`

सांसदहरू त्यहाँ जम्मा हुन्छन्, हाजिर गर्छन्, अनि माओवादी विद्रोह ‘हिंसा’ हो कि होइन भनेर झगडा गर्छन्…

नारायण गाउँले ।
अलिकति दुःख त तपाईंलाई पनि लाग्ला पढेर ! देश गरिब किन हुन्छ, थाहा छ ? चर्को वैदेशिक ऋण लिएर हामी केमा खर्च गर्छौँ थाहा छ ? २७५ जना सदस्य रहेको संसद् छ । हरेक सांसदको तलबभत्ता लाखभन्दा माथि हुन्छ । तिनलाई बसेको, उठेको, सुतेको, हिँडेको, पानी पिएको, फोन बोकेको, पाहुनालाई खÞ्वाएको या जेका लागि जागीर खाएको हो त्यही काम गरेकोमा समेत छुट्टै भत्ता हुन्छ । अझ गरिब देशले तिनलाई अधिकृत बराबरको कर्मचारी पनि दिन्छ । यत्रो पैसा राज्यले किन खर्च गर्छ, थाहा छ ? अनि तिनले के गर्छन्, थाहा छ ? यतिबेला एक दुई हप्तादेखि संसदमा के भइरहेछ हेर्नुभो भने धेरै कुरा स्पष्ट हुन्छ ।

सांसदहरू त्यहाँ जम्मा हुन्छन्, हाजिर गर्छन्, अनि माओवादी विद्रोह हिंसा हो कि होइन भनेर झगड़ा गर्छन् । अनि आज संसद बन्द भनेर नाराबाजी गर्छन् । तलब र गाडीदेखि साड़ीसम्मको भत्ता छोड्नुस्, त्यत्ति नाराबाजी गर्न तिनले राज्यको ढुकुटीबाट छुट्टै एक हजार शुल्क बुझ्छन् । अझ त्यो नाराबाजी गर्न संसद भवनसम्म पुगेको खर्च भन्दै अर्को एक हजार रुपियाँ पनि पड्काउँछन् । यस्तो क्रम केही हप्तादेखि जारी छ र रहनेछ । माओवादीको मान्छे उठ्छ र त्यो योगेश वाला हिंसा शब्द हटाउनुपर्छ भन्छ, अनि योगेशवाला उठ्छन् र होइन, त्यो हिंसा नै हो भन्दै पाखुरा सुर्कन्छ । त्यसपछि त्यो दिनको तलबभत्ता पाक्यो । जबकि यो विषयमा राज्यको अरबौं रुपियाँ खर्च भइसक्यो, दुई दर्जन वर्ष बेकार भइसक्यो र एउटा टुङ्गो लागिसक्यो ।

संसदमा सांसदमात्रै हुन्नन् । भवनको भाड़ा, सचिवलगायतका दर्जनौं कर्मचारी, तिनको भत्ता, मर्यादापालक, सुरक्षाकर्मी..कति हो कति ! यस्तो बहसमा देशले ती सबैको करोडौं खर्च बेहोर्छ । यसअघि सहकारीमा छानबिन गर्ने कि नगर्ने, तँमाथि गर्ने कि ममाथि गर्ने भन्ने झगड़ामा महिना दिनभन्दा बढ़ीको तलबभत्ता खर्च भयो । करोडौं रकम स्वाहा भयो । त्यसैमा पनि झगड़ा गर्न दुई तीन जना भए पुग्छ । अरू त त्यो भत्ता पचाएर लुसुक्क बाटो लाग्छन् । देशमा सङ्घीयता आएको बर्सौं भयो । आवश्यक कानुन बन्न नसक्दा सबै कुरा लथालिङ्ग छ । नागरिक उड्डयन प्राधिकरणबारे एउटा कानुन बन्न नसक्दा देश कालोसूचीमा छ । शिक्षादेखि प्रहरीसेवा सम्म यस्तै छ । तर त्यो बनाउने भनेर देशको ढुकुटीबाट मोटो रकम बुझ्नेहरू त्यहाँ यस्तै झगड़ा गर्छन्, अर्कालाई भ्रष्ट, धोकेबाज, विदेशी दलाल र लोकतन्त्रको लागि खतरा भन्छन् । कहिले एउटा नमुना उभिन्छ र भाषण गर्छ, कहिले अर्को नमुना उभिएर फल्नोलाई त भित्तामैं पुरÞ्याएँ भन्छ । यो त सङ्घीय संसदको कुरो भयो । प्रदेशभरि सांसद नै सांसद छन्, कर्मचारी नै कर्मचारी छन् र त्यहाँ पनि यस्तै विषयमा ढुकुटी खर्च हुन्छ । गणतन्त्रअघि २०५ सांसद थिए । प्रदेश थिएन ।

देशको राजश्वले कमर्चारीको तलबभत्ता र ऋणको ब्याज पनि धान्दैन । हाम्रो क्रेडिट रेटिंग नै रहेनछ । चर्को ब्याजमा विदेशीसँग हात थाप्न पर्छ । त्यसरी थापेको ऋण जति यस्तै झगड़ामा खर्च हुन्छ । अझ तिनैले देशको सेवा गर्न राजनीति गरेको भन्छन् र तपाईंलाई दया गरेर बोल्ने हक मिलाइदिएको भन्छन् । विश्वास लाग्दैन भने भोलिको संसद लाइभ हेर्नुहोला, भुँडी टन्न छ । तिनले यही हिंसाको विषयमा बहस गरेर लाखौं रुपियाँ पचाउनेछन् ! उभिएबापत् एक हजार र त्यहाँ पुगेबापत् अर्को हजार रुपियाँ गोजीमा हाल्नेछन् र म देशको निःस्वार्थ सेवक हुँ भन्नेछन् ! के यो लूट होइन ?

