`

प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड

मनहरी । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
मुख्यमन्त्रीले अब पाठ्यक्रम सुधार गरेर सैद्धान्तिक ज्ञान हासिल गरी विद्यार्थीहरुलाई व्यवहारमा लागू गर्न उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिए । अहिले शिक्षाक्षेत्रमा वितृष्णा फैलिएको औँलाउँदै उनले नेपालमा अध्ययन गरेपछि विदेश जाने परिपाटी बन्द गराउन व्यावहारिक शिक्षा आवश्यक भएको बताए ।

प्राविधिक विषय अध्ययनमा कोटा प्रणालीको अन्त्य गर्न सरकार लागिरहेको भन्दै उनले स्वास्थ्य र शिक्षाको लगानी अब प्रतिफल दिने गरी काम गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरूलाई आग्रह गरे । सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सिँचाइ, खानेपानी तथा ऊर्जामन्त्री एकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, प्राध्यापक डा. विद्यानाथ कोइराला, प्रा.डा. पेशल खनाल, शिक्षा विकास समन्वय एकाइका प्रमुख दीनानाथ गौतमले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए ।

युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोरÞ्याएका छन् । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भने,“आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ । रुसको आक्रामकता विरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ ।”

“यो २७ करोड ५० लाख मिलियन अमेरिकी डलरको प्याकेज युक्रेनलाई खार्किभ नजिकै रुसको आक्रमणलाई रोक्न मद्दत गर्ने हाम्रो प्रयासको एक हिस्सा हो । यसमा हिमार्सका लागि गोला बारुद एक सय ५५ एमएम र एक सय ५ एमएम आर्टिलरी राउन्ड, ट्यूब–लन्च, अप्टिकली–ट्रयाक्ड, वायर–गाइडेड मिसाइल, ज्याभलिन र एटी–४ एन्टी–आर्मर प्रणाली, सटीक हवाई हतियार, साना हतियार, गोला बारुद, एन्टी–आर्मर माइन, सामरिक सवारी साधन, शरीर कवच, रासायनिक, आणविक सुरक्षा उपकरण, स्पेयर पार्ट्स, मर्मतसम्भार र अन्य तत्काल आवश्यक उपकरण समावेश छन्”, उनले भने ।

ब्लिन्केनले भने, “राष्ट्रपति बाइडेनले स्पष्ट गरिसक्नुभएको छ, संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन युक्रेनको स्वतन्त्रताको रक्षामा युक्रेनको साथमा रहनेछ ।” 

सन् २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो । रसियासँग चलिरहेको युद्धबीच कियभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा एन्टनी ब्लिन्केनले युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए । फेब्रअरी २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएपछि उहाँले चौथो पटक यो अघोषित भ्रमण गरेका हुन् ।

इजरायललाई आइसीजेको फैसलाको पालना गर्न अष्ट्रेलियाको आग्रह

अष्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय  अदालत (आइसीजे)को आदेशको पालना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत आइसीजेले शुक्रबार इजरायललाई दक्षिणी गाजा सहर रफाहमा सैन्य आक्रमण तुरुन्तै रोकी इजिप्ट र गाजाबिचको राफाह क्रसिँग खोल्न आदेश दिएको छ ।

यसको जवाफमा अष्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री तथा प्रधानमन्त्री एन्थोनी अल्बनिजको मन्त्रीमण्डलका सदस्य क्रिस बोवेनले सङ्घीय सरकारले उक्त फैसलालाई समर्थन गरेको बताए ।

उनले रफाहको स्थितिलाई मानवीय प्रकोपको रूपमा वर्णन गर्दै त्यहाँ अझ खराब हुने सम्भावना व्यक्त गरे । रफाहमाथि आक्रमण नगर्न स्थिर रहेको बोवेनले शनिबार पत्रकार सम्मेलनमा बताए ।

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा विश्वास गर्ने बताउदै अष्ट्रेलियाको  बाध्यकारी निर्णयको पालना गरी इजरायलले राफाहलाई आक्रमणलाई रोक्नुपर्ने उनले बताए ।

आइसीजेको आदेशलाई १५ अन्तर्राष्ट्रिय न्यायाधीशको प्यानलले  १३÷२ मतमा पारित गरेको थियो । इजरायल र युगान्डाका न्यायाधीशले यस निर्णयको विरोध गरेका थिए ।  

जिडीपीको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण

काठमाडौँ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।

“चालु आर्थिक वर्ष २०८०/०८१ को सुरुमा कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा  ९८ अर्ब आठ करोड रुपैयाँ थप प्राप्त भई कूल ऋण २३ खर्ब ९७ अर्ब रहेको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण  ११ अर्ब ६४ करोड थप भएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ ।”

गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिपिडी) को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋण दायित्व१२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो ।

 सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल दुई खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा  एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण  एक खर्ब ९१ अर्ब र बाह्य ऋण  ७३ अर्ब ६३ करोड बराबर हो । त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा  एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ  ३० अर्ब ९३ करोड बराबर भुक्तानी भएको छ ।

गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ । “चालु आर्थिक वर्षमा  चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा  दुई खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको छ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ, “वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ ।”

 चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब बराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो ।

कोरोनाको नयाँ भेरियन्ट  सङ्क्रामक तर घातक कम

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । 

सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उनले भने, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।”

कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ । ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक÷एकजनामा देखिएको थियो ।

अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि इजरायलद्वारा रफाहमा आक्रमण 

हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजना बन्दीहरूको शव बरामद गरेको घोषणा गरेको केही घण्टापछि अन्तर्राष्ट्रिय अदालतले (आइसीजे)ले पनि प्यालेस्टिनीले अझै पनि बन्धक राखेका सबैलाई तत्काल रिहा गर्न माग गर्यो र इजरायललाई इजिप्ट र गाजाबीचको राफाह क्रसिङ्ग खुला राख्न आदेश दिएको हो ।

“इजरायलले रफाह क्षेत्रमा सैन्य कारबाही गरेको छैन र गर्ने पनि छैन जसले प्यालेस्टिनी नागरिकको जीवनमा पूर्ण वा आंशिक विनाश गर्न सक्ने अवस्था सिर्जना गर्दछ”, राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले इजरायलको विदेश मन्त्रालयका प्रवक्तासँगको संयुक्त विज्ञप्तिमा भने ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आइसीजेको फैसलाको स्वागत गरेको छ तर युद्धग्रस्त गाजाको बाँकी भागलाई बेवास्ता गरेको भन्दै निर्णयको आलोचना गरेको हो ।

आइसीजेको फैसलाको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको छ ।

प्यालेस्टिनी साक्षी र एएफपी टोलीले राफाह र केन्द्रीय सहर देइर अल–बलाहमा इजरायली आक्रमण भएको जनाएको थियो ।

“हामीलाई आशा छ कि, अदालतको निर्णयले इजरायललाई यो विनाशको युद्ध अन्त्य गर्न दबाब दिनेछ, किनकि यहाँ केही बाँकी छैन”, गाजा युद्धका कारण देइर अल–बलाहमा विस्थापित प्यालेस्टिनी महिला ओम मोहम्मद अल–अस्काले गुनासो व्यक्त गरे ।

“इजरायल आफूलाई कानुनभन्दा माथि ठान्छ । तसर्थ, गोलीबारी वा बल प्रयोग बाहेक अरूले इजरायलाई रोक्न सक्छ भन्ने मलाई विश्वास छैन”, मध्यगाजा पट्टी सहरमा एएफपीले भेटेको मोहम्मद सालेहले भने ।

आफ्नो फैसलामा आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिकरूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न र आदेश दियो र गाजामा हमासले बन्धक बनाएकाको “तत्काल र बिना शर्त रिहाई”को लागि पनि आह्वान गर्यो ।

इजरायली सेनाले शुक्रबार उत्तरी गाजामा शव बरामद भएका तीन जना बन्धकहरु चानान याब्लोन्का, ब्राजिलियन–इजरायली मिशेल निसेनबाम र फ्रान्सेली–मेक्सिकन ओरियन हर्नान्डेज राडोक्सको अक्टोबर ७ को आक्रमणमा हत्या भएको र उनीहरूको शव गाजा लगिएको बताएको छ ।

पेरिसमा गाजा द्वन्द्वको विषयमा एकातिर सीआईए प्रमुख र इजरायली प्रतिनिधि र अर्कोतिर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चार प्रमुख अरब राज्यका विदेशमन्त्रीबीच आयोजित बैठक अघि अदालतको यो आदेश आएको हो ।

इजरायलले रफाह अपरेसन सुरु गरेको केही समयपछि अमेरिका, इजिप्ट र कतारी मध्यस्थकर्तासँगको युद्धविराम वार्ता समाप्त भएको थियो । यद्यपि युद्ध मन्त्रिपरिषद्ले यस हप्ता इजरायली प्रतिनिधिमण्डललाई “बन्धकको फिर्तीका लागि वार्ता जारी राख्न” आग्रह गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जानकारी गरायो ।

सीआइए प्रमुख बिल बर्न्सले वार्ता पुनःसुरु गर्ने प्रयासमा पेरिसमा इजरायली प्रतिनिधिलाई भेट्ने अपेक्षा गरिएको यस मुद्दासँग नजिक पश्चिमी स्रोतले बताएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले छुट्टै कतारका प्रधानमन्त्री र साउदी, इजिप्ट र जोर्डनका विदेशमन्त्रीलाई “युद्धविरामका लागि दबाब दिन” आग्रह गरे । र पाँच देशले दुई–राज्य बीचको सम्बन्ध समाधानका तरिकाको प्रभावकारी कार्यान्वयनबारे छलफल गरेको कायरोले जानकारी गराएको हो ।

विश्वव्यापी विरोधलाई बेवास्ता गर्दै इजरायली सेनाले इजिप्टसँगको राफाह सीमा पार गर्ने प्यालेस्टाइनतर्फको रफाह सीमामा कब्जा गर्यो र गाजाको २.४ मिलियन मानिसका लागि मानव सहायताको उपलब्धीलाई थप सुस्त बनाएको थियो ।

शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोम क्रसिंगमार्फत संयुक्त राष्ट्र सहयोग भित्र्याउने अनुमति दिन सहमत हुनुभएको ह्वाइट हाउसले बताएको हो ।

यस क्षेत्रको सुरक्षा र मानवीय अवस्था चिन्ताजनक । विगत दुई हप्तामा करीब आठ लाख मानिस राफाहबाट विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

“गाजाका जनताले अनिकालको सामना गरिरहेका बेला विगत सात महिनामा गरिएको आह्वानलाई ध्यानमा राख्नु महत्त्वपूर्ण छ । बन्धकलाई रिहा गर्नुहोस्, युद्धविराममा सहमत हुनुहोस् र यो दुःस्वप्न अन्त्य गर्नुहोस् ।” संयुक्त राष्ट्रसङ्घका मानवतावादी प्रमुख मार्टिन ग्रिफिथले भने ।

भारतमा लोकसभा चुनावको छैटौँ चरणमा  मतदान  सुरु

जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान ६ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान  साँझ छ बजेसम्म जारी रहनेछ । 

बिहान मतदान सुरु हुनुअघि ओडिसामा लोकसभा र विधानसभा चुनावका लागि विभिन्न क्षेत्रमा नमुना मतदान गरिएको थियो ।

छैटौँ चरणको मतदानमा बिहारका आठ, हरियाणाका सबै, जम्मु–कश्मीरको एक, झारखण्डका चार, दिल्लीका सात, ओडिसाका छ, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गाालका आठ सिटका लागि मतदान भइरहेको छ । जसमा कुल आठ सय ८९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

