बीबीसी । सर किअर स्टार्मर बेलायतको प्रधानमन्त्री भएका छन् । बेलायतको बिहीवार भएको संसदीय निर्वाचनमा लेबर पार्टी विजयी भएसँगै स्टार्मर प्रधानमन्त्री बनेका हुन् ।
उनी सन् २०२० मा जेरमी कोर्बिनको स्थानमा लेबर पार्टीको नेतृत्वमा पुगेका थिए। त्यसयता उनी पार्टीको साख फर्काउन र चुनावमा जित हासिल गर्न केन्द्रित भएका थिए ।
लेबर पार्टी विगत १४ वर्षदेखि सत्ताबाहिर थियो । स्टार्मर सफल वकिल थिए। उनी ५० वर्षको उमेमा सांसद बने । राजनीतिमा सदैव रुचि राख्दै आएका उनी युवावस्थामा कट्टर वामपन्थी थिए । उनको जन्म सन् १९६२ मा लन्डनमा भएको थियो। उनका आमाबुवाका चार सन्तान जन्मिए ।
उनी दक्षिणपूर्वी यूकेको सरी भन्ने ठाउँमा हुर्किए। उनी आफ्नो पृष्ठभूमि श्रमिक वर्गसँग सम्बन्धित भएको बताउँछन्। उनका बुवाएउटा कारखानामा काम गर्थे भने आमा नर्स थिइन् ।
उनको परिवार लेबर पार्टीप्रति निष्ठावान् थियो। किअर हार्डी नामका व्यक्तिबाट प्रेरित भएर उनको नाम किअर राखिएको थियो। हार्डी स्कटिश थिए र खानीमा काम गर्थे। उ
नी लेबर पार्टीको पहिलो नेता थिए । स्टार्मरको पारिवारिक जीवनमा धेरै समस्या आइपरेको थियो । स्टार्मर १६ वर्षको उमेरमै लेबर पार्टीको युवा सङ्गठनमा जोडिएका थिए। केही समय उनले कट्टर वामपन्थी पत्रिका ‘सोसलिस्ट ओल्टर्नटिभ’ को सम्पादन पनि गरेका थिए ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको छ । बैठकले आउँदो नोभेम्बर/डिसेम्बरमा प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन् । उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।
ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । यसमा अब सन्दीप पनि अटाएका छन् । ए ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।
धनुषा । जिल्लाको सबैला नगरपालिका-६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन सुरु गरेको हो ।
प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिए ।
‘अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ,’ उनले भने, ‘सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने तयारीमा छौँ ।’
स्थानीय ६० वर्षीय रामवृक्ष यादवले भने, ‘पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख गरिएको छ ।’
सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको जनविश्वास रहेको ७५ वर्षीय राममनोहर साहले बताए । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा चारवटा मठ निर्माण गरेका थिए ।
महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाको गोविन्दपुरमा मठेश्वरनाथ र भारतको विहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेको इतिहास रहेको साहले जानकारी दिए । ‘तीमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथको भग्नावशेष मात्र बाँकी छ,’ उनले भने ।
पुरातत्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताए । मठेश्वरनाथ मन्दिर हो भनेर यकिनसँग अहिले भन्न नसकिने बताउँदै उनले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएकाले थप अध्ययन गरिने उल्लेख गरे । ‘उत्खनन गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ,’ उनले भने ।
विज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब सातदेखि १० हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपिका आधारमा पूर्वमध्यकाल वा आठौँ/नवौँ शताब्दीको इतिहास हुनसक्ने बताउँदै पुरातत्वविद् दर्नालले मन्दिरका पर्खाल थप पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सक्ने उल्लेख गरे ।
सबैला नगरपालिकाका प्रमुख काशीराम यादवले मन्दिरको पश्चिमतर्फ प्रवेशद्वार रहेको यसको संरचनाले देखाउने भन्दै प्रवेशद्वारबाट उत्खनन सुरु गरिएको जानकारी दिए । ‘भग्नावशेषको माथिल्लो भाग सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूलाठूला ढुङ्गा एकापसमा जोडिएर रहेका अवस्थामा भेटिएका छन्,’ उनले भने ।
ढुङ्गा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो सोबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको पुरातत्वविद् दर्नालले बताए । मिथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उनले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी दिए ।
‘अनुसन्धानका क्रममा यो मन्दिर प्राचीन रहेको प्रमाणित हुन्छ । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । अन्तिम अध्ययन नसकिएसम्म तथ्य के हो भन्न कठिन छ,’ पुरातत्वविद् दर्नालले भने ।
स्थानीयका अनुसार २०३३/२०३४ सालतिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिरका साथै वरपरको क्षेत्र खन्न लगाएका थिए । बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएका भन्दै स्थानीय विन्देश्वर यादवले तत्कालीन समयमा ठूलोलाई रु सात र सानोलाई रु पाँच ज्याला दिइएको स्मरण गरे । मन्दिर खनेर ढुङ्गा छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिएको उनले बताए ।
मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठूलाठूला ढुङ्गा छरपस्ट अवस्थामा छन् । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोजनका लागि यहाँबाट ती ढुङ्गा लगिसकेका छन् ।
‘सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिमतर्फ एउटा पोखरी थियो । त्यो पोखरी पनि पुरिएर खेतमा परिणत भएको छ,’ नगरप्रमुख यादवले भने । पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यसलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरिने बताए । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा पनि समेट्दै आइएको नगरप्रमुख यादवले जानकारी दिए ।
विगतमा माध्यमिक परिक्रमा डोला पनि यही मन्दिर हुँदै जाने गरेको स्थानीय बताउँछन् । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर परिक्रमा डोलाका लागि जाने गरेका स्थानीय ७० वर्षीय फेकु यादवले जानकारी दिए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढाव जस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री दाहालले नेपाल प्राकृतिक बिपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन। नेपाल यसै पनि विपदका दृष्टिले उच्च जोखिमयुक्त देश हो। त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ। त्यसैले व्यवस्थित पूर्वतयारी गरौं। विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ। तर, कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं। राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनिकरणमा केन्द्रित गरौं।’
छलफलमा गृह मन्त्रालय र नेपाली सेनाको तर्फबाट गरिएको पूर्वतयारीका लागि आभार प्रकट गरे । छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको पूर्वतयारी र जोखिम पूर्वकार्य सम्बन्धी आफ्नो तर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा, निमित्त मुख्यसचिव लिलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतका अधिकारीहरूको सहभागी थिए ।
काठमाडौ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ ।
यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिए ।
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत लिन लागेका हुन् ।
संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले असार २८ को प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद सचिवालयलाई पत्र पठाएका छन् ।
एमालेले बुधबार प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेस–एमालेबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन् ।
रामबहादुर थापा, गण्डकी । हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहेका छन् । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ ?’ भन्दै उनी हामीछेउ आइपुगे । भर्खरै टिपेको केराउ थमाए । हंसमुख र विनम्र वचनसहित टक्र्याएपछि केराउको स्वाद नलिइ भएन । अहो ! कति रसिलो ।
हाम्रो उद्देश्य केराउको स्वाद चाख्नु नभई उनीबारे जानकारी लिनु थियो । हामीले थप नअल्मिलिँदै जिज्ञासा राख्यौँ, उनी पनि सजिलो गरी प्रस्तुत भए । जीवनका अन्तरकुन्तर खोले । सपनाको शहर काठमाडौंबाट जन्मथलो फर्केर कृषि र पर्यटन व्यवसायमा रमाइरहेका ३२ वर्षीय युवा । विसं २०६५ मा विद्यालय शिक्षा पूरा गरी विष्ट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरे ।
म्यानपावर कम्पनीमा काम गर्दै होटल व्यवस्थापन पढे तर आर्थिक अभावले पढाइलाई १२ कक्षाभन्दा अगाडि बढाउन सकेनन् । ‘भृकुटीमण्डमा घोडा तान्ने कामदेखि के सम्म गरिएन काठमाडौंमा’, विष्ट विगततिर फर्किए, ‘पराइ ठाउँ, न घरपरिवार न आफन्त, छाक टार्ने जागीरले काठमाडाैंको बसाइँ सकसपूर्ण हुन थालेपछि म आफ्नै ठाउँ चामे फर्किएँ ।’
