`

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

मुगु / बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ ।

घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

एमाले एकलौटी सरकार बनाउने अभियानमा लाग्नुपर्छ: अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताए ।

उनले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए । “एमाले यो ठाउँमा अब पराजित हुनुुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जानसक्नुपर्छ”, उनले भने ।

देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले भने,“देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प छैन ।” देशमा एमालेको अगुवाइमा विकासको सुरुवात भएको बताउँदै उनले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए ।

दमकमा पार्टी नेतृत्व सहमतिका साथ चयन गर्न सुझाव दिँदै नभए स्वस्थ निर्वाचनमार्फत पार्टीले जित्ने गरी नेतृत्व चुन्न उनको सुझाव थियो । भोलिसम्म चल्ने अधिवेशनले पार्टीको नगर नेतृत्व चयन गर्ने जनाइएको छ ।

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा विमानस्थलका कर्मचारी घाइते

मुगु ।  मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन् ।

यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम  घाइते भएका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

‘नेपाल-अफ्रिका चलचित्र महोत्सव’ असारमा हुने

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ ।

असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । “नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आइएको छ । महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । सो अवसरमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले भने ।

उनले यही जेठ १५ गतेसम्म नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि समय दिइएको जानकारी दिए । महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

काठमाडौँ ।  ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनःलाभलगायत कामको सम्पर्क निकायका रूपमा कार्य गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्रको स्थापना गरिएको उनले बताए ।

गत माघ ९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । केन्द्र सञ्चालन गर्न १२ कर्मचारीको संरचना बनेको छ । पछिल्लो समयमा विभिन्न देशमा साइबर असुरक्षा बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएको सन्दर्भलाई दृष्टिगत गर्दै केन्द्र स्थापना गरिएको हो । 

नेपालमा पछिल्लो समय साइबर असुरक्षा बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै केन्द्रको स्थापना गरिएको साइबर सुरक्षा शाखा प्रमुख महर्जनले बताए । उनका अनुसार केन्द्रले संवेदनशील सूचना पूर्वाधारको चौबीसै घण्टा अनुगमन, साइबर घटना तथा जोखिम मूल्याङ्कन गर्ने, आकस्मिक रूपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्न प्राविधिक जनशक्तिसहितको आकस्मिक सहायता समूह गठन गर्ने र आकस्मिक रूपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्न प्रदेश तथा स्थानीय तहले आकस्मिक सहायता समूह गठन गर्नेलगायत काम गरेको छ ।

राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ ले गरेको व्यवस्थाअनुसार गठन गरिएको सूचना प्रविधि आकस्मिक सहायता समूहमा आबद्ध प्रतिनिधिका लागि ‘साइबर सुरक्षा पूर्वतयारी अभ्यास’ पनि सञ्चालन गरिएको थियो । 

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा पनि साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उल्लेख थियो । साइबर सुरक्षा केन्द्रसम्बन्धी व्यवस्थाअनुसार साइबर सुरक्षा सेवा प्रदान गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले अनुमतिपत्र लिनुपर्नेछ । अनुमतिपत्रको किसिम, प्रत्येक अनुमतिपत्र प्राप्त गर्न आवश्यक योग्यता, अनुमतिपत्र दस्तुर, अनुमतिपत्र नवीकरण दस्तुर, अनुमतिपत्रका सर्त र सोसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनुपर्ने जनाइएको छ ।

पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

लिस्बन (पोर्चुगल) ।  इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औँ मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । स्पेनको राजधानी म्याड्रिडमा फिफ्टी टप पिज्जाले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

युरोपमा प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १२औँ पिज्जेरिया’ र विश्वभरका नापोलितान पिज्जामध्ये ‘विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरिया’ मा पर्न सफल भई आफ्नो रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको रेष्टुराँका सञ्चालक सापकोटाले जानकारी दिए । 

“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुराँले विदेशीसँगको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दा अत्यन्तै खुसी र गौरवान्वित भएको महसुस गरेको छु, यो सफलताले नेपाल र नेपालीको गौरव बढाएको अनुभूति गरेको छु”, सापकोटाले भने । परिवारको साथ, सहयोग र रेष्टुराँमा कार्यरत सबै कर्मचारीको कडा मेहनत र परिश्रमले यो सफलता प्राप्त भएकोे सापकोटाले बताए ।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को)ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । त्यसमा सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ ।

करिब २७ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याउनुभएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए ।

उनी इटालियन खानामा प्रदर्शन गरेको कला, कौशल र प्रतिभाकै कारण दर्जनौँ पुरस्कारसमेत प्राप्त गर्न सफल भएका छन् । उनी सन् २०१६ मा पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी घोषित भएका थिए । सापकोटाको रेष्टुराँ सन् २०२३ मा समेत उत्कृष्ट १६औँ मा पर्न सफल भई ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ बाट पुरस्कृत भएको थियो ।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालार्ई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएका थिए ।

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ / नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले २८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदैछ ।

छनोट हुने अन्य नेपाली सदस्यहरुमा सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ र सम्झना खड्का छन् ।

यस्तै, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, सङ्गीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट छन् ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती

खोटाङ । किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ । साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।

यहीँ अवसरमा किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । उभौलीको अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएका ठाउँहरूमा पूजाआजा गरिएसँगै महिना दिनसम्म यो चाड मनाउने प्रचलन छ । जिल्लाको किराँत ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

