`

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

दमास्कस । सिरियाको हामा प्रान्तमा इजरायली आक्रमणबाट कम्तीमा १४ जनाको मृत्यु भएको छ । सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उदृत गर्दै भनेको छ, ‘मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।’

यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो ।

इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ ।

अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजवुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमाण्डरको मृत्यु भएको थियो ।

त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दावी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।

बागलुङको मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

बागलुङ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो ।

ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ ।

मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका हुन् ।

अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिको प्रयोग गरि स्याउखेती गर्न थालेका छन् । पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनि व्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन् ।

ढोरपाटन–९ का होमलाल भुसालसहित चिरन घर्ती, कमानसिंह बुढा, झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीले सुरु गरेको स्याउ खेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ ।

उनीहरुले एक वर्ष अघि एक हजार तीन सय बिरुवा इटालीबाट ल्याएर लगाएका थिए । कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमा बिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर सम्याउने काम गरेको होमलालले बताए ।

उनले बिरुवा लगाएको एक वर्षमा करिब रु एक लाख ५० हजारको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउने जानकारी दिए ।

भुसालले भने, “पोहोर असारमा लगाएको बिरुवाले अहिले फल दिएपछि हामी धेरै खुसी भएका छौँ, हामीले थालेको स्याउखेतीमा ज्ञान केन्द्रले पनि सहयोग गरेकाले सहज भएको छ । इटालीबाट बिरुवा आएको हो, यस वर्ष यति परिणाममा फल्ला भन्ने लागेको थिएन, अर्को साल धेरै फल्ने अपेक्षा गरेका छौँ ।”

किसान चिरनकुमार घर्तीले गाउँमा खाली रहेको जग्गालाई सदुपयोग गरी व्यावसायिक स्याउखेती थालेको बताए । हालसम्म व्यक्तिगत रुपमा रु २० लाख र कृषि ज्ञान केन्द्रको अनुदानसहित रु २७ लाख लगानी भएको उनले जानकारी दिए।

एक हजार तीन सय बिरुवा लगाएकामा करिब एक हजारले फल दिएको भन्दै अझै १० हजार बिरुवा लगाउने योजना रहेको घर्तीले जानकारी दिए । सामूहिक रुपमा करिब एक सय रोपनी जग्गा भाँडामा लिएर उत्तरगङ्गा अर्गानिक एग्रो प्रालि दर्ता गरेर खेती सुरु गरेको उनले उल्लेख गरे ।

“रोजगारीका लागि विदेश जाँदा पनि दुःख गर्नुपर्छ, स्वदेशमा स्वरोजगारका अवसर सिर्जना गरी मेहनत गर्दा प्रशस्त खाम्दानी गर्न सकिन्छ । अहिले एक सय रोपनीमा १० हजार स्याउ फलाउने गरी काम गरिरहेका छौँ”, उनले भने, “छ जनाको समूहबाट काम थालेका छौँ, अब प्राविधिक ज्ञान सिक्न बाँकी छ ।”

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रो हावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए ।

कृषि निर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फूजी र रेड जातको स्याउका बिरुवा सहयोग गरेको भन्दै केन्द्रले स्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारी दिए ।

केन्द्रले यहाँ चाहिने आवश्यक प्राविधिक सहयोगसमेत निरन्तर गर्दै जाने प्रमुख सिलवालले बताए । परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि थप बिरुवा सहयोग गर्दै जाने उनले उल्लेख गरे । 

गणतन्त्रको युगमा बिपीलाई कांग्रेसभन्दा ज्यादा राजा चाहनेहरुले प्रासङ्गिक देखेका छन्

शङ्कर तिवारी

आज भदौ २४ अर्थात् बिपी कोइराला को १११औँ जन्मजयन्ती । प्रथम विश्व युद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक वर्षयता आएर सम्झना गर्नुको उपादेयता वा सार्थकता के होला आफैँमा एउटा गम्भीर प्रश्न छ ।

बिपी जन्मिदाको समय नबुझिकन बिपीले तय गरेको जीवनयात्रा बुझ्न सकिँदैन । युरोपको र अमेरिकाको केही भूभाग बाहेक सबैतिर सामन्तवाद, तानाशाही र उपनिवेशवाद व्याप्त थियो । बिपी नेपालमा जन्मिने अवसरबाट वञ्चित भएका थिए, कारण नेपाल भन्ने देश राणाशाही अन्तर्गत थियो । तर त्यो कुराले उनलाई नेपाली बन्नबाट रोकेन । उनी त झन् आधुनिक नेपालको परिचायक र उन्नयक बनेर उदाए ।

आज पनि बिपीलाई नजिकबाट देखेका र सङ्गत गरेका उनका परिवार बाहेकका मानिसको कमी छैन । के बिपीको परिचय बिपीको परिवार र उनलाई नजिकबाट देखेका मानिसको दायरामा मात्र सीमित छ त, निश्चय पनि छैन् । बिपीले गरेका एक एक राजनीतिक, साहित्यिक, सांस्कृतिक कर्म चिन्तन र अनुशिलनले आज प्रत्येक नेपाली नागरिक संस्कारित र दीक्षित भएको छ । नेपाली हुनुमा गौरव गर्ने जो कोहीले पनि एकपटक बिपी कोइरलाको जीवनको कुनै वयमा तादत्म्यता महसुस गरेको हुन्छ, उनको साहित्य र राजनीति योगदानकोको कारणले ।

बिपी एउटा सुशङ्स्कृत मानिस थिए । लोकतन्त्रको महत्व बुझेर र लोकलाई त्यसको महत्व बुझाउन जीवनलाई एक होइन, अनेक पटक दाउमा राखेका थिए । साहित्य सिर्जना गरेका थिए । कविता, उपन्यास कथा संस्मरण अनुवाद आदि कार्य गरेका थिए । त्यो भन्दा बेसी आधुनिक समयको नेतृत्व गर्ने सुयोग्य नेता थिए, पथप्रदर्शक थिए ।

उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको बलशाली उपस्थिति नेपाली राजनीतिमा यथावत् छ । आज बिपीलाई सम्झिनु एउटा कर्मकाण्ड हुन पुगेको छ । तर कर्मकाण्डले मात्र त उनको विरासत र अबदानलाई न्याय हुँदैन । पार्टीको विशाल संरचना बिपी विचारको असली ध्वजाबाहक बनेर गर्व मात्र होइन दम्भसमेत गर्दछ । त्यो कुरामा विस्तारै बदलाव आउँदैछ । गत वर्ष मात्र नेपाली कांग्रेस पार्टीले पार्टी मुख्यालय सानेपामा एउटा वृहत साहित्य महोत्सव गरेको थियो । त्यहाँ कांग्रेसको विचारसँग सहमत नहुने साहित्यिक कवि लेखकहरुसमेत कांग्रेस पार्टीको निम्तोमा स–सम्मान बिपी चर्चा र चिन्तनमा निर्धक्क सहभागी थिए । त्यो नेपाली राजनीतिक संस्कारमा देखापरेको एउटा सकारात्मक बदलाव थियो । आज गणतन्त्रको युगमा बिपीलाई कांग्रेसभन्दा ज्यादा राजा चाहनेहरुले प्रासङ्गिक देखेका छन् । यो एउटा रोचक संयोग मात्र होइन ।

कुनै पनि इतिहास पुरुष माथिको हक दावा परस्पर विरोधी पक्षले गर्नु भनेको चानचुने कुरा होइन । इतिहासलाई सम्यक दृष्टिले हेर्ने हो जो कोही यस्ता घटनालाई सामान्य रूपमा लिन्छन् । बिपी एक क्रान्तिकारी थिए । उनको क्रान्तिकारिताभित्र उग्रता भन्दा ज्यादा सौम्यता र मध्यमार्ग थियो ।

बिपीको विराट व्यक्तित्व पार्टी वा देशको दायरामा मात्र सीमित हुने चिज थिएन । उनको आयतन व्यापक थियो । दक्षिण एशियालाई झकङ्झोर हल्लाएको भारतीय स्वतंत्रता सङ्ग्राममा सक्रियतापूर्वक भाग लिएको, जेल नेल भोगेको, त्यतिले नपुगेर नेपालमा प्रजातन्त्र स्थापनाका लडाइँको नेतृत्व गरेर प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेको, दक्षिण एशियाको नक्शा बदल्ने अन्तिम परिघटना बङ्गलादेश स्थापनाको आन्दोलनलाई सक्रिय समर्थन गरेर बङ्गलादेश विजय नेपालमा लोकतन्त्र पुनःस्थापनाको मार्ग आधा विजय भनेर वक्तव्य दिएको, यस्ता अनेकन राजनीतिक घटनाक्रम छन्, जहाँ उनले निर्णायक हस्तक्षेपका कर्ता भने साक्षी बने र बने हेतु पनि । उनले एउटा सिङ्गो युगलाई आफ्नो काँधमा बोकेर हिँडे ।

उनको जीवनकालमा उनलाई सोचे जति सफलता मिल्न सकेन तर जति मिलेको थियो त्यो पनि कम्ती भने थिएन । उनका प्रिय लेखक अल्बर्ट क्यामुले जीवन्त बनाएको ग्रीक पुराणको अभिशप्त पात्र सिसिफस जस्तो लोकतन्त्रको भारी बोकेर उनी टाकुरामाथि र तल गरिरहे । उनको लड़ाइँ खेर जाने कुरा थिएन र गएन पनि । आज त्यही लडाइँको परिणाम लोकतन्त्र टाकुराभन्दामाथि गणतन्त्र बनेको छ ।

कुनै बेला भारतीय संविधानसभाको आखिरी बैठकमा अम्बेडकर भन्दै थिए– आजबाट हामी सबैले एउटा सुविधा गुमाउँदैछौँ, अब अङ्ग्रेजलाई गाली गरेर पुग्दैन । उनीहरू त भारत छोडेर गईसके । अब हामी ज्यादा जिम्मेदार बन्नुपर्दछ । यस्तै यस्तै । नेपालमा पञ्चायतको अवधिभर र बहुदल कालमा राजाको भक्ति वा निन्दा गरे चल्थ्यो । के अब गणतन्त्रको युग त्यसरी चल्छ त, उत्तर स्पष्ट छ चल्दैन । हाम्रा नेताहरु एक अर्कालाई गाली गरेका छन्, गला पनि मिलाएका छन् । तर जनता रनभुल्लमा छन्, उनीहरू किन एकापसमा गाली गरिरहेका छन् र गला पनि मिलाइरहेका छन भनेर । यो अन्योलले निराश भरेको छ, आक्रोश बढाएको छ ।

लोकतन्त्रमा एउटा जनादेशपछि त्यो जनादेशको पालन गर्ने अनुशासन र धैर्य त्यसका सरोकारवालासँग हुनै पर्दछ । पांँच वर्ष संसद्को आयु भनेपछि त्यो धैर्य त्यो संयम सबै राजनीतिक दलमा समान रूपमा हुनपर्दछ । बिपीले सत्तामा जाने कुरालाई ज्यादा प्रधानता दिनुभएन । २०१४ सालमा प्रधानमन्त्री पद अस्वीकार गर्नुभयो । पछि राजा वीरेन्द्रलाई जनमत सङ्ग्रहको बेला भन्नुभयो–“सरकार मैले तपाईँले दिन सक्नेभन्दा माथिल्लो चिज पाइसकेको छु । म प्रथम जननिर्वाचित बनिसकेको मान्छे, जति पटक प्रधानमन्त्री बने पनि बन्ने भूतपूर्व प्रधानमन्त्री नै हो । म उन्नत लोकतन्त्र देख्न चाहन्छु । तपाईंको पिताले खोसेको जनअधिकार बहाली चाहन्छु । मेरो जस्तो आर्थिक अवस्था प्रत्येक नागरिकको बनाउन चहान्छु । ”यस्तै यस्तै ।

