`

चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्री ली किआङले खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गरेका छन् ।

चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र सङ्घले बुधबार बेइजिङ विश्वव्यापी रूपमा जेनेरेटिभ एआई पेटेन्ट दर्ताको अग्रणीमा रहेको बताएको छ ।

अमेरिका र अन्य देशहरूले चिनियाँ प्रविधिलाई जासुसी कार्यका लागि प्रयोग गर्न सकिने दाबी गरेको छ । तसर्थ चीनको हुवावे कम्पनीले इन्टेल एआई प्रविधिद्वारा सञ्चालित कम्प्युटरको अनावरण गरेपछि अप्रिलमा वासिङ्टनले केही चिप निर्यातका लागि इजाजतपत्र रद्द गरेको थियो ।

चिनियाँ प्रधानमन्त्री लीले बिहीबार देशहरूलाई खुला मानसिकता राख्न र एआईमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन आग्रह गरे ।

“प्रत्येक देशका लागि एआई प्रविधिको आफ्नै फाइदाहरू छन्, त्यसैले हामीले आपसी सहयोगमा संलग्न हुनुपर्दछ,” लीले साङ्घाईमा आयोजित विश्व एआई सम्मेलन (डब्ल्यूएआईसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने ।

चिनियाँ प्राविधि कम्पनीहरूले बहु–दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै नयाँ एआई उत्पादनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ ।

लीले देशहरूलाई ‘सीमापार डाटाको आवगमन, उपकरणको स्वतन्त्र व्यापार र पूर्वाधारको कनेक्टिभिटी’ लाई बढावा दिन आग्रह गरे ।

उनले एआई प्रविधिको द्रूत विकासले ल्याएको जोखिमलाई पनि अन्तर्राष्ट्रियरूपमा ठोस ध्यान दिन आवश्यक रहेको चेतावनी दिएका छन् ।

दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् ।

स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स नदी नजिकैका केही ढिस्का ३४ हजार वर्ष पुरानो भएका रेडियोकार्बनले अनुमान गरेको छ ।

अध्ययनको नेतृत्व गरेका विश्वविद्यालयको माटो विज्ञान विभागका वरिष्ठ प्राध्यापक मिचेल फ्रान्सिसले भने, “ती पुराना थिए भन्ने हामीलाई थाहा थियो तर त्यति पुरानो थिए भन्ने कल्पना गरिएको थिएन ।” उनको शोधपत्र मे महिनामा प्रकाशित भएको थियो ।

फ्रान्सिसका अनुसार ती ढिस्काहरू मांसाहारी विलुप्त समूहको कुनै एक सदस्य घुमाउरो दाँत भएका बिरालो प्रजातिका जङ्गली जनावर (साबर–टुथ क्याट) र अफ्रिका, यूरोप, एशिया, र उत्तर अमेरिकामा मायोसिन युगदेखि करिब चार हजार बर्षअघिसम्म अस्थित्वमा रहेका विभिन्न प्रजातीका बाक्लो ऊनले ढाकेको शरीर भएका (उली म्यामथ) पृथ्वीका अन्य भागहरूमा घुमिरहेका समय अथवा युरोप र एसियाका अधिकांश भागहरू हिउँले ढाकिएको समय बनेका अनसन्धानबाट थाहा हुन आएको छ । ती ‘धमिरोका ढिस्को’ हरू युरोपका केही प्रारम्भिक गुफा चित्र कोरिनुभन्दा भन्दा पहिलेका थिए ।

लाखौं वर्ष पुरानो केही जीवाश्मीकृत धमिराको ढिस्कोहरू पनि पत्ता नलागेका होइनन् । यो अध्ययनभन्दा पहिले अहिले पनि धमिरा भेटिएका सबैभन्दा पुरानो ढिस्को ब्राजिलमा फेला परेको थियो र यो करिब चार हजार वर्ष पुरानो थियो । तिनीहरू अन्तरिक्षबाट देखिन्छन् ।

फ्रान्सिसका अनुसार नामाक्वाल्याण्डको ढिस्को ‘अपार्टमेन्ट कम्प्लेक्स’को धमिराको संस्करण हो र प्रमाणले ती धमिराका बस्तीहरूले त्यहाँ लगातार ‘धमिराको उपनिवेश’ हरू बसोबास गर्दै आएको देखाउँछ ।

धमिराकोे ढिस्को नामाक्वाल्याण्ड परिदृश्यको एक प्रसिद्ध विशेषता हो र कसैले पनि उनीहरूको प्राचिनताका बारेमा शङ्का गरेको थिएन तर जव तिनीहरूको नमूना रेडियोकार्बन डेटिङको लागि हङ्गेरीमा विशेषज्ञहरूको अध्ययनका लागि पठाइयो यो निकै पूरानो भएको पुष्टि भएको छ ।

फ्रान्सिसले भने, “त्यहाँ वरपरका मानिसहरूलाई यी विशेष, प्राचीन परिदृश्यहरू हुन् र त्यहाँ संरक्षित छन् भन्ने कुरा थाहा छैन ।”

अफ्रिकी भाषामा ‘ह्युवेल्ट्जी’ अर्थात् सानो पहाड भनेर चिनिने केही ठूला थुम्काहरू लगभग १०० फिट (३० मिटर) चौडा हुन्छन् । त्यहाँ धमिराकोे गुँड १० फिट गहिरो जमिनमुनिसम्म रहेको छ ।

फ्रान्सिसले भने, “अनुसन्धानकर्ताहरूले नमूना लिनका लागि सावधानीपूर्वक ढिस्कोको केही भागहरू उत्खनन गर्न आवश्यक थियो । यसका लागि जब ढिस्कालाई भत्काइयो धमिराहरूले ‘आपतकालीन अवस्था’ को सामना गर्दै प्वालहरू भर्न थाले ।”

टोलीले ढिस्कालाई अफ्रिकामा पाइने जमिनमुनि बस्ने जनापर आर्डवार्क जस्ता शिकारीहरूबाट सुरक्षित राख्न ढिस्कोहरू पूर्ण रूपमा पुनर्निर्माण गरेको छ ।

फ्रान्सिसका अनुसार यो परियोजना पुरातन संरचनाको आकर्षक दृश्य मात्र होइन । यसले प्रागऐतिहासिक जलवायुको एक झलक पनि प्रस्तुत गरेको छ । यसबाट नामाक्वाल्याण्ड धमिराले ढिस्कोहरू बनाउने बेलामा धेरै ओसिलो ठाउँ थियो भन्ने पुष्टि हुन्छ ।

यी धमिराहरू रूखका सुकेका हाँगा र अन्य मृत काठहरू सङ्कलन गरेर र यसलाई माटोको गहिराइमा राखेर कार्बनलाई भण्डारण गर्न माहिर मानिन्छन् । यसले वायुमण्डलमा उत्सर्जित कार्बनको मात्रा घटाएर जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ ।

धमिराको उत्पत्ति माटोको लागि पनि राम्रो हुन्छ । थोरै वर्षा हुने क्षेत्रमा धमिराकोे ढिस्कोको टुप्पोमा जङ्गली फूलहरूको थुप्रो फुल्छ ।

फ्रान्सिसले जलवायु परिवर्तन, दिगो पारिस्थितिकीय प्रणाली र कृषि अभ्यासमा सुधारका लागि पनि उनीहरूले प्रदान गर्ने पाठलाई ध्यानमा राख्दै धमिराकोे ढिस्कोमा थप अनुसन्धान गर्न आह्वान गरे ।

उनले भने, “धमिराहरूले ढिस्कोमा के गरेका छन् भनेर हामीले राम्रो तयारी पछि अध्ययन गरेका थियौँ । तिनीहरू धेरै पट्यारलाग्दा क्षण पनि थिए ।”

कङ्गोमा भएको आतंककारी आक्रमणमा चार चिनियाँ नागरिकको मृत्यु

चीनले बिहीबार कंगोमा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।
सुनको धनी इटुरी प्रान्तको खानी स्थलमा सशस्त्र लडाकूको आक्रमणमा कम्तिमा चार चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ ।

बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ । आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ ।

चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुन अनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा बताए ।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदूरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन् ।

केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकू समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरुद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्दछ ।

कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटुरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन–पियरे बिकिलिसेन्डेले बताए ।

चार चिनियाँ मारिएको तथा दुई कङ्गोली सेनाका सदस्य घाइते भएको पहिलो सङ्ख्या पुष्टि भएको उनले बताए ।

अन्य स्थानीय स्रोतहरूले छ जना चिनियाँ नागरिक, उनीहरूका अङ्गरक्षक र दुई कङ्गोली सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट विनियोजन

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न  चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन् । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए । उनले ती प्रशिक्षणको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन  दुई करोड ९० लाख विनियोजन गरिएको उल्लेख गरे । बाघचाल, डण्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि  ११ लाख बजेट विनियोजन गरिएको उनले संसदमार्फत जानकारी दिए ।

मन्त्री श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटनको विकास र विस्तारका लागि विभिन्न ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको भन्दै जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालिममा आकर्षित गर्न तथा ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गर्न  चार करोड विनियोजन गरिएको उल्लेख गरे  । 

दोलखाको शैलुङमा तेक्वान्दो खेलको हाइअल्टिच्युड ट्रेनिङ कभर्डहल निर्माण गर्न  दुई करोड विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताए । उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्न  चार करोड ३५ लाख बजेट विनियोजन गरिएको भन्दै आगामी वर्षदेखि पदक जितेर आउनेबित्तिकै खेलाडीको बैंक खातामा पुरस्कारबापतको रकम जाने व्यवस्था मिलाइएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले आगामी वर्ष खेलकुद पूर्वाधार गर्न मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फल्ड लाइट’ जडान, खेलाडी ‘फिटनेस’ हल तथा सामग्री व्यवस्था, हाइअल्टिच्युट ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार मन्त्रालयले रङ्गशालाको स्तरोन्नतिका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

