`

तनहुँमा बाढीको पूर्व सूचना दिन साइरन जडान

दमौली । तनहुँ जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बाढीको पूर्व सूचना दिन साइरन जडान गरेको छ । 

ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको जलविद्युत् आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १५ स्थानमा साइरन जडान गरेको हो ।

आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्व सूचना दिन साइरन जडान गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 

उनले भने, “सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडानका लागि ठाउँ छनोट गरिएको थियो ।” 

आयोजनाले केही दिनअघि मात्रै व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छतमा साइरन जडान गरेको थियो । आयोजनाको विशेष अनुरोधमा क्याम्पसको छतमा साइरन जडान गर्न ठाउँ उपलब्ध गराइएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

साइरन जडान पश्चात् व्यास–१, ३ र १३ को सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समय नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजानका सचेत बनाउने उनले बताए । हड्खलेले भने, “समुदाय, आयोजना र क्याम्पसबीचको सहकार्यबाट साइरन जडान गरिएको हो । यो समुदायमा एउटा उदाहरणीय काम पनि हो ।”

बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका साइरन जडान गरिएको आयोजना कार्यालयले जनाएको छ । नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेलगायत काम गरिरहेका सर्वसाधारणलाई साइरनले पूर्वसूचित गर्ने आयोजनाका प्रमुख भण्डारीले बताए ।

तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीन वटा ठेक्का लगाएर अगाडि बढाइएको छ । चरण–१ अन्तर्गतको बाँध निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । यसको ३२.५ प्रतिशत प्रगति भएको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जनकारी दिए ।

चरण–२ अन्तर्गतको विद्युत्गृह निर्माण सिनो हाइड्रोले गरिरहेको छ । यसको प्रगति ५५ प्रतिशत पुगेको छ । साथै चरण–३ अन्तरगतको प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेडले भारतले गरिरहेकामा यसको ७३.५ प्रतिशत प्रगति भएको जनाइएको छ । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने जनाइएको छ । यसका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ ।

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन् ।

“संसद् जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो । त्यसैले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ”, पत्रमा भनिएको छ ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउन आफूले पहल गरिरहेको र चाँडै संसद्का नियमित कामकारबाही अगाडि बढ्ने बताएको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

पार्टी अध्यक्ष नेपालले पनि संसद्को गतिरोध अन्त्य गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहलकदमीको अपेक्षा गर्दै पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सम्पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पार्टी उपाध्यक्ष हमालले जानकारी दिए ।

सडकमै तगारो !

कास्की । एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारीसाधन चलाउनुपर्छ । खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ । गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेस्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ । यो कास्कीको चिप्ली गाउँको अवस्था हो । तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ । सूचनामा लेखिएको छ, “सवारीचालकज्यूहरु, कृपया तगारो लगाउनुहोला । यदि तगारो नलगाएमा जरिवाना रु पाँच सय तिर्नुपर्नेछ । तपाईंलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद ।”

सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारीसाधन रोक्छन्, तगारो खोल्छन्, सवारीसाधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन् । मादी गाउँपालिका–६ स्थित चिप्ली हुँदै मादी–१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरुले तगारो लगाउने गरेका हुन् । बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । “चिप्ली, सिक्लेसलगायत यहाँका अरु गाउँमा पनि तगारो लगाउने चलन छ”, उनले भने, “चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ ।”

सवारीसाधनको आवातजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडाध्यक्ष गुरुङले बताए । एउटै गाउँमा दुईपटकसम्म सवारीसाधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारीचालक बताउँछन् । “पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन”, उनले भने, “तगारो लगाउनु स्थानीयवासीको बाध्यता भएपनि अब छुट्टै विकल्प खोज्नुपर्छ ।”

चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताए । “प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौँ”, उनले भने, “यसको समाधानका लागि वडा कार्यालयले केही पहल गरोस् भन्ने हाम्रो माग छ ।”

पोखरा–सिक्लेस सडक स्तरोन्नतिसँगै सवारीसाधनको आवातजावत बढ्दै गएकाले तगारोले चालक र यात्रुलाई समस्या थपेको क्लबका अध्यक्ष गुरुङले बताए । “एकातिर समय खेर जाने, अर्कोतिर सवारीचालकलाई दुःख र झन्झट भइरहेको छ”, उनले भने, “परम्परागतरुपमा गाउँमा तगारो लगाउने चलन सडक आएपछि उपयुक्त देखिएको छैन, यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।” तगारो लगाउनु सडकको नियम विपरीतसमेत भएको उनको  भनाइ छ । 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत काहुँखोला–सिक्लेस–दूधपोखरी सडकअन्तर्गत उक्त खण्ड पर्दछ । मादी–१ को कोरी र कपुचे तालको पदयात्रामा जाने पर्यटक पनि सोही सडक ओहोरदोहोर गर्छन् । विजयपुरखोलाबाट थाकसम्म १० किमी सडक कालोपत्र भएपछि सिक्लेस, चिप्लीलगायत मादीका पर्यटकीय गाउँको यात्रा थप सहज बनेको छ ।

थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्रका लागि ग्रेड र सब–बेस मिलाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । वडाध्यक्ष गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए । 

“अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सक्छन् । कालोपत्र सडक सिक्लेससम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ”, उनले भने, “बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।” पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । 

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पु¥याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । 

वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए । “सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ”, उनले भने ।

