`

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो। बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले रु नौ करोड ९० लाखमा ठेक्का लिएको थियो।

जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडकमा पर्ने पाण्डाखोलाको पुलको सतहसम्म नै गेग्रान थुप्रिएको छ। हरेक बर्खामा आउने बाढीले जोमसोम–कागबेनी–कोरला सडकमा यातायात प्रभावित हुने गरेको छ। त्यतिबेलाको मापदण्डअनुसारकै उचाइ भएको पुल बने पनि कालीगण्डकीको सहायक पाण्डा खोलामा आउने बाढी र थुप्रिने गेग्रानले पुल जोखिममा परेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए।

‘धार परिवर्तन गरिरहने मुस्ताङका खोलाहरू सधैँ एकै ठाउँबाट नबग्ने भएकाले एकातिर पुल बन्ने, खोला अर्कैतिरबाट बग्ने समस्या देखिएको हो’, उनले भने, ‘खोलाले धार परिवर्तन गरिरहने र अनपेक्षित बाढीका कारण पुल निर्माणका लागि फरक डिजाइन र उपाय खोज्नुपर्ने अवस्था आएको छ।’

घरपझोङ गाउँपालिकाको मार्फाखोलामा बेमौसमी बाढीले मोटर गुड्ने पक्की पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ। १२० मिटर लामो पुल निर्माणाधीन अवस्थामा रहेको मार्फाखोलामा गत चैतमै बाढी आएको थियो। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा छ वर्ष लगाएर निर्माणको अन्तिम चरणमा पुगेको २५ मिटर लामो पक्की पुल गत साउन २९ गते कागखोलामा आएको बाढीले बगायो।

तत्कालीन सडक डिभिजन कार्यालयले २०७३ असारमा गाल्वा एण्ड रफिना जेभीसँग रु. दुई करोड ८८ लाखमा ठेक्का सम्झौता गरेर बेनी–जोमसोम–कोरला सडक आयोजनालाई हस्तान्तरण गरेको यो पुलको दुबैतर्फको खम्बा रहे पनि गाडी गुड्ने भाग बाढीले बगाएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोडिएको छ। ४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खल्बलाउने गरी बाढीले बगाएको थियो। रुप्सेखोलामा पक्की पुलको विकल्पमा बेलिब्रिजबनाएर यातायात सञ्चालन गरिएको छ।

भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संसोधन गरी लम्बाई बढाउन पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। आयोजनाका इञ्जिनीयर विष्णु चापागाईका अनुसार कागबेनीको पक्की पुलको बिमा मूल्याङ्कनको चरणमा छ।

पाण्डाखोला र छुसाङको खालीगण्डकीमा निर्माण भएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि अर्को ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव समेत गरिएको छ। बाढी र नदीले धार परिवर्तन गर्ने समस्या समाधानका लागि पक्की पुलको उचाई र दूरी बढाउनुपर्ने भएको हो।

विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित, विकास आयोजनाका संरचनामा क्षति र विपद्को जोखिम बढेको डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाटले बताए।

‘पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरू चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर वस्ती भन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको हो,’ उनले भने ‘सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको विगतको अवस्थालाई आधार बनाएर डिजाइन गर्नुपर्छ।’

बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत १४ ठाउँमा ठूला पहिरो छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर–१ बेगखोला, वडा नम्बर –२ माझखर्क, कुनौटो, रिठाबोट, वडा नम्बर –३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारी राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ। अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने नागढुङ्गा, भुरुङभीर, वडा नम्बर–६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ३ दानाको गुइठेभिर, खाम भित्ता, लाटाखोलामा वर्षेनी निरन्तर माथिबाट पहिरो झर्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ। खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षण विना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ। काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा रक फलको समस्या छ। मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ। लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ।

कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा ३८४ मिटर लामो सुरुङ बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ। कालीगण्डकी नदीको कटानको जोखिम रहेको सो ठाउँमा सुरुङमार्ग बनाउन ९० करोड लागत अनुमानसहितको डिपिआर तयार पारिएको हो।

रक फल हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रक एन्करिङ/रक नेलिङ’ गर्न थालिएको बेनी जोमसोम कोरला सडक योजनाका सव इञ्जिनियर गणेशमान श्रेष्ठले बताए। ‘बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ,’ उनले भने ‘बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ।’ भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाउने काम अन्तिम चरणमा रहेको उनले बताए।

बेनी–जोमसोम–कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न स्थानीय सरोकारवालाले माग गरेका छन्।

तत्कालीन रुपमा कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र माथिबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने म्याग्दीका प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए। पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरी थप आयोजना सञ्चालन गर्नुपर्ने देखिएको उनको भनाइ छ।

म्याग्दीको बेनीदेखि मुस्ताङको लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्ययभार बढेको छ।

‘बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ,’ आयोजना प्रमुख झाले भने ‘सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेका छौँ।’

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने कालीगण्डकी कोरीडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुदै मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलाहरूमा पुल निर्माण गर्न २०७४सालदेखि जोमसोममा कार्यालय स्थापना गरेर काम थालिएको थियो। १४ खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० फागुन मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत छ। छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएको छ। छ ठाउँमा पक्की पुल निर्माणाधीन छन्। 

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

 ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्। स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताए ।

उनले भने, ‘यी पोखरी बाबुबाजेको पालामा निर्माण भएका थिए तर संरक्षण हुननसक्दा पहिलोको स्वरुपमा छैनन् । कोही सुख्खा छन् भने केहीमा हिलोमात्रै छ । तरबारसमेत गर्न सकिएको छैन ।’

स्थानीय जगत डुङ्गोल पनि यहाँका पोखरी संरक्षणका लागि स्थानीय तहले उचित योजना बनाउनुपर्ने बताउँछन् । बसपार्क छेउमा रहेको ‘खा’ पोखरी मिचेर फराकिलो बनाउने मनसायसहित छलफल चलिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ ।

