काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
काभ्रे । स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ ।
क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो ।
विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआईसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो ।
उनले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्रीमा थप आवश्यक रसायनलगायत सामग्री ब्यवस्थापन गरी केही महिनामै सञ्चालनमा ल्याइने बताए । हाल पनि क्यान्सर रोग सम्बन्धित कतिपय परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता रहँदै आएकाले केन्द्र सञ्चालनपश्चात उक्त बाध्यता हट्ने ज्ञवालीको दाबी गरे ।
“परीक्षणका लागि विदेश पठाइएका नमूनाको रिपोर्ट आउन तीन/चार हप्ता लाग्ने गर्छ, रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा प्रवेश गरिसक्ने खतरा भएकाले बिरामीको समय र पैसा जोगाउन केन्द्रले मद्दत गर्नेछ”, उनले भने ।
विश्वविद्यालयले केन्द्र सञ्चालनका लागि हालैमात्र क्यान्सर रोग विशेषज्ञ डा अजयकुमार झालाई प्रमुखमा नियुक्त गरेको छ । केन्द्रको प्रयोगशालामा पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउने जनाइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमानै सबै किसिमको क्यान्सरको जाँच गर्ने प्रविधि र उपकरण विश्वविद्यालयमा भित्राइसकिएको जानकारी दिए ।
डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो ।
नाका यही साउन को १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले हालसम्म एक हजार आठ सयभन्दा बढी प्रवेशाज्ञा जारी गरेको छ ।
दिनहुँ प्रवेशाज्ञा लिन उल्लेख्य सङ्ख्यामा नागरिक आइरहेको प्रजिअ दाहालले बताए । उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको उक्त नाका लामो समयपछि खुल्न लागेकाले यस अवधिमा कुनै पनि प्रकारका अप्रिय घटना नघटुन् भनेर सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिने उनले बताए ।
अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत सो क्षेत्रमा निगरानी गर्ने भएको छ ।
प्रन्ध दिनका लागि मात्र खुल्ने उक्त नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्दछन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चाँैरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्दछ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिननमै सो नाका पुग्न सकिन्छ ।
यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताए । यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने बताइएको छ ।
काठमाडौँ । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ ।
भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।
पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ ।
उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दैछन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ ।
अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।
काठमाडौँ । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर–दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।
हाल निर्माणाधीन आयोजना दार्चुला–टिङ्कर ७९ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ ९२ किलोमिटर, कर्णाली करिडोर (लालीबगर–बगर–दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोघप्पा खण्ड) १०.५१ किमी हुन् ।
मुलुकको सर्वाधिक महत्वको काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजना (७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताए ।
काठमाडौँ–तराई–मधेस दु्रतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ–स्याफ्रुबेंसी १७ किमी, जाजरकोट–डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर(गुल्मी–बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर (खुलालु–लैफू–सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।
काठमाडौँ । नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगीको काज सरुवा गरेको हो ।
नारायण गाउँले । हाम्रो पासपोर्ट विश्वकै कमजोर हुनुमा हाम्रो गरिबी होइन, राजनीति जिम्मेवार छ । असहाय र राज्यविहीन नेपाली मूलका भुटानी नागरिकहरूलाई हामीले सुरक्षित फर्काउन या देशमैं नागरिकता दिन नसकेपछि कम्तिमा दोस्रो पुस्ताको भविष्य अन्धकार नहोस् भनेर साइनो नै नभएका युरोप र अमेरिकाले मानवता देखाउँदै तिनलाई शरण दिएका थिए । जबकि हाम्रो त रगत, भाषा र भावनादेखि जातीय साइनो सबै थियो । नेपाल रहुन्जेल पनि तिनलाई हामीले पालेका थिएनौं । बाहिरबाट आउने सहयोग हाम्रो कमिशन कटाएर त्यहाँ पुग्थ्यो । तर, हामीले त्यस्तो मानवीय सहयोगमा पनि दानवी चरित्र देखायौं । राज्यविहीन भुटानी नागरिकको कोटामा हामीले केही लाख पैसामा र्याल चुहाएर आफ्नै नागरिकलाई बेच्यौं । त्यो बेच्ने काम पनि हामी गरिब भएर या गरिबले गरेको नभई झण्डा हल्लाउँदै सरकारी गाड़ी चढ्ने हाम्रा धनाढ्य मन्त्री र नेताले गरेको हो । गरिबसँग लाखौं रुपियाँ हुने कुरो भएन, न त्यति उच्चस्तरका मान्छेसँग तिनको सम्पर्क हुन्छ । राज्य नै कीर्ते काममा लागेको यो घटनाले हाम्रो मन त कति पोल्यो थाहा भएन, यति धेरै धोका र उपेक्षा हुँदा पनि आफूलाई ’नेपाली’ ठान्ने भुटानी नागरिकको मन भने पक्कै पोल्यो होला । यसभन्दा घटियापन अरू के होला ?
