`

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बलेवा (बागलुङ) । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।

पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए ।

“पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भने, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।” पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज बिहानैदेखि काम थालेका छन् ।

बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

काठमाडौँ ।  सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो ।

महोत्सवको सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उद्घाटन गरे  ।

कार्यक्रममा मन्त्री चौधरीले फेस्टिबलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलकारुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताइन् । “फेस्टिबलमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालमाथि विचार विमर्श हुनु नेपाली साहित्य जगत्का लागि उपलब्धिमूलक हो”, उनले भनिन् । 

मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गरिन् । 

नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्यमाझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले कार्यक्रममा आफ्नो कवितासमेत वाचन गरेर सुनाएका थिए । 

मङ्गलबारसम्म सञ्चालन हुने फेस्टिबलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चनलगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिए । उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् ।

सोही अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो ः कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । फेस्टिबेलमा नेपाल, पानामा, ग्रीस, बेलायत, अमेरिका, हङ्कङ, भारत, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देशबाट आएका लेखक तथा कविले आफ्नो सिर्जना प्रस्तुत गर्नेछन् । महोत्सवमा पाँच महादेशका ३५ भन्दा बढी लेखकको सहभागिता रहेको छ ।

सहकारी पिडितहरुले काठमाडौँमा निकाले विरोध र्याली (भिडियो सहित)

काठमाडौँ / सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।

सहकारीमा आफुहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पिडितहरुले माइतिघरमा धर्ना दिदै आएका छन् । उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पिडितहरुले माइतिघरमा रिले अनशन समेत सुरु गरेका छन् ।

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुग्यो : नेता सिटौला

काठमाडौँ / नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताएका छन् ।

गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुगेको बताएका हुन् ।

उनले बिगतमा पनि बिभिन्न प्रकरणमा मुछिएका मन्त्रिहरुमाथि छानविनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखेका छन् । त्यस्तै उनले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गरे ।
उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दावी गरे ।

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ

–अर्जुननरसिंह केसी
नेपालमा गणतन्त्र आउनुमा लामो समय सत्ताको बागडोर सम्हालेको राजतन्त्र नै जिम्मेवार छ । यसको निरङ्कुश र अलोकतान्त्रिक चरित्रको कारण गणतन्त्र आउन सहज भएको हो । नेपाली कांग्रेसले शुरुदेखि नै संवैधानिक राजतन्त्र र लोकतन्त्रलाई नै आफ्नो सैद्धान्तिक प्रतिवद्धता बनाउँदै आएको थियो । राजाले नेपाली कांग्रेसलाई मित्रशक्ति नमानी विरोधी शक्तिसँग मिलेर दुश्मनको जस्तो व्यवहार गर्दै आए । यसले गर्दा कांग्रेसले राणासँग मात्र होइन, राजासँग पनि सङ्घर्ष गर्दै आउनुपर्यो । यो क्रम लामो समयसम्म चल्यो । तैपनि कांग्रेसले संवैधानिक राजतन्त्र र लोकतन्त्रलाई एकीकृत रुपमा अगाडि बढाउँदै गयो । यद्यपि काँग्रेसभित्र गणतन्त्रको विषय बीचबीचमा सशक्त ढङ्गले बहस नचलेका भने होइनन् । २०५९ को दरवार हत्याकाण्डपछि राजाले लोकतान्त्रिक शक्तिलाई टाढा गरेर उग्रदक्षिणपन्थी शक्तिलाई नजिक राखे । २०६२/६३ सालको आन्दोलनपछि कांग्रेसले संवैधानिक राजतन्त्रलाई छाडेर लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो राजनीतिक आदर्श बनाएपछि नै मुलुकमा गणतन्त्र आयो । जहाँ जसले जे जस्ता दावी गरे पनि नेपाली काँग्रेस मात्र अलग रहेको भए तत्कालीन परिस्थितिमा गणतन्त्र स्थापना सम्भव थिएन ।

त्यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि जनताको जीवनस्तरमा कायापलट हुन्छ भन्ने जुन उर्लंदो आमविश्वास थियो तर अभ्यासबाट त्यस्तो हुन सकेन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा लेखिएको संविधानअनुसार दुईपटक आमनिर्वाचन भयो । तर जनअपेक्षा अनुसार सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण र सेवा प्रवाह हुन नसक्दा जनतामा निराशा, असन्तुष्टी झन्झन् बढ्दै गएको छ । अब समाज अराजकता र नकारात्मक दिशातिर उन्मुख हुँदैछ । दण्डहीनता र अराजकताले देशलाई थप समस्यामा पारेको छ । भ्रष्टाचारमुक्त समाज, विधिको शासन, निस्पक्षता भरोसायोग्य नभएको स्थितिमा छ । भ्रष्टाचार तीब्र रुपमा बढ्दो छ । ठूला चर्चित भ्रष्टाचारका विषयहरुमा नै कारवाही हुन सकेको छैन । यही भ्रष्टाचारले जनतामा निराशा बढाएको छ । भ्रष्टाचार नियन्त्रण नभएसम्म सुशासन हुन सक्दैन ।

नेपालको संवैधानिक इतिहासमा २००४ सालको वैधानिक कानूनदेखि नेपालको संविधान २०७२ सम्म आइपुग्दा सातवटा संविधान कार्यान्वयन भए । झण्डै ७७ वर्षको इतिहासमा एउटा संविधानले सरदर ११ वर्षभन्दा बढी टिकेको देखिंदैन । २००४ सालको वैधानिक कानून ल्याउन बाध्य पार्नेदेखि २०१९ सालको नेपालको संविधानबाहेक अरु सबै संविधान कांग्रेसकै नेतृत्वमा जारी भएका छन् । वर्तमान संविधान सार्वभौसत्तासम्पन्न जनताले बनाएको हुँदा यसको विकल्प छैन । यसभित्रै बसेर संशोधन गर्न सबै दल एक ठाउँमा आउनैपर्छ । नेपाली कांग्रेसले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता हो ।

२०७२ सालमा संविधान लेख्दा राष्ट्रपतीय प्रणाली वा संसदीय कार्यकारी प्रधानमन्त्रीय पद्धतिमध्ये कुन मोडेलमा जाने भन्ने बारेमा निकै वहस भएको थियो । संसदीय व्यवस्था समावेशी व्यवस्था हो, सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था हो । प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा जाँदा राष्ट्रपति सेनाको परमाधिपति पनि हुने हुँदा एउटै व्यक्तिमा असिमित अधिकार रहँदा निरङ्कुशताको जोखिम समेत रहने भएकाले संवैधासनिक राष्ट्रपति रहने र कार्यकारी प्रधानमन्त्रीको मोडेल छानिएको थियो । सरकारको अस्थिरतालाई रोक्न दुई वर्ष नपुगी अविश्वासको प्रस्ताव ल्याउन नपाइने र एक पटक अविश्वासको प्रस्ताव ल्याएपछि एक वर्ष नपुगी पुनः ल्याउन नपाइने संवैधानिक व्यवस्था गरियो । तर हामीले स्थायित्व र स्थिरताका निम्ति जुन वर्तमान संविधान निर्माण गरेका छौं अहिलेको निर्वाचनको १५ महिनामा केन्द्रिय गठबन्धन तीन पटक परिवर्तन भएको छ । प्रदेश सरकारहरुले पनि पूरा समय काम गर्न सकेनन् । हरेक प्रदेशमा तीन पटकभन्दा बढी सरकार परिवर्तन भएको छ । कोशी प्रदेशमा त झन् छ वटा मुख्यमन्त्री परिवर्तन भयो । स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँगको समन्वयका आधारमा चल्ने विधि भएपनि त्यसमा प्रशस्त कमजोरी देखिएको र त्यसैका कारण पनि संघीयताप्रति जनताका गुनासा आएको छ ।

संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भए पनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन सकेन । सत्ता टिकाउनकै लागि सम्पूर्ण समय खर्चिनुपर्दा प्रधानमन्त्रीले काम गर्न नै सक्दैन । यस्तो अस्थिर राजनीतिक अवस्थामा समृद्धि आउन सक्दैन, भ्रष्टाचार निवारण हुनै सक्दैन । अहिले आमजनता व्यवस्थासँग नभएर अवस्थासँग असन्तुष्ट छन् । शासकीय दुरुपयोगबाट आजित भएका छन् ।

गणतन्त्रले देशमा धेरै उपलब्धि भएको छ । जनतामा चेतनाको स्तर वृद्धि भएको छ । सञ्चार, यातायात, सडकलगायतका पूर्धाधारका क्षेत्रमा विकास भएको छ । २०४७ सालदेखि नै थालनी भएको विकासको लहर गणतन्त्रसम्म आइपुग्दा धेरै अनुभूति गर्न सकिन्छ । यस अवधिमा विदेशी लगानी, निजी क्षेत्रलाई प्रोत्साहन भएको छ । तर बिडम्बना हिजो गाउँमा विकासका पूवार्धार थिएनन्, जनताले निकै कष्टकर जीवनयापन गर्नुपर्ने अवस्था थियो तर अहिले गाउँमा विकास पुग्दैछ, तर युवा छैनन्, वृद्धवृद्धा मात्रै छन् । दैनिक २५०० देखि ३००० युवा विदेसिने गरेका छन् भने दिनहुँ तीनदेखि पाँच जनताको शव आउने गर्दछ । यसरी विदेसिने युवालाई देशभित्रै सम्भावना र भविष्य छ भन्ने विश्वास दिलाउन जरुरी छ । अहिले हरेकको हातमा मोवाइल छ, उनीहरुले विश्वलाई नजिकबाट नियालीरहेका छन् । अन्य देशको तुलनामा आफ्नो देश नहुँदा उनीहरुमा विद्रोहको भाव बढ्दो छ । यसले उनीहरुमा झन्झन् निराशा बढाउँदै गएको छ ।

नयाँ पुस्तालाई स्वदेशभित्रै बसेर आफ्नो भाग्य, सुखद भविष्य र समृद्ध जीवनका सम्भावनाहरू गणतन्त्रले दिनुपर्छ । निरपेक्ष गरिबीको रेखामुनिका उपेक्षित र सिमान्तीकृत समुदायलाई सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति, आयको सुनिश्चितता नदिएसम्म भौतिक विकासले मानिसलाई सन्तुष्टि दिन सक्दैन । अनियन्त्रित रुपमा युवाशक्ति, प्रतिभा र बौद्धिक पलायन हुनुको वास्तविक कारण यही हो । यसको निराकरण र रोकथाम जनताको समृद्धि र मुलुकको प्रगति नै हो । स्थिर राजनीति, उत्पादनशील अर्थनीति र प्रभावशाली सामाजिक सुरक्षा र न्याय नै जनतामा आसा र उत्साह जागृत गर्ने आधारभूत उपाय हो ।

अबको बाटो के त ?
विगतका अनुभवलाई विश्लेषण गरी संविधानमा रहेका केही अस्पष्ट व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्ने देखिएको छ । यो हामीले नै बनाएको संविधान भएकोले यसका प्रति गुनासाहरू आउन थाले भने सोच्नुपर्छ । यसका लागि सबै शक्ति एकै ठाउँमा जोडिनुको विकल्प छैन । २०४७ पछिको भ्रष्टाचारको निस्पक्ष छानबिन गरी देषीउपर कानूनी कारवाहीका लागि प्रधानन्यायाधीशको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानमा संलग्न अर्थात सत्ता र शक्तिले चिनेको नभई जनताले चिनेका भर परेका व्यक्तित्वहरु सम्मिलित उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरी निष्पक्ष छानबिन प्रकृया प्रारम्भ भए जनतामा आशा पलाउन सक्छ । सबै राजनीतिक पार्टीहरुले यसमा सहमत बन्नुपर्छ । जो यसमा असहमत हुन्छ, उ नै भ्रष्टचारको संरक्षक वा सहजकर्ता भनेर जनताले चिन्नेछन् । सर्वसाधारणका गुनासा जसरी आउने गर्छन् त्यसैका आधारमा संविधानमा भएका गल्ती कमजोरीलाई सच्याउँदै र परिवर्तन गर्दै जानुपर्ने हुन्छ ।

