`

पपुवा न्युगिनीमा पहिरोमा परी करिब एकसय जनाको मृत्यु भएको आशङ्का

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भने, “मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।” लारुमाले भने, “मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।

भारतको रासायनिक कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।
बिहीबार भएको विष्फोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेकोसङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार उक्त घटनामा परी घाइत हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ ।मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा बाष्फक इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो ।

विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिँदा अन्य विस्फोटहरू भएका थिए । विष्फोटको आवाज १.५ किलोमिटर टाढाबाट सुनिएको बताइएको छ ।

घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।

मस्को कन्सर्ट हलमा भएको घातक आक्रमणमा आइएसको संलग्नता रहेको रूसको स्वीकारोक्ति

रूसले मार्चमा भएको मस्को कन्सर्ट हल आक्रमणमा इस्लामिक स्टेट (आईएस) को समन्वय रहेको पहिलो पटक बताएको छ । यो आक्रमण रूसमा दुई दशकमा भएको सबैभन्दा घातक आतङ्ककारी आक्रमण हो ।

“अनुसन्धानको क्रममा आतङ्कवादीहरूले आक्रमणको तयारी, वित्तीय सहयोग र आक्रमणमा अफगानिस्तान र पाकिस्तानमा सक्रिय आइएस शाखा खोरासान प्रान्त (आइएस–के) का सदस्यहरूले इन्टरनेटमार्फत समन्वय गरेको पुष्टि भएको रूसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्जान्डर बोर्तनिकोभको भनाइलाई उदृत गरी आरआईए नोभोस्ती समाचार एजेन्सीले जानकारी गराएको छ ।

मार्च २२ मा भएको उक्त आक्रमणमा १४० भन्दा बढी मानिस मारिएका अनुसन्धान आइएसले गरिरहेको थियो । यसअघि मस्कोले बारम्बार युक्रेन र पश्चिमलाई आक्रमणमा जिम्मेवार रहेको आरोप लगाउदै आएको थियोे ।

बोर्तनिकोभले शुक्रबार आक्रमणमा युक्रेनी संलग्नतालाई समावेश गर्दै भने, “आक्रमणपछि आतङ्ककारीहरूलाई युक्रेनी सीमातिर जान स्पष्ट निर्देशनहरू प्राप्त भएको र त्यहाँबाट उनीहरूलाई भगाउने व्यवस्था गरिएको थियो ।” युक्रेनले रूसको उक्त दावीको बारम्बार खण्डन गर्दै आएको छ ।

आक्रमणकारीहरूले भवनमा आगो लगाउनुअघि मस्कोको बाहिरी भागमा रहेको क्रोकस सिटी हल स्थलमा आक्रमण गरेका थिए । घटनासँग सम्बन्धित रहेको आशङ्कामा चार सन्दिग्ध आक्रमणकारीसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरू सबै अफगानिस्तानको उत्तरी सीमामा रहेको पूर्व सोभियत सङ्घबाट भिन्न भएको ताजकिस्तानका नागरिक हुन् ।

अमेरिकाले मार्चको सुरुमा रूसलाई सार्वजनिक रूपमा नै चरमपन्थीहरूले मस्कोमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेको जानकारी घटनापूर्व नै दिएको थियो । अज्ञात अमेरिकी गुप्तचर अधिकारीहरूले घटनापश्चात अमेरिकी सञ्चारमाध्यममार्फत उनीहरूले मस्कोलाई आइएसले विशेष गरी क्रोकस सिटी हल आक्रमण गर्ने योजना बनाएको अग्रीम जानकारी गराएको बताएका थिए ।

रूसले ती चेतावनीहरूलाई नजरअन्दाज ग¥यो। आक्रमणको तीन दिन अघि राष्ट्रपति भ्लादिमिर पुटिनले वासिङ्टनलाई ‘ब्ल्याकमेल’ गरेको र रूसीहरूलाई ‘तर्साउने’ प्रयास गरेको आरोप लगाएका थिए ।

सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको महामन्त्री शर्माको आरोप

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको बताएका हुन् ।

उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरेका छन् । शर्माले सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरेका छन् ।

मिडिया हाउसका सञ्चालनको नागरिकताको बिषयमा उठेको बिषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुई वटा पारपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकताको कुरा आएपनि गिरफ्तार नगरिएको उनको भनाइ छ । उनले गिरफ्तार नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए ।

उनले गिरिबन्धु प्रकरणमा पनि छानविन समिति बनाउन सुझाव दिए । शर्माले गृहमन्त्रीले आरोप लगाएका कांग्रेसका सवै नेता, परिवार लगाएमाथि छानविन गर्न कांग्रेस तयार रहेको बताए ।

मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक छ :अध्यक्ष लिङदेन

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सवै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन् ।

अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको उनले बताए । उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रुपमा उभिने अठोट गरेको जिकिर गरेका छन् । अध्यक्ष लिङदनेले विदेशीको सहयोग विना चूनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरुको क्रिडास्थल बन्न पुगेको धारणा राखे । पार्टीले आफ्ना मागलाई स्थापीत गराउन निरन्तर आन्दोलन गर्ने र बिभिन्न ढंगबाट राज्यलाई दवाव दिन निरन्तर अभियान चलाउने उनले बताए ।

तीन दिन सम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भइ पारित गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभाको बैठक पनि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए । “संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन । जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौं । बजेट प्रस्तुत हुने दिन आइसक्यो । संसदको गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष दाहालले भने । 

त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको थियो । सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी स्थगित भएको छ ।

धावनमार्ग मर्मतपछि त्रिभुवन विमानस्थल पुनः संचालन

काठमाडौं । धावनमार्गमा खाल्डो परेपछि एक घण्टाका लागि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले खाल्डो परेको स्थानमा मर्मतपछि विमानस्थलको सेवा पुनः संचालन भएको  जानकारी  दिए ।

धावनमार्गमा खाल्डो देखिएको भन्दै यसअघि १ घण्टाका लागि विमानस्थल बन्द गरिए पनि अहिलेलाई समस्याको समाधान भएको उनले बताए ।