भर्खरै उपसभामुखले आफ्नै लेटरप्याडमा एउटा दूतावासलाई भिसाका लागि चिठी लेखेको खबर बाहिर आयो । सर्वोच्चका न्यायाधीशदेखि अख्तियार प्रमुखसम्म सिफारिश गर्ने देशकै माथिल्लो संवैधानिक परिषदको एउटा सदस्यले झुटो विवरणसहित एउटा दूतावासमा भिसाका लागि पत्र लेख्नु राज्यकै बेइज्जती हो । आफूले नचिनेका र कार्यक्रमसँग सम्बन्ध नै नभएका व्यक्तिलाई ’आफूसँगै कार्यक्रममा सहभागी हुने’ भनेर चिठी लेख्नु पदको दुरुपयोगमात्रै होइन, देशको प्रतिष्ठा र विश्वसनीयताप्रतिको खेलबाड हो । अझ त्यसमा पैसाको खेल पनि मिसिएको गन्ध आउनुलाई के भन्नु ।
हाम्रा सांसद र मन्त्रीले विगतमा रातो पासपोर्टको दुरुपयोग गरेको खबर हाम्रो मस्तिष्कमा नहोला, दूतावासहरूको रेकर्डमा छँदै छ । अझ कुनै देशको कानुन अनुसार भिसाका लागि अयोग्य भएका व्यक्तिलाई भिसा नदिएको भन्दै हाम्रा सांसद र मन्त्री रत्नपार्कमा टेम्पो जलाउन गएका घटना पनि याद होलान् । कति धेरै खेलाड़ी, पत्रकार, कर्मचारी बाहिर लुकेर बसेका घटना पनि घट्दै गरेका वर्तमान हुन् । बेलायतका लागि नेपाली राजदूत नै शरणार्थी बनेर यतै लुकेको इतिहास छ ।
अब एकछिन यस्ता घटनालाई खुला मनले गमेर हेर्नुभो भने हामीलाई कसले पत्याउला र किन पत्याउला ? हाम्रो कागज सही हो या होइन भन्ने बाहिरको एउटा कर्मचारीले कसरी छुट्याउला ? देशको गृहमन्त्री र सचिबले नक्कली कागज बनाएर मान्छे बेच्ने देशमा कस्तो प्रमाणपत्र र चिठी विश्वसनीय होला ? मन पग्लियो भनेर सोझै दूतावासमा चिठी लेख्ने उपसभामुख भएको देशमा कुन पद, कुन थिति र कुन प्रक्रिया भरपर्दो होला ? हामी विश्वकै गरिब देश होइनौँ, हामीमाथि झन्डै चालीस गरिब देश छन् । न हामी असुरक्षित या ठूलो द्वन्द्वग्रस्त मुलुक हौँ । हामीकहाँ भोकमरीको अवस्था पनि छैन । औसतमा हामी शिक्षित नै छौं । तर पनि हाम्रो पासपोर्ट विश्वकै कमजोरमध्ये एक हुनु दुर्भाग्य नै हो । र त्यो लेख्ने हामी नै हौं ।
एउटा खेलाड़ी लुक्नुले अलिकति असर गर्दो हो, तर देशकै उच्च ओहोदामा बस्नेहरूले यसरी नीचता देखाएपछि त्यसको ड्यामेज दीर्घाकालीन हुन्छ । हामी दयामाया, मानवता, आफ्नो मूलप्रति ममता या विधिप्रति श्रद्धा नभएका स्वार्थी र पैसाका लागि जति तलसम्म पनि गिर्न सक्ने प्राणीका रूपमा चिनिन्छौं, चिनिइरहेछौं !
काठमाडौँ । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति बढी भएको भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताए । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का चार सय ५१ वटा घटना भएको थियो ।
यसपालि भने ६ सय ९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रहेकामा यसवर्ष उक्त अवधिमा तीनजना बेपत्ता रहेका छन् । गत वर्ष ५६ जना घाइते भएकामा यसपालि ८९ जना घाइते भएका जनाइएको छ ।
बाढीबाट गत वर्ष सातजनाको मृत्यु भएकामा यसपालि १५, पहिरोबाट गत वर्ष १७ जनाको मृत्यु भएकामा यसपालि ३५ र चट्याङबाट गत वर्ष १६ जनाको मृत्यु भएकामा यसपालि १९ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाका कारण गत वर्ष दुईजनाले ज्यान गुमाएकामा यसपालि सो अवधिमा शून्य रहेको छ ।
प्रभावित परिवार भने गत वर्षभन्दा यस वर्ष कमी देखिएको छ । गत वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएकामा यसपालि एक हजार दुई सय ७२ परिवार प्रभावित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत वर्ष विसं २०८० साल जेठ ३१ (मनसुन सुरु भएको दिन) र यस वर्ष जेठ २८ गते (मनसुन सुरु भएको दिन) देखि ३० दिनको अवधिमा भएको तथ्याङ्क छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरु तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
‘भर्चुअल’ माध्यमबाट शुक्रबार उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले सीमित स्रोतसाधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरे । उनले भने, “राज्य छ भन्ने अनुभूति दिने काम प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायको हो, अनुभूति हुने ढङ्गले काम गर्नुपर्छ ।” विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो ।
विपद् व्यवस्थापनका साथै जिल्लाको शान्तिसुरक्षा, लागुऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिए ।
“बर्सातबाट उत्पन्न जटिल परिस्थितिका कारण ७७ वटै जिल्ला प्रभावित भएका छन्, विपद्को सामना तथा जनधनको क्षति न्यूनीकरणका लागि तीनवटै (सङ्घ, प्रदेश र स्थानीय) तहबीच समन्वय आवश्यक छ, सङ्घीय सरकारका तर्फबाट पहल गर्ने काम प्रमुख जिल्ला अधिकारी हो”, उनले भने । अवाञ्छनीय गतिविधि तथा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको मन्त्री लेखकको भनाइ थियो ।
भर्चुअल बैठकमा गृहसचिव एकनारायण अर्यालले विपद्को सुरुवाती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बताए । “विपद् व्यवस्थापन, राहत तथा उद्धारमा स्थानीय तहलाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गर्दछु”, उनले भने, “मनसुनजन्य विपद्मा बेपत्ता भएका नागरिकका आफन्तलाई मृतक सरह राहत रकम उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।”
गृहसचिव अर्यालले बाढी–पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि समन्वय गर्न प्रजिअ तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिए ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सतर्कताका कारण क्षति कम भएको उल्लेख गर्दै उनले जोखिम भएको क्षेत्रमा रात्रिबस सञ्चालन रोक्ने विषयमा यातायात व्यवसायीसँग समन्वय गरी कार्यान्वयन गर्न निर्देशन दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद्का क्रममा विभिन्न प्रभावित जिल्लाका एक हजार चार सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए ।
