`

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले २० गते उनीविरुद्धका उजुरीकर्ता र २१ गते प्रधानसँग छलफल गर्ने कार्यतालिका तय गरेको हो ।

उनीविरुद्ध चार उजुरी परेका छन् । यही असार ७ गते अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको थियो ।

गत असार २ गते संवैधानिक परिषद्ले निर्वाचन पर्यवेक्षण विज्ञ प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरुप संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थायी घर भएका प्रधान आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव तथा ग्रामीण विकास प्रतिष्ठानका अध्यक्ष हुन् । उनी संलग्न संस्थाले निर्वाचन सुशासन, कानुनी शासन, मानवअधिकार तथा समावेशी लोकतन्त्रका विषयमा नेपाल सरकार, सङ्घीय संसद्, न्यायपालिका, नागरिक समाज तथा विकास साझेदारसँग सहकार्य गर्दै आएको छ ।

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

धरान । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन्।

१७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन्। उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाइसकेका छन्।

शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए।

‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ। कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररूपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ,’ उनले भने, ‘शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन। आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन।’

राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन्। त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन्। उनले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहेका छन्।

राई शिक्षण पेसामा रहेका बेला उनको परिवारले बाख्रापालन गर्दै आएको थियो। त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए। पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रूप दिए।

धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिए।

‘पहिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रूप दिएको हुँ। नजिकै जंगल भएकाले धेरै सहज भएको छ। यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु,’ उनले भने।

राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाए। शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन।

राई भन्छन्, ‘परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन्। विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु। कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन। बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ।’

फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम

गण्डकी । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ।

यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन्। सडक अनुगमन समितिका सदस्यसमेत रहनुभएका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा स्थानीय बासिन्दाको सहयोग हुँदासमेत सरकारीस्तर र निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको गुनासो गरे।

‘यो सडक यस क्षेत्रको समृद्धिसँग जोडिएको छ। हामीले छिटो निर्माणका लागि दबाद दिँदासमेत निर्माणकार्यले गतिलिन सकेको छैन। त्यसैले तत्काल कामलाई तीब्रता दिन हाम्रो आग्रह छ,’ उनले भने।

संघीय सरकारले सुरु गरेको उक्त आयोजना तीन वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो। कूल १३ दशमलव चार किलोमिटर सडक निर्माणका लागि  ३१ करोडमा सिरुवा श्यामश्याम जेभी काठमाडौंले ठेक्का पाएको छ। पूर्वाधार विकास कार्यालयका कन्सल्टेण्ट इञ्जिनियर धनप्रसाद सुवेदीले एकतर्फी पक्की नालासहितको सडक तोकिएको समयमा सम्पन्न नहुँदा पटक–पटक समय थप गरिएको बताए।

पछिल्लोपटक २०८१ सालभित्र कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। सम्झौताअनुसार तीन सय मिटर ढलान र सबै सडक कालोपत्र गरिने योजना छ।

‘समयमा रकम निकासा र निर्माण व्यवसायीको दृढ इच्छाशक्ति हुने हो भने आगामी एक वर्षभित्र बाटो निर्माण सम्पन्न हुनेछ। त्यसका लागि हामीले पनि दबाब दिइरहेका छौं,’सुवेदीको भनाइ छ।

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई  २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ। चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो।

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए।

उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा रु १५ अनुदानको व्यवस्था गरेको थियो।

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार आठ हजार नौ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए।

पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् ।

अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उदृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताएका छन् ।

रिपोर्टका अनुसार २.५ मिलियन भन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि रहेका छन् ।

अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।

इजरायलद्वारा दक्षिणी गाजामा पुनःआक्रमण

सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न बाध्य तुल्याउँदै इजरायलले मङ्गलबार दक्षिणी गाजामा ताजा आक्रमण गरेको छ ।

चिकित्सा स्रोत र प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार साक्षीहरूले खान युनिस सहर र वरपर धेरै पटक आक्रमण भएको रिपोर्ट गरे, जहाँ आठ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका थिए ।

हमासको साथमा लडेको आतङ्कवादी समूह इस्लामिक जिहादले दावी गरेको दुर्लभ रकेट प्रहार पछि यो बमबारी भएको हो ।

रकेटहरू गाजा सीमा नजिकै इजरायली समुदायलाई लक्षित गरिएको तथा इजरायली ‘अपराधहरू. हाम्रो प्यालेस्टिनी जनता विरुद्ध’ को बदलामा फायर गरिएको इस्लामिक जिहादको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडले जनाएको छ ।

