`

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

हाइटी । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले बताए ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने छ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।

‘यागी’ आँधीका कारण म्यान्मामा ७४ जनाको मृत्यु

याङ्गुन । म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।

म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

म्यान्मामा शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ ।

सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पु¥याएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु भएको थियो भने दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए । राजधानी न्यापितको बाहिरी भागलगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेका छन् ।

पहाडी क्षेत्रमा धेरै स्थानमा पहिरो गएका खबर आएको छ । त्यहाँ सडक र पुलमा क्षति पुगेको छ भने फोन तथा इन्टरनेटको लाइन बन्द हुँदा सूचना सङ्कलन गर्न कठिन भएको छ ।

मध्य र दक्षिणी म्यान्मा हुँदै बग्ने सिताउङ र बागो नदीमा पानीको सतह आइतबार पनि खतराको तहभन्दा माथि रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

म्यान्माका अधिकारीहरूले विस्थापितलाई राख्नका लागि ८२ वटा ‘राहत शिविरहरू’ खोलेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

थाइल्याण्डको मौसम कार्यालयले मेकोङ नदीको छेउछाउका प्रान्तहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ।

द्वन्द्वका कारण २७ लाखभन्दा बढी मानिस विस्थापित भएको म्यान्मामा आँधीका कारण आएको बाढी र डुबानले थप सङ्कट निम्त्याएको छ ।

म्यान्मारको जुन्टा प्रमुखले बाढीसँग जुध्नका लागि विदेशी सहयोगका लागि दुर्लभ अनुरोध गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । सेनाले यसअघि पनि विदेशबाट आउने मानवीय सहायतालाई रोकेको वा दुरूत्साहित गरेको थियो ।

बन्द भए चितवनका इँटा उद्योग

चितवन । गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

नेपाल इट्टा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन् । गत साल एउटा उद्योगले एक पटक इट्टा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् ।

उनले भने, “गत वर्षदेखि नै यहाँका उद्योग बन्द भएभन्दा हुन्छ ।” एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौ मजदुरको रोजिरोटि बन्द भएको र करोडौं रुपैंया उद्योगले नोक्सान बेहोरेको बताए ।

चितवनको इट्टा राम्रो इट्टाको रुपमा चिनिन्थ्यो । चितवन र छिमेकी जिल्लामा यहाँको इट्टा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इट्टा ल्याएर बिक्री वितरण गरिँदै आएको छ ।

सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिशपर्धा हुनु, बाहिरबाट ल्याईएका कम गुणस्तरका इट्टा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानियले अवरोध गर्नु लगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।

सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको इट्टा उद्योग सङ्घ चितवनका अध्यक्षसमेत रहेका सापकोटा बताउँछन् । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इट्टा उद्योग सञ्चालनमा रहेका थिए । 

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ ।  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आइबार प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ५६ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा  ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

पलेशालाई पोखरा महानगरपालिकाद्वारा नगदसहित सम्मान

पोखरा । पेरिस प्यारालिम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी पलेशालाई पोखरा महानगरपालिकका मेयर धनराज आचार्यले आइतबार नगद २ लाख २२ हजार २२२ सहित सम्मान गरेका हुन् । पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सम्मान प्रदान गरिएको थियो ।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, मेयर आचार्यले भने, ‘यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अब यसैगरी दर्ज हुँदै जानेछ ।’

भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् ।

पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

सप्तरीमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आइतबार माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका आदर्शको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जनाकारी दिए ।

ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टालगायतका भागमा चोट लागेको छ । उनको उपचार भइरहेको छ ।

प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् ।

झापामा बलात्कार मुद्दाका एक कैदी अस्पतालको शौचालयबाट फरार

झापा । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आइतबार फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेका प्रहरीले जनाएको छ ।

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ ।

छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्काे यस्ता घटना घट्न थालेको बताइएको छ । 

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा हनुमानढोका कालभैरवअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ ।

यससँगै उपत्यकामा इन्द्रजात्रा सुरु भएको मानिन्छ । आजबाट नै काठमाडौंको विभिन्न टोलबाट देवगणहरू बाहिर निकाल्ने गरिन्छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । असोज १ गते मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु गरिन्छ ।

इन्द्रजात्रा देवी देउताहरूको जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख

काठमाडौँ । बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गरेका छन् ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान ११ः३० बजे हुने बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गरेका हुन् ।

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गरेका थिए ।

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक डाक्नु भएको हो । प्रतिनिधिसभाको आजको बैठक अपराह्न १३ः०० बजेका निम्ति आह्वान गरिएको छ ।

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गरेका हुन् ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र कास्की जिल्ला तेक्वान्दो सङ्घद्वारा पलेशालाई सम्मान

कास्की । पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र कास्की जिल्ला तेक्वान्दो सङ्घले पलेशालाई सम्मान गरेका हुन् ।

आइतबार बिहान आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पलेशालाई सम्मान गरे । नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।

पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । विसं २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।

सिमाराबाट काठमाडौँ आइरहेको ट्रक त्रिशूलीमा खस्यो

चितवन । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।

डिजिटल कारोबार निःशुल्क गर्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा आफुले सम्बन्धित अधिकारीहरुसँग छलफल गर्ने बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेकाले आफूले यसबारे छलफल गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्,‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

उनले सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त भइरहेको उल्लेख गरका छन् । उनले भनेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ, ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०÷७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’

प्रधानमन्त्रीका कारण पीडित बालिकाहरूले न्याय पाउन नसकेकाले बाल दिवसको शुभकामना दिन सकिनँः मेयर साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आफूले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् ।

शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले प्रधानमन्त्री ओलीका कारण न्याय नपाएर बालबालिकाहरूले ज्यान गुमाउन परेकाले बाल दिवसको शुभकामना दिन नसकेको बताएका हुन् ।

उनले भनेका छन्, ‘पीडित बालिकाहरूले प्रम (खड्ग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ, सो शुभकामना स्वयं प्रम ज्यूलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला ।’