शेयर बजारमा दोहोरो अङ्कले बढ्दा करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । बिहीबार नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।

आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् शून्य दशमलव २२, लगानी एक दशमलव ८९ र जीवन बीमा एक दशमलव ९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु तीस करोड नौ लाख चार हजार छ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ ।

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आग्रह गरेको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी सरकार अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

उनले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ससंसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को ध्यानाकर्षण गर्दछ । राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।’

कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु संसदको फेस गर्ने बताउँदै आएका छन् । सरकारमा सहभागी दल नेकपा एमालेका आठ मन्त्रीले बुधबार राजीनामा दिइसकेका छन् भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

संसदीय समितिले सहकारी ठगीका विषयमा आइजीपी र सीआईबी प्रमुखसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रहरी प्रमुखसँग छलफल गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबारको बैठकमा प्रहरी प्रमुख, गृहसचिव, सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुखलाई छलफलका लागि बोलाएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको छ । साथै, समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको छ । भोलिको बैठकमा सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूची रहेको छ।’

समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेलगायतसँग छलफलसँग गरेको छ ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएपछि गत जेठ १५ गते छानबिनका लागि संसदीय समिति गठन गरिएको हो । कांग्रेसले लामो समयसम्म सदन अवरुद्ध गरेपछि समिति गठन गर्न सत्तापक्ष बाध्य भएको थियो । सात सदस्यीय समितिलाई छानबिनका लागि तीन महिनाको समय दिइएको छ ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो बैठकमा कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी दिइनेछ ।

कांग्रेस–एमालेबीच सोमबार मध्यराति नयाँ सत्ता समीकरण गर्न समझदारी भएको थियो । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने छ ।

नयाँ सरकार बनाउने सहमतिपछि एमालेले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो”, उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इट्टाले टाउकोमा चोट लागेको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए । 

“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार छ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ”, प्रहरी उपरीक्षक कार्कीले भने, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।”

उनका अनुसार फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो ।

भजनीका बाढी प्रभावित भन्छन्- ‘अब हाम्रा दुःखका दिन सुरु भए’

 कैलाली । कैलालीको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन् । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने नियतिबाट उनले अझै छुटकारा पाउन सकेका छैनन् ।

‘असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन’, सन्तराम भन्छन्, ‘बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बीचको समयमा कोही पुग्दैनन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।’

भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उनलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ ।

‘प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ’, शर्मिला भन्छिन्, ‘जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।’

बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेको क्षितिज चौधरी बताउँछन् । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र संघ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्ने उनको जोड छ ।

‘राहत यसअघि पनि पाएका थियौँ, फेरि पाइन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?’, क्षितिज प्रश्न गर्छन्, ‘राहतबापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिन्छ तर हाम्रो दुःख मेटिनेगरी काम होस् भन्ने चाहना छ ।’

भजनी–१ ठेंगरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएका सबै खाद्यान्न सामग्री नष्ट भएका छन् । एकाएक नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्नसहित आवश्यक सामान सुरक्षित गर्न नसक्दा नष्ट भएको राजु बताउँछन् ।

‘खासै वर्षा भएको थिएन । एकाएक बाढी बस्तीमा पसेपछि धनमाल जोगाउन सकिएन’, उनले भने, ‘आफ्नो आवासको व्यवस्थापन कता गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।’

सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुख बनेर आउने गरेको बताउँछन् । ‘बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो । कुनै वर्ष छैन होला घर छाडेर त्रिपालमा गएर बस्नु नपरेको’, उनी भन्छन्, ‘स्थानीयको समस्या तिनै तहका सरकारलाई जानकारी हुँदा पनि दीर्घकालीन समस्या समाधानतर्फ ध्यान जान सकेको छैन ।’ स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले यहाँका नागरिकलाई ओभानोमा राख्न सक्ने स्थिति नरहेको बताउँछन् । प्रदेश र संघ सरकारसँग समस्या समाधानका लागि आग्रह गरिएको भन्दै हालसम्म भजनीको दुखमा मल्हम लगाउन नसकेको उनी सुनाउँछन् ।

‘म आफैँ पनि बाढीबाट प्रभावित हुँदै आएको छु । यसवर्ष नगरपालिका क्षति कम गर्ने योजनाअनुसार पूर्वतयारीमा लागेको छ । यसमा प्रदेश र सङ्घ सरकारले सहकार्य र समन्वय गर्ने विश्वास लिएका छौँ’, नगरप्रमुख चौधरीले भने ।

दीर्घकालीन रुपमा नदी नियन्त्रण नहुँदा बर्सेनिको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ । भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौँ नागरिक विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकका लागि हुलाकी राजमार्ग आश्रयस्थल बन्दै आएको छ ।

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताएका छन् । 

रामेछापको मन्थली नगरपालिकाले बिहीबार आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताए । “विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान सङ्ख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छ”, उनले भने ।

मन्त्री तामाङले नागरिक उड्डयन प्राधिकरणलगायत कार्यालयको बजेट निर्माण हुने क्रममा रहेकाले उक्त विमानस्थल प्राथमिकतामा राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । ओझेलमा परेका देशभरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने मन्त्री तामाङले बताए ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नयाँ पूर्वाधार निर्माणका कारण मौलिक परम्परा र सम्पदा मासिँदै गएको बताए ।

उनले पर्यटकीय क्षेत्रको विकास र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकार लागेको उल्लेख गरे । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र मन्थलीको विकासमा बागमती प्रदेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थलीलाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न खोजेको बताए । उनले खुम्बु क्षेत्रको प्रवेशद्वार मन्थली विमानस्थल, खाँडादेवी, शैलुङ र कालिञ्चोकमा जाने पर्यटकलाई मन्थलीसँग जोड्न गाउँपालिकाले काम गरिरहेको उल्लेख गरे ।  
      
नेपालको बाटो हुँदै भारत–चीन जोड्ने ‘मिड प्वाइन्ट’का रूपमा रहेको मन्थलीले सुनकोशी मरिण डाइभर्सन, साहित्यिक पर्यटन, कृषि तथा वन पर्यटन, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत लाभ लिन खोजेको नगरप्रमुख श्रेष्ठले बताए । 

निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ स्थगित

काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाई शुक्रबारका लागि तय गरिएको थियो ।

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी छलफल गरिएको थियो । त्यसक्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाइ गर्ने सभापति जबराले बताए ।

प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

किन घट्दैछ वीरगञ्ज भन्सारको राजस्व ?

वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा  पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो ।


जबकी गत वर्षको सोही अवधिमा भने ६ खर्ब ४४ अर्ब ६ करोड बराबरको आयात भएको थियो । चालु आवको ११ महिनामा मात्रै गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १५ प्रतिशत अर्थात् ९२ अर्बले आयात खुम्चिएको छ । 


मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा धेरै योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयले चालु आवको जेठ मसान्तसम्मको अवधिमा  एक खर्ब ४१ अर्ब ३० करोड रकममात्र राजस्व सङ्कलन गरेको छ ।


जबकि कार्यालयले गत वर्षको सोही अवधिमा भने  एक खर्ब ४२ अर्ब ३० करोड बराबरको राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आवको तुलनामा चालु आवको सोही अवधिमा  ४० करोड ५७ लाख रकम राजस्व घटेको छ । आयातमुखी अर्थतन्त्रमा निर्भर नेपालको राजस्व सङ्कलन प्रणालीमा प्रत्यक्ष असर देखा पर्न थालिसकेको छ । 


वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आवमा आयात खुम्चिएसँगै राजस्व सङ्कलनमा पनि प्रभाव देखिन थालेको बताए ।


“औद्योगिक कच्चा पदार्थको आयात घटेसँगै राजस्व सङ्कलनमा असर देखिएको छ । खासगरी क्रुड आयलको कच्चा पदार्थको आयात घटिरहेको छ । विगतका वर्षमा जस्तै सवारीसाधनको पनि आयात उत्साहजनक देखिएको छैन”, उनले भने, “एकातर्फ आयात खुम्चिरहेको छ, अर्काेतर्फ समग्रमा मुलुकको अर्थतन्त्र नै सुस्ताएको कारणले पनि औद्योगिक गतिविधि कम हुँदा राजस्वमा असर देखिएको हो ।”


नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य डा सुबोधकुमार गुप्ताले अर्थ मन्त्रालयले हरेक वर्ष बजेट निर्माण गर्दा राजस्व सङ्कलन गर्ने रकम वास्तविकभन्दा पनि अनुमानको भरमा लक्ष्य निर्धारण गर्ने भएकाले लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको बताए ।


“बजेट बनाउँदा रहेक वर्ष २०/२५ प्रतिशत राजस्व बढ्ने उल्लेख गरिएको हुन्छ । वैज्ञानिक ढङ्गले राजस्व बढ्छ कि बढ्दैछ भनेर कुनै अध्ययन गरिएको हँुदैन । यसले गर्दा लक्ष्यअनुसारको राजस्व सङ्कलनमा सधैँ कमजोरी देखिँदै आइरहेको छ”, उनले भने, “राजस्व बढाउने उद्देश्य मात्रै राखिने गर्छ तर मुलुकभित्रको व्यापारिक तथा औद्योगिक उत्पादन घटिरहेको र उद्योगी–व्यापारी र सर्वसाधारणले कर तिर्न नसकिरहेको अवस्थामा ख्याल गर्ने गरिदैन ।”


अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले मधेस प्रदेशका करिब ६० प्रतिशत उपभोक्ताले सीमावर्ती भारतीय बजारबाटै उपभोग्य सामग्री खरिद गर्ने भएकाले पनि राजस्व सङ्कलनमा प्रत्यक्ष असर पार्ने गरेको दाबी गरे ।


“मधेस प्रदेशका अधिकांश उपभोक्ताले जन्मदेखि मृत्यु संस्कारसम्मका सबै गतिविधिमा सीमावर्ती भारतीय सहरबाटै खाद्यान्नदेखि रासन खरिद गर्दै आइरहेको छन्”, उनले भने, “एकातर्फ भारतको सीमावर्ती जिल्लामा रहेका बजार नेपाली उपभोक्ताकै कारणबाट चल्दै आइरहेका छन् भने अर्काेतर्फ नेपालका उद्योगी–व्यवसायीले पनि घुमाउँरो शैलीमा तस्करीका सामान बिक्री वितरण गर्दै आइरहेका छन् । यसको प्रभाव सरकारले ठूलो मात्रामा राजस्व गुमाउँदै आइरहेको छ ।”


नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लामा ११ महिनाकै अवधिमा मात्रै  अवैध चोरी तस्करी तथा बिलबिजनक नभएका  ७७ करोडभन्दा बढी मूल्यका मालसमान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले पनि चालु आवको ११ महिनाको अवधिमा भन्सार छली तथा बिलबिजकअनुसार नभएका ४९ करोड ३२ लाख ४७ हजार नौ सय ५० मूल्यपर्ने सामान बरामद गरेको छ ।


यसमा भन्सारी छली गरेका रु सात करोड २४ लाख ४४ हजार दुई सय ९२ मूल्यका समान छन् । सोही अवधिमा बिलबिजकअनुसार नभएको  सामान भने रु ४२ करोड आठ लाख १३ हजार छ सय ५८ मूल्य पर्ने समान बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारती प्रहरीको सक्रियताको कारणले चोरी तस्करी गर्नेबाट ठूलो परिणामको सामान बरामद गरिएको दाबी गर्छन् ।


“खुला सीमानाकाका बाबजुद पनि चोरी तस्करी नियन्त्रणका कामलाई उच्च प्रथामिकतामा राख्दै आइरहेका छौँ”, उनले भने, “विगत वर्षको तुलनामा यो वर्ष अवैध सामान पक्राउ गर्ने क्रम ह्वात्तै बढेको हो ।”


सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आवको साउनदेखि जेठसम्मको अवधिमा भन्सार करिब रु २७ करोड ५० लाख मूल्य पर्ने भन्सार छली गरेका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ ।


सशस्त्र प्रहरीले गत आबभन्दा चालु आवको ११ महिनाको अवधिमा तीन करोड सात लाख ३५ हजार नौ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको छ । सशस्त्र प्रहरी गणका गणपति राधेश्याम धिमालले पर्सा जिल्लामा नेपाल–भारत खुला सीमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्ने प्रयास जारी राखेको बताए ।


भन्सार विभागले कार्यालयलाई चालु आवमा  दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ । तर, कार्यालयले हालसम्म कुल लक्ष्यको ५७ दशमलव ७१ प्रतिशत राजस्वमात्रै सङ्कलन गरेको छ । सूचना अधिकारी कर्णले भन्सार विभागले दिएको राजस्व सङ्कलन गर्न दिएको लक्ष्य ६२ देखि ६५ प्रतिशतको हाराहारीमा सङ्कलन हुने दाबी गरे ।


सुक्खा बन्दरगाहको पनि राजस्व उत्साहप्रद छैन


वीरगञ्ज भन्सार कार्यालयको मात्रै होइन, चालु आवको ११ महिनाको अवधिमा सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जको पनि राजस्व सङ्कलन उत्साहप्रद छैन । कार्यालयले चालु आवको ११ महिनाको अवधिमा भन्सार विभागले दिएको कुल लक्ष्यको ६६ दशमलव ४४ प्रतिशत अर्थात् रु ४३ अर्ब आठ करोड ८६ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।


जबकि भन्सार विभागले कार्यालयलाई रु ६५ अर्ब ९४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयका अनुसार यो वर्ष कुल राजस्व सङ्कलन गर्ने लक्ष्यको ७५ प्रतिशत हासिल हुने अपेक्षा गरिएको छ ।


गत आवमा भन्सार विभागले कार्यालयको लागि रु ६७ अर्ब ४३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले वर्षभरिमा नै कुल लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार राजस्व सङ्कलन गर्न सकेको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवमा समग्र वैदेशिक व्यापार घटेकाले पनि राजस्व सङ्कलन उत्साहप्रद नभएको बताए ।


“सवारीसाधन आयात भएर धेरै राजस्व सङ्कलन हुने गथ्र्याे । तर, यो वर्ष सवारीसाधनको आयात खासै बढ्न सकेको छैन”, उनले भने ।


“भारतबाट सोझै सुक्खा बन्दरगाह कार्यालयमा कार्गाे रेलबाट सामान आउने भएकाले यहाँ चोरी तस्करी हुने सम्भावना न्यून रहेको उनको भनाइ छ । बरुवालले भने, “यो वर्ष कार्गाे रेलबाट सामान ल्याउने क्रम पनि घट्दो क्रममा रहेको छ । पहिला दैनिक तीनवटा कार्गाे रेलबाट सामान भित्रिने गथ्र्याे तर अहिले एउटा वा दुई वटा कार्गाे रेलले मात्रै सामान ल्याउने गरेको छ ।”


केन्द्रीय सदस्य गुप्ता अहिले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्न  राज्यले औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने नीति अघि सार्नुपर्ने बताउँछन् । “अहिले मुलुकको अर्थतन्त्रमा गम्भीर सङ्कटको असर देखिरहेको छ । यो सङ्कटमोचन गर्ने खालको मौद्रिक नीति ल्याएर हल गर्न जरुरी भइसकेको छ”, उनले भने, “सरकारले मुलुकभित्र औद्योगिक गतिविधि बढ्नुपर्छ । मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सामान विदेशमा पनि निर्यात हुनुपर्छ भन्दै आइरहेको छ तर सो लगानीमैत्री वातावरण बनाउन भने सरकार चुकेको देखिन्छ ।”


मुलुकको अर्थतन्त्र शिथिलताको कारणले औद्योगिक कच्चा पदार्थ र खाद्यान्नलगायत आयातमा गिरावट आएसँगै राजस्व सङ्कलनमा पनि प्रत्यक्ष प्रभावित हुँदै आइरहेको उनको भनाइ छ ।


“मुलुकको अर्थतन्त्र निकै जर्जर अवस्थाबाट गुज्रिराखेको छ । अहिले विद्युतभार कटौतीको कारण उद्योगधन्दा १२–१६ घण्टा बन्द हुने अवस्थामा छन् । औद्योगिक कच्चा पदार्थको आयात घटेसँगै राजस्व सङ्कलनमा पनि असर देखापरेको हो”, उनले भने, “अहिले अर्थतन्त्रमा देखिएको समस्या तत्कालै सम्बोधन नगर्ने हो भने आगामी वर्षमा राजस्व झनै घट्ने देखिन्छ ।”


पछिल्लो समय आयात घट्नुमा देशको कुल जनसङ्ख्यामध्ये एक करोड २० लाखभन्दा धेरै नागरिक विदेशी मुलुकमा अध्ययन वा रोजगारीको कारणले पलायन भएकाले पनि मुलुकभित्र खपत गर्ने वातावरणमा कमी आएको छ । 

इराकी लडाकू समूहले लेबनानलाई सघाउने

गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।

इराकमा तथाकथित इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्धको स्थितिमा वृद्धि हुने बताए । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको बताए ।

इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका हुन् ।

“इराक र यसका सशस्त्र समूहहरू द्वन्द्वमा प्रवेश गर्नेछन् । उनीहरू आफ्ना सहयोगीहरूप्रति क्षमतामात्र नभई आफ्नो वफादारी पनि देखाउन चाहन्छन्,” उनले भने ।

प्यालेस्टिनीसँग एकता व्यक्त गर्ने र गाजामा इजरायली आक्रमणको अन्त्यको माग गर्दै धेरै इरान समर्थक सशस्त्र समूहलाई संलग्न गराउन द्वन्द्व चाँडै फराकिलो भयो ।

गठबन्धनमा लेबनानको हेजबुल्लाह र यमनको हुथी विद्रोही समावेश छन् ।

हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ ।

इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमणहरू भएको, तर ती सबैलाई यसको हवाई क्षेत्रमा प्रवेश गर्नुअघि रोकिएको पुष्टि गरेको छ ।

साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ भएको पुटिन भनाई

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनले बुधबार नै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गरेका छन् ।

रूसी नेता पुटिनले चिनियाँ राष्ट्रपतिसीसँगको छलफलमा साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङ बिहीबार मध्य एशियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) गठबन्धनको आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा नेताद्वय पुटिन र सीबीच नियमित भेट हुने गरेको छ र यसको पछिल्लो सत्र कजाकिस्तानको राजधानी अस्तानामा भइरहेको छ।

सम्मेलनमा टर्कीका राष्ट्रपति एर्दोगान पनि सहभागी हुनेछन् । उनको देश समूहसँग ‘वार्ता साझेदार’ हो भने अन्य मुलुकमा मध्य एशियाली पूर्व सोभियत राज्यहरू, भारत, चीन, रूस र इरान पूर्ण सदस्य रहेका छन् ।

चीन, भारत, इरान, रूस, कजाखस्तान, किर्गिस्तान, उज्बेकिस्तान, पाकिस्तान र ताजिकिस्तान यसका नौ पूर्ण सदस्य राष्ट्र हुन् । पश्चिमा प्रतिबन्धित इरान पूर्ण सदस्यका रूपमा सामेल भएको एक वर्षपछि युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको कारण बहिष्कृत भएको बेलारुस बिहीबार १० औं पूर्ण सदस्य बन्नेछ ।