हाम्रो निर्वाचन प्रणाली खर्चिलो छ । समानुपातिक निर्वाचन व्यवस्थाले संसदमा कुनै दलले बहुमत ल्याउन नसक्ने अवस्था ल्याएको छ । समानुपातिक जस्तो अस्थिरतामा आधारित प्रणाली र अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक पक्षको रुपमा रहेको पद्धतिको खारेजी अनिवार्य छ । सही अर्थमा समानुपातिक निर्वाचनको प्रयोग गर्न सकिएको छैन, यसले केबल नेतालाई चाकडी गर्ने, बक्सिस चढाउने र आर्थिक चलखेल गर्नेहरूकै बाहुल्य भयो । यदि समानुपातिक व्यवस्था राख्ने नै हो भने राष्ट्रियसभालाई सो अनुरुप संरचना बनाउन सकिन्छ वा निर्वाचन क्षेत्र तोक्नु आवश्यक छ । त्यसैले समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको देखिएकाले सम्पूर्ण अस्थिरताका कारक पक्षहरुलाई हटाएर नयाँ बाटो दिनुपर्छ । आर्थिक रुपले आमूल रुपले सुधार गर्ने प्रतिवद्धताको खाँचो छ । यो संसदले संविधान संशोधन गर्न सकेन भने त्यसबाट आउने विकल्प देश, जनता र लोकतन्त्रको प्रतिकूल र गम्भीर दुष्परिणाम हुनसक्छ ।

मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थातिर सोच्नु जरुरी भएको छ । संविधान संशोधनमार्फत यस विषयमा प्रमुख राजनीतिक पार्टीहरुबीच समान धारणा बन्नु जरुरी छ । तर अहिले जसरी प्रमुख राजनीतिक पार्टीहरुबीच बेमेल देखिन्छ यसबाट लोकतन्त्र र संविधान हार्दैछ । एकले अर्कोलाई हिलो छ्याप्ने होइन, वस्तुगत रुपमा चिन्तन र विश्लेषणको आवश्यकता छ । यो नै अहिलेको राष्ट्रिय आवश्यकता हो ।

राज्य शक्तिभन्दा जनशक्ति बलियो र निर्णायक हुन्छ । जनताको आक्रोस गणतन्त्रमाथि होइन अवस्था र प्रवृत्तिका विरुद्ध हो । लोकतन्त्र भनेको पद्दति मात्र होइन, प्रकृया हो । प्रकृया मात्र पनि होइन, प्रवृत्ति र व्यवहार हो । पद्दतिको रटान दिएर मात्र हुँदैन, प्रकृया पनि कानूनसम्मत हुन जरुरी हुन्छ । जनताले गणतन्त्रमार्फत प्राप्त गर्न खोजेका अपेक्षा पाउन सके भने मात्रै आशा जगाउन सक्छ । टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ । गणतन्त्र दिवसले यही प्रेरणा दिहोस् भन्ने कामना गर्दछु ।

(नेपाली कांग्रेसका नेता केसीसँग राससले गरेको कुराकानीमा आधारित)

नेपाल वायुसेवा निगमसहित १५ सरकारी संस्थान घाटामा

काठमाडौँ । नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसदमा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक २०७९/८० मा सबैभन्दा बढी खुद नोक्सान नेपाल वायुसेवा निगमको रहेको छ । नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजनको खुद नोक्सान पनि उच्च देखिएको छ ।

गत आर्थिक वर्षमा वायुसेवा निगमको खुद नोक्सान रु ६५ करोड २९ लाख ३९ हजार बराबर छ । त्यस्तै, निगमको सञ्चित नोक्सान रु १६ अर्ब ३७ लाख ६३ हजार बराबर छ । वायुसेवा निगम आव २०७६/७७ देखि हालसम्म निरन्तर नोक्सानमा सञ्चालित छ । 

“आव २०७८/७९ को तुलनामा खुद नोक्सान घटे तापनि संस्थानको वित्तीय अवस्था सन्तोषजनक रहेको देखिँदैन”, प्रतिवेदनमा भनिएको छ, “वित्तीय संस्थाबाट कर्जा लिइ खरिद गरिएका जहाजको साँवा र व्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून सञ्चालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयनलगायत कारणले समग्र अवस्था खस्कँदो देखिएको छ ।”

     यसैगरी, खानेपानी संस्थान र नेपाल टेलिभिजन आव २०७५/७६ देखि निरन्तर खुद नोक्सानीमा सञ्चालित छन् भने उदयपुर सिमेन्ट उद्योग लिमिटेड आव २०७६÷७७ र दुग्ध विकास संस्था आव २०७७/७८ देखि खुद नोक्सानीमा सञ्चालन भइरहेका छन् । गत आर्थिक वर्षमा खानेपानी संस्थानको दुख नोक्सानी रु ५४ करोड ६९ लाख १९ हजार र सञ्चित नोक्सान रु तीन अर्ब तीन करोड ७० लाख बराबर थियो ।

दुग्ध विकास संस्थानको खुद नोक्सान रु ४८ करोड ४२ लाख २८ हजार छ भने सञ्चित नोक्सान रु एक अर्ब ८५ करोड छ लाख, उदयरपुर सिमेन्टको खुद नोक्सान रु ३६ करोड २८ लाख ८८ हजार र सञ्चित नोक्सान रु पाँच अर्ब ७८ करोड ८२ लाख बराबर छ । 

हेटौँडा सिमेन्ट उद्योगको खुद नोक्सान रु २५ करोड ४८ लाख र सञ्चित नोक्सान रु एक अर्ब १५ करोड ८६ बराबर छ भने नेपाल औषधि लिमिटेडको गत आवको खुद नोक्सान रु १५ करोड ५४ लाख र सञ्चित नोक्सान रु दुई अर्ब १३ करोड ५९ लाख बराबर छ ।

नेपाल ओरिन्ड म्याग्नासाइट प्रालिको खुद नोक्सान रु १६ करोड ५८ लाख र सञ्चित नोक्सान रु पाँच अर्ब तीन करोड ७६ लाख र बुटवल धागो कारखानाको खुद नोक्सान रु तीन करोड ४३ लाख बराबर रहँदा सञ्चित नोक्सान रु दुई अर्ब १२ लाख बराबर छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु १२ करोड ९२ लाख बराबर खुद नाफा कमाउँदा सञ्चित नोक्सान भने रु ७८ करोड २२ लाख बराबर छ । नेपाल आयल निगम लिमिटेड सबैभन्दा धेरै खुद नाफा गर्ने संस्थानका रुपमा देखिएपनि सञ्चित नोक्सान भने रु चार अर्ब ८५ लाख ८९ हजार बराबर रहेको छ ।

नेपाल वन लिमिटेड रु सात करोड ४३ लाख खुद नोक्सानमा हुँदा सञ्चित नाफा रु सात करोड २४ बराबर, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेडको खुद नोक्सान रु ४३ लाख ३४ हजार हुँदा सञ्चित नोक्सान रु ११ करोड २९ लाख बराबर छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको खुद नोक्सान रु १९ करोड ९६ लाख बराबर छ भने सञ्चित नोक्सानी रु ५५ करोड ९६ लाख तथा सांस्कृतिक संस्थानको खुद नोक्सान रु एक करोड ४८ लाख र सञ्चित नोक्सान रु २८ करोड ४२ लाख बराबर छ ।

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले गत आवमा रु १९ करोड ३६ लाख बराबर खुद नाफा कमाएको देखिए पनि सञ्चित नोक्सान भने रु एक अर्ब १९ करोड ८७ लाख बराबर देखिएको छ । नेपाल टेलिभिजनको खुद नोक्सान रु ३५ करोड १२ लाख ६७ हजार र सञ्चित नोक्सान रु दुई अर्ब ४० करोड ८९ लाख बराबर छ । राष्ट्रिय आवास कम्पनी लिमिटेड रु एक करोड चार लाख खुद नोक्सानी र रु ११ करोड ८५ लाख सञ्चित नोक्सानीमा सञ्चालन भइरहेको छ  ।

नेपाल टेलिभजनलाई सेवामूलक उद्देश्यका साथ सञ्चालन गर्दा व्यावसायिकता विकास हुन नसक्नु, इन्टरनेटमा आधारित नयाँ सञ्चारमाध्यमका कारण ग्राहक घट्नुलगायतले घाटामा गएको प्रतिवेदनमा उल्लेख छ ।

खानेपानी संस्थानमा महसुल बक्यौता उच्च हुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महसुल समयानुकूल वृद्धि गर्न नसक्नुलगायतका कारणलाई जिम्मेवार ठानिएको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड आधाभन्दा कम क्षमतामा सञ्चालन हुनु, प्रशासनिक खर्च उच्च हुनुलगायत समस्यामा छ । त्यस्तै, दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको बजारीकरण गर्न नसक्नु, बजारको आवश्यकता मागभन्दा बढी दुग्ध पदार्थ उत्पादन गरी भण्डारण गर्नु, समग्र व्यवस्थापकीय कमजोरी, साँवा र व्याज समयमा भुक्तानी गर्न नसक्नुलगायत समस्याले खुद नोक्सान तथा सञ्चित नोक्सानी कम गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ । 

सार्वजनिक संस्थानको व्यावसायिक योजनाको कार्यान्वयन अवस्थासमेत कमजोर रहेको प्रतिवेदनले औँल्याएको छ ।

खोलाले बगाउँदा बेपत्ता भएका दुईको शव फेला

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोलामा बगेका दुई जनाको शव फेला परेको छ । खोला तर्ने क्रममा आईतबार साँझ अबेर बेपत्ता भएका दुईजनाको शव सोमबार फेला परेको हो ।

अत्याधिक वर्षापछि आएको पानीको भेलका कारण मुरैका २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन बिकलाई खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता उनीहरुको बासखोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरु नाताले काका भतिज हुन् ।

सडक साँघुरो बनाउने महानगरको निर्णयविरुद्ध काठमाडौंको न्यूरोड क्षेत्रका बासिन्दा आन्दोलित

काठमाडौं । न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैँन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे ।

आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौं महानगरका मेयर बलेन साहको यो कदम ठिक नभएको बताए । उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरुको इच्छा र भावना विपरितको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए ।

महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।

व्यवस्था खराब हैन अवस्था चाहिँ खराब भएको छ : अध्यक्ष राउत(अन्तरवार्ता)

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त (सिके) राउत सिके राउतले सामान्य नागरिक राष्ट्र प्रमुख बन्नसक्ने गणतान्त्रिक व्यवस्था विश्वकै लोकप्रिय र उत्कृष्ट व्यवस्था रहेको बताएका छन् । उनले जनताबाट आफ्ना जनप्रतिनिधि चयन हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली धेरै सुन्दर राजनीतिक व्यवस्था रहेको प्रतिक्रिया दिए ।

मधेसको वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएका डा राउत २०७५ फागुनमा नेपाल सरकार र तत्कालीन स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सम्झौतापछि मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । पुलचोक इन्जिनियरिङ क्याम्पस, टोकियो र क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन पूरा गरी अमेरिकामा वरिष्ठ वैज्ञानिकका रुपमा केही समय काम गरेर स्वदेश फर्केपछि उनी राजनीतिमा संलग्न थिए । त्यसक्रममा उनले पटकपटक जेलमा बस्न परेको थियो । प्रस्तुत छ, अध्यक्ष डा राउतसँग १७ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिका समाचारदाताद्वय नारायण न्यौपाने र सिवी अधिकारीले देशको वर्तमान अवस्था र समसामयिक विषयसँग जोडेर लिएको अन्तर्वार्ताको सम्पादित अंशः

हामी  १७औँ गणतन्त्र दिवस मनाउदैछौँ । यहाँले पहिला भूमिगत राजनीति गर्नुभयो र अहिले संसदीय अभ्यासमा हुनुहुन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको डेढ दशकको अभ्यासलाई कसरी हेर्नुभएको छ ?

