`

क्यानडालाई नेपालमा आफ्नो दूतावास स्थापनाका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उनकी क्यानडाली समकक्षी मेलानी जोलीबीच ओटावामा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै लगानी एवं साझेदारी प्रवर्धनलगायत विषयमा छलफल भएको थियो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन् । नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको र त्यसबाट शान्ति प्रक्रियासम्बन्धी बाँकी कामह पूरा गर्न सहज हुने जानकारी उनले दिइन् ।

भूकम्प र कोभिड महामारीको जटिल परिस्थितिका साथै नेपालको सामाजिक–आर्थिक उन्नयनमा क्यानडा सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्रीले नेपालमा आफ्नो राजदूतावास स्थापनाका लागि आग्रह गरिन् ।

एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि पनि फलदायी हुने मन्त्री राणाले बताइन् ।

अतिकम विकसित राष्ट्र नेपालका उत्पादनलाई क्यानडाले कर छुट दिएको सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेको आफ्नो देशलाई व्यापार वृद्धि र लगानीका माध्यमबाट सघाउन मन्त्री राणाले आग्रह गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै जलविद्युतका क्षेत्रमा क्यानडाकोे अनुभव र विज्ञता नेपालको अथाह जलस्रोतमा लगानी गरेर अधिक लाभ लिन आग्रह गरिन् ।

नेपाल र क्यानडाबीच धेरै अन्तर्राष्ट्रिय विषयमा समान धारणा रहेको, बहुपक्षीयताका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ भएका काम, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्य प्राप्तिमा दुवै देशले सहकार्य गर्दै आएका उनको कथन थियो ।

परराष्ट्रमन्त्रीले नेपालका दुई हजार पाँच सय ५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा सेवा गरिसकेका तथा हाल ६०८ जना महिला रहेका शान्तिसेनामा कार्यरत रहेका जानकारी दिइन् । उनले विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरिन् ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार निर्धारण गर्ने सहमति भएको छ ।

नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर काम गर्ने सहमति भएको छ ।

क्यानडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपाललाई सहयोग गर्न आफ्नो देशको सरकार तयार रहेको बताउनका साथै काठमाडौँमा दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक जवाफ दिएकी थिइन् ।

एम्बुलेन्स सञ्चालनमा आएपछि बाँकेको राप्तिसोनारीवासी खुसी

जानकी  । ‘हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको । मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देखेसुनेकी छिन‍्, प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उनको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । तीमध्ये मीना पनि एक हुनुहुन्थ्यो । पछिल्लो समय यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उनको विश्वास छ ।

मीनाजस्तै सोही गाउँपालिका–८ का रामशरण थारुले पालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि खुसी छन्। ‘निकुञ्जसँगै जोडिएको राजमार्गका कारण यहाँ सवारी दुर्घटनाका साथै वन्यजन्तुको आक्रमणबाट पनि बेलाबेला समस्या हुने गरेको छ । विगतमा धेरैले दुःख पाएका छौँ । कतिले समयमा अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाएका पनि छन्”, उनले विगत सम्झिँदै भने, ‘अब आफ्नै पालिकामा चौबिसै घण्टा एम्बुलेन्स सेवा सुरु भएको छ । अब समयमै अस्पताल नपुर्‍याएका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने विश्वास जागेको छ।’

सोही पालिका–२ का कार्यवहाक वडाध्यक्ष दीर्घबहादुर बुढाक्षेत्री पनि विगतमा सवारीसाधनको अभावमा समयमै अस्पताल पुर्‍याउन नसक्दा धेरै घाइते तथा बिरामीले ज्यान गुमाएको स्मरण गर्छन्। ‘अकस्मात कुनै घटना भइहालेमा कोहलपुर मेडिकल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुग्न समस्या हुने गथ्र्यो । समयमा अस्पताल पुर्याउन नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको आफ्नै आँखाले देखेको छु । त्यही समस्या समाधान गर्न पालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । अब केही राहत हुनेछ”, उनले भने।

बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्याइएको एम्बुलेन्सलाई सञ्चालनको जिम्मा सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणलाई दिएको छ । असोजको १ गतेदेखि सशस्त्र प्रहरी बलले एम्बुलेन्स सञ्चालनको जिम्मा लिएको हो ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर ल्याइए पनि केही प्राविधिक कारणले सञ्चालन गर्न नसकिएको बताए। उनले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे। ‘पूर्वपश्चिम राजमार्गमा हुने सवारी सडकलगायत समस्यामा उद्धार तथा भैपरी आउने दैविक प्रकोपको उद्धारमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको छ । पक्कै पनि सोहीअनुसार सञ्चालन हुनेछ”, अध्यक्ष पौडेलले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताए । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले पालिकाले विश्वास गरेर एम्बुलेन्स हस्तान्तरण गरेकाले सोहीअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

सम्झौताअनुसार हालका लागि एम्बुलेन्स सेवा पालिकाको वडा नं २, ८ र ९ मा सञ्चालनमा आएको छ । सम्झौतामा उल्लेख भएअनुसार उक्त एम्बुलेन्स चालक र एम्बुलेन्सको संरक्षण सशस्त्र प्रहरीले गर्नेछ भने एम्बुलेन्सको ईन्धन र मर्मतलगायतका अन्य खर्चको जिम्मेवारी पालिकाले नै बेहोर्नछ ।

लेबननमा वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको मृत्यु, चारसय भन्दाबढी घाइते

बीबीसी । लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४५० जनाभन्दा धेरै घाइते भएका छन् ।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए। ती हिज्बुल्लाहको बलियो पकड भएका क्षेत्रहरू हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार केही विस्फोटनहरू मङ्गलबारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको थियो।

हिज्बुल्लाहले इजरेललाई उक्त हमलाको आरोप लगाएको छ। इजरेलले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन।

ती हमला इजरेली रक्षामन्त्री योआभ गालान्टले “युद्धमा नयाँ चरण“को घोषणा गरिरहँदा र इजरेली सेनाको डिभिजन उत्तरी क्षेत्रमा पुनःतैनाथी भइरहँदा भएका हुन्।

यसअघि मङ्गलबार हिज्बुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने ’हाते पेजरहरू’ विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो ।

अमेरिकाले इजरायल र हिज्बुल्लाहबीच अवस्था थप चर्कन नदिनका लागि आफूले व्यापक कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

लगातार दोस्रो दिन सञ्चार उपकरणमार्फत् भएका हमलापछि बोलेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहका जोन किर्बीले थप सैन्य कारबाहीबाट यस सङ्कट सुल्झनेमा ह्वाइटहाउस विश्वस्त नरहेको जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसलेले अवस्था “नाटकीय रूपमा चर्कने गम्भीर जोखिम”मा रहेको बताउँदै सबै पक्षलाई ‘अधिकतम संयम अपनाउन’ आह्वान गरेका छन्।

दोस्रो चरणका विस्फोटनयता एक १६ वर्षीय बालकसहित आफ्ना १३ जना लडाकुहरू मारिएको हिज्बुल्लाहको सञ्चार कार्यालयले जनाएको छ।

उत्तर कोरियाद्वारा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले बुधबार बिहानै छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको सोलको सेनाले बताएको छ । एक सातामा प्योङयाङको यो दोस्रो हतियार परीक्षण हो । 

नेता किम जोङ उनको शासनले यस वर्ष दर्जनौँ प्रक्षेपण गरेको छ । विशेषज्ञहरूले यो परीक्षणको हिस्सा उत्तर कोरियाद्वारा युक्रेनमा प्रयोग गर्नका लागि सहयोगी रुसलाई हतियारको कथित अवैध आपूर्तिसँग जोडिएको हुनसक्ने बताएका छन् । 

प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण उसले यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र हालै आणविक–सक्षम हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको छ । 

