`

क्रान्तिका उपलब्धिलाई उल्ट्याउने कसरत भइरहेको छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरू भइरहेकाले यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति सिर्जना भएको बताएका हुन् ।

उनले माओवादी आन्दोलन र क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गरे । उनले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने,‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ । तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ । दलाल पुँजीपति र नोकरशाहीहरूसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’

उनले नेपाली मौलिकतामा पुँजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पुँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको बताए ।

जाजरकोटको धुमामा बाबुआमा पहिरोमा पुरिए, छोरीको घाइते अवस्थामा उद्दार

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनकी श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिए । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

ऋषि पञ्चमी हेर्नुस् तस्बिरमा

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

काठमाडौँको टेकूस्थित ऋषेश्वर महादेव मन्दिर परिसरमा आज पञ्चमी पूजा लगाउन भक्तजनको घुइँचो लागेको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

चैतन्य अधिकारीको कविता संग्रह ‘जुद्ध शमशेरका नाममा’

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले चैतन्यलाई ५० कै दशकदेखि कविका रूपमा सुनेको स्मरण गर्दै उनी समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभावान् कवि भएको बताए । कवि अधिकारीमा गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यतासहित अभिव्यक्त गर्ने क्षमता भएको उनले उल्लेख गरे ।

यसैगरी कवि श्रेष्ठले कविताको कुनै आकार नहुने र अधिकारीका कवितामा पनि आकारको बन्देज नभएको धारणा राखे । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा प्रस्तुत गर्न सक्ने कविका रूपमा उनले अधिकारीलाई चित्रण गरे ।

कृति समीक्षा गर्दै कवि, समालोचक सञ्जीव पौडेलले अधिकारीलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कविता नै पढ्न उक्साउने स्रष्टाका रूपमा पाएको टिप्पणी गरे ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्वअध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, शेखर पराजुुली, कौशल चन्द्र जीसी, रीता अधिकारी ऋतु, शिव त्रिपाठीलगायतले अधिकारीको व्यक्तित्व एवम् कृति सम्बन्धमा धारणा राखेका थिए ।

अधिकारीले एक दशकपछि दोस्रो कृति बजारमा ल्याएका हुन् । यसअघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित भएको थियो ।

इटहरीमा लुटपाटमा सङ्लग्न सात जना पक्राउ

धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

झापा बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै दुई लाख लुटपाट गरी फरार भएका थिए । उक्त घटना सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि लुटपाटमा संलग्नलाई खोजी गरी पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए  ।

प्रहरीका अनुसार रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनिस कोइराला र १९ वर्षीय शुसन थापा पक्राउ परेका छन् । त्यसैगरी इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय  विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत र १८ वर्षीय निश्चल बस्नेत एवं सोही नगर वडा नं ७ का १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका छन् ।

उनीहरूको साथबाट तीन लाख दुई सय ५५ रुपैयाँ नगदसहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको उनले बताए । पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’

काठमाडौं । फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा समीरसहित अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली सिनेमामा डेब्यु गरेकी हुन् । गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ ।

गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ । विराज भट्टको निर्देशन र निर्माण रहेको फिल्मको अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै सङ्केत देखिएको छैन ।

इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आ–आफ्नो अडानमा अडिग छन्।

गत अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेको हमासले इजरायललाई उसको सेना पूर्ण रुपमा फिर्ता बोलाउन माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा–इजिप्ट सीमाको एक महत्वपूर्ण भू–भागमा सेना राख्नुपर्नेमा जोड दिएका छन् ।

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण रहेका थिए।

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिसलाई आदानप्रदान गरिएको थियो ।

गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित छ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (यूएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन् । “एघार महिनाको समय काफी हो । यसलाई अब कसैले पनि लिन सहज लिन सक्दैन । अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ ।”

टर्कीका एक अमेरिकी कार्यकर्ताले कब्जा गरेको क्षेत्रमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गरिरहेको पश्चिम किनारामा शुक्रबार भएको गोलीकाण्डले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिएको छ ।

२६ वर्षीया आइसेनुर एज्जी आइगीको परिवारले उहाँको मृत्युको स्वतन्त्र छानबिनको माग गर्दै शनिबार उनको जीवनलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा हत्या गरेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेर हत्या गरेको जनाएको छ ।
अङ्काराले उनलाई ‘इजरायली कब्जा क्षेत्रमा सैनिकहरू’ द्वारा मारिएको बताएको छ, र राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कार्यलाई ‘बर्बरता’ को रूपमा निन्दा गरेका छन् ।
वासिङ्टनले उनको मृत्युलाई ‘दुःखद’ भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ ।

करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैंकमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीहरुले बताएका छन् ।

इजरायली सेनाले वेस्ट वैङ्कको जेनिन शहरमा १० दिनसम्म चलेको घातक आक्रमणबाट पछि हटेको दिन आइगीको मृत्यु भएको थियो ।

गाजा युद्धमा युद्धविरामका लागि वार्ता गर्ने विषयमा इजरायल र संयुक्त राज्य अमेरिकाबीच विवाद भएपछि जेनिनको बहिर्गमन भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार ‘९० प्रतिशत सहमति भएको’ भन्दै इजरायल र हमासलाई सम्झौतालाई अन्तिम रुप दिन आग्रह गरेका छन् ।

तर इजरायली प्रधानमन्त्री नेतन्याहूले फक्स न्यूजसँग कुरा गर्दै भने, “यो नजिकको कुरा होइन ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमा इजरायल सहमत भएको भन्दै हमासले गाजा पट्टीबाट इजरायललाई पूर्ण रुपमा फिर्ता लिन माग गर्दै आएको छ ।

एएफपीका संवाददाताका अनुसार शुक्रबार रातभर र शनिबार बिहानै उक्त क्षेत्रमा कैयौँ हवाई आक्रमण र गोलाबारी भएको थियो ।

गाजाको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी रेड क्रिसेन्टले मध्य गाजाको नुसिरात शरणार्थी शिविर नजिकै इजरायली हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको जनाएको छ ।

नागरिक प्रतिरक्षा र एक प्रत्यक्षदर्शीका अनुसार ‘बुरेज क्याम्प’को एक फ्ल्याटलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा अन्य चार जनाको मृत्यु भएको थियो ।

जबालियामा इजरायली हवाई आक्रमणमा परी थप चार प्यालेस्टिनीको मृत्यु भएको नागरिक सुरक्षा अधिकारीहरूले बताएका छन् ।

गाजा शहरको उत्तरमा भएको हवाई आक्रमणमा परी एक महिला र एक बालकको पनि मृत्यु भएको बताइएको छ ।

बेइट लाहियाको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टिनी घाइते भएको र उनीहरूको अल अवदा, कमल अदवान र इन्डोनेसियाली अस्पतालमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल बन्र्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिएका छन् ।

फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, “हामीसँग एक अर्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन ।’ उनीहरूले मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन्।

“सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ”, लेखमा भनिएको छ,“रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ।”

लेखमा ‘उनीहरू (अमेरिका र बेलायत)ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्वका साथ उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएकोे वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।

ह्वाइट हाउसले भनेको छ, “उनीहरू (बाइडेन र स्टर्ममर)ले अन्य कुराका साथै ‘युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने’ र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन्।

इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो ।

युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।

पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कास्कीको लामाचौरस्थित इन्द्र राज्य लक्ष्मीदेवी प्राङ्गणमा शनिबार भएको पुरुषतर्फको फाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि रक्षा गरेको हो ।

शुक्रबार खेलको दुई सेट सम्पन्न भएपनि खराब लाइटका कारण खेल शनिबारका लागि सारिएको थियो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने गुमाउन पुग्यो। दोस्रो सेट पुलिस क्लबले २१–२५ ले गुमायो ।

तेस्रो सेट भने पुलिस क्लबले २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पा¥यो। तर चौथो सेट भने पुलिस क्लबले २५–२२ ले एपीएफलाई सुम्पियो।

निर्णायक तथा अन्तिम सेट पुलिस क्लबले १६–१४ ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै पुलिस क्लबले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले १ लाख रुपैयाँ हात पारेको छ ।

मन फराकिलो बनाएर संवाद गरे नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताएका छन् । 


जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवासमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्या रहेका र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको बताए । 


‘इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लागेको छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘भारत उन्नत संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुलस्त रूपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन हामीले जे पनि गर्नु हुँदैन ।’


भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोपका लागि प्रयोग गर्न नहुने तर्क  गर्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध गर्ने संस्कृति नेपाली संस्कृति नभएको स्पष्ट गरे ।


‘पहिला पहिलाका वैदेशिक सम्बन्धहरु बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीय रुपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधरमा गरिनुपर्छ ।’


सरकारले सुशासन, देश र जनतालाई केन्द्रमा राखेर सोचिरहेको भन्दै उनले लोकतन्त्रका नाममा अराजकता हुन नहुने बताए ।


संयुक्त राष्ट्रसङ्घको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको भन्दै  प्रधाामन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र त्यसका आधारमा थप बहस गर्न सकिने बताए ।


पुस्तकको समीक्षा गर्दै संविधानविद् डा विपीन अधिकारीले देशमा उपलब्ध अपार जलसम्पदाको उपयोग गर्नेगरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिएका थिए । 

नेपाली जनताले देखेको समाजवाद निर्माणको अभिभारा पूरा गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उनले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । 

गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणका रुपमा औल्याउँदै उनले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट गरे ।

 मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ । यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिङ्ग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं ।’

अब पनि सुशासन, सामाजिक न्याय र समृद्धिहुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित रहेको औल्याउँदै अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा रहेको बताए ।

भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै उनले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताए ।

सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उनले बताए ।

खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमै स्थापित गर्न आवश्यक छ रहेको औल्याउँदै पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदासूचीमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष दाहालले बताए । 

आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै उनले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष दाहालको भनाइ थियो ।

उत्पादन बृद्धि भएपछि केरा खेती मासेर व्यवसायीक मकै खेती

मोरङ । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।


गत आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आर्थिक  वर्ष २०८०/८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ ।  क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ ।


अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए ।


उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७ दशमलव ८७ मेट्रिकटन मकै उत्पादन भएकोे छ ।


मकैको उत्पादन बढेसँगै किसान खुसी छन्  । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यवसायीक मकै खेती गर्दै आएको बताइन् । उनले मौसममा डेड बिघा जमिनमा मकै खेती गरेता पनि बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छवर्षदेखि मकै खेती गर्दै आएकी छन् । उनले भनिन्, “गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा विक्री भयो ।”


किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गरेका छन् । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्न थालेपछि खुसी भएको उनी बताउँछन् ।


खाद्यान्न बालीका रुपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाहै्र महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रुपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।


सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने गरेको उनले बताए । मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने प्रमुख डाँगी बताउँछन् ।


परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रुपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन् ।


तराइमा विशेषगरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेषगरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिए । 

कैलालीका किसानका लागि वरदान बन्यो राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजना

झलनाथ खनाल, भजनी । डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ । नेपाल सरकार र विश्व बैंकको साझेदारीमा आर्थिक वर्ष २०६६/६७ सालदेखि सुरु भएको आयोजनाले कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानको परम्परागत सिँचाइ प्रणालीलाई विस्थापित गर्दै आधुनिक र १२ औं महिना सिँचाइको पहुँचमा पुर्याउने उद्देश्य राखेको थियो । त्यसैअनुसार किसानले अहिले आयोजनाबाट प्रत्यक्ष लाभ लिइरहेका पनि छन् ।

कूल १४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको आयोजना विश्व बैंकसँगको सम्झौताअनुसार चालु आर्थिक वर्षको असारमा सम्पन्न हुँदैछ । म्याद सकिन १० महिना मात्रै बाँकी रहँदा आयोजनाको प्रगति भने ७४ प्रतिशतमा सीमित छ । २७ अर्ब ७० करोडको खरिद गुरुयोजना स्वीकृत भएको आयोजनाले गत आर्थिक वर्षसम्म करिब २० अर्ब बजेट खर्च गर्न सकेको छ ।

‘भौतिक प्रगतिका आधारमा आयोजनाले गरेको खर्च सन्तोषजनक हो । तर म्याद सकिन लाग्दा शतप्रतिशत प्रगति हुने सम्भावना निकै कम छ’, रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यालयका सूचना अधिकारी नवीन पौडेलले भने,’बाँकी काम सम्पन्न गर्नतिर आयोजनाको तर्फबाट हामी लागिपरेका छौँ । आशा गरौँं काम सम्पन्न हुन्छ ।’ आयोजना हालसम्म दुई चरणमा सञ्चालन भएको थियो ।

सूचना अधिकारी पौडेलका अनुसार पहिलो चरणको आयोजनाको मूल नहरको काम नेपाल सरकारको लगानीमा भएको थियो भने शाखा नहर निर्माणको काम अर्थात दोस्रो चरणमा विश्व बैंकको सहयोग रहेको छ । आयोजना सम्पन्न भए टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको केही क्षेत्रभित्रका ३४ हजार पाँच सय ८९ घरधुरी आयोजनाबाट लाभान्वित हुनेछन् ।

दोस्रो चरणको कार्यक्रम स्वीकृत हुँदा आयोजनाले शाखा नहरको काम तीन भागमा विभाजन गरेर सुरु गरेको थियो । रानी, जमरा र कुलरिया गरी तीन भागमा विभाजन भएको आयोजनाले एउटा शाखाको लागि करिब ५० करोड खर्च गरेको छ ।’ परम्परागत रुपमा किसानले विभाजन गरेको नामकै आधारमा आयोजनाले कामको वर्गीकरण गरेका थियो ।

“सूचना अधिकारी पौडेल भन्छन्,’त्यसैअनुसार आयोजनाको ठेक्का भएर तीन ठेकेदार कम्पनीले कामको जिम्मा लिएका थिए ।’ रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कुलरिया सिँचाइ कुलोमार्फत थप छ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने गरी नेपाल सरकारको लागतमा काम सुरु भएको छ ।

आयोजनाले लम्की स्टेशनसम्मको काम सम्पन्न गरेपछि शाखा कुलो निर्माणका लागि नेपाल सरकारले आफ्नै स्रोतबाट बजेट विनियोजन भएसँगै सिँचाइको पहुँच १४ हजार तीन सय हेक्टरबाट २० हजार तीन सय हेक्टर क्षेत्रफल पुगेको इञ्जिनीयर पौडेलको भनाइ छ । आयोजनाले ठेक्काको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

जमरा कुलोको काम ९९ प्रतिशत
आयोजनाको जमरा कुलोतर्फको कामको प्रगति ९९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । रामेछाप शेर्पा कान्छाराम जेभीले ठेक्का पाएको जमरा कुलोको काम लगभग सकिएको कम्पनीका निर्देशक छिरिङ शेर्पाले जानकारी दिए । उनकाअनुसार संरचनागत काम सम्पन्न भएर भुक्तानीको काम बाँकी रहेको छ ।

‘हामीले काम सम्पन्न गरिसकेका छौँ । सामान्य काम र भुक्तानी मात्रै बाँकी छ । दशैँसम्म सबै सम्पन्न गर्ने गरी लागेका छौँ ।’ उनले भने, ‘दशैपपछि आयोजना हस्तान्तरण गर्ने तयारी गरेका छौँ ।’ २०७७ को अन्तिममा ठेक्का सम्झौता भएको आयोजनाको काम तीन वर्षमा सम्पन्न भएको शेर्पाले बताए । आयोजनाको संरचनागत प्रगतिको प्रमुख आधार जमरा कुलो बनेको छ ।

रानीको प्रगति ४५ प्रतिशत मात्रै

आयोजनाको रानी कुलोतर्फको कामको स्थिति निकै निराशाजनक देखिएको छ । गौरी पार्वती जेभीले ठेक्का पाएको रानी कुलोको प्रगति गत आर्थिक वर्षको अन्तिमसम्म ४५ प्रतिशत मात्रै देखिएको छ । सम्झौता अनुसारको म्याद पुसमा सकिँदैछ । त्यो समयावधिभित्र रानी कुलोको काम सम्पन्न हुने स्थिति निकै कम छ । आयोजनाको तर्फबाट कम्पनीलाई ताकेता भइरहेको छ । काम सम्पन्न हुने सम्भावना निकै कम छ । सम्झौता भएअनुसारको समयभित्र काम सम्पन्न नभए ठेक्का तोड्ने सम्मको प्रक्रिया आयोजना कार्यालयले सुरु गरेको छ ।

उता निर्माणको जिम्मा पाएको गौरी पार्वती जेभीका प्रबन्धक रामकुमार थापाले सम्झौता भएको दुई वर्षपछि काम सुरु भएको हुँदा कामको प्रगति कम देखिएको बताए ।

‘पहिले अर्कै कम्पनीले काम गर्छौं भनेको थियो । दुई वर्षसम्म त्यसले काम नगर्दा अहिले समस्या आयो’, उनले भने, ‘अहिले हामी आफैँ लागेका छौँ । अहिले दुई सिफ्टमा काम भइरहेको छ । सम्भवतः समयमा काम सम्पन्न गर्ने गरी कामको गति बढाएका छौंँ ।’ उनले आयोजनाको काम समयमा सम्पन्न नगरे आफैँलाई घाटा हुने भन्दै गम्भीरतापूर्वक कामको गति बढाइएको बताए ।
कुलरियाको पनि अवस्था उस्तै
कुलरिया कुलोको कामको प्रगति पनि सन्तोषजनक देखिएको छैन । हाई हिमाल हाइड्रोपावर कन्स्ट्रक्सनले कामको जिम्मेवारी पाएको आयोजनाको म्याद आउने मंसिरमा सकिँदैछ । यो स्थितिसम्म आयोजनाको प्रगति ६५ प्रतिशत मात्रै देखिएको छ । ‘सम्झौता भएको म्यादसम्म काम सम्पन्न हुने सम्भावना कतैबाट देखिँदैन’, साइड इन्चार्ज प्रशान्त चौधरी भन्छन्,’अहिले वर्षातको समयमा काम गर्न सकिएको छैन । असोजभन्दा अगाडि काम सुरु हुने स्थिति पनि कम छ । त्यसपछिको समयमा बाँकी रहेको ३५ प्रतिशत काम सकिँदैन ।’
नदी नियन्त्रणमा अर्बौं खर्च
सिँचाइसँगै नदी कर्णाली नदी नियन्त्रणमा पनि अर्बौं बजेट खर्च गरेको छ । खासगरी टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा वर्षौंदेखि कर्णाली नदीको जोखिमलाई कम गरेको स्थानीय समाजसेवी रामबहादुर सुनारको भनाइ छ । नदी नियन्त्रणका लागि २५ किलोमिटर तटबन्धको काम भएको छ । कर्णाली नदीमा तटबन्धको काम सफल नभएपछि ठूलो ढुङ्गा खसालेर नदी नियन्त्रणको काम आयोजनाले गरेको छ ।

अहिले पनि नदी नियन्त्रणको काम आयोजनाले गरिरहेको छ । पुल पथरैया नदीमा तीन ठूला पुल निर्माण भइरहेका छन् । २० मिटरभन्दा कम लम्बाइ भएका १३ भन्दा बढी पुल निर्माण भएका छन् । सडक सञ्जाल विस्तारमा पनि आयोजनाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । ‘स्थानीय सरकारको बजेटले कहिल्यै नबन्ने सडक आयोजनाको लागतमा बनेका छन्’ रामबहादुर भन्छन्,’ आयोजना दक्षिण पूर्वी क्षेत्रका स्थानीयका लागि वरदान बनेको छ ।’
आयोजनाबाट विद्युत् उत्पादन
गौरवको आयोजनाले सिँचाइसँगै विद्युत उत्पादनको काम समेत गरेको छ । ४ दशमलव ७ मेगावाट क्षमता रहेको विद्युत् गृहले हाल ३ दशमलव १ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । तीनवटा युनिटबाट विद्युत् उत्पादन लक्ष्य रहेको विद्युत गृहले हाल दुईवटा युनिटबाट विद्युत् उत्पादन गर्दै आएको छ । विद्युत् गृहमा आयोजनाले एक अर्ब लगानी गरेको छ । यस आयोजनाबाट विद्युत् बेचेर वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ । हाल विद्युत् उत्पादन भएर राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार भएको छैन । अध्ययनका नाममा कार्यविधि सात महिनादेखि मन्त्रालयमै रहेको आयोजनाले जनाएको छ । आयोजनाले पुसमै कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएको थियो ।
कृषि क्षेत्रमा पनि अर्बौं खर्च
गौरवको आयोजनाअन्तर्गत कृषि लक्षित कार्यक्रममा पनि अर्बौं खर्च भएको छ । कृषि कार्यक्रम कार्यान्वयन इकाइमार्फत किसानलाई अनुदानमार्फत ठूलो सहयोग गर्दै आएको छ । कृषि औजार, बीउबिजन, भौतिक संरचना निर्माणदेखि बिजवृद्धिको कार्यक्रम, केरा खेती, तरकारी खेती, पशुपालनलगायतका क्षेत्रमा कार्यान्वयन इकाइले किसानलाई सहयोग गरिरहेको कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत कँडेल बताउँछन् ।

किसान, कृषि सहकारीलाई अनुदानमार्फत कृषि क्षेत्रमा ठूलो खर्च गरेको आयोजना आफूहरुका लागि वरदान भएको स्थानीय किसान धनसिंह साद बताउँछन् । ‘कैयौंँ किसानलाई आयोजनाले व्यावसायिक किसान बनाएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरणमा लैजान आयोजना निकै फलदायी बनेको छ’ उनी भन्छन् । कृषि कार्यक्रम कार्यान्वयन इकाईले सात करोडको लागतमा शीतभण्डार निर्माण गर्दैछ ।

तेस्रो चरणको कार्यक्रम कति सम्भव ?

