`

नेप्सेमा १५ अंकको बृद्धि, पाँच अर्ब ६८ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ । आज बैंकिङ, विकास बैंक, होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

बजार बढेको दिन तीन सय १८ वटा कम्पनीका एक करोड ४४ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला

गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उहाँको तस्वीर बोकेर भेला भएका इरानी सञ्चारमाध्यमले देखाएका छन् ।

अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा राईसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा गरेको हो । खामेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च नेताका रूपमा अपेक्षा गरिएका राईसी ६३ वर्षका थिए ।

राजधानीमा दिवङ्गत राष्ट्रपति रायसीलाई ‘सेवाका शहीद’ भनेर प्रशंसा गर्दै ठूल्ठूला ब्यानर टाँगिएका छन् भने उनीहरूले आफूहरू ‘विपन्नका सेवक’ नेताको अन्तिम बिदाइमा सरिक हुन उपस्थित भएको जनाएका छन् ।

विदेशी उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहने उक्त जुलुस विश्वविद्यालयबाट निस्केर शहरको मध्यभागमा रहेको विशाल एन्घेलाब स्क्वायरमा जाने योजना रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ताब्रिज शहर र कोम कोमको शिया लिपिक केन्द्रमा हजारौँको सङ्ख्यामा कालो पहिरनमा शोक मनाइरहेका मानिसको उपस्थितिमा दिवङ्गत राष्ट्रपति र उहाँको भ्रमण दलमा रहेको टोलीको अन्त्येष्टि संस्कार मङ्गलबारदेखि सुरु भएको हो ।

तेहरानबाट शवलाई दक्षिण खोरासान प्रान्तमा लगिने छ र त्यसपछि उत्तरपूर्वमा रहेको राईसीको गृह नगर मशादमा लगिनेछ, जहाँ बिहीबार साँझ इमाम रेजा दरगाहमा इस्लामिक परम्परा अनुसार अन्तिम संस्कारपछि उहाँको अन्त्येष्टि गरिनेछ ।

खामेनीले इरानी संविधान अनुसार राष्ट्रपति रायसीको मृत्युपछि उहाँको सम्मानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई आगामी जुन २८ मा हुने निर्वाचनसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोकेका छन् ।

इरानले शीर्ष आणविक वार्ताकार अली बागेरीलाई कार्यवाहक विदेशमन्त्रीको जिम्मेवारी दिएको छ ।इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले हेलिकप्टर दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् ।

इरानको आणविक गतिविधिलाई लिएर अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्र धरासायी भइरहेका बेला रायसी सन् २०२१ मा उदारवादी हसन रौहानीको स्थानमा राष्ट्रपति निर्वाचित भएका थिए ।

गाजामा हवाई आक्रमणबाट दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु

हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् ।

उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गरेका थिए । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकू मारिएका छन् ।

लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति भएकाले एन्टी–ट्याङ्क मिसाइलहरू आईडीएफ एकाइहरूका लागि रकेटभन्दा बढी खतरनाक हुन्छन् ।

यसबाहेक, इजरायली वायु सेनाका लडाकु विमानहरूले आईडीएफ दक्षिणी कमान्ड र इन्टेलिजेन्स विङको निर्देशनमा उत्तरी गाजा पट्टीको डार्ज टफाह क्षेत्रको फाहमी अल्जेरजावई विद्यालय परिसरबाट सञ्चालन गरिरहेका पाँच हमासलाई मारेका थिए ।

गाजाको जनसङ्ख्यालाई आफ्नो अनुकुल प्रयोग गर्दा हमासले नागरिकहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गरेको र खान युनुसको कारबाहीमा हमास नेताको मृत्यु हुनुले यसलाई पुष्टि गरेको आईडीएफले जनाएको छ ।

म्यान्माको सशस्त्र समूहको उत्पीडनमा परी हजारौँ रोहिङ्ग्या विस्थापित

म्यान्माको अराकान आर्मीले गत नोभेम्बरमा सेनाप्रति बफादार (जुन्टा) सरकार र सेनामाथि आक्रमण गरेपछि रखाइनमा झडप हुँदा हजारौँ अल्पसङ्ख्यक रोहिङ्ग्या विस्तापित भएका समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका म्यान्माका अधिकारकर्मीले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले बढ्दो हिंसाका कारण रोहिङ्ग्या समुदाय समस्यामा परेको बताएको एक दिनपछि अधिकारकर्मीहरूले म्यानमाको जातीय सशस्त्र समूह अराकान आर्मीका कारण पश्चिमी रखाइन राज्यमा उत्पीडन बढेको र हजारौँ अल्पसङ्ख्यक विस्थापित भएको आरोप लगाएका हुन् ।

अराकान आर्मीले गत नोभेम्बरमा जुन्टा सेनामाथि आक्रमण गरेपछि रखाइनमा तनाव बढेको छ र यसले सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि जारी युद्धविराम अन्त्य भएको छ ।

उत्पीडनमा परेका रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका करिब छ लाख सदस्य रहेको राज्यमा जातीय रखाइन जनसङ्ख्याका लागि थप स्वायत्तताका लागि सङ्घर्ष गरिरहेको अराकन समूहले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको सेनाको कारबाहीका क्रममा लाखौं रोहिङ्ग्याहरू रखाइनबाट भागेका थिए ।

विभिन्न रोहिङ्ग्या सङ्गठनले विदेशबाट जारी गरेको संयुक्त वक्तव्यमा अराकन लडाकुहरूले गत हप्ता रोहिङ्ग्या बासिन्दालाई बुथिडाउङ शहर छोड्न बाध्य पारेको र त्यसपछि उनीहरूका घरहरू जलाएको र लुटपाट गरेको उल्लेख छ ।

अराकन लडाकुहरूले रोहिङ्ग्यालाई उनीहरूकोे नियन्त्रणमा रहेको क्षेत्रमा नबस्न निर्देशित गरेको बताइएको छ ।

वक्तव्यमा रोहिंग्या समुदायमाथि भइरहेको ‘जबर्जस्ती विस्थापन र मानव अधिकार उल्लङ्घन’ अन्त्य गर्न सशस्त्र समूहलाई आह्वान गरिएको छ ।