मुलुकले अवलम्बन गरेको हालको व्यवस्थालाई धेरै सकारात्मक रुपमा लिन्छु । गणतान्त्रिक व्यवस्था विश्वकै लोकप्रिय र उत्कृष्ट शासन व्यवस्था हो । नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अवलम्बन गरिरहेको छ । जनताबाटै जनप्रतिनिधि चुनिएर आउने व्यवस्था छ । सामान्य नागरिक जुनसुकै वर्ग समुदायको भए पनि राष्ट्र प्रमुख बन्न सक्ने यो धेरै सुन्दर व्यवस्था हो ।


हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् अभ्यासमा छौँ, तर पनि संविधानले सुनिश्चित समानुपातिक समावेशीलगायतका कतिपय प्रावधान कार्यान्वयन भएका छैन, यसलाई कसरी व्यावहारिक बनाउन सकिन्छ ?


नेपालको संविधानमा धेरै सकारात्मक विषय सम्बोधन भएको छ । महिला हक अधिकारको विषयमा एक तिहाइको अभ्यासमै सुनिश्चितता भएको छ । यो संसददेखि स्थानीय तहसम्म हेर्न सकिन्छ । समानुपातिक समावेशिताको सुनिश्चितले महिला, दलितको प्रतिनिधित्व हुनु सकारात्मक पक्ष हो । पुरानो ऐन समसापेक्ष बनाई प्रभावकारी कार्यान्वयन गरेर लैजानुपर्छ । ऐनहरु संशोधन गर्न बाँकी रहेकाकाले कार्यान्वयनको पाटो केही विलम्ब भएको छ । तर, पनि सकारात्मक दिशामा अगाडि बढिरहेको छ ।


संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानून निर्माण रफ्तारमा हुनुपथ्र्यो त्यो देखिंदैन । यसमा कहाँ कमजोरी देख्नुहुन्छ ?


मैले भर्खरै सरकारलाई समर्थन दिएको छु । तर, सरकारमै सहभागी भइसकेको अवस्था छैन । संसद्मा ‘विजनेश’ प्रभावकारी नहुनुका पछाडि मुख्ख जिम्मेवारी  सरकारकै हो । सरकारको विधेयक बनाउने र सदनमा पेस गर्ने काम हो । सरकारले धेरै विधेयक सदनमा पठाउने र सदनले त्यसमाथि गहन छलफल गरी पारित गर्नुपर्छ । सरकार गठबन्धन रहेकाले अस्तित्वका लागि परीक्षित हुनु परिरहेको छ । सरकारले यी विषयहरुमा पर्याप्त ध्यान दिन सकेको छैन । तत्कालै जनताको सरोकारको विषयलाई सम्बोधन गर्न सकिएको छैन । सङ्घीय र प्रदेश दुबै सरकार बनाउन र भत्काउनमै बढी समय केन्द्रित भएको देखिन्छ ।


गठबन्धन बदलिने र ‘छिटोछिटो’ सरकार अदलबदल हुने अवस्था छ । सरकार गठन र विघटनसँगै तराई–मधेस केन्द्रित राजनीतिक दलमा पनि विभाजनको अवस्था आएको देखिन्छ, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?


यसमा तपाईंले भनेजस्तै गठबन्धन संस्कृतिले सरकार कसरी टिकाउने र आफ्नो पक्षमा कसरी पार्ने भन्ने अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेको छ । अर्को पाटो संसद्बाटै मन्त्री बन्ने प्रावधान छ । मन्त्री बन्न नपाउनेले असन्तुष्टि देखाएर पार्टी विभाजन गरेको अवस्था पनि छ । विगतमा पनि यस्तो अभ्यास भइरह्यो । मूल तीन पार्टीबाहेकका नेता कार्यकर्ताहरुले धेरै लामो समयको लागि सोच्दैनन् । काँग्रेसका एमालेमा, एमालेको काँग्रेसमा जाने अवस्था हुँदैन । तर तुलनात्मकरुपमा साना दल कहिले कता कहिले कता गइरहेको देखिन्छ  ।


राजनीतिक स्थिरताको हिसाबले यहाँको पार्टी अरु दलभन्दा फरक भूमिकामा छ । यो हिसाबले अरु दलभन्दा फरक भूमिका र कार्यसूची के छ ?


हामी सङ्घीयताको पक्षधर लोकतान्त्रिक गणतान्त्रिक शक्ति हौँ । अहिले गणतन्त्र दिवस आइरहेको छ । हामी पनि मनाउछौँ । सोही दिवस पारेर हामी पनि नौलो गणतन्त्रको घोषणा गर्दैछौँ । नौलो गणतन्त्र भनेको अहिले पनि गणतन्त्र छ तर, त्यसमा केही विकृति र कमी कमजोरी छन् । उदाहरणका लागि, राष्ट्रपति र प्रधानमन्त्री, मुख्यमन्त्री सिधै जनताबाट  निर्वाचित हुने अवस्था छैन । अहिलेको राजनीतिक अस्थिरता हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ । यो व्यवस्था भएमा सरकार पाँच वर्ष ढुक्कसँग चलाउन सकिन्छ । व्यवस्थापिकामा ठूला तीन दलको नेताको निर्णय सबैले मान्न परेको छ । त्यसले सांसदको औचित्यमाथि नै प्रश्न उठिरहेको छ । संसद र संसदीय समितिमा पार्टीको त्यहाँ ह्वीप लागू नहुने व्यवस्था हुनुपर्छ । जसले सांसदहरुले स्वतन्त्र रुपमा विधेयकको पक्ष र विपक्षमा विचार विमर्श गर्न सक्छन् ।


संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गर्ने व्यवस्था छ । जसबाट निश्पक्ष काम गर्न सक्दैनन् । संवैधानिक निकाय निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकलगायत निकायमा पनि दक्ष निर्वाचित  व्यक्ति आउनुपर्छ । अनि ती निकायले स्वतन्त्र र निश्पक्ष ढङ्गले काम गर्न सक्छन् । आर्थिक नीतिमा पनि हामीले ‘डिपार्चर’ खोजेका छौँ । अहिले राप्रपाबाहेकका दलले समाजवादलाई स्वीकारेका छन् । राष्ट्रिय  पुँजी निर्माण नगरेसम्म समाजवादले सार्थकता पाउँदैन भन्ने हाम्रो पार्टीको निश्कर्ष हो ।


सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र व्यवस्थालाई समृद्ध तुल्याउन यहाँको केही सुझाव छ कि ?


अस्थिर सरकार, भ्रष्ट्राचार र आर्थिक नीति प्रभावकारी नहुँदा उत्पादनमूलक उद्योग र रोजगारी सिर्जना गर्न सकिएको छैन । जनतामा चरम निराशा छ । यो व्यस्थालाई थप सुदृढ गरेर अगाडि बढ्न सकिन्छ । त्यसतर्फ सबै जिम्मेवार भएर लाग्नुपर्छ । जनतामा यो आशा भएन भने देशमा अराजकता र नैरास्यताले जरा गाड्छ ।


हामी गणतन्त्रको अभ्यासमा छौँ, सरकार र दलका निर्णयमा नातावाद र क्रिपावाद चलिरहेको छ । यसलाई कसरी हटाउन सकिन्छ ?


जनतामाथि पूर्ण विश्वास र भरोसा कायम गर्न जरुरी छ । सबै राजनीतिक दलमा इमान्दारिता हुनुपर्छ । जनआकांक्षा अनुरुप अगाडि बढ्नुपर्ने हुन्छ । ‘कन्ल्फिक्ट अफ इन्ट्रेस’ कतै पनि देखिनुहुन्न ।


यहाँ तराई–मधेसको जिम्मेवार राजनीतिक दलको अध्यक्ष हुनुहुन्छ । अहिले भइरहेको गलत अभ्यासलाई कसरी हटाउन सकिएला ?


हामी जहिले पनि जनतामाथि भरोसा गर्छौं । निर्वाचनमार्फत पार्टीका पदाधिकारी चयन गरेका छौँ । अन्य दलले पनि यो अबलम्बन गर्न जरुरी छ । यो विधि र प्रक्रियाबाट मात्र जनआकाङ्क्षाअनुरुप काम गर्न सकिन्छ ।


अहिलेको अवस्थामा जनतालाई आशा जगाउने कुनै ठोस योजना घोषणा गर्दै हुनुहुन्छ कि ?


मधेस प्रदेश समृद्ध मानिए तापनि अहिलेको अवस्था विकराल छ । सबैभन्दा बढी गरिबी त्यहीँ छ । साक्षरता दर पनि कम छ । अथवा अन्य आँकडामा पनि मधेश पछाडि परेको देखिन्छ । हामीले केही सुधारका योजना अगाडि बढाउन पहल  गरिरहेका छौँ । हामीले शिक्षा मन्त्रालय सम्हाल्दा प्रदेश साक्षरता अवधारणा अगाडि बढाइयो । हामीसँग योजना र भिजन छ, मौका पाएको खण्डमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सवाललाई प्रभावकारीरुपमा अगाडि बढाउने र किसानमैत्री वातावरण बनाउन पहलकदमी लिन्छौँ ।


सन्तुलित बजेट विनियोजन गर्ने र त्यसमा भइरहेका गलत अभ्यासलाई रोक्न तपाईंको सुझाव केही छ कि ?


बजेट बनाउदा कमजोरी हुने गरेको छ । वितरणमुखी र सबैलाई खुसी पार्ने खालको अभ्यास छ, यो प्रक्रियामा थुप्रै असमानता छन् । यो अभ्यासलाई सच्याउनुपर्छ । उत्पादनमुखी काम र पूँजीगत खर्च बढाउने गरी बजेट विनियोजन गरिनुपर्छ । धेरै ठाउँमा कनिका छरेजस्तो बजेट ल्याउनुभएन । लगानी भएर प्रतिफल सुनिश्चित हुने आयोजनामा बजेट व्यवस्था गर्नुपर्छ । त्यसैले रोजगारी सिर्जना गर्ने खालका योजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो पार्टीको जोड छ ।


अहिले  युवा, विद्यार्थीको विदेश पलायनले राज्यप्रति नै विश्वास गरिरहेको अवस्था देखिन्न किन ? यो अवस्थालाई अन्त्य गर्न के उपाय हुनसक्छ ?


नागरिक जबसम्म आत्मनिर्भर बन्न सक्दैन, तबसम्म राष्ट्रवादले मात्रै जीविकोपार्जन हुँदैन । त्यसैले विदेसिनुलाई बाध्यताको उपजको रुपमा लिनुपर्छ । त्यसैले म विदेसिनुलाई नकारात्मक ठान्दिन । उनीहरुलाई यहीँ रोक्ने हो भने नेपालमा प्रसस्त रोजगारी सिर्जना गर्ने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ र जनतामा विश्वास जगाउनसक्नुपर्छ ।


मुलुकमा भइरहको भ्रष्टाचार रोक्न र  सुशासन प्रवद्र्धन गर्न तपाईको सुझाव र पहल के हुन सक्छ ?