किराँती राई समुदायको घनाबस्ती रहेको माझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै उभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाकाटोपी किराँती मौलिक वेशभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्दछन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला उभौली मनाइन्छ । खुला आकाशमुनि गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाच्ने र एकआपसमा सद्भाव साटेर यो पर्व मनाउने गरिएको छ । बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्दछ । हातखुट्टाको चालले पङ्क्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत हुने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरू प्रदर्शन गरिन्छ ।

साकेला उभौली चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताए । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रकृति र पितृको पूजासँगै मनाइने यो चाडले किराँत र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्याउँछ”, उनले भने, “साकेला अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्ने भएकाले पनि महत्वपूर्ण मानिन्छ ।”

दश स्थानीय तह रहेको खोटाङमा किराँत ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिने साकेला उभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिने अध्यक्ष किराँतले जानकारी दिए । उनका अनुसार समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाच्न लगाउने गरिन्छ ।

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा धुमधामकासाथ मनाउने गरिएको छ । यसलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् । साकेला उभौली चाडको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । आज किराँत समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेको छ ।

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति

गलकोट (बागलुङ) । कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटर सडकमा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डको ४४ किलोमिटरमा कालोपत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ भने मालढुङ्गा–बलेवाखण्डको १० किमी सडकमा पूर्वाधारको कामले तीव्रता पाएको हो ।

बागलुङ खण्डको ५४ किमी सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेका छन् भने बेस बिच्छ्याउने कार्यले तीव्रता पाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए । दुई खण्डमध्ये बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत भौतिक प्रगति र ३६ प्रतिशत वित्तीय प्रगति भएको खत्रीको भनाइ छ । “भुक्तानी दिनसकेमा चालु आर्थिक वर्षमै बलेवा–हर्मिचौर खण्ड कालोपत्र भइसक्ने थियो, प्रगतिअनुसार रकम भुक्तानी गर्न नसक्दा कालोपत्रमा ढिलाइ भएको छ, तर निर्माण कामले तीव्रता पाएको छ, प्रगतिको १४ प्रतिशत रकम भुक्तानी गर्न सकेका छैनौँ”, खत्रीले भने, “आर्थिक वर्ष २०८२÷८३ मा सक्नुपर्ने ठेक्का हो, यही प्रगति भएमा आगामी आर्थिक वर्षमा कालोपत्र सकिन्छ ।”

सुरुबाटै बलेवा–हर्मिचौर खण्डमा तीव्रगतिमा काम भए पनि बलेवा–मालढुङ्गा खण्डको १० किमी सडकमा काम सुस्त थियो । पछिल्लो समय कामले गति दिन थालेको जैमिनीका नगर उपप्रमुख हरिहर शर्माले बताए । निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तोे काममा तीव्रता पाउन नसकेको उनको भनाइ छ ।

बलेवादेखि हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटर लगायतका आधुनिक औजार प्रयोगले सडक निर्माणले परिणाम लिएको शर्माको भनाइ छ । करिडोरले जैमिनीसहित सिङ्गो बागलुङलाई फाइदा पुग्ने शर्माले जानकारी दिए । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारी खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किमी दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्नेछ ।

यस्तै बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । तीन अर्ब ३० करोड लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किमी सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कूल चार सय ३५ किमी लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।

मनाङको सदरमुकाम चामे जाने सडकमै छैन पक्की पुल

मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएो चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो । 

सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन् । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुलले मात्रै आवतजावत गर्न सकिन्छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेसीँसहर चामे सडक आयोजनासँग पटकपटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकिएको बताए । उनले भने, “वर्षा लाग्न थालेको छ, यससँगै काठका पुल बाढीले बगाउँछ, आवतजावत नै रोकिने समस्या फेरि दोहोरिनेछ । एउटा काठेपुल निर्माणका लागि बर्सेनि  पाँच÷सात लाख लाग्छ, अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउन बाध्य छौँ ।” 

आयमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा काठेपुल निर्माणमा खर्चनुपर्ने बाध्यता रहेको अध्यक्ष घलेले बताउनुभयो । सडक निर्माण आयोजना, सङ्घीय तथा प्रदेश सरकारसँग छलफल गर्दा पनि यहाँ पुल निर्माण गर्न नसक्दा आमनागरिकको गुनासो पूरा गर्न नसकिएको उनको भनाइ छ ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले मेरुदण्डको रूपमा रहेको यस सडकमा काठेपुलमात्र हुँदा सवारीसाधन तथा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ । जिल्लाको मुख्य सडकमा मात्र नौवटा काठेपुलको यात्रा गरेर माथिल्लो मनाङका तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थनीय बताउँछन् । बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरुको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सडक आयोजनासँग पुल निर्माणको विषयमा छलफल भइरहेको बताए । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उनले बताए ।

प्रजिअ लामिछानेले भने, “सधैँ काठेपुल सञ्चालन गर्न सम्भव छैन, हामीले सडक आयोजना कार्यलयसँग बोलाएर छलफल गर्यौँ, तर काम भएको देखिँदैन । काठेपुल पनि जीर्ण हुँदै गएका छन्, केही ठाउँमा धान्न नसक्ने भएपछि खोलाबाट नै तर्नुपर्ने अवस्था आएको छ ।” पक्की पुल नहुँदा काठेपुलको यात्रा जोखिम बन्दै गएकाले सरकारको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए ।

जिल्लाका काठेपुल हटाउने गरी पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता भएको डुम्रे–बेसीँसहर–चामे आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । “डिपिआर गर्नका लागि मात्रै सम्झौता भएको छ । बजेट अभावमा अझै उस्तै छ”, उनले भने ।  

अधिकारीका अनुसार यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको र बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम हुनेछ । बोलपत्र आह्वान हुनासाथ निर्माण थालिने योजना रहेको उनले बताए ।
जिल्लाका विभिन्न क्षेत्रबाट आउने यात्रु, पर्यटक तथा सवारीसाधन पक्की पुल नहुँदा काठेपुलको भरमा सञ्चालित छन् । वर्षामा काठेपुलबाट आवतजावत गर्दा थप समस्या र जोखिम हुँदै आएको स्थानीय बताउँछन् ।

ललितपुरका २५ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

पाटन (ललितपुर) ।  ललितपुरमा २५ हजार चार सय ४९ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ । यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने खोप अभियानमा २५ हजार चार सय ४९ बालबालिकालाई आइपिभी खोप लगाइने जनाइएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको जानकारी दिए ।

“ललितपुरका छ स्थानीय तहका बालबालिकालाई १३ गतेदेखि खोप लगाइन्छ । नियमित खोप अभियान पनि सञ्चालन हुने कोञ्ज्योसोम गाउँपालिकामा १४ गते र महाँकाल गाउँपालिकामा १६ गतेदेखि सुरु हुनेछ । बागमती गाउँपालिका, ललितपुर महानगरपालिकाका साथै गोदावरी र महालक्ष्मी नगरपालिकामा १३ गतेदेखि नै सुरु हुनेछ”, अधिकृत कार्कीले भने ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले विद्यालयमा खोप अभियान सञ्चालनका लागि शिक्षा समन्वय एकाइमार्फत विद्यालय तथा निजी अस्पतालसँग समन्वय गर्न आग्रह गरे । उनले नियमित खोप लगाउन छुटेकाहरू फेरि यो अभियानमा पनि छुटे भने त्यसले नकारात्मक असर पार्ने भन्दै खोप लगाउन छुट्दा उत्पन्न हुने समस्याबाट सृजना हुने अवस्थाको अन्त्य गर्न आपसी समन्वय गर्नुपर्नेमा जोड दिए । 

प्रमुख जिल्ला अधिकारीले ललितपुरलाई पोलयोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न र स्थानीय तहसँग समन्वय र प्रचारप्रसारलाई प्रभावकारी बनाउन आग्रह गरे ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभीको अभाव हुँदा नेपालमा उपलब्ध नभएको बताए । खोप अभावका कारण यसअघि देशभरका कतिपय बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटकमा १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था सरकारले गरेको । सो अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप दिने व्यवस्था गरिएको उनले बताए ।

डब्लुएचओका प्रतिनिधि डा निमेश खतिवडाले नेपालमा अझैसम्म पनि चार प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन नसकेको अवस्था रहेको र १६ प्रतिशतले आंशिक खोप पाउन सकेका जानकारी दिए । “विसं २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मेका बालबालिका अहिले पाँच वर्ष आठ महिनादेखि आठ वर्ष एक महिनासम्मका उमेरका भएका छन् । उनीहरूलाई नियमित खोप अभियानमा दिन बाँकी रहेको आइपिभी खोप अहिले अभियान सञ्चालन गरेर दिनुपरेको हो”, उनले भने ।

सन् २०१० अर्थात् विसं २०६७ पछि नेपालमा पोलियो देखिएको छैन भन्दै डा खतिवडाले हालसम्म पनि पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखापरिरहेकाले सोको असर यहाँ पनि देखा नपरोस्, र पोलियो उन्मूलन होस् भन्ने उद्देश्यले अतिरिक्त अभियान सञ्चालन गर्नुपरेको जानकारी गराए । 

पोलियो भएकामध्ये तीन प्रतिशत बालबालिकालाई पक्षघात हुने डा खतिवडाले जानकारी दिए । सोको उपचार नभएकामा सङ्क्रमण हुनसक्ने भन्दै संक्रमणबाट जोगाउन बालबालिकालाई खोप दिने गरिएको उनको भनाइ छ ।

दक्षिण कोरियाद्वारा चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना घोषणा

दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हुन् ।

दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू रहेका छन् । दक्षिण कोरियाले गत वर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठूलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ कार्यक्रमबारे राष्ट्रपति युनले भने, “हामीले २६ ट्रिलियन कोरियन वोन बराबरको सेमीकन्डक्टर उद्योगको लागि एक व्यापक सहयोग कार्यक्रम बनाएका छौँ । यसमा वित्तीय, पूर्वाधार, अनुसन्धान र विकास, साथै साना र मझौला आकारका कम्पनीहरूको लागि सहयोग समावेश छ ।”

यो प्याकेजमा यसै महिनाको सुरुमा घोषणा गरिएको सात अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ । युनले सियोलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताए ।

कार्यक्रम अनुसार सियोलको बाहिर भागमा ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण गरिरहेको छ । कोरिया सरकारले यो विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौं रोजगारी सिर्जना गर्ने दावी गरेको छ ।

युनले भने, “तपाईंहरू सबैलाई थाहा छ, सेमीकन्डक्टर उत्पादन राष्ट्रिय विकासका लागि अवसर र चुनौतीको क्षेत्र हो । यसले अर्थतन्त्र र समाजलाई सशक्त बनाउँदै यसले कोरियाली आवश्यकता अनुसार पूर्णतया हतियार निर्माणका समग्री र हतियार निर्माणमा पनि सहयोग गर्नेछ ।”

उनले भने, “जीत वा हार उच्च सूचना संस्करण क्षमताको साथ अत्याधुनिक सेमीकन्डक्टरहरू कसले बनाउँदछ भन्नेमा निर्भर गर्दछ । सेमीकन्डक्टरलाई राज्यले सहयोग गर्नुपर्छ ताकि उनीहरू प्रतिस्पर्धीभन्दा पछि नपरून् ।”

नयाँ प्याकेजका लागि कोरिया विकास बैंक मार्फत ‘१७ ट्रिलियन वोनको नयाँ सेमीकन्डक्टर वित्तीय सहायता कार्यक्रम’ सञ्चालन हुनेछ, जसले कम्पनीहरूलाई महत्त्वपूर्ण नयाँ लगानी गर्न अनुमति दिनेछ ।

“कम्पनीहरूले नयाँ कारखाना र लाइन विस्तारजस्ता सुविधाहरूमा ठूलो रकम लगानी गर्दा तरलताको समस्या उत्पन्न हुन्छ तर कोरिया विकास बैंकको सहयोग कार्यक्रममार्फत यी समस्याहरु धेरै हदसम्म समाधान हुनेछन् भन्ने मलाई विश्वास छ,” उनले भने ।

यो योजनाले एक ट्रिलियन वोन बराबरको ‘सेमीकन्डक्टर पारिस्थितिक कोष’ पनि सिर्जना गर्नेछ । यसले फ्यावलेस (हार्डवेयर यन्त्र र अर्धचालक चिपहरूको उत्पादन र बिक्री) का क्षेत्रमा काम गर्ने कम्पनी र उद्योगसँग सम्बन्धित साना र मझौला उद्यमहरूलाई सहयोग गर्नेछ ।

“हाम्रो फ्याबलेस बजार हिस्सा अझै पनि एक प्रतिशतको दायरामा छ, र प्रणालीगत सेमीकन्डक्टरहरू उत्पादन गर्दछ र टीएसएमसीजस्ता अग्रणी कम्पनीहरूसँगको अन्तरलाई बन्द गर्न असमर्थ छ,” यूनले भने ।

यसै महिनाको सुरुमा सियोलले आफ्नो चिप उद्योगलाई सहयोग गर्न सात अर्ब डलरभन्दा बढीको सहायता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो । यो योजना एशियाको चौथो ठूलो अर्थतन्त्र मानिने दक्षिण कोरियाका लागि महत्वपूर्ण सेमीकन्डक्टर क्षेत्रलाई बढावा दिने अभियानको एक हिस्सा हो ।

कोरियाली सरकारले चिप्स, डिस्प्ले र ब्याट्री सहित छ वटा प्रमुख प्रविधिमा ठूलो लगानी गर्न खोजिरहेको बेला यो कदम चालिएको हो ।

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको आज उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ ।
बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो ।

उनको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो ।

इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ ।

अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि राईसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ ।

राजधानी तेहरानमा बुधबार दिवङ्गत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् ।

बुधबार तेहरानमा भएको श्रद्धाञ्जलि सभामा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दुर्घटनामा ज्यान गुमाएका राष्ट्रपति रायसी र अन्य आठ जनाको कफिनअगाडि घुँडा टेकेर उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए ।

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

काठमाडौँ / प्रतिनिधिसभा सदस्य डा. आरजु देउवा राणाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् । बुधबारदेखि यहाँ सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् ।

जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरुको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्, “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरुपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।”

पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्वपूर्ण छ, उहाँहरुले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ”, उनले भनिन्, “जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्छ ।”

सर्वोच्चबाट मुद्दा किनारा नलागेसम्म गण्डकी प्रदेशसभा बैठकमा सहभागी नहुने कांग्रेसको निर्णय

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्च अदालतले मुद्दा किनारा नलगाएसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बिहीबार विज्ञप्ति जारी गरी मुद्दा किनारा नलागेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने जानकारी गराएका हुन् ।

सर्वोच्चमा दायर रिटको निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेसले निर्णय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अदालत अन्तिम फैसला आउन बाँकी रहेको र २०८१ वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको समयमा अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ सरकारले मिति २०८१ जेठ ११ गते अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरेर आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ ।’

वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत आए पनि सभामुख धितालले मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेका थिए।

कैलाश सिरोहियामाथि लगाएको आरोप निराधार : नेता निधि

जनकपुर / नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कैलाश सिरोहियामाथि लगाएको आरोप निराधार भएको बताएका छन् । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताएका हुन् ।

सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न उनले माग गरेका छन् । गृहमन्त्रीको दुईवटा नागरिकता रहदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले अहिले सिरोहियामाथि सोहि आरोप लगाइनु गलत भएको धारणा राखे । उनले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दावी गरे ।

सहकारी प्रकरणमा छानविन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको उनले बताए । निधिले सरकार राज्यलाई कव्जा गर्ने नीतिका साथ अघि बढेको भन्दै शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने जानकारी दिए । कैलाश सिरोहियालाई भेट्न नेता नीधि जनकपुर पुगेका हुन् ।

