`

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले आयोगको सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र गाउपालिका–४ चिराघाटबाट परिवर्तनगरी जुम्लेकुलामा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो ।

यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो सहरबीच भगिनीसम्बन्ध कायम गर्न आवश्यक निर्णयका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।

जापानमा ६५ वर्ष भन्दामाथि उमेर समूहको जनसंख्या तीन करोड ६२ लाख

टोकियो । जापानमा यसवर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ ।

इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् । दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ ।

जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ।

जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ ।

आइतबारको तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् ।

जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सञ्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यसवर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ ।

जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।

मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।

अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए ।

उनले भने, “इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो । यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ । लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुवात गरेका छौँ ।”

वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ५७ हजार

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला  पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । 

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला  एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला  एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ । 

तीन महिनाको अवधिमा बाढीपहिरोलगायत विपदका घटनामा परी २२५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपदबाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिए । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ ।

प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२)सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ ।

गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।

यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।

गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ ।

कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो ।

अर्थ न बर्थको विषयमा देशको संसद नै बन्द हुने गरी बोल्नु र ईगो राख्नु के जरूरी छ र ?

नारायण गाउँले ।
हरे हाम्रो नियति ! विश्व आज आर्टिफिशियल इन्टेलिजेन्सबारे बहस गर्दै छ । त्यसले चिकित्सा विज्ञानदेखि शिक्षासम्म र यातायातदेखि औद्योगिक उत्पादनसम्म खेल्नसक्ने अभूतपूर्व भूमिकाबारे छलफल गर्दैछ । आतङ्कवाददेखि बेरोजगारीसम्म एआईले भोलि निम्त्याउन सक्ने जटिलताबारे विमर्श गर्दैछ । हामी संसदमा ‘हिंसा’ शब्दलाई लिएर दाह्रा किट्दै झगड़ा गर्दैछौँ । एउटाले हटाउनैपर्छ भन्छ । अर्कोले किन हट्ने भन्छ । त्यस्तो मूला बहसमा देशको समय र करोडौंको साधनस्रोत स्वाहा भइरहेको छ । यस्तो नकच्चरोपनलाई हामी माननीय भन्न र नमस्कार गर्न विवश छौं ।


बोल्नेले पनि देशको अर्थतन्त्रबारे बोल्नु, बजेटघाटाबारे बोल्नु, देशभन्दा ठूलो व्यापारघाटाबारे बोल्नु, युवा र दक्ष जनशक्तिको बढ्दो पलायनबारे बोल्नु, ब्याज तिर्न पनि नसक्ने गरी वैदेशिक ऋणमा बनेका प्रोजेक्टहरू बारे बोल्नु, साससँगै सुस्त सुस्त मृत्यु पिइरहेको काठमाडौंको प्रदूषणबारे बोल्नु । बोल्नै पर्ने र नगरी नहुने विषय कति छन् कति । तर संसदमा उभिएर एउटाले प्याच्च माओवादी हिंसा भनेर बोल्छ । के के न ठूलो र देशलाई चाहिने कुरो गरेँ भन्छ । न आज त्यो हिंसा हो कि होइन भन्ने कुनै बहस छ, न त्यसको सान्दर्भिकता छ, न त्यसले देशलाई कुनै निकास दिन्छ । फेरि त्यसलाई सदर गर्दै घाँटी जोडेको, एउटै जहाजमा पाइलट थापेर उडेको हिजोमात्रै हो । जनताको करबाट तलब खाएर, एक एक शब्द बोलेको भत्ता पचाएर त्यस्तो अर्थ न बर्थको विषयमा देशको संसद नै बन्द हुने गरी बोल्नु र ईगो राख्नु के जरूरी छ र ?

अर्को फेरि उठ्छ र भन्छ, जबसम्म बोलेको फिर्ता हुँदैन, देश चल्दैन । हामी तलब खान्छौं, तर काम गर्दैनौं । भत्ता बुझ्छौं तर नाराबाजी मात्रै गर्छौं । भारतको एउटा प्रदेशभन्दा सानो देशमा आठवटा सरकार र ९ वटा संसद छन् । देश गरिबीले तन्नम बनेको छ । ऋणको ब्याज तिर्न पनि फेरि ऋण लिन पर्ने जालमा देश पुगेको छ । स्कुल सकेको बच्चा देशमा बस्न चाहन्न । कलेज सकेको युवासँग देश र राजनीतिप्रति विश्वास छैन । एउटा लामो रुटको सड़क पनि गाड़ी कुदाउन योग्य छैन । रातदिन खटेर पनि नसकिने काम छन् देशमा । जनता अत्यावश्यक सवारी साधन बनेको मोटरसाइकिलजस्तो कुरोमा समेत १००% भन्दा बढ़ी कर तिर्न बाध्य छन् । यसरी जनता लुटिएर जम्मा भएको कर चुसेर ’हिंसा र अहिंसा ? हरे हाम्रो नियति !

५० करोड भन्दाबढी ठगी गर्नेलाई घटीमा ५० वर्ष कैदको व्यवस्था गर्नुपर्छ

सुरेश आचार्य ।
सहकारी मै रहेछ नेताहरूको सपना, जपना ! सहकारी पीडितले सहकारीलाई कसरी नेताहरूले Ponzi Scheme को रूपमा कानुनी वैधानिकता दिएर नेपालमा चलाएका रहेछन् भन्ने बुझ्न थालेका छन् । विश्वभरी पिरामीड स्कीम र Ponzi Scheme  लाई अवैधानिक र गैरकानुनी घोषित गरिएको छ । नेपालमा भने सहकारीलाई कानुनी रूपमै पिरामीड वा Ponzi Scheme चलाउने बाटो खोलिएको छ । पिरामीड स्किममा कुनै उत्पादन वा सेवा बिक्री नगरी जागिरका लागि पारश्रमिक दिएर बढीभन्दा बढी बजारमा ठगी गर्ने जमात पठाइन्छ । Ponzi Scheme मा बढी आम्दानीको ग्यारेन्टी गरेर बढी भन्दा बढी लगानीकर्ता वा निक्षेपकर्तालाई सरिक गराइन्छ ।

सुधीर बस्नेत, ईच्छाराज तामाङ हुँदै यो वैधानिक पेशामार्फत गैरकानुनी फड्कोखेलोमा रबी लामिछाने पछि अहिले धनराज गुरूङ पनि जोडिन आइपुगेका छन् । उनीहरू अधिकारसम्पन्न निकायद्वारा नै प्रारम्भिक रूपमा आरोपित व्यक्तिहरू हुन् । अहिले भरखरै संसदकै लेखा समितिका सभापति माथि नै आमसंचारमाध्यमले औंला तेर्साएको छ । तर उहॉले उक्त आरोपको खण्डन गर्नु भएकोले अहिले नै दोषी भन्न मिलेन । प्रहरीले उजुरीमा छानबिन गरेपछि ककसको संलग्नता छ भन्ने बुझिएला ।