‘बसपार्क फराकिलो बनाउने वा नबनाउने भन्ने विषयमा छलफल जारी छ । बसपार्क पनि आवश्यक हो तर प्राकृतिक पोखरीको अस्थित्व जोगाउन पनि त ध्यान दिनुपर्‍यो । पोखरीलगायत यहाँका सम्पदा संरक्षणमा स्थानीय तह र सम्बद्ध पक्ष जागरुक हुनुपर्छ’, उनले भने ।

खोकना पर्यटकीय दृष्टिकोणले सम्भावित गाउँ भएकाले यहाँका पोखरी र परम्परागत तेल व्यवसाय बचाइराख्नुपर्ने स्थानीय सुरेश डङ्गोलको भनाइ छ ।

पोखरी भरणका लागि आवश्यक पानी ल्याउन बनाइएका राजकुलो पनि अतिक्रमणमा परेकाले पोखरी सुख्खा हुने समस्या रहेकाले त्यसको निरुपण गर्न ध्यान दिनुपर्ने बताए । उनले भने, ‘पोखरीमा राजकुलोबाट पानी आउनुपर्ने हो तर आजभोलि आउनै छाड्यो । पोखरी सुक्खा छन् । भएका पोखरीको संरक्षण गर्न सकिएको छैन । यसमा जिम्मेवार निकायको ध्यान जानुपर्छे ।’

स्थानीयवासीले कुनै काममा निस्कँदा बाटोमा दायाँबायाँ पोखरी हेरेपछि शुभसाइत हुन्छ भन्ने मान्यतासहित यहाँ पोखरी निर्माण गरिएका स्थानीय जगत् डुङ्गोलले जानकारी बताउँछन् । त्यसैकारण बसपार्क छेउमा दायाँबायाँ खापोखरी र कमलपोखरी छन् ।

ललितपुर महानगरपालिका-२१ का वडाध्यक्ष रविन महर्जन तेल व्यवसायमा परिचित खोकनाका पोखरीलगायत अन्य ऐतिहासिक सम्पदा जोगाउन जरूरी रहेका बताउँछन् ।ऐतिहासिक तोरी पेल्ने मिल, पोखरी, मन्दिर र परम्पराको जगेर्ना गरी पर्यटन प्रवर्द्धनमा जोड दिन वडा कार्यालयले योजना बनाइरहेको बताए ।

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए ।

यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उनले बताए । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ ।

“उपकरण जडान गर्ने काम भइसक्यो,” उनले भने, “प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम गर्नेछौं ।”

झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले बर्सेनी ठूलो क्षति पुर्याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोबाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।

“अब बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था गर्दैछौंँ,”उनले भने, “यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो सघाउ पुग्छ । जोखिममा रहेका समुदाय सुरक्षित हुन्छन् ।” विभागले राजमार्गका मावा, रतुवा नदीमा समेत सो प्रणाली जडान गरिरहेको जनाएको छ ।

प्रणालीमा जडित स्वचालित उपकरणले वर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तरको बारेमा काठमाडौँ र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने गर्छ । त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदी तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उनले जानकारी दिए ।

बिरिङका लागि बुधबारेमा र निन्दाका लागि बाहुनडाँगीमा वर्षामापन उपकरण राखिएको छ । ती उपकरणको सहायताले नदीको मुहानमा कति वर्षा भइरहेको छ भन्ने जानकारी सङ्कलन हुनेछ । नदीको पानीको वहाब र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने पोखरेलले बताए ।

नेपाल टेलिकमको सिम प्रयोग गर्ने नदी तटीय क्षेत्रका बासिन्दालाईे मोबाइलमा सन्देश पठाइने आयोजनाले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बाढीमापन तथा वर्षामापन प्रणालीले बाढीका कारण उत्पन्न हुने विपत् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले विगत लामो समयदेखि कनकाई नदीमा यो प्रणालीमार्फत बाढीको क्षति न्यूनीकरण भइरहेको जानकारी दिए ।

राष्ट्रियसभाको बैठक दुई घण्टा सारियो

काठमाडौँ / दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए ।

सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो ।

शरणार्थी शिविरमा इजरायलले गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको गाजा अस्पतालले जनाएको छ ।

‘मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ’, अल–अक्सा शहीद अस्पतालको विज्ञप्तिमा भनिएको छ।

प्रत्यक्षदर्शीका अनुसार ३ बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ।
प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो ।

घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ। अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म दुई सय ८२ जना सैनिक मारिएको सेनाले जनाएको छ।

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको १० वर्ष पूरा भएका अवसरमा सिंगो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले जानकारी दिए ।

घरबासको नीति, मापदण्ड, अवधारण, कार्यविधि र दिगोपनालाई मध्यनजर गरि यहाँ रहेका होटल, रेष्टुरेन्ट र आवास गृह सबैलाई घरबासका रूपमा परिणत गरिएका अध्यक्ष थारूले बताए । शनिबार गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले गाउँलाई घरबास गाउँ घोषणा गरेकी हुन् ।

यस क्षेत्रमा छुट्टाछुट्टै स्वरूपमा घरबाससहित, होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा भविष्यमा घरबासको मौलिकता गुम्दै जाने खतरा बढेकाले सबैलाई एकै मापदण्डमा ल्याउन यस्तो घोषणा गरिएको उनले बताइन् ।

हाल अमलटारी घरबासअन्तर्गतका ४३ आवास र होटलमा सञ्चालित ६४ कोठालाई एकीकृत गरि घरबासको मापदण्डमा लैजाने निर्णय गरिएको छ । ‘हामीले यसअघिका घरबास र पछि सञ्चालित सबै होटलका कोठालाई घरबासमै गाभेका छौं, यहाँ आउने पाहुनाहरू एकद्वार प्रणालीबाट आउन र राम्रो सेवा लिन सकुन् भन्ने हाम्रो चाहना हो । यो योजनाले घरबासको मौलिकता जोगाउन सहयोग पुग्नेछ,’ अध्यक्ष थारूले भने ।