उत्तर कोरियाले हालै किमको शासनको प्रमुख समर्थक आफ्ना विदेशमन्त्रीलाई एक वर्षभन्दा पनि कम समयमा दोस्रो भ्रमणका लागि मस्को पठाएपछि यो प्रक्षेपण भएको हो ।  

उत्तर कोरियाले अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ । बैठकमा दुवै कोरियाबीच शत्रुतापूर्ण सम्बन्धलाई आफ्नो संविधानमा समावेश गरी दक्षिण कोरियासँगको तनावलाई बढाउने उपायलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । 

प्योङयाङले ‘स्थानीय समयानुसार बिहान करिब ६ः५० बजे उत्तरपूर्वमा प्रक्षेपण गरेको छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइलहरू पत्ता लगाएको र तिनीहरूको विश्लेषण गरिरहेको’ सोलको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस) ले बताएको छ । 

जेसिएसले भनेको छ, “अतिरिक्त प्रक्षेपणको तयारीमा हाम्रो सेनाले सहयोगीहरू टोक्यो र वासिङ्टनसँग जानकारी साझा गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”

टोक्योले पनि प्रक्षेपाणको पुष्टि गरेको छ । जापानको तटरक्षकले एउटा मिसाइल पहिले नै खसेको बतायो । “जहाजहरू कृपया अगाडि आउँदै गरेको सूचनाहरूलाई ध्यान दिनुहोस् र यदि तपाईंले खसेको वस्तुहरू देख्नुभयो भने कृपया नजिक नजानुहोस् बरु यसको सूचना तटरक्षकलाई दिनुहोस्”, तटरक्षकले विज्ञप्तिमा भनेको छ । 

जापानका रक्षामन्त्री मिनोरु किहाराले पछि मिसाइलहरू ‘उत्तर कोरियाको अन्तरदेशीय क्षेत्रको पूर्वी तट वरपर खसेको देखिन्छ’ भन्दै त्यसैले ‘जापानको इइजेड (विशिष्ट आर्थिक क्षेत्र) बाहिर गएको बताए । उनले कुनै क्षति नभएको जानकारी दिए

सोलको सेनाले मिसाइलहरू उत्तर कोरियाको दक्षिण फ्योङगान प्रान्तको काचोन क्षेत्रबाट प्रहार भएको र करिब चार सय किलोमिटरसम्म उडेको बतायो । 

सोलको जेसिएसले विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको मिसाइल प्रक्षेपण कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने उक्साहट हो र हामी यसको कडा निन्दा गर्दछौँ ।”

बाँकेमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, तीन गम्भीर घाइते

बाँके । कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नं ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नं ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा आज राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए ।

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए ।

दुवै जनाको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा आज राती मृत्यु भएको हो । दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका–४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन् । घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चीनको तीव्र विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा नेताहरुको जोड

काठमाडौँ । नेपालले मित्रराष्ट्र चीनको तीव्र विकासबाट पाठ सिक्नुपर्नेमा जोड दिइएको छ ।  चीनका राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेको  पाँच वर्ष पूरा भएको अवसरमा बुधबार आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुले हिमालय पारिको असजिलो भूगोलमा पनि चीनले गरेको तीव्र विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सडक र रेलमार्ग विकास गरी चिनियाँ पर्यटक नेपाल भित्राउनुपर्नेमा जोड दिए ।

नेपाल र चीनबीच व्यापार एवं आवतजावतका लागि खुलेका १४ नाकाबाट तिब्बत क्षेत्रमा आवश्यक उत्पादन पठाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । नेपालले चीन र भारत दुवै देशबाट फाइदा लिनुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले चीनले विकास निर्माणका क्षेत्रमा गरेको बहुआयामिकताबाट नेपालले सिकेर अघि बढ्नुपर्ने बताए । संस्कार र संस्कृतिबाट टाढा नगई चीनले जस्तै विकास निर्माण नेपालले गर्नसक्छ भनी देखाउने दिन आएको उनको भनाइ थियो ।

पूर्व मन्त्री एवं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपाल चीनबीच भएका सम्झौता कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपालले चीनसँग लिएको ऋण तिर्न नसक्ने भएपछि अनुदानमा बदल्न अनुरोध गर्न ढिलाइ गर्नु नहुने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ध्रुवबहादुर प्रधानले चीनको विकासको गति हेरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ्छेङले नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । विकास निर्माणमा चीनले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

आयोजक समितिका अध्यक्ष शोभित उप्रेतीले चीन विकास निर्माणमा अघि बढेकाले नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा डा विक्रम तिमल्सिनाले ‘बीआरआइ’बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पत्रकार ठाकुर बेल्वासेले टिप्पणी गरेका थिए ।

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई  नगदसहित सम्मान गरेको छ ।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा बुधबार आयोजित एक कार्यक्रममा लेपलेशालाई  एक लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । यसैगरी प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसापत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा आजै सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई  ५० हजार नगदसहित सम्मान गरे । आजै काठमाडौँ महानगरपालिका–८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गरयो । वडाध्यक्ष आसामान सङ्गतले पलेशा र प्रशिक्षकलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।

फ्रान्सको पेरिसमा गत भदौ महिनामा भएको के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि सर्वियाकी खेलाडी मरिजा मिसेभलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ ।

मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा नकर्मीले एक महिना अगाडि बनाएर शुद्ध तोरीको तेलमा डुबाएर राखेको करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाए । उनले कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिर यात्रा गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडडन मन्त्री बद्रिप्रसाद पाण्डेले जिब्रो छड्ने जात्राको अवलोकन गर्दै हौसला प्रदान गरेका थिए । उनले यहाँको कला, संस्कृति, जात्रा, पर्व र परम्पराले इतिहास बोकेकाले यस्तो पर्वको संरक्षण गर्नुपर्ने बताए ।

पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषका प्रवक्ता रेवतीरमण अधिकारी, भक्तपुर क्षेत्र नं २ का सांसद दूर्लभ थापा, मध्यपुरथिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

लोप हुन लागेको यो जात्रालाई विरेन्द्र भक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएर पुनर्जिवित गरेका थिए भने उनले दोस्रोपटक २०७९ साल पूर्णिमाको दिन जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिए ।

श्रेष्ठले जिब्रो छेडाएर निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपति नाथको दर्शन गर्ने गरी थिमिबाट यात्रा गरेका हुन् ।

पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कने र सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउँमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ ।

त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिएपछि जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्ने प्रचलन रहेको छ ।

जात्रामा पशुपति विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाउने श्रेष्ठको जिब्रोमा मन्त्री पाण्डेले परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल हालिदिएका थिए ।

यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भुतप्रेतहरूले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास रहदै आएको नगरप्रमुख श्रेष्ठले बताए । पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

१२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित ३६ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयको बुधबारको निर्णयअनुसार ९ जना उपसचिव, १२ जना प्रमुख जिल्ला अधिकारीसहित ३६ जनाको सरुवा गरिएको हो ।

रामेछापको प्रमुख जिल्ला अधिकारीमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् भने डोल्पाको प्रजिअमा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई सरुवा गरिएको छ ।

सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन  कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संसद्बाट पारित भएको सहकारीसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 


‘संसद्ले पठाएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन २०८१ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ’, उनले भने, ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई कार्यान्वयनका लागि पठाइन्छ ।’


     प्रतिनिधिसभाको गत भदौ ३१ गतेको बैठकमा ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश भएको थियो ।


समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए । 


प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने, उनका व्यापारिक साझेदार जीबी राई र छविलाल जोशीलगायतलाई कारबाही गर्न सिफारिस गरिएको छ ।  बैठकले वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई हस्तान्तरण

काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।

कांग्रेस र एमालेले बनाएको संयुक्त कार्यदलले बुधबार बेलुका मस्यौदा हस्तान्तरण गरेको हो । मस्यौदामा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको छ ।

मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुन्छ । मस्यौदा हस्तान्तरणपछि कांग्रेस महामन्त्री गगन थापाले सरकार बनाउँदा कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको जानकारी दिए ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए ।

असार १७ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्तासहकार्य गर्ने सहमति भएसँगै असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो । सरकार गठनको लामो समय भइसक्दा पनि सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन।

हेमन्त शर्माको ‘आउँथ्यो दसैं’

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा शर्मासँगै मेलिना राईले स्वर दिएकी छन् । दसैंको उमंग र रमाइलो माहोलको कुरा गीतमा गरिएको छ ।

शर्माको संगीत रहेको गीतलाई राकेश सोनीले एरेन्ज गरेका छन् । भिडियोमा हेमन्त शर्मा स्वयंले अभिनय एवं नृत्य गरेका छन् । साथमा रजनी गुरूङ, डोना थापा मगर, ललना चिमरिया र एलिस राई पनि छन् ।

भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । यसमा पवन सुस्लिङको छायांकन, अमृत चापागाईँको सम्पादन छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने भएको छ । पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपाका सभापति रवि लामिछानेले आगामी वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरेका हुन् । साथै उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको घोषणा समेत गरे ।

त्यस्तै लामिछानेले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरे । सभापति लामिछानेले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

उनले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए । त्यस्तै, सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको सङ्ख्या भने ५०० भन्दा मुनि झार्नुपर्ने प्रस्ताव गरेका छन् ।

फ्रान्सको आर्थिक अवस्था ‘गम्भीर’: प्रधानमन्त्री बार्नियर

पेरिस । फ्रान्सको सार्वजनिक वित्तको ‘वास्तविकता’ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताएका छन् ।

यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको आरोप लागेको थियो । बैङक अफ फ्रान्सले सन् २०२७ सम्ममा युरोपेली सङ्घको घाटाका नियमहरूमा यर्थाथता नभएको बताएको थियो ।

फ्रान्सको सार्वजनिक क्षेत्रको घाटा यस वर्ष जीडीपीको ५.६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ भने सन् २०२५ मा छ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय चुनावको लामो झगडा पछि नियुक्त भएका प्राधानमन्त्री बार्नियरले आर्थिक स्थिरताका लागि कर वृद्धि गर्नु भएको छ भने म्याक्रोनले अस्वीकार गरेका छन् ।

विग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न केवल सुन्दर कथन भन्दा बढी जिम्मेवार कारबाही आवश्यक रहेको उनले बताए ।

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगेका छन् ।

लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वको आफ्नो १०औँ यात्रामा ब्लिन्केनले इजिप्टका अधिकारीहरूसँग वार्ताको प्रयासलाई सम्बोधन गर्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

ब्लिन्केनले भेटका क्रममा इजिप्टका नेता अब्देल फताह अल–सिसीसँग भेट्ने र विदेशमन्त्री बद्र अब्देलात्तीसँग पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केनको कायरो वार्ताबाट कुनै सफलताको अपेक्षा नगरेको तर इजरायल र हमास बीचको सम्झौताको लागि दबाब अभियान जारी राख्नु भ्रमणको मुख्य उद्देश्य रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

लेबनन सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोटन भएपछि ब्लिन्केनले इजिप्टको भ्रमण गरेका हुन् । घटनामा एक बालिकासहित नौ जनाको मृत्यु भएको थियो भने करिब २ हजार ८०० जना घाइते भएका थिए ।

हेजबुल्लाहले इजरायललाई उक्त आक्रमणको दोषी ठहराउँदै बदला लिने चेतावनी दिएको छ ।

मिलरले यस घटनामा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको र यस घटनाको बारे पूर्वजानकारी नभएको बताएका छन् ।

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन भएको  छ ।

आफ्नो मुलुकमा भएको विश्वकपमा अप्रत्याशित गोलकर्ताका लागि प्रतीक बनेका सिलाचीलाई श्रद्धाञ्जलि अर्पण गर्ने जुभेन्टस इटालीका फुटबल क्लबमध्ये एक थियो । क्लबले जुभे शर्टमा उनको तस्बिरका साथ सामाजिक सञ्जालमा ‘सियाओ टोटो’ भनेको छ ।

आन्द्राको क्यान्सरबाट पीडित सिलाचीको पलेर्मोको ‘सिभिको’ अस्पतालमा निधन भएको इटालेली सञ्चारमाध्यमले जनाएका छन् ।

मुलुकको फुटबल महासङ्घ (एफआइजिसी) ले इटालीमा अहिलेदेखि आगामी सप्ताहन्तसम्म खेलिने सबै खेलमा किक–अफअघि ‘प्रतिबिम्बित मिनेट’ हुने जनाएको छ ।

“उनको अनुहार सामूहिक खुशीको प्रतीक बनेको उनको गोल उत्सव सधैँ इटालेली फुटबल विरासतको हिस्सा रहनेछ”, एफआइजिसीका प्रमुख ग्याब्रिउल ग्रेभिनाले विज्ञप्तिमा भनेका छन् ।

सन् १९८० को दशकको प्रारम्भमा मेसिनामा आफ्नो करियर सुरु गरेपछि सिलाचीले जुभेन्टस र इन्टर मिलानका लागि खेले र उनलाई क्लब खेलमा सामान्य सफलता प्राप्त भयो ।

उनको सर्वश्रेष्ठ क्लब सिजन सन् १९९० विश्वकपभन्दा ठिक अघि रह्यो । त्यतिबेला उनले सबै प्रतियोगितामा २१ पटक गोल गरे र जुभेन्टसले युइएफए कप र इटालेली कप जित्यो ।

तर इटाली इटालिया ९० को सेमिफाइनलमा पुग्दा छ पटक गोल गरेर उनी त्यो समर हट क्लब स्ट्राइकरबाट राष्ट्रिय नायक बनेका थिए ।

“जुभेन्टसमा सन् १९९० को उक्त अविश्वसनीय गर्मीमा सम्पूर्ण इटालीका साथ यस्तो गर्नुअघि उनीबाट उत्साहित हुन पाउँदा हामी भाग्यशाली थियौँ”, जुभेन्टसले भनेको छ, “अलविदा, टोटो । धन्यवाद ।”

सिलाचीले शीर्ष गोलकर्ता भएर गोल्डेन बुट जिते तथा लोथर माथ्युज र डिएगो म्याराडोनाजस्ता खेलाडीहरूभन्दा अघि टुर्नामेन्टको खेलाडीका रूपमा गोल्डेन बल जिते ।

नेपोलीका लिजेन्ड म्याराडोनाने नेपल्समा आफ्ना प्रशंसकहरूसामु आयोजक मुलुकलाई आउट गरेपछि इटाली अन्तिम चारमा अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएको थियो ।

आफ्नो मुलुकका लागि १६ पटक क्याप गरेका सिलाचीले आफ्नो करियरमा इटालीका लागि मात्र अर्को एक गोल गरे र सन् १९९० विश्वकपको चार वर्षपछि जापानमा जुबिलो इवाताका लागि इन्टर मिलान छोडे । जुबिलो इवातामबाटै उनले आफ्नो करियर अन्त्य गरे ।

रविले अब उम्किने ठाउँ छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ऐनअनुसार कारबाही हुने बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले लामछिानेमाथि दफा १२२ र मुलुकी अपराध संहिताको दफा ३० आकर्षित हुने बताएका हुन् ।

छानबिन समितिले नाम नै उल्लेख गरेर गोरखा मिडियाका सञ्चालकहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेकाले यसबाट कोही उम्किन नसक्ने बताए ।

उनले भने, ‘गोरखा मिडियाले एउटामात्र होइन, दर्जनौं सहकारीलाई ठगेको छ। गैरकानुनी तरिकाबाट सहकारीको पैसा ल्याएको छ। अनि अहिले आएर मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन भन्न मिल्दैन।’