छैटौँ चरणमा ओडिसाका ४२ वटा विधानसभा निर्वाचन क्षेत्रमा पनि मतदान हुँदैछ । जहाँ लोकसभा चुनावसँगै विधानसभा चुनाव भइरहेको छ । यस चरणमा दिल्ली र हरियाणाका सबै संसदीय सिटमा मतदान हुनेछ । प्रमुख उम्मेदवारमा दुई पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर र मेहबुबा मुफ्ती रहेका छन् । करनालबाट भाजपाका उम्मेदवारका रूपमा खट्टर र अनन्तनाग–राजौरीबाट पिडिपी उम्मेद्वार मेहबुबा मुफ्ती चुनाव लड्दैछन् ।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान, भाजपाका प्रवक्ता सम्बित पात्रा र पूर्वकेन्द्रीय मन्त्री मेनका गान्धी प्रमुख उम्मेदवार छन् । अन्य प्रमुख उम्मेदवारमा बांसुरी स्वराज, सोमनाथ भारती, मनोज तिवारी, कन्हैया कुमार, दिनेशलाल यादव उर्फ ‘निरहुआ’, धर्मेन्द्र यादव, अभिजीत गङ्गोपाध्याय, अग्निमित्रा पल, नवीन जिन्दल, राज बब्बर, दीपेन्दर सिंह हुडा, कुमारी शैलजा र अपराजित सारङ्गिया रहेका छन् ।

केही प्रमुख सिटमा नयाँ दिल्ली, उत्तर–पूर्वीदिल्ली, उत्तर–पश्चिम दिल्ली र राजधानीको चाँदनी चोक र उत्तर प्रदेशको सुल्तानपुर र आजमगढ समावेश छन् । प्रमुख सिटकैरुपमा जम्मु–कश्मीरको अनन्तनाग–राजौरी, पश्चिम बङ्गालको तामलुक, मेदिनीपुर, हरियाणाको कर्नाल, कुरुक्षेत्र, गुडगाँव, रोहतक र ओडिसाको भुवनेश्वर, पुरी र सम्बलपुरलगायत छन् । 

पछिल्लो दुई चुनावमा राजधानीका सातवटै लोकसभा सिट जितेको भाजपासँग  दिल्लीमा आप र कांग्रेसले संयुक्तरूपमा प्रतिस्पर्धा गरिरहेका छन् । राजधानीमा कांगे्रसले तीनवटा सिटमा लडेको छ भने एएपीले चारवटा सिटमा लडेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टीका अन्य नेताको र्यालीले भाजपाको अभियानलाई बलियो बनाएको छ । सर्वोच्च अदालतद्वारा अन्तरिम जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आप र कांगे्रस उम्मेद्वारका लागि मत मागेका छन् ।

आम आदमी पार्टी र कांग्रेसले हरियाणामा पनि हातेमालो गरेका छन्  । जहाँ सन् २०१९ को लोकसभा चुनावमा भाजपाले सबै सिट जितेको थियो । हिसार सहित राज्यका केही सिटमा बहुआयामिक प्रतिस्पर्धा भइरहेको छ । यस राज्यमा लोकसभा चुनावको केही महिनापछि विधानसभा चुनाव हुनेछ ।

ओडिसाका सम्बलपुर, भुवनेश्वर र पुरीमा पनि केही सौदावाजीको सामना गरिरहेको छ । जहाँ तातो मौसम तथा वर्षाको प्रतिकूल प्रभाव व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउन सम्बन्धित सीइओ र राज्य अधिकारीलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रमा पर्याप्त छायाँ, पिउने पानी,  शौचालय र अन्य आधारभूत सुविधा हुनेछन् ताकि मतदान सहज र सुरक्षित वातावरणमा सम्पन्न होस् ।

निर्वाचन आयोगले मतदातालाई ठूलो सङ्ख्यामा मतदान केन्द्रमा उपस्थित भएर जिम्मेवारी र गर्वका साथ मतदान गर्न अपील गरेको छ ।

आम चुनावको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका चार सय २८ संसदीय निर्वाचन क्षेत्रमा मतदान भइसकेको छ । जहाँ ११.१३ करोडभन्दा बढी मतदातामध्ये ५.८४ करोड पुरुष, ५.२९ करोड महिला पाँच हजार एक सय २० तेस्रो लिङ्गका मतदाता छन् । निर्वाचन  सञ्चालन गर्न करिब ११.४ लाख मतदान अधिकारी सङ्लग्न हुनेछन् । 

जहाँ ८५ वर्षभन्दा माथिका ८.९३ लाख दर्ता भएका मतदाता, १०० वर्षभन्दा माथिका  २३ हजार ६५९ मतदातालाई लोकसभा चुनावको अन्तिम चरणमा आफ्नो घरबाट मतदान गर्ने विकल्प प्रदान गरिएको छ । जम्मू–कश्मीरको अनन्तनाग–राजौरी लोकसभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुनेछ । निर्वाचन समितिले मतदानको मिति परिवर्तन गर्न निवेदन प्राप्त गरेपछि मतदानको मिति मे–७ बाट २५ सम्म संशोधन गरेको थियो ।

सातौँ चरणको मतदानपछि जुन–१ मा लोकसभा सम्पन्न हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको परिणाम भने जुन–४ मा घोषणा गर्ने जनाइएको छ ।  

लक्ष्यभन्दा बढी राजस्व संकलन

झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । “राजस्व सङ्कलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व सङ्कलनको लक्ष्य सहजै भेट्न सकिन्छ,” सूचना अधिकारी पोख्रेलले भने । 

पूँजीगत खर्च भने घट्यो

भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा  ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पूँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ । भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पूँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।  चालुतर्फ  ६३ दशमलव ०२ प्रतिशत खर्च भएको  नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले  जानकारी दिए । 

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पूँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ । गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो । 

शिवसताक्षीमा असारभित्र नगर अस्पताल सञ्चालन हुने

झापा / शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ । सुविधासम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो । शिवसताक्षी नगरपालिका–६ मा रु १० करोड ६७ लाखमा ठेक्का लागेर पाँच वर्षपछि डेढ बिघा जमिनमा निर्माण सम्पन्न भइसकेको पालिकाले जनाएको छ ।

यस अस्पतालबाट जिल्लाको दक्षिणी भेगका स्थानीय तहहरु गौरादह, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिकाका नागरिकहरुले उपचार पाउने नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । अस्पतालका लागि ३० जनाको दरबन्दी रहनेगरी मन्त्रालयले सङ्गठानात्मकस्वरुप पठाइसकेको उनले जानकारी दिए। अस्पतालमा चार जना मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीले सेवा दिनेछन् । अस्पतालबाट २४सै घण्टा सेवा उपलब्ध गराउने नगरपालिकाको योजना छ ।

नगर अस्पताल सञ्चालन भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालमा विद्युत्, पानी र कोठाको व्यवस्थापन गर्न बाँकी छ । यसअघि विर्तामोड, कनकाइ, दमक, बुद्धशान्ति र अर्जुनधारा नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याइसकेका छन् ।

संसदीय समितिको कार्यादेशमा सहमति हुन्छः कानुनमन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन् ।

गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको उल्लेख गर्दै सत्तार र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्ने बताए ।

उनले  आइतबारको संसद बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताए । बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनले बताए ।

उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्ना अडानबाट पछि हटिसकेको भन्दै  मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताए ।  गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिन पछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने बताए ।

मन्त्री गिरीका अनुसार आइतबार संसदबाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए ।

उनले सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट गरे । “जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, उनले भने ।

व्यास नगरपालिका मेयरको मतगणना असार २ मा

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते गरिने भएको छ । उच्च अदालतले जेठ १ गते गरेको फैसलाको पूर्णपाठ बिहीबार मात्रै जिल्ला निर्वाचन कार्यालय तनहुँ लगायतका विपक्षीलाई दिएको छ । फैसलाको पूर्णपाठमा असार २ गते बिहान मत गणना गर्ने समय तोकिएको हो ।

२०७९ बैशाख ३१ गते सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदार वैकुण्ठ न्यौपाने विजयी भएका थिए । उनले पद सम्हालेको २ वर्षपछि उच्च अदालत पोखराले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो । मेयरका उम्मेदवार दीपकराज जोशीले धाँधली गरेर कांग्रेसका उम्मेदवार न्यौपानेलाई निर्वाचित घोषणा गरिएको भन्दै २०७९ जेठ १२ गते पुनः मतगणनाको माग गरेर उच्च अदालत पोखरामा रिट दिएका थिए ।

माओवादीले दमकमा एक लाख लिची र कागतीको बिरुवा रोप्ने

दमक (झापा) / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो । जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए। बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । 

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ ।  

महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । 

हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् । 

यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

यसैबीच,  गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवेदन गरेकालाई स्थानीय विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम दिइने भएको छ ।     

महानगरपालिकाले २०८१ सालको शुभारम्भमा दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएकामा आवेदन गरेका सबैलाई तालिम दिन लागेको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाले बताइन् । उनले भनिन्, “साठी हजार बढीले फाराम भर्नुभएको छ, त्यसबाट छनोट गरेर वा कागजात पूरा गरेका  सबैलाई तालिम दिनेछ ।” 

महानगरपालिकाले सम्बन्धित क्याम्पस र विद्यालयहरुसँग सम्झौता गरिसकेको छ । फाराम भरेकामध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्रमा प्रशिक्षण दिइनेछ ।

पर्वतको बिहादी गाउँपालिका दूध र तरकारीमा आत्मनिर्भर

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने गरी सक्रियता देखाएको छ । निर्वाहमुखी खेतीलाई व्यावसायिक र उत्पादनमूलक बनाउँदै गएको गाउँपालिका उत्पादन तथा प्रतिफलमा अगाडि देखिन थालेको छ । किसानलाई मागका आधारमा र सही ठाउँमा अनुदान, साझेदारी अनुदानका साथै यान्त्रिकीकरणका कारण उत्पादन बढ्न थालेको हो ।

गाउँपालिकाबाट अहिले दूध, तरकारी, पोखरेली जेठो बुढोको चामल निर्यात हुन थालेको छ । पालिकाका कुनै पनि वडामा बाहिरबाट तरकारी र दूध आयात नहुने बरु यामअनुसार निर्यात गर्न थालिएको छ ।

गाउँपालिकाले अहिले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान किसानलाई दिने गरेको छ । यसले भैँसीपालक किसानले उत्साहित भएर दूध उत्पादन बढाउँदै लगेका छन् । बिहादीमा उत्पादन भएको दूध कुश्मा बजारसम्म पुग्ने गरेको छ । गाउँपालिकाका कृषि प्राविधिक जीवन शाहीले पछिल्ला दिनमा कृषि क्षेत्रमा पालिकाको लगानी बढेको र यसले यान्त्रिकीकरणमा सहयोग र विभिन्न खालका तालिमले किसानमा उत्साह थपेको दाबी गरे।

चालु आर्थिक वर्षमा गाउँपालिकाले ९४ हाइटेक टनेल, ८० भकारो सुधार, झण्डै चार दर्जन कुटानीपिसानी मेसिन वितरण गरेको छ । पालिकाले झण्डै छ हजार किलो गहुँको बीउ वितरण गरिसकेको छ । यस वर्ष एक सय ६० मौरीका घार वितरणको तयारी पनि भएको छ । मौरीका घार ५० प्रतिशत अनुदानमा गाउँपालिकाले वितरण गर्ने तयारी गरेको हो ।

