`

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको शुक्रबारको बैठक पनि स्थगित भएको छ । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक प्रभावित नपार्न र सहज रुपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर कांग्रेस सांसदले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो बस्ने गरी स्थगित गरेका हुन् ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छुः उपसभामुख राना(अन्तरवार्ता)

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा प्रवेश गरेकी छन् ।

सामाजिक रुपान्तरणको अभियानबाटै आएको हुनाले आफूमा अभियन्ताको छनक अझै देखिने उनको बुझाइ छ । सदन प्रभावकारी सञ्चालनको लागि उपसभामुखको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । उपसभामुख कामविहीन हुन्छन् भन्ने गलत भाष्यलाई चिर्न आफू प्रयत्नरत रहेको उनी बताउँछिन् ।

उपसभामुख रानाले सदनको प्रभावकारी सञ्चालनका लागि सभामुख र उपसभामुखको प्रयासमात्र पर्याप्त नहुने बताउँछिन् । जनताको अपेक्षामा खरो उत्रिनका लागि सत्तापक्ष, प्रतिपक्षका सबै सांसद र शीर्ष दलका नेतृत्वहरु राष्ट्रिय हितका लागि सहमतिको केन्द्रमा आउनुको विकल्प नभएको उनको भनाइ छ ।

सदनलाई सत्ता परिवर्तन र एकअर्काप्रति दोषारोपणको थलो मात्र बनाउँदा जनतामा गलत सन्देश जाने उपसभामुख राना बताउछिन् । २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीतिमा आबद्ध भएकी उनी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभाको सदस्य छन् । उपसभामुख बनेपछि पार्टीको जिम्मेवारीबाट अलग छिन् ।

सन् १९९० देखि जेल सुधारसम्बन्धी कार्यमा संलग्न उनले जेलमा आश्रित बालबालिकालाई शिक्षा, पालनपोषणलगायत विभिन्न समाज सेवा एवम् कल्याणकारी कार्यमा क्रियाशील थिइन् । रानाले २०५७ सालमा ‘बन्दी सहायता नेपाल’ नामक गैरसरकारी संस्थाको स्थापना गरी यस क्षेत्रमा काम गरेकी थिइन् । विभिन्न जेलमा परेका बाबुआमाका बालबालिकाको हक, शिक्षा, स्वास्थ्य, सुरक्षा उपलब्ध गराउँदै आएकी उनले बन्दी महिलालाई शिक्षा, सीपको लागि काम गरेकी थिइन् ।

उनको जन्म सन् १९७० मा झापा जिल्लाको शनिश्चरे-६ सालबरा गाउँमा भएको थियो । अध्ययन र रोजगारका लागिका लागि काठमाडौँ आएकी उनले १८ वर्षको उमेरमा एक विद्यालयमा अध्यापन गराउन थालिन् । शिक्षिकाको रूपमा काम गर्ने क्रममा प्रसिद्ध लेखिका पारिजातसँगको भेटपछि सामाजिक रुपान्तरणको अभियानमा अग्रसर भइन् । प्रस्तुत छ, सामाजिक रुपान्तरणका लागि राजनीतिक प्रतिबद्धताको आवश्यकता महसुस गरेरै राजनीतिमा प्रवेश गर्नुभएका उपसभामुख रानासँग राससका समाचारदाता भीष्म ओझा र सिर्जना राईले गर्नुभएको कुराकानीको सारसंक्षेप :

तीन दशक सामाजिक अभियानहरुमा संलग्न तपाई केही समययता राजनीतिमा लागेर प्रतिनिधिसभा सदस्य र अहिले उपसभामुखको जिम्मेवारीमा हुनुहुन्छ । यो एक वर्ष संसद्भित्रको अनुभवलाई लिनुभएको छ ?

सडकको कुरा सदनमा बुलन्दरुपमा गुञ्जियोस् भन्ने जुन सोच लिएर आएको थिएँ, त्यो अलिक फरक पाएँ । धेरै समयसम्म राजनीतिमा आबद्ध नभई सामाजिक अभियानमा आबद्ध भएँ तर राजनीतिक प्रतिबद्धता समाजिक रुपान्तरण र देशको समृद्धि सम्भव नहुने महशुसले राजनीतिमा प्रवेश गरेँ । सदनमा विधेयक बन्ने र बनिसकेको ऐन कानून कार्यान्वयन गर्दा कुनै अप्ठ्यारो आए परिवर्तन, परिमार्जित गर्नेमा केन्द्रित हुनाले सुरुसुरुमा बाहिर बसेर सोचेको भन्दा अलिक फरक महसुस भयो । यद्यपि, मलाई दिइएको जिम्मेवारी, यो पद एकदमै राम्रो लागेको छ । राष्ट्र र जनताका लागि निष्पक्ष भएर काम गर्दा मलाई रमाइलो लागिरहेको छ । मेरो जिन्दगी नै सामाजिक न्यायका लागि व्यतित गर्दै आएकाले मलाई यो जिम्मेवारीसँग अझ बढी लगाब भएको हो ।   


सङ्घीय संसद्बाट अपेक्षाकृत नीतिनिर्माण हुनु किन सकिरहेको छैन ?

हो । अपेक्षाअनुसार कानुन निर्माण हुन सकेको छैन । प्रतिपक्ष दलको धर्म भनेकै सरकारको निगरानी र खबरदारी गर्ने हो । त्यसको पालनामा सुझबुझ हुनुपर्दछ भन्ने लाग्दछ । सदन ‘अर्डर’मा भए मात्र सञ्चालन गर्न सकिन्छ । सदनमा आन्दोलन र अवरोध भए सञ्चालन सम्भव हुँदैन । कतिपयले जिज्ञासा राख्नुहुन्छ । सांसदलाई किन बोल्न दिनुभएन ? किन माइक बन्द गरिदिनुभयो भन्नुहुन्छ । मैले त संसदीय नियमअनुसार समयको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसरी हेर्दा संसदको समय केमा खर्च भइरहेको छ भन्ने पनि हो ।   


उसोभए प्रतिपक्ष दलका सांसदहरु आफ्नो भूमिकामा चुकेको हुने त ? कानुन निर्माण नहुनुमा के प्रतिपक्ष मात्र जिम्मेवार हो ? 


 त्यस्तो हैन । उहाँहरुले उठाइरहनु भएको विषय अत्यन्त संवेदनशील विषय हो, जनतासँग जोडिएको विषय हो । समाजवाद उन्मुखसँग जोडिएको विषय हो सहकारी । तर नियमहरु राम्ररी बनेन् । सहकारीको नीति एउटा व्यवहारमा अर्को अभ्यास छ । व्यवहार र नीतिलाई एउटै बनाउने र नियमन गरेर लैजान आवश्यक छ । मिलेर जाने विषय हो । एकअर्कालाई दोषारोपण गरेर मात्र हुँदैन । शीर्ष दलहरु एउटा केन्द्रमा आएर सहमतिमा आउनुपर्यो ।


तपाईको जिम्मेवारीतर्फ नै फर्कौं, सदन प्रभावकारी बनाउन उपसभामुखको भूमिका कति महत्वपूर्ण हुने रहेछ ? अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ ? 


संविधानतः सभामुख नहुँदा उहाँको जिम्मेवारी उपभामुखले लिने हो । सभामुख ब्यस्त भएको समयमा सदन सञ्चालनको जिम्मेवारी लिनुपर्छ । उपभामुख संवैधानिक परिषदको सदस्य हुने हुँदा त्यसमा पनि मेरो प्रभावकारी भूमिका हुनुपर्छ । सङ्घीय संसद सचिवालयको व्यवस्थापन समितिको सदस्यको रुपमा पनि मेरो भूमिका हुन्छ । दुवै सदनलाई राम्रो गर्यो भने हाम्रो भूमिका बढ्ने हो । नियम कानून निर्माणको कारखाना हो सदन । कार्यपालिकालाई निगरानी र खबरदारी गर्ने काम पनि हाम्रो हो ।  


तपाई आफ्नो भूमिकाप्रति चाहिँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?


म सन्तुष्ट नै छु । सभामुखसँगसँगै काम गर्नुपर्ने हुन्छ । तर म ‘रबर स्ट्याम’ मात्र हैन । मेरो पनि कुरा सुनिनुपर्छ । सरसल्लाह दिने, सहयोग गर्ने र सदनलाई प्रभावकारी बनाउने भूमिकामा म पनि उत्तिकै सक्रिय छु । म सांसद हो, अहिले ५३ वर्षको उमेरसम्म आइपुग्दा धेरै अनुभवहरु मसँग पनि छन् । सामाजिक रुपान्तरणका लागि मेरो आधा जीवन गएको छ । सबै प्रकारका व्यक्तित्व र नेतृत्वको सङ्गतले पनि म उपसभामुखको जिम्मेवारीमा रहिरहँदा पनि आफना धारणाहरु राख्न मन लाग्छ । म भन्छु, पाउनुपर्छ । तर कसैलाई आरोपप्रत्यारोप लगाएर हैन, सबैलाई समान व्यवहार गर्नुपर्छ । तर यस्तो हुनुपर्छ है भन्नु पाउनुपर्छ । 


तर यस पदलाई ‘उप’ भन्ने भाष्य खडा भएको छ । यसलाई चाहिँ म खण्डन गर्छु । सदनलाई निष्पक्ष र प्रभावकारी ढङ्गले सञ्चालन गर्नु उपसभामुखको जिम्मेवारी हो । उपसभामुख कामबिहीन छैन । संसद् चल्दा मात्र उपसभामुख देखिने र पालो दिने मात्र काम हो भन्ने भाष्य गलत हो । मैले काम गरिरहेको छु । सांसदहरुको क्षमता अभिवृद्धिका लागि तालिमको कार्यक्रमहरु सञ्चालन गरिरहेको छु । सभामुखको व्यस्ततामा सम्हाल्ने जिम्मेवारीबाहेक पनि त्यतिकै बसेको छैन । जनताको गुनासो सुन्नदेखि उहाँहरुले बोलाएको ठाउँमा सक्दो पुग्ने प्रयास गरिरहेकै हुन्छु । 


सांसदले सरकारले व्यवसाय नदिएको गुनासो गरिरहने र यता सरकारले संसदीय समितिमा विधेयकहरु अड्कियो भन्ने सुनिन्छ, कुरा बाझियो नि ? 


यत्रो दिन सदन अवरोध भइरहेको छ । त्यो भनेको सरकारले व्यवसाय नदिएर हैन, व्यवसाय छ । त्यसमा सबैको उतिकै भूमिका हुनुपर्छ । सांसदहरु समयमा आउनुपर्यो, कतिपय संसदीय समिति र सदनमै पनि गणपूरक संख्या नपुगेर बैठक स्थगन भइरहेको छ । सांसदको जिम्मेवारी साधारण हैन । आज सांसद हुनुहुन्छ भोलि सरकारको जिम्मेवारी बहन गर्नुपर्ने हुनसक्छ । एकअर्कालाई दोष दिएर हुने केही हैन । हरेक अङ्गहरु सङ्गठित र मजबुद हुनुपर्यो । देश र जनताको मुद्दामा घनिभूत छलफल हुनुपर्यो । व्यक्तिगत, दलीय स्वार्थ, सत्ताभन्दा माथि उच्च राखेर जनताको हितमा काम गर्ने सपथ खाएका छौँ । सपथ खाएजस्तो व्यवहार पनि हुनुपर्यो । 


सांसदहरु दलीय स्वार्थमाथि उठेर सदनमा राष्ट्रिय मुद्दामा एकमत हुन नसकेको हो ? किन ? 


मेरो अनुभवमा पनि हाम्रो अभ्यास सत्ताकै लागि बढी भएको छ । त्यो पनि गर्नुपर्छ किनभने एउटा रणनीति चाहनु स्वाभाविक पनि हो । तर राम्रा कामका लागि सहमति जुट्न आवश्यक छ । सरकारलाई खबरदारीसँगै राष्ट्रिय हितको विषयमा त सहकार्य हुनुपर्यो नि । शीर्ष नेताहरुबीच छलफल गरेर सहमतिमा आउनुपर्छ, सदन प्रभावित बनाउनु हुन्न । हामीले अन्तर्राष्ट्रिय संसदीय अभ्यासहरुबाट पनि सिक्नुपर्छ । अर्कातर्फ स्थिर सरकार नहुँदा पनि धेरै विकासका काममा बाधाहरु आएका छन् । 


के सङ्घीय संसद्मा उठने महिला, बालबालिका, सिमान्तकृत, अल्पसङ्ख्यकको मुद्दा पर्याप्त छन ? 


छैनन नि ! महिला, बालबालिका मात्र हैन सिमान्तकृत र अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा पर्याप्त उठन नसक्नु दुःखद् हो । बाल संरक्षणको नीति बन्न सकेको छैन । अधिकारका कुराहरु नभएका हैनन् तर सचेतनाका कार्यक्रमबाहेक अरु हुन सकेको छैन । नेपालमा गर्व गर्न लायक हिमाल छ, झरना छ, नदी, तालतलैया छन् त्यो भन्दा सुन्दर भनेको हाम्रा मान्छे हुन् । उनीहरु आफैँ खनिखोस्रिएर, भारी बोकेर भए पनि आत्मनिर्भर छन् । उनीहरुलाई थोरै आधार प्रदान गर्न सक्नु पनि हाम्रो उपलब्धि हो । उनीहरुमा राज्यले लगानी गर्न आवश्यक छ । अवसरहरु उपलब्ध गराउँदै देशभित्र टिक्नसक्ने अवस्था बनाउनु पर्यो । 


संसद्मा सांसदहरु नीति र विकासको कुरा सँगसँगै जानुपर्छ भन्ने चर्चा भइरहन्छ । सांसद विकास कोषका नामले परिचित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । तपाईंको यसबारे धारणा के हो ?  


म समानुपातिक निर्वाचन प्रणालीबाट आएको सांसद हो । तर यस कोषमा समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद् देखिन्नु हुन्न भन्ने मेरो बुझाइ हो । अर्कातर्फ यसले अझ राजनीतिक खेलबाडलाई प्रोत्साहन गर्दै आएको छ । विकासका लागि भनेर जाने बजेटले एउटा जिल्लाको एउटा क्षेत्रलाई मात्र हेर्दा त्यहाँ अझ राजनीतिक खेलबाड भइरहेको हुन्छ । त्यसैले सरकारको नीतिमा नै हरेक क्षेत्रमा बराबर बजेट छुट्याइनुपर्छ । भूगोलको समावेशितालाई ध्यान दिएर प्राथमिकता छुटयाउनुपर्छ । आवश्यकताका आधारमा प्राथमिकतामा खर्च हुनुपर्छ । जो नेता भएका छन्, उहाँहरुले मात्र आफनो क्षेत्रमा योजना लग्ने भन्नु पनि राम्रो हैन । विकासको नाममा आफ्नै नाममा नेताहरुले मात्र लैजाने गर्नु हुँदैन ।  जहाँ आपत्त छ, त्यहाँ प्रयोग गर्न सकियोस् । 


महिलालाई संविधानले अनिवार्य भनेका बाहेक जिम्मेवारी दिन कञ्जुस्याइँ गरियो भन्ने धेरै महिला नेत्रीहरुको गुनासो छ । तपाईको यसप्रति धारणा के हो ?  