संसदबाटै शान्तिपूर्ण रुपमा बजेट प्रस्तुत गर्न प्रतिपक्षी दलले सहयोग गर्छ भन्ने विश्वास छ : अर्थमन्त्री पुन

काठमाडौँ /अर्थमन्त्री बर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्वको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगको बताएका हुन् ।

कुनै मन्त्रालयले दवाव दिएको वा हस्तक्षेप गरेको बिषयमा सत्यता नभएको उनले बताए । त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रुपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरि सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्रतता दिनु जायज भएको बताए ।

मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनिय बिषय नभएको प्रतिक्रिया दिए ।

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की

मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताएका छन्। सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा घ्यू जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्दैँ उनले कृषिको उत्पादन र उपादकत्व बढाउन आयातलाई प्रतिस्थापन रोजगारी वृद्धिमा सहयोग पु(याउने काम गरिरहेको जानकारी दिए।

उनले कोशी प्रदेशबाट वार्षिक ५० टन घ्यु जापान निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे । उनले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको घ्यु, चिया, मह, चिउरा उत्पादन र ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गरेमा रोजगारी वृद्धि र गरिबी निवारण गर्न सकिने बताए। उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलव्ध गराएको जानकारी दिए।

नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको जानकारी दिए। मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनका साथै ३१ लाख बजारमा बिक्रीका लागि जाने गरेको उनको भनाइ छ । दैनिक रु छ करोड रकम ग्रामीण क्षेत्रका किसानले प्राप्त गर्ने र ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए। उद्योगका सञ्चालक मनोज यादवले जापानको पद्क कर्पोरेशन लिमिटेडलाई यस पटक एक हजार दुई केजी घ्यू, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ती गरी १० टन निर्यात गर्न लागेको जानकारी दिए। आगामी प्रत्येक महिना पाँच टन घ्यू पठाउने उनले बताए।

विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दूध ३० हजार केजी, घ्यू दुई हजार केजी र दूध, दही, बटर उत्पादन गर्दै आएको छ । कोशी प्रदेश सरकारले प्रदेशमा धुलो दुध उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई रु पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई रु दुई करोड सहयोग उपलव्ध गराएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण जेठ १५ गते दिउँसो १ बजे

काठमाडौँ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई मध्यान्ह १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

‘डिएण्डएडी यल्लो पेन्सिल’ अवार्ड नित्या रञ्जना लिपीलाई

काठमाडौँ ।  ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) लिपीले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस वर्षको ‘डिएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यो अवार्ड नेपालका लागि पहिलो हो । बिहीबार लण्डनमा भएको ६२औँ डिएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको हो । 


यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । छ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपी पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताए ।


डिएण्डएडी विश्वव्यापी व्यावसायिक विज्ञापन, डिजाइन, शिल्प र सिर्जनाका क्षेत्रमा प्रदान हुने अवार्ड हो । सन् १९६२ देखि डिजाइन र विज्ञापनका क्षेत्रमा यो अवार्ड प्रदान गरिँदै आइएको छ ।


क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्टताका लागि प्रदान गरिन्छ । अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना लिपी मात्र नभइ रञ्जना लिपीले अन्तर्राष्ट्रियस्तरमा पहिचान वृद्धि गरेको उनले बताए ।


फाउन्डेसनले रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको ‘फन्ट डिजाइन कम्पनी’ एक टाइपसँग सहकार्य गरेको थियो । यसमा फन्ट विकासकर्ता तथागत विश्वास, सारङ्ग कुलकर्णी, नुपुर दात्ये हुनुहुन्छ । यसको विकास तथा सिर्जनाका लागि काठमाडौँ महानगरले पनि सहयोग गरेको थियो ।  


“रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भएर पनि यी अक्षरहरुको प्रयोग, प्रवद्र्धन हुन सकेको थिएन । यसले लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रव्द्र्धन गर्न लिपीलाई प्रविधिसँग प्रयोग अनुकूल बनाउने काम युवाले थालेका छन्”, फाउन्डेसनका अध्यक्ष महर्जनले भने । 


क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र सिक्न सक्ने स्वरुपमा रुपान्तरण भएको उनको भनाइ छ । यो लिपी इण्डो आर्यन, मङ्गोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचानसँग जोडिएको उनले बताए ।


लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त÷अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत क्षेत्रमा गरिएको अध्ययनबाट पृष्ठपोषण लिइएको थियो । 


फन्टमा आकर्षक अक्षर छन् । स्वर र व्यञ्जन वर्णहरु, बिराम र अङ्क तथा लेख्य विकल्प रहेका क्यालिजात्राका अध्यक्ष महर्जनले जानकारी दिए । उनका अनुसार यस लिपीलाई संस्कृत, पाली र नेपाल भाषा लेखनका लागि प्रयोग गर्न सकिन्छ ।  

हमासद्वारा इजरायलसँग नयाँ वार्ताको प्रस्ताव अस्वीकार

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले इजरायली सञ्चारमाध्यमले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गरेका छन् ।

अल जजीरा अरेबीसँगको हालैको टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए ।

हमासले युद्धविराम प्रस्तावलाई पहिले नै स्वीकार गरिसकेको र इजरायलले भने प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै उनले भने, “हामीलाई वार्ताको नयाँ प्रस्ताव आवश्यकता छैन तर बन्धक फिर्ता र युद्धविरामलगायत इजरायली सेना गाजाबाट फर्किने शर्त वार्ताका प्राथमिकता हुनुपर्छ । ”

