`

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन् । 

     निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्काे ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताए ।

उनले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
     
आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताए ।

उनले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गरे । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची रहेको छ ।
     
सर्वाेच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।

काठमाडौँ–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ ।
      
टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली शुक्रबार थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

टिवान अध्यक्ष आचार्यले कम्बोडियामासमेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताए । सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उनको विश्वास छ । 
      
टिवानले हाल काठमाडौँदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ । नेपालको काँकरभिट्टा नाकादेखि थाइल्याण्डको बैंककसम्म तीन हजार तीन सय ७७ किलोमिटर दूरी रहेको छ । थाइल्याण्डको बैंककबाट नेपाल आउनका लागि वर्मा, बङ्गलादेश, भारत हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आउन सकिन्छ ।

समाजसेवी सैँजूद्वारा खेल सामग्री प्रदान

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गरेका छन् ।

दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनले बिहीबार ती सामग्री प्रदान गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावकको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो ।

विसं २०३३ माघ १५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समाजसेवी सैँजुले व्यक्त गरेका छन् ।

भोजपुरको राउते खोलामा तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

भोजपुर । भोजपुरको राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।

“राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ”,  कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने ।

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए ।

प्रह्लाद तिमिल्सिनाको ‘एउटा जून..’

काठमाडौं । गायक प्रह्लाद तिमिल्सिनाको नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् ।

गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ ।

सुशील विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गायक तिमिल्सिनाकै आधिकारिक युट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ ।

सुव्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् भने जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा छिन् । भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायाँकन गरिएको भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन छ ।

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ । विसं२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो।

जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आपसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी श्रमतीको विवाहलाई इस्लामिक कानूनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागार सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ । 


सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सयभन्दा धेरै कानूनी मुद्दामा फसेका छन् । उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए ।


एकहत्तर वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानूनअनुसार बिबीको सम्बन्धविच्छेद भएलगत्तै विवाह भएको आरोपमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो । 


इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय निलम्बन गर्ने निवेदनलाई स्थगित गरे र जुलाई १२ मा फैसला सुनाउने बताए ।


सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका खानलाई गत वर्ष अगस्टमा हिरासतमा राखिएको थियो र पदमा उम्मेदवार हुनबाट वञ्चित गरिएको थियो । 


यद्यपि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनकी श्रीमतीलाई अप्रिलमा पाकिस्तान उच्च अदालतले भ्रष्टाचारको आरोपमा १४ वर्षको कारागार सजायलाई निलम्बन गरेको थियो । 


खानलाई देशद्रोहको आरोपमा दिइएको १० वर्षको सजाय यसै महिना उल्टिएको थियो तर उनी अवैध विवाहको आरोपमा राजधानी इस्लामाबादको दक्षिणी भागमा रहेको आदियाला कारागारमा छन् । 


पाकिस्तानको फेब्रुअरी ८ को निर्वाचनका बेला तीन वटा सजाय भोग्नुअघि उनलाई रिहा गर्न अनुमति दिइएको थियो । 


विश्लेषकहरूका अनुसार दशकौँसम्म प्रत्यक्ष शासन गरेको र अहिले पनि अपार शक्तिको प्रयोग गरेको पाकिस्तानको सेना सम्भवतः यो मामिलाको पछाडि छ । 


कुनै बेला आफूलाई समर्थन गर्ने शीर्ष जनरलहरूसँगको अनबनपछि खानलाई संसदीय अविश्वासको मतले प्रधानमन्त्रीबाट बर्खास्त गरिएको थियो । 

युक्रेनद्वारा सुरक्षा सम्झौतामा हस्ताक्षर

युरोपेली सङ्घ (इयु) र युक्रेनले ब्रसेल्समा युरोपेली परिषद् शिखर सम्मेलनमा सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् ।  

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की शिखर सम्मेलनमा सहभागी भए । उनले  युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग एक समारोहमा सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सामाजिक सञ्जाल एक्समा चार्ल्स मिसेलले भने, “यी प्रतिबद्धताहरूले युक्रेनलाई आफ्नो रक्षा गर्न, अस्थिरताको विरोध गर्न र भविष्यमा आक्रामकताका कार्य रोक्न सहयोग गर्नेछन् ।”

त्यसैगरी एक्समा भोन डेर लेयेनले भनिन्, “हामी युक्रेनलाई आक्रामकताको यो युद्धविरुद्ध उसको रक्षा गर्न र भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि आवश्यक हतियार, सैन्य प्रशिक्षण र सहायता प्रदान गरिरहन प्रतिज्ञा गर्दछौँ, यो मुख्य कुरा हो, हामी लामो दौडका लागि तयार छौँ ।”

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै संसदीय उपसमिति गठन

काठमाडौँ  । सङ्घीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ ।
     
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । 


समितिको यसअघिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेबमोजिम उपसमिति गठन गरिएको उनले बताए । “राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको छ”, सभापति पोखरेलले भने ।


उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।
     
दुवै विमानस्थलको अध्ययनका लागि सङ्घ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । दुवै उपसमितिलाई एक महिनाको समय दिइएको छ ।
     
समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको छ । उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उल्लेख गरे । 

तपाईंहरू दुर्घटनामा नपर्नुहोस्

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई आफूहरूको कठिन यात्राबाट सिक्न आग्रह गरेकी छन् । आफूहरु नसच्चिए विवेकशील साझाको अवस्थामा पुग्ने भन्दै रास्वापाका महामन्त्री ढकालले प्रतिवेदन पार्टी अध्यक्ष रवि लामिछानेलाई बुझाएपछि सामाजिक संजालमार्फत रञ्जु दर्शनाले आफूहरुको कठिन यात्राबाट सिक्न आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, ‘मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्कीसक्यो ! तपाईंहरू दुर्घटनामा नपर्नुहोस् । हाम्रो इतिहास, लडाईं, भोगाई, थकाई र सिकाईले हामी हिँंडिरहनेछौं र हाम्रो भोगाइबाट तपाईंहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर होकी, निकै कम समयमा संसदभवन पित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस्।’

यस्तो छ रञ्जु दर्शनाको भनाई
भागवत गीतामा भनिएको छः ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार हुन्छ, त्यसको फलमा हुँदैन । मलाई बेला बेला विवेकशील साझाको यात्रामा यही कुरा झझल्को आउँछ । मुकुलजी (रा.स्व.पा का महामन्त्री) ले पार्टी दुर्घटना उन्मुख छ, बेलैमा सचेत हुनुपर्छ भनेर ३८ जिल्ला पुगेर समीक्षा प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनु भएको कुरा समाचारबाट सुनें । विवेकशीलको जस्तै अवस्था आउला भन्नुभएको पनि सुनें । र, आफ्नो केही कुरा याहाँ राख्न मन लाग्यो ।

रास्वपाको सुरूवात भैराख्दा उज्वल थापा दाइ, विवेकशीलका संस्थापक नेताको देहान्त भएको भर्खर एक वर्ष भएको थियो । दाइको देहान्त पछि जसरी लाखौं मानिसले आफ्नो सान्त्वना प्रदान गरे, धेरैले उज्वल दाइको नाम लिन थाल्नु स्वाभाविक नै थियो । रास्वपाले पनि पटक पटक भन्यो सो पार्टीको राजनीतिक धरतालको जग स्वर्गीय उज्वल थापाले नै राखिदिएका हुन् । गणतन्त्र स्थापना पछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बन्यो, जसले नेपाली समाजमा अनौठो तरीकाको भद्र राजनीतिको सुरूवात गर्यो, युवाहरूलाई राजनीतिमा आकर्षित गर्न फेरि सुरु गर्यो । निर्वाचनको अंक गणितमा प्रायः तलै पर्यो तर देशको सामाजिक विषयमा माथि पर्दैथ्यो । बिडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, संगठन विस्तार तिव्ररुपमा नबढ्नु, दलकै अध्यक्षको राजनीतिक ऐजेन्डा परिवर्तन हुँदै दललाई खेत जसरी जोतिए पछि आजको दिनसम्म आइपुगेका छौं ।

विवेकशील साझा पार्टी अहिले बेला बेला मात्र देखिन्छ, सदस्यहरू पनि छैनन्, खासै केही साख छैन, हामी यस्तो अवस्थामा चाहिँ पुग्न हुँदैन भन्नु भएको सुनिन्छ । ठिकै हो, हामीलाई पनि यस्तो अवस्थामा पुग्न मन थिएन, अहिले हेर्दा पनि अवस्था मन पर्दैन तर ‘छिटै खाउँ जली मरौं’ गरेर हामीले आफ्नो मूल्यमान्यता, राजनीतिक अडान अस्पष्ट राखेका छैनौं । हामीले विवेकशील–साझा पार्टीलाई तात्कालिन अध्यक्षको लहलहैमा राप्रपा बन्न दिएनौं, त्यसमा स्पष्ट भयौं, टुटफुटले मन दुखेका साथीहरू अहिले पनि हामीलाई गाली गरिरहनु हुन्छ, फेसबुकका कमेन्टमा रिस पोखी रहनुहुन्छ, लाग्छ कि उहाँहरू कुनै आमुक दलका अन्धभक्त हुनुहुन्छ तर होइन; हाम्रै पुराना रुष्ट साथीहरू हुनुन्छ। यसरी हेर्दा, अहिले पार्टीमा अहिले दुःख कष्ट व्यापक छ तर पनि राजनीतिक अडान छ।

यस्ता दुखका कुराहरू बीच पनि मलाई अचम्म चाहिँ के विषयमा लागिरहेको छ भने याहाँहरू ‘माथि’ भएको आभाष र ‘तल पुग्न लागेको’ आभाष पनि ‘विवेकशील साझा’ को नाम लिएरै गर्नुहुन्छ तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न । बरु, विवेकशील पृष्ठभूमि भएकाहरूलाई सकभर ठाँउमा राखौँ भन्ने पनि सुनेको हो (यो सुनेको कुरा चाहिँ गलतै साबित होस्।)

एकजनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो एक व्यक्तिको वरपर एउटा सिंगो दल होइन ।
त्यसैले, मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्कीसक्यो ! तपाईंहरू दुर्घटनामा नपर्नुहोस् । हाम्रो इतिहास, लडाईं, भोगाई, थकाई र सिकाईले हामी हिँंडिरहनेछौं र हाम्रो भोगाइबाट तपाईंहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर होकी, निकै कम समयमा संसदभवन पित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस्।
र, गीतामै भने जस्तो तलको वाक्यांश पनि हामीहरु सबैले नबिर्सौँ ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।। अर्थात् कर्मको प्रतिफल कस्तो हुन्छ भनेर आशावादी हुनुहुँदैन, तर अकर्मण्यताप्रति पनि आशक्ति हुनुहुँदैन।
तपाईहरूलाई शुभभाव ।।

रन्जु दर्शना
महासचिव, (तपाईंहरू बन्न नचाहेकै पार्टीबाट)
विवेकशील साझा पार्टी

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगाी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

उनले भने, “सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा गरेका निर्णय समेटेर गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गरेको छ, अब घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।”

मन्त्रालयले माघ १ देखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरेको छ । विभिन्न जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तीभरण, राजस्व (व्यक्तीगत आयकर दर्ता), सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणसम्बन्धी सेवा प्राप्त गर्न आगामी साउन १ देखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार आगामी माघ १ गतेदेखि सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न अब नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । बिहीबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन माथिसमेत सामान्य छलफल भएको थियो ।

अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा हाल रहेका अभिलेखहरुको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक तथा प्राविधिक विषय सुधार गर्न अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न वाञ्छनीय रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

वरिष्ठ उपाध्यक्ष पद थप्ने एकीकृत समाजवादीको निर्णय, केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो । अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् ।

सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको उनले बताए ।

त्यसैगरी केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको छ । प्रवक्ता खतिवडाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी रहेको पनि बताए ।

पार्टी अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसालले दाबी गर्दै आएका छन् । एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

पर्यटन राजधानीको दायरा फराकिलो बनाउन सरोकारवालाको सुझाव

गण्डकी । पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ । बिहीबार पोखरामा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवं ‘युएसएआइडी टि एण्ड सी’को सहयोगमा आयोजित कार्यक्रमका सहभागीले पर्यटन राजधानीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन राजधानी पोखरामा रणनीतिक कार्ययोजनाको प्रतिवेदन मस्यौदाको प्रस्तुति र सरोकार भएकाबीच छलफलका वक्ताले दायरा फराकिलो बनाउने गरी योजना तयार गर्न सुझाव दिएका हुन् ।

