`

सुनसरीमा ९ सय १५ किलो गाँजासहित चार जना पक्राउ

Nepal One HD २ कार्तिक २०८३ १२:५९
समाचार

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका-४ स्थित हनुमान मन्दिर नजिकबाट प्रहरीले ९ सय १५ किलो ६ सय ८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार बिहान  विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थित ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो।

प्रहरीले घरको कोठामा लुकाइराखेको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्राम बरामद गरेको जनाएको छ। घटनास्थलबाट प्रदेश १-०२-००१ प ९११९ नम्बरको मोटरसाइकलसमेत फेला परेको थियो।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका-४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका-१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

प्रहरीले बरामद गाँजा र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *