`

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको छैनः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट गरेका छन् । 


शनिबार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताए । केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए ।


“कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन् । यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ”, गभर्नर अधिकारीले भने, “हाम्रो अध्ययनका क्रममा निकै सानो सङ्ख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ । यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ ।”


सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उनले बताए । यो कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे ।


उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए ।


पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ । विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे ।


राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरुपयोग भएको धारणा राखेका थिए । नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरुले लगानी गर्न नचाहेको उनले बताए ।


साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।


“यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ”, उनले भने। 


साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसङ्ख्यालाई सेवा दिइरहेको उनले बताए ।

काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको जानकारी दिए ।

पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ ।

हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सुकुम्वासी बस्ती डुबानमा

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरुमा जलस्तर बढेसँगै बल्खुको सुकुम्वासी बस्ती, त्यहाँको तरकारी बजारमा बाढी पसेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।

उनले भने, “बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका खबर आएका छन्, हाम्रो प्रहरी टोली उद्धारका लागि खटिएको छ ।” यसैगरी बागमतीमा आएको बाढीका कारण करिडोर सडक जलमग्न भएको प्रहरीले जनाएको छ ।

पहिरोले ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो

बलेवा (बागलुङ) । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ ।

जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो ।

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पुर्याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले जानकारी दिए ।

पहिरोका कारण बाँध पुरिँदा विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको उनले बताए । उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए ।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् ।

उपप्रमुख शर्माले भने, “यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।”

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ ।

वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

पोखरीका माछा मरेपछि ६० लाख रुपैयाँ बराबरको क्षति

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ ।

‘पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए’, उनले भनिन्, ‘माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।’

उनका ६ वटा माछा पोखरी रहेका छन् ।

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।

उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे।

‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन,’ उनको भनाइ थियो, ‘क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ। हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ।’

उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए।

बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायत उपस्थिति थियो।

पृथ्वीराजमार्गको कल्भर्ट बाढीले बगाउँदा यातायात ठप्प

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ट  बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ट  बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् ।

सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनले भने, “कल्भर्ट  बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।”

म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिए । उनले भने, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।”

पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

मधेसका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार प्रदेशसभामा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री सिंहमको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

केन्द्रमा समीकरण फेरिएसँगै प्रदेशमा पनि समीकरण फेरिएको छ । जसअनुसार १०७ सदस्यीय प्रदेशसभामा एमाले, कांग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सिंहलाई  विश्वासक‍ो मत दिएका हुन् ।

त्यसअघि आजै मुख्यमन्त्री सिंहले मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका थिए ।

लेबनान–इजरायल सीमामा तनाव बढ्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त गरेको छ ।

लेबनानी र इजरायली सेनाबीच गोलीबारीको आदानप्रदान बढेपछि बढ्दो तनावलाई विश्व निकायले प्रकाश पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ताको कार्यालयको टिप्पणी अनुसार शत्रुताले पूर्ण–स्तरको युद्धको जोखिम बढाउँछ ।

नोटले संयमको आवश्यकतालाई जोड दिँदै युद्ध वृद्धि हुन सक्ने र यसलाई बेवास्ता गर्नपर्ने जनाएको छ ।

द्धन्द्धको खतरा दोहोर्याउदै गलत गणनाको खतराले अचानक र व्यापक द्वन्द्व निम्त्याउने र राजनीतिक तथा कूटनीतिक समाधान नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग हो भन्ने कुरामा जोड दिएको छ।

सोही दिन लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक जेनिन हेनिस–प्लास्चर्टले संसदका अध्यक्ष नबीह बेरी र प्रधानमन्त्री नजिब मिकाती लगायत प्रमुख लेबनानी अधिकारीहरूसँग ब्लू लाइनमा डि–एस्केलेसनको आवश्यकताबारे छलफल गर्न संलग्न भए ।

संयुक्त राष्ट्रको नोटले लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बलबाट शत्रुताको तत्काल अन्त्यका लागि आह्वान र सुरक्षा परिषद्को प्रस्ताव–१७०१ का लागि प्रतिबद्धता नवीकरण गरेको पनि दोहोर्याको छ।

जुन इजरायल र हजबुल्लाह बिचको एक महिनाको घातक युद्धको केही समयपछि शत्रुताको पूर्ण अन्त्यका लागि अगस्ट २००६ मा स्वीकृत गरिएको थियो ।

पाकिस्तानमा बजेटपछि बढ्यो मुद्रास्फीति 

आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो साप्ताहिक मुद्रास्फीति दर १.२८ प्रतिशतले बढेको एआरवाई न्यूजले रिपोर्ट गरेको छ ।

यसैगरी पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस)को पछिल्लो साप्ताहिक रिपोर्टअनुसार वार्षिक मुद्रास्फीति दर बढेर २३.५९ प्रतिशत पुगेको छ । प्रतिवेदनले गत हप्तामा २९वटा आवश्यक वस्तुको मूल्यमा भएको वृद्धिलाई प्रकाश पार्दै पाँचवटा वस्तुले स्थिर मूल्य कायम राखेको र १७ वटा वस्तुको मूल्यमा कमी आएको जनाएको छ । 

