`

एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको काम कारवाहीलाई बाधा पुरायो : मन्त्री गिरी

काठमाडैाँ / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको काम कारवाहीलाई बाधा पुराएको आरोप लगाएका छन् ।

संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानविन समिति बनाउन सहमति भइसकेको अवस्थामा एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा पुराएको आरोप लगाएका हुन् ।

संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रीक र असंवैधानीक रहेको उनको भनाइ छ । उनले समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने धारणा राखे ।

उनले कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेको र यसलाई सच्चाउनुपर्ने जिकिर पनि गरेका छन् ।

केही सहकारी ठगलाई बचाउन सत्तापक्षले लोकतन्त्रको मूल्यमान्यता मिचेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीकाबीच विश्वासको मत लिएर लोकतन्त्रको मूल्यमान्यता मिचेको आरोप लगाएको छ ।

सोमबार संसद बैठकपछि बसेको पार्टी संसदीय दलको बैठकले केही सहकारी ठगलाई बचाउन लोकतन्त्रको मून्ल्यमान्यता मिचेको निष्कर्ष निकालेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रतिपक्षलाई बोल्न नदिएर सत्तापक्षले बहुमतको दम्भ देखाएको बताए ।

उनले भने, ‘सत्तापक्ष सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउनका लागि संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर गरेर पनि केही ठगलाई बचाउन उद्दत भएको छ। यसको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । लोकतन्त्र र संसदीय मूल्यमान्यता उलंघन नगर्न चेतावनी आजको बैठकले दिएको छ ।’

उनले विश्वासको मत लिने समय अझै केही हप्ता बाँकी रहे पनि बलमिच्याइँ गरिएको बताए । उनले भने,‘संसदलाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिने नाटक गरेको छ । पार्टी विषेशको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु सभामुखलाई शोभनीय हुँदैन ।’

प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको गृहमन्त्रीको टिप्पणी

काठमाडौँ / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा संबोधन गर्ने क्रममा आफुले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफुले सहकारीमा आफुजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण गरेका छन् ।

छापामा आएकै भरमा आफुमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरिबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफु तयार रहेको बताए । उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरेका छन् । सहकारी पिडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरेका छन् । विश्वासको मत कहिले लिने भन्ने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने- आउने चुनावमा देखिन्छ

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चूनावमा देखिने टिप्पणी गरेका छन् ।

सोमबार संसद भवनमा कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले यो अव आउने चूनावमा देखिने प्रतिक्रिया दिएका हुन् । पटक पटक विश्वासको मत लिने अवस्थाका बिषयमा प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका थिए ।

सहकारी ठगीको विषयलाई थप चर्काउने विपक्षी दलहरुको निर्णय

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा लैजाने भएका छन् ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि बसेको विपक्षी दलहरुको बैठकले संसदीय समितिको माग लिएर सडकमा जाने निर्णय गरेको हो । बैठकले सभामुख देवराज घिमिरेले आफ्नो मर्यादा बिर्सिएको निष्कर्ष समेत निकालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘हामीले उठाइरहेको विषयमा सदनमा मात्रै होइन । अब सडकका पनि पुर्याउँछौं ।’ सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।

पद र हैसियत भन्दा तल झरेर गृहमन्त्रीले संसदमा अभिव्यक्ति दिएको डा. प्रकाशशरण महतको आरोप

काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरुले तिलाञ्जली दिएको टिप्पणी गरेका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै महतले बिपक्षी दललाई बेवास्ता गरेर सदनको कामकारवाहीलाई अघि बढाएको र संसदको मूल्य मान्यतालाई सरकारमा बस्नेहरुले तिलाञ्जली दिएको टिप्पणी गरेका हुन् ।

यो लोकतन्त्र र संविधानका लागि राम्रो संकेत नभएको उनले बताए । सहकारी प्रकरणमा कांग्रेसले राखेको माग पुरा गर्न सरकार तयार नभएको उनको भनाइ छ । उनले पद र हैसियत भन्दा तल झरेर गृहमन्त्रीले संसदमा अभिव्यक्ति दिएको धारणा राखेका छन् । प्रवक्ता महतले प्रतिपक्षीको विरोधकाबीच संसदमा विश्वासको मत लिने काम संसदको इतिहासमा नै अनौठो नजिर स्थापीत भएको बताए ।

उनले संविधानको खिलापमा गठबन्धनका दलहरु लागेको आरोप लगाए ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगीत भएको छ ।

सोमबार बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले सहज रुपमा बैठक अघि बढाउन आग्रह गरेका थिए ।

तर कांग्रेस सांसदहरुले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने जनाएका थिए । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ ८ गते मंगलबारसम्मका लागि बैठक स्थगीत गरेका छन् ।

तनहुँमा भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरिँदै

दमौली । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ । 


तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन् । यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले क्षतिको यकीन विवरण आइनसकेको भन्दै विवरण सङ्कलन थालिएको जानकारी दिए । उनका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ । एउटा पसलमा लागेको आगो सल्किँदा अन्य पसलमासमेत क्षति पुगेको अनुमान गरिएको उनले बताए ।

यसैबीच पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले आगलागीपीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताउँदै उनले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । 


प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लाग्नुभएको सन्दर्भका कारण यस दुःखको समयमा पीडितसँग भेटगरी स्थलगतरुपमा घटनाको वास्तविक जानकारी लिनसक्ने अवस्था नभएका भन्दै सांसद श्रेष्ठले प्रत्यक्षरुपमा उपस्थित हुन नसके पनि क्षतिपूर्तिका लागि सरकारको निरन्तर ध्यानाकर्षण गराउने बताए ।