सहकारीमा भएको अनियमितताबारेमा छानबिन गर्न एमालेका सांसद सूर्य थापाको नेतृत्वमा बनेको संसदीय छानबिन समितिले सहकारीका माध्यम ठगी गर्ने, ती ठगहरूसँग corroborate गरेर कर्जा लिई सहकारीका निक्षेपकर्ताको रकम गुम गर्ने कथित ऋणीहरूमध्ये केहीसँग बयान लिइसकेको छ ।

सो समितिमा नेपाली कांग्रेस, माओवादी, रास्वपा र राप्रपा जस्ता संसदका ठूला पार्टी सदस्य छन्, र विचित्रको कुरा, ती पार्टीकै कतिपय सांसदहरू नै प्रहरी छानबिनमा सहकारी ठगीमा आरोपित देखिएका छन् । तर कुनै पनि पार्टीले आफ्ना आरोपित सांसदहरूलाई कारबाही गरेको छैन भने तिनीहरूलाई मुद्दा नचलाउन प्रहरीलाई प्रभावित गर्ने प्रयास भएको सुनिँदैआएको छ । सत्य के हो, राजनीतिक दलहरूले स्वेतपत्र जारी गरी जनतालाई सूसुचित गर्न जरूरी छ ।
तर अहिलेसम्म पनि एकजना सहकारीले लूटेका वास्तविक पीडित निक्षेपकर्तासँग संसदीय समितिले अभिलिखित हुनेगरी कुनै पनि सुझाव वा सल्लाह समेत गरेको छैन ।

संसदीय समितिले पीडितको कुरा नसुन्ने र न्यायको माग गरी सडकमा विरोधमा उत्रेका पीडितहरूलाई सरकारले आफ्ना संयन्त्र लगाएर लाठी चार्ज गर्ने वा धरपकड गर्ने काम गरिरहेको खबरमा सुनिएको, देखिएको र बुझिएको छ ।
यी सबै सार्वजनिक भएका सहकारी ठगीका घटनाहरू सोझै संसद र राजनीतिक दलको उपल्लो तहसम्मै जोडिन आइरहेको देखिन्छ । यस कुराले दलहरूलाई नै शंकाको घेरामा तानेको छ ।देशभरका ३६ हजार सहकारीहरू जो वार्षिक ५ करोड रूपैयाँभन्दा कम वार्षिक कारोबार गर्ने प्रायः तिनलाई बदनियतपूर्ण ठगीमा संलग्न भएको भनी कसैले औलो उठाएको पाइन्न ।

तर, वार्षिक १० करोडदेखि ५० अर्वसम्म वार्षिक कारोबार गर्ने करिब १५० वटा ठूला सहकारीमात्रै योजनाबद्ध र बदनियतपूर्ण ठगीमा संलग्न भएका सिआइबी र सहकारी संगठनहरूकै छानवीनबाट भेटिएका खबर आइरहेका पाइन्छ ।
सहकारी ठगीको पिरामीड स्किम वा Ponzi Scheme  बारे जॉचबुझ गरी ठग सहकारीहरूलाई कारबाहीको दायरामा ल्याउने हो भने वार्षिक ५० करोड रूपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीलाई पहिलो चरणमा, २० करोडदेखि ५० करोडसम्म वार्षिक कारोबार गर्नेलाई दोश्रो चरणमा र १० करोडदेखि २० करोड वार्षिक कारोबार गर्नेहरूलाई तेश्रो चरणमा नियामक जॉचबुझको व्यवस्था गरिनुपर्छ ।

पहिलो चरणमा पर्ने सहकारी, तिनका संचालक र ठूला ऋणीको सम्पूर्ण जायजेथा र पासपोर्ट तत्काल रोक्का गरी unbailable थुनामा राखिनुपर्ने, दोश्रो चरणका सहकारीका हकमा सहकारी तथा तिनका संचालक र ठूला ऋणीको संपूर्ण जायजेथा लगायत पासपोर्ट रोक्का गरिनु पर्ने र तेश्रो चरणका सहकारीको हकमा सहकारी तथा तिनका संचालकहरूको जायजेथा रोक्का गरी छानबिन, जॉचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइनु पर्ने देखिन्छ ।
ठगी सम्बन्धी अपराधमा दण्ड सजायको वर्तमान व्यवस्था पनि संसदले तत्काल पुनरावलोकन गरी ५० करोड रूपैयॉ भन्दाबढी ठगी गर्नेलाई बिगो बमोजिम घटीमा ५० वर्ष कैद, २० करोड रूपैयाँभन्दा बढी ठगी गर्नेलाई बिगोबमोजिम घटीमा २० वर्ष कैद र १० करोडभन्दा बढी ठगी गर्नेलाई बिगोबमोजिम घटीमा १० वर्ष कैद सजाय हुनु पर्ने देखिन्छ ।

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

 घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् ।

केराखेतीबाट राम्रो आम्दानी लिँदै आएको किसान चौधरी बताउँछन् । ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी सुनाउँछन् ।

अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको उनी बताउँछन् । किसान चौधरीले भने ‘उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।’

भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उनी बताउँछन् । उनीजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका छन् ।

अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिएका हुन् । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताए ।

थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउँछन् । उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भने, ‘केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।’

कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ । त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ ।

यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउँछन् । जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ ।

नेपालगञ्जको कान्तिताल

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मानव निर्मित कान्तिताल ।

तस्बिरः रुपनी जिएम / रासस

‘जहींतहीं बाटोले गाउँमा सुविधाभन्दा दुख धेरै’

 बागलुङ । देश संघीय संचरनामा जानु पहिले बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेकै थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् ।

गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ । बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन् ।

अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन । स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन् । बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्‍याउँदै आएको छ ।

गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० का विभिन्न स्थानमा आएको बाढीपहिरोले ११ जनाको निधन भयो । धेरै मानिस घाइते भए । करिब ८० घर विस्थापित हुनुपरेको छ । गाउँमा पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको धेरैले आकलन गरेका छन् ।

बडिगाडमात्र नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँ नै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ । गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्दा पहिरोले सिङ्गो गाउँले जोखिम मोलेर बस्नुपर्ने अवस्था छ ।

जिल्लाको ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ । पहिरोले क्षति पुर्याएको अधिकांश स्थान मोटर बाटोको छेउछाउ रहेका छन् ।

बिनाइन्जिनियरिङ निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनुका साथै पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याएको छ । अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको गलकोटका प्रेमबहादुर खत्रीले बताए ।