टमाटरको मूल्य ७०.७७ प्रतिशतले बढेर २०० पाकिस्तानी रुपयाँ प्रतिकिलोग्रामभन्दा बढी पुगेको छ । पीबीएसका अनुसार पिठोको मूल्य १०.५७ प्रतिशतले, पाउडर दूध ८.९० प्रतिशतले, डिजेल ३.५८ प्रतिशतले, पेट्रोल २.८८ प्रतिशतले र एलपिजीको मूल्य १.६३ प्रतिशतले बढेको छ ।

यस अवधिमा कुखुरा, दाल र लसुनको मूल्य पनि बढेको छ भने प्याजको मूल्य ९.०५ प्रतिशत र आलुको मूल्य १.०४ प्रतिशतले घटेको छ ।

जुलाई–१ को अघिल्लो रिपोर्टले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति २०२४ मा १२.६ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको जुनमा २९.४ प्रतिशत थियो । मासिक आधारमा, सीपीआई मुद्रास्फीति २०२४ मा ०.५ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ३.२ प्रतिशत र २०२३ मा ०.३ प्रतिशतले घटेको थियो ।

पाकिस्तानी सरकारले जुन–२९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्ड पूरा गर्न आगामी आर्थिक वर्षमा थप राजस्व उत्पन्न गर्न धेरै क्षेत्रमा नयाँ कर उपायहरू घोषणा गर्दै विशिष्ट क्षेत्रमा छुट विस्तार गरेको थियो ।

पाकिस्तानका अर्थमन्त्रीले राष्ट्रियसभामा नयाँ उपायको घोषणासमेत गरेका थिए । यसमा इस्लामाबादमा सम्पत्तिमा पूँजी मूल्य कर लागु गर्नु, निर्माणकर्ता र विकासकर्तामा नयाँ कर उपाय समावेश भएको पाकिस्तानको स्थानीय दैनिकले रिपोर्ट गरेको छ ।

जुन–१२ मा राष्ट्रियसभामा पेस गरिएको वित्त विधेयक २०२४ मा गरिएको संशोधनमा सरकारले डिजेल र पेट्रोलमा पेट्रोलियम विकास लेवी (पिडिएल)लाई पाकिस्तानी रुपैयाँ (पिकेआर) ८० बाट ७० पिकेआर प्रति लिटरमा झारेकोमा हालको पिकेआर ६० बाट बढाएको छ ।

विरोधका बावजुद, निर्यातकर्ताले २९ प्रतिशतको मानक कर्पोरेट कर दर र लागू भएमा सुपर कर तिर्नेछन् । पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार निर्यात कारोबारमा अघिल्लो एक प्रतिशत करको तुलनामा यो महत्त्वपूर्ण परिवर्तन हो । व्यक्ति र गैर व्यत्ति प्रतिवर्ष एक करोड पिकेआरभन्दा बढी कमाउने व्यक्तिको सङ्घको आयकरमा १०  प्रतिशत भारको अधीनमा हुनेछन् ।

गहिरो आर्थिक सङ्कटमा, पाकिस्तानी संसद्ले भर्खरै नयाँ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बेलआउटबीच आगामी आर्थिक वर्षका लागि कर–भारी वित्त विधेयक पारित गरेको छ । 

सन् २०२४ मा मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्घठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादनको लागि आफ्नो पूर्वानुमान अद्यावधिक गरेको छ । जसमा हाल दुई हजार आठ सय ५४ मिलियन टनमा पु¥याएको छ, जुन नयाँ सर्वकालिक तथ्याङ्कमा उच्च हो ।

एफएओले शुक्रबार जारी गरेको अनाज आपूर्ति र माग ब्रीफको अनुमानलाई अर्जेन्टिना र ब्राजिलका साथै टर्की र युक्रेनमा मकैका लागि राम्रो फसलको दृष्टिकोणलाई श्रेय दिएको छ ।

जसले इन्डोनेसिया, पाकिस्तान र धेरै दक्षिणी अफ्रिकी देशहरूका लागि डाउनग्रेडलाई अफसेट गर्नेछ । गहुँ उत्पादनको पूर्वानुमान पनि एसियामा, विशेष गरी पाकिस्तानमा राम्रो सम्भावनाको आधारमा उठाइएको छ । जसले मौसमको सुरुमा प्रमुख गहुँ उत्पादन गर्ने क्षेत्रहरूमा खराब मौसमका कारण रूसी सङ्घमा अपेक्षित गिरावटलाई पछाडि पार्नेछ ।

यसै गरी विश्वव्यापी धान उत्पादन ५३५.१ मिलियन टन पुग्ने अनुमान गरिएको छ ।सन् २०२४–२५ मा विश्व खाद्यान्नको कूल उपयोग बढेर २.८५६ मिलियन टन पुग्ने अनुमान गरिएको छ, । जुन अघिल्लो वर्षको तुलनामा ०.५प्रतिशतले बढेको देखिन्छ ।

