`

रफाहस्थित शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु

Nepal One HD १४ जेठ २०८१ ११:०२
विश्व

बीबीसी । रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतबार भएको विस्फोटनमा दर्जनौँ मानिसहरू हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ।

त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।

दक्षिणी गाजा स्ट्रिपबाट प्राप्त भिडिओमा ठूलो विस्फोटन भएको र आगो लागेको देखिन्छ। हमासले रफाहको पश्चिमोत्तर भागमा भएका विस्थापित प्यालेस्टिनीहरूको शिविरमाथि हवाई हमला गरिएको जनाएको छ। उक्त क्षेत्र हालै सैन्य कारबाही भएका ठाउँभन्दा पर सुरक्षित क्षेत्र तोकिएको ठाउँमा पर्ने हमासको भनाइ छ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेको हमासले जनाएको छ। आईडीएफले उक्त क्षेत्रमा हमासका लडाकुलाई निसाना बनाइएको र त्यसका लागि निश्चित ठाउँमा प्रहार गरिएको जनाएको छ।

पश्चिमोत्तर रफाहमा गरिएको आक्रमणमा हमासका दुई वरिष्ठ नेताहरू मारिएको आईडीएफएको दाबी छ। हमासको स्वास्थ्य मन्त्रालयले एउटा इजरेली आक्रमणमा ३५ जनाको मृत्यु भएको र अरू दर्जनौँ मानिस घाइते भएको जनाएको छ। मृतकको सङ्ख्या बढ्ने सम्भावना भएको विवरणहरू आएका छन्।

इजरेली हवाई हमलाका कारण लागेको आगोले सर्वसाधारणलाई हानि पुगेको विवरणबारे आफू अवगत रहेको आईडीएफले जनाएको छ। उक्त घटनाबारे समीक्षा भइरहेको उसको दाबी छ।

शुक्रबार ’इन्टनेशनल कोर्ट अफ जस्टिस’ (आईसीजे)ले इजरेललाई रफाहमा आक्रमण रोक्न भनेको भए पनि इजरेलले सैन्य कारबाही जारी राखेको छ।


प्रतिक्रिया