घरबासलाई थप व्यवस्थित गर्न दशवर्षे रणनैतिक योजनासमेत बनाइएको छ । जसमा एक घर एक रोजगार, गाउँमा सत्प्रतिशत साक्षरता, वातावरणमैत्री व्यवसाय, सबै घरमा करेसाबारीसहित थारू, बोटेलगायत स्थानीय समुदायका संस्कृति, रहनसहनलाई संरक्षण गर्ने गरि म्युजियम निर्माणको योजना छ । वन र वन्यजन्तुको संरक्षणसहित आर्थिक विकासमा जोडिन सम्भव छ भन्ने उद्देश्यका साथ यहाँ थप अभियानहरू पनि सञ्चालन गर्ने व्वस्थापन समितिको योजना छ ।

‘जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्ने हाम्रो अभियान छ,’ अध्यक्ष थारूले भने ।

अमलटारी घरबासले थारु, बोटे समुदायको जीवनस्तर सुधारका साथै महिलाहरूको क्षमता विकासमा पनि सहयोग पुगेको गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताइन् । घरबासबाट जिविकोपार्जनसहित गाउँको आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उदाहरण अमटारी घरबासले प्रस्तुत गरेकामा उनले प्रशंसा गरिन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोरमा अमलटारी क्षेत्रमा घरबास सञ्चालन पछि यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ । यहाँका मध्यवर्ती सामुदायिक वनमा गैंडा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा महानगरले लगायो डोजर

काठमाडौ / काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो ।

मापदण्ड विपरित बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने महानगरले जनाएको छ । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ ।

यस्तै शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरु भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।

ट्राफिक प्रहरी जवान घिमिरेको हत्याका आरोपी सार्वजनिक

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो ।

उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको हो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ। स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो।

घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । अनुसन्धानका क्रममा लुटपाट, महिलासँगको विवाद लगायतका कारणले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको राजौरेले बताए ।

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ । 

पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समसामयिक परिस्थितिबारे छलफल गरिनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जवराले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा  पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने नेता श्रेष्ठले बताए ।

पार्टी मातहतका विभिन्न समिति तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ । 

विभिन्न समितिबाट भएगरेका निर्णयलाई अनुमोदन गरिने बैठकमा पार्टीको कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाव आएको केन्द्रीय प्रचार विभाग सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए । 

पार्टी अध्यक्ष लिङ्देनले उद्घाटन गर्ने बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा करिब चार सय प्रतिनिधिको सहभागिता रहनेछ । 

एकल प्रदर्शन गरिरहेका चपागाईंलाई शिक्षामन्त्री सुमनाले भटेर दिइन् यस्तो आश्वासन (भिडियो सहित)

काठमाडौँ / शिक्षामन्त्री सुमना श्रेष्ठले गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छिन् ।

माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाईंसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आइतबार भेट गरेकी हुन् । मन्त्री श्रेष्ठले चापागाईंंको मागलाई ऐक्यबद्धता जनाउँदै उनले उठाएको माग जायज र निकै महत्वपूर्ण भएको भन्दै माग सम्बोधन गर्ने आश्वासन दिइन् । आन्दोलनरत चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यालयको बजेटमार्फत सिकाई सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभूत तहको शिक्षा हेर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने आफ्नो माग रहेको शिक्षामन्त्रीलाई बताए ।

जवाफमा मन्त्री श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्र आवश्यक रहेको बताइन् । उनले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उल्लेख गरिन् ।

यस्तै चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउनुपर्ने, विद्यार्थीको दिवा खाजा खर्च १५ रहेकोमा ५० रुपैयाँ बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित उभिएर विरोध जनाइरहेका छन् ।

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयको सूचनामा भनिएको छ , ‘आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्ने दलहरुबीच सहमति भइसकेको छ । तर समितिको कार्यक्षेत्रकाबारेमा दलहरुबीच छलफल भइरहेकाले बैठकको समय सारिएको हो ।

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

दाङ / नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताए । “यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेप बिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो”, उनले भने, “यो प्रयासमा चित्त नबुझ्नेहरु अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन् ।”

साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उनले जानकारी दिए । विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको उनले बताए । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

संसद्मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उनको धारणा छ । “आफूमाथि लागेको आरोपका विषयमा संसद्मा बोल्न पाउनुपर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, सङ्घर्ष भएको हो”, उनले भने, “एउटा पार्टीको सभापतिले म माथि लागेको आरोपलाई संसद्मा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु उचित होइन ।”

नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथि अतिक्रमण मुख्य समस्या रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उनले बताए । अब नेपालमा व्यवसायी गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ । उनले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताए ।

संसदीय समितिको ‘टिओआर’ नटुंगिदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको कार्यक्षेत्रमा सहमति नभएसम्म बैठक नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

विपक्षी दलहरूको बैठकबाट संसदीय छानबिन समितिको कार्यक्षेत्र नबन्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गर्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएका छन् ।

सभामुखको सचिवालयले विपक्षी दलको जानकनरीसँगै बैठक अनिश्चित भएको जनाएको छ । कानुन मन्त्रालयमा कार्यदलको बैैठक जारी छ ।

साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ ।
काठमाडौंमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैंले फिल्मको घोषणा गरे ।

शिशिर खातीले निर्देशन गर्ने फिल्म प्लानेट थ्री फिल्मस्ले निर्माण गरेको छ । प्लानेट थ्रीले यसअघि फिल्म ‘रङ्गेली’ निर्माण गरेको थियो । फिल्ममा अर्जुन सुवेदी कार्यकारी निर्माता छन् ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो उपन्यास ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ ।

उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले अडियो नोभेल तयार पारेको खुलाए । फिल्ममा सुजन चापागाईं र उनको टिमले तयार पार्नेछ । तर यो गीत फिल्ममा हुनेछैन ।

गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दलहरु सहमत

काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीलाई सुन्न आफूहरु तयार भएको तर छानबिन समिति नबनिकन सरकारी बिजनेस प्रवेश गर्न चाहिँ नदिने बताउनुभयो । उनले गृहमनत्रीले बोलेका कुराले समितिको कार्यक्षेत्र तोक्नका लागि सहज हुनसक्ने बताए ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री र लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । 

