`

विदेशमा रहेका नेपाली नियोगको क्षमता अभिवृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएको प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले भने, ‘विदेश जाने नेपालीको सङ्ख्या बढ्दैछ । तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोग आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन । दरबन्दी धेरै पूरानो छ । यसलाई बदलेर सङ्गठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी चाँडै एउटा निष्कर्षमा पुग्नेछौँ ‘

बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल कूटनीतिमा अभिव्यक्त भएको बताउँदै देशले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायको सवलीकरण गर्नुपर्नेमा जोड दिए ।

छलफलमा अर्थमन्त्री वर्षमान पुन, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, परराष्ट्र सचिव सेवा लम्साल, अर्थसचिव मधुकुमार मरासिनीलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिए ।

तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’ गर्ने विषयमा अमेरिकासँग छलफल भएको तालिबान सरकारका अधिकारीले बुधबार बताएका छन् ।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले हाम्रा नागरिकलाई आदानप्रदानमा मुक्त गर्न सक्षम हुनुपर्छ, जसरी अमेरिकी नागरिकहरू उनीहरू (संयुक्त राज्य अमेरिका) का लागि महत्वपूर्ण छन्, त्यसरी अफगानीहरू हाम्रा लागि महत्वपूर्ण छन् ।”

कतारमा संयुक्त राष्ट्रङ्घको नेतृत्वमा भएको वार्ताका क्रममा अमेरिकी प्रतिनिधिसँग कैदी आदानप्रदानका विषयमा छलफल भएको उनले बताए ।

संयुक्त राष्ट्रसङ्घका अधिकारी, तालिवान अधिकारी र अफगानिस्तानका लागि विशेष दूतको उपस्थितिमा भएको वार्ता सोमबार सकिएको हो ।

“दुई जना अमेरिकी नागरिक अफगानिस्तानमा थुनिएका छन्,” पत्रकार सम्मेलनमा मुजाहिदले भने, ‘क्युबाको गोप्य अमेरिकी जेलसहित अमेरिकामा पनि अफगानी कैदीलाई राखिएको छ ।

उनले भने, “हामीले उनीहरूसँग उनीहरूको रिहाइका लागि यसअघि पनि छलफल गरिसकेका छौँ । अफगानिस्तानको शर्त स्वीकार गर्नुपर्छ ।”

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएको र खोजी गर्ने क्रममा उनलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भने, ‘उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नुभएको, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर देख्नुभएको र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिर्नुभएको थियो । पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन् ।’

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्।

गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए ।

सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् ।

नेप्से सामान्य अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै छ दशमलव १२ र वित्त समूहको सूचक छ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक दुई दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । 

होटल तथा पर्यटन शून्य दशमलव १९, जलविद्युत् शून्य दशमलव ६८, जीवन बीमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन एक दशमलव ०७, लघुवित्त शून्य दशमलव १४, म्युचुअल फण्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको रु २३ करोड एक लाख ७७ हजार सात सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएको छ ।

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त

काठमाडौँ । गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् ।

लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्याण्डमार्क, ब्लुबर्ड मल काठमाडौँले आशयपत्र पेस गरेका हुन् ।

लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत दुई अर्ब ३५ करोड छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ ।

यसैगरी, विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गरिएको थियो । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत १० अर्ब २० करोड छ ।

लगानी बोर्डले गत जेठमा आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न १२ वटा परियोजनाको आशयपत्र माग गर्न समय थपेको थियो । जसमध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र र गौतमबुद्ध म्याटर्निटी हस्पिटलको आयशपत्र पेस गर्ने समय यही असार १८ गते (२०२४ जुलाई २ तारिख) सम्मका लागि समय दिइएको थियो ।

विभिन्न चारवटा आयोजनाका लागि भने आशयपत्र पेस गर्ने समय यही असार २८ गतेसम्म रहेको छ । नौमुरे बहुउद्देश्यीय परियोजना, कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानीकर्तालाई २०२४ जुलाई १२ तारिखसम्म प्रस्ताव पेस गरिसक्न समयावधि तोकिएको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा विभिन्न १९ वटा आयोजनामा लगानी जुटाउन परियोजना प्रस्तुत गरिएका थिए । पहिचान भएका ती आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढाइएका थिए ।

राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल

काठमाडौँ । राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । 


बुधबारको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे । 


सचिव अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराए । 


राष्ट्रियसभाकाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।  

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार सचिव पदमा नियुक्त गरेका हुन् ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

मनाङको बाटो सधैँ जोखिमपूर्ण, सास्तीमा यात्री

 मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे-बेँसिशहर-चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ ।

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङवासीलाई बाढी-पहिरोको सधैँ त्रास रहन्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ । बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ ।

तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

बाढीपहिराका कारण सडक मात्र नभइ मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ ।

सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ ।

‘वर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उनको भनाइ छ ।

लमजुङको बेँसीसहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ । विसं २०७८ मा ठूलो क्षति व्यहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मि) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाए ।

बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ । खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ । चामे-५ का फुर्वा लामा भन्छन्, ‘अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो । माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन । लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पुर्‍याउनै समस्या हुन्छ ।’ मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ । खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उनले बताए । स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन् ।

काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताए । बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो ।

बाढीले बेँसीसहर–चामे सडकको पक्की पुल बगायो

तिमाङ खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ । गए राति तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए ।