अराकन आर्मीले रखाइन राज्यमा पहिलो बिजयको घोषणा गर्दै गत हप्ता बुथिडाउङलाई आफ्नो कब्जामा लिएको थियो ।

उसले शहरका बासिन्दालाई त्यहाँबाट बाहिर जान चेतावनी दिएको र त्यसपछि मानिसहरूलाई सुरक्षित स्थानमा जान सहयोग गरिरहेको बताएको छ तर विस्तृत विवरण दिएको छैन ।

अराकन समूहले बुथिडाउङलाई पारेको र आफूसँग लड्न ‘बङ्गाली मुसलमानहरू’ भर्ती गरेर ‘जातीय र धार्मिक हिंसा’ भड्काएको आरोप लगाएको छ ।

रोहिङ्ग्याहरूले ‘बङ्गाली’ शब्दलाई बौद्ध बहुल म्यान्मामा हस्तक्षेपकारी कार्य गर्ने एक गालीको रूपमा प्रयोग गर्ने गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार अराकन समूहले सहरलाई तनावग्रस्त बनाएको, आगजनी गरेको र अल्पसङ्ख्यक समुदायलाई ठूलो सङ्ख्यामा विस्थापित हुन बाध्य पारेको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सप्ताहन्तमा यस्तै चेतावनी जारी गर्दै जातीय राखिन र रोहिंग्याबीच तनाव उच्च रहेको र म्यान्माको सैन्य जुन्टाले यसलाई बढावा दिइरहेको बताएका थिए ।

“सेनाले रोहिङ्ग्यालाई लक्षित गरी नरसंहार र मानवताविरुद्धको अन्य अपराधका साथै रखाइनमा अन्तरसाम्प्रदायिक तनाव भड्काउने कामका अतिरिक्त ‘नागरिकमाथि गम्भीर खतरा’ सिर्जना गरेको छ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भने, “अहिले बढेको हिंसा र अन्तरसाम्प्रदायिक तनावले थप ज्यादती हुने जोखिम पनि बढाएको छ ।” मिलरले जुन्टा र सबै सशस्त्र समूहहरूलाई नागरिकहरूको सुरक्षा गर्न र निर्बाध मानवीय पहुँचलाई अनुमति दिन आह्वान गरे ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रमा रहेका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो ।

सन् २०१९ मा सेना र अराकन समूहबीच भएको झडपका कारण करिब दुई लाख मानिस विस्थापित भएका थिए ।

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधबार अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो । प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए ।

सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

एक दशकमा बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन

सल्लेरी । स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण एक दशकमा सम्पन्न भएको छ । विसं २०७१ देखि सुरु गरिएको भवन निर्माण पटकपटक म्याद थप गर्दै गत वैशाखमा सम्पन्न भएको हो ।

विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी नीलगिरि निर्माण सेवाले दुई करोड ३८ लाख तीन हजार ५३ रुपैयाँको लागतमा जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । आफू कार्यालयमा आएदेखि सबैसँग समन्वय गर्दै ताकेता गरेपछि निर्माणले निरन्तरता पाएको उनको भनाइ छ ।

भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो ।

‘अहिले निर्माण कम्पनीले काम सकेर हामीलाई हस्तान्तरण गरेको छ । अझै रङ्गरोगन, वाइरिङलगायत काम बाँकी छन् । ढिलै भए पनि सबैको सहयोगले भवन सम्पन्न भएर यहीँबाट सेवा दिन थालेका छौँ’, तिवारीले भने । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको कम्पनीले लापरबाही गर्दा राज्यले स्वास्थ्य कार्यालयका लागि घरभाडामा मात्रै ५० लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।

निर्माण सम्पन्न गर्नुको सट्टा भवन अलपत्र छाडेर ठेकेदार बेपत्ता बन्दा कार्यालय भाडामा बस्नु परेको थियो । दश वर्षको अवधिमा स्वास्थ्य कार्यालयमा दशजना कार्यालय प्रमुख फेरिएका थिए । अहिले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेसँगै घर भाँडाबापतको कार्यालयले तिर्दै आएको वार्षिक पाँच लाख रुपैयाँ जोगिएको छ ।

४५ वर्षपछि आफ्नै भवन

स्वास्थ्य कार्यालय सोलुखुम्बुले स्थापना भएको ४५ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन प्राप्त गरेको छ । विसं २०३६ मा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा स्थापना भएको कार्यालयले पहिलोपटक गत वैशाख १६ गते आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

तत्कालीन जनस्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय हुँदै हाल स्वास्थ्य कार्यालय कायम भएको छ । स्थापनादेखि भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपटक नवनिर्मित भवनबाट सेवा दिन थालेको कार्यालय प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार कार्यालयले पछिल्लो १७ वर्षमा घरभाडा बापत ८५ लाख रुपैयाँ खर्च गरेको छ ।

वार्षिक पाँच लाख रुपैयाँका दरले १७ वर्षमा एकै व्यक्तिलाई ८५ लाख रुपैयाँ बुझाइएको कार्यालयले जनाएको छ । त्यसअघि पनि कार्यालयले विभिन्न स्थानमा गरी भाडाबापत खर्च हुँदै आएको थियो । साँघुरो निजी भवनबाट कार्यसम्पादन गर्नुपर्दा चुनौतीहरुको सामना गर्नुपरेको कार्यालय प्रमुख तिवारीले बताए । उनका अनुसार २०३६ सालदेखि हालसम्म आइपुग्दा १५ जना कार्यालय प्रमुख फेरिएका छन् ।

कार्यालयको भूमिका निरन्तर कमजोर

तत्कालीन समयमा जिल्ला जनस्वास्थ्य कार्यालयका रुपमा स्थापना भएको हालको स्वास्थ्य कार्यालयको भूमिका निरन्तर कमजोर बन्दै गएको देखिएको छ । जिल्लाभरका स्वास्थ्य संस्थालाई नियन्त्रण र निगरानी गर्ने अवधारणाअनुसार स्थापना गरिएको जनस्वास्थ्य कार्यालय पछि जिल्ला स्वास्थ्य कार्यालय हुँदै अहिले स्वास्थ्य कार्यालय सोलुखुम्बुका रुपमा परिणत भएको छ ।