प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले आगलागीबाट भएको क्षतिको विवरणका आधारमा आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे । उनले मुचुल्का उठाइ सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत आग्रह गरेका छन् । 

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।

केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भने,“भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।”

मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताए। घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उनले बताए ।

यसैबीच, श्रीलङ्काको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ ।

सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

किमाथाङ्का (सङ्खुवासभा) / सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिए । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागार्इंले बताए ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ । सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ मत

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा उपस्थित १५८ सांसदमध्ये १५७ सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए भने एक सांसद तटस्थ बसे । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए। संसदको कामकारवाही अघि बढाउन सभामुख घिमिरेले विपक्षी दलहरूलाई आग्रह गरेका थिए। तर,उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख घिमिरेले विपक्षी दललाई पेलेरै सदन अघि बढाएका थिए ।

संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद अवरोध गरेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गरेका थिए ।

कांग्रेससहित विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन्।

सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखियो : उपाध्यक्ष पौडेल

काठमाडौँ / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखिएको बताएका छन् । सोमबार प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा पौडेलले पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने र सरकार बदल्ने कोशीस माकुरोको जालो जस्तो च्यातिएको भन्दै त्यसको असर संसदमा देखिएको बताएका हुन् ।

प्रधानमन्त्रीलाइ सदनमा विश्वासको मत लिन नदिएर कांग्रेसले कस्तो लोकतान्त्रीक अभ्यास गरेको हो भन्ने प्रश्न गर्दै सदनमा बचपना नदेखाउन कांग्रेसलाई सुझाव दिए । पौडेलले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारले सवै समस्या समाधान गर्दै मुलुकमा सुशासन कायम हुन्छ भन्ने विश्वास जनतामा जाग्न सुरु भएको धारणा राखेका छन् । उनले अहिले मुलुकमा विकासले स्पष्ट दिशा तय गरेको जिकिर गरे ।

उनले सहज रुपमा संसदको क्रियाकलाप अघि बढाउने वातावरण बनाउन आग्रह समेत गरृेका छन् ।

विश्वासको मत लिदा अवरोध गर्ने कदमले कांग्रेसले चर्को मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको चेतावनी

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा अवरोध गर्ने कदमले कांग्रेसले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको छलफलमा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा अवरोध सिर्जना गरेर कांग्रेसले गलत र नेपालको इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गरेको भन्दै कांग्रेसलाई चर्को मूल्य पर्ने चेतावनी दिएका हुन् । जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो, उहि प्रधानमन्त्रीलाई संविधान अनुसार विश्वासको मत लिन नदिएको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

उनले आफुलाई समर्थन गर्ने सवैप्रति धन्यवाद व्यक्त पनि गरेका छन् ।

जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको दोश्रो बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताएका हुन् ।

उनले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने समेत बताए । सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नीति तथा कार्यक्रम र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए ।

उनले देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोगको आवश्यकता रहेको धारणा राखेका छन् । लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ । उहाले सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने बताए ।

दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

चितवन / भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।

महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए। उनका अनुसार ३४ सहकारी समूहका नौँ ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन् ।

करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई/दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो रु एक सय र तोरीको बीउमा प्रतिकिलो रु ३० अनुदान दिइएको महानगरले जनाएको छ । “अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए । यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो । यसले किसानलाई ठूलो सहयोग पुगेको छ”, उनले भने ।

संसदीय छानबिन समितिको माग गर्दै संसदमा कांग्रेसको नाराबाजी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । सोमबार बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजी गरेका थिए । कांग्रेसले आफूलाई बोल्नका लागि समय माग गरेको थियो ।

तर सभामुखले समय नदिई कार्यसूचीमा प्रवेश गर्न खोजेपछि कांग्रेस सांसदरु वेल घेर्न पुगेका थिए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । गृहमन्त्रीमाथि छानबिन गर्न माग गर्दै केही दिनदेखि कांग्रेसले निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ ।

सुनको मूल्य इतिहासकै उच्च,तोलामा नौ सयले वृद्धि

काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।

गृहमन्त्री अभियोगबाट भाग्न खोजेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री अरुलाई आरोप लगाएर आफू उम्किन खोजेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीले अरुलाई असत्य, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेको निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीले कांग्रेसमाथि लगाएका आरोपको निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन् । उनले भने, ‘गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो । अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ। उहाँको अभिव्यक्तिको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ ।’

उनले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने लागेको प्रस्ट देखिएकाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताए ।

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा रइसीसँगै विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी संचारमाध्यमले उल्लेख गरेका छन् ।

दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उदृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ ।

इरानी अर्धसकारी समाचार संस्था मेहर न्युज एजेन्सीले पनि राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै अन्य अधिकारी दुर्घटनामा सहिद भएको जनाएको छ । आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जनमतको निर्णय

काठमाडौं / सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्।

गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो । संघीय संसदमा जनमत पार्टीका ६ जना सांसद छन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगञ्ज / नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि भएको आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए।

शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । उनले तीन सय १३ मत प्राप्त गर्नुभयो । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत छन् ।

सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिइन्। कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।

इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनास्थल फेला, जिवितै रहने सम्भावना कम

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ । टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा ‘जीवनको कुनै सङ्केत नरहेको’ बताएको छ । रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उदृत गर्दै हेलिकोप्टर ‘पूर्ण रूपमा जलेको’ जनाइएको छ ।