कार्ययोजनाको प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दै डा प्रनिल उपाध्यायले सो सम्बन्धमा सारेकार भएकालाई सुझावका लागि आग्रह गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै यी सम्पदालाई जोगाएर सपनाको सहरका रुपमा विकास गर्न सकिने उल्लेख गरे ।

पर्यटन राजधानीलाई सङ्कुचनमा नराखी ग्रेटर पोखराको अवधारणाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । पोखराको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिएको प्रमुख आचार्यले बताए ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशका पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटन राजधानीको रणनीतिक कार्ययोजना महानगरका ३३ वटा वडामा मात्रै सीमित हुन नहुनेमा जोड दिए । पोखरासहित समग्र प्रदेशमा धेरै पर्यटनकीय गन्तव्यको सम्भावना रहेको बताउँदै उनले ती सम्भावनालाई उजागर गर्न सुझाव दिए ।

गण्डकी प्रदेशमा दामोदर कुण्डजस्ता धेरै धार्मिक पर्यटनका सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै गुरुङले ती क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै त्यहाँ जानका लागि सहज वातावरण तयार हुनुपर्ने धारणा राखे । “दामोदर कुण्ड जान १० दिनका लागि पाँच सय डलर अनिवार्य तिर्नुपर्ने व्यवस्था छ”, उनले भने, “सडक सुविधा लगायतका कारण पर्यटकले उक्त अवधि छोट्याउन सक्ने भएकाले १० दिनको अनिवार्यता नगरी प्रतिदिन ५० डलर तिर्न सक्ने गरी व्यवस्था गर्नेतर्फ राज्यको ध्यान पुग्नु जरुरी छ ।”

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धन गरेकामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन दिए ।

गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउँदै उनले त्यसलाई पर्यटन राजधानीको रणनीतिक कार्ययोजनामा समेट्न आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भित्रने पर्यटकको यकिन तथ्याङ्क सङ्कलनका लागि नाकानाकामा सूचना केन्द्र राख्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले शाहवंशीय इतिहासको उद्गमस्थल कास्कीकोटबाट कास्की जिल्लाको पनि नामाकरण भएको बताउँदै यस्ता गन्तव्यलाई समेट्नुपर्ने धारणा राखे ।

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले कुनै पनि योजनाको सफलताका लागि सम्बद्ध सबैबीच सहकार्य र एकता जरुरी रहेको बताए ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पदयात्रा पर्यटनको विकासका लागि पोखरा आसपासका पदमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । पर्यटन राजधानीको प्रवर्द्धनका लागि पहिलो हिमाल आरोहण भएको दिन ‘अन्नपूर्ण डे’ लाई क्यालेण्डरमा समेटेर जानुपर्ने आवश्यकता उनले औंल्याए ।

खास्टे न्युरेनी संरक्षण समितिका अध्यक्ष हरि अधिकारीले खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिर तथा त्यहाँ बनाउन लागिएको शिव पार्कलाई धार्मिक पर्यटनसँग जोड्न सकिने बताए । कार्यक्रममा पोखरा र आसपासका फुर्से खोला, सुरौदी खोला, खुदी खोला जस्ता जलसम्पदालाई जलपर्यटनसँग जोड्न सुझाव दिइएको थियो ।

पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, युएसएआइडीका प्रतिनिधि, मैदीताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष भरतप्रसाद तिवारी, समाजसेवी अशोक पालिखे, वामदेव ढुङ्गानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

गुल्मीको इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो । 


गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार सबै विद्यार्थीले निःशुल्क रुपमा अब प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् ।


गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटेर सोही बमोजिम बजेट व्यवस्थापन गरी जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिरिदिने उनले जानकारी दिए ।


शिक्षालयमा तीन वर्षे सर्वेक्षक अध्ययन/अध्यापन हुने तर विद्यार्थीको खर्च बढी हुने हुँदा प्राविधिक शिक्षा पढ्न इच्छा भए पनि कतिपय विद्यार्थी पढ्नबाट वञ्चित हुनुपर्ने बाध्यता छ । उक्त समस्या अन्त्यका लागि आगामी आर्थिक वर्षदेखि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिएको अध्यक्ष खड्काले बताए ।


  निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढ्ने र गाउँमै निःशुल्क तथा गुणस्तरीय प्राविधिक शिक्षाको सुनिश्चितता हुने विश्वास गाउँपालिकाले जनाएको छ ।


“प्राविधिक शिक्षा महँगो भएका कारण गरिबले पढ्न सक्दैनन् भन्ने बुझाइ छ । यस अवस्थामा सबैको समान पहुँच, गाउँमै गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने उद्देश्यले निःशुल्क प्राविधिक शिक्षा दिने नीति लिएका छौँ”, अध्यक्ष खड्काले भने । जीवराज आश्रित बहुप्राविधिक शिक्षालय तीन वर्षअघि स्थापना गरिएको हो । 

शेयर बजारमा निरन्तर गिरावट

काठमाडौँ ।  पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ ।

गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले बिहीबार पनि निरन्तरता पाएको हो । यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ मा खुम्चिएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रु ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ ।

बैकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव २३ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

विकास बैंक शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४५, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त शून्य दशमलव ९५ र निर्जीवन समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाईनान्स लिमिटेडको रु २२ अर्ब ७६ करोड ४१ लाख आठ सय नौ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार चार सय ९९ कित्ता शेयर किनबेच भएको छ ।

एसइईमा गणितमा एक लाख ७७ हजार विद्यार्थी अनुत्तीर्ण

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जीपीए ल्याएको जानकारी दिए ।

परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । एक लाख १४ हजार ४८ छात्र र एक लाख २८ हजार दुई सय ५७ छात्रासहित कुल दुई लाख ४२ हजार तीन सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको छ ।

बोर्डका अध्यक्ष शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार सात सय ९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका जानकारी दिए । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले बताए । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । एक सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडड आउँछ ।

सबैभन्दा बढी गणितमा अनुत्तीर्ण 

यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ । गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा डा शर्माले बताउनुभयो ।

सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।

साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्रा डा शर्मा बताउनुहुन्छ । उहाँका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतिजा सुधार भएको हो ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ विद्यार्थीले १ दशमलव ६० देखि २ दशमलव ० जिपिए ल्याएका छन् ।

