`

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको प्रयास भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास गरिरहेको बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एकीकृत समाजवादी र माओवादी केन्द्र बीच एउटै पार्टी बनाउने प्रयास गरिरहेको बताएका हुन् । उनले महाधिवेशनबाट माओवादी केन्द्रसँग एकता गर्ने वातावरण बनोस् भन्ने आफूले अपेक्षा राखेको बताए ।

उनले भने, ‘मलाई लाग्छ, यो महाधिवेशनले त्यो दिशामा पनि ठोस निर्णय गरोस्। हामी चाहन्छौं वामपन्थी एकता होस् ।’

प्रधानमन्त्रीले एकीकृत समााजवादीको राजनीतिक दस्ताबेजमा अस्थिर शक्ति भनेकोमा त्यसलाई सच्याउन आग्रह गरे । उनले भने, ‘हामीलाई दस्तावेजमा अस्थिर भन्नु भएको छ। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन, शान्ति सम्झौता पनि हुने थिएन। यो प्रक्रियामा पनि यहाँ आइपुग्ने थिएनौं। गतिशित कुरालाई अस्थिरताको आरोप लगाउने होइन । सच्याउनुहोला।’

उनले अहिले पनि आफूले राष्ट्रिय सहमतिको पक्षपोषण गर्ने बताए । प्रधानमन्त्रीले नेपालमा केही छैन र नेताहरू र पार्टीहरू सबै खत्तम छन् भन्ने प्रतिगमनकारी भाष्य चिर्न जरुरी रहेको बताए । उनले भ्रष्टाचारका विरुद्ध पहलकदमी बढाइरहेको भन्दै भ्रष्टहरू गिरफ्तार हुने र मुद्दा चल्ने क्रम चलिरहेको बताए ।

इरानको राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियानलाई ४२.४ र जलिलीलाई ३८.६ प्रतिशत मत प्राप्त

इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एक मात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीको भन्दा करिब चार प्रतिशत बढी ल्याउन सफल भएका छन् । पहिलो चरणको निर्वाचन यही जुन २८ गते सम्पन्न भएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् । यो राष्ट्रपतिको निर्काचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम हो ।

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन् ।

इरानी संविधान अनुसार राष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत वा योभन्दा बढी) मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

शनिबार पहिलो चरणको निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन आयोगका प्रवक्ता मोहसेन इस्लामीले भने, “पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न नगरेको र दोस्रो चरणको निर्वाचनपूर्व निर्धारित कार्यक्रम अनुसार जुलाई ५ मा हुनेछ ।”

चुनावपछिको आफ्नो पहिलो टिप्पणीमा पेजेस्कियानले आफ्ना समर्थकलाई धन्यवाद दिँदै आगामी शुक्रबार फेरि मतदान गरी देशलाई गरिबी, झूट, भेदभाव र अन्यायबाट बचाउन आग्रह गरेका छन् ।

सुधारवादी समूह निकट मानिने पत्रिका इटेमादको वेबसाइटमा प्रशारित एक भिडियोमा उनले भने, “तपाईंको उपस्थितिले मनोवृत्ति, व्यवहार, वार्तालाप र स्रोतहरूको वितरण र बाँडफाँडमा परिवर्तनको लागि नयाँ आवाजको आधार बन्नेछ भन्ने मलाई पूर्ण आशा छ ।”

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले शुक्रबार हुने मतदानमा उच्च सहभागिताका लागि आह्वान गरेका छन् ।

निर्बाचनमा छ करोड १० लाख मतदातामध्ये ४० प्रतिशतभन्दा केही बढीले मात्र भाग लिएका थिए । इस्लामिक गणतन्त्र इरानका लागि यो इतिहासमा नै सबैभन्दा कम मतदान प्रतिशत थियो । मतदानमा १० लाखभन्दा बढी मत बदर भएका छन् ।

यो निर्वाचन सन् २०२५ मा हुने तय भएको थियो तर गत महिना हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।

उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध

उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको घातक परिणाम हुने चेतावनी दिएको छ ।

तीन राष्ट्रले ब्यालेस्टिक मिसाइल र हवाई रक्षा, पनडुब्बीविरोधी युद्ध र रक्षात्मक साइबर प्रशिक्षणमा ‘फ्रिडम एज’ भनिने तीन दिने सैन्य अभ्यास सम्पन्न गरेको एक दिन पछि उत्तर कोरियाको यस्तो अभिव्यक्ति आएको हो ।

उत्तर कोरियाको आणविक खतरा र चीनको बढ्दो क्षेत्रीय प्रभावको सामना गर्ने एकताको सङ्केतका रूपमा वार्षिक अभ्यास गर्न गत वर्ष अमेरिकी, दक्षिण कोरियाली र जापानी नेता त्रिपक्षीय शिखर सम्मेलनमा सहमत भएका थिए ।

“हामी उत्तर कोरियाविरुद्धको सैन्य अभ्यासको कडा निन्दा गर्दछौं,” प्योङयाङको विदेश मन्त्रालयले आइतबार जनाएको छ । “अमेरिका–जापान–दक्षिण कोरिया सम्बन्धले नेटोको एसियाली संस्करणको रूप लिएको छ । यसको परिणाम घातक हुनेछ,” प्योङयाङले भनेको छ ।

उत्तर कोरियाले सैन्य समूहलाई बलियो बनाउन अमेरिका र यसका सहयोगीहरूको चाललाई कहिल्यै बेवास्ता नगर्ने बताएको छ ।

पछिल्लो संयुक्त अभ्यासमा वासिङ्टनको परमाणु–सञ्चालित विमान वाहक ‘युएसएस थियोडोर रुजवेल्ट’, टोकियोको निर्देशित मिसाइल विध्वंसक ‘जेएस ओटागो र सियोलको ‘केएफ–१६’ लडाकू जेट समावेश थिए ।

उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको अवस्थालाई जटिल बनाएको छ ।

एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए । एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन् ।

हमास र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले त्यहाँ इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन् ।

इजरायली सेनाले शुजैयामा ‘जमिनमाथि र तल’ भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।

‘दर्जनौं आतङ्ककारी’ मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र टनेल शाफ्ट फेला परेको सेनाले जनाएको छ ।

शनिबार उत्तरी गाजामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको सेनाले जनाएको छ ।

इजरायलले उत्तरमा हमास लडाकूको कमाण्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि यस क्षेत्रमा लडाईंको पुनरुत्थान भएको हो ।

गत आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको ‘तीव्र चरण’ करिब नौ महिनापछि अन्त्य हुन लागेको बताएका थिए ।

गाजा द्वन्द्वका कारण लेबनानसँग जोडिएको इजरायलको उत्तरी सीमामा पनि तनाव बढेको छ । यसका कारण इरानले शनिबार इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘नामेट पार्ने’ युद्ध हुने चेतावनी दिएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी एक हजार २०० भन्दा बढीको मृत्यु भएको एएफपीले इजरायली तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ ।

लडाकूले गाजामा रहेका ११६ जना बन्धकहरूलाई पनि कब्जामा लिएका छन्, यद्यपि सेनाले ४२ जनाको मृत्यु भएको बताएको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ३७ हजार ८३४ जनाको मृत्यु भएको छ ।

२० वटा समस्याग्रस्त सहकारीको विवरण माग गर्ने संसदीय समितिको निर्णय

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले कार्यादेशको अनुसूची १ मा रहेका २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

ती सहकारीको सबै विवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु गर्ने उनले बताएका छन् । यसअघि समितिले गोरखा मिडियासँग जोडिएका नौ वटा सहकारीको विवरण माग गरिसकेको छ ।

आइतबार समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालिन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्की लगायतसँग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको छ ।

छलफलमा उनीहरुले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका महत्त्वपूर्ण निष्कर्षहरू राख्नुका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्वपूर्ण सुझावहरू दिएका थिए ।

जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएपछि कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समय सदन अवरुद्ध गरेको थियो ।

लामो समयको सदन अवरुद्धपछि सत्तापक्ष संसदीय समिति गठन गर्न सहमत भएको थियो । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा सात सदस्य समिति गठन गरिएको छ । समितिलाई तीन महिनामा प्रतिवेदन बुझाउन समय दिइएको छ ।

नेप्से १४ अंकले घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।

आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०, जलविद्युत् एक दशमलव ०६ र लगानी समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । 

त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ४५, लघुवित्त एक दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव ३१ र अन्य समूह शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता शेयर किनबेच भएको छ ।

देउवा-ओली भेटपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर दउवाले सोमबार दिउँसो ३ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए । सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलमा सत्तासमीकरणमा फेरबदल आउने चर्चा चलेको छ ।

शनिबार देउवा र ओलीबीचको छलफलपछि आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल तथा रास्वपाका सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको छ ।

वन्यजन्तु रोक्न झापाका वनमा रोपिए आँप, केरा र भुइँकटहर

 झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।

सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए ।

जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् ।

हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।

जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।

दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए ।

उनले भने, ‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।’

समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेका जानकारी दिए । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनले बताए ।

महोत्तरीका बासिन्दाको वर्षाको पीडाः ‘कतिबेला बास उठ्ने हो थाहा छैन’

महोत्तरी । देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयवासी त्रसित छन् ।

चुरे शृङ्खलाबाट निस्कने खोलाहरुमा बालुवा र गेग्य्रान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका वासिन्दा डुबान र कटानबाट हुनसक्ने सम्भावित क्षतिबाट त्रसित बनेका हुन् ।

‘ऊ हेर्नोस् न, खोलामा बालुवा थुप्रिएर पुल बराबरजस्तो भइसक्यो,’ पूर्व–पश्चिम राजमार्गको जिल्लामा पर्ने जङ्घा खोलाको पुल नजिक देखाउँदै बर्दिबास-८ खजुरियाटोलका विश्वराज आले भन्छन्, ‘यही अवस्था रहे त हाम्रो बस्तीमा पानी पस्न ठूलो बाढी पनि चाहिँदैन। यस वर्ष भारी वर्षा हुने मौसमविद्हरुको भनाइ सुन्दा ठूलै बाढी आई कतिबेला बस्ती नै उठ्ने हो थाहा छैन ।’

बर्खामा आउने खोलाको बाढीले चुरे पहाड र खोल्साखोल्सीको गेग्य्रान नदी सतहमा थुप्रिँदै जाँदा अहिले कैयौँ बस्ती खोलाको सतहभन्दा गहिरोमा परेका छन् ।

जिल्लाका जङ्घा, बेलगाछी, मरहा, टुटेश्वर, ढोलनखोला र खयरमारासहितका खोला अहिले बालुवा थुप्रिएर उचा हुँदै गएपछि बस्ती डुबानको जोखिममा परेका सर्वसाधारणको चिन्ता बढेको हो ।

‘हेर्दाहर्दै खोला माथि देखिन थाल्यो, कसैलाई चिन्ता छैन’ राजमार्ग क्षेत्रमै बेलगाछी, मरहा र ढोलन खोलामा थुप्रिएको बालुवा देखाउँदै गौशाला-८ बेलगाछीका मीन रहपाल भन्छन्, ‘हामीकहाँ नपरी नचेत्ने बानी परेको छ, क्षति हुन थालेपछि दौडधुप गर्ने ।’

यी नदीहरुको व्यवस्थापन गर्नु जरुरी भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको निष्कर्ष छ ।

प्रजिअ गेलाल भन्छन्, ‘धेरैजसो नदी नजिकका बस्तीभन्दा उँचो भएका छन्, राजमार्ग नजिक खोलामा बालुवा र गेग्र्यान थुप्रिदै गएको छ, यसको समुचित व्यवस्थापन आवश्यक देखिन्छ ।’ राजमार्ग दायाँबायाँको पाँच सय मिटर क्षेत्रको संरक्षणको मुख्य जिम्मा भएको सडक विभाग, वन सम्बद्ध कार्यालय र सम्बद्ध स्थानीय तहको निर्णायक पहल हुनपर्ने उनको भनाइ छ ।

कतिपय खोलामा पूर्व-पश्चिम राजमार्गका पुल बराबरजस्तो बालु, गेग्र्यानको थुप्रो छ, कैयन बस्ती अहिलेको खोला सतहभन्दा तल रहेका छन् । जिल्लामा कतिपय ठाउँमा मापदण्डको अटेर गर्दै उत्खनन गरिएको र कतिपय नदीमा थुप्रिएको बालुवा, गेग्र्यानको उचित व्यवस्थापन नगरिँदा जोखिम बढेको छ ।

गेलाल भन्छन्, ‘नदीसहितका प्राकृतिक सम्पदाको संरक्षण र उपयोगको नीति अवलम्बन गर्ने मुख्य जिम्मेवारी स्थानीय तहको हो भने वन सम्बद्ध कार्यालय र सडक विभागले यस कार्यमा तदारुकता देखाउन आवश्यक छ ।’

खासमा बालुवा, गेग्र्यान थुप्रिएको ठाउँमा उत्खननका स्थापित नियम, कार्यविधि, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विज्ञहरुको सुझावको पालना गर्दै यसको व्यवस्थापन जिम्मेवार निकायले गर्नपर्ने हुन्छ ।

रातु नदीमा अनियन्त्रित उत्खननले तटबन्ध, सडक, पुलपुलेसा, जलाधार क्षेत्र र बस्तीहरु बाढीको जोखिममा परेका छन् । रातु नदीमा बढेको अनियन्त्रित उत्खननविरुद्ध बर्दिवासका अधिकांश राजनीतिक दलले सर्वोच्च अदालतमै रिट दायर गरेका छन् ।

अनियन्त्रित उत्खनन रोकेर यसलाई प्रचलित कानुन, विधि, प्रक्रिया र यसका लागि निर्धारित मापदण्डको पूर्ण परिपालना गर्न÷गराउन रिटमार्फत माग गरिएको निवेदकमध्येका नेपाली कांग्रेस महासमिति सदस्य बर्दिबास-१४ का बासिन्दा चिरञ्जीवी हमाल बताउँछन् ।

दलहरुको सो रिट अहिले अदालतमा विचाराधीन छ । यद्यपि अन्तिम निर्णय नआउन्जेल रातु नदीको उत्खनन हाललाई रोक्न अदालतले प्रारम्भिक आदेश दिएको निवेदकमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मधेस प्रदेश कमिटी सदस्य शङ्कर महतोले बताए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि यस्तो आदेश आएको पुष्टि गरेको छ ।

खासगरी बर्दिबासमा रातु नदी उत्खननको विषय सधैँजसो विवादित रहँदै आएको छ । रातुको अनियन्त्रित उत्खनन नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीकै जोडबल र राजनीतिक हैसियतको दुरुपयोगबाट हुने गरेको दलका प्रतिनिधिको कडा आरोप छ ।

अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जनमत, लोसपा नेपाल र जसपा नेपालसहितका बर्दिवासका राजनीतिक दलका प्रतिनिधिले नगर क्षेत्र हुँदै बग्ने नदीहरुको कुशल व्यवस्थापनको सट्टा रातु खोलामा ठूला खाल्डा बनाएर नदी क्षेत्र कुरुप बनाउँदै लगिएको आरोप लगाउँदै आएका छन् ।

नदीजन्य वस्तु (बालुवा, गिट्टी र ढुङ्गा) उत्खननका स्थापित नियम र विधि भए पनि त्यसको पालना नभएपछि समस्या बढेको नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज बर्दिबास-१ का बासिन्दा राजु खड्काको गुनासो छ ।