नेपालमा भ्रष्टाचारलाई समाजबाट बहिस्कृत गर्नेभन्दा पनि उनीहरुलाई प्रोत्साहित गर्ने स्वीकार्यता बढी छ । सानो या ठूलो भ्रष्टाचारमा धेरै मानिस मुछिएका छन् । छानबिन हुने हो भने सबैजसो पर्छन् । तर यसको स्वतन्त्र अनुसन्धान गर्ने निकायको खडेरी छ । तीन तहका सरकारमा देखिएको साझा अधिकारले पनि भ्रष्टाचार बढेको र सुशासन खस्केको अवस्था छ । अभियुक्तलाई उन्मुक्ति दिने गलत अभ्यासले यसलाई थप मलजल गरिरहेको छ ।


जनमत पार्टीले पहिलो पटकमै राम्रो जनमत पाएको छ । तपाईहरु अझै मधेस प्रदेशमा मात्रै सीमित हुनुहुन्छ, राष्ट्रियरुपमै सङ्गठन विस्तारमा ध्यान केन्द्रित गर्ने बेला भएन र ?


हामी मधेसमा मात्रै केन्द्रित छैनौं । हाम्रो जनाधार तराई–मधेशकेन्द्रित २२ जिल्ला छन् । त्यहीँबाटै हाम्रो उदय भयो । २०७२ को संविधान बनिसकेपछि धेरै कुरा व्यवस्थित भएको छ । त्यसैले हामी मूलधारबाटै अगाडि बढ्ने उद्देश्यले संसदमा आएका हौँ । अहिलेको एजेण्डालाई राष्ट्रव्यापीरुपमै कसरी समाधान गरेर लैजाने भनेर लागिपरेका छौँ । पहाड र काठमाडौँ उपत्यकामा पनि शक्ति विस्तार गरिरहेका छौँ


जनतामा व्यवस्थाप्रति निराशा पलाएको देखिन्छ । कारण के हो र ? आशाको सञ्चार कसरी ल्याउन सकिन्छ ?


व्यवस्था खराब हैन अवस्था चाहिँ खराब भएको छ । यो व्यवस्था  उत्कृष्ट व्यवस्था हो । व्यवस्थाको दोष हैन । पात्रहरुको दोष छ । जनताका छोराछोरी राष्ट्रपनि बन्ने अवसर पाएका छन् । तर, सरकार चलाउने पात्रहरुको कमीकमजोरीले गर्दा विभिन्न चलखेलले व्यवस्था माथि प्रहार भयो । जनतामाथि निराशा उत्पन्न गरायो । हामीले यो भास्यलाई चिर्ने प्रयास पनि गरेनौँ । जनता आफैँ पनि जागरुक बन्न सकेनन् । त्यसैले अब यो अवस्थालाई सुधार गर्न र नयाँ पुस्तालाई जानकारी गराउन पहलकदमी लिनुपर्ने हुन्छ । राम्रो काम गरेर देखाउन सक्नुपर्छ । मुलुकमा खासगरी गुणस्तरीय शिक्षा र रोजगारीमा जोड दिनुपर्छ ।


अन्त्यमा,  एउटा नेताले चाहेमा देश बन्न सक्ने रहेछ भन्ने उदाहरण छिमेकबाट सिक्न सकिन्छ,  यहाँ विश्व बुझेको  नेता पनि हुनुहुन्छ । यसमा तपाईको दृष्टिकोण के छ ?

नेपालको सन्दर्भमा राजनीतिक व्यवस्था प्रत्यक्ष निर्वाचित हुनुपर्छ । जस्तैः स्थानीय तहमा स्वतन्त्र रुपमा जितेकाले हामीले भन्दा पनि राम्रा काम गरिरहेको देखिन्छ । म पनि राजनीतिको माध्यमबाट केही गर्न सकिन्छ भनेर होमिएको हुँ । हाम्रो प्रमुख एजेण्डा कसरी धेरै रोजगारी सिर्जना गर्ने भन्ने हो । हामीले त्यसमा पहल गरिरहेका छौँ । अहिलेको व्यवस्थाभित्र धेरै गरिहाल्ने अवस्था छैन । अधिकारको सदुपयोग गर्दै आफ्नो ‘भिजन’लाई लागू गर्न सक्ने खालको अवस्था आएमा पक्कै पनि देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सक्छौँ भन्ने मान्यतामा छौँ ।

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

काठमाडौँ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ ।

विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ ।

कांग्रेसले पार्टी अध्यक्ष ओलीलाई लगाएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले गिरिबन्धु प्रकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले लगाएको आरोपको लिखित रुपमा माफी माग्न चेतावनी दिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनेबारे छलफल गर्न बसेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले नेपाली कांग्रेस यस्ता अभिव्यक्तिबाट पछि नहटे एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए । उनले भने, ‘पछिल्ला दिनमा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु । कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरूबाट पछि हट्दैन भने नेकपा एमाले यस्त अभिव्यक्तिका विरुद्धमा राजनीतिक रूपमा प्रतिवादमा उत्रिन्छ ।’

उनले कांग्रेसले अध्यक्ष ओलीमाथि लगाएको आरोपमा लिखित रूपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने पौडेलले चेतावनी दिए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नभएको आरोप लगाए ।

कांग्रेस नेताहरुले सहकारी प्रकरणमा एमालेले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने र गिरिबन्धुमा रास्वपाले एमाले अध्यक्ष ओलीलाई जोगाउने सहमति भएको भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।

कार्यादेशको टुंगो लगाउन बसेको सत्तापक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगीको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा दलहरूले आ–आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैठक निष्कर्षविहीन बनेको छ ।

दलहरुले आआफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।

बालुवाटारमा बसेको शीर्ष दल र कार्यदलको बैठकपछि कांग्रेस नेता जीवन परियारले समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाउँदा कार्यादेशमा टुंगो लाग्न नसकेको बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षीसँग छुट्टाछुट्टै छलफल गरेको बताउँदै परियारले कार्यादेशमा टुंगो लगाउन प्रधानमन्त्री सकारात्मक रहेपनि सत्तारुढ दलहरूले भने यो समस्यालाई अल्झाइराख्न खोजिरहेको आरोप लगाए ।

उनले भने,‘सत्तापक्षबाट आएको प्रस्ताव हामीलाई मान्य छैन। सहकारी ठगीमा लामिछानेको नाम किटेर संसदीय छानबिन समिति बनाउनुपर्ने हाम्रो बटम लाइन यथावत छ।’

तर सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ। दलहरूका आ–आफ्ना अडानका कारण संसद्को कामकारवाही समेत प्रभावित हुँदै आएको छ।

चितवनमा चार सवारी साधन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रिजालका अनुसार काठमाडौँबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् ।

फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा फिल्मका ‘डेब्यू’ नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र ‘डेब्यू’ नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेमको द्वन्द्व देखाइएको छ ।

फिल्ममा अर्का नायक कविर खड्कालाई निश्चलको साथीका रुपमा प्रस्तुत गरिएको छ । साम्राज्ञीबाट धोका पाएपछि फिल्मका नायक निश्चलले कवीरकै सल्लाहमा गरिमासँग प्रेम गरेको बुझ्न सकिन्छ ।

ट्राभल लभस्टोरीको कथा रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गर्ने फिल्म यही जेठ २५ गते रिलिज हुँदैछ ।

दार्चुलाको गन्याड खोला तर्ने क्रममा बगाएर दुईजना बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् ।  

अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा खटिएको छ ।

रफाहस्थित शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु

बीबीसी । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतबार भएको विस्फोटनमा दर्जनौँ मानिसहरू हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ।

त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।

दक्षिणी गाजा स्ट्रिपबाट प्राप्त भिडिओमा ठूलो विस्फोटन भएको र आगो लागेको देखिन्छ। हमासले रफाहको पश्चिमोत्तर भागमा भएका विस्थापित प्यालेस्टिनीहरूको शिविरमाथि हवाई हमला गरिएको जनाएको छ। उक्त क्षेत्र हालै सैन्य कारबाही भएका ठाउँभन्दा पर सुरक्षित क्षेत्र तोकिएको ठाउँमा पर्ने हमासको भनाइ छ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेको हमासले जनाएको छ। आईडीएफले उक्त क्षेत्रमा हमासका लडाकुलाई निसाना बनाइएको र त्यसका लागि निश्चित ठाउँमा प्रहार गरिएको जनाएको छ।

पश्चिमोत्तर रफाहमा गरिएको आक्रमणमा हमासका दुई वरिष्ठ नेताहरू मारिएको आईडीएफएको दाबी छ। हमासको स्वास्थ्य मन्त्रालयले एउटा इजरेली आक्रमणमा ३५ जनाको मृत्यु भएको र अरू दर्जनौँ मानिस घाइते भएको जनाएको छ। मृतकको सङ्ख्या बढ्ने सम्भावना भएको विवरणहरू आएका छन्।

इजरेली हवाई हमलाका कारण लागेको आगोले सर्वसाधारणलाई हानि पुगेको विवरणबारे आफू अवगत रहेको आईडीएफले जनाएको छ। उक्त घटनाबारे समीक्षा भइरहेको उसको दाबी छ।

शुक्रबार ’इन्टनेशनल कोर्ट अफ जस्टिस’ (आईसीजे)ले इजरेललाई रफाहमा आक्रमण रोक्न भनेको भए पनि इजरेलले सैन्य कारबाही जारी राखेको छ।

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन हुने

गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा उक्त म्याराथन हुन लागेको हो ।  

अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा धावक दौडिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

‘पर्यटनका लागि सबै मौसम’ नाराका साथ २०७५ सालदेखि आरम्भ भएको अन्नपूर्ण म्याराथनको यो चौथो संस्करण हो । म्याराथनका माध्यमबाट अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उनले बताए ।

“संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेरेसबाट गत कात्तिक महिनामा अन्नपूर्ण आधार शिविरको भ्रमण हुनु, अमेरिकास्थित टाइम आउट म्यागेजिनले घान्द्रुकलाई भ्रमण गर्न लायक विश्वको सानो सुन्दर सहरको सूचीमा राख्नुु, पोखरा पर्यटकीय राजधानी हुनुलगायत हामीले विगतदेखि गर्दै आएको यही कार्यक्रमको प्रभाव र उपलब्धि हुन् भन्ने ठानेका छौँ”, संयोजक गुरुङले भने ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै हिमाल आरोहणको क्रम सुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्षको अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले बताए ।

महिला तथा पुरुषतर्फ छुुट्टाछुुट्टै प्रतिस्पर्धा रहने यस संस्करणका लागि नाम दर्ता गराउने क्रम जारी रहेको र हालसम्म ५० धावकले नाम दर्ता गराइसकेको उनले बताए । हालसम्म नाम दर्ता गराउनेमा ४० पुरुष र १० महिला रहेका छन् । नाम दर्ता गराउनेमा चार विदेशी नागरिकसमेत रहेका सचिव गुरुङले जानकारी दिए । 

म्याराथनमा सहभागी हुन महिलाका लागि  पाँच हजार र पुरुषका लागि  सात हजार शुल्क तोकिएको छ । महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः  एक लाख ५० हजार,  एक लाख र  ७५ हजार पुरस्कार प्राप्त गर्नेे प्रचारप्रसार संयोजक टङ्कराज अधिकारीले जानकारी दिए ।

यसअघि म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जितेका थिए । तेस्रो संस्करणदेखि म्याराथनमा महिलालाई सहभागी गराइएको हो । महिला म्याराथनको उपाधि गणना भण्डारीले जितेकी थिइन् ।