दोस्रो चरणको कामको समयावधि सकिनै लाग्दा तेस्रो चरणमा म्याद थप हुने कि नहुने भन्ने चासो बढ्दै गएको छ । आयोजनाका अनुसार तेस्रो चरणको कार्यक्रम स्वीकृत हुने सम्भावना रहेको छ । तर कुलरिया कुलोमार्फत पथरैया नदीदेखि कान्द्रा नदीसम्म काम गर्ने गरी तेस्रो चरणको कार्यक्रम स्वीकृत हुनसक्ने स्थिति रहेको आयोजनाले जनाएको छ ।

‘तेस्रो चरणको कार्यक्रम स्वीकृत भए पनि रानी र जमरालाई छोडेर लम्की क्षेत्रतिर आयोजना केन्द्रित हुनसक्छ । त्यसका लागि हामीले पेश गर्नुपर्ने योजना पेस भइसकेको छ भने अर्थ मन्त्रालयबाट स्वीकृत भएर विश्व बैंकमा पेस भएको छ’’ आयोजना कार्यालयका सूचना अधिकारी पौडेलले भने, ‘तेस्रो चरणमा रानी जमरा कुलरियाको लागि आयोजनाको काम थप हुने सम्भावना निकै कम छ ।’

पथरैयादेखि कान्द्रा नदीसम्मको आयोजना स्वीकृत भए थप १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । त्यसपछि आयोजनाबाट ३८ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । पथरैया नदीदेखि कान्द्रासम्म आयोजनाको क्षेत्र विस्तार हुँदा कैलालीको बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकासम्म सिँचाइको पहुँच पुग्नेछ ।

उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै

म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीय स्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ ।

लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचना पाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङ बोर्ड राखेको हो ।

एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो-घेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए।

“पर्यटकहरूले संकेत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइनपोष्टिङ राखिएको हो,” उनले भने “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीय स्थलको महत्त्व र विशेषता बुझ्नका लागि नक्सासहितको सूचना पाटी राखेका छौँ ।”

स्थानीय स्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ ।

अग्ला, नांगा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिक स्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेञ्जिङ पोल’ र साइनपोष्टिङ राखिएको एक्यापका प्रमुख प्रमोदराज रेग्मीले बताए।

उपल्लो मुस्ताङको दामोदर कुण्ड पुगेर फर्केका म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ का गणेश गुरुङ (सुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूचना पाटी तथा साइनपोष्टिङले सहज बनाएको बताए । अझै धेरै ठाउँमा साइनपोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राख्नुपर्ने उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदर कुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिक स्थल छन् । मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक् भूगोल पनि यहाँका आकर्षण हुन् ।

सन् २०२३ मा तीन हजार चार हजार ८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । विदेशीको तुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।

अर्धनिषेधित क्षेत्र घोषणा भएको लोमान्थाङ, लो-घेकर दामोदर कुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु. ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन अपेक्षित रूपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए।

वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको परिवारले स्वतन्त्र छानबिनको माग गरेको छ ।

परिवारले इजरायली सेनाले एक महिलालाई टाउकोमा गोली हानी हत्या गरेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ ।

वैस्ट बैङ्कको बेइटामा शुक्रबार भएको प्रदर्शनमा भाग लिने क्रममा २६ वर्षीय आइसेनुर एज्जी आइगीको टाउकोमा गोली लागेको थियो ।

“हाम्रो जीवनमा उहाँको उपस्थितिलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा लिएको थियो,” आइगीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। शान्तिपूर्वक न्यायका लागि आवाज उठाएकी आइसेनुरको गोली लागेर मृत्यु भएको थियो।

विज्ञप्तिमा भनिएको छ, “हामी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई एक अमेरिकी नागरिकको गैरकानुनी हत्याको स्वतन्त्र अनुसन्धानको आदेश दिन र दोषी पक्षहरूको पूर्ण जवाफदेहीता सुनिश्चित गर्न आह्वान गर्दछौं।”

इजरायली सेनाले प्रदर्शनका क्रममा सेनामाथि ढुङ्गा प्रहार गर्ने र उनीहरूका लागि खतरा उत्पन्न गर्ने हिंसात्मक गतिविधिका मुख्य उक्साहटकर्तालाई आफ्नो सेनाले गोली चलाएको बताएको छ ।

इन्टरनेसनल सोलिडारिटी मुभमेन्ट (आईएसएम) का अनुसार आइगी आईएसएमकी सदस्य थिइन् र उनी इजरायली
बस्ती विस्तारको विरोधमा बेइटा भएको साप्ताहिक प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न शुक्रबार बेइटामा पुगेकी थिइन्।

हालैका वर्षहरूमा, प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले बेइटाको छेउछाउमासाप्ताहिक विरोध प्रदर्शनहरू गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालय र राफिडिया अस्पतालका अनुसार शुक्रबारको प्रदर्शनका क्रममा आइगीको टाउकोमा गोली लागेको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भन्दै निन्दा गरेका छन् । वासिङ्टनले यसलाई ‘दुःखद’ घटना भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ ।

तर उहाँको परिवारले भने स्वतन्त्र छानबिनको लागी माग गरेको छ ।  “आइगीको हत्याको परिस्थितिलाई ध्यानमा राख्दै इजरायली अनुसन्धान पर्याप्त छैन,” मृतक महिलाको परिवारले भनेको छ।

उनको परिवारले आइगीले सधैं प्यालेस्टिनीका जनताविरुद्ध हुने हिंसा अन्त्यको वकालत गरेको बताएको छ । करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैङ्कमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन् ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएयता इजरायली सेना वा बासीन्दाहरूले वेस्ट बैङ्कमा ६९० भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार सोही अवधिमा प्यालेस्टाइनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन् ।

भारतको मणिपुरमा फेरि भड्कियो हिंसा, एक जनाको मृत्यु, रकेट आक्रमणपछि विद्यालय बन्द

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो ।

स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।

शुक्रबार एक विद्रोही समूहले मणिपुरको बिष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपनि जवाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ ।

मेइतेई र कुकी समुदायहरूबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् ।

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली। नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तार हुन नसकेको हो।

उत्पादित उखुको बजार अभाव भएकाले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। प्रदेश सरकारले जिल्लामा उखुखेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसान बताउँछन्।

विगतमा उखुखेती गर्दै आएका किसानले विस्तारै अन्य खेती गर्न थालेका छन्। ज्ञान केन्द्रका अनुसार जिल्लामा २५ वर्षअघि सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेतीको क्षेत्रफल घटेर दुई सय २५ हेक्टरमा पुगेको छ।

केन्द्रका सूचना अधिकारी श्याम जोशीले जिल्लामा आव २०७८७९ मा दुई सय २४ हेक्टरमा उखुखेती गरिएकामा उत्पादन आठ हजार तीन सय सात मेट्रिक टन, आव २०७९/८० मा दुई सय २४ हेक्टर खेती भएकामा नौ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको जानकारी दिए।

उखुखेती गर्ने किसानलाई कृषि औँजार, उपकरण, बिउलगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्ने सूचना अधिकारी जोशीले बताए।

उखुखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान रकमसँगै खेती गर्ने तरिका, आवश्यक औँजार, उन्नत जातका बिउ र लगाउने विधिकाबारेमा ज्ञान र सीप उपलब्ध गराउनुपर्ने घोडाघोडी नगरपालिका–४ का उखु किसान गणेश शाहीले बताए। उनले उखुखेतीमा बजारको अभाव भएकाले किसानले लागत अनुसार आम्दानी लिन नसकेपछि किसानको सङ्ख्या घट्दै गएको बताए।

विसं २०५४ मा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखुखेती गर्ने किसानको सङ्ख्या बढेको थियो। सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखुखेती गर्न छोड्दै गएका हुन्।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७९र८० को तथ्यांकअनुसार प्रदेशभर छ हजार एक सय ९७ हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएकामा तीन लाख ५९ हजार तीन सय २१ मेट्रिक टन उत्पादन भएको छ।

प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा पाँच हजार छ सय २५ हेक्टरमा खेती गरिँदै आएकामा तीन लाख ४३ हजार एक सय २५ मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ । कञ्चनपुर र कैलालीपछि बैतडीमा दुई सय ६० हेक्टरमा चार हजार एक सय ९० मेट्रिक टन उत्पादन भएको थियो। कञ्चनपुरमा उखुखेती विस्तारका लागि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आइएको छ।

मुलुकको समृद्धि र सेवा प्रवाहमा निजामती प्रशासन

-गजेन्द्रकुमार ठाकुर
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइएको छ । २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । क्रमसङ्ख्याको हिसाबले यस वर्षको दिवस २१औँ निजामती सेवा दिवस हो । विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले यो ऐन जारी गरेको थियो । त्यसयताको ६७ वर्षको इतिहासमा निजामती प्रशासन सार्वजनिक प्रशासनको मूल आधारको रुपमा रहँदै आएको छ । लामो विगतको विरासतका रुपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रुपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरु रहेका छन् । अबको निजामती प्रशासनलाई प्रविधिमैत्री बनाइ सरल र सहज रुपमा सेवा प्रवाह गर्नुपर्नेछ । राज्यको नीति, योजना, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रमुख संयन्त्रको रुपमा रहेको निजामती प्रशासन निष्पक्ष र जनउत्तरदायी हुनुपर्छ ।

