`

सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन बृहत् नागरिक आन्दोलनको माग

Nepal One HD १४ जेठ २०८१ ९:१८
प्रमुख खबर

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सहकारीको बचत रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न ठगीमा संलग्नमाथि कारबाहीसँगै देशमा सुशासन सुनिश्चित गर्न आन्दोलनको माग छ ।
आन्दोलनले विज्ञप्ति जारी गर्दै भनेको छ,‘आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न, त्यसको अपचलनमा संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न, त्यसप्रति खबरदारीको जिम्मेवारी भएको प्रेसको स्वतन्त्रताप्रति प्रतिबद्ध रहन हामी सरकारलाई आफ्नो राजनीतिक तथा संवैधानिक भूमिका सम्झाउन चाहन्छौं,’ ।
आन्दोलनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार सहकारीकै वचत अपचलनको आक्षेप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने विपक्षीको मागलाई आलटाल गर्दै संसद्लाई संवादभन्दा मुठभेडको थलो बनाउन उद्यत देखिएको भन्दै आपत्ति जनाएको छ ।
‘यही अवस्थामा, आफ्नो भूमिकाप्रति निरन्तर प्रश्न गर्दै आएको कान्तिपुरका प्रकाशकलाई आक्षेपित मन्त्री लामिछानेले ‘पहिले समात अनि प्रमाण जुटाऊ’ शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग गरेको प्रस्ट हुन्छ । प्रेसलाई अवान्छित दबाब र त्रासमा पार्न प्रकाशक कैलाश सिरोहियामाथि प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यानाकर्षणप्रति सरकारको उदासीनताले हाम्रो सन्देह बढाएको छ,’ आन्दोलनले भनेको छ ।


प्रतिक्रिया