इजरायली सेनाले खान युनिसको क्षेत्रबाट पार गर्ने २० वटा प्रोजेक्टाइलहरू पहिचान गरिएको बताएको छ, जसमध्ये अधिकांशलाई रोकियो छ भने कुनै हताहत भएको छैन ।

सोमबार अल–करारा, बानी सुहेला र रफाह र खान युनिसका अन्य सहरहरू खाली गर्ने आदेश दिइएको थियो ।राफाहमा इजरायली भूमि आक्रमण हुनु अघि, दश लाख भन्दा बढी मानिसहरू गाजाको दक्षिणी सहरमा विस्थापित भएका थिए ।

निकासी आदेशपछि डर र चरम चिन्ताले मानिसहरूलाई समातेको बानी सुहैलाका बासिन्दा अहमद नज्जरले बताएका छन् । उनकाअनुसार त्यहाँ बासिन्दाहरू ठुलो सङ्ख्यामा विस्थापित भएका छन् ।

कठिन लडाइँले–गाजा पट्टीका अन्य भागहरू लगभग नौ महिनादेखि जारी लडाइँबाट विनाशकारी द्वन्द्वमा धकेलिएका थिए ।

प्रत्यक्षदर्शी र नागरिक सुरक्षा एजेन्सीले दक्षिणी राफाह क्षेत्र र मध्य नुसिरात शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण भएको रिपोर्ट गरे ।

गाजा सहरको सुजैया जिल्लामा सोमबार पाँचौँ दिन लडाइँ चलेको थियो, साक्षीहरूले भारी इजरायली ट्याङ्क फायर भएको रिपोर्ट गरे ।

एएफपीका एक संवाददाताले इजरायली हेलिकप्टरले सुजैयाका घरहरूमा गोलीबारी गरेको रिपोर्ट गरे, जबकि हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेडले सुजैया र रफामा लडाइँ जारी रहेको बताएको छ ।

इजरायली सेनाले सुजैयामा छापामारीमा सेनाले २० आतङ्कारीलाई मारेको बताएको छ । सेनाले दक्षिणी गाजामा एक सैनिकको मृत्यु भएको घोषणा गर्दै आक्रमणको सङ्ख्या ३१७ पुगेको छ ।

हालै युद्धको ‘तीव्र चरण’ समाप्त हुँदै गएको घोषणा गर्ने नेतान्याहूले सेनाहरू गाजा पट्टीको जताततै राफाह, सुजैयामा सक्रिय रहेको बताएका छन् ।

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा रहेको नेतान्याहुको भनाई

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गरेका हुन् ।

नेतान्याहुको कार्यालयका अनुसार, उनले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो । राफाह लडाईमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।

सोमबार पनि, इजरायली रक्षा बल (आईडीएफ) ले पूर्वी खान युनूसबाट नागरिकहरूको सामूहिक निकासीको आदेश दिए सँगै दक्षिणी गाजन सहरमा सम्भवतः यस क्षेत्रमा पुनः समूहबद्ध भएका हमास सेनाहरूसँग लड्नका लागि स्थल सेनाहरूले चाँडै आफ्नो आक्रमणहरू पुनः सुरु गर्न सक्ने सङ्केत गर्यो ।

इजरायलले अप्रिलको सुरुमा खान युनूसमा ठुलो मात्रामा आक्रमण गर्यो र पछि आफ्नो अधिकांश सेना फिर्ता लियो ।

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेसँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारे जानकारी गराएका थिए । सोमबार दुई दलबीच संविधान संशोधनलगायत विषयमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गर्ने सहमति जनाएको जानकारी दिए । आगामी निर्वाचनसम्म एमाले र कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने र सरकारमा अन्य दललाई पनि संलग्न गराउने समझदारी भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास गएका छन् । प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास गएका हुन् । पछिल्लो राजनीतिक अवस्थाको ब्रिफिङ गर्न प्रधानमन्त्री शीतलनिवास गएका हुन् ।

कांग्रेस र एमालेबीच सरकार गठनका लागि सहमति भएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ । तर प्रधानमन्त्रीले राजीनामा नदिने बरु विश्वासको मत लिने निर्णय मंगलबार बसेको पदाधिकारी बैठकले गरेको छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।


सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा  पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।


दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो । सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी आह्वान गरिएको हो ।”

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

माओवादी नेता देवेन्द्र पौडेलले सरकार नछाड्ने र विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, संसद फेस गर्ने भन्नेछ । संसदमा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो । गलेर सरकार छोड्ने कुरा हुँदैन ।’