यसअघि मङ्गलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो । गए राति सो क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठूलो छहराको पुल बगाएको उक्त योजना कार्यालयले जनाएको छ ।

सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्याङ थुप्रिएर क्षति पुर्‍याएको सूचना अधिकारी पोखरेलले बताए । सो ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो ।

उक्त योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल रु १९ लाख ९४ हजार तथा सानो छहरामा कल्भर्ट पुल रु ११ लाख ८५ हजामा निर्माण गरिएको छ ।

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन ।

“मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी रोगका कारण आफ्नो शरीरलाई स्थिर राख्न सक्दैन,” चिन्तित आमा एलवानले भनिन् ।

बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेतो र रातो धब्बाहरू छन् । उसको टी–शर्ट मुनि यस्ता धेरै धब्बा छन् । उनी छालाको सङ्क्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पिडित धेरै गाजावासीहरूमध्ये एक हुन् ।

“हामी भुइँमा सुत्छौं, बालुवामा सुत्छौं, जहाँ कीराहरू बाहिर निस्कन्छन्,” एलवानले भनिन् । उनको परिवार मध्य गाजा शहर देइर अल–बलाहको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो ।

एलवानको विचारमा सङ्क्रमण अवश्यम्भावी छ । उनले भनिन्, “हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाउन सक्दैनौं । त्यहाँ हात, खुट्टा र शरीर धुन र सफा गर्नको लागि चाहिने कुनै उत्पादनहरू छैनन् । यहाँ केही पनि छैन ।”

आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे । तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन । सबै फोहोर र प्रदूषित बनेको छ ।

“समुद्र सबै ढल हो । उनीहरूले फोहोर (दिसा) र बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,” उनले भनिन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा युद्ध सुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका सङ्क्रमणको भयाबह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन् ।

देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको माहामारी नै छ ।

क्लिनिकमा दुई जना केटाहरूले आफ्नो हात, खुट्टा, ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोकाहरू र लुतो र यसले बनाएका घाउहरू देखाए ।

औषधिको अभावमा ४३ वर्षीय हमिदले केटाहरूको छालामा ‘क्यालामाइन लोसन’ दल्दै उपचार गरिदिए । यो उक्त समस्या निको पार्नका लागि नभई शितलताका लागि गरिएको उपचार थियो । अन्य औषधि नभएपछि खास उपचार गर्न सम्मभव नभएको उनले बताए ।

“तातो मौसम र सफा पानीको कमीले बालबालिकाको छालामा सङ्क्रमण फैलिने गरेको छ,” उनले भने ।
गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगाइसिबले भने “बालबालिका भनेका खेलप्रिय र अन्जान हुन्छन् । उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोइकन खान्छन् ।”

अबु मुगैसीबका अनुसार तातो मौसमले पसिना र फोहोर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना लाई बढाउँछ ।

उनले भने, “मानिसहरू अहिले घरमा बसिरहेका छैनन्, उनीहरू बसेका स्थानमा सरसफाइको उचित व्यवस्था छैन ।”

एमएसएफ चिकित्सकहरूले यस्तो बसाइका कारण लामखुट्टे तथा अन्य किराहरूको टोकाइबाट हुने ‘लेशमेनियासिस’ को सम्भावना बढ्ने बताए । भद्रगोल बसाइमा यसले सबैभन्दा खतरनाक र घातक छालाजन्य समस्या ल्याउन सक्छ ।

उनले भने, “गाजाका बालबालिकाहरू पहिलेदेखि नै रोगको उच्च जोखिममा रहेका छन् । कुपोषणका कारण उनीहरूको प्रतिरक्षा प्रणालीमा सम्झौता भएको छ ।”

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ ।

प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका समय एक्कासी भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो ।

घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो ।

अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन् ।

‘महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए । सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथी थिचिएका थिए,’ सुरक्षा सेवामा खटिएका प्रहरी अधिकारी शीला मौर्यले भने ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिलाहरु रहेका थिए ।

उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ । यसले घटनामा १२१ जनाको मृत्यु भएको बताएको छ ।

इजरायली निर्देशनपछि राष्ट्रसङ्घीय मानवीय सहयोग समूह चिन्तित

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूहले मङ्गलबार खान युनूस र राफाह प्रान्तको ११७ वर्ग किलोमिटर क्षेत्र खाली गर्न दशौँ हजार गाजावासीलाई आदेश दिएको भन्दै यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले पछिल्लो नौ महिनामा वस्ती खाली गर्न दिइएको आदेशबाट प्रभावित गाजावासीहरू बारम्बार विस्थापित भएको बताएको छ । गाजा पट्टीको लगभग एक तिहाइलाई समेट्ने सोमबारको निर्देशन उत्तरी गाजा खाली गर्ने अक्टोबरको आदेशपछिको सबैभन्दा चिन्ताजनक बिषय हो ।

ओसिएइचएले यति ठुलो मात्रामा निकासीले नागरिकहरूको पीडा बढाई मानवीय आवश्यकता अझ बढाउने जनाएको छ ।
विस्थापितसँग दोस्रो वा तेस्रो पटक बसाइँ सर्ने असम्भव विकल्प नभएको जनाउदै कुनै ठाउँ वा सेवाहरू भएका क्षेत्रमा भारी लडाई हुने क्षेत्रमा बस्ने सम्भावना नभएको मानवीय सहायताकर्मीले उल्लेख गरेका छन् ।