कार्यालयको नाम मात्रै नभई अधिकार र भूमिकासमेत विगतको तुलनामा फेरिएको जनस्वास्थ्य निरीक्षक कर्मचन्द्र राजवंशीले बताए । सङ्घीयतापछि कार्यालयको नामसँगै अधिकारसमेत स्थानीय तहको स्वास्थ्य शाखाअन्तर्गत प्रत्यायोजन हुँदा भूमिका र क्षेत्राधिकार दुवै खुम्चिएको उनको भनाइ छ ।

विगतको जिल्लाभरको औषधि खरिददेखि विभिन्न शिविरका लागि भन्दै वार्षिक एक करोड रुपैयाँभन्दा बढी बजेट हुने कार्यालय अहिले लाखमा खुम्चिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख तिवारीले बताए । स्थानीय तह आफैँ स्वयत्त भएकाले कतिपय पालिकामा हुने अधिकांश कार्यक्रमको जानकारी आफूहरुलाई नहुने गरेको उनको भनाइ छ ।

तिवारीले भने, ‘विगतमा जिल्लाभरका स्वास्थ्यसम्बन्धी गतिविधि हामी कहाँ हुन्थ्यो तर अहिले त्यस्तो छैन, स्वास्थ्यसम्बन्धी कार्यक्रम स्थानीय तहको स्वास्थ्य शाखाअन्तर्गत सञ्चालन हुने भएपछि हामीलाई थाहा हुँदैन ।’ स्थानीय तहले गर्ने स्वास्थ्यका कार्यक्रमबारे स्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्ने भनिए पनि सोको अनिवार्य व्यवस्था नहुँदा जानकारी कम आउने गरेको उनको भनाइ छ ।

जानकारी निकै कम मात्र आउँछन् । कतिपय त थाहासम्म हुँदैन । सोही कारण कार्यालयको क्षेत्राधिकार तथा दायरा साँघुरिँदै गएको कार्यालयका कर्मचारीहरु बताउँछन् । हाल प्रदेश मातहत रहेको स्वास्थ्य कार्यालयमा कार्यक्रमका लागि बजेट कम आउँदा गतिविधि कमजोर हुँदै गएको कर्मचारी रामनारायण शाहले बताए । समयसमयमा विभिन्न कार्यक्रम सञ्चालन हुने भए पनि विगतको जस्तो सक्रियता नरहेको उनको भनाइ छ ।

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम

चितवन । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो । 

चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफाबीच सम्झौता भएको हो । सो अवसरमा ४७ देशका विभिन्न सहरका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो । सो अवसरमा अन्य देशका नगरसँग समेत छुङ्गसछिङ्ग सहरले भगिनी सम्बन्ध कायम गरेको छ । 

कार्यक्रममा सहभागी भरतपुर महानगरका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार दुई देशबीचको सम्बन्धलाई अझ नयॉ उचाईमा पुर्याउन भरतपुर र छुङ्गसछिङ्गका प्रमुख सहमत भएका छन् । दुई सहरका नागरिकस्तरको सम्बन्ध कायम गर्दै एकले अर्काको विकासमा सहयोग पुर्याउने बारेमासमेत छलफल भएको उनले बताए ।

सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छुङ्गसछिङ्ग नगरका प्रमुख  तथा त्यहाँका उद्योगपतिलाई आग्रह गरिन् । उनले छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफालाई भरतपुरको भ्रमण गर्न आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख  चित्रसेन अधिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, इन्जिनियर साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनुका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारीलगायतको सहभागिता रहेको थियो । 

सगरमाथाको आरोहण गरी कलाकार शेर्पाले फहराए ‘टासिदेलेक’को पहिलो पोष्टर

काठमाडौँ । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न सङ्घसंस्थाका झण्डा पनि फहराएका थिए ।

सगरमाथाको सफल आरोहणपछि उनले जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताए । सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले राज्यले सगरमाथाको आरोहणबाट प्राप्त गरेको आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए ।

सो सन्देशमा उनले शेर्पा समुदायलाई हिमाल आरोहीका रुपमा मात्र व्याख्या नगरी उनीहरुलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्न पनि माग गरे । शेर्पाले यसै पनि भौगोलिकरुपमा विकट मानिएको हिमाली क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखेर योजना बनाइनुपर्ने भन्दै हिमाल आरोहीलाई तत्काल आधुनिक सूचना प्राप्त गर्नसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

सन्देशमा कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्नुुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नुपर्ने उल्लेख गरे ।

सहकारीपीडितको न्यायका लागि कांग्रेसले सडक आन्दोलन सुरु गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने माग लिएर सडकमा निस्कने भएको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । प्रथम चरणमा कांग्रेसले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यसपछि सहकारी प्रकरणमा प्रभावित शहरहरू पोखरा, चितवन, रुपन्देही र अन्य शहरमा आन्दोलन गर्ने भएको हो । कांग्रे केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको सट्टा अधिनायकवादतर्फ उन्मुख भएकाले आफूहरु सडक आन्दोलनमा जानु परेको बताइन् ।

उनले संसदीय छानबिन समिति गठन र सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन राख्ने बताइन् । यसअघि कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले प्रदर्शन गर्दै आएका थिए ।

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु) ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए ।

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए ।

वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए । वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

स्तरोन्नतिपछि यात्राका लागि सहज बन्दै पोखरा–सिक्लेस सडक 

गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ।

कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख छन् । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले सुनाए । “पहिले दिनभर हिँडेर पोखरा आउजाउ गर्नुथ्र्यो, अहिले आधा–एक घण्टामै पुगिन्छ”, तामाङले भने, “यस क्षेत्रमा आउने पर्यटकलाई पनि धेरै सहज भएको छ ।” लामो समयसम्म कच्ची रहेको सडक कालोपत्र हुँदा गाउँको मुहार नै फेरिएझैँ भएको उनले बताए ।

मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक हालै कालोपत्र भएको जानकारी दिए । उनका अनुसार थाकबाट मादी–६ चिप्लीसम्मको १० किलोमिटर खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।

“अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ”, वडाध्यक्ष गुरुङले भने, “बाँकी खण्ड कालोपत्रका लागि स्रोत जुटाउन पहल भइरहेको छ ।” मार्ग खुलेको झन्डै दुई दशकपछि पोखरा–सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिएको उनको भनाइ छ । “प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ”, उनले भने ।