त्यसैगरी चालु आवमै कागती, सुन्तला, लिची, आपलगायतका फलफूलका बिरुवा वितरण गर्ने तयारी छ । गाउँपालिकामा सबैभन्दा बढी रैथाने बालीअन्तर्गत कोदो उत्पादन हुने गरेको छ । “बिहादीमा उत्पादन भएको कोदो र पोखरेली जेठो बुढोको चामलको माग चर्को छ”, कृषि प्राविधिक शाहीले भने, “पछिल्ला दिनमा उत्पादन बढ्दै जाँदा निर्यात पनि बढेको छ ।” किसानको मेहनत, प्राविधिकको निगरानी र जनप्रतिनिधिको प्रोत्साहनले गर्दा बिहादीमा कृषिप्रति आकर्षण बढेको शाहीको दाबी छ ।

आगामी दिनमा स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउन मद्दत गर्ने पालिकाको योजना छ । गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ । ‘अब केही समयमै कृषि एम्बुलेन्स आउँदैछ, त्यसपछि उत्पादन गरेको बस्तु बिक्रीका लागि कुनै कष्ट बेहोनुपर्दैन’, शाहीले भने ।

गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले पालिकाले गरेको लगानीले प्रतिफल दिनेगरी लागेको बताए । उनले बिहादीलाई कृषि क्षेत्रमा आत्मनिर्भर गराउने गरी योजनाबद्ध रूपमा अगाडि बढेको जानकारी दिए। “के गर्दा बिहादी कृषिमा आत्मनिर्भर हुन्छ भनेर हामी लागिपरेका छौँ”, अध्यक्ष गुरुङले भने, “दूध र तरकारीमा भए पनि अहिले आत्मनिर्भर हुँदा हामीलाई थप उत्साह थपेको छ ।”

किसानले उत्पादन गरेको वस्तु बजार पुर्‍याउन समस्या भएको गुनासो आएपछि आफ्नै योजनामा गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको अध्यक्ष गुरुङले बताए । “अब कृषिजन्य वस्तु उत्पादन भएको बजार पुर्‍याउन सकिएन भन्ने अवस्था रहँदैन”, उनले भने, “अहिले पनि गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच ढुवानी अनुदान दिएका छौँ ।”

दिनभर सुनेको सहकारी हिनामिनाको विषयको दृश्यले रातभर निद्रै पर्न छाडेको छः अध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन् ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै उनले गणतन्त्र र लोकतन्त्र नहुँदो हो त समाज र सत्ताबारे यति धेरै कुरा जनतालाई थाहा नहुने बताए ।

विसं २०१४ मा नेकपाको सदस्यता ग्रहण गरी २०२१ मा बागलुङमा पार्टी गठन गर्नुभएका नेता केसी नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य थिए । राजनीतिक यात्राका क्रममा २०२८ मा नौ महिना कारागार जीवन बिताएका अध्यक्ष केसी लामो समयसम्म अध्यापनमा पनि संलग्न थिए । विसं २०४० मा दलको महामन्त्री भएका उनी पाँचौँ महाधिवेशनबाट पोलिटब्युरो सदस्य थिए ।

नेता केसी २०५६, २०६४, २०७० र २०७९ सालमा बागलुङबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भए । राजमो गठनपछि हालसम्म निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहनुभएका केसी विसं २०७२/७३ मा करिब १० महिना उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री थिए ।

मुलुकको राष्ट्रिय राजनीतिमा निष्ठावान् र स्पष्ट वक्ताको परिचय बनाएका केसी हाल प्रतिनिधिसभा, राज्य व्यवस्था समितिका सदस्य हुन् । प्रस्तुत छ, अध्यक्ष केसीसँग सत्रौँ गणतन्त्र दिवस–२०८१ का सन्दर्भमा राष्ट्रिय समाचार समितिका समाचारदाताद्वय नारायण न्यौपाने र सिबी अधिकारीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकको यस अवधिलाई उपलब्धिका हिसाबले तपाईंले कसरी लिनुभएको छ ?

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त यो गणतन्त्र नै हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि हो । गणतन्त्र पक्षधरले लोकतन्त्रको स्थापनापछि आर्थिक, सांंस्कृतिक र सामाजिक क्षेत्रसँग यसका उपलब्धिलाई जोडेर जानुपर्नेमा नभएकाले विरोधीले गणतन्त्रको औचित्यमाथि प्रश्न गर्दै आक्रमण गरिरहेका छन् । सयौँ वर्षदेखि लडेर, जेलनेल खाएर ल्याएको गणतन्त्र कसरी नराम्रो हुन सक्छ ? गणतन्त्र प्राप्तिपछि आर्थिक र कृषि क्रान्तिसँगै औद्योगिकीकरणमा मुलुकलाई लैजानुपथ्र्याे, त्यो गर्न सकेनौँ । मैले बारम्बार भन्दैआएको छु कि गणतन्त्रलाई खतरा अरूबाट नभई परिवर्तनकारीबाटै भयो भनेर । गणतन्त्रमा राष्ट्र र जनतालाई जे–जति सेवा, सुविधा, विकास र परिवर्तन दिन सकिन्थ्यो, त्यो भएन । नहुनाको कारण गणतन्त्रको दोष होइन, यसलाई हाँक्नेको कमजोरी हो । गणतान्त्रिक व्यवस्थालाई विशुद्ध गुटगत स्वार्थ र व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो । त्यसले लोकतन्त्रमाथि खतरा निम्त्यायो । यद्यपि, गणतन्त्रको स्थापनापछि जनतामा ठूलो जागरण र चेतना आएको छ । लोकतन्त्र हुँदैनथ्यो भने सत्ताधारीका कमजोरीका कुरा जनतालाई थाहा हुन्थेन । त्यसकारण पनि गणतन्त्रको ठूलो महत्त्व छ । यसलाई जोगाउन सबै लोकतान्त्रिक शक्तिको साझा जिम्मेवारी हुनुपर्छ ।

जनआन्दोलनको उपलब्धिका रूपमा निर्माण भएको संविधान, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि अब कसरी अघि बढ्न उपयुक्त होला जस्तो लाग्छ यहाँलाई ?

अहिले एकातिर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भएको छ भने अर्कातिर जनतामा वितृष्णा छ । गणतन्त्र ल्याएका साथीहरूले आफैँले महसुस गरी कमसेकम आफू प्रजातान्त्रिक सीमाभित्र रहेर यसलाई बचाउनुपर्छ । विशुद्ध सत्ता र शक्तिका लागि मात्रै केन्द्रमा राखेर गुटबन्दी र दलबदल गर्ने कार्य गर्नुभएन । आज एउटा दलमा छ, भोलि अर्कामा छ, आज एउटा गठबन्धनमा छ, भोलि अर्कामा जाँदा दुनियाले के भन्लान् भन्ने चेत राजनीतिकर्मीमा हुनुपर्छ ।

 गणतन्त्रको डेढ दशकका अभ्यासमा तपाईँ सत्तामा पनि सहभागी हुनुभयो, वास्तवमा जनअपेक्षा र सरकारको काम गराइबीच कत्तिको तालमेल पाउनुभयो ?

सत्तामा जाने भनेको राष्ट्र र जनतालाई केन्द्रमा राखेर नीति बनाउने र त्यसको व्यवहारिक कार्यान्वयन गर्ने हो भन्ने मेरो बुझाइ र सिद्धान्त हो । राजनीतिक व्यक्ति सत्ता र शक्तिकै लागि मात्र हुने हो भने लोकतन्त्र र गणतन्त्र किन चाहियो ? निरङ्कुश व्यवस्थामा पनि सबै खाले सत्ताधारी रसास्वादन गरी सधैँ हराभरा नै थिए । राजनीति भनेको निष्ठा र आदर्शमा रहनुपर्छ भन्ने लाग्थ्यो, सत्तामा गएपछि मैले त्यो अनुभव गर्न पाइन । अधिकांश सबै राजनेता र राजनीतिकर्मीमा राज्यसत्तामा हालिमुहाली गर्ने प्रवृत्तिको विकास भएको पाएँ । मलाई त्यहाँ अप्ठेरो लाग्यो । मलाई सहकारीमन्त्री बनाइयो । त्यस विषयमा मलाई जानकारी नै थिएन । अर्कातिर सहकारीबाट ठगिएका छौँ, हाम्रो बचत हिनामिना भएको छ, चित्रबहादुर मन्त्री भएको छ, हाम्रो रकम अब डुब्ने भएन, तुरुन्तै उठाइदिन्छ भनेर नियुक्त भएदेखि नै धेरैले भन्न थाले । मन्त्रालयमा पीडितको ओइरो लाग्यो । त्यस बेलादेखि नै सहकारीको रकम हिनामिना गर्नमा उपल्लो तहका व्यक्तिको हात रहेछ भन्ने कुरा मलाई थाहा भयो ।

तपाईंले कुनै बेला जिम्मेवारी सम्हालेको मन्त्रालय मातहतकै विषयमा अहिले सडकदेखि सदनसम्म सहकारीकै विषय कुरा सुन्नुपर्दा कस्तो अनुभूति भएको छ ?

मलाई अहिले अत्यन्तै दुःख र चिन्ता लागेको छ । राजनीति गर्दा जनतालाई आदर्श र सिद्धान्तका कुरासँगै नैतिकताको पाठ पढाइयो, त्यो अहिले कृत्रिम रहेछ भन्ने जस्तो भान भएको छ । अहिले सहकारीमा बदनाम भएका व्यक्तिलाई जोगाउने प्रयास देख्दा आश्चर्य लागेको छ । अधिकांश उपल्लो तहका कर्मचारी, मन्त्री र सांसदलगायतकोे सहकारीमा रजाइँ रहेछ भन्ने थाहा पाएपछि उनीहरूसँग सम्बन्ध बिग्रँदै  गयो । अरूले त्यसलाई आँखा चिम्लने चलन रहेछ । विसं २०४८ को सहकारी ऐनलाई संशोधन नगरी विचलन अन्त्य गर्न सकिन्न भन्ने भएपछि म ऐन संशोधन गर्न लागेँ । तर कतिपयले कालो धनलाई सेतो बनाउन पनि सहकारीमा जम्मा गर्ने चलन छ । जम्मा गरेका रकम सहकारीको सिद्धान्त र नीतिभन्दा पनि टाठाबाठाले चर्काे ब्याजको लोभलालचा देखाएर दुनियाँका पैसा अपचलन गर्ने प्रवृत्ति छ । सहकारीको क्षेत्र, नीति र विधि विपरीत यावत् कुरा छाडेर कारोबार हुने गरेकाले ऐन बनाउनै दिइएन । ऐन संशोधन गर्न विज्ञ कर्मचारी छनोट गरी जिम्मेवारी दिएकामा उनको नै सरुवा गरियो । नेपालमा राजनीति कमाउन र कमाउन प्रयोग गरेको बाटो ढाकछोप गर्न प्रयोग भएको छ ।

सहकारी आफैंमा समाजवादको अभिन्न अङ्ग र जग हो । देशको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी छ । एउटा अङ्गलाई अहिले क्षत्विक्षत पारिएको छ । दिनभर सुनेको सहकारी हिनामिनाको विषयको दृश्यले रातभर निद्रै पर्न छाडेको छ । प्रतिपक्षकै पङ्क्तिमा रहेकाले हामीले छानबिन समिति बनाउन गरेको मागलाई बेवास्ता गरिएको छ । अहिले नेपालका राजनीतिक दल पुरेत र गाईजस्ता भएकाले को, कहाँ, कतिखेर मिसिने र प्रयोग हुने हो, टुङ्गो छैन, निष्ठा र आदर्श हराएको छ ।

 कतिपय एक वर्षभित्र बनाइसक्नुपर्ने कानुन १७ वर्षसम्म पनि बनेनन्, यसका कारणमा विधायकको कार्यसम्पादन कमजोर भयो भन्ने आरोप छ नि ?

