`

लेबनानमा पेजर विस्फोट हुँदा ९ जनाको मृत्यु

बीबीसी । सशस्त्र समूह हिजबुल्लाहका सदस्यले बोकेको पेजर विस्फोट हुँदा लेबनानमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिजबुल्लाहका आठ लडाकूसमेत छन् ।

राजधानी बेरुत लगायतका स्थानमा भएका विस्फोटमा लेबनानाका लागि इरानी राजुदूत सहित २८ सय जना घाइते भएका छन् । हिजबुल्लाहले यसको आरोप इजरायल माथि लगाएको छ।

७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेयता इजरायल र लेबनानको सीमा क्षेत्रमा दैनिक झडप भएको थियो । हिलबुल्लाह समूहले मोबाइल र इन्टरनेट ट्रयाकको जोखिमले पेजर प्रयोग गर्ने गरेका छन् ।

४० वर्षमुनिका २० युवालाई राप्रपाले बनायो केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो ।

छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी पनि केन्द्रीय सदस्यमा छनोट भएकी हुन् ।

संविधान संशोधनमा महिलाका मुद्दा

डा. डिला संग्रौला
नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ ।  संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु अस्वभाविक होइन । सामान्यतया संविधान जारी भएको १० वर्षभित्र संशोधन गर्ने परम्परा छ । ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरण पनि संशोधनकै लागि भएको दावा गरिएको छ ।


संविधानको धारा २७४ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने तर अन्य विषयमा प्रक्रिया पु¥याएर संशोधन गर्न सकिने उल्लेख भएकाले संशोधनमा प्रशस्त गृहकार्य गर्नुपर्ने स्पष्ट छ । संशोधनका विषयमा विभिन्न निकायहरुले उठारहेको मुद्दामा अध्ययन पनि जरुरी छ । दलहरुले संविधान पुनरावलोकन कि संशोधन भन्ने विषयमा अझै स्पष्ट गरिसकेका छैनन् । यसका लागि हालसम्म सामान्य गृहकार्य पनि प्रारम्भ भएको छैन । त्यसैले के के विषयमा संशोधन आवश्यक छ भन्ने विषयमा सत्ता साझेदर दलहरुले तत्काल गृहकार्य थाल्नुपर्छ ।


पहिलोपटक २००४ सालमा राणा प्रधानमन्त्री पद्मशमशेर जबराले ‘नेपाल सरकारको वैधानिक कानुन २००४’ भनेर राज्यको वैधानिक कानुन जारी गरेको लगभग ७६ वर्ष नाघेको छ । यो अवधिमा सातवटा संविधानले देशको मूल कानुनको रुपमा मान्यता पाएपनि देशले संवैधानिक स्थायित्व पाउन सकेको छैन् । २०६४ र २०७० सालमा भएको संविधानसभाको चुनावले २०७२ असोज ३ गते वर्तमान ‘नेपालको संविधान २०७२’ जारी भएर कार्यान्वयनमा आए पनि यसमा प्रशस्त त्रुटीहरु देखिएका छन् । संविधानका धाराहरूको अस्पष्टताका कारण पटक पटक समस्याहरु निम्तिरहेको छ ।


राजनीतिक दलहरुले संशोधनका साझा मुद्दामा सहमति जनाए संविधान संशोधन असहज विषय होइन । यद्यपि संवेदनशील विषय भने अवश्य हो तर असम्भव भने छैन । नेपाली कांग्रेस– नेकपा (एमाले) दुई दलबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको विषयले प्रवेश पाइसकेको छ  ।  नेपालीका कतिपय असन्तुष्टि र अपेक्षालाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने अवसर मुख्य दुई दलले पाएका छन् । त्यसैले दुई दलले अवसरको सदुपयोग गरेर ०८४ को निर्वाचनमा जनताबाट पुनः अनुमोदित हुने सौभाग्य गुमाउन हुँदैन । ऐतिहासिक अवसरको उपयोग गर्न ढिला गर्न हुँदैन ।


संविधान संशोधनको विषय उठिरहेका बेला नेपाली समाजमा उत्पिडनमा परेका वर्गहरुले आफ्ना अधिकार र अवसरको सुनिश्चितता खोजिरहेका छन् । संविधानप्रति असन्तुष्ट कतिपय राजनीतिक दलले पछाडि पारिएका वर्ग, समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको औंल्याइरहेका बेला महिलाहरुको मुद्दालाई पनि प्राथमिकतामा राख्नु जरुरी छ ।  संविधानमा व्यवस्था भएको शासकीय स्वरूप, निर्वाचन प्रणाली, संविधानले व्यवस्था गरेका राज्य संयन्त्रहरूको खर्चिलो र भडकिलो शैलीप्रति  धेरै नागरिकले असन्तुष्टि जनाइरहेका बेला नीति र नेतृत्व बनाउने ठाउँसम्म महिलाहरुको समानुपातिक समावेशी अर्थपूर्ण  प्रतिनिधित्व हुनु पर्छ भन्ने सवाल जोडतोडले उठिरहेको छ । राज्यको हरेक निकायमा महिलाको ५० प्रतिशत सहभागिता अनिवार्य गरिनुपर्ने आवाज बुलन्द भइसकेको छ । पदाधिकारीमा ३३ प्रतिशत महिलाको हक सुनिश्चित गरी महिलाको लागि प्रत्यक्ष निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग पनि उठिरहेको छ ।


संविधान बनेपछि नागरिकताको ऐनमा आमाको नाममा नागरिकता प्राप्त गर्न विभिन्न प्रावधानले समस्या निम्त्याएको छ । त्यस्तै वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा पुरानै व्यवस्थाले निरन्तरता पाइरहेको छ । यसका कारण विभिन्न व्यावहारिक समस्याहरु निम्ताएको छ । निजामती सेवामा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था भएपछि २७ प्रतिशत महिलाको प्रतिनिधित्व भएको अवस्था छ । तर सबै महिलालाई एउटै क्लस्टरमामा राख्दा मधेशी, मुस्लिम र दलित महिलाले खासै उपलब्धि प्राप्त गर्न सकेका छैनन् ।


महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारू साथै विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने वर्गका लागि प्रशस्त गृहकार्य हुन सकिरहेको छैन । समावेशिताको मुद्दा एकातिर जोडतोडले उठिरहेको भएपनि यसले अस्थिरता निम्ताउने खतरा पनि देखिने भएकाले यसका लागि मध्यम बाटो अवलम्बन नगरी सुख छैन । विशेषगरी महिलाहरुले अवसर र अधिकार नपाएको गुनासो गरिरहेका छन् । विभिन्न निकाय, जात, समुदाय, क्षेत्र वा भूगोलका महिलाले समान अधिकार पाउनुपर्ने आवाजलाई सम्बोधन गर्नुपर्छ ।


यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अपाङगता भएका, एकल, ग्रामीण इलाकामा बस्ने, अशिक्षित, राजनीतिक पहुँच भन्दा टाढा रहेका महिलाले पनि समान अवसर पाउने व्यवस्था संविधानले सुनिश्चित गर्नुपर्छ । प्राकृतिक स्रोत साधनमा स्थानीय महिलालाई प्राथमिकता दिनेदेखि महिलाहरुको लागि कुनै व्यवसाय सन्चालन गर्नको लागि लगानीमा ऋण सहुलियतको विषय पनि संशोधनको मुद्दाका रुपमा अगाडि सार्नु आवश्यक छ ।


राष्ट्रपति एक पटक महिला दोस्रो पटक पुरुष गरी आलोपालो प्रणालीमा निर्धारण गर्न, न्यायपालिकामा महिलाको सहभागिता ५० प्रतिशत पु¥याउन, न्याय परिषद्को सदस्यमा अनिवार्य महिलाको सहभागिता गराउन, विभिन्न संवैधानिक निकायहरुको नेतृत्वमा महिलाहरुलाई आलोपालोकै आधारमा अवसर प्रदान गर्न पनि उत्तिकै जरुरी देखिन्छ । सेना, प्रहरीको हरेक संरचनामा महिलाको ५० प्रतिशत सहभागिता गराउन, राष्ट्रपति, उपराष्ट्रपति, पालिका प्रमुखसम्मको उम्मेदवार तयार गर्दा महिलालाई अनिवार्य सहभागिता खोज्नुपर्ने दायित्व संविधान संशोधनका बेला खोजिनु पर्छ ।