विश्व अनाज स्टक २०२५ मा १.३ प्रतिशत विस्तार हुने पूर्वानुमान गरिएको छ । सन् २०२४–२५ मा विश्वव्यापी अनाज स्टक–देखि–प्रयोग अनुपात लगभग अपरिवर्तित ३०.८ प्रतिशतमा अडिग थियो ।

कूल अन्नमा अन्तर्राष्ट्रिय व्यापारको लागि एफएओको पूर्वानुमानमा चार सय ८१ मिलियन टनमा अपरिवर्तित रहेकोमा २०२३–२४ बाट ३.० प्रतिशत गिरावटको प्रतिनिधित्व गर्दछ ।

अबिरल वर्षाका कारण उपत्यकाका खोला तथा नदीको जलसतह बढ्यो

काठमाडौँ । गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ ।

यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २०  विपद् उद्धार उपत्यका  गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको  बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति छ ।

तनहुँको म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा

दमौली (तनहुँ) । अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरु डुबानमा परेका हुन् । 


शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् । उनले भने, “प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्नेतथा स्थानीय विस्थापित हुने गरेका छन् ।”


जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन् ।


मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्यो


तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो । 


सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ गौतमले बताए ।


जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार मर्स्याङ्दी नदीको सतह १०.२५ मिटरभन्दा माथि आएको छ । जिल्लाको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका हुँदै यो नदी मुग्लिनमा पुगेर त्रिशूलीमा मिसिन्छ ।

दाङमा बाढीमा परी एकजनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा

दाङ । बाढीमा परी दाङमा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौँ घर डुबानमा परेका छन् ।

शनिबार  बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । 

दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए । 

लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।

त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।

खोलाले ट्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उनले जानकारी दिए ।

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको छ । सेवार खोलाको बाढीले ‘डाइर्भसन’ बगाउँदा घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।

राप्ती नदीको बाढीले बगाएर एकजना बेपत्ता, दुईजनाको सकुशल उद्धार

दाङ । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्य दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।

सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादवलाई बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । यादवको खोजी कार्य जारी राखिएको छ ।

मधेसका मुख्यमन्त्री सिंहद्वारा माओवादीसहित चार दलका मन्त्री बर्खास्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई शनिबार बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका कृषिमन्त्री गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नेपाल नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरेका हुन् ।

हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको राष्ट्रपतीय चुनावमा जित हासिल गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी र जलिलीले एक करोड तीन लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीका प्रवक्ता मोहसेन एस्लामीले बताए । उनका अनुसार निर्वाचनमा ४९.८ प्रतिशत मतदान भएको थियो भने रद्द भएको मतपत्रको सङ्ख्या छ लाखभन्दा बढी रहेको थियो ।

जितपछि विजयी पेजेस्कियनले आफ्ना समर्थक तथा मतदाताहरूलाई धन्यवाद दिँदै सबैलाई मित्रताको हात दिने र सबै यस देशका जनता भएकाले देशको प्रगतिको लागि प्रयोग गर्नपर्ने सरकारी टेलिभिजनमार्फत उल्लेख गरे ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु बोलाइएको चुनाव, गत हप्ता ऐतिहासिक गरेको पहिलो चरणपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले चुनावको महत्वलाई जोड दिँदै बढी दास्रो चरणको मतदान आह्वान गरेका थिए ।
सुधारवादी समर्थनका–गत हप्ताको पहिलो चरणमा, पेजेस्कियन, अनुमति दिइएको एक मात्र सुधारवादीले सबैभन्दा धेरै (४२ प्रतिशत) मत प्राप्त गरी विजय प्राप्त गरे भने जलिली लगभग ३९ प्रतिशतको साथ दोस्रो स्थानमा आएको इरानको चुनाव प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

इरानको छ करोड १० लाख योग्य मतदातामध्ये ४० प्रतिशतले मात्र पहिलो चरणमा भाग लिएका थिए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको कुनै पनि राष्ट्रपतीय निर्वाचनमा सबैभन्दा कम मतदान हो ।

हालैसम्म अज्ञात रहेका सापेक्ष पेजेस्कियनको उम्मेद्वारले रूढीवादी र अति रूढीवादी शिविरहरूको वर्षौँको प्रभुत्वपछि इरानका सुधारवादीहरूको आशा बढाएको छ ।

इरानको मुख्य सुधारवादी गठबन्धनले पेजेस्कियनलाई समर्थन गरेको थियो भने पूर्वराष्ट्रपति मोहम्मद खातमी र हसन रुहानीले समर्थन गरेका थिए ।