राष्ट्रपति चढेको हेलिकोप्टर पूर्ण रूपमा जलेको र सबैको मृत्यु भएको आशंका गरिएको ती अधिकारीले बताए । इरानस्थित रेड क्रेसन्ट समाजका प्रमुखले पनि इरानी टेलिभिजनलाई दुर्घटना क्षेत्रको अवस्था राम्रो नभएकोब ताए ।

त्यस अघि इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए । इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा यात्रारत रहेको पुष्टि गरेका थिए ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि चढेका थिए । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो । त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुईसमेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानको यात्रामा थियो । मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन् । इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली तत्काल सम्भावित घटनास्थलतर्फ लागेको थियो ।

खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको थियो । उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको विवरणहरू आएका छन्। त्यसमा आपत्कालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको थियो । इरानी राष्ट्रपति इरान–अजरबैजान क्षेत्रबाट उत्तर पश्चिमी इरानमा रहेको तबरिज सहर जाँदै थिए ।

उनले अजरबैजानसँगको सीमा क्षेत्रमा बनेको एउटा बाँध उद्घाटन गरेका थिए। त्यस क्रममा उनी र अजेरी समकक्षीसँगै थिए । अजेरी राष्ट्रपतिले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो देश सबैखाले आवश्यक सहयोग गर्न तयार रहेको बताए।

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।


मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ ।


कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो ।


यसैगरी कम्पनीले चार सय ५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण, एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णालीको विस्तृत अध्ययनको कामलाई अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीका अनुसार, निकट भविष्यमा नै ती आयोजनाको आवश्यक अध्ययन प्रक्रिया पूरा हुनेछ । कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजनासमेत अगाडि बढाएको छ । ऊर्जा मिश्रणको अवधारणामा समेत काम गर्ने उद्देश्यका साथ सौर्य परियोजनाको कामसमेत कम्पनीले सुरु गरेको शाहीको भनाइ छ ।


नेपालको पानी जनताको लगानी अवधारणा
सरकारले नेपालको पानी जनताको लगानी अवधारणामा अगाडि बढाएको कम्पनी हो, विद्युत् उत्पादन कम्पनी । यो कम्पनीले ठूला क्षमताका आयोजना अगाडि बढाउने लक्ष्यका साथ काम अगाडि बढाएको छ ।


सोही कम्पनीको सहायक कम्पनीको रुपमा रहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले गत बुधबार मात्रै एक सय छ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । चालु आवमा आवश्यक तयारी गरेर आगामी आवको सुरुदेखि नै निर्माणमा जाने तयारी गरिएको छ ।


नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको निर्माण, उत्पादन, वितरण र बिक्रीको चापलाई कम गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरेको हो । ऊर्जा क्षेत्रको समग्र सुधार गर्ने र व्यवस्थित रुपमा काम गर्ने लक्ष्यका साथ सरकारले २०७३ मङ्सिर ५ मा कम्पनी स्थापना गरिएको हो । ऊर्जा क्षेत्रको पुनःसंरचना गर्ने र कामलाई थप सहज रुपमा अगाडि बढाउने उद्देश्यले २०७२ सालमा कम्पनी स्थापना गर्ने निर्णय गरिएको थियो ।


सरकारले २०७२ फागुनमा ल्याएको ‘ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक’ कार्ययोजनामा उत्पादनसहित ऊर्जा क्षेत्रमा आधा दर्जन कम्पनी स्थापना गर्ने उल्लेख थियो । सो अवधारणामा रहेर स्थापना गरिएको कम्पनीले देशको समग्र ऊर्जा क्षेत्रको विकासमा संस्थागत प्रयास थालेको छ ।


अघि बढ्दैछन् यी आयोजना 
प्राधिकरण र विद्युत् विकास विभागले अध्ययन गरिरहेका आयोजनालाई कम्पनी मातहत ल्याएर विस्तृत अध्ययन तथा आवश्यक काम गरिरहेको छ । सोही कम्पनी मातहतमा नै रहने गरी जाजरकोटामा आयोजनास्थल रहेको चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजनासमेत निर्माणमा जाने तयारीमा छ । सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सरकारकोे आगामी वर्षको नीति तथा कार्यक्रममा सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख गरेको छ ।


यस्तै सात दशमलव एक मेगावाट क्षमताको ताप्सुलाई निकट भविष्यमा नै निर्माणमा लैजादैछ । एक सय छ मेगावाट क्षमताको जगदुल्लाको वित्तीय व्यवस्थापन भइसकेको छ । एक सय २० मेगावाट क्षमताको जलदुल्ला ‘ए’को अध्ययन जारी छ । जगदुल्ला हाइड्रोपावर कम्पनीका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार आगामी असारभित्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ ।


कम्पनीले शेयर अगाडि बढाएको अर्को आयोजना हो सिम्बुवा खोला । सो आयोजनाको क्षमता ७० दशमलव तीन मेगावाट बराबर छ । त्यसलाई रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाइएको छ । त्यस्तै, ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला पनि विद्युत् उत्पादन कम्पनी मातहत नै रहेको छ । कर्मचारी सञ्चय कोषको सहायक कम्पनीले अगाडि बढाएको बेतन कर्णाली आयोजनाको व्यवस्थापन र शेयर लगानीमा समेत विद्युत् उत्पादन कम्पनी नै जोडिएको छ । बेतन कर्णालीमा कम्पनीको १० प्रतिशत बराबरको शेयर स्वामित्व छ ।


प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङमा समेत भियुसिएलले लगानी गरेको छ । त्यस्तै नेपाल पावर टे«डिङ कम्पनीमा पनि स्वामित्वसहितको लगानी छ । मुलुकलाई ऊर्जामा पूर्णरुपमा सम्पन्न गराउने, लगानीका विभिन्न स्रोतहरुको खोजी गर्ने र सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यलाई साकार पार्न कम्पनी लागिपरेको प्रमुख कार्यकारी अधिकृत शाहीको कथन छ ।


यस्तो छ कम्पनीको शेयर संरचना 
कम्पनीको अधिकृत पुँजी  २० अर्ब र जारी पुँजी  १० अर्ब बराबर रहेको छ । कम्पनीमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको दुई अर्ब, अर्थ मन्त्रालयको  ५० करोड, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको  ५० करोड बराबरको शेयर स्वामित्व छ ।
नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल दूरसञ्चार कम्पनीको समान रु एक ÷एक अर्ब, नागरिक लगानी कोषको रु ५० करोड बराबरको शेयर छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रु ४० करोड, राष्ट्रिय बीमा संस्थानको रु २० करोड बराबरको शेयर छ ।


हालसम्म रु सात अर्ब १० करोड बराबरको शेयर बाँडफाँट भएको छ । बाँकी शेयर भने निकट भविष्यमा नै आम नागरिकलाई बिक्री गर्ने कम्पनीको योजना छ । शेयरधनीले रु चार अर्ब १० करोड बराबरको रकम मात्रै चुक्ता गरेका छन् । दुई अर्ब ८१ करोड बराबरको रकम भने शेयरधनीले उपलब्ध गराउन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।


संस्थागत शेयरधनीलाई समूह ‘क’ र ‘ख’मा वर्गीकरण गरिएको छ । यो समूहको शेयर ७१ प्रतिशत बराबर छ भने सर्वसाधारण समूह जुन ‘ग’ समूहमा छन् । जुन शेयर स्वामित्व २९ प्रतिशत बराबर हुन आउँछ ।


श्रममार्फत विपन्न नागरिकलाई शेयर 
सर्वसाधारण नागरिकलाई १७ प्रतिशत, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दालाई १० प्रतिशत र अति विपन्न परिवारलाई पनि कम्पनीले शेयर उपलब्ध गराउनेछ । श्रम, रोजगारी वा अन्य कुनै विकल्पको प्रयोग गरेर अति विपन्न नागरिकले शेयर लगानी गर्न सक्ने प्रबन्ध गरिएको छ ।


पूर्वऊर्जामन्त्री जनार्दन शर्माका अनुसार अति विपन्न नागरिकले समेत अपनत्व महसुस गर्ने गरी कम्पनीमा शेयरको प्रबन्ध गरिएको हो । शर्मा नै ऊर्जामन्त्री हुँदा यो कम्पनी स्थापना गरिएको थियो । नेपालको पानी जनताको लगानी, हरेक नेपाली शेयरधनी बनाउने उद्देश्यका साथ आर्थिकरुपमा लगानी गर्न नसक्ने नागरिकलाई समेत श्रम, रोजगारी वा अन्य कुनै विकल्पमार्फत लगानीको अवसर प्रदान गरिएको उनको भनाइ छ ।


लगानीको स्रोत नै नागरिक हुन भन्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले अनेकन कारणले अपेक्षित कामलाई भने तीव्र गतिमा अगाडि बढाउन नसकेको गुनासो पनि बेला बेलामा आउने गरेको छ । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाही, सरकारको सोच, राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आफूहरु अगाडि बढिरहेको बताउँछन् ।


“हामीले निकट भविष्यमा नै देखिने गरी परिणाम दिन्छौँ । कामको सुरुआत जगदुल्लाबाट सुरु भएको छ । निकट भविष्यमा नै जगदुल्ला ‘ए’को पनि काम सुरु हुन्छ । अहिले लगानी गर्ने सम्झौता गरेका बैंक तथा वित्तीय संस्थाले नै लगानी गर्ने प्रतिबद्धता जनाएका छन्”, उनले भने ।


यी आयोजना छन् गतिमा 
फुकोट कर्णालीको पनि आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीसँग छलफल भइरहेको छ । सो आयोजना सुरु भएपछि कालीकोट जिल्लाको विकास निर्माणको कामले समेत गति लिने विश्वास गरिएको छ । कर्णाली नदीमा निर्माण हुने आयोजनाले वार्षिकरुपमा दुई हजार चार सय ४७ दशमलव ८८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्नेछ ।


उत्पादित बिजुली चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लायनमार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले खाडाचक्त नगरपालिकाको रेङ्गीलमा निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ । पहुँचमार्ग र कर्मचारी आवास गृह तथा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा छ ।


सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा आयोजनास्थल रहेको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाको पनि अध्ययन कार्य जारी छ । आयोजनाबाट वार्षिक दुई सय ५५ दशमलव ११ करोड युनिट बिजुली उत्पादन हुन्छ । उत्पादित बिजुली १८ दशमलव पाँच किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइन मार्फत हाइटार सवस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।


  मुगु कर्णालीको अध्ययन प्रक्रिया चलिरहेको छ । बाजुरा जिल्लाको जगन्नाथ र स्वामीकात्र्तिक खापर गाउँपालिकाको बीच भएर बहने कर्णाली नदीको पिलुचौर भन्ने स्थानमा दुई सय ८० मिटर अग्लो बाँध र अन्य संरचना निर्माण हुनेछ । आयोजनाको जलाशय कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लाको भूभाग गरी ४५ किलोमिटर उपल्लो तटीय क्षेत्रसम्म रहनेछ ।


एक हजार नौ सय दुई मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहदेखि करिब ४६ किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालिकोटको रेङ्गील सवस्टेशनमा जोडिनेछ । सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयारीको काम प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरिरहेको छ ।


आयोजनाको र्काालय भवन तथा कर्मचारी आवास गृह निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाइएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युत् प्रसारणको सर्वेक्षण अनुमति प्राप्त भइसकेको छ । प्राधिकरणसँग विद्युत् खरिद सम्झौताका लागि २०८० कात्तिक २३ गते निवेदन समेत दिइसकिएको प्रमुख कार्यकारी अधिकृत शाहीले जानकारी दिए ।


कम्पनीले दैलेखमा सौर्य परियोजनाको समेत काम अगाडि बढाएकोे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत शाहीले ऊर्जा मिश्रणको अवधारणाअनुसार पनि राष्ट्रिय लक्ष्य पूरा गर्ने दायित्व आफूहरुको पनि भएको बताए ।


विस्तृत अध्ययन र वातावरणी अध्यय भइरहेका आयोजनाको विद्युत् उत्पादनसम्बन्धमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति एवं व्यावसायिक योजना तय गरी कार्यान्वयनमा लैजाने कम्पनीको योजना छ । यस्तै, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा वातावरण अध्ययनको कार्य समयमा सम्पन्न गराउन पनि कम्पनी लागिपरेको कार्यकारी अधिकृत शाहीले जानकारी दिए ।


विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवश्यक कारबाही अगाडि बढाउने साथै नजिकैको सवस्टेसनसम्म विद्युत् प्रसारणको निम्ति प्रसारण अनुमतिको कार्यका साथै सम्भाव्यता तथा वातावरणीय अध्ययन कार्य अगाडि बढाइएको छ ।


आयोजनाको लागि पहुँचमार्ग, जग्गा खरिद र विस्तृत अध्ययन कार्य सम्पन्न भई बोलपत्रको प्रक्रिया अगाडि बढाउने, वित्तीय व्यवस्थापनको कार्य अगाडि बढाउने लक्ष्य राखिएको छ ।


लगानीका लागि नयाँ जलविद्युत् आयोजनाको पहिचान गरी अध्ययन तथा निर्माण कार्य अगाडि बढाउने र कम्पनीको उद्देश्यअनुरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग दुईपक्षीय एवं बहुपक्षीय रुपमा समन्वय गर्ने कम्पनीको योजना रहेको प्रमुख कार्यकारी अधिकृत शाहीको भनाइ छ ।


अध्ययन सम्पन्न भएका आयोजनाका लागि वित्तीय स्रोतको जोहो गर्ने र बोलपत्रमार्फत निर्माण व्यवसायी छनोट गरी निर्माणमा लैजान नै तत्कालको प्रमुख काम भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत शाहीले भने, “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा वित्तीय स्रोत खोजिरहेका छौँ । आशा छ, हामी निकट भविष्यमा नै सफलता हासिल गर्छाैँ ।” उनले कम्पनीले अन्य केही आकर्षक आयोजनाको समेत अध्ययन सुरु गर्ने तयारी गरेको बताए ।


कम्पनीको समेत लगानी रहेको एनइए इञ्जिनियरिङ कम्पनीमार्फत अध्ययन गराउँदा ठूलो धनराशी विदेशिनबाट जोगिएको छ । प्राविधिक कर्मचारीले कामसमेत पाएका छन् । नेपाली प्राविधिक क्रमशः दक्ष बन्दै गएका छन् । मानव स्रोतलाई दक्ष बनाउनु पनि कम्पनीको उद्देश्य रहेको जानकारी दिँदै उनले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समेत आफूहरु दत्तचित्त भएर लागेको बताए ।


एनइए इञ्जिनियरिङ कम्पनीले एक हजार पाँच सय मेगावाट बराबरका आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ र बोलपत्रको कागजात तयार पार्ने काम सम्पन्न गरेको छ । यस्तै, विभिन्न प्रसारण लाइन आयोजनाको अध्ययन, डिजाइन तथा सुपरिवेक्षण, वातावरणीय अध्ययन, मूल्याङ्कनसम्बन्धी कार्य, सौर्य आयोजनाको निर्माणमा सहजीकरण गरिरहेको छ । जलविद्युत् आयोजनाको निर्माण सुपरीवेक्षण कार्यमा पनि सहभागी भई आफ्नो दक्षता र क्षमतामा अभिवृद्धि गरेको छ ।


सरकारी संस्थाहरु सबल र सक्षम बनाउँदा मात्रै राज्यको अपेक्षालाई सम्बोधन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको जानकारी दिँदै उनले कम्पनीलाई थप व्यावसायिक र दक्ष बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो ।

केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर लिगको १३६ वर्षको इतिहासमा सिटीले लगातार चौथो सिजन उपाधि जित्दै नयाँ कीर्तिमान पनि बनाएको छ ।

यो सिजनको अन्तिम खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीले समग्रमा आठौं पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

सिटी ९१ अंकका साथ पहिलो र आर्सनल ८९ अंकसहित दोस्रो स्थानमा छ । सिटीले उपाधि रक्षा गर्ने जित दिलाउँदमा फिल फोडेन दुई तथा रोड्रीले एक गोल गरेका थिए । वेस्टह्यामका मोहमद कुडुसले एक गोल फर्काए ।

सिटीले घरेलु इथिहाड स्टेडियममा दोस्रो मिनेटमै अग्रता लिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दिलाएका हुन् । १८ औं मिनेटमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