सूचना र प्रविधिलाई उच्च रुपमा प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाहगर्नु नै निजामती प्रशासनको मुख्यध्येय रहनुपर्छ । निजामती प्रशासन स्थायी सरकार भएकाले कुनै राजनीतिक दबाब, प्रभावमा नपरी अनुसाशित भई देश र जनतालाई केन्द्रमा राखी कर्तव्यनिष्ठाबाट चुक्नु हुँदैन । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सक्रिय सहभागिता जनाउँदै पनि आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझ गहन रहेको छ । मुलुकमा उत्पन्न हुने विभिन्न प्राकृतिक विपद्का समयमा पनि राष्ट्रसेवकले सम्पादन गर्ने कामबाट जनताले पाउने सेवा अझ बढी अनुभूति गरेका हुन्छन् । निजामती कर्मचारीले सिर्जनशील भएर सेवा प्रवाह गर्न प्रविधिमैत्री भई यसको प्रयोग बढाउन र इमान्दारितापूर्वक काम गर्न सकेको अवस्थामा मात्रै देशको समृद्धि र जनताले सेवा पाउन सक्छन् ।
नयाँ संविधान जारी भएपश्चात मुलुक सङ्घीय संरचनामा रुपान्तरित भयो । नजिकको सरकारबाट सेवा सुविधा पाउने त भनियो तर समयमा मार्गदर्शक कानुन जारी हुन नसक्दा सेवामा संलग्न जनशक्ति अन्योलमा रहन पुगे । संविधान जारी भएको लामो समय वितिसक्दा पनि सङ्घीय निजामती सेवा ऐन नहुँदा निजामती सेवालाई प्रभावकारी बनाउन समस्या भइरहेको छ । ऐन अभावले कर्मचारी व्यवस्थापन, परिचालन र क्षमता अभिवृद्धिमा चुनौती भइरहेको छ ।आज सङ्घीय निजामती दिवस मनाइरहँदा ऐनको अभावमा निजामती सेवालाई चुस्त, प्रभावकारी र निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउन समस्या परेको छ । स्थायी सरकारको रुपमा लिइने निजामती सेवालाई व्यवस्थित र परिचालन गर्ने सङ्घीय छाता ऐन नहुँदा प्रदेश निजामती सेवा ऐन पनि कार्यान्वयनमा कठिनाइ भइरहेको छ ।
संविधान जारी भएको लामो समयसम्म पनि सङ्घीय निजामती ऐन जारी हुन नसक्दछ निजामती सेवामा समस्या भइरहेको छ,ऐनको अभावमा कर्मचारी व्यवस्थापन, परिचालन र उनीहरुको क्षमता अभिवृद्धिमा चुनौती बढेको छ । निजामती सेवा ऐन समयमा नआएर धेरै अफ्ठ्यारो भइरहेको अवस्था छ । मुलुक सङघीयतामा गइसकेपछि संविधानको व्यवस्था अनुरुप सङ्घीय ऐनसँग बाझिएको खण्डमा प्रादेशिक ऐन वा स्थानीय ऐन स्वतः खारेजी हुनेछ भनिएको छ । प्रदेशमा निजामती सेवा ऐन बनेपनि सङ्घीय छाता ऐन नहुँदा त्यो कार्यान्वयन हुन सकिरहेको छैन । सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सङ्घीय संसद्मा पेस गरिसकेको छ ।

प्रतिनिधिसभामा दफाबार छलफल भएको उक्त विधेयक अहिले दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।निजामती सेवा नेपालको महत्वपूर्ण सेवा भएको र यो स्थायी सरकारको रुपमा रहेको भन्दै देश सञ्चालन गर्नको लागि चाहिने नीति निर्माण कार्यान्वयन र त्यसको अनुगमन, मूल्याङ्कन सबैमा यसको महत्वपूर्ण भूमिका रहन्छ । उपयुक्त कार्यमा निजामती कर्मचारीहरु विगतदेखिनै संलग्न भइरहका तथा राज्यका सम्पूर्ण निकायमा यसको पहुँच रहेको छ । सबै मन्त्रालयमा यसको प्रभाव छ । उदाहरणको रुपमा गृहमन्त्रालयमा माथिल्लो काम गर्ने कर्मचारी सबै निजामती सेवाबाटै आएका हुन्छन् । सैनिक सेवामा पनि समन्वयको काम निजामती कर्मचारीबाटै हुन्छ । शिक्षामा पनि मन्त्रालयमा समन्वय र सहकार्य गर्ने सबै निजामती सेवाकै कर्मचारी हुन्छन् ।

त्यस्तै अन्तर्राष्ट्रियस्तरमा पनि समन्वय र सहकार्यको काम निजामती सेवाका कर्मचारीबाटै हुने गरेको छ । भन्नुको मतलव देश निर्माणका लागि चाहिने नीति निर्माण बनाउने, संस्थागत विकास गर्ने तथा बनाइएका नीति नियमको परिपालना गर्ने गराउने र त्यसबाट कस्तो किसिमको परिणाम आयो त्यसको मूल्याङ्कन, अनुगमन गर्ने र पूर्ण समीक्षा गर्ने यो व्यवस्थापकीय पूरै चक्रमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहेको छ । अहिले पुरानो निजामती सेव ऐन २०४९ अनुसार निजामती प्रशासन सञ्चालनमा छ । उक्त ऐनअनुसार देश सङ्घीय गणतन्त्रातम व्यवस्थामा गइसकेपछि पुरानो ऐनको राम्रो पक्ष पनि अवलम्बन गर्न नसकिएको र नयाँ ऐन पनि नआएका कारण समस्या भएको छ । एउटा ऐनविहीन अवस्था भइसकेको छ । जसले गर्दा कर्मचारीको व्यवस्थापन गर्न, कर्मचारी परिचालन गर्न र उनीहरुको क्षमताअभिवृद्धि गर्न समस्या भइरहेको छ । निजामती ऐन ढिलो आउनुमा कुनै एउटा पक्षको कमीकमजोरी भन्दा पनि समष्टिगत रुपमा हेर्नुपर्ने हुन्छ । राजनीतिक अस्थिरताका कारण पनि निजामती सेवा ऐन समयमै आउन सकिरहेको छैन ।

यो राजनीतिक विषय पनि हो । निजामती सेवा ऐनको समयमै मस्यौदा तयार गरेर संसद् र संसदीय समितिमा पुगेको विधेयक अड्कियो । त्यहाँ राजनीतिक दलहरुबीच समझदारी नहुँदा विधेयकले गति लिनसकेको छैन । संसदीय समितिमा पनि धेरै संशोधनको धेरै कुरा आएको छ । तर, हामी आशावादी छौँ यो ऐन चाँडै प्रक्रियामा गएर पारित हुनेछ । वर्तमान सन्दर्भमा हाल रहेका राजनीतिक दलहरुबीच सशक्त र जुझारुखालको निजामती सेवा बनाउने गरी सङ्घीय निजामती ऐन जारी गर्ने कार्य गर्न सकेमा यस वर्षको निजामती सेवा दिवसको सार्थकता रहने देखिन्छ ।
स्थायी सरकारको रुपमा लिइने निजामती कर्मचारी कार्यअवधि नसकिदै चाँडो चाँडो सरुवा हुने परिपाटीले पनि कर्मचारी प्रशासनमा केही समस्या ल्याएको छ । कर्मचारीको समग्र व्यवस्थापन र परिचालनका लागि ऐन कानुनको महत्वपूर्ण भूमिका हुने गर्दछ । ऐनको अभावमा प्रशासनिक र व्यवस्थापकीय कार्य चुनौतीपूर्ण बन्दै गएको छ । ऐन नै नभएपछि कुन चिजलाई पालना गर्ने, त्यसैले जुन कार्यालयमा जसले नेतृत्व गरेको हुन्छ, उहाँहरुले गरेको निर्णलाई आधार मानेर जानुपर्ने बाध्यता छ । अहिलेको मुख्य समस्या ऐन नै नभएकाले कर्मचारीको व्यक्तिगत र मनोमानी रुपमा सरुवा गर्ने प्रवृत्ति बढिरहेको छ ।

पहिले यस्तो थिएन । निश्चित अवधि तोकिएको हुन्थ्यो, व्यवहारमा पनि लागू हुन्थ्यो यसको समाधान ऐन आएपछि नै हुन्छ । कर्मचारीचन्त्रमा पनि राम्रा र खराब मान्छे दुबै हुन्छन् । सर्वोत्कृष्ट कर्मचारीको मापदण्ड बनाएर तल्लो तहदेखि माथिल्लो स्तरसम्मका कर्मचारीमा पारदर्शी वातावरण बनाउन सकेको भए निश्चयनै नेपालमा धेरै उत्कृष्ट कर्मचारी छन् योग्य र सक्षम छन् । तर, मापदण्डको अभावमा अन्तिम समयमा निश्चित क्षेत्रमा खोजेर उत्कृष्ट कर्मचारी पाउन कठिन हुन्छ निजामती प्रशासनमा वित्तीय अनुशासनको कुरा पनि आउने गरेको छ । अख्तियार दुरुपुयोग अनुसन्धान आयोगको त्रासले कर्मचारीहरु निर्णय प्रक्रियामा डराउने प्रवृत्ति पनि पछिल्लो समय देखिएको छ ।

वित्तीय उत्तरदायित्वका लागि आर्थिक ऐन तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावली २०७६ को पालना गर्नु निजामती कर्मचारीको कर्तव्य हो । कर्मचारीमा चाँडो सरुवा हुँदा विषय विज्ञता र निर्णय क्षमताको पनि कमी हुन्छ । अर्कोकुरा कर्मचारीमा पनि सबै राम्रा छन् भन्न सकिन्न, केहीको अज्ञानता र गलत मनसायले पनि नकारात्मक आचरणमा लागेका हुन्छन् । त्यसैले ऐन कानुनको कसैले उल्लङ्घन गरेमा । निर्णय प्रक्रियामा आर्थिक ऐन विपरीत गएमा अख्तियारजस्ता नियमक निकायले अनुसन्धान र छानबिन गरेर कानुनी दायरामा ल्याउनुपर्ने विषय स्वभाविक हुन् । अन्त्यमा निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रबाट हुने व्यवहारले सुशाशन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ ।(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं
प्रवक्ता हुनुहुन्छ)
–––

देशलाई स्वीट्जरल्याण्ड बनाउँछु भन्दै हिँडेका प्रचण्ड अहिले बंगलादेश बनाउँछु भनेर तर्साउँदैछन्ः गोकुल बास्कोटा

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु नसुध्रिए नेपालको हालत पनि श्रीलंका र बंगलादेशका जस्तो हुने बताएपछि नेकपा एमालेका नेताहरु त्यसको प्रतिवादमा उत्रिएका छन् ।