त्यस्तै एक सय ८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३ दशमलव ६० देखि ४ दशमलव ० जिपिए, ६८ हजार दुई सय ५६ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए र ७८ हजार आठ सय ७४ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए, ४१ हजार एक सय ७७ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए र दुई हजार ९५० जनाले २ दशमलव ०० देखि २ दशमलव ४० जिपिए ल्याएका छन् ।

यस्तो छ प्रदेशको नतिजा 

बिहीबार सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार आठ सय ७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार आठ सय ४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार तीन सय २७ विद्यार्थी सहभागी भएकामा ४९ हजार दुई सय २४ जनाको ननग्रेड (एनजी) आएको छ ।

मधेश प्रदेशमा ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार दुई सय ८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार नौ सय ८८ जना सहभागी भएकामा ३९ हजार आठ सय ९५ जनाको ननग्रेड (एनजी) आएको छ ।

गण्डकी प्रदेशमा ४० हजार पाँच सय २६ विद्यार्थी सहभागी भएकामा २० हजार दुई सय ७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार तीन सय ८० जनाको ननग्रेड आएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार चार सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार चार सय १० जनाको ननग्रेड आएको छ । उनीहरुले पुरक परीक्षामा सहभागी हुनुपर्ने छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

काठमाडौं महानगरले थाल्यो डेङ्गु फैलन नदिन लार्भा नष्ट अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ ।

नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

“रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उनले भने ।

भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् ।

रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने ।
   
लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताए । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उनले भने ।

डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ ।

अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ  । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

अफगानिस्तानमा बाढीमा परी सात जनाको मृत्यु, १० बेपत्ता

मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

अफगानिस्तानको बामियान प्रान्तमा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु हुनुका साथै अन्य १० जना बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल सबौर सिघानीले बताए ।

अधिकारीका अनुसार प्राकृतिक प्रकोपले याकावलाङ जिल्लाको केही भाग प्रभावित बनेको छ । बाढीका कारण ज्यान गुमाएकाहरूको खोजी भइरहेको छ ।

मृतक वा बाँचेकाहरूको शव निकाल्ने प्रयास भइरहेको छ । बाढीले दर्जनौं घर र खेतीयोग्य जमिन समेत बगाएको अधिकारीहरुले बताएका छन् ।

त्यस्तै उत्तरी बदख्शान प्रान्तको यामगान जिल्लामा मङ्गलबार आएको बाढीले ४० घर र ३०० एकडभन्दा बढी खेतीयोग्य जमिन नष्ट गरेको छ ।

‘सरकार महिनौँदेखि दूधको भुक्तानी नदिएर किसानलाई रुवाएर बस्ने हो ?’

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई दूधको मूल्य भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बास्कोटाले दूधको भुक्तानी नदिएर सरकारले किसानलाई किन रुवाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘किसानले दूधको भुक्तानी किन नपाएको हो ? महिनौँदेखि भुक्तानी नदिएर किसानलाई किन रुवाएको ? किसानलाई रुवाएर सरकार हासेर बस्ने हो ?’

उनले दूध खरिद गरेको निजीक्षेत्र व्यापार र नाफामा लिप्त रहेको र जवाफदेहिता नभएको बताए । उनले भने, ‘निजी क्षेत्रले पनि हलो हड्काएर गोरु पड्काउन पाउँदैन । नाफा चाहने त्यसमा लगानी गर्ने निजी क्षेत्र पनि बेखबर बस्न मिल्दैन ।’

लम्की स्किनको महामारी रहे पनि त्यसमा सरकारले ध्यान नदिएको उनले बताए । उनले सरकारले पैसाको अभाव भएको भनेर रमिता हेरेर बस्न नमिल्ने बताए ।

उनले भने, ‘मल, बिउ र कपडा किन्ने पैसा छैन ? बच्चाको स्कुलको फिस तिर्न पैसा छैन । बाबुआमा बिरामी छन्, सिटामोल किन्ने पैसा छैन । यस्तो खालको रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन सरकारलाई सोध्न चाहन्छु, एक वर्षदेखि एउटै कुरा दोहोरिरहन्छ भने जनताले आशा कसरी गर्ने ?’

उनले किसानले आफ्नो पसिनाको मूल्य माग्दा भिख मागेको जस्तो व्यवहार सरकारले गरेको आरोप लगाए । उनले किसानले अब फ्रान्सको जस्तो ट्याक्टर लिएर सडकमा जानुपर्ने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘किसानले के गर्ने फ्रान्समा जस्तो ट्याक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लगेर सडकमा छोड्नुपर्ने हो त ? यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’

बीआरआईमा कच्चा कुटनीतिक चाल नचाल्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद साउदले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाए ।

उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको बताए । उनले भने, ‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ ।’ 

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजोको आरोप लगाए ।

उनले भने, ‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृथ्वी नारायण शाहले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो बलियो थिए तर, निर्जिव थिए । तरुल गतिशिल थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो । तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौँ भन्ने सन्देश दिने र त्यसलाई सत्तासमीकरण बनाउन प्रयोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौँ भन्ने कच्चा कुटनीतिक चाल नचाल्न सरकारलाई आग्रह गरे ।

विपदमा परेका नागरिकका फाइल खोल्न गृहमन्त्रीलाई सांसद खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।

खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद खतिवडाले एक वर्ष हुँदासम्म त्यहाँका पहिरो पीडितहरुका लागि गृहमन्त्रालयअन्तरगतको विपद प्राधिकरणले प्रभावकारी काम नगरेको भन्दै आपत्ति जनाए। एक वर्षअगाडि ताप्लेजुङ र ओखलढुंगामा भएका विपदका फाइलहरू गृहमन्त्रालयमा थन्किएर रहेको उनको भनाइ छ।

खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई विपदमा परेकाहरूको फाइल हेर्न समेत आग्रह गरे । उनले भने, ‘गत वर्ष असार ७ गतेका दिन ओखलढुंगामा एकै गाउँमा बाढीले ४ जनाको मृत्यु भएको थियो। झन्डै २३ घरधुरी क्षति भएका थिए भने १५० बढी घरधुरीहरू विस्तावित भएका थिए। म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, तपाईं धेरै फाइलहरू हेरिरहनु भएको छ । कमसेकम विपदमा परेका फाइलहरू,जनतालाई राहत दिने फाइलहरू, पुनस्र्थापना दिने फाइलहरू, फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलहरू हेर्न गृहमन्त्रीको ध्यान जाओस्।’

