`

मधेस प्रदेशमा गल्फ मैदान तयार

महोत्तरी । मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो ।

बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गरेका छन् । त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।

उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले पदक प्रदान गरेका थिए ।

अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल ट्रेड यूनियन महासङ्घले शनिबार आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए ।

वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार केही शक्तिलाई मननपरेको टिप्पणी गर्दै अध्यक्ष उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए ।

‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयासप्रति माओवादी केन्द्रको सहमति छैन । हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने अधिकार कसैलाई छैन ‘ उनले भने ।

इमान्दर भएर संविधान संशोधनको प्रयास भएमा आफूहरु त्यसका लागि तयार हुने पनि उनले स्पष्ट गरे । अग्रगमनका लागि संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई नै भएको उनको कथन थियो ।

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक भएको उनले बताए ।

‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो’ अध्यक्ष दाहालले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र सङ्घमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउनेतर्फ लागेको देखियो । भ्रष्टाचारको मुहान सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’

करोडौँ खर्च गरेर सांसद र मन्त्री बन्ने अभ्यासप्रति विमति जनाउँदै अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरु कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्र भ्रष्टाचार रोक्न सकिने उनको तर्क थियो ।

आफूहरु अनियमिताविरुद्ध खबरदारी गर्दै सरकारबाट बाहिरिएको र सरकारमा रहँदा भ्रष्टाचारका खिलाफ एकपछि अर्को अभियान चलाएकाले नै माओवादी केन्द्रप्रति जनभरोसा बढेको बताए ।

उनले मजदूरको तर्फबाट पार्टी नेतृत्वमा १० प्रतिशत प्रतिनिधित्व, श्रमिकको न्यूनतम ज्याला वृद्धि, श्रम ऐन संशोधन, सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने, महङ्गी भत्तालगायत मजदुर सङ्गठनका माग जाजय भएको र पार्टीबाट पूरा गर्न सकिने जति पार्टीबाट र सरकारबाट गर्नुपर्ने कामका लागि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको अन्तर्य समाजवादी क्रान्तिको तयारी नै भएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिबाट मात्र मजदुर, किसानलगायत श्रमिक वर्गको हितको रक्षा हुने बताए ।

पोखरामा एक महिनामा डेङ्गी सङ्क्रमण ६ गुणाले वृद्धि

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो ।

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेङ्गी रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए ।

“पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेङ्गी रोकथाम चुनौतीपूर्ण छ ।”

गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेङ्गीका कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।

स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गी रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए ।

प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने बताउनुभयो । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताए ।

“डेङ्गीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उनले भने, “डेङ्गी भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।”

डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनले बताए । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए ।

डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।

डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए । डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ ।

डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए ।

कास्कीमा हालसम्म चार हजार पाँच सय ५२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौ÷नौजना र माछापुछ«े गाउँपापलिकामा ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं। चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेका छन्

यसक्रममा आज चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् ।

नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुनबार आयोजित कार्यक्रममा चन्द्रागिरि –१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गर्दै बालश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको र घोषणा पछिको दिगोपनमा काम गर्नुपर्छ भने ।

बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए। उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् ।

यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा १० का वडाध्यक्ष शिवकुमार महर्जन , नगरपालिकाका विषयगत शाखाका प्रमुख ,नवज्योती महिला समूह, विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले ‘बालश्रममुक्त वडा’पछिको दिगोपनका लागि स्थानीय पालिका, संघसस्थाको सहकार्य आवश्यक रहेको र यसका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए।

अवसरमा चन्द्रागिरि –१० का वडाध्यक्ष महर्जनले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पुर्याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दिगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिए। चन्द्रागिरि –१० का वडा सदस्य भेषनाथ उपाध्यायले समृद्ध वडा बनाउन विभिन्न काम भैराखेको बताए।

यस अगाडि बाजागाजा सहितको निस्केको र्‍याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , १० नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रतिनिधि, विषयगत समिति, विद्यालय, बालक्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, सङ्घसंस्था तथा सरोकारवालाहरु बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्धछौ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गरेका थिए ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ ।

ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस

काठमाडौँ । विश्वका विभिन्न मुलुकका राजधानीस्थित नेपाली नियोगमा संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएका समाचार आज पनि प्राप्त भएका छन्।

राष्ट्रिय दिवसका अवसरमा शुक्रबार ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियास्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका ती नियोगले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन्।

ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङगठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आतिथेय मुलुकका उच्च पदस्थ अधिकारी, नेपालका मित्र, कामको सिलसिलामा त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाली तथा त्यहाँ सेवारत विभिन्न देशका कूटनीतिकज्ञको उपस्थितिमा स्वागत समारोह आयोजना गरेका थिए।

राजदूत भण्डारी, ओली, सुवेदी र काफ्लेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्थिक-सामाजिक उन्नयनका निम्ति प्रवासी नेपालीले पनि सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्ने तथा ज्ञान र प्रविधि हस्तान्तरणमा सघाउन आह्वान गरेका थिए।

उत्पादन बढेपछि बागलुङका आठ स्थनीय तहमा अलैँची जोन’

बागलुङ । बागलुङका आठ स्थानीय तहलाई समेटेर ‘अलैंची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले तथ्याङ्क सङ्कलन गर्न थालेको हो ।

साविकमा भएका ११ अलैंची पकेट र दुई अलै‌ची ब्लकलाई स्तरवृद्धि गरेर अलै‌ची जोन स्थापना गर्न सर्वेक्षण थालिएको हो । जिल्लामा अलैँचीको सम्भावना बढी भएकाले यहाँका किसानले ब्लक र पकेटमार्फत उत्पादन गरिरहेका परियोजनाका प्रमुख नारायण पौडेलले जानकारी दिए । ब्लक र पकेटलाई स्तरोन्नति गरी जोनमार्फत उत्पादन वृद्धि गर्ने उद्देश्यले सर्वेक्षण थालिएको उनले बताए ।

पकेट र ब्लक बाहेकका किसानले पछिल्लो समय अलैँची उत्पादन गर्न थालेको पाएपछि जोन स्थापनाको पहल थालिएको पौडेलले उल्लेख गरे ।

बागलुङका १० मध्ये आठ स्थानीय तहका केही वडालाई समेटेर तीन हजार हेक्टर क्षेत्रमा अलै‌ची खेती पुर्‍याउने उद्देश्य राखिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा अलै‌ची जोन स्थापनाका लागि एक करोड दुई लाख बजेट समेत विनियोजन भएको छ ।

जिल्लाको ताराखोला, काठेखोला, बरेङ र बडिगाड तथा जैमिनी र गलकोट नगरपालिकाका साथै निसिखोला गाउँपालिका र बागलुङ नगरपालिकाका केही वडालाई समेटेर जोन स्थापना गरिने परियोजनाका प्रमुख पौडेलले बताए । जिल्लाको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका बाहेकका आठ स्थानीय तहका ३० वडामा यो कार्यक्रम लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘साविकका ब्लक र पकेटलाई स्तरवृद्धि गर्दै नयाँ क्षेत्र विस्तार गर्नका लागि बागलुङमा तीन सय हेक्टरमा अलैँची जोन बनाउन थालिएको छ, क्षेत्रलाई बढाएर पाँच सय हेक्टर पुर्‍याउन पर्वतको केही क्षेत्र समेत विस्तार गर्न आवश्यक छ’, पौडेलले भने, ‘जोनले पुरानो अलै‌ची बगैँचा व्यवस्थित गर्ने, बिरुवा उत्पादन गर्ने र नयाँ क्षेत्र विस्तार गर्नेदेखि सिँचाइ सुविधा र उपकरण वितरण गर्नेछ ।’

अलै‌चीको उत्पादन र बजारीकरणको अवस्था विस्तारै सुधार हुँदै गएकाले आलु जोन, बाख्रा जोनसँगै अलैँची जोन स्थापना गर्न लागिएको परियोजना कार्यालयले जनाएको छ । हाल जिल्लामा ४० मेट्रिक टन अलैँची उत्पादन भइरहेकामा उत्पादितमध्ये अधिकांश भारत निर्यात हुने गरेको छ ।