आज संविधान संशोधन गर्ने भनेर बनेको नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार वा प्रतिपक्षमा रहेका नेता प्रचण्डको भूमिका यो संविधानलाई कामयाब गराउन कति सहायक भयो । त्यसको मूल्याङ्कन गर्ने बेला भएको छ । जसले आफैंँले जारी गरेको संविधानलाई संवैधानिक नैतिकताको कसीमा सम्मान गर्न र पालन गर्न सकेन उनैले संविधान संशोधनको कुरा गर्दा त्यो जनस्तरमा विश्वसनीय बन्न सकिरहेको छैन । त्यो बारेमा आजको दिनमा शीर्ष नेताहरुले मनन् गर्नुपर्नेछ ।
बिपीको लागि सत्ता अन्तिम आकर्षणको कुरा थिएन । सत्ता उनका लागि जनताको आजीविका बदल्ने पवित्र साधन थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको व्यक्तित्व फैलाउने माध्यम थियो । सत्ताबारे लोकतन्त्रबारे उनको सामान्य कुरा थियो– संविधान दिने मानिस वा संविधान निर्माता चाहे त्यो राजा होस् वा जनता त्यो संविधानप्रति जिम्मेवार र बफादार अनि प्रतिवद्ध हुनुपर्दछ । आजको गणतन्त्र नेपालको सङ्कटको समाधान बिपी कोइरालाको यही वचनमा भेट्न सकिन्छ ।

सङ्घर्षले खारिएर असामान्य उचाई हासिल गरेका बिपीको यही एउटा वचन मात्र आजका नेताले पालन गर्न सके उनको योगदानप्रतिको सम्मान हुनेछ ।

(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

कार्यालय प्रमुखले मात्रै धानिएको तनहुँको कृषि सामग्री कम्पनी

 तनहुँ । तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ कार्यालय प्रमुखको भरमा चलेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ ।

कम्पनीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको शर्माले बताए । दुईजना श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले बताए ।

‘कुल सातजनाको दरबन्दी रहेको कार्यालयमा चारजनाको दरबन्दी खाली छ’, शर्माले भने, ‘विसं २०७६ देखि विज्ञापन रोकिँदा दरबन्दीको नयाँ कर्मचारी नआउने र भएका कर्मचारी अवकाश हुने भएकाले कार्यालय रित्तिँदै गएको हो ।’

उनका अनुसार कार्यालयमा वरिष्ठ सहायक र सहायक दुई–दुईजना गरी चार दरबन्दी रिक्त छ । एकजनाले मात्र कार्यालय सञ्चालन गर्नुपर्दा आफू कतै जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिन नपाएको उनको गुनासो छ ।

बिदामा बस्नुपर्दा वा नियमित कार्यालय प्रमुखको बैठकमा जाँदा कार्यालय कर्मचारीविहीन हुने गरेको उनले बताए । कार्यालयमा कर्मचारी पदपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पटकपटक जानकारी गराए पनि पूरा हुन नसकेको उनको भनाइ छ ।

राजन न्यौपाने सरुवा भएर नवलपुरको कावासोती गएपछि आफू एक्लैले कार्यालयमा धान्नुपर्ने अवस्था आएको उनले बताए । तनहुँ, लमजुङ र गोरखाका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको यस कार्यालयमा जनशक्ति अभावले सेवा प्रभावित हुँदै आएको छ ।

यस कम्पनीले तीन जिल्लामा दुई सय १९ वटा डिलरमार्फत किसानलाई मल बिक्री गर्दै आएको छ । ०५२ र ०७३ मा विज्ञापन भई नियुक्त भएका बाहेक हालसम्म नयाँ कर्मचारी आएका छैनन् । ०७६ मा भएको विज्ञापनउपर विवाद भई अदालतमा परेको मुद्दा हालसम्म कायमै छ ।

विज्ञापन विवादसम्बन्धी अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप जनशक्ति नियुक्ति प्रक्रिया अवरुद्ध भई दरबन्दीअनुसारको कर्मचारी कार्यालयमा व्यवस्थापन हुन नसकेको शाखा प्रबन्धक शर्माले बताए ।

मोटरसाइकल खहरे खोलाले बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका –६, को रम्माखोलामा आएको खोलामा आएको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका –४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र वडानम्बर ६, कानेवाङ्गकी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापा रहेका छन् । मृतक दुवैजनालाई मोटरसाइकलसहित खहरे खोलाको भेलले बगाएको प्रहरीले बताएको छ ।

स्थानीय साँख गाउँबाट घरतर्फ फर्किंदै गर्दा उनीहरुलाई खोलाले बगाएको अनुमान गरिएको छ । मृतक महिलाको शव तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको थियो ।

स्कटल्याण्डलाई हराउँदै नेसन्स लिगमा पोर्चुगल विजयी

काठमाडौं । युईएफए नेसन्स लिगमा पोर्चुगल विजयी भएको छ । गएराति भएको खेलमा स्कटल्याण्डलाई २–१ गोलले हराउँदै पोर्चुगलले नेसन्स लिगमा लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र क्रिस्टियानो रोनाल्डोले समान एक÷एक गोल गरे । स्कटल्याण्डको लागि स्कट म्याक्टोमिनेले एक गोल गोल गरे ।

खेलको सातौँ मिनेटमा म्याकलेनको क्रसमा म्याक्टोमिनेले गोल गर्दै स्कटल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा राफायल लियोको पासमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।

यस्तै ८८ औं मिनेटमा मेन्डेसको क्रसमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–१ गोलको जित दिलाएका हुन् । जितसँगै पोर्चुगल दुई खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।

राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देललाई महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिए ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नेछन् । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।

यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए । सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरुप गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाएका छन् ।

प्रधानसेनापति सिग्देलको परिचय

प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गरेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

३८ वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेको अनुभव छ ।

प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उनले काम गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासोका साथ हेर्ने प्रधानसेनापति सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाएका छन् । उनले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्वी युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन् ।

सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप प्रधानसेनापति सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन् । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उनले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाएका छन् ।

सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानवअधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय २३ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्याइसकेका छन् ।

हाल विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा स्थापना भएका ११ मिसनमा छ सय ७५ महिलासहित पाँच हजार नौ सय १६ नेपाली सैनिक कार्यरत छन् ।

खुला मिनीम्याराथनमा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् ।

पाँच किलोमिटरको प्रतियोगितामा उनी १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम भएका हुन् । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।

यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ति गणका सरिताकुमारी बस्नेतले पाँच किलोमिटरको दूरी २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम भइन् भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उनले बताए ।

‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताए ।

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरको जहाजको ‘ह्वील स्टेरिङ लक’भएपछि…..

काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो ।

‘काठमाडौँबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो’, उनले भने, ‘ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।’

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्याइएको जानकारी दिए ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको सर्वेक्षणमा ट्रम्प कि ह्यारिस अघि ?

जेरेमी हवेल, बीबीसी । अमेरिकामा मंगलबार दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदै छ तर डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदै छन्। उक्त बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने छ र त्यसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ। कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन्, तर डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो प्रतिद्वन्द्वी साबित गरिसकेका छन्।

राष्ट्रपतीय बहस कहिले हुन्छ र यसका नियम के-के हुन्?

उक्त बहस फिलाडेल्फियामा १० सेप्टेम्बरमा हुन्छ र ‘ईएसटी’अनुसार राति ९ बजे सुरु हुन्छ। यो सन् २०२४ को दोस्रो राष्ट्रपतीय बहस हो। राष्ट्रपति जो बाइडनले चुनावबाट बाहिरिने निर्णय गर्नुअघि जुन महिनामा उनी र डोनल्ड ट्रम्पबीच पहिलो बहस भएको थियो। एबीसी टेलिभिजनबाट प्रसारण हुने दोस्रो बहस एबीसी न्यूज लाइभ, डिज्‍नी प्लस र ‘हुलु’बाट ‘लाइभस्ट्रीम’ हुन्छ।

बहसमा कडाइका साथ समयसीमा तोकिएको हुन्छ। हरेक उम्मेदवारले सञ्चालकले सोधेका प्रश्‍नको जबाफ दिन अधिकतम दुई मिनेटको समय पाउँछन् भने खण्डनका निम्ति पनि दुई मिनेटकै समय पाउँछन्। दोस्रो उम्मेदवारले बोलिरहँदा अर्काको माइक्रोफोन बन्द गरिएको हुन्छ। उक्त बहसकक्षमा दर्शकहरूको उपस्थिति हुँदैन। ह्यारिसले बहस अवधिभर माइक्रोफोन बन्द नगर्ने इच्छा राखेकी भए पनि हालै उनी नियमप्रति सहमत भएकी छन्। सन् २०२० मा बाइडन र ट्रम्पको पहिलो बहस आपसी चर्काचर्की र एकअर्काले बोल्दै गर्दा बीचबीचमा हस्तक्षेप गरिएका कारण भद्रगोल भएपछि चार वर्षअघि नयाँ नियम ल्याइएको थियो। मङ्गलवारको बहसलाई सञ्चालकद्वय डेभिड म्युर र लिन्जी डेभिसले सञ्चालन गर्ने छन्। दुवै एबीसीका समाचारमूलक कार्यक्रमका प्रस्तोता हुन्।

बहसकर्ताका रूपमा ह्यारिसको तागत के हो ?

कमला ह्यारिसले सन् २००३ देखि नै चुनावी बहसमा भाग लिँदै आएकी छन्। उनले पहिलो बहसपछि सान फ्रान्सिस्कोको ‘डिस्ट्रिक्ट अटोर्नी’ पदमा जित हासिल गरेकी थिइन्। त्यस्तै उनले क्यालिफोर्नियाको ‘अटोर्नी जनरल’ तथा क्यालिफोर्नियाका निम्ति अमेरिकी सेनेटरमा चुनिने बेलाका अभियानका बहसहरूमा पनि भाग लिएकी थिइन्। सन् २०१९ मा डेमोक्र्याटिक पार्टीका निम्ति राष्ट्रपतीय मनोनयनका निम्ति प्रतिस्पर्धा गर्ने क्रममा उनले जो बाइडनसँग बहस गरेकी थिइन् भने सन् २०२० मा उपराष्ट्रपतीय बहसका क्रममा उनको साक्षात्कार माइक पेन्ससँग भएको थियो।

उनले मञ्चलाई काबुमा राख्न सक्ने क्षमता देखाएकी छन्। सन् २०२० को बसहमा आफूले बोल्दाबोल्दै बीचैमा बोल्न पुगेका पेन्सलाई हप्काउँदै कमलाले ‘उपराष्ट्रपतिज्यू, म बोलिराखेकी छु’ भनेकी थिइन्। ह्यारिसले अमेरिकी सेनेट तथा त्यसअघि क्यालिफोर्नियाका अदालतहरूमा अभियोजक छँदा पनि बहसको प्रशस्त अनुभव हासिल गरेकी थिइन्, जहाँ विपक्षीको कमजोरी उजागर गर्नुलाई मुख्य कौशल मानिन्छ। यसले बहसका क्रममा डोनल्ड ट्रम्पले प्रस्तुत गर्ने बुँदाहरूलाई खण्डन गर्न उनलाई मद्दत गर्न सक्छ।

यद्यपि सन् २०२० को डेमोक्र्याटिक राष्ट्रपतीय मनोनयनका बेला भने उनी असफल रहिन्। उनी आइओवाको पहिलो बहसअघि नै मैदानबाट बाहिरिएकी थिइन्। स्थिर नीतिगत अडान नभएको भन्दै उनको आलोचनासमेत भएको थियो। मंगलबारको बहसमा ह्यारिसलाई सञ्चालकहरूले नीतिसम्बन्धी केही कडा प्रश्न सोध्न सक्ने सम्भावना छ।

ह्यारिस सार्वजनिक कार्यक्रममा आवश्यकताभन्दा बढी शब्द खर्चने व्यक्तिका रूपमा समेत देखिँदै आएकी छन्। उदाहरणका निम्ति हालैको सीएनएन अन्तर्वार्तामा उनले भनिन्, ‘यो जरुरी छ कि हामीलाई यो अत्यावश्यक विषयका निम्ति समयमा आधारित ‘मेट्रिक्स’ लागु गरी समयको म्याद पालन गर्नुपर्ने छ।’ राष्ट्रपतीय बहसमा बोल्ने समय वास्तवमै सीमित हुन्छ भने आफ्नो अभियानको सन्देश मतदातासम्म स्पष्टसँग पुर्‍याउनुपर्ने पनि हुन्छ।

बहसकर्ताका रूपमा ट्रम्पको क्षमता के हो ?

