`

कोठाभाडा तिर्न नसक्दा आत्महत्या रोजेको परिवार…

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि सोेचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा सोही कारणले उनले आत्महत्या गरेको खुलेको जानकारी दिए ।

कालो कपडाले मुख छोपिएको र घाँटी काटिएको अवस्थामा उनको शव आज विहान फेला परेको प्रहरीको भनाइ छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कृष्णको शव भेटिएपछि छोरा रिचेन घाइते अवस्थामा भेटिएका थिए । दुवै जना मुखका कालो कपडाले छोपिएको र घाँटी काटिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । 

प्रवक्ता अधिकारीले भने, “घाइते अवस्थामा आज भेटिएका रिचेनलाई प्रहरीले हिजो पनि चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दैगर्दाको अवस्थामा उद्धार गरेको खुल्न आएको छ ।” 

प्रहरीका अनुसार कृष्ण बिगत १५ वर्षदेखि टयाक्सी चलाउदै आएका थिए । श्रीमतीले छाडेपछि उनी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौँको रबिभवन, गणेशथानमा भाडाको कोठामा बस्दै आएका थिए । पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जना ट्याक्सीमा रात कटाउँदै आएको प्रहरीको भनाइ छ ।

रिचेन र रश्मीको मानसिक अवस्था सामान्य नदेखिएको खुल्न आएको प्रहरीले जनाएको छ । कृष्णले सोमबार सेतोपुल नजिक ट्याक्सी बिग्रिएको भन्दै छोरीलाई त्यही छाडेर छोरासँगै हिँडेका थिए । प्रहरीले आज विहान सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको थियो । रश्मीलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा, ३० औँ पटकको आरोहणका लागि कामीरिता शेर्पा चुचुरोतर्फ

सिबी अधिकारी, काठमाडौँ ।  सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका थिए । 


उक्त कीर्तिमान भङ्ग गर्दै यही सिजनमा सगरमाथाको दोस्रो पटक आरोहणका लागि कामीरिता सोमबार चुचुरोतर्फ लागेका हुन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामीरिताले भोलि बुधबार बिहान सगरमाथाको चुचुरोमा पुग्ने योजना अनुरुप अहिले सगरमाथाको चौँथो शिविरनजिक छन् ।


“कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि अहिले साउथकोल नजिक पुग्नुभएको छ । भोलि बिहान चुचुरोमा पुग्ने योजना छ”, फिल्ड कार्यालय प्रमुख गौतमले भने ।


     सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिता सगरमाथाको सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र पर्वतारोही हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् । 


अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।  सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यही याममा पत्रकार पूर्णीमा श्रेष्ठले एक सातामा तीन पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने योजना अनुरुप सगरमाथाको चुचुरोतर्फ लागेकी छन् । पत्रकार श्रेष्ठले यो याममा दुई पटक सगरमाथा आरोहण गरिसकेकी छन् ।


तेस्रो आरोहणका लागि उनी पनि चुचुरोतर्फ लागेको जनाइएको छ । यस्तै होटा पुड्का सागर सुनुवारले पनि यही याममा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्यसहितसगरमाथा आरोहणमा गएका छन् । कास्कीका सागर तीन फिट सात इन्च अग्लो छन् । यही याममा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले आरोहण गरिसकेको प्रमुख गौतमले जानकारी दिए ।


उनले यस याममा आरोही र शेर्पा सहयोगीसहित चार सय ६० ले सगरमाथा आरोहण गरेको बताए । “हालसम्म करिब ७० प्रतिशत आरोहीले सगरमाथा आरोहण गरिसक्नुभएको छ”, उनले भने, “अबको चार दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको छ ।”


खाली हुँदै सगरमाथा आधार शिविर


सगरमाथाको आधार शिविरस्थित चाँदीझैं टल्कने हिउँमा रङ्गीविरङ्गी त्रिपालले सजिएको सगरमाथाको आधारशिविर बिस्तारै सुनसान बन्दै गएको छ । सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेको तथा बाँकी आरोही आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेकाले आधारशिविर सुनसान बन्न थालेको विभागको फिल्ड कार्यालयका प्रमुख गौतमले बताए । उनका अनुसार यो याममा सगरमाथा आधारशिविरमा आरोहीको व्यवस्थापनका लागि एक हजार पाँच सय पाल टाँगिएको थियो । 


आधारशिविरमा पर्वतारोही, शेर्पा गाईड र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी तीन हजार हाराहारी मानिसको चहलपहल थियो । आरोहण यामको दुई महिनाभर आधारशिविरमा मानवीय चहलपहल रहन्छ । 


यस याममा दुई जना मङ्गोलियन नागरिकको मृत्यु भएको विभागले जनाएको छ । आरोहणका क्रममा घाइते भएका ५० जना भन्दाबढी आरोहीको सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । घाइतेमध्ये कतिपय आरोहीको हात आँखा खिइएको छ । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिले यो पटक आधार शिविरमा हुने अवैधानिक गतिविधि रोक्ने, जथाभावी ड्रोन उडाउने तथा विदेशी नागरिकको अवैध गतिविधि नियन्त्रणमा पनि भूमिका खेलेको जनाइएको छ । बेसक्याम्पमा एक हजार पाँच सयभन्दा बढी पालमा भोलि बिहान साउथ कोल नजिक छन् ।  मे २५ भित्र मौसम राम्रो भएकाले सोही समयभित्र आरोगण गरिसक्न विभागको फिल्ड कार्यालयले सबै आरोहीलाई सूचित गरेको छ ।


यस वर्षको वसन्त आरोहण गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । आरोहणका लागि १० जना दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको थियो । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण करिब अन्तिम चरणमा पुगेको बताए । मौसम अनुकूल रहेकाले बाँकी आरोही पनि सहज रुपमा चुचुरो पुग्ने अनुमान गरिएको उनले उल्लेख गरे । 


विभागको पर्वतारोहण शाखाका अनुसार यो सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका थिए ।

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रिपरिषदको बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णयअनुसार मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मुलुक गरिव भएपनि सम्पत्ति विवरण हेर्दा मन्त्रीहरु भने धनी देखिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालको सम्पत्ति १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उल्लेख छ । त्यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड भन्दा बढी नगद बैंक तथा सहकारीमा जम्मा रहेको उल्लेख छ ।

त्यसैगरी, उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ । महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ । यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।


त्यसैगरी, सहरी विकास मन्त्री धनबहादुर बुढाको काठमाडौँ र डोल्पामा गरेर ८ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा करिब पाँच रोपनी जग्गामा बनेको ३ तले र २ तलेका ४ वटा घर रहेको उल्लेख गरेका छन् । उनले बुझाएको सम्पत्ति विवरण अनुसार श्रीमती हिमालीको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा १७ आनामा बनेको ७ तले एउटा घर रहेको उल्लेख गरेका छन् ।

त्यस्तै सोही वडामा ७ आनामा बनेको अर्को एउटा घर पनि रहेको उनले उल्लेख गरेका छन्। उनले सुन १ सय ५० तोला, चाँदी ३ सय तोला, नगद ६० लाख र हाइलक्स प्राडो २ वटा रहेको बताएका छन्।

गृहमन्त्रीको नाममा कम, श्रीमतीको नाममा ८० तोला सुन, २० केजी चाँदी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सत्तपत्ति विवरण अनुसार गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको उल्लेख छ । त्यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

प्रधानमन्त्रीको सम्पत्ति २५ लाख नगद

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरिएको हो ।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नगद २५ लाख रुपैयाँ रहेको रहेको छ । त्यस्तै स्वर्गीय पत्नी सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उल्लेख छ ।

जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि नेपाललाई फिनल्यान्डको १३ मिलियन युरो अनुदान

काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र फिनल्याण्ड सरकार तर्फबाट नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्काले हस्ताक्षर गरेकी हुन् ।

फिनल्याडको उक्त सहयोगले नेपालको दिगो प्राकृतिक स्रोत व्यवस्थापन र स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्याउने अर्थ मन्त्रालयका सहसचिव नेपालले बताए ।

यस परियोजनाले सुदूरपश्चिम र कर्णालीका लाखौं व्यक्ति लाभान्वित हुने अपेक्षा सरकारको छ । सहसचिव नेपालका अनुसार सरकारले उक्त रकमबाट विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तनको असरविरुद्ध लड्न परियोजना सञ्चालन गने छ ।

सशस्त्र प्रहरीका ४५ प्रशिक्षार्थी अधिकृतद्वारा कुश्मामा बञ्जीजम्प

काठमाडौँ । सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा बञ्जी जम्प गरेका छन् ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी अधिकृतले साहसिक तालिमअन्तर्गत आज बञ्जीजम्प गरेको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।

सशस्त्र प्रहरीका अधिकृतस्तरका प्रशिक्षार्थीलाई दिने साहसिक प्याकेजमा यसपटक बञ्जीजम्प थप गरिएको उनले बताए ।

द क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गरे । कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा स्वीङ, बन्जीजम्प, स्काइ साइक्लिङलगायतका विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालनमा छन् ।

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले गराए स्वास्थ्य बीमा 

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरुपमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ ।


सरकारी अस्पतालमा उपचार गराउँदा १० प्रतिशत तथा निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत खर्च बिरामीले ब्यहोर्नुपर्ने तथा बाँकी रकम बीमा बोर्डले ब्यर्हाेने प्रावधान लागू भएपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढेको  बोर्डका मधेस प्रदेश संयोजक मनोज पौडेलले जानकारी दिए ।


उनका अनुसार  सबैभन्दा बढी सिरहा जिल्लामा एक लाख २२ हजार दुई सय ७१, सर्लाही जिल्लामा ४० हजार छ सय ६८, सप्तरी जिल्लामा ९४ हजार २०, धनुषा जिल्लामा ५४ हजार नौ सय ६७, महोतरी जिल्लामा ४९ हजार दुईसय ५७ ,  रौतहट जिल्लामा   ८३ हजार ६ सय २२, बारा जिल्लामा ६८ हजार दुई सय ३८ तथा पर्सा जिल्लामा ९१ हजार ६ सय २४ परिवारले स्वास्थ्य बीमा गरेको जनाएको छ ।


स्वास्थ्य बीमामा सहभागी हुन पाँचजना सदस्य भएको परिवारले वार्षिक तीन हजार पाँच सय प्रिमियम रकम तिर्नुपर्छ भने पाँचजनाभन्दा बढी सदस्य बराबरको सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्नेछ ।