मुटुका शल्यचिकित्सक पेजेस्कियनले ‘इरानलाई अलगावबाट बाहिर निकाल्न’ आणविक सम्झौतालाई पुनःजीवित गर्न पश्चिमी देशहरूसँग ‘रचनात्मक सम्बन्ध’ का लागि आह्वान गरेका छन् ।
जलिली इरानका पूर्वआणविक वार्ताकार भएकाले उनको असम्वद्ध पश्चिम विरोधी दृष्टिकोणका लागि व्यापक रूपमा चिनिन्छ ।

शुक्रबारको रनअफ अघि, पेजेस्कियन र जलिलीले दुई टेलिभिजन बहसमा भाग लिँदा कम मतदान, साथै इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध र इन्टरनेट प्रतिबन्धहरूबारे छलफल गरेका थिए ।

पेजेस्कियनले इन्टरनेट प्रतिबन्धहरू कम गर्ने र महिलाका लागि अनिवार्य हेडस्कार्फ लागू गर्ने प्रहरी गस्तीलाई ‘पूर्ण रूपमा’ विरोध गर्ने वाचा गर्नुभएको छ । सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछिको उच्च–प्रोफाइल मुद्दा बनेको थियो ।

इरानी कुर्दलाई ड्रेस कोड उल्लङ्घनको आरोपमा हिरासतमा लिइएको थियो भने उनको मृत्युले महिनाौँको देशव्यापी अशान्ति निम्त्याएको थियो ।

दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने  तीन वटा घर बगेका छन् ।


शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।


वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए । 

उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरीले थाल्यो गस्ती 

काठमाडौँ । अविरल वर्षाका कारण उत्यकाका खोला नदीमा पानीको बहाव बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए ।

उनले भने, ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’

उनले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए ।

उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।

उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।’

वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ओली निवासको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शंकास्पद मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकोटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका थापाको शनिबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार ४२ वर्षीय थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहाने अचेत भेटिएका थिए ।

उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६ः५० बजे चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।

घटनास्थलमा प्रहरी वृत, जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य सकेपछि शव पोष्टमटर्मका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राजेश ढकालको मौलिक घाँसे भाका ‘असार १५’

काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७औँ स्थानमा रहन सफल भएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा छन् ।
उनका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् ।

गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो । ‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिएका छन् ।
गीतमा संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठ म्युजिक भिडियो निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । सन्कारा डिजिटलमा उक्त गीत सागर पुनले रेकर्ड गर्नुभएको छ भने कुमार पुनको ‘मिक्सिङ’ रहेको छ ।

भोटेकोशी जलविद्युत आयोजनाको ढलानमा पुरिएका दुई मजदुरको शव फेला

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गएराति उद्धारकार्य थालिए पनि शनिबार बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् ।

आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् ।

उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनले बताए ।

दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युतको सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो । एघार जनाको तत्काल उद्धार गरिएको थियो ।

उनीहरु सबै घाइते छन् । उनीहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौँ ।  अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।  

सिद्धार्थ राजमार्ग अवरुद्ध 

वालिङ (स्याङ्जा)ः अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ । 

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।


विपी राजमार्गमा यातायात ठप्प  

कमलामाई (सिन्धुली)ः पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको  सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । 


हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो  

मकवानपुरः बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । 


यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।


यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन् । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।

बेँसीसहर–चामे सडक अवरुद्ध 

लमजुङः पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको जानकारी दिए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

घोराही–तुलसीपुर सडक सडक अबरुद्ध 

तुलसीपुर (दाङ)ः दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज  बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।  

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा 

पर्साः गएरातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।

पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।

वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।


नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

बेलबारी (मोरङ): यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे । 


“साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ”, उनले भने। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।

कर्णाली राजमार्ग अवरुद्व

काँक्रेविहार (सुर्खेत)ः शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक  खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए  ।

वीरगन्ज महानगरपालिकाको-११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र सडक किनाराका नालमा खसेको जीप । शुक्रबार रातीदेखि लगायतार परेको वर्षाको पानी सडकमै जम्मा भएपछि वीरगन्जका अधिकांश स्थान डुबानमा परेका छन् । तस्बिर ः विजय कुमार महतो / रासस
पृथ्वीराजमार्ग अन्र्तत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गएको पहिरो हटाइँदै । वर्षाका कारण पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । तस्बिर ः कृष्ण न्यौपाने, रासस
अविरल वर्षा र त्यसपछि आएको हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका-९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन । तस्बिर: कुलदीप न्यौपाने/ रासस
पानी परेपछि काठमाडौँ तारकेश्वर १० स्थित मनमैजु लोकतान्त्रिक चोक सडकमा छाता ओढेर आफ्नो गन्तव्य जादै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल / रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह । पानीको सहत बढेसँगै मनाङ सदरमुकाम चामेस्थित पुललगायत क्षेत्र जोखिममा पर्न थालेको छ । तस्बिर : नवीन लामिछाने / रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर : रमेश गिरी / रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र र बस्तीमा पसेको छ । तस्बिर ः रमेश गिरी / रासस
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डुवानमा परेको सार्वजनिक शौचालय । पानी निकास नहुने होचो ठाउँमा शौचालय निर्माण गर्दा थोरै वर्षातमा समेत शौचालय डुबानमा पर्ने गरेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु,रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । तस्बिर : सुमित्रा अधिकारी /रासस

सर्वसाधारणको अवलोकनका लागि काष्ठमण्डप कहिले खुल्छ ?