मङ्गलवारको ट्रम्पविरुद्धको बहस ह्यारिसका निम्ति उनले यो प्रतिस्पर्धामा प्रवेश गरेयताकै सबैभन्दा ठूलो चुनौती हुनेछ। सन् २०१६ र २०२० गरी दुई चरणको बहसमा भाग लिइसकेका ट्रम्पले निकै जुझारु र अपरम्परागत विपक्षीका रूपमा स्वयंलाई साबित गरिसकेका छन्। सन् २०१६ को हिलारी क्लिन्टनसँगको बहसका क्रममा ट्रम्प मञ्चको वरपर घुमिराखे र क्लिन्टनले बोल्न थालेपछि उनको ठिक पछिल्तिर उभिन पुगे। हिलारीले उनको क्रियाकलापले ‘आफू असहज बनेको’ बताइन्। सन् २०२० को पहिलो बहसमा जो बाइडनले कुरा राख्दै गर्दा बीचमा ट्रम्प बोलेको बोल्यै गरेपछि बाइडनले ट्रम्पलाई ‘के तिमी चुप लाग्छौ?’ भनेका थिए। यी जुक्तिहरूले विपक्षीलाई बाधा पुर्‍याए भने उनलाई आकर्षणको केन्द्रमा राखे। तर ट्रम्प प्रायश: बोल् बोल्दै विषयवस्तुबाट भड्किने गरेका छन् भने उनका कतिपय दाबीलाई तथ्यजाँचकर्ताहरूले मिथ्या ठहर्‍याएका छन्।

सर्वेक्षणमा कुन उम्मेदवार अघि छन् ?

गत जुलाईमा राष्ट्रपतिका रूपमा पुन: चुनावका लागि उभिनुअघि जो बाइडन मतदाता सर्वेक्षणमा राष्ट्रिय स्तरमा र धेरै ‘स्विङ स्टेट’हरूमा डोनल्ड ट्रम्पभन्दा पछि देखिएका थिए। राजनीतिक विश्लेषण गर्दै आएको ‘रिअल क्लिअर पलिटिक्स’ नामक संस्थाले गरेको देशव्यापी सर्वेक्षणको संश्लेषणअनुसार चुनावी मैदानमा सामेल भएयता ह्यारिसले तीन अङ्क हासिल गरेकी छन्। उक्त संस्थाले जनाएअनुसार सेप्टेम्बर ३ सम्मको राष्ट्रिय स्थितिमा उनी ट्रम्पभन्दा १.९ अङ्कले अघि थिइन्।

यद्यपि सन् २०१६ मा यही स्थितिको राष्ट्रिय सर्वेक्षणहरूमा हिलारी क्लिन्टन पनि पाँच अङ्कले अघि थिइन्, तर ट्रम्पसँग हार्न पुगिन्। राष्ट्रिय सर्वेक्षणको तुलानामा राज्यभित्र गरिने सर्वेक्षणहरू महत्त्वपूर्ण मानिन्छन् किनभने अलगअलग राज्यका मतपरिणामले उम्मेदवारले ‘इलेक्टोरल कलेज’मा हासिल गर्ने मत निर्धारण गर्छ र ‘इलेक्टोरल कलेज’ले को राष्ट्रपति बन्छ भन्ने तय गर्छ।

त्यहाँ एरिजोना, जोर्जा, मिशिगन, नोर्थ क्यारलाइना र पेन्सिल्भेनियाजस्ता ‘स्विङ स्टेट’हरू पनि छन्, जुन उम्मेदवारहरूका लागि जित हासिल गर्न महत्त्वपूर्ण छन्। यी सबैमा कडा प्रतिस्पर्धा छ। सेप्टेम्बरको सुरुमा ‘रिअल क्लिअर पलिटिक्स’ले ह्यारिसले मिशिगन र जोर्जाको सर्वेक्षणमा ट्रम्पलाई उछिनेको, पेन्सिल्भेनियामा बराबरी स्थितिमा रहेको र एरिजोना तथा नोर्थ क्यारलाइनामा ट्रम्पभन्दा पछाडि रहेको जनाएको थियो। राजनीतिक विश्लेषकहरू यी प्रक्षेपणहरू चुनावी नतिजाको नजिक रहेकोमा सहमत छन्। राष्ट्रपतीय चुनाव जित्नका निम्ति ‘इलेक्टोरल कलेज’बाट २७० मत हासिल गर्नुपर्छ। हालैका सर्वेक्षणहरूले डेमोक्र्याट्सका निम्ति २२६ र रिपब्लिकन्सका निम्ति २१९ मत सुनिश्चित रहेको देखिएको छ। बाँकी ९३ मत जसलाई पनि जान सक्छ।

सही छ काठमाडौंका नदीकिनारमा ४० मिटर छोड्नु पर्ने अदालतको आदेश !

नारायण गाउँले ।
‘गौचरन’ भन्ने त सुन्नुभएकै होला । देशभर गाईवस्तु चराउन मिल्ने सानाठूला सार्वजनिक चौरहरू थिए । जिल्लाजिल्लामा संरचना नभए पनि खेलकुद र हजारौँले मेलापात भर्न मिल्ने रङ्गशाला, टुँडिखेल र चौरहरू थिए ! स्कुलका विशाल चौरहरूमा त बर्खा बिदामा पलाउने घाँसले कतिका गाईवस्तु पालिन्थे ।

मन्दिर, स्कुल, वृद्धाश्रम या सार्वजनिक हितका सङ्घसंस्थाको दीर्घकालीन व्यवस्थापनका लागि देशभर गुठी गठन गरेर तिनको नाममा हजारौँ बिघा जग्गा सार्वजनिक प्रयोगका लागि छुट्याइएको थियो । कतिले शिक्षा, धर्म र संस्कृति अविच्छिन्न रहोस्, सरकारको मुख ताक्न नपरोस् भनेर स्कुलदेखि मन्दिरसम्मलाई जग्गादान गरेका थिए । आज दमकल र ह्विलचेयर पनि नअटाउने १३ फिटको बाटो पास हुन्छ तर बहुदल आउनुअघि नापी भएका र बनेका बाटा वरपर २५ देखि ५० मिटर छोडेर घर बनाउनुपर्ने नियम थियो । बहुदलअघिको काठमाडौंमैं पनि पार्क थिए, पोखरी थिए, टुँडिखेल थियो, बटुवालेसमेत पानी पिउन सक्ने ढुङ्गे धारा थिए । सयौँ पाटीपौवा, सत्तल, ठाँटी र धर्मशाला थिए । त्यहाँ प्रदर्शनी स्थल थिए, गौचरन र नदी थिए । आज युरोपका शहरमा टायलले छाएका जुन घर देखिन्छन्, जस्तो खुला ठाउँ देखिन्छ र जति फराकिला बाटा देखिन्छन्, काठमाडौं कुनै बेला त्यस्तै थियो, सुन्दर थियो । हो,भौतिक समृद्धि थिएन, दुबईका जस्ता अग्ला टावर थिएनन् तर सास फेर्ने खुला ठाउँ थियो । आगलागी या भूकम्पजस्ता विपत्तिमा जम्मा हुने खाली ठाउँ थियो ।
बहुदल आएपछि त्यसको संरक्षण र सम्बर्द्धन हुनपर्थ्यो तर उल्टो भयो । हामी भोकाएका स्यालजस्तो सार्वजनिक सम्पत्ति, संस्था र जग्गा निल्नतिर लाग्यौँ । दलहरूको शक्ति र चाहनामा सार्वजनिक जग्गा पचाएर भोट ओकल्ने सुकुम्बासी पैदा भए । अहिलेका अर्थमन्त्री पनि त्यस्तै एउटा सुकुम्बासी हुन् ।

हामीले क्रमशः चौर खायौँ । गौचरन खायौँ । सटर बनाएर भाड़ा खाने भन्दै स्कुल र कलेजमा केटाकेटी खेल्ने मैदान खायौँ । विश्वविद्यालयका जग्गा खायौँ । बाहिर बाहिर आराध्यदेव भन्दै भित्रभित्रै पशुपतिनाथको हजारौँ बिघा गुठी जग्गा खायौँ । राजकुलो खायौँ । पाटीपौवा र सत्तल खायौँ । खोलाकिनार खायौँ, खोलै पनि खायौँ । अस्ति गुठी नै मासेर बचेको जति एकै गासमा खान खोजेका थियौँ । नदी पनि हामीले छोड़ेनौँ । खाएपछि भोलिपल्ट के आउँछ भन्ने हामी सबैलाई थाहा नै छ, हाम्रा खोला र नदी त्यस्तै दुर्गन्धित छन् यतिबेला । तिनको स्पेस र सुगन्ध त हाम्रो पेटले पचाइसक्यो । नदी ढल जस्ता छन्, बाटो मृत्युको धराप जस्तो छ ।

एउटा दुई लेनको राजमार्गमा ५० मिटर छोडेर मात्रै घर बनाउन पाइने नियम हुन्छ, काठमाडौँमा नदीकिनारमा ४० मिटर छोड्न पर्ने आदेश अदालतले दियो भने अन्याय हुन्छ, अत्याचार हुन्छ ! धेरै होइन, पचास वर्षअघि जन्मेको र त्यहाँ हुर्केको व्यक्तिलाई थाहा छ, चालीस मिटर होइन, सय मिटर छोड्दा पनि व्यक्तिको होइन, नदीकै जग्गा मिचिएको हुनुपर्ने हो । काठमाडौँमा बग्ने कुलो त पक्कै होइन । पेरिसको सियन जस्तै, लण्डनको थेम्सजस्तै नदी हो । त्यहाँ आज पनि पानी बग्छ, डुङ्गा चल्छन् । अझ दुर्भाग्य त यहाँ नदी हजम गर्ने मान्छे थेम्स नदीमा डुङ्गा शयर गर्दै फोटो शेयर गर्छ ।
हामीले आजभोलि बनाएको बाटोमा फुटपाथसम्म छैन । ट्रिपरदेखि स्कुल जाने बालबालिका, साइकलदेखि लठ्ठी टेक्दै हिँड्ने वृद्धसम्म त्यही साँघुरो सड़कमा दुर्घटनासँग लुकमारी गर्दै हिँड्ने दयनीय अवस्था छ । मर्निंग वाक गर्न एउटा चौर, पार्क या खुला स्थान छैन । धुलाम्य, धुवाँमय र असुरक्षित सड़कमा मान्छे फोक्सोमा निमोनियाको इन्फेक्शन भर्दै हिँडिरहेका छन् !

