`

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो आक्रमण बढाउने अपेक्षा रहेको बताउनुका साथै किभसँग आक्रमण रोक्न आवश्यक हवाई रक्षाको एक चौथाई मात्र रहेको चेतावनी दिएका छन् ।

हालैका महिनामा केवल मध्यमप्रगति गरेका रूसी सेनाले १० मे मा खर्सिव क्षेत्रमा आश्चर्यजनक आक्रमण गरेका थिए जसको परिणामस्वरूप डेढ वर्षमा उनीहरूको सबैभन्दा ठूलो क्षेत्रीय लाभ भएको छ । 

युक्रेनी सेनाले रोक्नुअघि रुसी सेना उत्तरपूर्वी सीमामा पाँचदेखि दश किलोमिटर अगाडि बढ्न सफल भएको जेलेन्स्कीले बताउनुभयो र यो क्षेत्रमा व्यापक आक्रमणको “पहिलो लहर” हुनसक्ने बताए । 

“म रुसका लागि यो एक ठूलो सफलता भन्न सक्दिन तर उनीहरू हाम्रो क्षेत्रमा प्रवेश गरिरहेका छन् भन्नेमा हामी सचेत हुनुपर्दछ”, आक्रमण सुरु भएदेखिको विदेशी मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा उनले भने । 

जेलेन्स्कीले खर्सिव क्षेत्रको स्थिति “नियन्त्रण” गरिएको तर “स्थिर नभएको” बताउनुभयो । युद्धको तेस्रो वर्ष बित्दै जाँदा रसियाको हवाई श्रेष्ठताको सामना गर्न थप हवाई रक्षा र लडाकू जेटहरू पठाउनका लागि उहाँले सहयोगीलाई अनुरोध गरे ।

“युक्रेनलाई रुससँग हवाई “समानता” हासिल गर्न “१२० देखि १३०” एफ–१६ लडाकू जेट वा अन्य उन्नत विमान चाहिन्छ जेलेन्स्कीले बताए ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता चीन भ्रमणका क्रममा मस्कोले “सुरक्षा क्षेत्र” सिर्जना गर्न खोजिरहेको र युक्रेनले सीमा क्षेत्रमा गरेको गोलाबारीको बदलामा उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरेको बताए । 

रूसी सेनाले मे ९  र १५ को बीचमा दुई सय ७८ वर्ग किलोमिटर कब्जा गरेको छ । यो २०२२ को अन्त्य पछि उनीहरूको सबैभन्दा ठूलो लाभ रहेको युद्ध अध्ययन संस्थानको डाटाले बताएको हो । 

रुसको आक्रमणपछि युक्रेनले उत्तरपूर्वी सीमा क्षेत्रबाट करिब नौ हजार मानिसलाई उद्धार गरेको छ । पुटिनले आफ्नो सीमाबाट करिब तीस किलोमिटर टाढा रहेको युक्रेनको दोस्रो सहर खर्सिवलाई कब्जा गर्ने कुनै इच्छा नभएको बताए । 

खर्सिव क्षेत्रका युक्रेनी गभर्नर ओलेग सिनेगुबोभले रूसले खर्सिव सहरबाट करिब बीस किलोमिटर उत्तरपूर्वमा रहेको लुक्यान्ट्सी गाउँ नजिकै आफ्नो पकड जमाउँदै गएको चेतावनी दिए ।

रुसी आक्रमण विस्तारको पूर्वानुमान गर्दा, जेलेन्स्कीले युक्रेनको कर्मचारी व्यवस्थापन र “मनोबल”सम्बन्धी समस्या रहेको स्वीकार गरे ।  

युद्ध अन्त्यको कुनै सङ्केत नहुँदा, युक्रेनी सेना भर्तीका लागि सङ्घर्ष चलिरहेको छ र लडाकु रोटेसनको अभावमा थकित र रिसाइरहेका छन् ।   
धेरै युक्रेनी सैनिक डिस्चार्ज हुने सम्भावना बिना नै निरन्तर दुई वर्षभन्दा बढी समयदेखि लडिरहेका छन् । 

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।       

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारीस्तरबाट ठोस प्रयास हुनुपर्ने बताए ।
  
“वैदेशिक रोजगारीमा गएका श्रमिकले पाइरहेका दुःखका बारेमा म जानकार छु, श्रमिकमाथि भइरहेको शोषण रोक्न सरकारलाई आग्रह गर्दछु”, सभापति देउवाले भने । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
      
पार्टी नेता डा शेखर कोइरालाले सरकार परिवर्तन हुनेबित्तिकै नीतिनियम परिवर्तन भइरहने समस्याका कारण व्यवसायी मारमा परेका बताए । उनले ‘भिजिट भिसा’मा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न सरकार लाग्नुपर्ने बताए ।

उनले राजनीतिक स्थायित्व नभएसम्म सुशासन कायम हुन नसक्ने भएकाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बता । जनताले सडकमा उठाएका सहकारीका समस्यालाई कांग्रेसले सदनमा पुर्याएको बताए । 
      
कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइलीले कानुनअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई सरकारी निकायका केही पदाधिकारीले दुःख दिएको आरोप लगाए ।
      
अर्का केन्द्रीय सदस्य सीता देवकोटाले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्नेगरी नीति बनाउनुपर्ने बताइन् ।

      
नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमोद खनाललगायत वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायीले श्रमिकको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्दै आएको बताए । 

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन । जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन् । बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन । 

यही जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ तथा जेठ २५ मा ‘लन्डन टू पेरिस’ र ‘गाउँ आएको बाटो’ चलचित्र प्रदर्शन हुँदैछ । जेठमा पाँच शुक्रबार भएता पनि दुई साता मात्र चलचित्रको भिडन्त छ । बिदा र उचित समय देखेर नै यी प्रदर्शन मिति घोषणा गरिएका हुन् । 

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले आफूले पहिले नै चलचित्रको प्रदर्शन मिति तय गरिएको बताए । उनले भने, “हामीले खाली समय हेरेर प्रदर्शन घोषणा गरेका हौँ, हामीले कसैसँग प्रतिस्पर्धा गर्न गएका होइनौँ, हामी विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने तयारीअनुरुप आएका हौँ ।” उनले आफ्नो चलचित्रमा ‘टाइम लुप’ को नयाँ ‘कन्सेप्ट’ हेर्न पाइने बताए ।

सुयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए ।

“चलचित्रको प्रदर्शन निर्माताले तय गर्नुभयो, सायद त्यो समयभन्दा अगाडि जाँदा धेरै समय लाग्थ्यो होला, मैले यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेदले विनाश भन्ने देखाउन खोजेको छु, मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ”, निर्देशक राउतले भने ।

विकास सुवेदीले लेखेको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन् । जेठ १० पछि एकै पटक जेठ २५ मा दुई चलचित्र प्रदर्शन हुँदैछन् । यो मितिमा प्रदर्शन हुने चलचित्र ‘लन्डन टू पेरिस’ लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । यसमा युवापुस्ताको प्रेम र त्यसलाई परिवारसँग समायोजन गर्न नसक्दाको कथालाई देखाइएको छ । निर्देशक लामिछानेले चलचित्रले युवासँगै अभिभावकलाई पनि सचेत गराउने बताए । 