माओवादीले कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर जाने सहमति भएकोप्रति आशंका व्यक्त गरेको छ । पौडेलले २०४७ को संविधान ब्यूँताउने खेल हुनसक्ने भन्दै त्यसको पनि प्रतिवाद हुने बताए ।

नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बितिक्कै सरकार छाड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकार छोड्ने निर्णय गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकारबाट बाहिरिने र नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने निर्णय भएको बताए ।

नेकपा एमाले र नेपाली कांग्रसले नयाँ सरकार गठनमा सहमति गरेका छन् । सहमतिअनुसार सुरुमा दुईवर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको बाँकी समय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

सरकार परिवर्तनको सहमतिसँगै नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ ।  सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ ।


मंगलबारको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो ।


त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ । 


नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उनले भने।

जुन महिनामा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

एकीकृत समाजवादीको महाधिवेशनमा चार प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।

यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिए ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन् । प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ ।

सम्मानित नेता झलनाथ खनालले प्रस्तुत गरेको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् ।

भूमि व्यवस्थित गरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, विकास तथा समृद्धिका आधार तयार गरिएको छ । मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ ।

पार्टीका उपाध्यक्ष बेदुराम भुसालको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएको जनाइएको छ ।

यसैगरी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदन देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । सशक्त पार्टी निर्माणका लागि सङ्गठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै सङ्गठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीका नेता राजेन्द्र राई र साध्यबहादुर भण्डारीले पूरक प्रतिवेदन पेस गरेका छन् । यसमा पनि छलफल गरिने छ । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिसहभागी छन् । छलफल सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने तयारी छ । यही असार २० गतेसम्म महाधिवेशन चल्ने छ ।

राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।

कांग्रेस र एमालेबीच सरकार गठनमा सहमति भएपछि मंगलबार बिहान सामाजिक संजालमार्फत महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच सरकार गठनमा गएराति सहमति भएको छ । सहमति अनुसार सुरुको दुई वर्ष ओली प्रधानमन्त्री र बाँकी अवधिका लागि देउवा प्रधानमन्त्री बन्नेछन् ।

एमाले र कांग्रेसप्रति बालेनको व्यंग्यः यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार गठनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिप्रति व्यंग्य गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत मेयर साहले ओली र देउवाको तस्बिर राख्दै भनेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

मेयर साहले गिरिबन्धु टी स्टेटमा भएको अनियमितताको छानबिनको माग गर्दै आएका छन् । उनले यसबारेमा एमाले अध्यक्ष ओलीप्रति पटक पटक कटाक्ष गर्दै आएका छन् । अब एमाले र कांग्रेसको सरकार बनेपछि यो प्रकरण सेलाउने भन्दै उनले व्यंग्य गरेका हुन् ।

गएराति दुई ठूला दल एमाले र कांग्रेसबीच सरकार गठनमा सहमति भएको छ । सहमति अनुसार सुरुको दुई वर्ष ओली प्रधानमन्त्री बन्नेछन् त्यसपछिको बाँकी अवधिमा देउवा प्रधानमन्त्री बन्ने छन् । सहमतिमा ओली र देउवाले हस्ताक्षर गरिसकेका छन् । सहमति अनुसार आजै नयाँ सरकार गठनको सम्भावना छ ।

सत्ता परिवर्तन हुने भएपछि रास्वापा पनि आन्तरिक छलफलमा

काठमाडौँ । सत्ता परिवर्तन हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । रास्वपाको अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुनेछ । सोमबार कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले सरकार गठनमा सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजेका लागि बोलाइएको हो । सोमबार कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमा भने उपहार गोल नै पर्याप्त भयो। बेल्जियमका जन भेर्टोङ्गेनले आत्मघाती गोल गरेपछि त्यसको फाइदा फ्रान्सलाई भयो ।

निर्धारित समय बराबरीतर्फ उन्मुख खेलको ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्सले १–० को अग्रता लियो। रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

सोही अग्रता जोगाउँदै फ्रान्स क्वाटरफाइनलमा पुगेको हो। यस्तै, अर्को खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले स्लोभाकियाको तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो । त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई स्लोभानियाका कप्तान यान ओब्लाकले विफल पारेका थिए। क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छन्।

दक्षिण कोरियामा सामसुङका कामदारहरूद्वारा हड्ताल घोषणा

तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरू तत्काल हडतालमा जाने एक युनियन प्रमुखले घोषणा गरेका छन् ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वु–मोकले भने, “हाम्रा माग पूरा नभएसम्म हामी ‘नो पे नो वर्क’ आम हडतालमार्फत लड्नेछौँ ।” यो कदम जुनमा एक दिनको वाकआउट पछ्याइएको कम्पनीमा पहिलो यस्तो सामूहिक कार्य हो जुन दशकौंसम्म युनियनबिना चलेको थियो ।