शनिबार बसेको सत्तापक्ष र प्रतिपक्ष दलको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर संसदीय समितिको कार्यक्षेत्र भने टुंगो लागेको छैन । कार्यक्षेत्र टुंगो लगाउन कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदलको बैठक बसिरहेको छ । कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ 

काठमाडौँ ।  आइतबार सुनको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने  एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला  एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने  एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।

गाजाको जबलिया शिविरमा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको छ । उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइलहरू प्रहार गरेका बताएका छन् ।

अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूह इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन् ।

घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण भएको ठाउँमा पुगेका छन् । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले हवाई र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको र सयौँ हताहत भएका छन् ।

यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसअघि, गाजामा सशस्त्र प्यालेस्टिनी समूहहरूले तिनीहरूका सदस्यहरू जबलिया शिविरमा प्रवेश गर्ने इजरायली सेनासँग भयानक लडाइँ लडिरहेका बताएका थिए ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाईहरूमा आतङ्कवादी ठूलो सङुख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।

आईडीएफले कारबाहीका क्रममा इजरायलतर्फ आक्रमण गर्न तयारी अवस्थामा राखिएकारकेट लन्चरलाई नस्ट गरेको बताएको छ ।

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका छन् ।
ट्युनिसियाली नेसनल गार्डले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “ मे ३ मा अबेर राति उत्तरपश्चिमी प्रान्त नाबुलको कोरबाको तटबाट अवैध रूपमा इटाली प्रवेश गर्ने प्रयास गरेका तर सुरक्षा गार्डको अवरोधपछि समुद्रमा अलपत्र परेका २३ जना ट्युनिसियाली आप्रवासीको एक समूहको परिवाससँगको सम्पर्क टुटेको पिडित परिवारका सदस्यले जनाकारी गराएका छन् ।

पारिवारिक श्रोतका अनुसार मे १४ र १५ देखि २३ जनाको समूहमा रहेका उनीहरू परिवारको सम्पर्कबाट टाढिएका हुन् । उनीहरूको अवस्थाबारे जानकारी गराउन वेपत्ताजनका आफन्तहरूले अन्तर्राष्ट्रिय आप्रवासनमामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय सङ्गठनलगायतका अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूसँग अपील गरेका छन् ।

इटालीको साम्द्रिक सुरक्षा गार्डले बेपत्ता अवैध आप्रवासीको खोजी कार्य जारी रहेको तर उनीहरूको अवस्थाबारे लामो समयसम्म जानकार िप्राप्त हुन नसकेको बताएको छ ।

यसैबीच, ट्युनिसियाली सुरक्षा एकाइहरूले गैरकानुनीरूपमा आप्रवासनमा पठाउन सम्लग्न रहेको आरोपमा पाँच व्यक्तिलाई पक्राउ गरेका छन् । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया युरोपमा अनियमित प्रवेश गर्न चाहने आप्रवासीहरूको लागि मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो ।

ट्युनिसियाली तटबाट अवैध आप्रवासन रोक्न ट्युनिसियाली अधिकारीहरूले कडा कदम चालेको भएपनि ट्युनिसियाका लागि यो समस्या बढ्दो चुनौतीका रूपमा देखिएको छ ।

हिमाली मुलुकका मुद्दा स्थापित गर्न जेठ ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रिय संवाद हुँदै, २३ देशका विज्ञ सहभागी हुने

काठमाडौँ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)ले पहिलोपटक जलवायुले हिमालमा पारेका असरलाई आफ्नो निर्णयमा समावेश गर्दै असरकम गर्ने प्रतिकार्यको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ ।

नेपालले अब यो मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न काठमाडौँमा यही जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गर्दैछ । दुई दिनसम्म सञ्चालन हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २३ देशका विशेषज्ञको सहभागिता हुने निश्चित भएको छ ।

संवादमा नेपाललगायत पर्वतीय र टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता हुने बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरूलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको मन्त्रालयलका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए ।

“जलवायु अन्तर्राष्ट्रिय एजेण्डा भएको र नेपालजस्ता हिमाली मुलुकले यसको समस्या बढी सामना गर्दै आएको छ”, उनले भने, “सम्मेलनमार्फत यस विषयलाई थप अन्तर्राष्ट्रियकरण गरेर नेपालले पर्वतीय क्षेत्रमा परेको जलवायुका प्रभावलाई नेतृत्व गर्ने र यो मान्यतालाई स्थापित गर्ने तयारी गरेका छौँ ।”

यसबाट जलवायु परिवर्तनको वार्ताको क्षमता अभिवृद्धि गर्ने, जलवायु अनुुकूलन र न्यूनीकरण कार्यका लागि आवश्यक पर्ने स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिने उद्देश्य पनि रहेको सहसचिव ढकालले बताए । “जलवायुका घटना दिनप्रतिदिन बढ्दै छन् । हिमाली र पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी छन् । तसर्थ संस्थागत र सबल रूपमा आवाज उठाउनका लागि पनि यो संवाद उपयोगी हुनेछ” उनले भने ।

संवादमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)का अध्यक्षसमेत आउनेछन् । त्यस्तै युएनएफसिसिसीको सचिवालयका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घका निकायका प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधि सहभागी हुनेछन् ।

पर्वतीय देशहरू र सरोकारवालालाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका कार्यक्रममा सहकार्य गर्न वातावरण बनाउने सम्मेलनको लक्ष्य छ ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलले यस संवादले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका असर र यसका समाधान सम्बन्धमा अझ गहन रूपमा बुझ्न मद्दत गर्ने बताए । “यस विषयका विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न, साझा सङ्कल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्नसमेत योगदन पुग्ने हाम्रो ठम्याइ छ”, उनले भने ।

विभिन्न नौ विषयका सत्रमा विज्ञसहित छलफल हुने

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । संवाद क्रममा तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्रारम्भिक र सातवटा संवाद सञ्चालन गर्नेगरी तयारी गरिएको सहसचिव डा पौडेलले जानकारी दिए ।

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’ को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने सत्र समावेश गरिनेछ ।

