`

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

Nepal One HD १९ असार २०८१ २०:४९
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास पुगेर मन्त्रीहरुले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाएका हुन् । कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि एमालेका मन्त्रीहरुले राजीनामा गरेका हुन् ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन बुधबारसम्मको समय दिएको थियो । प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेका तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती थिए ।


प्रतिक्रिया