प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत विजयपुरखोलाबाट थाकसम्म पहिलो चरणको काम सकिएको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । विजयपुरखोला–थाक खण्डमा काष्ठमण्डप जेभीले २२ करोड २६ लाख ७८ हजारमा ठेक्का लिएर काम गरेको थियो । 

पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागेको बताए । “अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार काम गरिरहेको छ”, उनले भने । थाक–चिप्ली खण्ड स्तरोन्नतिको जिम्मा रौताहा निर्माण कम्पनीले लिएको छ । 

२५ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको रौताहा निर्माण कम्पनीका सब–इन्जिनियर भरत थापाले जानकारी दिए । “३० महिनाको ठेक्का अवधि हो, सात महिना अझै बाँकी छ, समयमै सक्ने गरी कामलाई तीव्रता दिएको छौँ”, उनले भने,“कालोपत्रका लागि गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीको भने अभाव भइरहेको छ, वैकल्पिक व्यवस्था गरेर काम गरिरहेका छौँ ।”

मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए । “अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सकिन्छ, कालोपत्र सडक सिक्लेसम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ”, उनले भने, “बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।” 

पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । 

वडाध्यक्ष देवीजङ्गले सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए । “सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ”, उनले भने ।

पछिल्लो समय सिक्लेसबाट कोरी र कपुचे तालसम्मको पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । सिक्लेसबाट कोरीसम्म केबुलकार सञ्चालनका लागि पनि एक निजी कम्पनीले अध्ययन गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

हिमशृङ्खला अवलोकनसँगै प्रकृति, ग्रामीण परिवेश र संस्कृतिको आनन्द लिन पर्यटक सिक्लेस पुग्ने गर्दछन् । गुरुङ बाहुल्य सिक्लेस प्रदेश राजधानी पोखराबाट ३८ किमीको दूरीमा अवस्थित छ ।

बुद्ध जयन्तीमा लुम्बिनीमा एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

काठमाडौँ । विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष योगिनी भीम सुवालले २५ सय ६८औँ बुद्ध जयन्तीका अवसरमा विश्व शान्तिको कामनासहित लुम्बिनीमा ती मूर्तिहरु प्रदर्शन गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गरी मानवअधिकार हनन् तथा व्यक्ति–व्यक्तिबीचको मनमुटाव, लोभ, मोह, तथा राष्ट्रबीच युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न विश्व शान्ति पूजा गर्न लागिएको हो ।  

अध्यक्ष सुवालले समृद्ध विश्व समाज निर्माणका लागि शान्ति कायम गर्नुपर्नेमा जोड दिँदै यस्ता पूजामा वाचन गरिने मन्त्र र तन्त्रबाट उत्पन्न हुने कम्पनले सकारात्मक ऊर्जा ल्याउने विचार व्यक्त गरिन् ।

शान्ति स्तम्भ स्थापना गर्ने कार्ययोजना रहेको सङ्घले विगत वर्षमा करिब २० राष्ट्रमा यस्तो प्रदर्शन तथा पूजा सम्पन्न गरेको जनाएको छ । विभिन्न मुलुकबाट धार्मिक गुरू तथा भक्तजन सहभागी हुने उक्त कार्यक्रममा विश्वका सबै मानव एवं समग्र प्राणीको कल्याणका लागि पूजा गरिनेछ ।

करिब तीन दशकअगाडि प्रथम विश्व बौद्ध शिखर सम्मेलन सम्पन्न गरिएको नेपालमा बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । विभिन्न परम्पराका बौद्ध अनुयायीले नेपालसहित भारत, चीन, श्रीलङ्का, भूटान, थाइल्यान्ड, म्यान्मा, मङ्गोलिया, कम्बोडिया र लाओसमा विशेष उत्सवका रुपमा बुद्ध जयन्ती मनाइन्छ । 

नेपालमा तत्कालीन राजा त्रिभुवनले विसं २००६ जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको अभिलेख पाइन्छ ।

बजेट अभावमा बागलुङमा खानेपानी आयोजना अलपत्र

 बागलुङ । बडिगाड गाउँपालिका–३ मा चरम खानेपानी अभाव भएपछि आर्थिक वर्ष ०६७/६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । २ करोड ८५ लाख २९ हजार रुपैयाँमा सक्ने गरी काम सुरु भएको उक्त आयोजना १२ वर्षसम्म अपुरो छ ।

हालसम्म ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताउँछन् ।

ढोरपाटन नगरपालिका–२ र ३ मा आर्थिक वर्ष ०७४/७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आर्थिक वर्षमा सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

जबकी उक्त आयोजनाको कूल लागत ५ करोड ३४ लाख ५२ हजार तोकिएको छ । खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलका अनुसार आयोजना पूरा हुन अझै ३ करोड रुपैयाँ आवश्यक पर्छ । हालसम्म यो आयोजानामा ८५ लाख ७९ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

यसरी नै बागलुङमा आवश्यक बजेट अभावमा वर्षौंअगाडि सुरु भएका आयोजना अलपत्र पर्न थालेका छन् । बागलुङमा ५ ठूला खानेपानी आयोजना बजेट अभावमा अलपत्र पर्ने अवस्थामा पुगेका हुन् । २ वर्षमा सकिनुपर्ने कतिपय आयोजना बजेट विनियोजनमा हेलचक्र्याइँ गर्दा वर्षौंसम्म पूरा हुन सकेका छैनन् ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष ०७५/७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । ३ करोड १४ लाख रुपैयाँ लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशतमात्रै काम सकिएको छ ।

चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि प्रदेश सरकारबाट १५ लाख बजेट विनियोजन भएको थियो । डिभिजन प्रमुख पौडेलका अनुसार आयोजना सम्पन्न गर्न अझै ३ करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । यस्तै आर्थिक वर्ष ०७६/७७ मा बडिगाड गाउँपालिकामा सुरु भएको भीरकटेरा खानेपानी आयोजना अहिलेसम्म ५० प्रतिशतमात्रै सकिएको छ ।