दोस्रो सत्रमा ‘प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरू’ विषयमा केन्द्रित भएर छलफल गरिनेछ । यो सत्रमा जनता, जलवायु नीति, र समृद्धिका उपायहरू, स्थानीय नेतृत्वमा जलवायु अनुकूलन र जलवायु न्याय, लैङ्गिक समानता र स्थानीय समुदायका आवाज समावेश गरिने छ । त्यस्तै तेस्रो सत्रमा ‘पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्नेगरी’ मुख्यतया स्वच्छ र हरित ऊर्जामा लगानी वृद्धि गर्ने, जलवायु वित्तलाई सहज र सघन बनाउने तथा अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय साझेदारीलाई अभिवृद्धि गने विषय समावेश छन् ।

प्रधानमन्त्री दाहालका जलवायु विज्ञ डा पुपलर जेण्टलले यो संवादलाई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमबारे छलफल गर्न सशक्त मञ्चका रूपमा स्थापित गरिने उल्लेख गरे ।

संवादका माध्यमबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमको बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्न सहज हुने उनले बताए । “हिमाली क्षेत्रमा बसोबास गर्ने वा आश्रित समुदायलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियामा उनीहरूको हक अधिकार सुरक्षित गर्न साझा मञ्चको विकास गर्न मद्दत हुने अपेक्षा गरेका छौँ” उनले भने ।

जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानी–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवर्द्धन गर्ने, नवप्रवर्तन ज्ञान, अनुसन्धान र नवीन समाधानहरू र अन्वेषणहरू एकापसमा आदानप्रदान गर्न योगदान हुने उनी बताउँछन् । यस संवादबाट पर्वतीय राष्ट्र र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाको लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग र साझेदारीलाई बढावा दिने बताइएको छ ।

“संवादको उद्देश्य संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)को ६०औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र र रणनीति तयार गर्नु रहेको छ”, जलवायु विज्ञ डा जेण्टलले भने, “यसका निष्कर्षलाई आगामी जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ सत्रमा जोड्ने र त्यसपछि आगामी कोप–२९ का एजेण्डामा प्रवेश गराई संस्थागत गराउने योजना छ ।”

पर्वतीय क्षेत्रले विश्वको १५ प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई बास, गाँस र कपासको आधारशिलाको प्रत्याभूति गरेको छ । साथै ५० प्रतिशतभन्दा बढी वनस्पति र वन्यजन्तुलाई आश्रयस्थलसमेत प्रदान गरेको छ ।

पर्वतीय क्षेत्रले प्रदान गर्ने सफा पानी, स्वच्छ हावा र स्वस्थ्य पारिस्थितिकीय प्रणालीले समग्र मानव जगत्लाई सेवा दिँदै आएका छन् । तर पर्वतीय क्षेत्रको महत्व उजागर गर्न र यस क्षेत्रले भोगेका समस्या अन्तर्राष्ट्रिय सम्मेलनमा उचित स्थान र मान्यताका साथ बुलन्द हुन नसक्दा नेपाललगायत पर्वतीय देशहरू आशातित लाभ लिनबाट बञ्चित भएका छन् ।

दुबई सम्मेलनमा पहिलोपटक हिमालका मुद्दा स्वीकार

संयुक्त अरब इमिरेट्सको दुबईमा गत मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ ले पहिलोपटक पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटका बारेमा निर्णय गरेको थियो । सम्मेलनले आगामी जुनमा हुने युएनएफसिसिसीअन्तर्गतको ‘साब्टा’को ६०औँ बैठकमा ‘हिमाल, मानव र जलवायु परिवर्तन विषयमा विज्ञहरुको संवाद’ आयोजना गर्न निर्देशन दिएको थियो ।

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबार नेपालले विश्वको ध्यानाकर्षण गराउँदै आएको छ । त्यसयताका अधिकांश सम्मेलनमा नेपालले प्राथमिकताका साथ हिमालका मुद्दा उठाउँदै आए पनि यसबारेमा अपेक्षाकृत उपलब्धि हासिल भएको थिएन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२८ को उद्घाटन समारोहमा नेपालको नाम नै उच्चारण गर्दै विश्व तापमानमा भएको वृद्धिका कारण हिमालमा परेको असरबारे उल्लेख गरेका थिए ।

उनले सम्मेलनको पूर्वसन्ध्यामा गत कात्तिकमा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको भ्रमणसमेत गरेका थिए । उनको यो भ्रमणले पनि नेपाललाई हिमालका मुद्दा उठाउन सहज भएको थियो । प्रधानमन्त्री दाहालको नेतृत्वमा कोप–२८मा भएको सहभागितामा पर्वतीय मुुलुकका मुद्दा प्रस्तुतिका साथ नेपालले पहिलोपटक उच्चस्तरीय गोलमेच बैठकको आयोजना गरेको थियो ।


पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेको छ ।

सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । तापक्रम वृद्धिले यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डार पग्लिने जोखिम बढेको छ ।

अघिल्ला दशकका तथ्याङ्क विश्लेषण गर्दा हिमालमा प्रतिदशक शून्य दशमलव ०५ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने क्रम पनि बढिरहेको छ । यसको प्रत्यक्ष असर हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीदेखि टापु राष्ट्रसम्म परेको छ ।

सन् १९८० देखि २०१० सम्मको अवधिमा भएको तापमान वृद्धिले २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हाल नेपालमा दुई हजार ७० हिमताल छन् र तीमध्ये २१ वटा जोखिममा छन्भने चीनको स्वशासित क्षेत्र तिब्बतका २५ र भारतको एउटा हिमताल जोखिममा छ ।

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

मकवानपुर / वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले उक्त जानकारी दिएका हुन् ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए। बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।

प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ / प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।

संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदल छलफलमा

काठमाडौं । सहकारीको ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको कार्यक्षेत्र टुंग्याउन कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको हो ।

शनिबार सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

समितिको कार्यक्षेत्र तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपाका सांसद खनाल रहेका छन् ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरुद्ध गर्दै आएको थियो ।

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।

ज्यामरुककोट सानालेखस्थित लेकसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका थिए ।

सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको क्लबका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

उनले शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको बताए ।  शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख गरेको छ ।

“स्टार्टअप उद्यमको दर्ता, नवीकरण एवं औद्योगिक सम्पत्तिको दर्तामा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिइने छ । बीउ पूँजी, जनशक्ति विकास, परामर्श तथा प्रविधि सहयोग, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदानलगायत अन्य उद्यमलाई प्रदान गरेका सहुलियत तथा सुविधा उपलब्ध गराइनेछ”, नीतिमा भनिएको छ, “स्टार्टअप उद्यम स्थापना भएको १० वर्षसम्म आयकरमा छुट दिने व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्थाका साथै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निश्चित प्रतिशत स्टार्टअप उद्यममा लगानी गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।”

नयाँ सोच तथा नवप्रवर्तनकारी उद्यम विकास लागि छुट्टै कोष स्थापना गर्ने र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि सहुलियतको व्यवस्था गरिने नीतिमा उल्लेख छ ।

“स्टार्टअप उद्यम गर्ने उद्यमीलाई वित्तीय सहयोग गर्ने उद्देश्यले ‘नेपाल स्टार्टअप कोष’ नामको छुट्टै कोष व्यवस्था गरिनेछ”, स्टार्टअप नीतिमा उल्लेख छ, “स्टार्टअप उद्यम प्रवर्द्धन गर्न कर छुट, बीउ पूँजीको व्यवस्था, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदान, प्राविधिक सहयोगलगायतका वित्तीय तथा गैरवित्तीय सुविधा उपलब्ध गराइनेछ ।”

सो नीतिले प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल र क्राउड फण्डिङबाट स्टार्टअप व्यवसायमा लगानीको अनुकूल वातावरण निर्माण गर्न विद्यमान कानुनमा सुधार गर्न आवश्यक रहेको पनि औँलाइएको छ । त्यस्तै स्टार्टअप व्यवसायले पूँजीबजारबाट प्राथमिक शेयर निष्कासन गर्न पूरा गर्नुपर्ने शर्त सहज हुनेगरी धितोपत्र ऐनलगायत अन्य कानुनमा आवश्यक व्यवस्था गरिने जनाइएको छ ।

स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्न नवप्रवर्द्धन केन्द्र सञ्चालन तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, ‘स्टार्टअप नेपाल’ नामको पोर्टल स्थापना गर्ने, स्टार्टअप व्यवसायलाई औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा अन्य सम्भाव्य क्षेत्रमा जग्गा र पूर्वाधार संरचना उपलब्ध गराउनेलगायतका विषय नीतिमा राखिएका छन् ।

यस्तो उद्यममा प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्न हाल कायम रहेको लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने, यस्ता उद्यम असफल भई दामासाही वा विघटन हुने अवस्थामा भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी तथा इन्भेष्टमेन्ट कम्पनीको लगानीको सुरक्षित व्यवस्थापनका लागि क्रेडिट ग्यारेन्टीको योजना सञ्चालन गर्ने, स्टार्टअप उद्योगमा लगानी गर्ने प्राइभेट इक्विटी फण्डलाई पूँजीबजारमा प्रवेश गर्न अनुमति दिनेलगायतका प्रावधान नीतिमा राखिएका छन् ।

स्टार्टअप उद्यमको प्रवर्द्धन तथा विकास र सञ्चालनमा देखिएका समस्या समाधानसहित यो अवधारणालाई नवउद्यमी तथा युवा वर्गमा स्थापित गर्न समन्वय र सहजीकरणका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा स्टार्टअप परिषद्को परिकल्पना गरिएको छ ।

जसमा योजना आयोगमा उद्योग क्षेत्र हेर्ने सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग सचिव, अर्थसचिव, कृषि सचिव, शिक्षा सचिव, श्रम तथा रोजगार सचिव, युवा तथा खेलकुद मन्त्रालयका सचिव, वन मन्त्रालयका सचिवलगायत सदस्यका रुपमा रहनुहुने छ । यस्तै सबै प्रदेशका उद्योग सचिव र निजी क्षेत्रका छाता संस्थाका अध्यक्षहरू पनि यो परिषद्मा सदस्यका रूपमा रहनेछन्।

त्यसैगरी यो क्षेत्रलाई मात्रै हेर्नेगरी स्टार्टअप बोर्डको परिकल्पना पनि गरिएको छ । स्टार्टअपसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्माणका लागि सिफारिस गर्ने, उद्यम छनोटको मापदण्ड तयार पार्ने तथा सिफारिस गर्नेलगायत कार्यका लागि नेपाल स्टार्टअप बोर्डको गठन गरिने नीतिमा उल्लेख छ ।

स्टार्टअप प्रवर्द्धनका लागि विद्यमान नीतिगत रिक्तता पूरा गर्न स्टार्टअपसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरिएको हो । यो नीतिको कार्यन्वयनमार्फत सङ्घ, प्रदेश र स्थानीय तहको आ–आफ्नो कार्यक्षेत्र स्टार्टअप उद्यम अनुकूल वातावरण निर्माण गरी अर्थतन्त्रमा योगदान गर्ने अपेक्षा गरिएको छ । उद्यमशीलताको माध्यामबाट उत्पादन एवं रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यका साथ यो नीति ल्याइएको हो ।

ललितपुरको खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा घर भई हाल ललितपुर महानगरपालिका–१५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापामगर, सन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार, कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीका ४१ वर्षीय रमेश विक, काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय योगेश डाँगी तथा सप्तरी सुरुङ्गा नगरपालिका–२ बस्ने २२ वर्षीय मोहम्मद समीर रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गत वैशाख ७ देखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन–चाँदीका गरगहना तथा आइफोनलगायतका धनमाल चोरी भएको थियो । पक्राउ परेकाहरुलाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता रेग्मीले बताए ।

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा शनिबार चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २–१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ ।

खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गरे । आजको खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गरेका छन् ।

ठमेलमा खाना तथा हस्तकला मेला आयोजना

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सञ्चयकोष अगाडि सडकमा खाना तथा हस्तकला मेला सुरू भएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गरिएको बताए । बिहान १० बजेदेखि सुरु भएको मेला राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी स्टल राखिएका छन् ।

मेलामा नेपाली हस्तकलाका सामग्री, नेचुरल फाइवरबाट बनेका सामग्री, गार्मेन्ट, कटन, शिल्क, पश्मिनाका कपडा तथा सल, ज्वेलरी, खाना, पेय पदार्थलगायत राखिएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले मेलाबाट नेपाली संस्कृतिको जीवन्त संसार अन्वेषण गर्न सकिने बताए । मेलामा ठमेलभित्रका हस्तकला व्यवसायी र होटल तथा रेष्टुरेन्टले स्टल राखेका छन् । मेलाका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।

पछिल्लो समय सुरक्षा निकायसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गरेको छ । । जसकारण ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक गतिविधिसमेत चलायमान हुँदै गएको धमलाको भनाइ छ ।

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।

नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको छ ।

समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराहरूको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।

यो विमान नासाको ‘क्वेस्ट मिशन’को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्नेछ । यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ ।

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् ।


उनले भने, “हाल उनीहरु बाहिर आएका छन् सबै जनाले बाहिर जान चाहेकोमा सोही बमोजिम भएको छ, अन्य तीनजनाका लागि बोल्दिन ।”


उनीहरुको उद्धार जेरुसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको विदेश विभागका प्रवक्ताले बताएका छन् । उनले अमेरिकी डाक्टरहरू संलग्न समूह र उनीहरुका परिवारसँग सम्पर्कमा रहेको बताए ।


गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उदृत गर्दै सिएनएनले जनाएको छ ।  दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिङ्गमा यात्रा गरेको स्रोतले जनाएको छ ।  


इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ ।


अमेरिकी डाक्टरलाई भाग्न मद्दत गर्ने प्रयाससँग परिचित स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेपछि राफाह क्रसिङ्ग बन्द भएकाले उनीहरूको उचित व्यपस्थापन गर्नु प्रमुख चिन्ताको विषय हो । 


राफाह क्रसिङ्ग, सञ्चालनमा रहँदा विदेशी सहायता कामदारका लागि एक मात्र प्रवेश तथा निकास बिन्दु थियो । इजरायली र इजिप्टका अधिकारी अहिलेसम्म यसलाई पुनःखोल्ने सहमति हुन सकेको छैन ।


नफर्किने निर्णय गर्ने डाक्टरमध्ये एक डा एडम हामावी हुन् उनले २० वर्ष पहिले पनि इराकमा जीवन बचाउन मद्दत गरेका थिए । 

राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन् ।

साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता आयोजना गरेको हो । पोखरा –१७ र २१ भित्र तय गरिएको रुटमा च्यापिम्पयन बनेका दुबै जनाले जनही ५० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड सकेर सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा सकेर हिमाल टमाटा तृतीय भए ।

महिलातर्फ हुमी बुढा मगर द्वितीय र इन्द्रकुमारी तामाङ तृतीय भए ।  बुढाले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र तामाङले एक घण्टा ५९ मिनेट एक सेकेन्डमा २० किलोमिटर दूरी पार गरे । प्रतियोगितामा द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः  ३०/३० हजार र  २०/२० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । 

पुरुषतर्फ अनिल विक र महिलातर्फ सोफिया विक पोखरा च्याम्पियन बने । उनीहरुले जनही  १०/१० हजार नगद, मेडल र प्रमाणपत्र पाए । विजेता र सहभागी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं १७ र कास्की जिल्ला साइक्लिङ सङ्घको सहआयोजना र नेपाल साइक्लिङ सङ्घको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र ‘रन फर फन’ विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए ।

पोखरा–१७ पावरहाउसबाट सुरू भएको दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खर्सयाङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुङ्गिएको थियो ।

संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार छानबिन समितिको कार्यादेश (टिओआर) आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ ।

“सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ”, लेखकले भने ।

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरु बसेर त्यसलाई मूर्तरुप दिइने पनि उनले बताए ।

छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र भोलिको संसद बैठक सहजरुपमा अघि बढ्ने विश्वास लिइएको उनको भनाइ छ ।

छानबिन समिति गठन गर्ने विषयमा शनिबार चरणवद्धरुपमा छलफल भएको थियो । सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।

सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो।

अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ।

‘पुस्तक सांस्कृतिक बौद्धिकता कसरी अभिवृद्धि गर्ने, कुशल वक्ता कसरी बन्ने विषयका लागि मार्गदर्शक बन्नेछ’, लेखिका सुले भनिन्, ‘आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चारका लागि सहयोगी हुने विश्वास लिएकी छु।’

एघार अध्याय रहेको पुस्तक कुशल वक्ता बन्न चाहनेका लागि मार्गदर्शक बन्नेमा लेखक सुले विश्वास व्यक्त गरे। ‘सम्भाषण कला, आत्मविश्वास अभिवृद्धि, प्रस्तुतिको शैलीलाई प्रभावकारी बनाउनका लागि पुस्तक सहयोगी बन्न सक्छ’, उनले भने।

प्रभावकारी सञ्चारमार्फत कुनै पनि व्यक्तिमा निहित अथाह सम्भावना प्रस्फुटन गराउन सकिने भन्दै उहाँले यस पुस्तक सहयोगी हुने बताए।

लेखक सुले पुस्तकमा आत्मविश्वास बढाउने शैली, सञ्चार शैली प्रभावकारी कसरी बनाउने भन्ने विधि उल्लेख गरेका छन्। सरल सुझाव र सजिलो लेखन शैलीको पुस्तकमा व्यक्तिगत र व्यावसायिक क्षमता अभिवृद्धिका लागि अन्तर–सांस्कृतिक सीप बढाउन चाहनेका लागि उपयोगी मानिएको छ।