ढोरपाटनमा यसवर्ष  १० नाउर र सात झारलको सिकार

गलकोट (बागलुङ) । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ ।  

दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए  । 

सूचना अधिकारी अधिकारीका अनुसार विदेशी सिकारीले नाउर सिकारका लागि प्रतिस्पर्धाका आधारमा २१ लाख राजस्व बुझाएको र एक झारला लागि अधिकतम रु १८ लाख राजस्व बुझाएका थिए । उनले भने,“दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले अनुमति पाएका थिए ।’

यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी छनोट भएका थिए । सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन  १८ गतेदेखि  सिकार खेल्न सुरु गरेका थिए । 

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनुभएको आरक्षका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि  कोटा निर्धारण गर्छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिरमा आठ नाउर, चार झारल र आठ बनेलको सिकार गरिएको थियो । सिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । 

आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एड्भेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाइफ सफारिजमार्फत सिकारी सिकार खेल्न अनुमति पाएका थिए । 

यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा सिकार भएको जनाइएको छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

विस २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ ।

चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ ।  छिमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन  गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर (जिआइटीएफ)मा सक्रिय सहभागी भइ नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

हाल ग्वान्जाओबाट चीनको साउदर्न एयरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ । आगामी जुन १ देखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि कोरोना महामारी अघि तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न प्रभावकारी बजारीकरण जरुरी रहेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेससिंह बुडालले बताए । “चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरूले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवर्द्धन प्रभावकारी बनाउन जरुरी छ”, उनले भने ।

नेपालका निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहितको सहभागिता रहेको व्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजारभन्दा बढी जनाले सहभागिता जनाएका थिए ।

पर्यटन बोर्डले मे १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना ‘आउटबाउण्ड रिसर्च इन्टिच्युट’बाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षकमा गोल्ड अवार्ड र जिआइटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त गरेको थियो । सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरेको छ ।

मे १७ तारिखमा आयोजित जिआइटीएफ ‘कन्फ्रेन्स’मा पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरूका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षकअन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाएका थिए । उक्त सेशनको सहजीकरण मकाउ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा टिमुदी लीले गरेका थिए ।

मेलामा सहभागी नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले मेलामा नेपाल गन्तव्य प्रवर्द्धनका साथै पर्यटन व्यवसाय प्रवर्द्धनका हिसाबले प्रभावकारी भएको विश्वास व्यक्त गरे ।  डेस्टिनागो टुर्स एण्ड ट्राभल्स प्रालिका कार्यकारी निर्देशक हिम्मत पुरीले महामारीपश्चात पहिलोपटक जिआइटीएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनः जोडिने अवसर मिलेको बताए ।

होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवर्द्धन पुनः सुरु गर्न कोसेढुङ्गा भएको बताए । चिनियाँ बजारमा नेपालको प्रवर्द्धनका लागि ‘सिट्रीप’, ‘टिकटक’, ‘विच्याट’ इत्यादिजस्ता विभिन्न अनलाइन प्लेटफर्महरूमा नेपालको डिजिटल उपस्थिति र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई शेखर कोइरालाको आग्रह

काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताएका छन् । बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताएका हुन् ।

उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरेका छन् । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे ।

उनले कैलाश सिरोहीयालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका बिषयमा पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने बताए ।

कार्यक्रममा गोविन्दचन्द्र क्षेत्री, गिरिराज आचार्य, हर्षसुब्बा लगायत वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

सरकार बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील छः प्रधानमन्त्री

लुम्बिनी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन्  ।

२५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शनरअवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताए ।

उनले भने, “वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।”

नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

“बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ”, प्रधानमन्त्री दाहालले भने, “लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।”

उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए । “पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भने, “मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।”

मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे । 

प्रधानमन्त्रीले भने, “अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ ।” 

बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । उनले भने, “यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ ।” 

उनले  बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवर्द्धनतर्फ केन्द्रित गर्न निर्देशन दिए । नेपाल सरकारले सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिट्टै आयोजना गरिनेसमेत जानकारी दिए 

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।

नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउँछन् । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उनले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिए ।

पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउँछन् । हाल एउटा अण्डा तयार गर्न १६ रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य १४ रुपैयाँ ५ पैसा थियो ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्काे गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउँछन् । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उनी बताउँछन् ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउँछन् । उनले भने, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”

मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए ।

नवलपरासीमा दुर्लभ पाटे बाघ मृत फेला

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ ।

बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृत भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए ।

“विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०/१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ भेटिएको हामीलाई खबर आएको थियो”,उनले भने, “स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको हो ।”

बाघको पछिल्लो भागमा जङ्गली जनावरले टोकेको जस्तो चोट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । मृत बाघलाई घटनास्थलबाट सब डिभिजन वन कार्यालय दम्किबास लगिएको र आज परीक्षण गरिने उनले जानकारी दिए । बर्दघाट सुस्तापूर्वमा गत फागुनयता योसहित तीन वटा दुर्लभ पाटे बाघ मरेका छन् ।

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

बौद्ध दर्शनका प्रवर्तक एवं राष्ट्रका गौरव गौतमबुद्धको जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

“शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।

‘फर्की फर्की’ को प्रिमियर शोमा हरिवंशदेखि बालेनसम्म

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरेको छ ।

राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए ।

अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको नेपाली फिल्म बनेको महशुस भएको बताए । अभिनेता तथा निर्माता हरिहर अधिकारीले फिल्मले आफ्नो मन छोएको बताए ।

अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका फिल्म दर्शकले हेर्न नपाईरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताए । ‘फिल्ममा नयाँ प्रयोग पाएँ । अनमोलको अभिनय गज्जब लाग्यो ।निर्माता सुनिलकुमार थापाले ठूलो क्यानभासमा फिल्म एकदमै राम्रो बनेको बताए ।

फिल्मका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले फिल्म हेर्न नपाए पनि फिल्म हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए । फिल्म हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए ।

बेलायतमा ४ जुलाईमा आमनिर्वाचन

बीबीसी । बेलायतमा आगामी ४ जुलाईमा आानिर्वाचन हुने भएको छ । प्रधानमन्त्री ऋषि सुनकले बुधवार साँझ आमनिर्वाचनको मिति प्रस्ताव गर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षम हुने आशा व्यक्त गरेका छन् ।

कन्जरभेटिभ पार्टी वितेका १४ वर्षको सत्ता राजनीतिपछि यसपटक विपक्षी लेबर पार्टीसँग पराजित हुने अड्कल काटिएको छ । प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजा चाल्र्स तृतियसमक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचनका सबै ढोकाहरु खुल्नेछन् ।

बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले आफ्नो कार्यालय डाउनिङ स्ट्रिटबाट झमझम पानी परिरहेको बेला मिति नै घोषणा गरिदिएका थिए । सुनककै पार्टी भने यसपटक विपक्षीसँग प्रष्पिर्धामा पछि परिने विश्लेषण गरिरहेको छ । उसले आउँदो निर्वाचनलाई जोखिमपूर्ण भनेर आफैंले टिप्पणी गरेको छ ।

सन् १९९७ मा पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको नेतृत्वमा डाउनिङ स्ट्रिटको ढोकाबाहिर प्रदर्शनकारीहरूले बजाएको लेबरको चुनावी विजयको गान सुनेका सुनकले आफूले प्रधानमन्त्रीका रूपमा मात्र नभई पूर्व सरकारका उपलब्धिहरू पनि गणनायोग्य रहेको बताएका छन् ।

सुनक मत सर्वेक्षणमा लेबरभन्दा धेरै पछि परेको मात्र होइन, आफ्नो पार्टीका केही व्यक्तिहरूबाट केही हदसम्म अलग्गिएर चुनावी मैदानमा उत्रेको विश्लेषण गरिएको छ ।

सुनकले झन्डै तीन वर्षमा घट्दो मुद्रास्फीति र अर्थतन्त्रको तीव्र गतिमा बृद्धि हुने जस्ता केही आर्थिक लाभका कारण अब जोखिम मोलेर नयाँ कार्यकालका लागि आफ्नो एजेन्डा औपचारिक रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने समय आएको बताएका छन् ।

महिलाहरूले तान्दै रातो मच्छिन्द्रनाथको रथ

ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर लगिँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा ‘याक मिसाया भूज्या’ भनिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

राँझा (बाँके) । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।

युरोपा लिगको उपाधि इटालियन क्लबलाई

काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक गर्न सफल भए । खेलको १२औं मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । उनले डेभिड जापाकोस्टाको सहयोगमा गोल गर्दै सुरुआती अग्रता दिलाए । २६औं मिनेटमा लोकमनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एटलान्टा पहिलो हाफमा २–० को सहज अवस्थामा पुगेको थियो ।

यस्तै, खेलको ७६औं मिनेटमा लोकमनले ह्याट्रिक पूरा गरेपछि एटलान्टा च्याम्प्यिन बन्नका लागि औपचारिकता मात्रै बाँकी रहेको थियो । त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले बुद्धलाई भगवानको रुपमा पुज्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन गरेका थिए ।

बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई पनि उनले सम्बोधन गरेका थिए ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको .लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको सन्तानको रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका अनौं दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको बताइन्छ ।

बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ ।

आज बुद्ध जयन्ती र उँभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको ७ निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले ७ बुँदे निर्णय गरेको छ । बुधबार बसेको संयुक्त बैठकले ७ बुँदे निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बैठकले सहकारी पीडितको बचत फिर्ता नभएसम्मसडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

बैठकले सहकारी पीडितको बचत फिर्ताको माग र ठगीमा संलग्न रहेकामाथि अनुसन्धान गर्न माग गर्दै यही १३ गते विशाल प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै कांग्रेसले संसदमा सभामुखले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ । प्रधानमन्त्रीले संसदबाट जबर्जस्ती विश्वासको मत लिएको र त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप छ ।

राप्रपाले भन्यो-कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्छ, गृहमन्त्रीमाथि छानबिन होस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि छानबिन गर्न माग गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कानुन सर्वसाधारण र मन्त्रीलाई समानरुपमा लागू हुनुपर्ने बताएको हो ।

त्यस्तै बैठकले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष केलाश सिरोहियामाथि बदलाको भावले नभई निष्पक्ष न्यायिक छानबिन गर्न माग गरेको छ ।

उसले भनेको छ, ‘कान्तिपुर मिडिया ग्रुका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरूपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’

सहकारी ठगीमा गृहमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गर्न माग गरेको छ ।