यसरी बिगार्यौं  कि अब बनाउन लगभग मुश्किल छ । यसरी बिग्रियौँ कि कसैले बनाउन सकिन्छ कि भनेर सोच्यो भने मात्रै पनि त्यो नागरिक दुश्मन हुन्छ । त्यसलाई फू गरेर ढालिदिने हाम्रो धम्की हुन्छ । आफ्नै फोक्सो सद्दे भए पो फू गर्ने !
देशमा सयथरी खेल छन् । तर एउटा क्रिकेटको मैदान बनाउन पनि हामीसँग जग्गा छैन । विश्वविद्यालयमा कृषि पढाउन र अनुसन्धान गर्न छुट्याइएको जग्गा काट्न पर्ने अवस्था छ । भोलि फुटबलदेखि टेनिससम्मले मैदान खोज्दै आए भने के होला ? जबकि तीस वर्ष पुरानो नक्सामात्रै हेर्ने हो भने पनि देशैभरि पार्क र मैदान बनाउन पुग्ने पर्ती र ऐलानी जग्गा हामीसँग थिए ।

हामीसँग दल छ, सत्ता छ, शक्ति छ, पैसा छ, हामीले नै लेखेको ऐन छ, अदालत छ । केही नहोला । एउटा मेयर, एउटा सांसद या एउटा आबाज त हामी सबै मिलेर फू गरे पनि ढल्ला । तर एक दिन तीन चारवटा मेयर मिलेर आए भने त हामी नै ढल्न पनि के बेर ! धेरै छोडौँ, कसैले हामीलाई नै फू गर्दै पशुपतिनाथ गुठीकै जग्गा मात्रै खोजी गर्यो र गुठीको हक कायम गर्ने हिम्मत गर्यो भने आधा काठमाडौँ सफा हुन्छ । हाम्रा आधा कार्यकर्ताको बिचल्ली हुन्छ ।
स्मरण रहोस्, अन्तर्राष्ट्रिय सूचक र सर्वेक्षणहरूले हामीलाई सबैभन्दा भ्रष्ट, मन्दबुद्धि र प्रदूषित देखाएका छन् । बाहिर त प्रतिवाद गरौँला, आँखा चिम्लेर आफैलाई हेर्यौं भने सत्य के हो थाहा हुन्छ ।

टाइम्स ए र रिभोल्ट ए लाई ‘थ्री एक्स थ्री’ बास्केटबलको उपाधि

काठमाडौं । टाइम्स ए र रिभोल्ट ए ले श्री ‘थ्री एक्स थ्री’ बास्केटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेको सेमिकभर्डहलमा आइतबार भएको पुरुषतर्फको फाइनलमा टाइम्स ए ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१–१७ ले हराउँदै च्याम्पियन बनेको हो ।

यस्तै महिलातर्फ रिभोल्ट ए ले हाउण्ड्सलाई ११–९ ले हरायो । श्री एअरलाइन्सको आयोजना र नेपाल बास्केटबलको संघको सहयोगमा राष्ट्रिय महिला बास्केटबल टिमले व्यवस्थापन गरेको प्रतियोगिता कर्पोरेटतर्फ इजी सर्भिसले जित्यो । फाइनलम इजी सर्भिसले बीएस धौवलागिरीलाई १४–११ ले हरायो ।

पुरुषतर्फ श्रेयांस बहादुर शाह तथा महिलातर्फ छिरिङ चोकी शेर्पा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै कर्पोरेटतर्फ प्रविन गुरागाईँ मोस्ट भ्यालुएबल प्लेअर बने ।

दुई दिने प्रतियोगितामा पुरुषतर्फ १४, महिलातर्फ ८ र कर्पोरेटतर्फ ८ टिमको सहभागिता थियो । विजेता खेलाडीहरुलाई नाइन सेभेन सेभेनले ५० हजार बराबरको, पोशिलो फुड्सबाट ६ हजार बराबरीको तथा ग्लामोर हेयरको तर्फबाट १० हजार बराबरको गिफ्टह्याम्फर प्रदान गरिएको थियो ।

अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।” 

उनले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गरेका छन् । 

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल गठन गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

त्यस्तै बैठकमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओली र देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी थिए ।

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

स्वास्थ्य सेवा सधैँ जनमुखी हुनुपर्छः डा रुइत

जुम्ला । विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन् । आइतबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको भन्दै यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे ।

“दुईजना आँखा चिकित्सकले प्रतिष्ठानबाट नियमित सेवा दिने छन् । अबको एक वर्षपछि कर्णालीका दुई हजार जनाको मोतियाविन्दुुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान तयार हुनुपर्छ । यसले यहाँका सीमान्तकृत समुदायका व्यक्ति र ग्रामीण गाउँबस्तीका नागरिकको निकै लाभान्वित हुनेछन्”, उनले भने,“कर्णालीका दूरदराजसम्म मोतियाविन्दुुको सेवा विस्तार गर्नेका लागि चाहिने स्रोत साधनको सहयोग म सधैँ तयार छु, यसमा सबैको उत्तिकै सहयोगको खाँचो छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिजले केही सामग्री सहयोग गरेपछि प्रतिष्ठानमा नेत्र रोग विभाग स्थापना गर्न सकिएको बताए ।

“अब जुम्लामै मोतियाविन्दुुको नियमित शल्यक्रिया र निरन्तर सेवा प्रदान हुनेछ । यसबाट दुर्गम गाउँका नागरिकले लाखौँ खर्चेर आँखाको उपचार गर्नुपर्ने दिनको अन्त्य हुनेछ”, उनको भनाइ थियो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखाको बहिरङ्गबाट मात्रै उपचार हुँदा सामान्य समस्या आउँदा ‘रेफर’ गरेर बाहिर पठाउनुपर्ने बाध्यता सधैँका लागि हटेको बताए ।

मोतियाविन्दुको जटिल शल्यक्रियासमेत अब जुम्लामै हुने प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीय तहमा सञ्चालन भएको आँखा शिविरबाट छनौट भएका ४० जनाकोे मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको महतले जानकारी दिए ।

चाडपर्व सुरु हुनुअघि सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ ।

चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो । 

आइतबार मन्त्रालयमा आयोजित सरोकार भएका निकायबीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघि सडकका खाल्डाखुल्टी तत्काल पुरिसक्न निर्देशन दिए ।

जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन दिदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भएकाको उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै यातायातमन्त्री दाहालले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने बताए ।

सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै उनले यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो रहेकामा जोड दिए ।  

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन उनले जोड दिए ।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा पार्थमणि पराजुली, सरोजकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत विभिन्न निकायका अधिकारीले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजनाबारेमा प्रकाश पारेका थिए । 

गलैँचाको कच्चा पदार्थ आयातमा छुट दिन व्यवसायीको माग

काठमाडौँ  । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आइतबार उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।

नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका प्रतिनिधि तथा गलैँचा व्यवसायीले अर्थमन्त्री समक्ष नेपाली गलैँचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताए । 

नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैँचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरुले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताए ।  

त्यस्तै, तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्थालाई पनि सरकारले खारेज गरेकोमा पुनः कार्यान्वयनमा ल्याइनुपर्ने माग व्यवसायीहरुको छ । गलैँचा बनाउँदा प्रयोग हुने सिल्क धागोमा ऊन सरह भन्सार र भ्याट छुट हुनुपर्ने माग पनि गरिएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर छुट दिने विषय आर्थिक ऐनबाट सम्बोधन हुने भएकाले यस विषयमा संसदबाटै सम्बोधन गर्नुपर्ने बताए  । यद्यपि, उद्योगी व्यवसायीका हरेक खालका समस्या सुन्न र त्यसको समाधान खोज्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । 

“मुलुकको विद्यमान अर्थतन्त्रको दबाब र शिथिलताको अवस्थाबाट बाहिर निकाल्न सरकार निजी क्षेत्रका कुरा सुन्न तयार छ । निजी क्षेत्रको मनोबल कसरी उकास्ने भन्ने विषयमा सरकार सम्बेदनशील र गम्भीर छ । तपाईंहरुका समस्यालाई पनि गम्भीर रुपमा लिएको छु र यस विषयमा के गर्न सकिन्छ भनेर चाँडै नै जानकारी दिनेछु”, अर्थमन्त्री पौडेलले भने ।

एन्फा महिला लिगमा कोशी प्रदेशद्वारा कर्णाली पराजित

काठमाडौँ ।  राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो । 

यससँगै कोशीले तीन खेलबाट नौ अङ्क बटुल्दै अङ्क तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने एक अङ्क छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो ।

आज कोशीको जितमा पूर्णीमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक/एक गोल गरे । कोशीकी पूर्णीमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसपछी खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसको पाँच मिनेटपछि पूर्णीमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जाने भएका छन् ।

स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र मङ्गलबारका लागि भ्रमण तय भएको हो । नयाँ नेतृत्व सरकारमा आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो ।

विदेशमन्त्री ब्लिन्केनले रणनीतिक वार्तामा भाग लिने र ‘अमेरिका र बेलायतबीचको विशेष सम्बन्धलाई पुनः पुष्टि गर्ने’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताए ।

मिलरले भने, “उहाँले एसियाका साथै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने हाम्रो सामूहिक प्रयासबारे छलफल गर्नुहुनेछ ।”

यसअघि आगामी शुक्रबार स्टार्मरले वासिङ्टनको भ्रमण गर्ने घोषणा ह्वाइट हाउसले गरेको थियो ।

वासिङ्टनमा नेटोको शिखर सम्मेलनमा भाग लिएका स्टार्मरले कार्यभार सम्हालेको केही दिनपछि जुलाई १० मा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेटेका थिए ।

बेलायत र संयुक्त राज्य अमेरिकाले अधिकांश विश्वव्यापी मुद्दाहरूमा आवश्यकता परेका अवस्थामा आपसी सहकार्य गरेका छन् । साथै, बाइडेन नेतृत्वको डेमोक्रयाटिक नेताहरू ऐतिहासिक रूपमा कन्जरभेटिभभन्दा लेबर पार्टीसँग नजिकको सम्बन्ध राखेको पाइन्छ ।

यद्यपि, स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चालेका छन् । उनको सरकारले मानवीय कानूनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उदृत गर्दै केही हतियार ढुवानीहरू स्थगन गर्ने घोषणा गरेको छ।

लेबर सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने कन्जरभेटिभ पूर्ववर्तीको योजना पनि रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन र नेतन्याहूलाई लक्षित गर्ने प्रयासको विरोध गर्दै इजरायलको जवाफदेहीताको लागि आफ्नै प्रणाली छ भन्ने तर्क गर्दै आएको छ।

तर इजरायलको प्रमुख हतियार आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले हतियारको निर्णयको आलोचना गरेन र भन्यो कि ब्रिटेनको मूल्याङ्कन गर्ने आफ्नै प्रक्रिया छ।

ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ नीतिको घोषणा गरेका छन् ।

नयाँ योजनामा न्यूनतम ज्यालामा १४ प्रतिशतले वृद्धि, पेन्सनमा र पर्यटक करमा २.५ प्रतिशतले वृद्धि गर्ने उल्लेख गरिएको छ ।

युरोपेली सङ्घमा सन् २०२३ मा प्रतिव्यक्ति दोस्रो सबैभन्दा कम जिडिपी भएको ग्रीसमा सन् २०२७ सम्ममा समृद्धि ल्याउने मित्सोटाकिसले शनिबार थेसालोनिकी अन्तर्राष्ट्रिय मेला (टीआईएफ) को उद्घाटन समारोहमा बताए ।

सम्बोधनमा ग्रीक प्रधानमन्त्रीले सार्वजनिक र निजी क्षेत्रको ज्यालामा एकरूपता, सस्तो ऊर्जाको प्रयोग गरी हरित सङ्क्रमण र पर्यटनमा बढ्दो वृद्धिको प्रभाव न्यूनीकरणलगायत आफ्नो सरकारले सामना गर्नुपरेका प्रमुख नौ प्रकारका चुनौतीको सामना गर्न नयाँ योजना सार्वजनिक गरेका हुन् ।

उनले देशको घट्दो र वृद्ध जनसङ्ख्याको असरलाई कम गर्न प्रभावकारी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

एक करोड जनसङ्ख्या भएको र पर्यटनमा अत्यधिक निर्भर रहेको ग्रीकले महामारीपछिको मन्दीका कारण झण्डै एक दशक लामो आर्थिक सङ्कटको सामना गर्नुपर्ने अधिकारीहले बताएका छन् ।