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ ।

प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताइन् । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ ।

विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समिति गठन भएको थियो ।

काष्ठमण्डप पुनःनिर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई ५० लाख उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते पाँच करोड, २०७६ माघ ९ गते रु पाँच करोड र २०७८ असार १६ गते एक करोड उपलब्ध गराएको प्रमुख राईले बताइन् ।

पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा पुनःनिर्माण गरिएको हो ।

२६८ सांसदको साथ पाएको व्यक्ति अहिले ६१ मा झर्दा पनि बाटो लाग्नु सट्टा संसद फेस गर्ने किन ध्वाँस ?

डा. बाबुराम भट्टराई ।
गत नौ वर्षदेखि निरन्तर सत्तामा बस्दा शान्ति प्रक्रिया टुंग्याउन कुनै सार्थक पहल नगर्ने, संघीयताको कार्यान्वयनमा आवश्यक कानूनी र प्रशासनिक दायित्व निभाउन नसक्ने, संविधानसभाको बेलादेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकावारे मुखमा पट्टी बाँधेर बस्ने, राष्ट्रिय स्वाधीनताको सम्बद्र्धन निम्ति अत्यावश्यक भएन ।

प्रतिवेदनवारे मुख खोल्न नसक्ने, ठूला भ्रष्टाचारका काण्ड कुनैलाई सार्थक निष्कर्षमा पुर्याउन नसक्ने, संरचनात्मक संकटमा फसेको अर्थतन्त्र उकास्ने र लाखौं युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्नेवारे माखो मार्न नसक्ने, २७५ जनाको संसदमा ३० जना ( अरू २ जना त नेसपाबाट निर्वाचित हुन्!) सांसदको ‘जादूयी नम्बर’ को फुइँ दिएर सबै दललाई पालैपालो ठग्ने, जनयुद्धमा अतुलनीय योगदान गर्ने शहीद, वेपत्ता, घाइते योद्धाहरूलाई पन्छाएर आफ्नै परिवारका सदस्यहरूको नाउककमा राज्यको तर्फबाट स्मारक बनाउन नलजाउने’.!

जब आमजनता नै यस्तो लज्जास्पद हर्कतबाट वाक्कदिक्क भएको मौका छोपेर पुराना संसदीय खेलाडीहरूले नयाँ गठबन्धन गरेर ‘मियाकी जुती मियाँके सरपर’ भने झैं बदला लिन्छन् अनि फेरि रोइलो ? कुनै वेला २७५ मध्ये २६८ सांसदको साथ पाएको व्यक्ति अहिले ६१ मा झर्दा पनि लाजले मुख छोपेर बाटो लाग्नु सट्टा संसद फेस गर्ने ध्वांस ? के गर्नेलाई भन्दा देख्नेलाई लाज ?

अब फेरि यी कानले ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूद्वारा क्रान्तिकारीहरूको घेराबन्दी’, ‘जनयुद्धका उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च कमाण्डरका वरिपरि सबै गोलबन्द हुनुपर्ने’ आदि इत्यादि लफ्फाजी र जनयुद्धमा त्याग र बलिदान गरेकाहरूको भावनात्मक दोहनका राग सुन्नुपर्ने ? हे मार्क्स–लेनिन–माओ, तपाईंहरूले यस्तै उत्तराधिकारी खोजेको हो ?

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको  निन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । 


बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ । 


“लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन”, प्रहरी नायव उपरीक्षक यादवले भने । वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका–२ डुडियामा भने  यातायात सञ्चालनमा आएको छ ।


मालढुङ्गा–बेनी सडक अवरुद्ध 


यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी  सडक पनि अवरुद्ध भएको छ । भारी वर्षाका कारण कुश्मा नगरपालिका–१ मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 


आज बिहानदेखि सडक अवरुद्ध बनेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए । सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका  छन् । अन्यत्रबाट आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् ।

फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा गोल हुन सकेन । फ्रान्स ५–३ ले विजयी भयो । अब फाइनलमा पुग्न फ्रान्सले स्पेनसँग खेल्नेछ ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई २–१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको अन्तिमतिर स्पेनले विजयी गोल ग¥यो । स्पेनमा मिकेल मेरिनो र ड्यानी ओल्मोले गोल गरे । जर्मनीका फ्लोरियन विट्र्जले एक गोल गरे । युरोकप क्वाटरफाइनलमा आज इङ्ग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् ।

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले बताएको छ । एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादन सर्वकालीन उच्चमा पुग्ने प्रक्षेपण गरेको छ ।