हिउँदा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा सञ्चालन हुन नसक्ने उनको भनाइ छ । ‘धेरैजसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ती सडक गुणस्तरीय बन्न सकेका छैनन्, अझ गाउँमा निर्माण भएका सडक त बिनाइन्जिनियरिङ खनिएका छन्’, खत्रीले भने, ‘बर्खामा गाउँबाट बजार झर्नुपर्‍यो भने हिँड्नुपर्छ, सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्र चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन् ।’

तमानखोलाका मकरबहादुर सिर्पालीले दुई–चार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पुर्‍याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेको बताए । पालिकाभित्र करिब ५० बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नुपरेको उनको गुनासो छ ।

उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिनानापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको हुने उनको भनाइ छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताए ।

०७३ अगाडि नै नगरपालिकाभित्र ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षमा १५७ किलोमिटर नयाँ सडक निर्माण भएको भन्दै ती सबै सडकलाई व्यवस्थित बनाउन थालेको उनको भनाइ छ ।

नगरपालिकाभर नयाँ तथा पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक रहेको हुँदा नयाँ ट्रयाक खोल्न बन्द गरी पुरानालाई स्तरोन्नति गर्ने उनी बताउँछन् ।

‘जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ, तर हामीहरूले नागरिकको आवश्यतालाई मध्यनजर गरी सडक निर्माण गरेका छौँ’, प्रवक्ता भण्डारीले भने, ‘अब करिब–करिब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेका ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ ।’

भरतपुर जान लागेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौं । भरतपुर जान लागेको बुद्ध एयरको एउटा जहाजमा समस्या भएपछि ट्याक्सी वे मै रोकिएको छ । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएपछि जहाज ट्याक्सी वे मै रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

जहाजमा समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुलाई ओरालिएको छ । ओरालिएका यात्रुलाई अर्को जहाजमा पठाउन लागिएको छ ।

डोनल्ड ट्रम्पको दोस्रो पटक हत्या प्रयास

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई ‘हत्या गर्ने दोस्रो प्रयास’ भएको तर उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

घटनामा संलग्न भएको भनिएका एकजना ’सम्भावित संदिग्ध’लाई हिरासतमा लिइएको छ । ‘सीक्रेट सर्भिस एजेन्टहरू’ले झाडीबाट राइफलले ताक्दै गरेको देखेको र लगत्तै उनीहरूले ती व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प त्यहाँ गल्फ खेलिरहेका थिए ।

राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ । एउटा एके–४७ जस्तै बन्दुक, दुईवटा झोला, एउटा गोप्रो क्यामेरालगायतका सामग्री घटनास्थलमा फेला परेका छन् । प्रत्यक्षदर्शीका अनुसार ती सन्दिग्ध व्यक्तिलाई पछि सुरक्षाकर्मीले धेरै पटक गोली प्रहार गरेका थिए। त्यसपछि कोही झाडीबाट भागेर कालो निसान कारमा हामफालेको देखिएको थियो ।

ती प्रत्यक्षदर्शीले उक्त गाडी र त्यसको नम्बर प्लेटको तस्बिर लिएका थिए। त्यो गाडी पछि मार्टिन काउन्टीमा रोकियो । ‘हामीले मार्टिन काउन्टी शेरफको कार्यालयलाई सचेत गरायौँ। उनीहरूले गाडी देखे र गाडीबाट तानेर उक्त पुरुषलाई नियन्त्रणमा लिए’ पाम बीच काउन्टीका शेरफ रिक ब्राडशले भने ।

‘त्यसपछि हामीले घटनाका प्रत्यक्षदर्शीलाई ल्याएर देखाउँदा उनले झाडीबाट भाग्दै गरेको र कारमा बसेको व्यक्तिको रूपमा उसलाई पहिचान गरे,’ उनले पत्रकार सम्मेलनमा भने । अमेरिकी सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति हवाई निवासी ५८ वर्षका पुरुष रहेको जनाएका छन् । आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित र राम्रो अवस्थामा“ रहेको बताएका छन् ।

‘कुनै पनि कुराले मलाई पछाडि धकेल्न सक्दैन,’ उनले लेखेका छन्, ‘म कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ!’ यसअघि पेन्सिल्भेनिआको एउटा चुनावी र्यालीमा एक जना बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । त्यस क्रममा उनको कानमा गोली लागेको थियो। उनको हत्या प्रयासका रूपमा उक्त घटनालाई हेरिएको थियो । पेन्सिलभेनिआमा भएको आक्रमणको दुई महिनापछि पछिल्लो घटना भएको हो।

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ ।

नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो ।

कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस महत्वपूर्ण कन्सर्टको आयोजना नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने अवसर भएको बताए ।

‘यो कन्सर्टले देशभक्तिपूर्ण भावना जगाउनाका साथै हाम्रो सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नेछ । नागरिक सहभागिता बढाउँदै, सबैलाई राष्ट्रप्रति गर्व गर्ने अवसर प्रदान गर्न यसले सहयोग गर्नेछ,’ सचिव पुस्करले भने ।

त्यस्तै, बृहत् नागरिक आयोजक समितिका संयोजक वृतान्त खनालले पत्रकार सम्मेलनमा कन्सर्टको उद्देश्य देशभक्ति भावना जगाउने भन्दै यस अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक सङ्गठन, नागरिक समाज, कलाकार र सर्वसाधारणको सहयोगले कन्सर्टलाई सफल हुने बताए ।

सम्मेलनमा गायिका कुन्ती मोक्तानले कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत हुने गीतसङ्गीत प्रस्तुत हुने जानकारी गराउँदै यो कार्यक्रम कला, साहित्य र राष्ट्रियता उत्सवका साथ मनाउन महत्वपूर्ण अवसर भएको बताइन् ।

कार्यक्रममा कवि विपना अधिकारीले सङ्घर्षबाट प्राप्त संविधान दिवसलाई कला र साहित्यले झल्काउने प्रयास यो कन्सर्टले गर्ने धारणा राखिन् ।

त्यस्तै, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय पहिचान र एकतालाई सुदृढ बनाउने उद्देश्यले कन्सर्ट आयोजना गरिएकामा खुसी व्यक्त गर्दै सबको सहभागिताका लागि आह्वान गरे । कन्सर्टमा कुटुम्ब, इलिमेन्ट्सलगायतका चर्चित ब्यान्डको साङ्गीतिक प्रस्तुति रहनेछ ।

‘होस्टेल ३’ को शुभमुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ को छायाँकन सुरु भएको छ । आइतबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सुटिङ सुरु गरिएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकार कुलब्वाइ (पारस बम) र सिम्रन पन्तले पहिलो सर्ट दिए। चलचित्रको छायाङ्कन बोडेमा सुरु भएको छ ।

पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिए । यस फिल्ममा पारससहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय छ।

अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेन र अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिकामा देखिनेछिन् । यो फिल्म फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्यप्रति लिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर १५९ रुपैयाँ तथा डिजलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुने

काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैकठले आयोगको सुझाव अनुसार मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आइतबार दिउँसो आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सुझाव दिएको थियो । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन लागेको हो ।

एकैपटक ४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । २७ भदौको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवको सरुवा गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

यातायाता व्यवस्था विभागका महानिर्देशक रहेका उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको प्रदेश सचिवका लागि सरुवा गरिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालय, राष्ट्रिय दलित आयोगका शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र पोखराका महानगरपालिकाका श्यामकृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विदूर प्रसाद खनाललाई बागमती प्रदेशको प्रदेश सचिव, मधेशका प्रदेश सचिव केशवराज सुवेदीलाई बागमती प्रदेशको मुख्यमन्त्रीको परिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आइतबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय लिएको हो । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् ।

माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए ।

‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन’, अध्यक्ष प्रचण्डले भने ।

उनले नेकपा एमाले र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको बताए ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् ।

कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

‘स्पेसएक्स’ फ्लोरिडाको तटमा अवतरण

वासिङ्टन । ‘स्पेसएक्स पोलारिस डन’ मिसनमा गएका दुई अन्तरिक्ष यात्रीले निजी अन्तरिक्ष यानबाट पृथ्वीको करिव ७०० किलोमिटर माथि अन्तरिक्षमा पाइला टेकेर (स्पेसवाक गरी) इतिहास रचेपछि फर्केको अन्तरिक्ष यान आइतबार बिहान फ्लोरिडाको सामुद्रिक तटमा अवतरण गरेको छ ।

ड्रयागन अन्तरिक्ष यान स्थानीय समयअनुसार आइतबार बिहान ३ः३७ बजे समुद्रमा अवतरण भएको थियो । अवतरणपछि यान र चालक दलको उद्धारका लागि उद्धारकर्ताको टोली तैनाथ गरिएको थियो । यानलाई पानीबाट निकालेको आधा घण्टापछि उद्धारका लागि तैनाथ गरिएको जहाजमा राखी स्टेसनतर्फ लगिएको छ ।

चालक दलका सदस्य तथा स्पेसएक्सका इन्जिनियर अन्ना मेनन यानबाट सबैभन्दा पहिला निस्कएका थिए भने त्यसपछि क्रमशः इन्जिनियर सारा गिलिस, चालक स्कट पोटेट र कमान्डर जारेड आइज्याकम्यान देखिएका थिए ।

वित्तीय प्रविधि (फिनटेक) का अर्बपति आइज्याकम्यानको नेतृत्वमा चार सदस्यीय टोलीले गत मङ्गलबार केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रा तय गरेका थिए ।

टोली नेता आइज्याकम्यानले ‘स्काइवाकर’ नामक संरचनामा टेकेर पृथ्वीको रोचक दृश्य हेर्दै ‘स्पेसवाक’ गरेका थिए । उनी केही मिनेटपछि फर्किनुभएपछि दोस्रो अन्तरिक्ष यात्री, स्पेसएक्स इन्जिनियर गिलिसले पनि ‘स्पेसवाक’ गरेका थिए ।

नासाका प्रमुख बिल नेल्सनले यो मिशनले व्यावसायिक अन्तरिक्ष उद्योगका लागि ‘ठूलो छलाङ’ भएको साथै स्पेसएक्सका लागि अर्को विजयी उपलब्धि भएको पनि बताए ।

वित्तीय प्रविधि फिनटेकका अर्बपति आइज्याकम्यानको नेतृत्वमा गएको चार सदस्यीय टोलीले गत आधा शताब्दीमा खतरनाक भ्यान एलेन विकिरण क्षेत्रमा प्रवेश गर्दै ब्रह्माण्डको गहिराइमा यात्रा गरेको हो ।

अपोलो मिसनपछि पृथ्वीबाट मानवले यात्रा गरेको यो अहिलेसम्मकै सबैभन्दा टाढाकोे अन्तरिक्ष केन्द्रभन्दा तीन गुणा बढी अर्थात् ८७० माइल (१,४०० किलोमिटर) को उचाइमा पुगेको थियो ।

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा

टोकियो । उत्तर कोरियाले रूसलाई प्रदान गर्दै आएको ठूलो परिमाणको गोलाबारुदसहितको सैन्य सहायता युक्रेनका लागि सबैभन्दा हानिकारक रहेको युक्रेनी गुप्तचर प्रमुख किरिलो बुडानोभले बताएका छन् ।

भिक्टर पिन्चुक फाउन्डेसनले किएभमा आयोजना गरेको सम्मेलनमा उनले रूसका अन्य सहयोगी इरान र चीनको समर्थनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘रूसका सबै मित्रराष्ट्रमध्ये हाम्रो लागि सबैभन्दा ठूलो समस्या उत्तर कोरियाबाट आएको छ । उनीहरूले आपूर्ति गर्ने सैन्य उत्पादनहरूको मात्राले वास्तवमा युद्धको तीव्रतालाई असर गर्छ ।’

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरिया भ्रमणका क्रममा सुरक्षा प्रमुख सेर्गेइ शोइगुसँगको वार्ताका क्रममा रूससँग सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका बेला युक्रेनी गुप्तचर प्रमुखले यस्तो टिप्पणी गरेका हुन् ।

किएभले प्योङयाङबाट मस्कोसम्म हतियार आपूर्तिको निगरानी गरिरहेको छ र युद्धभूमिमा यसको प्रभाव महसुस गरिरहेको छ।

‘यसको प्रत्यक्ष सम्बन्ध छ । रूसका सहयोगीहरूले ठूलो परिमाणमा तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेका छन् । यो रूसका लागि आवश्यक र महत्त्वपूर्ण छ,’ बुडानोभले भने ।

विदेशी सहायताबाहेक मस्कोले आफ्नो इस्कान्डर क्षेप्यास्त्रको विकास र उत्पादन वृद्धिसहित आफ्नै हतियारमा पनि लगानी गरिरहेको छ । बुडानोभले भने, ‘हामीले अहिले स्पष्ट रूपमा इस्कान्डर–एमको व्यापक प्रयोग देखिरहेका छौँ।’

‘रूसको निर्देशित बम एक ठूलो समस्या हो। यसको उत्पादन धेरै गुणाले वृद्धि भएको छ,’ बुडानोभले भने । हवाई बममा करिब आधा टन विस्फोटक पदार्थ राखिएको छ र यसलाई अझ टाढाबाट खसाल्न सकिन्छ, जसले गर्दा रुसी विमानहरू हवाई प्रतिरक्षाबाट जोगिन सक्छन्।