हो, यो एकदम ठीक भनाइ हो । ‘म लागेँ रमितामा, लौरी हरायो’ भन्ने उखानजस्तै भएको छ । सहकारीका मुद्दामा अहिले संसद् चलाउनुपर्छ र खोल्नुपर्छ भन्ने होडबाजी चलेको छ । विधेयक ल्याउने, छलफल गर्ने र पारित गर्ने मुख्य जिम्मेवारी कहाँ पुगेको छ, कसैलाई अत्तोपत्तो छैन । यो अवस्थाको अन्त्य हुनुपर्छ । कानुन निर्माणकै लागि हामी चुनिएर आएका हौँ । अर्कातिर आवश्यकता र औचित्यका आधारमा सन्तुलित रूपमा बजेट विनियोजन नहुँदा मन्त्रालयमा गएर ‘लौ मलाई योजना पार्दिन पर्यो’ भनी कर्मचारीका अगाडि कपाल कन्याउने अवस्था बन्यो ।

विधेयक पारित गर्नुपर्ने मूल जिम्मेवारीमा रहेका सांसद मन्त्रालय धाउन थालेपछि कोरम (सङ्ख्या) नपुगेर कतिपय अवस्थामा हाउस (सदन) समेत बन्द हुन पुग्यो । यी सबै कुरा शक्ति र प्रभाव हुनेले बजेट लैजान थालेको परिणामको उपज हो । बजेटमा सबै जनताको समान पहुँच र अधिकारसहितको इन्साफ हुने भए सुगमले भन्दा दुर्गमकाले बढी पाउनुपर्ने हो । हामी त न्यायका लागि कानुन बनाउन आएका हौँ नि ! बजेटमा भेद्भाव रहेकाले विधायक कानुनमा नभई मन्त्रालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । आफूले त्यो नगरेकाले मेरा विरोधीले “चित्रबहादुरले केही विकास ल्याउन्न अनि भोट दिनको औचित्य छैन”, भन्दै आएका छन् । हाम्रो मुख्य काम भनेको दर्जनौँ विधेयक थाती रहेकामा अघिल्लामा एउटा विधेयक पारित भयो भने अहिले सहकारीका मुद्दामा अडकिएको छ ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि तपाईँ र तपाईंको दलको आगामी कार्ययोजना के छ ?

राष्ट्रिय जनमोर्चाले पद र फाइदाका लागि राजनीतिलाई बार्गेनिङ गर्नेहरूलाई पार्टीमा टिक्नै दिँदैन । अरू दलमा सत्ता र शक्तिका लागि पदको दुरुपयोग गरेको सबैले देखेका छन् । यो पार्टी २०५१ सालदेखि निरन्तर संसद्मा छ । म आफैँ पनि सत्तामा गएको हो नि ! मेरा अरू कमीकमजोरी होलान् तर नौ महिना सत्तामा रहँदा जस्तो गएको त्यस्तै फर्केको हो नि । म १० महिना सार्वजनिक लेखा समितिका सभापति पनि भएँ । त्यहाँ पनि ‘चाँदीकटाइ’ हुँदोरहेछ । देश बनाउन सबैभन्दा पहिले राजनीतिक पार्टीका नीति, सिद्धान्त र नेताको चरित्र जनपक्षीय हुनुपर्छ, निष्ठावान् र कर्तव्यपरायण हुनुपर्छ ।

राजनीतिबाट पद प्राप्त गर्ने र पदको दुरुपयोग गरी सम्पत्ति कमाउने हो भने जनताको पार्टी र नेताप्रति वितृष्णा भइहाल्छ, त्यो बेठीक भन्नै सकिन्न । जसले राम्रो गर्छ, चरित्र स्वच्छ छ, त्यसलाई आरोप लगाइँदैन नि ! नत्र भ्रष्टाचार नगर्ने र राज्यको दोहन नगर्नेलाई पनि भ्रष्टाचारी भन्थे नि जनताले ! राजनीतिप्रति वितृष्णा आउनु जनताले देखेर र थाहा पाएर नै हो । यसलाई राजनीतिक पार्टीले सच्याउनुपर्छ नत्र राष्ट्रलाई सङ्कट ल्याउँछ ।

 परिवर्तनका लागि एउटै मोर्चामा रहेर लडेका ठूला र पूराना राजनीतिक शक्तिबीचमा किन हार्दिकता बढ्न सकेन भन्ने लाग्छ ?

यो सबै सत्तास्वार्थबाट भएको छ, भ्रष्टाचारबाट कोही मुक्त छैनन्, आश्चर्यको कुरा त्यो छ । कोही चोखो भए जनताले पनि विचार गर्छ । राजनीति सम्पत्ति कमाउने र निजी स्वार्थ पूरा गर्ने हतियार बनेको छ । यसलाई राष्ट्र र जनताका लागि प्रयोग गरेका कारणले नै कतिपय देश विकास र समृद्धिका शिखरमा पुगेका हुन् । जुनसुकै दुःखकष्ट भोग्नु परे पनि नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, “सत्ता र शक्ति मात्रै ठूलो कुरा हो, अरू केही होइन”, भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । आफू र आफ्नालाई जोगाउने र सहुलियत दिने सोच हट्नुपर्छ । अहिलेसम्म जे जति कमजोरी भए, त्यसबाट पाठ सिक्दै मूल्याङ्कन गर्दै सच्चिनुपर्छ ।

 मुलुकमा गणतन्त्रपछि स्वास्थ्य, सूचना प्रविधि, सडक, सिँचाइ, खानेपानी, शिक्षालगायत भौतिक पूर्वाधारका क्षेत्रमा ठूलै परिवर्तन आएको छ नि, होइन ?

काठमाडाँैलाई पहिले नेपाल भन्ने चलन थियो । हामी बागलुङबाट १३ दिन हिँडेर यहाँ आउनुपथ्र्याे पहिले । अहिले म एक दिनमै घर पुग्छु । यो त एक उदाहरण मात्र हो । प्राकृतिक साधनस्रोत र सम्भावना प्रशस्त भएर पनि जति विकास हुनुपर्ने थियो, त्यो भएन भन्ने साँचो हो तर ठ्याप्पै केही भएन भन्ने होइन । सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, सडकलगायत भौतिक पूर्वाधार निर्माणमा धेरै प्रगति भएको छ, निराशा मात्रै छर्न पनि भएन ।

हामीकहाँ शिक्षा प्रणाली भने राम्रो भएन, अनुशासन हरायो । पहिले शिक्षक र विद्यार्थीबीच निकै हार्दिकता हुन्थ्यो, अहिले द्वन्द्व देखिन्छ । नैतिक शिक्षाको पढाइ नहुँदा पश्चिमको छाडा र विकृति मौलायो । हाम्रा मौलिक आहारविहार, विचार, चरित्र र व्यवहार भने खुम्चन र खस्कन पुग्यो ।

 अन्त्यमा, गणतन्त्र प्रवद्र्धन गर्ने र जनतामा आशा भर्ने केही सन्देश छ ?

अहिले नेपालमा ‘अब यहाँ केही हुन्न’ भन्ने भाष्य खडा गरिएको छ । रु एक करोडसम्म खर्च गरेर विदेश जाने होड चलेको छ । त्यतिका रकम खर्च गरेपछि त यहाँ पनि केही हुँदो हो नि ! विदेशमा पढ्न जाने बेग्लै कुरा हो । यहाँ अहिले शिक्षा र स्वास्थ्य निजीकरण भयो । नेपालमा गरे के हुन्न ? लसुन, खुर्सानी, धान, मकै के खेती हुन्न ? तर सबै विदेशबाट ल्याइन्छ ।

मानिस जीवनमा विभिन्न हन्डर खान्छ र त्यसबाट शिक्षा लिएर अघि बढ्छ । एउटा व्यक्तिको कुरा गर्दा चाहे राजनीतिमा होस् वा अरू विधामा नै किन नहोस्, ठक्कर खाएर आफ्नो विकास गर्छ । ठीक त्यस्तै, राष्ट्रको जीवनमा पनि हुन्छ । अहिले विकास भएका मुलुकले पनि एकाएक रातारात गरेका होइनन् । त्यस कारण निराशा मात्रै भरेर हुन्न । हामीले सम्भावना र सपना देख्नुपर्छ र मुलुकलाई परिवर्तन गर्न सकिन्छ । अहिलेको निराशाको प्रतिकूल स्थितिलाई अनुकूल तुल्याउन आफू चरित्रवान्, निष्ठावान् र इमान्दार हुनुपर्छ । केही कमजोरी हुनामा गणतन्त्र र लोकतन्त्रको दोष होइन, नकारात्मक परिस्थितिलाई बदल्नका निम्ति जनता नै जागरुक हुनुपर्छ, आशावादी भएर अघि बढ्नुपर्छ ।

साना टापु राष्ट्रको चौथो सम्मेलनमा भाग लिन परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान

काठमाडौँ / परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा भाग लिन शुक्रबार अपराह्न त्यसतर्फ प्रस्थान गरेकि छिन् ।

संयुक्त राष्ट्रसङ्घले सम्मेलन आयोजना गरेको हो । सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा सचिव लम्सालले समूहको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्राललयले जनाएको छ । साथै उनले आफ्ना समकक्षीलगायत विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्नेछिन् ।

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा हुनका साथै नयाँ दशकको लागि कार्य योजना प्रस्ताव हुनेछ । राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ । चौथो सम्मेलन “उत्थानशील समृद्धितर्फको मार्गचित्र” शीर्षकमा हुँदैछ । परराष्ट्र सचिव लम्साल जेठ १८ गते काठमाडौँ फर्कने छिन् ।

लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी

चितवन / पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा.रेवन्त भट्टराई, डा. सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा. विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो ।

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ । हाल फार्म मूल्य किसानले सरदर रु १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले पाएको मूल्य हालसम्मकै बढी हो । एक वर्ष छ महिना अघि प्रतिगोटा रु आठमा समेत बिक्री गर्न किसान बाध्य थिए ।

मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो ।

डा. अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ ।

नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ । हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको उनले जानकारी दिए । पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए । टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाइ छ ।

ढोरपाटनमा बढ्दै पर्यटक : दश महिनामै साढे चार करोड राजस्व सङ्कलन

ढोरपाटन (बागलुङ) / नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ ।

अघिल्लो आवमा रु तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएकामा यो आवको अन्त्यमा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै रु चार करोड २६ लाख राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट रु ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट रु नौ लाख चार हजार तथा हेलिकप्टर अवतरण गराएबापत रु ५७ हजार राजस्व सङ्कलन भएको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यासमेत बढेको छ । अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकामा यस वर्ष नौ हजार चार सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिए । वन्यजन्तुको सिकार भने गत वर्ष र यस वर्ष ३०/३० वटानै भएका उनको भनाइ छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाका आधारमा सिकारीको ठेक्का खुलाउने र ठेक्का पर्ने सिकार ढोरपाटन आउने गर्छन् । आव २०७८/७९ मा भने नौ हजार नौ सय १९ पर्यटक भित्रिएकामा रु एक करोड ७५ लाख ७७ हजार मात्रै सङ्कलन भएको थियो । आव २०७६/७७ मा रु ३७ लाख र आव २०७७/७८ मा रु २० लाख मात्रै सङ्कलन भएको थियो । पछिल्लो दुई वर्ष राजस्व सङ्कलनको दर बढ्दै गएको संरक्षण अधिकृत कँडेल बताउछन् ।

कँडेलले भने, “पछिल्लो दुई वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, यहाँ सिकार खेल्नका लागि धेरैजसो विदेशी नागरिक नै आउने गर्छन्, यहाँ आउनेले मनलाग्दीरुपमा सिकार गर्न पाइँदैन, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले मात्रा निर्धारण गरेर बोलपत्र आह्वान गरेको हुन्छ, सोहीअनुसार जसलाई ठेक्का पर्छ उही कम्पनीमार्फत सिकार आएर सिकार गर्ने हो ।”