शनिबार दिउँसो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बालेनलाई लक्षित गर्दै प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

न्यूरोडको फुटपाथ प्रकरण, प्रदेश सांसदले बालिका घरमा राखेर हिंसा गरेको तथा काठमाडौं उपत्यकाका नदी किनारमा दायाँबायाँ २० २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला महानगरले कार्यान्वयन गर्न लागेको विषयलाई लिएर मेयर साहले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै आएका छन् ।

संसदीय समितिबाट सहकारीकाबारेमा निष्पक्ष सुझाव आओस्, सरकारले कार्यान्वयन गर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरू प्रवेश हुँदा समस्या सिर्जना भएको बताए ।

‘नियमभित्र बसेका सहकारी डुबेका छैनन् । जो नियमभित्र बसेनन् वा बस्न जानेनन् तिनीहरूमा समस्या देखिएको छ । कुनै पनि सहकारी संस्थामा कसैले अनुचित ढङ्गले लाभ लिएको भए सरकारले कडाईका साथ नियमन गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

संविधानले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाका रुपमा लिएकाले सरकारले सोहीअनुरूप मुलुकको आर्थिक विकासमा यसलाई महत्त्व दिँदै आएको उनले स्पष्ट गरे ।

‘विश्व अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको अवधारणा सुरु भयो । सोही अवधारणालाई नेपालमा पनि लागु गर्न थालिएको हो । स–साना पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्त्वपूर्ण पक्षहरू छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।’

छानबिन समितिले निष्पक्ष ढङ्गले अध्ययन अनुसन्धान गरी निष्कर्ष निकाल्ने र विद्यमान समस्या समाधानका लागि के–कस्ता सुधार गर्न सकिन्छ भनेर स्पष्ट सुझाव दिने अपेक्षा पनि प्रधानमन्त्री ओलीको छ ।

‘सहकारी क्षेत्रको विकृति भयानक राष्ट्रिय समस्याका रूपमा आइसकेको रहेछ । यसको कसरी समाधान गर्न सकिन्छ भनेर सरकारले समितिको सुझावको प्रतिक्षा गरिरहेको छ । सहकारी क्षेत्रको नियमन र सुपरीवेक्षण गर्नका लागि छुट्टै संयन्त्र चाहिन्छ कि अहिलेकै संयन्त्रबाट गर्न सकिन्छ भनेर पनि सुझाव समितिबाट आउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सहकारीका सदस्यहरू नठगिउन् र लगानीकर्ताको रकम नडुबोस् भनेर सरकारले आवश्यक काम गरिरहेको छ । ठग्ने मनासाय भएका मानिहरूले त्यसमा सफलता नपाउन् ।’

विभिन्न सहकारीको रकम हिनामिना गरेर फरार भएका व्यक्तिहरूलाई सरकारले खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छानबिन सकिएपछि इन्टरपोलमार्फत् नेपाल झिकाउन सहज हुने विश्वास व्यक्त गरे ।

भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तको गिरफ्तारी पछि नेताहरुमा डर पैदा भयो र सरकार ढालियोः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिँदा आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् ।

शनिबार मोरङको ग्रामथानमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तको गिरफ्तारी र सुशासनको सुई बालकोट र बूढानीलकण्ठ सोझिँदा आफ्नो सरकार ढलेको दाबी गरेका हुन् ।

उनले भने, ‘सुशासनको सुई बालकोट सोझियो, बुढानीलकण्ठतिर पनि सोझियो । अनि नेताहरुमा पैदा भयो र सरकार ढालियो ।’

उनले तथाकथित संख्याको बलमा अप्राकृतिक रुपमा सरकार ढालिएको बताए । प्रचण्डले बंगलादेशबाट पाठ सिक्न सत्ता गठबन्धनलाई चेतावनीसमेत दिए ।

उनले भने, ‘मैले सम्झाएको मात्र छु, दुई तिहाइको तपाईहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो ।’

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन् ।

सांस्कृतिक समाज नेपालले शनिबार आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, देउडा गायक नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्तप्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्रबहादुर साउदलाई सम्मान गरेका थिए ।

राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए । कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गत वर्षदेखि सुरु गरिएको स्रष्टा सम्मान तथा देउडा महोत्सवलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध

सियोल । उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

पश्चिमी शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना गर्दै उत्तर कोरियाले रूसलाई हतियार बेचेको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा प्योङयाङको गर्दा किमसँग आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए भने उत्तर कोरियाले हालै रूससँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार पुटिन र किम जोङले “मैत्रीपूर्ण र विश्वासनीय वातावरणमा “रचनात्मक“ वार्ता गरेका छन् ।

द्विदेशिय रणनीतिक संवादलाई निरन्तर वृद्धि गर्दै आपसी सुरक्षा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्थाको रक्षा गर्न सहयोगलाई सुदृढ पार्ने विषयमा व्यापक विचार आदानप्रदान भएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ ।

किमजोङ्ले जुनमा हस्ताक्षर गरेको सन्धिका आधारमा उत्तर कोरियाको सरकारले रूससँग सहयोग र सहकार्यलाई थप विस्तार गर्ने पुष्टि गरे ।

यसै गरी रूसीको सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा किमसँगको शोइगुको भेटले रक्षा सम्झौताको “कार्यान्वयनमा महत्त्वपूर्ण योगदान दिने“ जनाएको छ ।

गत मे महिनामा रक्षामन्त्रीको पदबाट राजीनामा दिएपछि शोइगु रुसको सुरक्षा परिषद्को प्रमुख बनेका हुन् ।

उत्तर कोरियाले शुक्रबार पहिलो पटक युरेनियम सुविधाका तस्बिरहरू सार्वजनिक गरेको छ भने किमले “आत्मरक्षाका लागि आणविक हतियार द्रुत रूपमा अघि बढाउन सेन्ट्रिफ्युजको सङ्ख्या बढाउन आवश्यक रहेको बताए ।