“यसमा हामीले अहिलेको पुस्ताका प्रेम देखाएका छौँ, अघिल्लो पुस्ता र अहिलेको पुस्ता बीचको खाडललाई यसमा प्रस्तुत गर्नाका साथै समाधान पनि देखाएका छौँ, चलचित्रमा मनोरञ्जन छ नै साथै प्रवासी नेपालीको कथा पनि छ”, निर्देशक लामिछानेले भने । प्रदीप भारद्वाजले लेखेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । 

सोही मितिमा प्रदर्शन हुने चलचित्र ‘गाउँ आएको बाटो’ लाई नवीन सुब्बाले निर्देशन गरेका छन् । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।

“कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ, बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ, हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ, यो हाम्रो ग्रामीण भेगको कथा हो”, निर्देशक सुब्बाले भने ।

महेश राई र निर्देशक सुब्बाले लेखेको यो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत सृजना गरेका छन् । जेठमा पर्याप्त समय भएपनि दुई मितिमा मात्र चलचित्रको प्रदर्शन तय गरिनु विदेशी चलचित्रलाई छल्दै स्थानीय बिदा लक्षित गरिएको हुनसक्ने वितरक करण श्रेष्ठले बताए । 

“पाँच हप्ता हुँदाहुँदै पनि दुई हप्तामा मात्र चलचित्र प्रदर्शन हुनु राम्रो सङ्केत होइन, यहाँ सहमति जुटेको भए सबैले एकल प्रदर्शन पाउँथे, मपाईंले गर्दा सहमति भएन भन्न कठिन छैन, यसले राम्रो सन्देश जाँदैन, किनकि नेपालसँगै विदेश प्रदर्शनमा पनि यसको प्रभाव पर्छ”, वितरक श्रेष्ठले भने ।

त्रिदेशीय व्यापारिक सडक जोड्ने भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ शनिबारदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

तीन वर्षअघि निर्माण सुरु भएको उक्त ‘बेलिब्रिज’ विविध कारणले ढिलासुस्ती भएको थियो । डोल्पाका राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीको निरन्तर खबरदारीका कारण ‘बेलिब्रिज’ सञ्चालनमा ल्याउन सफल भएको प्रजिअ दाहालले बताए ।

“‘बेलिब्रिज’ सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, गाडी दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खामा यातायात सञ्चालन गर्न भेरी करिडोरबीचका केही खोलाहरुमा ह्युमपाइप राख्न पहल भइरहेको छ”, प्रजिअ दाहालले भने ।

यो करिडोरले भारतको रुपैहिडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा लिइएको छ । करिडोरअन्तर्गत तल्नुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण सुरु भएको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबार भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए । ‘बेलिब्रिज’ले २५ टनसम्म भार थेग्नसक्ने उनले जानकारी दिए । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि ‘बेलिब्रिज’ सञ्चालनमा आएको हो ।

विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाखमा ‘बेलिब्रिज’ निर्माणको जिम्मा पाएकोे थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । अब बाँकी खोलाहरुमा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको उनको भनाइ छ ।

भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रका ५६ किलोमिटर सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडक फराकिलो बनाउने काम सुरु गरिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको ‘बेलिब्रिज’ यसअघि निर्माण भइसकेको छ । रुपगार्ड खोलाको ‘बेलिब्रिज’को काम सुरु भइसकेको छ । रुपगार्डको ‘बेलिब्रिज’ निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँच वटा खोलाका पुल बन्नेछन् । अझै सानातिना खोलामा गरेर आठ वटा खोलामा पुल बन्न बाँकी छ । गत वर्ष वैशाख ६ गते निर्माणाधीन तल्नुबगर बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो ।

राष्ट्रिय राजनीतिको तमासा हेरिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको तमासा हेरेर बसिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री राष्ट्रिय राजनीतिमा एकदमै व्यस्त रहेको भन्दै आफूहरु त्यो तमासा हेरिरहेको बताएका हुन् ।

उनलेल भने, ‘राष्ट्रिय राजनीतिको सन्दर्भमा हाम्रो प्रधानमन्त्री अत्यन्त बिजी हुनुहुन्छ । उहाँ भन्दा बढी बिजी कोही पनि छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मात्रै पर्यौं । यी सबै घटनालाई हामीले नियालिरहेका छौं अवलोकन गरिरहेका छौं ।’

उनले आफूहरुले नेपालको राजनीति स्थायी रुपमा अघि बढोस् भन्ने चाहेको बताए ।

जनताको प्रतिनिधिको थलो संसद अव बन्धक बन्न सक्दैँन : सभामुख घिमिरे

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको प्रतिनिधिको थलो संसद अव बन्धक बन्न नसक्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका हुन् ।

उनले सहज रुपमा सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बतए । अहिलेको अवस्थामा संसद अवरोध भए अध्यादेशबाट निर्णय लिनुपर्ने अवस्था आउने भएकाले त्यसलाई हेक्का राख्न उनले सुझाव दिए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

उनले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था संघमा देखिएको र त्यसको असर प्रदेशमा देखिएको धारणा राखे । यस्तो अवस्थामा संघीयतामाथि नै प्रश्न उठ्न थालेको उहानको भनाइ छ ।

कार्यक्रममा महासङ्घका पूर्वसभापतिहरु, वर्तमान सभापति विपुल पोखरेल र उक्त प्रदेश कमिटीका प्रथम अध्यक्ष शेखर अधिकारीलाई सम्मान गरिएको थियो ।

सदनमा देखिएको गतिरोधको विषय भोलिसम्म टुंगिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको संसदीय समितिको विषयमा भोलिसम्ममा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजत कार्यक्रममा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी कांग्रेससँग आज छलफल भएको र भोलि बिहानसम्म कुनै न कुनै सहमतिमा पुग्ने विश्वास आफूले गरेको बताएका हुन् ।

उनले यस विषयमा एमाले र सभामुखसँग आफूले छलफल गर्ने र त्यसपछि कांग्रेससँग फेरि छलफल गर्ने बताए । उनले भने, ‘जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको छ । अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ । मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु।’ प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन लागेको भन्दै विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए ।

कांग्रेसको नेताले १२–१३ पटक लिनुपर्ने अवस्था आउँछ भनेको प्रसंग निकाल्दै प्रधानमन्त्रीले जति पटक लिनु परेपनि विश्वासको मत पाउने दाबी गरे ।

उनले भने, ‘मैले ७ गते विश्वासको मत लिने भनेर संसद सचिवालयमा पत्र पठाएको छु । एक जना कांग्रेसको नेताले यसरी नै जाँदा १२/१३ पटक लिनुपर्ने हुन्छ भन्दै हुनुहुन्थ्यो अघिल्लो पटक । अहिले चौथो पटक लिँदैछु, यो पाँचौं, छैटौं हुँदै जाने देखिन्छ । तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ । कहिले बढ्छ कहिले घट्छ ।’

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौँ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गरे ।

उनको जीवनमा फेरि खुसी फर्किएको छ । एक सय दुई वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो । वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनको दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो । नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा।दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो ।

दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने भएका छन् । शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उनीमा खुसीको सीमा छैन । ‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ,’– उनले भने ।

शल्यक्रियापछि पुनःसंसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिए । आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए । ‘मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपाईँहरु सबै जना परमेश्वर हुनुहुन्छ,’– ‘सहरमानले भने । नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको बताए । सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

व्यक्तिलाई होइन समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ : उपाध्यक्ष पोखरेल

मोरङ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “समस्यालाई केन्द्र्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।” गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे ।

उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए । विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए । उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताए ।

सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिए । उनले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए ।

विश्वमा साइवर अपराधको बिगबिगी

काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू वर्षेनी बढ्दै जाने बताए ।

कृत्रिम बौद्धिकता (एआई)को आगमनसँगै विश्वमा साइबर अपराधको वृद्वि भइरहेको छ । साइबर अपराध अपराधको एक प्रकार हो, जसमा कम्प्युटरलाई अपराधको वस्तुको रुपमा लिइन्छ । साइबर अपराध भनेको कम्प्युटर नेटवर्कमार्फत गरिएको आपराधिक गतिविधि हो । अर्थात साइबर अपराधलाई इन्टरनेट र डिजिटल यन्त्रहरूमार्फत कानूनद्वारा निषेध गरिएको अरूको निजी ठाउँमा गएर आपत्तिजनक सामग्री र दुर्व्यवहारको माध्यमबाट सञ्चालित गैरकानूनी गतिविधिहरू भनेर परिभाषित गर्न सकिन्छ । बढ्दो प्रविधिको प्रयोगले मानिसको जीवनलाई अत्यन्तै सहज बनाए पनि यसको सही सदुपयोग नहुँदा यसले समाजमा विकृति पैदा गरिरहेको छ ।

इजरायलको अर्थतन्त्रले साइबर आक्रमणका कारण वार्षिक १२ अर्ब डलर नोक्सान बेहोरेको देशको राष्ट्रिय साइबर निर्देशनालयले जारी गरेको नयाँ प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको रकम छोटो अवधिमा आक्रमणबाट हुने क्षतिलाई सम्हाल्ने लागतहरूको विश्लेषणमा आधारित रहेको छ । साइबर आक्रमणबाट राष्ट्रिय उत्पादनमा परेको ठूलो आर्थिक भार र अर्थतन्त्रमा हुने नोक्सानी पहिलोपटक तथ्यांकले देखाएको एएनआईले उल्लेख गरेको छ । 

भियतनामको प्रहरीले हालै घरेलु र अन्तर्राष्ट्रिय रूपमा हजारौं फेसबुक खाताहरू चोरी गरी नियन्त्रणमा लिएको आरोपमा २० जनालाई पक्राउ गरेको छ । यसबाट उनीहरूले झन्डै ४० लाख डलर नाफा कमाएका छन् । भियतनामी अनलाइन समाचारपत्र भिएनई एक्सप्रेसका अनुसार २५ हजारभन्दा बढी उच्च–मूल्य व्यापार खाताहरू अधीनमा लिन मालवेयर फैलाएको आरोप छ । मालवेयर भनेको प्रयोगकर्ताको सहमतिबिना कम्प्युटरमा स्थापना गरिएको सफ्टवेयर हो जसले पासवर्ड वा पैसा चोर्ने जस्ता खराब कार्यहरू गर्दछ ।

मालवेयर पत्ता लगाउने धेरै तरिकाहरू छन् तर सबैभन्दा सामान्य खराब फाइलहरू वा प्रोग्रामहरूका लागि कम्प्युटर स्क्यान गर्नु हो । यो समूहको नेतृत्व ३१ वर्षीय दाङ डिन्ह सनले गरेको विश्वास गरिन्छ । उनले फेसबुक प्रयोगकर्ताको खाताको जानकारी चोर्नका लागि ४१ हजार दुई सय डलरको मालवेयर स्रोत खरिद गरेका थिए । यो मालवेयर प्रयोग गरी दुई फोटो सम्पादन साइटहरू ‘आर्ट बे एआई’ र ‘इभोटो स्टुडियो’सँग सम्बन्धित दुई लोकप्रिय फेसबुक फ्यान पृष्ठहरू नियन्त्रण गर्नका लागि प्रयोग गरेको त्यहाँको मिडियाले जनाएको छ ।

आर्ट बे एआई (कृत्रिम बुद्धिमत्ता कला) डिजिटल कलाको कुनै पनि रूप हो जुन एआई उपकरणहरूद्वारा सिर्जना वा परिष्कृत गरिन्छ । इभोटो स्टुडिया अर्को पुस्ताको फोटो रिटचिङ उपकरण हो । यसले फोटो सम्पादनका विभिन्न पक्षहरूलाई स्वचालित र वृद्धि गर्न उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिहरू प्रयोग गर्छ । त्यसपछि तिनीहरूले फेसबुक प्रयोगकर्ताहरूलाई एउटा अनुप्रयोग डाउनलोड र स्थापना गर्न प्रलोभन दिएर यसको मालवेयरले प्रयोगकर्ताहरूको उपकरणहरूमा प्रवेश गर्नेछ ।

चोरी भएको डाटा सङ्कलन गरी सनद्वारा नियन्त्रित सर्भरमा फिर्ता पठाइयो र त्यसपछि टेलीग्राममा पाँच समूहहरूमा वितरण गरियो, ताकि उसको टोलीका सदस्यहरूलाई प्रयोगकर्ता खाताहरू अपहरण गर्न अनुमति होस् । गिरोहले नाफाका लागि उच्च मूल्यका फेसबुक खाताहरू बेचेको थियो । कम मूल्यका अन्य खाताहरू इ–कमर्स प्लेटफर्महरूमा कपडा र अन्य वस्तुहरू बेच्न विज्ञापनहरू चलाउन प्रयोग गरियो । त्यसबापत अभियुक्तले ३८ लाख डलर कमाएको थियो । अप्रिलसम्म भियतनाम फेसबुक प्रयोगकर्ताहरूको कुल संख्याको आधारमा विश्वमा सातौं स्थानमा रहेको समाचार ऐजेन्सी एएफपीमा उल्लेख भएको थियो ।

यस्तै एउटा वेबसाइट जसले अन्तर्राष्ट्रिय साइबर ठगीकर्ताहरूलाई ७० हजार ब्रिटिस पीडितहरूलाई बैंक खाता विवरण र पासवर्डहरू जस्ता व्यक्तिगत जानकारीहरू प्रकट र ठगी गर्न अनुमति दिएको लन्डन प्रहरीले बताएको छ । उनीहरूले ल्याबहोस्ट साइट कब्जा गरेको थिए, जसले दुई हजारभन्दा बढी अपराधीहरूलाई ‘फिसिङ’ साइटहरू सिर्जना गर्न सक्षम बनाएको छ । फिसिङ एक प्रकारको सोसल इन्जिनियरिङ आक्रमण हो, जुन प्रायः लगइन प्रमाणहरू र क्रेडिट कार्ड नम्बरहरूसहित प्रयोगकर्ता डेटा चोरी गर्न प्रयोग गरिन्छ । यसले पीडितहरूलाई चार लाख ८० हजार बैंक कार्ड नम्बरहरू र ६४ हजार नम्बरहरू प्रकट गर्न पाएको छ ।

