डा. शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक


काठमाडौं – गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म तिम्रो हैन ’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहका बिच पूर्व कानुन तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
गीतकार सुवेदीको गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ बोलको गीत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए।
पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे।
उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन भन्ने गीत जन-जनको मुखमा झुन्डिएको थियो। गीत-संगीतमा उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’
प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले डा. सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्ने क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्।उनले भनिन, ‘कसैले गरिदेला भनेर बस्ने होइन, आफ्नो तर्फबाट एक्सनमा उत्रिने हो, संस्थागत रूपमा हामी लागिरहेका छौं।’
स्वीजरल्याण्डबाट भूकम्प विषयमा विद्यावरिधि गरेका गीतकार सुवेदीले गीतसंगीतको क्षेत्र बिर्सिने चिन्ता लागिरहेको बेला नयाँ लोकगीत आउँदा खुशी लागेको उनले बताइन्।
गीतकार आनन्द अधिकारीले गीतमाथि समीक्षा गर्दै यो गीतमा गहिरो साहित्य, बिम्ब र स्पष्ट दर्शन भेटेको बताए। ‘लोक संगीत मुटु हो, शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ’ उनले भने।
कार्यक्रममा गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो। उक्त गीतमा कुलेन्द्र वि.क र शान्तिश्री परियारको स्वर रहेको छ भने मौसम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन्।
भूकम्प विद्यामा विद्यावारिधी गरेका सुवेदीले आफ्नै युट्युब च्यानलमार्फत ‘म त तिम्रो हैन’ ल्याएका हुन्।