निरन्तर रुसी आक्रमणको सामना गर्न, किएभले आफ्नै हतियार उत्पादनको विकाससँगै पश्चिमी सहयोग बढाउन आग्रह गरिरहेको छ।

मस्कोसँग प्रत्यक्ष मुठभेड हुन नदिन पश्चिमा मित्रराष्ट्रहरूले युक्रेनलाई सहयोग बढाउन युद्धभरि हिचकिचाएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायतले अब युक्रेनलाई रूसको भित्री भागमा रहेका लक्ष्यहरूमा आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न दिने वा नदिने बारे विचार गरिरहेका छन् ।

बुडानोभले भने, ‘अब योभन्दा तनाब बढ्ने ठाउँ नै छैन । अवस्थालाई योभन्दा अझ खराब बनाउने केही बाँकी छैन।’ बुडानोभका अनुसार रूसले सम्भावित आर्थिक समस्याका, आंशिक रूपमा पश्चिमी प्रतिबन्ध र सैन्य परिचालनको नयाँ लहरको आवश्यकताका कारण सन् २०२६ अगावै युक्रेनसँगको युद्ध अन्त्य गर्ने प्रयास गर्नेछ ।

उनले रूससँगको लडाईं जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘हामी आफ्नो भूमिका लागि लडिरहेका छौं, हामीसँग लड्नुको अरु कुनै विकल्प छैन।’

दिल्लीका मुख्यमन्त्री केजरीवालले पदबाट राजीनामा दिने

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा गरेका छन् ।

उनले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताए । यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उनले बताए ।

आम आदमी पार्टी (आप) को कार्यालयमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “म दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु। जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”

उनले भने, “निर्वाचन केही महिनापछि हुन्छ । यदि तपाईंलाई केजरीवाल इमानदार लाग्छ भने मलाई भोट दिनुहोस् र लाग्दैन भने नदिनुहोस् । म चुनावबाट अनुमोदित भएपछिमात्र मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछु। तपाईंको मत मेरो इमान्दारिताको प्रमाण हुनेछ ।”

दुई दिन पहिले जेलबाट जमानतमा रिहा हुनुभएका मुख्यमन्त्री केजरीवालले भने, “आगामी फेब्रअरीमा निर्वाचन हुने बताइएको छ । म महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने माग गर्दछु।”

“निर्वाचन नहुञ्जेलसम्मका लागि पार्टीबाट अर्को कोही मुख्यमन्त्री बन्ने र यसका लागि आगामी दुई वा तीन दिनमा विधायकहरूको बैठक बस्नेछ र बैठकले अर्को मुख्यमन्त्रीको निर्णय गर्नेछ,”उनले भने ।

केजरीवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप पनि लगाए ।

उनले राजिनामाबारे आफूमाथि उठाइएको प्रश्नबारे भने, “केजरीवालले जेलबाट किन राजीनामा नदिएको भनेर प्रश्न उठेको छ । मैले लोकतन्त्र बचाउन चाहन्थेँ त्यसैले राजीनामा नदिएको हुँ ।”

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गर्नुभएको र आइतबार पार्टी कार्यालयमा उपस्थित भएका हुन् ।

सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उनलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उहाँ तिहाड जेलबाट रिहा भएका थिए ।

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई आयोगको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आइतबार भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्नका लागि मिति तोक्न  सरकारलाई सुझाव दिएका छन् ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरे । भेटमा  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

पर्साको ग्रामीण भेगसँग जोड्ने तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या

वीरगञ्ज (पर्सा) । पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ । 

पर्सा जिल्लामा आएको वर्षात्को पानीको बहावले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान(पिलर)लाई क्षतिग्रस्त बनाएपछि पुल जोखिमयुक्त बनेको हो । 

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान भत्किएसँगै सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए ।

‘पहिलादेखि नै तिलावे पुल जीर्ण अवस्थामा थियो । अहिले पुलको फाउण्डेसनसँगै रहेको पिलरमा चिरा परेर भत्किने अवस्थामा छ’, उनले भने, ‘तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ । सरोकारवाला निकाय सिँचाइ विभाग र सडक विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ ।’ प्रमुख पटेलले गण्डक नहरसँगै ५० वर्षअघि यो पुलको संरचना निर्माण गरिएको बताए । 

सडक सुधार तथा विकास योजना बाराका प्रमुख विनोद साहले उक्त खण्डको सडक स्तरोन्नति आफूले गरे पनि पुल निर्माणको जिम्मेवारी भने नरहेको स्पष्ट पारे ।

‘तिलावे पुल भत्किएको विषयमा सडक विभाग मातहतको पुल महाशाखालाई आवश्यक जानकारी गराउने तयारीमा छौँ’, उनले भने, ‘सडक विभागबाट आवश्यक बजेट आएको खण्डमा भत्किएको पुलको निर्माण अघि बढाउनेछौँ ।’

उनले बाराको सिम्रनगढदेखि पर्सा जिल्लाको अन्तिम विन्दुसम्म करिब ५९ किलोमिटर सडक स्तरोन्नति अघि बढाएको बताए । 

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले वर्षौंदेखिको जीर्ण पुल भएकाले पनि मर्मतसम्भारभन्दा पनि नयाँ पुल निर्माण गर्दा राम्रो हुने बताए ।

‘स्पान भत्किएकाले पनि नयाँ निर्माण आवश्यक छ’, उनले  भने, ‘पुल महाशाखासँग प्रविधि र जनशक्ति दुवै भएकाले पनि मर्मतसम्भार गरेर पनि चलाउन सक्ला कि भन्ने लाग्दछ ।’

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारका लागि तोकिएको बैठक स्थगन भएको छ । आइतबार दिउँसो १ बजेका लागि निर्धारित बैठके विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजै दिउँसो १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै दिउँसो ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो । यसबीचमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो ।

प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले ‘हिंसा’का रुपमा टिप्पणी गरी असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो ।

माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ । आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।

नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

काठमाडौँ । राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । 


राष्ट्रियसभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति गरेको हो ।


       त्यसअघि बैठकमा  विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल भएको थियो । प्रतिनिधिसभाबाट यही भदौ २४ गते उक्त विधेयक संशोधनसहित पारित भएको थियो भने विसं २०७९ मङ्सिर २० गते दर्ता भएको सो विधेयक गत असार १८ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।


सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक सङ्घीय संसदमा पेस गरेको थियो ।


अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्)मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको विश्वविद्यालयका रुपमा उक्त संस्था स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ ।

मितेरी सहकारीको रकम अपचलनबारे सिआइबीको अनुसन्धान सुरु

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । 

सहकारी संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।’

