`

ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

पाटन (ललितपुर) । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । 

पाँच करोड ७५ लाख ९२ हजार ६ सय २७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिबार उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताए ।

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई  प्रत्यक्ष लाभान्वित हुने बताइन् । “कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ”, उनले भनिन् ।

कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे । 

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध

गलकोट (बागलुङ) । गएराति भीषण वर्षासँगै खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् ।

कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले पूर्ण रूपले सडक अबरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।

रातो किताब अनधिकृतरूपमा सार्वजनिक भएको  भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

गोदावरी (कैलाली) ।  नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब)सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ । 

संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेशसभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृतरूपमा सार्वजनिक भएकामा प्रदेश सरकारको लापरबाही गरेको आरोप समेत लगाएको छ । 

संसदीय दलद्वारा जारी  विज्ञप्तिमा सरकारको लापरबाहीका कारण रातो किताब अनाधिकृत व्यक्ति मार्फत सार्वजनिक भएको उल्लेख छ  ।

विज्ञप्तिमा भनिएको छ, ‘रातो किताब सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पार्टीले माग गर्दछ ।  रातो किताब जस्तो अतिगोपनीय र संवेदनशील दस्तावेज अनधिकृतरूपमा सार्वजनिक हुँदासमेत सरकारले मौनता बस्नु हुँदैन ।’

  दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा यस विषयमा सरकारको आधिकारिक धारणाको माग गर्दै   छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत दिएको उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप लागेको छ । उनले टोखाका रामशरण केसीसँग दुई करोडको चेक लिएका प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको बताइन्छ । यसअघि शुक्रबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादका छोरा प्रतिक थापालाई बौद्धबाट पक्राउ गरेको थियो ।

श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि

सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ ।

श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्याङ्क विभागको यो तथ्याङ्क सार्वजनिक भएको हो ।

खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १.०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ ।

सन् २०२२ मा श्रीलङ्काले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक सङ्कट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो ।

श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ ।

देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् ।

आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।

उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि सारेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् ।

भरतपुर महानगरले शनिबार चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे ।

सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए ।

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्दनमा जोड दिँदै प्रधानमन्त्री दाहालले कृषिकर्मका माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले दुग्ध किसानलाई अनुदान उपलब्ध गराउने, कृषि प्रवर्दन गर्ने र रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाएको बताए ।

भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनका सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध गराउने व्यवस्था मिलाइने बताइन् । कृषकमैत्री कार्यक्रम कार्यान्वयन गरी उत्पादकत्व बढाउने उल्लेख गर्दै उनले खाद्यान्नमा चितवनलाई आत्मनिर्भर बनाउन आफू क्रियाशील रहेको बताइन् ।

कांग्रेस सांसद पौडेलको नेतृत्वमा चक्रपथ विस्तारका लागि दवाव यात्रा

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारका लागि दवाव यात्रा गरिएको छ । चक्रपथ विस्तार हुन बाँकी रहेको क्षेत्रमा शनिबार दवाव यात्रा गरिएको हो ।

कलंकीदेखि धोविखोलासम्मको क्षेत्रमा यात्रा गरिएको हो ।पौडेल काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । चक्रपथ विस्तार  हुन बाँकी क्षेत्रमा चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो । तर काम भने पूरा भएको छैन ।

केही दिनअघि सांसद पौडेलले चक्रपथ विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ राजदूतलाई भेटेका थिए । काठमाडौंको चक्रपथ समयमै निर्माण सम्पन्न नहुँदा यहाँका बासिन्दाको स्वास्थ्यमा असर परेको छ ।

खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

काठमाडौँ । गङ्गा बुढाथोकी उमेरले पाँच दशक पार गरिन् । उनको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । श्रीमान हुँदासम्म खेतमा सहयोग हुन्थ्यो । भक्तपुरस्थित चागुँनारायण नगरपालिका–९ की गङ्गालाई एकल भएपछि पनि एक्लै खेती सम्हाल्नुपरेको छ ।

“छोराछोरी विदेशमै रमाउछन्”, उनले भनिन्, “श्रीमान हुनुहुन्न, खेती मैले नै धान्नुबाहेक अरु उपाय छैन ।” गङ्गाको खेती आकासेपानीमा निर्भर छ । खनजोत गर्नको लागि अरुसँगै हारगुहार गर्नुपर्छ । एउटा हाते मेसिन मात्रै भइदिएको भए पनि उहाँले आफ्नै बलमा खेती उतार्न सजिलो हुने बताउँछिन् । वडा र नगपालिकामा मेसिन माग्न जाँदा खासै चासोले नलिने गरेको उनको अनुभव छ ।

ताथलीका महिला किसान समूहकी अध्यक्ष सत्यरुपा बुढाथोकी पनि महिला किसानलाई एउटा ट्र्याक्टरको सुविधा भए खेती गर्न सहज हुने बताउनुहुन्छ । खेती खन्ने युवा गाउँ डुल्दा पनि भेटिदैनन् । कतिपय महिलाले ट्र्याक्टर र हातेमेसिन चलाउन जान्दैनन् । ट्र्याक्टर र हातेमेसिन चलाउने सीप नहुँदा कुटो कोदालोले खेत खन्नुपर्ने विडम्बना रहेको उनले बताइन् ।

ललितपुर गोदावरी नगरपालिका–१३ का ४० वर्षिया कृषक गीता थापाको अवस्था पनि उस्तै छ । विदेश गएका श्रीमानको खर्चमा खेती किसानी गर्दै आएको उनी बताउँछिन् । सिँचाइ सुविधा नहुँदा उनीहरुले कोदालोले खनेरै खेती गर्नुपर्छ । कोदालोको भरमा काम गर्नुपर्दा खेताला धेरै आवश्यक पर्ने भएकाले खर्च पनि उत्तिकै बढ्ने उनको भनाइ छ ।

आकासको पानी पखाई गर्दागर्दै उनले कोदालोले नै खनेर खेत रोपाइँका लागि तयार पार्नुभएको छ । “धान रोप्न खानेपानी किनेर सिँचाइ गर्नुपर्छ, आर्थिक अभावले गर्दा आकासकै भरमा छु”, उनले भनिन्, “हाम्रो सबैभन्दा ठूलो समस्या सिँचाइ नै हो ।”

बिहानदेखि बेलुकासम्म खेत खन्दा समय र शरीर दुवै खियानुपर्ने बाध्यतामा यहाँका महिला किसानले खेती गर्दै आउनुभएको छ । “सानो हाते मेसिन र ट्र्याक्टर भइदिए हातभरि फोका उठाउनु पर्दैनथ्यो”, गीताले भन्नुभयो, “गाउँमै कसैको घरमा पनि मेसिन र औजार नहुँदा हातैको भर खेती गर्दै आएका छौँ ।”

राष्ट्रिय महिला किसान महासङ्घका अध्यक्ष गङ्गालक्ष्मी अवालेले कृषिमा महिलाको योगदान जति छ, त्यति राज्यले न्यायोचित व्यवहार नगरेको बताइन्। अनुदानमा आउने राज्यको सुविधाबाट महिला किसान वञ्चित छन् । पढेलेखेका र टाठाबाठा पुरुषले नै किसानको नाममा अवसर पाएको उनको बुझाइ छ ।

अनुदानमा आएका कुनै पनि सुविधाबाट महिलाले सहजै पाउने स्थिति नहरेको अवालले बताइन् । “महासङ्घले यस्ता महिला किसानलाई कृषिको पहुँचसम्म पुर्‍याउन मद्दत गर्दै आएको छ”, उनी भन्छिन्, “तर, स्थानीय सरकारले समेत यस्ता महिला किसानलाई प्राथमिकतामा पारेको देखिंदैन ।” उनका अनुसार राज्यले वास्तविक किसानको पहिचान गर्न घरदैलो र खेतमै पुग्नुपर्छ ।

कृषिविद् योगेन्द्रकुमार कार्कीले किसानमा लैङ्गिक संवेदनशीता नहुँदा सबैभन्दा बढी मर्कामा महिला किसान परेको बताए । “विगतमा जसरी पुरुषले खेती गर्थे अबको स्थिति त्यस्तो छैन”, उनले भने,“घरका श्रीमान र छोराहरु कमाइ गर्न विदेसिने र घरमै बस्ने महिलाले खेती सम्हाल्नु पर्ने अवस्था छ ।” महिलामैत्री खेती औजार नहुनु, अनुदानमा महिलालाई सहज पहुँच नपुग्नु, आर्थिक अभावका कारण खेती गर्न चुनौती खेप्नुलगायतका समस्या महिला किसानले भोग्दै आउनुभएको उनले बताए ।

कृषि सचिव हुँदा बखत महिला किसानको पक्षमा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिंदै आए पनि अहिलेसम्म यसको गम्भीरता नदेखिएको कार्कीले सुनाए । “अहिले खेतीपातीको अधिकांश काम महिलाले नै धानेका छन्”, उनले भने, “हाम्रा कृषि नीतिमा कहीँ कतै महिलामैत्री न त शब्द छ, न योजना ।” उनी अब कृषि नीति २००४ मा संशोधन गरी महिला किसानमैत्री बनाउन जरुरी ठान्छन्। “तालिमहरु पनि श्रीमानले नै लिने गर्छन्,” उनले भने, “प्राङ्गारिक मल बनाउन महिलाको सङ्ख्या अधिक छ तर उहाँहरुलाई प्रशिक्षण र प्रोत्साहनको अभाव छ ।”

स्वच्छ ऊर्जा नेपाल, खाद्यका लागि कृषि अभियान र अक्सफामले २०७१ मा गरेको “महिला किसान चुनौती र अवसर” अनुसन्धानमा महिला किसानमैत्री नीति नबन्दा धेरै महिला किसान अन्यायमा परेको निश्कर्ष निकालेको थियो । अनुसन्धानमा उल्लेख भएअनुसार महिला किसानको लागि भनेर सरकारले २०१३ सालमा योजनाबद्ध आर्थिक विकासको सुरुवात गरेको थियो । राज्यको छैँठौ योजनामा पहिलोपटक “थप कृषि कार्यक्रम गरी महिला कृषकको सहभागिता बढाउने” बाक्य समावेश भएको थियो । त्यसपछिका योजनाहरुमा विस्तारै महिला किसानका शब्द हराउँदै गए ।

आर्थिक वर्ष २०४९/५० मा कृषि तथा सहकारी मन्त्रालयले “महिला कृषक विकास महाशाखा” गठन गरेको थियो । यो नै पहिलोपटक महिला किसानलाई प्राथमिकतामा राखेर बनाईको महाशाखा थियो । बाली एवं पशुजन्य उत्पादनमा महिला कृषकको संलग्नता, उत्पादन सामग्रीहरुमा उनीहरुको पहुँचजस्ता विषयमा अध्ययनसमेत गर्दै आएको थियो ।

यसैका आधारमा महिला कृषक विकास कार्यक्रमको पाँचवर्षे कार्ययोजना समेत तयार भयो । यसलाई कार्यान्वयन गर्न आठौँ पञ्चवर्षीय योजनाले नीतिगत व्यवस्था समेत ग¥यो । यसअनुसार मन्त्रालयअन्तर्गतका केन्द्रीय स्तर एवं जिल्लास्तरीय निकायहरु सञ्चालन हुने कृषि विकास कार्यक्रमहरुमा महिला सहभागिता बृद्धि गर्ने व्यवस्था मिलाइयो ।