पूरै कञ्जुस्याइँ गरिएको छ । हामीलाई संविधानतः ३८ प्रतिशतमा लगेर विशेष अधिकार दिइएको छ भन्दै नागरिक अधिकार पनि कुण्ठित पारिएको छ । श्रीमान् कि त मुर्नपर्यो कि त बेपत्ता हुनुपर्यो अनि मात्र आमाको अधिकारको कुरा आउँछ, कति बच्चाले यसकारण पनि नागरिकता पाएका छैनन् । अर्को कुरा नेतृत्वमा भएका महिलाहरु पनि स्वतन्त्र निर्णय लिने क्षमतामा हुनुहुन्न । धेरै महिला सांसदहरु ‘रबर इस्ट्याम’ जस्तो हुनुभएको छ । त्यसो हुनुभएन । समानुपातिकबाट आउनुभएका धेरै महिला सांसदहरु स्वतन्त्र र निर्धक रुपमा रचनात्मक रुपले सदनमा प्रस्तुत हुन सकिरहेको अवस्था छैन । सांसद भएपछि उहाँहरुको भूमिका पनि त्यस्तै बलियो हुनुपर्यो । निर्णय पनि आफनो हुनुपर्यो, अरुले सुगा रटाए जस्तो हुनुभएन । 


तपाई संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ, पदाधिकारी नियुक्ति प्रायःजसो चर्चाको मात्र हैन आलोचनाको विषय पनि बन्छ, राजनीतिक भागबन्डामा सीमित हुन्छ भनिन्छ, हो त  ?


राजनीतिक भागबन्डाको विषय बन्नुहुन्न भनेरै म सहभागी भएको बैठकमा स्पष्टरुपमा आफनो कुरा राख्दै आएको छु । मेरो मात्र निर्णयले हुने कुरा हैन, मैले हरेक ठाँउमा खण्डन चाहीँ गरेको हुन्छु । आफनो तर्क राखेकै हुन्छु । 


यसअघिका उपसभामुख भन्दा तपाई के कारणले फरक ?


म सामाजिक अभियानबाटै आएको हुनाले अभियन्ताको छनक देखिन्छ, म स्पष्ट आफ्ना कुरा राख्छु । पदीय मर्यादालाई ध्यानमा राख्छु । यद्यपि, म एक महिला, आमा र सांसद पनि हो । मैले महिला, जनजाति, सिमान्तकृत वर्गहरुको, उत्पीडन पिछडिएको, कैदबन्दीका लागि काम गर्दै आएको हुनाले पनि त्यो आवाज त मेरो जिन्दगी हो । त्यसैले उपसभामुख भए पनि त्यो आवाज बोलिरहन्छु, सायद त्यही फरक छ । कति सांसदहरुले मलाई महिला सशक्तीकरणमा लाग्नुभयो भनेर गिज्याउनुहुन्छ । मैले उहाँहरुलाई सोध्ने गरेको छु, महिलाले जन्माउने तपाईहरुलाई, हिँड्नेदेखि बोल्न सिकाउने तपाईलाई महिला सशक्तीकरण भनेकै पुरुष पनि सशक्तीकरण हुनु हो भन्ने जवाफ दिन्छु ।   


अन्त्यमा, युवाहरु विदेश पलायन क्रम बढ्दो छ, तपाईं आफैँले पनि बालबालिका हुर्काइरहनुभएको छ । उनीहरुलाई देशभित्रै बस्ने विश्वासको वातावरण सिर्जना गर्न के गर्नुपर्ला ?  


शिक्षाबाटै मातृभूमिप्रतिको प्रेम जगाउन सक्नुपर्छ । नेतृत्वले पनि पछिल्ला पुस्ताले हामीबाट के सिक्ने भन्ने कुरामा सचेत हुनुपर्छ । लगानी गर्नु र अवसर दिन सकियो भने पनि हाम्रा पछिल्ला पुस्तालाई देशभित्र टिकाउन सकिन्छ । साधारण जनतालाई क्रसित बन्ने वातावरण बनाउनु हुँदैन । अर्कातर्फ आमाबुबाले पनि बुझ्न पर्यो । उहाँहरु आफना छोराछोरीलाई निजी विद्यालय पढाउने र विदेश पठाउने ध्यानमा हुनुहुन्छ । त्यसमा पनि घरबाटै सोच्नुपर्ने विषय हो ।

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा सुशासन कायम हुनुपर्ने भन्दै यसका लागि न्यायिक प्रणालीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उनले बताए ।

न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन भएको भन्दै उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउने कुरामा ध्यान दिइनुपर्ने धारणा राखे । उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने जिकिर गरे ।

लागुऔषध कारोबारको उच्च जोखिममा बाँके

नेपालगन्ज / बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागुऔषध दुर्व्यसनलगायतले कुलतको च्च जोखिममा रहेका युवाको सचेतनासम्बन्धी अभिमुखीकरणमा उनले सो जानकारी दिएका हुन्।

नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागुऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट (चिकित्सकको प्रेप्किप्सनबिना) औषधि वितरणले लागुऔषधको जोखिम बढाएको उनले बताए। बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको छ । प्रहरी नायब उपरीक्षक डाँगीले भने, “पछिल्लो समय नेपालगन्ज सहर लागुऔषध कारोबारको ‘ट्रान्जिट हब’ का रुपमा विकास हुँदै गएको छ ।”

सो अवसरमा सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागुऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । उनले लागुऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिए । कार्यक्रममा मन्त्रालयका उपसचिव दिवाकर भण्डारीलगायतले लागुऔषध कारोबार निरुत्साहित गर्न जरुरी भएको बताए ।

बाँकेमा आर्थिक वर्ष ०८०र८१ को वैशाखसम्ममा एक सय ४६ लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ । सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेका छन् । उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव ४९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव ३१३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागुपर्दाथ प्रहरीले बरामद गरेको छ ।

आर्थिक वर्ष ०७९र८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउनसुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लामा आर्थिक वर्ष ०७८र७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७र७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठूलो मात्रामा प्रहरीले लागुऔषध बरामद गरेको छ ।

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा र क्रुक्स क्षेत्रमा एउटा ड्रोन नष्ट गरेको जनाएको छ ।

मस्कोस्थित रक्षामन्त्रालयले युक्रेनद्वारा गए राति गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको दाबी गरेको छ । जुन रुसी सेनाले पछिल्लो १८ महिनामा अग्रस्थानमा रहेर प्राप्त गरेको ठूलो भू–भाग थियो ।

रुसले गत मे ९–१५ को अवधिमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भू–भाग नियन्त्रणमा लिन सफल भएको जनाएको छ । अध्ययन संस्थान (आइएसडब्ल्यू)काअनुसार सन् २०२२ को डिसेम्बरको मध्यदेखि हालसम्म गरिएका आक्रमणमध्ये एउटै आक्रमणबाट प्राप्त ठूलो भू–भाग हो ।

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबीच ‘सदाका लागि भाइचारा’ रहेको बताएका छन् । 

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ र अन्तर–सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गरे ।

“यो कार्यक्रम कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई समर्पित छ । पचहत्तर वर्षअघि सिर्जना गरिएको त्यस समयको एउटा प्रसिद्ध गीत जुन प्रायजसो आजसम्म गाइन्छ । यसमा एक प्रसिद्ध पङ्क्ति छः ‘रूसी र चिनियाँ सदाका लागि भाइहरू हुन्’”, पुटिनले भने । 

तासका अनुसार उहाँले रुस–चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् । “म विश्वस्त छु कि हामी सौहार्दपूर्ण रूसी–चिनियाँ साझेदारीको भ्रातृ भावनालाई बलियो बनाउने पहल जारी राख्नेछौँ”, रुसी राष्ट्रपतिले भने । 

राष्ट्रपति पुटिन आफ्नो चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुगेका छन् । रूसी राष्ट्रपतिले हार्बिनमा आठौँ रूसी–चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रूस–चीन फोरमको उद्घाटन गरे । 

रूसी राष्ट्रपतिले चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ । त्यहाँ उनले व्यापार र सहयोग फोरममा भाग लिनेछन् ।   

तासका अनुसार चीन र रुसबीचको सीमा तनावले ऐतिहासिकरूपमा ग्रस्त यस क्षेत्रले हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखेको छ, जसले दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्धलाई बढावा दिएको पाइन्छ । 

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको छ । 

गाजामा इजराइलको आक्रमणलाई लिएर जनवरीमा मुद्दा दायर गरेको दक्षिण अफ्रिकाले दक्षिणी गाजा पट्टीको रफाह सहरमा आफ्नो आक्रमणलाई लिएर थप आपत्कालीन उपायहरू खोजिरहेको छ । 

यसले हेगको अदालतमा प्यालेस्टिनी जनताले ‘निरन्तर विनाश’ को सामना गरिरहेको र रफाहमा भएको आक्रमणले ‘गाजा पूर्णरूपमा नष्ट भएको अन्तिम खेलको हिस्सा’ बताएको छ । 

दक्षिण अफ्रिकी वकिल टेम्बेका एनग्कुकाइटोबीले ‘नरसंहार’ को परिणाम निम्त्याउन सक्ने ‘स्पष्ट चेतावनी’ हुँदाहुँदै पनि इजराइलले रफाहमा आक्रमण गर्न दबाब दिइरहेको बताए ।  

सन् १९४९ को नरसंहार महासन्धि उल्लङ्घन गरेको दक्षिण अफ्रिकाको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको इजराइलले शुक्रबार जवाफ दिने अल जजिराले जनाएको छ । 

अदालती सुनुवाइको केही मिनेटअघि इजराइली रक्षामन्त्री योव गालान्टले व्यापकरूपमा आलोचना गरिएको रफाह अपरेसन जारी रहने बताए ।

आइसीजेका न्यायाधीशहरूले पहिले नै गाजामा मानवीय पीडा सीमित गर्न अस्थायी उपायहरू जारी गर्दै इजराइललाई आवश्यक पहल गर्न आदेश दिएका थिए । ती प्रावधानमध्ये इजराइलले गाजामा गम्भीर भोकमरीबाट पीडित प्यालेस्टिनीहरूलाई ढिलाइ नगरी आधारभूत खाद्यान्न आपूर्ति सुनिश्चित गर्नु थियो । 

यस महिना इजराइली सेनाले मानवीय सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दु गाजा पट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङको प्यालेस्टिनी पक्ष कब्जा गरी बन्द गरेको हो । सहायता एजेन्सीहरूले इजराइलको यो कदमले उनीहरूको सहायता सञ्चालनमा उल्लेखनीय बाधा पुर्याएको चेतावनी दिएका छन् । 

“यो मानवीय सहायताका लागि गाजाको प्राथमिक केन्द्र हो, यदि रफाह पतन भयो भने भने गाजाले पनि पतन हुन्छ”, दक्षिण अफ्रिकाले अदालतमा लिखित निवेदनमा भन्यो । 

“मानवीय सहायतालाई अवरुद्ध गर्नु प्यालेस्टिनीहरूको जीवनको अन्त्यका रुपमा हेर्न सकिन्छ । भोकमरी अनिकालसम्म पुगेको छ”, वकिल आदिला हासिमले भने ।

संसदमा कांग्रेसले असभ्य व्यवहार देखायो : अध्यक्ष ओली

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । आफु बसेको ठाँउमा कांग्रेस सांसदहरु आएर अनेक अपशव्दहरु बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए ।

उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफुमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरेका छन् ।

सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो ।

जितसँगै चार खेलमा छ अङ्क जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । पराजित बागमती प्रदेश समान खेलबाट दुई अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो । 

बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कन्चन श्रेष्ठले ७, विपिसा साहीले ४ तथा सोनी पाख्रिनले ३ रन जोडे । 

बागमतीलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमकी ऋतु कनोजियाले तीन विकेट लिइन् भने कविता जोशी र लक्ष्मी साउदले समान दुई÷दुई विकेट लिए । त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाइएको थियो । 

सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक ७४ रनको योगदान दिइन् । उनले ४७  बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी हुन् । त्यस्तै, रुवी पोदार र विन्दु रावलले समान २८/२८ रन बनाए भने कविता जोशीले अविजित २० रन बनाएकी थिइन् ।

बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन् । योजितसँगै सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भोलि हुनेछ ।

संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरु एकमत भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरू एकजुट भएको जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका थिए ।

बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति थियो । नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो ।

तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ । अब संसदीय समिति बनाउनुर्पेमा विपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा झण्डै झडपको स्थिति सृजना भएको थियो ।

प्रतिनिधिसभा बैठकको समय दुई बजेलाई सर्‍यो

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।

दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे निर्धारण गरिएको छ ।

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ / राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।

दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन् । सफल चलचित्रको सूची हेर्ने हो भने हाँस्य शैलीमा तयार गरिएका सामाजिक विषयवस्तुका चलचित्र नै दर्शकको रोजाइमा परेको देखिन्छ । केही वर्ष यता ‘जात्रा’, ‘कबड्डी’ र ‘छक्का पञ्जा’ शृङ्खलाको व्यावसायिक सफलता यसका उदाहरण हुन् । हाँस्य शैलीको बढ्दो प्रभावले प्रेम कथानक चलचित्र निकै कम बनिरहेका छन् । 

अन्य, विधामा नेपालमा चलचित्र बनाउन निर्माताले आँट नगरिरहेको बेला आउँदो बुद्ध जयन्तीलाई लक्षित गरी जेठ १० गते प्रदर्शन गरिने चलचित्र ‘फर्की फर्की’ मा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली चलचित्रमा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यसअगाडि यस्ता प्रयोग चलचित्रमा गरिएको छैन । 

विश्व चलचित्रमा भने ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए ।

उनले भने, “हामीले नयाँ विधालाई ल्याएनाँै भने एकै किसिमको मात्र चलचित्र बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग चलचित्रमा गरिएको छ ।”

‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ । चलचित्रमा माधव सिंह बस्नेतको भूमिकामा अभिनेता अनमोल केसी देखिएका छन् । 

अभिनेता केसीले यो प्रेम कथानक चलचित्र युवाका लागि आकर्षण बन्ने विश्वास व्यक्त गरे । उनले भने, “मेरो पात्रले गल्ती गरिरहँदा त्यो समयलाई पार गर्न सक्दैन । त्यही समयमा ऊ फर्की फर्की आइपुग्छ । त्यो एक किसिमको शक्ति हो । टाइम लुपका कारण चलचित्रको पात्रलाई प्रभाव पारेपछि यसले झनै रोचक बनाउँछ ।” 

अभिनेता केसीले अधिकांश प्रेम कथानक चलचित्रमै अभिनय गरेका छन् । त्यसकारण यसपटक भिन्न देखाउन केसी समहत भएका हुन् । यो उनको दसौँ चलचित्र हो । “मैले अभिनय गर्न थालेको दश वर्ष पुगेको छ । यो मेरो लागि सुरुआत नै हो । आफ्नै विधामा रहेर अबको पुस्तालाई नयाँपन दिन खोजेका हौँ”, अभिनेता केसीले भने । 

उनको पछिल्लो चलचित्र ‘छड्के २’ असफल भएपछि सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै अभिनेता केसीले आगामी चलचित्रमार्फत पुनः सुरुवात हुने घोषणा गरेका थिए । यस चलचित्रमा उनले अभिनेत्री जसिता गुरुङसँग ‘स्क्रिन शेयर’ गरेका छन् । अभिनेत्री गुरुङले चलचित्रले युवापुस्ताको प्रेम, आकर्षण र समस्यालाई चित्रण गरेको बताइन् ।

“यो चलचित्रमा अहिलेको पुस्ताको सम्बन्धमा देखाइने विषय देखाइएको छ”, उनले भनिन्, “यसले अभिभावकलाई नयाँ पुस्ता बुझ्न मद्दत पुग्ने छभने युवायुवतीलाई एकआपसको समस्या बुझ्न र सुल्झाउन मद्दत पुग्छ ।” 

रोहित अधिकारीले निर्माण गरेको चलचित्रमा अभिनेता केसी र अभिनेत्री गुरुङसँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । निर्माता अधिकारीले निर्माणका क्रममा कुनै सम्झौता नगरिएको बताए । 

उनले भने, “अहिले डिजिटल प्लेटफर्मका कारण नेपाली दर्शक विश्वका चलचित्रसँग साक्षात्कार हुनुहुन्छ । त्यसकारण हामीले यसको निर्माणमा सम्झौता नगरेर दर्शकका लागि काल्पनिक संसार बनाउने कोसिस गरेका छौँ । नेपाली बजार, प्राविधिकलाई ध्यानमा राखेर हामीले एक कदम माथि उठेर काम गरेका छौँ ।”

चलचित्रको नरेन्द्र मैनालीले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, रोमन बज्राचार्य र नरेन लिम्बूले सङ्गीत सिर्जना गरेका छन् । 

‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’

काठमाडौँ / काठमाडौँ विश्वविद्यालयका प्रा डा लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया’ रोग नभइ एक अवस्था रहेको बताएका छन् । हात्तिवनस्थित काठमाडौँ विश्वविद्यालयमा आज भएको एक अन्तरक्रियामा उनले ‘डिस्लेक्सिया’को अवस्थाबारे अध्ययन पत्र प्रस्तुत गर्दै बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउनेजस्ता लक्षण देखिने क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताए ।

यद्यपि यी लक्षण देखिनुका कारण पत्ता लगाएर शिक्षक र अभिभावकले परामर्शमार्फत उपचार गर्न सकिने उनको भनाइ थियो । उनले आफ्नो अध्ययनमा नेपालमा १० प्रतिशत विद्यार्थी डिस्लेक्सियाबाट पीडित भएको पाइएको बताए । नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा), भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(एल्टाइ) र नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा) ले गरेको दुईदिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।

प्राध्यापक मोतिकला सुब्बा देवान, लोयाल कलेज चेन्नाई भारतका डा के एस अन्टोन्सीयाम, काठमाडौँ विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा टीकाराम पौडेल, सिचुआन विश्वविद्यालय चीनका विद्यावारिधी तहका विद्यार्थी प्रशान्तकुमार विकलगायत ४० भन्दाबढी विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बुहस्तरीय विज्ञहरुको विचार विमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताए ।

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । 

विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ । शिक्षाको महत्व बुझेका र हुनेखाने वर्गका अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन् । प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन् । 

विद्यालयले गुणस्तरीय शिक्षाका लागि दश वर्षदेखि  गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो । यही मेहतनले  विसं २०७५ यता विद्यालयले राम्रो नतिजा ल्याएको छ । पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ । साना कक्षाहरुमा दुईजना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ । 

त्यतिमात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन । अभिभावकको चाहनाअनुरुप क्रमशः अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गरेपछि स्थानीयले बिस्तारै आफ्ना छोराछोरी पढाउन मात्र थालेनन्, भौतिक संरचनाको विकासमा समेत सहयोग गर्न थाले । स्थानीय समुदायकै सहयोगमा विद्यालयले जग्गा किन्यो र त्यसलाई घेराबारा लगाइयो ।  

प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठका अनुसार एउटा कक्षामा सरदर ३५ जना राखेर पठनपाठन गराइन्छ । सबै कक्षामा विद्यार्थी भरिएका छन् । कक्षा ९ र १० मा एक–एकवटा ‘सेक्सन’  थप्नुपरेको छ । “एक शैक्षिकसत्रमा जम्मा ७५ जना नयाँ भर्ना लिन सकिने अवस्था थियो तर आवेदन दुई सय ५० जनाको पर्यो । कक्षा कोठामा धेरै हुने भएकाले एक सयजना विद्यार्थीलाई भर्ना लिइयो, बाँकीलाई भर्ना गर्न सकिएन”, प्रधानाध्यापक श्रेष्ठले भने । 

भर्ना हुन चाहने सबै विद्यार्थीलाई विद्यालयमा कक्षा कोठा पुग्दैन । अहिलेको चारवटा भवनमा ३२ वटा कक्षाकोठा छन् जसमध्ये २५ वटा कोठामा कक्षा सञ्चालन गरिएको छ ।  नयाँ भवन बनाउने साधन स्रोत तत्काल जुटेको छैन । विद्यालयले खरिद गरेको एक रोपनी पाँच आना क्षेत्रफलमा संरचना बनिसकेको छ ।

त्यसबाहेकका थप जमिन विद्यालयसँग छैन । विद्यालयसँगै जोडिएको १५ रोपनी पर्ती जमिनलाई खेलमैदानका रुपमा प्रयोग गरिएको छ तर त्यहाँ विद्यालयले स्थायी संरचना बनाउन पाउँदैन । 

विद्यालयको समस्याबारे दक्षिणकाली नगरपालिका जानकार छ । त्यसप्रति नगरपालिका सकारात्मक रहेको र स्रोत साधन छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको प्रधानाध्यापक श्रेष्ठले बताए । शिक्षाको गुणस्तरकै कारण विद्यार्थीको आकर्षण धेरै भए पनि विद्यालयले थप भर्ना गर्न नसक्ने जानकारीसहितको पत्र नगरपालिकालाई पठाएको छ ।