उच्च मुद्रास्फीतिको कारण आकाशिएको आवास र खाद्यान्नको मूल्य भर्खरै घट्न थालेको छ ।

सन् २०२३ मा ग्रीसको औसत वार्षिक आय युरोपेली औसतभन्दा आधा थियो भने न्यूनतम ज्याला फ्रान्सको भन्दा आधाभन्दा कम अर्थात् मासिक ८३० युरो (९२० अमेरिकी डलर) रहेको छ ।

मित्सोटाकिसले सन् २०२५ मा पेन्सनमा २.५ प्रतिशतसम्म वृद्धि गर्ने र सन् २०२७ सम्ममा न्यूनतम ज्याला क्रमशः ९५० युरो पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले जन्मदर बढाउन र भाडा बजारलाई गति दिन कर लाभका लागि नयाँ प्रोत्साहनको पनि घोषणा गरेका छन् ।

स्वरोजगारलाई विशेष छुट दिने कार्यक्रमलाई क्रमशः समाप्त गरिने, ऊर्जा कम्पनीहरूमा हुने अप्रत्याशित करबाट २४ करोड ३० लाख यूरो जम्मा गरी यस राजस्वलाई कमजोर नागरिकहरूलाई वितरण गर्ने योजना सरकारले अघि सारेको छ ।

मित्सोटाकिसले ग्रीक बन्दरगाहमा क्रुज जहाजबाट ओर्लिने र दुई लाख ५० हजार यूरोसम्म लगानी गर्ने विदेशीहरूका लागि गोल्डेन भिसा योजनाको पनि घोषणा गरेको छ।

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ ।

उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीलाई उदृत गर्दै भिएनएक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ । घटनामा ५१ वर्षीय एक पुरूषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए।’

उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ ।

शनिबार हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्याएको र हुरूका कारण भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद व्यवस्थापन अधिकारीले बताएका छन् ।
हाई डुओङ प्रान्तमा शुक्रबार आएको हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो ।

बन्दरगाह शहर हाइ फोङका धेरै क्षेत्रमा आइतबार बाढीको पानी आधा मिटर (१.६ फिट) सम्म जमेको र बिजुलीको लाइन र खम्बामा क्षति पुगेको छ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए ।

स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ ।

भियतनामभन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

लुम्बिनी प्रदेश सभाका सदस्य धनबहादुर केसी जेल चलान

दाङ । नेपाली कांग्रेसबाट विजयी लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा ३३ वर्ष पहिले रूकुम जिल्ला अदालतमा मुद्धामा दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना गरेको थियो। हालसम्म उनले सजाय भुक्तान गरेका थिएनन् ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रशाद शर्माले पनि प्रदेश सांसद केसी आइतबार  आफैं अदालतमा उपस्थित भएको जानकारी दिए । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेलले सांसद केसी आफैं अदालतमा उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार पठाएको बताए ।

केसी कारागार चलान भएपछि लुम्विनी प्रदेश सभामा एक सिट रिक्त भएको छ । मुद्धाको अन्तिम फैसलाबाट कुनैपनि सांसद कारागार चलान भएको जानकारी प्रहरीले प्रदेशसभालाई दिएपछि उक्त सांसद पद रिक्त रहने कानुनी व्यवस्था रहेको छ ।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको १ (१) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। २०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो ।

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छः चेम्बर

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ। चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो।

अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्यव्यवस्था समितिमा विचाराधीन सो विधेयकले निजी क्षेत्रलाई धप धराशायी बनाउने र लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ।

चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यव्यवस्था समितिमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ मा निजी क्षेत्रको सम्बन्धमा प्रस्तावित मस्यौदाका व्यवस्थाले निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्र भित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साहित भएको छ। यसले निजी क्षेत्रको लगानीसमेत निरुत्साहित हुनेछ।”

चेम्बरले मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरतामा जोड दिएको छ। नीतिगत स्थिरता भएमा मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिने चेम्बरले उल्लेख गरेको छ। एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको पुनरावलोकन गर्न पनि चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ।

मुख्यसचिव अर्याललाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, “नेपालको बैंकिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन प्रस्तावमा एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ। यस्तो हुने हो भने निश्चयनै लगानीमा यसले प्रत्यक्ष असर गर्नेछ र आर्थिक वृद्धिमा नै असर पुग्नेछ।”

यस्तै राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालयअन्तर्गत ल्याउन पनि चेम्बरले आग्रह गरेको छ।

नवनियुक्त मुख्यसचिव अर्याललाई सुझाव दिने क्रममा निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै सच्याउन आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गाको कर्जामा आम्दानीको स्रोत दुई गुणा देखाउनुपर्ने राष्ट्रबैंकको नीतिका कारण यो क्षेत्रमा समस्या देखिएको बताए। उपाध्यक्ष दीपक श्रेष्ठले विदेशी कम्पनीलाई प्याटेन्ट अधिकार दिँदा नेपाली उद्योगमा पर्ने असरबारे ख्याल गर्नुपर्नेमा जोड दिए।

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा मुख्यसचिव अर्यालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाए। चाडपर्वको मौसममा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण एवं कालोबजारी रोक्न चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने अर्यालले बताए।

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौँ । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ ।


सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आएका छन् । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो । 


प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा आज पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्राउनुमा रहेको बताए ।   सीइओ जोशीले भने, “मेरो पहिलो प्राथमिकता विदेशी पर्यटकको सङ्ख्या बढाउने हो, त्यसका लागि व्यापकरुपमा अन्तर्राष्ट्रिय प्रवद्र्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवद्र्धनमा केन्द्रित गर्नेछु ।”


नवनियुक्त सीइओ जोशीले १६ लाख विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्नेगरी काम गर्ने बताए । सरकारले चालु आबको बजेटमा उक्त लक्ष्य उल्लेख गरेको छ । सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै ३५ लाख विदेशी पर्यटक भित्राउने योजना पनि अगाडि सारेको छ । सन् २०२३ देखि २०३१ लाई भ्रमण दशक मनाउने घोषणा गरेको छ । 


सीइओ जोशीले मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने तथा गुणस्तरीय पर्यटक भित्राएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गरे । पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धान कम रहेको उल्लेख गर्दै उहाँले बजारको सम्भाव्यता र आगामी रणनीति बनाउने विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने बताए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए ।


साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।


सीइओ जोशीले आफूले चार वर्षको स्पष्ट योजना बनाएर आएको र सोही आधारमा आफूले काम अगाडि बढाउने बताए । “मैले चार वर्षे रणनीतिको स्पष्ट खाका बनाएको छ”, उनले भने, “प्रत्येक वर्ष के काम गर्ने र त्यसपछि के उपलब्धि हासिल गर्ने भनेर स्पष्ट खाका बनाएको छु । त्यो छिट्टै सार्वजनिक गर्नेछु ।”


निजी क्षेत्रसँगको साझेदारी फराकिलो बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्नुपर्ने सीइओ जोशीको पहिलो दायित्व रहेको छ ।


“मुख्य चुनौती दक्ष जनशक्ति नै हो  नाथमलगायतका आतिथ्यतासम्बन्धी शैक्षिक संस्थासँग समन्वय र सहकार्य गरेर दक्ष जनशक्ति बढाउनेमा काम गर्नेछु”, उनले भने, “आन्तरिक व्यवस्थापनको सुधार पनि प्राथमिकतामा हुनेछ । कार्यविधि पारित नभएको, कर्मचारीको दक्षता अभिवृद्धि गर्नुपर्ने छ ।”


सीइओ जोशीले बोर्ड सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताए ।


आफू दोस्रो पटक ठूलो जिम्मेवारीका साथ आएको उल्लेख गर्दै उनले कैयौँ चुनौती भए पनि सफलतापूर्वक काम गर्नेमा विश्वास व्यक्त गरे । 


“गन्तव्यको छवि खस्कँदो छ, यस क्षेत्रमा लगानी बढिरहेको र गतिविधि कम भइरहेको अवस्था छ । कोभिडअघिको अवस्थामा विदेशी पर्यटक आगमन पनि पुग्न नसकेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी प्रवद्र्धन आवश्यक छ”, सीइओ जोशीले भने ।


नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको यही भदौ २० गतेको ३७९औँ बैठकले बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले यही २१ गते शुक्रबार बोर्डको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेबाट सीइओ पदको नियुक्तिपत्र लिएका थिए ।
    
को हुन् सीइओ जोशी ?


दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय जोशीले गोरखा भूकम्प, नकाबन्दीलगायत चुनौतीकाबीच पनि पर्यटन बढाउन र निजीक्षेत्रसँगको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेका थिए । प्यासिफिक एसिया ट्राभल एशोसियन (केन्द्र) मा डेस्टिनेसन कमिटि चेयर  र विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य समेत रहेका जोशीले ‘च्याम्पियन इन च्यालेन्ज’, ‘पर्यटन हिरो’, एसियाका राष्ट्रिय पर्यटन संस्थामध्ये सर्वोत्कृष्ट सीइओ, पाटा पर्सनालिटि अफ द इयर, नाटा पर्सनालिटी जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेका छन् । जोशीले नेपाल उद्योग परिसङ्घमा महानिर्देशकका रुपमा पनि सेवा गरिसकेका छन् ।

२५ अंकले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । 


यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । 


कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ । 


नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् । 


त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।

चेक अनादर मुद्दामा अधिकतम दुई वर्षसम्म कैद सजाय हुने

काठमाडौं । चेक अनादर मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

आइतबार बसेको संसदको अर्थ समितिको बैठक बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।

१५ लाख रुपैयाँसम्मको चेक अनादरमा एक महिना कैद, ५० लाखसम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भएमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैङ्किङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा भएका छलफल सकारात्मक रहेको भन्दै दफावार छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताए ।

चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न र चेक अनादरलाई निरुत्साहित गर्न सजायको व्यवस्था गरिएको उनले बताए । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए ।

उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानूनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताए ।

उनले भने,‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ । त्यसका निमित्त आवश्यक कानुनी प्रवन्ध पनि गर्नुपर्छ । अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानूनी तवरले काम कारवाही हुनुपर्छ । कानूनमा गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्यो ।’

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

नदी किनारका २० मिटर जमिन खाली गराउने निर्णयविरुद्ध आन्दोलन गर्न माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पतिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुरका जिल्ला अध्यक्ष हरिकृष्ण थापा र भक्तपुरका अध्यक्ष श्याम बस्नेतको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलपछि एकीकृत समाजवादीले यस्तो निष्कर्ष निकालेको हो ।

उपत्यकाका पार्टीका नेताहरूको डेलिकेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले पार्टी जनताको पक्षमा उभिने र यसका लागि सबै किसिममा संवाद गर्दै दवाबमूलक कार्यक्रम गर्न निर्देशन दिए ।

एकीकृत समाजवादीले पीडित जनतासँग तत्काल अन्तरक्रिया गर्न र पार्टीको धारणा जनतासम्म पुर्याउन पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन समेत दिएको छ ।

अवार्डहरुको दौडमा बैंकिङ क्षेत्र

-रिसव गौतम
विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोशिस गरिरहन्छन् । नेपालमा २०४६ सालपछि सबैभन्दा प्रगति गरेको क्षेत्र पनि बैंक तथा वित्तीय क्षेत्र नै हो । विगत दुई वर्षयता अर्थतन्त्रको तेस्रो खम्बा अनि समाजवादतर्फको यात्राको कडीका रुपमा हेरिएको सहकारी क्षेत्रले जनविश्वास गुमायो । खासगरी वित्तीय क्षेत्रको अहिलेको अवस्था तहसनहन नै छ । सहकारी क्षेत्रमा राजनीति गर्नेहरु छिरेपछि, दलाल तथा माफियाहरु छिरेपछि र अकुत एवं शङ्कास्पद धनआर्जन गर्नेहरु छिरेपछि ब्यापक सङ्कट आइरहेको छ ।