अलैँचीको बजार मूल्य भने एकनासको नभएको किसान बताउँछन् । अलैँचीमा डढेलो रोगको संक्रमण बढिरहेको समयमा जोन कार्यक्रमले सहजता हुने ताराखोलाका अलै‌ची किसान कुलबहादुर घर्तीमगरले बताए । उनले अहिले ११ रोपनी जग्गामा अलै‌ची खेती गरिरहेको जानकारी दिए ।

भारतीय व्यापारी अलैँची खरिद गर्न गाउँ आउने गरेका छन् । व्यापारीले प्रतिकेजी न्यूनतम रु एक हजार पाँच सयदेखि रु दुई हजार पाँच सयमा सुकेको अलै‌ची खरिद गरेर लैजाने गरेका किसान बताउँछन् ।

अलै‌ची पर्याप्त उत्पादन गर्न सके बजारको चिन्ता नरहेको किसानको भनाइ छ । अलै‌चीको समस्या निराकरण गर्ने, बगैँचा विस्तार गर्ने, सिँचाइको व्यवस्था मिलाउने, दाना सुकाउन आधुनिक भट्टी निर्माणलगायत काम गर्ने लक्ष्य परियोजनाले राखेको छ । 

५२ करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी। मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न  ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।

‘जनताको तटबन्ध’ कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर श्रीप्रसाद शाहका अनुसार ती दुवै नदीमा १२ चरणमा निर्माणाधीन १२ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीले ती दुवै नदीमा फरकफरक चरणमा तटबन्ध निर्माण गरिरहेकोमा सबै चरणको काम सकिन लागेको उनले जानकारी दिए।

इञ्जिनियर शाहले ठेकेदार कम्पनीसँग गत आर्थिक वर्षभित्रै तटबन्धको काम सम्पन्न गर्नेगरी सम्झौता भएकामा वर्षाका समयमा निर्माण सामग्री ढुवानीमा समस्या भएपछि केही ढिलाइ भएको बताए।

तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर, सोही नदीको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर, मोहना नदीमा पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

धनगढी–१३ स्थित श्रीलंकामा चार सय ३० मिटर, कृष्णपुर नगरपालिका–१, मोहना नदीमा छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयका इन्जिनियर शाहले जानकारी दिए।

गोदावरी नगरपालिकाको अर्जुन टोलमा खुटिया नदीमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण सकिन लागेको कार्यालय प्रमुखसमेत रहनुभएका सिनियर डिभिजनल इन्जिनियर शाहले बताए ।

उनले गोदावरी नगरपालिकाको धनचौरीमा एक हजार मिटर र धनगढी–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण केही दिना सम्पन्न हुने जानकारी दिए। वर्षायाममा मोहना र खुटिया नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको छ ।

अरनिको राजमार्ग विस्तारका लागि जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या

काभ्रे । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ। जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो।

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ। उक्त क्षेत्रमा करिव चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो।

सडक आयोजनाले जग्गा अधिग्रहण गर्न प्रक्रिया थालेपछि जग्गाधनीले प्रतिआना जग्गाको मूल्य रु ६५ लाख मागेपछि थप अन्योलता भएको छ। आयोजना भने जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने गर्ने कि अहिलेकै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा अन्यौलमा भएको छ।

आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले भने, ‘सवारीको गति बढाउने उद्देश्यले सडकको मोडसुधार गर्न ती स्थानको जग्गा अधिग्रहण गर्न कठिन देखिएको छ।’

उनका अनुसार जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग दुईपटक छलफल गर्दा समेत कुनै समाधान निस्किएको छैन।  उनका अनुसार जग्गाधनीको मागअनुसार आयोजनाले अधिग्रहण गर्न सक्दैन।

हाल प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नती भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको प्राविधिक खनालले बताए।

मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना रु १२ लाख ५४ हजार छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रति आना  १० लाख ६६ हजार कायम भएको छ। सरकारी मूल्याङ्कनअनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेका हुन्।

यसैबीच आयोजनालाई हाल यस साँगा–धुलिखेल सडकखण्डअन्तर्गत आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको पाइएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनालाई विवरण उल्लेखित पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गधारा व्यवस्थित एवं स्थानान्तरणमा समस्या देखिएको हो।

यस्तै, भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन्। यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन्।

आयोजनालाई बाँकी ७ स्थानमा रहेका आठ सम्पदाको संरक्षण, ब्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ‘डिजाइनन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने जनाइएको छ। आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले उक्त सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेको बताए।

उनका अनुसार साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल थालिने छ।

यस्तै, नासिका मन्दिरको कम्पाउण्ड वाल संरक्षण गरी ‘वान–वे’ सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ। स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका छन्।

सडक विभागका अनुसार विस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको थियो।

विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधि ३६ महिना हो। दुई लेनबाट ६ लेनका लागि विस्तार कार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्ड दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुनेछ।

मणिपुरमा म्यानमाबाट सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेका भन्दै सीमा क्षेत्रमा उच्च सतर्कता

मणिपुर । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको खबरपछि भारतको उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।

पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमाका आदिवासी जनसङ्ख्यासँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको छ जहाँ सन् २०२१ मा सत्ता कब्जा गरेदेखि दर्जनौँ सशस्त्र समूहहरूले सेनासँग लडिरहेका छन् ।

मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदिप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतङ्कवादीहरूले सम्भावित सीमा पार गरेको सुचना प्राप्त गरेको पुष्टि गरेका छन् ।

सिंहले सीमा चौकीलाई “सतर्क” गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा “कम्बाइङ अपरेसन” सञ्चालन गर्ने बताए ।

महिनौंको सापेक्ष शान्तिपछि, यस महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

गत हप्ता मेइतेई प्रदर्शनकारीहरूले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहराउदै उनीहरु विरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि तनाव चलिरहेको छ ।

सरकारी तथ्याङ्कअनुसार दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् भने कम्तिमा दुई सय जनाको मृत्यु भएको छ ।

बेरुतमा भएको इजरायली आक्रमणमा हेजबुल्लाह कमान्डरको मृत्यु

बेरुत । लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाउदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।

सन् १९८३ मा बेरुत स्थित अमेरिकी दूतावासमा भएको विस्फोटमा संलग्न भएको आरोपमा अमेरिकाले खोजिरहेका इब्राहिम अकीलले इरान समर्थित उग्रवादी समूहको नेतृत्व गरिरहेका थिए ।

हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेता को रूपमा प्रशंसा गरेको छ ।

एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको केही समयपछि विभिन्न उपकरणको साथ खोजी कार्यमा तल्लिन रहेको देखाएको छ ।

गाजामा युद्ध सुरु भएदेखि हेज्बुल्लाहका वरिष्ठ कमाण्डरको हत्याको भएको यो दोस्रो घटना हो । गत जुलाईमा भएको आक्रमणमा शीर्ष अपरेसन प्रमुख फुआद शुक्रको ज्यान गएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले यस घटना लगायत बढ्दो तनावका बारेमा चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् ।

इजरायली सेनाले अकीललाई लक्षित गरी आक्रमण गरेको जनाएको छ, जसमा अन्य दश जना वरिष्ठ कमान्डरहरुकोसमेत मृत्यु भएको छ ।

हेज्बुल्लाहको नजिकको एक स्रोतका अनुसार अकील घटनाको क्रममा “कमान्डरहरूसँगको बैठकमा थिए ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य ६६ जना घाइते भएको जनाउदै मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गरेको छ ।

दूतावासमा विस्फोटको नाइकेका रूपमा वर्णन गर्दै अमेरिकाले अकीलको बारेमा जानकारी दिनेलाई सात मिलियन डलर पुरस्कारको प्रस्ताव गरेको थियो ।

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् । यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम–ठिनी–नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताए।

“गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,” उनले भने “यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।”

म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायीहरू जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन् । यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास (झञ्जयाङ) पार गर्नुपर्छ । होटल र रेष्टुरेष्टको सुविधा नभएकाले आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ । जोमसोमदेखि दुई घण्टा सवारी साधन र छ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ ।

मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसैहप्ता तिलिचो भ्रमण गरेर फर्किएका म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका तुलन बुढामगरले बताए। “उकालो हिडाइको थकान तिलिचो पुगेपछि वरपरका हिमालको बीचमा रहेको निलो र निश्चल तालको दृश्य अवलोकन गर्न पाउँदा मेटियो,” उनले तिलिचो यात्राको अनुभव सुनाए ।