आफनो मागप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै सहकारी पिडितहरुले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौँ / सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पिडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले बताए ।

उनले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पिडा सरकारले सुन्नुपर्ने उल्लेख गरेका छन् ।

डोजर लगाएपछि बागलुङका ताल सुक्दै

ढोरपाटन (बागलुङ) / संरक्षणका नाममा डोजर लगाउँदा बागलुङमा रहेका चार ताल सुक्दै गएका छन् । स्थानीय तह स्थपानपछि गाउँ तथा नगरपालिकाले संरक्षणका लागि तालबीचमै डोजर लगाएपछि जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्रताल, काठेखोला गाउँपालिका–४ मा रहेको खोर ताल र तमानखोला गाउँपालिका–२ मुठाचौरस्थित बराह ताल सुक्न थालेका हुन् । विसं २०७८ मा गाजाको दहमा डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । तालको क्षेत्र विस्तारपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीय बताउँछन् ।

दह संरक्षणका लागि गण्डकी प्रदेश र जैमिनी नगरपालिकाले लगानी गर्दै आएका छन् । हालसम्म करिब ५० लाख लगानीमा यहाँ काम भएको वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले बताए । उनले डोजर लगाउनुपूर्व तालमा अलि बढी पानी भएको भन्दै अहिले केही कम भएको महसुस गरेको बताउँछन् । तालमा डोजर लगाएर क्षेत्र विस्तार गरेपछि पानीको मात्रा बढ्न नसक्दा घटेजस्तो लागेको उनको भनाइ छ । ताल संरक्षणका लागि अब डोजर लगाएर खाली भएको ताल छेउमा बगैँचा निर्माण गर्ने अध्यक्ष भुजेलले बताए ।

उनले भने, “पहिले तालको क्षेत्र सानो थियो, टम्म पानी भरिएको देखिन्थ्यो, अहिले ठूलो क्षेत्र भएर पानी थोरै देखिएको हो, केही मात्रामा त घटेको छ, ताल संरक्षण गर्नका लागि अब डोजर लगाउँदै नलगाउने, बरु तालको किनारमा फूल फुलाउने, पानी कम सोच्ने बिरुवा लगाउने योजना बनाएका छौँ, संरक्षण गरिएन भने ताल खाली हुन पनि सक्छ पछिपछि ।”

बागलुङको काठेखोला–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको छ । आर्थिक वर्ष २०७९/८० काठेखोलाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले जानकारी दिए । तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसानको भनाइ छ । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहे पनि अहिले तालमा धुलो उड्ने उनी बताउँछन् ।

“यो ताल निकै ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो, अहिले त धुलो उड्छ, यहाँ पालिकाबाट योजना प¥यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सुकेर सकियो”, किसानले भने, “अब त कसरी पानी पलाउला र यो तालमा रु, यस्तो अवस्था आउँला भन्ने लागेको थिएनौँ ।”

ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले ३० लाख लगानी गरे संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै तालनै सुकेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन नजिकै रहेको रुद्र ताल पनि सुक्दै गएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्र तालमा नगरपालिकाले छ वर्ष अगाडि डोजर लगाएपछि अहिले पानी निकै कम भएको छ । ढोरपाटन पुग्ने पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाले ताल सौन्दर्यकरण गर्न डोजर लगाएको भए पनि अहिले करिब ८० प्रतिशत पानी सुकेको स्थानीय खुमबहादुर सुनारले बताए ।

उनले भने, “पहिले रुद्र ताल जाने सडक थिएन, ढोरपाटन आउने पर्यटक गोरेटो बाटो हुँदै ताल पुग्थे, पछि सडक आयो, ताल सडककै छेउमा परेपछि धेरै मान्छे ताल हेर्न जान थाले, पछि नगरपालिकाले डोजर लगाएर सम्याउने काम ग¥यो, त्यसपछि तालको पानी सक्दै सक्दै गएर अहिले थोरै भएको छ, यही हिसाबले पानी घट्दै गयो भने आगामी दुई÷चार वर्षमा पानीनै रहँदैन होला ।”

तमानखोला–२ स्थित मुठाचौरमा रहेको बराह तालमा पनि पानीको मात्रा घटेको स्थानीय बताउँछन् । गाउँपालिकाले ताल संरक्षणका लागि तालबार लगाउनुका सधैँ त्यस वरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । यस्तै बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराह तलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकका लागि निकै आकर्षित बनेको छ । अन्य तालको तुलनामा यस तालमा भने पानी अलि बढी रहेको पाइन्छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय बताउँछन् ।

बागलुङ र पूर्व रुकुमको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथीपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले ताल पानीको स्रोत भएको हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय पालिकाको भएको भन्दै डोजर लगाउन नहुने बताए । डोजर लगाउँदा धेरै ठाउँमा पानीको मुहानसमेत सुकेको हुँदा ताल क्षेत्र वरपरसमेत ठूलो ‘इक्युमेन्ट’ चलाउन नहुने उनको भनाइ छ ।

“पछिल्लो समय जथाभावीरुपमा सडक खुलेका छन्, त्यसले पानीको स्रोतनै सुकाएको छ, अझ त्यसमाथि नगरपालिका/गाउँपालिकाले ताल संरक्षण गर्ने भन्दै डोजर लगाएपछि त अहिले धेरै ठाउँमा खानेपानीको समस्या भएको छ भने ताल पनि सुक्दै गएका छन्”, उनले भने, “ताल संरक्षण गर्न डोजर लगाउने होइन, कसरी हुन्छ पानीको स्रोत संरक्षण गर्नतर्फ ध्यान दिनुपर्छ, यदि होइन भने भावी पुस्ताले खानेपानीको ठूलो हाहाकार भोग्नुपर्ने स्थिति आउन सक्छ ।”

त्रिभुवन विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार रन वे –०२ को जमिन चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् ।

