`

तिब्बतसँग जोडिएको टिपतालामा पहिलो पटक पुगे नेपालतर्फका गाडी

Nepal One HD ४ जेठ २०८१ २०:०६
प्रमुख खबर

ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् । 


चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । 


टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्रयाक खोल्ने कार्य यसअघि नै सकिएको थियो ।


सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्रयाक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।  


सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन । 


प्रतिक्रिया