सहकारी क्षेत्रमा उत्पन्न सङ्कट र गुमेको विश्वासले पनि अन्तत ‘क’, ‘ख’ र ‘ग’ बर्गका वित्तीय संस्थाहरुलाई नै लाभग्राही बनाएको छ । यसको कुशल नियमन नेपाल राष्ट्र बैंकले गरिरहेको छ । अहिले बैंकहरुमा ७ खर्ब भन्दा बढी ऋण प्रवाह गर्न सकिने तरलता थुप्रिएको अवस्था छ । त्यसरी बढ्नुमा सहकारी क्षेत्रको सङ्कट देखेका जनताले पैसा बैंकहरुमा थुपारिनु हो । हरेक आर्थिक वर्षको कात्तिक–मङ्सिरतिरैबाट नेपालमा तरलता अभाव हुने थालेको थियो । त्यसकारण राष्ट्र बैंकको कुशल भूमिकाकै कारण नेपालमा बैंक तथा वित्तीय संस्था आजको समयमा सबल देखिन्छन् ।

कतिपय अवस्थामा धर्मराएका वित्तीय संस्थालाई पनि राष्ट्र बैंकले ट्रयाकमै ल्याएको छ । जस्तो कि केही महिनाअघि एनआइसी एसिया बैंकका बारेमा एकाध व्यक्तिले अफवाह फैलाए । सामाजिक सञ्जालमा प्रभाव बटुलेका त्यस्ता व्यक्तिको अफवाहकै कारण सो बैंकको एक महिनामै  ३० अर्बभन्दा बढी निक्षेप अरु बैंकमा गएको समाचार समेत आयो । तर अफवाह धेरै दिन टिकेन र राष्ट्र बैंकले पनि टेवा र प्रभावकारी भूमिका दिएर एनआइसी एसिया बैंक करिब पहिलाकै अवस्थामा फर्कियो । यसकारण बैंकिङ क्षेत्रमा विश्वासको ठूलो महत्व रहन्छ । तर जनविश्वास कमाउन पछिल्ला केही वर्षयता जसरी बैंकहरुले अवार्ड (पुरस्कार) मोह देखाएका छन् । त्यो छदम् विकृत प्रतिस्पर्धा जस्तो देखिएको छ ।

नेपाली जनताले नै नचिनेका अन्तर्राष्ट्रिय संघसंस्थाहरुले दिएको अवार्डकै भरमा बैंकको विश्वास कसरी बढोत्तरी हुँदो हो त ? त्यस्तो गलत अभ्यासमा लाग्नु फेसन जस्तो मात्र देखिन्छ । जस्तो पछिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रमा बेष्ट बैंक अवार्ड, एसिया मनि अवार्ड  युरो मनि अवार्ड, बैंक अफ दि एसिया अवार्डलगायतका नानाथरी अवार्डहरुको बजार हल्ला ब्यापक छन् । तर के एकपछि अर्को बैंकहरुले तिनै र त्यस्तै अवार्डहरु लागि प्रस्तिपर्धा गर्नु र पाउनु उत्कृष्ठ सेवाको परिचायक हो त ? त्यसरी अवार्ड दिने संस्थाहरुलाई नेपालीले चिन्छन् त ? किन भइरहेको छ अवार्ड प्राप्त गर्ने लिगलिगे दौड ? त्यसमा बैंकहरुले कति धनराशि खर्च गरिरहेका छन् ? त्यसको उपादायता के ? वास्तम्बमा राष्ट्र बैंकको एकै मापदण्डमा चलेका बैंकहरु सबै समान हुन् । उत्कृष्ठ वा कमसल के हो त्यो छुट्याउने भनेको नेपाली ग्राहकहरुले नै हो । अमूर्त विदेशी संस्थाहरुलाई कसरी थाहा हुन्छन् कि कुन बैंकले कस्तो सेवा दिइरहेका छन् । त्यसको गुणस्तर के छ ? त्यो भोग्नेलाई न थाहा हुन्छ ।

खासगरी भन्ने हो भने बैंकहरुले दिने सेवाको गुणस्तर, डेलीभरी, ग्राहकहरुसँग गर्ने मैत्री व्यवहार, प्रचारमा मात्र नभएर साँचो अर्थमा गरिने सामाजिक उत्तरदायित्वको गतिविधिहरु, सरकारी कर तथा राजस्वमा खेलेको भूमिका, ब्याजदरमा सहुलियत, रोजगारी र उद्यमशीलता अभिवृद्धिमा खेलेको भूमिका, राष्ट्र बैंकले अनिवार्य गरेका क्षेत्रमा भएका लगानीको अवस्था राम्रो भए ती बैंक राम्रोमा दरिने हुन् । फगत नेपालीले नचिन्ने अन्तर्राष्ट्रिय संस्थाहरुले दिने अवार्डले होइन । त्यसकारण बैंकहरुले गुणस्तरीय सेवा प्रवाह, ग्राहकमैत्री व्यवहार, कुशल सम्बन्ध, गरिव किसानलाई पनि ऋण प्रवाहीकरणमा समेटनु, दुर्गम तथा पहुँचविहीनहरुकामा पुग्ने कुरामा प्रतिस्पर्धा जरुरी छ । आधुनिक सेवा सुविधा दिने कुरामा प्रतिस्पर्धा जरुरी छ । अवार्डको दौडमा होइन । त्यसैगरी कतिपय बैंकहरुले मिडियामा यो सुविधा, त्यो सुविधा दिने भनेर हल्ला गर्ने तर त्यसको गुणस्तर र दिगोपन समेत भएको पाइँदैन । वित्तीय क्षेत्रले त्यसलाई सुधार्न जरुरी छ ।

सामाजिक उत्तरदायित्वमा विकृति

हरेक दिनका अखबार वा अनलाइन पोर्टलहरु हेर्दा फलानो बैंक वा वित्त कम्पनीले यति थान कपडा बाँड्यो अथवा वृक्षरोपण गर्यो अथवा विद्यार्थीहरुलाई कापीकलम बाँड्यो वा वृद्धवृद्धालाई निःशुल्क भोजन गरायो वा त्यस्तै–त्यस्तै समाचार आइरहेका हुन्छन् । त्यसरी बैंक –वित्त संस्थाहरुले गरिरहेका गतिविधिहरु उनीहरुका सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) हुन् ।

सबै त होइनन् तर धेरैले सामाजिक उत्तरदायित्व कार्यक्रमका नाममा कनिका मात्र छर्ने गरेका छन् । एकाधले सिङ्गै स्कुल, धर्मशाला, मठमन्दिर वा गरिवको छाना–नानाको व्यवस्था पनि गरेका समाचार आउँछन् । तर सामाजिक उत्तरदायित्व बहन गर्ने बैंक–वित्त कम्पनीहरुमध्ये धेरैले नाम मात्रैको सहयोग गर्ने गरेका छन् । सो विषयमा धेरैलाई वास्ता छैन । मिडियाले पनि सो विषय गौण ठान्छ । तर वार्षिक अरबौं कमाउने बैंकहरुले सामाजिक उत्तरदायित्वका नाममा आफूले छेरेका कनिकाहरुबारे निकै नै प्रचारप्रसार भने गरिरहेका हछन् । उनीहरुका ससाना समाचारहरुले पनि मिडियामा राम्रै स्थान पाएका हुन्छन् । धेरैजसो मिडिया पुरापुर विज्ञापनमा निर्भर भएकाले पनि त्यसो भएको हुन सक्छ ।

सामाजिक उत्तरदायित्व र समाजप्रतिको दायित्व ठोस रुपमा रहेको देखिंनन् । त्यसैकारण कमाउधन्दामुखी र विज्ञापनमुखी मिडियाहरुमा बैंक तथा वित्तीय संस्थाहरुको विकृत कृयाकलापहरु बारे कमै समाचार आउने गर्दछ । यद्यपि सामाजिक उत्तरदायित्व बैंकहरुको मात्रै दायित्व भने होइन । सबै खालका निजी तथा सरकारी व्यावसायिक सङ्घसंस्थाहरुको दायित्व हो । नेपालमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुबाहेक आयआर्जन सबल भएका उद्योगधन्दा निकै कम छन् । त्यसैले उनीहरु सबैको नजरमा छन् ।

आजको विश्वमा व्यावसायिक संस्थाहरुले आफुले कमाएको मुनाफाबाट कम्तिमा २ प्रतिशत सामाजिक उत्तरदायित्व वहन गर्ने हिसावले खर्च गर्ने गरेका छन् । नेपालको हकमा पनि यस चलन चलेको दशकौं भइसकेको छ । तर नेपालमा बैंक–वित्तीय क्षेत्रबाहेक सीमित व्यावसायिक संस्थाहरुले मात्रै समाजप्रतिको दायित्व निर्वाह गरेका देखिन्छन् । सामाजिक उत्तरदायित्व निर्वाह गर्न नेपालका उद्यम व्यवसाय साँच्चीकै मनदेखि लागेका छैनन् । बैंकहरुले पनि देखावटी मात्रै गरिरहेका छन् । उनीहरुले कुल नाफाको दुई प्रतिशत त्यस क्षेत्रमा सहयोग त गरेकै छैनन् ।

बैंकले ऋण उठाउने नाममा कुनै व्यक्तिलाई आत्महत्या गर्ने हदसम्म दबाब दिन मिल्दैन । व्यक्तिले ऋण नै तिर्न नसक पनि उसले बाँच्न पाउने अधिकार पहिलो हो । मानवीयता त बैंकको नाफा वा ऋण असुलीभन्दा पहिलो प्राथमिकता हुनुपर्ने हो । एकातिर बैंकहरुले सामाजिक उत्तरदायित्व, गरिबहरुको सेवा गर्ने भन्दै करोडौं बजेट छुट्याए झैँ गर्ने, कहीँ कतै कनिका छरे झैं पनि गर्ने अर्कोतिर गरिवहरु १०–२० लाख ऋण समयावधिमै तिर्न नसक्दा मृत्युवरण गर्नुपर्ने अवस्थाको सिर्जना गरिदिने पनि गरेका घट्नाहरु छन् । अन्त्यमा, बैंकहरुले अवार्ड प्राप्त गर्न गर्ने खर्च सामाजिक उत्तरदायित्व वहन गर्न गरेको अवस्थामा बैंकको जनताप्रतिको विश्वास र भरोसा पनि बढ्छ । त्यसले एउटा तह र तप्काका अभावग्रस्त मान्छेहरुको आवश्यकता पनि पूर्ति हुनेछ ।

(लेखक आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ)

जाजरकोटमा पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला

कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ ।

गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।

मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको बताए ।

शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

‘प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुनुहुन्छ भने मानबहादुर नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका सदस्य हुनुहुन्थ्यो’, उनले भने ।

दामोदरकुण्ड जाने तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

म्याग्दी । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।  

समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ । भौगोलिक रुपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् । 

दुई वटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ । 

धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताए । 

“धर्मशाला सञ्चालन नहुने समयमा दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा हामीलाई चिन्ता लाग्छ”, उनले भने, “जनशक्ति र खाद्यान्न व्यवस्थापन गर्ने आर्थिक स्रोत अभाव हुँदा दुई महिनामात्र धर्मशाला सञ्चालन गर्नुपरेको हो ।” 

घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०÷२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ । जस्तापाताले छाएको टहरा पनि छन् । घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन् । मोबाइल फोनको पहुँच छैन । 

