संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गर्ने
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ ।
मंगलबार बसेको समितिको बैठकले बुधबार बिहान ११ बजे सहकारी पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।
समितिले मंगलबार सहकारी विभागका पूर्व रजिस्ट्रारहरु केशवप्रसाद रेग्मी, टोकराज पाण्डे, नमराज घिमिरे, रूद्रप्रसाद पण्डित र रजिस्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।
बैठकमा उनीहरुले सहकारी क्षेत्रका समस्याहरूको समाधानमा नियमनकारी निकायका रूपमा सहकारी विभाग र रजिस्ट्रारको भुमिकाका बारेमा महत्वपूर्ण अनुभव र सुझावहरू राखेका थिए ।
एमाले सांसद थापाको संयोजकत्वमा गठित समितिलाई तीन महिनाको समय दिइएको छ । समितिले यसअघि सहकारी विज्ञलगायतसँग छलफल गरेको थियो । त्यस्तै समितिले छानबिनको दायरामा परेका सहकारी संचालकहरुलाई पनि समितिमा उपस्थित भएर जानकारी गराउन निर्देशन दिइसकेको छ ।