नौ वर्षको काठमाडाैं बसाइँलाई बिट मारेर उनी विसं २०७५ मा मनाङ फिरे । सदरमुकाम चामेमा विष्टका बुबाआमा निर्वाहमुखी कृषि गरिरहेका थिए तर व्यावसायिक चेत थिएन । जेठा छोरा सेराप गाउँ फर्किएपछि दुःखसुख गरेर जीवन धानिरहेका विष्ट दम्पतीको जीवनले पनि नयाँ मोड लियो ।
सेरापले गाउँ फर्केपछि ‘विष्ट एप्पल फार्म’ स्थापना गरे । त्यो बेला ‘फार्म’ दर्ता कसरी गर्नेसम्म उनलाई थाहा थिएन । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले त्यसमा सघाए । तनहुँको दमौली पुगेर सेरापले स्थायी लेखा नम्बर ‘पान’ नम्बर ल्याए । चार रोपनीमा फैलिएको ‘फार्म’मा अहिले स्याउ फलिरहेका छन् । स्याउसँगै उनले व्यावसायिक तरकारीखेती सुरु गरे ।
प्लाष्टिक घर (टनेल)मा लटरम्म गोलभेँडा फलेका छन् । चामेका होटललाई चाहिने तरकारी उनले नै पुर्याउँछन् । ‘चार रोपनीमा आलु र दुई रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत अरु तरकारी लगाएको छु’, उनले सुनाए, ‘किवी, आरु, खुर्पानीलगायत मौसमअनुसारका फलफूल पनि लगाएको छु ।’
गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उनले कृषिमा मात्र सीमित गरेनन् । चामे गाउँपालिका–५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उनको अर्को व्यावसायिक कर्म हो । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग छेउ रहेको उक्त ‘होमस्टे’ले विष्टलाई पर्यटन उद्यमीका रूपमा समेत चिनाएको छ ।
‘होमस्टे सञ्चालनमा ल्याएको नौ महिना बित्दैछ, दुई पर्यटकीय याममा हामीले सेवा दिइसकेका छौँ’, विष्टले भने, ‘पाहुनालाई आफ्नै बारीको उत्पादन चखाउने हेतुले होमस्टे सञ्चालनमा ल्याएका हौँ, हामीकहाँ नेपाली र विदेशी दुवै खाले पर्यटक आउँछन् ।’
चामेको रैथाने बाली उवा, फापर, आलु, सिमीलगायतका परिकार उनको भान्छामा पाक्छ । पर्यटकले चाहेमा बारीमा पुगेर आफैँ तरकारी टिप्न र पकाउन पनि पाउँछन् । विशुद्ध पारिवारिक वातावरण दिएर पर्यटक लोभ्याउने विष्टको सोच छ । उनले भने, ‘हाम्रो आमाले पहिले भान्छामा जे पकाउनुहुन्थ्यो, त्यही परिकार पर्यटकलाई दिन्छौँ, स्थानीय उत्पादनमै हाम्रो बढी जोड छ ।’
विष्टले ‘होमस्टे’ आमाकै नाममा दर्ता गरेर चलाएका छन् । ‘होमस्टे’मा एक रातमा १५ जना पाहुना बस्न सक्छन् । हिमाली सभ्यता र जनजीवन झल्काउने गरी ‘होमस्टे’ सेवालाई विविधीकरण गर्दै जाने विष्टको योजना छ ।
‘निकट भविष्यमा फार्म हाउस खोल्ने योजना छ, हेरौँ परिस्थितिले कत्तिको साथ दिन्छ’, उनले भने, ‘आफ्नै जन्मथलोमा केही गर्ने हुटहुटी छ, व्यावसायिक कर्म र बुबाआमाको सेवामा समर्पित भएर लाग्ने प्रण गरेको छु ।’
उमेरले उकालो चढ्दै गरेका साङ्दो र पेमा भुटी विष्ट पनि छोरा गाउँ फर्केपछि निकै खुसी छन् । विष्ट दम्पतीले सकेजति छोरालाई काममा सघाइरहेका छन् । । सेराप आफैँ खेतीबालीको काममा खट्छन् । कहिलेकाहीँ खेताला लगाउँछन् ।
पर्यटनबाट धानिएको मनाङमा आफ्नो भविष्य सुरक्षित देखेका सेराप अरुका लागि पनि प्रेरणा बनेका छन् । उनको लगाव, योजना र सोचका कारण गत आइतबार गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ बाट सम्मानित भएका छन् ।
कृषि तथा लघु उद्यमतर्फ प्रदेशभरीमा प्रथम स्थानमा छनोट भई उनले ५० हजार पुरस्कार पाए । केही समयअघि उनलाई चामे गाउँपालिकाले पनि युवा उद्यमीका रूपमा सम्मान गरेको थियो । ‘सम्मान र पुरस्कारले थप प्रेरणा दिएको छ, आगामी दिनमा व्यवसायको गुणस्तर र क्षमता विस्तारतिर लाग्छु, थोरै सङ्ख्यामा भए पनि गाउँमै रोजगारी सिर्जना हुने गरी काम गर्छु’, उनले भने ।
विष्टलाई सबैभन्दा सन्तोष लाग्ने विषय हो बुढेसकालमा बुबाआमासँगै रहन पाउनु । ‘जग्गा धेरै भएर पनि बुबाआमाले खेतीकिसानी गर्न नसक्ने अवस्था थियो, म घर फर्केपछि बल्ल उहाँहरूलाई पनि आडभरोसा मिल्यो, खुसीसाथ कृषिकर्ममा रमाइरहेका छौँ, कमाइ पनि राम्रै छ’, विष्टले भने । सेरापका माइला भाइ भक्तपुरमा बौद्धशिक्षा पढ्दै छन् भने कान्छा भाइ वैदेशिक रोजगारमा छन् ।
देश नै विदेश भइरहेको छ भन्ने भाष्य बनिरहेका बेला सेराप भने आफ्नै थातथलो फर्केर आफ्नै जीवनमा आशा भरिरहेका छन् भने अरुलाई देशमै केही गर्नुपर्छ भनेर प्रेरणा दिइरहेका छन् । तिनै युवाउद्यमी सेरापलाई हामीले सोध्यौँ—श्रवण मुकारुङले रचेको अहिलेको चर्चित गीत ‘राई माइलाले गाउँ छाड्यो रे…’ सुन्नुभएको छ ? जवाफमा भने, ‘गीत सुनेको छु, मीठो छ ।’
हामीले भने ‘सेराप विष्ट गाउँ फर्के रे !’ भनेर प्रशंसा गर्यौँ । उनी मन्द मुस्काए । मुस्कानसहित उनले भने,’नबिर्सनुहोला ल ! समय मिलेमा फेरि पनि आउनुहोला, हाम्रै होमस्टेमा बसेर एकरात सँगै रमाउँला ।’ हामी पनि मन्द मुस्कानले उनको भनाइमा स्वीकारोक्ति जताएर छुट्टियौँ ।
काठमाडौं । राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
सरकारले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाले यसअघि नै पारित गरिसकेको छ ।
बजेट पारित भएपनि सत्ता गठबन्धनमा भएको फेरबदलका कारण ये बजेट ल्याउने सरकार विस्थापित भई नयाँ सरकार बन्ने प्रक्रिया सुरु भएकाले बजेट कसरी कार्यान्वयनमा जान्छ भन्ने चासोको विषय बनेको छ ।
पर्वत । पर्वत जिल्लाकै सबैभन्दा पहिलो, अग्लो र लामो कुस्मा–ज्ञादी झोलुङ्गे पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। डेढ दशकअघि निर्माण गरिएको उक्त पुल मर्मत नहुँदा जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
पुलबाट यात्रा गर्दा जोखिम निम्तिन सक्ने खतरा बढेकाले मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । विसं २०६६ मा निर्मित कुश्मा–ज्ञादी झोलुङ्गे पुल अहिलेसम्म मर्मत हुन सकेको छैन।
मानिस पैदलयात्रा गर्ने पुलमा एकैपटक दर्जनौँ मोटरसाइकल गुडाउँदा दुर्घटनाको जोखिम भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सहरी विकास मन्त्रालयअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनसँग परामर्श गरी अर्को सूचना जारी नहुँदासम्म दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको उनले जानकारी दिए।
तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाइको उक्त पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्मा बजारसँग जोडेको छ।
कुश्मा–५ बाट कुश्मा–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयौको सङ्ख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रुपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दै आएका छन् । यसले पैदलयात्रीलाई समेत समस्या पर्दै आएको भन्दै गत आइतबारदेखि पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको हो।
केही दिनअघि कर्णाली प्रदेशमा भएको खच्चर दुर्घटनाको नियति पर्वतमा नदोहोरियोस् भनेर पुलबाट सवारीसाधन वारपार गर्न रोक लगाइएको प्रजिअ शर्माले बताए।
‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुलको प्राविधिक नापजाँच नगरिकन सवारीसाधन सञ्चालन नगर्ने÷नगराउने निर्णय गरेपछि हाललाई उक्त पुल भएर सवारीसाधन नचलाउन स्थानीयलाई अनुरोध गरेका छौँ’, उनले भने।
सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोली आगामी साउन अन्तिम सातामात्र पुल मर्मत र चेकजाँचका लागि आउने जानकारी आएको प्रजिअ शर्माले बताए। डिभिजनले पत्र पठाएर कुस्मा–ज्ञादी झोलुङ्गे पुलमा मात्र नभई कुनै पनि झोलुङ्गे पुलबाट मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन सञ्चालन गर्न नहुने जनाएको उनको भनाइ छ।
पुल निर्माण भएको डेढ दशक पुगिसकेको छ । पुलका लट्ठा, दुवै छेउका बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुने समस्या देखिन थालेका छन् । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको थियो।
यो पुलपछि सदरमुकाम कुश्मामा थप चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलबाट भने दुईपाङ्ग्रे सवारी साधन निर्वाधरुपमा सञ्चालन हुँदै आएका छन्।
किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ ।
संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले जनाएको छ ।
कुनै पनि मिडिया आउटलेटले ३२६ सिटको सीमा पुगेको घोषणा गर्नु अघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम निर्वाचनमा हार भएको स्वीकार गरेका थिए ।
बीबीसी, आइटीवी, र स्काई न्यूजले गरेको एक्जिट पोलले केही घण्टा अघि लेबरले ४१० सिटको शानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको सङ्ख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो ।
“लेबर पार्टीले यो आम चुनाव जितेको बताउँदै नेता स्टार्मरलाई जितका लागि बधाई दिएको सुनकले उल्लेख गरेका छन् ।
बेलायती जनताले गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै उनले हानिको जिम्मेवारी लिने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटी चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ । यसले स्टार्मरललाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्ग प्रशस्त गर्नेछ ।
