`

न्युरोडको फूटपाथ विस्तारको विरोधमा स्थानीयको प्रदर्शन

Nepal One HD ४ साउन २०८१ १०:२४
प्रमुख खबर

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फूटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले फूटपाथ विस्तारको काम शुरू गरेसँगै शुक्रबार बिहान स्थानीय विरोधमा उत्रिएका हुन् ।

उच्च अदालतले फूटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम शुरू गरेको थियो । काम सुरु गरेपछि स्थानीय यसैको विरोधमा उत्रिएका हुन् । स्थानीय विरोधमा उत्रिएपछि न्युरोडमा उल्लेख्यमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः निर्माणको काम सुरु गरेको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक वजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने व्यहोराको पत्राचार एवं भौतिक रुपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो ।

सडक डिभिजनले महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।


प्रतिक्रिया