एमाले नेताहरुले प्रचण्डको यो अभिव्यक्तिलाई सत्ता छाड्नुपर्दाको बर्बराहतको संज्ञा दिने गरेका छन् । एमाले नेता गोकुल बास्कोटाले पनि पहिला स्वीट्जरल्याण्ड बनाउँछु भन्ने प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउने काम गरेको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक संजालमार्फत बास्कोटाले यो प्रचण्डको सत्ता गएको बर्बराहट र कर्कस मात्र भएको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रचण्ड बंगलादेश बनाउँछु भनेर तर्साउँदै छन् । पहिला स्वीट्जरल्याण्ड बनाउँछु भन्थे । तासेलाई तासै चपाउन, जाडेलाई थाममा बाँधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे । आज ती क्रान्तिकारी उनैसँग छैनन् र कयौं त आफैं जाँडे, जुवाडे र महिला हिंसाका नमुना बनिसके । फगत सत्ता गएको बर्बराहट हो, उनको कर्कस ।’

यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार

काठमाडौँ ।  सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ । सो पुरस्कार २०८२ को २२ औं निजामती सेवा दिवसको अवसरमा प्रदान गरिनेछ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलमा कार्यरत सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रदेश सचिव शङ्करबहादुर केसी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत उपसचिव राजुप्रसाद गुरागार्ईं, कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा कार्यरत उपसचिव चुडाराज न्यौपाने, गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण सापकोटाले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव चीरञ्जीवी नेपाल, नापी कार्यालय खाँखबारीमा कार्यरत सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा कार्यरत दरोगा बुनु राना, समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्ताङमा कार्यरत निलबहादुर पुर्जा मगरलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिइनेछ ।

त्यस्तै, विभिन्न कार्यालयमा कार्यरत ३० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । मन्त्रालयका अनुसार, सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटामा कार्यरुत एकाइ प्रमुख मोहन राई, कोलेनिका बर्दियाका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव आनन्द पौडेललाई प्रदान गरिनेछ ।  

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीका सिडिइ रमेश थिङ, क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत काफिल अहमद, सडक विभाग काठमाडौँमा कार्यरत सिडिइ श्यामकुमार यादव र वनस्पति अनुसन्धान केन्द्र कैलालीमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टलाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।  

यसैगरी नेपाली दूतावास बेइजिङमा कार्यरत उपसचिव (काउन्सेलर) सविता नकर्मी, भीमफेदी गाउँपालिका मकवानपुरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आन्तरिक राजश्व कार्यालय बानेश्वरमा कार्यरत कर अधिकृत वेदप्रसाद खनाल, लोक सेवा आयोग कमलपोखरीमा कार्यरत शाखा अधिकृत प्रेमकुमार पोखेरललाई पनि उक्त पुरस्कार दिइनेछ ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत शतलसिंह उखेडा, उच्च अदालत तुलसीपुरमा कार्यरत इजलाश अधिकृत कृष्णप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत खाद्य अनुसन्धान अधिकृत सुशिला सिंह, जिल्ला सहकारी वकिल कार्यालय हुम्लामा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता शिलुकमा लिंथेप, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत शाखा अधिकृत उदयप्रकाश लिम्बू, महालेखा परीक्षकको कार्यालय अनामनगरमा कार्यरत लेखापरीक्षण अधिकारी कृष्णबहादुर खत्रीलाई पनि उक्त पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिनियर अनमी (छैटौंँ) राममाया गुरुङ, सङ्घीय संसद् सचिवालय सिंहदरबारमा कार्यरत सिनियर अहेव (छैटौँ) पुष्पराज रिजाल र राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवनमा कार्यरत नायब सुब्बा रोशनी नेपाललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टङ्गालमा कार्यरत नायब सुब्बा राजेद्रप्रसाद ढुङ्गाना, राष्ट्रपति कार्यालयमा कार्यरत नायब सुब्बा प्रतिभा काफ्ले, जिल्ला निर्वाचन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर गणपैत यादव, हुम्ला जिल्ला अदालतमा कार्यरत नायब सुब्बा छत्तबहादुर बोगटी,  कैलाली जिल्ला अदालतमा कार्यरत डिट्ठा हिरालाल सुनार, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा कार्यरत हल्का सवारी चालक मानबहादुर दराई, अर्थ मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी जनक महत र सडक विभाग काठमाडौँमा कार्यरत कार्यालय सहयोगी टहदबहादुर जिरेललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ ।

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

२१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ भने। सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए।

मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए।

निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उनले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे। उनले सन्देशमा र कर्मचारीहरू उच्च नैतिक आचरण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ ।

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्ड फ्लु) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना बर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए।

“मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन”, मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चरा’हरूमा बर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ ।

सन् २०२२ मा बर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो।

बर्डफ्लु सबैभन्दा बढी जङ्गली चरा चुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ।

‘यागी’ चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान हुरीका कारण कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको अधिकारीहरूलेबताएका छन् ।

यागीका कारण चीनको डिङ्गान काउन्टीमा दुई जनाको मृत्यु भएको छ भने वेन्चाङ सहरमा शनिबार १२ जना र हाइकोउ सहरमा ८० जना घाइते भएको प्रान्तीय प्रशासनले जानकारी गराएको छ ।

आँधी र वर्षा कम भएपछि हाइनानमा वागीका कारण जारी गरिएको चेतावनी अन्त्य गरिएको छ भने प्रान्तभरी उद्धार कार्यहरू सुरु गरिएको छ ।

विद्युतका कर्मचारीहरूलाई प्रभावित घरहरूमा बिजुली पुनस्र्थापना गर्न परिचालन गरिएको छ ।

वर्षा र आँधीका कारण अवरुद्ध ८९ वटा सडकमध्ये ५१ वटाको सडकको मर्मत सम्भार भइरहेको जनाइएको छ ।

प्रवाभित क्षेत्रमा रेल सेवाहरू शनिबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिएको छ भने किओङझाउ प्रान्तमा आइतबार साँझमात्र सेवाहरू पुनः सुरु हुने अनुमान गरिएको छ ।

यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहनेछ भने सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले शनिबारदेखि उडान सेवाहरू पुनः सुरु गर्ने जनाइएको छ ।

प्रान्तभरी १२ हजार ५०० भन्दा बढी सञ्चार स्टेसनहरू क्षतिग्रस्त भएको वेन्चाङ सहरले सञ्चार सुविधामा सबैभन्दा बढी क्षति बेहोरेको छ भने र पुनःस्थापनाका लागि कर्मचारीहरू खटिएका छन् ।

शुक्रबार पहिले चीनको हाइनानमा अवतरण गरेको यागीले त्यसपछि गुआङडोङ प्रान्तलाई प्रभावित पार्दै बिस्तारै भियतनामतर्फ मोडिएको छ । शनिबार भियतनामले तटीय क्षेत्रमा यागीबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट सावधानी अपनाउन चेतावनी जारी गरेको छ ।

च्याउमा आत्मनिर्भर बनाउन चितवनको कालिकामा व्यावसायिक उत्पादन सुरु

चितवन । चितवन जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताए ।

नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उहाँले जानकारी दिए ।

नगरप्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकाले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजनाअनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताए । उनका अनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो । यसअघि यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो ।

फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल १० टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिए।

“निर्मित १२ वटा टनेलमा ६५ दिनमा करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमा गरेका छौँ । एक वर्षमा छ पटकसम्म उत्पादन गर्न सकिने भएकाले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको छ”, उनले भने ।

प्रतिकिलो रु चार सयमा डल्ले च्याउ बिक्री हुन्छ । यहाँ उत्पादित ७० प्रतिशत च्याउ चितवनको बजारका साथै काठमाडौँ र मकवानपुरमा बिक्री हुने गर्दछ ।

गर्मी मौसम भएकाले वातावरण अनुकूलित टनेलमा च्याउ उत्पादन गरिएको हो । सुवेदीको भनाइ अनुसार तापक्रम मिलाउन ‘एयर हेण्डलिङ युनिट’ जडान गरिएको छ । “एउटा टनेल निर्माण गर्न रु १९ लाखको हाराहारी खर्च भएको छ भने प्रतिकिलो रु ३२ को कम्पोष्ट मल प्रयोग गरिँदै आइएको छ”, उनले भने ।

फार्मले विसं २०७९ पुसदेखि च्याउ उत्पादन थालेको हो । सुरुमा पाते च्याउ उत्पादन गरिकामा अहिले डल्ले च्याउको उत्पादन थालिएको सञ्चालक सुवेदीले बताउनुभयो । यसअघि एक सय पाँच टनेलमार्फत पातेच्याउ उत्पादन हुँदै आएको थियो । यो च्याउ चितवन, काठमाडौँ हुँदै मुस्ताङसम्म पुग्दछ ।

मुलुकमा पहिले डल्ले च्याउ बाहिरबाट आउने गरेकामा अहिले यहाँको उत्पादनले धानेको सुवेदीले जानकारी दिए । नेपालमा यो बाहेक १० वटा फार्मबाट डल्ले च्याउ उत्पादन हुँदै आएको छ ।

जनयुद्धलाई महान भन्न सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको वकालत नगर्न माओवादी अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।

२१ औं निजामती सेवा दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धलाई महान भन्न नसकिने बताएका हुन् ।

प्रधानन्त्रीले जनयुद्ध महान थियो भने किन त्यो बाटो छाडेको भन्दै प्रश्नसमेत गरेका छन् । उनले भने, ‘ जनयुद्ध महान थियो भनेको सुन्छु । यदि त्यो महान् थियो किन छोड्या त ? शान्ति प्रक्रियामा किन आएको ? महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो नि !’