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता, ८ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजीकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेतसहित करिब ३० जनाको टोली दुई महिनादेखि जङ्गलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धवलागिरि आइसफल ट्रेकमा दुई वर्षदेखि पदमार्ग निर्माण भइरहेको छ ।

पर्यटन विभागसँग दुईवटा प्याकेजमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले आइसफल पदमार्ग बनाउन थालेको हो । गत वर्षदेखि पदमार्ग बनाउने काम गरेको कम्पनीले प्रतिकूल मौसम र बाढी, पहिरोका कारण योजनालाई सम्पन्न गर्न दुई वर्ष लागेको जनाएको छ । बस्तीदेखि टाढा र हिमालको नजिकका भूभागमा पदमार्ग बनाउन मजदुर र व्यवस्थापकहरू वनजङ्गलमै त्रिपाल टाँगेर बास बस्ने गरेका छन् । हिमालको फेदी नजिकै बाटो बनाउनुपर्ने भएकाले जङ्गलमै बसेर काम गर्नुपरेको बस्नेतले बताए ।

आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट सुरु भएको आइसफल पदमार्ग निर्माण योजनाअन्तर्गत अहिले सिँढी चिनेर पदमार्ग बनाउने कामले गति पाएको छ । निर्माण कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले दुई वटा प्याकेजमा कुल एक करोड ५४ लाख रुपैयाँबजेटबाट ठेक्का सम्झौता गरेको र अहिलेसम्म आठ किलोमिटर बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए ।

‘यो वर्षमात्रै तीन किलोमिटर बढी पदमार्ग बनाएका छौँ, असारभित्रमा योजनालाई सम्पन्न गर्ने गरी काम भैरहेको छ, अक्करे भिरबाहेक अन्य ठाउँको पदमार्ग बनाएर सक्ने हाम्रो लक्ष्य हो, विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था बाहेकका अन्य सबै अप्ठेरो ठाउँमा सहज रूपमा आवतजावत गर्न सक्ने गरी काम गरिरहेका छौँ’, उनले भने ।

यसवर्ष छिस, कछुवा ओढार हुँदै धवलागिरि भ्यू प्वाइन्ट हिलसम्मको नदी किनार र घना जङ्गलमा व्यवस्थित पदमार्ग बनाउने काम भैरहेको छ । पदमार्ग बनाउन सोलुखुम्बु, उदयपुर, पाल्पा, नुवाकोट, रसुवालगायतका जिल्लाबाट मजदुरहरू यहाँ आएका छन् ।

दुई समूहमा बाँडिएर झाँडी फाँडेर पदमार्ग बनाउने गरेको फुर्वा तामाङले बताए । जङ्गल, भिर पहाड र खोला किनारमा दुई मिटर फराकिलो सिँढी चिनेको पदमार्ग निर्माण हुन थालेपछि पर्यटकहरूलाई धवलागिरि आइसफल आधार शिविर पुग्न सहज हुन थालेको छ । परम्परागत गोरटो बाटोमा सिँढी चिनेपछि पदमार्ग चिटिक्क भएको छ ।

उच्च हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक हुने र हिमपात तथा वर्षाको प्रतिकुलताका बीच पदमार्ग बनाउने कामलाई तीव्रता दिएको कार्यक्षेत्रमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि लाक्पा लामाले बताए ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधाराक्षेत्रबाट गत वर्षदेखि पदमार्ग निर्माण थालिएको थियो । यस पदमार्गअन्तर्गत कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ ।

यसअघि चिमखोलाका स्थानीयले कोखे भिरमा पहाड काटेर पदमार्ग बनाउने प्रयास गरे पनि कडा चट्टानको कारण उक्त भिरमा अझै ५० मिटर बढी पहाड काट्न काट्न बाँकी रहेको छ ।

धवलागिरि भ्यू हिलको भिर र खोँचमा पदमार्ग बनाउन कठिनाई भएपछि पर्यटन विभागले पुल बनाउने गरी अध्ययन गरिरहेको जनाएको छ । गत वर्ष ससलधारादेखि पदमार्ग बनाउन सुरु गरेकोमा यस वर्ष कालीबराह दोभान अघिदेखि काम भैरहेको छ ।

चिमखोलादेखि घ्यासीखर्क हुँदै आधार शिविर जाने बाटोमा कोखेभिर र धवलागिरि भ्यू पोइन्ट हिलको भिरबाहेक अन्य सबै ठाउँमा सुविधाजनक पदमार्ग निर्माण हुन लागेको वडा नं ७ अध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए ।

‘आइसफल पदमार्ग सहज बन्दै गएको छ, हामीले पदमार्गसँगै खोलाहरू पुल र ठाउँ–ठाउँमा आश्रयस्थल पनि बनाउनपर्छ भनेर पहल गरिरहेका छौँ, दुई ठाउँको भिरमा पदमार्ग छिचोलियो भने एक दिनमै सहजै आधार शिविर पुग्ने पूर्वाधार तयार हुन्छ’, वडाध्यक्ष पाइजाले भने । उनले पदमार्ग निर्माणसँगै कालीबराह खोला र रघुगङ्गा नदी समेतमा झोलुङ्गे पुलहरू बनाउन आवश्यक रहेको बताए ।

म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरी २०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्ग तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

अहिले चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धवलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुइसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि नयाँ वैकल्पिक पदमार्गको रुपमा धवलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भैरहे पनि सूचनामूलक संकैतबोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लजहरू निर्माण हुन सकेका छैनन् ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । 

जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोट निर्माण

जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् ।

सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, “उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए ।

बायोहाइब्रिड रोबोट विशेषज्ञले यो प्रविधिले एक दिन एन्ड्रोइडको आविष्कारमा मानव जस्तो उपस्थिति र क्षमताको साथ भूमिका खेल्ने आशा गरेका छन् ।

“हामीलाई आशा छ, जीवित प्रणाली र संयन्त्रहरूको वैज्ञानिक अध्ययन (फिजियोलोजी) ले मुजाको बनावट र अनुहारको हाउभाउबारे जानकारी दिन मद्दत गर्नेछ,” प्राध्यापक शोजी टेकुचीको नेतृत्वको टोलीले भनेको छ ।