आर्थिक वर्ष २०८०/०८१ मा घरपझोङ गाउँपालिकाले विभिन्न शीर्षकमा ५० लाख बजेट विनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख खर्च गरेको छ ।

घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप  २८ लाख ५८ हजार बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिए ।

झोर खोलादेखि –नमखुलेंक खर्क–निलगिरि आइसफल– छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताए । एक्याप मार्फत पाँच हजार १२० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको वरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिए।

जोमसोम–तिलिचो पदमार्गमा सूचनामूलक साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, विशेषता, स्थान र उचाइको जानकारीलगायत पर्यटक लक्षित जानकारीमूलक होर्डिङ बोर्ड र साइन पोष्टिङ राखिएको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् ।

सोह्र श्राद्धमा मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।

यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा वृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्”, उनले भने, “पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।”

मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए ।

प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको भन्दै उनले यहाँ आएर कागबेनी श्राद्ध गरी मुक्तिनाथ भगवान्को दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताए ।

मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रूपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रूपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ ।

समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनेलाई धार्मिक महत्वका रूपमा हेरिन्छ ।

पछिल्ला समयमा पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रम बढिरहेको होटल व्यवसायी जयेश गुरुङले बताए । उनका अनुसार अहिले रानीपौवा क्षेत्रमा साना तथा ठूला गरी ३२ होटेलले सेवा दिइरहेका छन् ।

सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उनले बताए । साढे चार चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो ।

ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का स्थानीय उमादेवी भट्टराईले अनुभव सुनाइन् । पछिल्ला वर्षमा बन्दै गएका सुविधा सम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।

यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेछन् । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरेछन् ।

सोही अनुरोधकै आधारमा सुवर्णप्रभाको निर्देशनमा मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिएको हो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो ।

रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् ।

मुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै यहाँको विविधता र हिमाली जीवन अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको जनप्रीय युवा क्लब ठिनी मुस्ताङका उपाध्यक्ष निरज थकालीले बताए ।

मुस्ताङमा सुविधा सम्पन्न होटेलसँगै ठाउँठाउँमा घरवास सुविधा पनि उपलब्ध भएको जानकारी दिँदै उनले केही दिन यता ठिनीस्थित थकाली सामुदायिक होमस्टे पर्यटकले भरिभराउ हुने गरेको बताए ।

हिमाली संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्न सक्ने गरी होमस्टेले पर्यटकलाई लोभ्याइरहेको बताउँदै उनले परम्परागत हिमाली संस्कृतिमा आधारित घरसँगै यहाँ नजिकै रहेको हिमचितुवा गुफाले पर्यटकलाई लोभ्याइरहेको जानकारी दिए । स्थानीयले हिमाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ थकाली सङ्ग्रहालय पनि सञ्चालनमा ल्याएका छन् ।

ठिनीको पर्यटनसँग हिमचितुवा गुफालाई जोड्ने प्रयास गरिएको बताउँदै उनले यसको पूर्वाधार व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको बताए ।

“सोह्र श्राद्धका कारण मुक्तिनाथ आउने पर्यटकसँगै यस क्षेत्रको अवलोकनका लागि उपयुक्त समय भएका कारण मुस्ताङभित्रने पर्यटकको संख्या बढ्दो क्रममा छ”, उनले भने, “यही असोज १ गते बाट स्याउ टिप्न पनि खुला भएकाले यहाँ आएका पर्यटकले स्याउ कोशेलीका रूपमा लैजान सक्नेछन् ।”

माओवादी घटकलाई एकताको प्रक्रियामा आउन प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन् ।

‘सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन’, शहिद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार सम्बोधन गर्दै उनले भने, ‘ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौ ।’

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’ का शहिदलाई राष्ट्रिय शहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत उनले स्मरण गरे ।

सरकारमा रहँदा जनयुद्धका शहिद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेख गर्दै उनले विगतमा भएका निर्णय कार्यान्वयन गराउन सबैले दबाव दिनु आजको आवश्यकता भएको बताए ।

‘हाम्रा हजारौ शहिद नै हाम्रा शक्ति हुन्, उनीहरुको सपना पूरा गराउन लाग्नु आजको हाम्रो प्रमुख कार्यभार हो, हामी एकीकृत र केन्द्रीकृत हुने बित्तिकै हाम्रो शक्ति थप मजबूत हुन्छ, ढिलो नगरी छिट्टै एकताबद्ध भएर ठाँउमा केन्द्रीतकृत होऔं’, अध्यक्ष दाहालले भने ।

उनले ठूलो प्रयासपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्मा पारित भई राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको स्पष्ट पार्दै अब आयोग गठनको प्रक्रिया अगाडि बढेको बताए । आयोगमा उपयुक्त व्यक्ति छनोटका लागि दबाव दिनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ ।

विस्तृत शान्ति सम्झौता, विगतमा भएका अन्य सहमति तथा सम्झौताका आधारमा पनि माओवादी एउटा पक्ष भएकाले कोही कसैले पनि बाहेक गर्न नसक्ने उनको कथन छ । संघीय संसद्मा आफ्नो पार्टीको सिट सङ्ख्या कम भएको भनेर हिनाताबोध नगर्न र कमजोर महशुस नगर्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे ।

उनले प्रतिष्ठान मातहत हाल देशभर पाँच विद्यालय सञ्चालनमा रहेको र त्यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनले प्रतिष्ठान मातहतमा रहेर कृषि, उद्योग तथा अन्य उत्पादनमूलक काम गर्नेतर्फ पनि आवश्यक पहल गर्न आग्रह गरे ।

माओवादी घटकबीचको साझा संस्थाका रुपमा रहेको प्रतिष्ठानलाई थप विस्तार गरेर जनताको पक्षमा काम गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष दाहालको जोड थियो । कार्यक्रममा नेकपाका नेता एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले शहिदको सपना साकार पार्न इमान्दार प्रयासको जरुरी रहेको बताए ।

लेबनानमा उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी

संयुक्त राष्ट्र सङ्घले लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।

इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र बुधबार भएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब ३ हजार जना घाइते भएका थिए ।

’पेजर’ र ’वाकी–टकी’ विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।

“अन्तर्राष्ट्रिय मानवीय कानूनले स्पष्ट रूपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्दछ”, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले अल्जेरियाले अनुरोध गरेको लेबनानमा आपतकालीन सत्रमा सुरक्षा परिषदमा भने ।

“नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो”, उनले “स्वतन्त्र र पारदर्शी” अनुसन्धानका लागि आफ्नो आह्वान दोहोर्याउँदै भने ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् र लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि बुबी–ट्रयाप जडान गरिएको बताएका छन् ।

हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान सुरु गरेको छ।

सुरक्षा परिषद्मा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको अभूतपूर्व तरिकाको रुपमा व्याख्या गरेका छन् ।

“इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानूनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ”, उनले भने । इजरायलले उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताए । उनले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् ।

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक मतदान

श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत संग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका थिए ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपति विरूद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए भने विक्रमासिङ्घेले सङ्कटका समयमा देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनु पहिलेको अवस्थामा पुर्याएका छन् ।

विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आइएमएफको बेलआउटको सर्तहरू प्राप्त गर्दा नागरिकहरू उनीसँग खुशी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । उनी सङ्कटका समय नेतृत्व गरेको र देशलाई थप वर्वादीमा जानबाट  रोक्न सकेकोमा आफू विजयी हुनेमा आशावादी छन् ।

चुनावमा विक्रमसिङ्घेले अनुरा कुमार दिसानायका लगायतका शक्तिशाली सीमान्त मार्क्सवादी पार्टीका नेतासंँग कसिलो प्रतिस्पर्धा गर्नुपर्ने आँकलन गरिएको छ ।

विज्ञहरूका अनुसार श्रीलङ्काको अर्थतन्त्र अझै पनि कमजोर छ । यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिवद्धता अनुसार फेरि आएको छ ।

विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताएका छन् ।

“निर्वाचन धेरै हदसम्म विक्रमासिङ्घेको सरकारले कसरी आर्थिक सङ्कट र आगामी सुधारलाई ह्यान्डल गरेको छ भन्नेमा जनमत सङ्ग्रह हुनेछ,” अन्तर्राष्ट्रिय सङ्कट समूहले यस हप्ताको एक रिपोर्टमा भनिएको छ ।