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । 


नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । रोहितले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, गल्फका सुवास तामाङ र करातेका मोहमद शेख आलमलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।


रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो । यसैगरी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो ।


रोहितले विस २०८० मा २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३ अर्धशतक सहित ६८० रन बनाएका  थिए । यसैगरी उनले पाँच विकेट पनि लिएका थिए । यस्तै उनले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतसहित ५२५ रन बनाएका थिए भने १० विकेट पनि लिएका थिए । उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै उनले एक थान पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।


त्यसैगरी चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । उक्त अवार्डका लागि  कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।


यसैगरी नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन् । नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा उनी नेपाली टोलीको सदस्य थिइन्  । उक्त उपाधिका लागि गुलशन झा (क्रिकेट), मानमति विष्ट (कबड्डी) प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) का खेलाडी नाम मनोनयनमा परेका थिए ।


नेपालमा क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्याएका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डे जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट सङ्घ स्थापना हुँदा  महासचिव थिए । त्यस्तै २००५ देखि २०११ सम्म उनी अध्यक्ष थिए । पाण्डे क्रिकेट सङ्घको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो भने नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उहाँले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।


त्यस्तै भारोक्तन खेलका हेमन्त पाल प्लेयर अफ दि इयर घोषित भए । उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए । उक्त अवार्डका लागि क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, र टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए ।


पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा एथलिट अवार्डको उपाधि जिते । यसै महिना फ्रान्सको पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशाले पारा एथलिट अवार्ड जितेकी हुन् । तर यो अवार्ड भने उनले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी थिइन् ।


विसं २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । उक्त अवार्डसहित उनले एक लाख प्राप्त गरिन् । त्यसैगरी पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्ड भने भलिबलका कुमार राईले प्राप्त गरे । उनले नेपाली भलिबल खेलमा राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी जन्माउन महत्त्वपूर्ण योगदान दिएका थिए ।


पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड भने नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ । चीनको हाङचाउमा भएको १९औँ एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो । नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो । 


यसैगरी १९औँ एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भए । यस अवार्डको लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कविराज नेगी लामा, भारात्तोलनका प्रशिक्षक सञ्जय महर्जन मनोनयनमा परेका थिए ।


वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई जनही एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गरे भने बाँकीका विजेताले जनही  एक लाख प्राप्त गरे । विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव आयोजकका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले पुरस्कार प्रदान गरे ।

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।

सहकारीको रकम अपचलन गरी विदेश फरार २८ जनाको खोजीका विवरण दिन संसदीय समितिको निर्देशन

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गृहमन्त्री, गृहसचिव तथा प्रहरी प्रमुखसँग छलफल गरेको छ ।

समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी तथा प्रहरी प्रमुख बसन्त कुँवरसँग सहकारी ठगीमा संलग्न तर भएका फरार २८ आरोपीको खोजी कार्यको प्रगतिबारे छलफल गरेको हो ।

छलफलपछि समितिले विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन निर्देशन दिएको छ । प्रतिवेदन बुझाउन १५ दिन म्याद थप भएको समितिले प्रतिवेदनालई अन्तिम रुप दिन थालेको छ ।

संवैधानिक परिषदको बैठक विनानिष्कर्ष टुंगियो, अर्को बैठक भदौ ३१ मा

काठमाडौं । संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीश सिफारिस गर्न शुक्रबार साँझ बसेको परिषदको बैठक विना निष्कर्ष टुंगिएको हो ।

अब भदौ ३१ गते फेरि बस्ने गरी बैठक सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकासमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो ।

गैरसंवैधानिक नियमावली खारेज नहुँदासम्म न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले गैरसंवैधानिक नियमावली खारेज नहुँदासम्म न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी बारले नियमावली खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको हो ।

समस्या समाधानका लागि पाँच सदस्यीय कार्यदल गठन भएकोमा नियमावली खारेज गर्नुपर्ने विषयमा कार्यदलमा एकमत नभएपछि बारकातर्फबाट फरक प्रतिवेदन प्रस्तुत गरको विज्ञप्तिमा उल्लेख छ । नियमावली खारेजको माग गर्दै बारले धर्ना सुरु गरेपछि कार्यदल गठन भएको थियो ।

बालुवाटारमा संवैधानिक परिषदको बैठक

काठमाडौं । संवैधानिक परिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषदको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकासमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो । सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

पलेशालाई पारा एथलिट अफ दि इयरको अवार्ड

काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्द्धनले पाएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पलेसाले यो अवार्ड पाएकी हुन् ।

हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएको हो । पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कास्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

त्यस्तै नेपाली महिला कबड्डी टिम एनएसजेफ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित भएको छ । टोलीले चीनमा सम्पन्न एसियाली खेलकुदमा कास्य पदक जितेको थियो । पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्डबाट भलिबल प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।

राईले उत्पादन गरेका थुप्रै महिला भलिबलरहरु अहिले पनि राष्ट्रिय टिममा छन् । नेपाली महिला भलिबलको सफलतामा राईलाई नायकका रूपमा लिइन्छ । उनले राष्ट्रिय टिमका साथै विभागीय टिमका लागि पनि थुप्रै स्टार खेलाडी दिएका छन् ।

२८ हजार मेगावाट विद्युत उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यकः अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् ।

काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने र यसै अनुसार यससँग जोडिने अन्य व्यापार व्यावसायका लागि पनि धेरै ठूलो अवसर आउने बताएका हुन् ।

“२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक छ । यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर हुनुका साथै सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्ट लगायतलाई पनि त्यतिकै ठूलो अवसर छ ।“ उनले भने ।

नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु अत्यावश्यक रहेको पनि उनले बताए ।

“अहिले हामी १४ मन्त्रालय र ४० भन्दा बढी विभागमा पुगेर बल्ल एउटा आयोजना पूरा गर्न सक्छौ । सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २८ हजार मेगावाट उत्पादनको सपना पुरा गर्नको लागि एकद्वार प्रणालीमार्फत काम हुने वातावरण बनाउनुपर्छ ।“ उनले भने ।

अहिले धेरै ठाउँमा विद्युत आयोजना सम्पन्न भए पनि प्रसारणलाइन नभएका कारण आयोजनाको विद्युत खेर गइरहेको पनि कार्कीले बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारणलाइन निर्माणको जिम्मा दिनुपर्ने पनि उनको भनाई छ ।

त्यस्तै उनले नेपाली निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा डिल गरेर विद्युत बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत निजी क्षेत्रलाई सहजीकरण गर्ने बताए । त्यस्तै ह्वलिङ चार्ज, ओपन एक्सेस र प्रतिस्पर्धी बजारको लागि आयोगले काम गरिरहेको पनि अध्यक्ष धिताललको भनाई थियो ।