विभागका प्रमुख देवेन्द्रराज कँडेलद्वारा जारी विज्ञप्तिमा लामिछानेमाथि कारबाही गर्न सरकारसँग माग गरिएको हो । बुटवलको सुप्रिम, पोखराको सुर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ९५ करोड ८१ लाख रुपैयाँ गैरकानुनी रूपमा लगानी भएको भन्दै उक्त प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारण जनताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकमको ठूलो हिस्सा सहकारी ऐन २०७४ र नियम २०७५ विपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी रूपमा अपचलन गरेको र सो अपचलनमा तत्कालीन कार्यकारी प्रमुख हालका गृहमन्त्री लामिछानेको संलग्नता देखिएको हुँदा उनीमाथि छानबिन गरी कारबाही हुनुपर्दछ ।’

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा कँडेलले बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

सम्झौता भएपश्चात विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७/३५ प्रतिशत रहेको छ । सम्झौताअनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

सो अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, बैंकका सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २८७ शाखा कार्यालय, तीन सय आठ एटिएम र ७१ एक्स्टेन्सन काउण्टर रहेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कोशीमा केदार कार्की मुख्यमन्त्री नियुक्ति हुँदादेखिकै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ ।

हाल हिक्मत कार्कीको नेतृत्वमा गठित कोशी सरकार संविधान विपरीतको भएको भन्दै बर्खास्तीमा परेका मुख्यमन्त्री केदार कार्कीले न्यायका लागि दिएको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

संविधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री बनेका केदार कार्की कायम रहेकै बेला प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

त्यसविरुद्ध केदार कार्कीले बैशाख २७ गते रिट दायर गरेका थिए । उनको रिटमा सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

बुधबारको सुनुवाइमा विपक्षी बनाइएका हिक्मतकुमार कार्कीका तर्फबाट उपस्थित अधिवक्ताहरुले संवैधानिक इजलास माग गरेका भए पनि यो मुद्दा लम्ब्याउनु उचित नहुने भन्दै रिटकर्ता केदार कार्की पक्षले सुनुवाइ अघि बढाउन माग गरेको थियो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए । २७ बैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ बैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

कार्कीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि त्यसले संवैधानिक संकटको निरुपण गर्नुपर्ने देखिएको छ ।

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश खारेज गरेको हो ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । महान्याधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेको नाममा सहकारीसम्बन्धी उजुरी कहिँकतै नरहेको पत्र जारी गरेको थियो ।

इजलासले दरपीठको निर्णय बदर गरिदिएपछि उक्त रिट अब सर्वोच्चमा दर्ता हुने भएको छ । तल्ला निकायहरूमा अनुसन्धान भएको र हुन सक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा महान्यायाधिवक्ताले सफाइसरहको पत्र जारी गर्न नपाउने भएकाले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर गर्न रिटमा माग गरिएको छ।

चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

काठमाडौं । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि यो समस्या समाधान भएको हो ।

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३ जना बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो।

तर, अन्तिम सूचिमा १२ जनाको मात्रै नाम आएको थियो। यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् ।

यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कूटनीतिक नोट मार्फत नै जानकारी दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीहरूमा अन्यौलता छाएकोमा समस्या समाधान गर्न अहोरात्र खटिने सबै जनाप्रति कृतज्ञता व्यक्त गरेकी छन् । बुधबार नै सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूसँग संवाद समेत गरेकी थिइन् ।

खुसी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरुलाई मन्त्री सुमना श्रेष्ठले शुभकामना दिइन्। ‘नयाँ ठाँउमा नयाँ सँस्कृतिमा घुलमिल हुन समय लाग्छ। आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला। मिहेनत गरेर सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला।’ – मन्त्री श्रेष्ठले भनिन् ।

‘परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठज्यू, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूतज्यू, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूतज्यू र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु। यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने संघीय सदनका माननीय सदस्यज्यूहरुलाई पनि धन्यवाद छ। विद्यार्थीहरूको गुनासो आएकैदिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु।’ – मन्त्री श्रेष्ठले भनिन् ।

सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासद्वारा अस्वीकार

काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार लामिछानेले सामाजिक संजालमार्फत दूतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन् । सन्दीप टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका थिए ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FSandeepLamichhaneOfficial%2Fposts%2Fpfbid024yTzKgS5gzKmQJqun5ae1GGQf4Z2UoGcf63qtdKqKGoxpu8LRSop4MnKt77TUZTTl&show_text=true&width=500&is_preview=true

अमेरिकी दुतावासले सन्दीपलाई दिएन भिसा

क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी –२० विश्वकप खेल्नबाट रोकिने अवस्था सिर्जना भएको छ । विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने तयारीमा रहेका लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । नेपाल क्रिकेट संघ क्यानले उनलाई अमेरिका पठाउन सबै प्रकृया अघि बढाइएको बताइँरहँदा दुतावासले उनलाई भिसा दिन इन्कार गरेको हो ।
उनले यसबारेमा जानकारी दिँदै सामाजिक संजालमा लेखेका छन्, ‘उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको लागि मेरो भिसा अस्वीकार गरे । दुर्भाग्य। नेपाल क्रिकेटका सम्पुर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’

