनले सरकारले बेवास्ता गरे पनि किसानको मागलाई धान्नका लागि निकट भविष्यमै मेचीनगर, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत उद्योग सञ्चालनको तयारी रहेको बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा एक मात्र हाई हिमालयन अर्गानिक प्रालि मात्र जीवाणु मलको कारखाना रहेको बताए। उनले विगतमा कारखाना स्थापनाका लागि सरकारले ४० लाख अनुदान समेत प्रदान गरेको जानकारी दिए।

अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई

भेरीगङ्गा (सुर्खेत) । बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका–४ मा जन्मिएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुन् । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन छन् । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जान्थेँ ।

सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राविमा प्राथमिक तहसम्मको अध्ययन गरेका दुर्गालाई कक्षा पाँचभन्दा माथिको शिक्षा लिन निकै चुनौतीको सामना गर्नुपर्यो ।

घरको आर्थिक अवस्था कमजोर थियो । दुर्गा भन्छन्, “हामी दुई भाइ, पढाइ गर्नुपर्ने घर खर्च चलाउनुपर्ने, बुबाआमालाई हम्मेहम्मे थियो । त्यति हुँदा पनि पढाइलाई भने निरन्तरता दिएँ ।”

विद्यालयमा गुरुहरुले दुर्गालाई धेरै मायाँ गर्थे । सानै कक्षादेखि राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गा घरको काम गरेर विद्यालय जान्थेँ । घरको आर्थिक अवस्थाका कारण पढेर असल व्यक्ति बन्ने लक्ष्यमा लिएको बताउँदै कहिलेकाहीँ लक्ष्य पूरा हुँदैन कि भन्ने चिन्ता लाग्ने गरेको दुर्गा सुनाउँछन् ।

“मेरो पढाइ राम्रो थियो, म कहिले पनि कक्षामा फेल भइनँ, सानो कक्षामा सधैँ प्रथम हुन्थे । घरको अवस्था परिवर्तन गर्नुपर्छ, मैले केही गरेर देखाउनुपर्छ भनेर पढाइमा धेरै मेहेनत गर्थे, आर्थिक अभावले मेरो पढाइ त रोकिन्न भन्ने पनि लाग्थ्यो”, दुर्गा भन्छन् ।

चुनौतीको समानाले पाएको सफलता

बुबाआमाको कमाईबाट मात्रै घर खर्च टार्न, शिक्षा दिक्षा गराउन गाह्रो थियो । जिम्मेवारी पनि बढ्दै थियो । उनले अभावका बीचमा पनि धेरै सङ्घर्ष गर्दै आफ्नो मेहनतलाई निरन्तरता दिए। उनले हिमालय मावी डाँडीमाडी दैलेखबाट एसएलसी पास गरे । एसएलसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका दुर्गाको सरकारी जागिरमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य थियो ।

प्लस टू (१० जोड २) को पढाइ गराउन सक्ने अवस्था बुबाआमासँग थिएन । “अब मेरो पढाइ रोकियो, पढेर आफ्नो लक्ष्य पूरा गर्ने सपना अधुरै रह्यो भन्ने चिन्तामा थिएँ”, दुर्गा भन्छन्,” “मसँग पढेका सबै साथी पढ्न अन्यत्र गइसके, एकातिर घरको कमजोर आर्थिक अवस्था छ, अर्कोतिर आफूसँगै भाइको पढाईलाई पनि निरन्तरता दिनु छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने भयो भन्ने लाग्थ्यो ।”

उनको रोकिने अवस्थामा पुगेको अध्ययनलाई अगाडि बढाउन परिलक्षित संस्थाले सहयोग ग¥यो । अपाङ्गताका क्षेत्रमा काम गर्ने परिलक्षितले आर्थिक अभाव भएर पढाइ गर्न नसकेका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको थाहा पाएपछि दुर्गा परिलक्षितको सम्पर्कमा गए । उनलाई काठमाडौँमा पढ्ने, बस्नेलगायत व्यवस्था उक्त संस्थाले गरिदिएपछि दुर्गाको उच्च शिक्षा बाटो खुल्यो ।

“घरको आर्थिक अवस्था कमजोर हुँदा मैले पढाइ रोक्ने निर्णयमा पुगेको थिएँ”, दुर्गा भन्छन्”, “मेरो उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्च सबै परिलक्षितले गरिदिएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ, म संस्थाप्रति आभारी छु ।” पढाइसँगै खाने, बस्ने सबै व्यवस्था भएपछि उनलाई सरकारी सेवामा प्रवेश गर्न थप सहज भयो ।