ढोरपाटनका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले विदेशी पर्यटक हेलिकप्टरमार्फत आए पनि आन्तरिक पर्यटक गाडीमै आउने बताए । सडकको दूरावस्थाका कारण पनि धेरै पर्यटक चाहेर पनि ढोरपाटन आउन नसकेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सडक राम्रो भए सिकार आरक्ष कार्यालयले धेरै राजस्व सङ्कलन गर्नुका साथै यहाँका धेरै नागरिक व्यापार व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

दमौली (तनहुँ) ।  नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो । 


भानु नगरपालिकाको नेतृत्वमा यस ठाउँमा साहित्यिक उद्यान निर्माणको प्रक्रियाले गति लिएको छ । चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्य सहित साहित्यिक उद्यान निर्माणलाई सुरु गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।


विगतमा जग्गा अधिग्रहणको काम सुरु भएपनि कामले गति लिन नसकेको भन्दै चालु आर्थिक वर्षदेखि यो काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । उनले भने, “नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई सप्तधामका रुपमा विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौ ।”


सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अघि बढेका छौँ ।”


साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालिन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ । 


त्रिपाठीले भने, “भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका पमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्बद्र्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।”


रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्नु यसको उधेश्य रहेको त्रिपाठीको भनाइ छ । 


 एक करोड ८० लाख खर्च
भानु साहित्यिक उद्यानका लागि हालसम्म  एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि गत र चालु आवमा गरी  एक करोड ८० लाख ४१ हजार पाँच सय खर्च भएको हो । 


उद्यान निर्माणका लागि हालसम्म एक सय ३५ कित्ता जग्गा अधिग्रहण गरी लालपूर्जा नगरपालिकाको स्वामित्वमा आइसकेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । त्यस्तै ५३ कित्ताको लालपूर्जा बन्न बाँकी रहेको र ३२ कित्ताको जग्गा अधिग्रहणका लागि सिफारिसको तयारीमा रहेको पौडेलले बताउनुभयो । बत्तिस कित्ताको जग्गा अधिग्रहणका लागि रु ५९ लाख मुआब्जा निर्धारण भएको छ । 


पौडेलका अनुसार चालु आर्थिक वर्षमा साहित्यिक उद्यान निर्माणका लागि सरकारबाट रु पाँच करोड बजेट प्राप्त भएको थियो । त्यसमध्ये जग्गा अधिग्रहणबापत रु ७६ लाख ६७ हजार आठ सय ५१ सम्बन्धित लाभग्राहीको खातामा गइसकेको छ । त्यस्तै रु एक करोड २९ हजार भुक्तानीका लागि चेक बनिसकेको र बैङ्कमा पठाउने तयारी गरिएको उनको भनाइ छ । 


पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा ३८ कित्ताको रु ९८ लाख ७६ हजार चार सय ५७ भुक्तानी भइसकेको छ । यसैगरी चालु आर्थिक वर्षमा गुरुयोजना अवधारणासम्बन्धी विज्ञ बैठकका लागि रु तीन लाख खर्च भएको पौडेलले जानकारी दिए । पौडेलले साहित्यिक उद्यान निर्माणका लागि हालसम्म ३६ प्रतिशत वित्तीइ प्रगति भएको उल्लेख गरे । 


साहित्यिक उद्यान निर्माणका लागि विसं २०७८ सालमा  दुई करोड बजेट विनियोजन भएको थियो । विसं २०७९ जेठ १९ गते जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएको थियो । त्यतिबेला ३८ कित्ता जग्गाको रु ९८ लाख ७६ हजार चार सय ५७ भुक्तानी गरिएको थियो । 


चालु आर्थिक वर्षमा विसं २०८० माघ ३ गते रु पाँच करोड बजेट प्राप्त भएपछि माघ २३ गते बैठक बसी मुआब्जा निर्धारण गरिएको जनाइएको छ । यस आर्थिक वर्षमा ७१ रोपनी जग्गाका लागि मुआब्जा निर्धारण भइ दुई किस्तामा रकम पठाइएको पौडेलको भनाइ छ ।

सत्तामा पुग्नका लागि जे पनि गर्न तयार हुने होइन कांग्रेस

शारदाप्रसाद त्रिताल ।
नेपाली कांग्रेस ‘प्रचण्डांग्रेस’ को आवरणबाट बाहिर आउन लागेको जस्तो त देखिन थाल्यो तर ‘प्रचण्डपथ’ चरित्रको धङ्धङीबाट बाहिर आउन ढिलाई गरिरहेछ । २०५१ सालदेखि आफ्नो पार्टीको मूल चरित्रबाट विचलित हुँदै आएको नेपाली कांग्रेस अहिले ‘दाइभाउजु कम्पनी’ को रुपमा परिणत हुँदै पतनको अन्त्यतिर पुग्न लागेको छ । २०६२ सालतिरदेखि कम्युनिष्टहरुको कठपुतली बनेको कांग्रेस अहिले कम्युनिष्टको चरित्र नक्कल गर्दै कमजोर प्रदर्शन गर्न बाध्य छ, फलस्वरुप प्रजातान्त्रिक मूल्य मान्यतालाई तिलाञ्जली दिइसकेको अवस्थामा पुगेको छ ।
अहिले नेपाली कांग्रेसको नाम राखेर दाइभाउजु कम्पनीको रुपमा न प्रजातान्त्रिक मूल्य मान्यताको पालना र संरक्षण गर्न सक्षम छ न त कम्युनिष्ट चरित्र प्रदर्शन गरेर उनिहरुमाथि विजय प्राप्त गर्न नै सफल हुनेवाला छ । यो नै वर्तमान नेपाली कांग्रेसको सकस (म्ष्झिmब) हो । आफुले गर्दा त्यही कुरा ठीक र अरुले गर्दा वेठीक भन्ने चरित्र प्रपोगाण्डा हो । यो चरित्र कम्युनिष्ट वा तानाशाही सिद्धान्त अपनाउनेहरुको हो । प्रजातान्त्रिक सिद्धान्तमा आस्था राख्नेले प्रपोगाण्डामा विश्वास गर्दैन । तर अहिले दाइभाउजु कम्पनीको बचाउका लागि प्रपोगाण्डा प्रवृत्ति अपनाउन कांग्रेस विवस भएको देखिन्छ । त्यसैले, अब नेपाली कांग्रेसका सच्चा नेता र कार्यकर्ता बिउँझनु आवश्यक भइसकेकोछ ।
किन र कसरी ?

प्रजातान्त्रिक मूल्य मान्यता अनुरुप सरकारमा बस्नेहरुले गरेको गलत कार्यको संसदमा विरोध गर्नु विपक्षीको धर्म र अधिकार हो । सांकेतिक विरोध गरी जनताको ध्यानाकर्षण गराउने र त्यो मुद्धालाई संसदको अभिलेखमा राख्ने व्यवस्था गर्नु संसदीय चरित्र हो । तर कम्युनिष्टहरुको जस्तो संसदलाई नै निरन्तर बन्धक बनाउनु प्रजातान्त्रिक चरित्र होइन । विगतमा कम्युनिष्टहरुले लगातार ५७ दिन संसद अवरुद्ध गर्दा देशले भोगेको पीडाबारे प्रजातान्त्रिक हुँ भन्ने पार्टीले हेक्का राख्नु पर्ने हो । प्रजातान्त्रिक पार्टीले विपक्षमा बस्ता पद्धतिको लागि आवाज उठाउने र कार्य गर्ने हो र सरकारमा आएपछि त्यो पद्धति अनुरुप सरकार चलाई देशमा सुशासन कायम गर्ने हो । विपक्षमा बस्ता सरकारको विरोध मात्रै गर्ने र सरकारमा आएपछि पहिलेको सरकारले जस्तै गर्ने चरित्र प्रजातान्त्रिक होइन । प्रजातान्त्रिक पार्टीले विपक्षमा बसेको समयमा आफ्नो आन्तरिक प्रजातान्त्रिकरणलाई मजबूत बनाउन ध्यान दिने हो ता कि आउँदो निर्वाचन जित्न सहयोग पुगोस् । पार्टीमा चरम गुटबन्दी गर्ने, आसेपासेको संरक्षण गर्ने, भातृ र शुभेच्छुक संगठनलाई टीके प्रथाबाट नेतृत्वको चम्चागिरी गर्ने संयन्त्र बनाउने अनि प्रजातान्त्रको दुहाइ दिंदैमा अरुले प्रजातान्त्रिक मान्न सक्तैन र चुनाव जित्न पनि सकिंदैन।

प्रजातान्त्रिक पार्टीले विपक्षमा बसेको समयमा देशको विविध पक्षमा अध्ययन अनुसन्धान गर्ने गराउने र वास्तविकताको पहिचान गर्ने र सरकारमा आएपछि पहिचान गरिएका आवश्यकताको पूर्ति गर्ने हो । सत्तामा पुग्नको लागि जे पनि गर्न तयार हुने होइन । विपक्षमा बस्ता जुन कुराको विरोध गरिन्छ, सत्तामा आएपछि आफैंले विरोध गरेको विषयलाई अपनाउनु अप्रजातान्त्रिक चरित्र हो । अथवा, आफू सत्तामा हुँदा जुन खराबी गरिन्छ, अर्को पार्टी सरकारमा आएर त्यही खराबी गरेमा त्यसको विरोध गर्नु पनि सच्चा प्रजातान्त्रिक चरित्र होइन । पहिले आफूलाई सुधार गर्नु प्रजातान्त्रिक चरित्र हो । प्रजातान्त्रिक पार्टीले आफ्नो पार्टीको शुद्धीकरण गरेर उदाहरणीय बन्न सक्नुपर्छ । आफ्नोमा डुङ्डुङ्ती गन्हाउनेहरुलाई संरक्षण गरेर अरुलाई शुद्धीकरणको पाठ सिकाउनु सान्दर्भिक हुँदैन ।

भुटानी शरणार्थी काण्ड, टेरामक्स काण्ड र विशेष अदालतले दोषी ठहराएका सांसदको केशमा नेतृत्वले खेलेको भूमिका कसैले विर्सेका छैनन् । यस्ता कुरालाई लुकाएर अरुप्रति नाच देखाएर प्रजातान्त्रिक हुइँदैन । नेपाली कांग्रेसका सच्चा नेता तथा कार्यकर्ताले यस बारेमा गम्भीर भएर समीक्षा गर्नु जरुरी छ । धेरैजसो अव्यवस्थाको शुरुवात कांग्रेसले गर्दै जाने र त्यसलाई भर्याङ् बनाएर कम्युनिष्टहरुले संसदीय व्यवस्था नै खराब हो भन्ने देखाइरहेका छन् । वर्तमान अवस्था अरु केही समय कायम रहेमा कम्युनिष्टहरुले यो व्यवस्था नै खारेज गर्दिन्छन् । सच्चा कांग्रेसले यसमा गम्भीर हुनुपर्छ । प्रजातन्त्रको आधारभूत पक्ष सुशासन हो । सुशासन कानूनको शासनको माध्यमबाट हासिल गर्न सकिन्छ । सुशासन हासिल गर्ने अर्को मुख्य हतियार पद्धतिको विकास र त्यसको परिपालना हो भन्ने सत्यलाई जवसम्म आत्मसात गरिंदैन, तवसम्म प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षण गर्न सकिंदैन । जबसम्म सुशासन कायम हुन सक्तैन, तवसम्म देशको समुन्नति पनि सम्भव हुँदैन । तसर्थ; नेपाली कांग्रेसका सच्चा नेता र कार्यकर्ताहरु बिउँझनुहोस् । दाइभाउजु कम्पनीको तावेदारी छोडी नेपाली कांग्रेसलाई जनसमक्ष ल्याउनु होस् ।

थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनको ९६ प्रतिशत काम पूरा

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ ।

उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौँसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो साञ्जेनको ४२ दशमलव पाँच र माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन लागिएको हो ।

भौगोलिक विकटता भएको हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक सामग्रीलगायतका सबै उपकारण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताए । उनले अबको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताए ।

रसुवाका डाँडापाखामा टावरको काम गराई रहेका आयोजना प्रमुख शुभारम्भ विक्रम शाहका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण पूरा भइसकेको छ । उनले ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको जानकारी दिए ।

निर्माण सामग्री हेलिकप्टर, खच्चर तथा मानिसद्वारा निर्माणस्थलमा पुर्‍याइएको छ । थाम्वुचेतस्थित विद्युत् जडान गर्ने मुख्य स्थानमा उपकरण जडान भई परीक्षण अगाडि बढिसकेको, आवास र पाले पहरा तथा प्राविधिक बस्ने, कार्यालय भवनजस्ता पूर्वाधारको संरचना निर्माणको प्रगति अन्तिम चरणमा पुगेको जनाइएको छ ।

हाल रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको एक सय ११ मेगावाट बिजुली खेर गएको छ । उक्त आयोजनले विद्युत् गृहका सबै उपकरण जडान गरी प्रसारण लाइनको प्रतीक्षारत रहेको प्राविधिकले जानकारी दिएका छन् ।

साञ्जेन जलविद्युत् आयोजनाले भने उपकरण जडानको काम गरिरहेको र जडान कार्य सम्पन्न गर्न अब एक महिना लाग्ने जनाएको छ । आयोजनका वातावरणविज्ञ उमेश पाठकले टावर र प्रसारण लाइन निर्माण सम्पन्न नभएका कारण जडान कार्य विस्तारै अगाडि बढेको हो ।

आयोजना सम्पन्न गर्न संशोधित लागत अनुमान रसुवागढीका लागि लागत १८ अर्ब ४७ करोड रुपैयाँ र साङ्जेनका दुई आयोजनाका लागि साढे १८ अर्ब रुपैयाँ खर्च हुने आकलन गरिएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाका पूर्वप्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाको डिजाइनबाट निर्माण भएको एक सय ११ मेगावाट रसुवागढी आयोजनाले मुहानदेखि विद्युत् गृहसम्म सबै संरचना भूमिगतरूपमा निर्माण गरेको छ भने साङ्जेनको तल्लो र माथिल्लो दुवै आयोजना अर्ध भूमिगत रहेको त्यहाँ कार्यरत प्राविधिकले जनाएका छन् ।

यस्तै नयाँ निर्माण भइरहेको टावर तथा सव स्टेसनले रसुवागढी, साङ्जेनको अलावा, अपर त्रिशुली वान, लाङटाङ खोला, भोटेकोशी, त्रिशूली थ्रिवी, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा पठाइने योजनाले जनाएको छ ।

अभ्यास खेलमा नेपालको सुखद सुरुवात

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो । हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो।

नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए।
नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ। ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी २० विश्वकप सुरुआत गर्नेछ।

सहकारीको रकम हिनामिनामा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ।

बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलानुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।

‘प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन्, सांसद बस्नेतसहित फरार रहेका २५ जनाको खोजी जारी छ’ उनले भने, ‘सहकारीमा हिनामिना भएको रु १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौँ।’

रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ। सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धामा देखाएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

‘सेयर सदस्य नरहेका व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ। यहाँ कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ’, उनले भने।

बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उनी अझै फरार छन्। प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ।

कर्जा समितिका संयोजक श्याम भुसालले आफूसम्बद्ध समितिका तीन जनालाई थाहै नदिइ पाण्डेले एक सय ४० जनालाई ऋण दिएको बताए।‘ऋण दिने नक्कली ‘माइन्यूट’ खडा गरेर एक सय ४० जनालाई पटकपटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएका छन्’, उनले भने।

विसं २०६६ मा स्थापना भएको यो सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन्।

काठमाडौं–तराई फास्ट ट्रयाकको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, लगायतको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।

७१ किलोमिटर लम्बाइ रहेको काठमाडौं–तराई फास्ट ट्रया निर्माणका लागि नेपाली सेनाले जिम्मा लिएको छ । सुरूङ खन्ने काममा सेनाले राम्रै प्रगति हासिल गरेको छ। ३ वटै सुरूङमा काठमाडौंतर्फ जाने एउटा र आउने एउटा गरी दुई वटा सुरूङ छन्। जुन डबल लेनमा निर्माण भइरहेका छन्।

कैलास सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियालाई आइतबारसम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा हतियारसहित आएको प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा ल्याएको थियो ।

कांग्रेसद्वारा गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउबारे प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका नेताहरुसँगको बैठकमा कांग्रेसले सिरोहिया पक्राउ र गृहमन्त्रीको अव्यिक्तिकाबारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषय र सिरोहियाको पक्राउको विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले भने, ‘केही दिन पहिला संसदमा उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो, जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।’

त्यस्तै बैठकमा सदनको जारी गतिरोध हटाउने विषयमा छलफल सकारात्मक भएको उनले बताए । उनले गृहमन्त्री जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टिओआर टुंग्याउन बसेको बैठक सकारात्मक भएपनि कुरा नटुंगिएको उनले बताए ।

उनले भने, ‘समिति गठन गर्ने कुरा भइरहेको छ। व्यक्ति र सहकारीको नाम राख्ने भन्दा पनि उठेको बिषयलाई सम्बोधन गर्नुपर्छ सहकारीको अर्बौ रकम अपचलन भएको छ। उक्त रकम निजी कम्पनीमा गएको छ। गोरखा मिडियामा आएको छ। गोरखा मिडियाका सञ्चालक नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। त्यसमाथि छानि गरौं भनेका हौं। अब भाषा के राख्ने हो त्यो मिलाऔं ।’

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुकबार राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपिङ प्रशिक्षकमा तिम्सिनालाई नियुक्त गरेको हो ।

यसअघि टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र विनोद डंगोल गोलकिपिङ प्रशिक्षक थिए । कटुवाल र डंगोलको सम्झौता सकिएकाले उनीहरुको स्थानमा घिमिरे र तिम्सिनालाई नियुक्त गरेको एन्फाले जनाएको छ । नेपाली टोली अहिले फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटको तयारीमा व्यस्त छ ।

छनोटको लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्राम्भिक टोलीको घोषणा गरिसकेका छन् ।

प्रमुख दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी भएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गाजामा भएको कारबाहीमा इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकको शव भेटेको जनाएको छ ।

बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक गरिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

मृत भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मुलका ब्राजियाली नागरिक मिशेल निसेनबाम र फ्रान्सेली मुलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स रहेका छन् ।

अक्टोबर सातमा हमास लडाकुहरूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो ।

यसैगरी, गाजा नजिकैको इजरायली सहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिम पटक सम्पर्क भएको थियो ।

बाँकी बन्धकहरूको सुरक्षित रिहाइ गर्न बढ्दो दबाबबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्, “श्रीमती सारा र म इजरायली जनतासँगै रहेर गहिरो दुःख एवम् समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभुति प्रकट गर्दछौ ।”

सिङ्गापुरका पूर्वप्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना

सिङ्गापुरको अदालतले शुक्रबार पूर्व प्रधानमन्त्री ली सिएन लुङका भाइलाई दुई शीर्ष मन्त्रीप्रतिको अपमानजनक अभिव्यक्ति दिएको भन्दै क्षतिपूर्तिका रूपमा दुई लाख ९६ हजार डलर जरिवाना तिर्न आदेश दिएको छ ।

ली सिएन याङले दिएको मानहानीसम्बन्धी फेसबुक अभिव्यक्ती विदेश मामिला र कानून मन्त्रीहरूद्वारा भाडामा लगाइएको उपनिवेशकालको विशाल बङ्गलाहरूको विवादसँग सम्बन्धित छ । उक्त विषयमा गरिएको दुई अनुसन्धानले मन्त्रीहरूले उक्त बिषयमा कुनै गल्ती नगरेको ठहर गरिएकोे थियो ।

आफ्नो दाजु तथा सिङ्गापुरका तत्कालीन प्रधानमन्त्री लीको सरकारले राजनीतिक उत्पीडन गरेको दाबी गर्दै ६६ वर्षीय ली दुई वर्षअघि सिङ्गापुरबाट भागेर विदेशमा बस्दै आएका छन् ।

सिङ्गापुर सहरको बाहिरी क्षेत्रमा अवस्थित प्रमुख सम्पत्तिहरूको बारेमा उनले लगाएको आरोपले राज्यमा आक्रोश निम्त्याएको थियो ।

उच्च अदालतका न्यायाधीश गोह यिहानले शुक्रबार क्षतिपूर्तिको रकम घोषणा गर्दै भने, “उहाँको अपमानजनक अभिव्यक्ति गलत छ भन्ने प्रतिवादीलाई थाहा थियो तर उहाँले साँचो वा झुटो के हो विचार नगरी लापरवाहीपूर्वक आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नुभयो ।”

लीलाई दुई राजनीतिज्ञहरू–विदेशमन्त्री भिभियन बालाकृष्णन र गृह मामिला तथा कानुनमन्त्री के. शानमुगम प्रत्येकलाई दुई लाख सिङ्गापुर डलर (एक लाख ४८ हजार अमेरिकी डलर) क्षतिपूर्तिका रूपमा तिर्न न्यायाधीश गोहले आदेश दिएका हुन् ।

मन्त्रीहरूले उनलाई मानहानिको लागि छुट्टै मुद्दा हालेका थिए र ली सिङ्गापुरमा नभएका कारण मुद्दाहरूको बारेमा अदालतको सूचना फेसबुक मेसेन्जर मार्फत दिइएको थियो ।

न्यायाधीशले लीलाई नोभेम्बरमा मन्त्रीहरूलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने आदेश दिएपनि तुरुन्तै रकम निर्दिष्ट गरेका थिएनन् ।

लीले विपक्षी दलको सदस्यता लिएका छन् तर उनी संसदका लागि लड्न चाहन्छन् वा हुँदैन भन्नेबारे केही बताएका छैनन् ।

कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भयो : अध्यक्ष नेपाल

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले कुनै बिषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भएपनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् ।

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भएपनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले बिषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरु उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे ।

त्यस्तै उनले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

विशेष अदालतबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् । उनी बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका भक्तपुर प्रहरीका एसपी अजय केसीले जानकारी दिएका छन् ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए । विशेष अदालतले उनलाई ६ महिना कैदको सजाय सुनाएको थियो भने ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो ।

नवलपरासीमा तीन महिनामा तीन पाटेबाघको मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ ।

जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ । यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो ।

खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुने ढङ्गले आक्रमण नगरेपछि कसैले चासो दिएका थिएनन् । पछिल्लो समय बाघको गतिविधि शङ्कास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेको जनाएका छन् ।

प्रहरीसहित घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयका कर्मचारीले मृत बाघ फेला पारेको सब डिभिजन वन कार्यालय दुम्किबासका वन अधिकृत कुलचन्द्र दवाडीले बताए ।

अर्को बाघको आक्रमणबाट घाइते भएर जङ्गल बाहिर निस्केको उक्त बाघलाई बेलैमा उद्धार गरेर उपचार गरेको भए बचाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै दवाडीले उद्धारमा ढिलाइ भएको बताए । यसअघि यस क्षेत्रमा बँदेललाई थाप्न राखेको पासोमा परेर एउटा भाले पाटेबाघ मरेपछि गाडेर राखेको अवस्थामा भेटिँदा पनि यस क्षेत्रमा बाघको संरक्षण र उद्धारमा ध्यान दिइएको छैन ।