यसैको निरन्तरतास्वरुप नवौँ योजनाले कुनै पनि कृषि विकासका कार्यक्रमहरुमा कम्तिमा ३५ प्रतिशत महिला कृषकको सहभागिता हुनैपर्ने मापदण्ड तोकेको छ ।

लैङ्गिक अवधारणा विषयक गोष्ठी, विभिन्न तालिममा तोकिएको यस्तो प्रतिशतले महिला किसानको अनिवार्य अस्तित्व स्वीकार गर्नु राम्रो पक्ष हो, भलै ८९ प्रतिशत महिला कृषि क्षेत्रमा लागेका हिसाबले हेर्दा यो उचित प्रतिशत भने थिएन । कृषि तथा सहकारी मन्त्रालयले २०६१ मा महिला कृषक विकास महाशाखालाई लैङ्गिक समता तथा वातावरण महाशाखामा रुपान्तरण ग¥यो । २०७० सालमा आएर यसको नाम फेरिएर खाद्य सुरक्षा तथा वातावरण महाशाखा भयो । महिला किसान शब्द हरायो ।

कृषि तथा सहकारी मन्त्रालयकै २०११ को तथ्याङ्कअनुसार कम्पोष्ट मल हाल्नेमा ९६ प्रतिशत महिला सहभागी हुन्छन् भने सिँचाइमा उनीहरुको भुमिका ५० प्रतिशत हुन्छ । त्यसैगर गोडमेलमा महिला किसानको भूमिका ७० प्रतिशत हुन्छ भने बाली भित्र्याउनेमा ६३ प्रतिशत हुन्छ । आइफाडका अनुसार कृषि श्रममा ६० प्रतिशतभन्दा बढी महिला संलग्न छन् तर उत्पादन प्रविधि र तालिममा भने उनीहरुको पहुँच न्यून भएको उल्लेख छ । नवौँ पञ्चवर्षीय योजनाले कृषिसम्बन्धी सबै कार्यक्रममा महिला सहभागितामा कम्तिमा ३५ प्रतिशत हुनैपर्ने तोकेको थियो । यद्यपि व्यवहारमा सन्तोषजनक उपस्थिति नरहेको अनुसन्धानले खुलाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। संगीता सिंह किसान र महिला किसानलाई समग्रह रुपमा बुझ्न नमिल्ने बताउँछिन् । किसान महिला अरुभन्दा केही फरक हुने बताउँछिन् । उहाँहरुको शारीरिक बनावट र साक्षरताका कारण पनि बढी महत्वका साथ कृषि कार्यक्रम ल्याउनु पर्ने उनले महशुस गरिन् ।

यद्यपि राष्ट्रिय योजनाका कार्यक्रममा महिला किसान नै भनेर शिर्षकगत कुनै बजेट छैन । “समग्रमा किसानलाई महिला किसानमा मिसाउनु न्यायोचित हुन्छ भन्ने मलाई लाग्दैन”, उनले भनिन्, “मन्त्रालयअन्तर्गत कार्यक्रममा महिला किसान लक्षित कार्यक्रमहरु बनाउन सकिन्छ, जुन जरुरी पनि छ ।” यहाँले महिला किसानको प्राथमिकतामा राज्यले नीति बनाउन चुकेको बताउदै प्राथमिकता मूल्याङकन गरेर किसान महिला प्रोत्साहन गर्नुपर्ने बताइन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले देशका अधिकांश किसान महिला नै भएको स्वीकार गरिन्। मन्त्रालयले किसान कार्ड बनाएर महिला र पुरुष किसानको आवश्यकताअनुसार प्रोत्साहनका कार्यक्रम ल्याउने उनले बताइन् । “मैले गर्ने हरेक कार्यनीतिमा महिला किसान प्राथमिकतामा पर्छन्”, उनले भनिन्,“त्यसै अनुरुप कार्ययोजना बनाएको छु । महिलामैत्री प्रविधि ल्याउन पहल गर्नेछु ।”

चितवन पुगेर प्रधानमन्त्रीले रोपे मेसिनबाट धान

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् । धान दिवसको अवसरमा शनिबार चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्रीले मेसिनबाट धान रोपेका हुन् ।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी साह बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायत सांसदहरु चितवनमा धान दिवस मनाउन पुगेका थिए ।

राष्ट्रपति पौडेलले गरे शीतल निवासमै धान रोपाइँ(फोटोफिचर)

काठमाडौं । धान दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमै धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत सहभागी भएका थिए । त्यसक्रममा राष्ट्रपति पौडेलले खेतमा बाउसे गरेका थिए ।

पुष्पलालको जन्मशताब्दी र नेपाली कम्युनिष्ट आन्दोलन

महेन्द्रप्रकाश सिवाकोटी ।
नेपालको कम्युनिष्ट आन्दोलनका आरम्भकर्ता पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । शहीद गङ्गालालको भाइ पुष्पलाल, परिवारको माइलो छोरो हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ‘कू’ गरेपछि भारत निर्वासित हुनु भएको थियो । निर्वासनकै क्रममा उहाँ गम्भीर रूपमा बिरामी हुनुभयो । उपचारकै क्रममा २०३५ साउन ७ गते भारतस्थित नयाँदिल्लीमा उहाँको निधन भयो ।

नेपालका कम्युनिष्ट र नेपाली काँगे्रस मिलेर संयुक्तरूपमा जनआन्दोलन गरेमा नेपालमा प्रजातन्त्रको बहाली हुन्छ भन्ने उहाँको विचार थियो । आज पनि पुष्पलालको विचारलाई विश्लेषण गरेर भन्ने हो भने नेपालका कम्युनिष्ट र नेपाली कांग्रेस दुवै मिलेर जनताको भावना अनुरूपको समृद्ध नेपाल निर्माण गर्न अगाडि बढ्ने हो भने मुलुकले निश्चय नै विकासको ठूलो फड्को मार्नेछ । देश समृद्ध हुनेछ र नेपाली जनता सुखी हुनेछन् ।

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरूष हुनुहुन्थ्यो–पुष्पलाल । नेपाली कम्युनिष्ट राजनीतिमा उहाँको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिष्ट पार्टी स्थापना र उक्त सङ्गठन विस्तारका लागि उत्प्रेरकको भूमिका निर्वाह भएको थियो । पुष्पलालको परिवार राजनीतिक रूपमा अपरिचित थिएन । उहाँका आफ्नै दाजु गङ्गालाललाई २२ वर्षको कलिलो उमेरमा राणा शासकहरूले गोली हानेर हत्या गरेका थिए । सानैदेखि राजनीतिक परिवेशमा हुर्केका र आफ्नै अगाडि दाजुको गोली हानी हत्या गरेको अवस्था अनि घरमा भइरहने राजनीतिक जमघट र गतिविधि किशोर पुष्पलालका लागि प्रेरक घटना बनेका थिए । दाजु गङ्गालालले आफ्नो हत्या हुनुअघि “आफूले गर्न नसकेको प्रजातन्त्रको स्थापनाको कार्यभारलाई तिमीले गाउँको कुनाकुनासम्म पुर्याउनु” भन्ने सन्देशलाई उहाँले जीवनभरि पछ्याइरहनुभयो । गङ्गालाललाई शोभाभगवतीमै हत्या गरेकै दिन पुष्पलालले नेपालबाट पारिवारिक राणा र सामन्ती सत्ताको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गर्नु भएको थियो ।

कम्युनिष्ट पार्टीको स्थापना

विसं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको गठन गर्नुभयो । सङ्घमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बनाएका थिए । सङ्घले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका सीपमूलक तालिम दिने गरिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउन पुष्पलालले भित्रभित्रै नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टङ्कप्रसाद आचार्यलगायत अरू नेताहरूको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो ।

त्यस्तै २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । यसका संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ आदि थिए ।

कम्युनिष्ट पार्टीको घोषणापत्र

पुष्पलालले नेपालमा कम्युनिष्ट विचारधाराको व्यापक प्रचार–प्रसार गर्न कार्लमाक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभयो । सो घोषणापत्र माक्र्सवादी विचारको नेपाली भाषामा पहिलो साहित्य हो । २००६ वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता छ भन्ने महसुस गरी नेपाल कम्युनिष्ट पार्टी स्थापनार्थ सङ्गठन समितिको गठन आफ्नो नेतृत्वमा गर्नुभएको थियो । यसका सदस्यहरूमा गोविन्द निरन्जन वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । यस सङ्गठन समितिले २००६ भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रका साथ विधिवत् नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्यो । पार्टी स्थापना भएपछि विस्तारै कम्युनिष्ट पार्टीको सदस्यमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजङ्ग रायमाझी आदि जोडिनुभयो ।

विसं २००८ मा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो । नेपालको आधुनिकीकरणका लागि ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो । यही बैठकले नेपालमा नयाँखाले पुँजीवादी जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकतालाई जोड दियो यसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइएको थियो । क्रान्तिपछि राज्यको स्वरूप नयाँ जनवादी गणतन्त्र हुने घोषणा गरिएको थियो । यसले नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद–साम्राज्यवाद विरोधी सबै दलहरूलाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने तथा निजी र सरकारी दुवै क्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता, बोल्ने, लेख्ने, सम्पत्ति आर्जन गर्ने र सबै प्रकारका मौलिक हक हुने कार्यक्रम ल्याएको थियो । त्यस्तै स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरिएको थियो । त्यस्तै क्रान्तिकारी भूमिसुधार लागू गर्ने, जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, गास, बास र कपासको अनिवार्य व्यवस्था राज्यले गर्नुपर्ने आदि महत्वपूर्ण कुरा यसमा उल्लेख गरिएका थिए ।

समाज अध्येता पुष्पलाल

आफ्ना समकालीन नेताहरूभन्दा फरक पुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित हुनु भएन । उहाँले नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई माक्र्सवादी–भौतिकवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिको कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नुभयो । नेपाली समाजको विश्लेषणको क्रममा पुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्ध–औपनिवेशिक रहेको निष्कर्षमा पुग्नुभएको थियो । २०२५ सालको तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उहाँ दीर्घकालीन सशस्त्र किसान क्रान्ति सङ्घर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको थियो ।

उहाँले नेपाली समाजमा पूर्ण प्रजातान्त्रिक (जनवाद) मूल्य र मान्यताको स्थापना र सामाजिक न्यायका लागि जीवनभर आन्दोलनमा होमिनु भयो । उहाँ जहिले पनि श्रमिको हित र विशेष गरेर समाजको पिछडिएको वर्गको हितको बारेमा सोच्ने गर्नुहुन्थ्यो । २००७ सालको क्रान्तिकालमा त्रिपक्षीय दिल्ली सम्झौता (राजा, राणा, भारतबीच भएको) विरूद्ध पुष्पलालले नेतृत्व गर्नु भई राष्ट्रियताको पक्षमा सङ्घर्ष चलाउनुभयो । त्यो सङ्घर्षले नेपालमा कम्युनिष्ट आन्दोलनका लागि पर्याप्त सहयोग पुग्यो । त्यतिबेलाको नेपाली समाजमा एउटा उदाउँदो चम्किलो नेताको रूपमा आफ्नो छवि स्थापना गर्नुभएको थियो । उहाँमा सशक्त नेतृत्वदायी क्षमता थियो । उहाँ समाज परिवर्तनको प्रवर्तक हुनुहुन्थ्यो । उहाँले राणाविरोधी आन्दोलन, प्रजातान्त्रिक सुधार र निरङ्कुश शासनको अन्त्यका लागि सशक्त नेतृत्व गर्नुभएको थियो ।