लोकसेवा आयोगको परीक्षाबाट पहिलोपटक नै सिफारिस

सानैदेखि पढाइप्रति मेहेनत गर्ने दुर्गाले पढ्ने वातावरण पाए । स्नातक तह पार गरेका उनले सँगसँगै लोकसेवा आयोगको तयारी गरे । “गाउँमा दृष्टिसम्बन्धी अपाङ्गता भएकाले केही गर्न सक्दैन भन्ने सोच राख्ने गरिन्थ्यो । रातदिन नभनेर आफ्नो पढाइमा मेहेनत गरेपछि सफल भइदो रहेछ”, उनी भन्छन्।

विसं २०६९ मा पहिलोपटक लोकसेवा आयोगको चौँथो तहमा परीक्षा दिएका दुर्गाले पहिलो पटक नै नाम निकाल्न सफल भएको थियो । अब भने आफ्नो लक्ष्य पूरा भएको उनले अनुभूति गर्न थाले । पहिलोपटक सरकारी सेवामा प्रवेश गरेपछि दुर्गाले धादिङमा गएर सेवा थाले । उनको लक्ष्य र सफलताको यात्रा यतीमा रोकिएन ।

दुर्गाले जागिर गर्दै पढ्दै गरेर लोकसेवा आयोगको पाँचौँ (नायब सुब्बा) मा समेत नाम निकाल्न सफल भए । चार वर्ष धादिङमा सेवा गरेका उनी सुर्खेतको वराहातालमा तीन वर्ष सेवा गरी अहिले डोल्पाको काइके गाउँपालिकामा सेवा गरिरहेका छन् । आर्थिक अभावसँगै अपाङ्गता भएका व्यक्तिले पनि सफलता प्राप्त गर्न सक्छन भन्ने उदाहरण दुर्गाप्रसाद रिजाल भएको छ ।

दुर्गा भन्छन्, “अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि केही गर्न सक्दैनन् भन्ने सोच समाजमा राखिन्छ तर अवसर दियो भने सफलता प्राप्त गर्न सक्छन् । त्यसका लागि सोच बदल्न आवश्यक छ । अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाले पनि समाजमा सचेतना जगाउने किसिमका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

आर्थिक अभाव मात्रै नभई अपाङ्गता भएर शिक्षा र अन्य क्षेत्रमा पछाडि पारिएका व्यक्तिलाई अवसर दिनेगरी योजना सामाजिक संस्थासँग सहकार्य गरी कार्यान्यवन गर्ने आफ्नो भावी योजना रहेको दुर्गा बताउँछन् । 

सरकारी अस्पतामै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए ।

आव २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रिया मार्फत् शिशु जन्माएका थिए । उनले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताए । यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा अधिकारीले बताए ।

उनले भने, ‘तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।’अस्पतालका निर्देशक डा अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताए ।

‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ’ उनले भने, “तर हामीकहाँ ४० बिरामी बराबर तीन नर्स कार्यरत छन् । त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।’

उनका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिए ।

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उनको भनाइ छ । ‘शिशु जन्माउने क्रममा अत्यधिक दुखाइ भयो भने शल्यक्रियाको सट्टा दुखाई कम गराउने सेवा दिन्छौँ’ उनले भने, ‘यो सेवा दिनमा हामीले दुईदेखि तीन जनासम्मलाई मात्र दिनसक्छौँ ।’

अस्पतालका दैनिक ६० देखि ७० सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृमृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको रहेको छ ।

वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छः नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे । मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत थिए ।

महान्यायाधिवक्ता वडालले लिए शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

शीतल निवासमा बिहीबार आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियोे ।

सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।

६० अङ्कले उकालो लाग्यो शेयर बजार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झण्डै ६० अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।

नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैँक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए ।

गाजा सङ्कटको राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न राष्ट्रसंघ महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी सङ्कटको राजनीतिक समाधानमा जोड दिन आग्रह गरेका छन् ।