‘स्पिकफ्लुएन्स ग्लोबल’ संस्थाको संस्थापक एवं प्रबन्ध निर्देशकका साथै अधिवक्ता समेत रहेकी लेखक सु ल सोसाइटी अफ अपर क्यानडाको सदस्य छिन्। उनी पछिल्लो दुई दशकयता आफ्नो व्यवसायिक अनुभवका आधारमा सकारात्मक सोच प्रबर्द्धनमा सक्रिय छिन्।

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दल छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् । त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

सत्तारुढ दलहरुको बैठक चलिरहेका बेला कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् प्रधानमन्त्रीले आज बिहान पनि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले समिति गठन गर्ने र दिउँसो सत्तारुढ दलसँग छलफल गरी फेरि कांग्रेस नेताहरुसँग बस्ने बताएका थिए ।

त्यसै अनुरुप प्रधानमन्त्रीले साँझ कांग्रेस नेताहरुलाई बालुवाटार बोलाएका हुन् । सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै आएको छ । सत्तापक्षले समिति गठन गर्न नमान्दा सदन अवरुद्ध हुँदै आएको छ ।

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

छजना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

म्याग्दीको मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो।

मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ। पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन्।

म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ। यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ।

छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ।

गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताए। गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजित मेलाबाट सङ्कलन भएको रकमले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए। उनका अनुसार डाँडामा दृश्यावलोकन स्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको छ।

‘मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर भ्युस्टेसनमा पूर्वाधार बनाएका हौँ’, ठकुरीले भने, ‘पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब रु नौ लाख खर्च भएको छ।’

यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। यहाँका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सूचनामूलक बोर्ड राखिएको छ।

गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने स्थानीय ठकुरीले बताए। ‘पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ। शवदाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ’, उनले भने।

गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ। धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ।

गाउँबाट एक किमी पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ। मच्छिम गाउँबाट केहीमाथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ। उक्त मन्दिर परिसरबाट हिमशृङ्खला आँखै अगाडि उभिएको देखिन्छ।

गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा सक्रिय भएर पूर्वाधार निर्माणमा जुटेका अगुवा महिला तिला छन्त्यालले बताए। उनका अनुसार युवाले विविध सांस्कृतिक कार्यक्रम र चन्दा सङ्कलन गरेर हेम नमुना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन्।

गाउँका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गर्ने गरेका छन्त्यालले बताए। यहाँका युवा फुर्सदका समयमा सामाजिक काम र खेलकुदका गतिविधिमा सहभागी हुँदै आएका उनको भनाइ छ। 

ललितपुर मेयर कपको उपाधि एपीएफ क्लबलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर कप च्याम्पियन बनेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई २ रनले पराजित गर्दै लगातार चौथो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

एपीएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सुदूरका लागि कविता जोशीले ४५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६७ रन बनाइन्। लक्ष्मी साउदले ३५ बलमा २ चौकाको सहयोगमा २९ रन बनाइन्। कप्तान बिन्दु रावलले १७ बलमा १९ तथा सम्झना खड्काले ८ बलमा १० रन बनाइन् । एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। एपीएफका लागि कप्तान सीता राना मगरले ५५ बलमा ८ चौका सहित सर्वाधिक ७४ रन जोडिन्। अर्की ओपनर राजमती ऐरीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाइन् । ममता चौधरी १० रन बनाएर अविजित रहिन्।

इन्दु वर्माले ९, रोमा थापाले ६ र सरिता मगरले १ रन बनाइन् । सुदूरपश्चिमका लागि ऋतु कनोउजिया, विन्दु रावल र राधिका पुजाराले समान १–१ विकेट लिए । यसअघिको तीनै संस्करण पनि एपीएफले नै जितेको थियो ।

राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ : सुहाङ नेम्वाङ

काठमाडौँ / एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको युवा विचार गोष्ठीमा नेम्वाङले राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने जिकिर गरेका हुन् । उनले अव सवै युवाहरु मिलेर देशको बिकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘राजनीति एकदमै फोहोरी खेल हो भन्ने जुन भाष्य छ अब तपाईं हामी मिलेर परिवर्तन गरेर अगाडि बढ्नुपर्छ । किनकि राजनीति कहिल्यै पनि फोहोरी हुँदैन । राजनीतिले सकारात्मक परिवर्तन ल्याउँछ, आर्थिक समृद्धि ल्याउँछ, सुशासन ल्याउँछ । फोहोरी त केवल स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे भने त्यो फोहोरी हुन्छ ।’

नेम्वाङले मुलुकमा नै प्रयाप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए ।

दिक्तेल-खानीडाँडा-आहाले सडक ठेक्का लिएको ६ वर्षपछि कालोपत्रको काम सुरु

 खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं २०७५ असोज १ गते ठेक्का लिएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजार रुपैयाँङ्गा सम्पन्न गर्ने गरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुईवटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए । ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ ।

कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए ।

‘अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब–बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरु अहिले पुनः गर्नुपर्‍यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ’, उनले भने ।

अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका र जेठ मसान्तभित्र सबै काम सकिने बस्नेतले बताए ।

अघिल्लो दुईवटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट १३ करोड ६९ लाख पाँच सय ३८ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले सात करोड २२ लाख तीन हजार चार सय ३५ मा पेटी ठेक्का लिएको हो ।

सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक विसं २०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए ।

निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं २०७६ पुस ९ गते लिखितरुपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा/गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।

कांग्रेसले सत्ताका लागि नै संसद अवरुद्ध गरेको महेश बर्तौलाको आरोप

काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका छन् ।

एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको युवा विचार गोष्ठीमा बर्तौलाले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका लागि नै संसद अवरुद्ध गरेको आरोप लगाउदै यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका हुन् ।

कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद नै चाहिदैन की भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनको भनाइ छ । उनले सत्ताको वरिपरिमात्रै घुम्ने कांग्रेसको प्रवृतिका कारण सदन अवरोध भएको आरोप लगाए । सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको भन्दै उनले राज्यले न्यायीक समिति बनाएर यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ । 

“शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्,” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले भने ।

“बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ, बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषि योग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्,” उनले भने ।  

प्रान्तभित्रका  प्रमुख सडकहरू “पूर्णरूपमा अवरुद्ध” भएका थिए । विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।