उनले खाल्डो परेको ठाउँमा मर्मतको काम भइरहेकाले एकघण्टा उडान अवतरण रोकेको जानकारी दिए । जसका कारण थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मेलसियन एयरलाइन्स होल्ड गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ / सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै कांग्रेसले गरेको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका बिषयहरुलाई अघि बढाउन पटक पटक आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको भन्दै वस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेस सांसदहरुले लगातार उठेर विरोध गरेपछि सभामुखले जेठ १३ गते बस्ने गरि बैठक स्थगीत गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ९२० तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।

पदभार ग्रहणका अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिए ।

 चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए । विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् । 

यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

संसदीय समितिको कार्यादेश बनाउन कांग्रेसको नयाँ प्रस्ताव

काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिन गर्न गठन हुने भनिएको संसदीय समितिको कार्यादेशमा कार्यदलमा सहमति हुन सकेको छैन । आज बसेको कार्यदलको बैठकमा दुबै पक्षले सहमति नजिक पुगेको बताएका छन् ।

समितिको कार्यादेशमा कांग्रेसले यसअघि लामिछानेको नाम राख्नुपर्ने अडान राखेकोमा आजको बैठकमा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी कार्यादेश बनाउन नयाँ प्रस्ताव ल्याएको छ । कार्यदल सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आएको तर छलफल टुंगी नसकेको बताए ।

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा उपभोक्ता अदालत स्थापना सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन्। नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उनले सरकारको नीति तथा कार्यक्रममा पनि उपभोक्ता अदालतको विषय आइसकेको र बजेटसमेत सुनिश्चित भइसकेकाले आगामी आवमा स्थापना हुने बताएका छन्।

मन्त्रालयबाट बजार अनुगमनलगायतका क्रियाकलाप भइरहेका भए पनि प्रभावकारी हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुनेमा जोड दिए । मन्त्रालय मातहत कुनै पनि दण्ड जरिवाना गर्दा रु तीन लाखभन्दा बढी लिन नपाइने प्रावधान रहेको उल्लेख गर्दै उनले उपभोक्ता अदालत स्थापना भएपछि गल्तीअनुसारको दण्ड तथा जरिवाना गर्न सकिने उल्लेख गरे।

उपभोक्ता अदालत स्थापनाका लागि भवनको खोजी भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले अदालतका लागि सरकारले आवश्यकपर्ने सबै किसिमका स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाए। सोही क्रममा उनले एलपी ग्यासमा उपभोक्ताले बेहोरिरहेको समस्याका विषयमा मन्त्रालयबाट नेपाल आयल निगमलाई पत्राचार गरिएको उनले गराए।

विभागका प्रमुख जितु गौतमको नेतृत्वको टोलीले मन्त्री भण्डारीलाई साधनस्रोत, प्रविधि र जनशक्ति तथा आवश्यक बजेटसहितको उपभोक्ता अदालतको तत्काल गठन गरी उपभोक्तालाई शीघ्र न्यायको प्रत्याभूति गर्नुपर्नेलगायतका माग राखेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

श्रम र पुजी लगानी नगरी नाफा आर्जन गर्ने सबै प्रकारका वस्तु तथा सेवामा रहेका विचौलियाको अन्तःगरी उत्पादक वा पैठारीकर्तादेखि उपभोक्तासम्मको बजारको तहलाई उपभोक्तामैत्री हुनेगरी निर्धारण गर्न विभागको माग छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, “ग्यास सिलिण्डर खरिद गर्दा उद्योगलाई बुझाएको धरौटी रकम र सोको ब्याजको सुरक्षा गरियोस्, उपभोक्ताले सिलिण्डर फिर्ता गर्दा धरौटी रकम र प्रचलित ब्याजसमेत फिर्ताको सुनिश्चितता गरियोस् ।”

यस्तै विभागले मन्त्री भण्डारीसमक्ष मापदण्डविपरीत तौलका अवैधरुपमा आयात गरी प्रयोग गरिएका ग्यास सिलिण्डर जुनसुकै बखत पनि विष्फोट भई ठूलो जनधनको क्षति पुग्न जाने भएकाले यस्ता सिलिण्डरको सङ्ख्या यकीन गरेर जफत गरी नष्ट गर्न माग गर्दै यस्ता अवैध सिलिण्डर आयात तथा प्रयोग एवं नियमन सम्बन्धमा छानविन गरी दोषी माथि कारबाहीको माग राखेको छ ।

वस्तु र सेवाको बिक्री, भ्रमपूर्ण विज्ञापन, मूल्य र नापतौलमा ठगी तथा स्वच्छ, प्रतिस्पर्धाविरुद्धका कार्यलाई विषयगतरुपमा प्रभावकारी अनुगमन गरी कडाइका साथ नियन्त्रण गर्न माग गरिएको छ । यस्तै विभागले नियामक निकायलाई जिम्मेवार बनाउन, उपभोक्ता हित संरक्षण तथा बजार सुशासनको प्रवद्र्धन गर्न अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको स्थापना गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ ।

९० लाखको लगानीमा व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।

असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनी यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय छन् । “यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु”, रञ्जित गिरीले भने “रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।”

करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख लगानी गरेका छन् । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ ।

विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब दुई करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टेडमार्कसमेत पाइसकेको उनले जानकारी दिए ।

“अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन”, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने बताए ।

उनले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी एक हजार आठ सय, कालो चिया एक हजार दुई सय र सिल्भर चिया ३० हजारमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् ।

“चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ”, उनले भने, “चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।” हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् ।

बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफँै गर्दै आउनुभएको छ भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन् ।

युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताएका हुन्।

“तालिमबाट प्राप्त सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोध चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री दाहालले भने, “कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नेछन् ।”

नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानव अधिकारको संरक्षण गर्न स्थापित संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने दक्ष एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने बताए।

विज्ञान र प्रविधिमा भएको तीव्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

शान्ति सुव्यवस्था बहाल राख्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनका लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गरेका छन् ।

तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका प्रधानमन्त्रीले जानकारी दिए । उनले राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहलमार्फत् यी संरचना निर्माणमा सहजीकरण एवं निर्माण सम्पन्न गर्नका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब

वीरगञ्ज (पर्सा) / नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ ।

गत आवभन्दा चालु आवको १० महिनामा बक्यौता रकम रु २७ करोड ८१ लाख ९७ हजार चार सयले बढेको छ । यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक, घरासयी ग्राहक र सडकबत्ती बापतको हो ।

केन्द्रका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई अर्ब २७ करोड १० लाख २२ हजार एक सय ९४ रहेको छ । त्यसैगरी सडकबत्तीको बक्यौता रकम रु २१ करोड २८ लाख ३५ हजार पाँच सय छ रहेको छ । त्यस्तै घरायसी ग्राहकको बक्यौता रकम पनि रु ५३ करोड ४५ लाख ६७ हजार एक सय ८७ रहेको छ ।

केन्द्रको गत आवको असार मसान्तसम्ममा बक्यौता रकम रु तीन अर्ब १५ करोड ४० लाख २६ हजार चार सय ५७ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने तीन हजार तीन सय ९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए।

“वीरगञ्ज वितरण केन्द्र मातहत पाँचवटा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइनबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो”, उनले भने, “यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।” केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ ।

कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत्को महसुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महसुल तिर्न आनाकानी गर्दै आइरहेका छन् । “करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्”, उनले भने, “छिमेकीले बिजुलीको महसुुस नतिरेपछि लाइन काटियो भन्ने हल्लागाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौँ ।

गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई अर्ब तीन करोड ६२ लाख ११ हजार सात सय ६९ रहेको थियो । सोही वर्ष सडकबत्ती बापतको बक्यौता रु १८ करोड ६७ लाख ७८ हजार १० रहेको छ । घरासयी ग्राहकको बक्यौता रकम रु ५३ करोड ७४ लाख ५३ हजार सात सय ८८ रहेको थियो ।

बालेनको प्रश्नः अधिकार प्रयोग गर्न हजुरियाकोमा पुग्नु पर्ने हो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारलाई प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने भनि अघिल्लो आर्थिक वर्षमा घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले यो व्यवस्था सूर्तीजन्य वस्तु, तथा धूमपानजस्ता प्लाष्टिकमा प्याकेजिङ गरेका वस्तुका लागि समेत भएको ठहर गर्दै महानगरले सरकारलाई कार्यक्रम कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो ।

उनले भनेका छन्, ‘बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काउँछन् भनेझैं संघीय सरकारले विर्सियो वैशाख १, २०८१ः अब के हुन्छ ? सरकारले आफैं काम गर्नु, कि हामीलाई गर्न दिनु । संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो । यो व्यवस्था सूर्तीजन्य बस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो । आज जेष्ठ महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ ।’

यस्तो छ मेयर साहको भनाई
बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझ, संघीय सरकारले विर्सियो वैशाख १, २०८१ : अब के हुन्छ ? सरकारले आफैं काम गर्नु, कि हामीलाई गर्न दिनु । संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो । यो व्यवस्था सूर्तीजन्य बस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो । आज जेष्ठ महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ । सरकारले यस्तो घोषणा गरिरहँदा, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ सक्रिय थियो । अहिले पनि छ । यो ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ बिक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ । ऐनले निषेध गरेका वस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन, संघीय सरकार लक्षित यक्ष प्रश्न छ । जैविक खोलमा बेरेको सूर्तीजन्य वस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको बैज्ञानिक प्रमाणिक तथ्य हामी पनि जान्न र बुझ्न चाहन्छौँ ।

संघीय सरकार ! यस विषयमा हामीलाई पनि जान्ने अवसर दिनुपर्यो । काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था छ । सभाले निर्माण गरेको, माथिल्ला कानुनसँग नबाझिने यो कानुन कार्यान्वयन गर्न हामीले कुन उपाय लगाउनु पर्ला ?

संघीय सरकार ! केही सुझाइदिनुहुन्छ ? स्थानीय स्तरमा, जनस्वास्थ्यजन्य समस्या सिर्जना गर्ने खालका उपभोग्य बस्तुको वेचबिखन र उपभोग नियमन (नियन्त्रण) गर्ने अधिकार स्थानीय तहमा निहित छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (१४) ले यस्ता उपभोग्य बस्तुसँगै वातावरणीय प्रदुषण र हानीकारक पदार्थको नियन्त्रण, अनुगमन र नियमन गर्ने अधिकार छ । प्राप्त यो अधिकार प्रयोग गर्न हजुरियाकोमा पुग्नु पर्ने हो भने पटाङ्गिनीको लोकेसन म्याप उपलब्ध गराइदिनुपर्यो ।

हामी सूर्तिजन्य वस्तुको उपभोग र प्लाष्टिक प्याकेजिङ्ग निषेधप्रति हाम्रो लक्ष्यमा स्पस्ट छौँ । यस्ता वस्तुको प्रयोगले जनस्वास्थ्यमा पार्ने क्षति र यस्ता वस्तु प्याकेजिङ् गरिएका प्लाष्टिकले सहरी सुन्दरता, विकास निर्माण र विकास व्यवस्थापन पारेको गहिरो नकारात्मक असर घटाउन चाहन्छौं ।

किनभने, हामीलाई थाहा छ, यस्तै बस्तुका कारण हाम्रा महानगरबासीले दुःख गरेर कमाएको पैसा, परिवार र बालबालिकाको गाँस काटेर भए पनि स्वास्थ्योपचारमा खर्च गरिरहनु परेको छ । वातावरणीय प्रकोप सहनु परेको छ ।यसबाट उत्पन्न हुने मानवीय क्षति, आर्थिक संकटजस्ता जोखिमबाट बचाउन हामीले गएको वर्ष मंसिर १२ गते गुट्खा, पान पराग, खैनीसमेत बिक्री र भण्डारण निषेध गर्न सार्वजनिक सूचना जारी गरेका थियौँ । सहरको सुन्दरता बढाउने, सहरबासीलाई स्वच्छ वातावरणमा बाँच्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य थियो ।