बर्सेनि खोलामा थुप्रिने बालुवा, गेग्र्यान दुवै किनारतर्फ निश्चित नाप छाडेर बहाव क्षेत्रमा तीन फिट गहिरोसम्म खनेर निकाल्न सकिने व्यवस्था छ । उत्खनन गर्नुपूर्व अनिवार्य रुपमा विज्ञको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरेर त्यसको परिपालना गर्दै अघि बढे कतै समस्या नआउने नेता खड्का बताउँछन्। उत्खनन गरिँदा ससाना यान्त्रिक उपकरणसम्म प्रयोग गर्न सकिने व्यवस्था भए पनि यहाँ (रातु नदी) ठूल्ठूला उपकरण प्रयोग हुँदै आएका खड्काको भनाइ छ ।

यता बर्दिबासका नगर प्रमुख क्षेत्री नगर क्षेत्रका नदीमा भएका उत्खनन अनियन्त्रित वा मापदण्ड विपरीत नभएको बताउँछन् । केही व्यक्तिहरु नगर क्षेत्रमा भइरहेका विकास प्रयत्नमा राजनीतिक आग्रह साध्न रोक्न चाहिरहेका क्षेत्रीको भनाइ छ ।

उत्खननका लागि सबै कानुनी प्रक्रिया पुर्‍याएर ठेक्का बन्दोबस्त गरिएको, उत्खनन कार्य मापदण्डअनुसार छ/छैन नियमित अनुगमन गरिएको उनको भनाइ छ ।

अहिले उत्खननविरुद्ध भएका काम कारबाहीले यहाँका विकास कार्यहरु अवरुद्ध भएको र ठाउँठाउँमा बालुवा, गेग्र्यान थुप्रिएर नदीको सतह बस्ती र सडकभन्दा उँचो हुँदा बर्खामा डुबानसँगै उर्वर जग्गामा बालुवा पुरिएर मरुभूमि बन्ने जोखिम बढेको क्षेत्रीको स्वीकारोक्ति छ ।

रातुबाहेकका अन्य केही नदीमा बालुवा, गेग्र्यान थुप्रिदै गएर सतह उठ्दै जाँदा कैयन बस्ती, वन क्षेत्र, राजमार्ग र अन्य कैयन संरचना होचिँदै गएका छन् ।

पूर्व-पश्चिम राजमार्गकै खयरमारा, ढोलन खोला, टुटेश्वर, ढुङ्ग्रे र गढन्ता खोलाका पुल नजिक राजमार्ग छुइने गरी बालु, गेग्र्यान थुप्रिँदै गएको छ । यसले नजिकका बस्ती, सघन वन क्षेत्र, पुल र सडकसहितका संरचना बर्खाकालको बाढीको जोखिममा परेका छन् ।

यता उत्खनन् गर्नेहरु रातुमा केन्द्रित हुँदा यहाँ खनिएका ठूल्ठूला खाल्डाले जमिनमुनिको पानीको सतह गहिरिँदै गएको, नदी क्षेत्र कुरुप बनेको, जथाभावी खनिएका खाडलमा बर्खामा जम्ने पानीमा परेर बर्सेनि मानवीय क्षति बढाएको र माथिल्लो भेगमा कटान र मध्य र तल्लो भेगमा डुबान समस्या बढेको चुरे तथा जलाधारविज्ञ बताउँछन् ।

‘नदी क्षेत्रमा बर्सेनि उत्खनन गरिनुपर्छ तर यसका निश्चित मापदण्ड छन् । यो मापदण्ड पालना नहुँदा उत्खनन गरिँदा वा नगरिँदा समस्या बढ्ने हो,’ जिल्लाकै भङ्गाहा–७ का बासिन्दा चुरेविज्ञ डा विजयकुमार सिंह भन्छन्, ‘सम्बद्ध स्थानीय तह यसको मुख्य जिम्मेवार हो ।’

चुरे र जलाधार क्षेत्र संरक्षणका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव राजमार्ग नजिक आएर यसको व्यवस्थापन सोचिनु अवैज्ञानिक हुने बताउँछन् ।

जिल्लामा राजमार्ग छिचोल्दै तलतिर झर्ने खोलाहरुमा पाँच सयभन्दा माथि सङ्ख्याका खोल्साखोल्सी पहाडी शृङ्खला वरपर मिसिएका छन् । यी खोल्साखोल्सीले बर्खामा बगाएर ल्याउने गेग्र्यानको माथि नै व्यवस्थापन गरिनुपर्ने यादवको भनाइ छ । खोलामा मिसिनुअघि नै खोल्साखोल्सी बाँधेर गेग्र्यान माथि नै थुन्नु वैज्ञानिक हुने यादव बताउँछन् ।

‘हामीले रातु नदी क्षेत्रमा राजमार्गमाथि काम गरेका छौँ, रातुमा मात्रै एक सय आठवटा खोल्साखोल्सी मिसिएका छन्,’ यादव भन्छन्, ‘रातुमा मिसनुअघि नै हामीले ६७ वटा खोल्साखोल्सीमा छड्के बाँध बनाएर त्यसको व्यवस्थापन गरेका छौँ, ती बाँधिएका खोल्साखोल्सीबाट बाढीमा बग्ने गेग्र्यानमाथि नै रोकिन्छ, खोलामा झर्न पाउँदैन।’ यसले नदी प्रणाली व्यवस्थापनमा निकै सहज भएको यादवको भनाइ छ ।

जिल्लाका सबै खोल्साखोल्सीमा यस्तो छड्के बाँध बनाउन सकिए बर्सेनि तलतिरका उर्वर जग्गामा बालुवा थुप्रिने क्रम नियन्त्रण हुँदै जाने उनी बताउँछन् । यस्ता छड्के बाँधले छानिएर तल झर्ने पानी चुरे क्षेत्रमै जम्मा गर्न सके यसले तल्लो भेगसम्म पानी पुनर्भरणमा सघाउने उनको भनाइ छ ।

विज्ञहरुले नदी प्रणाली व्यवस्थापन र नदीजन्य पदार्थको वैज्ञानिक उपयोग नीति अवलम्बनको कुरा उप्काए पनि यहाँ भने त्यसतिर ध्यान कम पुगेको सामाजिक क्षेत्रका अगुवा बताउँछन् । ‘विज्ञहरुले चुरे क्षेत्रमै खोल्साखोल्सी व्यवस्थापन गर्न सुझाउँछन् तर यहाँ मुद्दा उत्खननको मात्र बन्छ,’ बर्दिबास-१४ का सामाजिक कार्यकर्ता हरि दाहाल भन्छन्।

चुरे संरक्षणका क्षेत्रमा प्रभावकारी काम गर्न तीनै तहका सरकारले समन्वय गर्नसके ठूलो उपलब्धि हासिल हुने उनी बताउँछन् । नदीहरुमा उत्खननका लागि नदीजन्य पदार्थको निकासी ठेक्का बन्दोबस्त समयमा हुन नसक्दा नगरपालिकाले सङ्कलन गर्ने राजस्व गुमेको छ । कैयौँ सरकारी योजनाका निर्माण कार्य समयमा बालुवा, गिट्टी र ढुङ्गा आपूर्ति नहुँदा अलपत्र परेका छन् ।

यसबाहेक सर्वसाधारणका निजी निर्माण काम पनि बालुवा, गिट्टीको अभावमा रोकिएका छन् । नदी उत्खननको वैधानिक बाटो नचालिँदा नदीजन्य पदार्थ मनपरी मूल्यमा तस्करले बेचिरहेका छन् ।

नदी उत्खननसँग जोडिएर देखिने विरोध र विवादको वैज्ञानिक समाधान नखोजिँदा समस्या झन् बल्झने गरेको बर्दिबास–१४ का पूर्ववडाध्यक्ष भरतबहादुर हमाल बताउँछन् । अब चाहेर पनि यसपालि असोजअघि बालुवा थुप्रिएका ठाउँको उत्खनन गर्न सकिन्न ।