रुपन्देहीमा २०७ उद्योग बन्द

भैरहवा (रुपन्देही) । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् ।   घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आर्थिक वर्षमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो । 

कार्यालय प्रमुख भुसालले आर्थिकमन्दीको असर रुपन्देहीमा पनि देखिएको बताए । उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए । “उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ”, उनले भने, “आव २०७९/८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु आवमा सात सय २९ मात्र दर्ता भएका छन् ।”

उद्योगमात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ । गत आवमा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार एक सय ७५ वटा मात्र दर्ता भएका छन् ।

आव २०७९/८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए। 

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । “रुपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला–ठूला उद्योग छन्”, उनले भने, “कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन् ।”

रुपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् । व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ । सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ । अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए । 

सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन बृहत् नागरिक आन्दोलनको माग

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सहकारीको बचत रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न ठगीमा संलग्नमाथि कारबाहीसँगै देशमा सुशासन सुनिश्चित गर्न आन्दोलनको माग छ ।
आन्दोलनले विज्ञप्ति जारी गर्दै भनेको छ,‘आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न, त्यसको अपचलनमा संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न, त्यसप्रति खबरदारीको जिम्मेवारी भएको प्रेसको स्वतन्त्रताप्रति प्रतिबद्ध रहन हामी सरकारलाई आफ्नो राजनीतिक तथा संवैधानिक भूमिका सम्झाउन चाहन्छौं,’ ।
आन्दोलनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार सहकारीकै वचत अपचलनको आक्षेप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने विपक्षीको मागलाई आलटाल गर्दै संसद्लाई संवादभन्दा मुठभेडको थलो बनाउन उद्यत देखिएको भन्दै आपत्ति जनाएको छ ।
‘यही अवस्थामा, आफ्नो भूमिकाप्रति निरन्तर प्रश्न गर्दै आएको कान्तिपुरका प्रकाशकलाई आक्षेपित मन्त्री लामिछानेले ‘पहिले समात अनि प्रमाण जुटाऊ’ शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग गरेको प्रस्ट हुन्छ । प्रेसलाई अवान्छित दबाब र त्रासमा पार्न प्रकाशक कैलाश सिरोहियामाथि प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यानाकर्षणप्रति सरकारको उदासीनताले हाम्रो सन्देह बढाएको छ,’ आन्दोलनले भनेको छ ।

मुगुको कार्मारोङ गाउँपालिकाका २३ घरमा लुटपाट

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट भएको हो ।

हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

‘गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्’, उनले भने । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि ५ घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताए । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदै आएको थियो ।

मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुस्किल भएको बताए । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँपालिकाले यही जेठ १५ देखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० मै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् ।

सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको सास्ती उस्तै

काठमाडौँ । सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।  महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनका अनुसार खरिद गरिएका स्वास्थ्य उपकरण र मेसिन दक्षजनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा दैनिक दुई सय ५० जनाभन्दा बढी बिरामी आउने गर्छन् । यस अस्पतालमा चारवटा मेसिनबाट रेडियो थेरापीबाट सेवा दिँदै आएको आएको छ जसका कारण  बिरामीले ४५ दिनसम्म कुर्नपर्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । 

सोही अस्पतालमा मेसिन उपकरण प्रयोगविहीन छ । अस्पतालले २०७९ साल चैतमा खरिद गरेको रक्त क्यान्सरको चरण पत्ता लगाउने मेसिन दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन  एक करोड  १८ लाख ६५ हजारमा खरिद गरेर गरिएको थियो । यस अस्पतालमा क्यान्सर रोगको अति आवश्यक पेट सिटी स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिको रोगको उपचार पाउन नसकेको उक्त प्रतिवेदनमा भनिएको छ ।  

प्रतिवेदनमासहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ डायलासिस मेसिन रहेकामा ६१ वटा मात्र प्रयोगमा रहेको बताइएको छ । उक्त केन्द्रमा दैनिक एक सय १० बिरामीले डायलासिस गराउने र बाँकी सात सय बिरामी प्रतीक्षारत रहनुपर्ने बाध्यता छ । बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो कुर्नपर्ने अवस्था छ ।

केन्द्रमा  मुटुको शल्यक्रियामा प्रयोग हुने इसिएमओ हर्टलङ्ग मेसिन जनशक्ति अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु दुई करोड ६९ लाखमा खरिद गरिएको हो । 

राष्ट्रिय ट्रमा सेन्टरले मुटु रोगको उपचारका लागि खरिद गरिएको क्याथल्याब मेसिन प्रयोगविहीन छ । २०६९ सालदेखि दक्षजनशक्तिको अभावमा प्रयोगविहीन बनेको उक्त मेसिन  चार करोड ७३ लाखमा खरिद गरिएको थियो । सुविधासम्पन्न रिफरल सरकारी अस्पतालमा समेत बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नपर्ने बाध्यता यथावत् रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

सरकारी अस्पतालमा समयमा शल्यक्रियाको सेवा नपाउँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य हुने गरेको भन्दै प्रतिवेदनले भौतिक तथा जनशक्तिको सुधारका लागि सुझाव दिएको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) सुविधा सम्पन्न रेफरल अस्पताल भए पनि बिरामीले विभिन्न शल्यक्रियाका लागि तीन महिनासम्म कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा युरोलोजी कस्मेटिक सर्जरीका लागि १ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । देशको एक मात्र सरकारी बालअस्पताल, कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवाका लागि टिकट वितरणदेखि शल्यक्रियाका लागि धेरै समय कुर्नपर्ने बाध्यता प्रतिवेदनमा उल्लेख छ ।

हाइड्रोसिलको शल्यक्रिया गर्न ६ देखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष बिरामीले कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा छुट्टै कार्डियो युनिट र मुटु रोग विशेषज्ञको पदपूर्ति हुन नसकेको उल्लेख छ । अस्पतालमा शय्याको अभाव, इको, क्याथल्याब र सिसियु नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लास्ट, एन्जियोग्राफी लगायत सेवा उपलब्ध हुन नसकेको उल्लेख छ । 

यस्तै, भक्तपुर  अस्पतालमा पत्थरी, ट्युमर लगायतको शल्यक्रियाका लागि बिरामीले कम्तीमा ३ महिना पर्खिनुपर्ने अवस्था छ । अस्पतालमा एमआरआई मेसिन क्याथल्याब मेसिन नभएको कारण बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ । 

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललगायत आवश्यक जनशक्तिको पदपूर्तिका लागि महालेखापरीक्षकको प्रतिवेदनले सुझाव समेत दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०८१ ले यसअघिको प्रतिवेदनमा औँल्याएको ब्यहोरामा यस पटक पनि सुधार नदेखिएको औँल्याएको छ । खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको जस्ता ब्यहोरामा पुनरावृत्ति नहुने गरी सुधार गर्न महालेखाले सुझाव दिएको हो ।

कोलकाता नाइट राइडर्सलाई आइपिएलको उपाधि

काठमाडौँ । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा कोलकाता ८ विकेटले विजयी भएको हो । कोलकाताको तेस्रो आइपिएल उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो। त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे।

हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १÷१ विकेट लिए ।त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

ठमेलबाट चार करोड रुपैयाँ बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुबईबाट यही जेठ ४ मा नेपाल आएकी अपुलाले झोलाभित्र लुकाएर राखेको अवस्थामा जेठ ११ गते शुक्रबार ठमेलबाट पक्राउ गरिएको जानकारी दिए । झोलाभित्र प्लास्टिकमा र्यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलसहित प्रहरीले उक्त कोकिन फेला पारेको हो ।

पक्राउ परेकी अपुलाले उक्त क्याप्सुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए । उक्त कोकिनको बजार मूल्य तीन करोड ८५ लाख बराबर हुने प्रहरीले बताएको छ ।

पक्राउ परेकी उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

नेपाल आउने पर्यटकको प्रतिदिन खर्च एक सय २५ डलर पुर्याउने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको हो । पर्यटन प्रवद्र्धनका लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाए ।


प्रतिपर्यटक प्रतिदिन औसत खर्च एक सय २५ डलर पुर्याउने लक्ष्य लिइएको छ । सन् २०२३ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ । 


त्यस्तै, सन् २०२२ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०/५ अमेरिकी डलर रहेको छ । विदेशी पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा पनि वृद्धि भएको छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि र प्रतिदिन खर्चमा सीमान्त वृद्धि भएको छ । यस अवधिमा पर्यटकको औसत बसाई १३.२ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४१.० अमेरिकी डलर रहेको छ । सन् २०२२ मा पर्यटकको बसाइ अवधि औसत १३.१ दिन रहेको थियो । सन् २०११ मा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको थियो ।


आर्थिक सर्वेक्षणअनुसार विशिष्ट प्रकृतिका पर्यटकीय गन्तव्य र उपजका कारण नेपाल विश्वकै प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको छ । भूकम्पबाट क्षतिग्रस्त अधिकांश सांस्कृतिक एवं पर्यटकीय सम्पदाको पुनः निर्माण सम्पन्न हुनाका साथै नयाँ पर्यटकीय गन्तव्यको समेत विकास हुँदै गएको छ । दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।


कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा आइपुगेको छ  । पर्यटन क्षेत्रले गति लिँदै गएसँगै होटल व्यवसाय चलायमान हुँदै गएका छन् भने पर्यटकबाट प्राप्त हुने आम्दानी उल्लेख्यरुपमा बढेको छ ।

पछिल्लो दशक (२०१४–२०२३) मा भूकम्प र कोभिड–१९ महामारीको बाबजुद ६६ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दशकमा प्रतिवर्ष औसत पर्यटक आगमन ६ लाख ६१ हजार रहेको छ ।


विदेशी पर्यटक बढे

पछिल्लो समय विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । आर्थिक सर्वेक्षणअनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०२२ मा पर्यटक आगमनमा वृद्धि भई ६ लाख १४ हजार आठ सय ६९ पुगेकामा सन् २०२३ मा यस्तो सङ्ख्या ६५.० प्रतिशतको वृद्धि भई १० लाख १४ हजार आठ सय ८२ पुगेको छ । सन् २०२४ को मार्चसम्म तीन महिनाको अवधिमा पर्यटक आगमन सन् २०२३ को मार्चसम्मको तुलनामा ३३.८  प्रतिशतले वृद्धि भई तीन लाख चार हजार ६ सय ९३ पुगेको छ ।


सन् २०२३ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको भ्रमण आय सन् २०२२ को  ४६ अर्ब ७६ करोडको तुलनामा ४५.६ प्रतिशतले वृद्धि भई  ६८ अर्ब सात करोड पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१ प्रतिशतले वृद्धि भई  ५१ अर्ब ३९ करोड पुगेको छ ।


भ्रमण आयको तुलनामा भ्रमण खर्च प्रायः उच्च रहँदै आएको छ । पछिल्लो दशकमा आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७६/७७ बाहेक अन्य आर्थिक वर्ष भ्रमण आयको तुलनमा भ्रमण खर्च बढी रहेको छ । चालु आथिक वर्षको फागुनसम्म भ्रमण आयभन्दा भ्रमण खर्च रु एक अर्ब ४३ करोड बढी छ । गत आर्थिक वर्षको फागुनमा यस्तो अन्तर रु ४८ अर्ब १६ करोड रहेको थियो ।


सन् २०२३ मा नेपाल भ्रमण गर्ने कूल पर्यटकमध्ये सबैभन्दा बढी ६२.५ प्रतिशत पर्यटकले बिदा/मनोरञ्जन/यात्राका लागि भ्रमण रहेका थिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी मुलुककै बढी भ्रमण गरिने गन्तव्यका रुपमा रहेको छ । सन् २०२३ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ५६ हजार, भारतीय दुई लाख ६ हजार र अन्य मुलुकका ८९ हजार गरी १० लाख ११ हजार रहेका छन् ।