अमेरिका र दक्षिण कोरियालगायतका राष्ट्रले उत्तर कोरियालाई रूसको युद्धका लागि सैन्य सामाग्री आपूर्ति गरेको आरोप लगाएका छन् भने यो दाबीलाई प्योङयाङले अस्वीकार गरेको छ ।

यस हप्ता सार्वजनिक एक द्वन्द्व हतियार अनुसन्धान प्रतिवेदनले उत्तर कोरियामा यस वर्ष उत्पादित मिसाइलहरू युक्रेनमा प्रयोग भइरहेको देखाएको छ ।

उत्तर कोरियाको सहयोगी रूस प्योङयाङसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने राष्ट्रहरू मध्ये एक हो भने सन् २०२२मा युक्रेन युद्ध सुरु भएदेखि पश्चिममासँग रूसीको सम्बन्ध बिग्रिएको छ ।

गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले भने ।

गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनले बताए । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भने । इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताए ।

उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ ।

चालु शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी

जनकपुरधाम । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामबाट पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ । कार्यालयले गत शैक्षिक सत्र २०८० मा  २६ करोडको पुस्तक बिक्री गरेकामा चालु शैक्षिक सत्रको वैशाखदेखि साउनसम्ममा २३ करोड ३० लाखको बिक्री भएको जनाएको छ । 

सरकारको पूर्ण स्वामित्व रहेको कार्यालयबाट गत शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा  दुई करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिए । उनका अनुसार चालु शैक्षिक सत्रमा कार्यालयले कक्षा १ देखि कक्षा १२  सम्मका २२ लाख ६४ हजार छ सय ८३ थान पुस्तक बिक्री गरिएको छ । 

मधेस प्रदेशको आठ जिल्लासहित पहाडी जिल्ला ओखलढुङ्गा, उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक बिक्रेतामार्फत सो सङ्ख्यामा पाठ्यपुस्तक बिक्री भएको उनले उल्लेख गरे । 

विद्यार्थीसँग पुरानो पाठ्यपुस्तक हुनु, कतिपय विद्यार्थीले बीचमा पढाइ छाड्नुलगायत कारणले गत शैक्षिक सत्रको तुलनामा यस वर्ष पाठ्यपुस्तक बिक्रीमा कमी आएको हुनसक्ने प्रमुख खनालले बताए । उनका अनुसार अहिले कार्यालयमा आठ लाख थान पाठ्यपुस्तक मौज्दात छ ।

केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पूर्ण रुपमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । साथै कक्षा ११ र १२ का अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको पाठ्यपुस्तक भने विद्यार्थीले खरिद गर्नुपर्ने प्रावधान रहेको छ । 

विद्यार्थीलाई शिक्षातर्फ आकर्षित गर्न प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने सङ्घीय सरकारको नीतिअनुसार जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइ गर्दै आएको हो । केन्द्रले तोकिएका बिक्रेतामार्फत पाठ्यपुस्तक खरिद गर्ने र सोको भुक्तानी सम्बन्धित पालिकामार्फत दिँदै आएको जनाएको छ ।  

नेवाः संस्कृति देशको सांस्कृतिक वैभवः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन् । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा शनिबार मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताए ।

प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे ।

‘राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन ।’ प्रधानमन्त्रीले भने, ‘हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो ।’

प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गरेकामा आभार प्रकट गर्दै उनको दीर्घायुको कामना गरे । साथै उनले समाजका विविध क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरेका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको कला, संस्कृतिको संरक्षणमा अहं भूमिका निर्वाह गरेको बताए । बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ज्यापू समाज र संस्कृति नेपाली सभ्यताको धरोहर भएको बताए ।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ज्यापू समाजले आफ्नो परम्परा, भाषा, कला, संस्कृति संरक्षणमा उल्लेखनीय सहयोग पुर्याएको भन्दै समाजको सहयोगका कारण रातोमच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित हुने गरेको बताए ।

ज्यापू महागुथिका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र महर्जनले यो समाजले आगामी दिनमा आफ्नो समुदायका अधिकार स्थापित गर्नेतर्फ लाग्नुपर्ने बताए ।

बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु, ११ घाइते 

ढोरपाटन (बागलुङ) । बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा  ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार  पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । 

उनका अनुसार घाइते हुनेमा रुपन्देहीको  बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको  ढोरपाटन  –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् । 

घरले पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर प्रस्तुत गरिने जानकारी दिए।

उनले भने, ‘जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ ग्ते सार्वजनिक गर्नेछौँ ।’

मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे ।

सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१-८२ को बजेट पारित नभई अलपत्र परेको थियो । सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए।

बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजश्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन् । शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व सङ्कलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था भने अझै हटेको छैन ।

प्रदेश सरकार बजेटविबिहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ । केन्द्रमा बनेको समीकरणअनुसार कांग्रेसका नेता शाहको नेतृत्वमा गत साउन २२ गते नयाँ सरकार गठन भएको थियो ।

सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि रु ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो । योमध्ये चालुतर्फ रु ११ अर्ब सात करोड १९ लाख र पूँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख छुट्याइएको थियो । वर्तमान सरकारले रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक : उपराष्ट्रपति

नवलपरासी । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन् ।

शनिवार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवं पैगामे अमन सम्मेलनमा उनले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उपराष्ट्रपतिले भने, ‘समाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।’

देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवं व्यवहार आवश्यक पर्ने उनले बताए । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

उपराष्ट्रपतिले भने, ‘देशको चौतर्फी विकासका निम्ति हामीबीच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।’

विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासिन सबै धर्मगुरुहरूले शान्तिका प्रतीक परेवाहरू उडाएको थियो ।

गाजामा ५ लाख ६० हजार बालबालिकालाई लगाइयो पोलियो खोप

संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ ।

गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) जानकारी दिएको छ ।

ओसिएइचएका अनुसार उत्तरी गाजामा पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदारले एक लाख १२ हजार भन्दा बढी बालबालिकामा खोप लगाइएको छ ।