असार–१ गतेदेखि भदौ मसान्तसम्म नदी उत्खनन कानुनले नै वर्जित रहेको हुँदा यो समस्या यथावत् नै रहन्छ ।

ललितपुरको लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुराँसका अध्यक्षसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधान रहेका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा गत चैतमा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।

उनीहरुविरुद्ध तीन करोड ठगी गरेको उजुरी परेको छ । मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो ।

चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

एकीकृत समाजवादीको काठमाडौंमा शक्ति प्रदर्शन(फोटोफिचर)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो । त्यसअघि देशभरबाट आएका प्रतिनिधिहरूले भृकुटीमण्डपबाट प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेका थिए ।

महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका माधव कुमार नेपाल र झलनाथ खनाल र घनश्याम भूसाल आकांक्षी देखिएका छन् ।

आफ्नै फार्मेसी सञ्चालनमा निजी अस्पतालको आनाकानी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरुले आनाकानी गरेका छन् ।  

महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।

महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि कामपाले दिएको समय सीमा अपुग भएको भन्दै आगामी साउनदेखि सुरु गर्ने जानकारी गराएका छन् । 

अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरुलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ । हाल ५२ अस्पतालमध्ये १६ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् । 

त्यसैगरी अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्को व्यक्तिका नाममा सञ्चालन भएका  अस्पालहरुको सङ्ख्या २८ छ ।  अन्य बाँकी केहीले फार्मेसीनै सञ्चालन गरेका छैनन् । 

महानगरले गत जेठ २३ गते सार्वजनिक सूचना जारी गर्दै अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो ।  

अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको भन्दै महानगरले सम्बन्धित अस्पताललाई नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।  

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

वासुदेव पौडेल, गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।

तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए ।

“विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ”, उनले भने, “साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।”

पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले बर्सेनि झण्डै ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए ।

“विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो”, उनले भने, “सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।”

रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उनले जानकारी एि । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उनले जानकारी दिए ।

सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको भन्दै उनले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताए । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ ।

सहकारीले वार्षिक करिब दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उनले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताए ।

उनका अनुसार तालमा करिब २४/२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उनले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिए ।

रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताए । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पुर्याउन धौधौ हुने गरेको अनुभव सुनाए ।

तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।

चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ ।

मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उनले जानकारी दिए ।

बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उनले जानकारी दिए ।

लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ ।

पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ ।

चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् ।

यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताए ।

उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उनले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिए ।

नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उदृत गर्दै सिएनएनले उल्लेख गरेको हो ।

स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए ।

उनले भने, “पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो ।”

बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन् ।

आत्मघाती आक्रमणकारीले सोही सहरको अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितहरूको अन्त्येष्टिमा फेरि अर्को आक्रमण गरेको डब्लुआईओएनले जानकारी गराएको छ ।

सेमाका महानिर्देशक बेकिन्डो साइदुले बालबालिका, वयस्क र गर्भवती महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

साइदुले गम्भीर घाइते भएका १९ जनालाई क्षेत्रीय राजधानी मैदुगुरी उपचारका लागि लगिएको छ ।

क्यामरूनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा बढी समयदेखि हिंसा हुँदै आएको छ । बोको हरामले सन् २०१४ मा ग्वोजालाई कब्जा गरेको थियो तर त्यसको एक वर्षपछि चाडेली सेनाको सहयोगमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो ।

ताप्लेजुङमा पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

ताप्लेजुङ । पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भीर घाइते भएका लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार शुक्रबार साँझ राहत सामग्री लिएर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोले बगाएको थियो । पहिरोले करिब १५ मिटर तल बगाएर हाङ्खोलामा पुगेका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो । 

लिम्बूलाई गाउँलेले उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराएका थिए । गएको जेठ ३२ देखि असार ४ गतेसम्मको पहिरोले मामाखेमा धेरै क्षति पुगेको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार मध्यान्ह दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र सरकार संचालनका विषयमा छलफल भएको बताइएको छ । यसअघि एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

कुराकानीको विषय बाहिर नखुलाइएपनि एमाले र कांग्रेसका शीर्ष नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । खासगरी बजेटका कारण नेकपा एमाले माओवादीसँग रुष्ट देखिएको छ ।

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य

चितवन । चितवनका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।

किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो  चार सय ९५ र मध्यम  चार सय ७० रुपैयाँ पाउन थालेका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए । “विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए ।

त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेको थियो ।” त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ ।

विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु दुई सय ३० थियो । उक्त मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।

उनका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसानै छाडेको अवस्था थियो । उनले भने “हामी सङ्गठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।”

नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताए । पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उनको भनाइ छ ।

हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको सङ्ख्या घटेको उनले बताए ।

चितवन उद्योग सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान सङ्गठित भइ प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउँछन् । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो ।

उनले भने “हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेसा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।”

फणीन्द्र देवकोटा फेरि ऊर्जामन्त्री नियुक्त

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् । देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मत दिएपछि उनी मन्त्री बनेका थिए ।

तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाएका थिए । त्यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयमा दिएको थियो ।

कारबाहीविरुद्ध उनी सर्वोच्च गएका थिए सर्वोच्च अदालतले कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनी सांसद पुनर्वहाली भएका छन् ।

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगरपालिका

ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ ।

भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए ।

महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ । मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ ।

शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण सङ्कलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

यसरी विवरण सङ्कलन भएपछि शिक्षा प्रणालीका लागि स्रोत परिचालनमा रहेका समस्या पहिचान र समाधानका उपाय पहिल्याइने सचिवालयले बताएको छ ।

एसइईमा विद्यार्थी होइन, संसदको निरर्थक चर्चा र राजनीतिक खेल खेल्ने आधुनिक मालिकहरुको फेल हो

डा. युवराज संग्रौला ।
एसइईमा फेल र पासको चर्चा । जुन देश आफ्नो शिक्षाको स्तर जाँच गर्दैन, र बालबालिकालाई फेल र पास गर्छ, त्यो नै घोर सरकारी असभ्यता हो ।

१. के थाहा छ शिक्षामन्त्रीले प्रतिनिधित्व गरेका शासकज्युहरु ? ससाना बालबालिका फेल र पासको पद्धति ग्रहण गरेर राष्ट्रका भोलिका जिम्मेवार नागरिकहरुलाई निरास, बिग्रह विद्रोही र पलायनवादी बनाइरहनु भएको छ ? तपाईंहरुका शासनमा योग्य शिक्षक, नियमित र अनुशाशित अध्यापन, सोच र चिन्तन गर्ने प्रेरणा दिएर यी विद्यार्थीलाई पढाइदिएको भए देशको समृद्धि फल्ने थियो भोलि । कसैलाई भ्रान्ती नहोस यो फेल ४८% बालबालिकाको होइन शासकहरुको हो । गरीब जनताबाट कर असुलेर लाखौंका गाडी, चिल्ला सोफा का याचक पदवालाहर, संसदको निरर्थक चर्चा र राजनीति खेल खेल्ने आधुनिक मालिकहरुको फेल हो ।

२. किन समाजलाई दुषित बनाउने मनोविज्ञान निर्माण गर्ने एकातर्फ अहंकार र अर्कोतिर लघुताभास निर्माण गर्ने शिक्षा थोपरी जीवनको गोरेटोमा भर्खर हिँडेका नानीहरुलाइ मूर्ख विद्रोही बनाउन खोजिन्छ ? भेडाहरुको चेतनाहीन हिंडाइ जस्तै कसैका पछि अनुचर भएर हिंड्ने भ्रान्त जमातजस्तो नागरिक समाज फेल हो बालबालिका होइन ।