सन् २०२३ मा आएका पर्यटकमध्ये भारतबाट ३१.५ प्रतिशत, अमेरिकाबाट ९.९ प्रतिशत, चीनबाट ६.० प्रतिशत, बेलायतबाट ५.२ प्रतिशत, अष्ट्रेलियाबाट ३.८ प्रतिशत, बङ्गलादेशबाट ३.६ प्रतिशत र अन्य मुलुकबाट ४०.० प्रतिशत रहेका छन् । सन् २०२३ मा ६ गुणा र दक्षिण कोरियाबाट आउने पर्यटकको सङ्ख्या करिब १० गुणाले वृद्धि भएको छ ।


पर्वतारोहण दल (हिमाल आरोहण) को सङ्ख्या सन् २०२३ मा १५.० प्रतिशतले बढेर दुई हजार दुई सय ५३ पुगेको छ । पर्वतारोहणको सङ्ख्या सन् २०२२ मा आठ हजार चार सय ६८ रहेकामा सन् २०२३ मा ११.० प्रतिशतले वृद्धि भई नौ हजार तीन सय ९८ पुगेको छ । पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी सन् २०२३ मा ४२.० प्रतिशतले वृद्धि भई रु ९९ करोड ९३ लाख पुगेको छ ।

डिलक्ससहित पाँचतारे होटलको सङ्ख्या एक सय ८२ पुग्यो

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट हालसम्म २७ हजार तीन सय ४६ दक्ष जनशक्ति उत्पादन भएका छन् । नेपाल पर्वतीय पर्यटन प्रतिष्ठानबाट हालसम्म पाँच हजार आठ सय ५३ व्यक्तिले विभिन्न विधामा तालिम प्राप्त गरेका छन् । डिलक्ससहित पाँचतारे होटलको सङ्ख्या २०७९ पुससम्म एक सय ७३ रहेकामा २०८० पुससम्म एक सय ८२ पुगेको छ । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०७९ पुसम्म एक हजार दुई सय २८ रहेकामा २०८० पुसम्म एक हजार दुई सय ३४ पुगेको छ ।

होटलको शय्या ३७ हजार बढी

तारेस्तरका होटलमा रहेका शय्याको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म सात सय ३८ थप भई हालसम्म १७ हजार ७३ पुगेको छ । यसैगरी, तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शय्याको सङ्ख्यामा चालु आर्थिक वर्षको पुससम्म दुई सय ४९ थप भई हालसम्म ३७ हजार दुई सय ९७ पुगेको छ ।


विसं २०८० पुससम्म क्यासिनो १३ र मिनिक्यासिनो १७ गरी ३० सञ्चालनमा रहेका छन् । २०८० असारसम्म यस्तो सङ्ख्या २८ पुगेको थियो । सन् २०२३ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको सङ्ख्या ३१ रहेको छ । त्यसैगरी, द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४१ पुगेको  ।


दुईतर्फ हवाई सिट क्षमता सङ्ख्या वार्षिक ८७ लाख ५५ हजार रहेको छ । आन्तरिक उडान गर्ने वायुसेवाको सङ्ख्या २२ पुगेको छ । त्यस्तै, सञ्चालनमा रहेका कूल विमानस्थलको सङ्ख्या ३३ रहेको छभने सबै मौसममा सञ्चालन हुनसक्ने कालोपत्र भएका विमानस्थलको सङ्ख्या ४१ रहेको छ ।

कुन मन्त्रालयको कति बेरुजु ?

काठमाडौँ । तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब २६ करोड पुगेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै अद्यावधिक बेरुजु रु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम रु एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख बराबर पुगेको छ ।

अर्थात् गत आर्थिक वर्षमा मात्र रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ । गत आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँचवटा निकायको कुल रु ७८ खर्ब ८१ अर्ब ८० करोड बराबर लेखापरीक्षण गरेको थियो ।

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । सङ्घीय सरकारी कार्यालयतर्फको कुल बेरुजुमा अर्थ मन्त्रालयको बेरुजु मात्रै ५४ दशमलव ७४ प्रतिशत बराबर देखिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा अर्थ मन्त्रालयको रु १७ खर्ब २२ अर्ब ५७ करोड २८ लाख बराबरको लेखापरीक्षण हुँदा रु असुल गर्नुपर्ने रकम रु तीन अर्ब ५५ करोड ३२ लाख र नियमित गर्नुपर्ने रु २१ अर्ब ९२ करोड १५ लाख गरी कुल रु २५ अर्ब ४७ करोड ४९ लाख बराबर रहेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु १२ अर्ब नौ करोड ३८ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु तीन अर्ब १२ करोड ४३ लाख, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको रु एक अर्ब एक करोड ६७ लाख र सहरी विकास मन्त्रालयको रु ९२ करोड १० लाख बराबर बेरुजु देखिएको छ ।

त्यसैगरी, खानेपानी मन्त्रालयको रु ७६ करोड ४६ लाख, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ६० करोड ५९ लाख, गृह मन्त्रालयको रु ५४ करोड चार लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ४० करोड ७७ लाख र परराष्ट्र मन्त्रालयको रु ३८ करोड ६७ लाख बराबर बेरुजु रहेको छ । यी दशवटा मन्त्रालयमा मात्र सङ्घीय सरकारी कार्यालयतर्फको रु ९७ दशमलव ४२ प्रतिशत बेरुजु रहेको छ ।

प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशको देखिएको छ । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसम्ममा मधेश प्रदेशको कुल बेरुजु रु आठ अर्ब ३१ करोड आठ लाख ५८ हजार बराबर छ । हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको रु पाँच अर्ब ५८ करोड चार लाख सात हजार, बागमतीको रु चार अर्ब २८ करोड पाँच लाख ६१ हजार, गण्डकीको रु दुई अर्ब ६८ करोड ५५ लाख ४२ हजार बराबर छ ।

त्यस्तै, लुम्बिनीको रु चार अर्ब दुई करोड नौ लाख ६९ हजार, कर्णालीको रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार र सुदूरपश्चिम प्रदेशको रु दुई अर्ब ६८ करोड २९ लाख २९ हजार बराबर बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले प्रचलित कानुनबमोजिम पुर्याउनुपर्ने रित नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको विषयलाई बेरुजुका रुपमा परिभाषित गरेको छ ।

महालेखापरीक्षक तोयम रायाले महालेखाको ६१ औं प्रतिवेदनबाट विभिन्न आठवटा क्षेत्रमा सुझाव लिइएको बताए। “शासकीय प्रबन्ध, सार्वजनिक वित्त व्यवस्थापन, विकास व्यवस्थापन, सार्वजनिक प्रशासन सुधारलगायतका क्षेत्रमा तोकिएबमोजिम परीक्षण, मूल्याङ्कन एवम् विश्लेषण गरी सुझाव प्रस्तुत गरिएको छ”, रायाले भने, “मुलुकको समग्र अर्थतन्त्र, सार्वजनिक सम्पत्तिको व्यवस्थापन, सूचना प्रविधि, सुशासनलगायत क्षेत्रहरुमा पनि सुझाव दिइएको छ ।”

https://drive.google.com/file/d/1gVPnOlc-oDtZ7KwDDoFslnvZ9KPRl7yc/preview

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौं । बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई बलातकार मुद्दामा दोषी ठहर गरेको हो ।

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । जेठ २८ गते सजाय निर्धारणका लागि पेशी तोकिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । गिरी अहिले थुनामा रहेका छन् ।

देशभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक निर्माण

काठमाडौँ ।  आर्थिक सर्वेक्षण २०८०/८१ का  अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभामा  सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर खण्डास्मित र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक गरी हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको हो ।

सर्वेक्षणअनुसार कूल सडकमध्ये कालोपत्र ५३ दशमलव दुई प्रतिशत, खण्डास्मित २२ दशमलव पाँच प्रतिशत र कच्ची सडक २४ दशमलव तीन प्रतिशत रहेको छ । २०८० असारसम्म सडकको कूल लम्बाइ ३४ हजार दुई सय ३९ किलोमिटर रहेको थियो । सरकारको आठ महिनामा २८ किलोमिटर मात्रै सडकको लम्बाइ विस्तार भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म एक सय ८९ किलोमिटर सडक कालोपत्र स्तरमा र एक सय ९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छभने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ । साथै, सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छभने ९९ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ । यस अवधिमा ६७ सडक पुल निर्माण भएको समेत आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९/८० मा  आठ सय २० किलोमिटर सडक कालोपत्र स्तरमा र  ६ सय २८ किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको थियोभने दुई सय ४३ किलोमिटर थप नयाँ सडक निर्माण भएको थियो ।

“सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित र पटके मर्मत भएको थियोभने पाँच सय ३८ किलोमिटर सडकको आवधिक मर्मत भएको थियो । सो अवधिमा दुई सय २२ सडक पुल निर्माण भएका थिए,” सर्वेक्षणमा भनिएको छ, “मध्यपहाडी (पुष्पलाल) राजमार्गको कूल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटरमध्ये २०८० असारसम्म  एक हजार चार सय दुई किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप १३ किलोमिटर सडक कालोपत्र भई एक हजार चार सय १५ किलोमिटर पुगेको छ ।”

राजमार्गमा पर्ने एक सय ३७ पुलमध्ये २०८० फागुनसम्म एक सय दुई पुल निर्माण भएको तथ्याङ्कमा उल्लेख रहेको छ । सर्वेक्षणअनुसार हुलाकी राजमार्गको कूल लम्बाइ एक हजार आठ सय ५७ किलोमिटर (लिङ्क सडकसहित) मध्ये २०८० असारसम्म एक हजार एक सय ७९ किलोमिटर कालोपत्र भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार दुई सय ११ किलोमिटर पुगेको छ । राजमार्गमा पर्ने दुई सय ५० पुलमध्ये २०८० असारसम्म एक सय ३२ पुल निर्माण भएकामा २०८० फागुनसम्म यस्तो सङ्ख्या एक सय ३५ पुगेको छ ।

उत्तर–दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोरको कूल लम्बाइ चार सय ४७ किलोमिटरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको दुई सय ४५ किलोमिटर सडक खण्डमध्ये २०८० फागुनसम्म एक सय ८४ किलोमिटर सडक कालोपत्र भएको  सर्वेक्षणमा उल्लेख गरिएको छ । यस कोरिडोरअन्तर्गत २०८० असारसम्म मालढुङ्गा–बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत दुई सय दुई किलोमिटर सडक खण्डमध्ये ३३ किलोमिटर सडक कालोपत्र र एक सय किलोमिटर सडक खण्डास्मित भएको छभने पाँच पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षणअनुसार कर्णाली कोरिडोरको कूल लम्बाइ दुई सय ६९ किलोमिटरमध्ये २०८० असारसम्म दुई सय ६३ दशमलव पाँच किलोमिटर ‘ट्रयाक’ निर्माण सम्पन्न भएकामा २०८० फागुनसम्म ४.५ किलोमिटर थप भई हालसम्म दुई सय ६८ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ ।

यसैगरी, कोशी कोरिडोरको कूल लम्बाइ एक सय ६२ किलोमिटरमध्ये २०८० असारसम्म ७४ किलोमिटर सडक खण्डास्मित भएकामा २०८० फागुनसम्म ७८ किलोमिटर सडक खण्डास्मित भएको छ । त्यसैगरी, हालसम्म दुई किलोमिटर सडक ढलान र ११ पुल निर्माण भएका छन् । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत २०८० फागुनसम्म सुरुङमार्गको कूल लम्बाइ ६ हजार चार सय १५ मिटरमध्ये चार हजार ६ सय १३ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