उनले हिंसालाई महिमा मण्डन र प्रशंसा नगर्न आग्रह गरे । प्रधानमन्त्रीले झापा आन्दोलन भने सही नीतिका साथ भएको दाबी गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा निजामती सेवाको भूमिका र प्रशंसनीय रहेको बताए । कर्मचारीले आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, ‘नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको छ । निजामति प्रशासनले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदानले आन्दोलनहरू सफल भएका छन् ।’

आरन पेसाले घर व्यवहार धान्न मुस्किल

दार्चुला  । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ ।

शैल्यशिखर नगरपालिका–६ का पद्मे लुहारले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुस्किल भएको बताए । ‘यसबाट आय आर्जन खासै छैन’, उनले भने, ‘यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन ।’

दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन् । उनीहरूलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन । ‘सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो’, उनले भने ।

नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएको स्थानीय तेजुवा लुहारको भनाइ छ । उनले राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै आरन पेसा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने बताए ।

पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हुँदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका–३ का फगिर टमाटा बताउँछन् ।

पछिल्लो समय युवाहरू परम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उनको भनाइ छ ।

दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको टमाटा बताउँछन् । औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनको भनाइ छ ।

आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो । विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ । गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनी बताउँछन् ।

सोह्र वर्षको उमेरदेखि आरन पेसा सम्हाल्दै आएका लोहार ७५ वर्ष हुँदासम्म यही पेसामा सक्रिय थिए । परम्परागत रुपमा गर्दै आएको आरन पेसाबाट परिवारको खर्च धान्न समस्या भएको उनको भनाइ छ ।

यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरूका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने लोहारको माग छ ।

समाजले हेर्ने दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ । युवाहरु पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ ।

धुलिखेल–खावा सडकमा थप दुई दिन मालवाहक गाडी नचल्ने

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

सडक मर्मतलाई निरन्तरता दिन भक्तपुरस्थित सडक डिभिजन कार्यालयले शुक्रबार र शनिबार टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएको थियो ।

काठमाडौँको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न थप दुई दिन आज र भोलि मालबहाक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ ।

काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको स्वाशासित क्षेत्र तिब्बत जोड्ने तातोपानी नाका पुग्ने प्रमुख सडक यही हो ।

डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले बिहीबारेदेखि निर्माणको कामलाई निरन्तरता दिने मौखिक सहमतिपछि बिहीबार र शुक्रबार निर्माणलाई निरन्तरता दिन मालबाहक यातायाका साधनलाई पूर्णरुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि पनि गत जेठमा उक्त सडकखण्ड विस्तार कार्यका लागि करिब एक हप्ता दैनिक चार घण्टा यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक)बन्द गरिएको थियो । साथै दुईसाता टिपरलगायत मालवाहक यातायातका साधनलाई पनि पूर्णरुपमा निषेध गरिएको थियो ।

केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालबहाक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय बजेट विनियोजन गरिएको थियो ।

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, पायो ५० सिट

झापा ।  बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको जानकारी दिए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले बताए । 

विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए ।

सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए ।  

विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए ।

“मेची अञ्चलबासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुशीको विषय हो”, उनले भने । बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

एपिएफलाई ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि

कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको भलिबल कोर्टमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड काठमाडौँलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको हो । विजेता एपिएफले नगद एक लाख ५० हजार ट्रफी र मेडल प्रमाणपत्र पुरस्कार पायो ।

पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट भने गुमाएको थियो । उसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको थियो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो एपिएफले २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको न्यू डायमण्डले एक लाख एक सय ११ पुरस्कार पायो । 

प्रतियोगितामा बाग्लुङको गलकोट तृतीय भयो । उसले  ५० हजार एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर घोषित भए । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । प्रतियोगितामा एपिएफकी पूजा चौधरी ‘मस्ट भ्यालुयबल प्लेयर’ बनिन् ।

यसैगरी पुरुषतर्फको फाइनल खेल भने आज रोकिएको छ । दुई विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको खेल ‘लाइट प्रोटेस्ट’ का कारण स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए । 
उपाधि प्रतिस्र्धामा दुवै टोलीले समान एक/एक सेट जितेका थिए ।

एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्र्रो सेट समान २५–२३ ले जितेको थियो । पुरुषतर्फको फाइनल खेल शनिबार विहान सञ्चालन हुने आयोजकले जनाएको छ ।

समय थपेर पनि हुनै नसक्ने काम छ भने जोसुकै भएपनि ठेक्का तोड्नतिर लाग्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन् ।

“अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन । नतोड्नुपर्ने ठेक्का तोडिएको छ । हामीले हुनुपर्ने कामलाई अनावश्यकरुपमा अल्झाउन दिनु हुँदैन । सबैसँग कानुनसम्मतरुपमा सबैलाई समान गर्न व्यवहार हुनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “हामीले यो, ऊ भनेर हेर्ने होइन, समयमा गुणस्तरीय विकासका काम हुनुपर्छ । समय थपेर पनि हुनै नसक्ने काम वा ठेकेदार छ भने जोसुकै भएपनि ठेक्का तोड्नतिर लाग्नुपर्छ । नियमन र अनुगमनका काम प्रभावकारी हुनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सवारी साधनको इम्बोष्ट नम्बर प्लेट उत्पादन र जडानका लागि भएको सम्झौतापछिका कार्यप्रगतिबारे अध्ययन गर्नुपर्ने अवस्था आएको पनि बताए । यातायात व्यवस्था विभाग र डेकाटुर आइडी कम्पनीबीच २०७३ सालमा सवारीसाधनमा चिप्ससहितको मेसिन आरएफआइ रिड गर्न मिल्ने प्रविधिसहित जडान गर्ने सम्झौता भएको थियो ।

सम्झौता बमोजिम पहिलो चरणमा २५ लाख इम्बोष्ट नम्बर प्लेट उत्पादन हुनुपर्नेमा हालसम्म पाँच लाख (तीन प्रतिशत) मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ । उक्त इम्बोष्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुने गरी सम्झौता भएकामा अब कुन भाषामा छाप्ने भन्ने निर्णय नेपाल सरकारबाट हुनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।

यस्तै सवारी चालक अनुमतिपत्रको ट्रयाल पास गरी राजस्व तिरेर बसेका स्मार्ट कार्ड पाउन बाँकी २० लाख सेवाग्राही रहेको प्रधानमन्त्रीलाई जानकारी  गराइएको छ ।

जर्मनीको मुहल्बर कम्पनीबाट ठेक्का सम्झौता बमोजिम प्राप्त १२ लाख थान स्मार्ट कार्डलाई भारतको मद्रास कम्पनीबाट मास प्रिन्टर छपाइ गर्नुपर्ने बाध्यता सरकारसँग रहेको छ । हाल एउटा मात्र मास प्रिन्टर मेसिन रहेको छ भने अर्काे मेसिन खरिदका लागि ठेक्का हुन नसकेको र मेसिन चलाउने जनशक्तिको अभाव रहेको ब्रिफिङमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले रेलवे विकास आयोजनामा सडकको अधिकार क्षेत्र यकिन गरी दिनुपर्ने मुअब्जा दिन र पानीजहाजका कामलाई अगाडि बढाउन आग्रह गर्दै पानीजहाजलाई सीमापार सञ्चालनका लागि छिमेकी मुलुकले आवश्यक ठाउँ दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले हाल आर्थिक स्थिति कमजोर भएकाले नयाँ कामको थालनी नगरी सुरु भएका आयोजनालाई सम्पन्न गर्न ध्यान दिन आग्रह गरे । प्रधानमन्त्री ओलीसमक्ष मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, मातहतका निकायका प्रमुखहरुले विद्यमान अवस्था, चुनौती र सुधारका योजनबारे जानकारी गराएका थिए ।

बालेनको हालसम्मको गतिविधि र निर्णय नगरवासीको पक्षमा नरहेको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्नुपर्ने अदालतको आदेशले ऐतिहासिक सम्पदाहरु नै जोखिममा पर्ने बताएको छ ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिले विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको निर्णयले काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू पर्ने भएकाले यसमा पुनर्विचार गर्नुपर्ने बताएको हो ।

त्यस्तै कांग्रेसले महानगर प्रमुख बालेन साहको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरूको हित र आवश्यकतालाई प्राथमिकता नदिएको उल्लेख गरेको छ ।

उसले महानरवासीको हकहितको संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरवासीको हक हितमा समर्पित रहनुपर्ने, नगरवासीहरूको पक्षमा कार्य गर्नुपर्ने काठमाडौं महानगरका जननिर्वाचित प्रमुखको, हालसम्मको गतिविधि र निर्णय नगरवासीको पक्षमा काम नगरेको स्पष्ट हुन्छ ।’

द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गर्न प्रधानमन्त्रीलाई बाबुरामको १९ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भट्टराईले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन आग्रह गरेका हुन् ।

नेसपाले प्रतिष्ठित, सक्षम र सर्वस्वीकार्य व्यक्तिहरूको नेतृत्वमा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग यथाशीघ्र गठन गर्न माग गरेको छ ।

यसैगरी दुवै आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै बेपत्ता परिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा परिपूरणलाई अधिकारको रुपमा राखिए पनि कस्तो प्रकृतिको घटनामा पीडित भएका व्यक्तिहरूलाई केकति परिपूरण दिने भन्ने बारेमा स्पष्ट रूपमा पीडितमैत्री ढंगले किटान गरी आवश्यक नियमावली, कार्यविधि र निर्देशिका बनाउन पार्टीले जोड दिएको छ ।

यस्ता छन् १९ बुँदे माग

१) विस्तृत शान्ति सम्झौताको मूल मर्म राज्यको अग्रगामी पुन: संरचनामार्फत सशस्त्र द्वन्द्वको कारक तत्वहरूलाई निराकरण गर्ने हो। द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गरिनुपर्दछ।

राजनीतिक परिवर्तनका उपलब्धीहरूको रक्षा गर्दै समाजमा मेलमिलापको माध्यमबाट दिगो शान्ति स्थापना हुनु पर्दछ र संक्रमणकालीन न्यायको विविशाखलाई आत्मसात गर्दै प्रतिष्ठित, सक्षम र सर्वस्वीकार्य व्यक्तिहरूको नेतृत्वमा ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग यथाशीघ्र गठन गरिनु पर्दछ।

२) सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएका व्यक्तिहरूको छानविन आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गरिनु पर्दछ।

३) बेपत्ता परिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा परिपूरणलाई अधिकारको रुपमा राखिए पनि कस्तो प्रकृतिको घटनामा पीडित भएका व्यक्तिहरूलाई के कति परिपूरण दिने भन्ने बारेमा स्पष्ट रूपमा पीडितमैत्री ढंगले किटान गरी आवश्यक नियमावली, कार्यविधि र निर्देशिका बनाइनु पर्दछ र सो को कार्यान्वयनको पाटोलाई सहज र सरल बनाइनु पर्दछ । त्यसै गरी मेलमिलाप प्रक्रिया कस्तो हुने र कसले गराउने भन्ने स्पष्ट व्यवस्था नभएकाले अब बन्ने नियमावलीमा मेलमिलापको विधि र प्रक्रिया बारेमा स्पष्ट व्यवस्था हुनु पर्दछ। यस कार्यका लागि मेलमिलाप विज्ञहरूसँग सहजीकरण गरी आवश्यक सहयोग लिनुपर्दछ।

४) बेपत्ता पारिएका नागरिकहरूको अवस्था बारेमा सत्यतथ्य पत्ता लगाई उनीहरूको यथार्थ विवरण तिनका परिवारहरूलाई यथाशीघ्र जानकारी गराई उनीहरूको अवस्था सार्वजनिक गरिनु पर्दछ।