३. जुन लोकतन्त्रमा छौँ हामी, त्यो लोकतन्त्रको पुत्ला मात्र रहेको छ। यो त अशिक्षित भिडतन्त्रमा परिणत भएको छ। यो भिडतन्त्रमा अल्प र दुष्ट बुद्धि भएका मान्छे, गाँजा बैधानिकताको कानुन बनाउँछन्, गाँजा खाएर आध्यात्म प्राप्त हुने राग अलाप्छ्न्, कसैलाइ देवता बनाउँछन् र कसैलाइ दुष्ट । सोच, वैज्ञानिक प्रवृत्ति, तार्किकताको हत्या गर्छन् र ससना नानिहरु फेल भएको सूचना निकाली उनीहरुको उन्नत मानिस भन्ने सपनाको हत्या गर्छ्न् । शिक्षकहरु पार्टीका कार्यकर्ता बन्छन्, जातपातका कुरा गर्छ्न्, बालिकाहरुमाथि भाग्यवादी भेदभाव गर्द्छ्न र आफ्नो कुरुप समाजको दिर्घायुका लागि बालबालिका फेल र पास भएको घोषणा गर्दछन् ।

४. अशिक्षित लोकतन्त्र भोटतन्त्रका शरीर बोकेर उभिएको छ। यो भोटतन्त्र झुठ्ठा जानकारी र भ्रम बेचेर बाँचेको हुन्छ । यसलाई सचेत र समालोचक नागरिक चुनौती हुनजान्छ । त्यसैले यो व्यवस्थाले ज्ञान र विज्ञान, दक्षता र सीप अनि रोजगारको आधार दिंदैन । यसले शिक्षाका नाममा कागजको खोस्टो दिन्छ । यसले किसान उत्पादन गर्दैन, यसले प्राविधिक उत्पादन गर्दैन, यसले विवेकशील मान्छे उत्पादन गर्दैन, यस्ले वैज्ञानिक उत्पादन गर्दैन, यसले व्यापारी र उद्यमी उत्पादन गर्दैन, यसले त सरकारी जागिरे र भार्न्त अहंकारी मानिस उत्पादन गर्दछ । यस्तै मानिसका सहयोगमा भोटतन्त्र बाँच्छ।

यो विडम्वनामा नेपाली समाज नानीहरुको पास फेलको चर्चा गरेर बसेको छ। २ खर्ब जति खर्च गरेर यंहाँका शासक ४८% बालबालिकालाई निकम्मा घोषित गर्दछन् । उनीहरुलाई सभ्य लोकतन्त्र निर्माण गर्नुछैन । मानिसलाई भेडा बनाउनुछ ।

जर्मनी युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थानपक्का गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले एक एकगोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्कका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चितगर्दै पेनाल्टी दिइएको थियो । सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए ।

६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो । त्यसपछि थप गोल नभएपछि अन्ततःजर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थानपक्का गर्न सफल भयो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।

रोहित र विराटले लिए टी–२० बाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी– ट्वान्टी आईबाट सन्यासको घोषणा गरका छन् । फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले यो आफ्नो अन्तिम खेल भएको बताए ।

भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए ।

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी– ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए।

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस विसौनी उद्घाटन

काठमाडौँ । काठमाडौंको बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी शनिबारबाट शुभारम्भ भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि जेठ १ गतेबाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।

उनले भनिन्,‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’

उनले सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिने बताइन् । परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयवासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।

यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।

कम्युनिष्ट पार्टीले लामो समय सरकार चलाएपनि परराष्ट्र र शिक्षा नीति बन्न नसक्नु दुःखदः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपूरो भएको टिप्पणी गरेका छन् ।

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपूरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका हुन् ।

उनले माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्ने दाबी गरे । उनले भने, ‘तत्कालिन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो । अपुरो संविधान छ । संविधान अुनसारका कानून बनेका छैनन् ।’

अपुरो संविधान बनेकै कारण पर्याप्त कानून बनाउन नसकिएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईले बताए ।

उनले भने, ‘परराष्ट्र नीति हामीले परिवर्तन गर्न सकेका छैनौं । शिक्षा नीति बनिसकेको छैन । त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन । आर्थिकका सवालमा खु्ला सिमाना भएको भारतसँग कुरै गर्दैनौं, उद्योगधन्दाहरु उहिल्लै चौपट भइसकेका छन् । पहिलो उद्योग क्षेत्र मर्यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ ।’

सहाना प्रधान यू-१९ भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशलाई

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि गण्डकी प्रदेशले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुषतर्फको फाइनल खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो २५–१५ ले आफ्नो पक्षमा पर्दा दोस्रो सेट २०–२५ ले गुमाएको थियो।

त्यसपछि बाँकी दुई सेट २५–२० र २५–१८ ले आफ्नो पक्षमा पर्दै च्याम्पियन बनेको हो । उपाधिसँगै गण्डकीले नगद तीन लाख प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाखमा चित्त बुझायो।

बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

गलकोट । बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद दश-दश हजार नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन–९ स्थित उत्तरगंगा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लाछिानेलाई सम्मान गरिएको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए।

तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृति किसानहरुको भनाइ छ । सम्मानले कृषीकर्ममा लाग्न थप उत्साहित बनाएको कृषक खत्रीले बताए।

सुन्तला खेतीबाट एक वर्षमा पाँच लाख आम्दानी गर्दै आएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कृषकको पीरमर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको बताए।

सबै कम्युनिष्ट घटकलाई साझा मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्न प्रधानमन्त्रीको अपील

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए ।

“विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन”, प्रधानमन्त्री दाहालले भने, “विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।”

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको भन्दै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए ।

“दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ”, प्रधानमन्त्री दाहालले भने, “सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माणलगायतका उपलब्धी प्राप्त गरेका छौँ ।”

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।

“म यही मञ्चमार्फत् सबै कम्युनिष्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ”, प्रधानमन्त्री दाहालले भने, “इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।”

निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे ।

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

महोत्तरी । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।

राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ ।

अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए ।

मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् ।

बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पत्ति हेरेर उमेर नपुगेकी छोरी दिनेहरु समाजमा अझै बाक्लै रहेको उनको भनाइ छ ।

बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।

मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताए ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् ।

मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु/पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।

सुदूरपश्चिममा डेङ्गु र स्क्रबटाइफसविरुद्धको अभियान जारी

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि  प्रदेश सरकारले अभियान थालेको हो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेल्धुरामा एक सय ९१ जना छन् ।  कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ ।

यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुला तीन, डडेल्धुरा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । 

बर्सात सुरु भएसँगै  डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै जान थालेका निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जानकारी दिए । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ ।

उनले  भने, “वर्षा सुरु भएसँगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ । तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ ।” पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए ।

बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिहरूमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको  जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।

वर्षा सुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । उनले भने,“तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ, बर्सातको समयमा विशेष ख्याल गर्नुपर्छ ।”

बर्सातको समयमा किर्नालगायत किराहरूले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामीहरू बढ्ने गरेका हुन् । चौपाया नजिक  गइरहनेलाई  किर्नाले टोक्ने जोखिम बढी हुने बताउँदै उनलेमाइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने जानकारी दिए । विशेष गरी पशुपालक किसानलाई सावधानी अपनाउन उनले आग्रह पनि गरे  । 

चिकित्सकहरूका अनुसार एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गरेको छ । यो रोग लागेकालाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, सास फेर्न समस्या हुने, लामो समयसम्म टाउको, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, टोकेको ठाउँमा कालो दाग बस्ने लक्षण देखिन्छ । 

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए ।

यसैबीच, डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि चेतनामूलक र  सरसफाइ अभियान पनि सञ्चालन गरिएको  छ । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका निर्देशनालयले जनाएको छ  ।  

लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपालले नखेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नखेल्ने भएको छ ।

अखिल नेपाल फूटबल संघ(एन्फा)ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रतियोगितामा नेपाली टोलीलाई नपठाउने निर्णय गरेको हो । प्रतियोगिता लेबनानमा असार २६ देखि साउन १ सम्म हुने भनिएको थियो ।