कब्जाको अन्त्य गरी अन्तर्राष्ट्रिय कानून तथा राष्ट्रसङ्का प्रस्ताव अनुरूप द्वन्द्व समाधान गर्ने राजनीतिक समाधान खोज्नमा पुनः ध्यान केन्द्रित गर्नुपर्ने राष्ट्रसङ्घका महासचिवका चिफ डे क्याबिनेट, कर्टेने रट्रेले सुरक्षा परिषद्मा गाजामथि भएको बहसमा संयुक्त राष्ट्रसङ्का प्रमुखको तर्फबाट उल्लेख गरेका छन् ।

रट्रेले गाजाको गम्भीर परिस्थितिमना ध्यानाकार्षण गदै चलिरहेको द्वन्द्व अराजकताको विशेषता भन्दै बढ्दो क्षेत्रीय अस्थिरता र गाजामा संकटको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समयमा गाजामा इजरायली सैन्य कारबाही र लडाइँ तीव्र भएको भन्दै रट्रेले स्थितिबारे गम्भीर जनाकारी प्रदान गरे ।

उनका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले गाजाबाट इजरायली जनसङ्ख्या केन्द्रतर्फ रकेट प्रहार जारी राखेका छन् , राफाह भग्नावशेषमा परिणत छ भने राफाह क्रसिङ बन्द भएकाले मानवीय कार्यमा थप बाधा पुगी रहेको छ ।

गाजामा बीस लाख मानिसहरु विस्थापन भएको उल्लेख गर्दै उनले गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या त्रासदीको सिकार भएको उल्लेख गरेका छन् ।

सार्वजनिक व्यवस्थाको विच्छेद र क्षेत्रीय फैलावटको बढ्दो खतरालाई प्रकाश पार्दै, रट्रेले तत्काल मानवीय युद्धविराम, सबै बन्धकको तत्काल बिना शर्त रिहाईको लागि राष्ट्रसङ्घको आह्वानलाई दोहोर्याएका छन् ।

उनले नागरिकको अस्तित्व र कल्याण सुनिश्चित गर्न सबै क्रसिङबाट मानवीय सहायताको निरन्तर पहुँचको आवश्यकतामा जोड दिए ।

रट्रेले सङ्कटलाई सम्बोधन गर्न तत्काल कारबाहीलाई जोड दिँदै मार्ग परिवर्तन गरी मानवता विरोधि गतिविधि तुरुन्तै बन्द हुनुपर्ने उल्लेख गरेका छन् ।

इजरायली बस्तीमा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र शान्तिका बाधाक जन्य कार्य भएको उल्लेख गर्दै उनले वैध प्यालेस्टिनी सरकार अन्तर्गत गाजामा शासन पुनःस्थापना गरी नेतृत्व गर्न प्यालेस्टिनी प्राधिकरणलाई बलियो बनाउन आह्वान गरे ।
हिंसा अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन र संलग्न सबै व्यक्तिको अधिकार र मर्यादालाई सम्मान गर्ने स्थायी समाधानका लागि काम गर्न संलग्न सबै पक्षलाई रट्रेले आह्वान गरेका छन् ।

फ्रान्समा भएको आगलागीमा सात जनाको मृत्यु

दक्षिणी फ्रान्सेली सहर निसको मजदुर वर्गको नजिकमा रहेको आवासीय भवनमा रातभर आगलागी हुँदा सात जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

उद्धारकर्तालाई लगभग २ः३० बजे आगलागीे बारे सूचना गरिएको उल्लेख गर्दै आगलागीको कारण अझै अज्ञात रहेको बताएका छन् । पर्याप्त स्रोतहरू तैनाथ भए तापनि, दुर्भाग्यवश आगलागीमा सात जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।

आगलागी बाट पिडितहरुलाई आपतकालिन रूपमा अस्पताल लगि अस्पतालमा भर्ना गरिएको थियो ।

उद्धारकर्ताहरूले भवनको सातौं तलामा हिंसात्मक आगलागीको सामना गरेको जनाउदै तीनवटा हवाई सिढीबाट दर्जनौँलाई उद्धार गरी भवन खाली गरिएको जनाएका छन् ।

उनीहरुले २५ वटा फायर इन्जिन र ७२ वटा अग्नि नियन्त्रकमा संलग्नतामा आगो नियन्त्रणमा लिएको जनाएका छन् ।

एक किलो कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी तथा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘कतार एअरलाइन्सबाट यही साउन १ गते नेपाल आएका नाइजेरियन नागरिक ओबोडोइफुलाले ल्याएको उक्त कोकिनसहित भारतीय नाकगरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो ।’