‘आयोजना निकै ठूला–ठूला छन् तर बजेट थोरै आउँदा समयमै काम सम्पन्न गर्न समस्या भएको छ । करोडौँका आयोजना छन्, बजेट रु १०/१५ लाख मात्रै आउँछ, यसरी हेर्दा एउटा आयोजना सकिन वर्षौं लाग्ने देखिन्छ’, प्रमुख पौडेलले भने, ‘बजेट अभावका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौँ । आएको जति बजेटले धमाधम काम गरिरहेका छौँ ।’

ढोरपाटन नगरपालिका–२ का विकास सुनारले आयोजना सुरु भएको ७ वर्षसम्म जम्मा २५ प्रतिशत काम हुनु दुखद भएको बताए । हिउँदको समयमा बुर्तिबाङसहित आसपासका ठाउँहरुमा खानेपानीको चरम अभाव हुने भन्दै यसतर्फ सरोकार भएकाको ध्यान नजाँदा आयोजनाको कामले गति लिन नसकेको उनको गुनासो छ ।

यहाँका हजारौँ नागरिक वर्षौंदेखि खानेपानीका लागि लाइन कुर्नुपर्ने बाध्यतामा रहेका भन्दै ती आयोजना सरकारको प्राथमिकतामा पर्न नसकेको सुनारले बताए ।

‘कतै करोडौँका योजना पर्छन्, करोडौँ बजेट पनि पुग्छ, तर यहाँका हजारौँ जनता खानेपानीको समस्याबाट ग्रसित छन्, आयोजना सुरु पनि भएको वर्षौं बितिसक्दा पनि बजेट अभावले काम सम्पन्न भएका छैनन्’, उनले भने, ‘करोडौँका आयोजनामा जम्मा १५ लाख रुपैयाँ आउँछ, यसरी २०औँ वर्षसम्म पनि काम सकिँदैन, जनता सधैँ खानेपानीको समस्यामा हुन्छन् ।’

अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको रास्वपाको जिकिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित भएको बताएको छ ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा बुधबार विज्ञप्ति जारी गरी रास्वपाले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो। नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं।’

रास्वपाले विधिको शासनको सौन्दर्य हो कानुन भन्दामाथि कोही हुँदैन भन्ने भएको उल्लेख गरेको छ । उसले जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित भएको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासनको अर्को सौन्दर्य हो– कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो। कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै

न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ ।

नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए ।

सङघीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मङ्गलबार राति रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् ।

न्यू क्यालेडोनियामा रहेका लगभग ३०० अस्ट्रेलियालीहरूले स्वदेश फिर्ता लागि विदेश मामिला तथा व्यापार विभागमा दर्ता गरेका थिए । पहिलो उडानबाट करिब २०० भन्दा बढी स्वदेश फर्कने प्रतीक्षामा रहेका छन् ।

जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँः मन्त्री सुडी

काठमाडौँ / वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका बताएका छन् । आजदेखि यहाँ सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरुको अन्तरराष्ट्रिय संवाद’को उद्घाटन कार्यक्रममा उनले हिमाली देशमा जलवायु परिवर्तनले असर गर्ने प्रतिकूलता विश्वका अन्य क्षेत्रभन्दा बढी रहेकाले त्यसबाट जोगाउन आवश्यक रहेको बताएका हुन्।

“म सबै हिमाली देश र विकसित देशलाई खुला हृदय र दिमागका साथ अनुकूलनका लागि थप वित्तीय स्रोत विनियोजन गर्न आग्रह गर्दछु ताकि हामी सामूहिकरूपमा जलवायु सङ्कटलाई सम्बोधन गर्न सकौंँ”, मन्त्री सुडीले भने, “हिमाली देशमा जलवायु परिवर्तनका प्रभाव, चुनौती र अवसरलाई सम्बोधन गर्न तपाईंको विशेषज्ञताले हाम्रो संवादलाई समृद्ध बनाउनेछ र आगामी दिनमा उपयुक्त जलवायु कार्य गर्नेछ ।”

जलवायु परिवर्तन एक विश्वव्यापी र अन्तरसम्बन्धित मुद्दा भएको उल्लेख गर्दै मन्त्री सुडीले हिमाली तथा टापु राष्ट्रहरू र त्यहाँका जनताले तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी र मरुभूमिकरण, पहिरो, बाढी, डुबान, आगलागी, हिमनदी पग्लिने र समुद्री सतहको वृद्धिजस्ता सङ्कट सामना गर्नु परिरहेका बताए । “आगामी जुन ५ मा जर्मनीमा हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद हुँदैछ । हिमालका विषयमा थप निर्णय लिन, हिमाली समुदायको जीवन र जीविकोपार्जनका लागि आर्थिक तथा अनुकूलन लक्ष्यलाई विस्तार गर्न अन्तर्राष्ट्रिय समुदाय र पक्षलाई आग्रह गर्दछु”, मन्त्री सुडीले भने ।

काठमाडौँमा जारी संवादलाई दिगो पर्वतीय विकासलाई प्रवर्द्धन गर्ने र यसअघि निर्धारण गरेका लक्ष्य सामूहिकरूपमा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

सिरोहियालाई धनुषा जिल्ला अदालत पु-याइयो

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि मंगलबार धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसलगत्तै उनी काठमाडौंबाट पक्राउ परेका थिए ।

अहिले जिलला अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ भने अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ । उनको रिहाइको माग राखेर जनकपुरमा प्रदर्शन समेत भएको थियो ।

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लुएचओ प्रमुखको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन् । उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराए ।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपतकालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओका महानिर्देशक घेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।

गाजामा कहाली लाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गरे ।

उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयससले बताए ।

उनले राष्ट्रङघीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसङ्ख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दुःख व्यक्त गरे ।

डब्ल्यूएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पु¥याउन सफल भएका छन् । गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकैै कम मात्र आप्रर्ति हुने गरेको उनले बताए ।

जलवायु परिवर्तनले मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको छ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताएका छन् । काठमाडौँमा आजदेखि सुरू भएको ‘अन्तरराष्ट्रिय संवाद’ मा अधिकारीले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गरेका हुन् ।

“जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ । ति समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ । मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ । यि क्षेत्रलाई समस्याबाट जोगाऔँ”, अधिकारीले भने ।

मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

बंगलादेशका वातावरणमन्त्री भन्छन्-नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ

काठमाडौँ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् ।

हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिँदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटिय क्षेत्रको अस्थित्व नै गुम्ने भन्दै सहभागीको ध्यानाकर्षण गराए । जलवायु उत्थानशीलालाई सम्बोधन गर्न जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।

“विकसित देशले ८१ प्रतिशत कार्बन उत्सर्जन गर्छन् । त्यसले गर्दा नेपाल, बङ्गलादेशजस्ता विकासोन्मुख मुलुकहरूले समस्या भोग्नुपरेको छ,” उनले भने, “विकसित देशले विभिन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा गरेको प्रतिबद्धता कार्यन्वयन गर्न सकिरहेका छैनन् । अब उनीहरुलाई झक्झक्याउनुपर्छ ।”

मन्त्री हुसैनले सरकारले मात्रै गरिबी निवारण र जलवायु परिवर्तनको असर रोक्ने नसक्ने भन्दै अनुकूलन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न लाग्नुपर्ने समेत बताए । जलवायु परिवर्तनको प्रभावले ल्याएका समस्या निराकरण गर्न राजनीतिक इच्छाशक्ति जरुरी रहेको उनको भनाइ थियो ।

चन्द्रगिरीमा सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा विभिन्न २५ देशका विज्ञहरूको सहभागिता रहेको छ ।

संवादमा नेपाललगायत पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी छन् । पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यलाई सुदृढ, समन्वय र प्राथमिकता दिने विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

धुलिखेल / काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन् । मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका उनले बताए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको र अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्याको सम्बोधन हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।

‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताएका हुन् ।

उनले जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको असर भयावह रहेको समेत बताए । “हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिक र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।”

स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यक भएकामा जोड दिँदै प्रधानमन्त्री दाहालले समान र पारदर्शी तवरले हानी र क्षति कोषको पूर्णसञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा बताए ।

उनले भने, “पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जनजाति र स्थानीय समुदायलाई जलवायु कार्यको प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ ।”

नेपालले पेरिस सम्झौताप्रति पूर्णप्रतिबद्धका साथ विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । “स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत् सम्भावनाको पूर्णउपयोग गर्नेछौँ । विश्ल्व्यापी लक्ष्यभन्दा पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दैछौँ”, प्रधानमन्त्री दाहालले भने ।

उनले जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीको सामना गर्न सहकार्य गर्नपर्ने आवश्यकतासमेत औँल्याए । “पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकी प्रणाली र पर्वतीय बासिन्दाको संरक्षण र प्रवर्द्र्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔँ । यहाँ जलवायु परिवर्तनले ल्याउने साझा चुनौती समाधान गर्न सहकार्य र एकता जुटाउने प्रयास गरौँ”, प्रधानमन्त्री दाहालको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष नेपाल भ्रमण गरेर जलवायु परिवर्तनका प्रभावको सामना गरिरहेका स्थानीय समुदायबाट प्रत्यक्ष जानकारी सङ्कलन गरेको भन्दै प्रधानमन्त्री दाहालले वातावरणीय सङ्कटलाई सम्बोधन गर्न महासचिवले गरेको अपीलको प्रशंसा गरे ।

यस संवादले पर्वतीय देशका सरकार, सरोकारवाला र तिनिहरूका सहयोगीलाई पर्वतीय–जलवायु चिन्ता र समाधानबारे बुझ्न, विशेषज्ञता र अनुभवहरू साझेदारी गर्न तथा तालमेल गर्न सक्षम बनाउने प्रधानमन्त्रीको विश्वास छ । उनले ‘युएनएफसिसिसी’ को जलवायु वार्ता समूहहरूको एलडिसी समूह, जि–७७, चीन र अन्य निकायबीच तालमेल र सहयोगको महत्व बिर्सन नहुनेमा जोड दिए ।

झापाको दमक नगरपालिकाद्वारा १४ करोड भन्दाबढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आर्थिक वर्षमा २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए ।

नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।

कैलालीमा आलु उत्पादन बढ्यो

अत्तरिया (कैलाली) । गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए । “यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यसपटक हिउँदमा हुस्सु पनि लागेन”, उनले भने, “हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।”

“यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो”, उनले भने, “त्यसको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ ।”

किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए ।

दमक नगरपालिकाद्वारा १४ करोड २४ लाख राजस्व सङ्कलन

भद्रपुर (झापा) / दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख, सम्पत्ति कर एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।

काठमाडौंमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने उद्देश्यले काठमाडौंमा आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ को विरुवामा जल उत्सेचन गरेर उद्घाटन गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित कार्यलाई सुदृढ तुल्याउनु हो । संवादमा नेपालसहित २५ देशका विशेषज्ञ, पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढी सहभागी छन् ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, भुटानका कृषि तथा पशुपक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्सो, बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनसम्बन्धीमन्त्री साबेर हुसेन चौधरी, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) अध्यक्ष ह्यारी भिरेउ, मुख्यसचिव वैकुण्ठ अर्याल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी सहभागी छन् । संवादमा विशिष्ट वक्ताहरूको मन्तव्य जारी छ ।

टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । अमेरिकाको जितको नायक २०१२ को अन्डर नाइनटीन विश्वकप जित्ने भारतीय टोलीका सदस्य हरमित सिंह रहे । उनले १३ बलमा नटआउट ३३ रनको पारि खेल्दै प्लेयर अफ दी म्याच पनि बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यस अवधिमा टोलीका लागि सर्वाधिक रन तौहिद हृदयको ब्याटबाट आएको थियो । उनले ४७ बलमा चार चौका र दुई छक्काको मद्दतले ५८ रन बनाएका थिए । अनुभवी महमुदुल्लाहले २२ बलमा ३१ रनको योगदान दिए । तर, लिटन दास (१४), सौम्य सरकार (२०), कप्तान नजमुल हुसेन शान्तो (३) र शकिब अल हसन (६) ले ठूलो इनिङ खेल्न सकेनन् ।

जसका कारण टोलीले अपेक्षा अनुसार स्कोर गर्न सकेन । अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक २ विकेट लिए । सौरभ नेत्रवलकर, अली खान र जेसी सिंहले एक–एक विकेट हात पारे ।