व्यापक एफएओ खाद्य मूल्य सूचकाङ्क गत महिना औसत एक सय २० दशमलव छ अङ्क थियो । यो मे महिनादेखि करिब अपरिवर्तित थियो । तथापि सन् २०२३ को तुलनामा सूचकाङ्क दुई दशमलव एक प्रतिशत कम रहेको थियो ।

एफएओका अनुसार गहुँको बलियो फसल र उत्तरी गोलार्धमा अनुकूल बढ्दो अवस्थाका कारण सूचकाङ्कको सबैभन्दा ठूलो घटक अनाजको मूल्य मेको तुलनामा तीन प्रतिशतले घटेको छ । सोही अवधिमा माग घटेका कारण चामल र मकैको मूल्य घटेको हो ।

पाम तेलको माग बढेका कारण मेको तुलनामा तरकारी तेलको मूल्य तीन दशमलव एक प्रतिशतले बढेको छ । जैविक इन्धन क्षेत्रको बढ्दो मागले सोया र सूर्यमुखी तेलको मूल्यको दबाबमा योगदान पुर्याएको थियो ।

जुन महिनामा दुग्ध उत्पादनको मूल्य मेको तुलनामा एक दशमलव दुई प्रतिशतले बढेको र अघिल्लो वर्षको तुलनामा छ दशमलव छ प्रतिशतले बढेको छ । बढ्दो विश्वव्यापी मागका कारण मक्खनको मूल्य दुई वर्षयताकै उच्चस्तरमा पुगेको छ । यद्यपि, पश्चिमी यूरोपमा उत्पादन घटेको र ओशिनियामा कम इन्भेन्टरीहरूले मूल्यहरूमा माथिल्लो दबाबमा योगदान पुर्याएको थियो ।

चिनीको मूल्य अघिल्लो महिनाको तुलनामा एक दशमलव नौ प्रतिशतले बढेको छ र लगातार तीन महिनाको गिरावटपछि पुनः वृद्धि भएको छ । यो वृद्धि मुख्यतया विश्वको अग्रणी चिनी उत्पादक ब्राजिलमा फसलको चिन्ताको कारण हो ।

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यो विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र नीति निर्माताहरूको आशाका रूपमा चिसो हुँदै गएको पछिल्लो सङ्केत हो ।

देशले गत महिना दुई लाख छ हजार रोजगारी थपेको श्रम विभागले जनाएको छ । यसले श्रम बजार अझै पनि अपेक्षाकृत लचिलो रहेको सङ्केत गर्दछ । त्यहाँ बेरोजगारी दर चार प्रतिशतबाट बढेर चार दशमलव एक प्रतिशत पुगेको छ ।

मुद्रास्फीति कम हुनुका साथै उत्पादन तथा सेवा क्षेत्रको गतिविधि सुस्त भएको पृष्ठभूमिमा यो प्रतिवेदन आएको हो ।

अझै पनि केही बाटो तय गर्न बाँकी रहेको छ तर हालैका महिनाहरूमा उच्चस्तरमा दरहरू राखेपछि यी सूचकहरूले अमेरिकी केन्द्रीय बैंकलाई ब्याज दर कटौतीको दिशामा थप आत्मविश्वास दिन सक्छन् ।

औसत घन्टाको आम्दानी मासिकरूपमा शून्य दशमलव तीन प्रतिशतले र अघिल्लो वर्षको तुलनामा तीन दशमलव नौ९ प्रतिशतले बढेको छ ।

हालैका दिनहरूमा तलब वृद्धिले उपभोक्ता मूल्य मुद्रास्फीतिलाई पछाडि पारेको भए पनि यसको व्यापक अर्थतन्त्रमा सकारात्मक भाव देखिएको छैन । यसले राष्ट्रपति जो बाइडेनलाई आफ्ना आर्थिक नीतिहरूबारे जनतालाई विश्वास दिलाउन चुनौती थपेको छ ।

मनसुनी वायुको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ ।

आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका केही स्थानमा समेत वर्षा भइरहेको छ । 

आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । 

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराएका छन् ।

रामकृष्ण ढकालको ‘मायाको घर’

काठमाडौं । गोविन्द कँडेल ‘आँशु’को शब्द र रामकृष्ण ढकालको आवाज रहेको गीत ‘मायाको घर’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

स्वीकृति सापकोटाको निर्देशनमा तयार भिडियो सार्वजनिक गरिएको हो । गीतमा ढकाललाई वाल कलाकार आर्या वाणीले साथ दिएकी छिन् ।

हरि लम्सालको रचनामा तयार भएको गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका छन् । भिडियोमा सुशील खनालको छायांकन, सम्पादन र कलर संयोजन छ ।

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको पानीको अभाव र उच्च तापक्रमका कारण मृत्यु भएको छ ।

मिडिया स्रोतहरूका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका विभिन्न क्षेत्रमा आप्रवासीहरूको शव फेला पारेको छन् । उनीहरूले अन्य दुई सय जना अन्य आप्रवासीलाई उद्धार गर्न पनि सफल भएका थिए ।

नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि खतरनाक क्रसिङ गेटवे हो ।

तापक्रममा वृद्धि र पानीको अभावको सामना गरिरहेकाले यस क्षेत्रले अत्यन्तै कठोर अवस्थाहरू अनुभव गरिरहेको छ । यसबाट आप्रवासीहरूको जीवनलाई जोखिममा परेको छ ।

पारा एथलेटिक्समा चन्द्रमालाई दोहोरो स्वर्ण

काठमाडौँ ।  चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा दोहोरो स्वर्ण जितेकी छन् । 


त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताका चन्द्रमाले होचा÷पुड्का महिलाको एक सय र दुई सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । चन्द्रमाले एक सय मिटर दौड २१ दशमलव २५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोस्रो तथा अमृता बाँस्तोला तेस्रो भइन् ।


त्यस्तै, दुई सय मिटर दौड ४५ दशमलव २६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना तथा अमृता नै क्रमशः दोस्रो र तेस्रो भए ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स सङ्घको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको ह्विलचेयर पुरुष एक सय मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए ।


उनले २६ दशमलव ७६ सेकेन्ड समय लगाए । सविन थापा दोस्रो तथा सन्तोष कार्की तेस्रो भए । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६ दशमलव १५ सेकेन्ड समयमा पहिलो भइन् । बबिता फुयाल दोस्रो तथा प्रतीक्षा माझी तेस्रो बने ।


होचा/पुड्का पुरुष दुई सय मिटर दौडमा लालबहादुर खत्री प्रथम भए । उनले ४३ दशमलव ८३ सेकेन्डमा दौड सकाए । खुर्शेद मन्सुर द्वितीय तथा राजदीप थापा क्षेत्री तृतीय स्थानमा रहे ।


सो स्पर्धाको पुरुष एक सय मिटर दौडमा भने खुर्शेदले बाजी मारे । उनले निर्धारित दूरी २०  दशमलव ०५ सेकेन्डमा तय गर्दै पहिलो भए । लालबहादुरले दोस्रो स्थानमा चित्त बुझाए भने मानबहादुर नेवार तेस्रो भए ।


पूर्ण दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५ दशमलव ९५ सेकेन्ड समय खर्चे । धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कास्य हात पारे । उक्त स्पर्धाको महिलामा २३ दशमलव ८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोस्रो तथा रेणुका तामाङ तेस्रो भए ।


अल्प दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा दयारामनारायण चौधरी पहिलो भए । उनले १४ दशमलव ०९ सेकेन्डमा दौड पूरा गरे ।


सुवास सुनार दोस्रो तथा दावा स्याङबु शेर्पा तेस्रो भए । त्यसै स्पर्धाको महिलामा दिलसरा धमला १८ दशमलव १० सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सरिता घिमिरे दोस्रो तथा पवित्रा धामी तेस्रो बने ।


बौद्धिकतर्फ पुरुष १२–१५ वर्षको एक सय मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । उनले निर्धारित दूरी १६ दशमलव ५० सेकेन्डमा पूरा गरे । विवेक श्रेष्ठ दोस्रो तथा कृष दुवाल तेस्रो भए ।


सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन् । सर्वदाले ३५ दशमलव ०५ सेकेन्डमा निर्धारित दूरी सकाइन् । निर्माना शाक्य दोस्रो तथा समीक्षा सिल्पकार तेस्रो भए ।

अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे । 

ललितपुरको च्याँसलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए ।

उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन पार्टीका विभागका पदाधिकारीहरूलाई निर्देशन दिए ।

उनले  पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताए । पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने उनको भनाइ थियो । 

उनले विभाग प्रमुख तथा सचिवहरूलाई  मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशन दिए । 

बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले एमाले र कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको उल्लेख गर्दै सरकारलाई त्यस काममा सहयोग पुग्ने गरी सुझाव दिन विभागका पदाधिकारीहरुलाई निर्देशन दिए ।

उनले लोकतन्त्रलाई सही बाटोमा अगाडि बढाउन तथा जनतामा रहेको निरासा हटाउन दुई ठूला दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेका बताए ।

महासचिव पोखरेलले दुई ठूला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निरासालाई आशामा बदल्ने, मुलुकमै रोजगारी सिर्जना गरी युवा विदेश पलायन रोक्नेलगायत समस्या समाधान गर्न  देश अग्रसर हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सहमतिको सरकारको आधार तयार गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्ने बताए । 

काठमाडौँ प्रहरीले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ ।

यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो ।

भद्रकालीस्थित कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त भवन आठ तल्लाको रहेको छ । उक्त भवन छ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

कोशी प्रदेशस्तरीय महिला फुटबलमा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा इलाम र ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा जारी प्रतियोगितामा आज इलामले ओखलढुङ्गालाई शून्यका विरुद्ध एक र ताप्लेजुङले खोटाङलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

बिहीबार भएको खेलमा ओखलढुङ्गाले सोलुखुम्बूलाई शून्यका विरुद्ध एक तथा ताप्लेजुङले धनकुटालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा पुगेको थियो । बिहीबारको खेलमा इलामले उदयपुरलाई र खोटाङले सुनसरीलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