पछिल्लो पटक बुधबार साँझ फेला परेको करिब १० वर्षको पोथी पाटेबाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जङ्गली जनावरको आक्रमणबाट घाइते भई बिरामी परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए ।

बुधबार मृत भेटिएको पाटेबाघलाई शव परीक्षणपछि बिहीबार डिभिजन वन कार्यालय कावासोतीको क्षेत्रभित्र खाडल खनी पुरिएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघका लागि पर्याप्त आहार भए पनि नयाँ बयस्क बाघ र बुढा भएका बाघ बस्ती नजिकका जङ्गलमा नयाँ बासस्थान खोजेर आउने गर्दछन् ।

नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ पाटेबाघ रहेको अनुमान गरिएको छ । नवलपुरमा अहिलेसम्म मृत भेटिएका तीन पाटेबाघमध्ये एउटालाई खाडल खनेर गाडिएको अवस्थामा फेला पारेकाले नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ । मृत भेटिएका तीनमध्ये अन्य दुईको मृत्यु शङ्कास्पद रहेको पशु चिकित्सक डा श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अघिल्ला दुई पाटेबाघ मरेको घटनामा अझै अनुसन्धान जारी रहेको बताए  उनले बँदेल मार्न थापेको पासोमा परेर बाघ मरेको भन्ने खुले पनि कसले मारेको भन्ने अझै एकिन भएको छैन ।

चीनसँग जोडिएको ताप्लेजुङको टिप्ताला नाका खुला

फुङ्लिङ (ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो ।

लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले जानकारी दिए । लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् ।

गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । चीनतर्फबाट तयारी पूरा गरेर आजबाट नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन् ।

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् । टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो ।

आचार्यले टिप्ताला नेपाल–तिब्बतको महत्वको व्यावसायिक नाकासमेत भएकाले द्विदेशीय व्यापार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताए । “व्यावसायिक हिसाबले यो नाका महत्वको छ, यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ”, उनले भने ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको प्रमुख पुर्खौली पेसा पशुपालनमा(याक) निर्भर हुँदै आएको छ । चीनका बजारमा चौँरी याकहरुको माग राम्रो छ । यहाँका चौँरी याक चीन निर्यात गर्नका लागि चौँरी याक गोठलाई मुख्य पेसाको लिएका छन् । चौँरी याक निर्यात हुन नसक्दा किसानलाई आर्थिकरुपमा समेत सङ्कट बेहोर्नुपरेको मिक्वाखोला गाउँपालिका–५ का चौँरी याक पालक मिलन दोर्जेको भनाइ छ ।

पाँच हजार दुई सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई साता अगाडि मात्र पहिलोपटक नेपाली गाडी (ट्याक्टर) पुर्याइएको थियो । सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पा छ वर्षदेखिको मेहनत सफल भएको बताए । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भञ्ज्याङको दूरी ८५ किलोमिटर छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ ।

सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलाबासीहरुको पनि त्यतिकै योगदान छ । यहाँ जन्मेर देश विदेशमा रहेकाबाट प्राप्त रु दुई करोडभन्दा बढी रकमबाट सिमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक निर्माण गरिएको थियो ।

तमोर नदीको उद्गमस्थलसमेत रहेको टिप्ताला भञ्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मूलघाट, भेँडेटार हुँदै विराटनगरको रानी भन्सारसम्मको दूरी करिब तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ । त्यसैले यो सडकलाई उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ ।

वर्षा सुरु भएसंगै डेङ्गुको महामारी, ५७ जिल्लामा फैलियो

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ ।

उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । “पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ”, उनले भने, “त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।” गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।

उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।

“गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ”, उनले भने । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको उनले जानकारी दिए । “यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो”, उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए । “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन”, उनले भने । बयालीस वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बीए २), दुई जनामा देखिएको छ ।

मृत्युको प्रमुख कारण बन्दै मस्तिष्क रक्तश्राव

प्रा डा राजीव झा ।

मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन सक्ने प्रकृतिको हुन्छ । यो दहीजस्तो जमेको स्थितिमा हुन्छ । जब मस्तिष्कमा रक्तश्राव हुन्छ, तब त्यसले मस्तिष्कलाई खुम्चिन र फैलन दिँदैन । रगत तरल अवस्थामा भए पनि बाहिर बगेपछि यो ठोस हुन्छ । यसले मस्तिष्कलाई दबाब दिन थाल्छ । जति धेरै रक्तश्राव हुन्छ, उत्ति नै बढी जोखिम हुन्छ । कतिपय अवस्थामा मस्तिष्क रक्तश्रावले तुरुन्तै मान्छेको मृत्यु हुन सक्छ ।

मस्तिष्कका विभिन्न समस्यामध्ये मस्तिष्क रक्तश्राव(ब्रेन ह्यामरेज) लाई एक प्रमुख जटिल समस्याका रुपमा लिने गरिन्छ । यो एक प्रकारको मस्तिष्कघात (स्ट्रोक) नै हो । मस्तिष्क रक्तश्राव भन्नाले मस्तिष्कभित्रको सानो या ठूलो रक्तनली फुटी मस्तिष्कभित्र रगत जम्नुलाई बुझिन्छ ।  मस्तिष्कमा रक्तसञ्चार ज्यादा भएर रक्तनली फुटी रक्तश्राव हुनु नै मस्तिष्क रक्तश्राव हो । यसले गर्दा मस्तिष्कघात, पक्षघात वा प्यारालाइसिसजस्ता समस्याहरु निम्त्याउँछ । 

मस्तिष्कघात मृत्युको चौथो वा पाँचौँ नम्बरमा पर्दछ । मस्तिष्क रक्तश्रावले मानव शरीरलाई क्षति पु¥याइ ज्यानसम्म जाने हुन्छ तर समयमै सही उपचार गर्न सकियो भने ज्यान बचाउन सकिन्छ । एकचोटी मस्तिष्कमा असर परिसकेपछि कसैकसैमा शारीरिक दुर्बलता अर्थात् पक्षघात पनि हुनसक्छ । तथापि उपचारपछि बिरामी राम्रो भई पूर्वअवस्थामा फर्केका उदाहरण पनि प्रशस्त छन् ।

मस्तिष्क रक्तश्रावको प्रमुख कारण उच्च रक्तचाप नै हो । त्यसबाहेक एभिएम, ट्युमर रक्तश्राव र रगत पातलो हुने औषधिको सेवनजस्ता कारणले पनि मस्तिष्क रक्तश्राव हुने गर्दछ । मुटुको रोगमा प्रयोग हुने मस्तिष्कमा रक्तश्राव हुनासाथ सास फेर्न कठिन हुने र पक्षघात हुनसक्ने अवस्था रहन्छ । मस्तिष्क रक्तश्राव भएका १० प्रतिशत बिरामीको मृत्यु हुनसक्छ भने पक्षघात हुने जोखिम ७० प्रतिशतमा हुनसक्छ । मस्तिष्क रक्तश्राव कति भएको छ त्यहीअनुरुप उपचार कति सम्भव छ वा छैन भन्न सकिन्छ । पाँच एमएल मात्र रक्तश्राव भएको छ भने उपचारपछि त्यसको नतिजा सकारात्मक हुन्छ । यदि सय एमएल रक्तश्राव भएको छ भने उनीहरुको दुई घण्टामै मृत्यु हुनसक्ने जोखिम उच्च रहन्छ ।

मस्तिष्कघात हुने अवस्था दुई किसिमको हुन्छ, मस्तिष्क रक्तश्राव भएर हुने र मस्तिष्कमा रगत आपूर्ति नभएर हुने । यी दुईमध्ये दिमागको नसा सुक्ने समस्या ८५ प्रतिशतमा छ भने १५ प्रतिशतमा मस्तिष्क रक्तश्राव रहेको अनुसन्धानले देखाएको छ । ब्रेन ह्यामरेज वा नसा सुकेमा त्यसले आँखा, कान, घाँटीमा समस्या आउनुको साथै शरीरका कुनै अङ्गमा प्यारालाइसिस हुने, छारेरोग हुनेजस्ता प्रत्यक्ष समस्या देखिन सक्छ । मस्तिष्कमा रगत जाने नली सुक्यो वा बन्द भयो भने यस्तो समस्या हुन्छ । जुन किसिमले यसको समस्या बढ्दैछ आगामी पाँच÷सात वर्षमा एक नम्बरमा पर्ने देखिन्छ । किनकी मानिसहरुको बदलिँदो जीवनशैली, खानपिन, तजावले गर्दा स्ट्रोकको जोखिम उच्च दरमा बढिरहेको छ । जे कारणले मस्तिष्कघात भएको छ, त्यसमा ध्यान दिएमा सजिलै बचाउन पनि सकिन्छ । तर धेरै मानिसमा समस्या थाहा पाएपछि पनि वास्ता नगर्ने प्रवृत्ति छ । उमेर अनुसार स्वास्थ्य जाँच नगर्ने, औषधि सेवन नगर्ने, व्यायाम नगर्ने, खानामा लापरवाही गर्ने, आराम नगर्ने, निन्द्रा नपुर्याउने, तनाव लिनेजस्ता कारणले पनि पछिल्लो समय स्ट्रोकको समस्या बढ्दो छ । 

मस्तिष्क रक्तश्राबको मुख्य कारण उच्च रक्तचाप नै हो । उच्च रक्तचापको समस्या धेरै छ । रक्तचापको बिमारी जति पुरानो हुँदै गयो, रक्तचाप जति बढ्दै गयो रक्तनलीहरु त्यतिनै पातलो हुँदै खिइँदै जाने हुँदा रक्तनलीमा प्वाल परी फुट्ने र रक्तश्राब हुने जोखिम रहन्छ । कतिपय व्यक्तिले रक्तचाप नियन्त्रण भयो भनेर औषधि छोड्ने गर्दछन् । यस्तो अवस्थामा रक्तचाप अचानक उच्च हुन पुगी नशा फुटी मस्तिष्क रक्तश्राब हुन्छ । त्यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न नियमित औषधि खानु पर्दछ । स्ट्रोक भएको साढे चार घण्टामा अस्पताल पु¥याउन सके बिरामीलाई बचाउन सकिन्छ । धेरैले स्ट्रोक भएमा घरमै आराम गराएर राख्ने गर्छन् । नसा फुटेको अवस्थामा पनि शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । 

मस्तिष्क रक्तश्रावका लक्षण र उपचार 

मस्तिष्क रक्तश्राव एक आकस्मिक अवस्था हो । यो समस्या अचानक आउँदछ र यसले क्षणभरमै गम्भिर अवस्था ल्याउन सक्छ । टाउको दुख्नेक्रम नियमितरुपमा बढ्दैछ, निद्रा लाग्दैन, बिहान उठ्नेबित्तिकै वान्ता हुन्छ, आँखा हेर्न गाह्रो पर्छ भने स्ट्रोकको लक्षण हो । अचानक टाउको दुख्नु, बेहोस हुनु, बान्ता हुनु, शरीरको एक पाखा नचली पक्षघात हुनु आदि यसका लक्षणहरु हुन् । साथै क्षारेरोगको कम्पन हुनु, बोली नखोल्नु, आँखा, मुख टेँडो हुनुजस्ता समस्याहरु पनि हुन सक्छ । यस्ता लक्षणहरु देखिनासाथ तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । 