संघीय सरकारको २०८१ वैशाख १ गतेदेखि यस्ता वस्तुलाई कुहिने खालका खोलमा प्याकेजिङ गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्थाले आफ्नै हातमा भएको अधिकार पनि सम्मानित अदालतको निर्णयबाट प्रयोग गर्न बञ्चित हुनु परेको छ । यसपछि सहरबासीको स्वास्थ्य र वातावण बचाउने काम न हामीले गर्न पायौँ, न संघीय सरकारले गरेको छ । मानव मृत्युको मुख्य कारण नसर्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानव मृत्युका १० कारणमध्ये ७ वटा नसर्ने रोग र ३ वटा मात्र सर्ने रोग छन् । नसर्ने रोगका ७ रोगको कारण धुमपान, सूर्तीजन्य बस्तुको प्रयोग र प्लाष्टिकजन्य बस्तुको प्रयोग हो । राम्रो काम जसले गरे पनि हुन्छ । कि सरकारले आफैँ काम गर्नु, कि स्थानीय सरकारलाई गर्न दिनू । संघीय सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेका छौँ ।

छिमेकीसँगको राम्रो सम्बन्धले मात्र नेपाल समृद्ध बन्छ: डा. राजन भट्टराई

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने बताएका छन्।

सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्धाहरु’ विषयक छलफलमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कुटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिएका हुन् ।

उनले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गदैँै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताए । उनले भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गर्नुपर्नेमा पनि जोड दिए ।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम् लाभ लिनुपर्ने पनि उनको भनाइ थियो । राष्ट्रियसभाका सदस्य डा. अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताइन् ।

आर्थिक मन्दीका कारण मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द

बागमती / आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ एक सय ६७ र वाणिज्यतर्फका दुई सय सात उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए । घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ दुई ९१ गरी छ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।

चालु आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

उक्त अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, सात सय ७७ वटाको पूँजी वृद्धि, एक हजार दुई सय १४ उद्योगको नवीकरण, दुई सय सातवटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले भन्नुने । नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु दुई करोड ६३ लाख २२ हजार तीन सय ५२ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।

कौसीमा तरकारी खेती

काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गर्नुभएको तरकारी खेतीमा फलेको गिरौँला टिप्दै । कौसीमा तरकारी लगाएपछि बजारबाट तरकारी कम खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

तस्बिर: हरिराम भेटुवाल/रासस

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई

खोटाङ । खोटाङको दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।

सातवटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदकसहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदकसहित कोशी प्रदेश चौथो भएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार एक सय ११, ५५ हजार पाँच सय ५५, ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित भएका छन् । उहाँहरूलाई जनही २२ हजार दुई सय २२ प्रदान गरियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेस प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई ११ हजार एक सय ११ नगद प्रदान गरिएको थियो । गत वैशाख ३१ गते सुरु भएको महोत्सवअन्तर्गत एथ्लेटिक्स, राष्ट्रिय कविता तथा राष्ट्रिय गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएका उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवं साङ्गीतिककर्मी दिक्तेल बजारमा भेला भएका थिए ।

‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिकपछि अभिनेता दयाहाङ राईले चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । “यो चलचित्र वर्षौँ पहिले सुनेको थिए तर अभिनय नै गर्न पाउँला भनेर सोचेको थिएन”, अभिनेता राईले भने,“विश्व बजारमा पुगेको चलचित्रमा खेल्न पाउनु मेरो लागि खुसीको कुरा हो । अब घरेलु दर्शकले मन पराउने अपेक्षा गरेको छु ।”

अभिनेत्री पशुपति राईले यस चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई हुन् भने निर्देशन नबिन सुब्बाले गरेका छन् ।

त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिचेको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन रहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्री सदनमा देखिएको गतिरोधका विषयमा छलफल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी दिएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमा समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

लामो समयदखि सम्पर्कविहीन १९ प्रहरीलाई सातदिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । सम्पर्कमा नरहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो ।

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणस सहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ ।

एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्षसहित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न

काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ बिहीबार सम्पन्न भएको छ । यही जेठ ९ र १० गते भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ले हिमाली र तल्लो तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । साथै संवादले यसको समाधानका लागि विश्वव्यापी रुपमा एकीकृत आवाज बुलन्द गर्ने उल्लेख गरेको छ ।

संवाद सम्पन्नपछि जारी गरिएको सांराश पत्रमा पर्वतीय र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन र जीविकोपार्जनलाई दिगो बनाउने, कार्बन उत्सर्जनमा कम योगदान गर्ने र कम सक्षम देशमा असमान प्रभाव कम गर्न एकीकृत आवाज उठाउनेलगायत विषय उल्लेख छन् ।

संवादमा नेपालसहित विभिन्न २५ देशका २५० विशेषज्ञहरुले जलवायुका असर न्युनिकरणबारे छलफल गर्नुका साथै आफ्ना धारणा व्यक्त गरेका थिए।

हिमाली पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनको असर तुलनात्मक बढी हुने विषय विज्ञानले प्रमाणित भएको, खानेपानी, खाद्य आपूर्ति र जैविक विविधता जलवायु परिवर्तनबाट गम्भीर खतरामा परेकोलगायत विषय सारांशमा उल्लेख गरिएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए । 

विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न जलवायु कार्यका लागि विश्वव्यापी सहकार्य र नेतृत्व गर्ने, जलवायुका कार्यमा समावेशी लैङ्गिक समानता, सामाजिक र अपाङ्गता समावेशीतामा ध्यान दिने सारांश पत्रमा उल्लेख छ ।

त्यस्तै वित्त पहुँच र वितरणलाई गति दिने, प्रविधि विकास र हस्तान्तरण, र नागरिक समाज, युवा, स्थानीय र आदिवासी समुदायको संलग्नताका लागि साझेदारी आवश्यक रहेकामा संवादले जोड दिएको छ ।