उनले जेर्मी डोकुको पासमा गोल गरेका थिए । ४२ औं मिनेटमा मोहमद कुडुसले गोल गरेपछि वेस्टह्यामले अग्रता २–१मा झारेको थियो । तर, ५९ औं मिनेटमा सिल्भाको पासमा रोड्रीले गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो ।

८९ औं मिनेटमा थोमस सुसेकले वेस्टह्यामका लागि गरेको गोल भीएआरले मान्यता नदिँदा वेस्टह्यामलाई खेलमा फर्किन कठिन भयो । त्यसपछि ३–१ को नतिजाका साथ सिटीले स्पष्ट ३ अंक लिएपछि उपाधि पनि जित्न सफल भयो ।

आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । आर्सनललाई उपाधि जित्नका लागि सिटी पराजित वा बराबरीले मात्रै सम्भव थियो । तर सिटीले स्पष्ट जित निकालेपछि आर्सनलको २१ वर्षपछि उपाधि जित्ने सपनामा धक्का पुग्यो । गत सिजन पनि आर्सनल दोस्रो स्थानमा रहेको थियो ।

छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने भएको छ ।

आइतबार संसद भवनमा पत्रकार सम्मेलन गरी कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएका हुन् । उनले समिति गठन नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया अगाडि नबढ्ने बताए ।

उनले भने, ‘हामी निर्वाध संसद चलोस् भन्ने चाहन्छौं। हाम्रो माग नाजायज छैन। भोलि बिहान ११ बजे अगाडि संसदीय छानबिन समिति गठन गरेर सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास लिएका छौं। यदि त्यसो भएन भने विश्वासको मत लिने प्रक्रिया पनि अगाडि बढ्दैन।’

गृहमन्त्रीलाई गगन थापाको चुनौतीः नधम्क्याउनुस्, नतर्साउनुस्, खोल्नुस् फाइल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर धम्क्याउन भन्दा फाइल खोलेर देखाउन चुनौती दिएका छन् ।

गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गरेपछि आइतबार साँझ संसद भवनमा पत्रकार सम्मेलन गरी महामन्त्री थापाले फाइल खोलौँ, खोलौँ भनेर नधम्काई फाइल खोल्न चुनौती दिएका हुन् ।

उनले भने, ‘फाइल खोलौँ, खोलौँ भनेर धम्काउने होइन के, छानबिन गरौँ, गरौँ भन्ने होइन। म महामन्त्री यहीँ छु, उपसभापति धनराज गुरुङ यहीँ हुनुहुन्छ। सबै छानबिन गर्नुस्, नधम्क्याउनुस्, नतर्साउनुस्। गृह मन्त्रालय भनेको ठूलो जिम्मेवारी हो, धमाधम फाइल खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो, गलत भए कारबाही पो गर्ने हो त ।’

उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेर जनताको मन बहकाएको टिप्पणी गरे । महामन्त्री थापाले लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता हो भनेर छुट्याउन नसकेको बताए ।

उनले आफूमाथि रोस्ट्रमबाट गृहमन्त्री लामिछानेले लगाएको आरोप पुष्टि गर्न र समिति बनाउन आग्रह गरे । उनले भने,’मेरो अनुरोध छ, समिति बनाए पनि हुन्छ । यत्रो महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ, दायाँ प्रचण्ड, बायाँ ओलीजी हुनुहुन्छ । म प्रसूतिगृहमा जन्मिएको, त्यहाँबाट सुरु गरे हुन्छ, मज्जाले । नेपालतिर नभएको बेलाको घटना बताउँछु, त्यो पनि छानबिन गरे हुन्छ ।’

महामन्त्री थापाले कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बनाउन कुनै अफर नगरेको बताए। तर उनले रास्वपाका नेताले डेमोक्रेटिक अलाइन्स बनाउन तयार रहेको सन्देश लिएर आइरहेको उल्लेख गरे ।

उनले भने,‘हिजो उहाँका पार्टीका एकजना नेता कांग्रेसका नेताहरुसँग संसदीय समितिको टिओआरमा लचक भइदिनुपर्यो भनेर भन्न आउनु भएको थियो । उहाँले हामीलाई भित्तामा नपुर्याउन आग्रह गर्नुभयो ।’ उनले सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा शेयर किनेको कागजातबाट पुष्टि हुने दाबी गरे।

सहकारी ठगीमा आफ्नो संलग्नता नरहेका गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको ठगीमा आफ्नो संलग्नता र प्रतिवादी नबनाइएको दाबी गरेका हुन् ।

उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु ।’

उनले आफू मिडियामा आएका हेडलाइनबाट नडराउने बताए । उनले भने, ‘मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला, रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन ।’

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । उनले भने, ‘हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन ।’

उनले आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न अफर गरेको भन्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरे ।

उनले भने,’गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ? मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ? यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’

उनले कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै भने, ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौं । राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौं ।’ उनले आफूलाई कांग्रेसले सदनमा बोल्न नदिएर अलोकतान्त्रिक चरित्र देखाएको बताए ।

उनले भने, ‘किसुनजी र गणेशमानजीको पार्टी यस्तो अलोकतान्त्रिक हुन्छ ? लोकतान्त्रिक दलले अर्को पार्टीको सांसदलाई बोल्न नदिने निर्णय गर्न मिल्छ ? यो कुन अभ्यास हो ? किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’

प्रधानमन्त्रीलाई विश्वासको मत लिन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा यसअघि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको आधारमा टेकेर यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजनबारे सर्वोच्चले अन्तरिम आदेश दिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिँदा सात जना सांसदले गर्ने मतदान अवैध हुने भएकाले रिट दायर गरिएको बताए ।