उहाँको बौद्धिकता उहाँले लेखेका माक्र्सवाद र समाजवादसँग सम्बन्धित लेखकहरूबाट झल्कन्छ । प्रगतिशील बुद्धिजीवि सम्मेलनमा दिएको भाषण, नेपालमा मातृसत्तात्मक समाज, नेपालमा राजतन्त्रको उत्पत्ति विकास र यसको भविष्य (अन्त्य), नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकताका साथै उहाँले ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । साथै, नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र पनि उहाँले नै लेख्नुभएको हो । उहाँका लेख–रचनाहरू नेपाली नागरिकलाई शिक्षित र जागरूक गर्ने खालको हुन्थ्यो ।

अन्तर्राष्ट्रिय समाजवादी र कम्युनिष्ट आन्दोलनहरूसँग पुष्पलालको सम्बन्ध रहेको छ । उहाँले मस्को र बेइजिङका सम्मेलनहरूमा भाग लिनुभएको थियो । विश्वका शोषित, उत्पीडित जनताको पक्षमा सङ्घर्षरत पार्टीहरूसँग उहाँको सम्बन्ध र ऐक्वद्धता थियो । उहाँले नेपाली समाजको समाजवादी विचारधारा र सामाजिक परिवर्तनका लागि रणनीतिहरूबारे समेत चर्चा गर्न चुक्नुभएको थिएन । पुष्पलाल राजतन्त्रको प्रखर आलोचक हुनुहुन्थ्यो र नेपालमा गणतन्त्रको वकालत गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँले सामन्ती शासनभन्दा जनताको हितलाई प्राथमिकता दिने राजनीतिक संरचनामा विश्वास गर्नुभएको थियो । उहाँले नयाँ जनवादी कार्यक्रम नेपाली जनताको एक मात्र मूलबाटो कार्यक्रम नै प्रस्तुत गर्नुभयो ।

आफ्नो राजनीतिक जीवनकालभर पुष्पलालले नेपालमा पूर्ण प्रजातन्त्र (जनवाद) र समाजवादको आन्दोलनलाई बलियो बनाउन सामन्तीवाद इतर–शक्तिहरूको गठबन्धन बनाउने काम गर्नुभयो । उहाँ नेपाली जनताको उत्थान, सामन्ती शासनको अन्त र गणतन्त्रको स्थापनाका लागि नेपालका सबै सामन्तीवाद इतर–शक्तिहरूको राजनीतिक पार्टीहरूमा कार्यगत एकताको पक्षमा हुनुहुन्थ्यो । त्यही अनुरूप उहाँले टङ्कप्रसाद आचार्यले नेतृत्व गरेको प्रजा परिषद्समेतको जातीय जनतान्त्रिक मोर्चा बनाउनदेखि सामन्तवाद इतर अन्य राजनीतिक दलहरूलाई पनि संयुक्त आन्दोलनमा हिस्सा लिन उत्प्रेरणा गर्नु भएको थियो ।

पुष्पलालका विचार र सिद्धान्तले नेपालको राजनीतिक बहसलाई आज पनि निरन्तर प्रभाव पारिरहेको छ । अबको नेपाली जनताको मुक्तिमार्ग पुष्पलालको सिद्धान्त र नीतिबाहेक अर्को विकल्प छँदैछैन । आगामी पुस्ता र राजनीतिककर्मीहरू लागि सामाजिक परिवर्तन र प्रगतिको दिशामा अग्रगतिमा बढ्न चाहनेहरूले पुष्पलालको सिद्धान्त र नीतिलाई प्रेरणा तथा मार्गदर्शनको स्रोतको रूपमा लिनु अत्यावश्यक छ । समग्रमा नेपालको राजनीतिक र वैचारिक परिदृश्यमा पुष्पलालको योगदान गहिरो र दूरगामी छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरूमध्ये एक र समाजवादी सिद्धान्तहरूको प्रखर अधिवक्ताको रूपमा पुष्पलालले सामाजिक कल्याण, आर्थिक समानता र श्रमिक वर्गको अधिकारको वरिपरि केन्द्रित राजनीतिक बहसका लागि आधार तयार पार्नुभएको थियो ।

यसबाहेक पुष्पलालको प्रभाव राजनीतिक आन्दोलनहरूमा प्रत्यक्ष संलग्नताका साथै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत नेपाली समाजमा वर्गहरूको स्थिति विश्लेषण माक्र्सवादी चिन्तनको आधारमा गर्नुभएको थियो । समाजवाद र नेपालको राजनीतिक परिदृश्यमा लेखिएका लेखहरूसहित उहाँका बौद्धिक योगदानले युवा कार्यकर्ता र बुद्धिजीवीहरूका लागि मार्गदर्शन गर्ने कार्य गरेको थियो र आज पनि गरिरहेको छ । उहाँले छाडेको विचारधारा आज पनि उत्तिकै सान्दर्भिक र समसामयिक छ । लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक कल्याण र आर्थिक समानताका लागि उहाँको वकालतले नेपालमा वामपन्थी राजनीतिक दलहरूको नीति र प्राथमिकताहरूलाई आकार दिन ठूलो टेवा पुर्याएको छ ।

पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य हुन पुगेको कुरा सबैले महसुस गरेकै हो । सामाजिक न्याय, समावेशी विकास र लोकतान्त्रिक शासन व्यवस्थाका लागि चलिरहेको आन्दोलनमा उहाँको स्थायी छाप कहिले पनि मेटिने छैन । उहाँको विरासतले अझ न्यायपूर्ण, समतामूलक र पूर्ण प्रजातान्त्रिक (जनवाद) समाजका लागि चलिरहेको सङ्घर्षमा एउटा ठूलो कोसेढुङ्गाको रूपमा कार्य गरेको छ; जसले वर्तमान र भावी पुस्तालाई आफ्नो जीवनभरि एउटा प्रेरणादायक भूमिका निभाउन र पुष्पलाल देखाएको मार्गमा हिड्न सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रेरक बनोस् ।

(लेखक पुष्पलाल जन्म शताब्दी समारोह समितिका सदस्य हुनुहुन्छ)

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता

गुल्मी । गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए । सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । पहिरोले गोठ पुरिँदा एउटा भैँसी पनि मरेको छ ।

आगामी तीन दिन भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले शुक्रबार बुलेटिन निकालेर बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज राति, भोलि शनिबार र पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

यस्तै, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको डाटा सेन्टरको उद्घाटन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको शुक्रबार उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तर वितरण प्रणाली नियन्त्रण तथा  डाटा सेन्टरको उद्घाटन गरेका हुन् ।

भविष्यमा व्यावसायिक कम्पनीलाई सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालित छ ।

मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण  सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताए । उनले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे ।

एसियाली विकास बैंकका आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्वपूर्ण कोशेढुङ्गा हासिल भएको बताए  । उनले ऊर्जाको लागत घटाउन तथा  भरपर्दो सेवा प्रवाहका लागि संस्थाको डिजिटलाइजेसन आवश्यक रहेकोमा जोड दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाइ विद्युत् प्रणाली सुधार्न ‘डिजिटल एनइए’अन्तर्गत धेरै काम अगाडि बढाइएको उल्लेख गरे । उनले डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वासनीय बनाउने काम भइरहेको बताए ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तले भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।

डाटा सेन्टरका लागि तोकिएको टियर–३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न डिजिटल एनइए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटा एकीकृत भण्डार गरी क्रमश : राखिने छ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० सूचना प्रविधि र्याक छन् । जसमा ३६ सर्भर र चार नेटवर्क र्याक छन् । टियर ३ मापदण्डका लागि तोएिका सर्त पूरा गर्न आवश्यक व्यापकसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायत व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुई जेनेरेटर तयारी हालतमा राखिएको छ । तीन सय केभिए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । युपिएसको विश्वसनियतालाई ध्यान दिएर  लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नुपर्दैन । ६ फिडरबाट विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।

डाटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन  र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् ।

केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय  गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी  (Yantaif\ Dongfang Wisdom Co.LTD) सँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड  छ ।

स्मिता दाहालको ‘ज्यानमाया’

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ। दाहालले शुक्रबार ‘ज्यानमाया’ बजारमा ल्याएकी हुन् ।

नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। गीतको भिडियोमा प्रियंका कार्की र कविता नेपालीसहित सरोज वली देखिएका छन् । श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन्। भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन्।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् । प्रतिकलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको एआईजी दीपक थापाले जानकारी दिए ।

भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिएका छन् ।

उनले पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको जानकारी दिए । बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार एक लाख २६ हजार ४७९ विद्यार्थीलाई दुई भन्दा बढी विषय लागेको छ ।

बाढीले मलङ्गवाको पूर्वी क्षेत्र जलमग्न

सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र ।

तस्बिर: विश्वनाथ ठाकुर/रासस

भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित

टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल ।

उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन् । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उनले बताए।

राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताए । आफ्नो उत्पादनले माग धान्न नसकेपछि उनले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाए ।

‘ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो’, भुजेलले भने, ‘यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।’

उनको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताए ।

‘मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरुलाई सल्लाह दिने गरेको छु’, उनले भने ।

विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरु बताउँछन् । हाल यहाँ प्रति केजी  पाँच सयका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द भएको छ । शुक्रबार सूचना जारी गरी अध्यक्ष छनौट नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले प्रक्रिया रद्द गरेको जनाएको हो । समितिले गत फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो ।

गत सोमबार महान्याधिवक्ताको कार्यालयले दिएको रायका आधारमा समितिले प्रक्रिया रद्द गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेको थियो ।

छनौट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छनौट गरेको थियो । यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए ।

धितोपत्र बोर्डका अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई बोलाइएको थियो। बाँकी तीन दुवै पटक अनुपस्थित भए । धितोपत्र ऐन अनुसार छनौट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार समितिले दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछ । समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख रहनेछन् । 

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान

युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ ।

युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताइन् ।

उनले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै किएभले ईयूमा आफ्नो ‘सही स्थान’ पाउने बताए ।

जेलेनेस्कीले एक ऐतिहासिक क्षणमा आफ्नो सही स्थान पाउने बताउदै युक्रेन सुविधाअन्तर्गत अरबौँ रकम वितरण गरिने ईयू प्रमुखले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

यसअघि ईयूले गत हप्ता यूरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता सुरु गरेको अल जजिराले जनाएको थियो ।
हङ्गेरीले यस कदमलाई रोक्ने प्रयास गरेपनि गत हप्ता समूहका २७ सदस्यहरूको सम्झौता सुरक्षित भएको थियो ।

टर्की र धेरै पश्चिमी बाल्कन राज्यहरूले विलय प्रक्रियामा वर्षौं बिताएका हुनाले वार्ताले अन्ततः ईयू सदस्यतामा लैजाने सुनिश्चितता भने गरेको छैन ।

वार्ताले जारी रुस र–युक्रेनको द्वन्द्वले युरोपेली सङ्घको सदस्यता विस्तार गर्ने प्रयासलाई पुनः र्जीवित भने गरेको छ ।

युक्रेनले आक्रमणको लगत्तै पछि सन् २०२२ फेब्रुअरीमा समूहमा सामेल हुने आफ्नो इच्छा दर्ता गरÞेसंगै छिमेकी मोल्दोभा नजिकबाट पछि लागेको छ ।