उनले राप्रपाकी सांसद गीता बस्नेतमाथि पनि सहकारी ऐनको दफा १२२ बमोजिम नै कारबाही भइरहेकाले गोरखा मिडियाका संचालकहरुले उन्मुिक्त नपाउने बताए ।

उनले आफूहरूकै जोडबलमा सहकारी ठगीसम्बन्धी संसदीय समिति बनेको र समितिको प्रतिवेदनबाट सत्य खुलेको बताए ।

उनले भने, ‘गोरखा मिडियाका सञ्चालक आफैं सरकारको जिम्मेवार पदमा भएका कारणले सहकारी ठगीमा छानबिन हुन सकेको थिएन। उनीविरुद्ध जाहेरी पर्दापर्दै पनि छानबिनमा अवरोध गरियो। त्यसपछि हामीले संसदलाई गुहारेका थियौं ।’

महामन्त्री थापाले संसदीय छानबिन समितिमा रहेका रास्वपाका नेता शिशिर खनालले प्रतिवेदनमा प्रतिवेदनमा सहकारी ठग्नेलाई कारबाही गरियोस् भनेर सही पनि गर्ने अनि बाहिर आएर हाम्रो सभापतिले ‘क्लिन चिट’ पाउनुभयो भनेर छट्टु काम गरेको बताए ।

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी दिएको हो । जसअनुसार उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

त्यस्तै २० असोजमा दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, ३० कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र २ मंसिरदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ ।

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

 ढोरपाटन । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।

तल्लो क्षेत्रदेखि उच्च पहाडसम्मका पर्यटकीय गन्तव्यमा नयाँ पुस्ताको ट्रेकिङ मोह पनि बढेको बढ्न थालेपछि बराहतालमा पूर्वाधार निर्माणमा जोड दिइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । गाउँ तथा सहरका युवा पुस्ता घुमफिरमा रम्न थालेपछि बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन थालेको उनले सुनाए । एक दशक अगाडिसम्म सुनासन रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

वर्षौँ अगाडिदेखि चर्चामा रहेका पर्यटकीय क्षेत्रसहित नयाँ गन्तव्यमा आन्तरिक पर्यटक पुग्न थालेका मगरले उल्लेख गरे । ढोरपाटन उपत्यका, गाईघाट झरना, बागलुङ कालिका, पञ्चकोट, गाजाको दहलगायत दर्जनौँ पर्यटकस्थल वर्षौँदेखि चर्चामा रहेका भन्दै पछिल्लो पाँच वर्षमा बुकीपाटन, रिगताल, बराहताल, पातीहाल्ने, टेवाको मूर्तिकला चर्चामा आउन थालेका उनको भनाइ छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष बुढा मगरले बराहताल क्षेत्रको विकासका लागि हालसम्म एक करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिए । यहाँ पूर्वधार निर्माण हुनुपूर्व कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी ठाउँबाट आउनेको कमी थियो ।

पालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायत संरचना बनाएपछि यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका उनले बताए । ‘बराहताल आकर्षक छ, यहाँबाट उच्च पहाडी क्षेत्रसहित हिमशृङ्खला देख्न सकिने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ’, अध्यक्ष मगरले भने, ‘हिउँदमा लालीगुराँसले राताम्य बन्ने बराहताल क्षेत्र रोमाञ्चक देखिन्छ, समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको यो क्षेत्रको पूर्वाधार विकास गर्न प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पनि गत वर्षदेखि बढी चर्चामा आएको छ । बुकी क्षेत्र ट्रेकिङ गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ । ढोरपाटन उपत्यकाबाट करिब चार घण्टाको पैदलयात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्दछ ।

बुकीपाटन चढ्ने याम साउनदेखि असोजसम्म भएका यस सिजनमा करिब दुई हजार बढी पर्यटक यहाँ पुग्ने गरेका स्थानीय श्याम पुन मगरले बताए । पहिले ढोरपाटन उपत्यका आएर फर्किने पर्यटक अहिले हिँडेरै बुकीपाटन आउने गरेका उनले जानकारी दिए । बुकीपाटनमा हजारौँको सङ्ख्यामा भेडाका बथान, गोठाला र मनमोहक उच्च पहाडसहित दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिने पुनले उल्लेख गरे ।

बुटवलबाट यहाँ आएका विवेक शर्माले बुकीपाटन मनोरम रहेको बताए । ढोरपाटनसम्म गाडीमा पुगेर चार घण्टा पैदल यात्रामार्फत यहाँ पुगेको उनले जानकारी दिए । ढोरपाटनबाट पदैलयात्रा गरेर बुकी पुग्दा वन्यजन्त, चराचुरुङ्गी, खोलानाला, गोठाला र प्रकृतिसँग रमाउन पाइने भन्दै ठाउँ–ठाउँमा बुकी क्षेत्रको नामसहित सूचनासहितको जानकारी राख्नु आवश्यक रहेको शर्माले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव राखेका थिए । त्यसपछि भएको मतविभाजनमा प्रस्तावको पक्षमा ६६  र विपक्षमा १५ मत परेको थियो ।

मतदानमा ८३ सांसदले भाग लिएका थिए । नेकपा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् । कोशीमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् ।

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार उनीसहित तीन जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

बेनी (म्याग्दी)  । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरि आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ ।

सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ । यहाँबाट हिमाल नजिकै रहेकाले धौलागिरि आइसफल नयाँ पर्यटकीय गन्तव्य बनेको पहिलो पटक उक्त क्षेत्रमा पुगेका म्याग्दीका पथ प्रदर्शक सुरेन गुरुङले बताए ।

“छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो रहेछ, वरिपरी हिमालै हिमाल भएकाले त्यसले मनै लोभ्याउँछ । हिमालको टुप्पोबाट नीरन्तर खस्ने हिउँको दृश्यले जो कोहीको पनि मन लोभिन्छ”, उनले भने । पदमार्ग र आइसफल क्षेत्रमा पशुपक्षिको पनि अवलोकन गर्न सकिने भएकाले सो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्य बन्नसक्ने गुरुङको भनाइ छ ।

समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । थासाङको ह्याण्डिङ डाँडाको बुकी पाटनबाट धौलागिरि र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।

असोजदेखि कात्तिक र फागुनदेखि असारसम्म आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेको चौरीगोठका हेरालु सिंहबहादुर तामाङले बताए । पैदलयात्रा गरेर ह्याण्डिङडाँडा आउने पर्यटकले चौरीलाई नजिकबाट नियाल्ने गरेका उनको भनाइ छ ।

थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरि आइसफल क्षेत्रमा जाने पर्यटकले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् । पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटक टाङछारा क्षेत्रमा रहेका होटलमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनः फर्कने गर्छन् ।

बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरि आइसफल मुस्ताङ घुम्न आउने पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीय होटल व्यवसायी राजु गौचनले बताए ।

उनले मुस्ताङ भ्रमणमा आउने पर्यटक अधिकाँश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेका बताए । जिल्लाभित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको उनले बताए । टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ ताल समेत पर्यटकका लागि आकर्षणको रुपमा रहेको छ ।

उक्त पदमार्गमा पर्यटकको सुविधाका लागि पदमार्गसँगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ । सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा सूचना पोल समेत राखिएका छन् । आइसफल क्षेत्रबाट मुस्ताङका विभिन्न बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजको दृश्यसमेत निकै आकर्षक देखिन्छ । 

 नेप्से परिसूचकमा गिरावट

काठमाडौँ ।  यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बुधबार परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो ।

आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौ सय ६१ को कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता शेयर किनबेच भएको छ ।

काठमाडौं  । बुधबार सेयर बजार नेप्से ओरालो लागेको छ । बुधबार नेप्से ०.१५ प्रतिशतले घट्ता २५७६.७६ विन्दुमा पुगेको छ । शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

खाँदबारी (सङ्खुवासभा) ।  सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा बुधबार टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट गरे । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।

‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फूर्त रुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरु आफ्ना ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।’