सर्वोच्चले सोमबार लागि पहिलो पेसी तोकिसकेको पनि सुमनले जानकारी दिए । जसपा नेपालले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् । उनले जसपा नेपाल विभाजनसम्बन्धी मुद्दामा फैसला आउनुअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

सत्तापक्षले गृहमन्त्रीमाथि छानबिन गर्न नहुने अडान राखेपछि कार्यदलमा जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन गठित कार्यदलको बैठक विना निषकर्ष टुंगिएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आआफ्नो अडान नछाड्दा बैठक निष्कर्षबिहीन भएको हो । कार्यदल सदस्य एवं कांग्रेस नेता जीवन परियारले छानबिनको दायरामा ल्याउनुपर्ने व्यक्तिलाई दायरामा नल्याउने कुरामा आफूहरुको असहमति रहेको बताए ।

सत्ता पक्षले गृहमन्त्री रवि लामिछानेको नाम राख्न नमानेपछि बैठकमा सहमति नजुटेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न तयार नदेखिएको बताए ।

उनले भने, ‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । तर सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन ।’ उनले गृहमन्त्री लामिछानेमाथि आरोप लागेकाले उनको नाम समावेश गरेर मात्र संसदीय समिति बनाउनुपर्ने पक्षमा कांग्रेस रहेको बताए।

कार्यदल सदस्य तथा रास्वपाका नेता शिशिर खनालले एक व्यक्तिलाई दोषी करार गरेर समिति बन्न नसक्ने बताए ।उनले भने, ‘कांग्रेसका साथीहरुले ल्याउनुभएको भाषामा दोषी करार गरेको देखिन्छ । टीओआर बनाउँदा फलानो दोषी हो भन्ने विषयमा असहमति छ ।’ टिओआरमा सहमति जुटाउन बिहानैदेखि कार्यदल जुटेपनि सहमति नबन्दा संसद संचालनमा अन्यौल देखिएको छ ।

डेल कम्पनीको नक्कली लोगो मोनिटरमा टाँसेर बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेवलिङ गरेर कम्प्युटर बिक्री गरेको आरोपमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी परिसरको विशेष टोलीले म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाललाई पक्राउ गरेको हो ।

उनले काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएर डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेर बिक्री गर्ने गरेको पाइएको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले उनको साथबााट डेल कम्पनीको लोगो सहितको मनिटर १० कार्टुन (५० थान), लोगो बिनाको ३७ कार्टुन (१८५ थान) गरी २३५ थान कम्प्यूटर बरामद गरेको छ । त्यस्तै उमेश मुडवरीबाट कम्पनीको लोगो सहितको मनिटर ६ थान समेत बरामद भएको छ । जम्मा २८६ थान मनिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ / नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै र्‍यालीसहित प्रदर्शन गरेको हो ।

सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने र गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जीवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् । प्रदशर्नमा उत्रिएकाहरुले चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको, अब सिधा कुरा सहकारी ठगसँग, जीवि राई कहाँ छ ? ए रवि दाई खै त जीवि राई लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सहकारी अनियमितता प्रकरणमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला उसको भातृ संगठन पनि सडकमा उत्रिएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।

आइतबार पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस ससमारोहमा अध्यक्ष नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए ।

कसैले पनि यसमा शंका गर्न नहुने भन्दै उनले सरकारलाई हाम्रो पार्टीको विश्वासको मत प्राप्त हुने बताए । नीति तथा कार्यक्रमको सन्दर्भमा संसदमा छलफलको ढोका नखोल्दा संवैधानिक जटिलताहरु खडा हुने भन्दै सहमतिको बुँदामा पुग्न आवश्यक भएको उनले बताए । अध्यक्ष नेपालले अहिलेको सदनको अवरोध हटाउनु सबैको हितमा हुने बताए ।

नीति र कार्यक्रमको सन्दर्भमा संसदमा छलफल गर्ने ढोका नखोल्दासंवैधानिक जटिलता खडा हुने भन्दै यसमा ध्यानमा राख्नुपर्ने बताए ।

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ / राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो ।

दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठनका लागि दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन ।

सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची तय गरिएको थियो । साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्नुहुने कार्यसूची थियो ।

आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनकोप्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो । आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची थियो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक,२०८०’ सभा समक्ष पेस गर्नुहुने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन०, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची थियो ।

४५ अंकले बढ्यो शेयर बजार, ५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । आइतबार नेप्से ४५ अंकले बढेको छ । बजार ४५ अंकले बढ्दा ५ अर्ब माथिको सेयर कारोबार भएको छ ।

आज ३२३ स्क्रिप्सको १ करोड २२ लाख ४० हजार कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा खरिदबिक्री भए । आत्मनिर्भर लघुवित्त,सबैको लघुवित्त,सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो माण्डु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए।

सो कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १४ करोड ८० लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो। फस्ट माइक्रो फाइनान्सको साढे ११ करोड बढीको सेयर कारोबार भयो।

कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० बिगाह जग्गा फिल्डबुकमा जंगल कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसबारे उजुरी परेपछि गरिएको अनुसन्धानमा स्नेही रसाइली र नायब सुब्बा अग्नि बहादुर शाहीले गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, विमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको पाइएको अख्तियारको भनाइ छ ।

पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरू समेत कार्यालयको अभिलेखबाट नष्ट गरेको पुष्टि हुन आएको आयोगको भनाइ छ । उनीहरुविरुद्ध २४ करोड ६ लाख ६९ हजार सम्पत्तिको हानिनोक्सानी पुर्याएको हुँदा सोही रकम बराबरको बिगो कायम गरेर कैद र जरिवानासमेत मागदाबी अख्तियारले गरेको छ ।

मेची भन्सारद्वारा दश महिनामा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११ अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने, “पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ” ।

भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो ।

भन्सार कार्यालय काँकडभिट्टामा चालु आर्थिक वर्षको वैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ ।

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । ‘दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्थाबाट बाँच्न सक्नुभएन । उहाँ कुनै मुद्दा, सुनुवाई र आफ्नो परिवारसँगको कुनै पनि प्रकारको सञ्चार बिना सात वर्षसम्म सिरियाली हिरासतमा रहनुभएको थियो,’ अमेरिकी बन्धक र बन्दीहरूका परिवारका सदस्यहरूद्वारा आफ्नो परिवारको तत्काल रिहाइको लागि वकालत गर्ने अभियान ‘ब्रिङ आवर फेमिलीज होम क्याम्पियन (बिओएफएच)’ का प्रवक्ता जोनाथन फ्रान्कसले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

‘उहाँ एक दयालु र मायालु व्यक्ति हुनुहुन्थ्यो,’ कमलमाजको व्यक्तित्वको वयान गर्दै फ्रान्कसले भने । टेक्सासमा जन्मिएका र पेसाले मनोचिकित्सक रहेका कमलमाजलाई सन् २०१७ मा दमास्कसको एक सुरक्षा जाँच केन्द्रमा आफ्नो परिवारलाई भेट्न जाँदा हिरासतमा लिइएको थियो ।

सिरियाली सरकारद्वारा बन्दी बनाइएका अमेरिकी कैदीहरूको रिहाइको प्रयासमा सन् २०२० मा ट्रम्प प्रशासनका अधिकारीहरूले दमास्कसको भ्रमण गरेपछि पनि अमेरिकी बन्दीको रिहाइका लागि सिरियाली सरकार सककारात्मक नदेखिएपछि परिवारका सदस्यहरू निराश भएका थिए । 

यस वर्षको सुरुमा पहिलोपटक बन्धक र गलत नजरबन्द दिवसको सन्दर्भमा बोल्दै आफ्नो बुबाको बेपत्ता जीवनबारे मरियम कमलमाजले भने, ‘हामी उहाँ अदृश्य भएपनि उहाँको उपस्थितिको महसुस गरिरहने छौँ ।’

‘विगत सात वर्षदेखि हामी बुबाको अनुपस्थितिसँग सङ्घर्ष गरिरहेका छौं । हाम्रो परिवारले भोगेको पीडा र भावनात्मक उथलपुथलले हाम्रो जीवनमा ठुलो असर पारेको छ,’ मरियमले आफ्नो बुबाको निधनको घोषणा पश्चात भने ।

‘परिवार र सबै अमेरिकीले उहाँलाई धेरै याद गर्नेछौँ । हामी आवश्यक पर्ने अरूलाई सहयोग गर्ने उहाँको विरासत जीवित रहन्छ भन्नेमा आशावादी छौँ,’ उनले भने ।

फेब्रुअरी २०१७ मा सिरियामा बेपत्ता भएदेखि कमलमाजलाई न देखिएको थियो न उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको थियो । ‘जति समय बितिसकेको भएपनि एफबिआईको होस्टेज रिकभरी फ्युजन सेलका पीडित र उनीहरूका परिवारका तर्फबाट सबै अमेरिकी बन्धकहरू रिहाई गर्ने र बन्धक वा बेपत्ता भएका परिवारहरूलाई सहयोग गर्न काम गर्नेछ,’ होस्टेज रिकभरी फ्युजन सेलको एक विज्ञप्तिमा जनाइएको छ ।

संसदीय समितिको कार्यादेशमा रविको नाम राख्ने/नराख्ने विषयमा कार्यदलमा विवाद

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बिहानदेखि बसेको कार्यदलको बैठकमा दलहरु सैद्धान्तिक सहमतिको नजिक पुगेपनि कार्यक्षेत्र टुंग्याउन भने बाँकी रहेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेससँग सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने जानकारी दिए । उनले भने, ‘सहमति नजिक पुगेका छौं । तर एकाध विषयमा कांग्रेसका असहमति छन् । कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ। सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा आज बेलुकासम्म टुंगिन सक्छ।’

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको छ। विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टीओआर टुंग्याउनुपर्ने भएकाले केही समयपश्चात सहमत हुन सक्ने उनले बताए। उनले भने, ‘संसदीय छानबिन समिति भनेको सांसदहरुको संलग्नतामा हुने समिति हो, त्यसले अनुसन्धान अधिकारीको रुपमा कति काम गर्न सक्छ/सक्दैन त्यो पनि याद गरौं । नीतिगत र कानुनी पक्षमा कसरी लाभ हुने गरी पुग्न सकिन्छ भन्ने ठाउँबाटै टीओआर निर्माण गरौं भन्ने सहमति भएको छ।’

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विवाद कायमै छ। लामिछाने जोडिएका सहकारीको नाम राख्न कार्यदलका सदस्यहरु सकारात्मक छन्। कार्यदलका सदस्यहरुबीच भएको सहमतिको मस्यौदामाथि कांग्रेसमा आन्तरिक छलफल गर्ने र त्यसपश्चात पुन बैठक बस्ने गरी कांग्रेस नेताहरु बाहिरिएका छन् । कार्यदलमा सहमति नहुँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।