`

ललितपुर मेयर कपको उपाधि एपीएफ क्लबलाई

Nepal One HD ५ जेठ २०८१ १६:५४
खेलकुद

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर कप च्याम्पियन बनेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई २ रनले पराजित गर्दै लगातार चौथो पटक प्रतियोगिताको उपाधि जितेको हो ।

एपीएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सुदूरका लागि कविता जोशीले ४५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६७ रन बनाइन्। लक्ष्मी साउदले ३५ बलमा २ चौकाको सहयोगमा २९ रन बनाइन्। कप्तान बिन्दु रावलले १७ बलमा १९ तथा सम्झना खड्काले ८ बलमा १० रन बनाइन् । एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। एपीएफका लागि कप्तान सीता राना मगरले ५५ बलमा ८ चौका सहित सर्वाधिक ७४ रन जोडिन्। अर्की ओपनर राजमती ऐरीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाइन् । ममता चौधरी १० रन बनाएर अविजित रहिन्।

इन्दु वर्माले ९, रोमा थापाले ६ र सरिता मगरले १ रन बनाइन् । सुदूरपश्चिमका लागि ऋतु कनोउजिया, विन्दु रावल र राधिका पुजाराले समान १–१ विकेट लिए । यसअघिको तीनै संस्करण पनि एपीएफले नै जितेको थियो ।


प्रतिक्रिया