चुनावमा जम्मा ३९ जना उम्मेलवारले प्रतिस्पर्धा गरिरहेका छन् । चुनावमा एक करोड ७० लाख भन्दा बढी मानिसहरू मतदान गर्न योग्य छन् । मतदान केन्द्र तथा गणना केन्द्रहरूको सुरक्षाका लागि ६३ हजार भन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

चुनाव अवधिमा कुनै पनि समस्या भएमा सुरक्षा टोलीहरू पनि तयार रहेको जनाउदै हाल सम्म शान्तिपूर्ण रुपमा मतदान भइरुहेको प्रहरी प्रवक्ता निहाल तल्डुवाले बताए ।

यसैबीच केही क्षेत्रका मतदान केन्द्रमा जङ्गली जनावरबाट सुरक्षित आभास गराउन प्रहरी परिचालन गर्नुपरेको उनले बताए ।

कोलम्बोमा मतदान सुरु हुनु अघि दर्जनौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध थिए भने राजधानीमा कडा सुरक्षाको व्यबस्था मिलाइएको छ ।

मतदान स्थानीय समय अनुसार बेलुका चार बजे सम्म चल्ने र गणना शनिवार साँझ देखि नै सुरु हने जनाइएको छ । आइतबार नतिजा आउने अपेक्षा गरिएको छ

घटस्थापना अघि नै सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।

बैठकले बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेश÷फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो ।

साफ यु–१७ च्याम्पियनसिपमा भारतद्वारा बंगलादेश पराजित

थिम्पू । साफ यु–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जित दर्ता गरेको हो । यो समूहमा मालदिभ्स पनि रहेको छ ।

पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जीत निकालेको हो । खेलभरि नै बंगलादेशको उत्कृष्ट रक्षात्मक पंक्तिसँग संघर्ष गरेको भारतले अन्ततः इन्जुरी समयको पहिलो मिनेटमा डिफेन्डर सुमित शर्माको हेडरबाट गोलको खडेरी तोडेको थियो ।

भारतका मुख्य प्रशिक्षक इश्फाक अहमदले खेलको ७८औँ मिनेटमा मैदानमा पठाएका परिवर्तन खेलाडी मानभकुपर मालन्गियाङले खेलको निर्णायक गोलका लागि सहयोग गरेका थिए ।

उनको दायाँपट्टिबाट गरिएको क्रसले बंगलादेशका डिफेन्डरहरू झुक्किएका बेला सुमित शर्माले हेडर गोल गरेका थिए । भारतले आफ्नो समूह चरणको अन्तिम खेल मालदिभ्सविरुद्ध खेल्ने छ ।

पराजित भएको बंगलादेशले पनि अब मालदिभ्ससँग खेल्ने छ । शुक्रबारदेखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले भने शनिबार पाकिस्तानसँग खेल्ने छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छ ।

रविले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गरेः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको बताएका छन् ।

शनिबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएको बताए ।

सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको भन्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा रविले भ्रष्टाचार गरेको पाखरेलले बताए ।

उने भने, ‘गोरखा मिडिया प्रालिमा रविले विनालगानी १५ प्रतिशत शेयर भएको स्वीकार गरेका छन् ‘विनालगानी शेयरधनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । विनालगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु गलत भएको बताए । उनले भने, ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन ।’

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै  एक अर्बले राजस्व बढेको जानकारी दिए। गत आवको भदौसम्म  ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात्  २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो ।


प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए ।

‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ’, उनले भने ।

भन्सार विभागले गत साउनमा  १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि  १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा  १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो ।

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गतराति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेका बेला चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए । चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको उनले जानकारी दिए । बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल रहेको जनाइएको छ ।

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन्, ‘महिला समानता तथा समावेशी सहभागिताबारे कयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरू पनि विकास भएका छन् । तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।’

लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा राणाको तर्क थियो ।

‘संसारमा महिला वर्गको राजनीतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकार प्रमुखहरू महिला छन् । महिलाहरू रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणाभन्दा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्’, परराष्ट्रमन्त्री डा राणाले भनिन् ।

कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उनले बताइन् । उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानुनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिइन् ।

‘मानव अधिकारसम्बन्धी विश्व घोषणापत्रले समान अधिकारको घोषणा गरेको ७६ वर्ष बितिसकेको छ । त्यसयता चारवटा संयुक्त राष्ट्रसङ्घीय सम्मेलन र महिलाका लागि कार्य योजना, सहस्राब्दी विकास लक्ष्यहरूको परिचय र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम तथा छ वटा लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम लागू भइसकेका छन्’, मन्त्री डा राणाले भनिन्, ‘यति हुँदा पनि लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ । मलाई लाग्छ संसारकै महिला अझै पनि समान सहभागिता र अवसरबाट बञ्चित नै छन् ।’

उनले नेपालमा पनि आफूहरूले निरन्तर रूपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण सो बैठकमा पेस गरिन् । जसका कारण नेपालका लक्षित नीति र कार्यमा केही सुधार भएको भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘हामीले महिला समानताका लागि लडेको धेरै भयो । संविधानले नै सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालले राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीशमा महिला पाएका छौँ । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्दछ ।’

यस्तै कानुनी प्रावधानकै कारण नेपालको निजामती सेवामा २८ प्रतिशत महिला पुगेका छन् भने राज्यका सुरक्षा निकायमा पनि महिला सहभागिता बढ्दो छ । त्यस्तै निजी क्षेत्रमा भने २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेका उनले बताइन् ।

नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उनको भनाइ थियो ।

मन्त्री डा राणाले भनिन्, ‘दुर्भाग्यको कुरा त के छ भने हामीमाथि हुने हिंसा र भेदभाव गर्भबाटै सुरु हुन्छ र यसले जीवनभर नै निरन्तरता पाउँछ । यो असमानताको निराकरणका लागि व्यापक र सशक्त प्रयास जरुरी छ । यी प्रयास विश्वस्तरदेखि स्थानीय तहसम्म नै पुर्‍याइनु जरुरी छ । यसका लागि सार्वजनिक र निजी क्षेत्रका सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ । यस क्षेत्रमा अघि बढ्ने हरेक व्यक्तिका प्रयास परिवर्तनका लागि उत्प्रेरक बन्न सक्नेछन् ।’

त्यसैले समग्र संसारले नै लैङ्गिक समानता शान्तिपूर्ण र समृद्ध संसारको आधार हो भनेर मनन् गर्नुपर्ने उनको तर्क थियो । संसारमा महिला समानता र महिला अधिकारका क्षेत्रमा कानुनी प्रावधानहरूको खाँचो नरहेको तर्क गर्दै मन्त्री डा राणाले ती व्यवस्थाहरूलाई वास्तविक कार्यान्वयनमा उतार्न मानिसका व्यवहारमै परिवर्तन जरुरी रहेकामा जोड दिइन् ।

सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव आदि विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।

प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन्  । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् ।

प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् । यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

छोरी बचाउन थालेका सुँडेनीहरूको कथा

अमिताभ पराशर पदनाम
बीबीसी

सुँडेनीको काम गर्ने सिरो देवीले मोनिका थट्टेलाई अँगालो हालेर रोइन्। ३० वर्ष पुग्ने क्रममा रहेकी मोनिका भारतको आफ्नो जन्मभूमि रहेको नगरमा फर्किएकी छन् जहाँ सिरोले सयौँ बच्चा जन्मिँदा सुँडेनीको काम गरेकी छन्। तर यो स्वतःस्फूर्त रूपमा भएको पुनर्मिलन होइन। सिरोको आँसुको पछाडि पीडादायी इतिहास छ। मोनिकाको जन्म हुनुभन्दा केही समय मात्रै अघिसम्म सिरो देवी र उनीजस्ता धेरै सुँडेनीहरूलाई नवजात छोरीहरूलाई मार्न दबाव दिइन्थ्यो।

प्रमाणले देखाए अनुसार मोनिका एक त्यस्ती हुन् जसलाई सुँडेनीहरूले बचाए। मैले विगत ३० वर्षदेखि सिरो देवीको कथालाई पछ्याउँदै आएको छु।  भारतको बिहार राज्यमा सन् १९९६ मा सिरो देवी र उनीजस्तै सुँडेनीको काम गर्ने अन्य चार महिलाहरूको मैले अन्तर्वार्ता लिएको थिएँ। एउटा गैरसरकारी संस्थाले बिहारको कटिहार जिल्लामा नवजात छोरीको मृत्युमा यी सुँडेनीहरूको हात रहेको पत्ता लगाएको थियो। यी सुँडेनीहरूले आमाबुवाको दबावमा नवजात छोरीहरूलाई या त रासायनिक पदार्थ खुवाएर वा घाँटी दबाएर मार्ने गरेका थिए।

मैले अन्तर्वार्ता लिएका सुँडेनीहरूमध्ये हकिया देवी सबैभन्दा जेठी थिइन्। त्यति बेला उनले १२/१३ नवजात छोरीहरूलाई मारेको बताएकी थिइन्। अर्की सुँडेनी धर्मी देवीले आफूले त्योभन्दा पनि धेरै १५ देखि २० छोरीहरूको हत्या गरेको स्वीकार गरेकी थिइन्। तर, जसरी तथ्याङ्क सङ्कलन गरिएको थियो, त्यसबाट कति बालिकाको हत्या भएको थियो होला भन्न सम्भव छैन।

तर सन् १९९५ मा एउटा गैरसरकारी संस्थाले उनी र उनीजस्ता ३० सुँडेनीहरूसँगको अन्तर्वार्तामा आधारित प्रतिवेदन प्रकाशित गरेको थियो। उक्त प्रतिवेदनको मूल्याङ्कन सही हो भने प्रत्येक वर्ष एउटा जिल्लामा ३५ सुँडेनीहरूले एक हजारभन्दा बढी बालिकाको हत्या गरेका थिए। प्रतिवेदनका अनुसार त्यति बेला बिहारमा ५ लाखभन्दा बढी सुँडेनी काम गर्थे र शिशु हत्या बिहारमा मात्रै सीमित थिएन। हकिया देवीले नवजात बालिकालाई मार्ने आदेश पालना गर्नुबाहेक सुँडेनीसँग अर्को विकल्प नभएको बताइन्।

‘परिवार कोठाको ढोका भित्रबाट बन्द गरेर लठ्ठी लिएर हाम्रो पछाडि उभिन्थे,’हकिया देवीले भनिन्। ‘हाम्रा अहिले नै चार/पाँच जना छोरी छन्। हाम्रो सबै सम्पत्ति यिनीहरूमै सकिन्छ। यी छोरीलाई दाइजो दिएपछि हामी भोकै मर्नुपर्ने खतरा हुन्छ। अहिले अर्की छोरी जन्मिएकी छ। उसलाई मार।’

‘हामीले कसलाई उजुरी गर्नु? हामी डराएका थियौँ। प्रहरीमा उजुरी गर्न गएको भए हामी फस्ने थियौँ। र, हामीले यस विरुद्ध आवाज उठाएको भए गाउँलेहरूले धम्की दिने थिए,’ उनले भनिन्। भारतको ग्रामीण भेगमा सुँडेनीहरूको भूमिका परम्परामा निहित छ जुन गरिबी र जात व्यवस्थाको कठोर यथार्थबाट गाँजिएको छ। मैले अन्तर्वार्ता लिएका सुँडेनीहरू भारतको जात व्यवस्थामा तल्लो जातमा पर्नेहरू हुन्। यी सुँडेनीहरूले आफ्ना आमा र हजुरआमाबाट बच्चा जन्माउने काम सिके।

उनीहरू यस्तो परिवेशमा हुर्किए जहाँ शक्तिशाली र उच्च जातीय परिवारको आदेशको नमान्ने कुरा कल्पनै गर्न सकिँदैन्थ्यो। बच्चाको हत्याको बदलामा सुँडेनीलाई साडी, एक बोरा अन्न वा केही पैसा दिने वाचा गरिएको हुन्थ्यो। तर कहिलेकाहीँ त्यो पनि दिइन्नथ्यो। छोरा जन्मिए एक हजार रुपैयाँ जति र छोरी जन्मिए ५ सय रुपैयाँ दिने गरिन्थ्यो। समाजमा यस्तो असन्तुलन हुनुको कारण भारतमा दाइजो दिने र लिने चलनले गहिरोसँग जरा गाड्नु भएको उनीहरू बताउँछन्। सन् १९६१ मा दाइजो लिने र दिने कुरालाई गैर कानुनी बनाइयो ।

तर पनि सन् १९९० को दशकमा पनि दाइजो दिने र लिने चलन बलियो रहिरह्यो र आज पनि यो निरन्तर चलिरहेको छ । दाइजो भनेको नगद, गरगहना, भाँडाकुँडा आदि जे पनि हुन सक्छ। तर धनी वा गरिब जे भए पनि धेरै परिवारका लागि दाइजो विवाहको एउटा सर्त हो। यही कारण आज पनि धेरैका लागि छोराको जन्म उत्सव हुने गरेको छ भने छोरी जन्म आर्थिक बोझ हुने गरेको छ। मैले अन्तर्वार्ता लिएका सुँडेनीहरूमध्ये सिरो देवी मात्रै अहिले जीवित छिन्। छोरा र छोरीबीचको यो असमानताको व्याख्या उनले स्पष्ट उदाहरण दिएर गरिन्।

‘छोराको हैसियत माथि छ, छोरीको तल। छोराले आमाबुवाको हेरचाह गरोस् नगरोस् तर सबैले छोरा नै चाहन्छन्।’ भारतमा छोरालाई दिएको महत्त्व राष्ट्रिय स्तरको तथ्याङ्कमा देख्न सकिन्छ। सबैभन्दा भर्खरको सन् २०११ को जनगणनामा, १००० पुरुषको अनुपातमा महिलाको सङ्ख्या ९४३ रहेको थियो। सन् १९९० को दशकको तुलनामा यो तथ्याङ्कमा सुधार भएको हो। सन् १९९१ को जनगणनामा यो एक हजार पुरुषको अनुपातमा महिलाहरूको सङ्ख्या ९२७ थियो।

सन् १९९६ मा यी सुँडेनीहरूको बयान मैले खिचिसक्दासम्म एउटा सानो र मौन परिवर्तन भने सुरु भइसकेको थियो। सुँडेनीहरू जसले आदेशमा छोरीहरू मार्थे उनीहरूले त्यसो नगर्न थालिसकेका थिए। यो परिवर्तनका लागि अनिला कुमारीले झकझकाएकी हुन्। उनी बिहारको कटिहर जिल्लाका गाउँहरूमा महिलालाई सहयोग गर्ने सामाजिक कार्यकर्ता हुन्। उनी नवजात छोरीहरूलाई मारिनुका कारणहरूको जड नै सम्बोधन गर्नका लागि समर्पित थिइन्।

अनिला कुमारीको त्यस्ता विषय सम्बोधन गर्ने तरिका साधारण थियो। उनी सुँडेनीहरूलाई सोध्थिन्, ‘आफ्नै छोरीलाई भए तिमी यसो गर्थ्यौ?’ यो प्रश्नले वर्षौँदेखिका यस्ता कुरालाई स्पष्ट रूपमा चिर्‍यो। यी सुँडेनीहरूले सामुदायिक समूहहरूमार्फत् केही आर्थिक सहयोग प्राप्त गरे। त्यसपछि बिस्तारै हिंसाको यो चक्र बिथोलियो।

सिरोले सन् २००७ मा मसँग कुरा गर्दै यो परिवर्तनको व्याख्या गरिन्। ‘अब मलाई कसैले बच्चा मार्न भन्यो भने म “हेर्नुस, बच्चा मलाई दिनुहोस्। म अनिला म्याडमकहाँ लैजान्छु भन्छु’।’ ती सुँडेनीहरूले कम्तीमा पाँच नवजात छोरीहरूलाई बचाएका थिए। ती छोरीहरूलाई उनीहरूका परिवारले या त मार्ग चाहेका थिए वा त्यागेका थिए। ती पाँचमध्ये एक जना छोरी बाँच्न सकिनन्। अनिलाले बाँकी चार जना छोरीहरूलाई पटनाको एउटा गैरसरकारी संस्थामा पठाइन्। उक्त संस्थाले ती छोरीहरूलाई धर्मपुत्री बनाउने अभिभावकको व्यवस्था गरिदिएको थियो।

यो कथा यहीँ सकिन सक्थ्यो। तर उद्धार गरी धर्मपुत्र ग्रहण गर्न छोडिएका छोरीहरूलाई के भयो होला र जिन्दगीले उनीहरूलाई कहाँ पुर्‍यायो होला भनेर म जान्न चाहन्थेँ। अनिलाका रेकर्डहरू स्पष्ट रूपमा राम्ररी राखिएका थिए तर तिनमा धर्मपुत्री ग्रहण गरेपछिका केही विवरणहरू मात्रै थिए।

