`

२१ दिनपछि बल्यो कालीगण्डकी करिडोर, १७० मेगावाट बिजुली फेरि राष्ट्रिय ग्रिडमा

Nepal One HD २ कार्तिक २०८३ १३:०१
अर्थ समाचार

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना-राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी प्रसारण लाइनलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।

शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभी क्षमताको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण प्रसारण लाइनमा क्षति पुगेको थियो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावर बाढीको चपेटामा परेका थिए। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो।

त्यस्तै, प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन। प्रसारण लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ।

क्षतिग्रस्त संरचनाको स्थायी पुनर्निर्माण पूरा भएपछि दाना-राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालन हुनेछ। अहिले भने आपत्कालीन पुनःस्थापना प्रणालीको टावर प्रयोग गरेर प्रसारण सेवा अस्थायी रूपमा सुचारु गरिएको हो।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित दाना सबस्टेसनबाट सुरु हुने यो प्रसारण लाइन पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्छ। करिब १३० किलोमिटर लामो यस प्रसारण लाइनले करिब १ हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *