सन् २०२५ सम्ममा बिजुली उत्पादनमा नवीकरणीय स्रोतको प्रयोग कोइलाको भन्दा बढी


विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित विजुलीको मात्रालाई उछिन्ने अनुमान रहेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले शुक्रबार उल्लेख गरेको छ ।
यो वर्ष र अगामी वर्ष बिजुलीको उत्पादन चार प्रतिशतले बृद्धि हुने देखिएपछि आइइएले यो अनुमान गरेको हो ।
“बिजुलीको बढ्दो मागले हाम्रो अर्थतन्त्रमा यसको भूमिका साथै गम्भीर गर्मीको प्रभावलाई प्रतिबिम्बित गर्दछ,” आइइएका ऊर्जा बजार र सुरक्षा निर्देशक केइसुके सदामोरीले भने ।
जलविद्युत, सौर्य, हावा र अन्य नवीकरणीय स्रोतबाट आगामी वर्ष विश्वव्यापी आपूर्तिको ३५ प्रतिशत विजुली उत्पादन गर्ने अनुमान गरिएको छ ।
सन् २०२५ मा सौर्य ऊर्जाले मात्रै विश्वव्यापी मागको आधा विजुली आपूर्ति गर्ने तयारी गरिएको छ भने हावाबाट थप २५ प्रतिशत विजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
चीन र भारतमा भने बिजुलीको प्रयोग बढ्दै गएको तर कोइलाको प्रयोग घट्ने अपेक्षा नभएको आइइएले जनाएको छ ।
भारतमा बढ्दो गर्मीको लहरले यस वर्ष देशमा बिजुलीको माग आठ प्रतिशतले बृद्धि हुने अपेक्षा गरिएको छ । चीनमा छ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । युरोपको माग १.७ प्रतिशतले बढेको छ । संयुक्त राज्य अमेरिकामा गत वर्षको तुलनामा विद्युतको माग तीन प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।
“बिजुली मिश्रणमा स्वच्छ ऊर्जाको हिस्सा बढ्दै जानु उत्साहजनक छ, तर अन्तर्राष्ट्रिय ऊर्जा र जलवायु लक्ष्यहरू पूरा गर्न यसको छिटो बृद्धि हुन आवश्यक छ,” सदामोरीले भने ।