प्रायः सिलिकन रबरबाट बनेको वास्तविकजस्तो देखिने छालाले ढाकेको नयाँ सामग्रीले परम्परागत ‘ह्युमनोइड रोबोट’ भन्दा एक कदम अगाडिको विकासको सङ्केत दिन सक्छ तर यसले पसिना वा आफैलाई निको पार्न सक्दैन ।

वैज्ञानिकहरूको लक्ष्य ‘जैविक छालामा निहित आत्म–उपचार क्षमतासहितको रोबोटको निर्माण गर्नु हो’ तर उनीहरू अझै त्यहाँ पुगिसकेका छैनन् ।

यसअघिका अध्ययनहरूमा उनीहरूले प्रयोगशालामा हुर्केको छालाको कटमा कोलेजनलाई रोबोटिक औंलाले ढाकेर यसलाई कसरी मर्मत गर्न सकिन्छ भनेर अध्ययन गरी यसको नतिजा बाहिर ल्याएका थिए ।

तरल पदार्थको रूपमा सर्ने ‘प्राकृतिक मुस्कान’ को रूपमा वर्णन गर्न, उनीहरूले छाला जस्तो कोषलाई पानी र तातोको उपस्थितिमा स्टार्च अणुहरूको अन्तरआणविक बन्धनहरू तोड्ने प्रक्रिया अर्थात् वास्तविक मानव छालाको लिगामेन्टबाट प्रेरित एक विधि (जिलेटिनाइज्ड) गरी रोबोटको प्वालभित्र राखेका छन् ।

यमनका हुथी र इराकी सैनिकद्वारा इजरायलविरुद्ध संयुक्त आक्रमण

यमनको हुथी समूहले इराकी लडाकूसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ ।

“इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज ’एमएससी मान्जानिलो’लाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको छ,” हुथी सैन्य प्रवक्ता याह्या सारियाले अल–मसिराह टेलिभिजनमार्फत जानकारी दिए ।

उनले आक्रमणले पूर्ण सफलता हासिल गरेको जानकारी दिए । “हामी प्यालेस्टिनी जनताको समर्थनमा इराकी इस्लामिक प्रतिरोधसँग यो संयुक्त सैन्य कारबाही जारी राख्नेछौं,“ सारियाले यस आक्रमणलाई इजरायल–प्यालेस्टाइन सङ्घर्षसँग जोड्दै भने ।

उनले प्यालेस्टाइनमा इजरायली आक्रमणको अन्त्य र गाजामा नाकाबन्दी हटाउन माग गरेका छन् । इजरायली अधिकारीहरूले अहिलेसम्म कथित हुथी आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।

साथै संयुक्त राज्य सामुद्रिक व्यापार अपरेसनले बुधवार यमनको बन्दरगाह सहर एडेनको दक्षिणमा एउटा व्यापारी जहाज नजिकै पनि मिसाइल विस्फोट भएको जानकारी दिएको छ । रिपोर्टले चालक दललाई कुनै चोटपटक नलागेको र जहाजले आफ्नो यात्रा जारी राखेको संकेत गरेको छ ।

नोभेम्बर २०२३ देखि हुथीहरूले गाजा द्वन्द्वमा प्यालेस्टिनी समर्थनको दाबी गर्दै ढुवानी जहाजहरुमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएका छन् ।

पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरणको स्वीकृति

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबीचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गरेको छ ।

लगानी मामिला बोर्डको महत्वपूर्ण बैठकको अध्यक्षता गर्दै सरिफले आन्तरिक तथा विदेशी लगानी प्रवर्द्धन सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए ।

सरकारले व्यापारी तथा लगानीकर्तालाई व्यापार अनुकूल वातावरण प्रदान गर्न सबै सम्भव उपायहरू गरिरहेको उनको भनाइ छ ।

सरिफले विशेष आर्थिक क्षेत्र (सेज) मा संयुक्त उद्यम परियोजना स्थापना गर्न इच्छुक चिनियाँ र अन्य लगानीकतालाई सुविधा प्रदान गर्न विशेष आर्थिक क्षेत्रमा एक–स्टप–शपका लागि मस्यौदा कानूनको समीक्षा गर्न पनि निर्देशन दिएका छन् ।

चिनियाँ उद्योगहरू जस्तै कपडा, छाला, जुत्ता र अन्यलाई पाकिस्तानमा स्थानान्तरण गर्ने महत्त्वपूर्ण सम्भावना रहेको, प्रधानमन्त्री सरिफले पहलको महत्त्वमाथि प्रकाश पारे ।

बैठकमा लगानी बोर्डका सचिवले चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरण गर्ने सम्बन्धमा चालिएको कदमबारे विस्तृत जानकारी दिएका थिए ।

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी चयन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । 


बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । 


विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गर्नुभएका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् । 

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सम्पन्न

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सम्पन्न गरेको छ।

राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउन सबै प्रदेशका मातहतका कमिटीमा प्रतिवेदनमाथि छलफल गर्न पठाइएको थियो। सबै प्रदेशले सुझाव समावेश गरी केन्द्रमा पठाएका छन्।

सबै प्रदेशमा खुला छलफल गरी मातहत कमिटीले केन्द्रमा पठाएका सुझाव समावेश गरी केन्द्रीय चारवटा प्रतिवेदनलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मतिले अनुमोदन गरेपछि एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।

असार १६ देखि २० सम्म काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा प्रस्तुत गरिने छ। पार्टीका नीति तथा कार्यक्रम पारित तथा नयाँ नेतृत्व चयन गर्ने विषयमा थप एकताबद्ध गर्ने विश्वास गरिएको छ।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन तयार पारेका हुन्।

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन्। उक्त प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ।

प्रतिवेदनमा समाजवादको स्वरूप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन्। मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ।

विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ। कायम रहेको ७० वर्षीय उमेरहद हटाउने भनिएको छ। युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

सांगठनिक दस्तावेजमा देशभर पार्टी संगठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त संगठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन्। सशक्त पार्टी निर्माणका लागि संगठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै संगठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण काम महाधिवेशन केन्द्रित गर्न भनिएको छ। उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ।

पार्टी तथा जनसंगठनका सबै तहका कमिटीहरूले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुनेगरी पार्टी संगठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको स्थायी समिति सदस्य रायमाझीले जानकारी दिए।

पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ। छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ।

तत्कालीन नेकपा एमालेबाट करिब तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ। विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको छ। 

सहज बन्दै बेनीका सडक

म्याग्दी । बेनी नगरपालिका-९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन्। ‘घर अगाडिको बेनी-पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो। हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,’ उनले भने, ‘विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए। गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदलयात्रा गर्दथ्यौँ।’

बेनी-पाखापानी सडकको बेनीदेखि अर्थुंगे हुँदै जम्रेनी सम्मको सडक स्तरोन्नतिपछि भए पैदल हिँड्न छाडेर गाडीमा यात्रा गर्न थालेको सुवेदीले बताए। जम्रेनीका दण्डपानी जस्तै बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको छ। मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ती मिलेका थिएनन्।

सडक साँघुरा थिए। यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो। त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे। हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो।

स्थानीय तह, प्रदेश र संघीय सरकारको लगानीमा सडक ढलान, कालोपत्र, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो। सडक यातायातको सुविधाका कारण बेनी नगरपालिको भकिम्लीको राखु, मरेक, बास्कुना, थामडाँडाका किसानले उत्पादन गरेको सुन्तलाले बजार पाएको छ।

गत याममा सिंगाको बास्कुना, सुर्केमेला र थामडाँडाबाट एक करोड पाँच लाख र राखु मरेकबाट एक करोड ५० लाख रूपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको किसान रहेका बेनी नगरपालिका-४ का वडा सदस्य सन्दिप खत्रीले बताए।

सिंगा र बास्कुनाबाट दैनिक पाँच सय लिटरका दरले बेनीमा दूध निकासी हुने गर्छ। सडक स्तरोन्नति हुन थालेपछि यात्राअवधि छोटिएको, आवतजावत गर्न सहज भएको र ग्रामीण क्षेत्रमा सम्भावना, अवसर सिर्जना भएको बेनी नगरपालिका-४ सिंगा तातोपानीका लोकनाथ आचार्यले बताए।

बेनी नगरपालिकाले यसवर्ष उपल्लो तातोपानी बजारसहित ६ वटा सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत योजना कार्यान्वन गरेको छ। बेनी बजारमा उपभोक्ता समितिमार्फत सडक कालोपत्र भएको छ। तीन वटा योजना योजना सम्पन्न भइसकेका र तीन वटा निर्माणको अन्तिम चरणमा रहेको बेनी नगरपालिकाका इञ्जिनीयर सुदिप गौतमले जानकारी दिए।

यी आयोजनाबाट दुई किलोमिटर भन्दा बढी सडक कालोपत्र र ढलान हुने इञ्जिनीयर गौतमले बताए। उपभोक्ता समितिमार्फत सञ्चालित ६० वटा सडक योजनाका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पाँच करोड रूपैयाँ बजेट विनियोजन भएको ६ वटा ठेक्कामार्फत कार्यान्वयन भएका सडक योजनाको निर्माण कम्पनीसँग तीन करोड ३६ लाख रूपैयाँमा सम्झौता भएको थियो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिएको बताए।

‘राष्ट्रिय राजमार्ग र प्रदेश सरकारले काम गरिरहेको बाहेकका सडकलाई नगरपालिकाले स्तरोन्नतिमा जोड दिएको छ,’ उनले भने, ‘नगरपालिकाको प्राथमिकता प्राप्त बेनी-पाखापानी सडक आयोजना अन्तर्गत बेनीदेखि अर्थुंगे हुँदै जम्रेनीसम्म यसैवर्षभित्र कालोपत्र र ढलान गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरी प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन्। ‘नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ,’ उनले भनिन्, ‘उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौँ।’

साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए। नगरपालिकाले पाँच लाख रूपैयाँभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गरेको छ। बेनी नगरपालिकाको ६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति गर्ने योजनालाई बेनी नगरपालिकाले प्राथमिकताका साथ निरन्तरता दिएको छ।

संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमार्फत बेनी नगरपालिका-१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको चरणमा छ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाले बेनी नगरपालिका ८ कालिपुलको सडक अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न एक करोड रूपैयाँ बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको छ।

म्याग्दी प्रवेश गर्ने कालीगण्डकी मोटरेबल पुलदेखि पर्वत बगरफाँट जोड्ने बेलिब्रिज सम्मको सडक कालोपत्र गर्न लागिएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए।

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी नगरपालिका-८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर १०२ मिटर बेनी-गलेश्वर खण्डमा गत पुस महिनामा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको थियो। बेनी नगरपालिकामा गण्डकी प्रदेश सरकारमार्फत यस वर्ष दुई वटा ठूला सडक आयोजना कार्यान्वयन थालिएको छ।

१० करोड रूपैयाँको लागतमा बेनी-पाखापानी सडकको भुतेदैला-नेप्टेचौर-तोरीपानी र पाँच करोड ५९ लाख रूपैयाँको लागतमा बेनी-भकिम्ली सडकको बगरफाँट-दूधेखोला-हल्लेगौँडा क्षेत्रमा स्तरोन्नति गर्ने आयोजना सुरु भएको हो।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी १२ वटा योजनालाई चार करोड १० लाख रूपैयाँ विनियोजन भएको थियो। अधिकांश योजना निर्माण सकिएका र केही सम्पन्न हुने चरणमा रहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ। नगरपाकिलाका ग्रामीण सडक स्तरोन्नति हुने क्रमसँगै सहज र सर्वसुलभ यातायात सेवाका लागि नगर बस सञ्चालन गर्नुपर्ने नगरवासीको माग छ।

बेनी नगरपालिका-६ बाँसबोटकी लक्ष्मी पौडेलले ग्रामीण सडकमा चल्ने जीपको तुलनामा सस्तो भाडादर हुने बस सञ्चालन गर्न नगरपालिकाले अगुवाइ र पहल गर्नुपर्ने बताइन्। नगरक्षेत्रमा अटोरिक्सा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ। यसैगरी स्तरोन्नति भएका सडकमा चल्ने सवारी साधनको भाडादर पनि समायोजन गर्नुपर्ने उनले बताइन्।