युएनआरडब्लुए (प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य निकाय) को प्रारम्भिक अनुमानले आदेशको समयमा विस्थापित रहेका क्षेत्रमा लगभग दुई लाख ५० मानिसहरू बसोबास गरेको हुनसक्ने सङ्केत गरेको छ । नयाँ आदेशले ९० भन्दा बढी विद्यालयहरूलाई असर गरेको छ । आदेश कार्यान्वयनले धेरै विस्थापित मानिसका साथै चार मेडिकलस्थल र युरोपेली गाजा अस्पताल क्षेत्रलाई प्रभावित पर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार ७० जना बिरामी र मेडिकल स्टाफलाई स्व–निकासी गरिएको र मङ्गलबार थप बिरामीलाई बाहिर निकालिएको बताएको छ ।

अधिकृत प्यालेस्टिनी क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले युरोपेली गाजा अस्पतालमा तीन जना र रेडक्रस फिल्ड अस्पतालको अन्तर्राष्ट्रिय कमिटीमा तीन जना बिरामी मात्र बाँकी रहेका छन् ।

डब्ल्यूएचओले अस्पतालबाट बहुमूल्य चिकित्सा उपकरण र आपूर्तिको स्थानान्तरणलाई समर्थन गरी बाँकी महत्वपूर्ण अस्पतालमध्ये एक, ओसिएएचएले मङ्गलबार इजरायली अधिकारीहरूले अस्पतालमा बिरामी वा कर्मचारीहरूमा यो आदेश लागु नहुने बताएका छन् ।

मानवीय कार्यालयले सबै पक्षहरूले सँधै अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्नुपर्ने दोहोरÞ्याएको छ । “यसको अर्थ नागरिकहरू सुरक्षित हुनुपर्छ, र उनीहरूको आवश्यकताहरू–खाना, आश्रय, पानी र स्वास्थ्य सहित–पूरा गरिनुपर्छ भन्ने हो ।

मनसुनसँगै रोगहरूको जोखिम उच्च

 डा. प्रकाश बुढाथोकी
मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ ।


गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्याङ्क छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ ।


मनसुनको सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्याङ्क आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको सङ्केत गरेको छ । 

विपद्ले ल्याउने स्वास्थ्य समस्या 

वर्षात्को समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्र्षाले ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ । 


बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू  टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा  बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो ।


यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । करिब सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खस्खसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिंगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ । 

पानीजन्य रोगहरू

रोगका किटाणु पानीको मुहानमा परे सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुकाहरू, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जण्डिसलगायत २० वटा सरुवा रोगहरू पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्रगतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ । 


पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । 


टाइफाइडमा सुरुमा रोग रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । त्यसपछि विस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ ।


वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । उपरोक्त दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ । 


लामखुट्टेजन्य रोगहरू


वर्र्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीब्र ज्वरो हुने डेंगु, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ ।


वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । विरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाव रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ ।


मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।


टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ  । टोकेको ठाउँदेखि दुई–तीन  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ ।


मनसुनजन्य विपद तयारी र प्रतिकार्य 

उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको ब्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्डपोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ ।

पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् ।    
   
अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ ।


(लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ )

बागलुङको काठेखोलामा शहीदको स्मृतिमा उद्यान निर्माण

 ढोरपाटन (बागलुङ) । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा शहीद स्मृति उद्यान निर्माण गरिएको छ । शहीद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो ।

सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएकाहरूको सम्मानका लागि उद्यान निर्माण गरिएको काठेखोला–१ वडाध्यक्ष खड्क थापाले बताए । उनका अनुसार उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिएको छ ।

अघिल्लो वर्षदेखि निर्माण सुरु भएको उद्यान चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाको संयुक्त लगानीमा उद्यान निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा रु १५ लाख, चालु आवमा रु २० लाख र गाउँपालिकाले गत वर्ष रु दुई लाख र चालु आवमा  दुई लाख विनियोजन गरेको थियो ।

 ३९ लाख बजेटबाट तीन सय ५० मिटर पदमार्ग, सालिक, गेट, सडक ढलान र घराबार निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । शहीदको सम्मानसँगै पर्यटन प्रवर्द्धन गर्न उद्यानले टेवा पुर्याउने भन्दै उद्यान जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिएको उनको भनाइ छ ।

‘शहीदको स्मृतिमा यो उद्यान निर्माण गरेका हौँ, यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । उद्यानसँग पहिचान, इतिहास र सम्मान पनि जोडिएको छ । राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका शहीदको सालिक उद्यानमा राखेका छौँ’, वडाध्यक्ष थापाले भने ।

उद्यानले गाउँको सुन्दरतालाई बढाएको भन्दै गत वर्ष चौतारालगायत भौतिक संरचना निर्माण गरिएको थापाले जानकारी दिए । ‘उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राखेर यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने योजना छ’, उनले भने ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न यहाँ उद्यान निर्माण गरिएको बताए । गाउँपालिकाले अन्य ठाउँमा पनि पर्यटकीय पूर्वधार निर्माणसँगै र प्रचारप्रसारमा जुटेको भन्दै वडा नं १ मा शहीद उद्यान निर्माण गरिएको उनको भनाइ छ ।