नेपालले पहिलो खेल असार २६ मा जोर्डनसँग खेल्ने तालिका रहेको थियो । प्रतियोगितामा नेपालसंगै आयोजक लेबनान, जोर्डन र बंगलादेशले सहभागिता जनाउने बताइएको थियो ।

बंगलादेशलेपनि सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा सहभागिता नजनाउने बताएको छ । प्रतियोगिताको लागि बुधबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका थियो ।

हाम्रो पार्टीभित्र गुटबन्दी लागू हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने बताएका छन् ।

शनिबार पार्टीको दशौं महाधिवेशनको तयारीकाबारेमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफूहरूले पार्टीभित्र गुटबन्दी नचाहेको र पार्टीलाई आपसी छलफल एवं वहसमार्फत अघि बढाउन प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा पार्टी सञ्चालन गर्ने बताए । उनले भने, ‘पार्टी संगठन भनेकै कमरेडहरूलाई व्यवस्थापन गर्ने संरचना हो, यो स्वभाविक हो। पार्टीको सातौं महाधिवेशनसम्म एउटा नेता भए आठौंदेखि विभिन्न पदहरु सिर्जना गर्यौं । त्यही पदको आधारमा व्यवस्थापन गर्दै आएको हो। विचार र व्यवस्थापन दुवैको सन्तुलन मिलाएर हामी अगाडि बढ्नुपर्ने हुन्छ।’

उनले कसलाई कुन पद दिने भन्ने सन्दर्भमा आन्तरिक छलफल गरिरहेकाले चाँडै त्यो विषय टुंग्याउने जानकारी दिए । खनालले पार्टीभित्र गुटबन्दी नहुने दाबी गरे ।

उनले भने, ‘जहाँसम्म गुटगत भेलाका कुरा छन् मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिन। गरेँ भने पनि जान्दिन । उहाँहरूले नि गर्नुभएको जस्तो मलाई लाग्दैन। हामी नेताहरूसँग विभिन्न कमरेडहरू आउनुहुन्छ, कहिले यता कहिले उता छलफल गर्छौं। यो गुटबन्दी होइन एक आपसको छलफलको कुरा हो ।’

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद खतरनाक रुपमा देखापर्योः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताएका छन् ।

शनिबार पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपाले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए । उनले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेको बताए ।

उनले भने, ‘गुटले धेरै ठूलो क्षति पुर्याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्पका साथ अगाडि बढेका छौं।’

अध्यक्ष नेपालले राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताए ।

उनले आफ्नो पार्टी घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भएको भन्दै यसले प्रत्येक चुनौतीको सफलताका साथ सामना गर्दै आएको पनि बताए ।

माधव नेपालले अध्यक्षमा हारे के हुन्छ ?

मोनिका सिंह ।
नेकपा एकीकृत समाजवादी पार्टी संसदमा १० सिट भएको छैटौ नम्बरमा पर्छ । संसदमा यो भन्दा अरु पाँच पार्टी ठूला छन् । तर आइतबारदेखि हुने यसको महाधिवेशन र नेतृत्व चयनको हल्ल्लाखल्ला भन्ने देशकै प्रमुख पार्टी जस्तै भएको छ। यो पार्टीको महाधिवेशन १६ गतेबाट राजधानीमा हुँदै छ। अरु पार्टीमा जस्तै यसमा पनि नेतृत्व चयनले नै ठुलो चर्चा पाएको छ।
वर्तमान अध्यक्ष माधव नेपाल यो पार्टीको जसरी पनि फेरि अध्यक्ष बन्ने कसरतमा लाग्नु भएको छ। उहाँलाई सो पार्टीका सम्मनित नेता झनथा खनाल र महासचिव घनश्याम भुसालले चुनाती दिनु भएको छ।

फेरि पनि एकीकृत समाजवादीमा जम्बो पदाधिकारी र केन्द्रीय कमिटी बन्ने भएको छ । जबकी चुस्त कमिटी निर्माण गरिनुपर्ने आवाज पार्टीभित्रै उठेपछि पदाधिकारी र केन्द्रीय सदस्य घटाउनेबारे लामै छलफल चलेको थियो । तर पार्टीभित्र भएको छलफलको आशय विपरीत पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरिनुमा नेताहरुको स्वार्थले काम गरेको देखिन्छ । ‘महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनु भनेको पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको वातावरण कमजोर बन्दै एक नेताको टिप्प्णी छ।

घटनाक्रम र गतिविधिले पनि नेतृत्व लिने होडकै कारण अन्तिम समयमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय भएको पुष्टि हुन्छ । पर्सि, १६ असारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने महाधिवेशनबाट अध्यक्षमै रहने तयारी माधव नेपालले गरिरहनु भएको छ। । त्यसका निम्ति आफू निकटस्थहरुको दिनहुँजसो भेला चलिरहेको छ।

तर अध्यक्षमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको तायरी पनि तीब्र भएको छ। । पार्टी गठनको सुरुदेखि नै उहाँले अध्यक्ष नेपालसँग फरक मत राख्दै आउनु भएको थियो । सैद्धान्तिक–वैचारिक रुपमा फरक मत राख्ने खनालले आफू पक्षधरहरुको पंक्ति संगठनात्मक रुपमा पनि तयार पार्नुभएको थियो । तिनै संगठनात्मक शक्तिका साथ खनाल मैदानमा उत्रिनु भएको छ। ।
पाँच दशक पुराना प्रतिस्पर्धी झलनाथ खनालको चुनौती माधव नेपालका निम्ति अपेक्षित नै थियो । सम्मानित नेता खनालले अडान लिएपछि मध्य असारमै महाधिवेशन गर्न तयार हुनुले संभावित चुनौतीबारे नेपाल जानकार रहेकै पुष्टि हुन्छ ।

तर अहिले यो पार्टीको आन्तरिक समीकरणमा फेरबदल आएपछि भने माधव नेपालको समेत राजनीतिक भविष्या खतरामा परेको छ। यो महाधिवेशनमा सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालबीच सहकार्यको समीकरण बन्ने संभावना टड्कारो बनेको छ। तीन प्रभावशाली नेता मध्ये दुई जता लाग्यो उत्तै पल्ला भारी हुने स्वभाविक अवस्था हो। अहिले भुसाल र खनाल एकातिर देखिएपछि नेपाल एकातिर पर्नुभएको छ। त्यसैले महाधिवेशनमा चुनाव परिणामको तराजु कता तिर ढल्कने हो भन्ने सजिलै अनुमान गर्न सकिन्छ।

माधव नेपाल एमाले जस्तो देशमा प्रभाव राख्ने पार्टीका १५ बर्ष नेतृत्व गरिसकेको नेता हुुनुहन्छ । उहाँ देशमा लामो समय प्रधानमन्त्री समेत भइसक्नु भएको नेता हो। उहाँ लाखौ पार्टी सदस्य भएको पार्टी एमालेमा प्रतिस्पर्धा गरेर आउनु भएको हो। अहिले आएर चुनावमा राष्ट्रिय मान्यात पनि पाउन नसकेको पार्टीको आन्तरिक प्रतिस्पर्धामा अध्यक्षमा पराजित हुनु भए उहाँको व्यक्तित्व कति जोखिममा पर्ला ? यो भने भविष्यले निर्धारण गर्ने छ।

पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई

पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ)को आरोप लागेका २८ जनालाई शुक्रबार सफाइ दिएको छ ।

सफाइ पाउनेमा कम्पनीका संस्थापक जर्गेन मोसाक र रेमन फोन्सेका पनि रहेका छन् । रेमनको मे महिनामा पानामाको एक अस्पतालमा मृत्यु भइसकेको छ ।

गत अप्रिलमा पानामा सिटीमा भएको सुनुवाइका क्रममा अभियोजन पक्षले दुवैलाई १२ वर्षको जेल सजाय माग गरेको थियो ।