रूस र चीन दुवैले विश्व मञ्चमा अमेरिकी नेतृत्वको ‘आधिपत्य’ को विरोध गर्दै आएका छन् । मस्कोलाई समर्थन गरेको भन्दै पश्चिमा मुलुकबाट आलोचना खेपिरहेका सीले बुधबार पुटिनलाई आफ्नो ‘पुरानो मित्र’लाई फेरि भेट्न पाउँदा खुसी लागेको बताएका थिए ।

टर्कीका राष्ट्रपति एर्दोगानले बुधबार पुटिनलाई टर्कीमा निमन्त्रणा गर्दै युक्रेनमा ‘दुवै पक्षलाई सन्तुष्ट पार्न सक्ने निष्पक्ष शान्ति’ का लागि आह्वान गरेका थिए । उनले युद्धरत देशहरूबीच मध्यस्थता गर्ने प्रयास गरेका छन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी भएका छैनन् ।

एससीओको स्थापना सन् २००१ मा भएको थियो तर पछिल्ला वर्षहरूमा यो निकै चर्चामा आएको छ । सङ्गठनले सुरक्षा र अर्थतन्त्रमा ध्यान केन्द्रित गर्दै अमेरिका नेतृत्वको पश्चिमी गठबन्धनसँग प्रतिस्पर्धामा सहयोगको लागि एक प्लेटफर्म हुन अभिप्रेरित गरेको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कजाखस्तानका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा गठबन्धनले ‘वैकल्पिक अन्तर्राष्ट्रिय मञ्च, शक्तिका विभिन्न केन्द्र छन् भन्ने कुरा विश्वसामु प्रदर्शन गरेको’ भन्दै सङ्गठनको प्रशंसा गरेका छन् ।

यो गठबन्धनले विश्वको ४० प्रतिशत जनसङ्ख्या र कूल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गरेको छ तर यो पनि विवादरहित समूह भने बन्न सकेको छैन । यसका कतिपय सदस्यबीच भूगोल र राजनीतिक दृष्टिकोणका कारण आपसी मनमुटाव रहेको देखिन्छ ।

रूस र चीन पश्चिमी प्रभुत्वविरुद्ध एकजुट भएपनि मध्य एसियामा उनीहरू आर्थिक प्रतिस्पर्धी हुन् । यो क्षेत्र तेल र ग्यासमा धनी छ र एशिया र युरोपबीचको महत्त्वपूर्ण यातायात मार्ग पनि हो ।

चीन र भारत पनि साझा सीमा भएका दुई छिमेकी राष्ट्र हुनुको अलावा आर्थिक विकासको हिसाबबाट विश्वका प्रमुख प्रतिस्पर्धी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीच बेला बेला सीमा क्षेत्रको बिषयलाई लिएर सम्बन्धमा उतारचढाव देखिने गर्छ ।

बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु

संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ ।
मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ ।

सबै प्रमुख दलहरूको छ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ ।

इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कूल छ सय ५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ । कूल छ सय ५० संसदीय सिटमध्ये ३२६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ ।

बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सिएनएनले जनाएको छ ।

यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषिसुनकलगायत दावेदारहरूका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ ।

बेलायतको युरोपेली सङ्घसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ ।

यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री सुनकले आकस्मिक चुनावको आह्वान गरेका हुन् । उनको पार्टीमा केही नेता समेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए ।

प्रधानमन्त्रीलाई राजीनामा दिन महामन्त्री थापाको सुझाव

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् ।


बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताए ।


सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उनले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गरे । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन   नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 


महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए ।

गुणराजः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ। मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै । मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो ।

विसं २०८० चैत ६ गते मङ्गलबारका दिन थाइल्याण्डको बैङ्ककस्थित द बजार रत्चडाफिसेकमा १९औं विश्व मुवा थाई प्रतियोगिताको फाइनल चलिरहेको थियो । सेमि–प्रोफेसनल विधाअन्तर्गत ५४ किलो तौल समूह पुरुषतर्फको प्रतिस्पर्धामा थिए नेपालका गुणराज रुचाल । रिङभित्र रुचालका प्रतिस्पर्धी थिए इटालीका ग्राभियल ओलारियु । तीन राउण्डको नौ मिनेट लामो मुक्कामुक्कीपछि रेफ्रीले गुणराजको बायाँ हात उचाल्दै विजेता घोषित गर्यो ।


त्यो जित गुणराजको एक्लो थिएन । सिङ्गो नेपालको जित थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै गुणराजसहितको सानो नेपाली टोलीले त्यहाँ उत्सव मनाए । मुवा थाई खेलमा देशले प्राप्त गरेको हालसम्मकै ठूलो सफलता थियो त्यो । जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो । गुणराज एकछिन भावुक भए । आँखाहरू रसाए । सपना पूरा भएकामा उनी रोमाञ्चित भए । मन भने वहलिँदै त्यही देवीटार गाउँ पुग्यो ।

खेतीपाती गरेर वर्षभरि खान नपुग्ने परिवार । छोराछोरीका लागि बुबाआमाले निरन्तर गरिरहेको सङ्घर्ष । छाती गह्रौँ भयो । गला अवरुद्ध भए । आफ्नै मनले भन्यो, “बाबा तिम्रो छोरा पनि विश्वविजेता बन्यो ।”

ताजा खुसीको उन्मादले ओझेलमा परेको अर्को पीडा साथमै थियो । भीडन्तको पहिलो राउन्डमै उनको दायाँ हात भाँचिसकेको थियो । तर हात भाँचिएको कुरा न उनले कोचलाई सुनाए न त रेफ्रीलाई । “मेरो हात भाँचियो भनेर मैले पहिले थाहा पाइसकेको थिएँ । किनभने त्यसरी नै मेरो हात पहिले पनि भाँचिएको थियो”, उहाँले त्यो क्षण सम्झिँदै भने, “तर मैले मेरो हात भाँचिएको सुनाउने बित्तिकै खेल छाडेर हार स्वीकार्र्नुुपथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गरेपछि म खेल्नै सक्दिन थिएँ ।”

दश वर्षदेखिको विश्वविजेता बन्ने लक्ष्य पूरा नहुने जब उनले सम्झिए, त्यसपछि ‘गिभ अप’ गरेनन् । अनि बक्सिङभन्दा बढी लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीसँग फाइनल राउण्डसम्म भिडे् । यो त्यही दायाँ हात हो, जो मुवा थाईकै प्रतियोगितामा तेस्रोपटक भाँचिएको थियो ।

सिस्नेरी टु वल्र्डच्याम्पियन

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीस्थित देवीटार गाउँ । जहाँ पाँच घर दलित, तीन घर मगर र ६० घर जति क्षेत्री ब्राह्मण समुदायको बस्ती छ । त्यही गाउँका खड्गबहादुर र फूलमायाको तीन भाइ र एक बहिनी छोरीमध्येको जेठो हुनु गुणराज । नुन र चामल बोक्न पाँच घण्टा पैदल हिँडेर घुर्मी बजार पुग्नुपर्ने । “अझ बुबाआमाले दुईदिनको पैदल बाटो कटारी पुगेर नून ल्याउनुहुन्थ्यो रे, बाल उमेरमा यस्तो सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो”, गुणराजले बाल्यकाल सम्झिँदै भने ।

दलित समुदायलाई अझै उच्च जात भनाउँदाले हेर्ने दृष्टिकोण कहाँ बदलिएको छ र ? कहीँ खेतालो, गोठालो, बजार जाँदा नजानिँदो ढङ्गले हेपिएको महसुस गुणराजलाई हुन्थ्यो । तर, आफूलाई हेपेको मात्र नभई अरुलाई हेपेको पनि देख्न नसक्ने उनमा विद्रोही स्वभाव थियो । प्रतिवादमा उत्रिनु गुणराजको नानीदेखिको बानी हो ।

स्कुल बाहेकका समय गोरु, बाख्रा चराउन कहिले खोला किनार त कहिले जङ्गलतिर सुसेल्दै हिँडेको त्यो स्वर्णिम बाल्यकाल अझै उनको मानसपटलमा झल्झली आउँछन् । छुट्टीको दिन घाँस, दाउरा जानुपर्ने नियमित तालिका छँदैछ ।

सामान्य लेखपढ गरेका खड्गबहादुर र फूलमायाले दुःखै किन नहोस् छोरालाई सरकारी जागीरे बनाउने सपना देखे । छोराले २०६४ मा गाउँकै कालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सिएमए) पढाउन सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पठाए ।

गुणराजले पनि बुवाआमाको सपना पूरा गर्न सिएमए पढे्। सिएमए उत्तीर्ण गरेपछि बाँकी रह्यो अहेबको परीक्षाको तयारी । त्यसका लागि लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने । तयारीस्वरुप किताब किनेर ल्याए । किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो । रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराँते तालिम सञ्चालन हुने सूचना उनको कानमा ठोक्कियो ।

रेडियोमा सूचना पुरा बज्न नपाउँदै गुणराजले बन्द गरेको अहेबका लागि लोकसेवा तयारीसम्बन्धी पुस्तक त्यसपछि कहिल्यै खुलेन । कराँते सिकेरै छाड्ने छोराको जिद्दी सामू बाउआमाको केही लागेन । गाउँदेखि उकालैउकालो दौडिँदा दुई घण्टामा पुगिन्थ्यो मूलखर्क । छ बजेदेखि सुरु हुने करााते प्रशिक्षणमा सहभागी हुन गुणराज बिहान ४ बजे घरबाट हिँडिसक्र्थे। पुष–माघको चिसो ठिही र लामो रात । गाउँदेखि माथि रहेको दमार जङ्गल अँध्यारोमै कट्नुपथ्र्यो । तैपनि मनमा कुनै डर थिएन । थियो त एकमात्र कराँतेको गुरु बन्ने लक्ष्य ।