काठेखोला पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले पर्यटनसम्बन्धी संरचना थप्दै जाने योजना रहेको उनले जानकारी दिए ।

राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पारे ।

राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उनले भने, ‘यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।’

‘विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो’, उनले स्मरण गरे ।

अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिए ।

उनले भने, ‘एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।’

संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भने, ‘हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।’

एकप्रश्नमा उनले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिए । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसैकसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर हुँदैन, उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र ? देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।’

अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गरे । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरु संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।’

रविलाई मुकुल ढकालको चुनौतीः बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महामन्त्री डा.मुकुल ढकालबीचको विवाद बढ्दै गएको छ । बुधबारको केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले आफूले तयार पारेको प्रस्ताव सभापति लामिछानेले पेश गर्न दिएनन् ।

प्रतिवेदन पेश गर्न नदिएपछि महामन्त्री ढकालले प्रतिवेदनको आधारमा तयार पारिएको प्रस्ताव पेश गरेका छन् । प्रस्तावमा उनले पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘‘मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोही पनि नरिसाउनु होला। सच्चिऔं। सच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन। मैले खाली सच्चिन अघि केही गल्तीहरु गरे होला। म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने। किन कि प्रश्न आइसक्यो ? सच्चिने कि…. ? भो अर्को शब्द नबोलौं होला। फेरि साथीहरूलाई लाग्न सक्छ, सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ? मलाई चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका आफैं मुल्याङ्कन गर्नुहोस्।’

प्रस्तावमा उनले राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिने उल्लेख गरेका छन् । उनले भनेका छन्,‘राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस्।’

त्यस्तै उनले आफ्नो व्यक्तिगत जीवनकै विषयमा केन्द्रीय सदस्यहरुले पनि टिप्पणी गरेको प्रस्तावमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।’

उनले पार्टी सभापतिलाई बोलेका कुराको रेडर्क राखेर उत्तर दिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सभापतिज्यू, तपाईंले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिनपर्यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरु । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरु मलाई मतलब छैन, मलाई तपाईंले बोेलेका कुराहरु मतलब छन् । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछिमात्रै बोल्नुहोला ।’

बैठकमा बोल्न नदिएको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर सहभागी भएका छन् ।

रोहिणी खोला किनारमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा ।  नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाएको छ ।

ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिए ।

पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको उनले बताए । निगमले भण्डारण निर्माण गर्न लागेको जग्गाको उत्तर र पश्चिममा रोहिणी खोला बगेको छ । उत्तरतर्फ ‘रिटेनिङ वाल’ लगाइएको छ भने पश्चिमतर्फ ग्याबिन पर्खाल लगाइएको छ ।

प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौंस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब आठ करोडमा ती ठेक्का लगाइएको हो ।

भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन पुर्ने कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खोला किनारमा ग्याबिन लगाउँदा वर्षातको पानीले अप्ठयारो पारेको इन्जिनियर खनालले बताए । रोहिणी खोलाको समानान्तर सात मिटर उचाइको ग्याबिन पर्खाल र उत्तरतर्फ ४.५ मिटरको रिटेनिङ वाल लगाइनेछ ।

तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् ।

सातवटा प्याकेजमध्ये जमिन पुर्ने काम सुरुवाती चरणमा रहेको छ । प्याकेज नं ४ र ५ अन्तर्गत ग्याबिन पर्खाल निर्माणको भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको उनले बताए। प्याकेज नं ३ को भौतिक प्रगति न्यून छ । प्याकेज १ र २ को एउटै ठेकेदार भएकाले काम सुस्त भइरहेको इन्जिनियर खनालले बताए ।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारणबाट लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारणगृह निर्माण गर्दै आइएको छ ।

तीन अर्ब रुपैयाँको लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर दुई र मटितेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्याङ्क निर्माण गरिनेछ ।

भण्डारणगृह निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । उनले असोजभित्र परियोजनाको ‘डिजाइन’ सम्पन्न गरिने जानकारी दिए। परियोजनाको डिजाइन काठमाडौं विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारणगृह निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रधानमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

प्रमुख सचेतक रमेश लेखकले अहिलेको राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।

उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरिसकेको छ । ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा छँदैछ ।’

बैठकले एमालेसँग भएको सहमति  पनि अनुमोदन गरेको छ । एमाले र कांग्रेसबीच सुरुका दुईवर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र त्यसपछि चुनावसम्म सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा १२ समूहका सुझाव पेस हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

हेटौँडामा नमूना सडक बनाइँदै

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ । हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए ।

सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रुपमा निर्माण गरिने उनले बताए ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताए ।

रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ ।

नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए ।

भुक्तानी रोकिँदा नारायणी तटबन्ध निर्माणमा समस्या

चितवन । नारायणी नदीमा गरिएको तटबन्धको कामको  एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन। गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन्।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन्। उनले भने, ‘आयोजनालाई काम लगाउनसमेत कठिन भएको छ।’

आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यस लगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो। यसमध्येको अघिल्लो वर्षको कामको भुक्तानी रु ६० करोड यस वर्षको सुरुआतीमा गरिएको भए पनि त्यसयता भुक्तानी हुन नसकेको उनले जानकारी दिए।