रक्तश्रावको अवस्थाअनुसार बिरामीलाई औषधि खुवाउने वा शल्यक्रिया गर्ने भन्न सकिन्छ । रक्तश्रावको मात्रा ३० मिलीभन्दा कम छ भने औषधि सेवनबाट पनि ठीक हुन्छ । यदि रक्तश्राव धेरै ठूलो छ र यसको मात्रा ३० मिलीभन्दा धेरै छ र बिरामीको अवस्था पनि नाजुक अवस्थामा छ भने औषधि उपचारले मात्रै ठीक नभई शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट जमेको रगत निकालिन्छ । अभ्यासमा सयमा ८० जनालाई यसरी औषधिबाटै निको भएको छ भने बाँकी २० जनालाई मात्रै शल्यक्रिया गर्नुपर्ने हुन्छ ।   

नतिजा सन्तोषजनक छैन

नेपालमा न्युरो रोगको उपचारको अवस्था राम्रो छ । यहाँ जस्तोसुकै शल्यक्रिया पनि गर्न सम्भव छ । शल्यक्रिया मस्तिष्क रक्तश्रावको एक राम्रो उपचार विधि हो । सही समयमा उपचार गरेर यस रोग लागी गम्भिर अवस्थामा पुगेको बिरामीलाई बचाउन सकिन्छ । तर सही समयमा सही शल्यक्रिया नगर्ने हो भने बिरामीको ज्यान उच्च जोखिममा पर्न सक्दछ । शल्यक्रिया हामी सबैको लागि एक आवश्यकता तथा बाध्यता हो रहर होइन । रक्तश्राबको शल्यक्रिया भन्नाले अपरेशन गरेर मस्तिष्कभित्र रहेको रगतको ढिक्कालाई निकालिन्छ । बिरामीको ज्यान बचाउन र शरीरिक क्षतिलाई कम गरी दुर्बल र अपाङ्ग हुनबाट बचाउन शल्यक्रिया गरिन्छ । शल्यक्रियाबाट त्रसित नभई समयमा सही उपचार गरी ज्यान बचाउनका लागि अनिवार्यका रुपमा लिनु पर्दछ ।

नेपालको उपचार अवस्थालाई विकसित देशहरुको तुलनामा नराम्रो भन्न मिल्दैन तर नतिजा भने सन्तोषजनक छैन । मस्तिष्क रक्तश्राबको समस्या हाम्रोजस्तो विकासोन्मुख मुलुकहरुमा मात्र नभएर अमेरिकाजस्ता विकसित देशमा पनि बढ्दै गएको छ । तर त्यहाँ रोगको लक्षण देख्नासाथ चिकित्सकसँग परीक्षण गरी उनीहरुको सल्लाहअनुसार उपचार गराउँछन् भने हाम्रो जस्तो देशका नागरिकमा रोगलाई महत्व नदिने वा त्यसअनुसार नसासम्बन्धी पालना गर्नुपर्ने अनुशासनतर्फ वास्ता नगर्ने प्रवृत्ति निकै छ । 

अधिकांश बिरामीहरुको सफल उपचारपछि पनि सामान्य अवस्थामा आउन सकेका छैनन् । अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनीहरुलाई पुनःस्थापना केन्द्रमा राखेर हेर्नुपर्ने हुन्छ । देशमा सरकारीस्तरमा यस्ता पुर्नस्थापना केन्द्रहरु छैनन्, निजी क्षेत्रबाट स्थापना भएका केन्द्रहरु आर्थिक हिसाबले महङ्गो मात्र होइन, कतिपयले व्यापारिक हिसाबले मात्र सञ्चालन गर्न खोज्दा स्तरीय पनि छैनन् । यस्ता विरामीलाई घरमा लैजाँदा आवश्यक हेरविचार पुग्न सक्दैन । यसले गर्दा बिरामीको छ महिना पनि नपुग्दै मृत्यु हुने गर्दछ ।

(वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीम आधारित) 

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

गलेश्वर (म्याग्दी)  । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको बताइएको छ ।

धार्मिकग्रन्थ र संस्कृत साहित्यमा निलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्यद्रष्टा सन्त (ऋषि) काग–भुषुुण्डी द्धापर युगमा यही आएर बसेका वर्णन गरिएकाले यस क्षेत्रलाई काग–भुषुण्डीको निवास क्षेत्रका रूपमा व्याख्या गरिएको संस्कृतविद् डा जगमान गुरुङ (दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन सङ्घले गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिले सम्मान गरेको छ) ले बताए ।

संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो कृति ‘कुमारसम्भव’मा ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः’ अर्थात् उत्तर दिशामा देवतास्वरूपका हिमालय नामका पर्वतराजहरू विराजमान छन् भनेर वर्णन गरेका छन् ।

भारतीय संस्कृति र साहित्यका महाकवि गोस्वामी तुलसीदासले श्रीराम चरित्रमानसमा पनि काग–भुषुण्डीको निवास नीलपर्वत (नीलगिरि हिमाल) भएको उल्लेख गर्दै यो हिमालको महिमा गान गरेका छन् । काग–भुषुण्डीलाई कागस्वरूपका एक सन्त ज्ञानी ऋषि मानिन्छ ।

नेपाल ऋषि प्राध्यापक डा गुरुङले श्रीराम चरित्रमानसमा निलगिरि हिमाल परिसरको सुन्दर वनजङ्गल, पवित्र नदी, सरोवर र स्वर्णमय पर्वत शिखरको वर्णन गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार श्रीराम चरित्रमानसमा वर्णित पवित्र नदी कालीगण्डकी हुन् ।

“वनजङ्गलचाहिँ त्यहाँका देवदारुका जङ्गल हुन् । सरोवरचाहिँ दामोदरकुण्ड हो । निलगिरिबाट दामोदरकुण्डसम्मको भूभाग मुक्तिक्षेत्र हो”, डा गुरुङले भने । उनका अनुसार अन्तका काग काला र साना हुन्छन् भने दामोदरकुण्डका काग सेता र ठूला हुन्छन् । दामोदरकुण्डमा पाइने यी सेता कागलाई अहिले पनि काग–भुषुुण्डीको स्वरूप मानिने उनको भनाइ छ । मधेस र पहाडखण्डमा पाइने कुश दामोदरकुण्डमा उम्रेको पाइन्छ । दामोदरकुण्डका सेता काग र त्यहाँ उम्रेका कुश नेपाललाई प्रकृतिको वरदान भएको उनले बताए ।

को थिए काग–भुषुण्डी ?

श्रीराम चरित्रमानसमा उल्लेख भएअनुसार कागको रूपमा देखिने काग–भुषुण्डी भगवान् श्रीरामका परमभक्त थिए । उनलाई भविष्य तथा भूतकालको पूर्ण ज्ञान पहिले नै हुन्थ्यो । उनी समय बन्ने र बिग्रिने पाङ्ग्रालाई देख्न सक्दथे । पुराणमा उल्लेख भएअनुसार सबैभन्दा पहिला राम कथा भगवान् शङ्करले पार्वतीलाई सुनाउँदा काग–भुषुण्डीले सुनेका थिए ।

रावणको पुत्र मेघनादले रामसँग युद्ध गर्दैगर्दा भगवान् रामलाई नागपाशले बाँधेका थिए । त्यसपछि पक्षीराज गरुडले नागपाशमा बाधिएका सम्पूर्ण नागलाई मारेर भगवान् श्रीरामलाई बन्धनबाट मुक्त गराएका थिए ।

“भगवान् राम नागपाशमा बाँधिएको देख्दा गरुडलाई बाँधिएका व्यक्ति राम भगवान् हुन् कि होइनन् भन्ने कुरामा शङ्का लाग्यो । गरुडको सन्देहको निवारणका निम्ति नारद ऋषिले उनलाई ब्रह्माजीकोमा पठाए । ब्रह्माजीले शङ्करजीकोमा पठाइदिए । भगवान् शङ्करले पनि गरुडको सन्देहको निवारणका निम्ति काग–भुषुण्डी भएको ठाउँ निलगिरि पर्वतमा पठाएपछि काग–भुषुण्डीले भगवान् श्रीराम चरित्रको कथा सुनाएर गरुड़को सन्देह हटाएको श्रीराम चरित्रमानसमा उल्लेख गरिएको छ”, नेपाल ऋषि प्राध्यापक डा गुरुङले भने ।

उनका अनुसार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधारशिविर नजिकै पञ्चकुण्ड ताल र ताल नजिकै काग–भुषुण्डी ऋषिले तपस्या गरेको भनिएको काग–भुषुण्डी डाँडो छ ।

धार्मिक तथा पर्यटकीय महत्वको पञ्चकुण्ड तालको लम्बाइ झण्डै एक किलोमिटर र चौडाइ दुई सय मिटर रहेको अनुमान गरिएको छ । वरिपरिबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल निलो रङमा देखिन्छ । यो ताल समुद्री सतहबाट चार हजार ५० मिटरको उचाइमा रहेको छ ।

तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात् (छायाँ) देख्न सकिन्छ । तालबाट माथि चार हजार एक सय ९० मिटरको उचाइमा ग्राउण्ड तथा हेलिप्याड र त्यसभन्दा माथि चार हजार तीन सय पाँच मिटरको उचाइमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पर्दछ । तालको छेउबाट निलगिरि र अन्नपूर्णको सबै क्षेत्रलाई अवलोकन गर्न सकिन्छ ।

नवलपुरमा १९ हजार बालबालिकालाई खोप लगाइने

मध्यविन्दु (नवलपरासी) / नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ ।

यही जेठ १३ देखि २५ गतेसम्म दुई चरणमा जिल्लाका आठ पालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताए। “पहिलो चरण जेठ १३ देखि १९ गतेसम्म गैँडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ”, उनले भने, “दोस्रो चरणमा जेठ २० देखि २५ गतेसम्ममा कावासोती, मध्यबिन्दु र देवचुली नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा खोप लगाइनेछ ।”

कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा तीन सय ९१ खोप केन्द्र निर्धारण गरी चार सय ९४ जनशक्ति परिचालन गरिएको स्रोत व्यक्ति खरेलप्रसाद चौधरीले बताए। “खोप अभियान सफल बनाउन नौ सय ६६ स्वयंसेवक परिचालन गरिनेछ”, उनले भने, “जिल्लाका चार सय ३२ विद्यालयलाई आधार मानेर खोप अभियान सञ्चालन गरिनेछ ।”

जिल्लाका आठवटै स्थानीय तहमध्ये गैँडाकोट नगरपालिकामा चार हजार तीन सय ३१, कावासोती नगरपालिकामा चार हजार आठ सय ५३, देवचुली नगरपालिकामा तीन हजार तीन ९८, मध्यबिन्दु नगरपालिकामा दुई हजार आठ ९८, विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार ७३, हुप्सेकोट गाउँपालिकामा एक हजार एक सय १३, बौदीकाली गाउँपालिकामा चार सय ५८ र बुलिङटार गाउँपालिकामा चार सय ३४ गरी १९ हजार पाँच सय २९ जनालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने चौधरीले जानकारी दिए।

यो अभियानमा विसं २०७३ वैशाख १ देखि विसं २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने भएको छ । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग आवश्यक समन्वय गरिसकिएको र सबै तयारी पूरा भएको चौधरीले जानकारी दिए ।

विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष राखिएको छ ।

जिवी राईको राहदानी रद्द नमिल्ने विभागको जवाफ

काठमाडौ । सहकारीको रकम अपचलनमा फरार रहेका गितेन्द्रबाबु जिवी राईको राहदानी रद्द नहुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले वैशाख ३० गते फरार राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो । विभागले भने राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा राईको राहदानी रद्द गर्न नमिल्ने जवाफ पठाएको हो ।

अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबी राईविरुद्ध रेड नोटिस जारी भएपनि उनी अहिलेसमम पक्राउ परेका छैनन् ।