साझेदारहरूले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण सुरु गर्ने तयारी गरेको ओसिएइचएको कार्यालयले जनाएको छ ।

मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उदृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भिर चोटपटक लागेको अनुमान गरेका छन् जसलाई आगामी वर्षमा पुनर्वास सेवाहरू आवश्यक पर्छ ।

ओसिएइचएले गाजामा स्वास्थ्य प्रणालीको विनाशको बीचमा ३६ मध्ये केवल १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ । सिमीतअस्पतालहरुमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशको कारण प्राथमिक स्वास्थ्य लगायतका सेवासमेत पहुँचयोग्य छैनन् ।

वेस्ट बैङको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्याङ्कन गर्न मानवीय साझेदारलाई परिचालन गरेको कार्यालयले जनाएको छ जहाँ एक दर्जन प्यालेस्टिनीले मृत्यु भएको थियो ।

ओसिएइचएले प्यालेस्टिनी र इजरायली सेना बीचको गोलीबारीले इजरायली अपरेसनको क्रममा बुधबार र बिहीबार सर्वसाधारणको घरहरू क्षतिग्रस्त हुँदा दर्जनौं परिवारहरू विस्थापित भएका जनाएको छ ।

वेस्ट बैङ्क क्षेत्रहरूमा घातक युद्ध र रणनीतिको प्रयोगले कानूनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको ओसिएइचएले जनाएको छ ।

एनपीएलमा ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी छनोट, कुन टिममा को ?

काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की खेलाडी छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की खेलाडी छनोट गरेका हुन् ।

‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन् । यस्तै, टिम विराटनगरमा सन्दीप लामिछाने, टिम लुम्बिनीमा रोहित पौडेल, टिम जनकपुरमा आशिफ शेख, टिम कर्णालीमा सोमपाल कामी र टिम सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी चयन भएका छन् ।

एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ । एनपीएल २०२४ को खेल ३० नोभेम्बरदेखि सुरु हुनेछ र २१ डिसेम्बरसम्म चल्नेछ ।

मुस्ताङको जनशान्ति माविद्वारा जग्गा भाडामा लिएर तरकारीखेती

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारी खेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो ।

विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताए ।

‘सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुुन थालेपछि आफै तरकारी उत्पादन गरिएको हो’, उनले भने, ‘फुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरुले करेसाबारीमा काम गर्छौ ।’

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा चारदेखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ ।

छात्रावासमा बस्ने ७५ जनालाई संघीय सरकारले र १० जनालाई वारागुङ गाउँपालिकाले मासिक चार हजारका दरले अनुदान उपलब्ध गराउछ । पूर्व प्राथमिकदेखि कक्षा तीन सम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरुका लागि अभिभावकहरुबाट न्युुनतम शूल्क लिएर सामुदायिक छात्रावास सञ्चालन गरिएको प्रअ किसानले बताए ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि सरकारले हिमाली विद्यालयहरुमा छात्रावास सञ्चालन गरेको छ ।

मुस्ताङमा ज्याला मजदुरीका लागि काम गर्न पुगेकाहरुको छोराछोरीको संख्या ८० प्रतिशत भन्दा बढी छ । पछिल्लो समयको मूूल्यवृद्धिका कारण अनुदानले दाल र चामल खरिद गर्नमात्र पुगेपछि विद्यालय आफैले तरकारी उत्पादन गर्न थालेको छात्रावासका प्रमुख नारायण पौडेलले बताए ।

‘आफै उत्पादन गर्न थालेपछि तरकारी किन्न परेको छैन’, उनले भने, ‘तरकारी खेतीका लागि विद्यालयले वार्षिक  ३० हजार तिरेर जग्गा भाडामा लिएको छ ।’

गत वर्ष कागखोलामा आएको बाढीले विद्यालयको दुई रोपनी करेसाबारी बगरमा परिणत भएको थियो । एक वर्षपछि नयाँ ठाउँमा जग्गा खोजेर करेसाबारीलाई निरन्तरता दिएको शिक्षक पौडेलले बताए ।

विद्यार्थीहरुले तरकारी खेती सम्बन्धी ब्यवहारिक ज्ञान लिन पाएका छन् । कागबेनीबासीले जनशान्ति माविलाई घेकरमा उपलब्ध गराएको पाँच रोपनी जग्गामा आयस्रोत जुटाउन स्याउ खेती गर्ने तयारी गरेको छ । तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकूलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ । नर्सरी स्थापनाका लागि सरकारी निकायबाट पाँच लाख ५० हजार अनुदान प्राप्त भएको थियो ।

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

बाँके । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ ।

नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मुर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए ।

“चौध–पन्ध्र जति मुर्ति तयारी अवस्थामा छन्, रङ्रोङ्गन गर्नमात्रै बाँकी छ, अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, छोटुले भने “आजभोली मुर्ति किन्न भारत जानु पर्दैन नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।”

उनका अनुसार सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । मुर्तिको सजावटका सामाग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरिएको छ ।

दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मुर्ति स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । कुनैबेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्ति अहिले यहीँका कालीगढले प्रशस्त बनाउने गरेका छन् । दुर्गाभवानीका आकर्षक मुर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताए ।

नेपालगञ्जमै तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । यसबाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ ।

दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा दसैको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूृर्तिमा पूजा गर्ने चलन छ ।

बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिन रात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका राजकुमारको यो पुख्र्यौली पेसा हो ।

“पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, राजकुमारले भने, “नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।”

उनका अनुसार  २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । राजकुमारले आफु जस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।

“सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, मूर्तिकार राजकुमारले भने, “धेरैजसो ‘रेगुलर’ ग्राहक छन्, तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।”

बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । त्यसका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ । दसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको नेपालगञ्जका अगुवा द्वारिकाप्रसाद वैश्यले बताए ।

अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोर अन्तरिक्षबाट मतदान गर्न उत्साहित