नेपालमा विदेशी लगानीमा २१६ मेगावाटको आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा धेरै निकायसँगका विभिन्न चरणमा धेरै चुनौतीहरु पार गर्दै आयोजना निर्माण भइरहेको बताए ।
एशियाली विकास बैंक (एडीबी) कि ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारणलाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको र आगामी ५ वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ बिलियन डलर लगानी गर्ने योजना रहेको बताइन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इप्पानका सल्लाहकार कुमार पाण्डेले नेपालमा आयोजना बनाउँदा प्रवर्द्धकले सामना गर्नुपर्ने चुनौतीहरुको वारेमा बताएका थिए ।

अर्का कार्यपत्र प्रस्तुतकर्ता केशवध्वज अधिकारीले नेपाल जलस्रोतमा धनी देश भएपनि ऊर्जा उत्पादन र उपभोगमा भने पछि परेको विवरणहरु प्रस्तुत गरेका थिए ।

एमालेको वार्षिक कार्ययोजना पारित

काठमाडौं । नेकपा एमालेले सबै तहका अधिवेशनहरू आगामी मंसिरसम्म सक्ने गरी वार्षिक कार्ययोजना बनाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनाअनुसार जिल्ला अधिवेशनहरू आगामी कात्तिकभित्र गरिसक्नुपर्नेछ । महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना पेस गरेका थिए । उनले सबै तहका अधिवेशनहरू मंसिरभित्र गरिसक्नुपर्ने गरी वार्षिक कार्ययोजना पेस गरेका थिए । सचिवालय बैठकले त्यसलाई पारित गरेको हो ।

यस्तै बैठकले पार्टीका हरेक सदस्यले वर्षमा एकपटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने, अन्य पार्टीबाट आएका नेताहरूलाई तीन महिनाभित्र जिम्मेवारी दिनुपर्नेलगायतका विषयरू वार्षिक कार्ययोजनामा छन् ।

यस्तो छ १८ बुँदे कार्ययोजना

१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।

२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मङ्सिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।

३. अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।

४. कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने विधि बसाल्ने ।

५. पार्टी कमिटी परिचालन र अन्तर्विरोध व्यवस्थापनको प्रणाली बसाउने ।

६. पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने । प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनै पर्ने ।

७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने ।

८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने ।

९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने ।

१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने ।

११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने । त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने ।

१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने ।

१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसङ्गठन परिचालन गर्ने ।

१४. प्रवासमा रहेका प्रवासीबिचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने ।

१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने ।

१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने ।

१७. पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने ।

१८. पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘यूथ समिट’ आयोजना गर्ने ।

युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न चीनको आग्रह

बेइजिङ । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्धजस्ता द्वन्द्वको समाधान ‘वार्ता’ नै एकमात्र समाधान भएको बताए ।

सियाङशान फोरमका लागि बेइजिङमा रूस, म्यान्मा, पाकिस्तान, सिङ्गापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधिसहित ५०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

मध्यपूर्वमा दूत पठाउने, उत्तरी म्यान्मामा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने र गत वर्ष साउदी अरब र इरानबीच ऐतिहासिक मेलमिलाप गराउनेलगायत विश्वव्यापी द्वन्द्वमा मध्यस्थकर्ताका रुपमा बेइजिङले आफूलाई प्रस्तुत गरिरहेको बेला तीन दिने फोरम हुन लागेको हो । युक्रेन र इजरायल–प्यालेस्टाइनका विषयमा चीनले आफूलाई अमेरिकाभन्दा बढी तटस्थ रूपमा प्रस्तुत गरेको छ ।

“युक्रेनको सङ्कट र इजरायल–प्यालेस्टाइन द्वन्द्वजस्ता महत्वपूर्ण मुद्दाहरू समाधान गर्न शान्ति र वार्तालाई बढावा दिनु नै एक मात्र उपाय हो,” दोङले उद्घाटन समारोहमा भने । “युद्ध र द्वन्द्वमा कोही पनि विजेता हुँदैन, र मुठभेडले कहीँ पनि पुगिँदैन,” दोङले भने ।

उनले भने, “द्वन्द्व जति चर्कियो, त्यति नै हामीले वार्ता र परामर्श त्याग्न सक्दैनौं । कुनै पनि द्वन्द्वको अन्त्य मेलमिलाप नै हो । सबै देशलाई शान्तिपूर्ण विकास र समावेशी शासनलाई बढावा दिन आह्वान गर्दछु ।”

फोरममा अमेरिका–चीन सम्बन्ध, युरोप र एसियाको सुरक्षा र बहुध्रुवीय विश्वमा प्रतिरक्षाका चुनौतीबारे छलफल हुनेछ ।

‘राष्ट्रिय सुरक्षा अवधारणाहरूको प्रसारविरुद्ध नयाँ प्रविधिले सम्पूर्ण मानवजातिलाई अझ राम्रो फाइदा पुर्याउन सक्छ’ भन्ने सुनिश्चित गर्न दोङले आग्रह गरे ।

“उच्च विश्वव्यापी सुरक्षा जोखिम र बढ्दो अस्थिरता र अनिश्चितताको समयमा, सबै देशहरूको रक्षा र सुरक्षा क्षमता निर्माण गर्ने जिम्मेवारी ठूलो छ । बेइजिङ रणनीतिक गठबन्धनलाई मजबुत बनाउन, रक्षा परामर्शलाई गहन बनाउन, रक्षा सहयोगसम्बन्धी द्विपक्षीय र बहुपक्षीय सम्झौतामा हस्ताक्षर गर्न सबै पक्षसँग काम गर्न इच्छुक छ ।”

पाकिस्तानी अदालतद्वारा खान दम्पती निर्दोष रहेको जाहेरी अस्वीकार

इस्लामाबाद । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेश अन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ ।

संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफू विरुद्धको मुद्दा सङ्घीय मन्त्रिपरिषद् बैठकको आधारमा सुरु गरी कानुनले मन्त्रिपरिषद् निर्णयलाई संरक्षण गरेको बताएका छन् ।

पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा भनिएको छ, “यो मुद्दा ‘नेशनल अकाउन्टेबिलिटी अर्डिन्यान्स (एनएओ)’ को दायराभित्र पर्दैन भन्ने पूर्ण जानकारी हुँदाहुँदै पनि ‘नेशनल अकाउन्टेबिलिटी ब्युरो (एनएबी)’ले आफ्नो क्षेत्राधिकार नाघी पाकिस्तानको प्रधानमन्त्रीका रूपमा आवेदकले डिसेम्बर ३, सन् २०१९ मा भएको क्याबिनेट बैठकको अध्यक्षता गरी झूटो र भ्रामक सन्दर्भ दायर गरेको देखिन्छ ।”