राष्ट्रपति पौडेलद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् ।

‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।

नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक जारी

काठमाडौँ / सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन् ।

घरजग्गा कर्जामा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट बैंकले शुक्रबार समीक्षा गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने उद्घोष गरेको छ । यस्तै घर र गाडी किन्न केन्द्रीय बैंकले सजिलो बनाउने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गर्ने बताएको छ ।

यस्तै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने भएको हो ।

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ७ सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार तोलामा रु एक लाख ४० हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३९ हजार ३ सय निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला रु १ लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरे ।

“छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ”, प्रधानमन्त्री दाहालले भने, “मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धितर्फको यात्रा, सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो ।”

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोसेढुङ्गा सावित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रधानमन्त्री दाहालले छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बङ्गलादेशले समेत नेपालको बिजुली लैजाने गरी शीघ्र सम्झौता हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

विद्युत् निर्यात मात्र होइन स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको आयात घटाउँने तथा विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युत्को खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए । उनले भने, “देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।”

प्रधानमन्त्री दाहालले कुनै बेला दैनिक १६ घण्टाको चरम विद्युत् भार कटौतीको अवस्थामा रहेको मुलुक वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्दै यो अवस्था सिर्जना गर्नमा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

“अहिले निजी क्षेत्रले तीन हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्”, प्रधानमन्त्रीले भने, “यसले निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्वलाई दर्शाएको छ ।”

आन्तरिक खपत तथा निर्यातका लागि ऊर्जा उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा इप्पानको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले विद्युत् उत्पादनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

हालै तेस्रो लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसले लगानी भित्र्याउन स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लगानी प्रवद्र्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको स्पष्ट पारे । उनले निजी क्षेत्रले उठाउँदै आएका कतिपय मागहरू सम्बोधन भएको र बाँकी मागलाई समेत क्रमशः सम्बोधन गरिने बताए ।

नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रका चासोलाई सम्बोधन गरेको स्पष्ट पारे । उनले भने, “अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ ।”

संसदीय समिति गठनको मागलाई कांग्रेसले थप सशक्तरुपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागबाट पछि नहट्ने भएको छ । आज बसेको पार्टी संसदीय दल बैठकले संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

बैठकले बिहीबार संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहरसमेत गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘सम्माननीय सभामुखको पद तटस्थता र निष्पक्षताको पद हो । तर, त्यस्तो भूमिका उहाँबाट भएन । हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

उनले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग जोडदारकासाथ उठाइने बताए । लेखकले सरकार नै सहकारी ठगीमा संलग्नहरुको संरक्षणमा लागेको बताए । उनले संसदमा प्रतिपक्षी दलका सांसदहरु उभिएको बेला सत्तापक्षकै नेताहरु उभिने कुरा स्वभाविक नभएको बताए ।

नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल ।
लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी चाहन्थ्यौ । संसद लागेको आरोपको बारे कम्तीमा पनि पार्टी सभापति तथा गृह मन्त्रीले बोल्न पाउन पर्छ हाम्रो न्यूनतम अडान हो । त्यसबाट आवश्यक परे समिति सम्मको बाटोमा जान सकिन्छ भन्ने थियो ।
हिजो बिहान नेपाल काँग्रेस का तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा “मोटो समझदारी“ बनेको थियो। यही आधारमा अगाडि बढ्न सकेको भए सायद – संसदमा हिजो देखिएको “धकाला–धकाल“ को परिस्थितिमा हामी पुग्दैन थियौँ। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि “इगो“ को बाटोमा गयो।

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा –

१.⁠ ⁠सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।

२.⁠ ⁠विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने।

३.⁠ ⁠अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।

बाढीले गुल्मीमा पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्री बगाएको छ ।

बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्स्ट्रक्सनका दुईवटा टिपर, दुई वटा इस्काभेटर, जेसिबी लगायतका साधन भनभने जुरेढुङा नजिकैको पनाहा खोलामा आएको बाढीले क्षति बगाएर क्षति पुर्याएको हो । त्यस्तै बाढीले पुल निर्माणका सामानहरुमा समेत क्षति पुर्याएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ र वडानम्बर–४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढिले बगाएर क्षति पुर्याएको छ । प्रहरीले सामग्रीमा भएको क्षतिको बारेमा अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाव

नेपालगञ्ज, ४ जेठ : सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति, तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको छ । नेपालगञ्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार आयोजना गरेको ‘लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल’ विषयक अन्तक्र्रियामा ती समुदायका सहभागीले आफूहरुलाई विकासको मूलप्रवाहमा ल्याउने विषय चुनौतीपूर्ण भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्रीले अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आवश्यक भएको उल्लेख गर्दै आधारभूत मानवअधिकारको रक्षा सामाजिक पूर्वाधारको विकासबाट मात्र सम्भव हुने बताउनुभयो । हाँले लुम्बिनी, स्वर्गद्वारी, ठाकुरबाबा, बागीश्वरी मन्दिरलगायत सांस्कृतिक एवं धार्मिक स्थलको विकासमा जोड दिँदै त्यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयप्रमुख द्वारिका अधिकारीले सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई राज्यले प्राथमिकता दिएर तदनुरुप काम गर्नुपर्ने बताउनुभयो । कानुन व्यवसायी विकास आर्चायले प्रदेश सरकारले विभिन्न आयोग गठनमा विलम्ब गरेको कारण समस्या बढ्दै गएको उल्लेख गर्नुभयो ।

फातिमा फाण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले मुस्लिम समुदायमा सम्बन्धविच्छेदका विषयमा अदालतबाट फैसला आए पनि मुस्लिम परम्पराअनुसार तलाक हुन समय लाग्ने भएकाले खानपानलगायत समस्याले महिला पीडित हुने गरेकाले यसलाई सरकारले सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।

कानुन व्यवसायी वसन्त गौतम, सुनिता शर्मा, अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश प्रमुख भोला महत, दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, ज्येष्ठ नागरिक समाजका मुरारी भट्टराईले अब सार्वजनिक हुने प्रदेश सरकारको नीति कार्यक्रममा सीमान्तकृत तथा अल्पसङ्ख्यकका मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो ।

पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफि व्याट्रि गरेको विनवार्डसले १८.४ ओभरमा १३० रनमै समेटियो ।

नेपाले पहिला ब्याटिङ गर्दा अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले । यस्तै, कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रन जोडेका थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा प्रतिश जिसीले ६ रनको योगदान गरे । सन्दीप जोराले २ तथा गुल्सन झाले एक रन बनाएका थिए । सोमपाल कामीले ३ तथा अविनाश बोहोराले खाता नखोली नटआउट रहे । शुरुमै आशिफ शेखलाई गुमाएको नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारी गरेका थिए ।

विनवार्डसका निकोलस रेडहड, साडरक डेसकार्ट र डेरिन नेडले दुई दुई विकेट लिए । १८० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको विनवार्डसले सुरुआत राम्रो गरेपनि मध्यक्रम फ्लप भएको थियो । पहिलो विकेटका लागि किमानी मेलियुस र अकिम अगस्टीले ७३ रुनको साझेदारी गर्दै नेपाली बलरमाथि हावी भएका थिए । उक्त साझेदारीलाई नेपालका कुशल भुर्तेलले तोडेका थिए ।