हिमालमा द्रुत तापक्रम वृद्धि भएको, मनसुन ढाँचा परिवर्तन, हिमनदीको क्षति, कम हिउँ, हिमनदी पग्निले क्रम बढेको, हिमनदीको बढ्दो जोखिमलगायत विषयलाई विज्ञानले प्रमाणित गरेको विशेषज्ञहरुले स्पष्ट पारेका थिए । संवादले जलवायुका असर कम गर्न न्यूनीकरण, अनुकूलन, हानि नोक्सानी क्षतिपूर्ति गरी विभिन्न विकल्प समेत प्रस्तुत गरेको छ ।

पहाड र तराईमा बसोबास गर्ने समुदायहरू बीचको साझेदारी, जलवायु चुनौती सम्बोधन गर्न व्यवस्थित र एकीकृत दृष्टिकोणको आवश्यकता संवादले औल्याएको छ । त्यस्तै हिमाली देशहरूलाई उनीहरूको आवश्यकताको आधारमा जलवायु वित्त प्रदान गर्नुपर्ने सारांश पत्रमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच अत्यन्तै चुनौतीपूर्ण बन्दै गएकाले पहुँच प्रक्रियालाई सरलीकृत गर्न आवश्यक रहेको संवादको निष्कर्ष छ ।

पर्वतीय मुलुकमा जलवायुका कारण दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती थपिएकाले अनुदानमा आधारित जलवायु वित्त र सहुलियतपूर्ण सहयोग वितरण गरिनुपर्ने विशेषज्ञहरुको सुझाव छ । हिमालका मुद्दालाई अगाडि बढाउँदै विश्वव्यापी सहयोग र क्षेत्रीय साझेदारीमा जोड दिने, हिमाली देशहरूको आवश्यकता र जलवायु न्याय सुनिश्चित गर्न, तथा क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न दबाब दिने सारांश पत्रमा उल्लेख छ ।

संवादमा नेपाललगायत पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजलगायतका प्रतिनिधिको सहभागिता थियो । संवादले पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरूलाई सुदृढ, समन्वय र प्राथमिकता दिर्नुपर्नेमा जोड दिएको छ ।

संवादको उद्घाटन बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विशेष समारोहका बीच गरेका थिए । उद्घाटनपछि तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर विभिन्न विधाका १० वटा सत्र सञ्चालन गरिएका थिए । प्रत्येक सत्रमा मुख्य वक्ता, फरक विषयका प्रस्तुती र समूहगत छलफल गरिएको थियो । सबै सत्रका दौरान ५० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरुले भाग लिई आफ्नो विज्ञताका क्षेत्रमा धारणा व्यक्त गरेका थिए ।

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्यांक’ को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, संकटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय संकटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने सत्र समावेश गरिएको थियो ।

दोस्रो सत्रमा ‘प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरू’ विषयमा केन्द्रित भएर छलफल गरिएको थियो । त्यस्तै तेस्रो सत्रमा ‘पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने’ विषय समावेश गरिएको थियो ।

संवादले खासगरी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)को ६०औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्ने विषयमा विभिन्न सुझाव दिएको छ । यसका निष्कर्षलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ सत्रमा समावेश गरिनेछ ।

संवादमा सहभागी हुन विभिन्न देशका उच्च अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि आएका थिए । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री साबेर हुसेन चौधरी, भुटानका कृषि तथा पशुपंक्षी मन्त्री ल्योन्पो योन्टेन फिन्टक्शो, साब्टाका अध्यक्ष ह्यारी भिरेउलगायत विशिष्ट व्यक्ति तथा विशेषज्ञहरु संवादमा सहभागी भएका थिए ।

पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको थियो । फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८)ले पहिलोपटक जलवायुले हिमालमा पारेका असरलाई आफ्नो निर्णयमा समावेश गरेको थियो ।

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै नेपालले जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको थियो ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेको छ ।

सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । तापक्रम वृद्धिले यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डार पग्लिने जोखिम बढेको छ ।

अघिल्ला दशकका तथ्याङ्क विश्लेषण गर्दा हिमालमा प्रतिदशक शून्य दशमलव ०५ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने क्रम पनि बढिरहेको छ । यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीदेखि साना टापु राष्ट्रसम्म परेको छ ।

इलाममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेका जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक समानता, पारस्पारिक लाभ र सम्मानका आधारमा दिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्दै आएको बताएका छन् ।

नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान तथा सक्रिय उपस्थितिका साथ राष्ट्रिय हितको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिदै आएको उल्लेख गरे  । उपप्रधानमन्त्री श्रेष्ठले कूटनीतिक सम्बन्ध विस्तार मलुकको राष्ट्रिय हित प्रवर्द्धन र परराष्ट्र नीतिको सफल कार्यान्वयनमा परराष्ट्र सेवाको अहम् जिम्मेवारी रहेको बताए ।

साथै उनले संवैधानिक व्यवस्थाको प्रावधानअनुसार नेपालले पञ्चशीलमा आधारित स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कायम गर्दै आएको बताए । उनले आर्थिक कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने तथा बैदेशिक रोजगारी मर्यादित र व्यवस्थित तुल्याउने नीतिलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए ।

कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्सालले परराष्ट्र सेवाको सुरुआती चरणको अवस्थाबारे जानकारी गराउँदै यस सेवाले नेपालाको विदेश नीति तर्जुमा, सञ्चालन तथा प्रभावकारी कार्यान्वयनमा निर्णायक र अहम् भूमिका निर्वाह गर्दै आएको बताइन् ।

यस सेवामा कार्यरत कूटनीतिक सुझबुझसहितका  जनशक्तिले नीति निर्मातालाई विज्ञ सल्लाह प्रदान गर्ने, संस्थागत ज्ञान निर्माण गर्ने संरक्षण गर्ने तथा नीति निर्माणमा निरन्तर रुपमा पृष्ठपोषणको कार्य गर्नुका साथै यसको कार्यान्वयनमा कटिबद्ध रहेको उल्लेख गरिन् ।