उक्त कोकिन लिएर आएका नाइजेरियन नागरिक ओबोडोइफुलालाई पनि काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरिएको प्रमुख आचार्यले बताए । उक्त कोकिन ल्याएर अन्सारी इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका खुल्नमा आएको ब्यूरोले जनाएको छ ।

उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारदेखि ल्याएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए । 

चार मन्त्रीसहित कांग्रेस मधेस सरकारमा सहभागी हुने

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । बिहीबार बसेको कांग्रेसको प्रदेशसभा संसदीय दलको बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

कांग्रेसले मुख्यमन्त्री सतीश सिंहसमक्ष आफ्नो पार्टीबाट मन्त्री हुनेको नामसमेत सिफारिस गरेको छ । कांग्रेसबाट प्रदेशसभा सदस्य सुनिल यादवलाई अर्थमन्त्री, जनार्दन क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, शेषनारायण यादवलाई ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्रीमा सिफारिस गरिएको छ ।

कांग्रेस सरकारमा सहभागी हुने भएसँगै जनमत पार्टीका सिंहको सरकारमाथिको संकट टरेको छ । यसअघि अर्थ मन्त्रालय नपाएको भन्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।

नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ ।

कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए ।

उनले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युत्को मागअनुसार आपूर्ति गरिएको बताए । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।

“घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ”, इन्जिनियर लामिछानेले भने । थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लााभावन्वित हुनेछन् ।

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ । नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर लामिछानेले ३० थान दुई सय केभीका नयाँ ट्रान्सफर्मर र एक सय केभीका ८० ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको जानकारी दिए ।

हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युत्को लोड व्यवस्थापनका लागि अन्य मर्मतसम्भारसहितका काममा एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ ।

“आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ”, लामिछानेले भने । विद्युत् लाइनका लागि हावाहुरीले क्षति पु¥याएकामा नयाँ खम्बासमेत गाडिएको छ ।

भिजिट भिसामा कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


उनले भने, ‘बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट निजलाई पक्राउ गरेको हो ।’


अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब  ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई  दुई लाख नगद लिई दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगि बन्धक बनाई घरेलु काममा लगाई यौनशोषण गरी जबरजस्ती गर्भपतनसमेत गराएको पीडितको आरोप छ ।


यसैगरी, युएईमा भन्दा कुबेतमा राम्रो तलब हुन्छ भनेर विसं २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्याई  एजेन्टले अर्कोलाई जिम्मा लगाएको र निजले पीडितलाई बन्धक बनाई श्रम र यौन शोषणसमेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए ।


पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा रु छ लाख ७५ हजार रकम बुझाउन भनेपछि आफन्तमार्फत उक्त रकम बुझाई विसं २०८० मङ्सिर ३ गते नेपाल फर्कन सफल भएका प्रहरीले जनाएको छ । 


पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

चितवनमा अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु

चितवन । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताला भर्ना भएको जनाइएको छ । बिहीबार बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका खाम्चा मगर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते खाम्चा मगरको सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

देश प्रशंसा गर्न लायक छ, तर अवस्था छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा ६२ औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको अवस्था सन्तोषजनक नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताएका हुन् ।

उनले देश अप्ठ्यारो अवस्था रहेकाले त्यसलाई सजिलोमा परिणत गर्नुपर्ने बताए । उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्नेछ ।’

उनले देशको अप्ठ्यारोको समाधान खोज्ने सकिने भएकाले इन्जिनियरहरुलाई ढुक्क हुन आग्रह गरे ।

पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बङ्गला

चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

चार दिनसम्म निःशुल्क प्रवेश गराइएकामा असार २७ गतेदेखि शुल्क लिएर प्रवेश दिइएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार असार २७ गतेयता एक सातामा दुई हजार ८६ जनाले दियालो बङ्गला अवलोकन गरेका छन् । प्रवेश शुल्कबापत एक लाख ९१ हजार सात सय राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै, छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि दुई सय र अन्य मुलुकका पर्यटकलाई तीन सय शुल्क तय गरिएको उपप्रमुख अधिकारीले बताए । यहाँ दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

‘भरतपुर–१ मा दियालो बङ्गला अवस्थित छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो’, उपप्रमुख अधिकारीले भने ।