नेपालको संविधान २०७२ को प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ ।  उक्त सङ्कल्पलाई व्यवहारमा परिणत गर्न महिला र पुरुषबीच सबै खाले विभेद् अन्त्य गर्ने गरी संविधान संशोधन गर्न आवश्यक भइसकेको छ ।


(लेखक नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागको प्रमुख हुनुहुन्छ)

गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको सुधारका लागि गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने व्यवसायीले बताएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ बसपार्कलाई दसैँअगाडि प्रविधिमैत्री बनाउने गरी महासङ्घले तयारी गरिरहेको जानकारी दिए ।

‘नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्न महासङ्घ लाग्नेछ,’ उनले भने । उनले मुलुकको सार्वजनिक यातायातको क्षेत्रमा १० खर्ब बढी लगानी र चार लाखले प्रत्यक्ष रोजगारी पाएको बताउँदै यसको संरक्षणका लागि यातायात व्यवसायी तथा मजदुर एक भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले महिलालाई सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने वातावरण निर्माण गर्न महासङ्घले तालिम तथा गोष्ठी आयोजना गर्ने उल्लेख गरे ।

बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले नयाँ बसपार्कलाई नमूना बसपार्कका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले चाडपर्वमा घर जाने यात्रु सार्वजनिक यातायातको भाडामा ठगिएको जनगुनासो आउने गरेकाले त्यसलाई रोक्न व्यवसायी र मजदुरलाई आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेकनाथ गौतमले यात्रुमैत्री, व्यवसायमैत्री र मजदुरमैत्री बसपार्क निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका महासचिव जगन्नाथ गौतम, कोषाध्यक्ष मीन पनेरुलगायतले आ–आफ्नो दायित्व पूरा गरेर अगाडि बढेमात्र मुलुकको यातायात क्षेत्र सुधार्न सकिने भनाइ राखे ।

कार्यक्रममा महिला चालक रेविका थापा र सहचालक निरुता खत्रीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद पाँच हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महिला चालक थापाले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दा महिलाहरुले समस्या भोग्नुपरेको बताए । 

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन(फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा मंगलबार आयोजित जात्रा अवलोकन गरेका छन् । उनी नयाँ सडककस्थित  जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए ।

गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थालेका हुन् । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।

इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।

भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।

असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।

तस्बिरः प्रदीपराज वन्त/रासस

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

पाटन । ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्‌घाटन गरे।

प्रदर्शनीको उद्‌घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्‍याउने बताए।

‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्‍याउँछ’, उनले भने।

उनले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास भएको बताए। शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उनको धारणा थियो ।

साहित्यकार डा माया ठकुरीले साहित्यकारका लागि पुस्तक प्रदर्शनी हुनु ठूलो उपलब्धि भएको बताए। डिजिटल युगमा पुस्तक प्रदर्शनी हुनु सकारात्मक पाटो भएकाले पुस्तकको माध्यमबाट साहित्यकारको पहिचान स्थापित हुने उनको भनाइ थियो ।

साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा नपरेका पुस्तक पनि प्रदर्शनीमा रहेको जानकारी दिए। उनले यो प्रदर्शनी पाठक र साहित्यकारलाई नजिक बनाउने माध्यम भएको बताए।

आर्थिक समस्याको चपेटामा रहेको साझा प्रकाशनलाई प्रदर्शनीले केही मात्रामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । पठन संस्कृति विकासका लागि आज देखि सुरु प्रदर्शनी १५ गतेसम्म सञ्चालन हुने साझा प्रकाशनका प्रशासकीय सहायक सुशील अधिकारीले जानकारी गराए।

साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्षामार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उनको भनाइ छ । प्रदर्शनीमा साझा प्रकाशनका दुई हजार दुई सय र अन्य प्रकाशनका गरी करिब पाँच हजार पुस्तक प्रदर्शनीमा राखिएको छ ।

साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो । यस संस्थामा नेपाल सरकारको ६० प्रतिशत र बाँकी ४०५ शेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको छ ।

दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । यो अवधिमा चालुतर्फ सात दशमलव २८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख बराबर खर्च भएको छ । चालु आवका लागि सरकारले चालु शीर्षकमा ११ अर्ब ४० करोड ६६ लाख ४५ हजार बराबर विनियोजन गरेको थियो ।

पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर बजेट विनियोजन भएकोमा चार दशमलव २३ प्रतिशत अर्थात १४ अर्ब ८९ करोड ४० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा १० दशमलव आठ प्रतिशत अर्थात् ३९ अर्ब ६७ करोड २२ लाख बराबर खर्च भएको छ ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ५२ प्रतिशत राजस्व असुली गरेको छ । चालु आवका लागि कूल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख बराबर सङ्कलन भएको छ ।

यो अवधिमा सङ्कलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११ दशमलव ३१ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार असुली भएको छ । कर राजस्वतर्फ सरकारले कूल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख बराबर उठाउने वार्षिक लक्ष्य राखेको छ ।

गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख बराबर वार्षिक लक्ष्य राखिएकोमा १५ दशमलव ६९ प्रतिशत अर्थात २१ अर्ब १९ करोड ४३ लाख बराबर सङ्कलन भएको छ । चालु आवका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन ।

‘संविधान पुनरावलोकन सम्पूर्ण कोणबाट आवश्यक छ’

काठमाडौँ । संविधानविद् एवं वरिष्ठ अधिवक्ताहरूले वर्तमान संविधानको अभ्यास करिब १० वर्ष भएकाले सम्पूर्ण कोणबाट अब पुनरावलोकन नितान्त आवश्यक रहेको बताएका छन् । संविधान दिवस–२०८१ का उपलक्ष्यमा कुरा गर्दै उनीरूले संविधान दीर्घजीवी तुल्याउन निश्चित अवधिमा समीक्षा र पुनरावलोकन गर्नै पर्नेमा जोड दिए ।


संविधानलाई समयसापेक्ष तुल्याउन अव्यावहारिक प्रावधान परिवर्तन गरिनुपर्ने औँल्याउँदै उनीहरूले जुन संविधान सजिलोसँग संशोधन गर्न सकिन्छ त्यो नै स्थायी हुने बताए । वर्तमान संविधानलाई संशोधनमार्फत नै परिपक्व बनाउनुपर्ने सुझाव दिँदै संविधानविद्हरूले संशोधनका लागि राजनीतिक दलहरूले दिएका परामर्शलाई सरकारले ग्रहण गरी मूर्तरुप दिनुपर्ने सुझाव दिए ।


संवैधानिक अदालतमा प्रधानन्यायाधीश रहनुहुन्नः गोपालकृष्ण घिमिरे, अध्यक्ष, नेपाल बार एसोसिएसन

नेपालको वर्तमान संविधान जारी भएको नौ वर्ष भयो । संविधान गतिशील दस्तावेज भएकाले सोहीअनुरूप यो संशोधन र परिमार्जन हुनुपर्छ । सामाजिक अभियानकर्मीको साझा संस्था नेपाल बारले न्यायपालिकाको सन्दर्भ जोडेर राष्ट्रिय सम्मेलनबाट संविधान संशोधनको प्रस्तावलाई पारित गरिसकेको छ । त्यसमा न्यायालय र न्याय परिषद्को पुनःसंरचना, थप शक्तिशाली र अधिकारसम्पन्न उच्च अदालत, बेग्लै संवैधानिक इजलास तथा सर्वाेच्च अदालतमा एउटै न्यायाधीश लामो समयसम्म रहने व्यवस्थाको अन्त्यलगायत आठ संशोधनको विषय उठाइएको छ ।


व्यवस्थापिकातर्फ पनि नियमित संसद् सञ्चालन र कानुन निर्माणलाई तीव्रता दिनुपर्नेमा त्यस्तो नभएको अवस्था छ । संसद्को मुख्य जिम्मेवारी र कर्तव्य भनेकै संविधानअनुरूप समयमै कानुन निर्माण हो । एउटा अधिवेशनभित्र दर्जनौं कानुन निर्माण गर्नुपर्नेमा वर्ष दिनभित्र एउटा मात्र कानुन बनेको सुनिन्छ । अर्कातर्फ आर्थिक विकास र अन्य कुरालाई संविधानसँग जोडेर हेरिनु युक्तिसङ्गत हुँदैन । संविधान निर्माणपछि तत्तत् क्षेत्रमा गर्नुपर्ने काम भए भएनन्, हेरिनुपर्छ, मूल्याङ्कन हुनुपर्छ । त्यसैले निश्चित अवधिपछि संविधानलाई जनताको आवश्यकतानुसार पुनरावलोकन गरिनुपर्छ भन्ने हाम्रो धारणा हो । त्यसका लागि हामीले सरकार, संसद् र न्यायपालिकालाई सहयोग र सुझाव दिँदैआएका छौँ ।


