`

पर्यटन नीति संशोधनका लागि कार्यदल गठन

Nepal One HD ३१ असार २०८१ १९:०६
अर्थ समाचार

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि विद्यमान पर्यटन नीतिलाई समयानुकूल बनाइने बताएका छन् ।

मन्त्रालयमा सोमबार पदबहाली गर्दै मन्त्री पाण्डेले नयाँ पर्यटन नीतिमार्फत पर्यटन क्षेत्रका सम्भावनाको उजागर गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गरे ।

“नेपालको पर्यटन क्षेत्रलाई कसरी प्रभावकारी विकास गर्न सकिन्छ भनेर हालको पर्यटन नीतिलाई परिमार्जन गर्न मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्नेछ”, पर्यटनमन्त्री पाण्डेले भने, “आज मात्रै मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले गहनतापूर्वक अध्ययन गर्नेछ । म आफू पनि विशेष चासोका साथ सूक्ष्मतापूर्वक ध्यान दिएर नीति बनाइनेछ ।”

उनले पर्यटन नीतिको मार्गदर्शनबमोजिम आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने बताए । पर्यटनमन्त्री पाण्डेले कोरोना महामारी, राजनीतिक अस्थिरताकाबीच मुलुकको पर्यटन पुरानै लयमा फर्किएको तथा विसं २०८४ सम्म राजनीतिक स्थिरतातर्फ अघि बढेकाले उक्त अवधिमा पर्यटनको विकासमा केन्द्रित हुने बताए ।

उनले सन् २०२३ देखि २०३२ को अवधिलाई भ्रमण दशकका रुपमा कार्यान्वयन गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाण्डेले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको साथ सहयोग प्राप्त गर्दै आफ्नो कार्यकालमा पर्यटन मन्त्रालयले लिनुपर्ने लक्ष्यलाई गन्तव्यमा पुर्याउनेमा विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री पाण्डेले संस्कृति देशको प्राण हो भन्दै यसको संरक्षण विकासका लागि सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए । उनले जनताको निराशालाई चिर्दै आशामा बदल्न दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको भन्दै प्रधानमन्त्री र मन्त्री भएर दल, परिवार, नातावाद र भूगोलको हितमात्रै नभई जनताका पक्षमा इमान्दारीताकासाथ काम गरिनुपर्ने खाँचो औँल्याए ।

पर्यटन नीति संशोधनका लागि कार्यदल

पर्यटन नीतिलाई समयसापेक्ष बनाउन पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।  कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ । पर्यटनमन्त्रीले आफ्नो पहिलो निर्णयका रुपमा पर्यटन नीति, २०६५ लाई समयसापेक्ष बनाउन अध्ययन र सुझाव दिन गठित कार्यदल गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

पर्यटन क्षेत्रको विकास सम्वद्र्धन, प्रवद्र्धन र त्यस क्षेत्रलाई सुदृढ गर्नेगरी पर्यटन नीति बनाउनेगरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल बनाइएको जानकारी दिए ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि रणनीतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सेवालाई प्रभावकारी बनाउन सिर्जनशील ढङ्गले सक्रियताका साथ लाग्नेमा उनले विश्वास व्यक्त गरे ।

उक्त अवसरमा सङ्घीय संरचनाअनुरुप मुलुकको पर्यटनलाई समयसापेक्ष बनाउन पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्न लागिएको मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले बताए । मन्त्रालयका सहसचिव हेमराज तामाङले मन्त्रालयअन्तर्गतका निकाय र गतिविधिबारे सङ्क्षिप्त जानकारी गराएका थिए ।

मुलुकको ४१औँ पर्यटनमन्त्री

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे मुलुकको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४१ जना पर्यटनमन्त्री पाइसकेको छ ।


प्रतिक्रिया