एनएबीले पूर्वप्रधानमन्त्री खानलाई उक्त प्रस्तावका लागि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ र बदलामा झेलम जिल्लाको तहसील सोहवामा लगभग ४५८ कनाल (उत्तरी भारत र पाकिस्तानमा जग्गाको क्षेत्रफल मापन गर्ने एकाई) जमिन, पाकिस्तानी रूपैयाँ (पीकेआर) २८ करोड ५० लाख नगद र अल–कादिर युनिभर्सिटी प्रोजेक्ट ट्रस्टका लागि चन्दासहित अन्य लाभहरू लिएको आरोप लगाएको छ।

डन पत्रिकाले समाचारमा उल्लेख गरे अनुसार जाहेरीमा खान दम्पतिले सहयोगी फरहत शेहजादी मार्फत सह–अभियुक्त अहमद अली रियाजबाट व्यक्तिगत लाभको क्षतिपूर्तिका रूपमा २४० कनाल जग्गा प्राप्त गरेका थिए ।

सार्वजनिक पदाधिकारीको रूपमा, दान तथा अन्य सुविधा पूर्व प्रधानमन्त्री खानले आफू र पत्नीको व्यक्तिगत लाभका लागि अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको डनले लेखेको छ ।

अभियोजकका अनुसार खानले मन्त्रीपरिषद् सदस्यसँग तथ्य खुलासा नगरी गोप्य कागजातलाई सिल गरी अनुमोदन गर्न बाध्य पारेका थिए ।

पूर्वप्रधानमन्त्री खानले सङ्घीय सरकारका कानुनीमामिला प्रवक्ता ब्यारिस्टर अकील मलिकले दिएको बयानले उनको आशङ्कालाई विश्वास दिलाएको बताए ।

याचिकाकर्ताहरूलाई सैन्य अदालतमा मुद्दा चलाउन सकिन्छ, र पाकिस्तानी सेनाको अधिनियम १९५२ को प्रावधानहरू यस मुद्दामा आकर्षित हुन्छन् ।

खानले सङ्घीय कानून र न्याय मन्त्री आजम नजीर तरारको बयानलाई उल्लेख गर्दै पिटिआईविरुद्धको मुद्दा पञ्जाब सरकारको विशेषाधिकार हुने बताए ।

संसद अवरोधलाई जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोधलाई जारी राख्ने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सत्तारुढ नेकपा एमालेबाट ‘जनयुद्ध’लाई ‘हिंसा’ भनी अपमानित गर्ने काम गरेको भन्दै संसद अवरोधलाई जारी राख्ने निर्णय गरेको हो ।

सभामुख देवराज घिमिरेको रुलिङ ‘हिंसा’ शब्दलाई मात्रै केन्द्रित गरेर जनयुद्ध र जनमुक्ति सेनालाई अपमान गरेकाले संसद अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुख देवराज घिमिरेले निर्णय गरेको भन्दै माओवादी संसद अवरुद्ध गर्दै आएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले एमाले सचिव भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए ।

सभामुखले हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका सांसदले विरोध गरेका थिए । भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

सभामुखले निर्णय सुनाउँदै भनेका थिए, ‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ ।’

सभामुखले निर्णय सुनाएपछि माओवादी केन्द्रका सांसदहरूले नियमापत्ति गर्दै संसदमा उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले भदौ ३० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।

विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए। उनले भने, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।’

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिए।

उनले भने, ‘लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।’

बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ ।

लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् ।

उनले भने, ‘यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।’

राजनीतिक शुद्धीकरण जरुरी छः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताएका छन् ।

६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्‌घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमानदार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राखे। अस्थिर राजनीतिका कारण जनतामा उदासिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताए।

सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

रेडियो नेपाल र बाल संगठनको सहकार्यमा बालगीत प्रतियोगिता-२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिए।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताए।

बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्नेगरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले बालअधिकारका लागि भइरहेको लगानी अझै बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

नायब कार्यकारी निर्देशक खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिकाको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरे ।

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराहरूले पनि ठूलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरुको जीवन सार्थक बनाउनेगरी गतिविधि गर्नुपर्ने बताए। बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।

वीर अस्पतालमा जलन उपचार सेवा सुरु

काठमाडौं । वीर अस्पतालमा शुक्रबारदेखि जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका हुन् ।

जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आइसीयु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

केन्द्रको शुभारम्भदेखि अस्पतालको अन्य सेवाको निरीक्षण समेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए ।

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न सरकारलाई महामन्त्री थापाको आग्रह

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेक हुन् ।

उनले भने, ‘नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस ।’

गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

सो अवसरुमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको बताए ।

उक्त हुलाकी राजमार्ग तीन खण्डमा निर्माण हुँदैछ । परासी–नारायणचोक खण्ड, नारायण चोक–त्रिवेणी खण्ड र बेलाटारी खण्ड गरी हुलाकी राजमार्ग निर्माण हुँदैछ । नारायण चोक–त्रिवेणी खण्डको साढे ६ किलोमिटर हुलाकी राजमार्ग प्रतापपुर गाउँपालिकाभित्र पर्दछ ।

उक्त राजमार्ग सरदमुकाम जोड्ने मुख्य सड्क हो । नारायण चोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि बज्रगुरु–महालक्ष्मी जेभी कपुन्डोल कम्पनीले २०७६ मङ्सिरमा ४९ करोड ६० लाखमा ठेक्का लिएको हो । हालसम्म उक्त सड्कमा ग्राभेल मात्रै हाल्ने काम भएको छ । धैरे ठाउँमा ठूल–ठूला खल्डाखुल्डी भई वर्षाको पानी सड्कमै जमेको अवस्था छ ।

एनपिएलका ८ मार्की खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ मार्की खेलाडीको घोषणा गरिएको छ ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो । यसअघि क्यानले एनपीएल खेल्ने ८ फ्रेन्चाईजीको घोषणा गरेको थियो ।