जनमानसमा न्याय खर्चिलो भयो भन्ने पनि सुनिएको छ । अर्कातर्फ फैसला चित्त नबुझेमा माथिल्लामा पुनरावेदनका लागि बिगो र जरिवाना नतिरेसम्म जान नपाइने व्यवस्थाले नागरिकको पुनरावेदन अधिकार प्रयोग गर्न पाउनुपर्ने अधिकारमा प्रश्न उठेको छ । यसको बढी मारमा उद्योगी–व्यवसायी परेका छन् । राज्यले उनीहरूलाई नियमन गर्नुपर्छ, निषेध होइन । देशलाई समृद्ध बनाउन उनीहरुलाई संरक्षण गर्नुपर्छ ।


नेपाल बारले असहायका लागि बहस पैरवीको सेवा उपलब्ध गराउँदै आएको छ । यस पवित्र कार्यमा एक हजार तिन सय कानुन व्यवसायी समेटिनुभएको छ । अदालतका फैसला कार्यान्वयन पनि चुस्तदुरुस्त हुनुपर्छ । कार्यापालिकाले फैसला कार्यान्वयनमा उचित समन्वय र सहयोग हुनुपर्छ । पीडितलाई न्याय पाएको अनुभूति हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने सिलसिलामा सबै आआफ्ना ठाउँमा उभिनुपर्छ । मुलुकमा रहेका तिन तहका सरकारबिचमा सहयोग र समन्वय हुनुपर्छ । एकै खालका कानुन निर्माण गर्नुपर्छ । करका दरमा समेत स्थानीय तह र प्रदेशमा फरक परेको देखिन्छ, त्यसो भएमा जनतालाई ठुलो मर्का पर्छ ।


स्थानीय तहमा पालिका उपप्रमुखको नेतृत्वमा न्यायिक अधिकार प्रदान गर्ने संयन्त्र छ । पालिकामा हुने सामान्य झैझगडा र ससाना विवादको मेलमिलाप त्यहीँ हुन्छ, माथि जानु नपर्ने अवस्था छ । न्यायिक निरुपणमा राजनीतिक रङ वा गन्ध देखिएमा न्याय प्रभावित हुने र मर्ने सम्भावना रहन्छ । सामान्य विवाद मिलाउनेबाहेक फैसला गर्नुपर्ने भएमा न्याय अधिकारीबाटै हुनुपर्छ भन्ने मान्यता छ । यसमा सबै स्पष्ट र सचेत हुनुपर्छ ।


सात प्रदेशसहित मुलुकका १८ उच्च अदालतलाई अभिलेख अदालतका रूपमा विकास गर्नुपर्छ र केही मुद्दाको अन्तिम फैसला गर्ने अधिकार दिइनुपर्छ । सर्वाेच्च अदालतमा रहिआएको मुद्दाको चाप घटाउन यसले सहयोग पुर्याउँछ । सर्वाेच्च अदालतप्रति सम्मान बढाउने कार्यमा जोडबल हुनुपर्छ । अहिले सर्वाेच्च अदालतमा १० वर्ष अवधि कटेका मुद्दा छैनन् । सक्षम जनशक्ति तयार गरी कार्यान्वयन तहलाई प्रभावकारी तुल्याउन सकिएमा परिणाम राम्रो निकाल्न सकिन्छ ।

अदालतमा गोलाप्रथाद्वारा मुद्दा हेर्ने परिपाटी विकास भएको छ । यसले न्यायालयप्रति उठेका टीकाटिप्पणी अन्त्य गरेको छ । न्यायाधीशको प्रत्येक वर्ष सम्पत्तिको मूल्याङ्कन गरिने चलन पनि अघि बढाइनुपर्छ । संवैधानिक अदालतमा प्रधानन्यायाधीश रहनुहुन्न भन्ने नेपाल बारको भनाइ छ । न्याय परिषद्को भूमिका र न्यायाधीश नियुक्तिलाई व्यवस्थित गरिनुपर्छ । निर्वाचन प्रणालीलाई सुधार गरी संसद्लाई प्रभावकारी बनाउनुपर्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन जनस्तरबाट उठेका प्रश्न संविधान सशोधनका बेला ख्याल गरिनुपर्छ । विधायक कानुन निर्माण र संशोधनसँग जोडिएको पद हो । उसको मुख्य जिम्मेवारी संसद्लाई निरन्तर चलाउनु हो ।


प्रदेश मन्त्रिपरिषद सानो बनाउनुपर्छः लक्ष्मणलाल कर्ण, पूर्वमन्त्री एवं संविधानविद्


जुन बेला संविधान निर्माण भइरहेको थियो, त्यस बेला सरकार छिटो फेरबदल हुने क्रम चलिरहेको थियो । पाँचवर्षे कार्यकालमा सरकार पूरा चल्नुहुन्न भन्नेमा दलहरूबीच एक किसिमको सहमति बन्यो । जो सरकारमा जान्छ, पूरा अवधि चलाओस्, अवरोध नहोस् भन्ने मनसायका साथ कम्तीमा दुई वर्ष प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरियो ।

तथापि दलहरू त्यो भावनानुरूप चल्न सकेनन् । मुलुकमा हाल सुधारिएको संसदीय व्यवस्था अभ्यासमा छ । यस व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् भङ्ग गर्ने र अविश्वासको प्रस्ताव राख्न पाउने अधिकार भए पनि राजनीतिक स्थायित्व प्राप्त गरी मुलुकलाई समृद्धितर्फ लैजान सकियोस् भन्ने ध्येयले दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने गरी प्रतिबन्ध लगाइएको थियो ।


वर्तमान संविधानमा धेरै मौलिक अधिकार कल्पना गरिएको छ । यति अधिकारसहित मौलिक हकको व्यवस्था विश्वका संविधानमा कमै पाइन्छ । मजदुरलाई हड्ताल गर्न पाउनेसम्मका अधिकारको व्यवस्था संविधानमै दिइएको छ । देशको विविधतालाई सम्बोधन गर्न सकियोस् भनी समानुपातिक –समावेशिताको व्यवस्था गरिएको छ । त्यस्तै ३३ प्रतिशत महिलाको उपस्थिति राज्यका सबै तह र तप्कामा हुने व्यवस्था छ । अहिले तिन तहमै महिलाको प्रशस्त उपस्थिति छ । विश्वका विकसित मुलुकमा पनि अहिलेसम्म यस्तो पाइँदैन ।

उनीहरू यस्तो प्रावधान पुर्याउने कोसिसमा छन् । संविधानमा यस्ता व्यवस्था समावेश गरिए पनि केही कमजोरी भने हुन गयो । जनान्दोलनका बलमा स्थापित अन्तरिम सरकारले ल्याएको संविधानले स्वामित्व ग्रहण गरिसकेको आदिवासी, जनजाति, मधेसी, दलित र मुसलमानको विशेष अधिकार समावेश हुन सकेन । देश सङ्घीयतामा गयो तर प्रदेशको अधिकार खुम्चाइयो । संविधानले कल्पना गरेअनुरूप अधिकार बाँडफाँट भएन, केन्द्रमै राखियो । संविधानको मर्म र भावनाअनुरूप निजामती र प्रहरी कानुन छिटो बनाएर त्यससम्बन्धमा प्रदेशलाई जिम्मा दिन अलमल गरियो । त्यसमा अहिले पनि बराबर विवाद चलिरहेको छ । जन्मसिद्ध नागरिकका छोराछोरीहरूलाई नागरिकता प्रमाणपत्र दिन भर्खर नयाँ व्यवस्था भएको छ । यसले केही हदसम्म समस्या समाधान भए पनि विवाहित विदेशी महिलासँग जोडिएको विषय बाँकी नै छ ।