उनले सन्दीप जोराबाट क्याच आउट गर्दै मेलियुसलाई आउट गराए । उनी २७ बलमा ५० रनको पारि खेलेर पभेलियन फर्किए । त्यसपछि खेलमा फर्किएको नेपालले अन्य खेलाडीलाई हावी हुन दिएन ।

दोस्रो सर्वाधिक रनको रुपमा अगस्टीले १८ बलमा २५ रन बनाए । उनलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच आउट गरेका थिए । लेरी एडवार्डले १४ बलमा १२ रन बनाउँदा डिलोन डगलसले ८ बलमा ११ रन जोडे ।

नेपालका गुलसन झा र कुशल भुर्तेलले तीन तीन विकेट लिए । गुलसनले ३ ओभरमा १८ रन खर्चिदा भुर्तेलले ३ ओभरमा १२ रन दिएका थिए । यस्तै, सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहोराले समान एक एक विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले अब शनिबार तेस्रो अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गर्ने छ । अमेरिकाको ह्युस्टनमा नेपालले प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो । गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संसदमा प्रस्तुत हुने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । साथै प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बिहीबार सहकारीको रकम अपचलन गरेकालाई कारबाही गर्न निष्पक्ष छानबिन हुनुपर्ने तथा संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले बैठक सञ्चालन हुन नदिने बताएका छन् । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

बिहीबार बैंठक प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न खोजेपछि सभाभित्र असहज स्थिति बनेको थियो ।

सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए । तर, प्रतिपक्षीले लामिछानेलाई रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिदा दुई पक्षका सांसदबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो । त्यसपछि कांग्रेसका सांसदहरुले नाराबाजी जारी राख्दा सभामुखले बैठक आज ११ बजे सम्मका लागि स्थगित गरे ।

पछिल्लो समय रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको बचत अपचलनबारे संसदीय छानबिन गर्न कांग्रेसले समिति गठन गर्नुपर्ने माग गरेर सदन अवरोध गर्दै आएको छ ।

तर, संसद सचिवालयले भने बैठक बस्ने नबस्ने अन्यौंलताकाबीच दुवै सदनको सम्भावित कार्यसूची बनाएको छ । यस्तै, राष्ट्रिय सभा बैठक पनि दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । 

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची छन्। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन गर्ने, कानूनमन्त्री र सञ्चारमन्त्रीले विधेयक पेश गर्नेलगायतका विविध कार्यसूची उल्लेख छन् ।

गरिमा शर्मा र विमल अधिकारी ‘रिटिङ रिटिङ’मा ….

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटीद्वारा रचना गरिएको रिटिङ रिटिङ मा बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

दीपक लिम्बु र वेनिषा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा, एरेन्ज नरेन्द्र वियोगी रेकर्डिस राजेश थापा र मास्टरिङ्ग किशोर थापाको रहेको छ भने गीत ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको थियो ।

म्युजिक भिडियो मा चर्चित कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको राम्रो अभिनय हेर्न सकिन्छ । अहिले वजारमा एकदमै चर्चित गीत यही त होनी मायापछि यही जोडीलाई लिएर म्युजिक भिडियो बनेकोमा गीत संगीत क्षेत्रका सरोकारवालाहरुबाट निर्देशक कृष्णदेव रुपाखेतीलाई धन्यवाद तथा म्युजिक भिडियो गुणस्तरमा उच्चस्तरको रहेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएका छन् ।

चर्चित कोरियोग्राफर काजिस श्रेष्ठ को कोरियोग्राफी छायाङ्कन उत्सव दाहाल भिडियो सम्पादन तथा कलर विनोद वाम मेकअप नन्दा अधिकारी सहायक कोरियोग्राफर प्रशान्त मगरको रहेको छ भने निर्देशनमा अहिलेका एकदमै व्यस्त प्रतिष्ठीत निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ ।

नेपाली ग्रामीण जनजीवनको जीवन्त कथा वस्तु र स्थानीय परिवेशलाई समेटिएको यस म्युजिक भिडियोमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन मा योगदान पुग्न सक्ने विश्वास गर्छन् गीतकार सिवाकोटी ।

सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरुवात गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले बिहीबारदेखि उक्त प्रविधिबाट सेवा थालनी गरेको हो । सो प्रविधिबाट यहाँका आँखाका बिरामीलाई तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञले ‘अनलाइन’मार्फत प्रत्यक्ष सेवा दिन सक्ने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले जानकारी दिए ।

आँखा केन्द्र प्रमुख ताम्राकारले भने, “प्रविधिको मध्यमबाट यहाँका बिरामीलाई हामी आँखाको रेटिनामा भएका समस्याहरु पनि विशेषज्ञसँग परामर्श गराइ उपचार गराउने छौँ, आँखाको नानी फुलाएर नानीको पछाडिको समस्या पनि प्रत्यक्ष देख्न सक्ने भएकाले आँखा उपचार सेवाको क्षेत्रमा सोलुले अर्को फड्को मारेको छ ।”

‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने छ ।  यस्ता समस्यालाई फोटो खिच्ने र त्यही फोटो हेरेर विशेषज्ञले सेवा प्रदान गर्न सक्दछन् ।  यसबाट फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगङ्गा आँखा प्रतिष्ठानको ‘टेलिअफ्थाल्मोलोजी’ शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने आँखा सेवा कार्यकर्ता दिनेश राईले बताए ।

विकट स्वास्थ्य संस्थामा आएका बिरामीको रिपोर्ट सिधैँ सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञले हेर्ने प्रविधिभन्दा ‘टेलिअफ्थाल्मोलोजी’ अलिक प्रभावकारी प्रविधि भएको प्रमुख तामाङले जानकारी दिनुभयो । यो विधिबाट बिरामीले प्रत्यक्ष डाक्टरसँग कुराकानी गरी आफ्नो समस्या बताउँन सक्छन् ।

यो प्रविधि हिमाल स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लु, हिमालयन क्याट्रयाक्ट प्रोजेक्टसँगको समन्वयमा प्रतिष्ठानले जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले बताए ।

उनले भने, “दुरदराजका क्षेत्रमा पर्ने यहाँका नागरिक अब आँखाको विशेषज्ञ सेवा लिनकै लागि हजारौँ खर्च गरेर काठमाडौँ जानुपर्ने दिन गए, अब हामी यो प्रविधिको माध्यमबाट बिरामीलाई प्रत्यक्ष तिलगङ्गाका आँखा विशेषज्ञसँग परामर्श गराइ उपचार गर्नेछौँ ।”

जिल्ला सामुदायिक आँखा केन्द्रले सञ्चालनमा ल्याएको यस प्रविधिले ग्रामीण भेगको दुरदराजमा रहेका बिरामीलाई काठमाडौँ पुगेर सेवा लिन पर्ने झन्झटबाट मुक्त हुने अध्यक्ष शेर्पाको बताए  ।

सभामुख आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट चुक्नुभयोः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गरी कांग्रेस महामन्त्री गगन थापाले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको भन्दै यसको जिम्मा सभामुखले लिनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले विपक्षीलाई पेलेर राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य सभामुखबाट भएको भन्दै कांग्रेसले सभामुखको पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरेको बताए ।

उनले भने, ‘आज सदनमा जे दृश्य देखियो, यो सन्दर्भमा सम्माननीय सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो निर्वाह गर्न सर्वथा चुक्नु भएको भन्ने हाम्रो ठहर रहेको छ । आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौं । त्यो रुपमा लिएका हुन्छौं ।’