बीबीसी विश्व सेवाको टोलीसँग काम गर्दा म मेधा शेखर नाम गरेकी महिलाको सम्पर्कमा आएँ। सन् १९९० को दशकमा मेधाले बिहारमा शिशुहत्याबारे अनुसन्धान गरेकी थिइन्। अनिलाले उद्धार गरेका नवजात छोरी र सुँडेनीहरू उनको गैरसरकारी संस्थामा आउन थालेका थिए। अचम्म के भने, मेधा अझै पनि एक युवतीसँग सम्पर्कमा थिइन्, जो उनी ठान्छिन् कि उद्धार गरिएका छोरीहरू मध्येकै एक हुन्।

सुँडेनीहरूले उद्धार गरेका सबै नवजात छोरीहरूको नाम दिनुअघि तिनीहरूको नाममा कोसी जोडेको अनिलाले बताइन्। यो उनीहरूले बिहारको कोशी नदीप्रति जनाएको सम्मान थियो। मोनिकाको नाममा पनि ‘कोसी’ जोडिएको मेधालाई याद छ। यो उनलाई धर्मपुत्रीका रूपमा लगिनु अघिको कुरा हो। उनको जिम्मा लिने निकायले हामीलाई मोनिकाको विवरण हेर्न नदिएका कारण यसबारे हामी कहिल्यै यकिन हुन सकेनौँ।

तर उनको जन्मस्थान पटना, उनको अनुमानित जन्म मिति र उनको नाम अगाडि ‘कोसी’ उपसर्गले हामीलाई एउटै सम्भावित निष्कर्षमा पुर्‍याउँछ: अनिला र सुँडेनीहरूले बचाएका पाँच छोरीहरूमध्ये उनी एक हुन्। जब म उनी (मोनिका) लाई भेट्न करिब २,००० किलोमिटर टाढा पर्ने पुणे पुगेँ, उनले मायालु परिवारले आफूलाई ग्रहण गरेका कारण आफू भाग्यमानी भएको बताइन्।

‘मेरो परिभाषामा सामान्य खुसी जीवन यही हो र म यस्तै जीवन बाँचिरहेकी छु,’ उनले भनिन्। मोनिकालाई थाहा थियो कि उनलाई बिहारबाट धर्मपुत्रीका रूपमा ग्रहण गरिएको हो। तर हामीले मोनिकालाई उनको अवस्थाको बारेमा थप विवरण दिन सक्यौँ। यो वर्षको सुरुमा मोनिका अनिला र सिरो देवीलाई भेट्न बिहार गएकी थिइन्। मोनिकाले आफूलाई अनिला र ती सुँडेनीहरू जस्ता महिलाहरूको कडा परिश्रमले गर्दा आफूले त्यस्तो जीवन भोग्न पाएको रूपमा हेरिन्। ‘परीक्षामा राम्रो गर्नका लागि धेरै तयारी गर्ने व्यक्तिजस्तै मलाई पनि त्यस्तै महसुस हुन्छ। उनीहरूले कडा परिश्रम गरेका थिए र अहिले उनीहरू परिणामलाई लिएर उत्सुक छन्… पक्कै पनि म उनीहरूलाई भेट्न चाहन्छु।’

मोनिकालाई भेट्दा अनिलाको आँखाबाट खुसीका आँसु झरे। तर सिरोको प्रतिक्रिया भने फरक थियो। उनले मोनिकालाई अँगालो हालेर बेस्सरी रोइन् र उनको कपाल मुसारिन्। ‘तिम्रो ज्यान जोगाउन मैले तिमीलाई अनाथालयमा लिएर गएँ… मेरो आत्माले अब शान्ति पाएको छ,’ उनले भनिन्। तर यो विषय अझै सकिएको छैन। छोरीहरूप्रति अझै केही मानिसहरूको मनमा पूर्वाग्रह छ।

अहिले शिशु हत्याको खबर तुलनात्मक रूपमा दुर्लभ छ। तर सन् १९९४ मा सरकारले शिशु हत्यालाई गैर कानुनी बनाए पनि छोराछोरी के छ भनेर हेर्ने अनि भ्रूण हत्या गर्ने घटनाहरू अझै भइरहेका छन्। उत्तर भारतका केही ठाउँमा बच्चा जन्मिँदा गाइने लोकगीत सोहर छोराहरू जन्मिँदा सुन्नका लागि भनेर गाइन्छ। सन् २०२४ मा पनि स्थानीय गायकहरूले छोरी जन्मेको खुसी झल्काउनका लागि गीतको शब्द परिवर्तन गर्ने प्रयास गर्नु पर्ने भएको छ।

हामीले हाम्रो वृत्तचित्र छायाङ्कन गर्दा कटिहारमा दुई नवजात छोरीहरू भेटिए। यीमध्ये एक बालिकालाई झाडीमा र अर्कीलाई सडक छेउमा फालिएको थियो। दुवै छोरी जन्मेको केही घण्टा मात्रै भएको देखिन्थ्यो। तिनीहरूमध्ये एकले ज्यान गुमाइन् र अर्कीलाई धर्मपुत्री बनाउनका लागि पठाइयो। बिहार छोड्नुअघि मोनिकाले कटिहारको स्पेशल एडप्शन सेन्टरमा गएर यी बालिकालाई भेटेकी थिइन्।

शिशु हत्या घटे पनि छोरी जन्मेपछि फाल्ने गरेको थाहा पाउँदा आफूलाई त्यसले नराम्रो महसुस गराएको उनले बताइन्। ‘यो एक चक्र हो… म आफूलाई त्यहाँ भएको देख्न सक्छु, आज म जस्तै अर्को छोरीको अवस्था पनि छ भन्ने देख्छु।’ तर, त्यहाँ केही खुशी हुनुपर्ने समानताहरू पनि थिए। ती छोरीलाई उत्तर पूर्वी राज्य आसामका एक दम्पतीले धर्मपुत्री बनाएका थिए। उनहरूले उनको नाम ‘एधा’ राखे। जसको अर्थ खुसी हो।

‘हामीले उनको तस्बिर देख्यौँ र हामी स्पष्ट थियौँ कि एक पटक त्यागिएकी बच्चीलाई फेरि त्याग्न सकिँदैन,’ भारतीय हवाई फौजमा अधिकृत रहेका गौरवले भने। उनले एधालाई धर्मपुत्रीका रूपमा लिएका हुन्। प्रत्येक साता गौरवले एधाका भिडिओहरू पठाउँछन्। कहिलेकाहीँ म ती भिडियोहरू मोनिकासँग पनि शेयर गर्छु। । फर्केर हेर्दा, मलाई लाग्छ कि यो विषयबारेका समाचारमा बितेका ३० वर्ष केवल विगत मात्रै थिएन। ती त सामना गर्नुपर्ने पीडादायी सत्यहरू थिए। विगतका गल्तीहरू मेटाउन सकिँदैन। तर परिवर्तन गर्न सकिन्छ।

नेपाली सेना र अमेरिकी सेनाबीच भएको संयुक्त अभ्यास

विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि शुक्रबार सम्पन्न संयुक्त अभ्यासमा सहभागी नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेना ।

तस्बिर : नेपाली सेना

दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको जनाएको छ । समितिले शुक्रबार विज्ञप्ति जारी गरी दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको जनाएको हो ।

समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्रउने साइत रहेको छ ।

प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुगेका छन् ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

चुनाव हारेपछि पार्टीप्रति निराशा पैदा गर्दै हिँड्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन । आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ । जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ ।’

उनले कतिपय पार्टीकानेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस् । जे पायो त्यही नलेख्नुस् । आफ्नो ठाउँमा बस्नुस् । धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस् । तर, पार्टीप्रति त्यसरी निराशा पैदा नगर्नुस् ।’

उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने निराशा पैदा गर्ने सबैलाई कारबाही हुने समेत बताए ।

आगामी बिहीबारसम्म मनसुनी वायुको प्रभाव रहने, धानलाई असर पर्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।

आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

‘साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।’

महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधारहुँदै जाने बताइन् ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदि ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताइन् । ‘त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्काउने बेला भइसक्यो,’ उनले भनिन्, ‘अहिलेको वर्षाले धान झर्ने, पाकेकोबाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ ।’