“क्षति/नोक्सानीको लगत सङ्कलन गरेर विस्तृत प्रतिवेदन तयार गर्ने काममा अग्रसर छौँ”, उनले भने,“प्रभावित क्षेत्रको वस्तुस्थितिको अनुगमन तथा अध्ययन गर्ने काम भइरहेको छ ।”
भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रजिअ तथा सुरक्षा समितिका पदाधिकारी सहभागी रहेका थिए । सो अवसरमा प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले विपद्पछिको जिल्लाको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।
बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ । नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।
पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन् । सेनाले कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसन सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नाका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित ती फ्युल स्टेसन सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय जनप्रतिनिधि, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिको उपस्थिति थियो । यसैबीच, प्रधानसेनापति शर्माले आज काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवासगृहको समेत उद्घाटन गरेका छन् ।
कास्की । पोखरामा शुक्रबार भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन् । उनीहरु साथीहरुका साथ पौडी खेल्न गएका थिए ।
यसैगरी पोखरा महानगरपालिका–२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ । बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए ।
काठमाडौँ । कक्षा ११ को छात्रवृत्ति प्रवेश परीक्षामा ९०.०२ प्रतिशत विद्यार्थी सहभागी भएका छन् । परीक्षार्थीमध्ये आचरण पालना नगर्ने २ जनाको परीक्षा रद्द गरिएको छ । शनिबार बिहान ८ बजेबाट थालिएको परीक्षाका लागि ३८ वटा केन्द्र तोकिएका थिए । नतिजा आइतबार प्रकाशन गर्ने तयारी गरिएको छ ।
शैक्षिक सत्र २०८१/८२ मा प्राप्त हुने ४ हजार ६२९ वटा छात्रवृत्ति कोटामध्ये ११ हजार ८७१ जना विद्यार्थीहले आवेदन दिएका थिए । उनीहरुमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो ।
प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलकाअनुसार प्रमाणित भएका आवेदनमध्ये विज्ञान विषयका लागि ८ हजार ४९७, व्यवस्थापन विषयका लागि २ हजार ५८१, कानुन विषयका लागि १५३, मानविकी विषयका लागि १३ र शिक्षा विषयका लागि ३७ जना विद्यार्थीका छन् । छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएका हुन् ।
पोखरेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यही विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्नेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।
कुन विषयका लागि कति कोटा यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनुहुनेछ । यस्तै १ हजार ७५२ जनाले विज्ञान विषयमा, १७३ जनाले मानविकी विषयमा, १३६ जनाले कानुन विषयमा र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा पाउनुहुनेछ ।
विद्यालयमा गएको वर्ष विद्यार्थी भर्नाको अनुपात, भौतिक क्षमतालगायत सूचकका आधारमा यस वर्षका लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।
महानगरपालिका भित्रका शिक्षण संस्था महानगरपालिका क्षेत्रभित्र ३९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।
काठमाडौँ । नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको छ । इन्द्रकला राईको स्वर रहेको गीतमा जयन जे वाइवाको शब्द संगीत र संगीत संयोजन छ।
गीतमा नेपालीसँगै थारु भाषाको गीतसमेत समेटिएको छ। गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।
गीतको भिडियोमा फिल्मकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन् । घटस्थापनामा प्रदर्शन हुने फिल्म साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको छ ।
फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुसाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो।
बागलुङ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनाको आगमन नहुँदा सुनसान बनेका हुन् ।
हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनााको संख्या शून्य छ । जिल्लाका ग्रामीण क्षेत्रमा घरबास बढी सञ्चालनमा छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् ।
अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुना घरबासमा पुग्न चाहँदैनन् । वर्षाले सडक तथा पदमार्ग हिलाम्मे बन्दा घरबाससँगै पर्यटकीयस्थल सुनसान भएका बागलुङ नगरपालिका–१० भकुण्डेका अतिथी सत्कार होमस्टे सञ्चालक यामबहादुर थापा मगरले बताए ।
‘जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुना आउनछोडेपछि सञ्चालक खेतबारीको काममा व्यस्त छन् । सडक नियमित सञ्चालन नहुँदासम्म गाउँमा पाहुना आउने अवस्था रहँदैन,’ उनले भने ।
जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको मगरले बताउनुभयो । आन्तरिकसँगै विदेशी पर्यटकसम्म आउने गरेको र वर्षाले सडक बिगारेपछि अहिले कोही पनि नआएको उनको भनाइ छ । हिउँदमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको संख्यामा पाहुना भकुण्डे पुग्ने गरेका थापाले जानकारी दिए ।
‘बर्खामा गाउँसम्म पुग्ने बाटो ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ । करिब दुई-तीन महिना यहाँका घरबास र पर्यटकीय क्षेत्र खाली हुन्छन् । पदमार्ग र पूर्वाधारको अवस्थाका कारण असार लागेपछि पाहुनाको संख्या शून्य भएको हो,’ उनले भने ।
काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुनाा पुग्न छोडेका छन् । बागलुङ बजारबाट पश्चिममा पर्ने यो घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुना आउने गरेकामा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताइन् । असोज लागेपछि मात्रै पर्यटकको आगमन बढ्ने उनले बताइन् ।
वर्षाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडी सञ्चालन हुन नसकेको घर्तीले बताइन् । पर्यटक आउन छोडेपछि अधिकांश अहिले आलु खन्ने, कोदो रोप्ने र पशुपालनमा व्यस्त रहेका छन् ।
‘यो ‘अफसिजन’ भयो, सडकको अवस्था गतिलो छैन, बजारबाट आउँदा पनि धेरै ठाउँमा गाडी अड्किने, ठाउँ–ठाउँमा फस्ने हुँदा यहाँ आउन चाहने पनि बीच बाटोबाटै फर्किनुहुन्छ, राज्यले कम्तिमा गाउँमा आउने सडकस्तरीय बनाइदिए बाह्रै महिना पाहुना भित्र्याउन सक्थ्यौँ”, उनले भनिन्, ‘अब आउन दसैँतिहारको बेला पहुना आउनुहुन्छ ।”
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए ।
“जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ”, उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
काठमाडौँ । नेपालले एसीसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।
श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउदै पूरा गर्यो ।
नेपाललको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात÷सात रनको योगदान गरे ।
बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन भने लभन्या केनीले एक विकेट लिइन ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे ।
नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको वकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।’
फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ ।
त्यस्तै, उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभई सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।
फैसलाको पूर्णपाठको भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।’
पीडितले प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ ।
अदालतले मिसिल संलग्न सिसिटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ ।
फैसलामा भनिएको छ, ‘प्रतिवादीलाई पीडित बालक ठहर गरी जबर्जस्ती करणी गरेको ठह¥याइ काठमाडौँ जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।’
फैसलामा पीडित आफैँले प्रतिवादीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएको, प्रतिवादीलाई ‘स्न्याप च्याट’मार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गई दुई महिनापछि फर्केर आएर भेट्नेभन्दा पीडितले मलाई सहयोग गर्नु पर्यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले लामिछानेमाथि जबर्जस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ ।
फैसलामा लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइबसेको, नगरकोट जाँदासमेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी (सन्दीप)ले ‘बुक’ गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको उल्लेख छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख भराउने र गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटन गएका थिए । सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो ।
गौशाला २६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
बर्दिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।
कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनुभयो । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । सोबापत निकुञ्जलाई दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन्। गत आवमा निकुञ्जले रु दुई करोड ८४ लाख पर्यापर्यटनमार्फत आम्दानी गरेको छ ।
पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताए । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताए । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुसी भएका छन् ।
पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताए । यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उनको भनाइ छ ।
“यहाँको अनुपम जैविकविविधता देखेपछि विदेशी पर्यटक आश्चर्य मान्छन् । निकुञ्जभित्र पर्यटकलाई कुनै समस्या छैन । सफारीमा जङ्गलभित्र गाडी बिग्रिएपछि निकुञ्जले उद्धार गर्ने गरेको छ”, थापाले भने ।
निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताए । “अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन् । अन्य देशका पर्यटक सफारी रोज्छन् । जङ्गलमा डढेलो लागेको अवस्था बाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन्”, उनले भने।
निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ । विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन् । अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ ।
काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेका बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेका र उनीहरूको सहजताका लागि थप प्रयास भइरहेको जनाएको हो ।
मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत र हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ ।
मन्त्रालयले तत्कालै थप सहयोगको आवश्यकता परे दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । बंगलादेशमा विद्यार्थीहरूले सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरूद्ध आन्दोलन गरिरहेका छन् । आन्दोलन हिंसात्मक बन्दै गएको छ । अहिलेसम्म कम्तिमा २५ जनाको मृत्यु भइसकेको छ भने सयौं घााइते भएका छन् ।