वार्ता सुरु गर्न हस्ताक्षर गर्नुभन्दा पहिले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए, “यो साँच्चै ऐतिहासिक क्षण भएको र युक्रेन सधैँ एकताबद्ध युरोपको हिस्सा भएको र रहनेछ ।”

देशहरूमा कानूनले पहिले नै ईयू मापदण्डहरू पालना गरेको र अझ कति काम अगाडि छ भनेर स्क्रिनिङ गर्ने प्रक्रियाबाट प्रवेश वार्ताको सुरुवात भएको छ । त्यसपछि इयुले करदेखि वातावरणीय नीतिसम्म ३५ वटा विषयमा वार्ताका लागि सर्तहरू राख्न सुरु गर्नुपर्छ ।

अल जजिराका अनुसार, हङ्गेरीले युरोपेली सङ्घको घुमाउरो अध्यक्षता गर्ने आगामी छ महिनामा अर्को चरणतर्फ प्रगति हुने सम्भावना छैन ।

सिएनएन निर्वाचन बहसः बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको तातो बहसमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि आफू निकै बूढो नभएको पुष्टि गर्न डेमोक्रेटिक नेता जो बाइडेनलाई हम्मेहम्मे पर्यो । बहसका क्रममा व्यक्तिगत अपमानसहितका आरोपका कारण राष्ट्रपति बाइडेन बहसको सुरूतिर निकै अकमकाएको देखिन्थे ।

ट्रम्पले आफ्ना उत्तराधिकारीलाई अर्थतन्त्र र विश्व मञ्चमा असफल भएको आरोप लगाएका थिए । नेता बाइडेनले जवाफी प्रहार गर्न खोजे तर उनको प्रस्तुती डगमगाइरहेको थियो किनकी रिपब्लिकन नेता ट्रम्पले चर्को र छिटो आवाजमा व्यक्तिगत अपमानसहितका आरोप लगाएका थिए ।

प्रतिउत्तरका लागि बाइडेनले केहीबेर अकमकाएका थिए । तयारीका लागि एक हप्ता एकान्तमा बिताएपछि भएको बहस प्रदर्शनले राष्ट्रपति बाइडेनको डेमोक्रेटिक पार्टीभित्र नयाँ चिन्ता पैदा गरेको थियो किनभने सर्वेक्षणहरूले ट्रम्पलाई नोभेम्बरको चुनावको लागि बराबरी वा अगाडि देखाएको छ ।

राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच भएको यो पहिलो बहस थियो र दुवैले एकअर्कालाई इतिहासकै सबैभन्दा खराब भएको आरोप लगाएका थिए ।

ट्रम्प र बाइडन, जो पहिलो पटक निर्वाचित हुँदा सबैभन्दा वृद्ध राष्ट्रपति थिए, उनीहरूले एक अर्कालाई बच्चाजस्तो भएको आरोप समेत लगाए ।

एटलान्टास्थित सीएनएनको मुख्यालयमा ८१ वर्षीय बाइडेन र ७८ वर्षीय ट्रम्पले हात मिलाएका थिएनन् । त्यहाँ प्रत्यक्ष श्रोताहरू थिएनन् र अन्यले बोल्दा उनीहरूको माइक्रोफोनलाई आवाजविहीन (म्युट) गरिएको थियो ।

बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा दोषी ठहरिएका पहिलो अपराधी हुने भन्दै लाखौं टेलिभिजन दर्शकसामु सम्झाउने प्रयास गरेका थिए । बाइडेनले भने, “तपाईंसँग ‘गल्लीको बिराला’ को जस्तो नैतिकता छ ।”

र्याली र रियलिटी टेलिभिजन सोमा काम गरेका ट्रम्पले बाइडेनको रेकर्डबारे गुनासोको लामो फेहरिस्त नियाल्दै चर्को स्वरमा भने, “म धेरै मानिसहरूसँग साथी हुँ । संयुक्त राज्य अमेरिकाको हालत के भएको छ भनेर उनीहरूले विश्वास गर्न सक्दैनन् । अब हामी सम्मानित छैनौं ।”

ट्रम्पले बाइडनको डेलिभरीलाई समात्ने प्रयास गर्दै बहसको क्रममा बोलेको शब्दहरूमाथि व्यङ्ग्य गर्दै भने, “वास्तवमा वाक्यको अन्त्यमा के भन्नुभयो मैले बुझ्न सकिन । सायद, उहाँलाई पनि त्यो वाक्यको अन्त्यमा के भन्नुभएको थियो भन्ने जानकारी छैन होला ।’

सुस्त सुरूवात 

बहसपछि खाना लिन जाँदै गर्दा वाफल हाउस रेस्टुरेन्टमा रोकेर बाइडेनले पत्रकारसँग भने, “मेरो घाँटी दुखेको थियो, तर मलाई लाग्छ हामीले पहिलो कार्यकालमा राम्रो गरेका छौं ।” बाइडेनको पहिलो कार्यकालका समय ह्वाइट हाउस स्पष्ट रूपमा क्षति नियन्त्रण गर्ने मोडमा थियो ।

उपराष्ट्रपति कमला ह्यारिसले सीएनएनलाई दिएको प्रत्यक्ष अन्तर्वार्तामा बाइडेनको रेकर्ड ‘असाधारण रूपमा बलियो’ भएको बताइन् । ह्यारिसले भनिन्, “हो, सुरुवात सुस्त थियो, तर सशक्त अन्त्य भएको छ ।”

बाइडेनका पूर्वसञ्चार निर्देशक केट बेडिङफिल्डले सीएनएनसँग कुरा गर्दै राष्ट्रपतिका लागि यो निकै निराशाजनक साँझ भएको बताए । “यसलाई कम गर्ने अर्को कुनै तरिका छ भन्ने मलाई लाग्दैन,” उनले भनिन् ।

सीएनएनको एक सर्वेक्षणले बहसमा सहभागीमध्ये ६७ प्रतिशतले बहसमा ट्रम्पले जितेको बताएका छन् । डेमोक्रेटहरूले अगस्टमा सिकागोमा बाइडेनलाई आफ्नो उम्मेदवारको रूपमा औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन् । राष्ट्रपति स्वयंले फिर्ता उम्मेदवारी नलिएसम्म मार्ग परिवर्तन गर्ने कुनै उपाय छैन ।

प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जुलियन जेलिजरले बहसको प्रस्तुितबाट बाइडेनका समर्थकहरू निकै चिन्तित हुने बताए ।

प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जुलियन जेलिजरले बाइडेनका समर्थकहरू निकै चिन्तित हुने बताएका छन् । “बाइडनले आधारभूत धारणालाई बढावा दिनुभएको छ यसले उहाँलाई ओझेलमा पारिरहेको छ,” उनले भने ।
सान फ्रान्सिस्कोमा आयोजित ‘वाच पार्टी’मा हेजल रिट्जले “उनले भनेको एक शब्द पनि म बुझ्न सक्दिनँ । के यो दुःखद होइन र?” अझै पनि उहाँले बाइडेनलाई मतदान गर्ने बताए ।

– नितान्त व्यक्तिगत आरोप प्रत्यारोप –

कुनै पनि उम्मेदवारले नयाँ नीतिहरू राखेनन्, अधिकांश भनाइहरू एकअर्काले गरेका खराब प्रदर्शनबारे गरिएका आपसी आलोचनामा सीमित थिए ।

बाइडेनले व्यक्तिगत क्षणमा ट्रम्पले नोर्मान्डी अवतरणमा मारिएका सैनिकलाई ‘सकर’ को संज्ञा दिएको र इराकमा सेवा गरेका र पछि क्यान्सरका कारण मृत्यु भएका आफ्नै छोरा ब्यूलाई उल्लेख गरेको उल्लेख गरेका थिए ।

बाइडनले भने, “मेरो छोरो हारेको थिएन, मूर्ख पनि थिएन । बरू तपाईँलाई यो भन्न सुहाँउँछ । तपाईं ‘हरूवा’ हो ।” ट्रम्पले उक्त टिप्पणीको खण्डन गर्दै बाइडेनलाई सुसंगत नभएको आरोप लगाएका थिए । विदेश नीतिका विषयमा बाइडनले इजरायललाई समर्थन गरेको भन्दै डेमोक्रेटिक पार्टीका केही सदस्यबाट आलोचना खेपिरहेका बाइडेनले हमासविरुद्धको कारबाहीका सन्दर्भमा इजरायललाई सहयोग नगरेको आरोप लगाए ।

पूर्व राष्ट्रपति ट्रम्पले भने, “बाइडेन त्यसो गर्न चाहनुहुन्न । उहाँ प्यालेस्टिनी जस्तै बन्नुभएको छ । तर उनीहरूले पनि उहाँलाई मन पराउँदैनन् किनभने उहाँ धेरै खराब प्यालेस्टिनी हसनुहुन्छ । कमजोर हुनुहुन्छ ।”

ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनलाई बाइडेनले गरेकोे ‘अमेरिकी इतिहासको सबैभन्दा लज्जाजनक क्षण’ भन्दै यसले रूसलाई युक्रेनमाथि आक्रमण गर्न प्रोत्साहित गरेको बताएका थिए ।

विदेशमा कुनै पनि सैनिक जोखिममा नपरेको उल्लेख गर्दै बाइडेनले यस्तो नीतिका लागि आफू पहिलो सफल राष्ट्रपति भएको दावी गरे ।

ट्रम्प र बाइडनबीच गर्भपतन र आप्रवासनका विषयमा पनि विवाद भएको थियो । बाइडेनले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरेको प्रसङ्गमा ट्रम्पको आलोचना गर्दै भने, “यो भयानक कुरा हो, तपाईंले जे गर्नुभयो, त्यो भयानक कुरा थियो । अमेरिकी नागरिकले यसलाई बिर्सिने छैनन् ।”

मञ्चमा उपस्थित नहुनेमा चार वटा राष्ट्रिय चुनावमा सीएनएनको १५ प्रतिशत पुग्ने थ्रेसहोल्ड पूरा गर्न असफल एक उम्मेदवार संस्थापन विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जुनियर थिए । केनेडीले ९० मिनेट लाइभस्ट्रिममा प्रश्न लिएर बिताएका थिए ।

एसइईमा आधाभन्दा बढी विद्यार्थी असफल हुनुको कारण समीक्षा गर्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनीहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गरेका हुन् ।

बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताइन् ।

उनले भनिन्,“उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?”

सांसद रेखा यादवले एसइईको परीक्षामा के कारणले विद्यार्थी असफल यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने बताइन् ।

सांसद प्रदीप पौडेलले एसइईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गरे ।

सिधाकुराका सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीनजनाविरूद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो । तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा पेस भएको छ । प्रतिवादीलाई १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले विद्युतीय कारोबार ऐन २०६३ र मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार अपमानजनक व्यवहारको कसूरमा सजाय र क्षतिपूर्ति मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

झुटा प्रमाण बनाउन नहुनेभन्ने कसुरमा समेत प्रतिवादीविरुद्ध थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको प्रयोगशाला परीक्षणबाट पनि पुष्टि भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका स्टिङ अपरेसनसम्बन्धी भ्रष्टाचारका मुद्दा मिलाउन सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कान्तिपुर मिडिया ग्रुपपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासहितका व्यक्ति सम्मिलित बैठकको स्टिङ अपरेसन भन्दै सिधाकुरा अनलाइन र अनलाइनको युट्युब च्यानलमार्फत गत वैशाख १४ मा ‘डार्क फाइल’ नाम दिएर अडियो सामग्री प्रसारण/ प्रकाशन गरिएको थियो ।

उनीहरुविरुद्ध सर्वोच्च अदालतल आफैँले सरोकारमा लिएर चलाएको अवहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चको संयुक्त इजलासले गत जेठ ३० गते बृहत् पूर्ण इजलासमा पठाउन आदेश गरेपछि नौजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास बनाउने निर्णय भएको छ । बृहत् पूर्ण इजलासका लागि पेसीको मिति भने तोकिएको छैन ।

टेरामक्स प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रियः सांसद बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बस्नेतले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए । सांसद बस्नेतले कार्यविधिका कारण एकै व्यक्तिलाई भूकम्प र बाढी पहिरोको अलगअलग राहत वितरण गर्न कठिनाइ देखिएको बताए ।

उनले दूध व्यवसायी किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे । सांसद बस्नेतले सहकारीमा निमुखा आर्थिकरुपमा विपन्न गरिब जनताको अर्बांै रकम अपचलन भएको भन्दै छानविन समितिलाई चाँडो निष्कर्षमा पुर्याउन आग्रह गरे ।

फरक प्रसङ्गमा उनले टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक  २५ अर्ब घोटाला हुनबाट जोगिने उल्लेख गरे । आफूले ठूलो आँट गरेर सुरु गरेकोे यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने बताए ।

सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छः सांसद गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा गुरुङले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । उनले प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको बताए ।

उनले भने, ‘प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता, श्रेष्ठता, पुष्टि गर्न सकेको छैन । हामीले प्रहरीलाई ध्वस्त बनाएका छौँ । एउटा प्रहरीले कुनै व्यक्तिले मुद्दा हाल्यो भने प्रहरीले नेतासँग सोधेर मात्रै उजुरी लिन्छ । सांसदहरुसँग सोधेर मात्रै लिने कि नलिने भनेर फैसला गर्छ । कतिधेरै राजनीतिकरण भयो ? कति धेरै भ्रष्ट बनाइयो ? यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठ्न सक्दैन ।’

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई सङ्घीयताले छुन नसकेको उनको भनाइ थियो ।

यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले आगामी दिनमा विपद्बाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्छ भनेको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राख्नुभएको स्मरण गरे ।

जबजको कार्यान्वयनमाथि प्रश्नै प्रश्न

मोनिका सिंह ।
पूर्वी युरोप लगायत संसारका अधिकांश मुलुकबाट जुनबेला कम्युनिष्ट सत्ता धमाधम ढलिरहेको थियो त्यही बेला नेपालमा भने कम्युनिष्टहरु क्रमशः सत्ता नजिक पुग्दै थिए। सांसरभर भएको घटनाको अपवाद थियो नेपाल । १९९० मा कम्युनिष्ट सत्तालाई संसारभरीबाट बिदा गरिरहदा नेपालमा भने प्रभावशाली बनिरहको थियो। ओरालो लागेको कम्युनिष्ट सत्ता नेपालमा उकालो लाग्नुको कारण हुनुहुन्थ्यो जननेता मदनभण्डारी र उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद । ससारबाट कम्युनिष्ट सकिए भन्ने पूजीवादी प्रचार भएको बेला नेपालमा त्यसको विरुद्ध ठिङ्ग उभिनु भएको थियो जननेता मलन भण्डारी जवजको सिद्धान्त लिएर ।

जननेता मदन भण्डारी नेपाली राजनीतिमा आदरणीय नाम हो । कम्युनिष्ट आन्दोलनलाई डोर्याएर अघि बढाउने प्रणेता समेत रहनुभएका जननेता मदनले प्रतिपदान गर्नुभएको जनताको बहुदलीय जनवाद सिद्धान्त नेपाली राजनीतिको एउटा कोशेढुंगाको रूपमा रहेको छ । यो सिद्धान्त अनुसरण गरेको पार्टी नेकपा एमाले ३० बर्ष देखि कहिले सत्ता र कहिले प्रतिपक्षमा छ। जननेता मदनभण्डारीकी पत्नी विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति भइसक्नु भएको छ। उहाँ त देशको सर्बोच्च पदमा पुगिसक्नु भएको छ। तर मदन भण्डारीले स्थापित गरेको जबजले कति उचाई प्राप्त गर्यो ? यो प्रश्न पनि धेरेको मनमा बसिरहेको छ।

जबजको नीतिकै आधारमा नेकपा एमालेले बहुलवादी राजनीतिलाई स्वीकार गरेर विक्रम संवत २०४८ सालको आम निर्वाचनमा सहभागी भई मुलुकको प्रमुख प्रतिपक्षी दलको रूपमा स्थापित भएको स्वर्णीम इतिहास छ । त्यसपछि पटकपटक मुलुकको सत्ताको बागडोर सम्हालेर विकासको मुल फुटाउन सकेको हो ।

मार्क्सवादको रचनात्मक प्रयोगको रूपमा परिचित जबजमा प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने जस्ता उत्तम विशेषताका कारण यो विगतमा मात्र होइन, वर्तमान समयमा समेत सान्दर्भिक छ । पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत जननेता मदनको मुक्तकण्ठले प्रशंसा गर्छन् ।

तर जबजले प्रतिपादन गरेको सिद्धन्तका यी बुँदामा भने प्रश्न यथावत छ । कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ भनेर जबजमा उल्लेख छ। तर पटक पटक संविधान मिच्ने प्रयास भएको, पार्टीमा गुटबन्दी मौलाएको र एउटाले अर्कोलाई समाप्त पर्ने कल्पना जबजले गरेको थियो ?

शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन भन्ने जबजको ब्याख्या माथि प्रश्न उठेको छैन र ? पटक पटक सत्तामा भएको बेला न्यायापालिका , कार्यपालिका र व्यवस्थापिकामा अनावश्यक हस्ताक्षेप भएको कुरा जबजले स्विकार गर्न सक्ला ?

राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ भन्ने जबजको मान्यात ब्यबहारमा लागु भएको छ ? अहिले संसदमा भएको सत्ताका फोहोरी खेलले जबजलाई गिज्याएको पो छ कि ?

बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो भन्ने जबजको ब्याख्या अहिलेको संसदमा लागु भएको होला त ? । त्यसो भए संसदमा तेस्रो स्थान भएको पार्टीले किन सरकारको नेतृत्व गरिरहेको छ ? के माथि उल्लेख भएको जबजले गर्न खोजेको यही थियो ?

कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन भन्ने जबजको ब्याख्यमाथि दण्डहीनता र राजनीतिमा अपराधीकरणको घटनाले प्रश्न उठाएको छैन र ? हत्या अभियोगमा जेल संजाय भोगेर जेल सजाय काटी रहेका अपराधीहरु राजनीतिक संरक्षाणमा बीचैमा छुट्दा उनीहरुले दल्ने अविरले राजनीतिमा कालो पोतिएको छैन र ? नीति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने । सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने भन्ने जबजको व्याख्यालाई व्यवहारमा उतारेको बिषयले प्रश्नै प्रश्न उठाएको छैन ? पार्टीमा आफ्नो गुटको नेतृत्व हत्याउन अनेक अनुचित तरिका प्रयोग गरेको घटना नेपाली जनताको आँखामा छिपेको छ र ?

यी हुन् जापानको नेपाली विद्यालयबाट एसइई उत्तीर्ण जाम्बियाका विद्यार्थी

काठमाडौँ । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले जानकारी दिए ।

विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका उनले जानकारी  दिए । “शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् ।”, प्राचार्य भट्टले भने ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरुपमा हेरिएको छ ।

सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी चार सय ५० विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा छ जना जापानी विद्यार्थी पनि अध्ययनरत छन् ।

नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रुपमा मान्यता प्रदान गरेको छ । त्यस विद्यालयमा सञ्चालित एसइई परीक्षाको अनुगमन टोकियोस्थित नेपाली दूतावासले गर्दै आएको छ ।

सो विद्यालयमा नेपाल, जापान, भारत, फिलिपिन्स, अमेरिकालगायत मुलुकका ६२ शिक्षक प्राध्यापनरत छन् । उक्त विद्यालय नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एक मात्र माध्यामिक विद्यालय भएको प्रधानाध्यापक भट्ट बताउँछन्।

प्रश्न पत्रको ढाँचा परिवर्तन भएका कारण पनि एसइई परीक्षाको समग्र नतिजा केही फरकपन देखिएको प्रतिक्रिया दिँदै उनी भन्छन्, “पहिलो घोकन्ते खालको थियो, यसपटक विद्यार्थीले पाठ्यक्रमलाई बुझेर उत्तर दिनुपर्ने खालका प्रश्न आएका छन्, यो राम्रो पक्ष हो ।”

प्रश्नको ढाँचा परिवर्तन भएसँगै शिक्षकलाई पनि सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको उनको भनाइ छ । पूर्वाधार तयार नहुँदासम्म पुराना र नयाँको बीचको प्रश्नपत्रबाट सुरु गरेर विस्तारै आधुनिकीकरणतर्फ लैजान उनी सुझाव दिन्छन् । विश्वव्यापीरुपमा विद्यार्थीलाई परीक्षामा अनुत्तीर्ण गर्ने अभ्यास नरहेको दृष्टान्त दिँदै प्रधानाध्यापक भट्टले माध्यामिक परीक्षामा उत्तीर्ण सङ्ख्या बढाएर लैजानुपर्ने सुझाव दिए ।

सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा वेषभूषा, रहनसहन, गीतरसङ्गीत जापानलगायत अन्तर्राष्ट्रिय समुदायमा पुर्याउने काम गर्दै आएको टोकियोस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी बताउँछन् ।

बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेसा व्यवसायसँग जोडिएर पुग्नेक्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छाड्न नपरोस् भनी गैरनाफामूलक संस्थाका रुपमा त्यहाँको नेपाली समाजको अगुवाइमा उक्त विद्यालय स्थापना गरिएको हो । अध्ययनसहित विभिन्न पेसा व्यवसाय गरी हाल जापानमा एक लाख ७५ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् ।

यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारी

काठमाडौं । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ ।

नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ ।

नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । उत्तरबाट–दक्षिणतर्फ बहने अधिकांश नदी, खोलानाला र खहरेले नेपालमा बर्षायाममा निम्त्याउने बाढी पहिरोबाट बर्सेनि ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले पनि बाढी र पहिरोको जोखिमलाई थप मलजल गरेको छ । विपद्बाट कूल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको अवस्था छ ।

पछिल्ला १० वर्षमा मौसमजन्य विपद् (बाढी पहिरो, भारी वर्षा र चट्याङ) बाट तीन हजार ५२ को मृत्यु, सात सय ९१ बेपत्ता तथा चार हजार एक सय ७६ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । यस अवधिमा आठ हजार चार सय ४१ विपद्का घटना भएकामा ८५ हजार छ सय ४६ परिवार प्रभावित भएका थिए ।

गत वर्ष सात सय ६९ विपद्का घटनाबाट ६३ जनाको मृत्यु, ६९ घाइते तथा ३० जना बेपत्ता भएका थिए । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम, बागमतीको दक्षिण पूर्वी, मधेसको मध्यभाग र कोशीको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा ३५ देखि ४५ प्रतिशतले बढी वर्षा हुने अनुमान छ ।

मनसुनजन्य विपद्बाट यस वर्ष करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान छ । विपद्बाट करिब ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने आँकलन गरिएको छ ।