मदन भण्डारी राजमार्गको कूल लम्बाइ एक हजार तीन सय ९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्रभित्र पर्ने सात सय ४० किलोमिटरमध्ये २०८० असारसम्म दुई सय ६८ किलोमिटर सडक कालोपत्र भएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म २६ किलोमिटर थप भई हालसम्म दुई सय ९४ किलोमिटर सडक कालोपत्र भएको छ । सर्वेक्षणअनुसार यस राजमार्गमा पर्ने एक सय ८५ पुलमध्ये २०८० असारसम्म एक सय आठ पुल निर्माण भएकामा २०८० फागुनसम्म एक सय २७ पुल निर्माण भएका छन् ।

“गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म ३७ किलोमिटर सडकको दुई लेन कालोपत्र (अस्फाल्ट) गर्ने कार्य र १४ पुलको निर्माण कार्य सम्पन्न भएको छ,” सर्वेक्षणमा उल्लेख छ, “२०८० असारसम्म यस सडकको ३६ किलोमिटरमा दुई लेन कालोपत्र गर्ने कार्य र १४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो ।”

सर्वेक्षणअनुसार पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्यअन्तर्गत नारायणघाट–बुटवल सडकको एक सय १३ किलोमिटर सडकमध्ये २०८० फागुनसम्म १७ दशमलव ४१ किलोमिटर सडक चार लेनमा र १४ दशमलव ६९ किलोमिटर सडक दुई लेनमा कालोपत्र भएको छ ।

यातायात क्षेत्रमा भएको प्रगति 

हाल ६ स्थानबाट सवारी साधनमा लगाइने इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित एक लाख १५ हजार सात सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये  हजार नौ सय ९१ थान वितरण भएको छ ।

हालसम्म पाँच लाख ८० हजार आठ सय ८६ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ६६ हजार सात सय १५ थान वितरण भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म ३४ लाख १९ हजार चार सय १० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएकामा २०८० फागुनसम्म ३४ लाख ६६ हजार सात सय ७३ थान सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएको छ ।

यसैगरी, सर्वेक्षणअनुसार असारसम्म ३६ यातायात व्यवस्था कार्यालय÷सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकामा हाल ३९ यातायात व्यवस्था कार्यालय÷सेवा कार्यालयमा यस्तो प्रणाली लागू भएको छ ।

रेलमार्ग

सर्वेक्षणअनुसार पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डमा २०८० फागुनसम्म ६३ किलोमिटर ट्रयाक बेड र १३ रेल्वे पुल निर्माण कार्य सम्पन्न भएको छ । अन्तरदेशीय रेलमार्गअन्तर्गत जयनगर–जनकपुर–विजलपुरा ५२ किलोमिटर रेलसेवा सञ्चालन भएको छ । जोगवनीदेखि विराटगनरसम्म १० किलोमिटर रेलमार्ग निर्माण भई हाल भारतको बथनाहाबाट नेपालको विराटनगर कस्टम यार्डसम्म कागों रेल सञ्चालन भइरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।

अदालतको मानहानी गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिकाका मेयरलाई एक महिना कैद सजायको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ ।

आइतबार न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो । मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन काठमाडौं । जिल्ला अदालत काठमाडौंले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ ।

विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानी गरेको अभियोगमा यस्तो फैसला सुनाइएको हो ।

मुलुकको बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ

काठमाडौँ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आइतबार सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै  दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ ।

प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम  पाँच खर्ब १३ अर्ब ४० करोड ४३ लाख रहेको छ । यसरी अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख पुगेको हो ।

अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालयको तीन खर्ब ४२ अर्ब ६६ करोड ९१ लाख, प्रदेश सरकारी कार्यालयको  २८ अर्ब ४६ करोड ८४ लाख र स्थानीय तहको बेरुजु रु एक खर्ब ९३ अर्ब ४५ करोड ८३ लाख बराबर छ । अन्य संस्था तथा समितिहरुको अद्यावधिक बेरुजु एक खर्ब पाँच अर्ब २६ करोड ८१ लाख बराबर छ ।

कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकमतर्फ लेखापरीक्षण बक्यौता  नौ अर्ब ८७ करोड ५५ लाख, राजस्व बक्यौता रु चार खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान  १६ अर्ब नौ करोड ४५ लाख, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण रु पाँच अर्ब ५९ करोड ३४ लाख र जमानत बसी दिएको ऋणको भाखा नाँघेको साँवा ब्याज रु ४६ अर्ब ४१ करोड २७ लाख बराबर छ ।

यो वर्ष सङ्घीय मन्त्रालय तथा निकाय मातहतका तीन हजार दुई सय ७७ कार्यालयको रु २४ खर्ब ६१ अर्ब ११ करोड, प्रदेश मन्त्रालय तथा निकाय मातहतका एक हजार दुई सय ७० कार्यालयको रु ३ खर्ब २३ अर्ब ३४ करोड र सात सय ४६ वटा तहको रु ११ खर्ब ३९ अर्ब १९ करोड बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, दुई सय १७ वटा समिति र अन्य संस्थाको रु दुई खर्ब ९६ अर्ब ८५ करोड तथा ९३ वटा सङ्गठित संस्थाको रु ३६ खर्ब ६१ अर्ब ११ करोड बराबरको लेखापरीक्षण भएको छ । यसरी आर्थिक वर्ष २०७९/८० मा भएको कुल लेखापरीक्षण रकम रु ७८ खर्ब ८१ अर्ब ६० करोड बराबर हो ।

चालु आर्थिक वर्षमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा

काठमाडौँ ।  चालु आर्थिक वर्षमा थप तीन लाख दुई हजार ७८ जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनबाट आधारभूत तथा सुरक्षित खानेपानीको पहुँचमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । 

विसं २०८० फागुनसम्म आधारभूत खानेपानीको पहुँच ९६ दशमलव ७५ प्रतिशत जनसङ्ख्यामा पुगेको सर्वेक्षणमा बताइएको छ । सर्वेक्षणअनुसार विभिन्न जिल्लामा सञ्चालनमा रहेका सहलगानी खानेपानी आयोजना, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना र केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । चालु आवमा खानेपानी संस्थानअन्तर्गत हालसम्म एक लाख ४९ हजार तीन सय ८६ धारा जडान भएका छन् । 

“खानेपानी संस्थानअन्तर्गत हालसम्म एक लाख ४९ हजार तीन सय ८६ धारा जडान भएक छन् । ११ दशमलव ७५ मेलम्चीको पानी वितरणका लागि पहिलो चरणमा बिछ्याइएका एक हजार १० किलोमिटर पाइपमध्ये चार सय ८७ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भई उपत्यकाका विभिन्न स्थानमा नयाँ पाइपलाइनबाट नियमितरूपमा पानी वितरण कार्य सुरु भएको,” सर्वेक्षणमा उल्लेख गरिएको छ, “हालसम्म काठमाडौँ उपत्यकाभित्र ३४ हजार धारा जडान कार्य सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत खानेपानी वितरणका लागि सात सय ९६ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेकामा २०८० फागुनसम्म ६ सय ७० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ ।”

चालु आर्थिक वर्षको प्रथम आठ महिनामा कीर्तिपुर (६ हजार घनमिटर) र महाङ्कालचौर (आठ हजार घनमिटर) को पानीपोखरी निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस अवधिसम्म करिब आठ लाख १८ हजार घरधुरीको निजी धाराको नक्साङ्कन सम्पन्न भएको छ । 

गत फागुनसम्म काठमाडौँ उपत्यकाभित्र रहेका करिब २० पुराना ढुङ्गेधारा, सार्वजनिक इनार, कुवालगायत सामूहिक पानीका स्रोतको संरक्षण कार्य सम्पन्न भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । हालसम्म काठमाडौँ उपत्यकाभित्रका एक सय ९५ ढुङ्गेधारा तथा पोखरीको संरक्षण गरिएको छ । तीन करोड २४ लाख लिटर प्रतिदिन क्षमता भएको गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धले बालविवाहको सङ्ख्या पच्चीस प्रतिशतले बढ्ने

तालिबान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको सङ्ख्या पच्चीस प्रतिशतले बढ्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र अफगानिस्तानका लागि संयुक्त राष्ट्र सहायता कार्यक्रम (युएनएएमए) ले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदाय समक्ष अफगान महिलाहरूले सामना गर्ने मुद्दा उनीहरूको मागहरू प्रस्तुत गरिएको छ ।

विवरणअनुसार तालिबानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बालविवाहमा २५ प्रतिशतले वृद्धि, प्रारम्भिक प्रसवमा ४५ प्रतिशतले वृद्धि र मातृ मृत्युको जोखिम ५० प्रतिशतले बढ्नेछ । हाल ८२ प्रतिशत अफगानी महिलाहरूको मानसिक स्वास्थ्य खराब भएको विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तान विश्वको एक मात्र राष्ट्र हो जसले केटीहरूलाई छैठौँ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाएको छ । टोलो न्यूज रिपोर्टका अनुसार अफगानी महिलाहरूलाई विश्वविद्यालयमा जान पनि प्रतिबन्ध लगाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले जारी गरेको संयुक्त विवरणअनुसार तालिबानले लगाएको प्रतिबन्धका बावजुद अफगानी महिलाहरूले आफ्नो सम्मानपूर्वक बाच्न पाउने अधिकारका लागि लड्न छोडेका छैनन् ।

विज्ञप्तीमा भनिएको छ, “अफगानी महिलाहरूले अझै पनि नागरिक समाज सङ्गठनहरू गठन गरिरहेका छन्, व्यवसायहरू चलाइरहेका छन् र अझै पनि आफ्ना समुदायहरूलाई सेवा प्रदान गरिरहेका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरू अन्तर्राष्ट्रिय समुदायमा आफ्ना मागहरू स्पष्ट पार्ने तरिकाहरू खोज्न तल्लीन छन् ।”

संयुक्त राष्ट्रसङ्घ महिला, आइओएम र युएनएएमएको संयुक्त विज्ञप्तिमा अफगानी महिलाहरूले अन्तर्राष्ट्रिय समुदायसमक्ष शिक्षा र रोजगारको अधिकारसहित महिलाको अधिकार पुनः स्थापित गर्न आग्रह गरेका छन् ।

यसैबीच, संसारसँग यी प्रतिबन्धहरूलाई सम्बोधन गर्ने नीति नभएको विश्लेषकहरूले बताएका छन् । “जबरजस्ती विवाहलाई केटीहरूलाई उनीहरूको शिक्षा जारी राख्नबाट रोक्ने अवरोधहरूको एउटा सानो अंश मान्न सकिन्छ, तर संयुक्त राष्ट्रसङ्घको महिला शाखाले दावी गरेअनुसार त्यस्तो होइन । बालिकाहरूको शिक्षामा मुख्य र महत्त्वपूर्ण अवरोधबारे संयुक्त राष्ट्र सङ्घ, विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरू र प्रमुख शक्तिहरू जानकार छन्, तर उनीहरुले यो विषय सम्बोधन गरिरहेका छैनन् । अफगानिस्तानका केटी र महिलाहरूबाट यो प्रतिबन्ध हटाउन उनीहरूसँग आधारभूत र सैद्धान्तिक नीति छैन,” राजनीतिक विश्लेषक नेसर अहमद सेरजाईले भने ।

“केटीहरूको शिक्षामा प्रतिबन्ध लगाइएपछि उनीहरूका परिवारले आफ्ना छोरीलाई अफगानिस्तानको सिद्धान्त र कानूनको विपरित न्यूनतम सोह्र वर्ष पुरा नगरी विवाह गर्न बाध्य गरिरहेका छन्,” महिला अधिकारकर्मी सोराया पाइकनले भनिन् ।