काठमाडौं । एसीसी महिला टी २० एसिया कप क्रिकेटको पहिलो खेलमा युएईले नेपाललाई जितको लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । रंगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशाला टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रिथिका राजित ६ र लावन्या केनी २ रनमा अविजित रहिन् ।
कविशा इगोडागो २२, समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक विकेट लिइन्।
विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित विजुलीको मात्रालाई उछिन्ने अनुमान रहेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले शुक्रबार उल्लेख गरेको छ ।
यो वर्ष र अगामी वर्ष बिजुलीको उत्पादन चार प्रतिशतले बृद्धि हुने देखिएपछि आइइएले यो अनुमान गरेको हो ।
“बिजुलीको बढ्दो मागले हाम्रो अर्थतन्त्रमा यसको भूमिका साथै गम्भीर गर्मीको प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइइएका ऊर्जा बजार र सुरक्षा निर्देशक केइसुके सदामोरीले भने ।
जलविद्युत, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतबाट आगामी वर्ष विश्वव्यापी आपूर्तिको ३५ प्रतिशत विजुली उत्पादन गर्ने अनुमान गरिएको छ । सन् २०२५ मा सौर्य ऊर्जाले मात्रै विश्वव्यापी मागको आधा विजुली आपूर्ति गर्ने तयारी गरिएको छ भने हावाबाट थप २५ प्रतिशत विजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
चीन र भारतमा भने बिजुलीको प्रयोग बढ्दै गएको तर कोइलाको प्रयोग घट्ने अपेक्षा नभएको आइइएले जनाएको छ ।
भारतमा बढ्दो गर्मीको लहरले यस वर्ष देशमा बिजुलीको माग आठ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको छ । चीनमा छ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोपको माग १.७ प्रतिशतले बढेको छ । संयुक्त राज्य अमेरिकामा गत वर्षको तुलनामा विद्युतको माग तीन प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।
“बिजुली मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढ्दै जानु उत्साहजनक छ, तर अन्तर्राष्ट्रिय ऊर्जा र जलवायु लक्ष्यहरू पूरा गर्न यसको छिटो बृद्धि हुन आवश्यक छ,” सदामोरीले भने ।
एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार विमानमा ‘ककपिट क्रू’ ले सामान राख्ने भागमा सम्भावित समस्या पत्ता लगाएपछि सावधानीपूर्वक अवतरण गरेको थियो ।
विमानमा सवार २२५ यात्रु तथा चालक दलका १९ सदस्यलाई थप अनुसन्धान र आगामी प्रक्रियाका लागि टर्मिनल भवनमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।
उक्त रूसी विमानस्थलमा एयर इन्डियाको आफ्नै कर्मचारी नभएको कारण यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न तेस्रो–पक्ष सहयोगको व्यवस्था गरी सरकारी निकाय र नियामक अधिकारीको सम्पर्कमा यात्रुलाई चाँडै सान फ्रान्सिस्को लैजान क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको व्यवस्था गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
एयर इन्डियाका प्रवक्ताले एयर इन्डिया यात्रु र कर्मचारीको बारेमा चिन्तित रहेको बताउँदै सकेसम्म छिटो उडान सञ्चालनका लागि सबैको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास गरिरहेको जनाएका छन् ।
उनले एयर इन्डियामा यात्रु र चालक दलका सदस्यको सुरक्षा प्राथमिकतामा रहेको उल्लेख गर्दै अवस्थाको मूल्याङ्कन गरी यात्रुलाई जति सक्दो छिटो गन्तव्यमा पुर्याउने व्यवस्था गर्ने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्याउन आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले तयार गरेको सुझाव पत्र शुक्रबार सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”
एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियोे भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए ।
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारे ।
महासंघका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए । ‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ’, अर्थमन्त्री पौडेलले भने, ‘समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।’
सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए । पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे ।
‘तपाईहरुका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईहरु पनि तोकिएको समय र लागतभित्र काम सक्नुस । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला’, अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब रु ६० अर्ब बराबर भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् ।
काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले कसैलाई अमेरिका पठाउन भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी छन् ।
शुक्रबार विज्ञप्ति जारी गरी उपसभामुख रानाले आफूलाई अमेरिकी दूतावाससँग जोडेर आएका समाचारमा सत्यता नभएको बताएकी हुन् ।
उनले उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको बताएकी छन् ।
उनले यो विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् । उपसभामुख रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको दाबी गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’
उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको थियो । पत्र बाहिरिएपछि उपसभामुख राना विवादमा परेकी छन् ।
काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँटमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोकेका थिए ।
नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुअवत भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । सोही कारण पनि पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ ।