५) परिपूरणको अधिकार सुनिश्चित गर्दा सम्बन्धित पक्षको अवस्था र औचित्यका आधारमा जीविकोपार्जनको लागि के कुरा आवश्यक छ, सो कुरालाई वस्तुगत रूपमा मध्यनजर गरी स्पष्ट ढंगले नियमावलीमा तोकिनुपर्दछ।

६) द्वन्द्वमा गम्भीर खालका अंगभंग भई जीविकोपार्जन गर्न नसक्ने पीडितहरूका लागि हेरचाह गर्ने (Care Taker) र निजहरूको जीविकोपार्जनलाई सहज बनाउनका लागि हेरचाह गर्ने व्यक्तिलाई समेत राज्यले उचित आर्थिक बन्दोबस्त गर्नुपर्दछ।

८) नेपालको संविधानको धारा ४२ (५) मा उल्लेखित मौलिक हकको प्रावधान निर्बाध ढंगले उपभोग गर्ने गरी केन्द्र, प्रदेश र स्थानीय तहमा दिइने सबै सावर्जनिक पद, सेवा-सुविधा र कर्मचारी नियुक्ति गर्दा घाइते, अपाङ्ग, सहिद तथा बेपत्ता पारिएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिनुपर्दछ।

९) लोकसेवा आयोग सम्बन्धी ऐनलाई संशोधन गरी द्वन्द्वकालका घाइते, अपाङ्ग, सहिद तथा बेपता परिवारका सदस्यहरूलाई निश्चित कोटा छुट्याई निजहरू मित्रबाट नै प्रतिस्पर्धा गराउने व्यवस्था हुनुपर्दछ ।

१०) द्वन्द्वबाट प्रभावित शहिद परिवार, बेपत्ता परिवारका सदस्य, घाइते, अपाङ्गहरूलाई आजीवन पेन्सनको व्यवस्था गरिनु पर्दछ।

११) संक्रमणकालीन संयन्त्रबाट द्वन्द्व पीडित भनी परिचयपत्र प्रदान गरेका व्यक्तिहरूलाई सो परिचयपत्रका आधारमा राज्यका हरेक अङ्गहरूमा विशेष सुविधा तथा सहुलियत दिने व्यवस्था गरिनु पर्दछ।

१२) द्वन्द्वकालीन घटनासँग सम्बन्धित नियमित अदालतमा रहेका सम्पूर्ण मुद्दाहरूलाई संक्रमणकालीन न्याय प्रणालीको क्षेत्राधिकारमा ल्याएर छिटोभन्दा छिटो टुङ्ग्याउन आवश्यक पहलकदमी लिइनु पर्दछ।

१३) २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म द्वन्द्वका समयमा भएका घटनाहरू नियमित फौजदारी अदालतबाट नहेरी संक्रमणकालीन न्यायप्रणाली अन्तर्गत गठित आयोगहरूबाट मात्र न्याय निरुपण गर्ने व्यवस्था गरिनु पर्दछ।

१४) सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिहरू र निजका परिवारहरू तथा सहिद भएका व्यक्तिहरूको स्वामित्वमा रहेका चल/अचल सम्पतिहरू निजहरूका नजिकका हकवालाहरूलाई परिचयपत्रका आधारमा सहज ढंगले हक हस्तान्तरण, नामसारी र दाखिला खारेज गर्ने व्यवस्था गरिनु पर्दछ।

१५) द्वन्द्वबाट प्रभावित भएका परिवारहरूलाई समाजमा पुनःस्थापना गरी निजहरूका परिवारहरूले गरेका योगदानहरूलाई अभिलेखीकरण गर्न र सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा सार्वजनिक स्थलहरू जस्तै संग्रहालय, शैक्षिक संस्था, बाटोघाटो, पुललगायत भौतिक पूर्वाधारहरूको नामकरण गरी निर्माण गरिनु पर्दछ।

१६) विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन राज्यबाट दिगो शान्ति, राजनीतिक स्थिरता र विकासका एकीकृत कार्ययोजनाहरू लागू गरिनुपर्दछ।

१७) द्वन्द्वकालीन घटनाका विषयहरूलाई लिएर संक्रमणकालीन संयन्त्रमा उजुरी गर्ने उजुरीकर्ताहरू, साक्षीहरू, पीडितका आफन्तहरू समेतको संरक्षण गर्ने व्यवस्था गरिनुपर्दछ।

१८) सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षले बेपत्ता पारी यातना दिई विभिन्न ढंगले नियन्त्रणमा राख्दा र सोही कारणले पछि मृत्यु भएकाहरूलाई सहिदकै सूचीमा र थुनामुक्त बेपत्ता योद्धाहरूलाई आंशिक बेपतामा सूचीकृत गरी निज र निजका परिवारहरूलाई उक्त अवस्थामा पुग्न गएको शारीरिक तथा मानसिक यातना र क्षतिको उचित मूल्याङ्कन गरी उचित परिपूरण, क्षतिपूर्ति र आवश्यक राहत प्रदान गरिनु पर्दछ।

१९) सशस्त्र द्वन्द्वका क्रममा कुनै पनि बालबालिकाहरूलाई युद्धमा बालसेनाका रूपमा सहभागी नगराइएको तर राज्यद्वारा सशस्त्र द्वन्द्वका क्रममा सहभागी भई सहयोग पुर्याएका तथा समर्थन गरेका व्यक्तिहरूका परिवारका बालबालिकाहरूको संरक्षणका लागि सँगै लिएर हिँडेका कारण त्यस्ता बालबालिकाहरूलाई बालसेना भनी अपराधीकरण गर्ने कार्य गरिनु हुँदैन।

गृहमन्त्री लेखकसँग विश्व बैंकका पदाधिकारीको भेट

काठमाडौँ ।  नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले  गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको थियो ।

गृहमन्त्री लेखकले विसं २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले पुनःनिर्माणमा सहयोग पुगेको बताएका थिए । विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्नु बाँकी रहेको विषयमा सिस्लेनले चासो राखेका थिए ।

“ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौँ”, उनले भने ।

गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नहुने उल्लेख गर्दै विश्व बैंकले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए ।

“जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनःनिर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौँ ? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्यो”, उनले भने । 

चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन्। २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पुरा नभएपछि कृषि मन्त्री अधिकारी शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेका थिए।

११औ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ। तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ।

त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्। सम्झौता अनुसार काम नसकिए कानुनअनुसार कारबाही हुने र गर्ने जनाउँदै मन्त्री अधिकारीले तत्काल भवन बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजिकरण गर्नका लागि तयार रहेको बताए। चोभारमा रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुबै लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्।

२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार काम नभएपछि २०८०चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औँ पटक म्याद थप भएको थियो।

सम्झौता अनुसार काम सम्पन्न गर्न झन्डै एक साता मात्र समय बाँकी छ। तर, पूर्व सहमति अनुसार अझै १३ प्रतिशत काम पुरा हुन सकेको छैन भने समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ।

लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषि मन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका हुन्।

लोसपाले आगामी वैशाखमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मौजुदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ । यही भदौ १९ र २० गते काठमाडौँमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख २६ गते केन्द्रीय महाधिवशेन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाको सङ्कलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए ।

लोसपाले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी तीन सदस्यीय कार्यदल बनाएको छ ।

बैठकले बृहत राजनीतिक शाक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वानसमेत गरेको छ ।

माध्यामिक शिक्षा परीक्षा (एसइई)को परिणाम खस्किदै गइरहेकामा चिन्ता व्यक्त गर्दै लोसपाले विषयगत शिक्षकको आभाव र समय सापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ । पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समय सापेक्ष सीपमुलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग माग गरेको छ ।

        मधेस प्रदेशलगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए । लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदान निकासको लागि माग गरेको छ ।

‘एकल सेवा केन्द्र’ बाट काठमाडौं महानगरपालिकाको एकद्वार सेवा प्रवाह सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ ।

महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनु पर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवा प्राप्त हुने व्यवस्था भएकोले एकद्वार भनिएको हो ।

निजामती सेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नम्बर ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो । उनीहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिइसकेका थिए ।

दिवसका अवसरमा पारेर आयोजना हुने कार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवा शुभारम्भ गरेको हो ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

‘एकल सेवा केन्द्र’ पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो । शुभारम्भपछि अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो । यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिनु हाम्रो कर्तव्य हो । केन्द्र यसका लागि स्थापना भएको हो । केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जानेछौँ ।’

‘केन्द्र इगभर्नेन्सको व्यवहारिक प्रयोग हो ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने, नागरिकका घरदैलोमा उत्तरदायी सरकार भएको अनुभूति गराउने प्रयास हो ।’

सेवाग्राही सर्वेक्षणको प्रसङ्ग जोड्दै उनले भने, ‘गएको साउनमा सेवाग्राही सर्वेक्षण गरेका थियौँ । सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा गर्नुभएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरै स्नातक तह वा सोसरहको शैक्षिक उपाधि प्राप्त गर्नुभएका सेवाग्राही हुनुहुन्थ्यो । उहाँहरुले दिनुभएको सुझावका आधारमा गएको वर्ष जारी गरिएको एकल सेवा केन्द्र सञ्चालन कार्यविधिका आधारमा सेवा थालेका हौँ ।’

महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन ।

प्रवक्ता मानन्धरले भने, ‘प्रविधिका ज्ञान हुनेले प्राविधिक साधन तथा उपकरणको सहयोग लिएर यसमा ज्ञान नहुनेले डेस्कका कर्मचारीबाट जानकारी लिएर सेवा लिन सक्नुहुनेछ ।’

केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ । स्वास्थ्य विभागका प्रमुख दीपक केसी भन्छन्, ‘सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने बवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नुहुनेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफीको प्रबन्ध केन्द्रका सुविधा हुन् ।

केन्द्रबाट प्रवाह हुने सेवाहरु

एकल सेवा केन्द्र सञ्चालन कार्यविधिले सेवा लिन आउने सेवाग्राहीलाई एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था गरेको छ । जसअनुसार केन्द्रबाट सेवाग्राहीलाई आतिथ्यता प्रदान गर्ने र माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ ।

आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिनेछ । सूचना अधिकारी एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य कार्यविधिका व्यवस्था उदृत गर्दै भन्छन्,‘आवश्यकताअनुसार टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराइनेछ । विद्युतीय माध्यमको प्रयोग गरेर सम्भव भएसम्म छिटो सेवा प्रदान गरिनेछ । कुनै कारणले समय लाग्ने भएमा कति समय लाग्छ, भन्ने सम्भावित समयमा विषयमा जानकारी गराइनेछ ।’