संविधानसभाबाट संविधान बनाइसकेपछि दीर्घजीवी तुल्याउन निश्चित अवधिपछि पुनरवलोकन गरिनुपर्छ । समयानुसार संविधानका अव्यावहारिक प्रावधान परिवर्तन गरिनुपर्छ । मुलुकमा एकै किसिमको अवस्था सधैँ रहन्न । जुन संविधान सजिलोसँग संशोधन गर्न सकिन्छ, त्यो मात्रै स्थायी हुन्छ । भारतीय र अमेरिकी संविधान हेरियो भने प्रशस्त संशोधन भएको छ । यसअघिका हाम्रा संविधान संसारकै सर्वाेत्कृष्ट भनिए पनि संशोधन नगरिएकाले टिक्न सकेन र अन्त्य भयो । वर्तमान संविधानलाई संशोधनमार्फत परिपक्व बनाउनुपर्छ । हालको सरकार त्यही पृष्ठभूमिमा बनेको छ ।

संसद्मा उपस्थित सङ्ख्याका आधारमा पनि संविधान संशोधन गर्न सरकारलाई सहज छ । हुन त संशोधनमा सबैको स्वामित्व चाहिन्छ नै, तापनि दुईतिहाइ बहुमत नजिक रहेकाले वर्तमान सरकारले गर्न सक्छ । केही दिनअघि संविधान संशोधनका विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले छलफल सुरुआत गरेको छ, संशोधन समिति पनि बनाएको छ । तर कुन के विषय, कुन तरिकाबाट र कसरी भन्नेबारे बाहिर आएको छैन । अब छलफल गरिँदै जानुपर्छ । लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको कुरा उठाएर अग्रसरता देखाएपछि अन्य पार्टीले स्वीकार्नु राम्रो पक्ष हो । सरकारले यसलाई ग्रहण गर्दै मूर्त रूप दिनुपर्छ । नौ वर्षका अभ्यासमा देखिएका अव्यावहारिक पक्षलाई हटाउनुपर्छ । यसबीचमा सरकार परिवर्तनका मुद्दा लिएर राजनीतिक दलहरू धेरै पटक न्यायालय धाउन पुगे । त्यहाँबाट जेजस्तो निर्णय आयो, त्यसलाई मानेर अघि बढिरहेको अवस्था छ । न्यायालयको आदेशपछि उठेका विषयमा अब सुधार गरिनुपर्छ । मुलुका विभिन्न वर्ग र समुदायको भावना र माग सम्बोधन गर्न पनि संविधान सुधारको खाँचो छ ।


अर्कातर्फ संविधानमा रहेका केही नमिल्दा र अप्ठेरा कुरा हटाउन सुधार गरेर जानुपर्छ । सम्पूर्ण कोणबाट हेर्दा वर्तमान संविधानको अभ्यास करिब १० वर्ष भयो । अब पुनरवलोकन नितान्त आवश्यक छ । सरकारले महसुस गरी व्यावहारिक रूप दिनुपर्छ । लोसपाले अहिले कहाँ संशोधन आवश्यक छ भनी मत बनाइसकेको छैन ।

पार्टीले मेरा संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । तथापि नागरिकताका बाँकी थोरै विषयको समाधान र प्रदेशलाई अधिकारसम्पन्न गराउने तथा उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने विषय साझा हुनसक्छ । सङ्घमा जस्तै प्रदेश मन्त्रिपरिषद्मा सङ्ख्या किटानी गर्ने र सानो बनाउनेतर्फ पनि अब विचार गरिनुपर्छ । सर्वाेच्च अदालतमा लागेको मुद्दाको चाङलाई ख्याल गरी त्यहाँ न्यायाधीशको सङ्ख्या बढाउने, संवैधानिक मुद्दा नियमित हेर्ने बेग्लै इजलास राख्ने र उच्च अदालतलाई थप अधिकार उपलब्ध गराउनेमा पनि अब ख्याल गरिनुपर्छ ।

 एपिएफद्वारा सङ्कटा पराजित

काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा मंगलबार भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।

प्रतियोगिता सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

खेलको  ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।

डेढ वर्षमा मलेखु–मुग्लिन सडक स्तरोन्नतिको १६ प्रतिशत मात्रै भौतिक प्रगति

चितवन  । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा-मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्यांक गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ ।

उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ । यस सडकका आठ पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटाको काम भइरहेको उनले जानकारी दिए। हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुनसकेको छैन । हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए।

सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरेको छ । यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ । हाल यो सडकको चौडाइ सात मिटर छ ।

अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ । बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ । विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन् । चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ ।

राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नुपरेको उनको भनाइ छ । वर्षात्को समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उनले बताए।

राजेन्द्र महतोले खोले नयाँ दल

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा गरेका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकमा महतोले सम्पूर्ण उत्पीडनमा परेका नागरिकको अधिकारको लडाइँका लागि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पाटीको जन्म भएको घोषणा गरेका हुन् । उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने दाबी गरे ।

यसले देशको विभिन्न संस्कृतिहरूको रक्षा गर्दै आर्थिक अवस्था सुधार गर्नका लागि पनि आवश्यक योजना तय गर्ने उनले बताए । महतोले लोकतन्त्रमा पनि आफ्नो अधिकार र पहिचान पाउन नसकेका कारण सबैलाई समेटेर राष्ट्रिय मुक्ति क्रान्ति बनाउनुपरेको धारणा राखे ।

अहिले पनि अधिकार प्राप्तिको लडाइँका लागि एक हुन खोज्दा राज्यले एक हुन नदिएको उनको भनाइ थियो । तीनदिनसम्म चल्ने बैठकमा आगामी रणनीति तथा पार्टी निर्माण, समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय मुक्ति क्रान्ति लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

अमेरिकामा इन्ट्रा कप भलिबलमा रुकुम र बेलमण्ट विजयी

न्युयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।

गएराति सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो । नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् ।

प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (नेपाली १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले  पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर (नेपाली १२ लाख ६ हजार) जितेको थियो ।

यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (नेपाली १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (नेपाली आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ ।

खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् । 

पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताए ।

उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताए ।

पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गरे  ।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (नेपाली ६ लाख ७० हजार) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर ( नेपाली चार लाख दुई हजार) प्राप्त गरेका छन् ।

क्यान्सर उपचार सेवा विस्तारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता

गण्डकी । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा मंगलबार आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ ।

त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफू लागिपरेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजय न्यौपाने, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत वक्ताले क्यान्सरको उपचारमा अस्पतालमा उपलव्ध सेवाबारे जानकारी दिएका थिए ।

मन्त्री पौडेलले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा नेपाल परिवार नियोजन सङ्घ निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका थिए ।

लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्छः महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सामाजिक सुधार र सकारात्मक परिवर्तनका लागि केन्द्रले गरेको योगदानको चर्चा गर्दै लागुऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनःस्थापनाका माध्यमबाट नयाँ जीवन प्रदान गरेको बताए ।

त्यस अवसरमा महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे । साथै उनले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’को विमोचन गरे ।

केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यलाई पुरस्कार प्रदान गरिन् ।

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएर बेपत्ता बनाएको थियो । ७२ वर्षीय अधिकारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

उनकाअनुसार स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा शव फेला पारेको हो । मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौँबाट दुप्चेश्वर आएकी अधिकारी स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।

कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको अजरबैजानको दावी

पेरिस । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रीत रहने जनाएको छ ।

नोभेम्बरमा हुने सम्मेलनमा विकासशील देशलाई जलवायु परिवर्तनसँग जुध्न आवश्यक रकम र रकमको स्रोत निर्धारणमा राष्ट्रहरू सहमत हुने अपेक्षा गरिएको छ तर अहिलेसम्मको औपचारिक वार्ता असहमतिमा टुङ्गिएको छ ।

विभिन्न गतिरोधको बावजुद पनि सम्मेलनका लागि उत्साहित रहेको अजरबैजानले कठिन वार्तालाई “पूरक“ गर्ने आशामा एक दर्जन भन्दा बढी पहलहरू अगाडी सारेको छ ।

अजरबैजानले यस सन्दर्भमा म्याराथन शिखर सम्मेलनको क्रममा राष्ट्रलाई युद्धविराम गर्न आग्रह गर्ने, जैविक फोहोर र पर्यटन उद्योगबाट हुने मिथेन उत्सर्जन घटाउने प्रतिबद्धता जनाउने, र विश्वव्यापी ऊर्जा भण्डारणलाई बढावा दिने वाचा गर्ने जस्ता आवश्यक पहल गरेको हो ।