उनले आफूहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताए । उनले ओलीले आफ्ना सांसदलाई आफ्ना कार्यकर्ता हो कि भनेर झुक्किएको जस्तो लागेको बताए । उनले भने, ‘एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला । नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन ।’

उनले ओलीले सदनमा मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप पनि लगाए । उनले एउटा सहकारी ठग जोगाउने पक्ष र अर्को सहकारी ठगलाई कारबाही गर्ने पक्ष सदनमा स्पष्ट देखिएको बताए ।

उनले भने, ‘यो विषयका सन्दर्भमा दुई पक्ष मात्रै छौं हामी। सहकारी ठगलाई संरक्षण गर्ने पक्षमा उभिने कि कारबाही गर्ने पक्षमा लिएर जाने भन्ने कुरा सदनभित्र भएका राजनीतिक दलले सोच्ने र निर्णय गर्ने कुरा हो।’

कांग्रेसले असंसदीय व्यवहार देखाएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप लगाएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता रघुजी पन्तले गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ भन्दा पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस सांसदले झम्टिएको आरोप लगाए ।

उनले भने, ‘सत्तापक्षका एकजना पूर्वप्रधानमन्त्री एउटा ठूलो पार्टीको दलका नेताले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरू झम्टेर जाने हो ? यो असंसदीय घटना हो ।’

उनले अध्यक्षलाई हातपात गर्न खोजेपछि जोगाउन अरु सांसद गएको बताए ।

सभामुखले पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्नु भनेको दुर्भाग्यपूर्ण होः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमालेको निर्देशनमा सभामुख देवराज घिमिरे अघि बढेको आरोप लगाएको छ । बिहीबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमाले नेतृत्वको निर्देशनअनुसार चलेको आरोप लगाएका हुन् । उनले सभामुखले संसदीय इतिहासमा सबैभन्दा अर्मयादित काम गरेको आरोप लगाए ।

उनले भने, ‘संसदीय विधिको बर्खिलाप स्वयम् त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशन बमोजिम हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीले कुनै आक्रमण नगरेको बताए । उनले कांग्रेस संसदीय मर्यादा मान्ने पार्टी भएको बताए । उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बन्नुपर्ने बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको थियो ।

नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए।

नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए । नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए । तर प्रदेश प्रमुखले दुबै दाबीलाई मान्यता नदिई पुनः दाबी पेश गर्न आह्वान गरे ।

त्यतिबेला एकीकृत समाजवादीका दीर्घ सोडारीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र प्रदेश प्रमुखले उनैलाई नियुक्ति गरेका थिए । त्यसपछि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

गृहमन्त्रीलाई सभामुखले बोल्न समय दिएपछि संसदमा तनाव (भिडियोसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा धकेलाधकेल समेत भएको थियो ।

त्यसक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच घोचपेचसमेत चलेको थियो । एमाले र कांग्रेसका सांसदहरू आक्रोशित बनेका थिए । अवस्था तनावपूर्ण बन्ने देखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो । यो बीचमा समय समयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गरे पनि टुंगोमा नपुगेको हो ।  कांग्रेसको नाराबाजीपछि सभामुखले शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

https://youtube.com/watch?v=MDpyhehhvfs%3Fsi%3DatWfiadY2zFubW_r

सुडानमा खाद्यसङ्कट पर्ने  राष्टसङ्घीय अधिकारीको चेतावनी

संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् ।


  “ सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै गएको छ”, डब्ल्युएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले सुडानको भ्रमणपछि राष्ट्रसङ्घीय न्युज सेन्टरले केन्द्रले उनलाई उदृत गर्दै भनेको छ, “हामीलाई पहुँचको स्तरमा आदर्श परिवर्तनको आवश्यकता छ, अन्यथा हामीले सुडानमा विपत्ति देख्नेछौँ ।”


स्काउले गम्भीर खाद्य असुरक्षाबाट पीडित अनुमान गरिएका एक करोड ८० लाख सुडानीमध्ये डब्ल्युएफपी २५ देखि ३० प्रतिशतसम्म मात्र पुग्नसकेको बताए ।


उनले सुडानमा नागरिकहरूको सुरक्षा गर्न र मानवीय प्रतिक्रियालाई सुदृढ पार्न ठोस कूटनीतिक प्रयास र थप स्रोतहरू तत्काल आवश्यक रहेको बताए ।  


डब्ल्युएफपीका अनुसार सुडानमा कम्तीमा ५० लाख मानिस भोकमरीको सँघारमा छन् । तीमध्ये अधिकांश गत वर्ष अप्रिलमा सुरु भएको द्वन्द्वबाट प्रभावित क्षेत्रहरू डार्फर र कोर्डोफान क्षेत्र र राजधानी खार्तुमका रहेका छन् ।


डब्ल्युएफपीले द्वन्द्व दोस्रो वर्षमा प्रवेश गरेसँगै सुडानले विश्वको सबैभन्दा खराब भोकमरी र सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिएको छ । 


संयुक्त राष्ट्रसङ्का अनुसार सुडानको आधा वा करिब दुई करोड ५० लाख जनसङ्ख्यालाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । करिब एक करोड ८० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।


सुडानले सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच घातक झडपको सामना गरिरहेको छ ।  झडपका कारण हालसम्म १५ हजार पाँच सय ५०  व्यक्तिको ज्यान गएको छ । यसैगरी ८७ लाख जनता विस्थापित भएको अनुमान राष्ट्रसङ्घीय मानवीय मामिला समन्वयको कार्यालयले गरेको छ  ।  

डा. केसीले तोडे अनसन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा लगायत माग राखेर अनसन सुरु गरेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् । डा. केसीले वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीमा अनसन थालेका थिए ।

अनैतिक शासनहरुको अगाडि नैतिक याचना फगत रुपमा देखिएको भन्दै डा. केसीले अनसन तोडेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।

ललितपुर मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो । जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ ।

सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३२ रन बनाइन् । त्यस्तै रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाइन ।

बलिङतर्फ सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, ऋतु कनोजिया र कप्तान विन्दु रावलले एक–एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ११ रनको योगफल बनायो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन् । कविता जोशीले अविजित २९ तथा रुवि पोदारले २९ रन बनाइन् ।

बलिङतर्फ एपिएफका रेखा रावल र इन्दु बर्माले एक एक विकेट लिए । पाँच टोली सहभागी उक्त प्रतियोगिताका शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय सभाको बैठकमा कांग्रेसको अवरोध, ४ गतेसम्मको लागि बैठक स्थगित

काठमाडौ । राष्ट्रिय सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । आज अपरान्ह बैठक सुरु भएलगत्तै प्रतिपक्षी कांग्रेसले बैठक अवरोध गरेको हो । अर्को बैठक २०८१ जेठ ४ गते शुक्रबार दिनको १ः१५ बजे बस्नेछ ।

नेपाली कांग्रेसले संसदमा अवरोध जारी राख्ने

काठमाडौं । नेपाली कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ । सरकार संसदीय समिति गठन सहमत नभएपछि कांग्रेसले सदन अवरोध जारी राख्ने भएको हो । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको थियो ।

तर दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि नेपाली काँग्रेसले भने अनुरुपको संसदीय छानबिन समिति सरकार तयार नभएपछि काँग्रेसले अवरोध कायम राख्ने भएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएको जानकारी दिए । जसका कारण आफूहरुले सदन अवरोध जारी राख्ने बताए ।