१५४ रनको लक्ष्य पछ्याएको अमेरिकालाई चौथो ओभरमा पहिलो झटका लागेको थियो । कप्तान मोनांक पटेल १२ रन बनाएर २७ रनमा आउट भए । एन्ड्रियास गौस १८ बलमा २३ रन बनाएर पभेलियन फर्किए भने स्टिभन टेलर २९ बलमा २८ रन बनाएर फर्किए । थप दुई विकेट खसेपछि स्कोर ९४÷५ मा पुग्यो ।

बंगलादेशको टोली पुनरागमन गर्न सफल देखिएको थियो । तर यहाँबाट हरमित सिंह र कोरी एन्डरसनले अन्तिम अन्तिमतिर २८ बलमा ६२ रनको नटआउट साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । एन्डरसनले २५ बलमा नटआउट ३४ रन बनाए भने हरमितले १३ बलको सामना गर्दै नटआउट ३३ रनको इनिङ्स खेले । उनको इनिङ्समा दुई चौका र तीन छक्का पनि सामेल थिए । बंगलादेशका मुस्तफिजुर रहमानले २ विकेट लिए ।

मालिकाको धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

म्याग्दी। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते ९बिहीबार० परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब रु १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।

समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनलाई खानेपानीको व्यवस्था गरिएको हो ।

कुइनेमङ्गले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत रु सात लाख ६५ हजार र रघुगङ्गा गाउँपालिकाको रु १० लाख गरी रु १७ लाख ६५ हजार र रु ३५ हजार बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पुर्याइएको शीतल मालिका युवा क्लबका निवर्तमान अध्यक्ष एवं रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिए।

पूर्वअध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर पर रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पुर्याइएको हो । यसअघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनले सास्ती व्यहोर्दै आउनुपरेको थियो ।

एक घण्टाको दूरीमा रहेका मूलहरूबाट पानी बोकेर भक्तजन मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकामा देउरालीमा पानी पुगेपछि भक्तजनलाई सुविधा पुगेको छन्त्यालले बताए ।

पानीको मुहान रहेको लिसेखर्कबाट धारा राखिएको मालिका देउराली उकालो दुई किलोमिटर उकालोमा पर्दछ । उकालो भएकाले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकाले एक हजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पुर्याउने योजना रहेको भए पनि ठाडै उकालो भएकाले पानी नचढेपछि देउरालीमा धारा राखिएको उनले बताए। ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरूलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । यो समय पानीको स्रोत पर्याप्त नहुँदा पानी अनावश्यक खेर नफालिदिनु हुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनलाई अनुरोध गरेको छ ।

मालिका म्याग्दीको ऐतिहासिक धार्मिकस्थल एवं प्रमुख पर्यटकीयस्थल हो । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ ।

जिल्लाको मालिका गाउँपालिकाका वडा नं ६, ७ र रघुगङ्गा गाउँपालिका–६ को सिमानामा रहेको मालिकामा विशेषगरी चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजाआजासहित भव्य मेला लाग्ने गर्दछ । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

मध्य नाइजेरियामा बन्दुकधारीले गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु

मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।


  प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारहरूलाई भने, “मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।” 


बन्दुकधारीहरूले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीहरूले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए ।


  सशस्त्र आक्रमणहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरणहरू भएका छन् ।

विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद सजाय

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको हो ।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित ६ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो ।

सिङ्गापुर एयरलाइन्सको विमान दुर्घटनामा एकजनाको मृत्यु

सिङ्गापुर एयरलाइन्सको बोइङ ७७७ को लन्डनबाट आउने विमानमा गम्भीर गडबडी भएर मङ्गलबार एक जनाको मृत्यु र ३० जना घाइते भएका छन् । त्यसपछि विमान बैङ्ककमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो ।

सिङ्गापुुर जाँदै गरेको उडान एसक्यु ३२१ ले स्थानीय समयानुसार दिउँसो ३ः४५ बजे अवतरण भएपछि थाई राजधानीको मुख्य विमानस्थलमा बत्ती र साइरनको आवाजका साथ आपत्कालीन सवारीहरू गुडेका थिए ।

जनवरीमा अलास्का एयरलाइन्स ७३७ म्याक्सको फ्युसेलेज प्यानल उडाएपछि तथा सन् २०१८ र सन् २०१९ मा दुई घातक दुर्घटनापछि यो बोइङ विमानसँग सम्बन्धित पछिल्लो दुर्घटना हो ।

सिङ्गापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा ‘गम्भीर अशान्तिको सामना गर्नुपरेको’ बताएको छ ।

“हामी पुष्टि गर्न सक्छौँ कि बोइङ ७७७–३०० इआरमा सवार यात्रुहरूलाई चोटपटक लागेको छ र एक जनाको मृत्यु भएको छ, विमानमा कूल दुई सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार थिए”, चोटपटकको प्रकृति र गम्भीरताबारे केही उल्लेख नगरी एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, “१८ जनालाई अस्पतालमा भर्ना गरिएको छ, अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ ।”

“हाम्रा यात्रु र चालक दलका सदस्यहरूलाई यो उडानमा भोग्नुपरेको पीडादायी अनुभवका लागि हामी गहिरो माफी माग्दछौँ, हामी यस कठिन समयमा सबै आवश्यक सहायता प्रदान गरिरहेका छौँ”, एयरलाइन्सले भनेको छ ।

विमान अन्डमान सागरमाथि मात्र पाँच मिनेटमा एक हजार आठ सय मिटर (छ हजार फिट) देखि तल झरेको उडान ट्रयाकिङ डाटाबाट पत्ता लागेको छ । थाइल्यान्डमा वार्षिक वर्षाको मौसम जारी रहेकाले केही भागमा आँधी आएको बेला यो घटना भएको छ ।

“दिउँसो ३ः३५ बजे विमानस्थललाई सिङ्गापुर एयरलाइन्सको उडानबाट सङ्कटपूर्ण कल प्राप्त भयो, कलमा विमानमा यात्रु अशान्तिका कारण घाइते भएको र आपत्कालीन अवतरणका लागि अनुरोध गरिएको थियो”, सुवर्णभूमि विमानस्थलले विज्ञप्तिमा भनेको छ, “विमान विमानस्थलमा अवतरण भयो र सबै घाइतेको उपचारका लागि चिकित्सकीय टोली पठाइयो ।”