महानगर प्रमुख रेनु दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताइन् । दरबार क्षेत्रमा बालबालिकाका लागि संरचना नबिग्रने गरी बालउद्यान बनाउने तयारी गरिएको उनले जानकारी दिइन् ।

जाडो समयमा राजपरिवारले यही दरबारमा आएर समय बिताउने गर्दथे । सिकार खेल्न आउँदा बस्ने ठाउँका रुपमा यसलाई लिने गरिन्छ । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ ।भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालय सँगै जोडिएका छन् ।

राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन ।

दियालो बङ्गलाले ऐतिहासिक महत्व बोकेकाले विद्यालय र क्याम्पसका विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन र अवलोकन गराउनुपर्ने महानगर प्रमुख दाहालले बताइन् । लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको उनले जनाइन् ।

बर्सात सकिएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको दाहालले बताइन् । थप पूर्वाधार निर्माणसँगै बालउद्यानसहितको व्यवस्थापनका लागि महानगरले योजना बनाइरहेको उनले जानकारी दिइन् ।

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९१ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको परिवारले जनाएको छ ।

निमोनिया र बाथरोगबाट पीडित उनी दुई महिनायता उपचाररत थिइन् । उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् ।

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।  


परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे ।  


कामपाले सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए ।


“डेङ्गी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने ।


रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । 


डेङ्गीको मुख्य लक्षण 


डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गीसम्बन्धी फोकलपर्सन भुसालले बताए ।


“टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने,“एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।”


यसबाट बच्ने तरिका 


डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता ककाम गर्नुपर्छ । 

गण्डकी प्रदेशमा सरकार पुनगर्ठनमा सहमति खोजिँदै

गण्डकी । प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार पुनगर्ठन बारे छलफल नै सुरु भएको छैन । 

कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भएको भनिए पनि प्रदेशमा सत्ता साझेदारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुवै दलले कुराकानी गरेका छैनन् ।

एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नयाँ सरकार गठनबारे कांग्रेससँग अब छलफल सुरु गरिने जानकारी दिए । 

“पार्टी केन्द्रको निर्देशन र सुझावका आधारमा हामी अगाडि बढ्छौँ, यहाँ मुख्यमन्त्री र उहाँको दलले कसरी प्रस्ताव ल्याउँछ त्यसपछि बल्ल एमाले सरकार जाने विषय टुङ्गो लाग्छ”, उनले भने, “प्रदेशमा रहेका अरू साना दललाई सरकारमा समेट्ने या नसमेट्ने भन्ने विषय पनि सत्ता साझेदार मुख्य दुई दलबीचको सहमतिमा मात्र निर्णय हुन्छ ।” गण्डकीमा अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य, नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थनमा उनले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

सरकारमा नेसपाका देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङ मन्त्रीसमेत छन् । राप्रपालाई पनि प्रदेश सरकारमा समेट्ने तयारी भइरहेकै बेला केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलले त्यो प्रक्रिया रोकिएको थियो । 

गण्डकीमा दुई ठूला दल मिल्दा दुई तिहाइ बहुमत पुगे पनि मुख्यमन्त्री पाण्डेका लागि सरकार पुनर्गठनको विषय त्यति सहज देखिएको छैन । सङ्कटका बेला साथ दिएका साना दललाई सँगै लिएर सरकार बनाउने मुख्यमन्त्रीको चाहनामा एमाले सहयोगी बन्छ कि बाधक त्यसले नयाँ सत्ता साझेदारीको खाका तय गर्ने देखिन्छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेसहित विगतमा कांग्रेसलाई सहयोग गरेका दलहरुलाई समेटेर सरकार पुनर्गठन हुने जानकारी दिए ।

“हिजो कठिन अवस्था साथ दिएका दलहरुलाई बाहिर राखेर हामी मात्र सरकार सञ्चालन गर्ने भन्ने पक्षमा कांग्रेस छैन, एमालेसहित हिजो मुख्यमन्त्रीलाई विश्वासको मत दिने दल र स्वतन्त्र प्रदेशसभा सदस्यको पनि उचित व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “सरकारलाई समर्थन गर्ने सबै दललाई मिलाएर लैजाने विषयमा मुख्यमन्त्री प्रस्ट हुनुहुन्छ, बाँकी विषय दलहरुबीचको छलफलबाट टुङ्गिन्छ ।”