कोप–२९ मा अजरबैजानले प्रस्ताव गरेको मुख्य एजेन्डामध्ये जलवायु वित्त कोष निर्धारणको लक्ष्य विकासोन्मुख देशहरूका लागि जलवायु परिवर्तनसँग जुध्न जीवाश्म इन्धन उत्पादन गर्ने देश र उद्योगबाट आवश्यक रकम सङ्कलन गर्नु हो ।

जीवाश्म इन्धनमा निर्भर अजरबैजानले ‘जलवायु वित्त कार्य कोष’ मा पहिलो योगदान गर्ने अपेक्षा गरिएको छ ।

यस वर्ष बाकुमा हुने शिखर सम्मेलनमा विकासशील देशलाई ’वार्मिङ ग्रह’सँग अनुकूलन गर्न आवश्यक रकम निर्धारण गर्न र उक्त रकम जुटाउन राष्ट्रहरु प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।

राष्ट्रका स्वैच्छिक पहल जस्तै गैर–बाध्यकारी प्रतिज्ञा र प्रतिबद्धता कोप शिखर सम्मेलनका विशेषताहरू हुन् तर यस्ता प्रतिज्ञाहरु संयुक्त राष्ट्रसङ्घको समर्थनमा पक्षबीच सहमतिद्वारा उत्पन्न हुने बाध्यकारी सम्झौताभन्दा फरक छन् ।

नवलपरासीमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालन

नवलपरासी ।  नवलपरासीको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले जानकारी दिइन्।

डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए।

उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो ।

शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व संकलन गर्न सकिने व्यवस्थापक पटेलले बताए ।

पछिल्लो समय जिल्लामा शीतभण्डार नहुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानुपर्ने समस्या थियो । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रूपन्देही र कपिलवस्तुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो ।

‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुन उपसभामुख राना रूस प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा मंगलबार संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी छन् । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नेछिन् ।

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यात्रा इजाजतप्राप्त हतियार अब सार्वजनिकस्थलमा लैजान नपाइने

काठमाडौँ । यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ ।

सरकारले भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो ।

मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बाल गृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

सूचनामा नेपाल सरकारले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतपत्र प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने जनाएको छ ।

राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजन बाहेक सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षितस्थल, बालगृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत लैजान नपाउने गरी निषेध गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वाेच्चले त्यस विषयमा आवश्यक कानुन बनाउन आदेश दिए अनुसार सरकारले उक्त निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।

बाढीका कारण नाइजेरियामा चार लाख मानिस प्रभावित

उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरुका लागि खाद्य , पिउने पानी, सरसफाईजस्ता प्रथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेड क्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरुको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ ।

लामो द्वन्द्व सँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथासिग्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ ।

विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालीकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

ओसिएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षेतिग्रस्त हुँदा तीन लाख मानिसहरु विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन् ।

“सरकारी प्रयासको समर्थनमा, राष्ट्रसङ्घ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी ,सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धिकरण “ट्याब्लेटहरू” प्रदान गरिरहेको कार्यलयले उल्लेख गरेको छ ।

ओसिएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसङघीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट छ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ । कार्यलयका अनुसार पिडितहरुको जिवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ ।

बाढीका कारण नाइजेरियामा तीन करोड बीस लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेकोे बताएको छ ।

कार्यलयका अनुसार बाढीका कारण “बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन भने दुईलाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् ।

खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीकोे क्षतिले थप चिन्ता थपिएको छ ।

महोत्तरीमा एक सय ५० किलो गाँजासहित दुईजना पक्राउ

जलेश्वर (महोत्तरी)  । प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट एक सय ५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राऊ गरेको छ ।

धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदीप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् । उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए । 

अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्णः राष्ट्रपति पौडल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका वन्दनीय रहेको बताए । नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको वास्तविकता सुनाउँदै राष्ट्रपति पौडेलले जनतालाई सत्य सूचना सम्प्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोग गर्दै लोकतन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउन सञ्चारकर्मी सधैँ सचेत रहनुपर्ने बताए ।

उनले साक्षर मात्र नभइ सञ्चारका अन्य माध्यममा पहुँच नभएका निरक्षरका लागि सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चारमाध्यम रेडियो भएकाले जनताप्रति रेडियोकर्मीको भूमिका अझ महत्वपूर्ण हुने बताए ।

जनसहभागिताबिनाका योजना सफल हुन सक्दैनन्ः मुख्यमन्त्री पाण्डे

मध्यविन्दु (नवलपरासी)  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताएका हुन् ।

“आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ”, उनले भने, “सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।”

उनले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भए/गरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उनको भनाइ छ ।

“देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ”, उनले भने, “केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।”

गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम् कार्य गर्दै आएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको उनले जानकारी दिए ।

“अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ”, उनले भने, “सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ ? कसरी गर्न सकिन्छ भनेर नागरिकले सोचिदिनुस् ।” 

यू–१९ महिला विश्वकप क्वालिफायरका लागि २९ खेलाडी बन्द प्रशिक्षणमा

शिवु खनाल, देउखुरी । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारी तथा खेलाडी छनोटका लागि २९ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले सोमबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा २९ खेलाडी बोलाएको हो ।

आईसीसी यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारी तथा खेलाडी छनोटका लागि सोमबार देखि लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा पहिलो चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको हो । बन्द प्रशिक्षण भदौ ३१ गतेदेखि दाङको लमहीमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाइने नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो ।

यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्वालिफायर सन २०२४ को नोभेम्वरमा युएईमा हुने तय भएको छ । त्यसैगरी यू–१९ महिला विश्वकप सन् २०२७ मा नेपालमा आयोजना हुनेछ । यस विश्वकपमा १४ देशको सहभागिता रहनेछ ।

नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् अन्तराष्ट्रिय अम्पाएर संजय गुरुङ्का अनुसार केही खेलाडी यसभन्दा पहिले नै छनोट भइसकेका छन् भने केही जिल्ला वा प्रदेशबाट उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई पनि प्रशिक्षणमा सहभागी गराइनेछ ।

त्यसका लागि नेपाल क्रिकेट संघले आफैं छनोट प्रक्रिया गर्ने छ। पहिलो चरणको बन्द प्रशिक्षण खेलमा विराटनगरबाट प्रमुख प्रशिक्षणको रुपमा महेश रिजाल आइपुग्नु भएको छ । नेपाल क्रिकेट संघको भदौ १३ गते बसेको केन्द्रीय समितिको बैठकले दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा प्रशिक्षण खेल राख्ने निर्णय गरेको हो ।

संघको निर्णयले लमहीका बासिन्दामा खुसी छाएको छ । १२ करोड लागतमा निर्माण भएको यो मैदान खेल नहुँदा घाँससहितको अत्याधुनिक मैदान गौचरन बनेको थियो ।

५०० दर्शक क्षमताको (जी स्ट्यान्डर्ड) भीआईपी स्ट्यान्ड, आउटफिल्ड, बाउन्ड्री, क्रिजहरू, स्टम्प र बेल्स, साइट स्क्रिन, र डगआउट/पविलियन जस्ता सबै संरचनाहरू निर्माण सम्पन्न भइसकेको लमही नगर विकास समितिका सब–इञ्जिनयर तुलसीराम अर्यालले बताए ।

यद्यपि, प्यारापिट, भारोत्तोलन एकेडेमी, र सुटिङ रेञ्ज जस्ता संरचना बने पनि प्रयोगविहीन बनेको थियो । करोडौंको खेल पूर्वाधार तयार हुँदासमेत लमहीका खेलप्रेमी र खेलाडीको उत्साह निराशामा परिणत हुँदै आएको थियो । देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियमको दुरावस्था देखेर जो कोही पनि निराश हुने गरेका छन् ।

आठौं राष्ट्रिय खेलकुदका बेला महिला क्रिकेटको आयोजना भए पनि त्यसपछि मैदान खेल कुर्दै आएको थियो । लमही नगर विकास समितिको स्वामित्वमा पूर्व–पश्चिम राजमार्गसँगै सटेको चार बिघा क्षेत्रफलमा नगर विकासको दश करोड र युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश सरकारको न्यून लागतमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान निर्माण भएको हो ।