स्टार्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्य लन्डनमा जनतालार्ई सम्बोधन गर्दै भने, “हामीले जित्यौँ । तपाईँले यसका लागि अभियान चलाउनुभयो, सङ्घर्ष गर्नुभयो, र जितको अवस्था आइपुगेकोले परिवर्तनको अनुभूति छिट्टै हुनेछ ।”
उनले भने, “बेलायती जनताले लेबर पार्टी र यसको नेतृत्वलाई विस्वास गरेका छन् र हामी उनीहरूको हितको लागि काम गर्न सक्छौँ ।” नेता स्टार्मरले लेबरको जीतमा योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकलगायत मतदाताप्रति आभार प्रकट गरेका छन् ।
रूसी सेनाले रूसी र युक्रेनी क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोले शुक्रबार जनाएको छ ।
मन्त्रालयले रूसले कब्जा गरेको दाबी गरेका क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिज्झिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रूसले कब्जा गरेको दाबी गरेको छ ।
वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिज्झिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रूसले जापोरिज्झिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेपनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गरेको छैन ।
काठमाडौँ । मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका छन् ।
चालु आर्थिक वर्षमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्युभएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिए । भारी वर्षाका कारण चार जना घाइते भएका छन् ।
चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए । सबै विपद्का घटनाबाट एक सय ७१ चौपायाका मरेका छन् ।
विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिँदै उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमाण्ड पोष्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका बताए ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई पाँच लाख, प्रदेश सरकारबाट प्राप्त तीन लाख, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ । साथै मृतकका परिवारलाई तत्काल १५ हजार, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको थियोे ।
काठमाडौं । नेकपा एमालेले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबार सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।
पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।’
यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याइन् ।
शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उनले विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ जारी गरिएको स्पष्ट पारिन् ।
“शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ”, मन्त्री श्रेष्ठले भनिन्, “त्यसैले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्नुहुन्न । यसका लागि म सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्दछु ।”
मन्त्री श्रेष्ठले शिक्षक ‘पोर्टल’ निर्माणगरी एकीकृत तथ्याङ्क तयार गर्ने र सरुवालाई वैज्ञानिक बनाउन उक्त पोर्टल सहयोगी हुने बताइन् । उनले ‘साथीसँग सिकाइ’ कार्यक्रमका साथै एक हजार विद्यार्थीलाई प्रशिक्षण दिएर हरेक पालिकामा पठाउने जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले शैक्षिक परामर्श केन्द्र र विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरुको दर्ता, नवीकरण र अनुगमनका लागि विगतमा काम नभएको पाइएकाले अहिले अनुगमन सुरु गरिएको पनि स्पष्ट गरिन् ।
यसैगरी मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदाकमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने स्पष्ट पारिन् ।
चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् ।
शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए। उनले भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।’
सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए ।
विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिए ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गए ।
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाइएको थियो । प्याज आलुका आदिमा तर यसपटक त्यो भ्याट हटाइयो । भ्याटको सिद्धान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुुरा हुन्छ । तर त्यो हटाईयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रुपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकिकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’
उनले सरकारले पाँच वटा रुपान्तरण क्षेत्रमध्ये आईटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ ।
इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।
इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्थानीय समयअनुसार बिहान आठ बजे मतदान सुरु हुँदा मतदान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।
गृहमन्त्री अहमद वाहिदीले सरकारी टिभीलाई भने, “हामी १४ औं राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान शुक्रबार बिहानैदेखि सुरु भएको छ । निर्बाचनले देशका ५८ हजार ६३८ मतदान केन्द्र र विदेशका सबै मतदान केन्द्रमा दुई उम्मेदवारमध्येबाट भावी राष्ट्रपति चयन गर्नेछ ।”
गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो ।
इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गरेका थिए ।
पूर्व आणविक वार्ताकार जलिलीले करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका थिए । इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्बाचन गनै व्यवस्था छ ।
गत निर्वाचनमा छ करोड १० लाख इरानी मतदातामध्ये ४० प्रतिशतले मात्र मतदान गरेका थिए । यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुनै पनि राष्ट्रपतीय चुनावमा भएको सबैभन्दा कम मतदान हो ।
इरानका सर्वोच्च नेता खामेनीले पहिलो चरणमा सहभागिता ‘अपेक्षित रूपमा नभएको’ तर यो ‘प्रणालीविरुद्धको कार्य’ नभएको बताए ।
गत साता भएको मतदानमा कन्जरभेटिभ संसदका सभामुख मोहम्मद बघेर गालिबाफ १३.८ प्रतिशत मतका साथ तेस्रो स्थान प्राप्त गरेका थिए भने मौलवी मुस्तफा पोरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए ।
इरानमा सन् २०२५ मा राष्ट्रपति को चुनाव हुने तय भएको थियो तर मे महिनामा हेलिकप्टर दुर्घटनामा अतिरूढिवादी राष्ट्रपति रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।
इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध, न्यून मतदान र इन्टरनेट प्रतिबन्धका बारेमा दुई पटक बहस भएको थियो ।
सन् २००८ देखि उत्तरपश्चिमी शहर ताब्रिजको प्रतिनिधित्व गर्दै आएका ६९ वर्षीय मुटु रोग विशेषज्ञ पेजेस्कियानले सन् २००८ देखि संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।
उनले इरानको मुख्य सुधारवादी गठबन्धनको समर्थन प्राप्त गरेका छन् । पूर्व सुधारवादी राष्ट्रपतिहरू मोहम्मद खतामी र हसन रौहानीले उनको अभियानलाई समर्थन गरेका छन् ।
अर्का उम्मेदवार ५८ वर्षीया जलिलीले कट्टरपन्थी समर्थकहरूको ठूलो आधार जुटाएका छन् र उनलाई गालिबाफ र अन्य दुई अतिरूढिवादी उम्मेदवारहरूको समर्थन रहेको छ । उनीहरू पहिलो चरणको प्रतिस्पर्धामा नै सहभागिताबाट बाहिरिएका थिए ।
तनहुँ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।
किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डाँलेघाँसका बिरुवा उत्पादन गरिएको छ ।
श्रेष्ठका अनुसार विभिन्न प्रजातिका करिब पैतिस हजार बिरुवा वितरण गरिसकिएको छ । उनले भने, “नर्सरीमा बिरुवा लिन अहिले दैनिक किसानको घुइँचो लाग्ने गरेको छ ।” उत्पादित तयारी बिरुवा यही असार १५ गतेदेखि वितरण गर्न थालिएको हो ।
गण्डकी प्रदेश सरकारबाट वार्षिक कार्यक्रमका लागि कम बजेट विनियोजन भएकाले बर्सेनि बिरुवा उत्पादन घट्दै गएको भन्दै यस वर्ष पनि गत वर्षको तुलनामा कम उत्पादन गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए । उनले भने, “घाँसका बिरुवा रोपेर गोठमै बाँधेर पशुपालन व्यवसाय गर्न सहज होस् भनेर बिरुवा उत्पादनलाई प्राथमिकता दिइएको हो ।”
वनजङ्गलमा पशु चौपायका लागि चरन क्षेत्र ह्रास हुँदै गएकाले पशुपालक किसानलाई आहार व्यवस्थापनमा सहजता गराउने उद्देश्यले व्यावसायिक कृषि फार्मलाई घाँसका बिरुवा सहयोग गरिएको श्रेष्ठले बताए । नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।
“पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाँलेघाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौँ”, अधिकृत श्रेष्ठले भने, “प्रदेश सरकारबाट बजेट कम विनियोजन भएकाले यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो ।”
चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।
जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि घाँसका बिरुवा उत्पादनमा जोड दिन थालिएको डिभिजन प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । किसानको मागका आधारमा कार्यालयले प्रत्येक वर्ष डाँलेघाँसका बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना बनाएको छ ।
तनहुँ। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ। व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।
पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको जानकारी दिए। उक्त पुलका छवटा स्पान हुनेछन् । सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो।
इन्जिनियर पाण्डेका अनुसार पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल चारलेनको हुनेछ। हाल नदीमाथि रहेको दुईलेनको तीन सय ७० मिटर लामो पुल छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो।
निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण हुने विश्वास व्यक्त गरे। पुल निर्माणका लागि राति ३० जना र दिउँसो एक सयभन्दा बढी कामदार परिचालन गरी दुई सिफ्टमा काम भइरहेको जानकारी दिए।
मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ पुल निर्माण भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माणकार्य जारी छ।
इन्जिनियर पाण्डेले पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएकामा हालसम्म ६२ प्रतिशत सम्पन्न भएको छ। यहाँ चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा चारलेनको सडक बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ ।
निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार प्रजनन केन्द्रमा पालिएका गोही र उद्धार गरी खोरमा राखिएका बाघको आहारा र रेखदेख गर्न एक वर्षमा रु ७० लाख हाराहारी खर्च हुने गर्दछ ।
प्रजनन केन्द्रमा छ सयभन्दा बढी गोही छन् भने बर्सेनि पाँचदेखि सातवटा बाघको उद्धार गरेर पाल्नुपर्ने हुन्छ । एउटा बाघलाई एक दिन बिराएर पाँचदेखि सात किलो राँगाको मासु खुवाइँदै आएको छ । गोहीलाई माछा खुवाउने गरिन्छ । प्रतिकिलो सिद्रा माछा रु तीन सय, ठूलो माछा रु तीन सय ५०, राँगाको मासु प्रतिकिलो रु चार सयमा खरिद गरिँदै आएको छ ।
रानाका अनुसार चालु वर्ष रु ३० लाख बजेट गोही र बाघका लागि विनियोजन भएको थियो । आउँदो वर्षका लागि रु २० लाख मात्र विनियोजन भएको छ । अघिल्लो आव यो रकम रु ३५ लाख रहेको उनले बताए । त्यसभन्दा अघिल्लो वर्ष रु ५० लाख थियो । क्रमशः बजेट घट्दै गएपछि अन्य शीर्षक र बाँकी गरेर गोही र बाघ पाल्नुपरेको उनले बताए ।
निकुञ्जभित्रका ६० वटा हात्तीलाई भने नियमित राशन आउने गरेको उनले जानकारी दिए । हात्तीलाई धान, भेली र घाँस खुवाइँदै आएको छ । थप बजेट नहुँदा चनालगायतका प्रोटिनयुक्त पौष्टिक आहार भने खुवाउन नसकिएको उनी बताउँछन् ।
बजेट अभावले वन्यजन्तुको बासस्थान व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । घाँसेमैदान व्यवस्थापन, पानीका स्रोत व्यवस्थापन, वन्यजन्तु उद्धारजस्ता काममा समस्या भएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चितवन निकुञ्जका लागि १० हजार हेक्टर घाँसेमैदान आवश्यक पर्दछ । विगत वर्षहरूमा पनि १० हजार हेक्टर घाँसेमैदान व्यवस्थापन गरिँदै आएको थियो । बजेटका कम भएकाले पछिल्ला वर्षहरूमा पर्याप्त मात्रामा काम हुनसकेको छैन ।
विगत वर्षहरूमा घाँसेमैदानका लागि मात्र रु तीन करोड बजेट आएकामा चालु आवमा जम्मा रु ४० लाखमात्र निकासा भएको सूचना अधिकारी तिवारीले जानकारी दिए । बजेट कम हुँदा सरसफाइ, घाँस काट्न अन्य काम गर्न कठिन भएको छ । निकुञ्जको विवरणअनुसार आव २०७७÷७८ मा रु तीन करोड घाँसेमैदानका लागि बजेट आएको थियो । त्यसपछि बजेट कटौती भएर रु ४० लाखमा झरेको हो ।
तिवारीका अनुसार सुराक सञ्जाल परिचालन चोरी सिकारी नियन्त्रण गर्न निकै महत्त्वपूर्ण मानिन्छ । निकुञ्जमा आउँदा वर्षका लागि यो शीर्षकमा बजेट विनियोजन गरिएको छैन । जसका कारण चोरी सिकार नियन्त्रणमा गरिने महत्त्वपूर्ण काम प्रभावित हुने देखिएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ मा यहाँ सङ्कलन भएको राजस्वको ३० देखि ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा विनियोजन भएर आउने उल्लेख गरिएको भए पनि सो बजेट निकै कम आउन थालेको छ । तिवारीका अनुसार एक वर्षमा रु १२ करोडभन्दा बढी आउने गरेको बजेट आधा घटेको छ ।
कोभिडको बेलामा पर्यटक आगमन कमी हुँदा निकै कम राजस्व सङ्कलन भए पनि पछिल्ला वर्षहरूमा राजस्वबाट सङ्कलन बढेको छ । वार्षिक ३० करोड हाराहारी राजस्व सङ्कलन हुँदा समेत आगामी वर्षका लागि रु छ करोड ८६ लाख मात्र विनियोजन गरिएको छ ।
निकुञ्जमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति छ । त्यसअन्तर्गत २२ वटा उपभोक्ता समिति छन् । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले यहाँ रहेका तीन लाखभन्दा बढी जनतालाई प्रत्यक्ष पमा निकुञ्ज संरक्षणमा सहभागी गराउन बजेट अभावका कारण कठिन हुन थालेको बताए । मध्यवर्तीमा विनियोजित रकमबाट संरक्षण, सामुदायिक विकास, संरक्षण शिक्षा, आयआर्जन, सीपमूलक तालिम, स्वरोजगार व्यवसायमा सहयोगजस्ता काम हुँदै आएका छन् ।
मध्यवर्ती एक उपभोक्ताले वार्षिक रु ५० लाखभन्दा बढी पाउने गरेकामा त्यो रकम आधा घटेको छ । यसका अतिरिक्त संरक्षणका लागि बजेट आउने गर्दथ्यो । मध्यवर्ती क्षेत्रमा प्राप्त बजेटबाट ‘आरसिसी वाल’ निर्माण गरी वन्यजन्तु मानवबस्ती पस्नबाट जोगाउने गरिएको थियो । पछिल्लो समय बजेट घट्दै गर्दा ती काम प्रभावित भएको ढुङ्गाना बताउँछन् ।
ढुङ्गानाले निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले निकै कष्टपूर्ण ढङ्गले संरक्षणमा जुट्नुपरेको भन्दै उनले बजेट कटौती हुँदा निकुञ्ज र जनताका बीचको सम्बन्ध सुधारेर संरक्षणमा काम गर्न समस्या भएको बताए ।
उनले भने, “संरक्षणजस्तो महत्त्वपूर्ण विषयमा बुझाइको कमीले गर्दा बजेट विनियोजन हुनसकेको छैन ।” ऐनले तोकेअनुसार बजेट नपठाउँदा मध्यवर्ती क्षेत्रमा काम गर्न कठिन भएको उनी बताउँछन् ।
सिस्वार उपभोक्ता समिति देवचुलीका अध्यक्ष नेत्रबहादुर पाण्डे बजेट कम आउँदा द्वन्द्व बढेर जाने बताउँछन् । उनले भने, “विगतको जस्तो काम गर्न सकिएको छैन, जसका कारण उपभोक्तामा नैराश्यता बढ्दै गएको छ ।”
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायत वन्यजन्तु छन् । तिनीहरूको संरक्षण गर्दै अन्तर्राष्ट्रिय जगत्मा पर्यटनका हिसाबले परिचित यस निकुञ्जमा बजेटका कारण संरक्षणमा चुनौती पार्न नहुने विज्ञहरू बताउँछन् ।
नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर आउने सम्भावना शून्यप्रायः रहेको यस्तो तस्करी रोक्न असफल सरकारी प्रयास र त्यसको दुष्परिणाम बारेको खोज।
भद्र शर्मा | खोज पत्रकारिता केन्द्र
खकेन्द्र खत्रीले दाङबाट कृषि जेटीएको पढाइ सकेर पनि रोजगारी पाएनन्। पढ्दा लागेको ऋण तिर्न र परिवारलाई भरथेग गर्न उनलाई कमाउनै पर्ने बाध्यता थियो। एकल बाबुले हुर्काएका खकेन्द्रले कोरिया जाने सुर कसे। रोल्पा, गंगादेवका उनी तुलसीपुर, दाङमा बसेर कोरियाली भाषा सिक्न थाले।
खकेन्द्रको डेरा नजिकै बस्थे सल्यानका ‘सुशान्त’ भनिने निमबहादुर कुँवर र मोहन वली। उनीहरूले खकेन्द्रलाई कोरिया जाने झञ्झट भन्दा ‘धेरै कमाइ हुने’ रूस जान हौस्याए। रूसी सेनामा महीनाको तीन लाख रुपैयाँ तलब, एक वर्षपछि रूसी नागरिकता जस्ता प्रलोभन दिए। यी दुईसँगै भेटिइरहने गणेश न्यौपानेले त कोरियाको ‘सपना’ देख्नु पैसा र समयको बर्बादी भएको ठोकुवा गरिदिए।
यसअघि पोहोर भदौतिर रोल्पाकै नुवागाउँका अभिषेक बुढालाई पनि सुशान्त र मोहनले रूस पठाइसकेका थिए। उनीहरूले त्यहाँको सेनामा भर्ती भए पनि लडाइँमा गई नसकेका अभिषेकसँग खकेन्द्रको कुरा गराइदिए। अभिषेकले उनलाई रूसी सेनामा भर्ना हुन थप प्रलोभन दिए। अहिले लडाइँका क्रममा अभिषेकको मृत्यु भइसकेको सरकारले पुष्टि गरेको छ।
रूसी सेनामा भर्ती भई जसोतसो त्यहाँबाट फुत्किएका युवाहरूका अनुसार मोहन वलीका दाइ नाता पर्ने सल्यान, छत्रेश्वरीकै राज वली रूसमा बस्छन्। उनले रूसी प्रहरीमा कार्यरत महिलासँग विवाह गरेका छन्।
रूसी सेना छोडेर आएका खकेन्द्र खत्री।
यी वली दाजुभाइले विदेश जान चाहने नेपाली युवालाई विभिन्न प्रलोभन दिएर रूसी सेनामा भर्ती गराएका छन् र, त्यसबापत ठूलो रकम असुल्छन्।
खकेन्द्रका आफन्त पर्ने रोल्पा गंगादेवका दलबहादुर वलीले पनि मोहन वलीलाई ७ लाख रुपैयाँ बुझाएर रूस गए। सँगै रूस जानेमा थिए, सल्यान दामाचौरका तारा घर्ती पनि। परिवारका अनुसार लडाइँमा युक्रेनी सेनाको गोली लागेर ताराको मृत्यु भइसकेको छ।
गएको ३० असोजमा रूस पुगेका खकेन्द्र र दलबहादुर १६ कात्तिकमा अजरबैजान एअरलाइन्सबाट दिल्ली हुँदै नेपाल फर्किए। दलबहादुर अहिले भारतको हिमाञ्चलमा मजदुरी गर्दैछन् भने खकेन्द्र दलाललाई बुझाएको पैसा फिर्ता लिएर कसरी अन्य देश जाने भन्ने ध्याउन्नमा छन्।