दुई जिल्लामा गरी ११ खण्डमा ठेक्का लगाइएको थियो। चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ खण्डमा ठेक्का लगाइएको थियो। चितवनतर्फ नारायणीको पुलबाट उत्तरतर्फको ‘सिवीच मोडल’ रु १७ करोड खर्च गरेर काम सम्पन्न गरिसकिएको छ।

आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार गाँजीपुरदेखि हीरापुरसम्मको पाँच किलोमिटर तटबन्ध काम सम्पन्न भएको छ। रु ४८ करोड ६४ लाखमा ठेक्का लगाइएको थियो। रु ३६ करोड भुक्तानी गर्न अझै बाँकी रहेको उनले जानकारी दिए।

चितवनतर्फ सिसइदेखि बालुवासम्मको ५ दशमलव ८ किलोमिटर तटबन्ध रु ३७ करोड ४८ लाखमा ठेक्का लगाइएको थियो। यसको भौतिक प्रगति २० प्रतिशत भएको छ। काम गरेको रु एक करोड ११ लाख बजेट अभावमा भुक्तानी हुन सकेको छैन।

रामघाटदेखि शिवघाटसम्मको पाँच किलोमिटर तटबन्धको काम ५१ प्रतिशत भइसकेको छ। रु एक अर्ब १५ करोडमा ठेक्का लगाईएकोमा बिल प्राप्त भएर पनि रु २६ करोड भुक्तानी गर्न नसकिएको न्यौपानेले जानकारी दिए।

बालुवादेखि गोलाघाटसम्मको ४ दशमलव ३ किलोमिटर तटबन्धको काम रु २६ करोडमा ठेक्का लगाइएको थियो। जसमध्ये भौतिक प्रगति ८६ प्रतिशत भइसकेको छ। बिल प्राप्त भएर पनि रु १० करोडबढी भुक्तानी गर्न बाँकी रहेको छ।

नवलपरासीतर्फ तटबन्धको काम भएर पनि भुक्तानी रोकिँदा समस्या भएको उनले जानकारी दिए। कुसुमघाटदेखि थुम्सीसम्मको ४ दशमलव ९ किलोमिटर तटबन्धको २३ प्रतिशत काम सम्पन्न भएको छ। रु एक अर्ब नौ करोडमा ठेक्का लगाइएको यस खण्डमा रु आठ करोड ७१ लाख भुक्तानी हुन बाँकी रहेको छ।

देवचुली नगरपालिका–१७, कावासोती नगरपालिका वडा नं १५ र मध्यविन्दु नगरपालिका वडा नं २ र ३ मा १ दशमलव ८ किलोमिटर तटबन्धको काम ५५ प्रतिशत सम्पन्न भएको छ। जसको ठेक्का रकम रु १२ करोड रहेको छ। यो ठेक्कामा काम भएर बिल पेस भएको रु छ करोड ७६ लाख भुक्तानी हुन बाँकी छ।

कावासोती वडा नं ११ र मध्यविन्दु वडा नं १५ मा २.७ किलोमिटर तटबन्धको ठेक्का लगाइएकोमा ९७ प्रतिशत प्रगति भएको छ। रु १२ करोड १७ लाखमा लगाइएको यो ठेक्काको रु एक करोड ८३ लाख भुक्तानी हुन बाँकी छ।

सुस्ता गाउँपालिका वडा नं ५ मा चार सय मिटर तटबन्धनको प्रगति ७० प्रतिशत भएको छ। न्यौपानेका अनुसार रु दुई करोड ८० लाख भुक्तानी बाँकी छ। ठेक्का रु पाँच करोड ८६ लाखमा लगाईएको हो।

गैंडाकोटको सिस्ने र पितौजीमा आठ सय मिटर तटबन्धको ७० प्रतिशत काम सम्पन्न हुँदै गर्दा रु तीन करोड ८० लाख भुक्तानी बाँकी छ। यो ठेक्का रु छ करोड ८० लाखको हो। मध्यविन्दुको नन्दपुरमा तटबन्धको काम सम्पन्न भएको छ।

निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताए। निर्माण कम्पनीले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उनी बताउँछन्।

कम्पनीले सार्वजनिक खरिद नियमावलीअनुसार ३० दिनभित्र भुक्तानी नपाएमा ब्याजसमेत पाउने व्यवस्था रहेको छ। उनले सोहीअनुसार कतिपय कम्पनीले ब्याजसमेत दाबी गरेर पत्राचार गरेको बताए।

सम्झौतामा पाँचदेखि १० प्रतिशतसम्म ब्याज दिने उल्लेख छ। यी सबै ठेक्का विसं २०८२ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने समय रहेको छ। निर्देशक साहले भने, ‘समयमा भुक्तानी गर्न नसक्दा सोचेजस्तो काम लगाउन सकिएको छैन।’

नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव ५ किलोमिटर तटबन्ध गर्न लागिएको हो। दुवैतर्फ काम सम्पन्न गर्न रु २३ अर्ब खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदनले देखाएको छ।

रास्वापाका महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर केन्द्रीय समिति बैठकमा सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा मुखमा टेप टाँसेर विरोध जनाएका छन् ।

बुधबारको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध जनाएका हुन् । उनले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए ।

तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् । महामन्त्री ढकालले केही दिनअघि पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउँदै एमाले र माओवादीसँग सहकार्य गर्नु गलत भएको बताएका थिए ।

प्रतिवेदनमा काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्नुपर्नेलगायतका विषय उल्लेख छन् । ढकालले पार्टी यसैगरी चलाए २०८४ सालमा विवेकशील साझाको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