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएको छ ।

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटारनजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

उनले केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताइन् ।

सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुईवटा जेसिबी पहिरो गएका स्थाननजिक राखिएका छन् ।

‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ,’ उनले भनिन् ।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरू परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए । गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजारनजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।

भेटमा दुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो ।

भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो ।

     लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ । 

आइतबार विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो । 

    आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह तीन दशमलव ५३ र होटल तथा पर्यटन समूह तीन दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ९३, विकास बैंक दुई दशमलव ५१, जलविद्युत् एक दशमलव ४८, लगानी दुई दशमलव ८० र जीवन बीमा समूह दुई दशमलव ७४ प्रतिशतले घटेको छ । 

उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७९, लघुवित्त एक दशमलव ८८, म्युचुअल फन्ड एक दशमलव ६१, निर्जीवन बीमा दुई दशमलव १६, व्यापार शून्य दशमलव ९० र अन्य समूह दुई दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

आज दुई सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

     कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच भएको छ ।

बङ्गलादेशले नेपालसँग छिट्टै ४० मेगावाट विद्युत् खरिद सम्झौता गर्ने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले  शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताए । 

उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत व्यापारको सुरुआतलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि उल्लेख गरेका छन् ।

नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने ऊर्जामन्त्री खड्काले बताए । यसो हुनसके नेपालको विद्युत् व्यापारमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने उनको भनाइ थियो ।

मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरे । 

भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बङ्गलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे बताए ।

राजदूत चौधरीले विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गरे । उनले बङ्गलादेशले सिँचाइको नवीनतम माध्यामबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्राउनका लागि आवश्यक सहयोग गर्ने बताए ।

रविले सहकारीको ९५ करोड ठगेको प्रमाण मसँग छः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित डा. मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारीको ९५ करोड ठगेको प्रमाण आफूसँग रहेको जिकिर गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको जिकिर गरेका हुन् । उनले रविले नेपालमा स्वेट शेयरको कानुन छैन भनेर गलत हल्ला फैलाएको समे बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाए, हामीले त्यसमा विश्वास गर्यौँ । कति पय मिडियाकर्मी साथीहरूले पनि सोहिअनुसार समाचार प्रशारण गरे । तर नेपालमा स्वेट शेयर वा यस्तै प्रकृतिमा लिइने अन्य प्रकारको शेयरका लागी पनि कानुन छ । प्रचलित कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले त्यस्तो व्यवस्था गरेको छ । स्वेट शेयर अर्थात पसिना–परिश्रमको मूल्य बापत दिइने–लिइने शेयरका लागि शेयर लिने दिने बीच कति समयका लागी परिश्रम वा सेवा गर्नु पर्ने हो, र त्यसबापत कति कित्ता शेयर प्राप्त हुने हो सम्झौतापत्रमा उल्लेख गरि सम्झौता हुनपर्छ । त्यसरी गरिएको सम्झौताको पत्र कम्पनी रजिष्ट्रारको कार्यलयमा बुझाएपछि सम्झौताअनुरूप शेयर बाँडफाँटलाई वैधानिकता दिन्छ ।’

यस्तो छ मुकुलको भनाइ

नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाए, हामीले त्यसमा विश्वास गर्यौँ । कति पय मिडियाकर्मी साथीहरूले पनि सोहिअनुसार समाचार प्रशारण गरे । तर नेपालमा स्वेट शेयर वा यस्तै प्रकृतिमा लिइने अन्य प्रकारको शेयरका लागी पनि कानुन छ ।

प्रचलित कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले त्यस्तो व्यवस्था गरेको छ । स्वेट शेयर अर्थात पसिना-परिश्रमको मूल्य बापत दिइने-लिइने शेयरका लागि शेयर लिने दिने बीच कति समयका लागी परिश्रम वा सेवा गर्नु पर्ने हो, र त्यसबापत कति कित्ता शेयर प्राप्त हुने हो सम्झौतापत्रमा उल्लेख गरि सम्झौता हुनपर्छ । त्यसरी गरिएको सम्झौताको पत्र कम्पनी रजिष्ट्रारको कार्यलयमा बुझाएपछि सम्झौताअनुरूप शेयर बाँडफाँडलाई वैधानिकता दिन्छ ।

रवि लामिछानेले सहकारीबाट १.८ करोड ठगेको पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १.८ करोड बराबरको शेयर किने (सहकारीबाट पैसा लिँदा सबै प्रकृया पूरा गरेको भए, ऋणि हुन्थे । तर आफूँ सदस्य पनि नरहेको सहकारीबाट आफ्ना परम मित्र जीबी राईसँगको मिलेमतोमा प्रकृया पनि पूरा नगरी सहकारीबाट पैसा लिए, त्यसैले उनी ऋणी नभएर ठग हुन् ।)

१.८ करोड बराबरको शेयर किनेपछि त्यहीअनुरूप कम्पनि रजिष्ट्रारको कार्यलयमा आफूले शेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूले स्वेट शेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले । यदि रवि लामिछानेले वास्तवमै स्वेट शेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट शेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो । त्यहीअनुसार कम्पनी रजिष्ट्रारको कार्यलयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरि दोहोर्‍याउँछु, स्वेट शेयरसम्बन्धी सम्झौता नगरी उनले कम्पनी रजिष्ट्रारको कार्यलयमा आफूले शेयर किनेको भनेर कागजात पेश गरेका छन् ।

प्रमाण खोई ? भनेर प्रतिक्रिया दिन आउने साथीहरूले कम्पनीसम्बन्धी नेपालको प्रचलित कानुनको दफा ३१ हेर्न सक्नुहुन्छ । रवि लामिछाने आफैँले स्वेट शेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ । कम्पनी रजिष्ट्रारको कार्यलयमा उनले आफूले कुनै स्वेट शेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ । त्यस्तै विभिन्न सहकारीबाट सोही बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।

संसद चल्न नदिने माओवादीको अडान यथावत, ‘हिंसा’ शब्द रेडर्कबाट हटाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोध कायम राख्ने निर्णय गरेको छ । सभाभुखसँग भएको छलफलमा सहमति नजुटेपछि बसेको माओवादीको बैठकले आफ्नो अडानबाट आफूहरू पछि नहट्ने निर्णय गरेको हो ।

एमाले सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले संसद अवरुद्ध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए।

तर छलफलमा सहमति भएन । माओवादी सांसद माधव सापकोटाले आफूहरुको मागमा सरकार गम्भीर नदेखिएकाले आफूहरु अडानबाट पछि नहटेको बताए । उनले संसदको रेकर्डबाट ‘हिंसा’ शब्द नहटाएसम्म संसद चल्न नदिने बताए ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