बेलायत र विदेशमा कानून प्रवर्तनले अप्रिलदेखि ३७ जनालाई गिरफ्तार गरेको र अन्य आठ सय जनाले पुलिसलाई उनीहरूको पहिचान थाहा छ भनेर चेतावनी दिइएको थियो । तीमध्ये धेरैको अनुसन्धान जारी रहेको छ । बेलायती प्रहरीले हजारौँको व्यक्तिगत डाटा चोरी गर्ने साइबर जालसाजी नेटवर्कलाई अवरुद्ध गरेको छ । साइटले ४० हजार घोटाला साइटहरू सेट अप गर्न एक सय ७० कम्पनीहरूको प्रोफाइलहरू प्रयोग गर्न कम प्राविधिक जानकार प्रयोगकर्ताहरूका लागि टेम्प्लेटहरू र कसरी गर्ने पाठ प्रदान ग¥यो । पुलिसले २५ हजार बेलायतका पीडितहरूलाई उनीहरूको डेटा सम्झौता भएको बारे सूचित गरेको  समाचार ऐजेन्सी एपीले प्रकाशित गरेको छ ।

डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकहरुमा यो समस्या अझ विकराल बन्दैछ । नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ । मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ । सेक्स टोसन अपराधमा, अपराधीले पीडितलाई आफ्नो निजी र नग्न तस्बिरहरू वा भिडियोहरू फोनमा साझा गर्न प्रलोभन दिन्छ र प्रेरित गर्दछ । धेरै अवस्थामा व्यक्ति डेटिङ एप्स वा वैवाहिक वेबसाइटहरू र एपहरूमार्फत अज्ञात व्यक्तिहरूसँग सम्पर्कमा आउँछन् । तिनीहरूसँग जोडिएका प्रोफाइलहरू प्रायः नक्कली हुन्छन् । उदाहरणको रुपमा एक जना युवतीलाई करिब पाँच महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा युवकको‘फ्रेण्ड रिक्वेस्ट’ आयो । फेसबुक वालमा युवतीको आकर्षक तस्वीर देखेपछि युवकले साथी बन्ने प्रस्ताव पठाएका थिए । 

युवतीसँग युवकले केहीदिन कुरा गरेपछि युवक युवतीसँग अत्याधिक नजिक हुँदै जान्छन् । करिब एक महिनाको कुरा गरेपछि युवकले युवतीलाई नग्न तस्विरहरू र भिडियोहरू साझा गर्न प्रेरित गर्छन् । पछि युवतीले दिएको नग्न तस्वीरहरु युवकले राखी युवतीलाई ब्ल्याकमेल गर्न थाल्छ । उसले पैसाका लागि युवतीलाई जबरजस्ती गर्न थाल्छ । पैसा नदिएको खण्डमा युवकले युवतीको तस्बिर र भिडियो इन्टरनेटमा उसको परिवार आफन्त साथीहरुसँग सेयर गर्ने धम्की दिन्छ । हाल हाम्रो समाजमा यस्ता घटनाहरु बढिरहेको र साइवर अपराधलाई बढावा दिइरहेको छ ।

साइवर अपराध २१औँ शताब्दीको प्रमुख समस्या भएको छ । यसलाई समय अनुकूल रोक्न सकिएन भने भोलि कोभिड–१९ भन्दा बढी डरलाग्दो समस्या ल्याउनसक्ने साइवर सुरक्षामा संलग्न व्यक्तिहरु बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समय अनुकूल कडा कानुन निमार्णका लागि जोड दिइरहेको बेला नेपालमा पनि नयाँ कानून ल्याउन लागिएको छ । यसको कार्यान्वयनमा जोड दिन सकिएमा सामाजिक सद्भाव बढाउन र आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ । 
(एजेन्सीहरुको सहयोगमा)

चितवनको देवनगरमा निर्माण गरिएको सबस्टेसन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३  केभी प्रसारण लाइन उद्घाटन गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेको उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।   


उद्घाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन हुने बताइन् ।   


चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै प्रमुख दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गरिन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन सञ्लनमा आएसँगै महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए ।


चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजङ्ग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए । 


महानगर क्षेत्रमा भइरहेको तिव्र सहरीकरणका कारण बढिरहेको विद्युतको मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए । प्रााधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सिलवालले विद्युत् मागबमोजिम आपूर्ति दिन नसकेर त्यस क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको देवनगर सबस्टेसन बनेपछि अन्त्य भएको उल्लेख गरे ।उनले अब त्यस क्षेत्रमा माग बमोजिम गुणस्तरीय र पर्याप्त विद्युत् दिन सकिने बताए ।  


देवनगर सबस्टेसनबाट महानगरपालिकाका वडा नं ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनमा  २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । त्यसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ । 


वडा नम्बर ११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी, सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्याइएको छ ।


गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म झण्डै नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर निकालिएका छन् । 


देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई  आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको छ । 


नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत रु १० करोड रहेको आयोजना निर्देशक÷संयोजक अच्युत घिमिरेले जानकारी दिए । 


सबस्टेसन तयार भए पनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो ।  कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु पर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माणमा केही ढिलाइ भएको हो ।

मकवानपुरमा कार दुर्घटनामा घाइते भएका तीनमध्ये दुईजनाको मृत्यु

मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् । उहनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

सुरुङ्गा (झापा) । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गरे ।

कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायतसहित महासङ्का १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सरिक छन् ।

सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन हो । 

उपमहानगरपालिकाले चालु आवमा  ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा  २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट रु पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट रु चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट रु दुई करोड पाँच लाख ४७ हजार,  सिफारिस दस्तुरबाट रु दुई करोड ८६ लाख ३१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट रु एक करोड ९६ लाख, ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट रु एक करोड ८० लाख, नक्सा पास दस्तुरबाट रु ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत रु ५१ लाख ३२ हजार दुई सय ५५ राजस्व सङ्कलन भएको श्रेष्ठले बताउनुभयो । 

गत आव २०७९/८० को १० महिनाको तुलनामा यो करिब रु तीन करोड ८२ लाख २५ बढी राजस्व सङ्कलन भएको हो । उपमहानगरपालिकाले गत आव २०७९/८० मा रु ३४ करोड ९३ लाख पाँच हजार दुई सय राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा साउनदेखि वैशाखसम्म विभिन्न शीर्षकमा रु २२ करोड ५३ लाख छ हजार आठ सय ९४ राजस्व सङ्कलन गरेको थियो ।  

अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव २०७९/८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व सङ्कलन हुन थालेको छ । चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुङ्गा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको श्रेष्ठको भनाइ छ ।

कोरियाबाट फर्केर माछापालनमा पुन

गलकोट । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् ।

उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरू गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन् ।

“श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ”, उनले भने, “कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।”

पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ ।  ५० लाख लगानी गरेकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए ।

उनले छोरा अमृतलाईसमेत माछापालनमा लगाएका छन् । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन् ।

“कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु”, उनले भने ।

चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक रू एक लाख ५० हजार भाडा तिर्नुपर्छ । उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएका छन् ।

पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए ।

तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२÷१५ लाख आम्दानी हुने तर, राम्रो उत्पादन नभएमा रू पाँच छ लाखमै सीमित हुने उनको भनाइ छ । 

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका छन् । शनिबार बिहान कांग्रेस नेताहरुसँगको छलफलमा प्रधानमन्त्री संसदीय समिति गठन गर्न सहमत भएका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको जानकारी दिए। उनले सत्ता साझेदार दलसँग छलफल गरेर पुनः बैठक बस्न जानकारी गराएको बताए।

उनले भने,‘कांग्रेसले राखेका माग र संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत हुनु भयो। उहाँ सकारात्मक हुनुहुन्छ, थप छलफल गर्ने कुरा भएको छ ।’

सदनको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ।

बिहीबार बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए।

तर, कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन् । संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाइएको प्रतिनिधि सभा बैठक आइतबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ।

कान्तिलोकपथमा कार दुर्घटना हुँदा तीनजना घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घनामा परेर घाइते भएका तीनै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विवेक साह र भीमफेदी गाउँपालिका– ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते तीनै जनालाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ । बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

महेन्द्रनगर (धनुषा) ।  जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 

  धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।

उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

खार्किभ शहर तत्काल कब्जा गर्ने रुसी योजना छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा रुस नरहेकोे दाबी गरेका छन् । रुसको आफ्नै सुरक्षाका निम्ति सुरक्षित क्षेत्र बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वोत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेको उनले बताए । युक्रेनले सीमावर्ती कैयौँ गाउँ रुसी कब्जामा पुगेको जनाएको छ ।

गत साता सो क्षेत्रमा रुसले हमला थालेको थियो र रुसी सीमानजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा कैयौँ दिनदेखि भीषण लडाइँहरू भइरहेका छन् । सो क्षेत्रका तीनवटा युक्रेनी प्रतिरक्षा पङ्क्तिमध्ये रुसी फौजहरू पहिलोसम्म मात्रै पुग्न सकेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

युक्रेनी उच्च कमान्डरले पनि जेलेन्स्कीले जस्तै दाबी गर्दै सो क्षेत्रमा “शत्रुहरूले सक्रिय लडाइँ क्षेत्र करिब ७० किलोमिटरसम्म विस्तार गरेको” बताएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लडाइँअघि करिब १४ लाख जनसङ्ख्या भएको खार्किभ रातभरि रुसी ड्रोन हमलामा परेको थियो।

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीले र कांग्रेससँग छलफल गर्दै

काठमाडौं । संसदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो ।

त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्ताव समेत पारित हुन पाएको छैन ।

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

तिब्बतसँग जोडिएको टिपतालामा पहिलो पटक पुगे नेपालतर्फका गाडी

ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् । 


चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । 


टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्रयाक खोल्ने कार्य यसअघि नै सकिएको थियो ।


सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्रयाक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।  


सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन । 

काठमाडौँ–तराइ द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ ।

आयोजनाको प्याकेज नम्बर २ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो । त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार ६ सय ३३ मिटर लम्बाइको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्रूतमार्गमा ६ वटा सुरुङ र ८९ वटा पुल हुनेछ । उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ । करिब ७०.९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भू–भागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

पार्टी छाडेकालाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले फरक पार्टीमा लागेका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष यादवले जसपा एक विशिष्ट सोच, एजेण्डा र सिद्धान्त बोकेको पार्टी भएको भन्दै मूलधारमै फर्किन आह्वान गरेका हुन् ।

केही दिनअघि अशोक राईको नेतृत्वमा जसपाका नेताहरुले अर्को पार्टी दर्ता गरिसकेका छन् । त्यसविरुद्ध अध्यक्ष यादव अदालत गएका छन् । सर्वोच्चले राई नेतृत्वको पार्टीकाबारेमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि

यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक एलन मस्कले बताएका छन् । 


टेस्ला, स्पेसएक्स तथा अन्य कम्पनीका अर्बपति प्रमुख मस्कले सन् २०२२ को अन्त्यमा ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका थिए र गत जुलाईमा एक्समा रिब्रान्ड गर्ने घोषणा गरेका थिए । लोगो र ब्रान्डिङलाई बदलेर ‘एक्स’ बनाए पनि डोमेन नाम शुक्रबारसम्म ट्विटर डटकम नै रहेको छ । 


“सबै कोर प्रणाली अब एक्स डटकममा छन्”, मस्कले नीलो वृत्तमा सेतो एक्सको लोगोको छवि पोस्ट गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।


ट्विटर डटकमको प्रश्नहरूले शुक्रबार बिहान प्रयोगकर्ताहरूलाई ट्विटर डटकममा पुनःनिर्देशित गर्यो । यद्यपि मूल डोमेन नाम अहिले पनि केही ब्राउजरमा देखा परेको थियो । 


मस्कले सन् १९९९ मा एक्स डटकम नामक अनलाइन वित्तीय सुपरस्टोर स्थापना गर्ने प्रयासमा आफ्नो कम्पनीहरूको ब्रान्डिङमा बारम्बार एक्स अक्षरको प्रयोग गरे ।


ट्विटर खरिद गरेपछि सम्झौता बन्द गर्नका लागि उनले एक्स कर्प नामक कम्पनीको स्थापना गरे । मस्कले उनी चीनको विच्याटको लाइनमा ‘एक्स’ एक सुपर–एप बन्न चाहेको बताएका छन् ।


चिनियाँ एप विच्याट एक्सभन्दा धेरै ठूलो छ र यसले सन्देश, भ्वाइस कलिङ, सामाजिक सञ्जाल, मोबाइल भुक्तानी, गेम, समाचार, अनलाइन बुकिङ र अन्य सेवाहरूलाई एकसाथ जोडेको छ । 


मस्कले ‘ग्रोक’ नामक एआई च्याटबट एक्समा पनि काम गरेका छन्  । यसलाई यसै साता युरोपमा लन्च गरिएको थियो । 


मस्कको एक्स नेतृत्व विवादास्पद साबित भएको छ । उनले हजारौँ कर्मचारीलाई बर्खास्त गरेका छन् । प्रमुख प्राविधिक समस्याको निरीक्षण गर्नुभएको छ र दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तवादीहरूका साथै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका खाताहरू पुनःस्थापित गरेका छन् ।


गलत जानकारीको आशङ्कामा युरोपेली नियामकहरूले पनि एक्स र अन्य सामाजिक मिडिया प्लेटफर्महरूको अनुसन्धान सुरु गरेका छन् । युरोपेली सङ्घ (इयु) ले यसै महिनाको प्रारम्भमा एक्सलाई सामग्री मध्यस्थता कर्मचारी कटौती गर्ने आफ्नो निर्णयलाई व्याख्या गर्न कम्पनीलाई शुक्रबारसम्मको समयसीमा दिएर माग गरेको थियो । 

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले  देखाएको छ ।


स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिको सङ्ख्या एक वर्षअघिको आँकडामा दुई लाख ६१ हजारले बढेर दुई करोड ८६ लाख ९३ हजार पुगेको छ ।