साथै सचिव लम्सालले यस सेवामा कार्यरत जनशक्तिले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरुमा नेपालको उपस्थिति, वार्ता कौशल प्रदान गरिरहेको उल्लेख गरिन् । कार्यक्रममा परराष्ट्र सेवामा लामो समय काम गरी सेवा निवृत हुनुभएका कर्मचारी तथा उहाँका परिवारलाई सम्मान गरिएको थियो ।

गोरखाकी फुञ्जो लामाले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी बनाइन् कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको जनाइएको छ ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोडेकी हुन् ।

यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए ।

विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसकेकी छन् ।

उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाएकी छन् ।

उनले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताए ।

फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आएकी छन् । उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी छन् । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान यथावत राखेको छ ।

संसदीय छानबिन समितिको कार्यादेश निर्माण कार्यदलमा कांग्रेसले आफ्नो पूर्ववत अडान यथावत रहेको बताएको हो । कार्यदलको बैठकमा कांग्रेस सहमहामन्त्री जीवन परियारले कांग्रेस आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘कांग्रेससमेत रहेको अघिल्लो सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले रवि लामिछानेमाथि अनुसन्धान गराउँदै हुनुहुन्थ्यो । अनुसन्धान जारी रहँदा उहाँ आफैं गृहमन्त्री बन्नुभयो र त्यो अनुसन्धानको प्रक्रिया नै रोकियो । त्यसकारण उहाँको नाम तोकेर नै छानबिन आवश्यक परेको हो ।’

उनले अहिले सत्तापक्षले पहिलेभन्दा केही लचक भएर नयाँ प्रस्ताव ल्याएको तर सहमित भइनसकेको बताए । सत्तापक्षले अघि सारेका मागप्रति कांग्रेस केही लचक भएपनि निष्कर्षमा पुग्न नसकिएको कार्यदलका सदस्य एवं एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

सत्तापक्षले रविको नाम नकिटेर सहकारीको नाम राख्न प्रस्ताव गरेको थियो । तर कांग्रेसले अडान नछाड्दा सहमति जुट्न नसकेको हो । थप छलफलका लागि शुक्रबार बिहान साढे ८ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको उनको भनाइ छ ।

कांग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ । यही माग राख्दै कांग्रेसले अवरोध गर्दै आएको छ । बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कांग्रेसको आरोप छ ।

सदनको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ।

पार्टी सचिवालयको बिहीबार बसेको बैठकले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ। दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भए पनि त्यसको कार्यदेशमा सहमति नहुँदा समिति पनि गठन भएको छैन।

सगरमाथामा एकजना केन्याली आरोहीको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै उनको शव फेला परेको पर्यटन विभागले जनाएको छ ।

उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेमा आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेमा तेस्रो शिविरमा बसेर २० मेमा तेस्रो शिविर पुगेका थिए ।

बुधबार दिउँसो दुई बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो । त्यसक्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

गुलरिया । बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् । 

बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।  

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् । 

काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि जलवायु वित्तीय व्यवस्थापन महत्वपूर्ण रहेकामा जोड दिए ।

उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरूका बारेमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए ।

विशेष गरी ग्लोबल आइएमई बैंक र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन अमेरिकी डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनालाई वित्तीय सहायता प्रदान गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

यसबाट नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनालाई बलियो बनाउनुका साथै लघु, साना तथा मझौला उद्योगलाई लाभ पुर्याइ नेपालको जलवायु प्रतिरोध क्षमता बढाउने उनले स्पष्ट पारे । 

अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको तथा जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी पनि सो अवसरमा दिए । उनले भने,  “जलविद्युतमा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन् र यसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदैछ ।”

विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेको र विद्युतीय सवारी प्रवर्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

पर्यावरणमैत्री पर्यटन र केबलकार परियोजनाहरूको प्रवद्र्धनले पनि कार्बन उत्सर्जन घटाउन र दिगो विकासलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

अध्यक्ष ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार तथा सशक्त सार्वजनिक–निजी साझेदारीका लागि पनि आह्वान गरे । यस किसिमको साझेदारीले नेपालको सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य पूरा गर्न सहयोग पुग्ने उनले बताए ।

क्यानडाले बर्खास्त गर्यो प्रशिक्षक दासानायकेलाई

क्यानडाले राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ । आईसीसी टी–२० विश्वकपको पूर्व सन्ध्यामा क्यानडा क्रिकेट बोर्डले प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको हो ।

केही खेलाडीहरूले लिखित असन्तुष्टि व्यक्त गरेपछि क्यानडा क्रिकेट बोर्डले दासानायकेलाई बर्खास्तीको निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पुवुदु दासानायकेको प्रशिक्षणमा क्यानडाले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो भने टी–२० विश्वकपमा छनोटसम्म यात्रा सहज बनाएको थियो । दासानायकेले नेपालमा पनि राष्ट्रिय क्रिकेट टीमको सफल प्रशिक्षकको भूमीका निर्वाह गरिसकेका छन् । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेके थियो । उनी अमेरिकाका पूर्व प्रशिक्षक पनि हुन् ।

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन् ।

हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उनले बताए ।

देशले अन्वेषणमा विश्वका प्रसिद्ध अन्वेषकहरूलाई आकर्षित गर्ने सक्रिय प्रयास गरिरहेको प्रकाश पार्दै मलिकले पाकिस्तान व्यापारका लागि खुला रहेको र पारदर्शिता बढाउन नियामक प्रक्रियालाई पूर्ण रूपमा आधुनिकिकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

लगानी प्रक्रिया, तेल र ग्याँस अन्वेषणसम्बन्धी जानकारीलाई डिजिटल र सरलीकृत गरिएको उल्लेख यर्दै उनले यस क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरूलाई स्वागत गर्दै आएको उल्लेख गरे ।

देशमा ऊर्जाको बढ्दो मूल्यबारे कुरा गर्दै मन्त्रीले पेट्रोलियम पदार्थको उत्पादन सर्वोच्च प्राथमिकता रहेकाले निर्बाध र किफायती ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