उनले गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने निर्णय भइसकेकाले अब सरकार पुनर्गठनका विषयमा दलहरुबीच प्रदेशतहमा छलफल सुरु हुने बताए ।

“अहिलेसम्म नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार बनाउने विषयमा औपचारिक छलफल भएको छैन”, उनले भने, “एक–दुई दिनभित्रैमा सरकार पुनर्गठनको विषयमा सहमति जुट्छ ।” 

कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले कांग्रेसका २७, राप्रपाका दुई, नेसपाका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाएका थिए । एमालेका २२ र माओवादी केन्द्रका छ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए ।

त्यसअघि मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

हाथरसमा आयोजित हिन्दू धार्मिक सभामा भएको घटनाबाट भोलेबाबा दुःखी

भारतमा आयोजित एक धार्मिक भेलामा भएको घातक भागदौडमा एक सय २० भन्दा बढी मानिसहरुको ज्यान गएको घटनाको समीक्षा गर्दै एक भारतीय प्रवचकले भाग्यलाई चुनौती दिन नसकिने र मृत्यु अपरिहार्य रहेको बताएका छन् ।

उत्तरी सहर हाथरसमा आयोजित हिन्दू धार्मिक सभामा जुलाई २ मा भएको भागदौडमा एक सय २१ जनाको मृत्यु भएपछी पहिलो पटक सञ्चारमाध्यमसमक्ष प्रस्तुत भएका प्रवचक भोलेबाबाले आफू यो त्रासदीबाट दुःखी भएको बताए ।

“जे भयो त्यसबाट म धेरै दुःखी छु, तर भाग्यलाई कसले चुनौती दिन सक्छ र ? जो कोही पनि यस पृथ्वीमा आउँछ उसले एक दिन जानैपर्छ” उनले भने ।

प्रहरी कन्स्टेबलबाट प्रचारक बनेका बाबाले बुधबार भागदौड भएको स्थानबाट करिब ६० किलोमिटर टाढाको कासगञ्जमा रहेको धार्मिक मठबाट स्थानीय सञ्चारमाध्यमसँग कुरा गरेका हुन् ।

बाबाका वकिलले यसअघि भिडमा रहेका असामाजिक तत्वहरु घटनाको जिम्मेवार रहेको बताएका थिए।

प्रवचनमा २ लाख पचासँ हजार भक्तहरू उपस्थित थिए । यद्यपी ८० हजार जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरुसँग थियो । मृत्यु भएका मध्ये अधिकांश महिला थिए ।

भागदौडपछि जारी गरिएको प्रहरी प्रतिवेदनका अनुसार उक्त कार्यक्रमका मुख्य आयोजकहरूलाई पक्राउ गर्न खोजिएको थियो, तर भोलेबाबालाई पक्राउ गर्न सकिएको थिएन ।

अहिलेसम्म उनका ११ जना स्वयंसेवकलाई भने पक्राउ गरिएको छ । भारतमा धार्मिक जमघटहरूमा कमजोर भीड व्यवस्थापन र सुरक्षा त्रुटिहरूले गर्दा यस्ता घातक घटनाहरू सामान्य छन् ।

सन् २००८ मा उत्तरी सहर जोधपुरको पहाडी मन्दिरमा भएको भागदौडमा २२४ तीर्थयात्रीको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।

अष्ट्रेलियामा बेरोजगारी दर वृद्वि

अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो ।

सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ, । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ ।

जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाएका छन् । यसै गरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गरे ।

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १.१ प्रतिशतले कम रहेको उनले बताए ।

एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ ।

बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताए ।

जब गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्कियो…(फोटोफिचर)

काठमाडौं । भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५–ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो निस्केको छ ।

धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केहीबेरसम्म स्टार्ट बन्द नभएपनि बस आगलागी हुनबाट जोगिएको छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस

यश कुमारको ‘हिरो’

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ ।

साथै गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन् । पाँचौ सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ ।

‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढिरहेकाले पनि आफूलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए ।

यो गीतमा हरि हुँमागाईको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ । यस्तै, गायक यश कुमारले आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

भोजपुर । भोजपुरका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन् । उनी व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् ।

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् ।

बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।

भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए ।

विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । ‘वार्षिक १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।’

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन् । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले बताए । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् ।

‘बङ्गुर बिक्रीको कुनै समस्या छैन’, उनले भने, ‘धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् ।

व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।