वीरगञ्ज (पर्सा) । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो । 

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले अस्पतालमा आजदेखि एमआरआई सेवा पुनःसञ्चालनमा ल्याइएको बताए ।

“यसअघि भुक्तानी विवादका कारण मेसिनको सफ्टवेयर अपडेट नहुँदा सेवा प्रभावित हुँदै आइरहेको थियो” उनले भने, “भुक्तानी विवाद समाधानगरी नियमित सेवा सञ्चालन गरेका छौँ ।”

सङ्घीय सरकार मातहतको स्वास्थ्य सेवा विभागले गत कात्तिकमा बोलपत्रगरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीमार्फत चीनबाट  ३० करोडमा उक्त मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।

विभागले आपूर्तिकर्ताले मेसिन आयात गर्दा लागेको पाँच प्रतिशत कर नतिरेको भन्दै भुक्तानी रोकेको थियो । पछिल्लो समय प्रालीले पाँच प्रतिशत कर भुक्तानी गरेसँगै विभागले पनि बाँकी रहेको २० प्रतिशत बक्यौता रकम भुक्तानी गरेपछि नियमित एमआरआई मेसिन सञ्चालनमा ल्याइएको मेसु डा हकले उल्लेख गरे । नियमित सेवा सञ्चालनमा आएसँगै नागरिकले सस्तो र सहज सुविधा पाउने उनको भनाइ छ ।

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको हो ।

नारायणी नदीमा निर्माण गरिएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुनेगरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्याइएको हो ।

प्राधिकरणले ११ केभी लाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो ।

गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्ताबस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन ।

सुस्ताबस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न गरिएको छ । अब त्यहाँबाट उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन सुरु गरिनेछ । सुस्ताबस्तीमा करिब तीन सय ५० घरधुरी छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको जानकारी दिए । “सुस्ताबस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भए पनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रीड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाटसमेत महत्वपूर्ण छ”, कार्यकारी निर्देशक घिसिङले भने ।

यस्तै चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सीमानाका बस्तीहरु पनि छिट्टै विद्युतीकरण गर्ने तयारी छ ।  एक करोड ३३ लाख अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९÷८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुञ्जेलसम्म पर्खनु परेको थियो ।

प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ ।

प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्तीबस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पुर्याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ ।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को बक्यौता असुल गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता असुल गर्नुपर्ने गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले  आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटको पेसी सोमबारका लागि ताकिएको छ ।

डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गनुपर्ने माग रिटमा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासकोविरुद्धमा नै सरकार लागेकाले रिट दायर गरेको न्यौपानेले बताए ।

बक्यौता नबुझाउनेको प्राधिकरणले लाइन काटेपछि सरकारको दबाबमा प्राधिकरणले फेरि लाइन जोडेको छ । खासगरी सत्ताको नेतृत्व गरेको नेकपा एमाले बक्यौता नउठाएको कारण देखाएर कुलमानलाई कारबाही गर्ने पक्षमा छ । तर माओवादी, कांग्रेसलगायतका दल भने त्यसको विपक्षमा छन् ।

संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेले समितिबाट कुलमानलाई कारबाहीको निर्णय गर्न खोजेका छन् । तर माओवादी, कांग्रेस र रास्वपालगायतका दलले निर्णय गर्न दिएका छैनन् ।

सुरक्षा निकायलाई सबल बनाउन कानुन परिमार्जनका लागि विधेयकको काम अघि बढिसक्योः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशील र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् ।

आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताए ।

राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको लेखकको भनाई थियो ।

‘स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिती कायम सशस्त्र प्रहरी संगठनले गरेको छ ।’उनले भने,’जिम्मेवारी सम्पादन गर्ने शिलसिलामा प्रर्दशन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।’

परिवर्तित राजनैतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यवसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रवन्ध गरेको धारणा राखे ।

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिललाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताए ।

‘यस्ता तालिमहरुका लागि आवश्इक पुर्वाधार व्यवस्थापन तथा क्षमता अभिवृधिका लागि सरकारले पुर्ण साथ एवं सहयोग रहेको र यसको निरन्तरता हुनेमा समेत आश्वस्त पार्न चाहन्छु ।’ उनले भने,’सशस्त्र प्रहरी बलको नेतृत्व र सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरु आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर शान्ति सुरक्षाका क्षेत्रमा नविन योजना लागू गर्दै अघि बढिरहेको महशुस छ ।’

समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् ।

सत्ता ढाल्न षडयन्त्र गरेको आरोपमा भेनेजुएलाद्वारा अमेरिकी र स्पेनी नागरिक पक्राउ

बीबीसी । भेनेजुएलाले राष्ट्रपति निकोलस मदुरोको सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा एक जना सैनिकसहित तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

दुई स्पेनी र एक चेक नागरिक पनि नियन्त्रणमा लिइएका छन्। आन्तरिक मामिलामन्त्री डियोसडाडो कबेयोले उनकै शब्दमा ‘फाँसीवादी आक्रमण’ मा प्रयोग गर्न लागिएका ४०० बन्दुक कब्जा गरिएको बताए ।

उनले अमेरिकी अधिकारीहरू संलग्न रहेको आरोप लगाएको भएपनि अमेरिकी विदेशमन्त्रालयले त्यसको खण्डन गरेको छ । जुलाईमा सम्पन्न भएको विवादास्पद राष्ट्रपतीय निर्वाचन यता भेनेजुएलाको अमेरिका र स्पेनसँग सम्बन्ध थप खराब भएको छ ।

हालै वासिङ्टनले चुनावमा धाँधली गरेको आरोपमा १६ जना भेनेजुएलाका अधिकारीमाथि प्रतिबन्ध लगाइएको थियो । म्याड्रिडले विपक्षी उम्मेदवार एडमुन्डो गन्जालिजलाई शरण दिएको छ। दुवै देशले मडुरोले नभई उनले निर्वाचनमा जित हासिल गरेको पर्याप्त प्रमाण रहेको बताउने गरेका छन् ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले पक्राउ परेका व्यक्तिहरूले राष्ट्रपति मदुरो र अन्य उच्च अधिकारीहरूको हत्याको षडयन्त्र गरिरहेको बताए ।

भेनेजुएलाको सरकारले गिरफ्तार गरिएका स्पेनीहरू म्याड्रिडस्थित राष्ट्रिय गुप्तचर केन्द्रका अधिकारीहरू रहेको बताएको छ। तर स्पेनी सरकार सम्बद्ध स्रोतले स्थानीय सञ्चारमाध्यमलाई ती दुई जना गुप्तचर संस्थाहरू सम्बद्ध नरहेको बताएको छ ।