उनले पार्टीप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले त्यसलाई चिर्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

तर पार्टीको आन्तरिक कुरा मिडियावाजी गरेको भन्दै ढकाललाई स्पष्टीकरणसमेत सोधिएको छ । त्यसपछि पार्टीभित्र महामन्त्रीको ढकालको आलोचना भइरहेको छ । उनले यो प्रतिवेदन बुझाएपछि आफू पार्टीबाट निकालिनसक्ने समेत बताउँदै आएका छन् ।

कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान भएको समूह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै समूह डीबाट दुवै टोली क्वाटरफाइनल पुगेका हुन् ।

खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरूआती अग्रता लिएको थियो । खेलको ४५औं मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले खेल बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकियो । बराबरीपछि कोलम्बिया २ जीत र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिलको ३ खेलमा एक जीत र २ बराबरीसहित ५ अंक हासिल गरेर दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको हो । समूह डी मा रहेका कोस्टारिका र पाराग्वे भने बाहिरिएका छन् । अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने छ ।

रास्वपा सरकारमा जानुअघि चाहिँ कुन काण्डको फाइल खुलेर सरकार ढलेको थियो होला ?

नारायण गाउँले ।
प्रिय रास्वपा मित्रहरू,
गिरिबन्धुको फाइल खोल्न लागेकाले सरकार ढलेको जस्तो तर्कचाहिँ नगर्नुहोला ! फाइल त सर्वोच्चले खोलेको थियो र यसको बेचबिखनमा रोक लगाएको थियो । गर्नुपर्ने केही थिएन, फैसला मात्रै कार्यान्वयन भएको भए पनि पुग्थ्यो । कति सजिलो थियो । तर तपाईंको पार्टीले त हिजोमात्रै फेरि बेच्न पाउने कानुन पास गर्यो । अब संसदबाटै बेचबिखन गर्न मिल्ने कानुन पास गरेपछि केको फाइल ? कस्तो फाइल ?

फाइल खोल्ने कुरो त पक्कै कठीन थियो । जसको आड़मा सरकारसम्म पुगिएको थियो र सहकारी काण्डमा जसले बलियो काँध थापेको थियो, त्यसै विरुद्ध फाइल या फायर खोल्नु व्यावहारिक रूपले सम्भव थिएन । त्यस्तो आशा राख्नु या त्यसैका आधारमा मूल्याङ्कन गर्नु न्यायसङ्गत हुँदैनथ्यो । तर नयाँ कानुन बनाउने बेला त विरोध गर्न नसकिएला तर होस् पुर्याउन सकिन्थ्यो, नाईं भन्न सकिन्थ्यो या हालिएका संशोधन पास गर्न सकिन्थ्यो । कसरी त्यस्तो कानुन पास भयो ?
गिरिबन्धुमा खोलिराख्न पर्ने केही थिएन । जे थियो, क्लियर थियो । सर्वोच्चमा लामो बहस, दफावार छलफल भएकै थियो । प्रमाणहरू पेस भएकै थिए र दोषी को हो चिनिएकै थियो । यहाँसम्म कि न्यायिक निरूपण भएर फैसला समेत भइसकेको विषय थियो । मानौं गिरिबन्धु दराजमा थन्किएको एउटा किताब हो र त्यसलाई पाना पल्टाएझैँ खोल्ने हल्ला भयो तर काम ठीक उल्टो भयो ।

‘फल्नो फल्नो फाइल खोल्न लागेका’ले सरकार ढल्यो भन्ने पनि अलि कच्चा तर्क भयो । एक त रास्वपाका लागि मात्रै यो सरकार बनेको या ढलेको होइन । मुख्य खेलाड़ी अरू नै हुन् । यो सरकार मूलतः प्रचण्डको हो । त्यसपछि एमालेको र बल्ल रास्वपाको हो । फेरि सरकार ढलिसकेको पनि छैन । एमालेले विश्वासको मत फिर्ता लिएको हो । सरकार त छँदै छ । मन्त्रालय छँदै छ । कसैले हटाएको छैन । रास्वपा सरकारमा जानुअघि चाहिँ कुन काण्डको फाइल खुलेर सरकार ढलेको थियो होला ? लोकतन्त्र नै मान्ने हो भने पनि संसदको पहिलो दलले सरकार बनाउने निरन्तर कसरत गर्नु स्वाभाविक होइन र ? तेस्रो चौथो दल त सत्ताबाहिर बस्न सक्दैनन् भने पहिलो र दोस्रोमा सत्तामोह त हुने नै भयो ।

आम जनताहरू रास्वपा अलि परिपक्व भएको हेर्न चाहन्छन् । फाइल फाइल नभनीकनै, कुनै प्रचारबिनै र आफ्नै पार्टी र सहकर्मीसमेत फस्न सक्ने जान्दाजान्दै नारायणकाजीले शरणार्थीदेखि सुनकाण्डसम्म छानबिन गरेकै थिए । अनुसन्धान अघि बढ्दै जाँदा सत्तारूढ़ दलकै शक्तिशाली नेतासमेत थुनिएका थिए । उनी हटाइए । ढिलोचाँडो काम आफैं बोल्छ ।
रास्वपालाई सकिएको हेर्न चाहनेहरू पनि होलान्, अलि परिपक्व भएको हेर्न चाहने पनि छन् । ‘फाइल’, ‘थुन्ने’, ‘ठोक्ने’जस्ता नारामूलक शब्दभन्दा माथि उठेर देशको आर्थिक र सामाजिक भविष्यबारे वैचारिक बहसहरू शुरू भएको हेर्न चाहनेहरू पनि छन् । फाइलहरू त प्रहरीलाई अनावश्यक दबाब नदिए आफैं खुल्छन् ।