यसैवर्ष गत असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो । स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र व्यावसायिकरुपमा सफल हुन नसके पनि पुनःप्रदर्शनका लागि परिक्षण गर्न निर्माता अझैँ सक्रिय छन् ।
“हाम्रो चलचित्रलाई प्रदर्शन सहजतामा कठिनाई भएको थियो । सोही कारण पुनःप्रदर्शन गर्ने तयारीमा थियौँ । वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुनःप्रदर्शनका लागि तयारी थालेका छौँ”, निर्माता विष्टले भने । उनले चलचित्र पुनःसम्पादन गरी प्रदर्शन गरिने जानकारी दिए ।
निर्माता विष्टले यसलाई नयाँ चलचित्र झैँ दर्शकसम्म पुर्याउने तयारी गरिएको बताए । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन् ।
प्रदर्शनका लागि चलचित्र वितरण गर्ने वितरक करण श्रेष्ठले नयाँ वा पूरानो जुनै चलचित्रले पनि आफ्नो जानकारी दर्शकसम्म पुर्याउनु पर्ने बताए ।
“दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ । प्रचारप्रसारसँगै नयाँ विधी अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ । अहिले चलचित्र हेर्ने ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ”, उनले भने ।
कोरोना महामारीका कारण भएको बान्दाबन्दी पश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘विहे पास’लगायत चलचित्र पुनःप्रदर्शन भइसकेका छन् ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।
प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा शुक्रबार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
“किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ ?, हिँउद याममा बिजुली पुर्याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भने । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ का विषयमा देखिएको विवादका बारेमा ऊर्जामन्त्री खड्काले भने, “व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन ।”
सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पुर्याउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उनले उल्लेख गरे ।
ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिए । “मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईंहरुले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ”, उनले भने ।
ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिए ।
जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको बताए । बिजुली जाँदैन भन्ने विश्वास आमनागरिक र उद्योगी व्यवसायीलाई दिलाउन जरुरी रहेकामा उनले जोड दिए । सचिव शर्माले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता भइसकेकाले सोहीअनुसार प्राधिकरणले काम गर्नुपर्ने उल्लेख गरे ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर तीन हजार एक सय ५७ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिए । उनका अनुसार पछिल्लो एक वर्षमा चार सय ६३ मेगावाट बिजुली थपिएको छ । उनले पछिल्लो समय प्रत्येक वर्ष नेपाल विद्युत् प्राधिकरण १० देखि १२ अर्ब नाफामा जाने गरेको बताए ।
नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणलाई अगाडि बढाई देशको आर्थिक विकास गर्नका लागि यहाँभित्रका कर्मचारीको समस्या समाधान हुनुपर्ने बताएका थिए ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक नभएको बताएका छन् ।
तीन वर्षमा सक्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको संसद् भवनको काम समयमा सम्पन्न नभएपछि शुक्रबार उनले सिंहदरबारमा सरोकार भएका निकायका अधिकारीहरुलाई बोलाएर जानकारी लिएका हुन् ।
यसअघि निर्माणाधीन संसद् भवनका १२ वटै संरचना मङ्सिर मसान्तसम्म सकेर आगामी हिउँदे अधिवेशन आफ्नै भवनमा गर्ने भनी ‘माइन्युट’ गरिएकाले त्यसैअनुरुप गर्न सभामुख घिमिरेले निर्देशन दिए ।
“भवनमा अहिले सात इञ्चको टेलिभिजन स्क्रीन राखिएको रहेछ, बजारमा १५ इञ्चसम्मको स्क्रीन आइसकेको छ, ठूला स्क्रीनमा अक्षर पनि ठूला आउँछ, यस विषयमा ध्यान पुर्याउनुपर्छ, भवन निर्माण प्रगतिका बारेमा एक महिनापछि फेरि समीक्षा बैठक हुन्छ, अब थपिएको समयमा सक्नेगरी काम हुनुपर्छ”, उनले भने ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भवनको म्याद सकिएपछि थप्ने आधार प्रष्ट हुनुपर्ने उल्लेख गर्दै संसद् भवन अन्तर्राष्ट्रिय छविको राष्ट्रिय सम्पत्ति भएकाले आकर्षक रुपमा साजसजावट गरिनुपर्ने बताए ।
सात इञ्चको टेलिभिजन स्क्रीनमा सांसदको टाउको पनि नदेखिने भएकाले त्यसमा पुनर्विचार गरिनुपर्ने उनको भनाइ थियो । अनामनगरतिरको ढोकाबाट सांसदको प्रवेश गराउने भनिएकाले एकैपटक सयौँ गाडी प्रवेश गर्दा त्यस क्षेत्रमा हुने जामका विषयमा अहिले नै सोच्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यसको काम गुणस्तरीय रुपमा समयमै सकिनुपर्ने बताए ।
निर्माण व्यवसायीले ठेक्का लिइसकेपछि काममा ढिलाइ गर्ने गरेकाले समस्या आएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिए ।
उपसभामुख इन्दिरा रानाले संसद् भवनको आन्तरिक साजसजावटमा सम्झौता बाहिरका सामग्री राखिनु नहुने बताइन् । तोकिएका समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गरिनुपर्ने उनको भनाइ थियो ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म ८१.५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । आयोजनाका सबै काम सम्पन्नगरी हस्तान्तरण गर्न २०८१ चैत १८ गतेसम्मको समय थप गरिएको जानकारी पनि उनले दिए ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छन् ।
मन्त्री डा राणाले शुक्रबार राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।
त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ ।
राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराएका थिए ।
यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुई जना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूताबास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिए । बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरुले सडक प्रदर्शन गरिरहेका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरे ।
मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ कार्यन्वयनमा ल्याएको छ । उनले कार्यविधि अनुसार सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन आग्रह गरेका छन् ।
अस्पतालले अतिरिक्त समयमा सेवा सञ्चालन गरेबापत चिकित्सक सेवा शुल्क सरकारले तोके अनुसार र अन्य सेवा शुल्क अस्पतालले नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
अस्तालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने स्थानमा राख्नुपर्ने छ । सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अतिरिक्त समयमा सेवा सञ्चालन सामुदायिक र सहकारी अस्पतालमा समेत लागू गर्न सकिने व्यवस्था छ । प्रदेश र स्थानीय तहले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन् ।
कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लाई आवश्यकता अनुसार परिमार्जन गर्ने मन्त्रालय र उपत्यकाका सङ्घीय अस्पतालबीच सहमति भएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
लमजुङ । कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बनेका छन् सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसाईंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।
विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले एकपटक प्रसाईंको कृषि फार्म हेरेर केही सोच्नुपर्नेछ । लगनशील भएर मेहनत गरे के सम्भव छैन भन्ने उदाहरण उनले दिएक छन् । अथक उत्साह, साहस, मेहनत र निरन्तरताले त्यो सफलता पाउन सकिन्छ ।
‘आफ्नै भिरपखेरा अनि खेर गएर बसेका पाखामा कृषिकर्म गरे विदेशी भूमिमा कमाउने पैसा कमाउन त सजिलै सकिन्छ, आत्मसन्तुष्टि पनि मिल्दोरहेछ’, प्रसाईं भन्छन् ।
राइनास नगरपालिका–५, तीनपिप्लेमा कृषि कर्म गरिरहेका प्रसाईंले ढुङ्गा काट्ने काम पनि गरिरहेका छन् । यसका लागि उनले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएका छन् । जङ्गल र बुट्यानले ढाकिएको जग्गा एक लाख २० हजार वार्षिक भाडामा लिएर विभिन्न संरचनामा उनले ५० लाख रुपैयाँजति खर्च गरेका छन् ।
अहिले खर्बुजा बिक्रीबाट एक सिजनमा मात्र १२ लाख आम्दानी गरेका प्रसाईंको झापामा पनि फार्म छ । झापामा रहेको १८ बिघा जग्गामा अहिले धान लगाएको छ । धानपछि उनले खर्बुजा खेती गर्छन् ।
खरबुजामा सुई लगाएर रङ मिसाएको भारतीय खर्बुजाको हल्लाका कारण उनले राम्रोसँग उत्पादन गरेको खर्बुजा बिक्रीमा समेत असर परेको उनको अनुभव छ । अहिले त्यसैका कारण झापाबाट राम्रो आम्दानी भएन, उनले भने ।
लमजुङमा उत्पादन गरेको खर्बुजा जिल्लाको सदरमुकाम बेंसीसहरलगायत गोर्खा र तनहुँका पसलसम्म पुग्दछ । “बजार खोज्न अहिले नै टाढा जानु नपर्ने उनको भनाइ छ । राम्रो उत्पादन गर्न सकियो भने बजार नै उत्पादन खोज्दै कृषकसम्म आउँछ, उनी भन्छन् ।
विगत १८ वर्षदेखि राईनासमा आएका प्रसाईंले पाँच वर्षदेखि यहाँ उषा बङ्गुर तथा कृषि फार्मको नाउँमा खरबुजा, काँक्रो, घिरौँला, फर्सी, अकबरे खुर्सानीलगायतको खेती गर्दै आएको छ । हेर्दा नै लोभ लाग्ने उनको खर्बुजा कृषि फार्ममा अहिले बेमौसमका फलफूलका बिरुवा हुर्कंदै छन् भने अर्कोतर्फ अकबरे खुर्सानीको ठूलो प्लट चेपे नदीको तिरैमा छ । त्यहाँ उत्पादन भएका नौलो प्रजातिको प्रतीक नामको फर्सी सलादका लागि विभिन्न बजारमा पठाउँछन् ।
आफ्नै कृषि कर्ममा हेरचाह गर्दै निरन्तर लागिरहेका प्रसाईंले स्थानीय तहबाट कुनै किसिमको सहयोग प्राप्त गरेका छैनन् । कृषि ज्ञान केन्द्रले सिँचाइका लागि पाइपलाइन, मल्चिङ प्लाष्टिक र मलखादका लागि यस वर्ष चार लाख बराबरको सहयोग गरेको छ ।
कृषि फार्ममा बङ्गुरपालन गरेका प्रसाईंले गत वर्ष रोगका कारण बङ्गुर मरेपछि अहिले त्यसलाई थाति राखेको छ । त्यहाँ उनले उत्पादन गरेको अकबरे खुर्सानी, खर्बुजा र अन्य मौसमी तरकारी उत्पादनका लागि नियमित पाँच जनालाई रोजगारी दिएको छ । त्यसबाहेक दैनिक ज्यालादारीमा समेत काम दिने गरेका छन् ।
केही गरौँ भन्ने उत्साह भएका युवालाई कृषिमा ठूलो लगानी गरेको सरकारी तवरबाट सानो सहयोग दिने हो भने युवालाई यही विदेशकै जस्तो कमाई गर्न सकिन्छ भन्ने उनबाट बुझ्न सकिन्छ ।
स्थानीय तहहरुले विभिन्न शीर्षकमा बर्सेनि अनुत्पादक क्षेत्रमा बाँडिरहेका लाखौँ रुपैयाँको प्रतिफल आउन नसकेको भन्दै उनी त्यसलाई कृषि क्षेत्रमा लगाउन सकिएमा तरकारी र फलफूलमा आत्मनिर्भर हुन सकिने बताउँछन् ।
पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।
गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् ।
जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् ।
वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए । केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।
यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।
पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिएक छन् ।
बस्ती माथिको जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताए ।
गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यकपर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिमा रहेका पालिका कार्यालयले जनाएको छ । यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ । यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन् ।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।
दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरेका छन् ।
पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै उनले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
‘भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ’, भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ ।’
नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
पूर्वअमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताएका छन् ।
पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते भएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘म आज राति यहाँ हुने थिइनँ।’
ट्रम्पले घटनाको स्मरण गर्दै भने, ‘मैले चर्को आवाज सुनेँ र मेरो दाहिने कानमा चोट लागेको महसुस गरें। मैले तत्काल आफ्नो कानमा हात लगे जुन रगतले ढाकिएको थियो । हामी माथि आक्रमण भइरहेको छ भन्ने मलाई तुरुन्तै थाहा भइहाल्यो ।’
सिक्रेट सर्भिसका कर्मचारीहरुले गोली चलिरहेकै अवस्थामा स्टेजमा पुगेर आफूलाई सुरक्षित स्थानमा लगेको उनले बताए ।
‘यदि मैले गोली प्रहार भएको अन्तिम क्षणमा टाउको नचलाएको भए हत्याराको गोली निशानामा लाग्ने थियो । र म आज राती यहाँ हुने थिइनँ । हामी सँगै हुने थिएनौँ’, ट्रम्पले भने ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गरेको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ ।
बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताए ।
डा. केभिन ओ कनरले भने, ‘राष्ट्रपतिले कोभिड–१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उहाँलाई ‘प्याक्सलोभिड’ दिइराखेका छौँ । उहाँलाई ज्वरो आएको छैन र अन्य मुख्य लक्षणहरू सामान्य छन् ।’
‘राष्ट्रपतिको अनुमति लिएर उहाँको बारेमा मैले पहिलेजस्तै नियमित जानकारीहरू सार्वजनिक गरिरहनेछु,’ उनले भने ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा उहाँका सबै जिम्मेवारीहरू पूर्ण रूपमा सम्हाल्ने कार्यलाई जारी राख्नुहुनेछ ।’
लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड–१९ सङ्क्रमण देखिएको हो ।
सकारात्मक परीक्षणपछि, बाइडेनले एक्स गरेको पोस्टमा भनेका छन्, ‘मलाई कोरोना सङ्क्रमण देखाएको छ तर म ठिक छु । स्वास्थ्य लाभको शुभकामनाका लागि सबैप्रति आभारी छु । सबैलाई धन्यवाद दिन चाहन्छु।’
‘म निको नहुँदासम्म आइसोलेसनमा हुनेछु र यस अवधिमा म अमेरिकी जनताप्रतिको मेरो कर्तव्यलाई निरन्तरता दिनेछु’, वक्तव्यमा भनिएको छ ।
राष्ट्रपतिका निजी चिकित्सकले बाइडेनमा सामान्यरुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको बताएका छन् ।
यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित भएका थिए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । सो अवसरमा उनले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए ।
सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गरे ।
खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनले भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध र विकास सहयोगलगायतका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । परराष्ट्रमन्त्रीसँग यसअघि भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।
झापा । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए । उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए ।
“झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दाबढी हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो । सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए”, प्रवक्ता दाहालले भने ।
उनले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिए ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले रु १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि २५ हजारदेखि रु एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
कञ्चनपुर । पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो ।
सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ । डुङ्गा सञ्चालनको जिम्मा सोभाताल संरक्षण समितिलाई दिइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुङ्गा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिए । उनका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुई वटा बोरिङ जडान गरिएका छन् ।
सोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म रु २५ करोडको खर्च भइसकेको नगर उपप्रमुख चौधरीले बताए । उनका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ ।
“यसअघि यहाँ आउने पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको थियो”, उपप्रमुख चौधरीले भने, “पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुङ्गा सवार गरेको शुल्क लिने गरेका छौँ । पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजनासहित प्रक्रिया अगाडि बढाएका छौँ ।”
यस कार्यले पर्यटकीय क्षेत्रका भौतिक पूर्वाधारको सुरक्षा हुनुका साथै नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
सोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीका अवसरमा समेत वृद्धि हुने बताए ।
“यहाँको व्यापार व्यवसाय फस्टाउँछ । रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्”, उनले भने, “पर्यटकीय गतिविधिले आयमा वृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।” पर्यटकीय क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकासँग छलफल गरी योजनाबद्ध रुपमा अगाडि बढ्ने उन्ले उल्लेख गरे ।