यस महिनाको सुरुमा हमासले इजरायलले प्रस्ताव अपर्याप्त ठानेको भएपनि सात महिनाको गाजा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो । इजरायली सञ्चारमाध्यममा आएका रिपोर्टहरूले पेरिसमा मध्यस्थकर्ताहरूसँगको छलफलपछि गाजा बन्दी मुक्तिसम्बन्धी सम्झौताको लागि नयाँ वार्ताको सुझाव दिएको अल जजिराले जनाएको छ ।

इजरायली गुप्तचर प्रमुख डेभिड बार्नियाले सीआईएका निर्देशक बिल बन्र्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग नयाँ वार्ताका लागि सहमति जनाउनुभएको थियो । यद्यपि, कुनै पनि अस्थायी युद्धविराम सम्झौताले इजरायलसँगको शत्रुताको समाधान भविष्यसम्मका लागि प्रशस्त नहुने चिन्ता प्यालेष्टिनी रक्षा मन्त्रालयले व्यक्त गरेको छ ।

हमास अस्थायी युद्धविरामका समाधान गर्नुको सट्टा युद्धको स्थायी अन्त्यमा जोड दिँदै आफ्नो पक्षमा अडिग रहेको छ । इजरायलले भने हमासको पूर्ण विघटनसहित आफ्ना उद्देश्यहरू प्राप्त गरेपछि मात्र द्वन्द्व अन्त्य गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

अन्तर्राष्ट्रिय न्याय अदालतको रफाह आक्रमण रोक्ने आदेश र अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली नेताहरूविरुद्ध गिरफ्तारी आदेश जारी गरेको जस्ता हालसालैका घटनाक्रमले बढ्दो कूटनीतिक गतिरोधलाई प्रतिबिम्बित गर्दछ । आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई मान्यता दिने निर्णयले इजरायलको कूटनीतिक चुनौतीलाई थप जटिल बनाएको छ ।

यी घटनाक्रमबीच युद्धविराम हासिल गर्ने र गाजासँगको सीमा पुन : सञ्चालन गर्ने प्रयासहरूले गति प्राप्त गरेको छ ।

वासिङ्टनले युद्धविराम र मानवीय सहायताको पहुँचका लागि मार्गहरू खोज्न युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जसहित इजरायली अधिकारीहरूसँग छलफल गरेको छ । कायरोले युद्धविराम वार्ताको मध्यस्थता र कैदी आदानप्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । इजिप्ट गाजामा मानवीय सङ्कट कम गर्ने उदेश्यप्रति कटिबद्द छ ।

गाजामा बन्दी बनाइएका कैदीहरूको रिहाइ सुरक्षित गर्न कारबाहीको माग गर्दै तेल अभीभमा व्यापक सार्वजनिक आक्रोश र विरोधका बावजुद प्रधानमन्त्री नेतान्याहुको सरकारले हमाससँग सम्झौता गर्न अझै मध्यस्थता गरेको छैन । आलोचकहरूले सरकारको समाधानमा पुग्ने प्रतिबद्धतामाथि प्रश्न उठाउनुका साथै वार्ताको माध्यमबाट समाधान गर्नमा यसको निष्कपटतामाथि शङ्का व्यक्त गरेको अल जजिराले रिपोर्ट गरेको छ ।

सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : महामन्त्री थापा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिदै गएको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सञ्चारमाध्यको बिषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन् ।

सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरेका छन् । उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रीत नभएको जिकिर गरे । महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानविन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारेका छन् ।

उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोहि व्यक्ति नै हुनुपर्ने भएपनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा पनि राखेका छन् ।

आगलागीमा परी दिल्ली अस्पतालमा सात नवजात शिशुको मृत्यु

दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा परी घाइते भएका अन्य ६ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गरेकी छन् ।

‘दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ,’ राष्ट्रपति मुर्मूले एक्स (ट्वीटर) मा लेखेकी छन् । उनले भनेकी छन्, ‘शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस् । यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दुःख व्यक्त गरेका छतन् । केजरीवालले एक्समा लेखेका छन्, ‘बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ । यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं।’

मुख्यमन्त्री केजरीवालले भनेका छन्, “सरकार र प्रशासनका अधिकारीहरू घटनास्थलमा नै घाइतेहरूको उपचारमा व्यस्त छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ र यो लापरबाहीका लागि जो कोही पनि जिम्मेवार छ, उसलाई छुट दिइने छैन ।”

अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो । तीमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

पूर्वाधारको पर्खाइमा मुस्ताङको कोरला नाका

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ ।

गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् । 

चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थाङ्का व्यवसायी टसी नर्बु गुरुङले बताए । “चीनतर्फ सबै पूर्वाधार छन्”, उनले भने, “नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिकरुपमा चल्न सकेको छैन ।”

चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने गरिएको व्यवसायी गुरुङले बताए । चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङले बताइन् । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने उनको भनाइ छ  । 

नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए । “नाकामा प्रहरीको उपस्थितिका साथै नेपाली गाडी चीनको बन्दरगाहसम्म पुग्न दिने र एक दिनमा एकपटक मात्र चीनतर्फ जान पाउने नियम हटाएमा सहज हुने थियो”, उनले  भने, “यहाँ १० किलोमिटर तलबाट पिउने पानी ओसार्नुपर्छ ।”

कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पश्मिनालगायत सामान निर्यात गर्न सकिने सम्भावना छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन ।