यस वर्ष कोशीमा चार लाख ९५ हजार तीन सय ५२, मधेसमा चार लाख २९ हजार चार सय चार, बागमतीमा एक लाख ४५ हजार आठ सय ८३, गण्डकीमा एक लाख १० हजार पाँच सय ५४, लुम्बिनीमा तीन लाख ३६ हजार पाँच सय ५८, कर्णालीमा ५० हजार चार सय ६४ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ३३ हजार एक सय ९० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान छ । पहाडमा पहिरो तथा तराईमा बाढीबाट जनधनको क्षति हुनसक्ने प्राधिकरणले जनाएको छ ।

मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका छन् । यस अवधिमा कूल एक सय ४७ विपद्का घटना भएका र ती घटनामा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको तथ्याङ्क गृह मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यसबीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घरमा पूर्ण क्षति पुगेको छ । दश वटा घरमा आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक नोक्सानी भएको छ । मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

विपद्को पूर्वअनुमान गर्दै पूर्वतयारी तथा प्रतिकार्यका कामलाई प्रभावकारी रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ । गृह मन्त्रालय, प्राधिकरण र सम्बन्धित सरोकार भएकाहरूको सहभागितामा उच्च जोखिममा रहेका स्थलका लागि ‘फ्लाइङ स्क्वार्ड’ तयारी अवस्थामा राखिएको, खोज, उद्धार र राहतका निम्ति अपुग स्रोतसाधनको व्यवस्थापनका लागि समन्वय गरिएको छ ।

सप्तरी, रौतहट, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका अति जोखिमयुक्त १३ स्थानीय तहका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान गरिएका तथा चितवन, सिन्धुपाल्चोक, महोत्तरी, झापा, सुर्खेत, बर्दिया र सर्लाहीका १५ स्थानमा साइरन जडानको तयारी भइरहेको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।

सुरक्षा निकायले विपद्का समयमा खोज तथा उद्धारमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखेका छन् । यस वर्ष नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिका छन् ।

नेपाली सेनाले आफूसँग रहेका हवाई साधनलाई मनसुनजन्य विपद्को अवस्थामा यथाशीध्र परिचालन गर्न कोसी र मधेस प्रदेशका लागि पूर्वी पृतना इटहरी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको लागि पश्चिम एयर वेस सुर्खेतमा र बागमती, गण्डकी, मधेस र कोशी प्रदेशको लागि मध्य एयर बेस काठमाडौँमा एक/एकवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।

यसबाहेक आवश्यक परेको खण्डमा थप परिचालनका लागि सातै प्रदेशमा परिचालित हुनसक्ने गरी पाँचवटा हवाई साधन काठमाडौँमा तैनाथ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाढी तथा पहिरोको कारण अवरुद्ध भएको राजमार्ग तत्काल खुलाउन आवश्यक बेलिब्रिज धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा एक÷एक सेट राखिएका छन् । सैनिक इन्जिनियरिङ विभागबाट तुरुन्त परिचालन गर्न सक्नेगरी अपरेटरसहितको हेभी इक्युप्मेन्ट र सवारी साधन पनि तयारी हालतमा राखिएको सेनाले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरीले सबै कार्यालयमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा राखेको छ ।

विपद्मा परेका नागरिकको उद्धारका लागि ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा एक सय २० मोटरबोट तथा र्‍याफ्टबोटहरु तयारी अवस्थामा राखिएका सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

९१ गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामङ्गल, नं २४ कालिका गण कास्की र सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएका छन् ।

विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौवटा विपद् व्यवस्थापन बेस स्थापना गरिएका छन् ।

तालिमप्राप्त जनशक्तिलाई सातैवटा प्रदेशस्थित बाहिनी मुख्यालय, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणमा एक/एक प्लाटुन र गुल्म वा सोभन्दा साना युनिटमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएका उनले जानकारी दिए ।

विपद्पछिका खोजी तथा उद्धार र राहत वितरणका लागि नेतृत्व, समन्वय र राष्ट्रिय क्षमता वृद्धि, नागरिक-सुरक्षाकर्मीबीच समन्वय र सहकार्य, वित्तीय व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, विपद् व्यवस्थापनका लागि तीन तहमा समिति र संरचना गठन तथा परिचालित हुने व्यवस्था गरिएको छ ।

विपद्का समयमा खासगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानी तहबाट असरदार विशेष भूमिका निर्वाह गर्दै आइरहेका छन् । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन गर्न विभिन्न संयन्त्र निर्माण गरिएका छन् । सङ्घीय सरकारका मन्त्रालय, विभाग, सुरक्षा निकायको सहभागितामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरिएको छ ।

विपद्मा प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति क्रियाशील रहने छन् । व्यवस्थित विपद् पूर्वतयारीका लागि बहुप्रकोप पूर्वसूचना प्रणाली विकास, सञ्चार समन्वय, समुदायमा आधारित तालिम प्रशिक्षण, राम्रो र बलियो पुनःनिमाण आवश्यक हुने विपद् क्षेत्रका जानकारहरु बताउँछन् ।

एमाले र काङ्ग्रेसले बीपी र मदन भण्डारीको नाममा करोडौँको बजेट मागेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान आठ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

मेयर बालेन साहले एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भनेको तर आफूले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भन्दा विवाद भएको बताएका छन् । उनले सामाजिक संजालमार्फत बैठक यसै कारण बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो ।

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ ।

‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।

भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठूलो धक्का महशुस गरिएकाले केन्द्रविन्दू आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरूका सरकारी अधिकारीहरूले जनाएका छन् ।

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौं माइल टाढा भएको उल्लेख गरेका छन् ।

आक्रमण बिहान ४ः३५ मा भएको बताउदै आगलागी सानो भएकाले यसलाई यसलाई छिटै नियन्त्रण गरिएको तथा आगलागीबाट मानिसहरूमा केही असर नपरेको मध्य रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।

पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।

दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रूसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।

इरानमा राष्ट्रपतिका लागि मतदान सुरु

इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् ।

शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ । मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् ।

सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान विभाजित कन्जरभेटिभ खेमाविरूद्ध सशक्त देखिएका छन् । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उनलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्व आणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो।

तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले मतदान सुरु भएलगत्तै मतदान गरेका छन् । “निर्वाचनको दिन हामी इरानीका लागि हर्ष र खुशीको दिन हो,” उनले टेलिभिजनमा सम्बोधन गर्दै भने ।

उनले भने, “हामी हाम्रा प्रियजनहरूलाई मतदानको मुद्दालाई गम्भीरतापूर्वक लिन र भाग लिन प्रोत्साहित गर्दछौं ।”

प्रतिबन्धको चपेटामा परेको इरानमा इस्लामिक गणतन्त्र र यसका कट्टर प्रतिद्वन्द्वी इजरायल र संयुक्त राज्य अमेरिकाबीच गाजा युद्ध जारी रहँदा उच्च क्षेत्रीय तनाव भइरहेका बेला निर्वाचन हुन लागेको हो ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन ।

केही समय अघिसम्म सापेक्षिक रूपमा अनिश्चित रहेको पेजेस्कियानको उम्मेदवारीले रूढिवादी र अतिरूढिवादी खेमाहरूको वर्षौंको प्रभुत्वपछि इरानको सुधारवादी पक्षका लागि आशाहरू पुनर्जीवित गरेको छ ।

इरानका अन्तिम सुधारवादी राष्ट्रपति मोहम्मद खातामीले उनलाई ‘इमानदार, निष्पक्ष र मायालु’ व्यक्तिका रूपमा प्रशंसा गरेका छन् ।

सन् १९९७ देखि २००५ सम्म काम गरेका खातामीले उदारवादी हसन रौहानीलाई पनि समर्थन गरेका छन् । उनको समर्थका कारण रौहानीले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरेका थिए । रौहानीलाई सन् २०१५ मा शक्तिराष्ट्रसँग भएको इरानको आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।

सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले दिए ।

दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदन भण्डारीसँग बितेका ती रोमाञ्चक पल

किशोर श्रेष्ठ ।

 विसं २०४६ भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कविनारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात् हराउनुभयो । लामो समय पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक लेख्न थाल्नुभयो, “नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।” त्यसपछि क्रमशः लेखहरु आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सामाजिक साम्राज्यवादी भन्ने गरिएको सोभियत सङ्घलाई नयाँ शिराबाट हेर्ने दृष्टिकोणबारे विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो । त्यतिखेर रसियन कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा उत्कर्षमा थियो । 


त्यसैगरी चीनको तियानमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरुको धर्नाले तनाव थप्दै थियो । हाम्रो टिमका अग्रज रघु पन्तलाई समेत चीनको तरङ्गले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाल्नुभयो । यसरी पार्टीको आधिकारिक पत्रिका “दृष्टि” पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भयो । र, दृष्टिभित्रकै यौटा टिम नवयुग नामक बुलेटिन निकाल्ने काममा खटियो । त्यसमा पर्दा पछाडिबाट संलग्न हुनुहुँदोरहेछ, मदन भण्डारी । नवयुग त निकाल्यौँ भूमिगत रुपमा तर बजारमा लान र प्रशासनको आँखामा वैधानिकताको धुलो छ्याप्न सम्पादक, प्रकाशकको नाम राख्नैपथ्र्याे । त्यसैले नेकपा मालेको सर्ट फर्म “नेत्र कमल पाठक, मानेडाँडा लेकथुम” भन्ने नाम र थरसहित जुराएर नक्कली काम गरियो । फागुन ७ देखि त जनआन्दोलन शुरु भैहाल्यो । 


विसं २०४६ को परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना, कालीमाटीको दृष्टि कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेका थिएनौं । मोटोमोटो ज्यान, हँसिलो, मीठो बोल्ने, त्यस्तो पात्रलाई हामीले पार्टीको ठूलै नेता भनेर अनुमान त लगायौँ तर महासचिव नै भनेर खुलिसक्नुभएको थिएन । पार्टी प्रवक्ताको रुपमा उहाँका बोली र व्यवहारबाट हामी प्रभावित नहुने कुरा भएन । कति नै थिए र ! त्योबेला पार्टी निकट पत्रकार र पार्टीका आफ्ना अखबार । सङ्कटको घडीमा काँध थाप्ने गरी प्रकट हुने बफादार, अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरु !


एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने, खाने, मन माझ्ने, घमण्ड नगर्ने, ठूलो नपल्टिने, राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु सात सय रुपैयाँ तलबको भरमा काम गर्ने हाम्रा निम्ति गर्वको विषय थियो । विद्यार्थी राजनीति गर्ने, त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँ जस्तो लाग्ने, संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा हामीलाई ऊर्जा दिइरहनुभयो । 


पछि पो चिन्यौँ, यतिञ्जेल हामीसँग रम्ने उहाँ पार्टीको महासचिव नै हुनुहुँदो रहेछ । अब विदेशीहरुसँग भेटघाट बाक्लिन थाले । त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने–आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टिमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई काममा लगाउने तर पार्टीको नेताहरुलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरु पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो, हामी जे गर्दैछौँ, पार्टीको लागि गर्दैछौं र यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामूहिकतामा रमाउनुहुन्छ । त्यसबाट गुनासो उठ्न स्वतः नपाउने नै भयो । शीर्ष नेतृत्व गुणी हुँदा या पार्टीको इञ्जिन दहे भैदिँदा रेलका डब्बाहरु ऊर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमा लिक नछाडी कुदिरहे जस्तै कार्यकर्तालाई प्रेरणा जाग्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।


एक दिनको सम्झना छ, मदनले भिजिटिङ कार्ड बनाउनुपर्यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बद्ध रहेको र त्यो पनि पार्टीकै छापाखाना भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुने गर्छ भन्ने लागेको थियो होला उहाँलाई । त्यसैले भिजिटिङ कार्ड बनाइदिन आग्रह गर्नुभएको । तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महत हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा मलाई अफसोच यही छ कि, मैले मदन कमरेडलाई त्यहीबेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिन, न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ । तर, पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु । उहाँले आशालाग्दो, भर्खर उदाएको पत्रकार हो, यसलाई उठाउनुपर्छ भनेरै मलाई नयाँ दिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट, विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरुमा सरिक गराउनुभयो ।


म भाकपा माक्र्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरुसँगको भेटघाटमा पनि सरिक भएँ । झिल्लुप्रसाद तिवारी, केशवलाल श्रेष्ठसँगै हुनुहुन्थ्यो । पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको, सँगै सादगी भोजन गरेको, हाइफाइवाला होटेल, वातानुकुलित गाडी र स्वादिलो खाना नखोजेको–मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसँग । 


त्यसरी फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षबीच कञ्चनपुर गएको, जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको, दाङ हुँदै फर्केको याद पनि ताजा छ । त्यतिखेर पार्टीमा अलिकति फरक मत प्रकट भइसकेको स्थिति थियो । अशोक राई, सिपी मैनालीहरुको एउटा धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नु भएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरुको बीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ । त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि उत्साहसँगै गाडीमा लिएर आउने कि नआउने भन्ने कुरा पनि अलिअलि विवाद हुँदा मदनले हैन, त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको क्षण झल्झली सम्झिरहन्छु । 


पाँचौँ महाधिवेशनको बेला प्रचारको क्रममा हामी जुटेको, खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघु पन्त सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो तर आफ्नो एक भोट पनि नहालिकन राति नै निस्केर घर जानुभयो । सिपी मैनाली, मोहनचन्द्र अधिकारी, सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पङ्त्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई “दक्ष प्रजापतिको टाउको” भनिराख्नुहुन्थ्यो ।


यही सेरोफेरोमा मदनले बहुदलीय जनवादबारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ, त्यसको अगाडि ‘जनताको’ शब्द थप्न लगाउनुभयो । मैले भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न” शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशन गरेको आजैजस्तो लाग्छ । 


पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि ‘प्रकाश साप्ताहिक’ महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो । र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है, यसो गर्दा सन्तुलन रहन्छ, पेशागत मर्यादा देखिन्छ, एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्दै निर्देशन दिनुभयो, जुन मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो । विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै, दृष्टि पढ्दै गरेको, खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको, जुन फोटो अहिले पनि प्रयोग हुन्छ बेला बेला । 


संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो । त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियता क्रममा हुनुहुन्थ्यो हु चिन्ताओ, पछि राष्ट्रपति र महासचिव उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा, सानु मिश्र, हरि पाण्डे, माधवकुमार नेपाल, केपी ओली, मुकुन्द न्यौपाने, बाचस्पति देवकोटा, योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राख्नुभएको थियो । तर पछि के कारणले हो, म त्यसमा परिनँ । उताबाट खबर भने आइराख्थे फोनमा, हामी न्युज टिप्थ्यौँ, लेख्थ्यौँ र देशवासीलाई सुसूचित गथ्र्यौं । अहिलेजस्तो इमेल, फेसबुकको जमाना कहाँ थियो र ! जहाँ कहीँबाट फ्याट्ट ‘सेण्ड या पोस्ट’ गर्नलाई । 


उताबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा थियो । जेठ १ गते उहाँ पोखरा जानु अगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । उताबाट समाचार कसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभरसँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने, अनि मैले त्यसआधारमा समाचार बनाउने भन्ने सहमति भएको थियो ।


तर, अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रुपमा, प्रधान सेनापति गडुल समशेरका मुखबाट सुन्नुप¥यो । त्यसपछिका प्रसङ्गहरु त सबैसामु छर्लङ्गै छन् ।


उहाँ पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ, न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ, खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै कामहरु इमानका साथ र मनैदेखि कार्यान्वयन गर्न सकभर कोशिस गरेँजस्तो लाग्छ । एउटै गुनासो छ, त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन सकिन । कारक र कारण जेसुकै होस्, यत्ति जिम्मेवारी पूरा गर्न नसकेकामा चाहिँ मलाई खेद छ, दुःख छ । घरिघरि लाग्छ, त्यति सानो काम पनि किन गर्न सकिन होला ?


(लेखक जनआस्था साप्ताहिकका प्रधानसम्पादक हुनुहुन्छ)

मदन–आश्रितको हत्यारा पत्ता लाग्छः अध्यक्ष ओली(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन् । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुन् । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष ओलीसँग राससका प्रमुख समाचारदाता एकराज पाठक र वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंशः

जननेता स्व मदनकुमार भण्डारीको असाधारण व्यक्तित्वबारे यहाँले पनि विभिन्न सन्दर्भमा चर्चा गर्दै आउनुभएको छ । यहाँले मदन भण्डारीलाई आजका दिनमा कसरी सम्झनुहुन्छ ?

म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ । वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा मैले उहाँलाई लिन्छु । मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो । उहाँको प्रतिभा बहुआयामिक थियो । राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी । मुख्यरुपमा म उहाँलाई एक असल र साँच्चै महान् व्यक्तिका रुपमा सम्झन्छु । तर दुःखद् कुरा यो भयो कि उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो । नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन ।

खासगरी मदन भण्डारीसँग यहाँको पहिलो भेट तथा राजनीतिक सहकार्यका मुख्यमुख्य सन्दर्भहरु स्मरण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

मेरो उहाँसँगको भेट र त्यसपछि विछोडको अवधिको कुरा गर्दा यो अवधि धेरै लामो रहन सकेन । विसं २०४४ मा म जेलबाट छुटेका बेला उहाँसँग पहिलो भेट भएको थियो । त्यसपछि संसदीय राजनीतिक मोर्चामा मैले मदन भण्डारीसँग भेटघाटको अवसर पाएँ । उहाँ पोखराको कार्यक्रममा निस्कनुअघि म सांसदहरुको टोली लिएर कैलालीको धनगढीमा अध्ययनका लागि जाने तयारीमा थिएँ । त्यस भ्रमणबारे जानकारी गराउन उहाँसँग भेट भएको थियो ।

कहिलेकाहीँ एउटा अवधिको छोटो भेटले पनि जिन्दगीभर ठूलो प्रभाव पार्दाेरहेछ । कार्लमाक्र्स र फेडरिक एङ्गेल्स्ले करिब २६ वर्षको उमेरमा भोल्तेयर भन्ने दार्शनिकको नामको होटेलमा बसेर वैचारिक छलफल सुरु गर्दै जाँदा १० दिनसम्म छलफल गरेर समाज परिवर्तनका लागि आफूहरुका समान विचार छन् र ती महान् उद्देश्यका छन् भनेर निचोड निकाल्नुभएको थियो । र उहाँहरुले तीनै विचारमा रहेर सहकार्य गर्ने निष्कर्षसहित माक्र्सवादी दर्शन, सामाजिक र आर्थिक विकासका चिन्तनहरु अघि सार्नुभयो ।

त्यस्तै जननेता मदन भण्डारी र मेरो पहिलो भेटमा पनि हामी साझा विचारमा रहेर जोडिएका थियौँ । हामीबीच अलमलिएको विचार होइन, सङ्लिएको विचार थियो । उहाँ पनि विचारमा सुस्पष्ट हुनुहुन्थ्यो । त्यही विचारका साथ यात्रामा सँगै अगाडि बढ्ने कुरा भयो । उहाँको दुःखद् निधन भयो । म बाँचिरहेको छु र मैले हाम्रा साझा र महान उद्देश्यलाई अगाडि बढाइरहेको छु । उहाँका स्पष्ट विचारलाई हामीले अघि बढाइरहेका छौँ ।

जनताको बहुदलीय जनवाद त्यस समय मदन भण्डारीले अघि सार्नुभएको समयसापेक्ष र नेपाल सुहाउँदो सिद्धान्त थियो, त्यस समय त्यो सिद्धान्त उहाँले किन प्रतिपादन गर्नुभयो होला ? अहिले पनि नेपालका सबै कम्युनिष्टलाई यो जबजको छाताभित्र गोलबन्द गर्न सकिँदैन ?

मदन भण्डारीले धेरै अध्ययन, शोध, खोज र चिन्तन मनन गरी जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो । जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेशण गरेर ल्याउनुभएको थियो । त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकाङ्क्षा पूरा गर्ने भन्ने हो । यहाँले भन्नुभए जस्तै यो जबजभित्रै सबै अटाउँछन् । त्यसमा एमाले सुस्पष्ट छ नै । यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन । अहिलेको स्थितिमा एमालेसँग समाजको परिवर्तन र आर्थिक सामाजिक हिसाबले मुलुकलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण, योजना र लक्ष्यहरु छन् । मैले यहाँका अरु कसैसँग त्यस्तो सोच पाएको, देखेको पनि छैन ।

आफ्नो कृत्रिम अस्तित्व राख्नका लागि विचार वा पार्टीगत विवादका नाममा फरकफरक झुण्ड बनाइएका छन्, जुन यहाँहरुले पनि देखिनै रहनुभएको छ । ती केबल आफ्ना स्वार्थहरुको तुष्टिका लागि अलगअलग भएका हुन् । स्वच्छ प्रतिस्पर्धा र क्षमता विकासबाट आफ्नो श्रेष्ठता हासिल गरेर देशलाई अगाडि बढाउने सोच बोक्ने सामथ्र्य तिनमा छैन भन्नेमा म स्पष्ट छु । दणिणपन्थी सेवामा खुसी हुने कतिपय कम्युनिष्ट नामका समूहले अधिवेशन, महाधिवेशन गर्दै गरेको र त्यहाँभित्र फलानो तिलानो नेताबीच नेतृत्वमा प्रतिस्पर्धा भएको आदि जस्ता भन्ने गरेको अहिले सुनिएको पनि छ । जबकी ती समूह राष्ट्रिय दल नै हुन सकेका छैनन्, त्यहाँ कोही नेतृत्वमा आएर वा नआएर देशलाई के हुन्छ ? केही फरक पर्दैन ? त्यो त हावामा कुस्ती खेलेको जस्तो मात्रै हो भन्ने मलाई लाग्छ ।

म फेरि पनि भन्छु, जबज देश बनाउने वैचारिक र व्यावहारिक बाटो हो । मदन भण्डारीले कसैप्रति आग्रह राखेर यो विचार ल्याउनुभएको थिएन । त्यसबेला पनि राजनीतिकरुपमा कम्युनिष्ट आन्दोलनका नाममा जे–जस्ता नक्कलवादी सोचहरु पैदा भएका थिए, ती सोचहरुलाई अस्वीकार गर्दै भण्डारीले सिद्धान्त रट्ने र जप्ने चिज होइन, जीवन र परिवर्तनका लागि सिद्धान्तको प्रयोग हुनुपर्छ भन्ने सोच राखेर नै यो सिद्धान्तलाई अघि सार्नुभएको हो । उहाँले जडसूत्रमा कहिल्यै विश्वास गर्नुभएन । सिद्धान्तले राम्रो व्यवहारका लागि काम गर्नुपर्छ भन्ने सोचका साथ तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिलाई ध्यानमा राखेर बहुदलीय प्रणालीलाई स्थापित गर्न जबज ल्याइएको हो ।