धेरै बिग्रिएको केही छैन । रास्वपाले चलाएका मन्त्रालयमा अनियमितताको प्रश्न कसैले उठाउन सकेको छैन । जादू जस्तै एक दुई महिनामैं सबै काम फत्ते हुने पनि होइन । सिङ्गो संसद तपाईंहरूसँग छ । दिनरात खटेर विषयमा मिहिनेत गर्ने केही सांसद पनि छन्, विषयमा दक्षता भएका विज्ञ सांसद पनि छन् । अझ देश र विदेशभर लाखौं शुभचिन्तक छन् ।
सरकारमैं बस्ने अप्शन पनि बन्द भएको छैन होला । प्रचण्डबाहेक अरू प्रधानमन्त्री स्वीकार नगर्ने भन्ने त नहोला । सरकार र समीकरण त फेरि पनि फेरिइरहन्छन् । हिजो रास्वपा नहुँदा पनि त फेरिएकै हुन् । आम शुभेच्छुकले त्यसै पनि सरकारमा गएको मन पराएका छैनन् । सत्तामा नभएको भए यस्तो कानुन पास हुँदै गर्दा सबैभन्दा चर्को विरोध र खबरदारी रास्वपाकै हुने थियो ।

यसो गहिरो गरी सोच्नुभो भने, गिरिबन्धुको एउटा फाइल नखुलेर अलिकति घाटा हुन्थ्यो होला तर यस्तो कानुन बन्दा त गिरिबन्धु मात्रै होइन, देशभर सयौं बिघा जग्गाको बेचबिखन खुल्यो । झन् बाँध नै भत्कियो । यस्तो किन भयो ? किन रास्वपा यसमा मुछियो ? एउटा गम्भीर समीक्षा त होला नै !

भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय जनाको मृत्यु

उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

एक लोकप्रिय प्रचारकको प्रवचनका लािग हाथरस सहर नजिकै ठूलोीिभड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।

“हामीले अहिलेसम्म ९७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वी.ले भने, “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।”

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो ।

आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए । त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए ।

“जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले”, शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भन्यो “मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरे ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरेकी छन् ।

भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ ।

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो ।

विस्फोटबाट कङ्क्रिटका भवनहरू भत्केका थिए र हजारौँ मानिस एकत्रित भएका केरल राज्यको एउटा हिन्दू मन्दिर परिसरमा आगो लागेको थियो ।

सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो ।

सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।

भारत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । चारै कीर्तिमान पुरुष स्पर्धामा बनेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा पुरुष ७२ किलोमाथिको तौलमा बागमती प्रदेशका आशिष मानन्धरले एक सय ४५ किलो भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

उनले यसअघि एक सय ३० किलो भार उचालेका थिए । सो स्पर्धामा कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए ।

प्रतियोगितामा पुरुष ५९ किलोमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ किलो तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए । यसअघि ८५ किलो भार उठाएका दीपक तिमल्सिनाको नाममा उक्त कीर्तिमान थियो । सो स्पर्धामा कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो भए ।

यस्तै पुरुष ६५ किलोमा बागमतीका दीपक खड्काले एक सय एक किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाए । उनले यसअघि ठाकुर श्रेष्ठको नाममा रहेको ९० किलोको कीर्तिमान भङ्ग गरे । उक्त स्पर्धामा बागमतीका विरु ढुङ्गाना दोस्रो तथा लुम्बिनीका लक्ष्मण नेपाली तेस्रो भए ।

पुरुष ५४ किलोमा बागमतीका ठाकुर श्रेष्ठले एक सय किलो भार उचाल्दै नयाँ कीर्तिमान बनाए । उनले आफ्नै नाममा रहेको ९० किलोको कीर्तिमानमा सुधार गरेका हुन् । उक्त स्पर्धामा गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो भए ।

यसैगरी पुरुष ४९ किलोमा बागमतीका मनिष पुन मगर पहिलो भए । उनले ५० किलो भार उठाए । कर्णालीका रुपलाल बस्नेत दोस्रो तथा कोशीका अजित खाती तेस्रो भए ।

पुरुष ७२ किलोमुनिको तौलमा बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० किलो तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा मधेसबाहेक ६ प्रदेशका ४२ खेलाडी सहभागी भएका थिए । पुरुषतर्फ ६ तथा महिलातर्फ तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो । थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ । यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो ।

निर्धारण गरिएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने छ। कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी नुनको मूल्य समायोजन गरिएको बताए।

‘नम्बरी सुन’ साउन २५ गते रिलिज हुने

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिए पनि अब भने त्यसअघि साउन २५ गते रिलिज हुन लागेको छ ।

निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ । फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन र पोस्टर डिजाइनर राकेश दाहाल छन् ।

फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रधानमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्रीलाई बुधबारसम्म राजीनामा गरेर सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

नेता प्रदीप ज्ञवालीले बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ ।’

उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए । त्यस्तै बैठकले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने गएराति सहमति भएको छ । सहमतिअनुसार सुरुमा दुईवर्ष ओली प्रधानमन्त्री बन्नेछन् भने त्यसपछिको बाँकी अवधि देउवा प्रधानमन्त्री बन्नेछन् ।

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति हुनु सकारात्मकः राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई सकारात्मक भनेको छ ।

दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पदाधिकारी बैठक बैठकले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रूपमा स्वागतयोग्य भएको निष्कर्ष निकालेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु स्वागतयोग्य भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ । त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रूपमा स्वागतयोग्य हो ।’

उनले दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरूले यस विषयमा धारणा बनाउने बताए ।

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् । 


‘राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको 
छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मंगलबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकलाई थुनामा पठाउने आदेश

काठमाडौं । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई थुनामा पठाउने आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो ।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । उनलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल

 कैलाली। राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ।राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए ।

यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि  सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए ।

उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए । ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् ।

‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताए। उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ ।

साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए । ‘यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुवात गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन’, ढकालले भने ।

विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल थिए । उनी विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आवद्ध छन् । पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँले खेती सुरु गरेको ढकालले बताए ।

पानी नज बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसकेका छन् ।

उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर रु चार लाखबढी आम्दानी गरेको बताए । दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर ६ लाख आम्दानी गरेकाढकालले यो वर्ष १६ क्वीन्टल फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए ।

बजारमा ड्रागन फल प्रतिकिलो रु सात सय ५० पर्ने गरेको छ तर उहाँले बारीबाटै रु छ सय ५० मा बिक्री गरिरहेका छन् भने बिरुवा दुई सय ५० मा बेचिरहेका छन् । उनले तीन जनालाई रोजगारीसमेत दिएका छन् ।

ढकालले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए । ‘स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु’, उनले भने ।

भरतपुर महानगरद्वारा क्रिकेटर सन्दीप लामिछानेको सम्मान

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी  उनलाई नगद  एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।  

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति   अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताइन् ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे । 

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए ।

सहकारी छानबिन समितिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग सुझाव लिने

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाई र समाधानको उपाय लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने भएको छ । मंगलबार बसेको समितिको आठौँ बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा समितिले राष्ट्रिय सहकारी महासंघ ओमदेवी मल्ल, सिईओ चित्राकुमारी थाम्सुहाहाङ, पूर्वअध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंक अध्यक्ष केबी उप्रेती र सिईओ बद्री गुरागाईलगायत नेफस्कुन लगायतका संस्थाका पदाधिकारीसँग छलफल गरेको थियो ।

यसअघि समितिले गोरखा मिडियासँग जोडिएका नौ वटा सहकारीको विवरण माग गर्ने निर्णय गरेको थियो । गत जेठ १५ गते सहकारीको अनियमितता छानबिन गर्न संसदीय समिति गठन भएको थियो । सात सदस्यीय समितिलाई तीन महिनाको समय दिइएको छ ।

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँः नेता निधि

मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताए ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

उनले भने, ‘राजनीतिक अस्थिरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बहृत छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्छ ।’

‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्न सानेपा पुगे प्रचण्ड, ओली र देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आयोजित फोटो प्रदर्शनीको दाहाल र देउवाले अवलोकन गरेका हुन् ।

फोटो प्रदर्शनीको सभापति देउवाले उद्घाटन गरेका थिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई समेटिएको छ ।

कसैलाई जोगाउनका लागि नयाँ गठबन्धन बन्योः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धानको फाइल खोलेपछि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले संविधान जोगाउनका लागि नभई कसैलाई जोगाउनका लागि नयाँ गठबन्धन बनेको दाबी गरेका हुन् ।

उनले के कारणले नयाँ गठबन्धन बनेको भन्ने कुरा नेपाली जनताले बुझेको बताए । उनले बेचन झा फक्राउपछि नयाँ गठबन्धन बनेको संकेत गरे । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही दिनअघि बेचन झालाई पक्राउ गरेको थियो ।

उनले भने, ‘जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो । मैले के भन्नु र ? सबै कुरा स्पष्ट भइसकेको छ । तपाईंहरूले देखिहाल्नुभएको छ।’

गृहमन्त्रीले कांग्रेस र एमालेलाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आउनु हास्यास्पद भएको बताए । उनले भने, ‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने सबैले बुझेकै कुरा हो। बेचैनीको अरू के अर्थ होला र ?’

उनले मुलुकका ठूला दल मिलेर सरकार बनाउनु गलत भएको बताए । उनले प्रश्न गरे, ‘मुलुकमा के संकट आयो र ठूला दल मिल्नु पर्यो ? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो ?’

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनोट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए । अर्थ मन्त्रालयले रद्द गर्ने भनी गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए ।

माघ ५ गते सुरु भएको अध्यक्ष छनोट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो । रिटमा अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्तामा बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेको थियो ।

अर्थले महान्यायाधिवक्ता कार्यालयसँग पनि राय लिएको थियो । महान्यायाधिवक्ता कार्यालयले कानुन अनुसार तीन जना भन्दा कम प्रतिस्पर्धी भए रद्द गर्ने राय दिएको थियो । सोही रायका आधारमा अर्थ मन्त्रीले प्रक्रिया रद्द गरेका थिए ।