`

म्यान्माको जुन्ता सरकारले मुलुकलाई नष्ट गर्न खोजिरहेको राष्ट्रसङ्घीय विशेष दूतको दाबी

Nepal One HD २७ असार २०८१ १३:५२
विश्व

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् ।

जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धन र सेनाबीचको झडपहरूले जनवरीमा बेइजिङको मध्यस्थतामा गरिएको युद्धविरामलाई तोडेको छ । 

सन् २०२१ मा भएको सैन्य विद्रोहले लोकतान्त्रिक शासन समाप्त गरेदेखि जारी युद्धविरामलाई म्यान्माको उत्तरी क्षेत्रमा व्यापक लडाइँले केही समयका लागि रोकेको थियो । 

‘जुन्ता आफ्नै खुट्टामा छ, यसले सैनिकहरू गुमाउँदैछ, यसले सैन्य सुविधाहरू गुमाउँदैछ र यसले वास्तवमै जमिन गुमाउँदैछ’, राष्ट्रसङ्घीय विशेष दूत टम एन्ड्र्युजले छिमेकी थाइल्यान्डको राष्ट्रिय सुरक्षा निकायलाई ब्रिफिङका क्रममा भने, ‘यस्तो लागिरहेको छ कि मानौँ जुन्ताले नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई नष्ट गर्न खोजिरहेको छ ।’

उनका अनुसार आफ्नो क्षतिका लागि सेनाको प्रतिक्रिया भनेको नागरिकहरूमाथि आक्रमण गर्नु हो । पछिल्लो छ महिनामा विद्यालय, अस्पताल र मठहरूमा आक्रमणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

धेरै दिनको झडपछि यस साताको प्रारम्भमा जातीय अल्पसङ्ख्यक लडाकूहरूले चीनको युनान प्रान्त जाने प्रमुख व्यापारिक राजमार्ग छेउमा रहेको एक सहरलाई सेनाबाट कब्जा गरेका थिए । 

जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध पुनः आक्रामक हमला गरेपछि उत्तरी शान राज्य गत महिनाको अन्त्यमा भएको लडाइँले डगमगाएको छ । झडपहरूले बेइजिङको मध्यस्थतामा भएको युद्धविराम समाप्त गरेको छ ।

अराकान आर्मी (एए), म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए)  ताङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) को गठबन्धनको आक्रमणलाई युद्धविरामले रोकेको थियो । 


प्रतिक्रिया