यसउसंगै विश्वकप क्रिकेटमा समर्थक तथा क्रिकेट पारखीले सन्दीपलाई देख्न पाउने संभावना क्षिण हुँदै गएको छ । बालिका बलात्कार मुद्धामा केही दिनअघिमात्रै उच्च अदालत पाटनबाट सफाई पाएका लामिछानेलाई आइसीसी टि–२० विश्वकप खेल्न बाटो खुलेको थियो । बलातकार मुद्धामा जिल्ला अदालतले सजाय तोकेपनि उच्चले उक्त फैसला उलटाएको थियो । उनीविरुद्ध मुद्धा दर्ता भएपछि क्यानले उनलाई निलम्बन गरेको थियो । तर, उच्च अदालतबाट सफाई पाएपछि उक्त निलम्बन फुकुवा गरी अमेरिका पठाउन तयारी गरिरहेको बेला अमेरिकी दुतावासले उनलाई भिसा दिन इन्कार गरेको हो ।

चीनसँग जोडिएको ताप्लेजुङको टिप्ताला नाका खुलाउने तयारी

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । 

गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । 

चीनका तर्फबाट तयारी पूरा नभएकाले गत वैशाख २५ गते नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, “चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन । यही महिना भित्र खुल्ने गरी तयारी भयरहेको छ ।”

नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकालाई व्यापारका लागि अध्ययन गर्न अनुमति दिनेगरी समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनका अनुसार नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनालले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् ।

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको–६ लेलेप र फक्ताङ्लुङ–७ ओलाङचुङगोला क्षेत्रका साथै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिक अनुमति लिएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना सङ्क्रमणपछि टिप्ताला नाका बन्द गर्दै आएको थियो । पाँच हजार दुई सय मिटर उचाइको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको टिप्ताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका विषयमा त्यहाँका अधिकारीसँग छलफल गरेको आचार्यले बताए ।

ओलाङचुङगोला, लेलेप र पापुङमा गरी करिब २४ जना नागरिक नाका बन्दका कारण लामो समयदेखि आफ्नो माइतीघरसम्म जान पाएका थिएनन् ।

प्रजिअ आचार्यका अनुसार टिप्ताला नेपाल–तिब्बतको महत्वपूर्ण व्यापारिक नाका भएकाले द्विदेशीय व्यापार प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ । “व्यावसायिक हिसाबले यो नाका महत्वपूर्ण छ”, उनले भने, “यसलाई उपयोग गर्नेगरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ ।”

नाका समयमै खुल्न नसक्दा सीमावर्ती बस्तीका समुदायले सास्ती खेप्दै आएका छन् । आलोचुङगोलामा उत्पादन गरिएको गलैँचा तिब्बती बजारमा बढी मूल्यमा बिक्री हुनेमा लामो समयसम्म नाका बन्द हुँदा यहाँ उत्पादित गलैँची बिक्रीमा समस्या हुँदै आएको स्थानीय बताउँछन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय पुख्र्यौली पेसा पशुपालनमा (याक) निर्भर हुँदै आएका छन् । चीनका बजारमा चौँरीयाकहरुको माग अत्यधिक हुने मिक्वाखोला–५ का चौँरीयाकपालक मिलन दोर्जेले बताउनुभयो । लामो समय चीनतर्फ चौँरीयाक निर्यात हुन नसक्दा आर्थिक सङ्कट समेत आएो उनको भनाइ छ ।

टिप्ताला नाका खुलाउने तयारी

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेका थिए । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो ।

चीनका तर्फबाट तयारी पूरा नभएकाले गत वैशाख २५ गते नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, “चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन । यही महिना भित्र खुल्ने गरी तयारी भइरहेको छ ।” नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकालाई व्यापारका लागि अध्ययन गर्न अनुमति दिनेगरी समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनका अनुसार नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनालले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् ।

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको–६ लेलेप र फक्ताङ्लुङ–७ ओलाङचुङगोला क्षेत्रका साथै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिक अनुमति लिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना सङ्क्रमणपछि टिप्ताला नाका बन्द गर्दै आएको थियो । पाँच हजार दुई सय मिटर उचाइको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको टिप्ताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका विषयमा त्यहाँका अधिकारीसँग छलफल गरेको आचार्यले बताए ।

ओलाङचुङगोला, लेलेप र पापुङमा गरी करिब २४ जना नागरिक नाका बन्दका कारण लामो समयदेखि आफ्नो माइतीघरसम्म जान पाएका थिएनन् । प्रजिअ आचार्यका अनुसार टिप्ताला नेपाल–तिब्बतको महत्वपूर्ण व्यापारिक नाका भएकाले द्विदेशीय व्यापार प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको छ । “व्यावसायिक हिसाबले यो नाका महत्वपूर्ण छ”, उनले भने, “यसलाई उपयोग गर्नेगरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ ।”

नाका समयमै खुल्न नसक्दा सीमावर्ती बस्तीका समुदायले सास्ती खेप्दै आएका छन् । आलोचुङगोलामा उत्पादन गरिएको गलैँचा तिब्बती बजारमा बढी मूल्यमा बिक्री हुनेमा लामो समयसम्म नाका बन्द हुँदा यहाँ उत्पादित गलैँची बिक्रीमा समस्या हुँदै आएको स्थानीय बताउँछन् । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय पुख्र्यौली पेसा पशुपालनमा (याक) निर्भर हुँदै आएका छन् । चीनका बजारमा चौँरीयाकहरुको माग अत्यधिक हुने मिक्वाखोला–५ का चौँरीयाकपालक मिलन दोर्जेले बताए । लामो समय चीनतर्फ चौँरीयाक निर्यात हुन नसक्दा आर्थिक सङ्कट समेत आएो उनको भनाइ छ ।