बिजुलीको शुल्क घटाउने विभिन्न प्रस्तावहरू कार्यान्वयन भइरहेका छन् । कुशल पावर प्लान्टहरूमा स्थानीय ग्यास आपूर्ति गरेर, बिजुलीको लागत कम गर्न सकिने उनले बताए । उनका अनुसार टेक्नोलोजी प्रयोग गरेर ग्यास नेटवर्कको व्यापक निगरानीसहित आधुनिक प्रणालीहरू सहरी ग्यासको नोक्सानसँग लड्न प्रयोग भइरहेको छ ।

मन्त्रीले पाकिस्तानको प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग बढाउन आह्वान गर्दै देशको सौर्य ऊर्जा लागतमा उल्लेखनीय कमी आएको बताए ।

थाइल्याण्डमा प्रधानमन्त्री श्रेथाको मुद्दाको सुनुवाइ गर्न अदालत सहमत

थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा सुनुवाई गर्न सहमति जनाएको छ ।

संवैधानिक अदालतले ४० जना सिनेटरले नैतिकतासम्बन्धी नियमअन्तर्गत श्रेथालाई पदबाट हटाउनका लागि दायर गरिएको निवेदनलाई स्वीकार गरेको हो । तर अदालतले प्रधानमन्त्रीको रूपमा श्रेथालाई उहाँको जिम्मेवारीबाट निलम्बन गर्न भनी गरिएको आवेदनलाई अस्वीकार गरेको छ ।

सरकारले सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महिना जेल सजाय भोगेका पिचित चुएनबानलाई हालै मन्त्री नियुक्त गरिएपछि प्रधानमन्त्री श्रेथा विवादमा तानिएका हुन् । यद्यपि, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्व वकिल पिचितले मङ्गलबार मन्त्रीका रूपमा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

न्यायाधीशहरूले ६–३ को मत दिएर निवेदन स्वीकार गरे र श्रेथालाई मुद्दाको जवाफ दिन १५ दिनको समय दिएका छन् ।

सन् २०१४ मा भएको ‘कू’ पछि थाइल्याण्डमा शासन गरेको सेनाप्रति वफादार सरकारले सिनेटका २५० वर्तमान सदस्यलाई नियुक्त गरेको थियो । नयाँ सांसद (सिनेटर) चयनका लागि अर्को महिना तीन चरणमा निर्वाचन हुनेछ ।

थाई सिनेटले गत वर्षको आम निर्वाचनको परिणाम निर्धारण गर्न महत्वपूर्ण भूमिका खेलेको थियो भने यसका कारण आम निर्वाचनमा सबैभन्दा बढी सिट जितेको मूभ फरवार्ड पार्टीले पठाएका पिता लिम्जारोएनरत प्रधानमन्त्री बन्ने अवसर गुमेको थियो । पछि दोस्रो ठूलो दल रहेको थाक्सिनको फेउ थाई पार्टीकी श्रेथाले सेनासँग सम्बन्धित दलसँग मिलेर गठबन्धन सरकार बनाएका थिए ।

मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दैै यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद आवश्यक भएको उनको भनाइ छ । उनले मुलुक स्वेच्छाचारी तानाशाहको चंगुलमा फस्ने सम्भावना देखिएकोले जनतालाई सचेत र सजग हुन आग्रह समेत गरे ।

अध्यक्ष यादवले लोकतन्त्रलाई धरापमा पार्न प्रेस स्वतन्त्रता हनन् गर्ने कार्य शुरु भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले नै हाकाहाकी पार्टी फुटाएको भनेकाले लोकतन्त्रको भविष्य आफुले नदेखेको बताए ।

नेपाली कबड्डी टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन बिहीबार १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

यही मे २६ देखि जुन ३ तारिख (जेठ १३ गतेदेखि २१) सम्म हुने प्रतियोगितामा विभिन्न १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, इराक, मलेसिया र इण्डोनेसिया रहेका छन् भने ‘बी’ मा थाइल्याण्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्याण्ड छन् ।

सहभागी खेलाडीमा घनश्याम रोका मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा छन् ।

टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १०औँ संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १०औँ संस्करणमा चार टिमविरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैङ्गलारु बुल्सविरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् ।

यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान रु आठ–आठ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका महासचिव झाले जानकारी दिए ।

विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसँगै बङ्गलादेश गएका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

सिमकोट (हुम्ला) ।  हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीनजनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकासको सहजकर्ता छन् । 

कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी अहिलेसम्म भर्ना नभएका प्रअ चौधरीले बताए  । बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले अन्य कक्षामा विद्यार्थी भर्ना नभएका उनको भनाइ छ । 

गत वर्षसम्म सातजना विद्यार्थीले विद्यालयमा अध्ययन गरेका भन्दै प्रअ चौधरीले बालविकासमा अध्ययनरत विद्यार्थी पनि नियमित नआउने भएकाले आफूहरु कुरेर विद्यालयमा बस्ने गरेको बताए । विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकसँग पटकपटक आग्रह गरिरहेको उनको भनाइ छ ।

नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले सानै उमेरमा विद्यालय छाड्ने समस्या पालिकाभरि भएको भन्दै बढी अरनिको प्राविमा देखिएको बताए । उक्त विद्यालयलाई तत्काल समायोजना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

अभिभावकले विद्यालयमा भन्दा पनि गुम्बामा पढाउन उपयुक्त ठान्ने गरेकाले यस्तो समस्या आएको बुढाले बताए । उनका अनुसार गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत दुईकोठे भवन निर्माण गरिएको थियो । 

यसअघि विद्यालयसँग भएका तीनवटा भवनको अवस्था पनि स्तरोन्नति गरिएको छ । नाम्खा गाउँपालिकामा विद्यार्थी नभएर विद्यालय बन्द गर्नु परिरहेको छ । यसअघि लिमीका दुई विद्यालय बन्द भइसकेका छन् ।