बीमित परिवारमा सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्दै आएको छ । कतिपय अस्पतालमा सरकारले बीमाबापतको रकम समयमा उपलब्ध नगराउँदा बीमा कार्यक्रम रोकिएको अस्पतालले जनाएका छन् ।


सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत रहेको सो बीमाका सम्बन्धमा स्वास्थ्य बीमा बोर्डको कार्यालयले बीमा दर्ता सहयोगीहरुका लागि पुनःताजगी कार्यक्रम गरिरहेको पौडेलले जानकारी दिए । 

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनीले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।  त्यसक्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्याङ्क रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको दुई हजार सात सय ४९ डलरबाट  बढेर चालु आर्थिक वर्षमा दुई हजार सात सय ८४ डलर पुगेको छ ।

हालको मूल्यमा बङ्लादेशको जीडिपी चार सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा चार सय ५२ अर्ब डलर थियो । 

तथ्याङ्कले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।

र्‍यापर रेडक्यापले ल्याए ‘लेभलको गाना’

काठमाडौ । र्‍यापर गौरव पौडेल रेडक्यापको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उनले ‘लेभलको गाना’ सार्वजनिक गरेका हुन् । नयाँ सार्वजनिक गरिएको गाना उनको आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मा हेर्न र सुन्न सकिन्छ । उनले यसअघि झण्डै आधा दर्जन गीत बजारमा ल्याइसकेका छन् । २ मिनेट ५४ सेकेन्ड लामो ‘लेभलको गाना’को शब्द रचना उनी आँफैले गरेका हुन् । साथै उक्त गानामा कम्पोज र स्वर पनि उनको आफ्नै रहेको छ ।
अन्य गितको तुलनामा र्‍याप विधामा सबै कुरा खुलेर राख्न पाउने उनको अनुभव छ । ‘खुलेर सबै कुरा राख्न पाउनुपर्छ भन्ने मेरा पुरानै मान्यता हो । स्वभाव पनि त्यस्तै छ ।’ उनले भने भने, ‘यो विधामा पनि त्यहि कुरा लागू हुने भएका कारण जन्मदिनमा थप खुल्न चाहेको हुँ ।’

पर्वत घर भएका र्‍यापर पौडेल सञ्चारकर्मी पनि हुन् । सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्ने पौडेलले काठमाडौँ आएर संघर्ष गर्दै आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्दै आएका छन् ।

हामी कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न दिनेछैनौँः विदेशमन्त्री साब्री

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले  भारतको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने आफ्नो देशको प्रतिबद्धतालाई पुष्टि गर्दै एक जिम्मेवार छिमेकीको रूपमा कोलम्बोले कसैलाई पनि भारतको सुरक्षामा हानी गर्न नदिने बताएका छन् । 

“हामीले स्पष्ट रूपमा भनेका छौँ कि हामी सबै देशसँग सहकार्य गर्न चाहन्छौँ तर भारतीय सुरक्षासम्बन्धी कुनै पनि चिन्तालाई उचित ध्यानमा राखिनेछ र कसैलाई पनि हानी गर्न दिनेछैनौँ“, मन्त्री साब्रीले भने ।

“मलाई भर्खरै थाहा भयो कि चीन भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदार बनेको छ त्यसैगरी हामी पनि सबैसँग काम गर्न चाहन्छौँ । म दोहोर्याउन चाहन्छु, एक जिम्मेवार छिमेकी र सभ्यताको साझेदारका रूपमा हामी भारतको वैध सुरक्षालाई हानी पुर्याउने कुनै पनि काम गर्दैनौँ”, उनले भने । 

भारतमा चलिरहेको निर्वाचनको बारेमा सोधिएको प्रश्नमा मन्त्रीले यो अभ्यास लोकतन्त्रको उत्सव रहेको र श्रीलङ्काले चुनावको नतिजा जस्तोसुकै भए पनि भारतसँग मिलेर सहकार्य गर्ने बताए ।

“यो लोकतन्त्रको उत्सव हो, विश्वको सबैभन्दा ठुलो लोकतन्त्र । भारतीय जनता शिक्षित छन् । मलाई लाग्छ चुनाव आन्तरिक कुरा हो । यो जनताले निर्णय गर्नुपर्छ । हामी यसको शान्तिपूर्ण निष्कर्ष चाहन्छौँ र भारतीय जनताको निर्णयलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौँ”, उनले भने । 
 
गत वर्ष भारतले श्रीलङ्काको बन्दरगाहमा जहाजको डकिङमा आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको थियो । “हाम्रो छिमेकीमा के हुन्छ, हाम्रो सुरक्षामा असर पार्ने कुनै पनि घटनाक्रम हाम्रो लागि चासोको विषय हो”, जयशंकरले नवौँ भारत–थाइल्यान्ड संयुक्त आयोगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भने । 

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

 कालिकोट । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् ।

पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै उद्योग स्थापना गर्दा आफूसँगै अन्य युवाले पनि रोजगारी पाएका बताए ।

उनले स्थानीय केही युवा मिलेर स्थापना गरिएको उद्योगमा हाल २४ जनाभन्दा बढीले रोजगारी पाएका समेत जानकारी दिए । ‘पहिलो गाउँमा रोगगारीका अवसर थिएनन् । देशमा केही हुँदैन भनेर रोजगारीका लागि परदेश (भारत) गएर धेरै वर्ष काम गरे । अर्कोको देशमा जोखिमपूर्ण काम गर्नुपर्दा निकै दुःख पाएको थिए’, उनले भने, ‘त्यहाँ अपमान र हण्डर खाएपछि आफ्नै गाउँमा फर्किएर उद्योग स्थापना गरेको हुँ । केही युवा मिलेर सिर्जनशील नेपाली हाते कागज लघु उद्योग स्थापना गरेका हौँ । हाल २४ जनाभन्दा बढी युवाले रोजगारी पाएका छौँ ।’

धेरै युवा नेपालमा केही गर्न सकिदैँन भनेर विदेशीएका छन् तर अर्काको देशमा गएर आर्थिक उपार्जन राम्रै भए पनि आत्मसन्तुष्टि र स्वाभिमानका लागि आफ्नै देशमा केही गर्नुपर्ने निष्कर्षसहित आफूहरू गाउँमै लघु उद्यममा लागेको वसन्तको भनाइ छ ।

‘युवाले समूहिकरूपमा केही गरेमा नेपालमै केही गर्न सकिन्छ, गाउँमा हामीले त्यो उदाहरण पेश गरिसकेका छौँ । विदेश गएरमात्र पैसा कमाइन्छ भन्ने चलनको अन्त्य हुन जरुरी रहेको छ’, उनले भने ।

उद्योग सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र केसीले स्थानीय युवा मिलेर गाउँमा स्वरोजगारको आधार तयार गरिरहेका बताउँछन् । उनले कच्चापदार्थको समस्या नभए पनि विद्युत् अभावका कारण उद्योग पूर्णरूपमा सञ्चालन गर्न नसकिएकाले त्यसमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गरे ।

उनले भने, ‘गाउँमा उत्पादन भएको नेपाली हाते कागज बाहिर लगेर बेच्ने गरेका छौँ । त्यसबाट २४ जना बढीले रोजगारी पाएका छौँ । विद्युत् आपूर्ति भई उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नसके थप रोजगारी सिर्जना गर्न सकिन्छ ।’

गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह सज्यालले समूहका सदस्यहरूले उत्पादन गरेका नेपाली हाते कागज न्याय समितिले खरिद गर्ने व्यवस्था मिलाइएको बताए । ‘गाउँमा स्थापित साना लघु उद्योगलाई स्थापित गरेर लैजाने पालिकाको कार्यनीति रहेको छ । त्यसैकारण उत्पादित कागज गाउँपालिकाले नै खरिद गरिदिने गरेका छौँ, बाँकी समस्या समाधानका लागि पनि हाम्रो सहयोग रहन्छ’, उनको भनाइ छ ।

हाल उक्त उद्योगबाट उत्पादित कागज बेचेर मासिक रु एक लाखसम्म आम्दानी हुने गरेको वसन्तले बताए ।

अन्तर्राष्ट्रिय पर्वतीय संवादमा हिमालमा परेको जलवायु परिवर्तनसम्बन्धी समस्याको समाधान खोज्छौंः डा. पपुलर जेण्टल भुसाल(अन्तरवार्ता)

काठमाडौँ ।  पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ । यसको प्रभावका कारण हिमालको हिउँ पग्लिरहेको र कालान्तरमा हाम्रो हिमालको नै कुनै अस्तित्व नरहलाका भन्ने चिन्ताको विषय पनि बनेको छ । हिमाली क्षेत्रका प्रभावको मुद्दा विश्व समुदायमा स्थापित गराउने लक्ष्य साथ भोलि र पर्सि काठमाडौँमा पर्वत, मानव र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सुरु हुँदैछ । मुख्यगरी पर्वतीय क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित रहेर छलफल सुरु हुनेछ । 


नेपालले जलवायु परिवर्तनको असरको कारणले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरहरुका बारेमा सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउँदै आइरहेको छ । प्रस्तुत छ, भोलिदेखि सुरु हुने अन्तर्राष्ट्रिय संवादमा उठाउन लागेको एजेन्डा तथा संवादले दिने सन्देशको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायु तथा वातावरणविज्ञ सल्लाहकार डा पपुलर जेण्टल भुसालसँग राससकर्मी प्रगति ढकालले गरेको कुराकानीको अंश :


भोलिदेखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वतीय संवादले के कस्तो सन्देश दिने अपेक्षा गर्नुभएको छ ? 
– जलवायु परिवर्तनका कारण बढी असर हिमाली क्षेत्रमा परेको छ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा प्रभाव परको छ । हिमाली क्षेत्रमा वसोवास गर्ने समुदायको जीविकोपार्जन र उनीहरुको संस्कृतिमा पनि असर गरिरको छ । हिमाली क्षेत्रले दिएको विभिन्न सेवाहरुमा असर पुगेको छ । उदाहरणका लागि, जैविक विविधताको सेवाहरु छन् । ठूलो जनसङ्ख्यालाई हिमाली क्षेत्रले प्रदान गर्ने स्वच्छ खानेपानी सेवा रहेका छन् । यी र यस्ता सेवाहरु जलवायु परिवर्तनको असरका कारण अत्यन्त जोखिममा परेका छन् । 


जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । यी कुराहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फोरमहरुमा उठ्दै आइरहेका छन् । ‘ग्रुप अफ माउन्टेन’ भनेर पनि अन्तर्राष्ट्रिय फोरममा पनि जलवायु परिवर्तनको असरबाट हिमाललाई कसरी जोगाउने भन्ने विषयमा छलफल हुने गरेको छ । नेपालमा पनि विभिन्न समयमा जलवायुका मुद्दालाई उठाउने र छलफलहरु गर्ने प्रयास भयो, तर यसले निष्कर्ष निकाल्न सकेन । 


हरेक वर्ष संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धीअन्तर्गतका पक्ष राष्ट्रहरुबीच हुने छलफल (कोप) मा पनि हामीले हिमालको मुद्दालाई मुख्य छलफलको एजेन्डा बनाउनका लागि पहल गरिरहेका छौँ । हिमाल मानव र जलवायुको विषय अबको कोपमा प्राविधिक संवादका रुपमा आउनुपर्छ र विषय प्रवेश पाउनुपर्छ भन्नेमा जोड रहेको छ । गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप—२८) को मुख्य नतिजा विज्ञ संवाद गर्ने भनेर निर्णय गर्यो । यो छलफल आगामी जुनको पहिलो सातादेखि जर्मनीको बोनमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) मा हुँदैछ । त्यसमा हामीले उठाउनुपर्ने विषयवस्तुबारे साझा धारणा बनाउने भन्ने कुरा राम्रोसँग गरिएन भने फेरि त्यो छलफल नै प्रभावकारी हुँदैन कि भन्ने हामीलाई लागेको हुँदा हामीले त्यसलाई पनि लक्षित गरी अहिलेसम्म हामीले गरेका प्रयासहरुलाई निरन्तरता दिनुपर्छ भनेर नेपालले आफ्नै नेतृत्वमा यही जेठ ९ र १० गते अन्तर्राष्ट्रिय संवाद गर्दैछौँ । कोपको मुख्य एजेन्डाका रुपमा हिमालका एजेन्डाहरुलाई बनाउन जरुरी रहेको छ भन्ने आवाजहरु हामीले उठाउँदै आइरहेका छौँ । यहाँ परेको प्रभाव न्यूनीकरणका लागि लक्षित कोषहरुको व्यवस्था होस् भनेर आवाज उठाइरहेका छौँ । क्षमता अभिवृद्धिका लागि सहयोग होस् । अनि प्राविधिहरुका लागि पनि सहयोग होस् भनेर हामीले विभिन्न समयमा आवाज उठाउँदै आयौँ तर यसले सार्थकता पाएन । 


त्यसो नभएपछि गत वर्षदेखि नेपालले अब यसको नेतृत्व लिनुपर्छ । यो मुद्दालार्ई नेपालले नै अगाडि सार्नुपर्छ अव भनेर प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको थियो । त्यो अनुरुप हामीले सुरु गर्यौं। गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म दुबईमा सम्पन्न कोप—२८ सुरु हुनु अगावै संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले यहाँ आएर हाम्रा हिमालहरुलाई निहाल्नुभयो । त्यहाँ जलवायु परिवर्तनले पारेको प्रभावलाई प्रत्यक्ष रुपमा साक्षात्कार गर्नुभयो । उहाँले  भन्नुभएको थियो, “अब एक्सन नलिई हुँदैन भनेर ।” हामीले कोप–२८ मा पनि हिमालका मुद्दा उठाउनका लागि विशेष पहल गरेका थियौँ । प्रधानमन्त्रीज्यूले जलवायु न्यायका लागि हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको न्यायका लागि राष्ट्रको एउटा अधिकारका रुपमा उठाउनुपर्छ भन्ने कुरा गर्नुभयो । 


संवादको उद्देश्य के हो ? 
– हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभावको विषयमा तथ्यसत्य प्रमाणहरु के छ ? संसारभरको हिमाली क्षेत्रकामा के कति प्रभाव छ ? भनेर नीतिनिर्मता, योजनाकार, राजनीतिज्ञ, विज्ञहरुलाई एकै ठाउँमा राखेर यसमा भएको ज्ञान, तथ्याङ्क, अहिलेसम्मको अभ्यासलाई एकीकृत गर्ने भन्ने संवादको उद्देश्य रहेको छ । प्रकृतिमा आधारित उपयाहरु के के हुन सक्छन् । हिमाली क्षेत्रको जलवायु परिवर्तनले निम्ताएका समस्याहरु न्यूनीकरण तथा अनुकूलनमा के के गर्न सकिन्छ ? हानि–नोक्सानीको कोषमा भएको वित्त न्यायोचित रुपमा कसरी वितरण गर्ने ? उपायहरु के के हुन सक्छ ? अहिलेसम्मको अभ्यासहरु के के छन् ? त्यो उपायहरुका बारेमा पनि छलफल गरेर यी कुराहरु आवश्यक रहेका छन् भन्ने निष्कर्ष निकालिनु अर्को उद्देश्य रहेको छ । 


यो समस्याहरु भयो । यसले नयाँ अवसरहरु पनि सिर्जना गर्छ । जस्तैः हरित अर्थतन्त्र निर्माणमा हिमाली क्षेत्रले कसरी योगदान पुर्याउन सक्छ ? स्वच्छ ऊर्जामा कसरी हिमाली क्षेत्रले योगदान पु¥याउन सक्छ ? जलवायु वित्तको अवसरहरुलाई हिमाली क्षेत्रको जलवायु प्रभावलाई कम गर्नका लागि, उत्थानशील विकासलाई प्रवद्र्धन गर्नका लागि यसलाई कसरी अवसरका रुपमा प्रयोग गर्न सकिन्छ ? भनेर अन्तर्राष्ट्रिय र क्षेत्रीय संवादहरुको आवश्यकता रहेको छ । हामी सबैलाई परेको प्रभावहरु यो यो हो । यी यी प्रभावहरु अवलम्बन गर्नुपर्छ । हिमाली क्षेत्रको जलवायु उत्थनशीलताका लागि उपलब्ध अवसरहरुलाई हामीले यसरी प्रयोग गर्न सक्नुपर्छ भन्ने कुराहरु कसरी सबैले साझा बुझाइ बनाउने भन्ने नै यसको उद्देश्य रहेको छ । 


यसका लागि हाम्रा चारओटा रणनीतिहरु छन् । जुनको पहिलो हप्तादेखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) मिटिङ हाम्रो लागि ठूलो अवसर पनि हो । त्यो अवसर पनि हामीले गरेको प्रयासहरुबाट नै त्यो अवसर सिर्जना भएको हुनाले त्यसलाई कसरी हाम्रा कुराहरु राख्ने भन्ने छ । त्यसका लागि  साब्टाको अध्यक्ष समेत त सम्मेलनमा भाग लिन नेपाल आइसक्नुभएको छ । हाम्रा कुरा सुनाउने यो सुनौलो अवसर पनि हो, तर यसको प्रभाव तल्लोतटीय क्षेत्रमा भएका देशहरुले हिमाल जोगाएन भने ठूलो असर समेत ब्यहोर्नुपर्ने हुन्छ । हाम्रा कुरा कसरी उठाउने ? हाम्रा एजेन्डालाई सम्बोधन हुने गरी कसरी अगाडि बढ्ने भन्नेमा पनि ध्यान दिएर अगाडि बढ्नेछौँ । तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने जनसमुदायले पनि हिमाल जोगिएन भने पर्नसक्ने प्रभावको विषयमा पनि छलफल हुनेछ । आज बङ्गलादेशको मन्त्री आउँदै हुनुहन्छ । उहाँहरुले पनि बारम्बार यो कुराहरु उठाउँदै आउनुभएको छ । हिउँ पग्लँदा, हिमताल फुट्दा, हिमपहिरो जाँदा त ती तल्लो तटीय क्षेत्रले पनि त असर ब्यहोर्नुपर्ने हुन्छ नि । 


हिमाल जोगाउने र हिमालका पारिस्थितिकीय प्रणाली जोगाउने जिम्मा तल्लो तटीय क्षेत्रका मानिसको पनि रहेको छ । उहाँहरुको पनि हिमाल जोगाउने कुरा चासोको विषय हो भने अन्तर्राष्ट्रियकरण गर्दैछौँ । हिमालले दिने विश्वव्यापी सेवाहरु हाम्रो लागि मात्रै होइन । तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने १.६५ बिलियन मानिसलाई हिमालले स्वच्छ पानी दिन्छ । तसर्थ, नेपाल र अन्य हिमाली देशलाई मात्रै पर्ने होइन । हिमाल जोगिए विश्वको नै पर्यावरण जोगिन्छ भन्ने साझा मुद्दा बनाउन जरुरी रहेको छ । यो कुरालाई कसरी व्यवस्थित किसिमले प्रस्तुत गर्ने ? भन्ने विषयमा सबैको धारणा एउटै बनाउन आवश्यक रहको छ । हाम्रा पोजिसन के हो ? हामीले उठाएका कुरारु के हो ? भनेर अरूले बुझ्ने भाषामा प्रस्ट रुपमा यो कुराहरु राख्न एकदमै आवश्यक रहेको छ । 


हाम्रा मुख्य एजेन्डाहरु के के हुने छन् ? 
– जलवायु न्याय नै हाम्रो मुख्य एजेन्डा हो । जलवायु न्यायलाई जब अधिकारका रुपमा राखिँदैन तबसम्म जवाफदेयी हुँदैन । यो मुद्दा उठ्ने छलफल हुने टङ्गिने हुन्छ । तसर्थ, यसलाई  सामाजिक र वातावरणीय न्यायको संरचनालाई कसरी हेर्ने भन्ने मुख्य लक्ष्य रहेको छ । अर्को महत्वपूर्ण कुराहरु के रहेको छभने हिमाली क्षेत्रमा वसोवास गर्ने मानिसहरु, त्यहाँका आदिवासी तथा जनजाति तथा महिला वर्गलाई जलवायुले पार्ने फरक असरको विषयमा छलफल हुनुपर्छ । यदि प्रभाव भिन्न रहेको छ भने हामीले गर्ने ‘रेस्पोन्स’ पनि त भिन्न किसिमले गुर्नुपर्छ । थप वित्त स्रोत चाहिन्छ । क्षमता अभिवृद्धिको कामहरु हुनुपर्छ । आदिवासी जनजाति, दलित, महिलालगायत पछाडि पारिएका वर्गहरुमा जलवायु परिवर्तनले निम्ताएका समस्याहरुको विषयमा कसरी अन्तर्राष्ट्रियकरण गर्ने ? भन्ने प्रयास गरिरहेका छौँ । 


हिमाली मुलुकमा प्रतिनिधिहरुको मात्रै सहभागी रहन्छ कि अन्यको पनि ? 
– अहिलेसम्म २३ ओटा हिमाली देशलाई प्रतिनिधित्व गर्ने गरी सहभागीहरु आउनुभएको छ । ६३ जना अन्तर्राष्ट्रिय सहभागीहरु आउन सुरु गर्नुभएको छ । बङ्गलादेशका मन्त्री पनि आज आउँदै हुनुहुन्छ । अरु पनि बैज्ञानिकहरु पनि आउँदै हुनुहुन्छ । हाम्रो सरकारको नीति तथा कार्यक्रममा पनि हामीले यो मुद्दाहरुमा संवाद गर्ने र यसमा नेतृत्वदायी भूमिका खेल्ने कुरा उठेको छ । प्रधानमन्त्रीले पनि प्राथमिकताका साथ उठाउँदा नेपालले नेतृत्वदायी भूमिका खेल्छ भन्ने सन्देश दिएको छ । नेपालमा काम गर्ने सबैजना यसमा जोडिनुभएको छ । निजी क्षेत्र, नागरिक समाज, राजनीतिज्ञ, विज्ञ, सञ्चारकर्मी सबै एकै ठाउँमा जम्मा भएर छलफल अगाडि बढाइन्छ । अन्य कुरामा विभाजित भए पनि यो कुरामा सबै लाग्नुपर्छ भन्ने छ । सो भएकाले हामीलाई नेतृत्वदायी भूमिका खेल्छ । 


यो संवादपछि नेपाललाई हुने फाइदा के के हुन् ?
– नेपाली सहभागीलाई क्षमता अभिवृद्धि हुनेछ । सबै एकै ठाउँमा आएर छलफल हुँदा तथ्य तथ्याङ्कहरुमा हामी ‘अपडेट’ हुने अवसर हुनेछ । विभिन्न देशमा भएका सफल प्रयासहरु थाहा भएर त्यसैलाई सिकाइका रुपमा अगाडि बढाउन सकिन्छ । जलवायु न्यायका विषयमा बोनमा हुने छलफलका लागि पनि प्रस्ट मार्गदर्शन दिने छ । आगामी कोप–२९ मा पनि एउटा निष्कर्ष निकाल्न सहयोग पुग्नेछ । 


हामीले जलवायु न्याय, समता, लैंगिक न्याय जस्ता कुराहरु उठाइरहेका छौँ, जुन कतिपय देशहरुलाई थाहा नहुन सक्छ । धनी देशहरुमा पनि हिमाल छन् । कतिपय विषयवस्तु समान छन् । पानी ‘रिचार्ज’ साथै हिउँ पग्लने जस्ता समस्याहरु त्यहाँका पनि साझा समस्या हुन्, तर गरिबी, पछाडि पारिएका, समावेशी नुहुनु, प्राकृतिक स्रोतमा समुदायको जीविकोपार्जनको निर्भरताको कुरा त्यहाँको भन्दा फरक छन् । 


नेपालको हिमाली क्षेत्रका समुदायहरुको प्राकृतिक स्रोतमा पर्ने निर्भर छन् । तसर्थ, मानव जीवनमा जलवायु परिवर्तनले पारेका प्रभावहरु भिन्न रहेका छन् । हाम्रो अनुकूलनको  क्षमता कम रहेको छ । गरिबीका कारण अझै बढी जोखिम भएको छ । त्यसकारण ती समुदायलाई केन्द्रमा राखेर जलवायु बित्तमा पहुँच हुनुपर्छ भन्ने कुराहरु हामीले उठाउन आवश्यक छ । यदि तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा कायम राख्न सकिएन भने हाम्रा हिमाल जोगाउन मुस्किल पर्छ । अझै बढी हिमालमा पारेको जलवायु परिवर्तनको असरबारे सबैको ध्यानाकर्षण गर्न पनि यस्ता संवादहरु महत्वपूर्ण हुन्छन् । 


जलवायु न्यूनीकरण तथा अनुकूलनका लागि आन्तरिक स्रोतले पुग्दैन भन्ने छ, उसो भए यो संवाद कार्यक्रमले जलवायु बित्त जुटाउन कतिको सहयोग गर्छ नि ? 
– जलवायु बित्तलाई जलवायु न्यायका रुपमा पाउनुपर्छ । जलवायु न्यायका लागि पर्याप्त वित्त हुनुपर्छ । राष्ट्रिय निर्धारित योगदान (एनडिसी) कार्यान्वयन तथा राष्ट्रिय अनुकूलन योजना कार्यान्वयनका लागि आवश्यक बित्त जुटाउन पहल गरिरहेका छौँ । जलवायु वित्तको सहज प्रवाहका लागि पनि पहल गरिरहेका छौँ । जलवायु वित्तमा पहुँच पुर्याउन जटिल छ । सरल हुनुपर्छ । जलवायु न्यायको कुरा गर्दा ऋण लिँदैनौं भन्ने नेपालले अडान लिँदै आइरहेको छ । उत्पादनमूलक क्षेत्रलाई पनि उत्थानशील बनाउनुपर्छ । भौतिक पूर्वाधारका कुराहरु पनि अब जलवायु उत्थानशील हुनुपर्छ । त्यस्तो कुराहरुमा सस्तो कर्जाका कुराहरु हुन्छ होला । जीविकोपार्जनका लागि र जलवायुवायु परिवर्तनको प्रभावका कारण निम्ताएको हानि–नोक्सानीमा ऋण भन्ने कुरा हुँदैन । यसकारण जलवायु वित्तका लागि ऋण होइन, अनुदानको रुपमा आउनुपर्छ भन्ने कुरा कुरा उठाउँदै आएका छौँ । । संवादमा पनि यो कुरा उठाउने छौँ । 


उसो भए लगानी जुट्नेमा कति विश्वस्त हुनुहुन्छ ?
–हिमाली क्षेत्रलाई ‘नेगोसिएसन ब्लक’का रुपमा उठाएर लगानी सुनिश्चित गर्नका लागि पहल हुनुपर्छ । हिमाली क्षेत्रलाई केन्द्रमा राखेर जलवायु बित्तको नीति तथा योजना बनाउनुपर्छ । जलवायु न्यायका लागि जलवायु बित्तीय सहयोग ऋणमा होइन अनुदानका रुपमा आउनुपर्छ । हानी नोक्सानीको कोष बनेको छ । कार्यान्वयनको विषयमा छलफल सुरु भएको छ । हेल्थमा जलवायुले पारेको प्रभाव भन्ने छ तर नाप्न गाह्रो छ । तत्काल हुने बाढी पहिरोको क्षति छ । गैरआर्थिक कुरामा हामीले दाबी गर्न गाह्रो हुन्छ । 


हानि–नोक्सानी वित्तमा पहुँचको सन्दर्भमा आर्थिक क्षति मात्रै होइन, गैरआर्थिक क्षेत्रहरुलाई हेरिनुपर्छ । मानिसको जीवन तथा स्वास्थ्यमा जलवायु परिवर्तनले पारेको प्रभावको क्षति कति भन्ने सहजै मूल्याङ्कन गर्न सकिँदैन । यसको पनि क्षति पाउनुपर्छ । जलवायु परिवर्तनको प्रभाव र असमानतालाई एकैसाथ सम्बोधन गर्नुपर्छ । यो कुराहरु अन्तराष्ट्रियस्तरमा बुझाएर साझा एजेन्डा बनाउन आवश्यक छ । 


संवादमा भएका सहमति हाम्रा आगामी नीति तथा योजनामा समावेश गरिन्छ ? 
– राष्ट्रिय रुपमै समावेश गर्नेछौँ । बारम्बार पर्याप्त मात्रामा तथ्याङ्क तथा प्रमाण छैन । जस्तैः बाढीले गरेको क्षति जलवायु परिवर्तनको कारण हो कि होइन कसरी मापन गर्ने ? र प्रमाणीकरण गर्ने ? के आधारमा क्षतिपूर्ति दाबी गर्ने ? जस्ता अन्योल हट्नुपर्छ । हाम्रा नीति तथा योजनाहरुमा थप गर्नुपर्ने या सुधार गर्नुपर्ने कुरा छन् भने सुधार गर्न सक्छौँ ।

संसदको गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । 
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।’


अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु भएको बताए ।


अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे । 

देशको सूचना बेच्ने मान्छे संसदमा देखाइदिन गृहमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसदमा देखाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसद बद्री पाण्डेले राष्ट्रिय सूचना बेच्ने मान्छे संसदमा देखाइदिन चुनौती दिएका हुन् ।

उनले भने, ‘को हो त्यो एजेन्ट ? देखाउनुस् । उसलाई गलहत्याउने हो, गलहत्याउन तपाईंलाई सघाउन हामी तयार छौँ । होइन भने तपाईंलाई गलहत्याउन नपरोस् ।’ पाण्डेले गृहमन्त्रीको अभिव्यक्ति पुष्टि नभए संसदको रेकर्डबाट हटाउन माग गरे । उनले आफ्ना पार्टीका उपसभापति र महामन्त्रीमाथि छानबिन गर्न आग्रह गरे ।

उनले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाल्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु। के कस्तो खालको टीओआर बनाउनु पर्ने हो बनाउनुस् । हाम्रा उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् ।’ पाण्डे छानबिनमा उपसभापति गुरुङ र महामन्त्री थापा दोषी देखिए सरकारले कांग्रेसका जुनसुकै नेतामाथि पनि कारबाही गर्न सक्नेसमेत बताए ।

उनले एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरार सूचीमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना भन्दै प्रश्न गरे । उनले गृहमन्त्रीलाई पनि पक्राउ गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचीमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो ? संसदीय छानबिन समिति बनाऔं । गृहमन्त्रीको दावी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस्, सफाई पाउनुहोस् । दावी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस् ।’

पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताए ।

उनले भने, ‘अहिलेका नयाँ राजाहरुले आफ्ना विरुद्ध प्रश्न सुन्न नचाहेको, नसकेको र पूर्वाग्रहको आधारमा त्यो गरिएको हो भने त्यो कान्तिपुरको लडाइँ मात्र हुन्न, त्यो सञ्चार जगतको लडाइँ हुन्न, त्यो लडाइँ नेपाली कांग्रेसको पनि हुन्छ भन्नेमा हामी दृढ छौं ।’

पाण्डेले गृहमन्त्री रवि लामिछानेको पनि दुईवटा नागरिकता लिएको विषय बाहिर आएको स्मरण गर्दै सिरोहियाको विषय अनुसन्धानबाट छिनोफानो हुने उल्लेख गर्दै भने, ‘तर पूर्वाग्रह राखेर प्रश्न उठाएकै भरमा प्रश्नको घाँठी निमोठ्न खोजिएको हो भने त्यो सह्य हुँदैन ।’

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको र जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पूर्जी जारी गर्न आदेश दिएको थियो ।

कांग्रेसको विरोधकाबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धि प्रस्ताव स्वीकृत

काठमाडौ । नेपाली कांग्रेसको अवरोधकाबीच सरकारको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ । जेठ ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएको सम्बन्धी प्रस्ताव सदनमा पेस गरेका थिए । विधेयकमाथि विरोधको सूचना दिन सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सांसद रामहरि खतिवडाले सो विधेयकमा आफ्नो विरोध रहेको जनाउ दिएका थिए । सभामुखले उनलाई रोष्टममा आएर ३ मिनेट बोल्न समय दिएको भद्धएपनि उनी रोष्टममा गएनन् ।

मार्सल लगाएर धन्यवाद प्रस्ताव पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडी बढाएका छन् । विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

कांगेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिएका थिए । मर्यादापालकको सुरक्षाबीच प्रचण्डले रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम टेबल गरिसकेका छन् । सभामुख घिमिरले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पनि पारित गरेका छन् ।

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाविरुद्ध १६ वैशाख २०८१ मा जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगसम्बन्धि उजुरी परेको थियो । उनीमाथि गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप छ ।

जिल्ला अदालत धनुषाले मंगलबार उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी(भिडियो)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ । बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बोलेसँगै कांग्रेसले नाराबाजी गरेको हो । सहकारीको रकम अपचलन तथा ठगीमा गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ।

महेन्द्रनगरमा क्रिकेट खेल मैदान बनाउदै बैजनाथ माध्यमिक विद्यालय

कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु गरिएको छ। महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सहयोगमा विद्यालय परिसरमा राष्ट्रियस्तरको खेल मैदान बनाउन लागेको हो।

खेल मैदानका लागि जग्गा रेखाङ्कन गरी माटो भर्ने काम भइरहेको वैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत कलौनीले जानकारी दिएए।

“अहिले पाँच/छ लाख लागतमा माटो भर्ने काम भइरहेको छ”, कलौनीले भने, “महेन्द्रनगरमा क्रिकेट खेलाडीका लागि मैदान अभाव भएकाले विद्यालय खेल मैदान बनाउन लागेको हो।” उनले कञ्चनपुर क्षमतावान खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले यहाँ खेल मैदानको आवश्यकता रहेको बताए। सुदूरपश्चिमलाई क्रिकेट खेलाडीको उर्वरभूमिको रुपमा लिइन्छ।

दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोरालगायतका राष्ट्रिय खेलाडी कञ्चनपुरकै उत्पादन हुन्। तर खेलाडीलाई अभ्यास गर्नका लागि भने गतिलो खेलमैदान छैन।

निर्माणाधीन खेल मैदानको स्थलगत निरीक्षण गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले राष्ट्रियस्तरको खेलमैदान बनाउन सहयोग गरे स्रोतसाधन र कर्मचारी व्यवस्थापनको जिम्मा क्रिकेट सङ्घले लिने बताए। “हामीले पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष चन्दले भने,“सरकारले पूर्वाधार निमार्णमा लगानी गरिदिए क्रिकेटको विकासमा टेवा पुग्छ।”

उनले अहिले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमकै खेलाडीको वर्चस्व रहेको बताउँदै ग्रासरुटमा क्रिकेट अभ्यासका संरचना बन्नुपर्ने बताए। “यहाँ खेल मैदान बन्न सक्यो भने हामी राष्ट्रियस्तरका प्रतियोगिता यहाँ खेलाउन सक्छौं”, उनले भने, “खेल संरचना निर्माणमा राज्यको लगानी हुन जरुरी छ।”

क्रिकेट खेलका लागि पूर्वाधार निर्माणमा राज्यको ध्यान जान नसकेको स्थानीय विसनदत्त जोशीले बताए। “राज्यको ध्यान खेलकुदको विकासमा गएको देखिदैन”, उनले भने, “आगामी वर्षको बजेटमा खेलकुदलाई पनि प्राथमिकतामा राखेर सरकारले खेलपूर्वाधार निमार्णमा जोड दिनुपर्छ।”

म्याग्दीमा ९ सय रोपनी जग्गामा बर्खे आलुखेती

 गलेश्वर । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ ।

जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक नवराज भुसालका अनुसार समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत म्याग्दीभित्रका १३ वटा कृषक समूहले रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर लगाएका हुन् ।

कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगङ्गा, धवलागिरि, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका आठ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको उनले जानकारी दिए ।

उनका अनुसार यस वर्ष बर्खे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनोट भएको भए पनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूहमात्रै आएका थिए ।

ज्ञान केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गतको खायन आलु उत्पादन प्रवर्द्धनअन्तर्गत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताए ।

‘जिल्लाको उत्पादकत्वका हिसाबले हेर्दा यस वर्ष सात सय ६५ मेट्रिक टन आलु उत्पादन हुने देखिन्छ’, केन्द्र प्रमुख बाँस्तोलाले भने, ‘आठ सय ९८ रोपनी भनेको ४५ हेक्टर क्षेत्रफल हो र प्रतिहेक्टर म्याग्दीमा १७ मेट्रिक टन उत्पादन हुने देखिन्छ । आलुको बोट हालसम्मको गुणस्तर हेर्दा अन्य कुनै रोग कीराको समस्या भएन भने यस वर्ष करिब आठ सय मेट्रिक टन आलु उत्पादन हुने हामीले अनुमान गरेका छौँ ।’

यस वर्ष पश्चिम म्याग्दीको धवलागिरि–७ ताकम, धवलागिरी–४ मुदीको बगर, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को खिबाङ, रघुगङ्गा–६ ठाडाखानीलगायत क्षेत्रमा बर्खे आलु लगाइएको छ ।

त्यस्तै बेनी नगरपालिका–३ को भुकभुके, मङ्गला गाउँपालिका–२ हिदीलगायत क्षेत्रमा पनि आलु उत्पादन राम्रो हुने भएकाले त्यस क्षेत्रमा आलु उत्पादनका लागि अनुदान वितरण गरिएको उनले जानकारी दिए ।

यसपटक २५ प्रतिशत किसानको र ७५ प्रतिशत अनुदान गरी प्रतिरोपनी रु ११ हजार पाँच सय ५३ बराबरको बीउ खरिद गरेर आलुखेती गरिएको हो ।

तनहुँको व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

यसक्रममा १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको तथा १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई खोप लगाइएको उनले बताए ।

नगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे ।

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पूर्णखोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङलगायत वक्ताले पूर्णखोप घोषणा भएसँगै भविष्यमा पनि यसलाई कायम राख्न सम्बन्धित सबै सजग हुनुपर्नेमा जोड दिएका थिए ।

इलामबाट सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित १३ लाखको सामान बरामद

इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।

ससस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर ६ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य सात लाख कायम गरेर १३ लाख १८ हजार तीन सय बराबरका सामग्री बरामद भएको जनाइएको छ ।

संसदीय समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षीको असहमति कायमै

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकले आज पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरूबारे छलफल भएको भएपनि निष्कर्षमा भने पुगिनसकेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडान राखेको छ भने एमाले र रास्वपाले भने त्यसलाई अस्वीकार गरेका छन् । जसका कारण सहमति जुट्न नसकेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठक सौहार्दपूर्ण भएको र सहमति गरेर विषय टुंग्याउने कुरामा छलफल भएको बताए। नाम किटान गरेर जाँदा असहज हुने भएकाले त्यसरी नजाने कुरा सत्ता पक्षबाट आवाज आएको बताए।

नेपाली कांग्रेसका सांसद जीवन परियारले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री संलग्न रहेको कुरा आफूहरूले बैठकमा उठाएको बताए । संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

चितवनमा गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् ।

निकुञ्ज कार्यालयले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् ।

उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ ।

पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार रहेका छन् ।

पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५ (१) को (क) र दफा २६ (१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ । उनीहरूलाई सोही ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाद्वारा ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण गरेको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ र ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख, माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

महानगरपालिकाले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ कार्यक्रमको समापन अवसरमा प्रमाण पत्र हस्तान्तरणसँगै ‘महानगरपालिका चलचित्र सहरको प्रतीक चिन्ह (लोगो)’ सार्वजनिक गरिएको थियो ।

त्यस अवसरमा बोल्दै उपप्रमुख डंगोलले, रचनात्मक सहरका लागि भएका ७ वटा विधामध्ये चलचित्र विधाले अन्य सबै विधालाई समेट्न सक्ने भएकोले यही विधा छानिएको बताइन् ।

उनले भनिन्,‘काठमाडौँ संगीतको सहर पनि हो । लोककथाको सहर पनि हो । यस्तै डिजाइन, मिडिया, खानेकुरा सबै क्षेत्र काठमाडौँका लागि उपयुक्त थिए । यीमध्ये चलचित्रबाहेक अन्य विधामा काम गर्दा एउटै क्षेत्रमा मात्र सीमित हुन सकिन्थ्यो । चलचित्र विधाले रचनात्मक सहरका सबै क्षेत्रमा काम गर्न पाइन्छ । यसकारण चलचित्र नै हाम्रो रोजाइमा परेको हो ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘साहित्य र सिर्जनाका साधको योगदानलाई उचित सम्मान हुने कामलाई महानगरपालिकाले नीति, योजना र कार्यक्रममा समावेश गर्नेछ ।’ कार्यक्रममा युनेस्को प्रमुख क्रफ्टले भने, ‘सबैको ध्यान हाइड्रोपावर जस्ता क्षेत्रमा छ । चलचित्र जस्ता सिर्जनात्मक विधाहरु हरेक कोणबाट हाइड्रोपावरभन्दा महत्वपूर्ण छन् । यत्ति हो कि, यसलाई कसरी प्रवद्र्धन गर्ने भन्ने हो ।’

कार्यक्रममा चलचित्र निर्माता एवं निर्माता दीपकराज गिरीले ‘चलचित्रका उद्यमीले गरेका काम र सरकारसँगका अपेक्षा’, निर्देशक तथा लेखक मोहन राईले ‘अन्तर्राष्ट्रिय अभ्याससँगको दृष्टिबाट नेपालको चलचित्र उद्योग’, चलचित्र विकास वोर्डका सदस्य सचिव राजेशकुमार थापाले ‘संघीय चलचित्र नीति र स्थानीय सरकारसँगको सम्बन्ध’ र नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले ‘स्थानीय सरकारले रचनात्मक उद्योगमा गरेको अभ्यास’ का विषयमा प्रस्तुतिकरण गरेका थिए । यसरी गरिएको प्रस्तुतिकरणमाथि चलचित्र निर्माता, निर्देशक, वितरकसहित क्षेत्रगत प्रतिनिधिहरुले टिप्पणी गरेका थिए ।

प्रस्तुतिकरणमार्फ व्यक्त धारणामा मनोरञ्जन क्षेत्रका लागि सरकारले दिने सुविधाका विषयमा अन्तरराष्ट्रिय अभ्यास अनुसरण हुनुपर्ने, उद्योगको विकास र विस्तार हुन सक्ने खालको नीति बनाउनु पर्ने, महानगरपालिकाको कुनै निश्चित स्थानलाई चलचित्र सडकका रुपमा नामाकरण गरेर त्यो क्षेत्रलाई चलचित्रमैत्री क्रियाकलाप प्रवर्धन गर्नुपर्ने, राष्ट्रिय सभा गृहलाई धेरै चलचित्र प्रदर्शन गर्न सकिने स्थलका रुपमा पूर्वाधार विकास गरिनुपर्ने, चलचित्र महोत्सव, दृश्य सिर्जना, लिपि लेखन, उत्पादन, वितरण, प्रवर्धन, भर्चुअल रियालिटी जस्ता परियोजनाका लागि सरकारले लगानी बढाउनु पर्ने, स्रष्टाहरुलाई जीवनको उत्तरार्धमा सम्मानजनक जीवन जिउने वातावरण तयार गर्नुपर्ने, स्रष्टाहरुको मृत्युमा अन्तिम श्रद्धाञ्जली गर्ने ठाउँसमेत नभएकोले यस्ता स्थानको व्यवस्थापन गरिदिनुपर्ने सुझाव छन् ।

मनोरञ्जन क्षेत्रमा लगाइएको करले सिर्जना बाँच्न र प्रवर्धन हुन सक्छ कि सक्दैन, विश्लेषण गरेर स्थानीय कर छुटसहितका सुविधा उपलब्ध गराउनु पर्ने उनको भनाइ थियो ।

विश्वका चलचित्र सहर र काठमाडौँ
काठमाडौँ महानगर विश्वका २६ वटा चलचित्र सहरमध्ये एउटामा छानिएको हो । काठमाडौँ महानगरपालिकाकी फोकल पर्सन श्रृजुमैया प्रधानकाअनुसार विश्व सहर दिवस २०२३ का अवसरमा युनेस्कोले २०८० कार्तिक १४ गते काठमाडौँसहित विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रुपमा नाम सार्वजनिक गरेको हो ।

सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । जसमा चलचित्र विधामा ५ वटा थपिएका छन् । यससँगै चलचित्र सहरको संख्या २६ पुगेको छ ।

यस बर्ष सञ्जालमा जोडिएका सहरमा चलचित्रसँगै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा छन् । यस बर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौँ, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।

सबैभन्दा पहिले छानिएको सहर संयुक्त राज्य वेलायतको व्राडफोर्ड हो । यो सन् २००९ मा छनोट भएको हो । सन् २०१० मा अष्ट्रेलियाको सिड्नी छानियो । सन् २०१४ मा यस विधामा ३ वटा सहर छानिए । जसमा दक्षिण कोरियाको बुसान, आयरल्याण्डको गल्बे र बुल्गेरियाको सोफिया छन् । सन् २०१५ मा ३ वटा सहर छानिए ।

जसमा नर्थ म्याकाडोनियाको विटोला, इटालीको रोम र व्राजिलको सान्तोस छन् । सन् २०१७ मा संयुृक्त राज्य बेलायतको ब्रिस्टोल, पोल्याण्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरेसा र जापानको यामागाता गरी ५ वटा नगर छानिए ।

सन् २०१९ मा भारतको मुम्बइ, जर्मनको पोष्टडाम, बोस्निया हर्जगोभियाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्याण्डको वालिङ्टन गरी ५ वटा सहर छानिएका हुन् । सन् २०२१ मा ३ वटा सहर चलचित्र विधामा छानिए । जसमा पोल्याण्डको ग्ड्यानिया, फ्रान्सको क्यानेस र रोमानियाको क्लुज नेपोका छन् ।

अन्तर्राष्ट्रिय र सम्पन्न क्षेत्रलाई एकसाथ नजिक ल्याउन चलचित्र क्षेत्र शसक्त माध्यम बन्न सक्छ । यसले साझेदारी र विचार आदानप्रदानलाई प्रोत्साहन दिन्छ । विश्वका हरेक सहरले आफ्नो आफ्नो इतिहास बोकेका छन् ।

यसले फरक संस्कृति, अवस्थिति र परिस्थितिलाई आपसमा नजिक ल्याउँछ । यसबाट भिन्न भिन्न सहरका भिन्न विशेषतालाई आपसमा परिचित हुन सघाउँछ । समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।

कसरी कार्यान्वयन हुन्छ ? कार्यक्रम
महानगरपालिकाले चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएटिभ आट्र्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्नेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू र गतिविधिहरू कार्यान्वयन गर्नेछ ।

उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गर्नेछ । समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीयबासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको योजना छ ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, महिला, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ ।

ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला सम्वर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टुडियो, पोष्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सञ्जालमा आवद्ध गरेर प्रवर्धन गरिनेछ ।

अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ । तथ्य तथ्याङ्क निर्माण गरिनेछ । व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवर्र्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ ।

अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरराष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता ठूला कार्यक्रम सञ्चालन गरिनेछन् । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ । यसबाट अन्तरराष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तरराष्ट्रिय नगरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदारबीच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण प्रदान गरिनेछ ।

गगन थापा माथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई नेतृ झाँक्रीको चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएकी छन् ।

सोमबार सामाजिक संजालमार्फत नेतृ झाँकीले गगन थापा आन्दोलनको नेता र युवाहरुको राजनीतिको आइकन भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस् !’

सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले आइतबार सदनमा सम्बोधनका क्रममा थापामाथि विदेशीलाई सूचना बेच्ने गरेको लगायतका आधारहीन आरोप लगाएका थिए । नेपाली कांग्रेसले गृहमन्त्री सहकारी ठगीमा मुछिएको भन्दै संसदीय समिति गठनको माग गर्दै आएको छ ।

आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई इजराइल र हमासबीच सात महिनाको युद्धका क्रममा उहाँहरूको कार्यका सम्बन्धमा पक्राउ पुर्जीको माग गरेका छन् ।


मुख्य अभियोजक करिम खानले गाजा पट्टी र इजराइलमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधका लागि नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट तथा हमासका तीन नेता येहिया सिनवार, मोहम्मद दिफ र इस्माइल हानियेहलाई आफूले जिम्मेवार ठानेको बताए । 


अभियोजकले तीन न्यायाधीशको पूर्व–परीक्षण प्यानलबाट पक्राउ पुर्जीका लागि अनुरोध गर्नुपर्छ । यसले प्रमाणहरूमाथि विचार गर्न र कार्यवाही अगाडि बढ्न सक्छ कि भनी निर्धारण गर्न औसत दुई महिना लाग्छ । 


इजराइल आइसिसीको सदस्य नभएकाले पक्राउ पुर्जी जारी गरिए पनि नेतान्याहु र ग्यालेन्टले अभियोजनको कुनै पनि तत्काल जोखिमको सामना गर्नुपर्ने छैन । यद्यपि इजराइलले आफ्नो युद्धलाई जारी राखेकाले खानको घोषणाबाट उक्त मुलुकको एक्लोपनलाई अझ गहिरो बनाएको छ । साथै पक्राउ पुर्जीको धम्कीले इजराइली नेताहरूका लागि विदेश यात्रा गर्न कठिन हुनसक्छ । 


इजराइलले सिनवार र दिफ दुवैलाई खोजिरहेकाले उनीहरू गाजामा लुकेका छन् भन्ने विश्वास गरिन्छ । तथापि इस्लामिक लडाकू समूह हमासका सर्वोच्च नेता हानियेह कतारमा बस्छन् र प्रायः यस क्षेत्रको भ्रमण गर्छन् । 


नेतान्याहु र ग्यालेन्टसँग इजराइलको युद्ध मन्त्रिमण्डलका सदस्य एवं पूर्वसेना प्रमुख बेनी गान्ट्जले खानको घोषणाको कडा आलोचना गरेका छन् । उनले इजरायल ‘सबैभन्दा कडा’ नैतिक संहिताहरूसँग लडिरहेको र आफूलाई अनुसन्धान गर्न सक्षम न्यायपालिका रहेको बताए ।


“अक्टोबर ७ मा आतङ्कवादी हमासले गरेको निन्दनीय नरसंहारपछि इजराइलले आधुनिक इतिहासमा लडिएको न्यायपूर्ण युद्धहरूमध्ये एक हो, पक्राउ पुर्जीका लागि आवेदन गर्ने अभियोजकको अवस्था आफैँमा पुस्तासम्म सम्झिने ऐतिहासिक अपराध हो”, उनले भने ।


अक्टोबर ७ मा हमासले सीमा पारबाट गरेको आक्रमणको जवाफमा इजराइलले आफ्नो युद्ध सुरु गरेको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूको पछिल्लो अनुमानअनुसार इजराइली आक्रमणमा करिब आधा सङ्ख्यामा महिला तथा बालबालिकासहित ३५ हजारको मृत्यु भएको छ । 


संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार इजराइली आक्रमणले गाजामा मानवीय सङ्कट उत्पन्न भएको छ । आक्रमणबाट करिब ८० प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ भने लाखौँ मानिस भोकमरीको सङ्घारमा पुगेका छन् ।  


“युद्धको विधिका रूपमा भोकमरीको प्रयोगको प्रभाव गाजाका नागरिक जनसङ्ख्याविरुद्ध अन्य आक्रमण र सामूहिक दण्डका साथ तीव्र, दृश्यात्मक र व्यापकरूपमा ज्ञात छ”, इजरायली कारबाहीबारे खानले  विज्ञप्तिमा भनेका छन्, “यसमा कुपोषण, निर्जलीकरण, गहिरो पीडा र शिशु, अन्य बालबालिका र महिलासहित प्यालेस्टिनी जनसङ्ख्यामा मृत्युको बढ्दो सङ्ख्या समावेश छ ।”


राष्ट्रसङ्घ र अन्य सहायता एजेन्सीहरूले पूरा युद्धका क्रममा इजराइलमाथि सहायता वितरणमा व्यवधान खडा गरेको बारम्बार आरोप लगाएका छन् । इजराइलले ती आरोपलाई अस्वीकार गर्दै गाजामा सहायता प्रवेशमा कुनै प्रतिबन्ध नभएको बताएको छ । उसले राष्ट्रसङ्घमाथि सहायता वितरण गर्न असफल भएको आरोप लगाएको छ । राष्ट्रसङ्घले भने सहायताकर्मीहरू बारम्बार इजराइली गोलाबारीको सिकार भएको र जारी युद्ध तथा सुरक्षा शून्यताले वितरणमा अवरोध गरेको बताएको छ । 


“मैले आफैँ यी आक्रमणहरूको विनाशकारी दृश्य र आज दायर आवेदनमा लगाइएका अनुचित अपराधहरूको गहिरो प्रभाव देखेको छु”, अक्टोबर ७ मा हमासको कारबाहीका बारेमा डिसेम्बरमा यस क्षेत्रको भ्रमण गरेका खानले भने, “जीवित बचेका मानिसहरूसँग कुरा गर्दा मैले कसरी एउटा परिवारभित्र माया, बाबुआमा र बालबालिकाबीचको सबैभन्दा गहिरो बन्धनलाई नियोजित क्रुरता र अत्यधिक संवेदनहीनतामार्फत अथाह पीडा दिनका लागि विकृत गरिएको थियो भन्ने सुनेको छु, यो कार्यले जवाफदेहिताको माग गर्दछ ।”


युद्ध लामो हुँदै गएको र मर्नेहरूको सङ्ख्या बढ्न थालेपछि आफ्नो युद्धका लागि केही समयको अन्तर्राष्ट्रिय समर्थनपछि इजराइलले बढ्दो आलोचनाको सामना गर्नुपरेको छ । इजराइलले नरसंहारको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा दक्षिण अफ्रिकी मुद्दाको सामना गरिरहेको छ । इजराइलले ती आरोपलाई अस्वीकार गरेको छ । 


अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि पक्राउ पुर्जी जारी भएको १४ महिनापछि इजराइल–गाजा द्वन्द्वमा पक्राउका लागि खानको अनुरोध आएको छ । पुटिनमाथि युक्रेनबाट बालबालिकाको अपहरणका लागि व्यक्तिगत जिम्मेवारीको आरोप लगाइएको छ । 

पोखरा विश्वविद्यालयको  शिक्षण अस्पताल उद्घाटन

कास्की । पोखरा महानगरपालिका–३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घटन गरिएको छ ।
पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको एक सय शय्याको शिक्षण अस्पतालको आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् । विश्वविद्यालयले गत भदौमा आंशिक रुपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।

अस्पताल उद्घाटनपछि मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताए । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उनको आग्रह थियो । स्वास्थ्यका कारण जनता शारीरिक एवं मानिसक रुपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो ।

विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

विभिन्न सङ्घसंस्थाको सहयोगमा  पाँच करोडका स्वास्थ्य उपकरण सङ्कलन भएपछि आज अस्पतालको उद्घाटन गरिएको हो । अस्पताल भवन सात करोड बराबरको लागतमा निर्माण गरिएको विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा अमर नागिलाले जानकारी दिए ।

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत सोमबार भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए ।

प्रथम भएका श्रेष्ठले एक लाख ५१ हजार एक सय ११ सहित प्रमाणपत्र पाएका छन् । यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार द्वितीय भएका छन् । उनले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए ।

उनले एक लाख ११ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरे । तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनलाई ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिएको छ । पाथीभरा खुला म्याराथनमा एक सय १४ जना सहभागी भएका थिए ।

महिला हाफ म्याराथनतर्फको उपाधि पनि आर्मी क्लबकै सुनसरी रोकाया प्रथम हुनुभएको छ । रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेका थिए ।

यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङले चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भएका छन् । महिलातर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः ८१ हजार एक सय ११, ५१ हजार एक सय ११ र रु ३१ हजार एक सय ११ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी हुनुभएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए । यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ । महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन् भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ ।

जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए । महोत्सवमा हरेक दिन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गरिएका थिए । आइतबार गायक प्रताप दाससहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने आज समापनको दिन गायिका रचना रिमाल प्रस्तुति रहेको थियो ।

गृहमन्त्रीलाई गिरफ्तार गर्न भीम रावलको माग

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार गर्न माग गरेका छन् । सोमबार सामाजिक संजालमार्फत रावलले गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले सूचना विदेशीलाई बेचेको आरोप लगाएको भन्दै गिरफ्तार गर्न माग गरेका हुन् ।

उनले गृहमन्त्रीले थापालाई कारबाही नगरे गृहमन्त्रीलाई बर्खास्त गरी गिरफ्तार गर्न माग गरेका हुन् । उनले भनेका छन्,‘राज्यका सूचना बेच्नु देशद्रोह हो।यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रधानमन्त्री प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ । गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारबाही होस् । राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ।’

दश महिनामा १३ खर्बको वस्तु आयात हुँदा एक खर्ब २६ अर्बको निर्यात

काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा  १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियोभने  एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।

     विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।

    समीक्षा अवधिमा भारतसँग नेपालले रु सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट रु आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र रु ८६ अर्बको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा रु दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग रु दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा रु २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा रु एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल रु ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा रु २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट रु आठ अर्ब ७९ करोड, अलैंची रु छ अर्ब ९१ करोड, फलामजन्य वस्तु रु पाँच अर्ब ५२ करोड र पाम आयल रु पाँच अर्ब ६० करोड बराबर छ ।

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते

भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनले गाडीमा सवार अन्य २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र अन्य २० जनाको अवस्था सामान्य रहेको बताए ।

घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्रगतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

गृहमन्त्रीलाई संसद्को अवहेलनामा कारबाही गर्न माग गर्दै सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को अवहेलनामा कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।

गृहमन्त्रीले नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको र अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै उपसभापति गुरुङले संसदको अवहेलनामा कारबाही गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका हुन् ।

पत्रमा भनिएको छ, ‘नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिक बिच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालत भन्दा माथि राखी अभिव्यक्ति दिएको ब्यहोरा स्मरण गराउन चाहन्छु ।’

उनले आफूले बोलेको कुराहरू पुष्टि गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिएका छन् । पत्रमा उनले भनेका छन्, ‘यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु । प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरी निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु। ’ आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका नेताहरुका विषयमा पनि आमसञ्चार माध्यममा विभिन्न समाचार प्रकाशित भएको भन्दै यी विषयमा पनि संसदीय छानबिन समिति बनाउने हो भनी प्रश्न गरेका थिए । उनले रातो पासपोर्ट दुरुपयोग, त्रिचन्द्र क्याम्पसमा बगैंचा निर्माणमा भ्रष्टाचार भएको, कृषि कार्यका लागि अनुदान लिएर अपचलन गरेकोलगायत आरोप कांग्रेसका सांसदमाथि लागेको बताएका थिए ।

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यबाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताएका छन् ।

इरानको संविधानले मोखबरको आन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता खामेनीलाई अधिकार सुम्पिएको छ । उनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुन् ।

हालको अवस्थामा स्थायी उत्तराधिकारी छनोट गर्न ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान इरानी संविधानमा रहेको छ र सभामुख, न्यायपालिकाका प्रमुख र उपराष्ट्रपतिले बनेको परिषद्लाई राष्ट्रिय मतदानको आयोजना गर्ने जिम्मा दिइन्छ।

इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा दिवङ्गत भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।

इरानी संविधानले ‘राष्ट्रपतिको मृत्यु, बर्खास्त, राजीनामा, अनुपस्थिति वा दुई महिनाभन्दा बढी बिरामी भएमा’ पहिलो उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्ने व्यवस्था गरेको छ ।

विदेश मन्त्री हुसेन अमिर–अब्दुल्लाहियन र अन्य अधिकारीहरूसँगै आइतबार दुर्घटनामा पर्नुभएको राष्ट्रपति रायसी आफ्नो चार वर्षीय पहिलो कार्यकालको अन्त्यतिर थिए ।

अगस्त २०२१ मा रायसीले कार्यभार सम्हालेपछि ६८ वर्षीय मोखबरलाई उपराष्ट्रपति नियुक्त गरिएको थियो।

सन् २००७ देखि वर्षौँसम्म मोखबरले सन् १९७९ को इस्लामिक क्रान्तिपछि जफत गरिएका सम्पत्तीहरुको व्यवस्थापन गर्ने सरकारी सङ्गठन इमाम खोमेनीको आदेशको कार्यान्वयनको अध्यक्षता गर्नुभएको थियो । सन् १९८० को दशकमा स्थापना भएको यो सङ्गठन राज्यको प्रमुख आर्थिक समूह बनेको छ ।

सन् १९८० मा इस्लामिक गणतन्त्रको पहिलो मतदानपछि प्रत्येक चार वर्षमा इरानीहरूले राष्ट्रपति चुनावका लागि मतदान गर्दै आइरहेका छन् । संविधानले इरानी राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तय गरेको छ ।