सनले भने, “सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूलाई भर्खरको प्रस्तावले करिब २८ हजार कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनका सबै सदस्यलाई निराश बनाएको ।”

कम्पनीले यही वर्षको जुनको हडतालअघि कामदारको तलब पाँच दशमलव एक प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

हालको प्रस्तावलाई अस्वीकार गर्दै युननिय प्रमुखले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राखे ।

सामसुङ इलेक्ट्रोनिक्स संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरूमध्ये एक हो । यो भिडियो, आर्टिफिसियल इन्टेलिजेन्स हार्डवेयरसहित जेनेरेटिभ एआईका लागि प्रयोग गरिने उच्च–अन्त मेमोरी चिपहरू उत्पादन गर्ने विश्वव्यापी रूपमा कम्पनीहरूमध्ये एक हो ।

युनियनका उपाध्यक्ष ली ह्युन–कुकले भने, “हामीलाई कम्पनीबाट अहिलेसम्म कुनै आधिकारिक सञ्चार प्राप्त भएको छैन कि उनीहरूले हाम्रो हडतालको घोषणा पाएका छन् ।”

भारतमा जिएसटीद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यमा कमी 

कपालमा लगाउने तेल, टूथपेस्ट, साबुन, डिटर्जेन्ट र लुगा धुने पाउडर, गहुँ, चामल, दही, लस्सी, नाडी घडीहरू, ३२ इन्चसम्म टिभी, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन जस्ता प्रमुख वस्तुहरूमा जिएसटी दरहरू पर्याप्त रूपमा घटाइएको छ । यसले मुलुकका जनतालाई फाइदा पुर्याएको छ ।


वित्त मन्त्रालयको एक अध्ययनले उपभोक्ताहरूले जिएसटीपछि आफ्नो घरायसी मासिक खर्चको कम्तिमा चार प्रतिशत बचत गरेको जनाएको छ । यसरी अहिले उपभोक्ताले दैनिक उपभोग्य वस्तु जस्तै अनाज, खाने तेल, चिनी, मिठाई र खाजामा कम खर्च गर्ने गरेका छन् ।


भारतको इतिहासको प्रमुख कर सुधार वस्तु तथा सेवा कर (जिएसटी) सोमबार सात वर्ष पूरा भएको छ । जिएसटी सन् २०१७ जुलाई १ मा लागु गरिएको थियो । सरकारले अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको करको दर क्रमशः घटाएको छ ।


जिएसटी काउन्सिलमा राज्यहरू र केन्द्र शासित प्रदेशहरूको सहमतिमा निर्णयहरूको दायरा लिइएको छ । यसबाट घरपरिवारहरूलाई एक वा अर्को तरिकामा फाइदा पुर्याएको थियो । जिएसटी काउन्सिलले घरायसी बजेटलाई समर्थन गर्दै दैनिक प्रयोगका प्रमुख उपभोग्य वस्तुहरूमा समय–समयमा करहरू घटाएको छ ।


पहिलै अन्तःशुल्क, सेवा कर, मूल्य अभिवृद्धि कर, खरिद कर, मनोरञ्जन कर जस्ता धेरै करहरू हुँदा उपभोक्ताहरूमा बहु तहको बोझ थियो ।


जिएसटीले ठूलो कर र धेरै उपकरहरू पनि समावेश गरेको छ । यसले भारतभर करको संरचनामा एकरूपता ल्याएको छ भने करहरूको व्यापक प्रभाव समाप्त भएको छ । 


जिएसटीअन्तर्गत व्यवसायहरूले दोहोरो करबाट बच्न, इनपुटमा तिरेको करको लागि क्रेडिट दाबी गर्न सक्छन् ।


पहिलेको व्यवस्थामा दर, कानुन र प्रक्रियाको बहुलता थियो । यसले भारी अनुपालन बोझ निम्त्याएको थियो भने वस्तुको अन्तरराज्यीय ढुवानीमा अवरोध खडा गरेको थियो । 


सन् २००० मा तत्कालीन सरकारले जिएसटीको अवधारणा बनाएको र जिएसटी  मोडेल डिजाइन गर्न समिति गठन गरेको थियो ।

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो ।

परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन ।

२०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले सोही प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ ।

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमाथि आज सुनुवाइ हुँदैछ । असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा आजलाई पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछानेको रिट यही इजलासले टुंग्याउनेछ ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, बैठकले एमालेसँग भएको समझदारी अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेस–एमालेबीच सोमबार राति सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको छ ।

समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी छ । सुरुमा दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

कांग्रेस र एमालेबीच सरकार गठनका लागि सहमति

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सोमबार राति  सहमति भएको हो ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो । त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो । निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर एकलाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ ।

उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नम्बर ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

कोभिड महामारीका बेला निर्माण गरिएका होल्डिङ सेन्टर भाडामा लगाउन समितिको सुझाव

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीका बेला देशका विभिन्न सात वटा सीमा नाकामा निर्माण गरिएका होल्डिङ सेन्टरका संरचना बहु–उपयोगका लागि सामुदायिक अस्पताल सञ्चालन, सीप तथा तालिमलगायतका लागि भाडामा उपलब्ध गराउन सुझाव दिइएको छ ।

होल्डिङ सेन्टर व्यवस्थापन तथा समन्वय समितिले रक्षामन्त्री हरि उप्रेतीलाई प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो । प्रतिवेदनमा होल्डिङ सेन्टरहरूमा भएका संरचना बहु–उपयोगका लागि सामुदायिक अस्पताल सञ्चालन, सीप तथा तालिम सञ्चालन, कृषि उपज विक्री केन्द्र, निजी/सहकारीहरूलाई भाडामा उपलब्ध गराउने, विपद् उद्धार तथा आकस्मिक व्यवस्थापन, लागू औषध दुर्व्यसनी उपचार/पुनःस्थापना, प्रादेशिक अस्पताल लगायत सार्वजनिक स्वास्थ्य सेवा प्रयोजन, सुरक्षा निकायको प्रयोजनलगायतका कार्यमा उपयोग गर्नसक्ने गरी क्षेत्र पहिचान गरी सुझाव दिइएको छ ।

त्यस्तै निर्माण भएका होल्डिङ सेन्टरका संरचनाहरू जुनसुकै प्रयोजनका लागि जसरी प्रयोग गरिए पनि जग्गा तथा संरचनाहरूको स्वामित्व संघीय सरकारमै रहने, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तत् तत् प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेत सदस्य रहेको होल्डिङ सेन्टर व्यवस्थापन तथा समन्वय समिति गठन गरी कार्यशर्त तोकी परिचालन गर्ने, होल्डिङ सेन्टरको दिगो रूपमा सञ्चालनका लागि कोषको समेत व्यवस्था गर्ने, उक्त कोषको सञ्चालनको मोडालिटी लगायतका विषय समावेश गरी गृह मन्त्रालयले कार्यविधि तयार गर्ने, हाल नेपाली सेनाले रेखदेख गरिरहेको उक्त संरचनाहरूको मर्मत सम्भार लगायतका दीर्घकालीन सञ्चालन तथा व्यवस्थापनको कार्य समेत उल्लिखित समितिले गर्न उपयुक्त हुने सुझाव समितिको प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै रक्षामन्त्री उप्रेतीले कोरोना सङ्कटको समयमा कोरोना सङ्क्रमितहरूको व्यवस्थापनका लागि नेपाल सरकारको बजेटबाट छोटो समयमा प्राथमिकताका साथ निर्माण गरी हाल प्रयोगविहीन अवस्थामा रहेका होल्डिङ सेन्टहरूको दिगो र भरपर्दो उपयोग, व्यवस्थापन तथा सञ्चालनका लागि गम्भीर अध्ययन विश्लेषणपूर्वक तथा सम्बन्धित पक्षहरूसँग छलफल परामर्श गरी महत्त्वपूर्ण सुझावसहित प्रतिवेदन पेस गरेकोमा समितिलाई धन्यवाद व्यक्त गरे । साथै, उनले प्रतिवेदनमा समेटिएका महत्त्वपूर्ण सुझावहरू कार्यान्वयनका लागि सम्बन्धित सरोकारवाला पक्ष तथा सम्बन्धित सार्वजनिक निकायहरूसँग समन्वय गरी अघि बढ्न आवश्यक रहेको कुरा समेत औँल्याए ।

कोराना महामारीका क्रममा बाह्य मुलुकहरूबाट देशभित्र प्रवेश गर्ने कोरोना सङ्क्रमितको व्यवस्थापन गर्ने कार्यका लागि सरकारले २०७८ वैशाख १३को निर्णयबमोजिम मुलुकका विभिन्न ७ (सात) वटा सीमा नाकाहरू (तोपगाछी–झापा, याङ्गसिला–मोरङ्ग, श्रीपुर–वीरगञ्ज, कृष्णनगर–कपिलवस्तु, नेपालगञ्ज–बाँके, तेघरी–कैलाली र भगतपुर–कञ्चनपुर) मा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरहरूको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