तर न्यायाधीश बालोइसा माक्र्विनेजले कानुनी ल फर्मको सर्भरबाट लिइएको प्रमाण प्रक्रियाअनुसार सङ्कलन नगरिएको पाइएपछि उक्त जोडी र अन्य २६ जनालाई सफाइ दिएका छन् ।

‘बाँकी प्रमाणहरू प्रतिवादीहरूको आपराधिक जिम्मेवारी निर्धारण गर्न पर्याप्त र निर्णायक नभएको’ फैसला न्यायाधीशबाट भएको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१६ मा मोसाक फोन्सेकाबाट चुहावट भएका कागजातहरूले विश्वका कति धनाढ्यहरूले अफशोर कम्पनीहरूमा सम्पत्ति लुकाएका थिए भन्ने खुलासा गरेको थियो ।

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरून, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फुटबल स्टार लियोनल मेस्सी, अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याँक्री र स्पेनी फिल्म निर्माता पेड्रो अल्मोडोभरलगायतलाई पनि मुद्दा चलाइएको थियो ।

पनामाका अभियोजकहरूले मोसाक र फोन्सेकाले अपारदर्शी कम्पनीहरू सिर्जना गर्न मद्दत गरेको आरोप लगाएका थिए । कम्पनीमा जर्मन बहुराष्ट्रिय सिमेन्सका अधिकारीहरूले कम्पनीको आधिकारिक खाताभन्दा बाहिर लाखौं यूरो जम्मा गरेका थिए ।

उनीहरूमाथि अर्जेन्टिनामा भएको ठूलो ठगीबाट पैसा झिक्न सहयोग गरेको आरोप पनि लगाइएको थियो। मोसाक र अन्य प्रतिवादीका वकिल गुइलेर्मिना म्याकडोनाल्डले भने, “न्याय भएको छ, हामी न्यायाधीशको फैसलाबाट अत्यन्त सन्तुष्ट छौं।”

उनले भने, “तर, हामी अलि दुःखी छौं सुनुवाईका क्रममा हामीले रेमन फोन्सेकालाई गुमाएका छौँ र उहाँले यो नतिजा देख्न सक्नुभएन । यसप्रति हामी दुःखी छौँ ।”

‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआईजे)’ ले सन् २०१६ को अप्रिल ३ मा ‘पानामा पेपर्स’ प्रकाशन सुरु गरेको आठ वर्षपछि यो मुद्दाको सुनुवाइ सुरु भएको हो ।

मोसेक फोन्सेकाबाट एक करोड १५ लाख भएका कागजातमा आधारित यो अनुसन्धानले विश्वभरका व्यक्तित्वहरूले कर छल्न वा सम्पत्ति शुद्धीकरण गर्न सम्पत्ति, कम्पनी, सम्पत्ति र मुनाफा कसरी लुकाएको छन् भन्ने खुलासा गरेको छ ।

अनुसन्धानअनुसार, यसका लागि उनीहरूले केही अवस्थामा अवैध गतिविधिहरूबाट आएको फर्ममार्फत् कम्पनीहरू सिर्जना गरेकोे, बैंक खाता खोलेको र पैसा लुकाउन धेरै देशहरूमा उप शाखा (फाउन्डेसन) हरू सिर्जना गरेको देखिएको छ ।

यस काण्डले मोसाक फोन्सेकालाई बन्द गरायो र पानामाको अन्तर्राष्ट्रिय छविलाई अपतटीय कर छलिका रूपमा व्याख्या गरिएको थियो ।

अपतटीय कम्पनीहरू आँफैमा अवैध छैनन्, र तिनीहरूलाई प्रयोग गर्नका लागि धेरै वैध कारणहरू छन् । तर तिनीहरूलाई आपराधिक गतिविधिबाट प्राप्त आयलाई शुद्धीकरण गर्न वा दुरुपयोग वा राजनीतिक रूपमा असुविधाजनक सम्पत्ति लुकाउन पनि प्रयोग गर्न सकिन्छ ।

“वास्तवमा त्यहाँ ठूलो अन्याय भएको छ,” मोसाकले सुनवाई को समापन पछि भने । “मेरो साथी र मसँग काम गर्ने सबै व्यक्ति गम्भीर, इमानदार र सही थिए्,” उनले भने ।

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब ‘अनलाइन’बाट

काठमाडौँ ।  आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका हुन् ।

नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ ।

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो । खाड़ीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने भन्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्नुअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन  आजैदेखि परीक्षण थाल्नु उपयुक्त हुन्छ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए ।

केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तिमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ ।

केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्य बिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन् ।

सुरक्षा परिषदद्वारा सशस्त्र द्वन्द्वमा नागरिकको रक्षार्थ प्रयास बढाउन आग्रह

सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा बलियो बनाउनका लागि प्रयासहरू दोब्बर बनाउन सदस्य राष्ट्रहरूलाई आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले एक प्रस्ताव गरेको छ ।

सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको रिपोर्ट प्रति चिन्ता व्यक्त गर्दै परिषद्ले पाँच वर्ष अघि स्वीकृत प्रस्तावमा तोकिएको उपायहरू अगाडि बढाएर प्रवृत्तिलाई उल्टाउने उद्देश्यले प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

सन् २०१९ मा सुरक्षा परिषद्ले सशस्त्र द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिहरूका लागि प्रस्ताव–२४७४ पारित गरेको थियो ।

यस वर्ष सन् १९१९ को जेनेभा महासन्धि स्वीकृत भएको ७५ औँ वार्षिकोत्सव र ‘सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षा’ लाई विषयगत मुद्दाको रूपमा प्रगतिशील विचारको २५ औँ वार्षिकोत्सव भएको उल्लेख गरेको छ । यसैगरी सुरक्षा परिषद्ले सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षालाई सुदृढ पार्ने प्रयासलाई दोब्बर बनाउने परिषद् र सदस्य राष्ट्रहरूको ‘स्थायी आवश्यकता’ मा जोड दिएको छ ।

यसले द्वन्द्वरत पक्षलाई ‘बेपत्ता रिपोर्ट गरिएका व्यक्तिको सक्रिय खोजी गरी, अवशेष फिर्ता गर्न सक्षम बनाउन, भेदभाव बिना बेपत्ता रिपोर्ट गरिएका व्यक्तिको सङ्ख्या कायम गरी खोजी प्रक्रियामा परिवारसँग सम्पर्क राख्न तथा सशस्त्र द्वन्द्वमा बेपत्ता बच्चाहरूको मामिलामा ‘अत्यधिक ध्यान’ दिन आग्रह गरेको छ ।

काउन्सिलले द्वन्द्वरत पक्षलाई ‘सशस्त्र द्वन्द्वको परिणामस्वरूप बेपत्ता व्यक्तिहरूको सबै सान्दर्भिक तथ्याङ्क र कागजात सङ्कलन गरी सुरक्षा गर्न आग्रह गरेको छ । यसैगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनको पूर्ण, द्रूत, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी बेपत्ता व्यक्तिहरूसँग सम्बन्धित अपराधको अभियोजन सुनिश्चित गर्न राज्यहरूलाई उचित उपायहरू लिन आह्वान गरेको छ ।

प्रस्तावमा परिषद्ले बेपत्ताहरूको मुद्दालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय रेडक्रस समिति र यसको सेन्ट्रल ट्रेसिङ एजेन्सीको महत्वपूर्ण भूमिका, शान्ति वार्ता र सम्झौतामा मानवीय तत्वहरू समावेश गर्न आवश्यक रहेको औल्याउँदै मेलमिलाप र द्वन्द्व समाधान प्रक्रियामा सत्य, न्याय र उत्तरदायित्व संयन्त्रको भूमिकामा जोड दिएको छ ।