तीन घण्टाको प्रशिक्षण सकेर फर्किँदा १० बज्थ्यो । त्यसपछि फेरी घरको काम गर्नुपथ्र्यो । तर त्यो कराँते प्रशिक्षण विविध कारणले तीन महिनाभन्दा बढी सञ्चालन हुन सकेन । गुणराजको खेलाडी बन्ने सपना अधुरै रह्यो । उहाँ २०६९ असार १५ गते नेपाली सेनामा भर्ती भए । बाँकी सपना पूरा गर्ने माध्यम उनले नेपाली सेनालाई बनाउने सोचे ।

सेनाको तालिममै मार्सल आटर््स विधाअन्तर्गतका विभिन्न खेलहरु अनिवार्य सिक्नुपथ्र्यो । तर त्यो आधारभूत किसिमको मात्र हुन्थ्यो । त्यसअन्तर्गत पनि गुणराजले मुवा थाई रोजे । मुवा थाईमा उनको लगाव यति धेरै देखियो कि नेपाली सेनाले उनलाई त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो । अनि पूर्णकालीन मुवा थाई खेलाडी बने । अहिले नेपाली सेनाको अमलदार पदमा छन् रुचाल ।

निरन्तरको मेहनत र लगावले गर्दा उनले विस्तारै मुवा थाईमा सफलता प्राप्त गर्न सुरु गरे । उनले २०७६ सालमा काठमाडौँमा आयोजित ‘बेल्ट च्याम्पियनसिप’को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्नुभयो भने २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ मुवा थाई प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरे ।

विसं २०७४ माघ २८ मा चितवनमा भएको तेस्रो इन्डो–नेपाल प्रतियोगितामा पनि स्वर्ण पदक हात पारे र जितलाई निरन्तरता दिँदै २०७९ सालको चौथो इन्डो–नेपाल प्रतियोगितामा स्वर्ण पदक आफ्नै कब्जामा राखे । विसं २०७९ को आठौँ इन्डो–नेपाल मुवाथाई प्रतियोगितामा स्वर्ण जितेर इन्डो–नेपाल प्रतियोगितामै तीनवटा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी बने ।

मुवा थाईको अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पनि उनको वर्चस्व कायम छ । विसं २०७५ असोजमा नेपालमै आयोजित तेस्रो केब्याक इन्टरनेशनल मुवा थाई प्रतियोगितामा स्वर्ण पदक जितेका उनले २०७६ भदौमा थाइल्याण्डमा सम्पन्न जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै विजयी भएको थियो । विसं २०७९ मा थाइल्याण्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै रुचाल विजयी भयो ।

यसैबीचमा रुचालको विश्व च्याम्पियनसिप यात्रा सुरु भइसकेको थियो । विसं २०७९ मा थाइल्यान्डको पतायामा आयोजित १७ औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२२ मा कास्य पदक प्राप्त गरे। त्यो मङ्सिरको कुरा हो । त्यही सालको चैतमा थाइल्याण्डमै सम्पन्न १८औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२३ मा पुनः दोस्रो पटक कास्य पदकमा चित्त बुझाउनुपर्यो । दुईपटक कास्य पदक प्राप्त गरेपछि पनि विजेता बन्ने अठोटबाट गुणराज पछि हटे्नन् ।

त्यसपछिको तयारी यति मेहनतका साथ गरे कि त्यो लक्ष्य पूरा गर्न एकवर्ष पनि कुर्नु परेन । विसं २०८० फागुन २९ देखि चैत ६ गतेसम्म थाइल्याण्डमा सम्पन्न १९औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२४ मा विश्व विजेता हुन सफल भयो । मुवा थाई खेल विधाअन्तर्गत उनले प्राप्त गरेको यो उपाधि नेपालका लागि हालसम्मकै ठूलो हो ।

उनले मुवा थाई विधामा सातवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पराजय भोगेका छन्। तर पनि पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर अभ्यास गर्ने बानीले उनलाई सफलताको बाटोमा डोर्याइरहेको छ । नेपाल राष्ट्रिय मुवाथाई सङ्घले उनलाई सन् २०१६, २०१८ र २०२२ मा तीनपटक मुवाथाईको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिसकेको छ ।

के हो मुवा थाई ?

मार्सल आर्टअन्तर्गतकै एक खेल विधा हो मुवा थाई । ‘द आर्ट अफ एट लिम्बस्’ अर्थात दुवै कुहिना र दुवै घुँडा, दुवै बक्सिङ र दुवै किक गरेर आठ वटा भागले आफ्नो प्रतिस्पर्धीमाथी नियममा रहेर आक्रमण गर्न पाइन्छ ।

यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । त्यसो त यसको इतिहास जान्नलाई १३ औँ शताब्दीतिर थाइल्यान्ड सुखोथाई राज्यको बेलासम्म पुग्नुपर्ने हुन्छ । पहिलो थाई सेना जसले राज्यको सुरक्षा गर्न यो युद्धकलाको विकास गरे र उनले आफ्नो सेना तथा गैरसेनालाई यो कला सिकाए । मार्सल आर्ट अन्तर्गतकै यो कलालाई पछि मुवा बोरन र मुवा थाई नामाकरण गरियो ।

मुवाको खास अर्थ बक्सिङ हो । मुवा थाई भन्नाले थाई बक्सिङ भन्ने बुझिन्छ । सुरुमा मुवा थाई खेलाडीले हातमा डोरीले बाँधेर बक्सिङ खेल्ने गर्थे । २० औँ शताब्दीको सुरुआतपछि यो खेल ब्रिटिस बक्सिङबाट प्रभावित भएर आधुनिकीकरणतर्फ लाग्यो र पछि हातमा पञ्जा लगाएर खेल्न थालियो । नेपालमा मुवाथाई खेलले सन् २०१० मा मान्यता पाएको हो । नेपाल राष्ट्रिय मुवाथाई सङ्घ सन् २०१२ मा दर्ता भयो ।

गुणराजका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवा थाई सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका गणेशलाल कक्षपति गुणराज पछिल्लो समय व्यावसायिक खेलाडीको रुपमा परिचित भइसकेको बताउँछन् ।

“उसले खेलेको धेरै लामो समय पनि भयो । अब एउटा ठूलै प्रतिस्पर्धामा उसलाई सहभागी गराउनुपर्छ भन्ने तयारी छ हाम्रो”, उनले भने, “उसले लामै समय थाइल्यान्डमा तालिम पनि गरिसक्यो । १० पटक त थाइल्याण्डमै खेल्न गइसक्यो । अरु पनि राम्रा खेलाडी थिए तर उनीहरुले निरन्तरता दिन सकेनन् । गुणराजले निरन्तर मेहनत गरेकोले राम्रो छ । अहिले टपमै छ ।”

मुवाथाई अहिले मार्शल आर्ट खेलअन्तर्गत उत्कृष्ट विधाको रुपमा स्थापित भएको कक्षपतिको भनाइ छ । “नेपाली सेनाको विशेष फोर्स, रेन्जर र सशस्त्र प्रहरीमा पनि यो खेल समावेश गरेको छ । यो व्यावसायिक रुपमा उदाएको खेल हो । नेपालमै चार हजारसम्मको टिकट काटेर यो खेल हेर्ने दर्शक छन्”, उनले भने । चितवनको राइनोलगायतका दर्जनौँ क्लब व्यावसायिक क्लबहरुले यो खेल खेलाउने गरेका छन् ।

गुणराजको अन्तिम लक्ष्य भनेको ‘वान च्याम्पियनसिप’ सम्म पुग्नेछ । ‘वान च्याम्पियनसिप’ मार्शल आर्टसँग सम्बन्धित प्रतिस्पर्धा हुने संसारकै एक ठूलो ‘प्लेटफर्म’ हो । यो प्रतियोगिता संसारको एक सय ९० भन्दा बढी देशको टेलिभिजन च्यानलहरुमा प्रत्यक्ष हेर्न पाइन्छ ।

सिंगापुरमा मुख्यालय रहेको ‘वान च्याम्पियनसिप’मा गुणराजले आफ्नो प्रोफाइल पेस गरिसकेका छन् । मुवा थाई विधामा उक्त प्लेटफर्मका लागि छनोट हुनु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनु सरह छ । यद्यपी कुनैदिन त्यहाँसम्म पुग्ने उनको सपनामा तगारो भने लागिसकेको छैन । उनको ‘आइडल’ खेलाडी बुवाक बान्चामेक हो । जो थाइ फाइटर हुन् । बान्चामेक ‘वान च्याम्पियनसिप’लगायतका विश्व चर्चित मार्शल आर्ट प्रतियोगिताका ‘नम्बर वान’ खेलाडी हुन् ।

गुणराजलाई उनका बुबाआमाले यो कुटपिट गर्ने खालको खेल छाड्न सुझाव दिएको छ । “जति गरिस् त्यसले हाम्रो इज्जत राखिस् हामी खुसी छौँ, अब भने यो छाड भन्नुहुन्छ बुवाआमा”, गुणराजले भने, “तर मलाई अहिले नै यो खेल छोड्ने इच्छा छैन ।” नेपालमा अझै मुवा थाई खेलेरै व्यावसायिक बन्ने अवस्था छैन । अन्तर्राष्ट्रिय चर्चित प्रतियोगितामा सहभागी हुनसके मात्र दाम कमाउन सकिने उनको भनाइ छ ।