कोभिड–१९ विरुद्ध खोपको आविष्कार र प्रयोग पश्चात् विस्तारै यसको प्रभाव न्यून हुँदै गएको र हाल यसको प्रभाव शून्य प्रायः भएको सन्दर्भमा होल्डिङ सेन्टरहरूको हस्तान्तरण, व्यवस्थापन एवं बहु उपयोग गर्ने सम्बन्धमा २०७९ असोज २८ को निर्णयानुसार होल्डिङ सेन्टरहरूको सञ्चालन/व्यवस्थापनको तरिका तथा अन्तर–तह समन्वय लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न रक्षा मन्त्रालयका योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरू रहेको एक समिति गठन गरिएको थियो ।

समितिले होल्डिङ सेन्टरहरूको स्थलगत रूपमा भौतिक अनुगमन/निरीक्षण, सम्बन्धित प्रदेश एवम् स्थानीय तहहरूसँग छलफलद्वारा प्राप्त राय/सुझाव, सम्बन्धित निकायका पदाधिकारीसँग छलफल/परामर्श, यस सम्बन्धी निर्णयहरूको अध्ययन/विश्लेषण, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरूको राय/सुझाव सङ्कलन लगायत केही स्थानीय तहहरूको सोसम्बन्धी प्रतिवेदनको अध्ययन/विश्लेषण समेत गरी यही असार १२ गते रक्षामन्त्री उप्रेतीसमक्ष होल्डिङ सेन्टरहरूको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रतिवेदन पेश गरेको थियो ।

अन्जना जोशीलाई ‘कौसी क्वीन’ को उपाधि

काठमाडौँ । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाएकी छन् । सोमबार बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा उनलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विजेताको ताज पहिर्याइदिएकी थिइन् ।

यस वर्षको कोसी क्वीनको ’फस्ट रनर अप’ गङ्गादेवी तिमल्सिना, ’सेकेन्ड रनर अप’ कमला घिमिरे र ’थर्ड रनर अप’ कमलमाया श्रेष्ठ भए । उनहरूलाई मन्त्री साहलगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो ।

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसीखेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

सर्लाही । बाल यौन दुव्र्यवहार दोषी ठहर भएका आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

बम्जनलाई असार १० गते भण्डारीकै इजलासले दोषी ठहर गरेको थियो । बम्जन विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मलंगवाले भने १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

बीआरआईमा ऋण नभई अनुदान सहयोग मात्र लिनुपर्छः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उनले बताए ।

यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिए ।

विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर  ३१ अर्ब भन्दाबढीको सुन तस्करी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर  ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ ।

विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ मूल्य बराबरको सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले ६० किलोग्राम सुन तस्करीको अनुसन्धानका क्रममा थप २० जनालाई पक्राउ गरिएको जानकारी दिए ।

      “विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई दुई हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सु मा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ”, ब्यूरो प्रमुख ज्ञवालीले भने ।

      प्रहरीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत एक हजार ३०३ किलोग्राम ९६५ ग्राम, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२ किलोग्राम ७९५ ग्राम, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६ किलोग्राम ८३ ग्राम, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि मार्फत १७० किलोग्राम आठ ग्राम र रेडी ट्रेड प्रालिमार्फत सात किलोग्राम पाँच ग्राम अवैध सुन नेपाल भित्रिएको थियो । ब्रेक सु मार्फत यसअघि ३६२ किलोग्राम ७७८ ग्राम अवैध सुन भित्रिएको थियो ।

      अवैध रुपमा भित्रिएका सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत सङ्लग्न रहेको खुल्न आएको छ । ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

      विस २०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पे वेल को वालेटमा  ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ कारोबार भएको र सजिलो पेको वालेटमार्फत २०७८ जेठदेखि २०८१ जेठसम्म  ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ कारोबार भएको पाइएको छ  ।

      सिआईबीले उक्त प्रकरणमा ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउ समेत गरेको छ  ।

      ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलोग्राम ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले विस २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो । उनीहरुबाट तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो ।

      सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना अभियुक्तहरू हाल पुर्पक्षका लागि थुनामा छन् । यस्तै, सोही सुन प्रकरणमा दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ ।