चीनतर्फ निर्मित भवनभित्र पसलहरु छन् । चीनले कोरला सम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनियाँ बजार जान पाउँछन् । करिब एक हजार जनाले प्रस्थान प्रवेशपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो । त्यसअघि कोरलामा  वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकटोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भए पनि व्यावसायिकरुपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको खाँचो रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीनले गत कात्तिकमा १० जना अटाउनसक्ने चार वटा कन्टेनर उपलब्ध गराएको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सुरक्षाकर्मी त्यहाँ गएको अवस्थामा कन्टेनरलाई प्रयोग गरिएको र प्रदेश सरकारको सहयोगमा ‘प्रिफ्याब’ भवन निर्माण प्रक्रिया अघि बढाएको बताए ।

पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले  ५० लाख बजेट पठाएको छ । तीनकोठे ‘प्रिफ्याब’ भवन बनाउन ठेक्का आह्वान भइसकेको र चालु आर्थिक वर्षभित्र तयार हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । 

संसद्को अतिरोध अन्त्य गर्न दलका नेता र सांसदहरुले एकजुट भएर पहल गरौंः सांसद शर्मा

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुनःउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याएको बताए ।  भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उनको भनाइ छ । 

देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एकमात्र विकल्प देखापरेको भन्दै उनले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताए ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौँ, राजनीतिक दलहरुप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ”उनले भने ।

संसद्को अवरोध अन्त्य हुननसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै उनले यसबाट राष्ट्रमा थप सङ्कट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अन्त्य गर्न दलका नेता र सांसदहरुलाई आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गरे । 

मौरी मर्न थालेपछि रित्तिँदै घार

गलकोट (बागलुङ) / मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन्। २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय सङ्कटमा परेको छ ।

थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले घार नै रित्तिन लागेको हो । उनी केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लागेका थिए । केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय सङ्कटमा परेको उनले बताए। छ वर्षदेखि मौरीपालन गर्दै आएका थापाले मौरीपालनबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरेका थिए । सेरेना जातको मौरी पाल्दै आएका उनले एक किलो मह रु एक हजार पाँच सयमा घरबाटै बिक्री गर्दै आएको थिए ।

“किसानको मर्का राज्यले बुझ्दैन, पहिला बङ्गुरपालन गरेको खोर त्यसै छन्, बङ्गुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्नथालेपछि घार रित्तै भयो”, उनले भने, “४२ घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु ।” थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आएका छन् । मौरीको बीमा नगर्दा घाटा परेको उनले स्वीकारे। उनले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गरे । मौरी मर्नुको कारण थाहा नभएको उनको भनाइ छ ।

पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताइन् । उनले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताइन् । वातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषादी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको उनले जानकारी दिइन् ।

अल्मलिएको विकास प्रयासलाई नीति तथा कार्यक्रमले सही बाटोमा ल्याएको उपाध्यक्ष पौडेलको दाबी

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रमले अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशालाई चिरेर मुलुकलाई हामी आफँैले बनाउन सक्छौँ भन्ने आशाको सञ्चार उत्पन्न भएको बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच जारी बैठकमा नेता पौडेलले नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको उल्लेख गर्दै गठनन्धनको सहमतिमा निर्मित नेपाल सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्पलाई प्रतिविम्बन गरिएकाले समर्थन योग्य भएको बताए ।

“यो नीति तथा कार्यक्रमले मुलुकको भौतिक र मानवीय विकासको गतिलाई अगाडि बढाउने सङ्कल्प गरेको छ । मुर्छित, शिथिल र घस्रिएको अवस्थाको अर्थतन्त्रलाई चलायमान बनाएको छ”, उनले भने, “यसले राष्ट्रिय स्वाभिमानको रक्षालाई उच्च महत्व दिएको छ भने उत्पादन र रोजगारी वृद्धिका लागि साझेदारी कार्यक्रम ल्याइएको छ । यी विषय सबै दृष्टिकोणले स्वागत योग्य छन् ।”

सहकारी अनियमितताका सन्बन्धमा प्रतिपक्षले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनका बैठक अवरोध गर्दै आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

विपक्षी दलहरुको नाराबाजीका बीच सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । विपक्षी दलहरुको नाराबाजीका बीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबारको संसद बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले संशोधन प्रस्तावलाई अस्वीकृत गरेका थिए । लगत्तै नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुखले घोषणा गरेका थिए ।

नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी जारी राखेका थिए। नाराबाजीमा उत्रिएपछि सभामुख घिमिरेले पेलेर सदन अगाडि बढाएका थिए ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्।

स्वर्णिम वाग्लेले संसदमा कांग्रेसविरुद्ध अभिव्यक्ति दिएपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संसदमा नारबाजी गरिरहेको कांग्रेसलाई लज्जास्पद, औचित्यहीन भएको बताएपछि संसदमा तनाव भएको छ ।

वाग्लेले विषयवस्तु बाहिर गएर अभिव्यक्ति दिएपछि सभामुख देवराज घिमिरेले उनलाई विषयवस्तुमा केन्द्रित हुन पटक पटक आग्रह गर्नुपरेको थियो । रास्वपा सांसद वाग्ले संसद्को रोष्ट्रममा पुगेपछि कांग्रेस सांसदहरू झनै आक्रोशित भएका थिए।

