`

ट्राफिक प्रहरी जवान घिमिरेको हत्याका आरोपी सार्वजनिक

Nepal One HD ६ जेठ २०८१ १३:२७
अपराध

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो ।

उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको हो ।

खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ। स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो।

घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । अनुसन्धानका क्रममा लुटपाट, महिलासँगको विवाद लगायतका कारणले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको राजौरेले बताए ।


प्रतिक्रिया