बाढीले उत्पादनमा असर गर्दा पनि विद्युत् निर्यातबाट नेपाललाई झण्डै ६ अर्ब आम्दानी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) मार्फत बिक्री गरिएको थियो।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको हो।
द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो। बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
गत वर्ष २०८२ को असोजमा विद्युत् निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको भदौमा भने पाँच अर्ब नौ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत् कारोबार भएको थियो।
यस वर्षको असोजमा गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँ बढी आम्दानी भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपालले आन्तरिक माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ। भारतको हरियाणा र बिहारमा मध्यकालीन द्विपक्षीय सम्झौताअनुसार जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। गत शुक्रबार कात्तिक ६ गते साँझदेखि निर्यात सुरु गरिएको हो।
त्यस्तै, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा बाढी आएपछि बङ्गलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो। त्यसपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो। बाढीका कारण भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न अनुमति दिएपछि आपूर्ति पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति दिइएको छ।
नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ।
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। साथै, नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ।