वाग्लेले बिपीको नाम लिएर कांग्रेसले गरिरहेको नाराबाजी र वेल घेराउ लज्जास्पद र औचित्यहीन भन्दै खेद प्रकट गरेका थिए । वाग्लेले ‘राजनीतिक गुरु बीपी कोइरालाले स्थापित गरेको मान्यता कुल्चिएको छ..’ भन्दै गर्दा कांग्रेस सांसदहरुले होहल्ला गरेका थिए ।

उनले भने, ‘गरिमामय संसदमा उपस्थित भएर बोल्नपर्ला जस्तो मलाई लागेको थिएन। ६५ वर्षअघि लोकतान्त्रिक आन्दोलनका धरोहर, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो लज्जास्पद, औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ।’

आज भोलीमै सहमति जुट्छ– प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा जारी अवरोध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । उनले आइतबार प्रतिनिधि सभाको बैठकमा आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको र वजेट पेश गर्ने दिनसम्म सहमति निस्कने दावी गरे । संसदमा बोल्दै प्रधानमन्त्री दाहालले भने ‘मलाई विश्वास छ– आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ’ ।

आज बिहान आफूले बुढानिलकण्ठ नै गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सहमतिको प्रयास गरेको पनि उनले जनाकारी दिए ।

नीति तथा कार्यक्रमले अल्मलिएको विकासलाई सही बाटोमा ल्याएको छ : उपाध्यक्ष पौडेल

काठमाडौँ / नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रमले अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशालाई चिरेर मुलुकलाई हामी आफैँले बनाउन सक्छौँ भन्ने आशाको सञ्चार उत्पन्न भएको बताएका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच जारी बैठकमा नेता पौडेलले नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको उल्लेख गर्दै गठनन्धनको सहमतिमा निर्मित नेपाल सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्पलाई प्रतिविम्बन गरिएकाले समर्थन योग्य भएको जनाएका छन् । “यो नीति तथा कार्यक्रमले मुलुकको भौतिक र मानवीय विकासको गतिलाई अगाडि बढाउने सङ्कल्प गरेको छ । मुर्छित, शिथिल र घस्रिएको अवस्थाको अर्थतन्त्रलाई चलायमान बनाएको छ”, उनले भने, “यसले राष्ट्रिय स्वाभिमानको रक्षालाई उच्च महत्व दिएको छ भने उत्पादन र रोजगारी वृद्धिका लागि साझेदारी कार्यक्रम ल्याइएको छ । यी विषय सबै दृष्टिकोणले स्वागत योग्य छन् ।”

सहकारी अनियमितताका सन्बन्धमा प्रतिपक्षले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनका बैठक अवरोध गर्दै आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संवैधानिक व्यवस्थाबमोजिम हरेक जेठ १५ गते बजेट प्रस्तुत हुने भएकाले सोअघि नीति तथा कार्यक्रम पारित हुनुपर्ने स्थिति छ ।

प्रतिपक्षी दलहरुको विरोधकाबीच अर्थमन्त्री पुनद्वारा प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच सभामुख देवराज घिमिरले अनुमति दिनुभएपछि उहाँले सो सर्वेक्षण पेस गरेका हुन् ।


अर्थमन्त्री पुनले भने, “गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत  विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ ।” मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए ।


अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहने अनुमान गरिएको बताउँदै चालु आवमा कूल लगानी २.८ प्रतिशतले बढेर  १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको जानकारी दिए ।


“प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आवको फागुनसम्म औषत उपभोक्ता मुद्रास्फिति ६.०८ प्रतिशत रहेको छ । राजस्व परिचानलमा क्रमशः सुधार हुँदै गएको छ”, उनले भने ।


अर्थमन्त्री पुनले चालु आवको फागुनसम्म सङ्घीय सरकारको राजस्व सङ्कलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब पाँच करोड पुगेको जानकारी दिँदै यस अवधिमा सङ्घीय खर्च २.९ प्रतिशतले वृद्धि भई आठ खर्ब एक अर्ब ५८ करोड पुगेको उल्लेख गरे । 


“विसं २०८० फागुनसम्म कूल सार्वजनिक ऋण  २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको छ”, अर्थमन्त्री पुनले भने, “आर्थिक वर्ष २०७९÷८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत  तीन खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडमार्फत  एक खर्ब २० अर्ब २६ करोड गरी  पाँच खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।”


वित्तीय क्षेत्र सुधार हुँदै गएको बताउँदै उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र निक्षेप एवम् कर्जाको व्यापार दर घट्दै गएको उल्लेख गर्नुभयो । चालु आवको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको उनले जानकारी दिए ।


अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको सञ्जालमा विस्तार, विद्युतीय माध्यमबाट हुने कारोबार, वित्तीय साक्षरता प्रवर्द्धनसँगै प्रतिशाखा जनसङ्ख्या दुई हजार पाँच सय १५ पुगेको जानकारी दिए । 

राष्ट्रियसभाको बैठक १:१० बजेसम्मलाई सर्‍यो

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ः३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १ः१० बजे बस्ने गरी बैठकको समय निर्धारण गरेका छन् ।

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु

गलकोट (बागलुङ) / जैमिनी नगरपालिका-१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो ।

यहाँबाट जैमिनीसहित अन्य रमणीय स्थलको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक आउने गर्छन् । पूर्वाधार निर्माणसँगै हाँडिकोटको प्रचारप्रसार भएपछि पर्यटकीयस्थलको रुपमा विकास भएको छ । यहाँ आउन सडक र पदमार्ग दुबै सुविधा छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यको रुपमा जैमिनी धामपछि हाँडीकोट टापुको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।