      वैशाखबाट शुरु गरिएको दोस्रो चरणको अनुसन्धानमा १४ नेपाली, दुई चिनियाँ र चार भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिकमा बैजनाथ महादत्त गोयल, सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकर रहेका छन् । यस्तै चिनियाँ नागरिकमा सोनाम गुरुङ भन्ने सराव ग्याल्मो र जेन्गा जाग्सी रहेका छन् ।
      पक्राउ पर्ने नेपालीमा पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ महानगर–७ का प्रज्ज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव छन् ।

      पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध, सुनको चोरीपैठारी र केहीलाई बैकिङ कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको सिआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

आफूलाई यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री नबन्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष ओलीले आफूलाई यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताएका हुन् ।

उनले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई । जनताले म प्रधानमन्त्री बनेको देख्नु राम्रो कुरा हो ।’ गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि सत्तासमीकरणमा फेरबदल आउन लागेको चर्चा चलेको छ ।

भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ । त्यसपछि आइतबार र सोमबार ओली र प्रचण्डबीच घण्टौं छलफल भएको छ ।

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै छन् । रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।

घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघलगायत संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिए।

म्याग्दीमा टिम्मुरखेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुरखेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिम्मुरखेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिए। एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिम्मुरखेतीमा आकर्षित भएका उनको भनाइ छ ।

जिल्लामा २० समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले संकलन गरेर बिक्री गर्ने गरेका बताए। पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुरखेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिम्मुरखेती गरिरहेका उनले जानकारी दिए।

टिम्मुरखेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

जिल्लामा किसानले टिम्मुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन् । तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताए ।

तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ । एकजना किसानले छ किलोदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् ।

प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।

म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताए। उनका अनुसार गाउँबाटै प्रतिकिलो एक हजार छ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।

देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौँः अर्थमन्त्री  पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नेपालले लिएको ऋणको लागतसमेत कम रहेको दाबी गरे ।

“ऋणको लागत र जोखिमको दृष्टिकोणबाट अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ । हालसम्मको सार्वजनिक ऋणको परिमाण र लागतलाई दृष्टिगत गर्दा मुलुक ऋणको पासोमा पर्ने सम्भावना छैन”, उनले भने, “सार्वजनिक ऋण परिचालन गर्दा ऋणको दिगोपना कायम गर्नेतर्फ सरकार संवेदनशील छ । सार्वजनिक ऋणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै जानेतर्फ सरकार सचेत छ ।”

अर्थमन्त्री पुनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण  ९८ अर्ब आठ करोड थपिएर  २३ खर्ब ९७ अर्ब पुगेको छ । विसं २०८० असारमसान्तमा सरकारको तिर्न बाँकी सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड थियो ।

हाल नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सरकारको तिर्न बाँकी ऋण ४२ दशमलव ०२ प्रतिशत छ । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण रु ११ खर्ब ८४ अर्ब ४८ करोड (४९ दशमलव ४ प्रतिशत) र बाह्य ऋण रु १२ खर्ब १२ अर्ब ९५ करोड (५० दशमलव ६ प्रतिशत) रहेको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारले आन्तरिक ऋणतर्फ रु एक खर्ब ९१ अर्ब र बाह्य ऋणतर्फ रु ७३ अर्ब ६३ करोड ३६ लाख गरी जम्मा रु दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख सार्वजनिक ऋण परिचालन गरेको अर्थमन्त्री पुनले बताए ।

सो अवधिमा सरकारले आन्तरिक ऋणतर्फ रु एक खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख र बाह्य ऋणतर्फ रु ३० अर्ब ९३ करोड ११ लाख गरी जम्मा रु एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख सावाँ भुक्तानी गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत वैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धिबारे अर्थमन्त्री पुनले जानकारी गराएका थिए । लगानी सहजीकरणका लागि कानुन संशोधन भएको, १९ परियोजनाको आशयपत्र माग (एक्स्प्रेसन अफ इन्ट्रेस्ट–इओआई) आह्वान गरिएको, परियोजना बैंकलाई अद्यावधिक गरिएको, अन्तर्राष्ट्रिय जगतमा नेपाललाई उत्कृष्ट लगानी गन्तव्यको रुपमा प्रस्तुत गरिएकोलगायत उपलब्धि हासिल भएको अर्थमन्त्री पुनको दाबी छ । लगानी सम्मेलनबाट निजी क्षेत्रको मनोबल वृद्धि भएको उनले बताए ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट विनियोजनमा कुशलता नदेखिएको भनी संसद्मा आलोचना भएको विषयमा अर्थमन्त्री पुनले सरकारको बचाउ गरे ।