वासिङ्टन डीसी । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् ।

अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्री निर्धारित समयमा पृथ्वीमा फर्किन नसकेका हुन् ।

अन्तरिक्ष यान स्टारलाइनरलाई यसको चालक दलबिना पृथ्वीमा फिर्ता गर्ने निर्णय गरियो र तीन महिनाभन्दा बढी अन्तरिक्षमा रहेपछि सेप्टेम्बर ६ मा सफलतापूर्वक पृथ्वीमा फर्काइयो ।

दुबै अन्तरिक्ष यात्रीलाई स्पेसएक्स ड्रयान अन्तरिक्ष यानबाट आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्काइने तय भएको छ ।

अन्तरिक्ष यात्रीले मतदानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मतपत्रका लागि अनुरोध गरेको बताए ।

“मैले आज मतपत्रका लागि अनुरोध पठाएको छु । हामीले केही हप्तामा मतपत्र प्राप्त गर्नेछौँ”, विल्मोरले भने । “मतदानको अधिकार नागरिकको एक महत्वपूर्ण अधिकार हो, नासाले प्रदान गरेको यस अवसरका लागि हामी उत्साहित छौं ।”

टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्ष यात्रीहरूले सन् १९९७ देखि अन्तरिक्षबाट मतदान गर्दै आएको न्युयोर्क पोस्टले जनाएको छ ।

त्यस वर्ष नासाका डेभिड वुल्फ अन्तरिक्षबाट मतदान गर्ने पहिलो अन्तरिक्ष यात्री बन्नुभयो । सन् २०२० मा नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट आफ्नो नागरिक कर्तव्य पालना गरेकी थिइन् ।

सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।

जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। उनका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् । 

अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताए । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लीनिकमा  एक हजारदेखि  एक हजार दुई सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।

स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताए । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । 

“एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना तथा बिमिरा आउने, ग्रन्थी सुनिनेलगायत लक्षण देखिन्छ”, सूचना अधिकारी खत्रीले भने । अस्पतालमा दैनिक स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामी बढ्दै गएकाले शय्याको समेत अभाव हुन थालेको उनले जानकारी दिए ।

विसं २०३३ मा निर्माण भएको अस्पतालमा अहिले ५० शय्या छन् । जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि यहाँ आउने गरेका छन् ।

कश्मिरमा विधानसभा निर्वाचन नजिकिदै गर्दा झडपका घटनामा वृद्धि

नयाँदिल्ली । विवादित हिमालय क्षेत्र जम्मु–कश्मिरमा एक दशकमा हुनलागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

भारत प्रशासित कश्मिरमा दश वर्षपछि हुनलागेको पहिलो विधानसभाको चुनाव नजिकिदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ ।

“बहादुरको सर्वोच्च बलिदान” लाई श्रद्धाञ्जलि दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुबै देशले यसलाई पूर्ण रूपमा दावी गर्दै आएका छन् ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्।

पैतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ ।

सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधानसभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ ।

म्यान्मामा ‘यागी’ बाट लाखौं मानिस प्रभावित

यांग्गुन । म्यानमाको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध गरेका छन् ।

म्यानमा, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले करिब ३०० जनाको ज्यान लिएको छ ।

म्यानमामा दुई लाख ३५ हजारभन्दा बढी मानिसहरू बाढीको प्रभावबाट बच्न आफ्नो घर छोड्न बाध्य भएका छन् ।
“सरकारी अधिकारीले पीडितहरूलाई प्रदान गरिने उद्धार र राहत सहायता सामाग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क गर्न आवश्यक छ”, मिन आङ ह्लाइङले भने, “उद्धार, राहत र पुनःस्थापनाका कार्यहरु सकेसम्म चाँडो व्यवस्थापन गर्न आवश्यक छ ।”

एक सैन्य प्रवक्ताले देशका केही क्षेत्रसँग सम्पर्क गुमाएको र मध्य मांडले क्षेत्रको सुन खानीमा गएको पहिरोमा दर्जनौँ पुरिएको घटनाबारे अनुसन्धान भइरहेको बताए । म्यानमाको सेनाले पहिले विदेशबाट प्राप्त हुने मानवीय सहायतालाई अवरुद्ध गरेको थियो ।

गत वर्ष यसले देशको पश्चिममा आएको शक्तिशाली चक्रवात ‘मोचा’का करिब १० लाख पीडितहरूसम्म पुग्न खोज्ने सहायता समूहको यात्रा अनुमति निलम्बन गरेको थियो ।

सन् २००८ मा म्यानमामा चक्रवात ‘नरगिस’ले कम्तीमा १ लाख ३८ हजार मानिसको ज्यान लिएपछि तत्कालीन जुन्टामाथि आपतकालीन सहायता अवरुद्ध गरेको र सुरुमा मानवीय कामदार र आपूर्तिको पहुँच दिन अस्वीकार गरेको आरोप लगाइएको थियो ।

शनिबार सेनाद्वारा निर्मित राजधानी नेपिडो वरपरको बाढी प्रभावित क्षेत्रमा सैन्य ट्रकमार्फत साना उद्धार डुङ्गाहरू पुर्याइरहेका सञ्चारकर्मीले बताएका छन् ।

राजधानी वरपरको क्षेत्रमा बाढीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

कांग्रेस–एमाले उपसभामुखलाई हटाउने विषयबाट आफैं पछि हट्छन्ः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं पछि हट्ने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अधयक्ष प्रचण्डले उपसभामुखले हस्ताक्षर गरेर गल्ती गरेपछि हटाउन नहुने बताए ।

उनले उपसभामुख इमान्दार र ख्यातिप्राप्त व्यक्ति भएकाले उहाँलाई हटाउन नहुने बताए । उनले भने, ‘उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो। त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं। सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’

उनले संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीशमा सिफारिसका लागि आठ जनाको नाम आएको र वरिष्ठलाई छाडेर अर्कोलाई ल्याउनुपर्छ भनेर कसैले नभनेको बताए ।

परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन्, सजग हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्व लागेका टिप्पणी गरे ।

‘अहिले परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधियानकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन ।’, प्रधानमन्त्रीले भने, ‘जानी नजानी एक खालका मानिसबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्यतथ्यको बाटो नभइ झुठ, भ्रम, षड्यन्त्रको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नुपर्दैन । भएको राम्रो कामको उल्टो प्रचार गरे पुग्छ ।’

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनालाई गतिशील बनाउँदै समस्याको खोजी र निदान हुने बताए ।

त्यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीका उपमहासचिव विष्णु रिमाल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाललगायत नेता सहभागी थिए ।

देशको मुहार फेर्ने क्षेत्र पर्यटन

सीबी अधिकारी, काठमाडौँ । कम लगानीमा बढी प्रतिफल दिने मलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमाफत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् ।
     
क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको ‘होटेलियस समिट–२०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे । सरकारी निकाय, उद्योगपती, पर्यटन व्यवसायी तथा नीति निर्माण तहमा रहेका अधिकारीले सामूहिक आवाजमा पर्यटनलाई देशको मुहार फेर्ने उपयुक्त अस्त्रका रुपमा व्याख्या गरे ।
     
सांसद एवं उद्योगपति विनोद चौधरीले नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै भएको बताए । “नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै हो, त्यसैले पर्यटन र होटल उद्योगलाई सबैभन्दा माथि लैजानुपर्छ”, उनले भने, “नेपालको सम्पूर्ण अर्थतन्त्रमा नै परिवर्तन ल्याउनसक्ने क्षेत्र पर्यटन हो ।”
     
सांसद चौधरीले हिजोका दिनमा कतिपय मुलुकका पर्यटक नेपाल जाने र त्यसमा पनि सोल्टी होटलमा जाने भनेर रोजाइमा राख्थे भन्दै त्यस्ता किसिमका होटल पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिए । उनले भने, “नेपाली मौलिकता झल्कने होटल मात्रै सञ्चालनमा ल्याउन सकेमा लाखौं पर्यटक नेपालमा ल्याउन सकिन्छ ।”
     
अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ ।

कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता  दिएको छ । 

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ ।

विदेशी आगमनमा सकारात्मक बढोत्तरी भइरहेको र पर्यटकीय पूर्वाधार प्रयाप्त रहेको अवस्थामा विदेशी पर्यटक बढाएर पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता छ ।  
     
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ पर्यटक आएका थिए ।
       
साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

     पर्यटन क्षेत्रको महत्वपूर्ण पाटोका रुपमा रहेको होटल क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी बढिरहेको छ । होटल सङ्घ नेपालका अनुसार अहिलेको बजारको मूल्याङ्कनका हिसाबले करिब नेपालको वार्षिक बजेट बराबर देशभरका होटल क्षेत्रमा लगानी छ । झण्डै नेपालको वार्षिक बजेट बराबर होटल क्षेत्रमा मात्रै लगानी भएको छ । संसारका प्रख्यात ब्राण्ड पनि धमाधम नेपाल भित्रिरहेका छन् । 

मेरियट, हिल्टन, शेराटनलगायत होटलको प्रवेशले नेपाल विश्वको आकर्षक गन्तव्यका रुपमा स्थापित भएको छ । सर्वोच्च शिखर सगरमाथा, प्रसिद्ध पवित्र पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथलगायत महत्वपूर्ण तीर्थस्थल आदिले पछिल्लो समय धार्मिक पर्यटक बढोत्तरी भइरहेको छ ।
     
टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष वसन्तराज मिश्रले नेपालको पर्यटन विकासका लागि हवाई सम्पर्क सञ्जाललगायत पूर्वाधार विस्तारका साथै गुणस्तरीय पर्यटक भित्राउनेतर्फ ध्यान दिइनुपर्ने खाँचो औंल्याए ।

उनले भने, “अन्तर्राष्ट्रिय चेन होटल आएका छन्, नयाँ–नयाँ प्रविधि भित्रिएको छ, अब मुख्य केन्द्रमा रहनुपर्ने विषय कनेक्टिभिटी हो, ३५ लाख क्षमताका पूर्वाधार भए पनि १० लाख पर्यटक आएका छन्, त्यसैल पर्यटक सङ्ख्या बढाउन कनेक्टिभिटीलाई सहज बनाउन आवश्यक छ ।”
     
दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजाबाहकको सवलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गरिनुपर्नेमा उनले जोड दिए । उनले सरकारले प्रतिबद्धता जनाएका सबै काम गर्दै जानुपर्ने बताए ।

“संसारभर नेपालीले काम गरिरहेका छन्, हाम्रोमा काम गर्ने मान्छे नहुने भन्ने हुँदैन, प्राविधिक विषयको ज्ञान भएन होला, अन्य केही समस्या देखिए होला”, मिश्रले भने, “तर, यी समग्र विषयमा सुधार गर्न सके सोचेअनुसार पर्यटक आउने निश्चित छ ।”
     
पर्यटन क्षेत्रको अपार सम्भावनालाई लाभमा बदल्न व्यवसायी पनि निकै उत्साहित देखिएका छन् । शान्ति, स्थिर राजनीति र बलियो सरकार भएको अहिलेको अवस्थामा नेपालले पर्यटनबाटै बढीभन्दा बढी लाभ लिन सक्नुपर्ने व्यवसायी एवं सरोकारवालाको धारणा छ ।
     
सांसद चौधरीले पर्यटन उद्योगले नेपालको अर्थतन्त्रमा नै आमूल परिवर्तन ल्याउन सक्ने भन्दै यसका लागि होटल तथा अन्य सम्पूर्ण पूर्वाधारको विकास र विस्तारमा काम गर्नुपर्ने खाँचो औंल्याए ।

नेपालका लागि पदयात्रा व्यवसाय सबैभन्दा लोकप्रिय रहेको बताउँदै चौधरीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गरेर हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाएको खण्डमा पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।
     