खेल पूर्वाधार भए पनि राज्यको ध्यानाकर्षण नहुनु र खेल हुन नसक्नु दुःखद रहेको स्थानीयहरूले बताएका छन् । ९ औं खेलकुद प्रतियोगिता वि.सं.२०७७ मा कोरोना महामारीका कारण हुन सकेन । स्टेडियम भित्र आवश्यक पूर्वाधार बनेपछि पनि एकपटक पनि प्रयोगमा आएका छैनन् ।

देश संघीय संरचनामा गइसकेपछि पनि सुविधा सम्पन्न मैदान प्रयोग नहुनुले स्थानीयमा निराशा उत्पन्न भएको थियो । तर, बन्द प्रशिक्षणले फेरि उत्साह जगाउन थालेको छ । चार वर्षको अवधिमा मात्र महिला क्रिकेट खेल प्रतियोगिता सञ्चालन भएको छ ।

नियमित अभ्यास र प्रतियोगिता नभएपछि क्रिक्रेट स्टेडियम अस्तव्यस्त बनेको थियो । नगर विकास समितिले नवनिर्मित संरचना क्यानलाई लिजमा दिने वा स्थानीय वा संघ मातहत राख्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । स्वामित्व हस्तान्तरण नहुँदा क्यानले लिन नमान्दा मैदान अन्योलमा रहेको स्रोतले जनाएको छ ।

क्रिकेट मैदानलाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसँग सम्बद्धहरूले माग गरेका छन् । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले नियमित खेल र अभ्यासका लागि पहल गरिने बताएका छन् ।

बन्द प्रशिक्षणमा परेका महिला खेलाडीहरु

क्यानले बन्द प्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा सोनि पाख्रिन, एली यादव, मनिषा उपाध्याय, करिश्मा गुरुङ्, बिपिसा शाही, पूजा साउद, सना प्रविन, प्रतिमा साह, स्नेहा महरा, सावित्रा धामी, अनु कठायत, मनिषा बोहरा, करिश्मा थापा, रविना साउद, किरण कुमारी कुँवर, तिर्सना विक छन् । यसैगरी रिया शर्मा, एलिसा कुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुसुम गोदार, सिमाना केसी निरु जिटी, आश्मा मगर, सरिना थापा, ज्योत्स्निका मरासिनी, रचना चौधरी र सुष्मिता भुषाल पनि बन्द प्रशिक्षणमा परेका छन् ।

बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध : मुख्यमन्त्री लामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्‌घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

‘खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ’, मुख्यमन्त्री लामाले भने, ‘यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ ।’

युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले समाज र राष्ट्रलाई जोड्न खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताए।

असोज १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यमन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासङ्घलगायत १३ टिमको सहभागिता रहेको आयोजक प्रदेश खेलकुद विकास परिषद्का तालिम, प्रतियोगिता तथा खेलुकुद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिए।

दुई दिनसम्म चल्ने प्रतियोगिताका विजेता र उपविजेतालाई असोज ३ गते मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

विदेशी हस्तक्षेप बढाएको आरोपमा मेटाद्वारा रुसी सञ्चारमाध्यममाथि प्रतिबन्ध

सान फ्रान्सिस्को । टेक जायन्ट कम्पनी मेटाले ‘विदेशी हस्तक्षेप’ गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ ।

संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो । यूएस स्टेट डिपार्टमेन्टले आरटी लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ।

‘सावधानीपूर्वक विचार गरेपछि, हामीले रूसको राष्ट्रिय सञ्चारमाध्यम विरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ ‘,मेटाले बताएको छ ।

‘रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिको लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको छ’, मेटाले भन्यो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रुपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानाडा, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकामा औपचारिक रुपमा प्रतिबन्ध लगाइएको थियो ।

आरटीमाथि अमेरिका विरुद्ध भ्रामक सुचना फैलाउने गोप्य परियोजनाको रुपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो ।

सन् २०२३ को अन्त्यमा सुरु भएदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिका विरुद्ध लगभग २ हजार भिडियो पोस्ट गरेको छ । भिडियोहरु युट्युबमा मात्रै १ करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ ।

मेटाले यसअघि रूसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रसियाको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो ।

अमेरिकामा टिकटक प्रतिबन्धले वाक स्वतन्त्रतालाई धरमर पार्ने टिकटकको तर्क

बीबीसी । टिकटकले अमेरिकी अदालतमा अमेरिकाले लागू गर्न खोजेको टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने एउटा कानुनले ‘वाक् स्वतन्त्रतालाई धरमर पार्ने’ तर्क गरेको छ । टिकटकले अदालतमा त्यस्तो तर्क गरेको हो ।

आफ्नो माउ कम्पनी बाइटड्यान्स अमेरिकी कम्पनीलाई उक्त सामाजिक सञ्जाल एप बिक्री गर्नुपर्ने अन्यथा उसले अमेरिकामा प्रतिबन्ध खेप्ने प्रावधान भएको कानुनविरुद्ध टिकटक अदालत गएको हो ।

अमेरिकाले प्रयोगकर्ताको डेटा चीनको सरकारी संयन्त्रमा पुग्ने र त्यसलाई उसले दुरुपयोग गर्न सक्ने भन्दै त्यो कानुन ल्याएको थियो । यद्यपि टिकटक र बाइटड्यान्सले बारम्बार चिनियाँ अधिकारीसँग डेटाको पहुँच नहुने बताउँदै आएका छन् र त्यस्तो आरोपलाई अस्वीकार गरेका छन् ।

ती कम्पनीहरूले गत मे महिनाको सुरुमा उक्त कानुनलाई रोक्न भन्दै मुद्दा दायर गरेका हुन् । उक्त कानुनलाई उनीहरूले गैरसंवैधानिक भनेका छन् र १७ करोड अमेरिकी प्रयोगकर्ताहरूको वाक् स्वतन्त्रताको हनन् हुने दाबी गरेका छन् ।

वाशिङ्टन डीसीस्थित एक अदालतमा तीन न्यायाधीशको इजलासले सोमबार टिकटकका तर्कहरू सुनेको छ । टिकटक र बाइटड्यान्सका वकिल एन्ड्रयू पिङ्कसले अदालतमा यो कानुनले भविष्यमा हुने अनिश्चित जोखिमसहित वाक् स्वतन्त्रतामा असाधारण प्रतिबन्ध लगाएको दाबी गरेका छन् ।

उनले उक्त कम्पनी चिनियाँ राज्यको स्वामित्वमा नभएको बताए । तर न्यायाधीश श्री श्रीनिवासनले कम्पनी ‘चिनियाँ नियन्त्रणमा’ रहेको प्रतिक्रिया दिएका छन् । टिकटकका वकिलले अमेरिकी सरकारले अहिलेको अवस्थामा कुनै पनि दोष नदेखाएको र भविष्यमा समस्या निम्तिन सक्छन् भन्ने ठानेर उक्त कम्पनीलाई दण्डित गरिएको दाबी गरे ।

न्यायाधीश गिन्सबर्गले उक्त कानुनले कम्पनी ‘नियन्त्रणको वर्तमान व्यवस्थामा मात्र रोक लगाएको तर कम्पनीलाई नै रोक नलगाएको’ तर्क गरे । उनले उक्त कानुन अमेरिकासँग सौहार्द सम्बन्ध नभएका देशहरूबाट लगानी भएका सबै कम्पनीलाई लागु हुने र त्यो टिकटकका लागि मात्र नभएको बताए ।

फसाउने षड्यन्त्र नगर्न कांग्रेस-एमालेलाई रवि लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाईको बलमा दायाँबायाँ गर्न खोजिए आफ्नो पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँहरूको मान मर्दन गर्ने र फसाउन षड्यन्त्र गरे चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले आफूहरूले काम गर्न खोजेकाले केही समय काम गर्न दिन आग्रह गरे । ठूला दलहरूले काम गर्न नसकेकाले आफूहरू आएको भन्दै उनले आफ्नो आवश्यकता नपर्ने गरी काम गर्न आग्रह गरे ।

उनले सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आफूलाई लाग्दै आएको मूल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिए पनि केही सञ्चार माध्यमहरू भ्रमको खेती गरिरहेको आरोप लगाए ।

उनले भने, ‘हिजो भर्खरै संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदन बुझायो । त्यसमा मूल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरू मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए । समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग सरोकार छैन । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ ।’

कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरू गाली खान नडराउने बताए । उनले भने, ‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरूलाई यस राष्ट्रिय भेलाबाट अपील गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निहुँमा तपाईँहरू नाङ्गो नहुनुहोस् ।’

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

काठमाडौँ  । यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा विसं २०१६ अजोज २ गते सङ्घको स्थापना भएको थियो । नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी एवं पुरानो संस्था सङ्घले हाल ३१ जिल्लामा रहेका आफ्ना सेवा केन्द्रमार्फत ३५० नगरपालिका तथा गाउँपालिकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्रमार्फत समुदायमा आफ्ना सेवा पु¥याइरहेको छ ।

सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।

नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो ।

सोही अनुसार सङ्घले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी ‘११औँ राष्ट्रिय परिवार योजना दिवस’ तथा ‘६५औँ नेपाल परिवार नियोजन सङ्घ स्थापना दिवस’ मनाउन लागेको हो । यस वर्षको परिवार योजना दिवसको नारा ‘सुसूचित छनौटसहितको परिवार योजना सेवाः प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ भन्ने रहेको छ ।

यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानव अधिकार हो र सबै वर्गले यसको निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य ध्येयका साथ स्थापित सङ्घले अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य सङ्घका रुपमा कार्यरत रहेको छ ।

सङ्घले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने परिवार नियोजन सेवाको अधिकांश हिस्सा ओगटेको छ । तथ्याङ्कअनुसार सङ्घले सन् २०२३ मा करिब ३६ लाख यौन तथा प्रजनन स्वास्थ्यका विविध सेवा प्रदान गरी करिब एक लाख अनिच्छित गर्भधारण, ४३ मातृमृत्यु, ५० हजार असुरक्षित गर्भपतन र ३०० बाल मृत्युदर घटाउन योग्दान पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“सुरक्षित गर्भपतन सेवामा सङ्घले १४ प्रतिशत योगदान पुर्याउँदै आइरहेको छ । सङ्घले, यौन तथा प्रजनन सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हाल एचआइभीको जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणबाट जोगाउन पाल्पा तथा सुनसरी जिल्लामा आफ्ना शाखा कार्यालयमार्फत प्रेप सेवा सञ्चालन गर्दै आइरहेको छ । सङ्घले आगामी वर्षमा थप चार लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।”

सङ्घले विपद् तथा कोरना महामारीका अवस्थामा पनि प्रभावित जनसमुदायमा न्यूनतम आधारभूत प्रजनन स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आइरहेकोछ । विसं २०८० को जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा ४६ घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।

ती शिविरमा एक लाख पाँच हजार व्यक्तिलाई ५५ हजार ६८५ यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका विविध सेवा, परामर्श एवम् आपत्कालीन मर्यादा राहत सामग्री प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले विपद्को बेलामा गरेको सो उत्कृष्ट सेवालाई कर्णाली प्रदेश स्थानीय सरकार तथा विभिन्न पालिकाहरुले कदरपत्रले सम्मान गरेको जनाइएको छ ।

नयाँ रणनीतिक योजना

सङ्घले सन् २०२३ देखि २०२८ सम्मका लागि नयाँ रणनीतिक योजना निर्धारण गरेको छ । यसमा परिवार नियोजन, योजनाका साथसाथै व्यक्ति केन्द्रित सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्धता, संस्थागत वृत्तिविकास र दिगोपना जस्ता मुख्य स्तम्भ रहेका छन् ।

यी स्तम्भमा आधारित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कार्यक्रम अगामी ५ वर्षसम्म विस्तार गर्दै सरकारले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पुर्याउनु रणनीतिको मुख्य उद्देश्य रहेको छ ।

सङ्घले उपलब्ध गराएको विभिन्न सेवा सङ्ख्या अन्तर्गत सन् २०१७ मा ३० लाख ९४ हजार, सन् २०१८ मा ३० लाख ६० हजार, सन् २०२० मा ३२ लाख ४५ हजार, सन् २०२१ मा ३५ लाख ९७ हजार, सन् २०२२ मा ३८ लाख ६० हजार, सन् २०२३ मा ३५ लाख ९६ हजार रहेका विज्ञप्तिमा उल्लेख छ ।

एकीकृत यौन तथा प्रजनन स्वास्थ्य सेवा

विज्ञप्तिमा भनिएको छ, “परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग, (पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा समेत) गर्भवती जाँच, बाँझोपना, यौन सङ्क्रमण तथा एचआइभी परीक्षण तथा परामर्श , लैङ्गिक हिंसा तथा खोप र अन्य प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवा जारी रहेका छन् । आगामी दिनमा विशेषगरी महिला तथा किशोरी जीवनस्तर माथि उकास्ने यस्ता सेवा प्रदान गर्न अनवरत तल्लीन रहने छौँ । ” यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारीका लागि सङ्घले निःशुल्क हेल्प लाइन सेवा १६६००१४५००० सञ्चालन गरिरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा मंगलबार बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् । उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा गरिएको थियो ।

पहिलो दिन आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ ।

भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छभने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ । भेलामा देशभरबाट १५०० भन्दाबढी प्रतिनिधि सहभागी भएका छन् ।

रविजेल जाने पक्कापक्की भएपछि ‘क्लिनचिट’ पाए भनेर भ्रम फैलाएको मुकुलको दाबी

डा. मुकुल ढकाल ।
जेल जाने पक्कापक्की भएपछि लाज शरम केहीको मतलब नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिनचिट पाए भनेर भ्रम फैलाएछन् । उनीलाई आफू बाहेक अरू कसैको केही मतलब छैन भन्ने कुरा फेरि पुष्टि भएको छ । यिनी आफू जेल जाने निश्चित भयो, छानबिन समितिले नामै किटान गरेर दोषी भनिसक्यो, कारबाही सिफारिस गरिसक्यो । कम्तिमा आफैं पढ्ने आँट गर्नुहोस्, यी स्वार्थीले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस् पुर्याउनु ।

सहकारी ऐन २०७४ को दफा १२२ को (त) बमोजिम ‘सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने उल्लेख छ । ऐनको दफा १२४ को उपदफा (१) (घ) बमोजिम १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैद’ हुने व्यवस्था छ। रवि लामिछानेको हकमा यी दफा लागू हुन्छ । प्रतिवेदन लेखनका क्रममा यी दफा नै तोक्ने भन्दा, प्रचलित कानुन भन्ने शब्दले रिप्लेस मात्र गरेको हो । कुरो त्यति मात्र हो । माथिको कारबाही बाहेक पनि कर छलि, कागजात किर्ते लगायतमा पनि दोषी देखिएकाले त्यसमा थप कारबाही हुनेछ । भ्रममा नपर्नुहोस् । पढ्ने बानी बसाल्नुहोस् ।

मुम्बईमा चार सन्तानकी नेपाली महिला अर्कैसँग गएपछि तीन छोराछोरीको बिचल्ली

विष्णुप्रसाद गौतम, मुम्बई । भारतको मुम्बईमा चार सन्तानकी आमा आठ वर्षकी छोरीलाई लिएर अर्कैसँग गएपछि तीन छोराछोरीको बिचल्ली भएको छ ।

कञ्चनपुरको रामपुर बिलासपुर गाउँपालिका वडा नम्बर नौ घर भई बिगत १६ वर्षदेखि मुम्बईमा परिवारसँग बस्दै आएका धनसिंह सोनारकी श्रीमती ममसरी सोनार एक छोरी लिएर अर्कैसँग गएपछि अरु तीन सन्तानको बिचल्ली भएको हो ।

श्रीमती अर्कैसँग फरार भएपछि उनका श्रीमान धनसिंह खोजी गरिदिन मुम्बई प्रहरीसँग आग्रह गरेका छन् । उनले कसैले देखे भेटेमा 9619304312 ,720878370 नम्बरमा सम्पर्क गरी जानकारी दिनसमेत आग्रह गरेका छन् ।

मेटमणिको अभिव्यक्तिले पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठ्यो, कारबाही होस्ः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।


सोमबार राति विज्ञप्ति जारी गरी चौधरीले गलत अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरेका हुन् । उनले उपमहासचिव चौधरीको अभिव्यक्तिले पार्टी पंक्ति र आमनेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन् ।

उनले भनेका छन् , ‘उपमहासचिव’ को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ । आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु ।’