जसमा पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी ८ फ्रेन्चाइजीले एनपीएलमा भाग लिने भएका छन् ।एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने क्यानले यसअघि नै जानकारी दिइसकेको छ ।

म्यान्मामा यागी चक्रवातको प्रभाव बढ्यो, भियतनाममा घट्यो

म्यान्मा । यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ ।

उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ ।

यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २३३ र म्यान्मामा ३६ जना रहेका छन् । यद्यपि, धेरै मानिसहरू बेपत्ता भएका कारण मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यान्माको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपतका कारण ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाएको छ ।

म्यान्माको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउदा बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढी गएको देखाइएको छ ।

भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ ।

यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यान्मा सीमामासमेत सबैभन्दा खराब बाढी आएको थियो ।

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले सेनाको नेतृत्वमा भइरहेको राहत कार्यको मुल्याङ्कन हेर्न शुक्रबार चियाङ राईको भ्रमण गर्ने तय भएको छ ।

यसैबीच, लाओसको राजधानी भियन्तियानसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानहरूमा बाढीको चेतावनी दिइएको छ भने मेकोङ नदी आयोगले भियन्तियान वरपरका न्यून उचाई भएका क्षेत्रमा आगामी दिनमा बाढी आउने अनुमान गरेको छ ।

चीनमा अवकाशको उमेर ६३ पुर्याइने

बेइजिङ । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने यसको पक्षमा मतदान गरेका छन् ।

चौधौँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको ११औँ अधिवेशनले पारित गरेको निर्णयअनुसार सन् २०२५ देखि शुरु हुने १५ वर्षको अवधिमा पुरुषको वैधानिक अवकाश उमेर क्रमशः ६० बाट ६३ पुर्याइनेछ भने महिला कार्यकर्ता र महिला श्रमिकको लागि क्रमश ः ५५ बाट ५८ वर्ष र ५० बाट ५५ वर्ष पुर्याइने छ ।

सन् २०३० देखि मासिक लाभ प्राप्त गर्नका लागि आवश्यक आधारभूत पेन्सन योगदानको न्यूनतम वर्षलाई क्रमशः १५ वर्षबाट बढाएर २० वर्षमा पुर्याइनेछ।

पेन्सन योगदानको न्यूनतम वर्ष पुगेपछि तीन वर्षभन्दा बढी समयअगावै स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था गरिएको छ । तर यो पहिलेको वैधानिक उमेर भन्दा पहिले सेवानिवृत्त हुन अनुमति मिल्ने छैन।

नयाँ नीतिहरूले व्यक्तिहरूलाई रोजगारदाताहरूसँग यसपहिले नै सम्झौता गरेको भएपनि पछिको मितिमा सेवानिवृत्ति स्थगित गर्न अनुमति दिनेछ, तर यस्तो विलम्ब तीन वर्ष भन्दा बढी हुनु मिल्नेछैन ।

यस निर्णयले वृद्धावस्था बीमा प्रोत्साहन प्रणालीलाई परिष्कृत गर्ने, रोजगार–पहिलो रणनीति लागू गर्ने, उनीहरूको वैधानिक सेवानिवृत्ति उमेर पार गरेका कामदारहरूको आधारभूत अधिकार र हितहरू सुनिश्चित गर्ने, र वृद्ध हेरचाह र बाल हेरचाह सेवाहरू सुधार गर्ने उपायहरू पनि निर्दिष्ट गर्दछ।

उक्त दस्तावेजमा बेरोजगार वृद्धाश्रमको कल्याण र विशेष पेसामा काम गर्नेहरूको लागि अगावै अवकाशसम्बन्धी विशेष प्रावधानहरू समावेश गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन र २० औँ सीपीसी केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले देशमा वैधानिक अवकाशको उमेर क्रमशः बढाउने स्पष्ट व्यवस्था गरेको छ ।

सांसदहरूले शुक्रबार पारित गरेको यो योजना चीनको औसत आयु, स्वास्थ्य अवस्था, जनसङ्ख्या संरचना, शिक्षाको स्तर र जनशक्ति आपूर्तिको विस्तृत मूल्यांकनका आधारमा तयार पारिएको हो ।

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

मनिला । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण शुक्रबार स्वीकृत गरेको छ ।

प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ ।

परियोजनामा दुर्गम समुदायलाई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसँग जोड्ने प्रमुख मार्गहरू समेटी जलवायु संरक्षण, सडक सुरक्षा वृद्धि, र दिगो मर्मत अभ्यासहरू समावेश छन् ।

एडीबीका अनुसार पख्तुनख्वा प्रान्तका केही भागमा वर्षा र तापक्रम उल्लेखनीय रूपमा बढेको छ भने मौसमी प्रकोपको प्रभाव र पूर्वाधार अभावले मानिसको जीविकोपार्जनमा कठिनाई बढाएको छ ।

सन् २०१० देखि बाढीका घटनाहरूले सडक सञ्जाललाई ठूलो क्षति पुरÞ्याएको, कनेक्टिभिटीमा बाधा पुरÞ्याउँदा यातायात लागत बढेको एडीबीले जनाएको छ ।

परियोजनाले प्रान्तको सडक सञ्जालको जलवायु र दिगोपन बढाउने दीर्घकालीन लक्ष्य तयार गर्न सरकारलाई सहयोग गर्न प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत गरेको छ ।

तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता

झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालाको कवर्ड हलमा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । 

जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरे । उनले खेल क्षेत्रको विकास जरुरी रहेको बताउँदै नगरले खेलकुदलाई प्राथमिकता दिएको उल्लेख गरे ।  

सङ्घका अध्यक्ष दीपेश ढकालले ३० वर्षपछि भद्रपुरमा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको बताए । “३० वर्षअघि मेची अञ्चलस्तरीय प्रतियोगिता भएको थियो”,उनले भने, “त्यसपछि रोकिएको प्रतियोगिता अहिले हुँदैछ ।” 

प्रतियोगिता यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको सङ्घका सचिव तीर्थराज ढकालले जानकारी दिए । 

प्रतियोगिताको खुलातर्फ प्रथमले  ५० हजार, द्वितीयले  ३० हजार, तृतीयले १० हजार र भेट्रान्सतर्फका प्रथमले  ४० हजार, द्वितीयले  ३० हजार र तृतीयले  १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नेपालका खानी उत्खननमा जाम्बियाले सहकार्य गर्ने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग मन्त्रालयमा शुक्रबार भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराएका हुन् ।

मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताए ।

उनले भने, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।”

जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उनले बताए ।

राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली  ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याए । उनले भने, “नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।”

त्यसक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

धनराज दम्पतीको डिभोर्स नभएको कुम्मराजको जिकिर(भिडियोसहित)

काठमाडौं । मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरूङले कांग्रेस उपसभापति धनराज गुरुङले श्रीमतीसँग ५ वर्षअघि सम्बन्ध बिच्छेद गरेको कुरा गलत भएको बताएका छन् ।

बिहीबार महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको स्थलगत निरीक्षणका लागि पुगेको सहकारी बचत अपचलन सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका पदाधिकारीलाई सहकारीका अध्यक्ष गुरूङले सम्बन्ध बिच्छेद नक्कली भएको बताएका हुन् ।

त्यसक्रममा अध्यक्ष गुरुङले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने भनी गरेको सम्झौताबारे जानकारी गराएका थिए । उनले एक महिनाजति अघिमात्र धनराजले सम्बन्ध बिच्छेद भएको भनिएकी श्रीमती ज्योतिको नाममा ऋण समेत तिरेको बताए ।

धनराजले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

हेर्नुस् भिडियो

तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए

तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् ।

उक्त कार्यालयले आव २०७९-८० को तुलनामा आव २०८०-८१ मा १५ लाख कम राजस्व संकलन गरेको छ । आव २०७९-८० मा ६६ लाख चार हजार दुई सय राजस्व संकलन गरेको यो कार्यालयले आव २०८०-८१ मा ५१ लाख चार हजार आठ सय राजस्व संकलन गरेको जनाएको छ ।

‘अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछी राजस्वमा वृद्धि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्’, कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने ।

त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन् ।

चालु आवमा उद्योगतर्फ साउन महिनामा तीन सय ९७ र भदौमा एक सय ७४ तथा वाणिज्यतर्फ साउनमा तीन सय २७ र भदौमा दुई सय ११ वटा उद्योग नवीकरण भइसकेका छन् ।

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिने

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि स्क्रिनिङ गरिने बताए ।

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ ।“नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अध्ययनले देखाएको छ”, उनले भने, “अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण यस्ता रोगबाट धेरै मानिस आक्रान्त बनेका छन्, यसको समयमै निदान र उपचारको व्यवस्था गर्नुपर्छ ।”

उनले गाउँगाउँ पुगेर नसर्ने रोगको स्क्रिनिङ गरिने बताए । स्वास्थ्यमन्त्री पाठकले उक्त कार्यक्रमले गण्डकी प्रदेशमा नसर्ने रोगको अवस्था पत्ता लाग्ने बताए ।

उनले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै विषय रहेको भन्दै नीतिगत प्रबन्धमार्फत तीनको समाधान खोजिने बताए ।

“अस्पताल र स्वास्थ्यसंस्थामा दक्ष जनशक्ति र उपकरणको अभाव छ, कतै जनशक्ति भएका ठाउँमा उपकरण छैन, कतै भएको उपकरण प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने, “यसको मिहिन अध्ययन गरेर मन्त्रालयले नयाँ नीतिगत योजना ल्याउँछ ।”

उनले प्रदेश मातहत रहेको अस्पताल र स्वास्थ्य संस्थाको सेवालाई चुस्त र गुणस्तरीय बनाउन आफूले पहल लिने बताए । स्वास्थ्यमन्त्री पाठकले स्वास्थ्य बीमाबाट उपचार सेवा लिन सेवाग्राहीले भोग्नुपरेको झण्झट हटाउने बताए ।

बीमामार्फत उपचार सेवा लिन लाम बस्नुपर्ने बाध्यता छ । स्वास्थ्यमन्त्री पाठकलले धवलागिरि उपप्रादेशिक अस्पतालमा चिकित्सा विषय पठनपाठनका लागि पहल गर्ने बताए ।

पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशालाई ६५ लाख नगद पुरस्कार प्रदान

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई पुरस्कृत गरेका छन् ।


मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई  ६५ लाख नगद पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै  खेलका प्रशिक्षक कविराज नेगी लामालाई  पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ ।


युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए ।


उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए ।


कार्यक्रममा युुवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए । मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताए । 

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो।

अदालतले आफ्नो आदेशमा केजरीवाललाई जमानतस्वरूप १० लाख भारतीय रूपैयाँ तिर्नुपर्ने बताएको छ ।  न्यायाधीशसूर्यकान्त र उज्जल भुइयाँको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सेप्टेम्बर ५ मा फैसला सुरक्षित गरेको थियो ।

अदालतले केजरीवाललाई जमानतमा रिहा गर्नका यस मामिलामा उनले कुनै पनि सार्वजनिक टिप्पणी नगर्ने, उनीविरूद्धको मुद्दाको अन्तिम फैसला नहुँदासम्म अदालतमा सबै सुनुवाइका लागि उपस्थित हुनुपर्ने शर्तहरू पनि राखेको छ ।

केजरीवालले सर्वोच्च अदालतमा दुईवटा रिट दायर गरेका थिए । उनले आफ्नो मुद्दामा जमानत अस्वीकार गरिएको भन्दै यसकाविरूद्ध एउटा याचिका दायर गरेका थिए भने सीबीआईको गिरफ्तारीविरुद्ध दोस्रो याचिका दायर गरिएको थियो।

केजरीवाललाई सीबीआईले प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतबाट पक्राउ गरेको थियो जसलाईसर्वोच्च अदालतले आफ्नो आदेशमा वैध भनेको छ ।

ईडीको हिरासतका क्रममा सीबीआईले पक्राउ गरेको विषयमा सर्वोच्च अदालतले भनेको थियो, ‘यदि कोही व्यक्ति पहिल्यै हिरासतमा छ भने उसलाई अनुसन्धानका लागि पक्राउ गर्न कुनै समस्या हुँदैन ।’

केजरीवाललाई ईडीको टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । सन् २०२४ जुलाई १२ मा केजरीवाललाई ईडी मामलामा सर्वोच्च अदालतबाट जमानत मिलेको थियो ।