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तुरुन्तै लाभ लिन सकिने क्षेत्र पर्यटन भएकाले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय याम सुरु भएकाले हवाई उडान बढाएर सेवालाई सुरक्षित र प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
     
अध्यक्ष ढकालले आफूलाई नेपालबाट उडान सङ्ख्या घटाइएको विषयमा मलेसियन र कतारी राजदूतले समेत जिज्ञासा राखेको उल्लेख गरे ।

“पर्यटन याममा उडान घटाउने होइन, बढाउनुपर्छ, हवाईमार्ग र सडकमार्गलाई चुस्त र प्रभावकारी बनाइनुपर्छ”, उनले भने, “नेपालमा धेरै ब्रान्डका होटल खोल्नु भनेको संसारका पर्यटकलाई बाटो खुल्नु हो, यसका लागि होटलको सेवा शुल्कलाई समय सापेक्ष बनाउनुपर्छ ।”
     
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अथाह सम्भावनायुक्त पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अगाडि बढाइने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपालमा तीन दशकदेखि चेन होटल आए पनि हाल चार/पाँच वर्षमा धेरै खुलेका छन्, आगामी दिनमा थप केही आउने तयारीमा छन्, यसरी चेन होटल नेपाल आउनुले मुलुकमा केही सकारात्मक गतिविधि भइरहेको छ भन्ने हो ।”
     
जोशीले हिजोका दिनमा होटल र पर्यटन उद्योगलाई सम्भावनायुक्त तथा ठूलो क्षेत्रका रुपमा हेरिएको र अहिले लक्जरी होटल, नयाँनयाँ प्रविधि र लगानी भित्रिँदै गएको बताए ।

उनले होटलको लगानीलाई उद्योग सरह मान्यता दिइनुपर्ने, ३५ वर्ष पुरानो पर्यटन नीतिलाई परिवर्तन गरिनुपर्ने आवश्यकता औंल्याए । दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा भारत, चीन, बङ्गलादेश श्रीलङ्कालगायत मुलुकमा बजारीकरण्योग सरह मान्यता दिइनुपर्ने, ३५ वर्ष पुरानो पर्यटन नीतिलाई परिवर्तन गरिनुपर्ने आवश्यकता औंल्याए । 

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगतमा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । 

एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई शनिबार राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे ।


राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाएको उनले बताए ।


नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । उनले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सरहाना गरे ।

चितवनका दूग्ध उत्पादक किसानले अझै पाएनन् ७४ करोड भुक्तानी

चितवन । चितवनका दुग्ध उत्पादक किसानले  ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ ।


चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै  ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।


भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताउँछन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ । बगालेका अनुसार काठमाण्डौं, पोखरा, मकवानपुर, भक्तपुर, ललितपुर लगायतका जिल्लामा यहाँबाट दूध जाने गरेको छ ।


दूधको भुक्तानी समयमा नहुँदा यसको प्रभाव प्रत्यक्ष रुपमा किसानमा परेको छ । डेरी उद्योगले दूध बिक्री नभएपछि पाउडर र नौनी बनाएर राखेका छन् । ती सामग्री बिक्री नहुँदा भुक्तानी गर्न नसकेको उद्योगहरुले जनाउँदै आएका छन् । यद्यपी बिक्री भएकाहरुले पनि भुक्तानी नगरेको किसानको गुनासो छ ।


यता गर्मी मौसमसँगै दूधको खपत बढेपछि यहाँको चितवन मिल्क उद्योगमा प्रशोधन गर्न दूध नपाउँदा उद्योग बन्द अवस्थामा छ । उद्योगले सहकारी र निजी फार्मबाट आएको दूध शुल्क लिएर प्रशोधन गरी पठाउने गरेको थियो । धुलो दूध र नौनी बिक्री नभएपछि उद्योगका गोदाम दुग्धजन्य पदार्थले भरिएका थिए । ती सामग्री घट्दै गएको भए पनि उद्योग भने सञ्चालन हुन सकेको छैन ।


उद्योगका प्रबन्धक दुर्गा पराजुलीले पाँच महिनादेखि उद्योग बन्द भएको बताए । दूध नपाएपछि गएको वैशाखबाट उद्योग बन्द भएको हो । विभिन्न सङ्घ संस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि पाउन नसकिएको उनले बताए । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ ।


सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भए पनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको उनले बताए । गएको वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था नआएको पराजुली बताउँछन् ।


उद्योगमा ३३ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक  १५ लाख खर्च हुने पराजुली बताउँछन् । गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फर्मले नलगेपछि दुई पटक झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नु परेको थियो ।


केही दिन अघि उद्योगले २० हजार लिटर दूध खरिद गरेर मेसिन सञ्चालन गरेको थियो । मेसिन लामो समय बन्द रहँदा बिग्रने भएकाले दूध आफै किनेर समय समयमा सञ्चालन गरिँदै आएको छ । पराजुलीले भने, “हामीले दूध किन्छौं भन्दा पनि पाएका छैनौं, आउँदो हप्ता सर्लाहीमा एउटा संस्थाले दिन्छु भनेको छ ।”


विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको  एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो  ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो । उद्योग भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको छ ।

अत्तरियामा उत्पादित गोलभेँडामा भेटियो अत्यधिक विषादी

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा(टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो ।

हाट बजारमा ल्याइएको सो गोलभेँडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको उक्त गोलभेँडा खान अयोग्य भएकाले एक क्विन्टल गोलभेँडा नष्ट गरिएको उनले जानकारी दिए ।

उनले प्रयोगशालामा ३५ प्रतिशतभन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने बताउँदै ४५ भन्दा माथि रोकावट दर भेटिए नष्ट गर्ने गरिएको  बताए । 

विषादी अवशेष द्रुत विश्लेषण एकाइले अत्तरियामा सञ्चालित हाट बजारमा दैनिक तरकारी र फलफूलको नमूनाको विषादी परीक्षण गर्दै आएको जनाएको छ ।