आकर्षक सम्बोधन गरेर बहसमा भएको क्षतिलाई सुधार्ने प्रयासमा अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको बहसका क्रममा भएको कमजोर प्रदर्शनको भरपाई गर्ने प्रयास गर्दै जो बाइडेनले आफू नै नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनाव जित्ने सही व्यक्ति भएको दाबी गरेका छन् ।

नर्थ क्यारोलिना राज्यमा चुनावी र्यालीमा राष्ट्रपति बाइडेनको कडा भनाइ देशको सबैभन्दा प्रभावशाली पत्रिकाले उनलाई पद त्याग्न आग्रह गर्नुभन्दा केही समयअघि नै र डेमोक्रेटिक पार्टीमा ८१ वर्षीय उनलाई आफ्नो उम्मेदवारको रूपमा प्रतिस्थापन गर्ने विषयमा चिन्ता व्यक्त भइरहेका बेला आएको हो ।

“म पहिलेजस्तो सजिलोसँग हिँड्न सक्दिनँ । म पहिलेजस्तो सहजै बोल्न सक्दिनँ । म पहिलेजस्तो बहस गर्दिनँ,” राष्ट्रपति बाइडेनले आफ्ना समर्थकलाई असामान्य रूपमा स्वीकारोक्तिपूर्ण टिप्पणी गर्दै भने ।

“तर म साँचो कुरा कसरी भन्ने जान्दछु । यो काम कसरी गर्ने मलाई थाहा छ”, तालीको गडगडाहटबीच उनले भने, “जब तपाईं ढल्नुहुन्छ फेरि उठ्नुहुन्छ ।”

बाइडनको टोली बिहीबारको बहसपछि क्षति नियन्त्रणको अवस्थामामा छ । उनी अक्सर हिचकिचाउँछन् । शब्द चयनमा हडबडाएका थिए । यसले पार्टीमा उहाँको अर्को कार्यकाल पूरा गर्ने क्षमताको बारेमा डर बढाएको थियो । उनले आफ्नो बढ्दो उमेरको बारेमा भ्रम हटाउन र ट्रम्पलाई अभ्यस्त झूटको रूपमा पर्दाफास गर्ने आशा पार्टीले गरेको थियो ।

राष्ट्रपति बाइडेनले आफ्नो शब्दभेदी प्रतिद्वन्द्वीको सामना गर्न असफल भएका थिए । ट्रम्पले अमेरिकी अर्थव्यवस्थादेखि आप्रवासनसम्म सबै कुराको बारेमा झूटा वा भ्रामक बयानहरूको एक ठूलो चुनौतीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

शुक्रबार बाइडेनले डेमोक्र्याटले टेलिभिजनमा प्रसारण भएको बहसमा भनेको कुरा सुनाउँदै भने, “के तपाईंले हिजो राति ट्रम्पलाई देख्नुभएको थियो? मेरो अनुमान के हो भने उनले एउटै बहसमा बोलेका सबैभन्दा धेरै झुटका लागि नयाँ रेकर्ड बनाएका छन् । ट्रम्पले भर्जिनियामा आयोजित एक र्यालीमा बोल्दै बाइडेनमाथि शब्दप्रहार गरेका थिए ।
“यो उहाँको उमेर होइन, यो उहाँको योग्यता हो,” ट्रम्पले भने ।

“आज हरेक मतदाताले आफैलाई सोध्नु पर्ने प्रश्न राष्ट्रपति बाइडेन ९० मिनेटको बहस प्रदर्शनबाट बच्न सक्छन् कि सक्दैनन् भन्ने होइन, तर के अमेरिका अझै चार वर्ष कुटिल जो बाइडनको जीवनबाट बच्न सक्छ कि सक्दैन भन्ने हो ।”

ट्रम्पले बाइडनको स्थानमा अर्को उम्मेदवार आउने सम्भावनालाई सङ्केत गर्दै भने, “वास्तवमा, उहाँले अन्य डेमोक्र्याटभन्दा चुनावमा राम्रो प्रदर्शन गर्नुभएको छ भन्ने मलाई विश्वास लाग्दैन ।”

अहिलेसम्म कुनै पनि वरिष्ठ डेमोक्र्याटिक व्यक्तित्वले सार्वजनिक रूपमा बाइडेनलाई उम्मेदवार फिर्ता लिन आग्रह गरेका छैनन्, अधिकांशले विद्यमान टिकटमा अडिग रहने पार्टीको लाइन पछ्याएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बहसलगत्तै भने, “म राष्ट्रपति बाइडेनको विकल्पमा अन्य उम्मेदवारको कल्पना गरी समर्थनबाट कहिल्यै पछि हट्ने छैन ।”

टिकट परिवर्तन गर्न बाध्य पार्नु राजनीतिक रूपमा खतरनाक हुनेछ र बाइडेनले अर्को महिना हुने पार्टी अधिवेशनअघि अर्को उम्मेदवारका लागि मार्ग प्रशस्त गर्नका लागि नाम फिर्ता लिने निर्णय गर्नुपर्नेछ ।

राष्ट्रपति बाइडेनले प्राथमिक मतदानमा भारी मत प्राप्त गरेका छन् र सिकागोमा हुने अधिवेशनमा जाने पार्टीका तीन हजार ९०० प्रतिनिधि उनीप्रति आभारी छन् । यदि उनी बाहिर निस्कन्छन् भने, प्रतिनिधिहरूको पनि प्रतिस्थापन खोज्नुपर्नेछ ।

–पक्ष र र विपक्षमा तर्क –

बाइडनका पूर्व प्रमुख बाराक ओबामाले एक्समा लेखेका छन्, “रात्रि बहस कमजोर हुनसक्छन् । तर यो निर्वाचन ‘अझै पनि साधारण मानिसहरूको लागि जीवनभर लडेको व्यक्ति र आफ्नो मात्र ख्याल राख्ने व्यक्तिमध्ये एकको छनौट हो ।”

बाइडेनको स्थान लिनका लागि स्वचालित होइन तर तार्किक व्यक्तिव उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो नेताको बहसको प्रदर्शनको बचाउ गरेका छन् ।

यद्यपि, नर्थ क्यारोलिनामा डेमोक्र्याटिक वफादारी र बाइडेनको अवज्ञाको प्रदर्शन न्युयोर्क टाइम्सका लागि पर्याप्त थिएन ।

दैनिक पत्रिकाले बाइडेनको अभियानलाई ट्रम्पले निम्त्याएको खतराको सामना गर्दै ‘लापरवाह जुवा’ को रूपमा आलोचना गरेको छ । समाचार कक्षबाट अलग यसको सम्पादकीय समितिले राष्ट्रपतिलाई अलग रहन आह्वान गरेको छ ।

“बाइडेनले अब गर्न सक्ने सबैभन्दा ठूलो सार्वजनिक सेवा भनेको आफू पुनः निर्वाचनका लागि उम्मेदवारी नदिने घोषणा गर्नु हो,” सम्पादकीय समितिले भनेको छ ।

ट्रम्प वा अन्य डेमोक्र्याटिक नेताहरूमाथि बाजी लगाउन रुचाउने थुप्रै चुनावी समर्थकहरूले पनि बाइडेनलाई त्यागेका छन् ।

बहस अघि, प्लेटफर्म स्मार्केट्समा शर्तकर्ताहरूले नोभेम्बरमा बाइडेनलाई जित्ने ३५ प्रतिशत मौका दिइरहेका थिए, तर शुक्रबार यो आँकडा २० प्रतिशतभन्दा तल झरेको थियो । दोस्रो बहस सेप्टेम्बर १० मा हुनेछ ।

लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई शुक्रबार राति पक्राउ गरेको हो । भण्डारीलाई शुक्रबार राति पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । भण्डारीलाई आइतवार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बचतकर्ताको अर्बौं रकम फिर्ता दिन नसक्दा यो सहकारीलाई सरकारले गत फागुनमा समस्याग्रस्त घोषणा गरिसकेको छ । यो सहकारीमा २० हजारभन्दा बढी बचतकर्ता रहेका बताइएको छ ।