“मन्त्रालयगत बजेट विनियोजनमा ठूलो अन्तर तथा असमानता देखिएको र समन्यायिक बजेट वितरण हुन नसकेका विषय उठेका छन्”, अर्थमन्त्री पुनले भने, “सरकारले बजेट विनियोजन गर्दा सम्बन्धित निकायको काम, कर्तव्य, कार्यक्षेत्र र अधिकारका आधारमा कुशल विनियोजन, कार्यान्वयन दक्षता र वित्तीय अनुसासन कायम हुने गरी समन्यायिक प्रणाली अनुसार नै बजेट विनियोजन गर्ने गरेको छ ।”

नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जीतेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराएका थिए ।

खुट्टाले लेखेर एसइई उत्तीर्ण   

 जानकी (बाँके) । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए ।

मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।’

एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ । ‘मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु’, खत्रीले भने । पढाइ सकेपछि भविष्यमा लोकसेवा आयोगको परीक्षा दिएर अधिकृत बन्ने इच्छा उनको छ ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन् । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका थिए ।

पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताइन् ।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन् । खुट्टा चल्न सुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्दैनन् । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरेका थिए ।

‘सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ’, उनले भने, ‘छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।’

छोराले एसइई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ । खुट्टाको नशामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताइन् । उमेशलाई परीक्षामा सहज वातावरण निर्माण गर्न विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पुर्‍याएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताए ।

उनका अनुसार परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो । प्रधानाध्यापक आचार्यले उमेश मेहनती मात्र नभई अनुशासित विद्यार्थी भएको बताए ।

‘उहाँको शारीरिक अपाङ्गतालाई देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ’, उनले भने, ‘हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन् । यो सफलता उमेशको लगनशीलताको नतिजा हो ।’

घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पुर्‍याउनु पर्थ्यो । उमेश आफ्नो सफलताको श्रेय आमा बुबा र गुरुहरुलाई दिन्छन् । पाँच वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थाले । हात र खुट्टा दुवै नचल्दाभन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ ।

सशस्त्र प्रहरीमा जागिरे बुबा अहिले नवलपरासीमा कार्यरत छन् । दुई छोरामध्ये उमेश जेठो हुन् । यस वर्षको एसइईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको बेला आफनै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर पास गरेकामा वडावासी खुसी भएको वडाअध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।

उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता व्यक्त गरे । उक्त विद्यालयबाट एक सय सातजना विद्यार्थीले एसइई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन् ।

चीनमा भारी वर्षाका कारण करिब दुई लाख मानिस विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई बासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार विहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले भयानक क्षति पुर्याएको थियो ।

चीनको सबैभन्दा लामो याङ्जी नदीको अन्हुई खण्डमा पानीको तह खतराको रेखाभन्दा बढी कायम भएको छ । मुसलधारे वर्षाका कारण प्रान्तका अन्य १९ वटा नदीमा पनि पानी सतर्कताका लागि तोकिएको तहभन्दा माथि पुगेको छ ।

पछिल्लो २४ घन्टादेखि प्रान्तको ठूलो भूभागमा भारी वर्षा हुदाँ २५८ वटा स्टेसनमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको देखिएको छ । योमध्ये सबैभन्दा अधिकतम बर्षा २५५ मिलिमिटर थियो ।

वर्षा र बाढीको आपतकालीन प्रतिक्रियामा, याङ्जी नदीको किनारमा रहेका पाँचवटा सहरसहित अन्हुईका आठवटा सहरका अधिकारीले कुल २६ हजार नागरिकलाई गस्ती गरी सावधानी अपनाउन भनेका छन् ।

अन्नहुई मौसम विज्ञान केन्द्रका अनुसार, आगामी २४ घन्टा देखि सोमबारसम्म, याङ्जे नदीको किनार र दक्षिणी क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ । चीनको याङ्जी नदीले २०२४ को बाढीको सबैभन्दा धेरै अनुभव गरिरहेको छ ।

मन्त्रालयले अन्हुई, जियाङ्सी, हुबेई र हुनान प्रान्तमा आपतकालीन बाढी प्रतिक्रिया स्तर तेस्रो स्तरमा बढाएको छ भने बाढी राहत प्रयासका लागि मार्ग निर्देशन प्रदान गर्न तत्काल चार अतिरिक्त कार्य टोली पठाएको छ ।

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।

यसले रक्षा मन्त्रालयले विकास गरेको इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहद् कदम’ भएको बताए । “मलाई विश्वास छ लगातार भएका दुई सफल उडानहरूले देश भित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ ।

जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताए ।

एएलओएस–४ हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ । जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ ।

फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको ‘पे लोड’को साथ नष्ट गर्नुपरेको थियो ।