प्रधानमन्त्रीको प्रावधान नरहेको इरानमा राष्ट्रपतिलाई विभिन्न उपराष्ट्रपतिहरूसँगको सहकार्यमा मन्त्रिपरिषद्को गठन र निर्देशनको जिम्मेवारी दिइन्छ ।

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी वा अन्य घटनाहरू दर्ता भएको भन्दै सोमबार आणविक र अन्य रेडियोधर्मी सामग्रीको तस्करीविरुद्ध ‘सतर्कता’ अपनाउन आह्वान गरेको छ ।

गत वर्ष ३१ वटा देशले १६८ वटा चोरी र तस्करीको घटना दर्ता गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) ले जनाएको छ । यसमध्ये छ वटा सम्भवतः तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग सम्बन्धित रहेको पुष्टि भएको आइएइएले बताएको हो ।

सन् १९९३ देखि आइएइएले चार हजार २४३ वटा घटनाहरू रेकर्ड गरेको छ जसमध्ये ३५० घटना तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग जोडिएको पाइएको छ ।

“घटनाहरूको पुनरावृत्तिले रेडियोधर्मी सामग्रीको नियन्त्रण, सुरक्षा र उचित डिस्पोज गर्न नियामक निरीक्षणको सतर्कता र निरन्तर सुधारको आवश्यकतालाई पुष्टि गर्दछ,” आइएइएका आणविक सुरक्षा महाशाखाकी निर्देशक एलेना बुग्लोभाले भनिन् ।

आइएइएले युरेनियम, प्लुटोनियम र थोरियमजस्ता आणविक सामग्री समावेश भएका घटनाहरूमा गिरावट आएको उल्लेख गरेको छ ।

बुग्लोभाले विशेष गरी ओसारपसारका क्रममा बढी असुरक्षित रहने बताउँदै ओसारपसारसम्बन्धी सुरक्षा उपायलाई सुदृढ पार्न महत्वपूर्ण रहेकोमा जोड दिइन् ।

अस्ट्रियाको राजधानीमा शुक्रबारसम्म चल्ने आणविक सुरक्षासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भियनास्थित आइएइए कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो । यसअघि सन् २०२० मा भियनामा यो सम्मेलन आयोजना गरिएको थियो ।

हाल कूल १४५ राज्यले आणविक वा अन्य रेडियोधर्मी सामग्री हराएको, चोरी भएको, अनुचित रूपमा डिस्पोज गरिएको वा अन्यथा बेवास्ता गरिएको घटनाहरू आइएइएमा जानकारी गराएका छन् ।
रेडियोधर्मी पदार्थहरू विशेषत विश्वभरका अस्पताल, विश्वविद्यालय र उद्योगमा प्रयोग गरिन्छ ।

यस विषयमा चरमपन्थीहरूले सामग्रीहरू प्राप्त गरी तिनीहरूलाई ‘डर्टी बम’ का रूपमा प्रयोग गर्नसक्ने ठुलो चिन्ता रहेको छ ।

‘डर्टी बम’ले विखण्डित वा ‘फ्यूजन एटम बम’को तुलनामा कम क्षति पुर्याउने भएपनि यसले सहरी क्षेत्रमा ठूलो आतङ्क निम्त्याउन सक्छ ।

शेयर बजारमा दोहोरो अंकको बृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । आइतबार ४५ अङ्कले बढेको नेप्से सोमबार २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बैकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सामुदायिक लघुवित्त, बुद्ध भूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन उपकार लघुवित्त कम्पनीको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १५ वटा कम्पनीका एक करोड ४३ लाख कित्ता शेयर पाँच अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा पोखरा फाइनान्स कम्पनीको १९ करोड रुपैयाँको शेयर खरिद÷बिक्री भयो ।

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

सिमकोट, (हुम्ला) । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ ।

पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ ।

रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले गुनासो गरे ।

बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधि निजी मेडिकलबाट किन्नु परेको उनले बताए । चार हजारसम्मको औषधि निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गरे

अस्पतालको औषधि वितरण कक्षमा जाँदा औषधि नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका–२ ठेहेका झप्रि सुनारले बताए । निजी मेडिकलबाट औषधि किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उनको भनाइ छ ।

वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँको अनुसार आइतबार र सोमबार मात्रै ८०÷८० जनाले सेवा लिएका छन् ।

अन्य दिनमा ५० जना भन्दा कम नहुने डा सिंहले जानकारी दिए । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनको भनाइ छ । गाउँघरबाट एक/दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उनले बताए ।

डा सिंहले भने, “अस्पतालमा औषधिको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टि रोक्ने औषधि नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधि अभाव रहेको उनले बताए ।

अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गरे । हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको उनले जानकारी दिए ।

अबको एक÷दुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताए ।

सर्लाहीको पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

बरहथवा (सर्लाही) । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ । सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो ।

माछापालन गर्न ठेक्का लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम्रिएको छ । गत वर्ष ठेक्का सकिएपछि ठेकेदारले माछा निकाल्ने भन्दै तालको पूरै पानी पम्पसेट लगाएर फालिदिएका थिए ।

पानी सुकाएपछि गौचरण बनेको तालमा अहिले स्थानीयले पशुचौपाया चराउने गरेका छन् । ताल परिसरमा रहेका भौतिक संरचनासमेत जीर्ण बन्दै गएका छन् । कुनै समय आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने उक्त ताल अहिले ताल किनार फोहर हुनुका साथै सडक पनि घाँसले भरिएका छन् ।

ठेकेदारले अदालतबाट ‘स्टेअडर’ नै ल्याएर पूरै तालको पानी बाहिर फलिदिएपछि तालको स्वरुप जीर्ण बन्दै गएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए । “विसं २०७५ मा पालिकाले पाँच वर्षका लागि रु छ करोड १९ लाखमा माछापालन गर्न ताल ठेक्का लगाएको थियो”, उनले भने, “ठेकेदारले प्रत्येक वर्ष जाल हानेर माछा निकाल्ने गरेको थियो । ठेक्का सकिने वर्ष अदालतबाट ‘स्टेअडर’ ल्याएर ताल सुक्ने गरी पानी निकालेपछि समस्या सिर्जना भएको हो ।”

तालमा बचेको थोरै पानीसमेत स्थानीय किसानले पम्पसेट लगाएर खेतमा लगेपछि पूर्णरुपमा चरन क्षेत्र बनेको स्थानीयको भनाइ छ । पानी सुकेर गौचरनमा परिणत ऐतिहासिक नाढिमन ताल कुरुप देखिन थालेको अध्यक्ष महतोले बताए । एक वर्षदेखि ताल ठेक्का लगाउन नपाउँदा पालिकालाई आर्थिकरुपमा नोक्सानी भएको उनले गुनासो गरे ।

तालमा पुनःपानी भर्नका लागि पानीको मुहान सरसफाइ गरी नजिकै रहेको अधबारा खोलाको पानी हाल्ने तयारी भइरहेको अध्यक्ष महतोले जानकारी दिए । पानी भरेपछि यसको संरक्षण र प्रवर्द्धनका लागि पालिकाले विशेष रणनीति लिएर अगाडि बढ्ने उनले बताए ।

तालमा पानी भर्ने अन्य उपाए नभएपछि वर्षासम्म कुरेर आधबारा खोला फर्काउने तयारी भएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले जानकारी दिए । ताल सुकेको अवस्थामा तालको ड्यामलगाययत संरचना पुनःनिर्माण तथा मर्मत भइरहेको पालिकाका प्रशासकीय अधिकृत मदनबहादुर थिङले जानकारी दिए ।

स्थानीयको अतिक्रमणबाट ३२ बिघामा खुम्चिएको ताल क्षेत्रलाई पटकपटक गरी अतिक्रमण हटाएर ३८ बिघामा पु¥याइएको पालिकाले जनाएको छ । यस तालको पूरा क्षेत्रफल ५२ बिघा रहेको जानकारहरु बताउँछन् । तालको ठूलो हिस्सा अझै अतिक्रमणमा रहेका स्थानीय प्रविन महतोले बताए । ताल १२ फिटसम्म गहिरो छ ।

विगतमा यस तालबाट नजिकैका सयौँ हेक्टर क्षेत्रफल खेत सिँचाइ हुने गरेको थियो । विस्तारै तालमा पानी आउने मुहान अतिक्रमणबाट हराउँदै जानु, संरक्षणमा चासो नहुनु तथा लामो खडेरीले ताल सुक्दै जाँदा जीर्ण बनेको उनको भनाइ छ ।

तालसँगै सुक्यो चन्द्रनगर

ताल सुकेसँगै ताल परिसर तथा चन्द्रनगर बजार क्षेत्र यतिबेला सुनसान बनेको छ । ताल पसिरमा आइपुग्ने जोकोही तालको जीर्ण अवस्था देखेर थकथकाउँदै फर्कने गरेका छन् ।

विसं २०७२ मा नेपाली सेनाले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको परियोजनाअन्तर्गत करोडौँको लगानीमा उक्त तालको सरसफाइ र सौदर्यकरण गरेको थियो । त्यसपछि गुमनाम ताल पर्यटकीय क्षेत्रमा परिणत भएको थियो । ताल परिसरमा घुम्न, वनभोज खान तथा विभिन्न अवसर पारेर मनाउन आउनेहरुको चहलपहल बढेको थियो ।

पालिकाले मनोरञ्जनका लागि तालमा ‘पाइडल बोट’ (खुट्टाले चलाउने डुङ्गा) लगायत सामग्री प्रयोगमा ल्याएपछि थप पर्यटक आकर्षित भएका थिए । विस्तारै पर्यटकीय गन्तव्यकारुपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो । विगत एक वर्षदेखि तालसँगै यहाँका स्थानीयको आयस्रोत पनि सुक्दै गएको रामझीप्रसाद कापरले बताए ।

अहिले ताल परिसरमा रहेका पसल, होटल तथा व्यवसायी पलाएन हुने अवस्थामा पुगेका खाजा पसल सञ्चालक रिता देवीले सुनाए । “पहिला दिनको दुई हजारदेखि रु तीन हजारसम्म आम्दानी हुन्थ्यो”, उनले भने, “एक वर्षदेखि ऋण गरेर घरको भाडा तिरिरहेका छौँ । एक दिन फेरि नाढिमन तालमा पानी भरिएला र बजार पसल पहिला झै सञ्चालन होला भन्ने आशमा छौँ ।”