उनले यसवर्ष मनसुन सुखद रहँदा धान उत्पादन पाँच देखि सात प्रतिशतसम्म बढ्नसक्ने बताइन् । ‘यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करिब डेढ लाख मेट्रिकटनसम्म हुने अपेक्षा छ,’ उनले भनिन्, “तर धान भित्राउने बेलामा मौसमले साथ दिनुपर्छ ।’

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आव भन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धी भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो ।

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका हुन् । 


त्यस अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमासमेत पदपूर्तिका लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय रहेको बताए ।


उनले  नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि हुँदै गएको छ । काठमाडौँ उत्तर रसुवा जिल्लास्थित हिमाली भेगमा दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

यसरी पर्यटन बढ्न थालेसँगै हिमाली भेगका स्थानीय पर्यटन तथा होटल व्यवसायीले आवश्यक खाद्यन्न ढुवानीको काम सुरू गर्नुको साथै होटल तथा लजको सुदृढीकरण गर्न थालेका छन् ।

मध्यवर्षाको बावजुद् गत साउन–भदौ महिनामा करिब दस हजार ५०० आन्तरिक एवं बाह्य पर्यटकको जिल्लामा आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालले जानकारी दिए। तीमध्ये १० हजार चार सय ४० आन्तरिक तथा तीनसय ६० बाह्य पर्यटकभएको निकुन्जले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत भदौ महिनामा पनि धार्मिक तथा सांस्कृतिक महत्वको पवित्रस्थलका रुपमा परिचित ‘गोसाइँकुण्ड’ मेला भर्न जाने तीर्थयात्रीका कारण आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यसरी उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा ठूलो मेला लाग्ने तथा सोही अवसरमा स्नान तथा पूजाआजा गर्ने हजारौँ भक्तजन निलाद्री पर्वतसम्म पुग्नेगरेका कारण वर्षायाम भए पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको पाइन्छ ।

निलाद्री पर्वतमा भगवान शिव विराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्ड, हिमालयकी पुत्री पार्वती माता विराजमान रहनुभएको गतलाङ क्षेत्र, लाङ्टाङ एवं गणेश हिमाल, ऐतिहासिक रसुवागढी, उकाली, ओराली झर्ना, पाहाड, तामाङ सम्पदा मार्ग अन्तरगत स्थानीय संस्कृतिमा आधारित तामाङ वेषभूषा, नाचगान , हिमाली वनस्पति, पार्टी–भञ्ज्याङ –चौतारी, चीज उत्पादन केन्द्र, देशकै नमूनाका रूपमा निर्मित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृहलगायतका महत्वपूर्ण सम्पदाको अवलोकन गर्न सकिने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।

यसैगरी तामाङ सम्पदा मार्गअन्तरगत गोल्जुङ् , गतलाङ, नाकथली, बृद्विम समेतका क्षेत्रमा पाइने स्थानीय परिकारका खानाले समेत आगन्तुक पर्यटक लोभिने गरेको अध्यक्ष गजुरेलले जानकारी दिए । हिमाली प्रकृतिमा रमाउन काठमाडौँको गोंँगबु–बालाजुदेखि टोखा, छहरे, थान्सिङ, ढिकुरे, गँगटे, बटृार, ढुङ्ग्रे, बेत्रावती, कालिकास्थानहुँदै सदरमुकाम धुञ्चेसम्मको सडकमार्ग राम्रो भएकाले जम्मा पाँच घण्टामा सवारी साधनबाट सदरमुकामसम्म पुग्न सकिन्छ ।

रसुवाको हिमाली पदयात्रामा जादाँ हुनसक्ने सम्भावित उशृङ््खल एवं आपाराधिक गतिविधिको अन्त्त गर्न बर्दीधारीसहित सादा पोसाकका प्रहरीलाई नियमित गस्तीमा खटाइने गरेकाले निर्धक्क भई यात्रा गर्न र कुनै समस्या आइपरे जिल्ला प्रशासन कार्यालय वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराइ दिनुहुन सम्बद्ध सबैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि घिमिरेले जानकारी दिए ।

तामाङ सम्पदामार्ग बाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुन्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गरी हिमाली जैविक विविधताको संरक्षणमा यात्रुहरूबाट सहयोग मिल्नेमा निकुञ्ज परिवार आशावादी रहेको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत बरालले बताए ।

अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस (अमेरिका)। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।

वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा जानकारी गराएका थिए ।

नेपाल डे कार्यक्रममा गैरआवासीय नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नेपालको संविधानले व्यवस्था गरेअनुसार ऐन कानुन निर्माण गरी गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधिहरु, अमेरिकास्थित नेपाली समुदायका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नेपाल डे कार्यक्रमको सन्दर्भमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले नेतृत्वको टोलीले टेक्ससको ड्यालसमा तत्काल कन्सुलर शिविर सञ्चालन तथा ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि कार्यवाहक राजदूत खरेललाई ज्ञापनपत्र बुझाएको थियो ।

शिक्षाको हब बन्दै पोखरा

गण्डकी । नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ । कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ । पोखरा र यस आसपासमा मात्र नभई देशका विभिन्न जिल्लाबाट पोखरा अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विभिन्न तह र विषयमा अध्ययन अध्यापन हुने यहाँ पोखरा विश्वविद्यालयसँगै सङ्घीय शासन व्यवस्थाको कार्यान्वयन पश्चात गण्डकी प्रदेश सरकारको सक्रियतामा गण्डकी विश्वविद्यालय सञ्चालनमा आएको छ । पछिल्लो समयमा विश्वविद्यालयमा सञ्चालनमा आएका नयाँ नयाँ विषयमा विद्यार्थीको आकर्षण बढिरहेको पोखरा विश्वविद्यालयका डीन डा अजय थापा बताउँछन् ।

“नयाँ कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दो छ”, उनले भने, “विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा छात्रवृत्तिका लागि आवेदन माग गरेकामा गत वर्षकाभन्दा बढी सङ्ख्यामा विद्यार्थीले आवेदन भरेका छन् ।”

स्नातक तहमा गत वर्षभन्दा झण्डै तीन सय ५० जना बढी विद्यार्थीले आवेदन दिएको उनले जानकारी दिए । पोखरामा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनका लागि राम्रा शैक्षिक संस्थार हेका कारण अध्ययनकै लागि यहाँबाट बाहिर जानुपर्ने अवस्था नरहेको शिक्षासेवी एवम् कालिका बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रवीन्द्रनाथ बाँस्तोलाले बताए।

पछिल्लो समयमा कक्षा १२ पढेपछि विदेश जाने क्रमले समग्रतामा स्नातक तहमा विद्यार्थीको सङ्ख्या कम हुँदैगएको देखिए पनि पोखराबाट अध्ययनकै लागि बाहिर जानुपर्ने अवस्था नरहेको उनको भनाइ छ । “अहिले अध्ययनका लागि मात्रभन्दा पनि आर्थिक उपार्जनसँग समेत जोडिएर विद्यार्थी पढ्नका लागि विदेशिएको देखिन्छ”, उनले भने,“पोखरामा विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त क्याम्पसका साथै गुणस्तरीयतालाई दृष्टिगत गरी अध्ययनअध्यापन गराउँदै आएको पाइन्छ ।”

कास्कीमा १९५८ सालमा देव शमशेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । यस अवधिमा संस्कृत शिक्षा नै पठनपाठनको मुख्य आधार बनेको थियो ।

भाषा पाठशालापछि पोखरामा आधुनिक शिक्षालाई लक्षित गरी २००६ सालमा पब्लिक मिडिल स्कुल स्थापना गरियो । सुरुमा नदीपुरस्थित नारायणस्थानको पौवामा स्थापित सो विद्यालय २००९ सालमा नेशनल हाइस्कुलका नाममा टुँडिखेलमा सारिएको थियो ।

सो विद्यालय स्थापना एवं सञ्चालनपछि २०१३ सालमा रामघाटमा छुट्टै सोल्जर्स बोर्ड हाइस्कुल स्थापना भएको थियो । यसरी सुरु भएको पोखराको शिक्षाको विकाससँगै पछिल्ला वर्षमा के साधारण के प्राविधिक हरेक किसिमको शिक्षा पाउन थालिएसँगै यो शिक्षाको केन्द्र बन्दै गएको छ ।