यसअघि, अमेरिकासहित धेरै राष्ट्रहरूले अफगानिस्तानमा महिलाविरुद्धको प्रतिबन्ध हटाउन आह्वान गर्नुका साथै महिला अधिकार सुनिश्चित नगरेसम्म तालिबानलाई औपचारिक रूपमा मान्यता नदिने बताएका थिए ।

विश्व शान्ति शिखर सम्मेलनमा सहभागी हुन विश्वभरका नेतालाई जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार विश्वभरका नेताहरूलाई जुन १५ देखि सुरु हुने विश्व शान्ति शिखर सम्मेलनमा भाग लिन आग्रह गरेका छन् । 
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा राष्ट्रपति जेलेन्स्कीले स्विट्जरल्यान्डसँग मिलेर युक्रेनले शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको बताएका हुन् । 

“क्षति पुर्याउनु उनीहरूका लागि आनन्दको कुरा हो । रूस जीवन जलाउने, सहर र गाउँहरू नष्ट गर्ने, मानिसहरूलाई विभाजन गर्ने र युद्धको माध्यमबाट राष्ट्रिय सीमाहरू मेटाउने उद्देश्य भएका मनिसले सञ्चालन गर्छ भन्ने आम विश्व समुदायको बुझाई छ । यस्तो कुनै राष्ट्र छैन जसले यस्तो युद्धलाई एक्लै, सहयोगबिना रोक्न सक्छ । हामीलाई विश्व नेताहरूको संलग्नता आवश्यक छ”, युक्रेनी राष्ट्रपतिले भने । 

आफूसँग संवाद र वार्ताको सन्दर्भमा रूसले दिएको झूट्ठा अपेक्षाहरूको ठूलो अनुभव रहेको उनले बताए । “ठिक यही कारणले रूसले धोका दिन नसक्ने नेताहरूको विश्वव्यापी शान्ति शिखर सम्मेलन आवश्यक छन् । स्विट्जरल्यान्डसँग मिलेर हामी यो शिखर सम्मेलनको तयारी गरिरहेका छौं । जुन १५ देखि सुरु हुने यो सम्मेलनमा ८० भन्दा बढी देशहरूले उपस्थितिको लागि आश्वासन दिएका छन््”, उनले भने ।

राष्ट्रपति जेलेन्स्कीले विश्वभरका नेताहरूलाई शिखर सम्मेलनमा सामेल हुन आमन्त्रित गर्नुका साथै शान्ति सम्झौता अघि बढाउन आफ्नो नेतृत्व देखाउन आग्रह गरेका छन् । 

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानीनोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गरे ।

उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख गरे। साथै उनले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।

दमौली आगलागीपीडितलाई उचित राहतका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

दमौली (तनहुँ) / तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आज प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएकि हुन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिएको न्यौपानेले जानकारी दिइन् । उनले भनिन्, “आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ । सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु । उहाँबाट सकारात्मक जवाफ आएको छ ।”

न्यौपानेले शनिबारमात्रै दमौलीमा पीडितसँग भेटेर सरकारसमक्ष कुरा पु¥याउने प्रतिबद्धता जनाएकी थिइन् । गत सोमबार बिहान १२ः४५ बजे आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका यहाँका २१ व्यवसायिक सटर पूर्णरूपमा जलेका थिए । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

त्यसक्रममा रु छ करोड ९९ लाख ५१ हजार छ सय ७० को क्षति भएको व्यास नगरपालिकाले गठन गरेको समितिले जनाएको छ । आगलागीका क्रममा थोरै रु तीन लाख दश हजारदेखि रु एक करोड १५ लाखसम्मको क्षति भएको छ । सबैभन्दा बढी इमेज मोबाइलको रु एक करोड १५ लाख र रक्सी बिक्रेताको रु एक करोड १५ लाख क्षति भएको नगरपालिकाले गठन गरेको समितिका संयोजक एवम् वडाध्यक्ष अनुप रानाले जानकारी दिए।

भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार

भक्तपुर / भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरू गरेको अस्पतालका निर्देशक डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

निःशुल्क उपचार गरिएकामध्ये १८ जना सिन्धुपाल्चोक र बाँकी सिन्धुली, काभ्रेपलाञ्चोकलगायत जिल्लाका रहेका उनले जानकारी दिइन् । भक्तपुरका ग्रामीण भेग र अन्य जिल्लाबाट पनि बिरामी आउनेक्रम जारी रहेको जानकारी दिँदै उनले महिलालाई रोग लुकाएर नबस्न र उपचारका लागि आउन आह्वान गरिन् । डा. गौतमले भनिन्, “पाठेघर खस्ने समस्या लिएर आएका महिलामा धेरै पीडा लुकेको पाइँयो, केहीले रोग भन्न नसकेर बसे पनि धेरैले आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेको गुनासो गर्ने गरेको छन् । अब पैसा नभएकै कारण उपचार रोकिँदैन, हामी निःशुल्क उपचार गर्छौँ । यहाँ आएका जुनसुकै क्षेत्रका महिलाले निःशुल्क उपचार एवम् शल्यक्रिया सेवा पाउँछन् ।”

अस्पतालले बिरामीको पाठेघरको परीक्षण, ल्याब परीक्षण, शल्यक्रिया, अस्पतालमा रहेसम्म बिरामी र एकजना कुरुवालाई निःशुल्क खाना र बस्ने व्यवस्था गर्नुका साथै घर फर्कदा यातायात खर्चबापत रु एक हजार दिएर पठाउने गरेको छ ।

सङ्घीय सरकारबाट प्रदेश सरकार स्वास्थ्य निर्देशनालयमार्फत आउने बजेटबाट खर्च समायोजन गर्ने गरी पाठेघरको निःशुल्क उपचार एवम् शल्यक्रिया अभियान सुरू गरिएको जनाइएको छ । यो भियान असार मसान्तसम्म चल्नेछ ।

संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ : मन्त्री गिरी

काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गिरीले सर्वोच्चको आदेश, आयोगको सुझाव तथा सिफारिस, अन्तराष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र दिगो शान्ति हासिल गर्ने लक्ष्य अनुरुप संक्रमणकालीन न्यायसंगसम्बन्धीत बिषयलाई निष्कर्षमा पुराउन आवश्यक काम गरिरहेको बताएका हुन् ।यससन्दर्भमा आयोगका सिफारिसहरुलाई सरकारले गम्भीरतापूर्वक लिदै कार्यान्वयनमा जोड दिएको उनले बताए ।

उनले नयाँ संविधान जारी भइसकेपछि आयोगको नयाँ ऐन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको जानकारी दिए । मन्त्री गिरीले मानव अधिकारलाई मर्यादा र स्वतन्त्रताको साँघुरो घेराभित्र परिभाषित गर्न नहुने भन्दै मानवीय जीवनका बहुआयामिक पक्षहरुको बृहत र सुक्ष्म अध्ययन अनुसन्धान र विश्लेषण जरुरी रहेको धारणा राखे ।

कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले स्थापनादेखि हालसम्म आयोगमा १३,२७३ उजुरी दर्ता हुन आएकोमा ७,८८५ उजुरी फछ्र्यौट भई १,५५५ वटा उजुरीउपर सिफारिस गरिएको जानकारी दिए । आयोगले सरकारलाई गरेको सिफारिस मध्ये १३.६४ प्रतिशत पूर्ण, ३७.२३ प्रतिशत आंशिक र ४९.१३ प्रतिशत कार्यान्वयनको पर्खाइमा रहेको उनले बताए । पीडितहरूलाई न्याय प्राप्त हुने गरी कानून संशोधन गरी संक्रमणकालीन न्यायका बाँकी कामलाइ पुरा गर्न उनले आग्रह गरे ।

उनले मानव अधिकार आयोग ऐनलाई पारित गर्न ध्यानाकर्षण गराए । विनाशकारी भूकम्पबाट क्षति हुन पुगेको आयोगको भवन निर्माण कार्य अझै पनि प्राथमिकतामा पर्न नसकेको र आयोगका अन्य कार्यालयहरू समेत भाडाका घरमा संचालनमा रहेको उनले बताए ।

गिरिबन्धुमा आफू जोगिन सहकारीमा रवि जोगाउन खोजियोः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको नाम नराखी कामचलाउ खालको संसदीय छानबिन समिति गठन गर्न चाहेको बताएको छ ।

आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले ओलीको यस्तो चाहनाका कारण समिति गठनमा ढिलाइ भएको बताएका हुन् ।

उनले सहकारी ठगीमा संसदीय समिति गठन नहुनुका चार कारण रहेको बताए । उनले एमाले कार्यकर्ता जोगाउन, गिरिबन्धुमा रविको साथ लिन, प्रचण्ड सरकार जोगाउन र नयाँ दललाई बदनाम गराउन ओलीले समिति गठन गर्न नचाहेको बताए ।

उनले भने, ‘एमालेका कयौं साथीहरु हुनुहुन्छ एमालेमा, जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यस्तै, सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरिबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली हुनुहुन्छ । अनि नयाँ दललाई अर्को चुनावसम्म कमजोर बनाउन ओलीजी खोज्दै हुनुहुन्छ ।’

उनले दुईवटा नागरिकता र राहदानी भएका व्यक्तिले चलाएको गृह मन्त्रालयले नागरिकताका सम्बन्धमा उठेका प्रश्नमा सहयोग गर्छु भन्दा पनि कार्यालयबाटै गिरफ्तार गरिएको बताए ।

उनले प्रश्न गरे, ‘दुईवटा नागरिकता भएका गृहमन्त्री र संसद महासचिव पद्मप्रसाद पाण्डेय हुनुहुन्छ । तर सहयोग गर्छु भन्ने कैलाश सिरोहियालाई किन गिरफ्तार गरियो ?’ कांग्रेसले सरकारबाट राजनीतिक प्रतिशोध साँध्ने, कांग्रेसले श्रमजीवी र मिडिया हाउसको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिएको शर्माको भनाइ थियो ।

कांग्रेस सहमतिको बाधक बनिरहेको एमाले प्रमुख सचेतक बर्तौलाको आरोप

काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका बिषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन् ।

उनले अधिकतम लचक भएर कांग्रेसले भनेका बिषयलाई सम्बोधन गर्न खोजेपनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिको नजिक पुगेको काम शुन्यमा पुराउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसदमा बबण्डर गर्नु औचित्यहिन काम भएको धारणा राखेका छन् ।

न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानूनसम्मत नभएको उपप्रधानमन्त्री महासेठको दाबी

काठमाडौँ / उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानूनसम्मत नभएको बताएका छन् । आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले सडक बिभागमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नभएपनि न्युरोडमा फुटपाथ बढाउने नाममा सार्वजनिक बाटोको चौडाइ घटाउने काम कानूनसम्मत नभएको बताएका हुन् ।

कानूनसम्मत नभएकै कारण सडक बिभागले त्यसलाई रोकेको उनले बताए । महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका बिषय सकारात्मक भएको भन्दै उनले त्यसप्रति कुनै आपत्ती नभएको धारणा राखेका छन् । महानगरको कदमप्रति सरसल्लाह भइरहेको उनको भनाइ छ ।

कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाइ समस्या भएको भन्दै महानगरले विरोध स्वरुप शनिबार मिनभवनस्थीत सडक बिभागमा एक ट्रक धुलो खन्याएको थियो ।

शेयर बजारमा २२ अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता शेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह तीन दशमलव ३७ र म्युचुअल फन्ड शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव १९ र जलविद्युत् समूह एक दशमलव ६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता शेयर किनबेच भएको छ ।