चौधरीले एक टेलिभिजनलाई कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतकै भएको बताएका थिए । त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिँदै चौधरीले आफूले त्यस्तो नियतले अभिव्यक्ति नदिएको र जिब्रो चिप्लिएको बताएका छन् ।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि २० असोजमा सकिँदै छ । प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । सोहीअनुसार संवैधानिक परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो ।

हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ ।  सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानकारी दिए  ।

मन्त्रालयमा सामेबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने बताए । उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भइसकेको र चाँडै सार्वजनिक गरिने जानकारी दिए ।

मन्त्री पाण्डेले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन हुने जानकारी दिए । उनले भने,’नागरिक उड्डयन क्षेत्रमा उच्चस्तरीय समिति बनाउनेगरी अहिले प्रक्रिया अगाडि बढेको छ, उक्त समितिले अहिलेसम्म भएका अध्ययनको पुनरावलोकन गर्छ, प्रणालीगत रुपमै समस्या छ की भनेर समीक्षा गरेर सरकारलाई आवश्यक सिफारिस दिनेछ, त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’

उनले अबको अध्ययन पुराना अध्ययनलाई समेत आधार मानेर अहिलेको अध्ययनलाई निष्कर्षमा निकाल्ने उल्लेख गरे । उनले भने, ‘पुराना अध्ययनलाई समेत ‘रिफ्रेन्स’ दिएर कार्यदलले प्रतिवेदन ल्याउनेछ, व्यक्ति, मन्त्री, सचिव बदलिन सक्छन् तर अध्ययनको प्रतिवेदनले दिएको कार्यभार बदलिँदैन, सरकार र मन्त्रालयको कार्यभार बदलिँदैन, त्यसैले एउटा अविछिन्न उत्तराधिकारी संस्थाका रुपमा कार्यान्वयन गर्ने गरी अधिकार सम्पन्न समिति बनाउँछौँ ।’

‘अब परिणाम आउनेगरी काम गर्छु’

पर्यटनमन्त्री पाण्डेले मन्त्रालय र मातहत निकायबारे विस्तृत रुपमा बुझ्ने काम भएकाले अब परिणाम र प्रतिफल आउनेगरी काम गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनाको अवधिमा मानसिक रुपमा, नीतिगत र संरचनागत रुपमा अध्ययन र तयारी भएको अवस्था छ, अब, परिणाम र प्रतिफल आउनेगरी काम गर्छु, कानुनलाई सर्वोपरि ठानेर नीतिगत निर्णयमा अगाडि बढ्छु ।’

पर्यटनमन्त्री पाण्डेले कतिपय क्षेत्रमा तत्कालै सुधार गर्नुपर्ने र केही निकायमा रणनीतिक सुधारको विषय भएकाले कानुनी र नीतिगत व्यवस्था गरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर लैजाने बताए। मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकायलाई गतिशील र प्रभाकारी बनाउन लागिपरेको बताए ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गरिने

पर्यटनमन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका  लागि विस्तृत कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको निम्ति पारित गरेको कार्ययोजनाबारे सम्बन्धित गृह, अर्थ, परराष्ट्र, श्रमलगायत मन्त्रालयले गर्र्नुपर्ने सबै कामबारे अन्तरमन्त्रालय छलफल भई कार्ययोजनालाई अन्तिम रुप दिन लागिएको छ’, उनले भने ।

निगमको समस्या समाधानका लागि मन्त्रालयले सकेसम्म पहलकदमी गर्दै व्यवस्थापकीय सुधारमा प्रयासरत रहेको र विमान अभावले उडान व्यवस्थापनमा देखिएको समस्यालाई हल गर्ने गरी काम गरिने उनले विश्वास व्यक्त गरे ।

नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषदमा

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी निकाय र सेवाप्रदायक निकाय बनाउनेगरी विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पुगेको र यसको चाँडै प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । उनले पर्यटन नीति बनिरहेको र पर्यटन ऐनको मस्यौदा रायका लागि अर्थमन्त्रालयमा पुगेको जानकारी दिए ।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले नीतिगत र संरचनागत सुधार गरी मन्त्रालय र मातहतको कामलाई परिणाममुखी बनाउन मन्त्रालयले भगिरथ प्रयास गरिरहेको बताए । उनले गुणस्तरीय र दिगो पर्यटनको विकासका लागि मुलुकको हवाई सेवालाई बलियो बनाई पर्यटकीय पूर्वाधार विस्तार गरिनुपर्ने धारणा राखे ।

मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग

शिवु खनाल
देउखुरी । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।

त्यसबारे सांसद ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानविरोधी र गैरजिम्मेवारपूर्ण भएको बताए ।

उनले भने, ‘त्यस्ता अभिव्यक्ति राष्ट्रघाती र संविधानविरोधी हो । देशद्रोही कुरा हो । यस्ता अभिव्यक्ति दिनेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’

गृह मन्त्रालयद्वारा नागरिकता समस्या समाधान गर्न अध्ययन समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन् । समितिलाई आगामी असोज १५ गते भित्र  अध्ययन प्रतिवेदन पेस गर्न समय सीमा दिइएको छ । समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यदेश दिइएको गृह मन्त्रालयले जनाएको छ । 

साथै उक्त समस्याको समाधानमा विद्यमान कानुनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधिलगायतका विषयमा सुझाव दिन भनिएको छ । समितिले आवश्यकता अनुसार नागरिकता सम्बन्धि समस्यामा परेका व्यक्ति तथा विषय विज्ञलाई आमन्त्रित गर्ने सकिने छ ।

यसअघि गृह मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखकको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी तथा व्यवस्थित गर्ने कार्यविधि, २०८१ को मस्यौदामाथि छलफल भएको थियो ।

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न संसदीय समितिको सिफारिस

काठमाडौं । विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाही गर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी राई फरार रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी भने अहिलेसम्म फरार नरहे पनि छानविनको दायरामा आएका छैनन् ।

संसदीय छानविन समितिको निर्देशनसँगै अब रवि र छविलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाव सरकारमाथि परेको छ । संसदीय छानविन समितिले गोर्खा मिडियाका नाममा ग्यालेक्सी फोरके टीभीको सम्पूर्ण सम्पत्ति सहकारीको ८५ करोडबाटै लगानी भएको र ऋण लगायतका आर्थिक कारोबारमा पूर्वगृहमन्त्री रवि लामिछानेको समेत हस्ताक्षर प्रमाणित भएकाले उनीहरुमाथि कारवाही अगाडि बढाउनैपर्ने समितिको निष्कर्ष छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् प्रबन्ध निर्देशक रवि लामिछाने हाल प्रतिनिधिसभाका सदस्य एवं रास्वपाका सभापति छन् ।

सङ्घीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौँ । सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताए ।

“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने ।

सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाउनुभएको थियो । प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ । जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय छ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताए । यस अवधिमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो ।

यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन् । जसमध्ये पाँचवटा विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भएको र तीनवटा विधेयक समितिमा विचाराधिन रहेको सभामुख घिमिरेले बताए ।

त्यसैगरी, सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधिन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई सरकारले फिर्ता लिएको छ भने प्रतिस्थापन विधेयकका रुपमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० समयमै पारित हुन नसक्दा र औषधि तथा स्वास्थ्य सामग्री नियमन तथा नियन्त्रण विधेयक २०८० सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने सांसद मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरुको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ । चालु अधिवेशनमा सांसदहरु गीता बस्नेत ४७ दिन, मनोरमा शेरचन ५६ दिन, अम्बिका बस्नेत २६ दिन, राजु थापा १० दिन, डा नारायण खड्का १६ दिन, प्रकाशमान सिंह १७ दिन, डा सुनीलकुमार शर्मा ११ दिन, कान्तिका सेजुवाल १५ दिन, वसन्तकुमार नेम्वाङ ५६ दिन, प्रेमबहादुर महर्जन १० दिन, गोकर्णबहादुर विष्ट १२ दिन, दीपक बोहरा ५६ दिन र कालुराम राई १८ दिन बैठकमा अनुपस्थित रहनुभएको थियो । सांसदहरुको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ ।

राष्ट्रियसभाअन्तर्गतको दुई समितिको सभापति निर्वाचित

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दुई समितिको सभापति निर्वाचित भएका छन् । सोमबार विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । दाहाल नेकपा एमाले र शर्मा नेकपा (माओवादी केन्द्र)का हुन् ।