पृथ्वीनारायण क्याम्पसदेखि पछिल्ला समयमा यहाँ खोलिएका क्याम्पसले यहाँको शैक्षिक विकासमा ठूलोे योगदान पु¥याएका छन् । लेखनाथको ढुङ्गेपाटनमा स्थापित पोखरा विश्वविद्यालय होस् वा लेखनाथकै मालमूल फाँटमा गण्डकी प्रदेश सरकारको सक्रियतामा खोलिएको गण्डकी विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रमका साथ अघि बढेको छ ।

गण्डकी विश्वविद्यालयले स्थापनाको छोटो समयमा नै विभिन्न नयाँ कार्यक्रमका साथै विश्वका विभिन्न प्राज्ञिक संस्थासँगसम्बन्ध विस्तार गर्दै अघि बढिरहेको रजिष्टार डा कैलाश तिमल्सिनाले बताए । पोखरामा दुई विश्वविद्यालयका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक, निजी तथा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । पोखरामा हाल १३ सामुदायिक क्याम्पस सञ्चालनमा रहेका छन् ।

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । समितिले ९९ दिन लगाएर गरेको छानबिनपछि तयार गरेको ११ सय २४ पृष्ठको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । समितिले गोर्खा मिडिया प्रालि र त्यसका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ९ घन्टा बयान लिएको थियो ।

बयानमा समितिले लामिछानेलाई विभिन्न सहकारीबाट उनको नाममा लिएको ऋणको बारेमा प्रश्न गरेको थियो । उनले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको दाबी गरेका छन् । बयानका क्रममा लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले पारिश्रमिकबापत मासिक ५ लाख लिएको बताएका छन् ।

यस्तो छ समितिमा लामिछानेले दिएको बयान

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारलले बेरुजु फछ्र्यौट गर्न बेरुजु फछ्र्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ । असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकको यस्तो निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले सामान्य प्रक्रियाबाट फछ्यौट हुन नसकेका बेरुजु फछ्र्यौट गर्न प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा समिति गठन भएको जानकारी दिए ।

त्यस्तै बैठकले आगामी कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने, प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने र बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने निर्णय गरेको छ ।

यस्ता छन् असोज २ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय

-मिति २०८१ कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने,

-काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८९ करोड रुपियाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १ करोड रुपैयाँ) बराबरको अनुदान सहायताबाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर (करिब ४० करोड ३९ लाख रुपैंयाँ) वरावरको अनुदान सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,

-प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने,

-बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने,

-नेपाल र गणतन्त्र इण्डोनेसियाबिच हुने द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उल्लिखित समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने,

-नेपाल र गणतन्त्र इण्डोनेसियाविच कूटनीतिक तथा विशेष राहदानी बाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौता स्वीकृत गर्ने र उल्लिखित सम्झौतामा समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

-समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा श्री ध्रुव आचार्य (दोलखा), श्री ललिता कुमारी महर्जन (बर्दिया) र श्री महेश प्रसाद काफ्ले (पाल्पा) लाई मनोनयन गर्ने ।

-राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा बाग्मती प्रदेशबाट तेजेन्द्र बहादुर खड्का; गण्डकी प्रदेशबाट प्रदिपराज अधिकारी; लुम्बिनी प्रदेशबाट गुणानीधि भुसाल; कोशी प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भुपेन्द्र बहादुर सिंहलाई मनोनयन गर्ने,

-शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरूको सट्टाभर्ना समस्या समाधान गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश श्री जयानन्द पनेरुको अध्यक्षतामा छ सदस्यीय अधिकारसम्पन्न आयोग गठन गर्ने,

-नेपाल इन्टर मोडल यातायात विकास समिति, काठमाडौँलाई दोधारा– चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँच चौकी निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने,

-दोलखा जिल्लामा रहेको भीमेश्वर मन्दिरको चुडामणी स्तम्भको मर्मत संभारको लागि सालको रुख १ कटान मुछान गरी उत्पादन भएको ९५.०२ घन फिट गोलिया काठ र ०.२५ चट्टा दाउराको राजस्व रकम रु. ८५,९९८/– मिनाहा गर्ने,

-पूर्वसचिव श्री शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजकमा सदस्य श्री महेद्रकुमार थापा रहने गरी तोक्ने,

-गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साबिक बडा नं. ५ सानडाँडाबाट वडा नं. २ स्थित सुखाओडार (जिनाबाङ) मा कायम गर्ने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/५/२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,

-भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने,

-बसन्तपुर जग्गा एकीकरण आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने,
नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय पुरस्कारसम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने,

-नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्गित विशिष्ट श्रेणीको रिक्त एक पदमा श्री कमलप्रसाद पोखरेल (शर्मा) लाई बढुवा गरी मुख्यमन्त्री ताथ मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा पदस्थापन गर्ने,

-वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिवद्धता सम्बद्ध सबै मन्त्रालयले उच्च पाथमिकताका साथ कार्यान्वयन गर्ने,

-सङ्घीय संसदको मिति २०८१/६/२ को पत्रसाथ प्राप्त सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा लेखी पठाउने,

-निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सुरेश आचार्य, डा.गोविन्दप्रसाद शर्मा, गोपालप्रसाद सिग्देल र डा. दीपककुमार खराललाई सरुवा गर्ने निर्णय भएको छ ।

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/ ८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताए । उनले वित्तीय सङ्घीयता अन्तर्गत राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्ने लगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, “कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलङ्काको जस्तै अवस्था हुने हल्ला फैलाइयो । नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम गर्यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् ।”

महासङ्घले आममानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुआत गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी थियो ।

महासङ्घकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेकोभन्दा फरक रहेको उनको भनाइ छ । उनले भने, “पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौं । सरकारलाई दबाब पनि दियौँ । हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धताअनुसार लगानी ल्याउन सहज हुनेछ ।”

कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए । उनले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताए । यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी उनले दिए ।

देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासङ्घले धेरै काम गरेको उदाहरण पेस गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गरे ।

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो ।

सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा पेश भएको प्रतिवेदन शुक्रबार संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रतिवेदन ११ सय २४ पृष्ठ लामो छ ।

यसअघि भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्य थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गरेका थिए । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस्

सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजीमा काम गर्न पाउनुहुन्नः स्वास्थ्यमन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ ।’

मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।

स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उनले जनाए । मन्त्री पौडेलले भने, ‘स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन् ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘हाम्रो प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकार गर्छ र प्रस्ताव स्वीकार भए लगत्तै पाँच लाखको बीमा कार्यान्वयन हुन्छ ।’

साङ्घाई दोस्रो आँधीको चपेटामा

सांघाई । ७५ वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ ।

पुलासन आँधी बिहीबार राति साङ्घाईको फेङ्जियान जिल्लामा २३ मिटर प्रतिसेकेन्ड (८३ किलोमिटर प्रतिघन्टा) को वेगमा अवतरण गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

सिन्ह्वाले आँधी स्थलतर्फ अघि बढ्दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको बताएको छ । यद्यपि शुक्रबार बिहान पनि वर्षा भइरहेको छ ।

शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा साङ्घाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिन्छ । यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहतको समाचार छैन ।

साङ्घाईका केही क्षेत्रले आँधी नजिकिँदै गर्दा बिहीबार आफ्नो चेतावनी स्तरलाई बढाएका थिए ।

बेबिनकाले सोमबार विध्वंश मच्चाएको केही दिनपछि पुलासन आँधी आएको हो । बेबिनका सन् १९४९ पछि साङ्घाईमा आएको सबैभन्दा शक्तिशाली आँधी थियो ।

बेबिनका आँधीबाट एक हजार आठ सयभन्दा बढी रुख ढलेका थिए भने ३० हजारभन्दा बढी घरमा विद्युत् काटिएको थियो । अधिकारीहरूले आँधी आउनुअघि साङ्घाईभर चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए ।

हरितगृह ग्यासहरूको उत्सर्जनका कारण जलवायु परिवर्तन हुँदा अत्यधिक मौसमी घटनाहरूलाई धेरै पटक र तीव्र बनाउँदै लगेको वैज्ञानिकहरूले बताएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो । यद्यपि यस मुलुकको प्रतिव्यक्ति उत्सर्जन प्रतिद्वन्द्वी आर्थिक शक्ति संयुक्त राज्य अमेरिकाको तुलनामा कम छ ।