शुक्रबार सम्पन्न समूह चरणको खेलमा मोरङले पाँचथरलाई शून्यका विरुद्ध एक गोल गरेको छ । तेह्रथुमले सङ्खुवासभालाई शून्यका विरुद्ध एक गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको तेस्रो दिन शनिबारको पहिलो खेल भोजपुर र मोरङ तथा दोस्रो खेल झापा र तेह्रथुमबीच हुने आयोजकले जनाएको छ ।

सुप्रिम सहकारीबाट गोर्खा मिडिया १० करोड र जीबी राईका अन्य कम्पनीमा ५२ करोड प्रवाह भएको फेला

काठमाडौं । सहकारीको रकम अपचलनको छानबिन गर्न गठित उच्चस्तरीय विशेष समितिले बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको फेला पारेको छ ।

समिति संयोजक सूर्य थापाले सुप्रिम सहकारीबाट गोरखा मिडियामा १० करोड ९९ लाख तथा जीबी राई सम्बद्ध अन्य कम्पनीमा ५२ करोड प्रवाह भएको भेटिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी ठगीमा च डमी ऋणीहरुको संख्या पनि देखापरेको उनले बताए । उनले भने, ‘ऋणीहरु नै डमी सृजना गरिएको, सुप्रिम सहकारीबाट १० करोड ९९ लाख गोरखा मिडियामा रकम प्रवाह भएको देखिएको छ । जीबी राईसँग आवद्ध रहेका अन्य १० वटा कम्पनीमा ५२ करोड रकम प्रवाह भएको देखिएको छ ।’

समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको थियो । त्यसक्रममा समितिले अनुसूचि २ मा उल्लेख भएका सुप्रिम, सूर्यदर्शन, सहारा, स्वर्ण लक्ष्मी, सानो पाईलालगायतका सहकारीहरुमा भएको अनुसन्धानकोबारेमा जानकारी लिएको थियो ।

प्रहरीले सहकारी सम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी समितिलाई दिएको छ । ९८ वटा उजुरीमा अनुसन्धान गरेर मुद्दा दर्ता भइसकेको पनि प्रहरीले बताएको छ ।

पीडितहरुले माग दाबी गरेकोमा अनुसन्धन्धान गरेको र मुद्दा चलाएकोमा बढीजस्तो ठगी सम्बन्धी विषय रहेको छ । समिति संयोजक थापाले त्यसमा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबरको ठगीमा परेको भन्ने जानकारी आएको बताए ।

नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुसी हुने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा कोइरालाले नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प रहेको भन्दै नयाँ बन्ने सरकारलाई पनि सफल बनाउन नसके देश एकदमै नराम्रो बाटोमा जाने बताएका हुन् ।

उनले भने,’एमालेसँग कुरा भएको छ तर अहिले नै खुसी हुने अवस्था छैन । किनकी प्रचण्डजीले आजसम्म पनि राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिनुभएन भने के हुन्छ भन्ने पनि हामीले सोच्नुपर्ने हुन्छ । कांग्रेस र सबै भ्रातृ संगठनहरुले सोच्नुपर्ने हुन्छ । अन्तिम विकल्प हो भन्ने लाग्छ । नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको पनि आउँछ । निर्वाचनको बेला यसमा अत्यन्तै चनाखो हुनुपर्छ । अहिलेको सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जान्छ ।’

उनले नेपाली राजनीतिको अस्थिरता सधैं बोकेर हिँड्न नसकिने बताए । उनले भने,’माओवादीले एमालेलाई लिएर सरकार बनायो । त्यसपछि उहाँहरुबीच के भयो थाहा छैन । फेरि नेपाली कांग्रेससित सहकार्य हुँदैछ । यस्तो अस्थिरतालाई कहिलेसम्म बोकिरहने ? संविधानमा सुधार गर्ने कुरा धेरै छन् । निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौ भने केही न केही जनताले चाहेको पूरा हुन्छ ।’

अशोक राई नेतृत्वको जसपाले लियो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको निर्णयअनुसार शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको अध्यक्ष एवं संसदीय दलका नेता राईले जानकारी दिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खातुनले प्रधानमन्त्रीलााई राजीनामा बुझाएका हुन् ।

राई नेतृत्वको पार्टीले पनि कांग्रेस–एमालेको गठबन्धनमा सहभागी हुने बताइसकेको छ।

१९ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको महाधिवेश सम्पन्न

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनले दुईसय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९३ जना मात्रै चयन गरेको छ ।

अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका छन् । नयाँ थपिएका वरिष्ठ उपाध्यक्षसहित अरु पदाधिकारीको टुंगो लाग्न बाँकी छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालले दाबी गरेका थिए ।

तीनै जना वरिष्ठ उपाध्यक्षको दाबीबाट टसमस नभएपछि सहमति जुट्न नसकेको हो । ९३ जना केन्द्रीय सदस्यहरूले भने शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । महाधिवेशनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।