म्याग्दीको नारच्याङका मोहन पुर्जाको अगुवाइमा दामोदरकुण्डको धर्मशालामा दाल, चामल, तरकारी र पीठो व्यवस्थापन हँुदै आएको छ । घिमीठाँटीमा दुई जना र दामोदरकुण्डको धर्मशालाका एकजना कर्मचारीलाई दैनिक पाँच सय रुपैयाँ ज्याला दिएर दुई महिना राख्ने गरिएको गुरुङले जानकारी दिए ।

गत हप्ता दामोदरकुण्ड पुगेका काठमाडौँका सर्वोत्तम ढकालले धर्मशाला बन्द भएकाले आफैँ खाने, बस्ने सामानको बन्दोबस्ती गर्नु परेको बताए । “थाकेर लखतरान हुने तीर्थयात्री पकाएर खानसक्ने अवस्थामा हुँदैनन्”, उनले भने, “आफैँ सामान बोकेर लैजाने र पकाएर खान गाह्रो हुने रहेछ ।”

घारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो । कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ । घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन हयारा–घाराबाट घोडाको यात्रा गर्दछन् । 

दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुविधा रहेको बताए ।

“जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउँछन् । दुई महिनामात्र धर्मशाला सञ्चालन हुँदा समस्या भएको छ”, उनले भने, “देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न समस्या भएको छ ।” बिरामीको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आएका याराका टासी गुरुङले दाताले पठाएको र दिने खाद्यान्नले नपुग्ने, मौसमले साथ नदिने भएकाले दुई महिना मात्र समयसम्म धर्मशाला सञ्चालन गर्ने गरिएको बताए ।

“गत वर्ष चार हजारको हाराहारीमा तीर्थयात्रीहरु पुगेको दामोदरकुण्डमा यसपाली तीन हजारको हाराहारीमा आएका छन्”, उनले भने, “अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्न अध्यागमन विभागबाट १० दिनका लागि पाँच सय डलर तिरेर अनुमति लिनुपर्ने नीतिगत व्यवस्थाका कारण थोरै मात्र विदेशी आउँछन् ।” 

महँगो प्रवेश शुल्क तिर्नुपर्ने कारण विशेष गरेर कमजोर आर्थिक अवस्था भएका भारतीय तीर्थयात्रीहरु चाहेर पनि दामोदरकुण्ड तीर्थयात्रामा आउन नसकेका टासीले बताए । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष झयाङ छेसा गुरुङले धर्मशाला सञ्चालनको समय अवधि लम्ब्याउनुपर्ने र मोबाइल फोन सेवा विस्तारको अतिआवश्यक भएको बताए ।

“धर्मशालालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गर्न स्रोत जुटाउन दाता तथा र मोबाइल फोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ”, उनले भने, “दामोदरकुण्ड र समग्र उपल्लो मुस्ताङमा पर्यटक तथा भक्तजनको आगमन बढाउन अर्धनिषेधित क्षेत्र हटाउन सङ्घीय सरकारसँग पहल गरेका छौँ ।”

कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड दर्शन र स्नान गर्नाले पुण्य र आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने गर्दछन् । तलाउको छेउमा बौद्ध धर्मावलम्बीको छोर्तेन पनि छ । नजिकैको पहाड बौद्ध धर्मका लामाले लगाउने टोपी आकारको छ । 

दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । पाँच वटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैते दसैंका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।  

कठिन पूर्ण यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदिने हालै त्यहाँ गएर आएका बेनी नगरपालिका–३ का रामजी सुवेदीले बताए । वरपरका सेता हिम चुचुरोले घेरिएको दामोदर कुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने उनले उल्लेख गरे । 

काठमाडौंको सुन्दरीजलमा एक महिलाको हत्या, दुईजना पक्राउ

काठमाडौं । काठमाडौं सुन्दरीजलमा महिला हत्याको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भदौ २० गते बिहान ९ः ४५ बजेको समयमा गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएकी महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिराहा घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी राम दुलारीको हत्या भएको हो । प्रहरीले महिला हत्याको आरोपमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा शंकास्पद देखिएपछि उनीहरु पक्राउ परेका परिसरले जनाएको छ । हालसम्म मृतकको परिवार आफन्त सम्पर्कमा नआएका र सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हिमालमा सन्निकट छ सङ्कट

रामबहादुर थापा, गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा सरे । हिउँ पग्लेर खोलाको बहाव पुरानै स्थितिमा फर्केपछि विपतले  ठूलो रुप लिन पाएन ।

थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दुवै पटक एकै ठाउँबाट हिमपहिरो खसेको बताए । “यो हिमपहिरोलाई सामान्य ढङ्गले बुझ्नुहुँदैन, विश्वव्यापी जलवायु सङ्कटको प्रत्यक्ष सम्बन्ध यसमा छ”, उनले भने, “हिउँको ठूलो ढिस्को नै खसेर घट्टे खोला थुनिएको थियो, यो घटनाले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।” उनका अनुसार विसं २०७८ कात्तिकमा मानापाथी हिमालबाट खासाङ–२ कोवाङमा पनि हिमपहिरो आएको थियो ।

त्यो घटनामा भागदौड हुँदा केही स्थानीय घाइते भएका थिए । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले हिमपहिरो दुई सय मिटर तलसम्म आएका भए बस्ती, सडक, पुललगायतमा क्षति पुग्न सक्थ्यो । “कुनै अप्रिय घटना त हुन पाएन, तर हिमपहिरोको दृश्य हेर्दा भयानक थियो, हिउँको पहाडै खसेजस्तो देखिन्थ्यो”, उनले भने “भदौ ७ गतेभन्दा ११ गते झन् ठूलो हिमपहिरो खसेको थियो ।” धवलागिरि हिमालको फेदबाट छिप्लुङ लेक हुँदै हिमपहिरो झरेको उनको भनाइ छ ।

गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरो जाँदा दुधकोशी नदीले बाढीको रुप लिएको थियो । बाढीले थामेका कैयौँ घर र भौतिक सम्पत्तिमा क्षति पुग्यो । जोखिममा परेका स्थानीयवासीको तत्काल उद्धार गरिएका कारण कुनै मानवीय क्षति भने हुन पाएन । गत वैशाखमा गोरखाको मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खस्यो ।

हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे ।

सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसम्मको ध्यान वीरेन्द्र हिमतालले खिच्यो । मनाङको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार त्योबेला हिमताल फुटेको नभई हिमपहिरो खस्दा तालको पानी छचल्किएर बाहिर बगेको थियो । हिमताल नै फुटेको भए ठूलो विपत् निम्तन सक्ने खतरा रहेको उनको भनाइ थियो ।

वैशाखको सुक्खायाममा हिमपहिरो खस्नु सोचनीय विषय भने भएको अध्यक्ष लामाले बताए । हिमतालले निम्त्याउने सम्भावित जोखिमबारे उक्त घटनाले झक्झकाएको उनको भनाइ छ । यी त हालै भएका हिमपहिरोका प्रतिनिधि घटना हुन् । जलवायु विज्ञहरुका अनुसार हिमालयमा स–साना हिमपहिरा त थाहै नपाई खसिरहेका हुन्छन् ।

हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशित घटना हुन सक्नेमा विज्ञहरुको चिन्ता छ । पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले जलवायु परिवर्तनको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र रहेको बताए।

“विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उनले भने, “विश्वको औषत तापमान १ दसमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दसमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।”

सोही कारण हिमालय क्षेत्रमा बाढीपहिरालगायत अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिरहेको उनको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुन दर बढीरहेको पर्यावरणीय अध्यता अर्यालले बताए ।

“हिमताल विष्फोटनपछि हालै सोलुखुम्बुमा आएको बाढीले थामे गाउँमा जुन विध्वंस मच्चायो, यस्ता घटनाहरु आगामी दिनमा झनै दोहोरिने र भयानक बन्ने कुराको आकलन सहजै गर्न सकिन्छ”, उनले भने ।

कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको उनको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उनले बताए । कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ ।

जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पुर्‍याइरहेको पर्यावरणीय अध्यता अर्यालले बताए । जलवायु परिर्वतको कारकको रुपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदाहुँदै पनि त्यसको असरको मार खेप्नु परिरहेकाले नेपालले जलवायुजन्य हानीनोक्सानीको पुर्नभरण अर्थात् क्षतिपूर्ति प्राप्तिका लागि विश्वमञ्चमा आफ्नो आवाज शसक्त बनाउनुपर्ने उनको भनाइ छ ।

जलवायु परिर्वतन मामिलाका विज्ञ डा पपुलर जेन्टलले पर्याप्त सावधानी र जोखिम न्यूनीकरणमा ध्यान दिन नसकिए हिमालय क्षेत्रले अकल्पनीय प्राकृतिक विपत् झेल्नुपर्ने बताए। उनले हिमनदी र हिमतालहरु पृथ्वीको पानीकोसमेत स्रोत भएकाले तिनलाई जोगाउनुपर्ने बताए । सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने सहमति गरेपनि हिमालय क्षेत्रको तापक्रमले उक्त तह पार गरिसकेको जलवायु विज्ञ डा जेन्टलले बताए ।

“विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको सिधा असर हिमाल र सो क्षेत्रको पर्यावरणमा परेको छ, हिमतालहरु जोखिममा रहेको विषयलाई हामीले जोडका साथ उठाइरहेका छौँ, सरकार यसतर्फ संवेदनशील भएर लाग्नुपर्ने आवश्यकता छ”, उनले भने, “हिमतालमा पूर्वसूचना प्रणालीको विकास गर्नुपर्छ, समुदायस्तरमा सचेतनाका कार्यक्रम चलाउनुपर्छ ।”

पृथ्वीको तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र बनेकाले त्यसले हिमतालको सतह बढाउने र नयाँ बन्ने क्रम पनि सँगसँगै बढेको उनको भनाइ छ । “हिमालय क्षेत्रमा निम्तने प्राकृतिक विपत्ले उपल्लो र तल्लो तटीय क्षेत्रमा कुनैपनि बेला ठूलो सङ्कट र विनाश ल्याउन सक्छ, अहिले भइरहेका घटना त्यसका सङ्केत मात्र हुन्”, जलवायु विज्ञ डा जेन्टलले भने ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोडं र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले नेपालका २१ हिमताल जोखिममा रहेको देखाएको छ ।

जोखिममा रहेका २१मध्ये उच्च जोखिममा रहेका केही हिमताल सम्भावित विस्फोटको खतरामा रहेको उक्त अध्ययनले औँल्याएको छ । हिमालय क्षेत्रमा सन्निकट सङ्कटको सामनाका लागि आवश्यक तयारी र पूर्वसचेतना अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

उक्त अध्ययन अनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ । जलवायु विज्ञ डा. बिमल रेग्मीले उच्च जोखिम पहिचान गरिएका हिमतालको नियमित अध्ययन र अनुगमन गर्नुपर्ने बताए । “मानिस पुग्न नसक्ने ठाउँमा स्याटेलाइट, राडार जस्ता प्रविधिमार्फत हिमतालको नियमित अनुगमन र अध्ययन गर्नुपर्छ”, डा रेग्मीले भने, “फ्ट्ने जोखिममा रहेका हिमतालको पानीको सतह घटाउनुपर्छ ।”

दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालमा पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको उदाहरण दिँदै अन्य हिमतालको जोखिमलाई पनि त्यसैगरी कम गर्न सकिने उनले बताए।

“हिमतालको सतह घटाउने परियोजना निकै महँगो भएपनि सरकारले दातृ निकायसँग मिलेर यो काम गर्न सक्छ”, उनले भने “हिमालय क्षेत्रमा खतराको घण्टी बजिरहेकाले सङ्कट सामनाका लागि तयार रहनुको विकल्प छैन ।”

‘इसिमोड’ र ‘यूएनडिपी’को अध्ययनअनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमश्रृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको डा रेग्मीले बताए । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ ।

“अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएरहेको छ, पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मीले भने, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालय क्षेत्रको अस्तित्व नै नासिन सक्छ ।”