हाँडिकोटका थुपै्र विशेषता छन् । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकलाई मोहित बनाउँछ । “पहिला बाख्रावस्तु चराउन, बाँको खोज्न टापुमा जान्थ्यौँ, अहिले पर्यटकीयस्थलका रुपमा स्थानीय सरकारले विकास गरेको छ”, स्थानीय लालबहादुर पुनले भने, “रु ५० लाख बढीको पूर्वाधार बनिसक्यो, स्थानीयले समेत ठूलो लगानी गरेका छन् । रु २५ लाख टापुमाथि दृश्यावलोकन स्तम्भ निर्माणमा खर्च भएको छ, टावरले पूर्णता पाएको छैन, यहाँ आउने पर्यटकलाई बस्न सत्तल निर्माण गरेपनि खानेपानी सुविधा छैन ।”

टापुबाट तल हेर्दा बादलले ढाकेका पहाड देखिने भएपछि यहाँ आउने पर्यटकलाई लोभिन थालेका हुन् । पुनका अनुसार व्याडथला र डाँडाखानीबाट पदमार्गमार्फत हाँडीकोटमा अघिल्लो दिन नै पर्यटक आइपुग्ने गर्छन् । बिहानै सूर्योदय हेर्न उनीहरु अघिल्लो दिन नै यहाँ आइपुग्ने गरेका हुन् । यहाँको बाइसे चौबिसे राजाको दरबार भने अहिले भग्नावशेष मात्र बाँकी छ । समथर भू(भाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शिला सूसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटक आउने गरेका छन् ।

हाँडिकोटमा विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शीला संरक्षण लगायतका पर्यटकीय पूर्वाधार निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनले गण्डकी प्रदेश सरकारको सहयोगमा हाँडिकोटको पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताए।

यस ठाउँको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिँदै आएको छ । “हाँडिकोटलाई जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य र जैमिनीधामलाई धार्मिक गन्तव्य बनाउन नगरपालिकाले पूर्वाधारमा लगानी बढाएको छ, यहाँ आउने पदमार्ग र सडकमार्ग राम्रो बनाउने, पर्यटकलाई बस्न मिल्ने सत्तल निर्माण र दृश्यावलोकन स्तम्भमा लगानी गरेका छौँ” उपप्रमुख शर्माले भने, “हाँडिकोटको पूर्वाधार र प्रचारप्रसारका कारण आन्तरिक पर्यटक बढेको छ ।”

यहाँ विसं २०७७ यता पूर्वाधार निर्माण सुरु गरिएको हो । बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरुले राज्य गरेको स्थान समेत हो यो । यहाँ तत्कालीन राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायतका सामग्री अहिले पनि छन् । हाँडिकोट पुग्न सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टा मोटर यात्रा गर्नुपर्छ ।

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्नैपर्छः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहयोग गर्न आग्रह गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले छानबिन समिति गठनमा सहयोग गर्न गृहमन्त्री लामिछानेसमक्ष आग्रह गरेका हुन् ।

उनले प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा गृहमन्त्रीको बोली फरक भएको भन्दै आपत्ति जनाए । उनले भने, ‘यसअघि गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । तीन महिनाअघि मात्रै गृहमन्त्रीले खुट्टा कमाउनु भएन भनेको यहीँबाट हो । तर अहिले उहाँहरूको नाम आएको छ किन छानबिन नभएको हो ? सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन गृहमन्त्रीले सहयोग गर्नुहोस्। जनताले यिनै पुराना दलले काम गरेन भनेर र यिनीहरूको विकल्पका रुपमा भोट दिएका हुन्। खुला गरिदिनुहोस्। दोषी भए कारबाही होला। निर्दोष भए यसै सदनमा गृहमन्त्री भएर आउनुहोला।’

शाहीले सहकारीपीडितहरूको सडकमा बास भएको बताउँदै उनीहरूको बचत फिर्ता हुनुपर्ने माग गरे । उनले सहकारी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गर्दा गृहमन्त्रीलाई जोगाइएको बताए ।

उनले भने, ‘छिपछिपे सहकारीमा खाता खोलेकी गीता बस्नेतका ज्वाइँले कृष्णसार रेस्टुरेन्टमा लगानी गरेका छन्। यसमा प्रत्यक्ष नजोडिएकी राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी हुन्छ । तर गृहमन्त्रीको नाममा गोरखा मिडिया नेटवर्कमा सहकारीको करोडौँ बचत आउँदा किन कारबाही हुँदैन ? सरकारमा पुग्दा एउटा बोली प्रतिपक्षमा अर्को बोली हुनु हुँदैन ।’

उनले गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनै पर्ने बताए ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११ः३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो । अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताए ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ । अहिले पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गृहमन्त्रीको नाम नराखी संसदीय समिति बन्न नसक्ने कांग्रेसको अडान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस नेताहरुको बैठकले सहकारी ठगीमा छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम तोक्नुपर्ने निर्णय गरेको हो ।

सदनको गतिरोध अन्त्यका लागि सघाउन आग्रह गर्दै घरमै आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई  देउवाले त्यही निर्णय सुनाएका छन् । नेताहरूबीच आन्तरिक छलफल भइरहेका बेला प्रचण्ड बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