वृद्धवृद्धाको कामबाट उच्च प्रभावित यो सङ्ख्या अघिल्लो महिना एक लाख ७३ हजारमा पुगेपछि अप्रिलमा तीव्र गतिमा बढेको हो 


समग्र रोजगारी विस्तार वृद्धवृद्धाद्वारा भएको थियो । अप्रिलमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका लागि रोजगारीको सङ्रख्या वार्षिक आधारमा अप्रिलमा दुई लाख ९२ हजार भएको छ तर २० देखि ४० वर्ष उमेर समूहका मानिसका लागि ७७ हजार र ९० हजारले सङ्कुचित भएको छ ।


लगातार पाँचौँ महिना बढ्दो प्रवृत्ति कायम राख्दै उत्पादकहरू बीच रोजगारीको सङख्या गत महिना एक लाखले बढेको छ ।


स्वास्थ्य तथा समाज कल्याण सेवा, सूचना तथा सञ्चार उद्योगमा रोजगारी क्रमशः ९३ हजार तथा ६८ हजारले बढेको छ । शिक्षा सेवामा रोजगारी गुमेको छ । थोक र खुद्रा क्षेत्रका ४९ हजार र ३९ हजारले रोजगारी गुमाउनु परेको छ । 


नियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख ९३ हजार तथा अनियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख पुगेको छ तर गत महिना दैनिक मजदुरहरूको सङ्ख्या भने एक लाख ४७  हजारले घटेको छ ।


कामदारहरू भाडामा लिने स्व–रोजगार गर्नेहरूको सङ्ख्याया अपरिवर्तित रहेको छ भने कर्मचारीहरू बिना स्व–रोजगार गर्नेहरूको सङ्ख्या ९४ हजारले पछि हटेको थियो ।


यसै क्रममा १५ वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगार दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले बढेर ६३ प्रतिशत पुगेको छ भने १५ देखि ६४ वर्षका लागि ओइसीडी–विधि भर्ना दर शून्य दशमलव छ प्रतिशतले बढेर ६९ दशमलव छ प्रतिशत पुगेको छ ।


अप्रिलमा बेरोजगारीहरूको सङ्ख्या आठ लाख ८५ हजार पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ हजारले बढी हो । बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशतले बढेर तीन प्रतिशत पुगेको छ । 


विस्तारित बेरोजगारी दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले घटेर आठ दशमलव आठ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २९ वर्ष उमेर समूहका लागि एक दशमलव चार प्रतिशतले घटेर १६ दशमलव एक प्रतिशत भएको छ ।


आधिकारिक बेरोजगारी दरले ती व्यक्तिहरूलाई मापन गर्दछ जो तुरुन्तै कामका लागि उपलब्ध छन् तर सक्रिय रूपमा जागिर खोज्ने प्रयासका बावजुद विगत चार हप्तादेखि जागिर पाउन असफल भएका छन् ।


श्रम न्यून उपयोग सूचक भनिने विस्तारित बेरोजगारी दरदलाई जागिर खोज्नबाट निरुत्साहित हुनेहरू, पूर्ण–समय काम गर्ने इच्छा विरुद्ध अंशकालीन काम गर्ने र कलेज स्नातकपछि जागिर प्राप्त गर्न तयारी गर्नेहरूलाई आधिकारिक बेरोजगारी दरमा मापन गरिन्छ 


नोकरी खोज्ने कुनै इच्छा नभएको आर्थिक रूपमा निष्क्रिय जनङ्ख्या अप्रिलमा एक वर्ष अघिको तुलनामा एकलाख ७४ हजारले घटेर एक करोड ५९ लाख ६१ हजार भएको छ ।


गत महिना निरुत्साहित रोजगारी खोज्नेहरूको सङ्ख्या ४५ हजारदेखि तीन लाख ६९ हजारसम्म बढेको छ । 

भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।

अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा  घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरुमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ ।  

१० महिनामा पाँच हजारभन्दा बढी डढेलोका घटना

काठमाडौँ । करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन् । विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको साउनमा डढेलोको घटना शून्य छ । वर्षातको समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ ।

यसैगरी विभागको तथ्याङ्कानुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीन आगलागीका घटना भएका थिए । यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलाको सङ्ख्या बढेर दुई सय छ पुग्यो ।

चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी वैशाखमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो ।

विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन् । विभागको तथ्याङ्कानुसार यही जेठयता भने ३० डढेलोको घटना भएकामा जनाइएको छ । आज एकैदिन सात डढेलोको घटना भएका छन् ।

विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताउनुभएको छ । “नेपालको भिरालो स्थान र हावाको गति बढ्दा पनि डढेलो नियन्त्रणमा चुनौती भएको छ”, उनले भने, “डढेलो नियन्त्रणका लगि अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वय आवश्यक रहेको छ ।”

उनका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ । डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलाको घटना हुन्छन् ।

“असी प्रतिशत डढेलाको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्र ६० प्रतिशत डडेलोका घटना हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ”, उनले भने, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाका घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलाको घटना बढी हुने गरेको पाइन्छ ।”

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार एमाले र माओवादीबाट मन्त्रीहरू थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्मा ६ र माओवादीबाट ४ जना सहभागी भएका छन् । एमालेबाट एकराज कार्की, लिलाबल्लब अधिकारी र पिके राई मन्त्री बनेका छनन् । यस्तै सिर्जना राई राज्यमन्त्री भएकी छिन् ।

माओवादीबाट राजेन्द्र कार्कीको नेतृत्वमा सरकारमा सहभागी भएको छ । माओवादीबाट नारायण बुर्जा मगर मन्त्री र वन्दना झाँगड राज्यमन्त्री भएका छन् । यसअघि एमालेबाट राम राना मगर र माओवादीबाट गणेश उप्रेती मन्त्री नियुक्त भएका थिए ।

मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका थिए ।

भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर (कैद कट्टा) तेस्रो संसोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्रिशूली ‘थ्री बी हब सवस्टेशन’संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’ को शुक्रबार उद्घाटन गरिएको छ । सो सबस्टेशनको क्षमता दुई सय २०/१३२/३३ केभी रहेको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसनको पनि आजै उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन , युरोपेली सङ्घ (इयु) का राजदूत भेरोनिक लोरेञ्जो , जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक (इआइबी) का निर्देशक थौउराया ट्रिकीले आज संयुक्तरुपमा त्रिशूली ‘थ्री बी हब र भाल्चे सबस्टेसन’ उद्घाटन गरे ।

करिब एक सय चार रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत  एक अर्ब ९७ करोड रहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत रु ४२ करोड ९३ लाख रहेको छ ।

नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन तथा सबस्टेसनबाट प्रभावित र त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । यसबाट नुवाकोट र रसुवाका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि मात्र नभएर समग्र देशको विद्युत् प्रणाली व्यवस्थापन गर्न सबस्टेसन निर्माणबाट महत्वपूर्ण पाइला थपिएको बताए ।