उनले विश्वस्तरमा प्रातस्पर्धा गर्नसक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरे ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

बुद्ध एयरद्वारा भारतको वाराणसी उडान सुरु

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।

काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ । बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् । 

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

चैनपुर (बझाङ) । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बुधबार बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उनले जानकारी दिए ।


ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताए ।  अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई आठ प्रश्न

गण्डकी । नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो । संविधान जारी भएपछि बनेका सबैजसो सरकार सङ्घीयता कार्यान्वयनमा कमजोर देखिन थालेको छ । स्थानीय र प्रदेश तहको क्षमता विकासमा सङ्घीय सरकारले ध्यान दिन सकेन । सुरुमा प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन फितलो भयो । सात वर्षसम्म आइपुग्दा राजनीतिक सङ्घीयता कार्यान्वयनमा गए पनि प्रशासनिक र वित्तीय सङ्घीयता प्रादेशिकस्तरमा अझै व्यवस्थित हुन सकेको छैन ।

सङ्घ सरकारबाट निर्माण गर्नुपर्ने कानुन, हस्तान्तरण गर्नुपर्ने अधिकार प्राप्त नहुँदा जनअपेक्षा अनुसारको काम गर्न सकिएको छ्रैन । संविधानतः सङ्घसरकारले निर्माण गरेको कानुनसँग प्रदेश सरकारले निर्माण गरेको कानुन बाझिएमा स्वतः खारेज हुनेछ भन्ने उल्लेख छ । यसका कारण हामीलाई कानुन बनाउन समस्या छ भने कार्यान्वयनमा पनि समस्या देखिएको छ । प्रस्तुत छ, संविधान दिवसका सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग रासस गण्डकी प्रदेश कार्यालयका तर्फबाट लिइएको अन्तर्वार्ताको सम्पादित विवरणः

नेपालको संविधान २०७२ जारी भएपछि प्रदेशमा भएका उपलब्धिहरु केके हुन् ? अहिलेसम्म सम्पादित कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

–अनेकौँ समस्याका बाबजुत पनि प्रदेश संरचनाहरूले जनताको नजिक रहेर सेवा प्रवाह गरिरहेका छन् । आफ्ना गुनासो, माग लिएर नागरिक सहजरुपमा मुख्यमन्त्री, मन्त्रीसँग भेट्न, माग राख्न आउनुहुन्छ । स्रोतसाधनले भ्याएसम्म प्रदेश सरकारले जनताको माग सम्बोधन गर्ने प्रयत्न गरिरहेको छ । सङ्घ सरकारसम्म पहुँच पुर्याउन नसकेका सर्वसाधारणले प्रदेश सरकारसँग सहज पहुँचको महुशुस गर्नु भएको हामीले ठानेका छौँ । स्थानीय सरकारसँग पनि सहकार्य र समन्वय छिटो, छरितो भएको छ । छिटो हुनुपर्ने काम ढिलो भएको छ तर जनताको अपेक्षाअनुसार गुनासो र निरासा हटाउँदै काम गर्न संविधानमा उल्लेख भएको अधिकार प्रत्यायोजन गरेर कार्यन्वयनमा जानुपर्छ । प्रशासनिक र वित्तीय सङ्घीयता कार्यन्वयनमा सङ्घ सरकार गम्भीर हुनुपर्छ । नतिजा ल्याउन प्रदेश सक्षम छ ।

संविधानअनुसार बीचमा रहेको प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा हालको संरचनागत र कानुनी व्यवस्था कस्तो छ ? प्रदेश सरकारलाई अझ सशक्त प्रभावकारी र विश्वसनीय बनाउन के कस्तो संरचना र कानुनी व्यवस्था छ ?

  प्रदेश सरकारलाई नीति कार्यक्रम र कार्ययोजना कार्यान्वयन गर्न समस्या छ । हामी आफैँले कानुन बनाएर सम्पादन गर्ने कामहरु भएका छन् । संविधानतः प्रदेशलाई समन्वयकारी भूमिका निर्वाह गर्ने अङ्गको रुपमा लिइएको छ । हामीले बनाएका नीति कार्यक्रम, कार्ययोजनाहरू सङ्घ र स्थानीय तहसँग समन्वय गरेर गर्नुपर्ने पनि धेरै छन् । ती कार्ययोजना कार्यान्वयन गर्न सङ्घीय कानुनले छेक्दछ । जस्तो कि हामीसँग गण्डकी प्रदेश प्रहरी ऐन २०७७ छ, तर सङ्घले प्रहरी समायोजन नगर्दा हामीले बनाएको ऐन कार्यान्वयनमा जान सकेको छैन । प्रदेशभित्रको शान्ति सुरक्षाको दायित्व प्रदेश सरकारको पनि हो । यहाँ रहेको सुरक्षा निकायलाई बलियो बनाउन, नागरिकको शान्ति सुरक्षा, अमनचयन कायम राख्न सहज बनाउन भवन निर्माण, साधन स्रोत उपलब्ध गराउन सङ्घबाट अनुमति लिनुपर्छ । अनुमति नआउँदा कतिपय कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन भएकामा पनि बेरुजुको समस्या छ । यस्ता समस्या थुप्रै छन् । त्यसैले प्रदेशलाई अझै सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन संविधानतः उल्लेख भएका राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकारले ध्यान दिनुपर्छ । कानुनहरू छिटो बनाउने र प्रदेश सरकारले ती कानुनमा टेकेर जनताको माग, आवश्यकताअनुसार स्रोत साधनको संरक्षण, उपभोग गर्दै अघि बढ्ने हो भने प्रदेश सरकारलाई अझै विश्वसनीय र जनताले अनुभूति गर्ने गरी काम गर्ने वातावरण सिर्जना हुनेछ ।


नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व पनि कायमै छ । केन्द्रले प्रदेश एवम् प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको भन्ने कुरा पनि बेलाबेला आउने गरेको छ, विषेशगरी प्रदेशबाट यस विषयमा कस्तो भूमिका निर्वाह भएको छ ?

  अन्तरद्वन्द्व कानुनका कारण सिर्जना भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रबारे हाम्रो संविधानले प्रष्ट बोलेको छ । संविधानमा उल्लेख भएका विषय कार्यान्वयनमा ढिला हुँदा अन्तरद्वन्द्व जस्तो देखिएको हो । केही मुद्दाहरूमा समस्या पनि छ । संविधानमा उल्लेखित र हामीले परिकल्पना गरेको राज्य पुनःसंरचना अनुसार आफ्ना काम अघि बढाउने हो भने द्वन्द्व होइन समन्वय र सहकार्यबाट तीनवटै तहको सरकारलाई काम गर्न सहज हुनेछ । दुई तहबीच साझा अधिकार क्षेत्र देखिएको विषय सङ्घीय ऐनअनुसार व्यवस्थापन गर्नुपर्ने र त्यसका आधारमा प्रदेश ऐन बन्नुपर्ने थियो । सङ्घीय सरकारको उदासीनताका कारण प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामबाट दिने गरी  सक्रियता देखाउन खोजेका प्रदेश सरकारहरू समेत कानुनविहीनताको अवस्थामा छन् । 