संसारमा मार्सल आर्टका चर्चित खेलाडी हङकङ ब्रुस ली हुन् या अमेरिकाका बक्सर मुहम्मद अलि जसले ‘फाइट’ खेलेरै आफू मात्र प्रसिद्ध भएनन्, देशलाई समेत चिनाए । यसरी नै गुणराजले पनि देशको प्रतिनिधित्व गर्दै कुनै दिन नेपाललाई चिनाउने सपना बोकेका छन् । भन्छन्, ‘मेरो रगतमा मुवा थाई छ, मैले खेल्दा देशकै लागि खेल्नेछु ।’ 

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

काठमाडौं। नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरेका हुन्।

उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ ।

नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो । पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवं गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

उक्त पुस्तक ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी नायब उपरीक्षकहरु चन्द्रबहादुर थापा, रविन कार्की र सुनिलजङ्ग शाह तथा प्रहरी निरीक्षक जितेश दाहाल र शेखरजङ्ग मल्लले सम्पादन गरेका छन् ।

ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले सो पुस्तक प्रकाशन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले नवीनतम् सोचबाट लक्ष्यित क्रियाकलापले मात्रै व्यावसायिकता अभिवृद्धि गर्नुका साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै ट्राफिक प्रहरीका कामकारबाहीलाई अझ जनमुखी बनाउन अनुशिक्षण, अनुगमन, सुपरीवेक्षण र परिमार्जन गरी सुधार ल्याउन निर्देशन दिए।

‘कतिपय सदस्यको आचरण, व्यवहार र गैरव्यावसायिक क्रियाकलापका कारण सबै सार्थक प्रयास ओझेलमा परेका छन् । जोखिम र चुनौतीपूर्ण कामकारबाहीका बाबजुद समग्र सङ्गठन जनगुनासोका घेरामा उभिनु परेको छ’, महानिरीक्षक कुँवरले भने।

उनले उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोगद्वारा सडक व्यवस्थापन तथा यात्रुको सुरक्षामा ट्राफिक प्रहरीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथसाथै सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासलाई समेटेर तयार पुस्तक प्रकाशन गर्नु प्रशंसनीय रहेको बताए। उनले ट्राफिक प्रहरीको इतिहास, स्थापनाकालदेखि हालसम्म आएको परिवर्तन, सञ्चालित गतिविधि तथा ट्राफिक क्रियाकलापलाई समेटी तयार भएको यो प्रकाशन अनुसरणात्मक सामग्रीका रूपमा रहने विश्वास व्यक्त गरे।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको इतिहास, वर्तमान र आगामी परिवेश बुझ्न, अध्ययन गर्न पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहने विश्वास व्यक्त गरे।

बढ्दो सहरीकरण र जनघनत्वका अनुपातमा वृद्धि भएका सवारी साधनको सङ्ख्या, सीमित सडक र पूर्वाधारका अभावका बीच ट्राफिक व्यवस्थापनमार्फत नागरिकको जीउधनको सुरक्षा गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएका छन् ।

आर्थिक वर्ष २०७९/८० सम्ममा काठमाडौँ उपत्यकामा १८ लाखभन्दा बढी सवारी साधन दर्ता भएका र तीमध्ये दैनिक करिब १४ लाख सवारी साधन उपत्यकाकामा सडकमा गुड्ने आकलन गरिएको छ ।

काठमाडौँमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा सोभन्दा ६७ प्रतिशत बढी अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन् ।

ट्राफिक प्रहरीले सडक केन्द्रित सुधारका कार्य, जनचेतना अभिवृद्धि र दुर्घटना न्यूनीकरणमा विशेष योजना अघि बढाउँदै आएको छ । उपत्यकामा बर्सेनि सानाठूला करिब १० हजार सडक दुर्घटना हुने गरेका तथ्याङ्क छ ।

ती दुर्घटनामा करिब दुई सयको मृत्यु तथा आठ हजारभन्दा बढी घाइते हुने गरेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरेर तीव्रगतिमा सवारी चलाउन निरुत्साहन गर्दै दुर्घटना घटाउन ट्राफिक प्रहरीले मापसे र लापसे जाँचलाई तीव्र पारेको छ ।

मकवानपुरमा जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

बागमती ।  जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि यही असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो । 

फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा

काठमाडौँ । फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा गरिएको छ। घनश्याम लामिछानेको निर्देशनमा कलाकार एवं निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर यो सिनेमाको घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्मसको व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्य रहने सिनेमाको स्क्रिप्ट मनिष गौतमले लेखिरहेका छन् ।

सिनेमाको काठमाडौँ र पोखरामा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ । हाल सिनेमाका लागि कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ । सिनेमामा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ।

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा बिहीबारका लागि भने एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

महासचिव राईले भने, “परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।”

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्रीहरु

काठमाडौं । राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै राजीनामा नदिन आग्रह गरेपछि फिर्ता भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । मन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले चाँडै विश्वासको मत लिने बताएका थिए ।

परियारले भने, ‘प्रधानमन्त्रीले अहिले राजीनामा नदिनुस्, मैले चाँडै नै विश्वासको मत लिन्छु भन्नुभयो । हामी त्यसबेलासम्म पर्खिन्छौँ ।’

प्रचण्डप्रति बाबुरामको कटाक्षः ‘कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले….’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले मन्त्रीहरु राजीनामा दिन जाँदा गीत गएको प्रसंग निकाल्दै कटाक्ष गरेका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्री प्रचण्डमाथि कटाक्ष गरेका हुन् । बुधबार साँझ राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत ‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले…’ गीत गाएको खबर सार्वजनिक भएको थियो ।

त्यसपछि भट्टराईले भनेका छन्, ‘कसैलाई माया गर्नु’ हैन ‘(कुर्सी)लाई माया गर्नु एउटा भूल गरें मैले..’ भन्नु बढी तथ्यपरक होला !’

सरकार गठनका लागि कांग्रेस र एमालेबीच सहमति भएपछि भट्टराईले प्रचण्डलाई सधैंभरी सबैलाई ठग्न नसकिने भन्दै कटाक्ष गरेका थिए ।

उनले भनेका थिए, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’

मुकुलले गरेको अलि भावुक र कच्चा काम

नारायण गाउँले ।
मुकुलजी, योचाहिं विपक्षीलाई मसला दिने कच्चा स्टन्टजस्तो भयो । बोल्न नपाएको भन्दै मुखमा कालोपट्टी बाँध्नुभएको भन्ने पढि़यो । तर केही दिनयता त तपाईं सुनिने गरी बोलिरहनुभएकै छ । कम्तिमा यतिबेला देशमा बोल्नै नपाइने निरङ्कुशता छैन । बोल्नका लागि आज धेरै ठाउँ, मञ्च र साधन छन्, जसको उपयोग तपाईं आफैले पनि गर्नुभएको छ ।
मिडियामा आएको तपाईंको पार्टी समीक्षाको सार पार्टीकै कार्यकर्तालाई कस्तो लागेको छ थाहा भएन, तर हामीजस्ता बाहिरियाहरूलाई पनि त्यो गलत या अवस्तुगत लागेको छैन । अन्य पार्टीका पदाधिकारीले पनि पार्टीको निर्मम समीक्षा र असन्तुष्टि सार्वजनिक गर्दै आएका छन् । एमालेमा अध्यक्ष ओलीले संसद विघटन गर्दा त्यो गलत र अलोकतान्त्रिक कदम भएको भन्दै सचिव योगेश भट्टराई लगायतका नेताले आन्दोलन नै गरेका थिए, पार्टी अध्यक्षलाई नै कारबाही गरेका थिए । गगन थापाहरूले पार्टी अध्यक्षका एकलौटी निर्णयबारे बोल्दै आएकै छन् । भककै त्यसको सुनवाइ या निरन्तरता नभएको होस् । तिनलाई पार्टीले कारबाही गरेको छैन ।

रास्वपा ती दलभन्दा असहिष्णु पक्कै नहोला । लोकतान्त्रिक पार्टीमा महामन्त्री या कुनै नेताले पार्टीको अवस्था र भविष्यबारे सार्वजनिक रूपमा बोल्न, बहस गर्न या छलफल चलाउन नमिल्ने भन्ने हुँदैन । जिल्लाजिल्ला पुगेर, भेटघाट गरेर र माहोल बुझेर बनाइएको धारणा या प्रतिवेदन आफैमा ’अत्यन्त गोप्य दस्तावेज’ पनि होइन । पहिले पार्टीमा छलफल गरेर त्यसलाई सार्वजनिक बहसमा ल्याएको भए अलि सुल्टो हुन्थ्यो होला, यत्ति हो ।

बन्दै गरेको पार्टीका आफ्नै सीमा र चुनौती हुन्छन् । रणनीति र गोपनीयता हुन्छन् । लाइभ गरेको भए पनि राम्रै हुन्थ्यो होला, तर लाइभ नगर्नेबित्तिकै तपाईंले म बोल्दिन भन्दै यसरी मास्क लगाएर बस्नुभएछ । एउटा पदाधिकारीका रूपमा आफ्नो समीक्षा यात्रा, अनुभव र निष्कर्षबारे पार्टीका नेता र कार्यकर्तालाई बुझाउने र कन्भिन्स गर्ने काम पनि त तपाईंकै हो । तपाईं कार्यकर्ता होइन, नेता हो । तर लोकतन्त्रमा पनि पार्टी चल्ने त आखिर बहुमतले नै हो । अल्पमतलाई सम्मान गर्दै बहुमतले निर्णय गर्ने हो । एकै दिनमा, एउटै बैठकमा सिङ्गो पार्टी तपाईंकै धारणामा आइपुग्छ भन्ने पनि हुँदैन । आफू र पार्टी दुबैलाई अप्ठेरोमा पार्ने अलि भावुक र कच्चा काम भयो यो त !