खकेन्द्र र दलबहादुरले रूसी सेनामा जानका लागि मोहन वलीलाई नगद रु.३ लाख र बाँकी रकम उनकै निर्देशनमा निमबहादुर कुँवर र गणेश न्यौपानेको बैंक खातामा जम्मा गरिदिएका थिए (हे. बैंकिङ कारोबार)। पैसा बुझाएको दश दिनमै उनीहरूको भिसा आयो। काठमाडांै छाडेको दुई दिनपछि उनीहरू दुबई हुँदै रूसको राजधानी मस्को पुगे।
त्रिभुवन विमानस्थलमा उनीहरूसँगै रूस जान हिंडेका धादिङ, सल्यान र रोल्पाका थप पाँच जना भेटिए। दुबई पुग्दासम्म यो समूह ५२ जनाको भइसकेको थियो। युद्धग्रस्त क्षेत्रको जोखिमबारे बेखबर यी नेपाली युवाहरू उत्साहित थिए।
मस्को पुगेपछि त्यहाँका एजेन्टले अरू सबैलाई भर्ती केन्द्रमा पुर्याए पनि पचास हजार रुपैयाँ तिर्न बाँकी रहेको भन्दै खकेन्द्रलाई अर्कै होटलमा दुई दिन राखे। बक्यौता बुझाएपछि मात्रै भर्ती केन्द्र पुर्याइएका खकेन्द्रले भर्तीका लागि तम्तयार करिब १५० युवा देखे।
त्यहाँ उनलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो। ‘ग्रुप सेभेन बटालियन’ अन्तर्गत भर्तीका लागि रूसी भाषामा लेखिएकोे उक्त करारनामालाई गुगलको सहायताले अनुवाद गर्दा पहिले सुनाइए जस्तोे घाइते वा मृत्यु भएमा रु.१ करोड पाइने प्रावधान थिएन।
अन्योलका बीच उनीहरूलाई एक दिनको बस यात्रापछि तालीम हुने ठाउँमा पुर्याइयो। ६ महीनाको तालिमपछि युद्धमा पठाउने भनिए पनि दुई हप्तासम्म ड्रोन र बन्दुक चलाउने तालीम दिएर लडाइँमा पठाउन सुरु गरिएको थियो। त्यो पनि युक्रेनी सेनाका बङ्कर र टुकडी कब्जा गर्नका लागि।
यति बेलासम्म खकेन्द्र ‘ग्रुप सेभेन बटालियन’को ह्वाट्सएप ग्रुपमा जोडिइसकेका थिए। यसअघि नै युद्धमा सहभागी नेपालीहरूले त्यो ग्रुपमा हालेका मृत्यु र अङ्गभङ्गका दर्दनाक भिडियो र तस्वीरहरू देखेपछि उनको मन फेरियो।
अब युद्धमा गएपछि फर्किने सम्भावना छैन भन्ने बुझेका उनले त्यहाँबाट निस्कने उपाय खोज्न थाले। आफूसँग भएको १७ हजार रुबल (करिब २६ हजार रुपैयाँ) कमाण्डरलाई घुस दिए र, घरमा आफन्त बिरामी भएको भनेर विदाको बहाना बनाएर युद्धमा जानुअघि कात्तिक १२ गतेको साँझ ब्यारेकबाट बाहिर निस्किन सफल भए।
आधा रातमा सबै सुतेको मौका छोपेर निस्किएका उनी जंगलको बाटो हिंडिरहँदा ट्याक्सी भेटियो। गुगल अनुवादको सहायताले ट्याक्सी चालकसँग सहयोग मागेर थप १४ घण्टाको यात्रापछि १३ कात्तिकमा मस्को पुगे। आफूसँग भएको पैसा सबै सकिएकाले नेपालबाटै टिकट काट्न लगाएर उनी अजरबैजान एअरलाइन्स मार्फत नेपाल फर्किएका हुन्।
खकेन्द्रले रूस जाँदा सुशान्त र मोहनलाई बुझाएको रु.७ लाख जसरी पनि फिर्ता लिनु छ। त्यसैले उनी आफ्ना अरू साथी रूस जान चाहेको बहाना बनाएर सुशान्तलाई भेट्न नेपालगञ्ज पुगेका थिए।
त्यही भेटमा पैसा फिर्ता मागेपछि सुशान्तले बैंकको चेक थमाए। तर, चेक दिएको बैंक खातामा रकम थिएन। अहिले सुशान्त फरार छन्। “बैंकिङ कसुर र मानव तस्करीको आरोपमा नेपाल प्रहरीको बेचबिखन ब्यूरोमा जाहेरी दिएको छु” खकेन्द्रले भने, “अहिलेसम्म केही भएको छैन।”
मानव तस्करको जालो
बेरोजगार युवालाई रूसी सेनामा पठाई लाखौं रुपैयाँ असुल्ने मानव तस्करहरूको ठूलो सञ्जाल रहेकोे पीडितहरूको बयानबाट स्पष्ट हुन्छ।
रूसी सेनाको कब्जाबाट फुत्किएर खोज पत्रकारिता केन्द्र को सम्पर्कमा आएका एक दर्जन बढी युवाले रूस जानकै लागि दलाललाई ७ देखि १० लाख रुपैयाँसम्म बुझाएकोे बताएका छन्।
उनीहरूका अनुसार नेपालीलाई विना तालीम अग्रमोर्चामा पठाइने भएकाले त्यहाँबाट सकुशल फर्केर आउने सम्भावना ५ प्रतिशत पनि छैन। नेपाल र रूसबीच सैनिक सम्झौता नभएकाले युद्धका घाइतेले क्षतिपूर्ति पाउँदैनन्, मृतकका परिवारले आफन्तको शव समेत पाउँदैनन्।
नेपाली युवालाई रूसी सेनामा पठाउने मोहन वली।
रूसी सेनामा भर्ती भएका खकेन्द्र लगायतका करिब १०० नेपाली ज्यानको बाजी राखेर कालको मुखबाट फर्किए। तर, उनीहरू जस्तै दलालको विश्वासमा परी रूस पुगेका मकवानपुरको थाह नगरपालिकाका रामकुमार प्रधान युक्रेनी भूमिबाटै सम्पर्कविहीन भएका छन्।
त्यसअघि रामकुमार नेपाली सेनामा कार्यरत थिए। जागिरको थोरै पैसाले परिवार धान्न धौ–धौ थियो। २०६४ सालमा आमाको निधनपछि उनले सेनाको जागिर छाडे। अरू रोजगार नपाएका उनको परिवारमा २०७२ सालको भूकम्पले घर लडाइदिएपछि थप दुःख निम्तियो। अवस्थामा सुधार नभएपछि ऋणमाथि ऋण थपेर गएको असारमा रु.८ लाख दलाललाई बुझाए, रूस गए।
अहिले उनको परिवारले त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयकोे कन्सुलर विभागमा बुझ्दा त्यहाँका कर्मचारीले उनको लडाइँका क्रममा युक्रेनमा मृत्यु भएको खबर सुनाएको भाइ बाबुकाजी बताउँछन्।
रामकुमारसँगै रूस हिंडेका काठमाण्डौ डीबी गुरुङ त्यहाँको सेनामा भर्ती हुनु अगावै नेपाल फर्काइएको भनिए पनि रामकुमार गएको ९ महिनादेखि सम्पर्कमा छैनन्।
“अक्टोबर १६ मा मलाई युद्धमा लैजाँदैछ। के हुन्छ थाह छैन। फर्केपछि फोन गरौंला” युद्धमा जानु दुई दिनअघि भाइ बाबुकाजीसँग ह्वाट्सएप कुराकानी गरेका रामकुमारले रूसी सेनाको कम्ब्याट लगाएको फोटो पनि पठाएका थिए।
“पैसाकै लागि दलालको भर परेर गएको हो। अहिले मृत्यु भइसक्यो भन्छन् तर, सरकारले केही प्रमाण दिएको छैन”, भाइ बाबुकाजीले भने।
बाबुकाजीका अनुसार डीबी गुरुङ पनि रामकुमारसँगै रूस जान भनेर कतारसम्म पुगेका थिए। तर कतारको अध्यागमनले उनलाई फर्काइदिएको थियो। दोस्रो पटक प्रयास गर्दा चाहिं उनी रूसको अध्यागमनबाट फर्काइएका थिए।
डीबी गुरुङले बेपत्ता हुनुअघि प्रधानको परिवारलाई भने अनुसार उनी र रामकुमारलाई एजेन्ट नवराज केसी र म्यानपावर सञ्चालक सुरज थापा मिलेर रूस पठाएका थिए। रामकुमारले रूस जानका लागि रु.८ लाख सुरजलाई बुझाएको उनको परिवारले बताएको छ। उनीहरूको टिकट न्यू नेपाल एजुकेसन वल्र्ड नामक ट्राभल कम्पनीले बनाएको थियो। पीडित परिवारका अनुसार नवराज र सुरज अहिले भारतमा लुकेका छन्। न्यू नेपाल एजुकेसन वल्र्डका सञ्चालक पनि सम्पर्कमा छैनन्।
बाबुकाजी आफैं सेवाग्राही बनेर रूस जाने टिकट बनाइदिन आग्रह गर्दा त्यहाँका कर्मचारीले चासो त देखाए तर, सञ्चालक सुरज थापा त्यहाँ थिएनन्। सम्पर्क सूत्र पत्ता लगाएर ह्वाट्सएपमा कुरा गर्दा नवराजले रामकुमारलाई आफूले टिकट मात्र मिलाइदिएको बताएका थिए।
“एक पटक कुरा भएको हो, त्यसपछि उनीे ह्वाट्सएपमा पनि छैनन्”, बाबुकाजीले भने।
नेपाली सेनाको जागिरबाट सेवा निवृत्त तीर्थराज पाण्डे दुबईको रोयल गार्डमा जागिर खुल्ने हल्ला सुनेर सुर्खेतबाट काठमाडौं आएका थिए। पोहोर वैशाखमा काठमाडौं आएका उनको अधिकांश समय गोंगबुको बर्गर हाउसमा बित्थ्यो।
त्यहीं धादिङका कुबेर कार्की उनीसँग नजिकिए। “दुबई रोयल गार्ड भन्दा रूसी सेनामा जानुस्। म ढुक्कले मिलाइदिन्छु” उनले लोभ देखाए, “महिनाको तीन लाख तलब, भविष्यमा नागरिकता, पासपोर्ट सबै मिल्छ।”
कुबेरको आश्वासनमा लोभिएका तीर्थराजले सल्यान छत्रेश्वरीका राज वलीलाई रु.६ लाख ५० हजार बुझाएको एक हप्तामै अर्थात् ३० सेप्टेम्बरमा दुबई हुँदै मस्को पुगे। त्यहाँ उनलाई लिन रूसी नागरिक एलेक्स विमानस्थलमा आइपुगेका थिए। ३ अक्टोबरमा तालीम केन्द्रमा पुगेपछि उनलाई २२ पृष्ठको करार सम्झौता थमाइयो। त्यसमा दलालले भने जस्तो सेवा–सुविधा उल्लेख नभएको देखेपछि तीर्थराज झस्किए।
उक्त करारमा हस्ताक्षर नगरे रूसी सरकारले १५ वर्षसम्म जेल हाल्न सक्ने चेतावनी भारतीय एजेन्टले दिए पनि तीर्थराज सहमत भएनन्। “बरु जेल हाल्, म अब अगाडि जान्नँ भनेर अड्डी कसें। मेरै कारण अरूको भर्ती पनि भाँडिन्छ भनेर होला, मलाई छोडिदियो”, तीर्थराज भन्छन्।
मस्कोबाट नेपाल फर्कंदा उनको थप रु.४ लाख खर्च भयो। काठमाडौंमा भेटिएका राज वलीले जाँदा लागेको खर्चमध्ये रु.३ लाख ५० हजार फिर्ता गर्ने वाचा त गरे त्यसपछि बेपत्ता भए।
“म्यासेज गर्यो भने कहिले दिल्लीमा, कहिले कहाँ छु भन्छ” रूस जानुअघि तत्कालीन शिक्षामन्त्री देवेन्द्रराज पौडेलको सुरक्षार्थ नौ महिना खटिएका तीर्थराज सुनाउँछन्, “रूसको चक्करमा निकै दुःख पाइयो।”
कति मरे, कति हराए, थाहै छैन
‘रूसी सेनामा भर्ना भएका नेपालीको जीवन रक्षार्थ अभियान’ले संकलन गरेको विवरण अनुसार रूस–युक्रेन युद्धमा ४९ नेपाली युवाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यस्तै, मृत्यु भएको खबर पाए पनि आधिकारिक पुष्टि नभएका थप ४१ जना छन्। रूसी सेनामा रहेका नेपालीले दिएको सूचनाको आधारमा मृतकका परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पनि गरिसकेका छन्।
नेपाली युवालाई रूसी सेनामा पठाउने राज वली।
समाजले २०८१ वैशाखसम्म रूसी सेनामा भर्ती भएका ९९१ जना युवाका परिवारको विवरण संकलन गरेको छ। उक्त विवरण अनुसार युद्धमा घाइते भएका १२७ जना नेपाली युवा रूसी अस्पतालमा उपचाररत छन्। २७२ जना आठ महिनादेखि परिवारको सम्पर्कमा छैनन्।
नेपालको परराष्ट्र मन्त्रालय, कन्सुलर सर्भिस विभागका महानिर्देशक प्रकाशमणि पौडेल रूसी सेनामा भर्ती भइसकेपछि त्यहाँबाट भागेर मस्कोसम्म फर्किन सकेका ११० जना नेपालीको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाएर नेपाल पठाएको बताउँछन्।