संविधानमा सङ्घीयता स्वीकारे पनि हाम्रो मानसिकताबाट एकात्मक मनोवृत्ति हटेको छैन । तहगत अधिकार व्यवस्थापनको छलफलमा यस्तो सोच बारम्बार प्रकट हुने देखिन्छ । तर पनि प्रदेशको अधिकारका लागि मैले मुख्यमन्त्रीको हैसियतले गर्नुपर्ने प्रयास सुरुदेखि नै गरिरहेको छु । यसका लागि म मुख्यमन्त्री भएपछि मैले सातवटै प्रदेशको मुख्यमन्त्रीहरु भेला गराएँ । साझा समस्या र अधिकारका सवालमा हामीले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री समक्ष यो कुराहरु राख्यौँ । समस्या र मुद्दाका सबाल सबै प्रदेशका एकै हुन् । त्यसपछि पनि पटकपटक सङ्घ सरकारसँग हामीले प्रदेशका अधिकारका बारेमा आवाज उठाउँदै आएका छौँ । राजनीतिक पार्टीका केन्द्रिय नेतृत्व, प्रधानमन्त्री, मन्त्रीहरूसँग पनि मैले प्रदेशका हक अधिकार, निर्माण हुनुपर्ने कानुन, प्रदेशलाई परेको अप्ठ्यारोका विषयमा पनि बताउँदै आएको छु । आवाज उठाउन छाडेको छैन, तर कार्यान्वयन गर्ने जिम्मा सङ्घको भएकाले नगर्दा समस्या नतिजामा देखिएन । प्रश्न प्रदेश माथि उठ्यो, हामी माथि उठाइयो ।


प्रदेश सरकार खर्चिलो भयो, आर्थिक रुपमा आत्मनिर्भर र राजनीतिकरुपमा स्वतन्त्र नभएको भनी संरचना खारेज गर्नुपर्दछ भन्ने आवाज आउन थालेको छ । यसै सन्दर्भमा प्रदेश सरकारलाई स्थिर, सक्षम र थप कामकाजी, जनपक्षीय, परिणाममुखी र सुदृढ बनाउन के गर्नुपर्छ  ?


  पहिलो त प्रदेश सरकार खर्चिलो भयो भन्ने विषयका सन्दर्भमा भनौँ । यसअघि पनि प्रदेश सरहकै क्षेत्रीय संरचनाहरु थिए । जिविस, गाविस थिए । त्यो संरचना र अहिलेको प्रदेश, स्थानीय तह वडाको संरचना हेर्ने हो भने जनशक्ति व्यवस्थापन, चालु खर्चको हिसावले पनि अहिले कम खर्चिलो छ । प्रदेश हाम्रा लागि नयाँ संरचना थियो । नागरिकले राखेका सबै अपेक्षाहरु एकैपटक पूरा हुन नसक्दा प्रदेशप्रति केही गुनासो छ । तर संविधानले दिएको प्रदेशको अधिकारका सन्र्दभमा भने सबै अधिकार दिने, स्रोतको उचित बाडफाँट गरेपछि प्रभावकारी कार्यान्वयन हुन सकेन भने मात्र सफल/असफलको निश्कर्ष निकाल्नुपथ्र्यो । प्रादेशिक संरचना निर्माण भएको सात वर्ष बित्यो तर अहिलेसम्म कानुन बनेको छैन । अनि हामी प्रदेशले के ग¥यो, केही भएन, भनेर प्रश्न गरिरहेका छौँ । हात खुट्टा बाँधेर प्रश्न गर्न मिल्दैन । पहिले काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ, अनि मात्रै प्रश्न गर्नुपर्छ । प्रदेश सरकारलाई परिणामुखी र सदृढ बनाउन संविधानले तोकेका प्रदेशको अधिकार हस्तान्तरण गरी कार्यान्वयमा जोड दिनुपर्छ ।


प्रदेश सरकारलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सन्दर्भमा संविधानमा भएको व्यवस्था अनुसार यहाँको प्रदेशमा कानुन निर्माणको प्रक्रिया कसरी अवलम्बन गर्नुभएको छ ?

प्रदेश सरकाबाट हालसम्म जारी भएकामध्ये ४७ वटा कार्यान्वयनमा रहेका छन् । प्रदेश सरकारबाट जारी भएका २५ वटा नियमावली कार्यान्वयनमा छन् । प्रदेश सरकारले पहिचान गरेका कानुनहरू निर्माण भएपछि कार्य सम्पादनमा सहज भएको छ । कतिपय कानुन सङ्घ सरकारले नबनाउँदा हामीले बनाएर पनि पूर्ण कार्यान्वयन हुन सकेको छ्रैन । जस्तो कि निजामती कर्मचारी ऐन हामीले जारी गरेका छौँ । तर सङ्घले जारी नगर्दा प्रशासनिक कामकाजमा समस्या भएको छ । हामी बनाएको ऐन कार्यान्वनयमा पनि समस्या देखिएको छ । तर पनि हाम्रो क्षेत्राधिकारभित्र मात्र रहेका विषयमा हामीले कानुन, नियमावली, कार्यविधिहरू बनाएर सरकारको नीति कार्यक्रमलाई कार्यान्वयन गर्दै आएका छौँ । हामीले बनाएका ऐन नियमहरुले कार्यक्रम कार्यान्वयनमा समस्या भएको खण्डमा हामीले सुधार पनि गर्दै आएका छौँ । तर के विषयमा कति पटक कसरी सुधार गर्ने भन्ने सङ्घीय कानुन नबन्दा प्रश्न उठेको छ ।


प्रदेश सरकारका कतिपय प्रादेशिक गौरवका योजना अलपत्र अवस्थामा छन् । विकास आयोजनालाई गति दिन के कस्ता नीतिगत र संरचनागत सुधारहरु गर्दै हुनुहुन्छ ?

  प्रदेश सरकारका प्रादेशिक गौरवका योजनाहरु वृहत छन् । प्रदेशका गौरवका योजना भनेपछि त्यहाँ स्रोत, साधन धेरै आवश्यक पर्छ । त्यस्ता योजना हाम्रो मात्र क्षमताले सञ्चालन गर्न सकिँदैन । फेरि अर्थिक अधिकारको कुरा आउँछ । सङ्घ सरकारले वित्तिय सङ्घीयता हस्तान्तरण गर्न नसक्दा र केही कानुन निर्माण नगरिदिँदा प्रदेशले आम्दानीको स्रोत बढाउन नसक्दा यो समस्या भएको छ । सिमित स्रोत साधनका बीच जनताको असिमित आवश्यकता र मागलाई पूूरा गर्नु पर्दा गौरवका योजनालाई प्रदेश एक्लैले गर्न सक्ने अवस्था छैन । सङ्घ सरकारसँगको सहकार्यमा ती कार्यक्रम र योजनाहरू अघि बढाउनुपर्ने छ । तर हरेक वर्ष सङ्घ सरकारले दिने बजेट घट्ने, प्रदेश सरकारलाई आम्दानी बढाउने गरी कानुन निर्माणमा सहजीकरण नगरिदिने समस्याले आर्थिक रुपमा हामी आफैँ बलियो हुन नसक्दा गौरवका योजनामा अपेक्षाअनुसार उपलब्धि हाँसील गर्न सकिएको छैन ।

दोस्रो पञ्चवर्षिय योजना पारित भएर कार्यान्वयनको चरणमा गएको अवस्था छ । उक्त योजनाले निदृष्ट गरेको लक्ष्य र योजना पूरा हुने आधार के छन् ?

  विकास आयोजनालाई व्यवस्थित बनाउन, जनताले देख्ने, सुन्ने, महशुस गर्ने गरी काम गर्न प्रदेश सरकारले केही प्रयत्न गरेको छ । पहिलो पञ्चवर्षिय योजनाका धेरै काम पूरा भएका छन् । पूूरा हुन बाँकी केही दोस्रो योजनामा समेटिएको छ । महत्वकांक्षी योजना हामीले दोस्रो पञ्चवर्षिय योजनामा राखेका छैनौँ । साना र टुक्रे योजना नियन्त्रण गर्न हामीले बिकास योजनामा गत वर्षदेखि नै टुक्रे बजेट कम गरेका छौँ । दोस्रो पञ्चवर्षीय योजना तयार गरी निर्दिष्ट लक्ष्य उद्देश्य अनुसार धेरै महत्वकांक्षी नभई प्रदेशको साधन स्रोतलाई ध्यानमा राखेर समुन्नत प्रदेश सुखी प्रदेशबासीको सङ्कल्प पुरा गर्ने गरी बजेटको आकारअनुसार योजना बनाएका छौँ । तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्ने गरी हामीले बनाएका योजना कार्यान्वयन गर्दै जाँदा नागरिकका चाहना र आवश्यकता पूरा हुँदै जानेछन् भन्ने विश्वास लिएको छु ।


अन्त्यमा, संविधान दिवस २०८१ को उपलक्ष्यमा नेपाली जनता र विषेशगरी प्रदेशवासीलाई के भन्न चाहनुहुन्छ ?

  संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो व्यवस्थासम्म आइपुग्दा मुलुकको लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धान्जलि अपर्ण गर्दछु । संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक शासन प्रणलीलाई सुदृढ गर्दै सिङ्गो मुुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो । संविधानको भावलाई जनताको जीवनमा महशुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील छ । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धीको दिशातिर अघि बढाउन सङ्घ र स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार सधैं तयार छ । यसका लागि सबै प्रदेशबासी नागरिकको रचनात्मक साथ सहयोगको अपेक्षा गर्दछु ।

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातबाट निधन

काठमाडौं । केही दिनअघि मात्रै ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । पाँचौं ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधबार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा निधन भएको मिस्टर काठमाडौं आयोजक काठमाडौं जिल्ला बडि बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए ।

राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

चक्रवात ‘यागी’बाट दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावित

चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।

यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।

थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको जनाएसँगै यस क्षेत्रमा कुल ५३७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको पहुँच सम्झौताको आधारमा यागीबाट प्रभावित बालबालिकाको सङ्ख्या उल्लेख गरेको हो ।

कमजोर बालबालिका तथा परिवारहरूले यागीले निम्त्याएको विनाशकारी परिस्थिति सामना गर्न बाध्य भएको युनिसेफका पूर्वी एसिया प्रशान्तका क्षेत्रीय निर्देशक जुन कुनुगीले बताए ।

यसै गरी भियतनाममा पिउने पानी र सरसफाइको अभावका कारण करिब ३० लाख मानिसहरु रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ ।

म्यानमामा बाढीका कारण करिब चार लाख मानिसहरू विस्तापित भएका छन् । युनिसेफले यागीले म्यानमामा गम्भीर मानवीय अवस्था निम्त्याइ सीमान्तकृत समुदायलाई सङ्कटमा धकेलेको उल्लेख गरिएको छ ।

विश्व खाद्य कार्यक्रमले बुधबार म्यानमारमा यसै हप्ता आपतकालीन प्रतिक्रिया सुरु गरी पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न वितरण गर्ने जनाएको छ ।

युनिसेफका अनुसार जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गर्ने जनाएको छ ।

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

विपन्न बिरामीलाई गाउँमै स्वास्थ्य सेवा

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।

स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ ।

गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँगाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो ।

बडिगाडमा हाल एक पालिकास्तरीय आधारभूत अस्पताल, सात स्वास्थ्यचौकी, तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । गाउँपालिकाले १० वटै वडाका विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालन गरेपछि नागरिकलाई उपचारमा सहज भएको छ ।

गाउँपालिका–८ र १० बाहेक धेरै ठाउँमा आधा घण्टाकै दूरीमा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य संस्था टाढा भएका ठाउँमा गाउँपालिकाले ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’ मा नागरिकलाई सेवा दिइरहेको छ ।

‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’ मार्फत सबै वर्गका नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी अधिकारीले बताइन् । पालिका ठूलो क्षेत्रमा फैलिएकाले केही स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न नसकेको बताउँदै उनले उक्त कार्यक्रमअन्तर्गत अनकन्टार स्थानमा समेत सेवा प्रवाह गरिएको बताए ।

दशवटा वडाका स्वास्थ्य संस्था पहुँचभन्दा टाढा रहेका समुदायलाई डाक्टरसहितको टोलीले समय समयमा टोलमै गएर सेवा दिने गरेको अध्यक्ष अधिकारीले बताइन् । बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकको उपचारमा स्वास्थ्य टोली केन्द्रित छ ।

‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’ मार्फत धेरैलाई स्वास्थ्य सेवा दिइरहेको तथा विपन्न परिवारका बिरामी सदस्यलाई आर्थिक सहायता पनि गर्दै आएको उनको भनाइ छ ।

अध्यक्ष अधिकारीका अनुसार १५ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी भएको छ । आधारभूत अस्पताल सञ्चालनसँगै डाइलाइसिस सेवा पनि सुरु गर्ने योजना पनि छ । गाउँपालिकाले समय समयमा विकट बस्तीमा पुगेर निःशुल्क स्वास्थ्य शिविर पनि गर्दै आएकाले त्यसबाट त्यहाँका सर्वसाधारण लाभान्वित भएका छन् ।

स्थानीय बमकुमारी विकले गाउँपालिकाले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि घण्टौँ लगाएर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । केही समय अगाडि वडा नं ४ को खाराखोलामा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेको थियो ।

बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेम पुनले विभिन्न गाउँमा शिविर सञ्चालन गर्दा धेरै नागरिकमा क्षयरोग सङ्क्रमण पुष्टि भएको र उनीहरूको उपचार गरिएको छ । पालिकाले एक सय १३ जना बिरामीको उपचार गरेको उनको भनाइ छ ।

शिविरसहित गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लगायत काम गर्दै आएको छ ।

जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु

श्रीनगर । भारत प्रशासित जम्मु–कस्मिरमा दश वर्षपछि बुधबार विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।

त्यसबेलादेखि सङ्घीय रूपमा नियुक्त गभर्नरले यस क्षेत्रलाई नियन्त्रण गर्दै आएका छन् । एक दशकमा भएको पहिलो विधान सभाको निर्वाचनलाई धेरैले व्यावहारिक नीतिभन्दा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा हेरेका छन् ।

श्रीनगरको मुख्य सहर नजिकै पुल्वामामा मतदान गर्ने पहिलो मतदाता ३१ वर्षीया नाभिद पाराले भनिन्, “दश वर्षपछि हाम्रो आवाज सुनिने भएको छ । म मेरो आवाजको प्रतिनिधित्व गर्न चाहन्छु ।”

पैतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।

मोदीले जनतालाई “भारी सङ्ख्यामा मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन” आग्रह गरेका छन् ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्।

करिब एक दशकपछि जम्मु–कस्मिरमा तीन चरणमा हुने निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जम्मु–कस्मिरमा सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन्।

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ ।  बुधबार सुनको मूल्य प्रतितोला  तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला  एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि  एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला  एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि भने  एक हजार आठ सय ९० निर्धारण भएको छ ।

संसदीय समितिको प्रतिवेदनलाई फैसला मान्ने गल्ती गर्यौं भने राजनीतिक सौदामा न्याय मर्न सक्छ

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ र सभामुख देवराज घिमिरेलाई बुझाएको छ । प्रतिवेदन बुझेपछि सभामुखले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइसकेका छन् । प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ । सहकारीबाट रकमबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम जीबी राई र रवि लामिछानेले चेक काटेर खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

समितिको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नुपर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भइनसकेपनि संक्षिप्त रुप बाहिर आएको छ । तर यसबाट के स्पष्ट हुन्छ भने संसदीय समितिको प्रतिवेदनले रवि लामिछानेमाथि कानूनी कारबाहीको ढोका भने खुलेको छ । तर समितिले प्रतिवेदन बुझाएपछि भने रवि दोषी कि निर्दोष भन्नेमा विवाद सुरु भएको छ । रास्वपाका नेता कार्यकर्ताले समितिले रविलाई निर्दोष ठहर्याएको जिकिर गरेका छन् भने उनका विपक्षीहरुले भने दोषी ।

रविलाई दोषी देखाइएको प्रतिवदेनमा हस्ताक्षर गरेर निस्केका समिति सदस्य एवं रास्वपाका नेता शिशिर खनालले बाहिर आएर भने रविलाई समितिले ‘क्लिन चिट’ दिएको अभिव्यक्ति दिए । खनालको अभिव्यक्तिले उनका छेउछाउ बसेका रास्वपाका नेताहरु विजयोत्सव मनाएजसरी तालिपिटिरहेका थिए । त्यस्तै रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले पनि रविमाथि लागेको आरोप आजबाट पूर्ण रुपमा खारेज भएको बताए ।

रवि लामिछानेले समितिको प्रतिवेदनमा सहकारीबाट गएको पैसा चलाएको छ भनेकोमा आपत्ति जनाए । उनले भने, ‘अझै पनि भाष्य निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ, । आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के घाँस काट्ने कुरा त आउँदैन नि त । चेक नै काट्ने होला नि !’