बाढी पहिरो पीडितको राहत तथा उद्धारका काममा तीव्रता दिन सांसदहरुको माग

काठमाडौँ । सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले मनसुन सुरु भइसकेको अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङलगायत विभिन्न प्राकृतिक विपद्का घटना बढेकाले जोखिम न्यूनीकरण र पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग माग गरे ।

सांसद मानवीर राईले बाढी र पहिरोले सोलुखुम्बुका विभिन्न सडकखण्ड भत्किएर यातायात सेवा अवरुद्ध भएको तथा केही व्यक्तिको घरमा क्षति पुगेको विषय संसदमा  उठाए ।

सांसद अमनलाल मोदीले देशभर बाढीपहिराको समस्या सिर्जना भएको भन्दै त्यसतर्फ  सरकारको ध्यानाकर्षण गराए । उनले तत्काल उद्धार र राहतको कदम चाल्न माग गरे ।

     सांसद अमरेशकुमार सिंहले विद्युत् प्राधिकरणको लापरवाहीले केही ठाउँमा बिजुलीको तार लत्रिएको अवस्थामा रहेको र करेन्ट लाग्ने जोखिम देखिएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

सांसद रामहरि खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै  ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँमा उपचार भइरहेको सदनलाई जानकारी गराए । खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनबहादुर गुरुङले कास्कीका विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनधनको क्षति भएकाले पीडितलाई राहत, क्षतिपूर्ति तथा सहज स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउन सदनमार्फत् सरकारसँग माग गरे ।

सांसद उर्मिला माझीले लमजुङका विभिन्न स्थानमा बाढी, पहिरो र चट्याङजस्ता मनसुनी विपद्का कारण ६ जनाले ज्यान गुमाउनुपरेको सदनलाई जानकारी गराइन् ।

सांसद किरण साहले विपद् व्यवस्थापनका लागि सरकार र मातहतका निकायको ध्यानाकर्षण गराइन् । जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा ध्यान दिन उनले सरकारसँग माग गरिन् ।

सांसद अब्दुल खानले मङ्गलबार र बुधबार भएको वर्षाका कारण देशभर २० जनाले ज्यान गुमाएका तथा १६ जनाभन्दा बढी घाइते भएको जानकारी गराउनुका साथै शिक्षा क्षेत्रमा विकृति बढिरहेको विषयमा विस्तृत अनुसन्धान गर्न सरकारसँग माग गरे । 

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, २८ जनाको मृत्यु

काठमाडौँ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् ।

यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

चट्याङबाट क्षति

सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए ।

पार्टी आफ्नो चरित्रमा फर्किने नै हो

गणेश कार्की ।
असाध्यै धेरै साथीका फोन र म्यासेज आइरहेका छन् । यसैले सबैलाई भन्दैछुः
फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुल्ला बहस गर्ने सोचको पक्षपाती हुँ । हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म । रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु । पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम् को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभावी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचि मिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न शुरू कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।

मलाई विश्वास छ – पार्टीले आफ्ना गल्ती सुधार्ने नै हो । पार्टी आफ्नो चरित्रमा फर्किने नै हो । पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइदैन भन्ने सबूत प्रमाण म छु । नाजायज काम गरेकाहरू मात्र हुन्, विचारसँग डराउने । यदि कोही तपाईं सामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुन पर्दैन भन्नुहोला । पार्टी अब बन्दैछ, आफ्ना गल्तीहरू शुरूदेखि सुधार गरेर ।

संसदीय समितिको बैठकमा शिक्षामन्त्रीले सांसद पर्खनुपर्दा …

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ः३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित भएकी थिइन् ।

निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित ६ सांसद मात्रै उपस्थित भएपछि बैठक सुरु हुनसकेन ।

‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको विधेयक’माथिको छलफलका लागि राखिएको बैठकमा १०ः३० बजेपछि समितिका लागि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरुको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गरिन् ।

“म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाउँ भन्ने सोचेको हो तर सोचे जस्तो भइरहेको छैन ।’’, सभापति थापाले भने, “समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’’

समितिको आजको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका लागि कुलपति प्रधानमन्त्री राख्ने नराख्ने, उपकुलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्ने लगायत विवाद भएको थियो ।

उक्त विवादलाई आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न समितिले सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिएको छ । राष्ट्रियसभाबाट पारित सो विधेयकको दफा २८ सम्म छलफल भएको छ ।

मुग्लिन–पोखरा सडकको ५३ किलोमिटर कालोपत्र पूरा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ। असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो।

मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ। हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ।

असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले बताए।

पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ। तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ। हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनियर पाण्डेले बताए।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम जारी छ। सडक विस्तारको कार्य शीघ्र सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम थालिएको हो। चार लेनमा विस्तार गर्ने उक्त सडकको काम चिनियाँ कम्पनीले गरिरहेको छ।

पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किलोमिटर क्षेत्र पश्चिम खण्डमा पर्छ। यसैगरी, जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किलोमिटर सडक पूर्वी खण्डमा पर्छ। पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको हो। पूर्वी खण्डको लागत रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार हो। सम्झौताअनुसार आयोजनाको काम आगामी भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ।

झापाको सकेनिन्दा खोला किनारमा मत्ता हात्ती मृत फेला

झापा । झापाको मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो ।

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोला किनारमा पुगेको छ । झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने बताए ।

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए  ।

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक आइसीसी टी२० विश्वकपको फाइनलमा पुगेको छ ।
वेस्ट इन्डिजको ट्रिनिडाडमा बिहीवार बिहान भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो।

दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।

कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो।

अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।

‘घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने कुनै सहमति भएको छैन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने विषयमा कुनै समझदारी नभएको खनालको सचिवालयले जनाएको छ ।

बुधबार साँझ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरी खनाल र भुसालका बीचमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशामा एकमत भएर जाने समझदारी बनेपनि अन्य विषयमा कुनै सहमति नभएको बताएका हुन् । बुधबार दिउँसो विभिन्न संचारमाध्यममा खनालले भुसाललाई अध्यक्षमा समर्थन गरेको समाचार आएका थिए ।

रुसी सेनामा कार्यरत तनहुँका एक युवकको मृत्यु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । 

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।

उनले भने, ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।’

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरेका छन् । ‘फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्’, गुरुङले भने ।

स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिए । उनले भने, ‘घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।’

आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरे । उनले  भने, ‘मेरो वडाले एक होनहार युवा गुमाएको छ ।’

रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।