गृहमन्त्री बेपत्ता, वार्ता अलपत्र
काठमाडौं। गृहमन्त्री सुधन गुरुङसँग भएको पहिलो चरणको छलफल निष्कर्षविहीन बनेपछि मिटरब्याज पीडितहरू वार्ताको प्रतीक्षामा निजगढमा रोकिएका छन्।
तर, गृहमन्त्री गुरुङ वार्तास्थलमा कहिले आउने भन्ने अझै निश्चित हुन सकेको छैन।
न्यायको माग गर्दै जनकपुरधामबाट असार २५ गते पैदल यात्रा सुरु गरेका पीडितहरूले मंगलबार राति अबेरसम्म नगर उद्योग वाणिज्य संघको भवनमा सरकार पक्षसँग छलफल गरेका थिए।
लामो समय चलेको वार्ताबाट ठोस सहमति जुट्न नसकेपछि बुधबार पुनः छलफल गर्ने समझदारी बनेको थियो।
बुधबार दिनभर गृहमन्त्रीको प्रतीक्षा गरेका पीडितहरू भने वार्ताको टुंगो नलागेसम्म आफ्नो यात्रा अघि नबढाउने मनस्थितिमा छन्। उनीहरूले सरकारबाट आफ्ना माग सम्बोधन हुने गरी स्पष्ट निर्णयको अपेक्षा राखेका छन्।
पीडितहरूले वार्ता सफल भएपछिमात्रै पैदल यात्रालाई निरन्तरता दिने वा अन्य निर्णय लिने बताएका छन्।
यसैबीच, गृहमन्त्री गुरुङ बुधबार सिमरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता तथा कार्यकर्तासँग छलफलमा व्यस्त रहेकाले वार्तास्थल पुग्न ढिलाइ भएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्रीको निर्देशनमा प्रहरी टोली भने वार्तास्थलमा पुगिसकेको छ। जिल्ला प्रहरीका अधिकारीहरूका अनुसार दिउँसोसम्म मन्त्री गुरुङ आफैं कहिले आउने भन्ने स्पष्ट जानकारी प्राप्त भएको थिएन।
वार्तास्थलमा प्रदेश प्रहरीका डीआईजीदेखि जिल्ला प्रहरी प्रमुखसम्मका अधिकारीहरू उपस्थित छन्। उनीहरूले आन्दोलनरत पीडितहरूसँग संवाद गर्दै अवस्थालाई सहज बनाउने प्रयास गरिरहेका छन्।