आगामी १२ वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणको क्षेत्रलाई लगानी मैत्री बनाउन नीतिगत, कानुनी र संरचना सुधार सुरु गरिसकिएको उल्लेख गर्दै मन्त्री बस्नेतले प्राकृतिक स्रोतमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई हिस्सेदार बनाउने गरी आयोजना अगाडि बढाइएको बताए ।

मन्त्री बस्नेतले जलविद्युत् क्षेत्रमा सरकार, स्थानीय समुदाय, वैदेशिक र निजी क्षेत्रको लगानीलाई समन्वयात्मकरुपमा अगाडि बढाइने उल्लेख गरे । युरोपेली आयोगकी उपमहानिर्देशक फेरनले जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न नवीकरणीय हरित ऊर्जाको उत्पादन वृद्धिका लागि सबस्टेसन महत्वपूर्ण रहेको बताए । उनले सबस्टेसन निर्माणबाट नेपालको ठूलो समुदाय लाभान्वित हुने भएकाले युरेपेली युनियनका लागि गौरवको विषय भएको उल्लेख गरे ।

जर्मन राजदूत थोमस प्रिन्जले उत्पादित स्वच्छ हरित ऊर्जा उपभोक्ताको घरसम्म पुर्याउन सात करोड युरो अनुदान दिन लागिएको जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको हरित ऊर्जाको दिगो विकासका लागि यस क्षेत्रको पूर्वाधारमा लगानी गर्न युरोपली युनियन र यसका सदस्य राष्ट्रहरुलाई आग्रह गरे ।

उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधारमा करिब ४६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएकाले लगानीका लागि आग्रह गरे ।

आयोजनाका निर्देशक थर्कबहादुर थापाले सबस्टेसनबाट नेपालको समग्र विद्युत् प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले चिलिमे हब–त्रिशूली थ्री बी हब प्रसारण लाइन एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तीव्ररुपमा काम भइरहेको उल्लेख गरे ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणालीआयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हव २२० केभी सबस्टेसनदेखि त्रिशूली थ्री बी हबसम्मको २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन र चिलिमे हब २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छन् ।

अनुमानित लागत ६ अर्ब १९ करोड रहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) तथा इयुको अनुदान सहयोग रहेको छ । इयुले स्थापना गरेको इआइबीले आयोजनामा सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण गरिएको हो । प्रसारण लाइन तथा सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्दछ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ टावरमध्ये ७० वटाको जग हालिएको छ । बाँकी पाँच टावरको आंशिक जग हालिएको छ । ६० टावर खडा गरिएका छन् भने १० वटाको काम धमाधम भइरहेको छ । पन्ध्र किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ ।

चिलिमे–त्रिशूली थ्री बी हब प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार ९मल्टी० सर्किट लाइन निर्माण गरिएको छ । प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्न मल्टीसर्किट लाइन बनाइएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टीसर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ ।

भौगोलिकरुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गागिटी, बालुवा, टावरका सामान कामदार वा खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी,४२.५ मेगावाटको साञ्जेन, तादी खोलाका विभिन्न आयोजनाको ४२ मेगावाट, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाटको माथिल्लो साञ्जेन, १४.३ मेगावाटको माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा समाहित हुनेछ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ पुसमा कार्यान्वयनमा आएको थियो ।

कांग्रेसलाई सरकार चाहिएको छ, संसदीय समिति होइन: अध्यक्ष ओली

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति नचाहेको आरोप लगाएका छन् ।

शुक्रबार बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीे कांग्रेसले संसदीय समिति नभई सरकार चाहेको आरोप लगाएका हुन् ।

उनले सरकारबाट बाहिरिएर छट्पटाइरहेको कांग्रेस अहिलेको सरकारका काम देखेर अत्तालिएको बताए । उनले भने, ‘गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई छानबिन समिति चाहिएको होइन। उसलाई त सरकार चाहिएको छ ।’

उनले आफूलाई लोकतन्त्रको मसिहा भनाउँदो कांग्रेसबाट संसदमा भइरहेको अराजकता अशोभनीय रहेको बताए । अध्यक्ष ओलीले एमालेले मिसन ८४ को नारा लिएर अगाडि बढिरहेको भन्दै देशको विकास गर्नका लागि एमालेले नयाँ समीकरणको सरकार बनाएको बताए ।

चितवन राष्ट्रिय घुम्ने विदेशी पर्यटकको संख्यामा बृद्धि

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । 


चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।


उनका अनुसार १० महिनामा एक लाख ६१ हजार आठ सय २७ नेपालीले भ्रमण गरेका छन् । जसमध्ये सार्क मुलुकका २६ हजार चार सय ६१ र तेस्रो मुलुकका ८४ हजार छ सय ५४ जना रहेका छन् ।


गत आवमा दुई लाख ९९ हजार चार सय १२ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका तिवारीले बताए । जसमध्ये तेस्रो देशका ५५ हजार आठ सय ७२ र सार्कका ३७ हजार नौ सय ३५ थिए । नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो । 


“कोभिडपछि विदेशी पर्यटकको आगमनमा कमी आएको थियो । क्रमशः विदेशीको सङ्ख्या बढ्दै गएको छ । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिने गरिन्छ”, सूचना अधिकारी तिवारीले भने, “विदेशी पर्यटक सफारी पर्यटनका लागि यहाँ आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु, चराचुरुङ्गी, जलचर अवलोकनका लागि पर्यटक यहाँ आउने गर्दछन् । 


भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । निकुञ्जका केही प्रवेशद्वार महानगरतर्फ पनि छन् । महानगरले स्वदेश तथा विदेशमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ ।

मनसुन गतिविधि सक्रिय हुनुपूर्व नै गमी बढ्यो, अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।

देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको जानकारी दिइन् ।

उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिइन् । “तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा ४० डिग्री तापक्रम पुगेको थियो । अहिले पनि तीन/चार स्टेशनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ”, उनले भनिन् ।

मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । उनले भनिन्, “पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ ।”

मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौँमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो ।

तीन दिनयता काठमाडौँ उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौँमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्‍दै धरानको ‘ओशो पार्क’

धरान । धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ ।

धरानको भानुचोकबाट करिब ६ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । बुटवलबाट साथीहरुसँगै धरान घुम्न आउनुभएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताए ।

उनले भने, ‘आजभन्दा चार-पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ ।’ उदयपुर गाईघाटका प्रविन राई बिहानै गाईघाटबाट गाडी चढेर घुम्नका लागि ओशो पार्क पुगेका थिए ।

उनले भने, ‘टिकटक र फेसबुकमा देखेर यहाँ पहिलो पटक आएको छ । श्रमदान र मेहनत गर्दा एउटा खोलामा पनि सुन्दर र रमणीय घुम्ने ठाउँ बनाउन सकिने रहेछ भन्ने एउटा उदाहरण बनेको छ ।’

पहिले घुम्नका लागि भेडेटार धनकुटासम्म जाने गरेकामा अहिले यहाँस्थित पार्क नै आउने गरेको राईले बताए । ‘स्थानीय स्तरमा यति सुन्दर घुम्ने ठाउँ बनिसक्यो, अब साथीभाइसँग घुम्न टाढा जानै नपर्ने भएको छ’, उनले भने ।