आसियान देशहरूद्वारा क्षेत्रीय रोग तयारी सुधारबारे छलफल

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य राष्ट्रका प्रतिनिधिहरूले राष्ट्रिय रोग रोकथाम, तयारी, पत्ता लगाउने र प्रतिक्रियाका उपायहरू आदान–प्रदान गर्नका लागि बैठक गर्दैछन् ।

लाओस स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार जुलाई १–५ मा स्वास्थ्य विकास (सोएमएचडी) मा १८ औँ आसियान वरिष्ठ अधिकारीहरूको बैठकका लागि लाओसको राजधानी भिएन्टाइन भेला भएका थिए ।

बैठकले आसियान देशहरू, आसियान प्लस थ्री र आसियान–चीनबीच स्वास्थ्यको क्षेत्रमा सहमति हुन आवश्यक रहेको अहिलेसम्मको उपलब्धि र बाँकी रहेका मुद्दाहरूबारे जानकारी गराएको थियो ।

आसियानमा तीव्र वृद्धि र परिवर्तनहरूले यसका सदस्य राष्ट्रहरूको स्वास्थ्य प्रणालीमा चुनौती खडा गरेको छ । प्रतिवेदनअनुसार समुदायहरूले अत्यधिक जनसङ्ख्या, प्रदूषण र वातावरणीय स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन् ।

वरिष्ठ स्वास्थ्य अधिकारीहरू आसियान स्वास्थ्य मन्त्रीहरूको सम्मेलनको आह्वानमा परिष्कृत नीति र रणनीतिक दिशाहरूको रूपरेखा बनाउन सहमत भएका छन् । यसले आसियान क्षेत्रलाई नयाँ घटनाक्रम र सम्भावित परिदृश्यहरूमा प्रभावकारीरूपमा प्रतिक्रिया दिन सक्षम बनाउनेछ ।

आसियानका स्वास्थ्य अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमा जोड दिए ।

रुसद्वारा ओएससिई संसदीय बैठकमा सहभागिता निलम्बन

रुसी सांसदहरूद्वारा बुधबार युरोपको सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) संसदीय सभामा मस्कोको सहभागितालाई निलम्बन गर्ने पक्षमा मतदान गरेको र यसलाई रुसविरोधी र भेदभावपूर्ण ब्रान्डिङ गरेको छ ।

रुसको रबर स्ट्याम्प संसद्का दवबै सदन– स्टेट ड्यूमा र फेडरेशन काउन्सिलले बुधबारको सत्रमा सहभागिता बन्द गर्न सर्वसम्मतिले मतदान गरेको छ ।

सङ्घीय परिषद्, संसद्को माथिल्लो सदनले सभालाई पक्षपाती, भेदभावपूर्ण दृष्टिकोण, दोहोरो मापदण्ड, पूर्ण रुसोफोबिया, समान र अविभाज्य सुरक्षा सुनिश्चित गर्ने सान्दर्भिक मुद्दाहरूमा अर्थपूर्ण छलफलका लागि तयारी नगरेको आरोप लगाएको छ ।

ओएससिईको संसदीय सभा निर्णय लिने निकाय होइन तर यसको उद्देश्य सदस्यहरूका विधायिकाहरूबीच संवादलाई सहज बनाउनु हो । ओएससिईमा मस्को र किएभ दुवै सहित ५७ सदस्य छन् । युक्रेनले ओएससिईबाट रुसलाई निष्कासन गर्न आह्वान गरेको छ ।

अब गृहमन्त्रीले मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको महामन्त्रीबाट निलम्बन गरेको छ । रास्वपाले बुधबार ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो ।

निलम्बनमा परेपछि ढकालले स्पष्टीकरणको मौकासमेत नदिइ निलम्बन गरिएको प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमार्फत ढकालले भनेका छन्, ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कसैलाई पनि कारबाही गर्नुअघि स्पष्टीकरणको मौका दिनपर्छ । स्पष्टीकरणको मौका पनि नदिइ कारवाही गरियो ।’

उनले आफूलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको र त्यसको जवाफ दिने तयारी गरिरहँदा पार्टीले आफूलाई त्यसको मौकासमेत नदिइ कारबाही गरेको बताएका छन् ।

उनले पार्टी सभापति रवि लामिछानेप्रति आक्रोश पोखेका छन् । उनले भनेका छन्, ‘बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक–जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।’


यस्तो  छ ढकालको भनाई 

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो- उहाँले देश बनाउनुहुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ।

प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो। मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचेँ- मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो- यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने- त्यही बोलिदिएँ। सोचेँ- कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचेँ- नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फसे। विगत लामो समयदेखि परिचित भएकाले मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो।

पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोलेँ। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ। मलाई शंका लाग्यो- प्रतिवेदनलाई फासफुस गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ।

बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।

अरू पनि भनिदिऔँ- अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाणसहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ।

आज बैठकमै भनिसक्नुभयो- मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्‍यो भने ‘लाइ डिटेक्सन टेस्ट’ दिन पनि तयार छु। पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु। त्यसपछि पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको। मैले लोकतन्त्र मान्नपर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको।’

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ ।

महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबार तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।

मध्य मालीमा आतंककारी आक्रमणमा २० भन्दाबढीको मृत्यु

मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँका बासिन्दा र स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका दर्जनौँ आतङ्ककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए । अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारीहरू) सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन्’, डुकुम्बोमा रहेका एक अधिकारीले भने ।

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो, आक्रमणमा दुलहाको पनि ज्यान गयो’, अर्का स्थानीय अधिकारी बताए ।

सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय सङ्कटको बीचमा आतङ्कवादी हमलाहरूबाट ग्रस्त छ ।

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास पुगेर मन्त्रीहरुले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाएका हुन् । कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि एमालेका मन्त्रीहरुले राजीनामा गरेका हुन् ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन बुधबारसम्मको समय दिएको थियो । प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेका तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती थिए ।

बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक शिवाकोटी जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए । उनी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष केबी उप्रेती पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । प्रहरीले उनलाई सहकारीको बचत अपचलन गरेको आरोपमा बुधबार बालाजुबाट पक्राउ गरेको हो ।

आईडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालकसमेत रहेको उप्रेतीले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । उक्त सहकारी गत महिना समस्याग्रस्त घोषित भएको थियो । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले अनुसन्धान गर्ने सहकारीको सूचीमासमेत यो सहकारी समावेश छ । एमालेको सहकारी विभागका सचिव रहेका उप्रेतीमाथि सहकारी ठगीको आरोप लागेपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।

नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । एमालेबाट सरकारमा आठ जना मन्त्री सहभागी छन् ।

टीआरसी विधेयकमा सहमति जुटाउन कार्यदलले थाल्यो छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी)विधेयकमा सहमति जुटाउन गठित कार्यदलले छलफल थालेको छ ।

बुधबार बसेको कार्यदलको बैठकले चार मुख्य विषयमा सहमति जुटाउन छलफल थालेको हो । पीडितलाई न्यायको अनुभूति हुने गरी टीआरसी विधेयकमा देखिएका विवादका विषयमा सहमति जुटाउने गरी छलफल थालिएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

खासगरी हत्या, बालसेना र पीडित सुरक्षाकर्मीको माग, पीडितले न्यायको खोजीमा फेरि अदालत जान पाउने वा नपाउने, कम सजायको माग दाबी लगायतका विषयमा छलफल केन्द्रित रहेको छ । दलहरुबीच विधेयकलाई छिटो टुंग्याएर चालु अधिवेशनमा विधेयक पारित गर्ने गरी अघि बढ्ने सहमति भएको छ ।

प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रबीच विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमालेबाट बर्तौला, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको छ ।

फेरि धारा २ अनुसार सरकार गठन गर्न खोज्नु पश्चगामी खेल : महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए ।

उनले भने, ‘संविधानको जग वृहत् शान्ति सम्झौता हो, वृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो । मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’

उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए ।

महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताए । उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे ।

गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्याख्या यहाँ मेल नखाने समेत दाबी गरे । महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए । उनले आन्तरिक रूपमा झिना मसिना कुरा भए पनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए ।

सुदूरपश्चिममा हकी स्थापित गराउने नरबहादुर

महेन्द्रनगर । नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् ।

उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए ।

उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे । भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन् ।

प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकी खेलको माध्यमबाट पनि चिनाएका छन् । भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकी खेलाडी उत्पादनमा समर्पित छन् ।

उनकै मेहनतका कारण हकीमा सुदूरपश्चिम प्रदेश अब्बल छ । विसं २०५२ देखि कञ्चनपुरको महेन्द्रनगरमा हकी प्रशिक्षकका रुपमा कार्यरत चन्दले हालसम्म ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् ।

सन् १९९५ मा भारतको मद्रास (हाल चेन्नई) मा सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने तय भएको थियो । नेपालमा उक्त प्रतियोगिताको तयारी हुँदै थियो । नेपालले हकीमा भाग लिने भयो ।

तर नेपालमा हकी खेलको त्यती राम्रो अवस्था थिएन । नरबहादुर हकीमा भारतको राजस्थानमा चिनिएका खेलाडी थिए । उनको खेल देखेर नै भतिज गणेशबहादुर चन्दले नरबहादुरलाई सो प्रतियोगिताबारे जानकारी गराए ।

“घरबाट (महेन्द्रनगर) भतिज गणेबहादुरको फोन आयो, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट हकी खेल्ने अवसर छ भनेर खबर गरे”, २९ वर्षअघिको कुरा सम्झिदै नरबहादुरले रासससँग भने–“एक पटकको फोनको भरमा म नेपाल फर्किए र सोझै हकीको बन्द प्रशिक्षणमा सहभागी भए ।”

नरबहादुरका भतिज गणेशबहादुर हाल कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष छन् । उनी भारतको राजस्थानमा छँदा नरबहादुरका सहपाठी हुन् ।

