‘कबड्डी ५’ कात्तिक ६ गतेदेखि
काठमाडौं । नेपाली फिल्मको चर्चित फ्रेन्चाइज ‘कबड्डी’ फेरि पर्दामा फर्किने भएको छ। यसको पाँचौं शृंखला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
दसैंको टीकाको पर्सिपल्ट फिल्म हलमा लाग्नेछ। निर्माण पक्षले फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
पोस्टरमा काजीको भूमिकामा दयाहाङ राई, बीकेको भूमिकामा विजय बराल र छन्त्यालको भूमिकामा बुद्धि तामाङ देखिएका छन्। तीनै पात्रलाई यसअघिकै परिचित शैलीमा प्रस्तुत गरिएको छ।
‘कबड्डी ४’ लाई यसअघि अन्तिम शृंखला भनिएको थियो। तर कथाका केही पात्रको यात्रा पूरा नभएपछि पाँचौं भाग बनाइएको निर्देशक रामबाबु गुरुङले बताएका छन्।
उनका अनुसार नयाँ फिल्म केवल ‘कबड्डी’ ब्रान्डलाई निरन्तरता दिन बनाइएको होइन। पात्रको अधुरो कथा र यात्रालाई निष्कर्षमा पुर्याउन पाँचौं शृंखला आवश्यक परेको हो।
‘कबड्डी’का अघिल्ला चारवटै फिल्मले दर्शकको राम्रो साथ पाएका थिए। चौथो भागले करिब २२ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यसबेला यो नेपाली फिल्ममध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो।
बासुरी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ र कमलमणि नेपाललगायत कलाकार छन्।
निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन्। सागर राज कार्यकारी निर्माता हुन्।
सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहने फिल्म नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ। विदेश वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।
अब दसैं सकिएसँगै दर्शकले काजी, बीके र छन्त्यालको पुरानै टोलीलाई नयाँ कथामा फेरि ठूलो पर्दामा देख्न पाउनेछन्।