रास्वपाका नेताहरुले समितिको प्रतिवेदनको अपव्याख्या गरेको भन्दै यतिवेला सामाजिक संजालमा फरक-फरक टिप्पणी भएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले रास्वपाका नेताहरु लेखपढ गर्नमा कमजोर रहेको भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘बोर्डिङ र विदेश मात्र पढेका साथीहरुको नेपाली लेखपढ कमजोर छ भन्ने त थाहा थियो, तर रिपोर्ट पढ्दा ‘कारबाही सिफारिस’ भनेर लेखेकोलाई ‘उन्मुक्ति दिएको’ भनेर बुझ्लान् भन्ने चाहिँ थिएन ।’

डा. रामेश कोइरालाले सामाजिक संजालमा रास्वपा नेताहरुलाई नेपाली बुझ्न कठिन हुने रहेछ भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘त्यो ‘क्लिन चिट’ भनेको ‘चलाखीपूर्ण ठगी’ हैन भने मैले बुढानिलकण्ठ स्कुल तथा एमआईटी वा हार्बर्डमा पढ्ने सौभाग्य नपाए पनि यति चैँ जान्दछु कि मोटरसाइकल चोरीको मुद्दामा चोर्नेमात्र हैन चोरीको बाइक किन्नेलाईसमेत ‘चोरी’कै मुद्दामा कारबाही गरिन्छ न कि निर्दोष भनी ‘क्लिन चिट’ दिइन्छ । हामी सरकारी स्कुल पढ्नेलाई ऊबेला ‘A mother is beating her daughter, because she is drunk’ मा कसले दारु खायो भन्नेमा द्विविधा हुन्थ्यो, अहिले बुढानिलकण्ठतिर पढ्नेहरूलाई नेपाली वाक्य बुझ्न नै कठिन हुने रहेछ। चिट र महाचिटको सर्कुलरमा यसपाली गएको ‘क्लिन चिट’को कुरो जम्मा त्यति रछ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले क्लिन चिट क्लियर चिटको अर्थ बुझ्न आग्रह गरेका छन् । उनी लेख्छन्, ‘क्लिन चिट’ कि ‘क्लियर चिट’ ? स्पष्ट हुनोस् ! ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरु ‘क्लियर चिट’ किटान गरेको छ प्रतिवेदनले । चिट (Cheat ) को अर्थ– बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छनै ।’

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने समितिको सिफारिसको अनर्थ लगाउनेहरुलाई गतिलो झापड हानेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘हाम्रा बा यस घ्याम्पोभित्र लुकेका छैनन !’ केटाकेटीका कुरा !!’

संविधानविद डा. भीमार्जुन आचार्यले भने संसदीय समितिले कसैलाई कारबाही गर्ने र निर्दोषिताको प्रमाणपत्र दिन नसक्ने भएकाले यसको कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् । उनको भनाई छ, ‘संसदीय समितिले कसैलाई कारबाही गर्ने, कारबाहीको सिफारिस गर्ने, निर्दोषिताको प्रमाणपत्र दिने यस्तो केही गर्न पाउँंदैन र मिल्दैन । यो उसको प्रोभिन्स होइन । ‘रूल अफ ल’ मा सबैलाई सामान्य कानून नै लाग्छ । उजुरी वा जाहेरी अनुसार अनुसन्धान हुने हो । समितिको गठन र कामले दुईथरी नागरिकको सिर्जना गर्यो । जजसकाविरुद्ध उजुरी वा जाहेरी छ, कानून अनुसार अनुसन्धान हुनुपर्छ । कुनै विशेष रिपोर्ट नभै सामान्य कानून प्रिभेल हुनुपर्छ । आएको रिपोर्ट एउटा सन्दर्भ सामग्रीसम्म हुनसक्छ । यसैलाई फैसला मान्ने गल्ती गर्यौ भने राजनीतिक सौदामा न्याय मर्न सक्छ ।’

सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन सुझाव मात्र हो । यो अभियोजनपत्र होइन । सरकारले सक्षम निकायमार्फत कारबाही सिफारिस गरिएकालाई कानून बमोजिम अभियोजन र मुद्धा अघि बढायो र अदालतले सोही बमोजिम फैसला गरे यो ‘ठगी र अपराध’ ठहरिने छ । सरकारलाई ‘करूणा’ जागे ‘क्लिन चिट’ । बाँकी हेर्दै जाऔं ।

रविलाई एमाले महासचिवको प्रश्नः सीईओले कम्पनीमा आएको पैसा र खर्चको दायित्व लिनु पर्दैन ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ र त्यसको खर्च कसरी हुन्छ भन्ने दायित्व लिनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम गएकोमा उनको पनि दायित्व हुने बताएका हुन् । उनले सहकारी प्रकरणबाट वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भएको बताए ।

उनले भनेका छन्, ‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

संविधान दिवसका अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

काठमाडौं ।  संविधान दिवस (३ असोज)को अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ। टेलिकमले ल्याएको यो अफर आज (२ असोज)देखि असोज ४ गते (शुक्रबार) सम्म लागू हुनेछ।

टेलिकमले सार्वजनिक गरेको अफर अनुसार ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ।

त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्राप्त हुने टेलिकमले जनाएको छ।

त्यसैगरी २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध रहेको टेलिकमको सूचनामा उल्लेख छ।

सुनसरीको इटहरीमा नगरवासीको सुविधाका लागि बिजुली बस सेवा सुरु

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले बुधबारदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो ।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ भाडा तोकिएको छ । गत साउन २२ गते ६ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो । अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् ।

कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् ।

एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको भ्रमण गरेका थिए । केन्द्रप्रमुख डा राजु कँडेलका अनुसार कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययनमा आउने गरेकामा सङ्घ र प्रदेश सरकारका मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताको भ्रमणको गन्तव्य केन्द्र बनेको छ ।

केन्द्रले प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण गर्दै आएको छ । कार्यालयले सोही आर्थिक वर्षमा दुई सय ८६ बाख्रामा शुद्ध बोर बोकाबाट प्रजनन सेवा प्रदान गरेको जनाएको छ । त्यस्तै चार सय ५५ वटा जुत्ताको नमूना सङ्कलन गरिएको र एक हजार पाँच सय ७० वटा बाख्रामा उपचार गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी खरी बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० खरी बाख्रा उत्पादन गरेको छ । कँडेलका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।

त्यस वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको थियो ।

अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको बताइन्छ । कँडेलले भने, “स्थानीयभन्दा बोयर जातका बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”

केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको कँडेलले बताए । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्रा म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुमपश्चिम, धादिङमा वितरण भएको कँडेलले बताए ।

बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोरक्रसका पाठापाठी उत्पादन भएका छन् ।

चितवन-२ मा फेरि उपचुनाव हुने अवस्था आउनसक्छः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुने दाबी गरेका छन् ।

संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन बुझाएपछि बुधबार सामाजिक संजालमार्फत बास्कोटाले चितवन २ मा फेरि चुनाव हुनसक्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

यसअघि पनि नागरिकता प्रकरणका कारण सांसद पद गुमाएपछि लामिछानेले पुनः उपचुनावमा प्रतिस्पर्धा गरी सांसद निर्वाचित भएका थिए ।