भानुचोकबाट करिब छ किमीमाथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौँ पार्क छन् । वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ ।

पहिले उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन् । अहिले यो पार्क आसपासमा दर्जनौँ होटल सञ्चालित छन् ।

दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उनी नौ वर्ष वैदेशिक जीवन बिताएर फर्केपछि यहाँ एक दशकदेखि व्यापार गर्दै आएका छन् ।

गुरुङका अनुसार यहाँ घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् । विशेष गरी यहाँ तोङ्बा, सुकुटीलगायत स्थानीय सामग्रीबाट बनेका परिकार खान पाइने उनले बताए । ‘धेरैजसो अहिले बिक्री हुने भनेको तोङ्बा, सुकुटी र चटपटे धेरै बिक्छ, एकपटक आएको मान्छे निरास भएर चाहिँ जानुहुन्न फेरि फर्केर आइरहन्छन्’, उनले भने ।

व्यवसायी टेकबहादुर राई र सविता राईले पनि लामो समयदेखि यहाँ व्यवसाय गर्दै आएका छन् । उनले अहिले यो ठाउँ निकै परिवर्तन भएको बताए ।यहाँ धरान, इटहरी, मोरङ, झापागायत विदेशबाट पनि पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी टेकबहादुर राईको भनाइ छ ।

ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए ।

‘अरु दिनभन्दा सार्वजनिक बिदा तथा शनिबार अन्य समयभन्दा बढी पर्यटक यहाँ घुम्न आउने गर्छन्’, उनले भने, ‘अझ विस्तारै यस ठाउँमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ । पार्कलाई रमणीय र आकर्षित बनाउन भौतिक पूर्वाधारका काम भइरहेका छन् ।’

वडाध्यक्ष काफ्लेका अनुसार यो क्षेत्रमा घुम्न जाडोमाभन्दा गर्मी समयमा धेरै पर्यटक आउने गरेका छन् । ‘पर्यटकको थप आकर्षण बढाउनका लागि १३ नं वडा कार्यालयले रु सात लाख सहयोग गरेको छ । ओशो पार्क क्षेत्रभित्रै फूलको बगैँचा, बालबालिकाका लागि खेल्ने ठाउँ, विभिन्न ढुङ्गाको डिजाइनबाट निर्माण गरिएका आकर्षक मूर्तिहरु राखिएका छन्’, उनले भने ।

सङ्घीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्याइएको रु २० लाखले ओशो (बिपी पार्क)को निर्माण गरिएको छ । साथै पूर्वसांसद कृष्णकुमार राईको सांसद कोषबाट रु १० लाखको सहयोगमा घिर्लिङको अवशेष जाने सिँढी निर्माण गरिएको थियो ।

आन्तरिक पर्यटकको मुख्य केन्द्रका रुपमा विकास गर्ने योजना अनुसार पार्क निर्माण गरिएको सांसद जयकुमारले बताए ।

‘धरानमा घुम्न आउने पर्यटकका लागि घुम्ने स्थल बूढासुब्बा मन्दिर, दन्तकाली, विजयपुर पछिको ओशो पार्क, (बिपी पार्क) सँगै यस क्षेत्रमा दर्जनौँ पार्क बनिसकेकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ’, उनले भने, ‘यस पार्कलाई अझ एकीकृत गरेर शौन्दर्यकरण गर्नुपर्छ ।’

धरान-१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । पछिल्लो समय प्रदेश सरकारको रु ४० लाख सहयोगमा एक किमी सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको वडाध्यक्ष काफ्लेले बताए ।

सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा निर्मित उक्त पार्क धरानकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विस्तार हुँदै गएको छ । यसलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले बताए ।

यहाँका कतिपय सरकारको सहयोगमा बनेका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएका भन्दै सबैको सहयोग र समन्वयमा पर्यटकको आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं / प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर, २ बजेका लागि पनि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्नेछ ।

देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्छ : मन्त्री भण्डारी

सुदूरपश्चिम / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै जनताका मुद्दाले संसद्मा प्राथमिकता पाउनुपर्नेमा प्रतिपक्षी दलको प्रस्तुति अशोभनीय भएको आरोप लगाए ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अत्यन्त सम्भावना र आशा बोकेको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेतासमेत रहेका मन्त्री भण्डारीले नीति तथा कार्यक्रमअनुसार सरकारले बजेटको तयारी गरिरहेको बताए ।

सहकारीका प्रसङ्गमा उनले भने, “सहकारी पीडितलाई न्याय दिने कानुनको अभाव छ, पहिला कानुन बनाउनुपर्ने छ, कानुन बनाइसकेपछि दोषीलाई कानुनी कारबाही गर्न सकिन्छ ।” अर्को प्रसङ्गमा मन्त्री भण्डारीले ऐनको अभावमा बजेट खर्च हुन नसक्ने समस्या लामो समयदेखि रहेको बताए ।

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।

कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उहाँहरुलाई पढ्न सहयोग गर्दैआएको छ । खेलाडीको नियमित प्रशिक्षणका दौरान उहाँहरुको खानपिनको व्यवस्थापनमा सहयोग पुगोसो भन्ने उद्देश्यले यहाँस्थित सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायतका सामाग्री सहयोग हो । 

श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मनोज थापाले उक्त सामाग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण  गरे । सो अवसरमा बाहिनीपति सहायकरथि थापाले खेलाडीलाई अनुशासित, लगनशिल र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्फत विश्वर नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताए । हाल प्रशिक्षण केन्द्रमा झण्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन् । पन्ध्र खेलाडी प्रशिक्षण केन्द्रमै बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दैआएका छन् ।

गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी प्रकरणमा छानविन समिति बनाउनुपर्छ :राप्रपा

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिन सुझाव दिएको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बताए ।

उनले सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी प्रकरणमा भने संसदीय छानविन बनाउनुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए । सहकारी प्रकरण एक जना गृहमन्त्रीको मात्रै नभइ लाखौ जनताको बिषय भएकाले यस बिषयमा छानविन गर्न समिति बनाउनुपर्ने उनले बताए ।

त्यस्तै उनले सदनमा सभामुख तटस्थ हुन नसकेको धारणा राखे । कसैले आफ्नो माग राख्दै गर्दा सभामुखले सदनलाई त्यहि अनुसार व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन्।

पुर्ख्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन् । उनका बुबाले कागज बनाउने काम गर्थे । कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके ।

शेर्पाको पुर्ख्यौली घर भोजपुर जिल्ला हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे ।

२०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका हुन् । अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।

कागज उद्योगबाट खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छन् ।

अहिले उनी घर बनाउने तयारीमा छन् । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौँ हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक ४ लाख रुपैयाँ बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताए ।

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको ५ वर्ष भइसकेको छ । ‘कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन’, शेर्पाले भने, ‘बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।’

उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उनले जानकारी दिए । उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा ठूला उद्योगले खरिद गरेर लैजान्छन् ।

शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक १ हजार ६ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुनेगर्छ ।

‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ’, शेर्पाले भने, ‘गर्मी मौसममा बढीमा तीन घण्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न पाँच घण्टा लाग्छ ।’

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् ।