फर्किएका नेपाली युवाहरू भन्छन्– नेपालीलाई भर्ती गर्ने रूसी सेनाका ब्यारेक संगठित र व्यवस्थित देखिए पनि युद्धको अग्रमोर्चा निकै भद्रगोल र अव्यवस्थित छ। तालीम प्राप्त वास्तविक सैनिक कमाण्डर युद्धमा सबैभन्दा अगाडिको मोर्चाबाट टाढा अर्थात् सुरक्षित क्षेत्रमा रहेर अनुगमन गर्छन्। अपराध प्रमाणित भई जेल सजाय काटिरहेका कैदीलाई चाहिं कमाण्डर बनाएर अग्रमोर्चामा पठाइन्छ। उनीहरूले नेपाली सैनिकलाई कुटपिट गर्ने, मानसिक यातना दिने र अङ्गभङ्ग गरेर ज्यान लिने धम्की दिन्छन्।
हत्या, बलात्कार, डकैती आदि जघन्य अपराधमा जन्मकैदको सजाय भोगिरहेका रूसी नागरिकले एक वर्ष युद्ध लड्न मञ्जुर भए सजाय मिनाह हुन्छ। युद्धमा मृत्यु नभएमा उनीहरू एक वर्षमा घर फर्कन्छन्। त्यसपछि उनीहरूले समाजमा जस्तोसुकै अराजकता देखाउँदा पनि प्रहरीले पक्राउ गर्दैन। बरु युद्धबाट बाँचेर आएको ‘वार हिरो’ भन्दै सम्मान गरिन्छ।
अवैध धन्दा, सबैको मिलेमतो
नेपाली कानून अनुसार भारतीय र बेलायती सेना बाहेक विदेशका अन्य सैन्य संस्थामा नेपाली नागरिकको भर्ती अवैध हो। सन् २०२२ को जून महिनामा भारतले अग्निपथ योजना अघि सारेपछि उत्पन्न विवादका कारण भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया स्थगित भएको छ।
साढे दुई वर्षअघि रूसले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर भी पुटिनले विदेशी नागरिकलाई पनि रूसी सेनामा भर्तीको बाटो खुला गरे। आकर्षक तलब, रूसी नागरिकता, पासपोर्ट र आवासीय सुविधा लगायत घोषणा गरेपछि अध्ययनका लागि रूस पुगेका युवाहरू पहिलो पटक रूसी सेनामा भर्ना भए।
दुई हप्तासम्म सैनिक शिविरमा कम्ब्याट डे«स लगाएर हतियार र ड्रोन चलाउन सिकाइएका उनीहरूलाई रूसी कमाण्डरले त्यसको भिडियो बनाएर टिकटक लगायतका सामाजिक सञ्जालमा हाल्न लगाए।
उक्त भिडियो हेरेर लोभिएका खाडीमा काम गर्ने र बेरोजगार नेपाली युवाको सोधपुछ बढ्न थाल्यो। त्यहींबाट नेपाली युवालाई रूसी सैनिक बनाउन दलालहरू पनि सक्रिय भए। नेपाली युवालाई धमाधम भिजिट भिसामा दुबई हुँदै मस्को पुर्याउन थालियो।
रूसी सेनामा ज्यान गुमाएका नवीन शाही युद्धमा खटिंदा (माथि) र उनको आईडी।
“मेरा श्रीमान् नेपाली सेनाको जागिर छाडेर दुबईमा कुकको काम गर्दै हुनुहुन्थ्यो। त्यहींबाट दलालको पछि लागेर रूस पुग्नुभएछ।” युद्धमा ज्यान गुमाएका जाजरकोटका नवीन शाहीकी श्रीमती दीप सिंह शाही भन्छिन्, “लडाईंमा उहाँको ज्यान गयो, अब कसलाई के भन्ने। क्षतिपूर्तिका लागि दिएको निवदेन सरकारले लिंदैन।”
पैसाको लोभमा सेना र प्रहरीको जागिर छोडेर खाडी मुलुकमा पुगेका अन्य नेपालीले पनि तालीम अवधिभर रूसी सेनामा जागिरको राम्रो अवसर भएको विज्ञापन गरे। रूसी सेनाकै आग्रहमा सामाजिक सञ्जालमा राखिएका त्यस्ता भिडियोबाट आकर्षित नेपाली युवा अझै पनि मानव तस्करको फन्दामा परिरहेका छन्।
मेरा श्रीमान् नेपाली सेनाको जागिर छाडेर दुबईमा कुकको काम गर्दै हुनुहुन्थ्यो। त्यहींबाट दलालको पछि लागेर रूस पुग्नुभएछ। लडाईंमा उहाँको ज्यान गयो, अब कसलाई के भन्ने। क्षतिपूर्तिका लागि दिएको निवदेन सरकारले लिंदैन।
– युद्धमा ज्यान गुमाएका जाजरकोटका नवीन शाहीकी श्रीमती दीप सिंह शाही
“जाँदा आठ लाख तिरेको थिएँ, फर्कंदा समेत गरेर ११ लाख सकियो”, रूस पुगेर फर्किएका दैलेखका कृष्णबहादुर शाहीले भने। नेपाली सेनाबाट अवकाशप्राप्त उनका दुई गाउँले तुलाराम अधिकारी र दुर्गा पौडेलको भिडियो हेरेपछि उनी पनि दलाललाई पैसा बुझाएर रूस गएका थिए।
बायाँ हातबाट चार र दाहिने तिघ्राबाट दुईवटा गोली निकालिएका कृष्णबहादुरको शरीरभरि बमका छर्राले बनाएका घाउ छन्। उनकै क्षेत्रका खेम सुनारलाई रु.८ लाख बुझाएर रूस गएका कृष्ण ऋणको भारीले थिचिएका छन्। उनी आफूलाई रूस पठाउने दलाल खोजिरहेका छन्।
रूसी सेनामा भर्ना भएका नेपालीको ज्यान गइरहेको खबर सञ्चारमाध्यममा प्रकाशित भएपछि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले फागुन २३ गते रूसी समकक्षी सर्गेइ लाभरोभसँग टेलिफोनमा कुरा गरेका थिए। श्रेष्ठले रूसी सेनामा भर्ना भएका नेपालीको करार सम्झौता रद्द गरी फिर्ता पठाउन, घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको परराष्ट्र मन्त्रालयले त्यसबेला जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रूसी सेनामा ज्यान गुमाएका नवीन शाहीकी पत्नी दीपा सिंह शाही।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर राई दुई देशका विदेश मन्त्रीबीच कुरा भए पनि त्यसको कार्यान्वयन नभएको बताउँछन्। “उनीहरूले हाम्रो कुरा सुनेपछि कार्यान्वयनका लागि मोडालिटीको विषय उठाएका थिए” राई भन्छन्, “तर, त्यसमा खास काम भएको छैन।”
यता बेरोजगार युवालाई ललाई–फकाई युद्धमा पठाउने दलालहरूको पहिचान गरी कारबाही गर्ने काम पनि अहिलेसम्म सरकारको प्राथमिकतामा परेको छैन।
“कति दलालहरू त विदेश पुगिसके” रूसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारी भन्छिन्, “यहीं भएकालाई पनि कारबाही गर्न प्रहरीले चासो दिएको छैन।”
उनका अनुसार रोजगारीको आशमा रूसी सेनामा भर्ती भएका नेपालीहरू अग्रमोर्चामा पठाउन थालिएपछि दिनहुँजसो मारिने, घाइते हुने र घर फिर्तीको लागि याचना गर्नेको संख्या बढिरहेको छ।
उनीहरूको उद्धार, उपचार, क्षतिपूर्ति र दाहसंस्कार जस्ता विषय सम्बोधन नभएपछि यस अघिदेखि नै मानव तस्करले खाडीमा अलपत्र पारेका महिलाको रक्षार्थ काम गरिरहेकी कृतु यो अभियानमा संलग्न भएकी हुन्।
२३ चैतमा मानव तस्करीमा संलग्न ६१ जनाको नाम प्रमाण सहित गृहमन्त्री रवि लामिछानेलाई बुझाए पनि खासै कारबाही नभएको भण्डारीको गुनासो छ।
रूस पुग्नेमध्ये अधिकांशले दुबईलाई ट्रान्जिट बनाएको देखिन्छ। कोही आफू भर्ती भएपछि एजेन्टको रूपमा काम गरिरहेका त कति युद्धमै मारिइसकेका छन्, हामी यसमा संलग्न गिरोहबारे खोजबिन गरिरहेका छौं।
– प्रहरी उपरीक्षक गौतम मिश्र, निर्देशक, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो
यद्यपि, त्यही सूचीका आधारमा प्रहरीले २२ जना म्यानपावर सञ्चालक, ट्राभल एजेन्सीका सञ्चालक र केही पूर्व सैनिकलाई पक्राउ गरेको थियो। “प्रहरीले २२ जनालाई पक्राउ गरेर छाडेको छ। केहीबाट रकम फिर्ता गराइएको छ तर, थप कारबाही कसैलाई भएको छैन”, भण्डारीले भनिन्।
“रूस पुग्नेमध्ये अधिकांशले दुबईलाई ट्रान्जिट बनाएको देखिन्छ। कोही आफू भर्ती भएपछि एजेन्टको रूपमा काम गरिरहेका त कति युद्धमै मारिइसकेका छन्” नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, “हामी यसमा संलग्न गिरोहबारे खोजबिन गरिरहेका छौं।”
रूसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका २२ जनाका परिवारले खोजी र उद्धारका लागि पहल गरिदिन निवेदन दिएका छन्। निवेदनमा नाम रहेकामध्ये दुई जनाको मृत्यु भएको उनीहरूसँगै रूसी सेनामा रहेका नेपालीले सम्बन्धित परिवारलाई सूचना दिएका छन्। त्यहाँ सम्पर्कविहीन भएका भनिएका एक जना नेपाली भने फर्किसकेका छन्।
“यसअघि उद्धारका लागि निवेदन मात्र आएकाले अनुसन्धान अगाडि बढाएर कारबाही गर्न सकिएको थिएन। अब जाहेरी पनि आएकाले कारबाही अगाडि बढेको छ। यसको नतिजा केही दिनमा देखिएला”, एसपी मिश्रले भने।
गएको मंसीर तेस्रो साता नेपालीलाई अवैध बाटो मस्को पुर्याएर रूसी सेनामा भर्ती गराएको आरोपमा शैक्षिक परामर्श दिने कन्सल्टेन्सी सञ्चालक सहित १२ जना पक्राउ परेका थिए। तीमध्ये नेपाली सेनाबाट अवकाशप्राप्त हरि बिक र अरू दुई जना सुजाता दाहाल र ईश्वर अधिकारी पनि थिए। ती सबै तुरुन्तै रिहा भए।
पक्राउ परेकामध्ये चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भए पनि अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै आरोपितलाई सफाइ दियो। अभियन्ता कृतु भण्डारी मानव तस्करहरूलाई राजनीतिक पहुँचको आधारमा उन्मुक्ति दिइएको आरोप लगाउँछिन्।
धरान । सुनसरी जिल्लामा यसवर्ष आँप उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी ५५ रुपैयाँसम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी ८० देखि १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ गत वर्ष प्रतिकिलो ५० रुपैयाँ भन्दा कममै आँप बिक्री भएको उनले बताए ।
केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ ।
जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए । आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।
गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पुर्याएको छ ।
फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।
कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना, वडा नं २८ माझठाना, वडा नं ३३ भरतपोखरीको बागमारा, वडा नं २५ झिर्झिकालगायत स्थानबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ ।