नरबहादुरले मद्रासमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा हकीमा उत्कृष्ट खेल प्रदर्शन गरे । “मेरो प्रदर्शनबाट प्रभावित भएर हकीका तत्कालीन मुख्य प्रशिक्षक अशोक पाण्डेले कञ्चनपुरमा हकी सिकाउन अस्थायी नियुक्ति दिए ।” सातौँ दक्षिण एसियाली खेलकुदबाट फर्किएदेखि हालसम्म उनी यतै हकी खेलाडी उत्पादनमा सक्रिय छन् ।

नरबहादुर आफुलाई हकीको सफल प्रशिक्षक ठान्छन् । उनी आफ्नो भूमिकाप्रति सन्तुष्ट छन् । “मैले सिकाएका खेलाडी सुदूरपश्चिमको टोलीमा मात्र होइन् देशभर छरिएका छन्”, उनले भने ।

खासगरी नरबहादुरले उत्पादन गरेका खेलाडीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा दबदबा रहेको छ । विसं २०५२ मा हकी प्रशिक्षकका रुपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी भए । “पछिसम्म पनि भारतको राजस्थानबाट हकी खेल्न र जागिर खान निम्तो आइरहन्थ्यो”, नरबहादुरले भने– “म नेपालमै खेलाडी उत्पादनमा लागेँ, यसमै सन्तुष्ट छु ।”

भारतको राजस्थानको उदयपुरमा स्वामी विवेकानन्द उच्च माध्यमिक विद्यालयमा पढ्दा विद्यालयका खेल प्रशिक्षक मधुकान्त सेनाडियाले नरबहादुरलाई हकी खेलमा प्रवेश गराएका हुन् ।

उक्त विद्यालयमा उनी सुरुआतमा फुटबल खेल्थे । प्रशिक्षक सेनाडियाकै करकापले पछि उनी हकी खेल्न थाले । हकी खेल्न थालेको वर्षदिनमै नरबहादुर जुनियरतर्फ उदयरपुर जिल्लाकै उत्कृष्ट खेलाडी बने । “त्यतीबेला भारतमा छँदा चारवटा राष्ट्रिय तथा प्रदेशस्तरीय खेलमा सहभागी भएँ”, उनले विगत सम्झिदै भने ।

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्र हकीको अभ्यास गराइन्छ । यहाँ हकी लोकप्रिय छ । भारतको गुवाहाटीमा भएको ११औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) मा सहभागी नेपालको महिला हकी टोलीमा सबै नरबहादुरले सिकाएका खेलाडी थिए । उनकै मेहनतका कारण पाचौँ र छैटौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले महिला हकीमा स्वर्ण पदक जितेको थियो । त्यसपछिका राष्ट्रिय प्रतियोगितामा पनि नरबहादुरले उत्पादन गरेका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दैआएका छन् ।

सन् २०१० मा बङ्लादेशको ढाकामा भएको १२औँ साफ खेलकुद प्रतियोगितामा हकीमा सहभागीमध्ये अधिकांश खेलाडी नरबहादुरकै उत्पादन थिए । महेन्द्रनगर नजिकैको उल्टाखाम त हकी खेलका नामले परिचित छ । कञ्चनपुरका महेन्द्रनगरस्थित कभर्डहल र भीमदत्त नगरपालिका–३ लक्ष्मी माविको चउरमा उनले हकी सिकाउँदै आएका छन् । उनलाई पूर्वाधार अभाव खड्केको छ ।

“फुटबल मैदानमा हकी सिकाउनुपर्ने अवस्था छ”, उनले भने । नरबहादुरले हकीका सिनियर खेलाडी कान्तुराम पनेरुको निजी पहलमा हकी मैदान बनाउन प्रयासरत रहेको बताए । खेल मैदान बनाउन पनेरुसँगै हातेमालो गर्न उनी कस्सिएका छन् ।

“स्तरीय खेल मैदान र खेल सामग्री प्राप्त भए हकीमा धेरै प्रगति गर्न सकिन्छ”, प्रशिक्षक नरबहादुरले उत्साहित हुँदै भने । हालसम्म महेन्द्रनगरस्थित कभर्डहलमा उत्पादन गरेका ६८ तथा उल्टाखाम गाउँमा उत्पादन भएका १६ खेलाडीले नेपालको टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हकी प्रतियोगिता खेलिसकेको उनले जानकारी दिए । “हाल ६५ खेलाडी हकीको नियमित अभ्यासमा छन्”, प्रशिक्षक नरबहादुरले भने ।

कञ्चनपुर फुटबल सङ्घका अध्यक्ष एवम् सहपाठी गणेशबहादुर चन्द नरबहादुरले हकीमा गरेको मेहनत लोभलाग्दो भएको बताउँछन् । “खेलमैदान र खेल सामग्री अभावमा पनि प्रतिभावान खेलाडी उत्पादन गर्नु चानचुने कुरा होइन”, उनले भने ।

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई विभागको निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । 

विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई बुधबार निर्देशन दिएको हो । 

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिनुभयो । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।

यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ ।

‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ’, विभागको परिपत्रमा भनिएको छ ।

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौँ ।  सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झण्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशानुसार मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।

समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इञ्जिनीयरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इञ्जिनीयर सूर्यप्रकाश उपाध्याय थिए ।

गत माघ ५ गते गठित समितिले अवधारणापत्रसम्बन्धी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको छ । प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको छ ।

साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रतिवेदनले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिको निर्माण, कानुनी आधारसहित डाटा सुरक्षण रुपरेखा, एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षण समेटिएका नीति र कानुनको अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूलन हुने गरी मानक निर्धारण गर्नुपर्ने सुझाव दिएको छ । 

प्रतिवेदनले एकीकृत राष्ट्रिय पोर्टलको विकास गरी एआईसम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचनाको निर्माण गर्नुपर्ने, यस विषयमा अनुसन्धान, विकास र उपयोगलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने, एआईको प्रयोगमा गति प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, यसको रुपान्तरणकारी प्रकृतिलाई आर्थिक सामाजिक विकासमा उपभोग गर्न राष्ट्रिय परियोजना एवं क्षेत्रगत पहलको विकास गर्नुपर्ने सुझाव दिइएको मन्त्रालयका उपसचिव एवं अवधारणापत्र तयारी प्राविधिक समितिका सदस्य तिमिल्सिनाले जानकारी दिए ।

‘गोपनीयता संरक्षण, पारदर्शीता र जवाफदेहिताको प्रवर्द्धन, एआई प्रयोगको विकास र प्रवर्द्धनलगायत विषयमा अनुसन्धान, लगानी र सहकार्यलाई वृद्धि गर्ने रणनीति लिनुपर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसका लागि सम्बन्धित क्षेत्रले आफ्नो नीति, रणनीति र कार्यक्रममा एआई प्रयोगको विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।’

विद्यमान जनशक्तिको पहिचान गरी उनीहरुको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक र निजी क्षेत्रमा दक्षजनशक्तिको उपलब्धता पश्चात् एआई विकास, प्रयोग र प्रवर्द्धनलाई गति दिन सकिने भएकाले यस क्षेत्रमा मानव पुँजी निर्माणमा सबैको ध्यान जानुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको समितिका सदस्य तिमिल्सिनाले बताए । 

रोग निवारण र उपचार, वित्तीय सेवा र विश्लेषण, निर्माण तथा उत्पादन, शिक्षा र विकास, सञ्चार र अनुभव सुधार, साङ्गठनिक प्रबन्धन, सरकारी सेवा, सामाजिक सुरक्षा, खेलकूद, अनुसन्धान र विकास, कृषि, पर्यटनलगायत क्षेत्रमा एआईको प्रयोग गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको उनको भनाइ छ ।

‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स विकासको वर्तमान ई–कोसिस्टमको अवस्था, प्रवर्द्धनका सम्भावित क्षेत्रहरु, अनुसन्धान र विकासको क्षमता, कार्ययोजनाको मूल्याङ्कन गर्नुपर्ने हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय रणनीतिले स्वास्थ्य सेवा, कृषि, शिक्षा, स्मार्ट सहर एवं पूर्वाधार, स्मार्ट मोलिलिटी र यातायातलगायत प्रमुख क्षेत्रहरु निर्धारण गरी उक्त विषयमा भावी कार्ययोजना तय गर्नुपर्दछ ।’

एआईसम्बन्धी रणनीतिले डाटा र डिजिटल पूर्वाधार, एआई ‘स्टार्टअप’लाई गति दिन आर्थिक तथा वित्तीय व्यवस्था, अनुसन्धान र विकास, नैतिकता, डाटा गोपनीयता, सुरक्षा र नियमन, जनशक्तिलाई सीप र क्षमता वृद्धि, प्रविधिको औद्योगिकीकरण तथा क्षेत्रगत पहल समेट्नुपर्ने प्रतिवेदनको सुझाव छ । 

प्राविधिक समितिले एआईको पृष्ठभूमि, अवधारणा, एआई इकोसिष्टम, यसका आधारभूत सिद्धान्त, दृष्टिकोण, उद्देश्य, विद्यमान अवस्था, नीतिगत व्यवस्था, संस्थागत एवं प्रयोगको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिलगायत क्षेत्रमा अध्ययन गरेर नेपालले लिनुपर्ने आगामी कार्यदिशा तथा योजना तर्जुमाका विषय प्रतिवेदनमा समेटिएको उपसचिव तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ, नर्डिक–बाल्टिक क्षेत्र, यूएई, भारत, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, सिङ्गापुर, दक्षिण कोरियालगायतले जारी गरेका एआई प्रयोगसम्बन्धी रणनीतिको अध्ययन गरी प्रतिवेदनमा तुलनात्मक विश्लेषण समावेश गरिएको छ ।