जलवायु परिवर्तनका कारण हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको उनको भनाइ छ । जसका कारण पानीको चक्र फेरिने, मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्या देखिइरहेको उनले बताए ।

डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताए । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ”, डा रेग्मीले भने ।

जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताए। यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको उनको भनाइ छ ।

“हाम्रो पूर्वाधार विकास जलवायु र वातावरणमैत्री छैन, विकासको लगानी सुरक्षित छैन, विनाशकारी विकासले पुर्याएको असर भयाभह छ”, उनले भने “जलवायु सङ्कटसँग जुध्न सरकारले छुट्टै संस्थागत संरचना खडा गर्नुपर्छ, नीति र कानुनको प्रभावकारी कार्यान्वयनको खाँचो छ ।”

अमेरिकामा राजमार्गमा गोली प्रहार गर्ने हमलाकारीको खोजी गर्दै प्रहरी

बीबीसी । अमेरिकाको केन्टकी राज्यको लन्डन सहर नजिकै एउटा राजमार्गमा कैयौँ मानिसहरूलाई गोली प्रहार गरेको घटनामा संलग्नले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट कम्तीमा ७ जना घाइते भएका छन् । तर प्रहरीले कसैको पनि ज्यान गएको जानकारीमा नआएको उल्लेख गरेको छ । केन्टकीको सिटी अफ लन्डनका मेयरले सन्दिग्ध हमलाकारी अझै फरार रहेकाले मानिसहरूलाई आफ्नो घरको ढोका लगाएर बस्न आह्वान गरेका छन् ।

प्रहरीले उक्त आक्रमणमा संलग्न भएको आशङ्कामा एक जना ३२ वर्षका व्यक्तिको नाम सार्वजनिक गरेका छन्। तर ती व्यक्ति कहाँ छन् आफूहरूलाई थाहा नभएको उनीहरूको भनाई छ ।

उक्त घटना स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे भएको थियो जतिबेला प्रहरीलाई ‘इन्टरस्टेट ७५’मा सवारी साधनहरूमाथि गोली चलेको जानकारी गराइएको थियो ।

उक्त सहरका मेयर र्यान्डल वेडलले उक्त घटनामा सातजना घाइते भएको जानकारी दिए । उनले ती सबैलाई गोली नलागेको उल्लेख गर्दै कसैले पनि ज्यान नगुमाएको पनि जनाएका छन् ।

लाउरेल काउन्टी सेरिफको कार्यालयले ३२ वर्षका जोसेफ ए काउच शङ्कास्पद व्यक्ति भएको जानकारी दिँदै उनको साथमा हतियार रहेको र उनी खतरनाक भएको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजमार्ग नजिक रहेको रूखहरू भएको क्षेत्र वा ओभरपासबाट गोली चलेको थियो ।

विपक्षी नेता उरूटिया शरण लिन स्पेन गएको भेनेजुएला सरकारको दावी

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले जनाएको छ ।

गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए भने उनलाई सुनुवाईका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनी अदालतसामु उपस्थित भएका थिएनन् ।

भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गरेका थिए ।

स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले उरुटियाको आग्रहमा उनको सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरेका छन् । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताएका छन् ।

उरुटियाका वकिल जोस भिसेन्ते हारोले पनि उनी स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गरेका छन् ।

गत जुलाई २८ मा भएको निर्वाचनमा मादुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।

आयोगको घोषणा विपरीत उरुटियाले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए ।

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मादुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन्।

चुनावपछि उरुटिया राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दावी गरेको र उनलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि भेनेजुएलाका अभियोजनकर्ताहरूले उरूटियाविरूद्ध पक्राउ पुर्जी जारी गरेका थिए।

भेनेजुएलाका विपक्षी नेताको बचाउ गर्ने वकिल जोएल गार्सियाले उरुटियालाई सरकारले सबै आरोप लगाइएको खण्डमा ३० वर्षको जेल सजाय हुन सक्ने बताएका छन् ।

अधिकारीका अनुसार मादुरो ५२ प्रतिशत मतका साथ तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

विपक्षीले आफ्नै मतदान रेकर्ड सार्वजनिक गरेको छ, जसमा गोन्जालेज उरुटियाले ६७ प्रतिशत मत प्राप्त गरेको उल्लेख छ ।

भेनेजुएलाको निर्वाचन प्राधिकरणले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको आरोप लगाउँदै निर्वाचन परिणामको पूर्ण विवरण दिन नसक्ने बताएको छ । पर्यवेक्षकहरूले भने त्यस्तो कुनै पनि ह्याकिङको कुनै प्रमाण नभएको बताएका छन्।

भेनेजुएलामा निर्वाचनपछि भएको हिंसामा २७ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । प्रशासनले करिब दुई हजार ४०० जनालाई पक्राउ गरेको जनाएको छ ।

चुनावअघि, उरुटिया कम चर्चामा रहेको सेवानिवृत्त कूटनीतिज्ञ थिए । मादुरोप्रति वफादार ठानिएका सरकारी संस्थाहरूले प्रमुख विपक्षी नेता माचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाएपछि उनी अन्तिम समयमा राष्ट्रपतिपदको उम्मेदवार बनेका थिए ।

भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मादुरोलाई विजयी घोषित गरिएको थियो ।

प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मादुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आएका छन् ।

खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पीडित उहाँको कार्यकालमा कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि सो प्रसारण लाइन निर्माणको काम दसैंअघि नै सक्ने समयसीमा तय गरिएको प्राधिकरणले जनाएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचे चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणका कामहरु नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको काम सम्पन्न भइसकेको छ ।

प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ ।

२८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी रहेको प्राधिकरणले बताएको हो । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरू परिचालित छन् ।

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन अनुगमन टोलीले आग्रह गरेको छ ।

टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको हो । अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको समेत अनुगमन गरिएको थियो ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।

दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । जसले गर्दा प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दबाब प्राधिकरणलाई छ ।

कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए ।

‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत् आयोजनाहरूले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्,’ घिसिङले भने, ‘विकट भौगालिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौं र दसैं अगाडि जसरी पनि निर्माण सम्पन्न गरौं ।’

उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तान्न बाँकी छ । मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने प्राधिकरणले जनाएको छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भू-भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ ।

खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको हो । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण भएको छ ।

प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।

कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

यी जुम्ल्याहा दाजुभाइ, जसले पाउँदैछन् एमबीबीएसमा छात्रवृत्ति

वीरगञ्ज (पर्सा) । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबीबीएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेको छ । त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेको थियो ।

आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ । यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन ।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबीबीएस जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन् ।

‘जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबीबीएस अध्ययन गरिरहेका छन्’, उनले भने, ‘यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै हर्षित भएका छौँ ।’

फिरोज राकी र नसिमा प्रविण त्यस्ता भाग्यमानी बुबाआमा छन् । यसको कोखबाट जन्मिएका चारै सन्तानले एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन् । ‘मेरा चारै सन्तान एमबीबीएस अध्ययन गर्ने अवसर पाएका छन्’, उनले भने, ‘मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो ।”

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबीबीएस पढ्नेमा नाम निकालेका थिए । तर, शुल्क तिरेरै पढेनन् । थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ । एमबीबीएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए । ‘अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ ।’

‘तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ’, उनले भने, ‘बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ । भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ । अब राम्रोसँग अध्ययन गरेर दिनदुःखी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरुको सेवा गर्ने रहर छ ।’

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकालेका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउँछन् । ‘अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबीबीएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ’, उनले भने ।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै सामुदायिक विद्यालय माईस्थान विद्यापिठबाट अध्ययन गरेको हो । उनीहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरेको थियो ।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताए । अहिले भने उनी वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहेको छ । छोराछोरीलाई दुःखजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ ।

‘मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाएँ । त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाएँ ।’

उनले विगत स्मरण गर्दै भने, ‘अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ । मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाईलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिदैँ आइरहे । अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ ।’

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहेकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दावी गरिन्। ‘हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ’, उनले भनिन्, ‘जेठी छोरी नबुले एमबिबिएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन् ।’

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबीबीएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहेकी छन् । नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबीबीएस अध्ययन गरेकी हुन्।

त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबिबिएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबीबीएस अध्ययनरत छन् ।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको सुनाइन् ।

‘मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिएँ’, उनले भनिन्, ‘श्रीमान्कै प्रेरणाकै कारणले रोकिएको पढाईलाई फेरि निरन्तरता दिने मौका पाए । यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु ।’

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कञ्जुस्याइँ गरिरहेको उनले गुनासो गरिन् । ‘मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाइलेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ’, उनले भनिन्, ‘छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हुँदैन ।’

बुबा राकी आफ्नो परिवारका सदस्यलाई असर संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिन्छन् । ‘संस्कार माला जस्तै किनेर पाइँदैन’, उनले भने, ‘जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो । आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो ।’

आफ्ना चारवटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पद्चाप पछ्याइदिएको खण्डमा खुसी हुने बताउँछन् । ‘मेरा चारै सन्तानले बरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थउपचार गरुन भन्ने चाहाना रहेको छ’, उनले भने, ‘असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पद्चाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु ।’

भूकम्पले क्षतिग्रस्त देगु तलेजुको पुनःनिर्माण सम्पन्न

ललितपुर । नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए ।

भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, “मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।”

ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छभने केही निर्माणाधीन छन् ।

तोलामा एक हजार दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आइतबार तोलामा  एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैइाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

बागलुङ  । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।

आयोजनाबाट उत्पादन बन्द भएसँगै सो बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायत ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए। निरन्तर वर्षासँगै खसेको पहिरोले आयोजनाको नहरमा ठूलो क्षति गरेको उनले बताए।

पहिरोले बगाएको नहर निर्माणका लागि कम्तीमा २० दिन लाग्ने र सञ्चालनमा आउन एक महिना लाग्ने प्रबन्धक पौडेलले बताए। वर्षा निरन्तर भएको हुँदा काम सुरु गर्न नसकिएको उनी बताउँछन् । विद्युत् आयोजनाको मुहान नजिकै पहिरो खसेको हुँदा काम गर्न कठिन हुने उनले जानकारी दिए ।

नयाँ मापदण्डअन्तर्गत खोला किनारमा पर्ने कुनै घर भत्किने छैनन्ः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नयाँ मापदण्डअन्तर्गपर्ने खोला किनारका कुनै घर नभत्काइने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत मेयर साहले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘तपाईंको नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चिन्त रहनुहोस् । भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले । ५० बर्ष पहिलेको तिनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाईंको लागि हामी छँदैछौं । केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सूचना जारी गरि हाल्नेछौं । त्यतिनजेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो ।’

उनले गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गर्न पनि दलहरुलाई चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘आफैं बोक्सी , आफैं धामी । १) कानुन बनाउने कसले हो ? २) सरकारको नेतृत्व कसले गरेको हो ? ३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ ? खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफैं सहभागी भएको परिषद्देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ । तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाईंले न्याय पाउनु हुन्न । तपाईंकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।’

उपत्यकाका नदी किनारका दायाँवायाँ २०-२० मिटर निर्माण निषेध गर्ने सर्वोच्चको फैसला महानगरले कार्यान्वयन लागेको भन्दै दलहरुले मेयर साहको विरोध गर्दै आएका छन् ।

नेकपा एमालेले त प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर महानगरको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिसकेको छ ।

त्यस्तै नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले पनि मेयर साहको निर्णयको विरोध गरेको छ । सर्वोच्चको फैसला महानगरले कार्यान्वयन गरे पशुपतिनाथ मन्दिरलगायत ऐतिहासिक सम्पदा समेत हट्ने र हजारौं बासिन्दाको उठिबास हुने चेतावनी दलहरुले दिएका छन् ।