मागअनुसार कृषि एम्बुलेन्सलाई विभिन्न ठाउँमा पुर्याउने गरिएको जनाउँदै ग्रामीण क्षेत्रबाट ल्याइएका कृषिजन्य उत्पादन बारअनुसार फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको उनले बताए ।
कृषि उपज आइतबार पोखराको वडा नं ३ नदीपुर, मङ्गलबार वडा नं ७ स्थित मुनाबजार, बुधबार मुस्ताङचोकस्थित लोकसेवा आयोग कार्यालय अगाडि, बिहीबार सिद्धार्थ चोकस्थित श्री कम्लेक्स, शुक्रबार वडा नं ४ गैरापाटनस्थित वडा कार्यालय अगाडि र शनिबार मुस्ताङचोकस्थित लोकसेवा आयोगको कार्यालय अगाडि बिक्री वितरण गर्ने गरिएको छ ।
गाउँबाट आएको ताजा तरकारी लिन सर्वसाधारणको आकर्षण बढिरहेको छ । किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । पछिल्लो समयमा कृषि एम्बुलेन्सको ठाउँठाउँबाट माग बढ्दै गएको जनाउँदै प्रमुख कडरियाले नियमित गाडीको पहुँच नभएका साना किसानका साथै उपभोक्ता दुवैका लागि प्रभावकारी भएको बताए ।
बीबीसी । बेलायतमा मतसर्वेक्षणहरूले किअर स्टार्मरको लेबर पार्टीले अत्यधिक बहुमत हासिल गर्ने देखाएका छन् । बीबीसीले स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्ने प्रक्षेपण गरेको छ ।
विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको बेलायतमा यो पटक लेबर पार्टीले सरकार बनाउने मतसर्वेक्षणहरूले देखाएका छन् । लेबरले ४०५ सीट र प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १५४ सीट जित्ने प्रक्षेपण गरिएको छ ।
एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ । कुल ६५० सदस्य रहने बेलायतको संसदमा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।
बेलायतमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा बेलायतमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ ।
पाँचथर । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी/झाँक्री) हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए ।
घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए ।
घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी रानीटार र पौवासारतापबाट टोली परिचालन भएको जनाइएको छ ।
काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो ।
तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिस्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।
खेलको ३५औ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए । अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।
मुग्लिन । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गरे ।
उनले भने, “ देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ ।” प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताए । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागिता रहको थियो ।
सो अवजसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए ।
शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए ।
कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।
काठमाडौं । युईएफए युरोकप फूटबल अन्तर्गत आजबाट क्वाटरफाइनलको खेलहरु शुरु हुँदैछ । आज हुने पहिलो खेलमा आयोजक जर्मनी र स्पेन भिड्दैछन् । स्टुटगार्ट एरिनामा हुने खेल राति ९:४५ बजे शुरु हुनेछ ।
दुवै टोली आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । स्पेन अन्तिम १६ मा जोर्जियालाई ४-१ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोलले हराएको थियो । दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन् ।
यस्तै आजै हुने दोस्रो क्वाटरफाइनल खेलमा पोर्चुगल र फ्रान्स भिड्दैछन् । भोल्स्पार्क स्टाडियोनमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।
फ्रान्स आजको खेलमा बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । यसअघि सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपको फाइनल खेलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । फ्रान्सले अन्तिम १६ मा बेल्जियमलाई १-० गोलले हराएको थियो भने पोर्चुगलले पेनाल्टी सुटआउटमा स्लोभेनियालाई ३-० गोलले हराएको थियो ।
दुई टोलीबीच भएको पछिल्लो ७ भेटमा फ्रान्स ४ खेलमा विजयी हुँदा पोर्चुगलले मात्र एक खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको थियो ।
काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकका कारण एसइईको नतिजा राम्रो नभएको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति आपत्ति जनाएकी छन् ।
सामाजिक संजालमार्फत शिक्षामन्त्री श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भन्दा सरकारनै परिवर्तन गर्न खोजिएको भन्दै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन् ।
बिहीबार अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले शिक्षकका कारण एसइईको नतिजा राम्रो नभएको बताएका थिए ।
शिक्षामन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर आफूले फाइल अगाड बढाउँदा सरकारनै परिवर्तन खोजिएको बताइन् ।
उनले भनेकी छन्, ‘आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसइईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ।’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सिटिइभिटी)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिममा सहभागितासम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि सिटिइभिटी विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिससिप मोडेलमा सहभागी गराइनेछ । बिहीबार शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षरपछि शिक्षामन्त्री सुमना श्रेष्ठले हाम्रो शिक्षाले श्रम बजारको मागअनुसारको सीप दिन सक्नुपर्ने बताइन् । “सोह्रौँ योजनाले पनि ७०–३० अर्थात् ७० प्रतिशत प्राविधिक शिक्षा र ३० प्रतिशत नियमित शिक्षामा जानुपर्ने भनेको छ । हाम्रा युवालाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ”, उनले भनिन् ।
ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सीप र श्रमलाई संस्कृति बनाउन नसक्दा विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यावहारिक सीप सिकाउन यो सम्झौता गरिएको बताए । “ढल्केवरको एउटा सुरुङको काममा पाँच सय जना श्रमिक थिए । एक जना पनि नेपाली रहेनछ । हाम्रा प्राविधिक शिक्षाका विद्यार्थीलाई कार्यस्थल र श्रमसँग जोड्न यो सम्झौता कोशेढुङ्गा सावित हुनेछ”, मन्त्री बस्नेतले भने ।
समझदारी पत्रको मुख्य उद्देश्य ‘कमाउँदै सिक्दै’ भन्ने अवधारणालाई सीप विकासमार्फत कार्यान्वयनमा ल्याउनु रहेको उनको भनाइ थियो । यस अवधारणाले विद्यार्थीलाई कार्यस्थलमा आधारित सिकाइद्वारा सीप विकासमा गुणस्तर अभिवृद्धि गराउने अपेक्षा गरिएको छ ।
त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस सम्झौतापत्र कार्यान्वयनमा लैजानसके असल अभ्यासको विस्तार हुने धारणा व्यक्त गरे । विद्युत् प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि ‘इन्टर्न’मा जनशक्ति राखिरहेको र उनीहरूको काम र अनुभव एकदमै राम्रो रहेको बताए ।
सम्झौताअनुसार ऊर्जा मन्त्रालयले एप्रेन्टिस परिचालन गर्न आवश्यक परियोजनाको सम्बद्ध विषय र क्षेत्रको विवरण पाठ्यक्रम विकासका लागि शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ । ऊर्जा मन्त्रालयले तालिम कार्यक्रम सञ्चालनका लागि सिटिइभिटीको प्रचलित नियमअनुसार हुन आउने आर्थिक स्रोत शिक्षा मन्त्रालयलाई उपलब्ध गराउनेछ ।
शिक्षा मन्त्रालयले ऊर्जा मन्त्रालयका परियोजनाको आवश्यकताबमोजिमको पेसा तथा व्यवसायमा कार्यस्थलमा आधारित पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मेवारी लिनेछ । ती परियोजनामा आवश्यकपर्ने तालिममा सहभागीको समूहगत सङ्ख्या तथा पेसागत दक्षताको विवरण उपलब्ध गराउने र सो विवरण पाठ्यक्रमले निर्धारण गरेबमोजिमको हुनेछ ।
सीप विकास तथा कार्यस्थलमा आधारित एप्रेन्टिससिप कार्यक्रम सञ्चालनका लागि परीक्षा, सीप परीक्षण, स्तरीकरण, प्रमाणीकरण तथा छनोटका मापदण्ड निर्धारण गर्ने व्यवस्था मिलाउने जिम्मेवारी शिक्षा मन्त्रालयको हुनेछ ।
समझदारीको कार्यान्वयनमा आवश्यक समन्वय गर्नका लागि दुवै पक्षबाट सम्पर्क व्यक्ति तोकी जिम्मेवारी दिने र सोको जानकारी एकअर्कालाई उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सिटिइभिटीबाट उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थासँग ऊर्जा मन्त्रालयको समन्वयमा सहकार्य र सहजीकरण तथा एप्रेन्टिससिप सम्बन्धमा प्रचारप्रसार गरिनेछ ।
सम्झौताले दीर्घकालमा नेपालका युवालाई आवश्यक प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी देशको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
यस समझदारीमार्फत ऊर्जा मन्त्रालयका विभिन्न परियोजनामा विद्यार्थीको सक्रिय सहभागिता हुनेछ, जसले उनीहरूको व्यावहारिक सीपमा सुधार ल्याउनेछ र रोजगारको अवसर बढाउनेमा विश्वास लिइएको छ ।