तर यो जमानत पाउनुअघि सीबीआईले केजरीवाललाई गत जुनमा पक्राउ गरेको थियो । यही कारण केजरीवाल त्यतिबेला जेलबाट बाहिर आउन सकेका थिएनन् ।

दिल्लीका मन्त्री आतिशी मर्लेना सिंहले केजरीवाललाई जमानत दिने अदालतको फैसलापछि भनेका छन्, ‘सत्यमेव जयते’ । यसको अर्थ हुन्छ, ‘सत्य विचलित हुन सक्छ, पराजित हुन सक्दैन।’

दिल्ली भाजपाका नेता वीरेन्द्र सचदेवाले भने,’केजरीवाललाई जमानत मिलेको हुन सक्छ तर उहाँलाई मुख्यमन्त्रीको रूपमा काम गर्ने कुनै अधिकार छैन। उहाँले मुख्यमन्त्रीको काम गर्न सक्नुहुन्न ।’

आम आदमी पार्टीका नेता मनिष सिसोदियाले अदालतको स्वतन्त्रता र सर्वोच्चताको व्याख्या गर्दै भनेका छन्, ‘झूट र षडयन्त्रविरुद्धको लडाइँमा सत्यको फेरि जित भएको छ । म फेरि एक पटक बाबा साहेब अम्बेडकरको सोच र दूरदर्शितालाई सलाम गर्दछु, जसले ७५ वर्षअघि भविष्यका कुनै पनि तानाशाहविरुद्ध आम मानिसलाई बलियो बनाउनुभएको थियो ।’

लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले अरविन्द केजरीवाललाई मे १० मा चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मअन्तरिम जमानत दिएको थियो ।

आपका अर्का नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसौदियालाई पनि केही समय पहिले यस मुद्दामा जमानत दिइएको थियो । सिसोदिया १७ महिनापछि जेलमुक्त भएका थिए भने त्यसभन्दा पहिले आप नेता सञ्जय सिंह धरौटीमा रिहा भएका थिए ।

भाजपाले केन्द्रीय निकायहरूको प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपहरूमा फसाइरहेको आम आदमी पार्टीले आरोप लगाउँदै आएको छ। भाजपाले कानुनको नजरमा सबै समान भएको भन्दै यस्ता आरोपको खण्डन गरेको छ।

रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग नगर्न पुटिनको चेतावनी

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशहरूलाई चेतावनी दिएका छन्। ती देशले युक्रेनलाई क्षेप्यास्त्र उपलब्ध गराएका छन् ।

पुटिनका अनुसार रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए द्वन्द्वको आधारभूत पक्षमा परिवर्तन आउने छ र नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने छ । रुसी सरकारी टेलिभिजनले उनको धारणा प्रसारण गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे शुक्रबार ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरसँग ह्वाइटहाउसमा छलफल गर्ने अपेक्षा गरिएको छ। स्टार्मर अहिले अमेरिका भ्रमणमा छन् ।

युक्रेनी नेता भोलोदोमिर जेलेन्स्कीले पश्चिमा साझेदारहरूलाई सीमापारि रहेका निसानाहरूमा हमला गर्न उनीहरूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन् ।

पुटिनले युक्रेनी सेनासँग अत्याधुनिक, उच्च क्षमता र लामो दूरीका अस्त्र प्रयोग गर्न सक्ने सामर्थ्य नरहेको दाबी पनि गरे । पुटिनले नेटोका सदस्यराष्ट्रका सुरक्षा निकायहरू मात्रै ती क्षेप्यास्त्र प्रणालीको ‘फ्लाइट मिशन’सम्बन्धी निर्णय लिन सक्षम रहेको र यो विषय रुसमाथि क्षेप्यास्त्र प्रहार गर्ने अनुमतिमा मात्र सीमित नभएको दाबी गरेका छन् ।

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला  ६५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि  एक हजार आठ सय ६०  रुपैयाँ निर्धारण भएको छ । 

मधेस प्रिमियर लिगको तयारी

जनकपुर । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेस प्रिमियर लिग (एपिएल) आरम्भ हुने भएको छ ।

मधेस प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको छ ।

जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिंहसमेतको सहभागितामा भएको मुख्यमन्त्री सिंह र क्यान अध्यक्ष चन्दबीचको यथाशीघ्र एमपिएलको आयोजना गरिने सहमति भएको छ । बैठकमा लिगको स्वरूप र वित्तीय रूपरेखाका बारेमा समेत चर्चा भएको हो ।

एमपिएलमा पाँचवटा टिमले खेल्ने र प्रत्येक टिममा दुईजनासम्म ए लेभलका खेलाडीको सहभागिता रहने तथा ती हरेक टिममा सातजना खेलाडी मधेस प्रदेशकै रहने तय गरिएको छ । एमपिएलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढ प्रतिस्पर्धाका माध्यमबाट हुनेछ ।

मुख्यमन्त्री सिंहले एमपिएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताए । उनले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । उनले एमपिएलबारे आधारभूत कुराको निक्र्योल भइसकेकाले छिटोभन्दा छिटो यसको आयोजन हुने जानकारीसमेत दिए ।

वनहराका भूमिहीनको जीवन जोखिममा

कञ्चनपुर । डेढ दशकदेखि वनहरा नदी नजिक त्रिपालले छाएको झुपडीमा ५४ वर्षीय तुलाराम बोहरा बस्दै आएका छन् । दैनिक मजदुरी गरी उनले परिवारको भरणपोषण गर्दै आएका छन् ।

सामुदायिक वनको जग्गामा बोहोरासँगै २६ परिवारको त्यहाँ बसोबास छ । जोखिम मोलेर नदी किनारमा बसेका उनीहरू बाढीमा बगिने ठूलो चिन्ता छ । ‘चुरे क्षेत्रमा पानी दर्किन थालेपछि झोपडी छाडेर सुरक्षित स्थानमा जानुपर्छ’, बोहराले भने, ‘पूर्वमा वनहरा नदी, पश्चिममा खोल्सो, दुवैमा भेल आए भाग्न सकिदैन, उत्तरतर्फको सामुदायिक वनको उच्च भाग हाम्रो शरण लिने स्थल हो ।’

डेढ दशकअघिदेखि बस्दै आएको ठाउँ छाडेर अन्यत्र कुन ठाउँमा जाने भन्ने थाहासम्म नभएको सुनाउँदै बोहोरा भन्छन्, ‘त्यही ठाउँमा बस्दा कुन दिन ज्यान जाने हो भन्ने चिन्ता छ, नदीको बाढी र जङ्गली जनावरको पनि उत्तिकै डर छ ।’