खासगरी २०४६ सालको जनआन्दोलनको सफतालपछि नेपाली जनताका आकाङ्क्षाहरु समाज र लोकतान्त्रिक अभ्यासमा दत्तचित्त भएर अगाडि बढ्न सकोस्, शान्ति र न्यायको पालना होस् भन्नका लागि जबज ल्याइएको थियो । अहिले पनि नेपाली समाजमा असमानता र विभेदहरु छन् । अराजकता छँदैछ । जनआन्दोलन जनअधिकारका लागि भएको थियो । मानवअधिकार, शान्ति, सुरक्षा र सम्मानका साथ सुविधायुक्त जीवन बाँच्न पाउने अधिकारका लागि हामीले काम गरिरहेका छौँ । यी कुरा संविधानमा लेखिएकाले मौलिक हक भएका होइनन् कि मौलिक हक भएकाले हामीले मानवअधिकार, शान्ति र सुरक्षाका कुरा संविधनमा मौलिक हकका रुपमा व्यवस्था गरेका हौँ । मुलुकमा सुशासन होस्, पारदर्शीता होस्, मर्यादाको पालना होस् भन्ने हाम्रो चाहना हो । अहिले त्यस्तो हुन सकिरहेको छैन ।

समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदित खस्कँदै गएको छ । अहिलेको जस्तो मर्यादाहीन स्थिति मलाई लाग्छ यसअघि नेपालको इतिहासमै थिएन । राज्यको एक अङ्गका रुपमा रहेर, राज्यको मानो खाएर समाजलाई पथभ्रष्ट बनाउने काम अहिले देशमा भइरहेको छ् । संसद्मा कस्ता छलफल हुने गरेका छन् ? यो यहाँहरुले, सबै देशवासीले देख्नुभएकै छ । पञ्चायतकालमा त मानवअधिकार नै थिएन र हामीले निष्कर्ष निकालेका थियौँ कि त्यो अन्धकारको समय थियो । त्यही अवस्थाको अन्त्य र नेपाली नागरिकको भविष्य सुनिश्चित गर्नकै लागि तथा त्यस्तो नराम्रा कुराहरु इतिहासमा नरहुन् भनेर नै जबज ल्याइएको हो । र, यो जबजको विचार कुनै ऋषिमुनिले ध्यानागत भएर प्राप्त गरेको विचार होइन । मदन भण्डारीको नेतृत्वमा समाज परिवर्तनका क्रममा सामूहिक प्रयत्नका माध्यमबाट व्यवहारसँग जोडिएको चिन्तनको विश्लेषण र संश्लेषण गरेर मात्र यो ल्याइएको हो ।

त्यसैले कम्युनिष्ट पार्टीहरुको एकताको कुरा यहाँले जुन गर्नुभयो, त्यसोभन्दा पनि जबजको मान्यताभित्र सबै एकत्रीत हुँदा मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा हुन सक्छ । अहिले त कम्युनिष्ट पार्टीका नाममा दक्षिणपन्थी र प्रतिक्रियावादीका मतियारहरु, राष्ट्रियहित विरोधीहरु पनि देखिएका छन् । उनीहरु सकेसम्म एमालेलाई बिगार्न, भत्काउन चाहन्छन् । तर सक्दैनन् । केही नसकेपछि तिनले धारेहात लगाएर एमालेलाई सत्तोसराप मात्र पनि गर्ने गरेका छन् । तिनको उद्देश्य एमाले सिध्याउने मात्रै छ । तिनका चिन्ताको विषय, एमालेको देशभक्तिको आन्दोलन र समृद्धिको चिन्तनलाई हुर्कन दिनु हुँदैन भन्ने नै छ । त्यसकारण त्यस्ता समूहहरु एमालेमा नआएर बाहिरै बसेको राम्रो हो । साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ । अरु कुनै पनि नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन ।

यहाँले इङ्गीत गर्न खोज्नुभएका त्यस्ता समूहरुहरुले पनि त जबजको विचार बोकेका छौँ भन्छन् नी ?

त्यो नक्कली कुरा हो । पहिले त उनीहरुले एमालेमै बसेर पार्टी, यसको नीति, उद्देश्य र नेतृत्वका विरुद्ध लड्नुपर्छ भन्ने सोच राखे । एमाले एकताबद्ध हुँदा उनीहरुलाई चिन्ता हुन्छ रे । उनीहरुले पार्टीमा आलोचना नभएका, विरोधको चेत नभएकाहरु दास र झोले हुन् भनेर हौवा पिटाउन पनि छोडेनन् । कार्यकर्ता स्वतन्त्र हुनुपर्छ र पार्टीको निर्णय नभई आफ्नाआफ्ना निर्णयमा चल्नुपर्छ भन्ने सोच बोक्नेहरु पार्टीका पक्षधरहरु हुन सक्दैनन् । उनीहरुको विरोधको चेत भनेको एमालेलाई सिध्याउनुपर्छ भन्ने मात्र देखिन्छ । त्यसकारण तिनीहरुले जबजको सक्कली विचार बोकिरहेका छैनन् र बोक्न पनि सक्दैनन् । आफ्नो नीहित स्वार्थका लागि बोके झैँ गरेका मात्रै हुन् ।

उनीहरु सही अर्थमा जबजका पक्षपाती हुन् भने एमालेको नीति र नेतृत्वका पक्षमा रहन सक्थे । पञ्चायत ढलेको र राजतन्त्र ढलेको यतिका वर्षपछि पनि अहिले पनि २० दशमलव २६ प्रतिशत नेपाली जनता गरिबीको रेखामुनि छन् । एमालेले गरिबी हटाउनुपर्छ र देश बनाउनुपर्छ भन्दा उनीहरु एमालेको नीति र नेतृत्वको अलोचना गर्नुपर्छ भनेर आए । उनीहरुसँग परिवर्तनको सोच र देश विकासको गति पनि छैन भन्छु म ।

जबजको मार्गदर्शनमा रहेर नयाँ नेपाल बनाउने मदन–आश्रितका सपना पूरा गर्ने सङ्कल्प यहाँहरुको देखिन्छ । यहाँले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा’लाई जबजको लोकानुवाद हो पनि भन्ने गर्नुभएको छ । समयको विकाससँगै जबजको संशोधन वा परिवर्तन आवश्यक छ भन्ने पनि यदाकदा उठ्ने गर्छ । तर यहाँले भने यसमा केही परिवर्तन आवश्यक छैन भन्नुहुन्छ, किन ?

संसारमा परिवर्तन हुने कुराहरुमा मात्र परिवर्तन हुने हो । भूगर्भविद्हरुले भन्छन्, प्रसान्त महासागरमा रहेको प्लेट सर्दैसर्दै आएर तिब्बती प्लेटसम्म जोडिएर आयो । हजारौँ वर्षमा कुनै समुद्र पहाडमा र कुनै पहाड समुद्रमा परिणत पनि भएका कुरा विज्ञहरुले गर्ने गर्छन् ।  अर्बाैं वर्षमा हजारौँ सूर्यहरु आउने र विलय हुनेक्रम पनि चलिरहेकै छ । तर विचारमा त्यस्तो हुँदैन । यसरी आउने मिसिने या विलय हुने आदिजस्ता कुरा कुनै पनि विचारका क्षेत्रमा लागू हुँदैन ।

जस्तो कि बुद्धले शान्तिको विचार दिए । त्यस समय संसारलाई त्यही आवश्यक थियो र त उनले त्यो विचार दिएका थिए । अहिले त्यसलाई संशोधन गरेर शान्तिको सन्देश आवश्यक छैन, अब यसमा हिंसाको सन्देश राख्नुपर्छ भन्नेर हुन्छ र ? अनि उनले त्यस समयका लागि अत्यावश्यक ठानेर ल्याएको त्यो विचार नै अहिले आवश्यक रहेन त्यसमा संशोधन गरौँ, अब हिंसाको या अर्काे कुनै पनि विषयको कुरा राखौँ भनेर कसैले भन्छ भने त्यो सान्दर्भिक भयो र ? अनि त्यस्तो विचार राख्नु जडसूत्रवादी हुन जान्छ भन्ने ? बुद्धका समयमा उनले समयको आवाज र मागलाई सुनेर शान्तिका लागि काम गरौँ भन्ने सन्देश दिए । उनको मृत्युपछि शिष्यहरुले शान्तिका विचारलाई अध्ययन गरे र त्यो सन्देश लिएर समाजमा हिँडे । आज पनि शान्ति आवश्यक छ, त्यसकारण बुद्धवादको सान्दर्भिकता छ । भोलि शान्तिका पक्षमा हरेक व्यक्ति पुगेमा शान्ति शान्ति भनिरहन आवश्यक पर्दैन ।

विश्वमा ठूलाठूला हतियारहरु पनि निर्माण भइरहेका छन्, ती साधन मान्छे मार्न उत्पादन भएका हुन् । पृथ्वी वा वातावरणलाई ध्वस्त पार्न निर्माण गरिएका हुन् । त्यसकारण २६ सय वर्षपछि पनि बुद्धका विचार आवश्यक छ भन्ने देखियो नी त ।

यसरी हेर्दा नेपाली समाजको शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समृद्धि हासिल गर्ने काम सकेपछि जबजको औचित्य आफैँ सकिन्छ । अहिले त्यो काम पूरा नभएकाले जबजको औचित्य अझ बढी आवश्यक रहेको छ । जुन सिद्धान्तले जे उद्देश्य राखेर आएको छ, त्यसको औचित्य नै पूरा भएको छैन, काम नै सकिएको छैन भने अहिले संशोधनको औचित्यहीन बहस किन चलाउने ? यस्तो कुरा किन गर्ने ? जस्तो कि रोपाइँ सकिएपछि खेतबाट रोपाहार र बाउसेहरु बाहिर निस्कन्छन् । हातगोडा धुन्छन्, हिलो झार्छन् र आफ्नो बाटो लाग्छन् । उनीहरुलाई दिनदिनै यो कुरा सिकाइरहनुपर्छ र ? पर्दैन नी । हरेक दिन आफ्नो काम सकिएपछि के गर्ने भन्ने उनीहरुले आफैँ बुझेका हुन्छन् । त्यस्तै कुनै पनि विचारले लिएको उद्देश्य र यसको सान्दर्भिकता सकिएपछि पनि त्यो विचार स्वतः सकिन्छ । यहाँ कोही विद्वान पल्टिएर जबजमा मैले यो थपेँ, त्यो संशोधन गरेँ या गर्न लगाएँ भन्ने गरेको पनि म सुन्छु । त्यो बेकारको कुरा हो । हामीले जबजलाई जनभाष्यमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा रुपान्तरण गरेका छौँ, त्यो पूरा नभएसम्म जबजको औचित्य रहिरहन्छ । आजका दिनमा यसको औचित्य अझ बढी छ भन्ने मेरो निष्कर्ष हो ।

मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ । एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नी ?

जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो । मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे । हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन । अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो । यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो । यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए । यसको रहस्य पनि खुल्छ कुनै दिन ।

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ । तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन । छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ । अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ । तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन । दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ । पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ । यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ ।

हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन । पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन ।

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया सुरु भएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।

‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।

‘हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने । उनले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताए ।

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरुप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा गरिरहेको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममा आक्रमण हुँदा पिस्करमा इले थामी र वीरबहादुर थामीलगायतको ज्यान गएको थियो ।

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए ।

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहोरालगायतको उपस्थिति थियो ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।