कर्मचारी सम्बन्धी व्यवस्था

अधिकृत स्तर सातौँ वा आठौँ केन्द्रको प्रमुख हुनेछ । केन्द्रमा एक जना महिलासहित २ जना अधिकृत स्तर छैटौँ तहका जन सम्पर्क अधिकृत हुनेछन् । नर्सिङ् सेवासमेत उपलब्ध गराउन सक्ने मनोसामाजिक परामर्शदाता १ जना, महानगर प्रहरी बलबाट नगर प्रहरी नायव निरीक्षक १ जना र श्रेणीविहिन ३ जना कार्यालय सहयोगी हुनेछन् ।

केन्द्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र कार्य सञ्चालनमा देखिएका समस्या समाधान गर्न प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख स्तरको कर्मचारीलाई नोडल अधिकृत तोक्न सक्ने व्यवस्था छ ।

सेवाग्राहीले सेवा लिने माध्यमहरु

सेवाग्राहीहरुले कार्यालयमा आफैँ उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, महानगरपालिकाको वेभसाइट वा मोवाइल एप्लिकेसनमा दिएका निर्धारित विकल्पको प्रयोग गरेर र कार्यालयका औपचारिक सामाजिक सञ्जालहरुको माध्यम प्रयोग गरेर सेवा लिन सक्नेछन् ।

भौतिक रुपमा उपस्थित हुने सेवाग्राहीले कार्यालय समयमा र विद्युतीय माध्यमबाट सेवा लिन चाहनेले जुनसुकै समयमा पनि सेवाको माग गर्न सक्नुहुनेछ । यसरी सेवा माग गर्दा नाम थर र ठेगाना, सम्पर्क मोवाइल नम्बर, माग गरेको सेवा सम्बन्धी पूर्व निर्धारित फाराम भए त्यसै अनुरुप र नभए आफूले प्राप्त गर्न चाहेको सेवा उल्लेख गर्नुपर्छ ।

प्राथमिकता

तत्काल सम्बोधन नगरिए महानगरपालिका वा सेवाग्राहीलाई गम्भीर असर पर्ने खालका मागलाई पहिलो प्राथमिकतामा राखिनेछ । उच्च महत्व दिएर कारवाही अगाडि बढाउनु पर्ने सेवालाई अति जरुरी, प्राथमिकतामा राखेर कारवाही अगाडि बढाउनु पर्ने सेवालाई जरुरी र प्राथमिकतामा राखिरहनु नपर्ने क्रमशः सम्बोधन गर्दै लैजानु पर्ने सेवालाई सामान्यमा राखिनेछ ।

सेवा उपलब्ध गराउने प्रक्रिया

सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ ।

यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ । सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेभ पेजबाट हेर्न सक्नेछन् ।

श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए।

६० बल खेलेका उनले १० चौका प्रहार गरे। नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए।

५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक चार विकेट लिए।

नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु, गाउँले त्रसित

बाँके । बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् ।

नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नम्बर ६ स्थित गङ्गापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए ।

केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो । बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउनेक्रम बढेको स्वास्थ्यचौकी इञ्चार्ज बुढाथोकीले बताए ।

‘यो बेला मौषमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्’, उनले भने, ‘झाडापखालाको प्रकोप छैन, तर एकजनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउनेक्रम बढेको छ ।’

स्वास्थ्यचौकीमा बिहीबार एकैदिन एक सय छजना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए । जसमध्ये ४५ जनाले आउ र पखालाको लक्षण देखिएको छ । त्यसमध्ये तीनजनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ ।

अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू फेलापरेको स्थानीय सोहनलाल यादवले बताए । गेग्ली गाउँ र सोनवर्षामा गरी चारजनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे । गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए ।

गाउँपालिकामा कुनै पनि किसिमको सङ्क्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए । यस्तै बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी विश्वव्यापी सञ्जालको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ ।

सञ्चय कोषको अध्यक्षमा सचिव घिमिरे

सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ । कोषको सञ्चालक समितिको अध्यक्षको समेत काम गर्नेगरी सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो ।

यस्तै, कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनयन गरिएको छ ।

जग्गा प्राप्तिको स्वीकृति

मन्त्रिपरिषद् बैठकले लहान सुखिपुर एक सय ३२ केभी प्रसारण लाइन आयोजना तथा रुपनी बोदेबरसाइन एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिब आठ बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

नेपालगञ्ज नानपारा एक सय ३२ केभी प्रसारण लाइन आयोजनालाई बाँके जिल्लामा प्रसारण लाइनको टावर प्याड निर्माणका लागि करिब दुई बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ । यस्तै, भुमही हकोइ एक सय ३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि नवलपरासी जिल्लामा राष्ट्रिय वन क्षेत्रको १२ दशमलव ६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।

यसैगरी माथिल्लो मेवा खोला ए जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङमा राष्ट्रिय वनको तीन दशमलव २१ हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति दिइएको छ । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका लागि मकवानपुरमा राष्ट्रिय वनको ५१ दशमलव ८७ हेक्टर जग्गा प्रयोगका लागि स्वीकृति दिइएको छ ।

काठमाडौँ महानगरपालिका, आदर्श गाउँपालिका (डोटी), एगडारा गाउँपालिका (रौतहट), अन्नपूर्ण गाउँपालिका (म्याग्दी), तीनपाटन गाउँपालिका (सिन्धुली), गरुडा नगरपालिका (रौतहट), गुठीचौर गाउँपालिका (जुम्ला), बेनिघाट रोराङ गाउँपालिका (धादिङ), फाल्गुनन्द गाउँपालिका (पाँचथर), भोजपुर नगरपालिका (भोजपुर), नौमुले गाउँपालिका (दैलेख), मेरिङदेन गाउँपालिका (ताप्लेजुङ) र दमक नगरपालिका (झापा)लाई विभिन्न परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ । स्वास्थ्य संस्था, वडा कार्यालय र प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रयोग गर्नेगरी ती स्थानीय तहलाई अनुमति दिइएको मन्त्री गुरुङ्ले जानकारी दिए ।

दुग्ध विकास संस्थानलाई ६० करोड ऋण

बिम्स्टेक कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीको तेस्रो बैठक आगामी चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरिएको छ ।

चालु आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूध आपूर्तिकर्ता किसानलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्ने गरी प्रविधि सुधार तथा व्यवसाय विस्तार गर्न अर्थ मन्त्रालयले तत्काल ६० करोड बराबरको ऋण लगानी गर्न स्वीकृति दिइएको छ ।

संस्थानको पुनः संरचना एवं व्यावसायिक सुधारका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले समयबद्ध व्यावसायिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै, नेपाल इञ्जिनियरिङ परिषद्को रिक्त सदस्यमा विनोदबहादुर पाल, अम्बिका महत, लेखनाथ पाण्डेय, डा राममणि अधिकारी, निर्जला श्रेष्ठ चौधरी, श्यामकिशोर यादव र लैला श्रेष्ठलाई मनोनयन गरिएको छ ।

बालसुधार गृह भक्तपुर, मोरङ, कास्की र बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) बीच भएको सम्झौताको अवधि आगामी पुस मसान्तसम्मका लागि थप गरिएको छ ।

पलेशालाई पुरस्कृत गरिने

यस्तै, सरकारले पेरिस २०२४ पाराओलम्पिक खेलमा सहभागी खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख बराबरको पुरस्कार र सम्मान गर्ने भएको छ । प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार बराबरको पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

नेपालको राष्ट्रिय वनस्पति उद्यान र चीनको कुनमिङ वनस्पति उद्यानबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्र स्वीकृत गरिएको छ । समझदारीपत्रमा नेपालको तर्फबाट वनस्पति विभागका महानिर्देशकलाई हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिएको छ ।

जापानको टोकियोमा आगामी असोज ३ गते आयोजना हुने जापान–नेपाल रोजगार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।

गङ्गादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साविक वडा नं ५ सानडाँडाबाट वडा नं २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गरिएको छ ।

टेलिकममा अर्याल

यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याललाई नियुक्त गरेको छ । पहाडी निमित्त प्रबन्ध निर्देशकको रूपमा कार्यरत थिइन् । यस्तै, रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरिएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा २९ को प्रयोजनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुन अधिकृतलाई अनुसन्धान तथा तहकिकात गर्ने अधिकारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीन सरकारको काठमाडौँस्थित राजदूतावासबीच हुने स्वास्थ्यसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्रालयका सचिवलाई हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिइयो ।

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा गोविन्दबहादुर कार्कीलाई बढुवा गरिएको छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशमा पदस्थापन गर्ने निर्णय भएको छ । यसअघि पनि उनी सोही कार्यालयमा निमित्त प्रमुख सचिव पदमा कार्यरत थिए ।

यसैगरी निजामती दिवसका अवसरमा सरकारले उत्कृष्ठ कर्मचारी १० जना र ३० जनालाई निजामती पदक प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको नेपाल सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।

गृहले सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठायो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ । विधेयकमाथि सरोकार भएकाहरूसँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि शुक्रबार अर्थ मन्त्रालयको पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सह–सचिव भरतमणि रिजालले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा गत सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘सरकार बनेको सय दिनमा यो विधेयकलाई क्याविनेटमा पुर्याउने भन्ने हो तर मेरो लक्ष्य संसदमै पुर्याउने छ’, उनले भनेका थिए । 

अर्थ मन्त्रालयबाट राय–परामर्श प्राप्त भएपछि विधेयकलाई कानुन मन्त्रालय पठाइने छ । विधेयक त्यहाँबाट गृहमा आएपछि मन्त्रिपरिषदमा पठाइने सहसचिव रिजालले बताए । नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल नेपाल ऐन र निर्वाचन ऐन सय दिनभित्र संसद्मा पुर्याउने गृहमन्त्री लेखकको लक्ष्यअनुसार नै काम भइरहेको उनले बताए ।

विधेयकमा सशस्त्र प्रहरी बल नेपालले गर्ने काम सीमा सुरक्षा नै हो भनेर विशिष्टिकृत गरिएको छ । सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपद्मा उद्दार, दङ्गा नियन्त्रण, सशस्त्र विद्रोह र आतङ्कवादी गतिविधिविरुद्ध काम गर्ने कुरा विशिष्टिकृत रूपमा व्यवस्था गरिएको सहसचिव रिजालले बताए ।

उनकानुसार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गर्ने, विभिन्न दर्जाको पूर्वानुमानयोग्य, बढुवा र सरुवाको व्यवस्था ऐनमा नै गर्न लागिएको छ ।