`

खार्किभ शहर तत्काल कब्जा गर्ने रुसी योजना छैनः पुटिन

Nepal One HD ५ जेठ २०८१ १०:२८
विश्व

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा रुस नरहेकोे दाबी गरेका छन् । रुसको आफ्नै सुरक्षाका निम्ति सुरक्षित क्षेत्र बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वोत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेको उनले बताए । युक्रेनले सीमावर्ती कैयौँ गाउँ रुसी कब्जामा पुगेको जनाएको छ ।

गत साता सो क्षेत्रमा रुसले हमला थालेको थियो र रुसी सीमानजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा कैयौँ दिनदेखि भीषण लडाइँहरू भइरहेका छन् । सो क्षेत्रका तीनवटा युक्रेनी प्रतिरक्षा पङ्क्तिमध्ये रुसी फौजहरू पहिलोसम्म मात्रै पुग्न सकेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

युक्रेनी उच्च कमान्डरले पनि जेलेन्स्कीले जस्तै दाबी गर्दै सो क्षेत्रमा “शत्रुहरूले सक्रिय लडाइँ क्षेत्र करिब ७० किलोमिटरसम्म विस्तार गरेको” बताएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लडाइँअघि करिब १४ लाख जनसङ्ख्या भएको खार्किभ रातभरि रुसी ड्रोन हमलामा परेको थियो।


प्रतिक्रिया