सुरक्षित स्थानमा झोपडी सार्न ठाउँ खोज्दै हिँडे पनि वनहराका भूमिहीनले उपयुक्त स्थान फेला पारेका छैनन् । शुक्लाफाँटा नगरपालिकासँग अनुनुयविनय गरे पनि बेवास्ता गरिएको मानध्व लुहार बताउँछन् ।

मजदुरी गर्न नपाउँदा हातमुख जोर्न समस्या हुने मानबहादुर बोहराले बताए । ‘झुपडीमा मुसो छिरेपनि खाली पेट फर्कने अवस्था छ’, उनले भने, ‘एक दाना अन्न छैन, राहतका लागि नगरपालिकादेखि दातृ निकायसम्म गुहार्दै आएका छौँ, कतैबाट अहिलेसम्म सहयोगी हात अगाडि बढ्न सकेका छैनन् ।’

भोकभाकै बस्नुपर्ने अवस्था आउन लागेको उनले सुनाए । मजदुरी नपाइँदा खानकै समस्या भएपछि चार परिवार भारततर्फ पलायन भएका छन् । ‘मजदुरीका लागि भारतमा गएका छोराले पैसा नपठाउँदा समस्या छ’, बोहराले भने, ‘आफू पनि भारतमा मजदुरी गर्न जाऊँ भने पहिचान खुल्ने प्रमाण छैन, प्रमाण नहुँदा सीमा क्षेत्रका भारतीय सुरक्षाकर्मीले छिर्न दिँदैनन्, सीमाबाट फर्केर आउनुपर्ने बाध्यता छ ।’

झोपडीमा बालबालिका र बूढापाका मात्र बाँकी रहेको उनी बताउँछन् । दातृ निकायले उपलब्ध गराएका झोपडीको छानामा राखेका त्रिपाल पुराना हुँदा ठाउँठाउँबाट फाटेका छन् । थोरै वर्षा हुँदा पानी झोपडीभित्र छिर्ने गरेको छ । लामखुट्टे, विषालु सर्प, बिच्छीको के कुरा ? ।

झुलको व्यवस्थाका लागि दातासँग अनुरोध भएको तर केही हात नलागेको कलावती दमाईले बताए । कठयाङ्ग्रिँदो चिसोमा आगो बालेर रात काटेको अघिल्लो हिउँको मन नै कटक्क खाने पीडा कलावतीले सुनाए ।

सामुदायिक वनबाट दाउरा सङ्कलन गर्न नपाउँदा नजिकैको मसानघाटमा शवदाहपछि फालिएका दाउरा ल्याएर बाल्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। ‘जोखिमयुक्त ठाउँमा निकै कष्ट सहेर बस्ने रहर कसैलाई पनि हुँदैन’, राधिका सुनारले भनिन्, ‘नेपाली नागरिक भए पनि सुरक्षित बस्नका लागि घर छैन, अन्न उत्पादनका लागि जग्गा छैन, स्वास्थ्योपचारको व्यवस्था छैन, रोजगारीको प्रबन्ध छैन, आधारभूत सेवा सुविधाबाट वञ्चित भएर बस्नुपर्ने अवस्था छ ।’

राष्ट्रिय भूमि अधिकार मञ्च सुदूरपश्चिम प्रदेशका सचिव रामबहादुर चुनारा लामो समयदेखि झोपडीमै कष्टकर जीवन बिताउँदै आएका परिवारलाई सुरक्षित ठाउँमा पुनःस्थापन गर्ने जिम्मा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको भएको बताए ।

‘बासस्थानको खोजी गर्दै असुरक्षित ठाउँमा बस्नका लागि दुई दशकअघि आएका अधिकांश परिवारले शुक्लाफाँटा नगरपालिकामा बसाइँसराइ दर्ता गराएका छन्’, उनले भने, ‘नगरपालिकाका बासिन्दा भए पनि नगरपालिकाकातर्फबाट सुरक्षित ठाउँमा पुनःस्थापना गर्ने, रोजगारीको प्रबन्ध मिलाउनेदेखि राहत उपलब्ध गराउनेसम्मका कार्य गर्नुपर्ने हो ।’

डेंगु संक्रमण बढेपछि पर्वत अस्पतालमा शय्या अभाव

पर्वत । डेंगु संक्रमण बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।

पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.हेमन्त बाँस्तोलाका अनुसार डेंगुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ। अस्पताल संक्रमितले भरिभराउ छ।

६० शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ। ग्रामीण क्षेत्रमाभन्दा बजारमा बिरामीको संख्या अधिक छ। सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन्।

नौवटा एम्बुलेन्स थन्किए

बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन्। हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन्। विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन्।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको जिप दुर्घटनामा मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको पनि मृत्यु भएको छ ।


अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

कोशीमा मन्त्रीमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ

विराटनगर । कोशी सरकारमा नेपाली कांग्रेसकातर्फबाट नियुक्त चार मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेसले खोटाङका भूपेन्द्र राईको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीलाई सरकारमा पठाएको छ । राई भौतिक पूर्वाधारमन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका छन् । योसँगै कोशीमा दुई राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

काठमाडौँ महानगरपालिकामा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आव २०८०÷८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन् ।

गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।

काठमाडौँका स्थानीय तह, प्रदेश तथा संङ्घीय कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।

नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी ६४ जना इन्स्पेक्टर र २५६ जना असई पदका लागि आवेदन माग गरेको हो । ३० भदौदेखि ३० असोजसम्म अनलाइन प्रणालीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

‘तेल भिसा’को दोस्रो गीत

काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुने फिल्म ‘तेल भिसा’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘तुकुनको मुकुन मन पर्या’ बोलको गीत शान्तिश्री परियार र साइराज खत्रीको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा मुख्य अभिनेता विपिन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् । कृष्ण भारद्धाजको संगीत रहेको गीतको शब्द कृष्णसहित शंकर अधिकारी घायल, नवीन बिक र निर्विकल्पम लेखेका हुन। राजन इशानको एरेञ्ज गरेका छन् ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्राउने नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्य सम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।

यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक अवार्ड २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । त्यस्तै बैठकले संविधान दिवसको अवसर पारेर असोज तीन गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।