त्यसअवसरमा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी र शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले र सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलगायतको उपस्थित थियो ।
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
महान्यायाधिवक्ता दीनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । तर न्यायाधीशहरूको राय बाझिएपछि अब पूर्ण इजलासमा पेस हुनेछ ।
न्यायाधीश सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने परमादेश गरेकी छन् भने प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेकी छन् ।
न्यायाधीश प्रधानले अनुसन्धान गर्ने निकायलाई सहकारी ठगीमा जाहेरी/सूचना/प्रतिवेदनमा निर्धक्क, निष्पक्ष र स्वतन्त्र भएर अनुसन्धान गर्न दिनु, दिलाउनु भनी गृहमन्त्रीको नाममा परमादेश जारी गरेकी छन् ।
परमादेशमा भनिएको छ, ‘अनुसन्धान गर्ने निकायमा प्रभाव, दवाव वा असहयोग भए नभएको समेत विवरण सम्बन्धित प्रहरी कार्यालय तथा जाहेरवाला पीडितहरुसमेतबाट लिई महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालत अन्तर्गत रहेको फैसला कार्यान्वयन निर्देशनालयसमक्ष पेस गर्नू गराउनू।’ उनले आरोप लाग्दैमा कोही पनि दोषी नहुने भएकाले गृहमन्त्रीले पदबाट राजीनामा गर्न नपर्ने ठहर गरेकी छन् ।
न्यायाधीश सुवेदीले भने अनुसन्धान प्रभावित हुन सक्ने भएकाले गृहमन्त्रीले पदबाट राजीनामा गर्नुपर्ने आदेश गरेकी छन् ।
सुवेदीको आदेशमा भनिएको छ, ‘सहकारीको रकम हिनामिना भए गरेको कार्यबाट पीडित भएका भनिएका हजारौं सर्वसाधारणले उजुरी, निवेदन वा जाहेरी दर्ता गर्न जाँदाकै अवस्था देखि नै निष्पक्ष र स्वच्छ तवरले सम्बन्धित निकाय तथा अधिकारीबाट कार्य सम्पादन भएको छ भन्ने कुरामा विश्वस्त हुने वातावरणको प्रत्याभूति दिनू राज्यको कर्तव्य हुन्छ । मन्त्रिपरिषद्को सदस्य समेत रहने गृहमन्त्री तथा महान्यायाधिवक्ताको कार्यालयले राज्यको कर्तव्यलाई कुनै पनि बहानामा उपेक्षा गर्न मिल्दैन । संवैधानिक नैतिकताको दृष्टिकोणबाट पनि संविधान तथा प्रचलित कानूनद्वारा निर्दिष्ट गरिए बमोजिम जाहेरी वा उजुरी दर्ता, अपराध अनुसन्धान तहकिकात, अभियोजन तथा न्याय निस्पादन समेतका सबै चरणमा स्वच्छता एवं निष्पक्षताको प्रत्याभूति हुने गरी कार्य गर्न कुनैपनि तवरले अवरोध नहुने गरी गृहमन्त्रीको पदमा आसिन व्यक्ति स्वयंले जिम्मेवारी वोध गरी नैतिक रुपमा मार्ग प्रशस्त गर्नु नै न्यायोचित हुन्छ ।’
सहकारीको रकम हिनामिनामा कुनै उजुरी, जाहेरी वा अभियोजन नरहेको भनी महान्यायाधिक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई दिएको पत्र बदरको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर पत्र दिएको थियो । अधिवक्ता भट्टराईले दायर गरेको रिटमा लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिनका क्रममा गृहमन्त्रीबाट हटाउन, सांसद पदबाट पनि निलम्बन गर्न माग गरिएको छ ।
बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । लुम्विनीमा एमालेका नेता चेतनारायण आचार्यको नेतृत्वका भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन केसी र रत्न क्षेत्री मन्त्री थिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार तीन महिना नबित्दै संकटमा परेको छ ।
माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका महरा गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीमा केन्द्रको समीकरण अनुसार कांग्रेस र एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ ।
सुदूरपश्चिम । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको हो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषदको कार्यालयमा समर्थत फिर्ता लिएको पत्र दर्ता गरेको बताए ।
समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी तीन जना मन्त्रीले पनि राजीनामा दिएका छन्।
एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा साकीले राजीनाको पत्र पठाएका हुन् । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा दोहोरिएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका सम्मानित नेता खनालले नयाँ नेतृत्वका लागि जारी महाधिवेशनमा सहमतिपत्र पढेर सुनाएका थिए । खनालले छलफल गरेर १२ वटा समूहले नै सहमतिका आधारमा नेतृत्व बनाउन सुझाव दिएपछि त्यहीअनुसार निर्णय भएको बताए ।
समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल चलाएको थियो । पार्टीको प्रचार विभागका अनुसार तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।
धनुषा । धनुषामा पोखरीमा डुबेर बिहीबार तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले प्रतिवेदन सार्वजनिक गरेको हो ।
बुधबारको बैठकमा ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए । तर, सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्न उनलाई रोक लगाएका थिए । त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए । ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेका थिए ।
प्रतिवेदनमा उनले पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको उल्लेख गरेका छन् । ढकालले पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउने काम भएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले गत आम निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको सहयोगमा आफूहरूले प्रत्यक्षमा दुई सिट बढी जितेको दाबी गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘मंसिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौँ, त्यसले आज हामीलाई नै चोट पुर्याएको छ । हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो । नतिजाले काठमाडौं ४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो । गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नपर्ने हुन्छ ।’
उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ । जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’
महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग संवाद गरेका थिए । उनले यो प्रतिवेदन केन्द्रीय समिति बैठकमा राख्ने र बैठकको प्रत्यक्ष प्रसारण गर्ने माग गरेका थिए । तर उनको माग पूरा भएन । केन्द्रीय समिति बैठकले ढकाललाई सात दिनका लागि निलम्बन गरेकोे छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको अभियोगमा अख्तियारले बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बैतडी । बैतडीका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा ल्याएका छन् । एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो ।
परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । पछिल्लो समय सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएकाले सोको प्रभाव एसईई नतिजामा देखिएको उनले बताए ।
नतिजाअनुसार सबैभन्दा बढी सुर्नया गाउँपालिकाका छवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । दशरथचन्द नगरपालिकाका चार, मेलौली नगरपालिकाका तीन, दोगडाकेदार गाउँपालिकाका दुई, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका एक–एक विद्यालयको नतिजा शून्य आएको हो ।
सुर्नयाका राष्ट्रिय मावि फाटीगडा, नेपाल राष्ट्रिय मावि ग्वानी, सिगास मावि मुसे, केदार मावि कठमडा, कैलपाल मावि झाडबो र उदयदेव मावि पालीगडाको नतिजा शून्य आएको छ ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका गुरुकुल मावि सेरा, सरस्वती संस्कृत मावि नगतडी, शोभा मावि देउमडा र कैलपालेश्वर मावि ऐँचेकाँडाको नतिजा शून्य आएको छ । यस्तै मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थान, सुदर्शन मावि लिखोडा र भरतपुर मावि गाउँकोट तथा दोगडाकेदार गाउँपालिकाको रौलेश्वर मावि कफलकोट र चनैराज मावि बडियाको नतिजा शून्य आएको छ ।
यसैगरी पाटन नगरपालिकाको निलपालेश्वर मावि डङसिली, सिगास गाउँपालिकाको भूमेश्वर मावि थला र पञ्चेश्वर गाउँपालिकाको देवथला मावि बस्कुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लाबाट २०८० सालको एसईईमा सहभागीमध्ये ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका शिक्षा विकास एकाइका प्राविधिक सहायक भट्टले जानकारी दिए । परीक्षाका लागि पाँच हजार ८७ ले फारम भरेकामा चार हजार आठ सय ९४ जना सहभागी भएका थिए ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताए । ‘शहर बजारका विद्यार्थी सबै प्रविधिको पहुँचमा हुने र दुर्गमका विद्यार्थी सबै प्रविधिका बारेमा जानकार नहुँदा पनि नतिजा कमजोर आएको हो,’ उनले भने । ग्रामीण क्षेत्रका विद्यालयको शैक्षिकस्तर सुधार गर्न तिनै तहका सरकारले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।