बैठकमा सहभागी नेता जीवन परियारले कांग्रेसले आफ्नो पूर्ववत अडानमा कायम रहेको सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारीको नाम तोक्ने तर व्यक्तिको नाम नतोक्ने प्रस्तावमा सहमति जनाउन आग्रह गरे पनि देउवाले त्यसलाई अस्वीकार गरेका थिए ।

सरकारले संसदबाटै बजेट ल्याउन चाहेकाले सहज परिस्थिति बनाइदिन प्रचण्डले देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले सरकारले प्रतिपक्षलाई अलमल्याउने नीति लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिको नाम तोकेरै छानबिन समिति बन्छ भने सहमति हुने, नभए असहमतिको कारक सत्तापक्ष नै हुने जवाफ दिएका थिए ।


यसअघि कार्यदलमा गृहमन्त्री लामिछानेको नाम नलेख्ने र उनी संलग्न सहकारी र कम्पनीमा मात्र उल्लेख गर्नेमा कांग्रेस सहमत भएको सत्ता पक्षका नेताहरुले बताएका थिए । कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ । तर सत्तापक्ष संसदीय समिति गठन गर्न तयार भएको छैन । जसका कारण बजेट सदनबाट आउनेमा आशंका बढेको छ ।

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित

रामपुर (पाल्पा) / नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा एक सय एक सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसीलाई चयन गरिएको छ ।

जिल्ला कमिटी सदस्यमा दलिततर्फ र जनजातिमा आठ–आठ, ४० वर्षभन्दा कम उमेरका युवा १६, महिला खुला चार, मजदुर, अल्पसङ्ख्यक, अपाङ्ग, मुस्लिम गरी एक–एकजना चयन भएका नेकपा एमाले पाल्पाले जनाएको छ ।

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले जानकारी दिए ।

पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।

“यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ”, गायक आचार्यले भने ।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा छन् । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उनले बताए । निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिए । उनले भने, “सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन । त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ । चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ ।” गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

एकीकृत समाजवादीले महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्लामा पठाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ ।

महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पारेका छन् ।

सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्तावेज तयार पारेका छन् ।

उपाध्यक्ष बेदुराम भुसालले तयार पारेको विधान दस्तावेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ । महासचिव घनश्याम भुसालले तयार पार्नुभएको सङ्गठनात्मक दस्तावेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीतिबारे प्रष्ट पारिएको छ ।

चारवटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।

पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ ।

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : संचारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छन् ।

बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएकी हुन् ।

“शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ”, उनले भनिन् ।

शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उनले बताइन् । शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उनले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।

सत्य निरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उनले बताइन् । मन्त्री शर्माले भनिन्, “यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ, विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुन्छ ।”

“कृष्ण सेन इच्छुकले देखाउनुभएको बाटो र उहाँको जसरी निष्ठा र धरोहरका रूपमा व्यक्तित्व बन्यो, त्यो व्यक्तित्वबाट हामीले धेरै सिक्न जरुरी छ, उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्न सकौँ”, उनले भनिन् ।

वर्तमान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति भएको जनयुद्ध सफल बनाउन इच्छुकको अतुलनीय योगदान रहेको उनले बताइन् । हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

“तर आजको दिनसम्म आइपुग्दा हामीले हाम्रो अवस्था परिवर्तन गर्न सकेका छौँ कि छैनौँ, कृष्ण सेनजस्ता महान् सहिदको सपना पूरा गर्न सकेका छौँ कि छैनौँ, हाम्रो अगाडि यो गम्भीर प्रश्न खडा भएको छ”, उनले भनिन् ।

नारायणगढ–मुग्लिन सडकमा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको बताइएको छ ।

पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ । घटनाको बारेमा बुझ्न नारायणगढ–मुग्लिन सडक आयोजनाका अधिकारीहरू घटनास्थलमा गइरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

कीर्तिमानी आरोही फुञ्जो लामालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।

आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । उनी २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल भएकी हुन् ।

विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनले १४ घण्टा ३१ मिनेटमा शिखर चुमेकी हुन् । सन् २०१८ मा उनले ३९ घण्टा ६ मिनेटमा शिखरमा पुगेकी थिइन् । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उनको कीर्तिमान भङ्ग गरेकी थिइन् ।

विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो ।

अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गरेकी उनले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गरेकी छन् । उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् ।

आरोही फुञ्क्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्दै आएकी छन् । उनले सोलुखुम्बुको खुम्बु र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आएकी छन् ।

सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए ।

विमानस्थलमा उनलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठ पुगेका छन् । पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीले उनकै निवास पुगेर देउवासँग भेट गरेका हुन् ।

संसदीय समिति गठन गर्ने विषयमा दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो । कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ ।

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो ।

अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको गल्तीका कारण गार्नाचोले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन ।

३९औँ मिनेटमा माइनूले दोस्रो गोल थपे । उनले ब्रुनो फर्नान्डिसको पासमा गोल गरे । ८७औँ मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए । यो सिजन प्रिमियर लिग जितेको सिटीले एफए कप भने जित्न सकेन ।

सहकारी ठगीविरुद्ध कांग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दैछ । संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् । उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाईमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

काठमाडौंको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् ।

प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो ।

सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।

बालेनको कदम अराजक भएको सडक डिभिजनको ठहर

काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै आपत्ति जनाएको छ ।

शनिबार साँझ विज्ञप्ति जारी गरी डिभिजनले आफ्नो कार्यालयको गेटमा महानगरपालिकाको टिपरबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापी नबढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सडक डिभिजनको कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