अत्तरियामा डेढ दशकदेखि सञ्चालनमा रहेको सो हाट बजार क्षेत्रिय हाट बजार हो । सो हाट बजारमा सुदूरपश्चिमभरका किसानले उत्पादन गर्दै आएका कृषिजन्य वस्तु सङ्कलन गरी विक्री वितरण गर्दै आएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए ।

आफ्नो उपचार आफैँ गर्ने गोरिल्ला

ग्याबोनका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनका क्रममा जङ्गली गोरिल्लाले खाने र मान्छेले उपचारका लागि प्रयोग गर्ने उष्णप्रदेशीय वनस्पतिहरूमध्ये चार वटामा औषधीय गुण भएको पाएका छन्। प्रयोगशालामा गरिएको अध्ययनमा ती वनस्पतिहरूमा उच्च ‘एन्टिअक्सिडन्ट’ र ‘एन्टिमाइक्रोबिअल’हरू विद्यमान रहेको पत्ता लागेको हो। तीमध्ये एउटा ‘सुपरबग’ अर्थात् एक प्रकारको परजीवीसँग लड्न प्रभावकारी देखिएको छ।

गोरिल्लाको विशिष्ट क्षमता

‘ग्रेट एप’ समेत भनिने विशालकाय गोरिल्लाहरू औषधिजन्य वनस्पति पहिचान गरेर स्वयंको उपचार गर्ने कार्यका निम्ति चिनिन्छन्। आफ्नो घाउ निको पार्नका निम्ति वनस्पतिको लेदो दल्ने एउटा घाइते ओराङउटान हालै समाचारको विषय बनेको थियो। हालैको एक अध्ययनका क्रममा वनस्पतिविद्हरूले ग्याबोनको मोउकालावा–डुडु राष्ट्रिय निकुञ्‍जस्थित वेस्टर्न लोल्यान्ड गोरिलाहरूले खाएका वनस्पतिहरूको विवरण राखेका थिए।

त्यस क्रममा उनीहरूले फाइदाजनक हुने सम्भावना भएका चार वटा रूख छनौट गरेका छन्। स्थानीय उपचारकहरूसँगको कुराकानीमा आधारित भई छनौट गरिएका ती रूखहरूमा ‘फ्रमेजर’ (सेइबा पेन्टान्ड्रा), जाइअन्ट येलो मल्बरी (मेरिआन्थस आर्बरिअस), अफ्रिकी टीक (मिलिसिआ एक्सेल्सा) र फिग (फिकस) रहेका छन्।

पेटसम्बन्धी समस्यादेखि बाँझोपनसम्मका हरेक प्रकारका समस्याका निम्ति परम्परागत औषधि बनाउनका निम्ति यी रूखका बोक्राहरूको प्रयोग हुन्छ। तिनमा ‘फिनल’ र ‘फ्लेभोनोइड्स’ सहितका रासायनिक र औषधीय गुणहरू विद्यमान छन्।

‘उत्साहजनक’ नतिजा

यी चारैवटा वनस्पतिले विभिन्न औषधिले काम नगर्ने अवस्थाका ई. कोलाई (पेटमा सङ्क्रमण पैदा गर्न सक्ने ब्याक्टेरियाको समूह)को कम्तीमा एक प्रकारविरुद्ध ब्याक्टेरियाप्रतिरोधी गतिविधि देखाए। खास गरी ‘फ्रमेजर’ को रूखले सबै प्रकारका परीक्षणहरूमा ‘उल्लेख्य गतिविधि’ देखाएको उनीहरूले बताए।

‘यसले गोरिल्लाहरूमा आफूलाई फाइदा गर्ने वनस्पति खाने क्रमको विकास भएको देखिन्छ भने यसले मध्यअफ्रिकी वर्षावनहरूबारे हाम्रो ज्ञानमा रहेको ठूलो अन्तरलाई पनि उजागर गर्छ,’ ग्याबोनका वैज्ञानिकहरूसँगै अध्ययनमा संलग्न यूकेस्थित डरम विश्‍वविद्यालयका मानवशास्त्री डा. जोआना सेचल बताउँछिन्।

ग्याबोनमा अझै अन्वेषण हुनै बाँकी घना जङ्गलहरू छन्। ती जङ्गलमा जङ्गली हात्ती, चिम्पान्जी र गरिला बस्छन्। त्यहाँका कैयौँ बोटविरूवाबारे विज्ञानसमेत अनभिज्ञ छ।

अवैध सिकार र रोगका कारण जङ्गलबाट ठूलो सङ्ख्यामा ‘वेस्टर्न लोल्यान्ड’ गरिलाहरू हराउन थालेका छन्।

तिनीहरूलाई प्रकृति संरक्षणसम्बन्धी निकाय ‘इन्टरनेशनल यूनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)’ले ‘अति सङ्कटापन्न प्रजाति’का रूपमा वर्गीकृत गर्दै रातो सूचीमा राखेको छ। यो अनुसन्धान ‘पीएलओएस वन’ जर्नलमा प्रकाशित छ।

-हेलेन ब्रिग्स, बीबीसी

अमृत अधिकारीको ‘मनको शान्ति’

काठमाडौं । दोहोरी गायक अमृत अधिकारीले ‘मनको शान्ति’ बोलको गीत ल्याएका छन् । गीतमा अमृतसँगै शान्तिश्री परियार, रामचन्द्र चन्द र सुनिता बुढा क्षेत्रीको स्वर छ। ।

विक्रमबाबु विश्वकर्माको शब्द रचना, नन्दु परियारको संगीत रहेको गीतलाई कृष्ण बि.कले एरेन्ज गरेका छन् । अधिकारीले ’दाइको ससुराली गाउँ’ गीत ल्याएको २० वर्षपछि ‘मनको शान्ति’ सार्वजनिक गरेका हुन् ।

यसको भिडियोमा रामचन्द्र अधिकारी, बिमल अधिकारी, जुना गुरुङ, यशु भट्टराईलगायतको अभिनय छ । मौसम हिमालीले भिडियोको निर्देशन गरेका हुन्। यसमा करन चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन छ।