विमानस्थलको विज्ञप्तिमा मृतक विदेशी अर्थात गैरथाई रहेको बताइएको छ । सिङ्गापुरका यातायातमन्त्री चि होङ ट्याटले फेसबुक पोस्टमा यस घटनाबाट ‘गहिरो दुःखी’ भएको र मृतकका परिवारप्रति समवेदना प्रकट गरेको बताए ।

रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय

रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय सुनाएको छ । उनीमाथि जर्मनीसँग रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य डाटा साझा गरेको आरोप लगाइएको थियो ।

हालैका वर्षहरूमा हाइपरसोनिक्समा अनुसन्धानमा संलग्न धेरै प्रमुख वैज्ञानिकहरू मुलुकको गोप्य कुरा विदेशी मुलुकलाई साझा गरेको आरोपमा पक्राउ परेका छन् र कारागार पुगेका छन् ।

सेन्ट पिटसबर्गको एक अदालतले भौतिक वैज्ञानिक अनातोली मास्लोभलाई देशद्रोहको दोषी पाएको र १४ वर्षको कारागार सजाय सुनाएको सहरका अदालतको प्रेस सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा बताएको छ । अदालतले मुद्दालाई ‘अति गोपनीय’ श्रेणीमा राखिएकाले मुद्दाको सुनुवाइ बन्द सत्रमा गरिएको बताएको छ ।

तथापि रुसी मिडिया आउटलेटहरूले मास्लोभमाथि रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गोप्य डाटा जर्मन गुप्तचरलाई दिएको आरोप लगाइएको बताएका छन् । मास्लोभले गत साता सजाय सुनाउनुअघि अदालती सुनुवाइमा आरोपहरूलाई अस्वीकार गरेका थिए । उनले आफूले कुनै पनि गल्ती वा गैरकानूनी काम नगरेको बताए ।

सन् २०२२ जुनमा पक्राउ परेका मास्लोभ हाइपरसोनिक्समा अनुसन्धानमा विशेषज्ञ हुन् । हाइपरसोनिक्स रुसको उन्नत क्षेप्यास्त्र कार्यक्रमका लागि महत्त्वपूर्ण अनुप्रयोगहरू भएको सैद्धान्तिक क्षेत्र हो । उनी रुसको विज्ञान एकेडेमीको साइबेरिया शाखाको सैद्धान्तिक तथा एप्लाइड मेकानिक्स इन्स्टिच्युटमा मुख्य शोधकर्ता थिए ।

मास्लोभले काम गरेको नोभोसिबिर्स्कका प्रमुखसहित कम्तीमा तीन अन्य वैज्ञानिकलाई सन् २०२२ देखि देशद्रोहको विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

मङ्गलबार अदालतभित्रको भिडियोमा ट्यान ज्याकेट, गुलाबी सर्ट र जिन्स लगाएका मास्लोभ प्रतिवादीहरूका लागि काँचको कठघरामा उभिएका थिए । उनका वकिलहरूले लामो कारागार सजाय अनिवार्यरूपमा मृत्युदण्डको सजाय भएको बताए ।

वकिलहरूले कोमर्सेन्ट दैनिकलाई यस वर्षको प्रारम्भमा पूर्व–परीक्षण हिरासतमा मास्लोभलाई हृदयाघात भएको र उनले आफूलाई उपलब्ध गराइएको कमजोर चिकित्सा हेरचाहको गुनासो गरेको बताए ।

उनीहरूले मास्लोभविरुद्ध प्रयोग गरिएका धेरै प्रमाणमा पहुँच नभएका कारण देशद्रोह र जासुसी मामिलामा रुसी अभियोजक तथा न्यायाधीशरूको साझा दृष्टिकोणसहित यसलाई शीर्ष गोप्यरूपमा वर्गीकृत गरिएको बताए ।

सन्दीपलाई विश्वकपमा सहभागी हुन पठाउने प्रक्रिया सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढेको बताएको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गरी सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भैरहेको उल्लेख गरे ।

आफू दोहोरो पासपोर्ट लिंदै हिंड्नेले सिरोहिया पक्राउ गर्नु गलतः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नभएको बताएका छन् ।

मंगलबार कार्यकक्षबाटै पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत् कोइरालाले दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिनेले यस्तो हर्कत गरेको स्वीकार्य नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘आफू दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन । प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त छु ।’

प्रचण्डले ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छुः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् ।

मंगलबार साँझ सिरोहियालाई पक्राउ गरेपछि सामाजिक संजालमार्फत भट्टराईले प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा अत्यन्त लज्जित भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘अंग्रेजीमा एउटा भनाइ छ–‘You should not only be good, you should appear to be good.’.जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन । झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं । आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु !’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै उनलाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा आफूलाई पक्राउ गरिएको सिरोहियाले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक–पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गरेका उनले बताएका छन् ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

कैलाश सिरोहिया पक्राउ

काठमाडौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई आज प्रहरीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे उनी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो ।

४० बुँदे माग पूरा गर्न दबाब दिन राप्रपाद्वारा मोटरसाइकल र्‍याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा मंगलबार मोटरसाइकल र्याली गरेको छ ।

पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल र्याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । काठमाडौँमा बबरमहलबाट सुरु भएको र्याली नगरपरिक्रममा पछि दरबारमार्गमा पुगेर समापन भएको थियो ।

सो र्यालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेता र कार्यकर्ता सहभागी भएका थिए । मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुई तहको सरकारको शासकीय प्रणालीसहित विभिन्न विषयमा ४० बुँदे माग गत फागुन ९ गते सरकारलाई मागपत्र बुझाइएको थियो ।

काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने

काठमाडौँ । यही जेठ १३ गतेदेखि काठमाडौँ जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ ।

सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।

जनस्वास्थ्य कार्यालय, काठमाडौँले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौँ जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिए ।

उनले काठमाडौँ एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयम्सेविका परिचालन गरिने बताए ।

नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । “नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उनले भने।

त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनको भनाइ छ ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।