यसअघि मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका थिए । महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको बालेनको भनाइ छ ।

https://www.facebook.com/plugins/video.php?height=317&href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fvideos%2F1009021877544072%2F&show_text=false&width=560&t=0

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति, आइतबार शीर्ष नेताको बैठक बस्ने

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश टुंग्याउन आइतबार प्रमुख दलका शीर्ष नेताले छलफल गर्ने भएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आइतबार बिहान शीर्ष नेताहरू बस्ने सहमति भएको नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिएका छन् ।

यसअघि शनिबार दिउँसो बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी र उनी आबद्ध कम्पनी (गोरखा मिडिया) को नाम राखेर समिति बनाउनेगरी छलफल भएको थियो ।

परियारका अनुसार कांग्रेसले पछिल्लो समय गृहमन्त्रीको नाम किटान नगर्ने तर गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक भनेर लेख्नुपर्ने अडान लिएको थियो । त्यसमा सत्ता पक्ष अलमलमा परेकाले आज सहमति नभएको उनले बताए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन प्रधानमन्त्री निवासमा शीर्ष नेता छलफलमा

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको  बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने कार्यादेशमा सहमति जुटाउने छ ।

सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रतिनिधि सम्मिलित कार्यदलमा सहमति जुटाउने अन्तिम बिन्दुमा पुगेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने,“निकास निकाल्न अन्तिम बिन्दुमा पुगेका छौँ, कार्यदलको बैठकमा भएको छलफलको विस्तृत विषयलाई प्रमुख दलका शीर्ष नेताहरुबीच राख्दैछौँ । यसलाई अन्तिम टुङ्गोमा पुर्याउन कार्यदलको आजको छलफल निकै महत्वपूर्ण रह्यो ।”

मन्त्री गिरीका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिले कार्यदलको बैठकमा सहकारीको रकम अपचलन तथा हिनामिनाको विषयमा संसदीय छानबिन समिति गठन गर्दा निश्चित व्यक्ति एवं पदाधिकारी किटान गर्नुपर्ने माग दोहोर्याएका थिए ।

“हामी सहमति नजिक नजिक पुगेका छौँ । कुनै कम्पनीसँग सम्बन्धित रहेर छानबिन गर्ने भनिसकेपछि उक्त कम्पनीमा को को जिम्मेवार थिए भन्ने कुरा छानबिनको क्रमपछि थाहा हुन्छ, त्यसमा यी यी व्यक्ति भनिरहनुपर्दैन”, उनले भने, “जुनजुन सहकारीबाट रकम लगिएको छ वा अपचलन भएको छ, नियमविपरीत रकम गएको छ । जुनजुन कम्पनीले लिएको भन्ने विषय उठेको छ, ती कम्पनी तथा सहकारी संस्थाको नाम उल्लेख गरौँ र त्यसैलाई केन्द्रबिन्दुमा राखेर छानबिन गर्ने गरी छानबिन समिति बनाउन सकिन्छ भन्ने कुरा आएको छ ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भएको थियो । समझदारी भए पनि समितिको कार्यादेशबारे टुङ्गो नलाग्दा गतिरोध कायमै छ । कार्यदलको बैठक लगतै प्रमुख दलका शीर्षनेताहरूबीच संसद्को गतिरोध हटाउने विषयमा पुनःबैठक बसेको हो ।

चीनसँग जोडिएका किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे ।

नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुने छन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथाङ्कासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए ।

गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो ।

किमाथाङ्का नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो ।

किमाथाङ्कामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथाङ्का नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ ।

भौतिक पूर्वाधार मन्त्री महासेठलाई बालेन साहको धुलो उपहार(भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत १५ वर्षदेखि कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेनले भौतिक पूर्वाधारमन्त्री महासेठलाई एक ट्रक धूलो उपहार पठाएका हुन् ।

उनले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौँ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले जानकारी दिए ।


“पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ,” उनले भने ।


देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ ।


पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यसनिम्ति ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी  छ । 


पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । धेरै जसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग  गर्दै  अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ । 


मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ ।


प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउनसक्ने बताउनुभयो । कूल ४००÷२२० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।


हेटौँडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा –११ स्थित थानाभ¥याङमा दुई र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । थानाभर्याङमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् ।


स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि यसमा सफलता प्राप्त भएको छैन । प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट,–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरीहुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ ।


प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ ।  कूल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो ।


हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ ।


प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरु काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् ।


कूल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी छ । यसअघि सो आयोजनाका लागि विश्व बैङ्कले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैङ्कले आयोेजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ ।

भू–राजनीतिले मुलुकको अवस्था अत्यन्तै जटिलः प्रवक्ता सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा सापकोटाले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने,‘अहिले भू–राजनीतिको अवस्था अत्यन्तै जटिल छ । पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदैछ । त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ । आँधी तुफान आउनसक्ने अवस्था छ । देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ ।’

उनले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभूत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए । विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।

प्रवक्त सापकोटाले नेपालमा वामपन्थीहरु मात्र नभई सबै कम्युनिष्टहरु एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए । उनले विज्ञान र प्रविधिको प्रयोग गर्न नसके पुरानो ढाँचाले देशको विकास गर्न नसकिने धारणा राखे ।