अमेरिकी फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

अमेरिका । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ ।

नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्बाचनभन्दा दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिन्छ यसबारे यो साता बहस गर्ने अपेक्षा गरिएको छ।

फेडका अध्यक्ष जेरोम पावेललगायत अमेरिकी केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरूले हालैका हप्ताहरूमा यस महिना ब्याजदर कटौती हुने सङ्केत गरेका छन् । मुद्रास्फीति बैङ्कको दीर्घकालीन लक्ष्य दुई प्रतिशतको लक्ष्यभन्दा कम भएको छ, र श्रम बजार चिसो भइरहेको अवस्थामा उनीहरूले यो बहस थालेका हुन् ।

स्थिर मूल्य र अधिकतम दिगो रोजगारी दुवै सुनिश्चित गर्न स्वतन्त्र रूपमा कार्य गर्न काङ्ग्रेसबाट दोहोरो जनादेश पाएको फेडले केवल आर्थिक तथ्याङ्कको आधारमा दर कटौतीमा आफ्नो निर्णय लिने बारम्बार जोड दिँदै आएको छ।

बुधबारको कटौतीले पावेलका लागि टाउको दुखाइको विषय बन्न सक्छ, किनकि वर्तमान डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिस पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्ने राष्ट्रपतीय निर्वाचनको केही समय अघि हुनेछ, जसमा पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प वर्तमान डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

नर्थईस्टर्न युनिभर्सिटीमा अर्थशास्त्रकी सहायक प्रोफेसर एलिसिया मोडेस्टिनोले भनिन्, “मेरो विचारमा फेडले उनीहरूलाई राजनीतिक भूमिकाभन्दा अराजक गतिविधिमा उद्दत देख्छ ।”

यस हप्ताको मङ्गलबार र बुधबार नीति निर्माताहरूबीच हुने बहस २५ वा ५० बेसिस प्वाइन्टले अगाडि बढ्ने कि नबढ्ने भन्नेमा केन्द्रित हुनेछ । यदि फेडले दर कटौती गर्ने निर्णयमा अघि बढेमा यो अमेरिकी केन्द्रीय बैङ्क ( फेड)को २०२० मार्चपछिको व्याजदर कटौती गर्ने पहिलो निर्णय हुनेछ ।

फेडले कोभिड–१९ महामारीबाट प्रभावित अमेरिकी अर्थव्यवस्थालाई समर्थन गर्न दरहरू लगभग शून्यमा झारेको थियो।

फेडले मुख्यतया महामारीपछिको आपूर्ति सङ्कट र युक्रेनमा युद्धको कारण सन् २०२२ मा मुद्रास्फीतिमा वृद्धिपछि दरहरू बढाउन सुरु गरेको थियो ।

विगत १४ महिनादेखि बैङ्कले आफ्नो मुख्य ऋण दरलाई ५.२५ देखि ५.५० प्रतिशतको बीचमा दुई दशकको उच्च विन्दुमा राखेको छ।

अहिले मुद्रास्फिति घट्दो क्रममा रहेको, श्रम बजार चिसो हुँदै गएको र अमेरिकी अर्थतन्त्र अझै बढ्दै गएको अवस्थामा नीति निर्माताहरूले कटौतीका लागि उपयुक्त अवस्था रहेको निर्णय गरेका छन्।

नीति निर्माताहरूले २५ अङ्क वा श्रम बजारको लागि उपयोगी हुने ५० अङ्कको कटौती गर्ने लिनेछन् । ब्याजदर वृद्धिले मुद्रास्फीतिलाई पुनरुत्थान गर्ने जोखिम पनि हुन सक्नेमा उनीहरू अझै दोधारमा छन्।

फेडरल रिजर्भ बैङ्क अफ बोस्टनका वरिष्ठ अर्थशास्त्री रहेका मोडेस्टिनोले भने, “मलाई लाग्छ, नोभेम्बरको बैठकअघि नै हामी रोजगारीको पक्षमा सङ्कटमा छौं भन्नका लागि पर्याप्त तथ्याङ्क छैन ।”

विश्लेषकहरूले सानो कटौतीलाई सुरक्षित शर्तको रूपमा हेर्छन्।बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूले हालै ग्राहकहरूलाई पठाएको नोटमा लेखेका छन्, “फेडले २५ अङ्कको कटौती गर्ने अपेक्षा हामीले गरेका छौँ।

नर्थईस्टर्नका मोडेस्टिनोले भने, “फेडले गर्ने पूर्वानुमाने बजार, उपभोक्ता र श्रमिकको लागि राम्रो हुनुपर्छ।” उनले भने, “अहिले आधारभूत २५ अङ्कको कटौती, त्यसपछि नोभेम्बरमा अर्को २५ अङ्कको कटौतिले अर्थतन्त्रका लागि केही सहज मार्ग प्रदान गर्दछ ।

विश्लेषकहरूले फेडले सेप्टेम्बरमा कटौती सुरु गर्ने अपेक्षा गरे तापनि अब के हुन्छ भन्ने बारे कम स्पष्टता रहेको बताएका छन्।

फेडले बुधबार आफ्नो १९ सदस्यीय दर–निर्धारण समितिमा उनीहरूको दर कटौती अपेक्षासहित अद्यावधिक आर्थिक पूर्वानुमानहरू प्रकाशित गर्नेछ र यस विषयमा थप प्रकाश पार्नेछ ।

जूनमा, दर–निर्धारण समितिमा सदस्यहरूले मुद्रास्फीतिमा सानो वृद्धिको बीचमा यस वर्षको लागि तय गरिएको कटौतीको सङ्ख्या तीनको औसतबाट घटाएर केवल एकमा झारेका थिए, तर मुद्रास्फिति घटेको र श्रम बजार कमजोर हुँदै गएपछि थप कटौतीको अपेक्षा बढेको छ ।

गोल्डम्यान स्याक्सका प्रमुख अर्थशास्त्री यान ह्याटजियसले बिहीबार प्रकाशित ग्राहकहरूलाई लेखेको नोटमा भनेका छन्, “हामीले २०२४ को बाँकी बैठकहरूमा २५–२५ अङ्कको तीन वटा दर कटौतीको अपेक्षा गरेका छौँ।

व्यापारीहरूले पनि सन् २०२५ कम्तिमा थप चार पटकको कटौतीको लागि ९९ प्रतिशत भन्दा बढी सम्भावना रहेको बताएका छन् । यसले फेडको प्रमुख ब्याजदरलाई वर्तमान स्तरभन्दा १७५ अङ्क तल अर्थात् ३.५ र ३.७५ प्रतिशतको बीचमा ल्याउनेछ ।

अख्तियारका कामकारबाही पारदर्शी बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे । 

यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए । 

राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकामा खुसी व्यक्त गरे । 

उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर पेस गरेको यो प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।